हामी यहाँ प्रसिद्ध वैज्ञानिक र उनीहरूका कामको बारेमा संक्षिप्त जानकारी हासिल गर्नेछौं। अहिले यहाँ केही प्रमुख वैज्ञानिक र उनीहरूका आविष्कारको बारेमा उल्लेख गरिएको छ; बाँकीलाई क्रमशः राख्दै जानेछौं –
लेखन, संकलन, सम्पादन र अनुवाद – नारायण गिरी
संसारका धेरै वैज्ञानिकहरूले मानव जीवनलाई सहज र सरल बनाउनको लागि तथा अत्याधुनिक ढंगले जीवनलाई अगाडि बढाउनको लागि धेरै प्रकारका चमत्कारपूर्ण आविष्कार गरेका छन् र अझै गरिरहेका छन्। यी सबैले मानव जीवनमा गहिरो प्रभाव पारेका छन्। वैज्ञानिकहरूले दैनिक जीवनयापनका सामग्री, स्वास्थ्य, शिक्षा, उद्योगधन्दा-कलकारखाना, विज्ञान-प्रविधि, सुरक्षासंयन्त्र, कृषि, यातायात, भौतिक पूर्वाधार, सूचना-संचार, आदि धेरै क्षेत्रमा धेरै आविष्कार गरेका छन्। वैज्ञानिकहरूले गरेका यी आविष्कारहरूबाट संसारले नयाँ रूप प्राप्त गर्दै गएको छ। वैज्ञानिकहरूमा संसार बदल्ने शक्ति हुन्छ। उनीहरू आफ्नो कल्पना र जिज्ञासालाई वास्तविकतामा बदल्ने हरप्रयत्न गरिरहेका हुन्छन्। वैज्ञानिकहरूले भौतिक विज्ञान, रसायन विज्ञान, जीव विज्ञान, चिकित्सा विज्ञान, गणितशास्त्र, आदि जस्ता अलग-अलग क्षेत्रहरूमा आफ्नो योगदान दिएका छन्। उनीहरूको रचनात्मकता र योग्यताले हामी सबैलाई एकखालको प्रेरणा प्रदान गरिरहन्छ। त्यसकारण यहाँ हामी केही प्रसिद्ध वैज्ञानिक र उनीहरूले गरेका आविष्कारहरूको बारेमा संक्षिप्त जानकारी हासिल गरौं।
जोहान ग्रेगर मेण्डल (Johann Gregor Mendel) र उनको आविष्कार
उनको जन्म २० जुलाई १८२२ मा चेकोस्लोभाकियाको मोराभियामा भएको थियो। मेण्डललाई वंशानु विज्ञानका पिताका रूपमा चिनिन्छ। उनले आफ्नो बगैंचामा उमारिएका केराउका विरूवाको प्रयोगसंगत नतिजाबाट जीवहरूमा वंशानुगत गुण पछिल्लो पुस्तामा कसरी सर्छ भन्ने कुरा पत्ता लगाएका थिए। उनले अस्ट्रियाको ब्रुनको ग्रामीण परिवेशमा उत्कृष्ट बगैंचामा उद्यानकर्मको काम गरे। यहाँ मेण्डलले ७ वर्षसम्म केराउको विरूवाको अनुसन्धान गरे। उनले लामा, छोटा र अलग-अलग रंगका विरूवाहरूको बीचमा संकरण (hybridization) गराए र लगभग २९ हजार विरूवाहरूको अध्ययन गरे; त्यसपछि आफ्ना निष्कर्षहरूलाई अभिलेखीकरण गराए। एक पुस्ताका विशेषता अर्को पुस्तासम्म कसरी जान्छन् भन्ने सन्दर्भमा मेण्डलले प्रत्येक गुणलाई नियन्त्रित गर्ने एक विशिष्ट कारक पत्ता लगाए। मेण्डलका अनुसार जींसको रूपमा जानिने यी कारकहरूलाई आपसमा मिलाउन सकिंदैन। यी कारकहरूले आफ्नो स्वतन्त्रतालाई कायम राख्दछन्; प्रमुख अव्यक्त कारक (dormant) ले नै आफ्नो प्रभाव देखाउँदछन् जबकि निस्क्रिय कारक (revessive) प्रमुख कारकसँग निष्क्रिय रूपमा सँगै रहन्छन्। उनको यो निष्कर्ष आनुवंशिक विज्ञानको शुरूवात थियो। उनका यी सबै प्रयोग सन् १८६६ तिरका थिए। मेण्डलका यी सबै अध्ययन र निष्कर्षमा करिब ३४ वर्षसम्म