समाजवादी क्रान्तिको गर्भबाट पैदा भएको विश्वप्रसिद्ध उपन्यास ‘अग्निदीक्षा’ को सारसंक्षेप

अग्निदीक्षा उपन्यास निकोलाई ओस्त्रोभ्स्कीको अमर कृति हो। ओस्त्रोभ्स्कीको जन्म २९ सेप्टेम्बर १९०४ मा युक्रेनको भिलिया नामक गाउँमा गरीब श्रमिक परिवारमा भएको थियो। उनले ११ वर्षको उमेरमा वाल मजदूरको रूपमा काम गर्न शुरू गरेका थिए। उनी सन् १९१९ मा कम्युनिष्ट युथ लीगमा सामेल भए र गृहयुद्धमा भाग लिए। सन् १९२३ देखि १९२४ सम्म उनले युक्रेनी सीमा क्षेत्रमा कम्युनिष्ट युथ लीगको नेताको रूपमा काम गरे र सन् १९२४ मा कम्युनिष्ट पार्टीमा सामेल भए। लामो समयसम्म कठिन संघर्षमा सहाभागी भएकोले गर्दा उनको स्वास्थ्य गम्भीर रूपले क्षतिग्रस्त भयो। सन् १९२७ सम्ममा उनको स्वास्थ्य नराम्ररी बिग्रियो तर उनले हार मानेनन् र अद्भूत दृढतापूर्वक बिरामीसँग लडिरहे। त्यही वर्षको अन्त्यमा उनले कोटोभ्स्कीको विभाजनको बारेमा एक ऐतिहासिक वीरगाथा (Born of the Strom) लेख्न शुरू गरे तर यसको समीक्षाको लागि साथीहरूकोमा पठाउँदा यसको एक पाण्डुलिपि हरायो। यसले पनि उनको दृढ इच्छाशक्तिमा निराशा पैदा गरेन, बरू उनलाई बिरामीको विरूद्धमा अझ बढी दृढतापूर्वक लड्नको लागि प्रेरित गर्यो। सन् १९२९ मा उनलाई प्यारालाइसिस भयो र दुवै आँखा बन्द भए। सन् १९३० मा उनले स्वयं आफ्नो युद्ध अनुभवलाई सामग्रीको रूपमा प्रयोग गरे र दृढ इच्छाशक्तिसँगै ‘हाउ स्टील वाज टेम्पर्ड’ (अग्निदीक्षा) उपन्यास लेख्न शुरू गरे। यो उपन्यास उनको एक धेरै ठूलो सफलता थियो र यसलाई उनका समकालीनहरूले साँचो र उत्साहपूर्ण प्रशंसा गरे। सन् १९३४ मा ओस्त्रोभ्स्सकीलाई लेखक संघको सदस्यको रूपमा सामेल गरियो। सन् १९३५ को अन्तमा सोभियत सरकारले उनका रचनात्मक कार्य र साहित्यमा उत्कृष्ट योगदानको लागि उनलाई ‘अर्डर अफ लेनिन’ ले सम्मानित गरियो। २२ डिसेम्बर १९३६ मा गम्भीर बिरामीको पुनरावृत्तिको कारण मस्कोमा ओस्त्रोभ्स्कीको मृत्यु भयो। अग्निदीक्षा एक नयाँ मानव जन्मको कथा हो। यो समाजवादी युगमा क्रान्तिको गर्भबाट पैदा भयो। यसले मानवीय जीवनको उदात्त नैसर्गिक सौन्दर्य र सबै मानवीय मूल्यहरूको गरीमालाई समाजमा स्थापित गर्नको लागि आफ्नो सर्वस्व समर्पण गर्यो। यो कृतिले सोभियत रूसका युवा र श्रमिकहरुको बीचबाट कम्युनिष्टहरूको एक पंक्ति पैदा गर्नमा र समाजवादी व्यवस्था निर्माणको महान कार्यमा आफ्नो सम्पूर्ण शक्ति लगाउने चेतना पैदा गर्नमा धेरै ठूलो भूमिका निभायो।  अग्निदीक्षा वास्तवमा निकोलाई ओस्त्रोभ्स्कीको आफ्नो जीवनको कहानी हो, तर यो आत्मकथा नभएर एक उपन्यास हो। आफ्नो जीवनको चरित्रलाई उनले यसरी नयाँ साँचोमा ढालेका छन्, जुन उनको समग्र पुस्ताको जीवनचरित्र बनेको छ।

