लेखन, सम्पादन र अनुवाद – नारायण गिरी
आदिविद्रोही (स्पार्टाकस) हावार्ड फास्टको कालजयी उपन्यास हो। हावर्ड मेल्भिन फास्टको जन्म ११ नोभेम्बर १९१४ मा न्यूयोर्कमा भएको थियो। हावर्ड फास्टले आफ्नो करिब ७० वर्षको वृत्तिविकासमा ८० भन्दा बढी पुस्तकहरू लेखे, जसमध्ये धेरै प्रसिद्ध भए। फास्टमा वामपन्थी राजनीतिमा दृढ विश्वास थियो। त्यसकारण उनलाई अमेरिकाको एफबीआईले धेरै दुःख दियो। फास्टका पिता मजदूर थिए। उनीहरूको परिवार गरीब थियो। उनी १२ वर्षको हुँदा उनकी आमाको मृत्यु भएपछि स्थिति झन खराब भएको थियो। पछि उनले न्यूयोर्क छोडे र क्रस-कन्ट्रीको यात्रामा लागे। सन् १९३३ मा उनको पहिलो उपन्यास ‘टू भिलेजेज’ प्रकाशित भएपछि उनलाई सफलता प्राप्त भयो। सन् १९३९ मा उनले ‘कन्सिभ्ड इन लिबर्टी’ नामक ऐतिहासिक उपन्यास लेखेपछि पहिलो व्यावसायिक सफलता प्राप्त गरे। यसमा भ्याली फोर्ज, पेन्सिल्भेनियामा अमेरिकी क्रान्तिकारी सेनाको अनुभवको काल्पनिक वर्णन गरिएको थियो। सन् १९४२ मा उनले जर्ज वाशिंगटनको बारेमा ‘द अनभ्यान्क्विश्ड’ लेखे र यो पनि प्रसिद्ध भयो। अर्को वर्ष प्रकाशित ‘सिटिजन टोम पेन’ ले क्रान्तिकारी युद्धको प्रतिष्ठालाई बहाल गर्न मद्दत गरेको थियो। सन् १९४४ मा फास्टको पुस्तक फ्रिडम रोडले एउटा पूर्व दासको जीवनको वर्णन गरेको छ। यो पनि धेरै प्रसिद्ध भयो। दोस्रो विश्वयुद्धको क्रममा फास्टले ‘भ्वाइस अफ अमेरिका’ रेडियो प्रसारणको लागि पटकथा लेखे। सन् १९५० मा उनी काँग्रेसको तिरस्कार गरेको आरोपमा तीन महिना जेल परेका थिए। सन् १९५३ मा फास्टलाई स्टालिन अन्तर्राष्ट्रिय पुरस्कारबाट सम्मान गरियो। सन् १९५१ मा फास्टको प्रसिद्ध उपन्यास ‘स्पार्टाकस’ प्रकाशनसँगै उनको प्रसिद्धि व्यापक रूपमा बढ्यो। यो उपन्यास प्राचीनकालको शक्तिशाली रोमन साम्राज्यको विरूद्धमा विद्रोहको नेतृत्व गर्ने एक दासको महान गाथा हो। सन् १९५७ पछि फास्ट क्यालिफोर्नियामा बसे। सन् १९६८ मा उनले विभिन्न चलचित्रका पटकथा लेखे। सन् १९७७ मा उनले लेख, वालकथा, कविता र काल्पनिक पारिवारिक गाथा लेखे। उनी छद्म नामबाट जासूसी उपन्यासहरू पनि लेख्थे। फास्टले संसारमा ८० मिलियन भन्दा बढी पुस्तक विक्री गरे। १२ मार्च २००३ मा ८८ वर्षको उमेरमा फास्टको मृत्यु भयो।
