हामी यहाँ प्रसिद्ध वैज्ञानिक र उनीहरूका कामको बारेमा संक्षिप्त जानकारी हासिल गर्नेछौं। अहिले यहाँ केही प्रमुख वैज्ञानिक र उनीहरूका आविष्कारको बारेमा उल्लेख गरिएको छ; बाँकीलाई क्रमशः राख्दै जानेछौं –
लेखन, संकलन, सम्पादन र अनुवाद – नारायण गिरी
संसारका धेरै वैज्ञानिकहरूले मानव जीवनलाई सहज र सरल बनाउनको लागि तथा अत्याधुनिक ढंगले जीवनलाई अगाडि बढाउनको लागि धेरै प्रकारका चमत्कारपूर्ण आविष्कार गरेका छन् र अझै गरिरहेका छन्। यी सबैले मानव जीवनमा गहिरो प्रभाव पारेका छन्। वैज्ञानिकहरूले दैनिक जीवनयापनका सामग्री, स्वास्थ्य, शिक्षा, उद्योगधन्दा-कलकारखाना, विज्ञान-प्रविधि, सुरक्षासंयन्त्र, कृषि, यातायात, भौतिक पूर्वाधार, सूचना-संचार, आदि धेरै क्षेत्रमा धेरै आविष्कार गरेका छन्। वैज्ञानिकहरूले गरेका यी आविष्कारहरूबाट संसारले नयाँ रूप प्राप्त गर्दै गएको छ। वैज्ञानिकहरूमा संसार बदल्ने शक्ति हुन्छ। उनीहरू आफ्नो कल्पना र जिज्ञासालाई वास्तविकतामा बदल्ने हरप्रयत्न गरिरहेका हुन्छन्। वैज्ञानिकहरूले भौतिक विज्ञान, रसायन विज्ञान, जीव विज्ञान, चिकित्सा विज्ञान, गणितशास्त्र, आदि जस्ता अलग-अलग क्षेत्रहरूमा आफ्नो योगदान दिएका छन्। उनीहरूको रचनात्मकता र योग्यताले हामी सबैलाई एकखालको प्रेरणा प्रदान गरिरहन्छ। त्यसकारण यहाँ हामी केही प्रसिद्ध वैज्ञानिक र उनीहरूले गरेका आविष्कारहरूको बारेमा संक्षिप्त जानकारी हासिल गरौं।
रोबर्ट बोयल (Robert Boyle) र उनको आविष्कार
रोबर्ट बोयलको जन्म २५ जनवरी १६२७ मा आयरल्याण्डको मुन्स्टरमा एक परिवारमा भएको थियो। उनी आधुनिक रसायनशास्त्रका प्रवर्तक हुन्। उनी बालककालदेखि नै प्रतिभाशाली थिए। उनले अंग्रेजी भाषाको अतिरिक्त ग्रिक,फ्रेन्च, ल्याटिन, हिब्रू, आदि भाषा सिकेका थिए। ८ वर्षको उमेरमा उनी इटन कलेजमा भर्ना भए, जसले कलेज शिक्षामा प्रवेशको तयारी गर्थ्यो। यहाँ ३ वर्षसम्म अध्ययन गरेपछि बोयल आफ्नो निजी शिक्षकसँग युरोप भ्रमणमा निक्लिए। इटाली पुगेपछि उनलाई प्रसिद्ध वैज्ञानिक ग्यालिलियोका कृतिहरूको बारेमा ज्ञान भयो र उनको मनमा विज्ञान अध्ययन गर्ने लालसा जाग्यो। यसपछि ग्यालिलियो लगायतका धेरै वैज्ञानिकहरूका कृतिहरूको गहन अध्ययन गरे। सन् १६४४ मा इंग्ल्याण्ड फर्किएपछि रोबर्ट बोयलको भेट अक्सफोर्ड विश्वविद्यालयमा काम गरिरहेका वैज्ञानिकहरूसँग भयो। यी सबै वैज्ञानिक प्रयोगद्वारा आफ्ना सिद्धान्तको सत्यापन गर्ने कुरामा विश्वास गर्थे। रोबर्ट बोयलसँग पर्याप्त पैत्रिक सम्पत्ति थियो। उनले तत्काल एक प्रतिभाशाली सहायक रोबर्ट हुकलाई नियुक्त गरे र उनको