अग्निदीक्षा उपन्यास ओस्त्रोभ्स्सकीले सबभन्दा पहिले हातले लेखेका थिए तर बिरामीको कारणले अक्षर यताउता भएकोले केही पनि पत्ता लाउन असंभव भयो। पछि अर्को वाहकको उपयोग गर्ने सल्लाह दिइयो। उनले पछि यो पुस्तक लेख्नमा आफ्नी पत्नी, बहिनी र सबभन्दा आत्मीय मित्रहरूको सहयोग लिएका थिए। उनले यो पुस्तक सन् १९३३ मा पूरा गरेका थिए। यो उपन्यासमा दुई भाग छन् र तिनीहरूमध्ये प्रत्येकमा नौ अध्याय छन्। यिनीहरूलाई वालककाल, किशोरावस्था, युवा, परिवक्व वर्ष र बिरामी गरी विभिन्न उपशीर्षकहरूमा विभाजन गरिएको छ। यो उपन्यास लगायत ओस्त्रोभ्स्कीका सम्पूर्ण साहित्यिक रचनामा बोल्शेभिक सहासिक गाथा उल्लेख गरिएको छ।

उपन्यासको सम्पूर्ण कथा संक्षिप्तमा

अग्निदीक्षा यसको नायक पाभेल कोर्चागिनको वालककालको एक तस्वीरबाट शुरू हुन्छ। कोर्चागिन शत्रुताले भरिएको परिवेश विरूद्ध संघर्ष गर्दछ, जसबाट उसको विचार परिपक्व हुन्छ र उसको आवश्यकताको जागृति हुन्छ। उसले परिवेश र सम्पूर्ण समाज-व्यवस्थालाई नयाँ सिराबाट बनाउँदछ। समाजवादको लागि जनताको संघर्षबाट सामाजिक जीवनको आर्थिक स्थितिलाई बदलेर एक नयाँ समाजवादी चेतनालाई जन्म दिन्छ र सामाजिक र वैयक्तिक आचरणको एक नयाँ मापदण्ड स्थापना गर्दछ, जुन वास्तवमा एक मानवीय आचारको आधार हो।

युक्रेनको शेपेतोभका नामक सानो शहरको भाँडा माझ्ने गरीब आमाको छोरो पाभेलले धर्मविरोधी प्रश्नहरूबाट चिढिएर पादरीको आटामा तमाखु मिलाउँदछ, त्यसपछि उसलाई स्कूलबाट निकालिन्छ। र, ऊ रेलवे स्टेनशनको सानो रेस्टुरेन्टको भान्सामा काम गर्न लाग्छ। त्यहाँ समाजको थेगरमा परेका आफूजस्ता अभिशप्त मानिसहरूको जीवनमा व्याप्त दुःख, निर्मम अमानवीयता, उत्पीडन र निराशाको विरूद्धमा उसको किशोर हृदय भित्रभित्रै जल्न लाग्छ। एउटा बदमाश वेटरले कोर्चागिनलाई पिटेपछि रेलवे डिपोमा काम गर्ने उसको भाई आतेमले उसलाई धेरै नराम्रो व्यवहार गर्छ। र, यो घटनापछि पाभेल विजुलीघरमा फायरमेनको सहयोगीको काम  गर्न लाग्छ। यही बीचमा सन् १९१७ को फेब्रुअरी क्रान्ति हुन्छ। स्वतन्त्रता र बन्धुत्वको नाराले शेपेतोभकाको त्यो सानो शहरमा पनि हलचल पैदा गर्दछ र छिट्टै जीवनस्तर नराम्रो हुन लाग्छ। त्यसपछि अक्टुबर क्रान्तिको क्रममा शहरका मानिस एउटा नयाँ शब्द ‘बोल्शेभिक’ सँग परिचित हुन्छन्, जसको लडाइँ उनीहरूको गन्तव्यमा पुग्ने क्रममा शहरको स्टेशनमा मेन्शेभिक र अन्य प्रतिक्रान्तिकारी सरकारी फौजसँग हुन्छ। सन् १९१८ को वशन्तमा पहिलो पटक लड्दै बोल्शेभिकहरू त्यो शहरमा प्रवेश गर्दछन् तर छिट्टै उनीहरूले त्यहाँबाट पछाडि हट्नुपर्दछ र जर्मनीका सेना शहरमा प्रवेश गर्दछन्।

