वात्सायायनको प्रसिद्ध ग्रन्थ ‘कामसूत्र’ को संक्षिप्त अध्ययन

कामसूत्र नामक ग्रन्थ लगभग दुई हजार वर्ष पहिले आचार्य वात्सायायन (मल्लोनग वात्सायायन) ले रचना गरेका हुन्। यसमा कहिल्यै अन्त्य नहुने पंचइन्द्रीयबाट प्राप्त यौनसुखका साथै कला, शिल्प र साहित्यको बारेमा लेखिएको छ। यसको प्रासंगिकता र उपयोगिता यसको सृजना भएको शताब्दियौंपछि पनि निरन्तर रहँदै आएको छ। तर अहिले आउँदा यसका केही कुराहरू असान्दर्भिक पनि भएका छन्।  कामसूत्र आफैमा कुनै मूल ग्रन्थ भने होइन। यसलाई धर्म, अर्थ र कामको नियमन तथा व्यवस्थापनको लागि तयार गरिएको विधानको संक्षिप्त रूप मानिन्छ। यसलाई शिवजीका प्रिय सहयोगी नन्दीले शिव-पार्वतीको कामकलायुक्त संवाद सुनेपछि सम्पादन गरेका थिए भनिन्छ। नन्दीपछि उद्दालकका पुत्र श्वेतकेतुले यसलाई अझ संक्षीप्तीकरण गरेका थिए। यसलाई अझ संक्षिप्त बनाउने काम विद्वान वाभ्रव्यले गरेका थिए। वाभ्रव्यले यो ग्रन्थलाई विभिन्न प्रकरणहरूमा बाँडे। यसपछि आचार्य दत्तक, आचार्य चारायण, आचार्य घोटकमुख, आदि जस्ता विद्वानहरूले यसलाई लिएर अरू धेरै ग्रन्थहरू तयार गरे। यसपछि कामसूत्र दुईप्रकारले आम मानिसको बीचमा देखा पर्‍यो – एउटा एकसय पचास अध्याय भएको वाभ्रव्यको विशाल ग्रन्थ र अर्को फरक-फरक विद्वानहरूद्वारा प्रस्तुत विभिन्न संस्करण वा खण्ड विशेषमा एकाग्र अलग-अलग ग्रन्थको रूपमा। दुवै रूपमा आम मानिसहरूको लागि यसको समग्र अध्ययन धेरै कठिन र श्रमसाध्य थियो। वात्सायायनले यसको सर्वाङ्गीण र सुगम अध्ययनको आवश्यकतालाई अनुभव गरे र यसको संक्षीप्तीकरण गरी कामसूत्र नामक नयाँ ग्रन्थको रचना गरेका थिए।

वात्सायायन एक ऋषि थिए। उनको जन्म गुप्त वंशको समयमा भारतको बिहारमा भएको थियो। वात्सायायनलाई मल्लनाग नामले पनि चिनिन्छ। उनको जन्म र नामको विषयमा पनि इतिहासकारहरूको बीचमा धेरै विवाद रहेको पाइन्छ। के भनिन्छ भने वात्सायायन ब्रम्हचारी थिए। उनले तत्कालीन समयमा नगरवधु, यौनकर्मी र विभिन्न यौनक्रियाकलाप गर्ने क्षेत्रमा गएर प्रत्यक्ष अन्तर्वाताको आधारमा कामसूत्र ग्रन्थ लेखेका थिए। उनले यी क्षेत्रमा गएर यस विषयमा प्रत्यक्ष अनुभव पनि लिए होला भन्ने अनुमान गर्न सकिन्छ। उनले यो पुस्तकमा उल्लेख गरेका तथ्याङ्कहरूको आधारमा उनीमा पनि प्रयोगसिद्ध ज्ञान भएको हुनुपर्दछ भन्ने विश्वास गर्न सकिन्छ। के भनिन्छ भने वात्सायायन गोप्य रूपमा नियमित वेश्यालयहरूमा जान्थे र त्यहाँ गोप्य रूपमा मानिसहरूले गरेको यौन क्रियाकलापको अवलोकन गर्थे।  उनले यो ग्रन्थमा कामशास्त्रीय ज्ञानलाई स्पष्ट रूपमा र  विस्तारपूर्वक उल्लेख गरेका छन्। वात्सायायनले बनारसमा लामो समय व्यतीत गरेका थिए। उनले पहिलोपटक वैज्ञानिक ढंगले आकर्षण विज्ञान के हो भन्ने कुरा बताए। उनको मान्यता अनुसार मानिसले जीवनसँग जोडिएका सम्पूर्ण कुराहरू जसरी नै यौनक्रीडाको पनि उपेक्षा गर्नुहुँदैन। उनलाई विशेषगरी वेदहरू लगायत धेरै ग्रन्थहरूको ज्ञानसमेत थियो। वात्सायन एक दार्शनिक पनि थिए। उनले न्यायसूत्र नामक कृति पनि लेखेका थिए।  उनले रचना गरेको ग्रन्थ कामसूत्रलाई संसारको पहिलो यौनसूत्र संहिता पनि भन्ने गरिएको पाइन्छ। धर्म, अर्थ र काममा आधारित यो ग्रन्थमा काम-इच्छाहरूलाई पूरा गर्नको लागि जननइन्द्रियहरूको आकार-प्रकारमा पनि कुरा गरिएको छ। यसको अतिरिक्त सहवासमा चरम सुखको प्राप्तिको लागि आलिंगन, चुम्बन, रहस्य प्रकट, हस्तमैथुन, मुखमैथुन, यौन क्रिया सम्पन्न भएपछि पुरूषद्वारा स्त्रीप्रति समान व्यवहार कायम राख्ने काम, आदि कुरालाई पनि महत्त्वपूर्ण बताएका छन्। यसमा वैवाहिक सुखी जीवन, सामाजिक दिशा प्रदान, सहवास शिक्षा, गृह सुन्दरताको कला, सांगितिक महत्त्व, स्त्रीको महत्त्व, दैनिक विवरण जस्ता धेरै शिक्षा प्रदान गरिएको छ। यो ग्रन्थको अधिकांश हिस्सामा स्त्री र पुरूषको आचार-व्यवहार र कामप्रति दार्शनिक दृष्टिकोण उल्लेख गरिएको छ। यद्यपि यो पुस्तकमा केही अंशमा स्त्रीहरूलाई कमजोर देखाइएको छ। उनीहरूलाई भावनात्मक र आर्थिक सुरक्षाको रूपमा सधैं पुरूषहरूको आवश्यकता पर्ने कुरा उल्लेख गरिएको छ। त्यसकारण यो पुस्तक विवादित पनि छ।

कामसूत्रलाई संसारको पहिलो शोधपत्र पनि मान्ने गरिएको पाइन्छ। यसलाई सहवासको जानकारी दिने सबभन्दा प्रामाणिक पुस्तक मानिन्छ। यसमा यौनप्रेमको मनोशारीरिक सिद्धान्त तथा प्रयोगलाई विस्तारपूर्वक व्याख्या गरिएको छ; यसमा दाम्पत्य जीवनको सम्बन्धसँगै कला, शिल्पकला र साहित्यलाई पनि प्रमुखतापूर्वक उल्लेख गरिएको छ। लगभग दुई हजार वर्ष पहिले रचना भएको ७ भाग, ३६ अध्याय, ६४ प्रकरण र १२५० सूत्रहरूमा बाँडिएको वात्सायायनको यो ग्रन्थले पन्चइन्द्रीयबाट प्राप्त हुने यौन-सुखलाई गुरूत्वबाट उठाएर मन र चेतनाको रहस्यात्मक शून्य गुरूत्वमा पुर्‍याइदिन्छ भन्ने मान्यता राखिन्छ। कामशास्त्रको उद्देश्य स्त्री र पुरूषलाई परस्पर मिलाएर मोक्ष प्राप्तिको अधिकार बनाउन सक्नु हो। यो ग्रन्थलाई स्त्री र पुरूष दुवैले समान रूपमा अध्ययन र मनन गर्नुपर्ने बताइएको छ। यसमा आलिंगन, चुम्बन, स्पर्श, दाँत र नङको प्रयोग, सित्कार, यौन अंगको आधारमा स्त्री र पुरूषको वर्गीकरण, स्त्री र पुरूषमा हुनुपर्ने ६४ कला, बर्जित सम्बन्ध, स्वीकृत सम्बन्धदेखि लिएर कामक्रीडाको समयमा अपनाउनुपर्ने विधिको बरेमा पनि वर्णन गरिएको छ। कामसूत्रका सात भागहरूमा – सामान्य परिचय, इच्छा तथा मिलन, पत्नि विवाह, पति-पत्नीको कर्तव्य, परस्त्री सम्बन्ध, सेवक-सेविका सम्बन्ध र व्यक्तित्व परिमार्जन पर्दछन्। यसमा स्त्री-पुरूपको रूप, अंग, श्रृंगार, व्यवहार, व्यक्तित्व तथा स्त्री-पुरूषको सम्बन्ध एवं रतिरागको विषयमा विवेचना गरिएको छ। सन् १८८३ मा ब्रिटिश भाषाविद रिचर्ड एफ. बर्टनले यसको अंग्रेजीमा अनुवाद गरेका थिए। त्यसपछि यो अन्तर्राष्ट्रिय स्तरमा लोकप्रिय बन्नगयो। अहिले संसारको लगभग हरेक भाषामा यसको अनुवाद भइसकेको छ।