सहायताबाट भ्याकुम पम्प तयार गरे। यसरी सन् १६४६ पछि उनको सम्पूर्ण समय वैज्ञानिक प्रयोगमा बित्न लाग्यो। सन् १६५४ पछि उनी अक्सफोर्डमा रहनलागे र यहाँ उनको परिचय धेरै विचारक र विद्वानहरूसँग भयो। १४ वर्ष अक्सफोर्डमा बसेर उनले वायु पम्पमाथि धेरै प्रयोग गरे र वायुका गुणहरूको राम्रोसँग अध्ययन गरे। उनले वायुमा ध्वनिको गतिमाथि पनि अध्ययन गरे। रोबर्ट बोयलको सर्वप्रथम प्रकाशित वैज्ञानिक पुस्तक New Experiments, Physico Mechanical, Touching the Spring of Air and its Effects वायुको संकुचन र प्रसारको सम्बन्धमा थियो। सन् १६६३ मा विधिवत स्थापना भएको रोयल सोसाइटमा बोयल संस्थापक सदस्य थिए। यो संस्थाबाट प्रकाशित हुने फिलोसोफिकल ट्रान्जेक्सनमा रोबर्टले धेरै लेख लेखे। सन् १६८० मा उनी यो संस्थाको अध्यक्ष चुनिए तर यसमा उनी विवादित रहे।
बोयलले तत्वहरूको प्रथम वैज्ञानिक परिभाषा दिए र के बताए भने एरिस्टोटलले बताएका तत्वहरू अथवा रसायनवेत्ताका तत्वहरू (पारो, गन्धक र लवण) मा कुनै पनि तत्व छैन, किनकि जुन पिण्डमा (जस्तो कि धातुमा) यो हुन्छ भनिन्छ, त्यसबाट यिनीहरूलाई निकाल्न सकिंदैन। तत्वहरूको सम्बन्धमा बोयलले सन् १६६१ मा एउटा “The Skeptical Chemist” नामक महत्वपूर्ण पुस्तक लेखेका थिए। बेकनको तत्वदर्शनमा उनको धेरै आस्था थियो। रोबर्ट बोयलले परीक्षणबाट ग्यासको आयतन त्यसको दबावको विपरीत अनुपातमा हुन्छ भन्ने कुरा पत्ता लगाए। यो नियमलाई बोयलको ग्यास नियम भनिन्छ। उनले विज्ञानका अन्य धेरै शाखाहरूको प्रयोग गरे। रसायन प्रयोगशालामा प्रचलित कैयौं विधिहरूको बोयलले आविष्कार गरे। उनका ग्यास सम्बन्धी नियम, दहन सम्बन्धी प्रयोग, हावामा धातुहरूको जलनमा प्रयोग, पदार्थमा तापको प्रभाव, अम्ल र क्षारका लक्षण र तिनीहरूको सम्बन्धमा प्रयोग, आदि जस्ता धेरै युगप्रवर्तक प्रयोगहरूले आधुनिक रसायन विज्ञानलाई जन्म दिएको हो। बोयलले द्रव्यको कणवादको प्रचलन चलाए, जसको अभिव्यक्ति डाल्टनको परमाणुवादमा भयो। उनका अन्य कार्यमा मिश्रधातु, फस्फोरस, मिथाइल अल्कोहल, फस्फोरिक अम्ल, चाँदीका लवणमा प्रकाशको प्रभाव, आदि हुन्। उनले ध्वनिको गति नाप्ने, रंगहरूको कारण जान्ने, स्थिर विद्युतको अध्ययन जस्ता कार्यहरू गरे। उनले हातले चल्ने पम्प पनि तयार गरे र प्राणी वायुविहीन परिवेशमा रहन सक्दैन भन्ने कुरा प्रमाणित गरे। यसरी उनी अक्सिजनको खोजको निकट पुगेका थिए। उनले शून्यमा गन्धक चल्दैन भन्ने कुरा पनि प्रमाणित गरे। बोयलले रासाइनिक तत्वको परिभाषा दिए, जसानुसार त्यो अहिलेसम्म ज्ञात विधिद्वारा विखण्डित हुनसक्दैन। उनले आफैले