संसारका केही प्रख्यात वैज्ञानिक र तिनीहरूका आविष्कारको संक्षिप्त अध्ययन-४

निकोला टेस्ला  (Nikola Tesla) र उनको आविष्कार

निकोला टेस्लाको जन्म १० जुलाई १८५६ मा क्रोएशियाको स्मिल्जनमा भएको थियो । उनी आविष्कारक, भौतिक वैज्ञानिक, मेकानिकल इन्जिनियर र विद्युत अभियन्ता थिए। उनी आजीबन निरन्तर वैज्ञानिक अनुसन्धान र आविस्कारमा तल्लीन भए । विभिन्न उतारचढाव र विवादका बाबजुद पनि उनको वैज्ञानिक अनुसन्धानको यात्रा रोकिएन । उनको नाममा ६ सय भन्दा बढी अनुसन्धान र आविस्कारका पेटेन्टहरू छन्। सन् १८७५ मा टेस्ला उच्च शिक्षा अध्ययनका लागि अस्ट्रिया गए । त्यहाँको ग्रेजस्थित पोलिटेक्निक इन्स्टिच्युटमा मेकानिकल र विद्युतीय इन्जिनियरिङको अध्ययन गरे । पारिवारिक समस्याका कारण उनले  सन् १८७८ मा पढाइ बीचमै छोड्नुपरेको थियो । सन् १८७९ मा पिताको निधनपछि टेस्ला गोस्पिक फर्किए । त्यसपछि पहिले आफू पढेको विद्यालयमा केही समय पढाए । पछि १८८१ मा उनी हँगेरीको बुढापेस्ट गएर त्यहाँको केन्द्रीय टेलिफोन एक्सचेन्ज अफिसमा काम गर्न थाले । त्यहाँ काम गर्दै गर्दा उनको दिमागमा चुम्बकीय क्षेत्रको परिभ्रमण सम्बन्धी बिल्कुलै नयाँ विचार आयो र त्यो विचारलाई मूर्तरूप दिन उनले अमेरिका जाने निर्णय गरेका थिए । सन् १८९६ मा  टेस्लाले संसारको पहिलो हाइड्रोइलेक्ट्रिक पावर प्लान्ट बनाए । यसले न्यूयोर्कको बफेलो शहरमा बिजुली बाल्यो। यो आविष्कारले उनलाई छोटो समयमा धेरै प्रसिद्ध बनायो। सन् १८९९ देखि १९०० को बीचमा टेस्लाले कोलोराडोमा रहेको आफ्नो प्रयोगशालामा बिजुली र रेडियो फ्रिक्वेन्सी चुम्बकीय तरंगहरू प्रयोग गर्ने कामलाई निरन्तरता दिए। सन् १९०० उनले फाइनान्सर जेपी मोर्गनको समर्थनमा  लङ आइल्याण्ड, न्यूयोर्कमा  वायरलेस प्रसारण प्रणाली टावरको निर्माण सुरु गरेका थिए। यो टावर निर्माण गर्नुको उद्देश्य टेलिफोन र टेलिग्राफ सेवाहरू जडान गर्नुका साथै छवि, रिपोर्ट, र मौसमसम्बन्धी जानकारीहरू संसारका हरेक कुनामा प्रसारण गर्नु थियो। टेस्लाको थोमस एडिसनका आविष्कारहरूमा धेरै योगदान रहेको छ। उनी एडिसनसँग रहँदा एडिसनले उनको महत्त्वलाई नजरअन्दाज गरेका थिए तर पछि एडिसनले आफ्नो यो गल्तीलाई सार्वजनिक रूपमा स्वीकार गरे।