कसैको ध्यान गएन। तर पछि के थाहा भयो भने मेण्डलका सिद्धान्तले डार्विनको क्रमविकासको सिद्धान्तलाई समर्थन गर्दछन्। त्यसपछि तुरून्तै मेण्डल र आनुवंशिक विज्ञानमाथि उनको अवलोकन शीर्षस्थानमा आयो र उनलाई आधुनिक आनुवंशिक विज्ञानका पिता स्वीकारियो। मेण्डलले धेरै वार्षिक विरूवाहरूको संकरण गराए र यो उनको इच्छा जस्तै बनेको थियो। सन् १८४२ मा मेण्डलले दर्शनशास्त्रमा स्नातक गरेका थिए। सन् १८४३ मा उनी अस्ट्रियाको ब्रुनमा एक इसाई पुजारीमा नियुक्त भएका थिए। उनले दुई पटक शिक्षकको लागि परीक्षा दिए तर असफल भए। पुजारीको रूपमा उनले ग्रेगरको उपाधि पाएका थिए। सन् १८४९ मा उनले एउटा स्कूलमा अस्थायी शिक्षकको रूपमा काम गरेका थिए। सन् १८५० मा उनी अस्ट्रियाको भियनामा उच्च शिक्षाको लागि गए तर उनले त्यहाँ आफ्नो शिक्षा पूरा नगरी फर्किए। सन् १८५४ मा उनले फेरि शिक्षकको काम गरे। सन् १८५६ देखि १८६४ सम्म इसाई पूजारीको रूपमा रहेकै बेला उनले केराउका विरूवामाथि आफ्नो प्रयोग गरेका थिए। उनको शोधपत्र सन् १८६५ मा ब्रुन नेशनल हिस्ट्री सोसाइटीको वार्षिक पत्रिमा प्रकाशित भएको थियो। उनको मृत्यु ६ जनवरी १८८४ मा चेकोस्लोभाकियाको ब्रनोमा भएको थियो।
मेण्डलले दुई अलग गुणयुक्त विरूवा (जस्तो कि गोला र चाउरिएका दाना भएका विरूवा) को बीचमा संकरण गराए। यसरी नै उनले सेता र गुलावी दानायुक्त विरूवाको पनि संकरण गराए। यसबाट उनले दुई गुणहरूमा एक प्रभावकारी हुन्छ र त्यसको प्रभाव अर्को नस्लमा बढी पर्दछ, जबकि अर्को गुण दबेको हुन्छ भन्ने कुरा पत्ता लगाए; त्यो अर्को नस्लमा धेरै कम वा बिल्कुल प्रकट हुँदैन। उनले पाएको परिणाममा तेस्रो नस्लमा प्रभावकारी गुण र दबेको गुणको बीचमा ३:१ को अनुपात थियो। दुई गुणलाई लिंदा दुवै प्रभावकारी, एक प्रभावकारी (पहिलो वा दोस्रो) तथा कम प्रभावकारीको बीचमा उनले ९:३:३:१ को अनुपात पाए। यसरी उनले २१ हजार विरूवामाथि आफ्ना प्रयोगहरूको आधारमा यस बारेमा दुई नियम बनाएका थिए । पहिलो नियम पृथक्करणको नियम (theory of segregation) हो, जसानुसार प्यारेन्ट समूहको एक सदस्य (आमा वा बाबु) केवल आधा गुण सन्तानमा जान्छ। दोस्रो नियम आनुवंशिकताको नियम हो, जसानुसार अलग-अलग गुणका जिन्स एक-अर्कोमा अप्रभावित रहेर नै आपसमा मिल्दछन्। जस्तो कि बिरालोमा लामो पुच्छरयुक्त जींसले बिरालोको रंग ल्याउने जींसमा कुनै प्रभाव पार्दैन। यही कारणले मेण्डलको ३:१ को अनुपातमा मिल्ने जींस मिक्स गर्दा ९:३:३:१ को अनुपातमा मिल्छ। मेण्डलका खोजहरूको वर्षौंसम्म कुनै मान्यता नमिले पनि ह्यूगो राइस र कार्ल कोरेन्स नामक वैज्ञानिकहरूले उनका कार्यहरूको पुनर्खोज गरेपछि उनका खोजहरूको महत्त्व सबैले बुझे। उनको प्रयोगको सत्यता प्रमाणित गर्नका लागि गणितज्ञ फिशरले पनि महत्त्वपूर्ण योगदान दिए।
जोन डाल्टन (John Dalton) र उनको आविष्कार