अनुसन्धानका परिणाम मात्र दिएनन्, बरू अन्य आविष्कारहरूका लागि अनुसन्धानमा मार्ग खोलिदिए। उनले पहिलो पटक के घोषणा गरे भने ताप अणुहरूको गतिको कारण उत्पन्न हुन्छ। उनले पहिलो पटक अध्ययनबाट ग्यासलाई एकत्रित गरे। नमूनको संरक्षणको लागि उनले अल्कोहलको प्रयोगको सल्लाह दिए। उनले अम्ल र क्षारका विशेताहरू बताए। पहाडको उचाई नाप्नको लागि ब्यारोमीटरको प्रयोग गरे र यसको साथै बन्द थर्मोमीटरको उपयोग गरे। सन् १६९० पछि उनको स्वास्थ्य अवस्था बिग्रिन लाग्यो तर पनि उनले रसायन सम्बन्धी कार्य छोडेनन्। ३१ डिसेम्बर १६९१ मा लण्डनमा उनको मृत्यु भयो।
निकोलस कोपरनिकस (Nicolaus Copernicus) र उनको आविष्कार
निकोलस कोपरनिकसको जन्म १९ फेब्रुअरी १४७३ मा पोल्याण्डमा भएको थियो। १० वर्षको उमेरमा उनका पिताको मृत्यु भएको थियो र मामाले उनलाई पालेका थिए। १८ वर्षको उमेरमा उनले पोल्याण्डको राजधानीमा रहेको क्रेस्को विश्वविद्यालयमा अध्ययन शुरू गरे। उनले खगोलशास्त्र, दर्शन, ज्यामिति, भूगोल, आदिको अध्ययन गरे। त्यसबेला खगोलशास्त्र सर्वाधिक महत्त्वपूर्ण मानिन्थ्यो। पछि उनलाई कानूनको अध्ययनको लागि बोलोग्ना विश्वविद्यालयमा भर्ना गरियो । सन् १५०३ मा कानूनी डिग्री लिएपछि उनले चिकित्साशासत्रको अध्ययन गर्ने इच्छा राखे। ३९ वर्षको उमेरमा उनले आफ्नो पढाई सके। यसपछि कोपरनिकसले आफ्नो गणितको ज्ञान, खगोलशास्त्रको अध्ययन, चिकित्साशास्त्रको प्रवीणता तथा धर्मलाई समन्वय स्थापित गरे र खगोलशास्त्रको क्षेत्रमा अनुसन्धानलाई अगाडि बढाए। उनले सूर्य, चन्द्रमा र अन्य ग्रहहरूको गतिलाई अभेलिखीकरण पनि गरिरहे र यसप्रकारका २७ अध्ययन सन् १४९७ देखि १५२९ को बीचमा प्रकाशित गराए।
कोपरनिकसले पृथ्वीलाई ब्रम्हाण्डको केन्द्रबाट बाहिर निकाले अर्थात् उनले हेलियोसेन्ट्रिजम मोडललाई लागू गरे। योभन्दा पहिले एरिस्टोटलको पृथ्वी केन्द्रित सिद्धान्तलाई मानिन्थ्यो। सन् १५३० मा कोपरनिकसको पुस्तक De Revolutionibus प्रकाशित भएको थियो। यसमा उनले पृथ्वी आफ्नो अक्षमा घुम्दै एक दिनमा चक्कर पूरा गर्दछ र एक वर्षमा सूर्यको परिक्रमा पूरा गर्दछ भन्ने कुरा उल्लेख गरे। कोपरनिकसले ताराहरूको पोजिसन पत्ता लगाउनको लागि प्रूटेनिक टेबल्स (prutenic tables) को रचना गरे। यो अन्य खगोलविदहरूको बीचमा धेरै प्रसिद्ध भयो। कोपर्निकसले आफ्नो पुस्तकमा अन्तरीक्षको बारेमा सात नियम अंकित गरेका छन्, जसानुसार – i) सबै खगोलीय पिण्ड कुनै एक निश्चित केन्द्रको वरिपरि घुम्दैनन्। ii) पृथ्वीको केन्द्र ब्रम्हाण्डको केन्द्र होइन, त्यो केवल गुरूत्व र चन्द्रमाको केन्द्र हो। iii) सबै गोलाकार (आकाशीय पिण्ड) सूर्यको वरिपरि चक्कर लगाउँदछन्; यसकारण सूर्य ब्रम्हाण्डको केन्द्र हो (यो सिद्धान्त पछि असत्य सावित भयो)।