के भनिन्छ भने टेस्लाले पृथ्वीलाई प्रकाशले सजाए। उनले विद्युत तथा चुम्बकका क्षेत्रमा अनेकौं क्रान्तिकारी आविष्कार गरे। उनले विद्युत वितरणको आधुनिक प्रणाली अर्थात् एसी पावर सिस्टम, एसी मोटरको आविष्कार जस्ता धेरै आविष्कार गरे। शुरूमा केही कम्पनीमा काम गरेपछि टेस्लाले पेरिसमा कन्टिनेन्टल एडिसन कम्पनीमा काम गर्नथाले। यही बीचमा उनले केही अलग प्रकारका डाइनामोको विकास गरे। पछि उनले अमेरिकी महान आविष्कारक थोमस एल्भा एडिसनसँग काम गर्ने मौका मिल्यो र उनी अमेरिका गए। एडिसनसँग काम गर्दै उनले कम्पनीलाई नयाँ उचाइमा पुर्याए, तर पछि उनीहरूमा विवाद भयो, जुन ठूलो परिमाणमा विद्युत वितरणलाई लिएर भएको थियो। त्यसबेला अमेरिकामा एडिसनले आविष्कार गरेको डिसी वितरण व्यवस्था लागू थियो। डीसी अर्थात डाइरेक्ट करेन्ट भनेको हमेशा एकै दिशामा विद्युत बहने विद्युत धारा हो। टेस्लाले डीसीको कमीतर्फ मानिसको ध्यान आकर्षित गरे र एसी विद्युत वितरण व्यवस्था लागू गर्ने कुरा गरे। एसी अर्थात् अल्टरनेटिभ करेन्टले लगातार आफ्नो दिशा बदलिरहन्छ। यो धाराको के विशेषता हुन्छ भने यसको भोल्टेज ट्रान्सफर्मरद्वारा बढाएर धेरै टाढासम्म पठाउन सकिन्छ। तर डीसीमा यो संभव हुँदैन। यसको साथै एसी चालित मोटर र अन्य उपकरणमा पनि डीसीको भन्दा कम बिजुली खर्च हुन्छ। एडिसनसँग विवाद भएपछि उनले त्यो कम्पनी छोडेर जर्ज वेस्टिंग हाउससँग मिलेर नयाँ कम्पनी बनाए। यसले एसी करेन्टको उपयोगितालाई संसारको सामु राखिदियो। टेस्लाले चक्रीय चुम्बकीय क्षेत्र सिद्धान्तको पनि खोज गरे। उनको एक महत्त्वपूर्ण आविष्कार एसी विद्युत मोटर (AC Electric Motor) हो। यसले डीसी विद्युत प्रणालीलाई पूर्ण रूपमा सीमामा ल्याइदियो। उनले नियाग्रा फल्समा पहिलो जलविद्युत पावर स्टेशन तयार गरे। त्यसपछि अमेरिकाले मात्र होइन, संसारले नै एसी विद्युत वितरण सिस्टमलाई स्वीकार गर्यो। मार्कोनीलाई रेडियोको आविष्कारक मानिन्छ तर यो आविष्कारमा टेस्लाको पनि महत्त्वपूर्ण योगदान रहेको छ। उनैले वायुमण्डलको बाहिरी आयनमण्डलबाट भएर रेडियो तरंगलाई सम्पूर्ण संसारमा पठाउन सकिन्छ भन्ने सिद्धान्त दिएका थिए। उनले रेडियोमा प्रयोग हुने टेस्ला रडको पनि आविष्कार गरे। रेडियो खास आविष्कार को हो भन्ने विषयलाई लिएर उनको मारकोनीसँग धेरै लामो मुद्दा पनि चलेको थियो। उनले वायरलेस पावर सप्लाइको विचार दिए, जुन पछि लेजर किरणको आधार बन्यो। आफ्नो एक प्रजेन्टेसनमा उनले लाखौं भोल्ट आकाशीय विजुली बनाएर  सबैलाई अचम्मित पारेका थिए। एकपटक उनले आफ्नो उपकरण टेस्लाकोपमा केही अज्ञात सिग्नल रेकर्ड गरे, जुन उनका अनुसार अर्को ग्रहबाट आइरहेका थिए। भौतिकशास्त्रमा चुम्बकीय क्षेत्रको इकाईलाई उनको नाममा टेस्ला राखिएको छ। ७ जनवरी १९४३ मा  अमेरिकाको न्यूयोर्कको एक होटलमा उनको मृत्यु भयो।

टाइको ब्राहे (Tycho Brahe) र उनको आविष्कार

टाइको ब्राहेको जन्म १४ डिसेम्बर १५४६ मा डेनमार्कको नुडस्टूपमा भएको थियो। उनलाई दूरबीनको आविष्कार भन्दा पहिले खगोगशास्त्रीमा श्रेष्ठ मानिन्थ्यो। उनी डेनमार्कको एक कुलीन परिवारमा जन्मिएका थिए। उनले १३ वर्षको उमेरमा कोपनहेगनमा कानूनको शिक्षा लिएका थिए। सन् १५६२ देखि १५६५ सम्म टाइको ब्राहेले लिपजिगमा कानूनी शिक्षा पढे। उनले खगोलशास्त्रको अध्ययन पनि स्वयं नै गरेका थिए। उनले सन् १५७० देखि १५७२ सम्म ओग्सबर्गमा रसायनशास्त्रको अध्ययन गरे। यही बीचमा उनले आफ्ना मामाकोमा एक प्रयोगशाला बनाए। यही बेला एक खगोलीय घटना (ताराको विष्फोट) भयो। त्यसपछि आफ्नो प्रयोगशालाबाट टाइकोले यो घटनालाई ११ नोभेम्बर १५७२ मा हेरे र यसको वर्णन उनले आफ्नो पहिलो रचनामा गरे। विस्फोटपछि ताराको स्थितिको वर्णन पनि उनले आफ्नो पहिलो रचनामा गरे। उनले पछि पनि यही विषयमा अनुसन्धान गरिरहे र उनको मुख्य रचनामा पनि यो घटनाको उत्कृष्ट ढंगले वर्णन गरिएको छ। पछि टाइकोले राजकीय आदेशमा कोपनहेगनमा खगोलशास्त्र सम्बन्धी व्याख्यानको एक श्रृंखला दिए। यसकारण सन् १५७५ सम्ममा उनी सम्पूर्ण जर्मनीका खगोलशास्त्रीहरूका बीचमा प्रख्यात भएका थिए। पछि उनलाई डेनमार्कका राजाले जीवनभरीको लागि पेन्सन र वीन नामको एक द्वीप नै दिए। यो द्वीपमा उनले आफ्रनो प्रयोगशाला बनाए। डेनमार्कमा पछि भएका राजाले पेन्सन र द्वीपमाथिको सम्पूर्ण अधिकार खोसे। तर टाइकोले आफ्नो सबै समय खगोलीय अध्ययन अनुसन्धानमा नै बिताए।