आदिविद्रोही उपन्यासमा स्पार्टाकसको वीरगाथालाई धेरै स्पष्ट रूपमा रेखाङ्कित गरिएको छ। यो एक शुरूवाती भयंकर विद्रोहको कहानी हो। जीवनको लागि न्याय-संघर्षको गाथा हो। जहाँ न्यायको लागि संघर्ष हुन्छ, त्यहाँ स्पार्टाकसको रगत बहन्छ। ईसापूर्व ७३ मा स्पार्टाकस रोमको दास थियो, त्यतिबेला रोममा दासप्रथा उच्च शिखरमा थियो। लाखौं दासहरूमध्ये एउटा दास स्पार्टाकसले त्यो पाशविक प्रथालाई चुनौती दिने साहस र वीरता स्वयंमा प्राप्त गरेको थियो। आदिविद्रोही मानव सभ्यताको इतिहासमा दास युगको कथा हो। आदिविद्रोहीको संक्षिप्त कथावस्तुले रोमको दास समाजमा जारी वर्गसंघर्षलाई दर्शाउँछ। दासका प्रतिनिधिहरूको रूपमा यहाँ स्पार्टाकस, डेभिड, क्रेक्सस, गेनिकस र भारिनिया जस्ता पात्र छन् भने दास मालिक वर्गका प्रतिनिधित्व क्रेसस, एन्टोनियस, केयस र अन्य ठाउँमा ग्रेकस र सिसेरो जस्ता पात्र छन्। यो उपन्यासको सर्वाधिक सशक्त उपलब्धी भनेको वर्ग समाजको मानिस जस्तो छ त्यस्तै सशरीर यस कृतिमा उपस्थित हुनु हो।
उपन्यासको सम्पूर्ण कथा संक्षिप्तमा
आदिविद्रोही उपन्यासको शुरूवात यसको मुख्य कथावस्तुको सम्पूर्ण घटनाक्रम घटिसकेपछि हुन्छ। उपन्यासको अधिकांश भाग स्मृतिमा हुन्छ र घटनाक्रमको प्रत्यक्ष अथवा अप्रत्यक्ष साक्षी रहिसकेका पात्रहरूद्वारा घटनाचक्र पाठकसम्म पुग्दछ। दासहरूको प्रचण्ड क्रोधको पहिलो सागर-ज्वारभाटा अहिलेसम्म दबाइसकिएको हुन्छ। यो महान कार्यमा हजारौं दासले आफूलाई होमीसकेका हुन्छन् र तिनीहरूमध्ये ६४७२ रोमबाट कापुआ जाने राजमार्गमा क्रसमा झुण्ड्याइएका हुन्छन्। रोमको समृद्धि र वैभवका सूचक रहेका सडकहरू एकपटक फेरि यात्रीहरूको लागि खोलिन्छ। सर्वत्र शान्ति छ र यस्तो बेलामा एउटा कुलीन रोमन घरानाको युवा भाईबहिनी केयस क्रेसस र हेलेना तथा हेलेनाकी साथी क्लादिया रोमबाट कापुआको यात्रामा निस्किन्छन्। दासहरूको प्रथम युद्ध समाप्त भए पनि अभिजातहरूको मन-मस्तिष्कमा अझै ती दासहरूको प्रेत लगातार हावी भइरहेको छ। चारैतिर उनीहरू नै चर्चाका विषय छन् । निपुण तथा चलाख दार्शनिकहरूद्वारा यो युद्धको इतिहास मेटाउने लाखौं प्रश्नहरूको बाबजुद उनीहरूको हौवा अझैसम्म कायम छ। कापुआसम्मको यात्राको क्रममा युवा रोमन कुलीन यात्री बीच-बीचमा दुई-तीन ठाउँमा राति विश्राम गर्नको लागि रोकिन्छन्। यस्तै ठाउँमा केयसको मामा एन्टोनियसको जागिर रहेको भिला सलारिया भन्ने ठाउँ छ। यहाँ उनीहरूको तीन प्रमुख रोमन हस्तीहरू – अत्यन्तै प्रभावकारी मानिसहरूमध्ये एक सिनेटर ग्रेकस, युद्धमा नेतृत्व गरी दासहरूलाई पराजित गरेको सेनापति क्रेसस र वरिष्ट रोमन अभिजातहरूले मान्ने गरेको एक युवा प्रशासनिक अधिकारी सिसेरो – सँग भेट हुन्छ। यही स्थानमा उपन्यासमा स्पार्टाकसको प्रवेश हुन्छ र यो महान दास योद्धाको जीवनको एक झलक पाइन्छ।