वात्सायायनको कामसूत्रमा स्त्रीलाई चार भागमा वर्गीकरण गरिएको छ। जसानुसार पहिलो वर्गमा पर्ने स्त्री पद्मिनी हुन्। यस वर्गका स्त्रीको शरीर न धेरै अग्लो न त धेरै होचो अर्थात् ठिक्कको हुन्छ। स्त्रीमध्ये यी सर्वश्रेष्ठ वर्गमा पर्छन्। यिनका आँखा हरिणका जस्ता, तिलको फूल जस्तो सलक्क परेको स-साना पोहरा भएको नाक हुन्छ । मुहार पूर्णिमाको चन्द्रमाको जस्तो चम्किलो र बोली विनम्र हुन्छ । यिनको पुष्ट र ठाडा स्तन, केशराशी कालो र चिल्लो हुन्छ अनि शरीर कमलको सुगन्ध जस्तो बासनायुक्त हुन्छ । यिनको कम्मर सिंहको जस्तो खिरिलो, कमलको फूलको नालजस्ता पातला लामा औँला भएका, झन्डै घुँडासम्म छोइने सिलिक्क परेको हात, हात्तीको सूँडजस्ता तिघ्रा, गुलाफी ओठ, धनुषजस्तो आँखीभौँ अनि राजहंस जस्तो लचकदार चाल हुन्छ। दोस्रो वर्गमा पर्ने स्त्री चित्रिणी हुन्। यस वर्गमा पर्ने नारीका सबै अङ्ग सुन्दर हुन्छन्। यिनको उचाई, मोटाई, स्तर, केशराशि र नाक-नक्सा पनि पद्मिनी वर्गकै स्त्रीको जस्तो हुन्छ। तर, यिनका आँखा ठूला र मादकतापूर्ण हुन्छन्। शरीरको रङ सुनझैँ पहेँला, मोटा तिघ्रा र छरितो शरीर हुन्छ। यिनको शरीरबाट महको सुगन्ध आउँछ। तेस्रो वर्गमा पर्ने स्त्री शंखिनी हुन् । यस वर्गका स्त्री पनि पद्मिनी वर्गका जस्तै मृगनयनी हुन्छन्। तर, आँखा पद्मिनीभन्दा केही ठूला र हेर्दा शीतल दिने खालका हुन्छन् । यिनका वक्ष कठोर र ठूला हुन्छन्। अनि, शरीरबाट खरानीको गन्ध आउँछ। यिनको घाँटीमा तीनवटा रेखा हुन्छन्। यी मृदुभाषी र निर्भयी हुन्छन् । यिनीहरू मोटा, अग्ला र फराकिलो नितम्ब भएका हुन्छन्। र, चौथो वर्षमा पर्ने स्त्री हस्तिनी हुन्। यी शारीरिक रूपमा मोटा र अग्ला हुन्छन्। रक्तिम आँखा भएका, केशराशि ठाडा, खस्रा, मोटा, कैला र हाँगा फाटेका हुन्छन्। यिनको नाकको पोहरा ठूल्ठूला, मोटा नितम्ब, डल्ला तिघ्रा, काँध साना र मोटा हुन्छन् भने यिनको शरीरबाट मदिराको गन्ध आउँछ।

कामसूत्रले व्यभिचारी प्रवृत्तिको पुरूषबाट स्त्रीहरूको रक्षाको कुरा पनि गर्दछ। यो ग्रन्थले पुरूषले विश्वस्त स्त्री शिक्षिकाका निर्देशनहरूको पनि पालना गर्नुपर्दछ भन्ने कुरा उल्लेख गर्दछ। पुरूषले पहिलेदेखि नै कामक्रीडाको बारेमा जान्दैन भने पहिलेदेखि नै यौनकार्य गरिसकेकी स्त्री, दासीपुत्री, यौन अनुभव भएका साथीसँगी, आफ्नै उमेरकी फुपु, दिदी वा भिक्षुणीबाट शिक्षा ग्रहण गर्नुपर्दछ। चरम सुख प्राप्तिको लागि स्त्री-पुरूषले आफ्नो जोडी अनुरूप संयोग क्रियामा समरत हुनुपर्दछ। जननइन्द्रियका आधार-प्रकारको बारेमा वात्सायायन के उल्लेख गरेका छन् भने पुरूष र स्त्रीको सही मिलाप वा चरम सुख उनीहरूलाई त्यतिखेर प्राप्त हुनसक्दछ, जतिखेर निम्न प्रकारका जननइन्द्रिय भएका स्त्री-पुरूषले संभोग क्रिया गर्दछन्। जसानुसार खरायो पुरूषले मृगी स्त्रीसँग, वृष पुरूषले घोडी स्त्रीसँग तथा घोडा पुरूषले हथिनी स्त्रीसँग संभोग क्रिया गर्दा चरम सुख प्राप्त हुन्छ। यो क्रियालाई अझ स्पष्ट रूपमा भन्दा यिनीहरूलाई छ प्रकारबाट निर्धारित गर्न सकिन्छ। ठूलो लिंग भएको पुरूषले सानो योनी भएकी स्त्रीसँग वा मध्यम आकारको लिंग भएको पुरूषले साधारण योनी भएकी स्त्रीसँग संभोग गर्दछन् भने त्यसलाई उच्चरत क्रिया भनिन्छ। यसको उल्टो अर्थात् हात्तीनी स्त्रीले खरायो पुरूषसँग संभोग गर्दा त्यो क्रियालाई नीचरत मानिन्छ। त्यसकारण वात्सायायनको कामसूत्र अनुसार चरम सुख समान लिंग आकार भएका पुरूष तथा समान योनीको गहिराई भएकी स्त्रीसँगबाट नै लिन सकिन्छ। खरायो, साँढे, घोडा पुरूषको अर्थ के हो भने जसको लिंग यी पशुहरूको समान हुन्छ। कामसूत्रका अनुसार खरायो पुरूषको लिंगको आकार ६ इन्च हुन्छ र अहिलेको शोध अनुसार अधिकांश पुरूष खरायो आकारको लिंग भएका हुन्छन्। यसको अतिरिक्त साँढे पुरूषको लिंगको आकार आठ इन्च तथा घोडा पुरूषको लिंगको आकार बाह्र इन्च मानिएको छ।

कामसूत्रको उद्देश्य जीवनलाई उत्कृष्ट ढंगले जिउने कला, प्रेमको प्रकृति, जीवनसाथीको खोज तथा मानव जीवनको आनन्दका पलहरूलाई उत्कृर्ण गर्नु हो। यसानुसार सहवासबाट वंशवृद्धि, मैत्रीलाभ, साहचर्य सुख, मानसिक परिपक्वता, दीर्घायु, शारीरिक र मानसिक स्वास्थ्य सुखको प्राप्ति हासिल गर्न सकिन्छ। प्राचीन कालदेखि नै सहवासलाई कामवासना भन्दा पनि एक दायित्व र प्रेमको भावना ठानियो, जसले पति र पत्नीको सम्बन्धलाई सुदृढ बनाउँदछ।  यो ग्रन्थ कुन कालखण्डमा लेखियो भन्ने सन्दर्भमा कुनै सटिक प्रमाण भने पाइँदैन। तर विद्वान तथा शोधकर्ताहरूका अनुसार यो ग्रन्थ वात्सायायनले संभवतः इसाको तेस्रो शताब्दीको बीचमा रचना गरेका थिए। यसमा कामका ६४ कला अथवा क्रियाहरूको उल्लेख गरिएको छ। यसमा स्त्रीहरूका विभिन्न रूपहरू पनि छन्। यसमा गीत गाउने, बाजा बजाउने, नाच्ने, चित्रकारी गर्ने, भोजनपत्रलाई तिलकको आकारमा काट्ने, घर अथवा कोठालाई फूलहरूले सजाउने, शैयाको रचना गर्ने, जलक्रिडा गरेको बेला कलात्मक ढंगले पानी छर्किने, आदि विभिन्न क्रियाकलापहरूको उल्लेख गरिएको छ। यसको अतिरिक्त कामशास्त्रमा अन्य विभिन्न तरीकाहरू दिइएका छन्। जसमा शंख तथा हात्ती दाँतबाट विभिन्न प्रकारका आभुषणहरूलाई बनाउनु, हातको सफाइ, जाली बुन्नु, थ्रेडिङ गर्नु, सिउनु; वीणा, डमरू, आदि बजाउनु; उच्चारण कठिन भएका श्लोकहरू भन्नु, आदि पर्दछन्। यसरी नै किताब पढ्ने कला, शब्दकोशको जानकारी, पासा खेल्ने कला, व्यायामको जानकारी, आदि पनि छ। यी सबै कुनै न कुनै रूपले कामक्रीडालाई उत्कृष्ट बनाउनमा सहायक तरीका पनि हुनसक्दछन् तर केवल कामक्रीडाका विषय भने होइनन्।