iv) पृथ्वीको सूर्यबाट दूरी पृथ्वीको आकाशको सीमाबाट दूरीको तुलनामा धेरै कम छ। v) आकाशमा जुन गति देखिन्छ त्यो वास्तवमा पृथ्वीको गतिको कारण हो (आंशिक सत्य)। vi) हामीले देख्ने सूर्यको गति वास्तवमा पृथ्वीको गति हुन्छ। vii) हामीले देख्ने जुनसुकै ग्रहहरूको गतिको पछाडि पृथ्वीको गति नै जिम्मेवार हुन्छ। विशेष कुरा के छ भने कोपरनिसकले यी निष्कर्ष कुनै यन्त्रको प्रयोगबिना नै निकालेका थिए। कोपरनिकसले पहिले बुध, शुक्र तथा पृथ्वी (चन्द्रमासहित) को परिक्रमालाई बुझाए। यसपछि दोस्रो खण्डमा उनले मंगल, बृहस्पति तथा शनिको परिक्रमालाई बुझाए। यसपछि उनले ती गणितीय सूत्रहरूलाई बुझाए, जसबाट उनको अवधारणाको सत्यापन गरिएको थियो। पछिको खण्डमा चन्द्रमा र अन्य पिण्डहरूको व्याख्या गरेका थिए। उनले के कुरा पनि प्रमाणित गरिदिए भने ब्रम्हाण्ड धेरै ठूलो छ र तारा यति टाढा छन् कि पृथ्वीको परिक्रमा गर्दा तिनीहरूको स्थितिमा आवृतीय परिवर्तन हुँदैन। उनी घण्टौंसम्म नाङ्गो आँखाले अन्तरीक्षलाई नियाल्ने गर्दथे र गणितीय गणनाद्वारा सही निष्कर्ष प्राप्त गर्ने कोशिस गरिरहन्थे। ग्यालिलियोले दूरदर्शी यन्त्रको आविष्कार गरेपछि कोपरनिकसका निष्कर्षहरूको पुष्टि भएको थियो। खगोलशास्त्रीका साथै कोपरनिकस गणितज्ञ, चिकित्सक, कलाकार, न्यायाधीश, अनुवादक, सैन्य नेता, गभर्नर र अर्थशास्त्री पनि थिए। उनले मुद्रामा अनुसन्धान गरेर ग्रेशमको प्रसिद्ध नियमलाई स्थापित गरेका थिए। उनले मुद्राको संख्यात्मक सिद्धान्तको सूत्र दिएका थिए। २४ मई १५४३ मा पोल्याण्डमा उनको मृत्यु भयो।
जोहान्स गुटेनबर्ग (johannes gutenberg) र उनको आविष्कार
गुटेनबर्गको जन्म सन् १४०० आसपास रोमन साम्राज्यमा भएको थियो। उनी एक आविष्कारक, मुद्रक, प्रकाशक र स्वर्णकार थिए। गुटेनबर्ग एक व्यापारीका पुत्र थिए। उनका पिता मेन्जमा आर्कबिशपद्वारा चलाउने टकसारमा काम गर्थे र उनको काम धातुमा छपाई वा नक्सांकन गर्नु थियो। बालककालदेखि नै उनले यो सबै काम देखेका थिए। पछि उनका पिताले टकसारको काम छोड्नुपरेको थियो र उनीहरू स्ट्रासबर्ग गए। यसपछि उनले पत्थरलाई चम्काउने कला, सुनका आभुषण बनाउने र काँचलाई इच्छित आकृतिको साँचो बनाउने विशेषज्ञता प्राप्त गरे। यो ज्ञानको आधारमा गुटेनबर्गले आफ्नो आविष्कारको विकास गर्ने कुरा सोचे। गुटेनबर्गले स्ट्रासबर्गमा एउटा साथीसँग मिलेर पहिले धातुको मेल्ड तयार गर्ने कारोबार गरे र त्यसपछि छपाईको कला