टाएको ब्राहेसँग धेरै प्रकारका खगोलीय अध्ययनका उपकरण थिए। उनी स्वयंलले धेरै उपकरण निर्माण गराएका थिए र हरेक प्रकारका उपकरणहरूको निर्माणमा काठ, पित्तल, फलाम, आदिको प्रयोग हुन्थ्यो। तिनीहरूमध्ये एउटा ठूलो क्वारडेन्ट थियो। यसलाई उनी आफ्नो आविष्कार बताउँथे। उनले निरीक्षण गरेका उनका शुद्धताका आधारहरूमा बढी परिणामको औसत र आफ्ना उपकरणमा ट्रान्सभर्स स्केलको डाइभर्सनको प्रावधान थिए। उपर्युक्त कारणले मापनका त्रुटीहरू र वायुमण्डलको अपवर्तनको कारण  अशुद्धिहरूको प्रभाव धेरै हदसम्म समाप्त हुन्थ्यो। उनले आफ्ना उपकरणहरूको डिजाइन अशुद्धि आधा मिनेट चापभन्दा बढी नहुनेगरी बनाएका थिए। उनी यसमा पनि सन्तुष्ट थिएनन् र सुधारको लागि विभिन्न उपाय गरिरहन्थे। उनी काम गर्ने परम्परागत तरीकामा निर्भर हुँदैनथे। उनले चन्द्रमाको गतिको लगातार लामो अवलोकन गरे। यसकारण उनले यसको परिक्रमा अवधिमा असमानता देखे। उनले धूम्रकेतुको पनि गहन अध्ययन गरे। उनले आफ्नो समयको खगोलीय तालिकाहरूमा गल्ती निकाले र तिनीहरूबाट धेरैको संशोधन पनि गरे। उनले यसबेला सौर्यमण्डलको जुन मोडेल प्रस्तुत गरेका थिए, त्यसमा पृथ्वीलाई ब्रम्हाण्डको केन्द्र देखाएका थिए। सन् १५८४ मा प्रस्तुत यो मोडेलमा सूर्यले पृथ्वीको परिक्रमा गर्ने कुरा देखाइएको थियो र अन्य ग्रहले सूर्यको परिक्रमा गर्ने देखाइएको थियो। टाइकको ब्राहे कोपरनिकसको सूर्यकेन्द्रित ब्रमहाण्ड सिद्धान्तलाई मान्दैनथे र आफ्नो मोडल टाइकोनिक प्लानेटरी सिस्टमलाई सत्य मान्थे। लामो समय बन्दी भएपछि सन् १५९७ मा टाइको डेनमार्कबाट निक्लिए। सन् १५९९ मा प्राग पुगेपछि त्यहाँ उनले काम गर्नको लागि एक महल र पेन्सन प्राप्त गरे। सन् १६०० मा जोहान्स केपलरसँग मिलेर काम गर्नथाले। २ वर्षपछि नै टाइको ब्राहेको मृत्यु भएपछि उनको सबै काम केपलरले सम्हाले। २४ अक्टुबर १६०१ मा उनको मृत्यु भएको थियो।

जोन बाप्टिस्ट भान हेलमोन्ट (Jan Baptist van Helmont) र उनको आविष्कार

हेलमोन्टको जन्म १२ जनवरी १५८० मा बेल्जियमको ब्रसेल्समा भएको थियो। उनी रसायनशास्त्री र चिकित्सक थिए। उनी पहिलो पटक ग्यास शब्दको उपयोग गर्ने व्यक्ति थिए। उनी एक कुलीन परिवारमा जन्मिएका थिए। उनको शिक्षा लोभेन विश्वविद्यालयमा सम्पन्न भएको थियो र त्यहाँ उनले धर्म र दर्शनको शिक्षा प्राप्त गरेका थिए। पछि उनको रूचि चिकित्साशास्त्रमा जाग्यो र उनले सन् १६०९ मा त्यसमा एमडीको उपाधि लिए। उनले प्रकृति विज्ञानको पनि गहन अध्ययन गरे र यूरोपका विभिन्न भागहरूको लामो-लामो यात्रा गरे। उनका विचार र अनुसन्धान क्रान्तिकारी थिए। आफ्ना प्रारम्भिक प्रकाशनहरूको कारणले नै उनको क्याथोलिक चर्चसँग विवाद भयो। त्यसकारण उनका बाँकी अनुसन्धान प्रकाशित हुन पाएनन्। हेलमोन्ट मुख्यतः चिकित्सक थिए। उनले पेरासेल्ससको शिष्य बन्नुभन्दा पहिले ग्यालेन नामक प्राचीन चिकित्सकका कार्यहरूको गहन अध्ययन गरेका थिए। चिकित्साशास्त्र सम्बन्धी आफ्नो अनुसन्धानको आधारमा उनले पेटमा रहेको अम्लले पाचनक्रियामा महत्त्वपूर्ण भूमिका निभाउँछ भन्ने कुरा स्पष्ट पारे। यसरी नै उनले दम र अन्य श्वास सम्बन्धी रोगहरूलाई बुझ्ने प्रक्रियामा महत्त्वपूर्ण योगदान दिए। उनले मूत्रको भार सम्बन्धी विश्लेषण गरे।