कामसूत्रमा कामुकता सम्बन्धी चिन्ता र समस्या भन्दा पनि कामुक आनन्दमा बढी ध्यान दिइएको छ। कामुक आनन्द सम्बन्धी तत्व र सम्बन्ध नै कामसूत्रको केन्द्रमा छ। यसमा कामुकताको पछाडि निहित इच्छा र कामुक रूपहरूको रूपायनमा मुख्य रूपले ध्यान दिइएको छ। यसमा कामुकताका केही रूपहरूको पनि चर्चा गरिएको छ, जुन सामाजिक रूपमा अस्वीकृत छ। कामसूत्रमा वैवाहिक जीवनलाई कसरी बचाउने, परिवारलाई कसरी बचाउने भन्ने विषयमा मुख्य जोड दिइएको छ। यसमा धेरै ठाउँमा अवैध सम्बन्धको निन्दा पनि गरिएको छ। कामसूत्रमा कामुक आनन्द र स्वाधीनतालाई संस्था र नियम अन्तर्गत राखेर हेरिएको छ। संस्था र नियमरहित कामुकताको तीव्र आलोचना पनि गरिएको छ। यसकारण कामसूत्रको कामुकता विमर्शको समाजमा गहिरो असर परेको देखिन्छ। कामुक इच्छाको अभिव्यक्ति दिएको बेलामा त्यसलाई नैतिक मापदण्डसँग जोडिएको छ र प्रत्यक्ष रूपमा सामाजिक संस्थाहरूको हस्तक्षेपसँग जोडिएको छ। कामुकताका मानकहरूको मूल्यांकनको अर्थ सामाजिक हस्तक्षेपलाई आमन्त्रित गर्नु मानिएको छ। कामसूत्रले कामुकतालाई निजता, आत्मसम्मान र सामाजिक हैसियतसँग जोडेको छ। कामसूत्रमा विवाहको उद्देश्यले प्रतिष्ठित, सदाचारी, मातापिता भएकी, प्रशंसित स्त्रीलाई गुणसम्पन्न मानेको छ। यसले अवगुणी युवतीको बारेमा पनि उल्लेख गरेको छ। यसले विवाहपछि पती-पत्नीलाई समान आनन्द हुनुपर्दछ, दुवै एक-अर्कोप्रति पूरक र शोभावर्धक हुनुपर्दछ भन्ने कुरा उल्लेख गरेको छ। यसमा पति आफ्नी पत्नीसँग त्यतिबेला संभोगको अधिकारी हुन्छ, जतिबेला उसले आफ्नी पत्नीको हृदय जित्न सक्छ भनिएको छ। कामसूत्रमा विवाहको निर्णय गर्दा देश, पात्र, वर्ण र हैसियतलाई महत्त्व दिइएको छ र यी कुराहरूको ख्याल गरेर विवाह गर्दा जीवन सफल हुन्छ भनिएको छ। यसमा विवाहपछि पती-पत्नीले एक-अर्कोलाई खुशी राख्नको लागि के-के गर्ने भन्ने कुरामाथि ध्यान दिइएको छ। यसमा आधारभूत रूपमा पति र पत्नी दुवैले आफ्नो अवस्थामा शिक्षा हासिल गर्ने सुझाव दिइएको छ। सम्मानजनक जीवन जिउनको लागि असल पति र असल पत्नीका गुण हासिल गर्ने कुरामा जोड दिइएको छ।

कामसूत्रमा उत्कृष्ट जीवन जिउने कला पनि छ। यसमा के भनिएको छ भने मानिसले श्रुति, स्मृति, अर्थविद्या ग्रहण गरेपछि कामशास्त्रको अध्ययन अवश्य गर्नुपर्दछ। मानिसले विद्या ग्रहण गरेपछि धनार्जन गर्नु र त्यसपछि स्त्री अथवा पुरूषको मद्दतबाट जो निपुण हुन्छ उससँग प्रेम सम्बन्ध बनाएर ग्राहस्थ जीवन व्यतीत गर्नुपर्दछ। यसो गरेपछि उनीहरूको वैवाहिक जीवन सुख, शान्तिले भरपुर हुनेछ। यो ग्रन्थले विशेषगरी प्रेम विवाहलाई प्रमुखता दिएको देखिन्छ।

कामसूत्रमा संभोगका प्रकार क्रियाहरूको बारेमा विस्तारपूर्वक जानकारी दिइएको छ। यद्यपि वात्सायायनले यसमा संभोग कलाको मात्र जानकारी नगराएर तत्कालीन धार्मिक, सामाजिक, सांस्कृतिक स्थितिको पनि प्रत्यक्ष अथवा अप्रत्यक्ष रूपमा उजागर गरेका छन्। वात्सायायन के ठान्थे भने हरेक व्यक्तिले संभोग जस्तो महत्त्वपूर्ण विषयको बारेमा खुलेर छलफल गर्नुपर्दछ। उनी कामसूत्रको माध्यमबाट मानिसले यस सम्बन्धमा उत्कृष्ट जानकारी हासिल गरून् भन्ने चाहन्थे। वात्सायायनका अनुसार कामसूत्रले पति-पत्नीको बीचमा नैतिक-सामाजिक-सांस्कृतिक नियमको शिक्षाको कार्य गर्नेछ।

कामसूत्रले साहित्य, कला, संस्कृति, आदि क्षेत्रमा अनेकौं महान र कालजयी कृतिहरूको सृजनालाई प्रेरणा दिएको छ। वात्सायायनले रचना गरेको कामसूत्र अनेकौं चित्रकला, विश्वप्रसिद्ध मूर्तिकला र धेरै कविका काव्यरचनाहरूको प्रेरणास्रोत रहेको छ। प्रायः धेरै मानिसहरूले कामसूत्र नपढे पनि यसको बारेका कुनै न कुनै प्रकारले जानकारी लिएको पाइन्छ। कामसूत्रको उद्देश्य यौन सम्बन्धलाई उत्कृष्ट बनाउने शिक्षा दिनु मात्र होइन; वास्तविक रूपमा भन्ने हो भने कामसूत्रका सात भागहरूमा केवल एक ‘सांप्रयोगिकम’ मात्र सहवास वा यौन सम्बन्धमा केन्द्रित छ। कामसूत्रको लगभग ८० प्रतिशत प्रेम, भावना, राग-अनुराग, परस्पर व्यवहार, सामाजिक-मनोवैज्ञानिक दृष्टिकोण र कामको व्याख्या जस्ता कुराहरूमा आधारित छ। यसका रचनाकार वात्सायायनका अनुसार कामसूत्र स्त्री-पुरूषको धार्मिक-सामाजिक नियमहरूको शिक्षा हो र यदि उनीहरूले यो शास्त्र अनुसार वैवाहिक जीवन व्यतीत गरे भने कामको दृष्टिले उनीहरूको दाम्पत्य जीवनमा सदैव सुख, शान्ति र सन्तुष्टि प्राप्त हुनेछ।

कामसूत्रमा उल्लेखित ६४ कला वास्तवमा जीवनमा काम लाग्ने विधाहरू हुन्। यद्यपि वर्तमानसम्म आउँदा भने केही असान्दर्भिक पनि रहेका छन्। वात्सायायनले यी कलाहरू विशेषगरी स्त्रीलाई ध्यानमा राखेर रचना गरेका थिए तर पुरूषहरूको लागि पनि त्यतिकै आवश्यक हुन्छ। मानिसले गानविद्यामा पारंगत हुनुपर्दछ। गाउने मान्छेले गाउँदा सुन्ने मान्छे त्यसैमा हराउनुपर्दछ। त्यसरी नै विभिन्न प्रकारका वाद्यवादनको पनि ज्ञान हुनुपर्दछ। उत्कृष्ट नृत्य गर्नेले आफ्नो आकर्षक भावभंगिमा र अदाबाट जोकसैलाई सम्मोहित गर्न सक्छ। जीवनमा अभिनयको अति जरीरी हुन्छ। यसमा पारंगत भएपछि आफ्नो काम बनाउन सकिन्छ। चित्रकारी त्यो कला हो, जसले मानिस स्वयंलाई अलग प्रकारले प्रदर्शित गर्ने शक्ति दिन्छ। विचित्र सिद्धिहरूबाट विशेषज्ञ भएर आफ्नो खास स्थिति बनाउन सकिन्छ। कुटनीति घरदेखि लिएर बाहिरसम्म हरेक ठाउँमा आवश्यक हुन्छ। यसमा पारंगत भएपछि जीवन सहज हुन्छ। मानिसमा ग्रन्थ पढ्ने चातुर्यता पनि हुनुपर्दछ। विद्वान हुनुपर्दछ र ग्रन्थको जानकारी पनि हुनुपर्दछ। समस्यापूर्तिको लागि विभिन्न प्रकारले व्यवस्थाको विज्ञ हुनु आवश्यक हुन्छ। मानिसमा विभिन्न देशका भाषाहरूको ज्ञान हुनुपर्दछ। यसले योग्यता र सिकाईलाई तीव्रता दिनमा महत्त्वपूर्ण भूमिका खेल्छ। यसरी नै समस्त कोशहरूको ज्ञान हुनुपर्दछ। यसबाट मानिसलाई संसारभरीको हरेक क्षेत्रको जानकारी हुनेछ।