पनि विकास गरे। यी सबै काम उनले अति गोप्य रूपमा गरेका थिए। सन् १४४३ मा गुटेनबर्ग मेन्ज फर्किए र त्यहाँ आफ्नो कार्यशाला शुरू गरे। त्यसपछि उनले छपाईको काम शुरू गरे। उनको उद्देश्य बाइबलका सुन्दर प्रतिहरू बनाउनु थियो। तर यसको लागि उनलाई पैसा आवश्यक पर्यो। त्यसपछि सन् १४४९ मा जोहान फस्ट नामको वकिल यसमा लगानी गर्न आयो। पहिले उसले कुनै सम्झौता बिना नै पैसा दियो तर दोस्रो पटकबाट भने सम्झौताका साथै मुनाफामा भाग खोज्यो। यसो नभएको हुँदा उसले पूरा पैसा एकैपटक फिर्ता गर्न दबाव दियो। यता गुटेनबर्गले छपाईको काम विकास गरिरहे र यसमा हरेक अक्षरको लागि एक विशेष मोल्ड बनाए। यी मोल्डहरूलाई जोडेर शब्द र वाक्य बनाइन्थ्यो। सम्पूर्ण पृष्ठको छपाईपछि तिनीहरूलाई अलग-अलग नयाँ पृष्ठ बनाउन सकिन्थ्यो। वकिल फस्टको धम्कीको कुनै चिन्ता नगरी गुटेनबर्गले बाइबलका प्रतिहरू छापिरहे। अन्ततः फस्टले अदालतमा मुद्दा दियो र गुटेनबर्गले ब्याजसहित पैसा फिर्ता गर्नुपर्ने भयो। यो संभव नभएपछि उनको सबै कार्यशाला, सरसामान र बाइबलका प्रतिहरूसमेत फस्टले लियो र उसैले छपाइ कार्य शुरू गर्यो। गुटेनबर्गले नयाँ ढंगले फेरि काम शुरू गरे। उनले सन् १४६० मा ल्याटिन डिक्सनरी छापे र यसबाट प्रसिद्धि प्राप्त गरे। तर गुटेनबर्गले आफ्नो जीवनमा कहिल्यै सुख पाएनन्। उनले कहिले साझेदारबाट र कहिले कुनै स्त्रीबाट मुद्दा खेपिरहनुपर्यो। सन् १४६२ मा उनलाई आर्कबिशपले बोलाएर सरकारी पद दिएका थिए। उनी छपाईको कामबाट वाक्क भइसकेका थिए, जसले गर्दा उनी त्यता फर्किएनन् । सरकारी पदमै रहेको बेला ३ फेब्रुअरी १४६८ मा उनको मृत्यु भयो। उनले आफ्नो यान्त्रिक मुद्रण यन्त्रबाट युरोपमा छपाइको शुरूवात गरेका थिए। उनको कार्यले युरोपमा मुद्रण क्रान्तिको शुरूवात गरेको थियो। यसलाई दोस्रो सहस्राब्दीको एक कोशेढुंगा मानिन्छ। यसबाट मानव इतिहासमा आधुनिक इतिहासको शुरूवात हुन्छ। यसले पुनर्जागरण, युरोपीय धर्मसुधार, युरोपीय ज्ञानोदय र वैज्ञानिक क्रान्तिको विकासमा महत्त्वपूर्ण भूमिका निभायो। यसको साथै यसले आधुनिक ज्ञानको अर्थव्यवस्थाको लागि भौतिक आधार र ज्ञानको विकासमा महत्त्वपूर्ण भूमिका निभायो।
थोमस सेभरी (Thomas Savery) र उनको आविष्कार