स्पार्टाकस एक ग्लाडिएटर थियो। प्राचीन रोममा रोमन अभिजातहरूलाई मनोरन्जन दिने उद्देश्यले एरिनामा एक-अर्कोलाई लडाउने काममा आउने दासहरूलाई ग्याडिएटर भनिन्थ्यो। तत्कालीन रोममा यो खेल अत्यन्तै लोकप्रिय थियो। दासहरूको जिन्दगी पूर्ण रूपले कैदी अवस्थामा थियो। उनीहरू जनावर जसरी लडेर अरूको ज्यान लिइ आफ्ना मालिकहरूको मनोविलास गराउनमा विवश थिए। मालिकहरूमा सबै अधिकार हुन्थ्यो। उनीहरूले दासका खुट्टामा नेल लगाइदिन्थे र उनीहरूका इन्द्रिय भोगका वस्तु दास स्त्री आफ्ना बच्चासम्मबाट निराश्रित थिए । किनभने एउटा दासको बजारमा मूल्य हुन्थ्यो र धेरै कम नै मूल्यमा भए पनि दास बच्चाहरू पनि बजारमा बिक्री हुन्थे। दासहरूमा कुनै अधिकार थिएन। स्पार्टाकस तीन पुस्ताको दास थियो, दासको छोराको छोरा। ऊ लेन्टुलस वाटियाटसको एरिनाको एक ग्लाडिएटर थियो। उसलाई नूबियाको सून खानीबाट खरिद गरिएको थियो। नूबिया शायद पृथ्वीको एक नरक थियो। नरक त्यहाँ शुरू हुन्छ, जहाँ जीवनका सीधासादा आवश्यक व्यापार पनि यन्त्रणा बन्न जान्छन्। नूबियाको खानीमा पोल्ने गर्मीको दिनभरी नौ पाउण्ड वजन भएका हथौडाबाट सुन निकाल्ने यी दास मजदूरहरूको राशनपानी एक पाउण्डभन्दा कम दिनमा दुईपटक हुने गर्दथ्यो। तर यस्तो सुख्खा ठाउँमा गर्मीले शरिरको धेरै पानी सुकाउथ्यो र यदि अन्य चीजले उनीहरूको ज्यान नलिए पनि पानीको कमीले गर्दा उनीहरूको मृगौंला खराब हुन्थ्यो, त्यसपछि दुखाइको कारणले उनीहरूले काम गर्न नसकेपछि उनीहरूलाई खेदेर मरूभूमिमा मर्नको लागि लगिनथ्यो। यस्तै ठाउँबाट स्पार्टाकस आएको थियो। उसलाई मानिसको जन्म जिउनको लागि भएको हो भन्ने कुरा थाहा थियो, त्यसैले ऊ जिउँथ्यो। उसलाई भेडा जस्तै देखिन्थ्यो तर ऊभित्र एक आगो थियो, जसको आदर एरिनाका सबै ग्लाडिएटरले गर्थे। एक दिन एउटा हब्सी ग्लाडिएटरले व्यक्तिगत रूपले विद्रोह गर्यो र ऊ मारियो। त्यसपछि अन्य ग्याडिएटरलाई पाठ सिकाउनको लागि एउटा अर्को कालो मानिसलाई भालामा उनेर मारियो। दासहरूमध्ये एउटा गेनिकसले यदि मानिसले मर्नै पर्दछ भने उसले राम्रोसँग पनि मर्न सक्छ भनेपछि स्पार्टाकसलाई उसले केही गर्नुपर्दछ भन्ने कुरा महसुस हुन थाल्यो। त्यसपछि धेरै दिनदेखि उसको चेतनाभित्र रहेको कुरा वास्तविकतामा परिवर्तन भयो। त्यो वास्तविकताको सम्बन्ध ऊमाथि र उसको वरिपरिका मानिसहरूसँग थियो। त्यसपछि स्पार्टाकसको नेतृत्वमा भयंकर दास विद्रोह शुरू भयो।