उनको जन्म ६ सेप्टेम्बर १७७६ मा ब्रिटेनको ईगल्स फील्डमा भएको थियो। डाल्टनले पदार्थको परमाणु सिद्धान्तको प्रतिपादन गरेका थिए। शताब्दियौंदेखि मानिसहरू पदार्थ अणुहरूबाट बनेको छ भन्ने कुरामा सहमत थिए तर कसैले पनि यसको प्रयोगात्मक प्रमाण दिएको थिएन। यो काममा सबभन्दा पहिले वैज्ञानिक जोन डाल्टनले सफलता हासिल गरे। डाल्टनको समयमा कैयौं रासाइनिक क्रियाहरूको अध्ययन भइरहेको थियो। यी अध्ययनहरूमध्ये कुनै रासाइनिक क्रियामा रिएक्टेन्ट्सको कुल वजन संरक्षित रहन्छ र रासाइनिक पदार्थ सरल अनुपातमा एक-अर्कोसँग जोडिन्छ भन्ने कुराको जानकारी भइसकेको थियो। यो कुरा थाहा पाएपछि डाल्टनले कुनै एक तत्वका सबै परमाणु बिल्कुल एक जस्तै हुन्छन् तर अन्य तत्वका परमाणु भन्दा भिन्न हुन्छन् र कुनै रासाइनिक क्रियामा एक तत्वका परमाणुले अर्को तत्वका परमाणुसँग गठबन्धन स्थापित गर्दछन् भन्ने कुरा बताए। डाल्टनको सिद्धान्तको दूरगामी परिणाम प्राप्त भयो र रासाइनिक क्रिया परमाणुहरूको स्तरमा हुन्छ भन्ने कुरा पत्ता लाग्यो। यो कुरा पत्ता लागेपछि कुनै तत्वमा सबै परमाणु एकजस्तै हुन्छन् भन्ने कुरा थाहा भयो र परमाणु भारको महत्त्व बढ्यो। यो अवधारणाले परमाणु भारको मापनमा तीव्रता ल्याइदियो। पछिका आधुनिक खोजहरूबाट के पत्ता लाग्यो भने कुनै तत्वका समस्थानिक (isotopes) का सबै परमाणु एक समान हुँदैनन्। तर पनि डाल्टनको खोज विज्ञानमा कोशेढुंगा सावित भयो। सन् १७९३ देखि १७९९ सम्म डाल्टनले मेनचेस्टरको एउटा स्कूल शिक्षकको रूपमा विद्यार्थीहरूलाई गणित र भौतिक विज्ञान पठाए। सन् १७९९ मा उनी एक निजी शिक्षक बने। उनका विद्यार्थीमध्ये एक जेम्स प्रेस्कोट जूलले ऊर्जाको इकाईको खोज गरेका थिए। सन् १७८१ देखि आफ्नो मृत्यु नहुन्जेल उनले मौसम सम्बन्धी अभिलेख बनाएका थिए। सन् १८०१ मा उनले आफ्नो आंशिक दबाव (Dalton’s Law of Patial Pressure) को सिद्धान्त प्रतिपादन गरे। सन् १८०३ मा डाल्टनले परमाणु भारको पहिलो चार्ट बनाएका थिए। सन् १८०५ मा उनले परमाणु सिद्धान्तको प्रतिपादन गरेका थिए। सन् १८०८ मा परमाणु भार सम्बन्धी डाल्टनको किताब A New System of Chemical Philosophy प्रकाशित भएको थियो। उनले ग्रीक शब्द एटम (a-not, tomos-divisible) को पनि प्रतिपादन गरे,जसको अर्थ विभाजन गर्न नसकिने हुन्छ। उनको परमाणु सिद्धान्तका अनुसार – सबै तत्व साना-साना कणहरू मिलेर बनेका हुन्छन्, जसलाई परमाणु भनिन्छ र परमाणुहरूको विभाजन गर्न सकिंदैन। परमाणुहरूलाई न त बनाउन सकिन्छ र न नष्ट नै गर्न सकिन्छ। भिन्न-भिन्न तत्वहरूका परमाणु अलग-अलग हुन्छन्। कुनै एक तत्वका सबै परमाणु पदार्थ, आकार र रासाइनिक गुणहरूमा एकसमान हुन्छन्। परमाणुहरू जोडिएपछि अणुहरूको निर्माण हुन्छ, जसबाट कुनै तत्वको निर्माण हुन्छ। कुनै तत्वका परमाणुहरूको संख्या र प्रकार निश्चित हुन्छ। रासाइनिक क्रियाको क्रममा यी परमाणुहरू आपसमा जोडिएर नयाँ यौगिकको निर्माण गर्दछन्। २७ जुलाई १८४४ मा ब्रिटेनको मेनचेस्टरमा डाल्टनको मृत्यु भयो।