थोमस सेभरीको जन्म सन् १६५० मा इंग्ल्याण्डको शिल्स्टोनमा भएको थियो। उनी एक आविष्कारक र इन्जिनियर थिए। उनी पानी निकाल्न सक्षम प्रथम वाफको इन्जिनको आविष्कारक थिए। यसलाई प्रायः सेभरी पम्प भनिन्छ। उनी एक सैन्य इन्जिनियर बनेका थिए र सन् १७०२ सम्ममा कप्तानको पदमा पुगेका थिए। सन् १६९६ मा उनले काँच र संगमरमरलाई चम्काउने मेशिन बनाए। उनले सन् १६९४ देखि १७१० को बीचमा धेरै आविष्कारको पेटेन्ट अधिकार प्राप्त गरेका थिए। यिनीहरूमध्ये एक खानीबाट पानी निकाल्ने पम्प थियो, जसलाई खानी कर्मीहरूको मित्रको रूपमा सन् १६९८ मा पहिलो पटक पेटेन्ट प्राप्त भएको थियो र यो ३५ वर्षसम्म चल्यो। यो पम्प शहरी इलाकामा पानी आपूर्ति गर्नमा सक्षम थियो र कारखानामा पनि धेरै उपयोगी थियो। यसमा उच्च दबावयुक्त बोयलरबाट एक सिलिण्डर जोडिएको थियो। सिलिण्डरको पनि वाफलाई चीसो बनाउनको लागि अलग्गै व्यवस्था गरिएको थियो। यो इन्जिन त्यति धेरै व्यावहारिक सिद्ध भएन र धेरै कम मात्र पम्म लगाइए। शुरूमा सन् १७०२ मा थोमस सेभरीले यी इन्जिनहरूको निर्माणको लागि कार्यशाला बनाएका थिए। सन् १७०५ मा उनी रोयल सोसाइटीका फेलो चुनिए। पछि उनलाई हल्याण्डको युद्धमा घाइते नौसैनिकहरूको हेरविचार गर्ने जिम्मा दिइयो। यो जिम्मेवारी उनले सन् १७१४ सम्म निर्वाह गरे। यसपछि उनी जलसम्बन्धी कार्यको लागि सर्वेयर भए। पछि थोमस सेभरीका आविष्कारलाई थोमस न्यूकोनमेनले अगाडि बढाए । १५ मई १७१५ मा सेभरीको लण्डनमा मृत्यु भयो।
चार्ल्स बाबेज (Charles Babbage) र उनको आविष्कार
चार्ल्स बाबेजको जन्म २६ डिसेम्बर १७९१ मा लण्डनमा भएको थियो। उनी गणितज्ञ, दार्शनिक, आविष्कारक र मेकानिकल इन्जिनियर थिए। उनका पिता बेन्जामिन लण्डनमा बैंकर थिए। उनले आधुनिक ‘डिजिटल प्रोगामएबल कम्प्युटर’ अवधारणाको विकास गरेका थिए। चार्ल्स बाबेजले धेरै जटिल डिजाइनमा यान्त्रिक कम्प्युटरको विकास गरेकोले उनलाई कम्प्युटरको पिता भनिन्छ। आधुनिक कम्प्युटरको अवधारणा बाबेजको ‘एनालिटिकल इन्जिन’ मा पाइन्छ। उनले आफ्नो समयमा धेरै लोकप्रियता र सम्मान प्राप्त गरेका थिए। बाबेजले आफ्नो शुरूवाती शिक्षा घरबाट नै प्राप्त गरेका थिए। अक्टोबर १८१० मा उनी ट्रिनिटी कलेज क्याम्ब्रिजमा भर्ना लिए। समकालीन गणितका केही भागहरूमा पनि उनी अध्ययन गर्ने गर्थे। उनी रोबर्ट वुडहाउस, यूसुफ लुइस ल्यांग्रेन्ज र मेरी एंग्नेसीका कृतिहरू पढ्ने गर्थे। तर उनलाई क्याम्ब्रिजमा उपलब्ध मानक गणितीय शिक्षामा निराशा भयो । त्यसपछि सन् १८१२ मा बाबेज, जोन हर्स्चेल, जर्ज मयूर र अरू धेरै साथीहरू मिलेर ‘एनालिटिकल सोसाइटी’ को गठन गरे। आफ्नो प्रतिष्ठालाई ध्यानमा राख्दै बाबेजले छिट्टै प्रगति गरे। उनले सन् १८१५ मा ‘रोयल इन्स्टिच्यूसन’ मा खगोल विज्ञानमाथि प्रवचन दिए र सन् १८१६ मा ‘रोयल सोसाइटी’ को सदस्य चुनिए। स्नातक गरेपछि उनले जागिरको लागि केही ठाउँमा आवेदन दिए। यही बेला बाबेज, हर्स्चेल र पीककले सिल्भेस्ट्रे ल्याक्रोइक्सको व्याख्यानलाई