कामसूत्रका विभिन्न कलाहरूबाट धनार्जन पनि गर्न सकिन्छ र रोजगारी पनि सिर्जना गर्न सकिन्छ। यसमा विभिन्न प्रकारका खाद्य वस्तुहरू बनाउने, विभिन्न प्रकारका पेय पदार्थ बनाउने, नाटक र आख्यान, आदिको रचना गर्ने, बेलबुट्टा बनाउने, प्रतिमा बनाउने, काष्ठकला, गृहनिर्माण कला, सुन-चाँदी जस्ता धातु तथा हिरी-पन्ना जस्ता रत्नको परीक्षण गर्ने र बनाउने कला, गलैंचा-दरी, आदि बनाउने जस्ता विभिन्न कलात्मक कामहरूको उल्लेख गरिएको छ। कामसूत्रका विभिन्न कलाहरू जीवनोपयोगी हुन सक्छन्, जसानुसार हातको स्फूर्तिको काम, कपडा र गहना बनाउने काम, रत्नहरूलाई विभिन्न आकारमा काट्ने काम, विजय प्राप्त विद्या, खानाको पहिचान, हार-माला बनाउने काम, फूलका आभूषणहरूको श्रृंगार, नयाँ-नयाँ कुराहरू गर्ने, आदि पर्दछन्। त्यसरी नै कामसूत्रका अन्य कलाहरूमा कठपुतली बनाउनु र नचाउनु, वृक्ष चिकित्सा, छलपूर्वक काम लिने, समस्त छन्दको ज्ञान, वस्त्र लुकाउने वा बदल्ने विद्या, मन्त्रविद्या, आदि पर्दछन्। त्यसरी नै थप अरू कलाहरूमा मणिका रंगहरूको पहिचान, चाहेजस्तो भेषधारण, फूलको शैय्या बनाउने, दाँत, वस्त्र र अंगहरूलाई रङ्ग्याउने, विस्तराको रचना गर्ने, सुगन्धित वस्तुहरू बनाउने, पट्टी, वेत, वाण, आदि बनाउने, झुक्ने विधि, केशको सफाइको कौशल, विभिन्न प्रकारका मातृकायन्त्र बनाउने, सांकेतिक भाषा बनाउने, द्यूत क्रीडा, टाढाका मानिस वा वस्तुहरूको आकर्षण, वालकको खेल, आदि धेरै पर्दछन्। कामसूत्रका यी कलाहरू अहिलेसम्म आउँदा धेरै असान्दर्भिक पनि भइसकेका छन्।

कामसूत्रको पहिलो भागमा पाँच अध्याय छन्। यिनीहरूमा धर्म, अर्थ र कामलाई परिभाषित गर्दै जीवनमा यिनीहरूको आवश्कयताको बारेमा बताइएको छ। यिनीहरूसँग सम्बन्धित शंकाको समाधान गरिएको छ। वात्सायायनका अनुसार मानव जीवनका यी लक्ष्य प्राप्तिको लागि धर्मविद्या, अर्थविद्या, कामविद्या र यिनीहरूसँग सम्बन्धित अन्य विद्याको अध्ययन गर्नुपर्दछ। उनले संगीतशास्त्रको अध्ययनलाई कामशास्त्रकै एक अंग मानेका छन्। उनले कामसूत्रको अंगभूतकलाहरूको सन्दर्भमा ६४ कलाहरूको व्याख्या गरेका छन्, जसमा गीत, नृत्य, बाद्य, काव्य, नाटक, चित्रकला, आदि जस्ता विधाहरू सामेल छन्। वात्सायायनका अनुसार सबै युवतिहरूले यी विधाको प्रशिक्षण अवश्य लिनुपदर्छ र यो प्रशिक्षण कुनै योग्य र विश्वासपात्र स्त्रीद्वारा दिइनुपर्दछ। यो भागको अर्को अध्यायमा एक नागरिक वा रसिक व्यक्तिको रूपमा मानिसले कुन प्रकारको जीवन जिउनु पर्दछ भन्ने कुरा बताइएको छ। मानिसको दिनचर्या, भवन र उसभित्रको सामान र साजसज्जा, रहनसहन, खानपान, आदि कुन प्रकारको हुनुपर्दछ भन्ने कुरा बताइएको छ। यसको अतिरिक्त यसमा विभन्न अवसरमा गरिने क्रीडा तथा उत्सवहरूमाथि प्रकाश पारिएको छ, जसले स्त्री-पुरूषहरूलाई एक-अर्कोको सम्पर्कमा ल्याउनमा महत्त्वपूर्ण भूमिका खेल्छन्। पहिलो भागको पाँचौं र अन्तिम अध्यायमा नायक-नायिकाका सहायकहरू तथा दूतका कर्तव्यहरूको बारेमा बताइएको छ र नायिकाहरूको वर्गीकरण गरिएको छ। वात्सायायनका अनुसार नायिकाहरू तीन प्रकारका हुन्छन् – कन्या, पुनर्विवाहिता र यौनकर्मी। यी तीन प्रकारमध्ये पनि धेरै उपप्रकारहरू हुन्छन्। जस्तो कि कन्या दुई प्रकारका हुन्छन् – पुत्रदा र सुखदा, अर्थात् पुत्र दिने र सुख दिने। वात्सायायनका अनुसार सन्तानोत्पत्तिको उद्देश्यले सहवास केवल आफ्नै जाति वा वर्णका कन्यासँग गरिनुपर्दछ। जबकि यौन सुख प्राप्त गर्नको लागि यसप्रकारको कुनै बाध्यता हुँदैन। यौनकर्मीहरूलाई निन्दनीय नायिका मान्ने वात्सायायनले न त यिनीहरूसँग सहवासको समर्थन गरेका छन् र न निषेध नै गरेका छन्। उनले यिनीहरूलाई असाधारण स्त्री मान्दै समाजमा यिनीहरूको महत्त्व र उपयोगितालाई स्वीकार गरेका छन्। यिनीहरूमाथि वैशिक नामको स्वतन्त्र भागको रचना गरेका छन्।

गुणहरूका आधारमा नायिकाभेदको यो क्रमलाई अगाडि बढाउँदै कामसूत्रले स्वकीया, परकीया र सामान्य नायिकाहरूलाई तिनीहरूको प्रवृत्ति र विशेषता अनुसार अलग-अलग वर्गमा बाँडिएको छ। अन्तमा नायिकाहरूका जम्मा तीनसय चौरासी भेद हुन्छन्। वात्सायायनले यो अध्यायमा विस्तारपूर्वक कुन परिस्थितिमा कुन प्रकारका नायिकासँग यौन सम्बन्ध बनाउनु धर्मविरूद्ध मानिंदैन भन्ने कुरा बताएका छन्। यसरी नै वात्सायायनले नायकका पनि उत्तम, मध्य र अधम गरी तीन भेद बताएका छन्। यो अध्यायको अन्तमा वात्सायायनले असल मित्र र दूतहरूको पहिचान, विशेषता र कार्यहरूको वर्णन गरेका छन् र उनीहरूले अनायकको उद्देश्य पूर्तिमा सहायक सिद्ध हुनको लागि कसरी विश्वासपात्र, वाकपटू तथा कुटनीतिमा निपुण हुनुपर्दछ भन्ने कुरा बताएका छन्। 