स्टेफेन हकिङ्ग (Stephen Hawking) र उनको आविष्कार
हकिङ्गको जन्म ८ जनवरी १९४२ मा इंग्ल्याण्डको अक्सफोर्डमा भएको थियो। उनी प्रशिद्ध भौतिकशास्त्री र ब्रम्हाण्ड वैज्ञानिक थिए। उनी सम्पूर्ण संसारमा एक प्रेरणाको पात्र थिए। उनले क्याम्ब्रिज विश्वविद्यालयमा सैद्धान्तिक ब्रम्हाण्ड विज्ञान केन्द्र (Center For Theoretical Cosmology) को शोध निर्देशकको रूपमा काम गरे। उनले ‘ब्ल्याक होल र बिग ब्याङ्ग‘ (Black Hole and Bing Bang Theory) सिद्धान्त बुझाउनमा महत्त्वपूर्ण भूमिका निभाए। यसको साथै उनले विकिरण (radiation) को क्षेत्रमा पनि महत्त्वपूर्ण काम गरे। उनी शारीरिक रूपमा असक्षम थिए। तर पनि उनले असाधारण काम गरेर कुनै पनि व्यक्तिमा काम गर्ने उत्साह र हौसला भयो भने जेसुकै गर्न सक्छ भन्ने कुरा प्रमाणित गरेर देखाए। उनका पिता हकिङ्गले जीवविज्ञान पढून् भन्ने चाहान्थे तर उनलाई गणितमा रूचि थियो। उनले गणितीय समीकरणलाई हल गर्नको लागि केही साथीहरूको सहयोगमा पुराना इलेक्ट्रोनिक उपकरणका हिस्साबाट एक कम्प्युटर नै बनाइदिएका थिए। हकिङ्ग प्रारम्भिक शिक्षाको लागि युनिभर्सिटी कलेज अक्सफोर्डमा भर्ना भए। शुरूमा उनी सामान्य विद्यार्थी थिए तर स्नातकको परीक्षामा भौतिकशास्त्रमा उनी सर्वश्रेष्ठ भए । यसपछि उनी ब्रम्हाण्ड विज्ञान पढ्नको लागि क्याम्ब्रिज गए। त्यहाँ उनले ब्रम्हाण्ड विज्ञानमा अनुसन्धान गरे र यही विषयमा पीएचडी गरे। हकिङ्ग २१ वर्षको हुँदा एकदिन सिँडीबाट लडेर बेहोस भए। त्यही बेलामा उनको शरीरमा विशेष परिवर्तन देखियो। डाक्टरले जाँचेपछि उनी मांशपेशी र मस्तिष्कसँग सम्बन्धित रोग आमायोट्राफिक लेटरल स्कलेरोसिस नामक रोगको शिकार भएका छन् भन्ने थाहा भयो। यो रोगबाट ग्रसित व्यक्तिको सम्पूर्ण अंगले विस्तारै काम गर्न छोड्छ र अन्तिममा श्वास नली बन्द भइ मृत्यु हुन्छ। त्यसपछि डाक्टरले उनलाई केही समय मात्र बाँच्छन् भने। तर हकिङ्गले हार नमानी पचास वर्षसम्म बाँच्न सक्छु भन्ने घोषणा गरे। त्यो बेला उनीमाथि कसैले विश्वास गरेन, तर उनले प्रमाणित गरेर देखाइदिए। हकिङ्गले कहिल्यै पनि बिमारलाई आफूमाथि हावी हुन दिएनन्।
शारीरिक असक्षमताको बाबजुद उनले आफ्नो अनुसन्धान कार्य जारी राखे सन् १९५६ मा उनले पहिलो शोधपत्र On the Hoyle-Narlikar Theory of Gravitation ‘प्रोसीडिंग अफ द रोयल सोसाइटी’ मा प्रकाशित भयो। सन् १९६६ मा उनले पीएचडीको डिग्री प्राप्त गरे। त्यसपछि उनले लण्डनमा गणितज्ञ रोजर नेलरोजसँग मिलेर ब्ल्याक होलमाथि शोध कार्य शुरू गरे र क्वान्टम सिद्धान्त तथा सामान्य सपेक्षताको उपयोग गरी ब्ल्याक होलबाट विकिरण उत्सर्जनको प्रदर्शन गर्नमा सफलता हासिल गरे।