फ्रेन्चबाट अनुवाद गरे, जुन त्यसबेलाको अत्याधुनिक क्यालकुलसको पाठ्यपुस्तक थियो। सन् १८१९ मा विभिन्न गणितज्ञ र भौतिकवादीहरूसँग भेट गरे। नेभिगेसन, विज्ञान र इन्जिनियरिङमा उपयोगको लागि बाबेज युगमा गणितीय तालिकाहरू महत्त्वपूर्ण थिए, तिनीहरूलाई हातबाट गणना गरिन्थ्यो र त्यसपछि टेवलमा संकलित गरिन्थ्यो। गल्तीहरूलाई कहिलेकाहीँ गणनामा वा तालिकाहरूको संकलनमा बनाइन्थ्यो। यही पृष्ठभूमिमा बाबेजले गणना गर्नसक्ने, सटिक र धनको बचत गर्नसक्ने एक यान्त्रिक डिभाइस डिजाइन गर्ने फैसला गरे। बाबेजले सन् १८१९ मा गणना इन्जिनको आफ्नो पहिलो सानो मोडल बनाउन शुरू गरे र यो सन् १८२२ मा पूरा भयो। यसलाई गणितीय सिद्धान्तपछि अन्तर इन्जिन भनिन्थ्यो। बाबेजले सन् १८२० मा ‘रोयल एन्ट्रोनोमिकल सोसाइटी’ को स्थापनामा महत्त्वपूर्ण भूमिका निभाएका थिए, जसलाई शुरूमा ‘एस्ट्रोनोमिकल सोसाइटी अफ लण्डन’ को नामले जानिन्थ्यो। यसको मूल उद्देश्य खगोलीय गणनाहरूलाई बढी मानक रूपमा ल्याउनु र डाटा प्रसारित गर्नु थियो। यी निर्देशन गणनामा बाबेजका विचारसँग निकटतापूर्वक जोडिएका थिए। सन् १८२४ मा उनले गणितीय र खगोलीय तालिकाहरूको गणना गर्न एक इन्जिनको आविष्कारको लागि स्वर्ण पदक जिते। सन् १८२५ मा बाबेजले हेर्स्चेलसँगै प्रकाशित कार्य Electrodynamics of Arago’s rotation माथि काम गरे। सन् १८२८ देखि १८३९ सम्म बाबेज क्याम्ब्रिजमा गणितका प्रोफेसर थिए। सन् १८३२ मा उनलाई ‘अमेरिकन एकेडेमी अफ आर्ट्स एण्ड साइन्सेज’ को विदेशी मानार्थ सदस्य चुनियो। सन् १८५६ मा बाबेजको ‘पेपर अन टेबल्स अफ द कन्स्टेन्ट्स अफ नेचर एण्ड आर्ट’ लाई पुनमुद्रित गरिएको थियो। बाबेजले बनाएको कम्प्युटर मेशिन धेरै ठूलो थियो त्यसकारण त्यसबाट काम लिन धेरै कठिन थियो। शुरूमा त्यसलाई डिफरेन्स इन्जिन भनियो र त्यसलाई केही सुधार गरेपछि पछि त्यसको नाम विश्लेषक इन्जिन रह्यो। यही नै वास्तविक प्राथमिक कम्प्युटर थियो। बाबेज जीवनभरी आफ्नो मेशिनलाई आधुनिक बनाउने कोशिसमा लागिरहे तर सफल हुनसकेनन् र एक निराश व्यक्तिको रूपमा उनको मृत्यु १८ अक्टोबर १८७१ मा लण्डनमा भएको थियो।
फ्रान्सिस्को मारिया ग्रिमाल्डी (Francesco Maria-Grimaldi) र उनको आविष्कार