दोस्रो भाग ‘सांप्रयोगिकम्’ कामसूत्रको सर्वाधिक लोकप्रिय र महत्त्वपूर्ण भाग हो। यसलाई सर्वाधिक प्रासंगिक पनि भन्ने गरिन्छ। यसमा दस अध्याय छन्। पहिलो अध्यायमा वात्सायायनले जननअंगहरूको आकारको आधारमा स्त्री-पुरूषका तीन-तीन श्रेणीहरू बताएका छन्। उनले पुरूषका जननअंगहरूको लम्बाई अनुसार तिनीहरूलाई खरायो, साँढे र घोडा श्रेणीमा राख्दछन्। स्त्रीहरूको जननअंगको गहिराइको आधारमा उनीहरूलाई मृगिणी, घोडी, हात्तिनी गरी तीन श्रेणीमा राखिन्छ। वात्सायायनका अनुसार छोटो जननइन्द्रिय भएका शश (खरायो) पुरूषको कम गहिरो जननइन्द्रिय भएको मृगी स्त्रीसँग सहवास उचित हुन्छ। यसरी नै वृष (साँढे) पुरूषको घोडी स्त्रीसँग र अश्व (घोडा) पुरूषको हात्तीनी स्त्रीसँग सहवास धेरै सुविधाजनक र सुखद हुन्छ। जोर्नीहरूको आधारमा यिनीहरूमा जम्मा नौ प्रकारका सहवास हुन्छन्। जसमा सहवासमा सामेल स्त्री-पुरूषको श्रेणीलाई हेरेर समरत वा विषमरत सहवास भनिन्छ। आकारको अतिरिक्त गति र समयावधिको आधारमा पनि श्रेणी र जोडीहरूको निर्धारित गरिएको छ। समान आकार, वेग र समय भएको सहवास र असमान स्त्री-पुरूषको बीचमा सहवासका जम्मा सत्ताइस भेद बताइएका छन्, जसको ज्ञान सहवासलाई सुखमय र सन्तुष्टिदायक बनाउनको लागि धेरै महत्त्वपूर्ण हुन्छ।

दोस्रो अध्यायमा आलिङ्गन विचारमा वास्तसायायनले आलिङ्गन, चुम्बन, नङ्ग्र्याउने, टोक्ने, मुख मैथुन, आदि सहवासका आठ प्रकारहरूको बारेमा बताएका छन्, जसका आठ-आठ भेदहरू हुन्छन्। यी ६५ भेदहरूलाई कामको ६४ कलाको नामले जानिन्छ। यिनीहरूको उपयोग सहवासलाई सरस, आनन्ददायक र विविधपूर्ण बनाउनको लागि हुन्छ। यसपछि वात्सायायन आलिङ्गनका प्रमुख आठ प्रकारहरूको वर्णन गर्दछन्। यिनीहरूमध्ये चार प्रकारका आलिङ्गन स्पृष्टक (लेखक), विद्धक (विद्वान), उद्धृष्टक (कथावाचक) र पीडितक (पीडित) ती प्रेमी-प्रेमिकाहरूद्वारा गरिन्छन्, जो प्रेममा हुन्छन् तर सहवास गरेका हुँदैनन्। सरल भाषामा भन्ने हो भने यी आलिङ्गनहरूमा बहाना बनाएर स्पर्श गर्नु, एक-अर्कामा बेरिनु, भीडभाड वा अध्यारोमा एक-अर्कोको शरीरलाई रगड्दै चलाउनु, पर्खाल वा खम्बामा उभिएर नायक-नायिकालाई दुवै हातले घेरेर दबाउनु जस्ता क्रियाहरू सामेल छन्। बाँकी चार प्रकारका आलिङ्गन लतावेष्टितक (लहरा जसरी बेरिएर) वृक्षधिरूढ़क (रूख चढेजसरी) तिलतण्डुलक (तिलको विउजसरी) र  क्षीरजलक (दूधिया पानी) हुन्, जुन सहवासको समयमा गरिन्छन्। पहिलेका दुई उभिएर गरिन्छन्, जसमा नायिका नायकसँग लहरा जसरी बेरिन्छिन् वा रूख मानेर ऊमाथि चढ्ने कोशिस गर्छिन्। तिलतण्डुलकमा दुवै सुतेर एक-अर्कोलाई दबाउँदछन् र क्षीरजलकमा बसेर परस्पर टाँसिन्छन्। यिनीहरूको अतिरिक्त वात्सायायनले सुवर्णनाभद्वारा बताइएका अन्य चार आलिङ्गनहरूलाई पनि कामसूत्रमा सामेल गरेका छन्। उरूपगूहन (माथिल्लो आलिङ्गन), जघनोपगूहन (नितम्ब आलिङ्गन), स्तनालिंगन (स्तन आलिङ्गन) र ललाटिका (निधार आलिङ्गन) गरी यी चारप्रकारका आलिङ्गनहरूमा नायक-नायिका आफ्ना तिघ्रा, सम्पूर्ण शरीर, छाती र निधारलाई परस्पर दबाउँदछन्।

तेस्रो अध्यायमा चुम्बन विकल्प छ, जसमा विभिन्न प्रकारका चुम्बनहरूको व्याख्या गरिएको छ। यिनीहरूमा सहवास भन्दा पहिले काम भावनालाई उत्तेजित गर्ने चुम्बन र सहवास शुरू भएपछि आनन्दलाई बढाउनको लागि गरिने चुम्बन सामेल छन्। वात्सायायनले चुम्बनका आठ स्थान बताएका छन्, जसमा निधार, केश, गाला, आँखा, छाती, स्तन, ओठ र मुखभित्र जिभ्रो तथा तालु पर्दछन्। वात्सायायनले विभिन्न भूभागमा प्रचलित चुम्बनका केही अन्य स्थान छेउ, तिघ्राको जोर्नी, बाहु, नाइटो, आदिको पनि उल्लेख गरेका छन्। तर देशको चलन अनुसार नै यी स्थानहरूको चुम्बन गर्ने परामर्श पनि दिएका छन्। चुम्बनको गति, सघनता, चुम्बन स्थल, परिस्थिति, आदिको आधारमा वात्सायायनले निमित्तक (प्रेरक), स्फुरितक (चमकदार), घट्टितक (निराशाजनक), समचुंबन (समरूप), तिर्यक चुंबन (छड्के चुम्बन), उद्भ्रांत (भ्रमित बनाउने), अवपीड़ितक (दमनकारी) आदि चुम्बनका प्रकारहरूको विशेषताको उल्लेख गर्दै विभिन्न प्रकारका चुम्बन क्रिया, चुम्बन कलह र क्रीडाहरूको बारेमा बताएका छन्। यिनीहरूलाई संपुटक (आवरण), मृदु (कोमल), पीड़ित (पीडादायक), अंचित (बेचैन बनाउने), प्रातिबोधिक (ज्ञानबर्धक), रागदीपक (मधुर), चलितक (गतिशील), आदि श्रेणीका चुम्बनद्वारा सम्पादित गरिन्छ। पुरूषले सबभन्दा पहिले शर्माउने स्त्रीलाई ओठमा जबर्जस्ती चुम्बन गर्दा स्त्रीले पुरूषको मुखमा आफ्नो हात रिखिदिन्छन् तर आफ्ना ओठलाई चुम्नको लागि बिल्कुल हल्लाउँदिनन् भने यसप्रकारको चुम्बनलाई निमित्त भनिन्छ। एक पटक संभोग क्रिया भइसकेपछि पुरूषले जब आफ्ना ओठ स्त्रीको ओठमा राख्छ, तब लज्जित स्त्रीले पतिका ओठलाई आफ्ना ओठले  पनि दबाउन चाहिन्छिन् र आफ्नो तल्लो ओठलाई हल्लाउँछिन् तर लाजले गर्दा उनको ओठ टासिइरहन्छ भने यसप्रकारको चुम्बनलाई स्फुरितक भनिन्छ। संभोग क्रियाको आनन्द प्राप्त गरेपछि स्त्रीले आफ्नो ओठमा राखिएको पुरूषको ओठलाई समाउँछिन् तर लाजले आँखा बन्द गर्छिन् तथा आफ्ना हातले पतिका दुवै आँखालाई बन्द गरी जिभ्रोको अगाडिको भागले पतिको ओठदाई रगड्छिन् भने यसप्रकारको चुम्बनलाई घट्टितक भनिन्छ। पति र पत्नी एक-अर्कोको सामुन्ने मुख राखेर एक-अर्कोका ओठ चुम्छन् भने यसलाई समरूप चुम्बन भनिन्छ। मुखलाई थोरै मोडेर तथा ओठलाई गोलो-गोलो आकार बनाएर आपस पक्रिएर गरिने चुम्बनलाई तिर्यक चुम्बन भनिन्छ। स्त्रीको पिठ्युतिर बसेर आफ्ना हातले उनको टाउको तथा चिउँडो समातेर आफूतिर घुमाउँदै गरिने चुम्बनलाई उद्भ्रान्त चुम्बन भनिन्छ। पहिले दिइएका तीन प्रकारका चुम्मबनहरूमा ओठलाई धेरै जोडले दबाएर गरिने चुम्बन अवपीडितक चुम्बन हो। पुरूषले आफ्ना दुवै हातका औंलाहरूले स्त्रीका दुवै गालाहरूलाई दबाएर उनका ओठलाई आफ्नो मुखमा लिएर उनका दाँत गाडिन नसकोस् भनेर जोडले दबाएर गरिने चुम्बन नै अवपीडितक चुम्बन हो। चुम्बनको समयमा स्त्री र पुरूषले बाजी लगाउँदा यसलाई द्यूत चुम्बन भनिन्छ। स्त्री र पुरूषमध्ये आपसमा कसैको ओठलाई जसले पहिले पक्रिन्छ, उसैको जित मानिन्छ।  