हेलमोन्टले तराजुको माध्यमबाट पदार्थलाई नष्ट गर्न सकिंदैन भन्ने कुरा सिद्ध गरे। उनले पहिले धातुलाई अम्लमा घोले र त्यसपछि पुनः शुद्ध रूपमा प्राप्त गरे। यस प्रक्रियामा उनले के सिद्ध गरे भने त्यसको भारमा कुनै कमी छैन। हेल्मोन्टले प्रकृतिका सबै चीज जल र वायुबाट बनेको कुराको परिकल्पना गरे। यस सम्बन्धमा उनले अनेकौं प्रयोग पनि गरेका थिए। उनको मान्यता अनुसार वनस्पति जल तथा वायुको संगमबाट उब्जिन्छ। वनस्पतिलाई जलाएपछि खरानी बन्छ र माटो जस्तै हुन्छ। त्यसकारण माटो मौलिक तत्व होइन। आफ्ना अवधारणाहरूलाई सिद्ध गर्नका लागि उनले धेरै प्रयोग गरे। उनले ६२ पाउण्ड कोइला जलाए, जसबाट १ पाउण्ड मात्र खरानी प्राप्त भयो। बाँकी वायुमा मिल्यो र यसरी उनले ग्यास शब्दको पहिलो पटक प्रयोग गरे। यो ग्यास शब्द उनले ग्रीक शब्द चाओसबाट लिएका थिए। ग्यासको विशिष्टता खोज्दै उनले के बताए भने अल्कोहल र कार्बनिक पदार्थ जलाएपछि बियर वा मदिराको रासाइनिकीकरण, चुना र चट्टानमा अम्लको प्रतिक्रियाबाट तथा केही झरनाको पानीबाट पनि निक्लिन्छ। उनले अलग-अलग ग्यासहरूको पहिचान गर्ने प्रयास गरेका थिए र ग्यास दहनशील हुन्छ भन्ने बुझेका थिए। तर उनीसँग यी सबै गुणहरू दर्शाउनको लागि उपकरण थिएनन् र पछि जोसेफ प्रिस्टले यो कार्य गरेर देखाए। उनले यदि कुनै ममबत्तीलाई कुनै बन्द भाँडोमा जलाइयो भने वरिपरिको वायुको एक भाग त्यो प्रक्रियामा काम आउँछ भन्ने कुरा पनि जानेका थिए। हेलमोन्टले आजीवन विभिन्न प्रयोग, अध्ययन र चिन्तन गरिरहे। परिणामस्वरूप जैविक पदार्थको तत्काल उत्पत्ति, सबै कुरा घुल्नसक्ने घोल, आदि जस्ता परिकल्पनाहरूको विकास भयो। उनका कार्य समयभन्दा धेरै अगाडि थिए र समकालीन वैज्ञानिकहरूले उनीबाट कार्य गर्ने आधार प्राप्त गरे। रोबर्ट बोयलले उनको कार्यलाई अगाडि बढाए। मृत्युशैय्यामा उनले आफ्ना सम्पूर्ण पाण्डुलिपि आफ्नो छोरालाई दिए र परिवर्तन बिना प्रकाशित गर्नु भने। ३० डिसेम्बर १६४४ मा उनको ब्रसेल्समा मृत्यु भयो। यसको ४ वर्षपछि उनका सम्पूर्ण कार्य प्रकाशित भएर आए। पछि अन्य भाषामा पनि अनुवाद भए।

जोहान्स केपलर (johannes kepler)  र उनको आविष्कार

केपलरको जन्म २१ डिसेम्बर १५७१ मा जर्मनीको स्टुटगार्टमा भएको थियो। उनी पुनर्जागरण कालका प्रसिद्ध खगोल वैज्ञानिक थिए। उनको शारीरिक अवस्था बचपनदेखि नै कमजोर थियो तर उनीमा असाधारण बुद्धि थियो। उनी अत्यन्तै गरीब परिवारमा जन्मिएका थिए। तर उनलाई बिट्टेमबर्गका ड्यूकबाट छात्रवृत्ति मिल्यो र उनी लगातार आफ्नो पढाईमा लागिरहे। सन् १५८७ मा केपलरले टबिंगन विश्वविद्यालयमा पढ्ने अवसर पाए। केपलर गणितका असाधारण विद्यार्थी थिए। उनी आफ्ना दैनिक क्रियाकलापहरूको रेकर्ड गर्थे र त्यही अनुसार तारा र ग्रहहरूको स्थितिको पनि नोट गर्थे। सन् १५८८ मा उनले स्नातक उपाधि हासिल गरेर सन् १५९१ मा स्नाकत्तोत्तर गरे। सन् १५९४ मा उनलाई गणितको शिक्षकको रूपमा काम गर्ने अवसर प्राप्त भयो। त्यहाँ पढाउँदा पढाउँदै सन् १५९५ को गर्मी महिनामा उनले प्राचीन युनानीहरूद्वारा विकसित ज्यामितिमा ध्यान दिए। त्यसको आधारमा उनले आकाशको निरीक्षण शुरू गरे र ग्रहहरूको परिपथलाई ज्यामितीय आकृतिहरूसँग मिलाउन शुरू गरे। त्यसबेलासम्म ६ वटा ग्रहहरूको मात्र जानकारी उपलब्ध थियो। केपलरको मनमा के विचार आयो भने यी ग्रह ६ मात्र किन छन्, ९ वा १०० किन छैनन् ? उनले यस सम्बन्धमा आफ्नो शोधकार्य सन् १५९६ मा टबिंगन विश्वविद्यालयका प्रोफेसर समक्ष राखे। त्यसपछि उनलाई व्यापक प्रसिद्धि प्राप्त भयो। अब उनले ग्रहको गतिलाई अझ सूक्षम्तापूर्वक जाँच्न शुरू गरे। आफ्नो शोधकार्यलाई उनले पत्रको रूपमा धेरै देशका विद्वानहरूलाई पठाए, जसमा डेनमार्कका गणितज्ञ टाइको ब्राहे पनि थिए। उनी तत्कालीन रोमन साम्राज्यका शाही गणितज्ञ थिए तर उनी कोपरनिकसको सूर्यकेन्द्रित सिद्धान्तलाई मान्दैनथे र पनि केपलरको खगोलशास्त्र सम्बन्धी ज्ञान र गणितीय प्रवीणताबाट अति प्रभावित थिए। सन् १६०० मा ब्राहेले केपलरलाई आफ्नो शोध सहायकको रूपमा काम गर्नको लागि आमन्त्रण गरे। ब्राहेसँग आकाशीय पिण्डको स्थितिसँग सम्बन्धित धेरै आँकडाहरू थिए। केही समयमा नै ब्राहेको मृत्यु भएपछि अनुसन्धानको सबै जिम्मा केपलरमा आयो। केपलरले सुपरनोभा (ताराको महाविष्फोट) लाई पनि नियाल्ने मौका पाए। अब उनले ब्राहेले जम्मा गरेका डाटाहरूमाथि काम गर्न शुरू गरे। केपलरले मंगलको स्थितिको अवलोकन गर्ने जिम्मेवारी पाएका थिए। केपलरले ग्यालिलियोको दूरबिनको कार्यप्रणालीको ब्याख्या स्पष्ट रूपले गरे। उनले यस सम्बन्धमा ग्यालिलियोलाई पत्र पनि लेखे। सन् १६०९ मा केपलरले मंगल ग्रहको मार्ग अण्डाकार भएको पाए। प्राचीनकालदेखि नै आकाशीय पिण्डका मार्गलाई गोलाकार मानिन्थ्यो। विस्तारै उनले पृथ्वीलाई पनि एक ग्रह माने र त्यसको पथ पनि गोलाकार नभएर अण्डाकार छ भन्ने कुरा बताए। कोपरनिकसको सिद्धान्तलाई अगाडि बढाउँदै केपलरले अन्य ग्रह पनि पृथ्वी जस्तै छन् र अण्डाकार पथमा विचरण गर्दछन् भन्ने कुरा प्रमाणित गरे। उनले मंगल ग्रहको अण्डाकार पथलाई दुई फोकस देखाए। उनीभन्दा पहिले यी आकाशीय पिण्ड एकरूप गतिमा विचरण गर्दछन् भन्ने मानिन्थ्यो, अर्थात् समान अवधिमा समान दूरी तय गर्दछन् भन्ने मानिन्थ्यो। आफ्ना आँकडाहरूको संग्रहको आधारमा केपलरले यी ग्रह समान समयमा समान क्षेत्र तय गर्दछन् भन्ने कुरा प्रमाणित गरे। केपलरका ग्रहहरूको गतिका दुई नियम सन् १६०९ मा प्रकाशित भइसकेका थिए। त्यसको १० वर्षपछि तेस्रो नियम आयो। यो नियम पिण्डको सूर्यबाट दूरीसँग सम्बन्धित थियो। यसरी केपलरले तीन नियम संसारको सामु राखिदिए, जसको आधारमा न्यूटनले आफ्नो काम अगाडि बढाए र सबै कुरा स्पष्ट हुँदै गयो। केपलरले वक्राकार भाँडोमा स्थित आयतन निकाल्ने सूत्र विकसित गरे। उनले यो अनुसन्धानलाई अगाडि बढाएर विभिन्न आकारका ठोस पदार्थहरूलाई घुमाएर बक्राकार आकृति बनाए र त्यसको आयतनको विश्लेषण गरे।