ग्रिमाल्डीको जन्म २३ अप्रिल १६१८ मा इटलीको बोलग्नामा भएको थियो। उनले प्रकाशको विवर्तन (diffraction of light) प्रक्रियाको खोज गरेका थिए। उनी गणितज्ञ र भौतिक वैज्ञानिक थिए। १४ वर्षको उमेरबाट उनले चर्चमा शिक्षा प्राप्त गरेका थिए। शिक्षा पूरा गरेपछि उनी १६३७ मा बोलोग्ना फर्किए। सन् १६४५ मा एक पादरीको रूपमा उनको पढाई पूरा भएको थियो। सन् १६४८ मा बोलोग्नाको एक कलेजमा गणितको प्राध्यापक नियुक्त भए। त्यहाँ उनले पादर गिलोभामी रिसियोलीको सहायकको रूपमा काम गर्ने अवसर पाए। त्यसबेला रिसियोली त्यही कलेजमा खगोलशास्त्रको अध्यक्ष थिए। उनी खगोलशास्त्र सम्बन्धी अनेकौं अनुसन्धानमा सक्रिय थिए। उनका अनुसन्धानहरू सन् १६५१ मा पुस्तकको रूपमा प्रकाशित भएको थियो। ग्रिमाल्डी उनीबाट धेरै प्रभावित भए र अनेक मापन सेकेण्ड पेण्डुलमहरूको लम्बाई निर्धारित गर्नमा उनलाई साथ दिए। त्यसपछि उनले ग्यालिलियोको पदार्थ तल झर्ने सम्बन्धी नियम तथा चन्द्रमाको अवलोकनसँग सम्बन्धित परिणाहरूको सत्यापनमा पनि कार्य गरे। ग्रिमाल्डीले चन्द्रमाको सतहको एक नक्सा पनि तयार गरे। उपर्युक्त अनुभवबाट ग्रिमाल्डी एक उत्कृष्ट प्रयोगकर्ता वैज्ञानिक बने र उनले दुई महत्त्वपूर्ण खोज गरे। शरीरक्रिया विज्ञानमा उनले मांशपेशी संकुचित हुँदा हल्का ध्वनि उत्पन्न हुने कुरा पत्ता लगाए। भौतिक विज्ञानमा उनले अप्टिक्स सम्बन्धी धेरै मौलिक प्रयोग गरे। उपर्युक्त प्रयोगहरूमध्ये एकमा उनले एउटा अध्यारो कक्षमा सूर्यको प्रकाशलाई आउन दिए। यसको लागि उनले एउटा अन्यन्तै सूक्ष्म छिद्र बनाए। यसरी जुन किरण भित्र आए, तिनीहरूलाई एक अन्य साँघुरो छिद्रबाट पठाए र एक झिल्ली लगाए। यसरी चलिरहेको प्रकाशलाई उनले सेतो पर्दामा उतारेपछि के पाए भने सीधा रेखामा हिड्ने प्रकाशले बढी स्थान लिएको थियो। त्यसबेलासम्म ज्यामितीय अप्टिक्सको ज्ञान अनुसार यो एक ठूलो घटना थियो। अब उनले एउटा अर्को प्रयोग पनि गरे। यसमा उनले एउटा पातलो अपारदर्शी पदार्थलाई किरणको मार्गमा राखे र त्यसको छायाँ हेरे। यो छायाँमा उनले स्पष्ट रेखाहरू देखे र प्रकाश सीधा, परावर्तन र अपवर्तनको अतिरिक्त अन्य रूपबाट पनि अघि बढेको देखे। यो नै प्रकाशको विवर्तन भएको कुरा थाहा भयो। त्यसबेला यो धेरै ठूलो खोज थियो। पछि उनले आफ्ना अनुभवहरूलाई पुस्तकाकार दिने प्रयास गरे। तर उनको अल्पायुमै निधन भयो। उनको रचना उनको मृत्युपछि सन् १६६५ मा प्रकाशित भएको थियो। पछि न्युटनले यही पुस्तकको आधारमा धेरै प्रयोगहरू गरे र ग्रिमाण्डीको सिद्धान्तको पुष्टि गरे। २८ डिसेम्बर १६६३ मा उनको बोलोग्नामा निधन भयो।
क्रमशः
संसारका केही प्रख्यात वैज्ञानिक र तिनीहरूका आविष्कारको संक्षिप्त अध्ययन-१
संसारका केही प्रख्यात वैज्ञानिक र तिनीहरूका आविष्कारको संक्षिप्त अध्ययन-२
संसारका केही प्रख्यात वैज्ञानिक र तिनीहरूका आविष्कारको संक्षिप्त अध्ययन-३
संसारका केही प्रख्यात वैज्ञानिक र तिनीहरूका आविष्कारको संक्षिप्त अध्ययन-४
Leave a comment