पुरूषले स्त्रीका दुवै ओठ पक्रिएर चुम्बन गरेपछि स्त्रीले पनि पुरूषका दुवै ओठ पक्रिएर चुम्बन गर्ने कार्यलाई सम्पुटिकल भनिन्छ। यसप्रकारको चुम्बनमा स्त्री र पुरूष एक-अर्कोको सामु बसेर वा सुतेर एक-अर्कोको जाँघ, छाती र बगललाई चुम्ने वा कुतकुती लगाउने गरिन्छ। स्त्रीका गाला, नाभी र नितम्बलाई जोडले दबाउने वा लुछ्ने कार्यलाई पीडित चुम्बन भनिन्छ। स्तनको मुनि र बाहुमूलमा विस्तारै कुतकुती लगाउनु र पुनः हल्का चुम्नुलाई अन्चित भनिन्छ। स्त्रीको स्तनमा, गालामा, नितम्ब तथा पिठ्यूमा हात हल्लाउने वा मुसार्ने कामलाई मृदु भनिन्छ।

यो भागका अरु दुई अध्याय नङ्ग्र्याउने पद्धति र दंत-चिराविधि अथवा नङ र दाँतहरूको प्रयोगबाट कामक्रीडालाई रोचक र रोमान्चक बनाउने प्रक्रियामा आधारित छ। यसमा वात्सायायनले विस्तारपूर्वक नङ्ग्रयाउने र टोक्ने प्रक्रिया कति प्रकारका हुन्छन् भन्ने कुरा बताएका छन्। शरीरका कुन-कुन ठाउँमा र कसरी नङ्ग्र्याउन सकिन्छ वा टोक्न सकिन्छ तथा यसबाट यौन र प्रेम सम्बन्धमा कस्तो प्रभाव पर्छ भन्ने कुरामा पनि उनले यो अध्यायमा स्पष्ट पारेका छन्। पुरूष पूर्ण रूपमा कामोत्तेजित भएपछि उसले के गर्ने र के नगर्ने भन्ने कुरामा ध्यान दिन सक्दैन। वात्सायायनले यहाँ राग (उत्तेजना) शब्द किटान गरेका छन्। संभोग क्रिया गर्नुभन्दा पहिले रतिको पाँचौं अवस्थालाई राग भनिन्छ। संभोगको प्रौढ इच्छाको नाम रति हो र यो रति विस्तारै बढ्दै गएपछि प्रेमको रूप लिन्छ।

अर्को अध्यायमा सम्मिलनविधिमा सहवासमा प्रयोग गरिने आसनहरूको वर्णन गरिएको छ। जसको सहायताले असमान आकारका जनजअंगहरू भएका जोडीले पनि आफ्नो सहवासलाई सुगम, सरस र आनन्ददायक बनाउन सक्छन्। सरल शब्दमा भन्ने हो भने यी आसनहरूको सहायताबाट धेरै गहिरो जननअंग भएकी स्त्रीले कम लामो जननअंग भएको पुरूषको सहवासको आनन्द लिन सक्छिन् वा कम गहिरो जननअंग भएकी नायिकाले बढी लामो जननअंग भएको नायकसँग पीडाको कुनै अनुभव नगरीकन सहवासको सुख प्राप्त गर्न सक्छिन्। त्यसैगरी अनुकूल आकारका जननअंग भएका जोडीले पनि यी आसनहरूलाई अपनाएर सहवासलाई अझ बढी रोमान्चकारी र विविधता दिन सक्दछन्। यी आसनहरूमा सम्पुटक (आवरणात्मक), उत्पीड़ि़तक (उत्पीडक), धेनुकरत (गाइपालक), आदि सर्वाधिक प्रचलित छन्, जसमा क्रमशः स्त्रीमाथि सुतेर, उनका दुवै खुट्टा मोडेर र पशुहरू जसरी बसाएर सहवास गरिन्छ। यसको अतिरिक्त एक नायिकाका धेरै नायकहरू वा एक नायकका अनेकौं नायिकाहरूसँग सहवासको लागि गोयूनथिक आसनको प्रावधान गरिएको छ।

त्यसपछिको अर्को अध्याय ‘प्रहणन-सीत्कार’ मा सहवासको क्रममा उत्तेजना र आनन्द बढाउनको लागि शरीरमा प्रहार गर्ने बारेमा मार्गदर्शन गरिएको छ। यसमा  कष्ट कम र आनन्द बढी होस् भनेर शरीरका कुन अंगहरूमा कसरी प्रहार गरिनुपर्दछ भन्ने कुरा बताइएको छ। पिठ्यू, काँध, स्तनको मध्य भाग, जाँघ, आदि स्थानमा मुठ्ठी, औंला, हत्केला, उल्टो हातबाट प्रहार गर्दा कामभावना भड्किन्छ र सहवासको आनन्दमा वृद्धि हुन्छ। प्रहारको प्रत्युत्तरमा स्त्रीले कस्तो-कस्तो ध्वनिको माध्यमबाट आफ्ना भावना प्रदर्शित गर्छिन् भन्ने बारेमा सीत्कारको भागमा बताइएको छ। तर वात्सायायनका अनुसार असल मानिसले प्रहरण विधिको अनुसरण गर्नुहुँदैन।

आठौं अध्याय ‘पुरूषायित’ मा सहवासलाई सुखद, सफल र आनन्ददायक बनाउने बारेमा बताइएको छ। यो अध्यायको पहिलो भागले सहबासको त्यो स्थितिको बारेमा बताउँदछ, जसमा पुरूष तल रहन्छ र स्त्री उसको माथि बसेर पुरूषले जसरी व्यवहार गर्छिन्। अर्को भाग पुरूषोसृप्तमा सहवासभन्दा पहिले स्त्रीलाई शारीरिक र मानसिक रूपले सहवासको लागि तयार गर्ने र सहवासको समयमा विभिन्न प्रयोगहरूको बारेमा बुझाइएको छ। अर्को अध्याय ‘औपरिष्टक’ अर्थात् मुख मैथुन हो। यसमा जननअंग र मुखको सम्पर्क वा निकटताको आधारमा मुख मैथुनका आठ प्रकारहरूको बारेमा बताइएको छ। तर यसलाई वात्सायायनले अनुचित मानेका छन्। यसमा स्त्री-पुरूष, पुरूष-पुरूष, स्त्री-स्त्री र एकै समयमा स्त्री-पुरूषको परस्पर मुख मैथुनको बारेमा प्रकाश पारिएको छ। यो भागको अन्तिम अध्याय रतारंभावसानिक र प्रणय कलहमा सहवासभन्दा पहिले र सहवासपछि गरिने व्यवहारलाई लिएर सुझावहरू दिइएको छ। यसको अतिरिक्त यसमा प्रेम बढाउनको लागि नायक-नायिकाको बीचमा हुने झूटको कलहलाई लिएर पनि मार्गदर्शन गरिएको छ।

तेस्रो भाग ‘कन्यासंप्रयुक्तक’ पाँच अध्यायमा विभाजित छ र यसमा विशुद्ध रूपले विवाह पहिले, विवाह र विवाहपछिको जीवनसँग सम्बन्धित मार्गदर्शन र सुझाव दिइएको छ। पहिलो अध्यायमा विवाहका आठ प्रकारहरूको बारेमा बताउँदै कन्याको छनौट र वरको छनौटको क्रममा अपनाउने सावधानीहरूमाथि प्रकाश पारिएको छ र कुन प्रकारका वर वा कन्यासँग विवाह गरिनु हुँदैन तथा यसबाट के नोक्सान हुनसक्छ भन्ने कुरा बुझाइएको छ। यो भागको दोस्रो अध्यायमा वात्सायायनले विवाह गरेर घर ल्याइएकी कन्यासँग पतिको व्यवहार कस्तो हुनुपर्दछ, उनीहरूको आचरण, व्यवहार, रहनसहन, आहारविहार कस्तो हुनुपर्दछ भन्ने कुरा बुझाएका छन्। वात्सायायनका अनुसार स्त्रीहरू फूल समान कोमल हुन्छन्। उनीहरूसँग जबर्जस्ती गर्नुहुँदैन, नत्र उनीहरूलाई सहवासबाट घृणा उत्पन्न हुन्छ। उनका अनुसार पति-पत्नीले पहिले संयमता अपनाउँदै एक-अर्कोको विश्वास जित्नुपर्दछ र एक-अर्कोलाई राम्रोसँग बुझेपछि मात्र सहवास गर्नुपर्दछ। उनका अनुसार दुवैले पहिलो तीन रातसम्म सहवासबाट बचेर केवल प्रेम गर्नुपर्दछ, जसमा स्पर्श, आलिङ्गन, मधुर र रूचिपूर्ण कुरा, आदि व्यवहार सामेल हुन्छन्। यो भागको तेस्रो अध्यायमा कुनै असमर्थताको कारणले आफूले इच्छा गरेको कन्यासँग विवाह गर्न नसक्ने पुरूषहरूलाई मार्गदर्शन गरिएको छ। यसमा उनीहरूले कसरी परम्परागत खेल र उपहारहरूद्वारा तिनीहरूको हृदय जित्न सक्दछन् भन्ने कुरा बताइएको छ। यो अध्यायमा कन्याहरूलाई यसप्रकारको प्रयासमा कस्तो व्यवहार गर्नुपर्दछ भन्ने कुरा पनि बुझाइएको छ। चौथो अध्यायमा यसैलाई अझ बढी विस्तार गर्दै नायक र नायिकाहरूले कसरी आफ्नो रूचिका कन्या वा युवकको सामुन्ने आफ्नो प्रेमलाई अभिव्यक्त गर्ने र उनीहरूको सामीप्य सुख कसरी प्राप्त गर्ने भन्ने सुझाव दिइएको छ। अन्तिम अध्यायमा सबै परिस्थिति प्रतिकूल हुँदा पनि नायकले कसरी नायिकासँग भेट र विवाह सुनिश्चित गर्न सक्छ भन्ने कुरा बताइएको छ।