रोमले आफ्नो पहिलो सेना पठायो र स्पार्टाकसको नेतृत्वमा दासहरूले सम्पूर्ण सेनालाई काटे। एउटा मात्र जीवित रहेको सैनिक दासहरूको सन्देशबाहकको रूपमा रोमको सिनेटमा फर्कियो। र, उसैको मुखबाट सर्वप्रथम रोमका मालिकहरूको अगाडि स्पार्टाकस शब्दको उच्चारण भयो। उसको सन्देश सुनियो र त्यसपछि सेनाहरू पठाइयो। पाँच पटक रोमका सेनाहरू यो दास विद्रोह दबाउन गए तर सबै कुरा खाली रह्यो। यी दासहरूले कहिल्यै युद्ध लडेका थिएनन् तर उनीहरूले यो विद्रोहमा बहादुरीपूर्वक लडे। क्रेक्ससको नेतृत्वमा बीस हजार दास योद्धाहरू मारिइसकेका थिए। अन्ततः लिनियस क्रेससको नेतृत्वमा रोमन फौजहरूले स्पार्टाकसका साथीहरूलाई पराजित गरे। कैदी बनाइएका दासहरूलाई पछि क्रसमा झुण्ड्याइयो। स्पार्टाकसकी सुन्दरी गर्भवती प्रेमिका भारिनिया बचेर निक्लिइन् र क्रेसस र ग्रेकस जस्ता प्रभावशाली व्यक्तिहरूका हातमा पुगिन्। अन्तमा उनी टाढा रहेको आल्पस पहाडको एउटा गाउँमा एउटा किसानको रहिन्। त्यहाँ उनको पुत्रको जन्म हुन्छ र उसको नाम पनि उनले स्पार्टाकस नै राख्छिन्।
स्पार्टाकसको विद्रोहले लगातार चार वर्षसम्म रोमको सर्वशक्तिमान सत्तालाई कमाइरह्यो। यो विद्रोहलाई तत्कालीन अवस्थामा रोमन राम्राज्यले आफ्नो सम्पूर्ण शक्ति लाएर दबाए पनि यसले अभिजात वर्गका मालिकहरूको मदोन्मत्त सत्तालाई पूर्ण रूपले हल्लाइदियो। यो विद्रोह असफल हुन्छ र भौतिक दृष्टिले पराजित हुन्छ, विद्रोहका अधिकांश नायकहरूलाई क्रसमा झुण्ड्याइन्छ, मैंदान खाली हुन्छ। तर यो विद्रोहले स्वतन्त्रताको गला दबाउने मानव समाजमा जन्मिएका मालिक सत्ताको विरूद्ध दासहरूले गरेको पहिलो भयंकर विद्रोहको आवेगमय आँधी र नयाँ युगको शुरूवातको लागि ऐतिहासिक शिलालेख कायम गर्न सफल भयो। त्यसकारण यो कृति उत्पीडितहरूको लागि सदैव प्रेरणाको स्रोत रहिरहनेछ।
सन्दर्भ स्रोतहरू
- SPARTACUS, by HOWARD FAST, printed in completely new type, especially designed for easy reading, contains the complete text of the original, hard-cover edition.
- शीलभद्र, आह्वान कैम्पस टाइम्स,अक्टूबर दिसम्बर 1999
- आदिविद्रोही (दास स्पार्टाकस की जीवन-कथा) – अमृतरायद्वारा अनुदित, हंस प्रकाशन, इलाकावाद
Leave a comment