लिंजमा रहँदा केपलरले विभिन्न पारिवारिक र मानसिक प्रताडना बेहोर्नुपरेको थियो। तर पनि उनले आफ्नो कामलाई निरन्तर अगाडि बढाइरहे, खगोलशास्त्रमा लेखिएका उनका रचनाहरू प्रसिद्ध हुँदैगए। पछि उनी फ्रिडल्याण्ड गए र त्यहाँ उनले आफ्नो प्रिन्टिङ प्रेस तयार गरे र त्यहाँबाट उनका रचनाहरू छापिन लागे।  सन् १६०९ मा (‘दा मोटिबुस स्टेलाए मार्टिस’ (De Motibus Stellae martis) र सन १६१९ मा ‘दा हार्मोनिस मुंडी’ (De Harmonis mundi) प्रकाशित केपलरका दुई कृतिमा उनले ग्रहगतिका नियमहरूको प्रतिपादन गरेका थिए। पहिलो कृतिमा उनले निम्न सिद्धान्त दिए – i) विश्वमा सबै कुरा वृत्ताकार छैन। सौर्य मण्डलका सबै ग्रह वृत्ताकार कक्षमा सूर्यको परिक्रमा गर्दैनन्, बरू ग्रह एक दीर्घवृत्तमा हिड्दछ, जसको केन्द्रमा सूर्य हुन्छ। ii) सूर्यबाट ग्रहसम्मको भेक्टर रेडियस समान कालमा समान क्षेत्रफलमा फैलिएको छ। त्यसैगरी उनले दोस्रो कृतिमा निम्न सिद्धान्त थिए – सूर्यबाट कुनै पनि ग्रहको दूरीको घन त्यो ग्रहको परिभ्रमण कालको वर्गको समानुपाती हुन्छ। यी सिद्धान्तहरूको अतिरिक्त उनले आफ्नो पहिलो कृतिमा गुरूत्वाकर्षणको उल्लेख गरेका छन् र पृथ्वीको समुद्रमा ज्वारभाटा चन्द्रमाको आकर्षणको कारण आउँदछ भन्ने कुरा पनि बताए।  उनी अस्ट्रिया जादै गर्दा रेजेनबर्गमा गम्भीर बिरामी परे र १५ नोभेम्बर १६३० मा उनको देहान्त भयो।