चौथो भाग ‘भार्याधिकारिक’, भार्या अर्थात् पत्नीहरूमा केन्द्रित छ। यसमा कन्याको आफ्नो पतिप्रति कस्तो व्यवहार हुनुपर्दछ भन्ने कुरा बताइएको छ। यसमा पत्नीहरूका दुई श्रेणी बताइएको छ। एकचारिणी, अर्थात् पतिको एकमात्र पत्नी र सपत्निका, अर्थात् सौतायुक्त पत्नी। सपत्निका श्रेणीकी पत्नी जेठी वा कान्छी हुन सक्छिन्। यसको अर्थ के हो भने प्रथम पत्नी वा पुरूषको पुनर्विवाहपछि पत्नी बनेकी स्त्री। वात्सायायनले  एकचारिणी पत्नीको कर्तव्यको बारेमा उनले कसरी आफ्नो पतिको सेवा गर्नुपर्दछ भनेर धेरै विस्तारपूर्वक बताएका छन्। उसका सबै प्रकारका आवश्यकताहरूलाई कसरी पूरा गर्नुपर्दछ; पतिका मित्र र परिवारहरूको सामु उनले कस्तो व्यवहार गर्नुपर्दछ; पतिलाई कसरी प्रशन्न राख्न सकिन्छ; पति लामो समयको लागि अर्को स्थानमा जाँदा उनले कस्ता-कस्ता सावधानीहरू अपनाउनु पर्दछ, आदि जस्ता कुराहरू पनि उनले स्पष्ट बनाएका छन्। वात्सायनले सौतायुक्त पत्नीलाई पनि धेरै सुझाव दिएका छन्, जसको पालन गरेर उनी आफ्नो पतिको धेरै प्रिय पत्नी बन्न सक्छिन्। वात्सायायनको मतानुसार जेठी पत्नीले आफ्नी सौतालाई बहिनी ठान्नुपर्दछ र कान्छी पत्नीले आफ्नो जेठी सौतालाई माता समान आदर गर्नुपर्दछ। उनका अनुसार जेठी भार्याले आफ्नी सौतासँग द्वैष नराखी उनीसँग साथी जसरी बस्नुपर्दछ। यो भागमा वात्सायायनले पुरूषहरूलाई पनि विभिन्न सुझाव दिएका छन्। उनीहरूले पत्नीलाई गृहलक्ष्मी मानेर सम्मान गर्नुपर्दछ। धेरै पत्नी भएको स्थितिमा पतिले घरमा सुखशान्ति कसरी कायम गर्न सक्छ भन्ने बारेमा वात्सायायनले धेरै तरीकाले मार्गदर्शन गरेका छन्।

कामसूत्रको पाँचौं भाग ‘पारदारिक’ मा स्त्रीसँग समागम वा सहवासको बारेमा उल्लेख गरिएको छ। वात्सायायन पराई स्त्रीसँग समागमलाई उचित ठान्दैनन्। तर उनको मतानुसार विशेष परिस्थितिमा यसप्रकारको सम्बन्ध बनाउन सकिन्छ। उनको परामर्श अनुसार यो दिशामा अगाडि बढ्नुभन्दा पहिले लक्षित स्त्री प्राप्त हुने संभावना, उनको पात्रता, पुरूषमा उनको रूची र यस्ता सम्बन्धका के परिणाम हुन सक्दछन् भन्ने जस्ता कुराहरूमा विचार गर्नुपर्दछ। यसपछि वात्सायायन परस्त्रीको लागि यस्तो सम्बन्ध स्थापित गर्नु बाधक हुन्छन् भन्ने कुरा उल्लेख गर्दछन् र उनी प्रयासरत पुरूषले कसरी यी बाधाहरूमाथि विजय पाउन सक्दछ भन्ने कुरा पनि बताउँदछन्। यसपछि वात्सायायन नायिकाको निकटताको अवसर उत्पन्न गर्ने, वस्तुहरूको आदानप्रदान, प्रशंसा, नायिकाका बाहिरी काममा उनको सहायता, आदिसँग परिचयलाई प्रगाढता प्रदान गर्ने परामर्श दिन्छन्। उनको भनाइ अनुसार यसपछि एकान्तमा नायिकाकाको स्पर्श, चुम्बन र आलिङ्गनको माध्यमबाट नायकले स्त्रीलाई प्राप्त गर्न सक्छ। यद्यपि पुरूषले कहिले र कसरी स्त्रीसँग भेट्नु हुँदैन भन्ने कुरामा पनि वात्सायायनले सावधान गराउँदछन्। यस्ता स्त्रीहरूमा शंकालु, डरपोक, निगरानीमा रहने, सासुससुरासँग रहने स्त्रीहरू प्रमुख हुन्छन्। यसको तेस्रो अध्यायमा यस्ता स्त्रीहरूको वर्णन गरिएको छ, जो पुरूषहरूसँग सहवास त चाहन्छन् तर कुनै कारणले न त यसमा कुनै रूचि देखाउँछन् र न पुरूषका प्रयासहरूलाई नै प्रोत्साहित गर्दछन्। वात्सायायनको सुझाव अनुसार पुरूषले यस्ता धीर स्त्रीहरूका चेष्टा र मनोभावहरूको अध्ययन गर्नुपर्दछ। यसमा सक्षम र स्पष्ट नहुँदा उसले कुनै योग्य र विश्वसनीय सन्देशवाहकको सहायता लिन सक्छ। यसको अर्को अध्यायमा नायकको सहायता गर्ने सन्देशबाहकका कार्य, प्रकार र लक्षणहरूको बारेमा बताइएको छ। वात्सायायनका अनुसार सन्देशबाहकले नायिकाको सामु उनको पतिका कमजोरी र नायकका विशेषताहरूलाई बढाइचढाई गरेर बयान गर्नुपर्छ। उनलाई प्रसिद्ध प्रेमकथाहरू सुनाएर उनको मनमा नायकप्रति मिलनको इच्छा जगाउनु पर्दछ। नायकद्वारा दिएका सन्देश, उपहार, आदिलाई उनीसम्म पुर्‍याउनुपर्दछ। यो भागको अन्तिमा दुई अध्याय राजाहरू र तिनीहरूका अन्तपुरमा रहने रानीहरूमाथि केन्द्रित छ, जसमा कुन उपाय र सावधानीबाट उनीहरूले आफ्नो जीवन, सम्मान र निजताको रक्षा गर्दै परस्त्री वा परपुरूषहरूसँग सहवास गरी आफ्नो यौनक्रीडा शान्त गर्न सक्दछन्।