हकिङ्ग ३२ वर्षको उमेरमा रोयल सोसाइटीको सदस्य चुनिएका थिए। उनी यो उपलब्धी हासिल गर्नेहरूमा सबभन्दा कम उमेरका व्यक्ति थिए। सन् १९७९ मा उनी क्याम्ब्रिजमा गणितका प्रोफेसर भए। सन् १९८८ मा उनको विश्वप्रसिद्ध पुस्तक समयको संक्षिप्त इतिहास (A Brief History of Time) प्रकाशित भयो, जसले संसारमा तहल्का मच्चायो। गिनिज बुकका अनुसार यो सबैलाई आकर्षित गरेको सर्वाधिक विक्री हुने सदाबहार पुस्तक हो। हकिङ्गको खोजसँग सम्बन्धित सन् १९९८ मा प्रकाशित भएको दोस्रो पुस्तक The Cosmos Explained हो। यो पुस्तकमा उनले मानिसको अस्तित्वको आधार र वरिपरि विद्यमान चीजहरूसँग त्यसको सम्बन्धलाई व्याख्या गरेका छन्। उनको एउटा अर्को पुस्तक Universe in Nutshell हो, जुन सन् २००१ मा प्रकाशित भएको थियो। यसमा उनले भौतिक विज्ञानका अहिलेका खोजहरूको रहस्योद्घाटन गरेका छन्। उनको खोजमा आधारित रहेर सन् २०१४ मा Theory of Everything नामक फिल्म पनि बनेको थियो। हकिङ्गले रोयल सोसाइटी मेडल (१९७६), अल्बर्ट आइन्स्टाइन मेडल (१९७९), अर्डर अफ द ब्रिटिश एम्पाइर (१९८२), भौतिकशास्त्रको वुल्फ एवार्ड (१९८८), प्रिन्स अफ द अस्ट्रियन एवार्ड (१९८९), अमेरिकी फजिक्स सोसाइटीको जुलियस एडगर लिनिफिल्ड एवार्ड (१९९९) र अमेरिकाको सर्वोच्च नागरिक सम्मान राष्ट्रपति पदक (२००९) जस्ता धेरै सम्मान र पदक प्राप्त गरे। उनका कृतिहरूमा A Brief History of Time, My Brief History, The Grand Design, A Briefer History of Time, Black Holes: The Reith lectures, George and the Blue Moon, George and the Unbreakable Code, George and the Big Bang, George’s Cosmic Treasure Hunt, George’s Secret Key to the Universe, The Universe in a Nutshell, Black Holes and Baby Universes, On the Shoulders of Giants, The Large Scale Structure of Space-time, God created the Integers हुन्। सन् २००७ मा हकिङ्गले विशेष रूपले तयार गरिएको विमानमा गुरूत्वाकर्षणविहीन क्षेत्रमा गएर सकुशल पृथ्वीमा फर्किए। उनी सदैब आफ्नो रोगसँग संघर्ष गर्दै ७६ वर्षको उमेरसम्म बाँचे र अन्तमा १४ मार्च २०१८ मा क्याब्रिजमा उनको देहान्त भयो।
विल्हेल्म कोनराड रोन्टजन (Wilhelm Conrad Roentgen) र उनको आविष्कार
उनको जन्म २७ मार्च १८४५ मा जर्मनीको प्रशिया अन्तर्गत लेनेपमा भएको थियो। रोन्टजन एक्स-रेका आविष्कारक हुन्। एक्स-रेबाट प्राप्त चित्रहरूको प्रयोग हड्डीको फ्याक्चर, पथरी र शरीका अन्य संक्रमणलाई हेर्नको लागि गरिन्छ। यी शक्तिशाली एक्स-किरणहरूको खोज उनै रोन्टजनले गरेका थिए। रोन्टजनले क्याथोड रे ट्यूबमा विद्युतको प्रवाहको अध्ययन गरिरहेको बेलामा यो ट्यूबमा बेरियम प्लेटिनोसाइनाइडको एउटा टुक्रा राखिदिँदा त्यो चम्किएको देखे। अब रोन्टजनले क्याथोड रे ट्यूबद्वारा उत्सर्जित कुनै अज्ञात