जोन नेपियर (John Napier) र उनको आविष्कार

नेपियरको जन्म १ फेब्रुअरी १५५० मा एडिनबर्गको मार्किस्टन कासलमा भएको थियो। उनी गणितज्ञ र लगरिदम प्रणालीका संस्थापक हुन्। उनी जमिन्दार परिवारमा जन्मिएका थिए। उनको प्रारम्भिक शिक्षामा फ्रान्समा भयो र पछि उनी पढ्नको लागि एन्ड्रयूज गए। पढाइ सकिएपछि उनी गृहनगर आएर गणित र युद्ध सम्बन्धी उपकरण तयार गर्नमा लागे। उनले आफ्ना अध्ययन र अनुसन्धानहरूलाई लेख्ने काम पनि गरिरहे। सन् १५९६ मा उनले एक प्रमुख राजनितिक व्यक्तित्व एन्थनी बेकसलाई आफ्नो गोपनीय आविष्कार र उपकणको वर्णन भएको पाण्डुलिपि पठाए। यो एउटा द्वीपको सुरक्षाको लागि आवश्यक र लाभदायक थियो। यो पाण्डुलिपिमा जलाउने दर्पण, तोपका गोला, आधुनिक ट्यांक जस्ता बाहनहरूको वर्णन थियो। जोन नेपियरलाई उनको लघुगणक प्रणालीको विकासको लागि मुख्य रूपले जानिन्छ। उनले गणितका अन्य विधाको पनि अध्ययन गरे। उनको संख्या प्रणाली सम्बन्धी अध्ययन धेरै महत्त्वपूर्ण थियो। उनका तत्कालिन धर्मविरोधी कार्यबाट उत्पन्न विवादको कारणले अनुनसन्धानका कार्यमा धेरै अवरोध सृजना भए। तर पनि सन् १५९४ सम्म उनले लगरिदमको मौलिक सिद्धान्त विकास गरेका थिए। पछि उनले लगातार यसको उपयोगिता बढाउँदै गए। उनले यसको प्रयोगको लागि टेवल स्वयं आफैले तयार गरे। यस प्रक्रियामा उनले दशमलव प्रणालीको पनि अध्ययन गरे। सन् १६१४ मा नेपियरको लगरिदम सम्बन्धी कार्य प्रकाशित भयो। यसमा टेवलसहित उनको प्रयोग विधि बुझाइएको थियो। गणितका विभिन्न विधामा यसको प्रयोग कसरी हुन्छ भन्ने कुरा पनि बताइएको थियो। विशेष कुरा के थियो भने लगरिदमको प्रकृतिलाई बुझाउनको लागि उचित उदाहरणहरूको प्रयोग गरिएको थियो; जस्तो कि सरल रेखामा बिन्दु कसरी अगाडि बढ्छन्, ज्यामितीय र अंकगणित श्रृंखला जसरी बढ्दछन्, त्यही प्रकारको वृद्धि बुझाइएको थियो। त्यसबेला लगारिदमलाई कृत्रिम संख्या भनिन्थ्यो। तत्कालीन विद्वान यसमा धेरै प्रभावित थिए र उनीहरू के बुझिरहेका थिएनन् भने यो सम्पूर्ण विधिलाई विकसित गर्ने संकेत आखिर उनले कहाँबाट पाएका होलान्। जे भए पनि विधिमा आधारित उनको पुस्तकको तत्काल अंग्रेजीमा अनुवाद भयो र यो सन् १६१५ मा प्रकाशित भयो। तत्कालीन गणितज्ञ ब्रिग्स राइट जस्ता विद्वान अब उनीसँग भेट्न आए। उनले कसरी लगारिदमको आधारलाई उत्कृष्ठ र सुविधाजनक बनाउन सकिन्छ भन्ने विषयमा गहन छलफल गरे। उनले यसको लागि पुनर्गगणना गरी टेवल तयार गर्नुपर्दछ भन्ने बुझेका थिए। नेपियरसँग छलफलपछि ब्रिग्सले दशमलवमा आधारित लगारिदम टेवल तयार गर्न शुरू गरे; तर यो नेपियर गएपछि मात्र सन् १६१७ र १६२४ मा प्रकाशित भयो। पछि प्राकृतिक वा नेपियरिन लगारिदम विकास भयो, जुन मूल नेपिरियन लगारिदमभन्दा भिन्न थियो तर उनैको नामबाट प्रयोग भइरह्यो।

जोन नेपियर आफ्नो लघुगणक प्रणालीको लागि लोकप्रिय भए पनि उनले आफ्नो जीवनकालमा संख्यायुक्त छड पनि विकसित गरेका थिए, जसलाई नेपियर्स बोन भनिन्छ। यो तरीका धेरै प्रसिद्ध भयो तर गणितीय रोचकता यसमा छैन। उनले चेस बोर्डमा काउन्टरका गतिविधिबाट गुणा गर्न, भाग गर्न, वर्गमूल निकाल्न सकिन्छ भन्ने विधि निकाले। त्रिकोणमितिका अनेक नियमहरूलाई नेपियरका नियमहरूको रूपमा जानिन्छ। उनको योगदानबाट तात्कालिक विद्वत समाज र वैज्ञानिक समाजमा हलचल मच्चिएको थियो। उनको लघुगणक प्रणालीको प्रयोग ठूलो परिमाणमा खगोलीय गणनामा हुनलागेको थियो। केपलरले यसको प्रचारप्रसारमा योगदान दिएका थिए। नेपियरले आफ्नो कामलाई लामो समय लगाए र यस्तो प्रणाली तयार गरे, जसबाट शुद्ध र सटीक परिणाम आउँथ्यो। शताब्दियौंसम्म उनका कार्यहरूको ठूलो क्षेत्रमा प्रयोग भइरह्यो र आज पनि भइरहेको छ; तर यो प्रणालीमा कुनै व्यापक संशोधनको भने आवश्यकता परेन। ४ अप्रिल १६१७ मा यी महान गणितज्ञको मार्किस्टनमा देहान्त भयो।