कामसूत्रको छैटौं भाग ‘वैशिकम्’ यौनकर्मीहरूमाथि केन्द्रित छ। यसमा छ अध्याय छन्। यिनीहरूमा वात्सायायनले यौनकर्मीहरूका सामान्य गुण के हुन्छन्; उनीहरूका कर्तव्य के हुन्छन्; उनीहरूले कुन स्थितिमा कस्ता प्रकारका पुरूषहरूसँग सहवास गर्नुपर्दछ वा गर्नुहुँदैन; आफ्ना प्रेमीसँग उनीहरूको व्यवहार कस्तो हुनुपर्दछ, आदि जस्ता विषयहरूमा विस्तारपूर्वक बताएका छन्। दोस्रो अध्यायमा वात्सायायनले नायकसँग प्रेम गर्नलाग्ने यौनकर्मीहरूको मार्गदर्शन गरेका छन्। उनी तिनीहरूलाई एकचारिणी नायिका जसरी आचरण गर्ने कुरा गर्दछन्। यौन सम्बन्धबाट धनार्जन उनीहरूको जीविकाको माध्यम भएकोले उनले यस्ता उपाय बताएका छन्, जसबाट उनीहरूको आर्थिक नोक्सान हुँदैन। अर्को अध्यायमा यही विषयलाई अगाडि बढाउँदै वात्सायायन यौनकर्मीले कसरी आवश्यकता बताएर आर्थिक नोक्सानको बाहाना बनाइ उपहारको माग, आदि उपायबाट नायकसँग बढी धन प्राप्त गर्दछन् भन्ने कुरा बताउँदछन्। यदि नायकद्वारा स्वाभाविक रूपले दिएको धन उनको लागि पर्याप्त छ भने उनले विभिन्न उपायबाट धन लिनु आवश्यक छैन भन्ने कुरा पनि वात्सायायनले स्पष्ट बनाएका छन्। यसको साथै उनले यदि नायक कुनै संकटमा परेको छ भने उसलाई पनि यथासंभव सहायता गर्नुपर्दछ भन्ने कुरा स्पष्ट पारेका छन्। वात्सायायनले नायकसँग उनले विरक्त भएपछि पनि कसरी धन प्राप्त गर्न सक्छिन्  वा नायकसँग स्वयं विरक्त हुँदा उनीबाट कसरी पीछा छोडाउन सकिन्छ भन्ने कुरामा पनि विस्तारपूर्वक प्रकाश पारेका छन्। चौथो अध्यायमा वात्सायायनले ती उपायहरूको बारेमा चर्चा गरेका छन्, जसको सहायताबाट यौनकर्मीले आफ्नो पुरानो र अलग भइसकेको नायकसँग पुनः सम्बन्ध स्थापित गर्न सक्छन्। उनी के कुरामा सावधान पनि गर्दछन् भने निर्धन, कन्जुस वा अस्थिर मन भएको नायकसँग पुनः सम्बन्ध स्थापित गर्नु उचित हुँदैन। पाँचौं अध्यायमा वात्सायायनले यौनकर्मीहरूका तीन श्रेणी निर्धारण गरेका छन् – एकै समयमा एकै व्यक्तिसँग प्रेम गर्ने एकपरिग्रहा, धेरै व्यक्तिहरूसँग प्रेम गर्ने अनेकपरिग्रहा र कुनै प्रेम नगरीकन केवल देह व्यापार गर्न अपरिग्रहा। यसमा उनले तीनै प्रकारका यौनकर्मीहरूको यथोचित मार्गदर्शन गरेका छन्, जसमा उनीहरूले बढीभन्दा बढी धन, आदर र प्रेम प्राप्त गर्न सक्दछन्। यो भागको अन्तिम अध्यायमा यौनकर्मीहरूका जीवनका समस्या, विशेषगरी आर्थिक चुनौतीमाथि विचार गरिएको छ। यसमा कुन-कुन कारणले यसप्रकारका कठिनाहरूले घेर्दछन् वा यिनीहरूमाथि विजय प्राप्त गर्न सकिन्छ भन्ने कुरा बताइएको छ। यही अध्यायमा यौनकर्मीका परिचारिका, तर्तकी, रूपाजीवा, गणिका, आदि नौ भेद बताइएको छ।

कामसूत्रको अन्तिम भाग ‘औपनिषदिक’ ले यस्ता तरीका र उपायहरूको बारेमा बताउँदछ, जसबाट रूप, यौवन, शक्ति, सौन्दर्य, क्षमता, आदिमा वृद्धि गर्न सकिन्छ र आफ्नो इच्छित पुरूष वा स्त्रीलाई वशमा पार्न सकिन्छ।

वात्सायायनको यो रचना कामसूत्र अहिलेसम्म आउँदा यसका केही कुराहरू अझै सान्दर्भिक रहेको देखिन्छ। यसमा रहेका धेरै कुराहरू यसको रचनाको समयमा सान्दर्भिक भए पनि अहिले आउँदा नैतिक, सामाजिक र वैधानिक दृष्टिले अस्वीकार्य भइसकेका छन्। यद्यपि यसमा यौनसुखको लागि उल्लेख गरिएका विभिन्न विधि तथा पद्धति भने सदैव प्रासंगिक रहँदै आएको देखिन्छ।

सन्दर्भ स्रोतहरू

  1. हिन्दी कामसूत्र – वात्सायायन, टीकाकार – डा. रामानन्द शर्मा, कृष्णदास एकेडेमी वाराणसी
  2. Kama Sutra – Printed and pulished by Om prakash Jain, Sanskriti Pratistha, New Delhi
  3. Study and Research of various websites, Blogs, youtube channels, Magazines, Journals, Newspapers, online portal and etc.


Leave a comment

About Me

I am a student of philosophy and nature. I thoroughly research all subjects and summarize them in Nepali and English. I am Secretary of Marxism Study-Research Academy, Nepal. I am a Social Worker. Education – i) Master of Arts Degree in Political Science – TU, ii) Master of Public Administration Degree – TU, iii) Master of Arts Degree in History-TU, iv) Master of Arts Degree in Nepalese History Culture and Archaeology-TU.

म अध्ययन-अनुसन्धान कार्यमा निस्वार्थ भावले निरन्तर लागेको एक वाम विचारधारायुक्त सामाजिक कार्यकर्ता हुँ। मेरो कुनै पनि राजनीतिक दलसँग संलग्नता नरहेको जानकारी गराउँदछु। मेरा हरेक अध्ययन-अनुसन्धान कार्य शोषण, दमन, अन्याय, अत्याचारका विरुद्ध हुनेछन् । आम श्रमजीवी, भोका-नांगा, गरीब, उत्पीडित जनसमुदायहरूलाई सुशिक्षित गर्ने प्रयत्न मेरो कर्तव्य हुनजान्छ । मेरा सबै कार्य जनहितका लागि हुनेछन् भन्ने आशा तथा विश्वासपूर्वक मैले निरन्तर कार्य अगाडि बढाइरहेको हुनेछु। श्रमप्रति सम्मान र शोषणप्रति घृणा नै मेरा कार्यका उद्देश्य हुनेछन्।  

यहाँ तपाईंहरू सबै प्रकारका सामग्रीहरू अध्ययन गर्न र हेर्न पाउनुहुनेछ । अध्ययन गर्नको लागि रूचियुक्त सामग्रीहरू माग गर्नुभयो भने यथासंभव परिपूर्तिसमेत गरिनेछ । यहाँ लेखरचना, पत्रपत्रिका, म्यागजिन,  जर्नल, विभिन्न पुस्तकहरू (नेपाली, अंग्रेजी र हिन्दी भाषामा), डकुमेन्ट्री, फिल्म, आदि सामग्रीहरू खोजेर पढ्न तथा हेर्न सक्नुहुन्छ।

I am a leftist social worker who is selflessly engaged in research work. I inform you that I am not affiliated with any political party. Every study-research work of mine will be against exploitation, oppression, injustice and tyranny. It is my duty to try to educate the common workers, the hungry, the poor, the oppressed masses. I will continue my work with the hope and confidence that all my work will be for public interest. Respect for labor and hatred for exploitation will be the objectives of my work.

Here you will find all kinds of content to study and watch. If you demand for interesting materials to study, they will be provided as much as possible. Here you can search and read articles, newspapers, magazines, journals, various books (in Nepali, English and Hindi languages), documentaries, films, etc.

श्रमको सम्मान गर्नुभएकोमा धन्यवाद ।

Thank you for respecting the labor.

Newsletter

Marxism-मार्क्सवाद

Communist history

Philosophy-दर्शन

लेनिन-LeninLeninism

दस्तावेज-documents

धर्म-दर्शन

त्रिपिटक–बुद्ध

गीता सार

Politics–राजनीति

ग्रन्थ परिचय

Mao-Maoism

साहित्य- literature

जीवनी-biography

साम्यवाद-communism

युवाबारे-On Youth

कार्ल मार्क्स–Karl Marx

फ्रेडरिक एंगेल्स–F. Engels

भी.आइ.लेनिन–V.I.Lenin

जे. भी. स्टालिन – J.V. Stalin

माओत्सेतुङ – Maotsetung

डिजिटल पुस्तकालय (digital library)

ई-पुस्तकालय -e-library

विज्ञान-प्रविधि (Science-Technology)

सामान्य ज्ञान (GK)

Documentaries and YouTube channels

पुस्तकालय – LIBRARY

नेपाली डिजिटल पुस्तकहरू (Nepali Digital Books)

नेपाली न्यूजपेपर, म्यागजिन र अनलाइन पत्रपत्रिकाहरू (Nepali Newspapers, Online and Nepali Magazines)

English Digital Books : Part – 1 (world communist special books)

English Digital Books : Part – 2

English Digital Books : Part – 3

हिन्दी डिजिटल पुस्तक (Hindi digital Books) भाग – १

हिन्दी डिजिटल पुस्तक (Hindi digital Books) भाग – २

हिन्दी डिजिटल पुस्तक (Hindi digital Books) भाग – ३

हिन्दी डिजिटल पुस्तक (Hindi digital Books) भाग – ४

हिन्दी डिजिटल पुस्तक (Hindi digital Books) भाग – ५

Documentaries and YouTube channels

Uncategorized

ENGLISH SECTION

Design a site like this with WordPress.com
Get started