विकिरण नै यो चमकको कारण हो भन्ने कुरा बुझेका थिए। रोन्टजनले यी किरण कागज, काठ र तन्तु पार गर्नसक्ने विद्युत-चुम्बकीय विकिरण हुन् भन्ने कुरा थाहा पाए। उनको यो खोजको केही हप्ताभित्र नै जर्मनीमा कैयौं एक्स-रे मेशिनहरू हड्डीको फ्याक्चर पत्ता लगाउनको लागि प्रयोगमा ल्याइयो। एक्स-किरणको प्रयोग चिकित्सा उपचारको अतिरिक्त अन्य धेरै क्षेत्रमा पनि गरिन्छ। उदाहरणतः यसको प्रयोग एक्स-रेको क्रिस्टल संरचनाको अध्ययन र अणुहरूको संरचनाको अध्ययन गर्नको लागि पनि गरिन्छ। रोन्टजनको यो खोजपछि भौतिक विज्ञानको एक नयाँ शाखा एक्स-रे स्पेक्ट्रोस्कोपीको उदय भयो। यसबाट ठूला जैविक अणुहरूको अध्ययनम गर्नमा पनि सहयोग मिल्यो। रोन्टजनलाई सन् १९०१ मा नोवेल पुरस्कार प्राप्त भएको थियो। रोन्टजन किसान परिवारमा जन्मिएका थिए। उनले ज्यूरिख पोलिटेक्निकमा इन्जिनियरिङ पढेका थिए। सन् १८८५ पछि रोन्टजनले स्ट्रासबर्ग, गिएस्सेन, वुर्जबर्ग र म्युनिखमा प्रोफेसरको रूपमा काम गरेका थिए। आफ्नो राम्रो कामको लागि उनलाई रोयल सोसाइटीको रमफोर्ड पदक प्राप्त भएको थियो। रोन्टजनले खोज गरेको एक्स-किरण विद्युत र चुम्बकीय क्षेत्रबाट विचलित हुँदैनथ्यो। यो माँसुबाट भित्र छिर्न सक्थ्यो र यसबाट फोटोग्राफिक प्लेटमा शरीरका अंगहरूको चित्र पाउन सकिन्थ्यो। रोन्टजनले एक्स-रे ट्यूबको डिजाइन गरे र कैयौं अंगहरूको जाँचको लागि एक्स-रे बनाए। १० फेब्रुअरी १९२३ मा जर्मनीमा उनको मृत्यु भएको थियो।
जेम्स क्लर्क म्याक्सवेल (James Clerk Maxwell) र उनको आविष्कार
म्याक्सवेलको जन्म १३ जुन १८३१ मा स्कटल्याण्डको एडिनबर्गमा भएको थियो। उनी भौतिकशास्त्री र गणितज्ञ थिए। उनले एडिनबर्ग विश्वविद्यालय तथा क्याम्ब्रिजमा अध्ययन गरे। सन् १८५६ देखि १८६० सम्म उनी ऐबर्डिनको मार्शल कलेजमा प्राकृतिक दर्शनका प्रोफेसर भए। सन् १८६० देखि १८६८ सम्म उनी लण्डनको किंग कलेजमा भौतिकशास्त्र र खगोलशास्त्रका प्रोफेसर भए। सन् १८७१ मा उनलाई पुनः क्याम्ब्रिज विश्वविद्यालयमा भौतिक विभागको अध्यक्ष बनाइएको थियो। उनले सन् १८६५ मा विद्युत-चुम्बकीय सिद्धान्तको प्रतिपादन गरेका थिए, जसबाट रेडियो, टिभी, आदिको आविष्कार संभव भयो। म्यक्सवेलले भ्याकुममा विद्युत क्षेत्र तथा चुम्बकीय क्षेत्र तरंगको रूपमा गतिशील हुन्छ भन्ने कुरा दर्शाए। यी तरंग प्रकाशको गतिबाट अगाडि बढ्दछन्, यिनीहरूलाई विद्युत-चुम्बकीय तरंग भनियो। उनले प्रकाश तथा रेडियो तरंगहरूलाई विद्युत-चुम्बकीय तरंग प्रमाणित गरे। पछि यिनीहरूलाई गतिशील हुनको लागि कुनै माध्यमको आवश्यकता पर्दैन भन्ने कुरा पनि खोज गरियो। १८ वर्षको उमेरमा म्याक्सवेलका दुई शोधपत्र प्रकाशित भए, जसममध्ये पहिलो इलास्टिक (elsstic) वस्तुहरूको सन्तुलनमाथि र अर्को ओभल वक्र (oval curves) माथि आधारित थियो। यसपछि उनले रंगसँग सम्बन्धित एक