गोत्फ्रिड विल्हेम लाइब्निज (Gottfried Wilhelm Leibniz) र उनको आविष्कार

उनको जन्म १ जुलाई १६४६ मा जर्मनीको लेइपजिगमा भएको थियो। गणितलाई विज्ञानको मेरूदण्ड मानिन्छ र क्यालकुलसलाई गणितको मेरूदण्ड मानिन्छ। आज विज्ञानको कुनै पनि शाखा क्यालकुलसबिना अधुरो हुन्छ। क्यालकुलसको आविष्कारको श्रेय लाइब्निजलाई जान्छ। यद्यपि यसको आविष्कारमा न्युटनको पनि उत्तिकै योगदान छ। उनले निकोलाई स्कूलमा अध्ययन गरेका थिए। यद्यपि उनले बढी ज्ञान आफ्ना पिताको पुस्तकालयमा स्वअध्ययनबाट प्राप्त गरेका थिए। सन् १६६१ मा उनी लिपजिग विश्वविद्यालयमा कानून पढ्नको लागि भर्ना भए, तर त्यहाँ उनले विज्ञान र दर्शनको क्षेत्रमा क्रान्तिको सूत्रपात गरेका ग्यालिलियो, फ्रान्सिस बेकन, थोमस हब्स, रेने देकार्ट्स, आदि वैज्ञानिनका विचारहरूको अध्ययन गरे। उनको सिर्जनशील मस्तिष्कमा विभिन्न प्रकारका तर्कसंगत वैज्ञानिक कल्पनाहरू उत्पन्न हुनलागे। सन् १६६६ मा उनले कानूनको अध्ययन पूरा गरेपछि डाक्टर अफ लको उपाधिको लागि निवेदन दिँदा उमेरको कारण रद्द गरियो। पछि न्यूरेनबर्गको विश्वविद्यालयबाट उनको शोधपत्रमा  उनलाई डाक्टरेटको उपाधि र प्रोफेसरको पद पनि मिलेको थियो। तर उनले कानून र राजनीतिमा काम गर्न थालेका थिए। सन् १६७२ मा एक युद्धरत विवादमा फसेपछि त्यसबाट मुक्त भएर उनी वैज्ञानिक अध्ययन र कार्यमा जुटे। उनीसँग रोबर्ट बोयल, जोन कोलिन्स, क्रिश्चियन ह्यूगेन्स,आदि  वैज्ञानिक साथी थिए।

लाइब्निजले गणित, भौतिक विज्ञान, चिकित्सा विज्ञान, भूगर्भशास्त्र, प्रोब्याविलिटी, मानवशास्त्र जस्ता धेरै क्षेत्रमा आफ्नो योगदान दिएका थिए। आधुनिक क्यालकुलसमा हुने गणितका चिन्हहरूको उपयोग लाइब्निजले दिएका हुन्। सन् १६७५ मा लाइब्निजले डिफरेन्सियल र इन्टीग्रल क्यालकुलसको आधार तयार गरेका थिए।  उनले देकार्ट्सको विश्वमा सबै गति विशुद्ध यान्त्रिक रूपले सम्पन्न हुन्छ भन्ने विचारलाई खण्डन गरे। उनको मान्यता अनुसार गतिको व्याख्याको लागि काल्पनिक तत्वलाई पनि ध्यान दिनुपर्दछ। लाइब्निजले हाइड्रोलिक प्रेस, वायुपंखा, ल्याम्प, घडी, आदि यान्त्रिक उपकरणहरूमा पनि कार्य गरे। उनले पृथ्वी पहिले पग्लिएको अवस्थामा थियो भन्ने कुराको प्रतिपादन पनि गरेका थिए। सन् १६८१ मा उनले वृत्त र त्यसको परिधिमा बनेको वर्गको बीचमा सम्बन्धको व्याख्या गरे। उनले अधिकतम् र न्यूनतम् निकाल्ने विधि पनि निकाले। उनले सन् १७०० मा स्थापित भएको  जर्मन विज्ञान एकेडेमी गठनमा प्रमुख भुमिका निभाए। लाइब्निज वैज्ञानिक मात्र नभएर विभिन्न देशका वैज्ञानिकहरूको बीचमा सम्बन्ध पनि स्थापित गर्थे। उनले आफ्नो विद्वतापूर्ण भाषामा ६०० भन्दा बढी  व्यक्तिहरूलाई लेखेका पत्रहरू स्वयं ज्ञानको भण्डार रहेका छन्। उनका धेरै पाण्डुलिपिहरू उनको जीवनकालमा प्रकाशित भएनन्।

 लाइब्निजले एरिस्टोटलको तर्कशास्त्र पढे तर त्यसबाट उनी सन्तुष्ट भएनन् र आफ्नो तर्कशास्त्रको विकास गर्न शुरू गरे। पछि उनलाई के कुरा थाहा भयो भने उनको तर्कशास्त्र दृढ गणितीय आधार हो। उनले सिम्बोलिक तर्क (symbolic logic) को आविष्कार गरे, जसमा भाषिक कथनहरूलाई गणितीय चिन्ह र सूत्रद्वारा व्यक्त गरिएको थियो। पछि बूल तथा डी मोर्गन जस्ता गणितज्ञहरूले यसलाई थप विकास गरे। लाइब्निजभन्दा पहिले पास्कलले क्यालकुलेटिङ मेशिन बनाएका थिए, जसले जोड तथा घटाउ जस्ता सरल गणनाहरू गर्न सक्दथ्यो। लाइब्निजले एक परिष्कृत मेशिन बनाए, जसले गुणन तथा भाग जस्ता गणनाहरू पनि गर्न सक्दथ्यो। उनले वाइन्ड-मिल्सको पनि आविष्कार गरेका थिए। उनले पहिलो पटक रेखीय समीकरणहरूलाई म्याट्रिक्सको रूपमा व्यक्त गरे र यसरी तिनको सहज हल संभव हुनसक्यो। कम्प्यूटरका सम्पूर्ण गणना बाइनरी प्रणाली (binary system) मा हुन्छ। जसरी दशमलव पद्धतिमा दस अंक (१, २, ३……….९) को प्रयोग हुन्छ, त्यसरी नै बाइनरी प्रणालीमा केवल दुई अंक ० तथा १ को प्रयोग हुन्छ, यो बाइनरी प्रणालीको आविष्कारको श्रेय लाइब्निजलाई नै जान्छ। यो प्रणाली बिना कम्प्युटरको आविष्कार संभव हुन्थ्यो कि हुन्नथ्यो, भन्न सकिंदैन। यसरी लाइब्निजलाई न्युटनसँगै गणितको सर्वाधिक उपयोगी शाखा क्यालकुलसका संस्थापक मानिन्छ। यद्यपि दुवैको बीचमा उनीहरूमध्ये को आविष्कारक हो भन्ने विषयमा आजीवन विवाद रह्यो। वास्तवमा दुवैले नै स्वतन्त्र रूपमा यो शाखाको स्थापना गरेका थिए। र, उनीहरूको उद्देश्य पनि फरक-फरक थियो न्यूटनले यसको उपयोग आफ्नो भौतिक नियमहरूको खोजमा गरे भने लाइब्निजले यसको प्रयोग आफ्नो थियोलोजीको विकासमा गरे। उनको मृत्यु सन् १७१६ नोभेम्बर १४ मा जर्मनीको हनोभरमा भएको थियो।