क्रान्तिकारी खोज गरे। यो खोज अनुसार सबै प्रकारका रंग वास्तवमा तीन आधार रंगहरूको मिश्रण हुन्छन्। यी रंग अर्थात् रातो, हरियो र नीलो रंगहरूलाई अलग-अलग अनुपातमा मिलाएर कुनै पनि रंग बनाउन सकिन्छ। मेक्सवेलको यो खोजले रंगीन छपाइको आधार बनायो। अहिले हरेक प्रकारका रंगिन छपाई मेशिन, रंगिन टिभी, रंगीन फोटोग्राफी, रंगिन कम्प्यूटर मनिटर, फोन स्क्रिन, आदि सबैले यही सिद्धान्तको आधारमा काम गर्दछन्। उनले fish eye lens को पनि आविष्कार गरे। म्याक्सवेलले शनी ग्रहको घेरालाई त्यसको वरिपरि घुम्ने साना कणहरूको समूह हो भन्ने निष्कर्ष निकालेका थिए। किंग्स कलेजमा काम गर्दा म्याक्सवेलले विद्युत चुम्बकीय इन्डक्सनको भौतिक मोडेल तयार गरे, जसको खोज माइकल फेराडेले गरेका थिए। त्यही बेला उनले प्रकाशको ध्रुबीकरणमाथि चुम्बकीय प्रभावको खोज गरे। यो विद्युत तथा चुम्बकत्वको प्रकाशसँग संयुक्तीकरणको पहिलो चरण थियो। यसको अन्तिम निष्कर्ष म्याक्सवेलका चार समीकरणहरूको रूपमा सामुन्ने आयो, जसको गणना भौतिक विज्ञानका महानतम् समीकरणहरूको रूपमा हुन्छ। उनले प्रकाश तथा अन्य विद्युत-चुम्बकीय तरंगहरूको भेक्टर मोडेल प्रस्तुत गरे र रेडियो, माइक्रोवेभ जस्ता किरणहरूको आविष्कार संभव हुनसक्यो। अर्को शब्दमा म्याक्सवेलका खोजहरूले रेडियो, टिभी, रडार तथा संचार उपकरणहरुको आविष्कारको मार्ग खोलिदिए। थर्मोडाइनामिक्समा काम गर्दा उनले ग्यासहरूको गतिशील मोडेल प्रस्तुत गरे। यो मोडेलद्वारा ग्यासका विशेषताहरूको अध्ययन हुन्छ। यसको साथै उनले यान्त्रिक विज्ञानको थर्मोडाइनामिक्ससँग सम्बन्धत स्थापित गरे। म्याक्सवेलले बनाएको मोडल पदार्थको चौथो अवस्था प्लाज्माको अध्ययनमा धेरै उपयोगी सिद्ध भइरहेको छ। ५ नोभेम्बर १८७९ मा बेलायतको क्याम्ब्रिजमा उनको देहान्त भयो।
मेरी क्यूरी (Marie Curie) र उनको आविष्कार
मेरी क्यूरीको पहिलेको नाम मारिया स्कोलोडोव्स्का थियो। उनको जन्म ७ नोभेम्बर १८६७ मा पोल्याण्डको वार्सामा भएको थियो। मारियाका आमा-बाबु अध्यापक थिए। उनले स्ननातक स्तरको पढाइ प्रथम श्रेणीमा पूरा गरिन्। उनले आफ्नो पढाइलाई अगाडि बढाउनको लागि ४ वर्षभन्दा बढी पेरिसमा घरेलु शिक्षिका भएर काम गरेकी थिइन्। सन् १८९१ मा उनी पढाइको सिलसिलामा पेरिस पुगेकी थिइन्। उनले पेरिस विश्वविद्यालयमा भर्ना भई विज्ञानको स्नातकोत्तर परीक्षामा प्रथम स्थान हासिल गरिन्। उनले सन् १८९३ मा भौतिकशास्त्रमा र १८९४ मा गणितमा स्नातकोत्तरको डिग्री लिएकी थिइन्। विश्वविद्यालयको अध्ययन समाप्तिपछि पेरिसमा उनको भेट वैज्ञानिक कार्यप्रति पूर्णतया समर्पित पियरे क्यूरीसँग भेट भयो । यिनीहरूको बीचमा गहिरो मित्रता कायम भयो। यही प्रगाढ मित्रता क्रमश: वैवाहिक सम्बन्धमा परिवर्तन भयो। पियरे क्युरीसंग वैवाहिक सम्बन्ध गाँसिएपछि उनी म्याडम क्युरीको नामले चिनिएकी थिइन्। पियरेले मारियामा दुर्लभता देखे। यसपछि क्यूरी दम्पतिले एक गोदामलाई प्रयोगशाला बनाएर शोधकार्य शुरू गरे। उनीहरूले शुद्ध यूरेनियमको ठाउँमा यूरेनियम खनिजमा बढी सक्रिय हुन्छ र यसबाट मिश्रित यूरेनियममा कुनै अज्ञात सक्रिय तत्व हुन्छ भन्ने कुरा देखे। उनीहरूले तत्काल त्यो अज्ञात तत्वतिर आफ्नो शोधकार्यलाई अगाडि बढाए। अन्ततः शोधकार्य सफल भयो र एक नयाँ तत्वको खोज भयो। यसको नाम उनीहरूले आफ्नो देशको नाममा पोलोनियम राखे। अर्कोतिर उनीहरूका एक सहयोगीले रेडियमको खोजको दावी गरे। तर यसको मान्यता यो तत्वलाई शुद्ध रूपमा प्राप्त गरी यसको भौतिक र रासाइनिक गुणहरूको व्याख्या गरेपछि मात्र प्राप्त हुन्थ्यो। यो कठिन कार्य थियो, तर उनीहरूले धेरै ठूलो कष्ट उठाएर यो काम पूरा गरे। पियरे दम्पतिले शोध कार्यमा स्वयंलाई यसरी डुबाइदिए कि तिनीहरूको सामाजिक जीवन लगभग अन्त्य भएको थियो। सन् १९०३ मा मेरीलाई पीएचडीको उपाधि मिल्यो। पियरेले रोयल सोसाइटीमा आफ्नो शोधमाथि एक प्रवचन दिएका थिए, जसको धेरै प्रशंसा भएको थियो। केही समयपछि क्यूरी दम्पत्तिलाई वर्षको सबभन्दा महत्त्वपूर्ण खोजको लागि हम्फ्री डेभी पुरस्कार दियो। सन् १९०३ मा क्युरी दम्पत्तिलाई बेकुरलसँगै भौतिकशास्त्रतर्फको लोवेल पुरस्कार प्राप्त भयो। यो पुरस्कार प्राप्त भएपछि मात्र यिनीहरूको आर्थिक स्थितिमा केही सुधार भयो र धेरै लोकप्रियता पनि प्राप्त भयो।
रेडियोधर्मी पदार्थको खराबीको कारणले पियरेलाई भयानक दुखाइको महसुस भयो। यो विकिरणजन्य बिरामीको कारणले पियरेको केवल ४७ वर्षको उमेरमा मृत्यु भयो। यो घटनाबाट मेरी धेरै दुखित भइन्। यसपछि उनलाई पियरेको स्थानमा सोरबोनमा प्राध्यापक नियुक्त गरियो। सन् १९१० मा उनको लेगोविनसँग प्रेम भयो तर प्रेमी विवाहित भएकोले यो असफल भयो। सन् १९११ मा उनलाई रसायनशास्त्रमा योगदानको लागि दोस्रो पटक नोवेल पुरस्कार प्राप्त भयो। मेरीको स्वास्थ्य स्थिति बिग्रिदै गएको थियो। दोस्रो विश्वयुद्धको क्रममा मेरीले आफ्नी छोरीसँगै मोवाइल एक्स-रे इकाईको गठन गरिन् र चिकित्सकीय कार्यमा आफ्नो खोजको उपयोगिता देखाइन्। उनको निजी प्रयासमा मोवाइल इकाइहरूको संख्या २० र स्थायी २०० पुगेको थियो। पछि मेरिले शोध संस्थाको अधुरो कार्यलाई पूरा गरिन्। सन् १९१५ मा यो संस्था विश्वप्रसिद्ध शोध केन्द्र बनेको थियो। मेरीले शोधकर्ताहरूको छनौट गर्थिन्। मेरीले यो संस्थाको प्रचारको लागि देशविदेशको यात्रा गरिन् र समर्थ जुटाइन्। यो कार्यको लागि उनलाई अमेरिकी महिला पत्रकार मिलोनीको धेरै सहयोग मिलेको थियो। मिलोनीमार्फत् मेरीले अमेरिकी राष्ट्रपतिबाट एक ग्राम रेडियम उपहार प्राप्त गरेकी थिइन्। जुलाई ४, १९३७ मा रेडियम र पोलोनियमको खोज गर्ने महान भोतिकशास्त्री र रसायनशास्त्रीको धेरै अस्वस्थ भएर फ्रान्सको पेरिसमा निधन भयो।
क्रमशः
Leave a comment