क्रमशः

संसारका केही प्रख्यात वैज्ञानिक र तिनीहरूका आविष्कारको संक्षिप्त अध्ययन-१

संसारका केही प्रख्यात वैज्ञानिक र तिनीहरूका आविष्कारको संक्षिप्त अध्ययन-२

संसारका केही प्रख्यात वैज्ञानिक र तिनीहरूका आविष्कारको संक्षिप्त अध्ययन-३



Leave a comment

About Me

I am a student of philosophy and nature. I thoroughly research all subjects and summarize them in Nepali and English. I am Secretary of Marxism Study-Research Academy, Nepal. I am a Social Worker. Education – i) Master of Arts Degree in Political Science – TU, ii) Master of Public Administration Degree – TU, iii) Master of Arts Degree in History-TU, iv) Master of Arts Degree in Nepalese History Culture and Archaeology-TU.

म अध्ययन-अनुसन्धान कार्यमा निस्वार्थ भावले निरन्तर लागेको एक वाम विचारधारायुक्त सामाजिक कार्यकर्ता हुँ। मेरो कुनै पनि राजनीतिक दलसँग संलग्नता नरहेको जानकारी गराउँदछु। मेरा हरेक अध्ययन-अनुसन्धान कार्य शोषण, दमन, अन्याय, अत्याचारका विरुद्ध हुनेछन् । आम श्रमजीवी, भोका-नांगा, गरीब, उत्पीडित जनसमुदायहरूलाई सुशिक्षित गर्ने प्रयत्न मेरो कर्तव्य हुनजान्छ । मेरा सबै कार्य जनहितका लागि हुनेछन् भन्ने आशा तथा विश्वासपूर्वक मैले निरन्तर कार्य अगाडि बढाइरहेको हुनेछु। श्रमप्रति सम्मान र शोषणप्रति घृणा नै मेरा कार्यका उद्देश्य हुनेछन्।  

यहाँ तपाईंहरू सबै प्रकारका सामग्रीहरू अध्ययन गर्न र हेर्न पाउनुहुनेछ । अध्ययन गर्नको लागि रूचियुक्त सामग्रीहरू माग गर्नुभयो भने यथासंभव परिपूर्तिसमेत गरिनेछ । यहाँ लेखरचना, पत्रपत्रिका, म्यागजिन,  जर्नल, विभिन्न पुस्तकहरू (नेपाली, अंग्रेजी र हिन्दी भाषामा), डकुमेन्ट्री, फिल्म, आदि सामग्रीहरू खोजेर पढ्न तथा हेर्न सक्नुहुन्छ।

I am a leftist social worker who is selflessly engaged in research work. I inform you that I am not affiliated with any political party. Every study-research work of mine will be against exploitation, oppression, injustice and tyranny. It is my duty to try to educate the common workers, the hungry, the poor, the oppressed masses. I will continue my work with the hope and confidence that all my work will be for public interest. Respect for labor and hatred for exploitation will be the objectives of my work.

Here you will find all kinds of content to study and watch. If you demand for interesting materials to study, they will be provided as much as possible. Here you can search and read articles, newspapers, magazines, journals, various books (in Nepali, English and Hindi languages), documentaries, films, etc.

श्रमको सम्मान गर्नुभएकोमा धन्यवाद ।

Thank you for respecting the labor.

Newsletter

Marxism-मार्क्सवाद

Communist history

Philosophy-दर्शन

लेनिन-LeninLeninism

दस्तावेज-documents

धर्म-दर्शन

त्रिपिटक–बुद्ध

गीता सार

Politics–राजनीति

ग्रन्थ परिचय

Mao-Maoism

साहित्य- literature

जीवनी-biography

साम्यवाद-communism

युवाबारे-On Youth

कार्ल मार्क्स–Karl Marx

फ्रेडरिक एंगेल्स–F. Engels

भी.आइ.लेनिन–V.I.Lenin

जे. भी. स्टालिन – J.V. Stalin

माओत्सेतुङ – Maotsetung

डिजिटल पुस्तकालय (digital library)

ई-पुस्तकालय -e-library

विज्ञान-प्रविधि (Science-Technology)

सामान्य ज्ञान (GK)

Documentaries and YouTube channels

पुस्तकालय – LIBRARY

नेपाली डिजिटल पुस्तकहरू (Nepali Digital Books)

नेपाली न्यूजपेपर, म्यागजिन र अनलाइन पत्रपत्रिकाहरू (Nepali Newspapers, Online and Nepali Magazines)

English Digital Books : Part – 1 (world communist special books)

English Digital Books : Part – 2

English Digital Books : Part – 3

हिन्दी डिजिटल पुस्तक (Hindi digital Books) भाग – १

हिन्दी डिजिटल पुस्तक (Hindi digital Books) भाग – २

हिन्दी डिजिटल पुस्तक (Hindi digital Books) भाग – ३

हिन्दी डिजिटल पुस्तक (Hindi digital Books) भाग – ४

हिन्दी डिजिटल पुस्तक (Hindi digital Books) भाग – ५

Documentaries and YouTube channels

Uncategorized

ENGLISH SECTION

Design a site like this with WordPress.com
Get started