पाभेलभित्र उसको नोकरीको क्रममा एउटा विद्रोही मजदूरको चरित्रको निर्माण त शुरूदेखि नै भइसकेको थियो, भयानक वर्गयुद्धका यी उथलपुथलकारी घटनाहरूप्रति पनि ऊ र उसका साथीहरू एक किशोरसुलभ उत्सुकतासँगै सजग रहन्थे। यस क्रममा बोल्शेभिकहरूले बाँडेका राइफलहरूमध्ये पाभेलले एउटा पाउँछ। त्यसपछि छिमेकमा रहेको धनी लेशचिन्स्की परिवारमा अड्डा जमाएर बसेको जर्मन सेनापतिको रिभल्भर चोर्ने जस्ता रोचक र सहासिक घटनाहरू पनि घट्छन्। यही क्रममा उसले टोनिया नामकी एक मध्यमवर्गीय केटीसँग सम्बन्ध बनाउँछ, जुन छिट्टै नै निश्चल पवित्र प्रेममा बदलिन्छ। यही बीचमा उसको परिचय एक कम्युनिष्ट मजदूर जुखराईसँग हुन्छ। जर्मनहरूको विरूद्ध हट्तालको क्रममा जबर्जस्ती ट्रेन चलाउनको लागि विवश बनाएपछि एउटा जर्मनको हत्या गरी आतेम आफ्ना दुई साथीहरूसहित भाग्छ। त्यसपछि  पाभेलमाथि यो घटनाको प्रभाव पर्दछ। जुखराईका क्रान्तिकारी काम तथा लक्ष्यको बारेमा उसले केही बझ्न लाग्छ।

युक्रेन यसबेला निर्मम र भयंकर वर्गसंघर्षको शिकार भएको हुन्छ। शहरमा जर्मनीहरू हटेपछि पेटल्यूराका प्रतिक्रान्तिकारी गिरोहको एउटा एउटा ऐटमन गोलुबको कब्जा हुन्छ। जुखराई अचानक शत्रुबाट पक्राउ खान्छ तर पाभेलले अत्यन्तै बहादुरीपूर्वक बाटामा एउटा पेटल्यूरा सैनिकमाथि आक्रमण गरेर उसलाई छुटाउँदछ। जूखराई बचेर पुनः भूमिगत हुन्छ। पछि फेरि पावेल पक्राउ खान्छ। संयोगवश उसले सबैलाई छक्क्याएर त्यहाँबाट भाग्छ र टोनियाको घरमा गएर लुक्छ। आर्तेम पनि त्यतिखेरसम्म फर्किन्छ। त्यसपछि आर्तेमसँग र टोनियासँग विदा लिएर पाभेलले शहर छोडिदिन्छ। यो छोटो समयले उसलाई जिन्दगी र जारी लडाइँमा न्यायको पक्षको बारेमा धेरै कुरा सिकाउँदछ र उसको व्यक्तिगत विद्रोहले एक सामाजिक स्वरूप लिन लाग्छ। यहाँबाट पाभेल कोर्चागिनको जीवनले एक नयाँ मोड लिन्छ। ऊ अब युवा कम्युनिष्ट लीगको एक सदस्य र लालसेनाको एक बहादुर घोडसवार सेना हुन्छ। आफ्नो वर्गको सत्ताको लागि जीवन-मरणको संघर्ष गरिरहेका मजदूरहरूको फौजसँगै ऊ क्रान्तिविरोधी ध्रुबको विरूद्धमा लडाइँमा जमेर भाग लिन्छ। बीचमा ऊ टाइफाइड ज्वरोले ग्रस्त हुन्छ र एकपटक घाइते पनि हुन्छ। तर छिट्टै फेरि फौजको पंक्तिमा सामेल हुन्छ। यस क्रममा उसको मातृभूमि शेपेतभकामा पनि घटनाहरू तीव्र रूपमा घट्छन्। त्यहाँ बोल्शेभिकहरूको आधारक्षेत्र बनिसकेको हुन्छ र उसका सम्पूर्ण सँगैका र अन्य साथीहरू युवा कम्युनिष्ट लीग (कोमसोमोल) मा सक्रिय भइसकेका हुन्छन्। लोभोभको लडाइँमा नराम्रोसँग घाइते भएपछि पाभेल लामो समयसम्म अस्पतालमा भर्ना हुन्छ। त्यहाँ ऊ बाँचे पनि आफ्नो दाहिने आँखो गुमाउँदछ। ठीक भएपछि ऊ आफ्नो प्रेमिका टोनियालाई भेट्न जान्छ, तर जीवनको बारेमा टोनियाको मध्यमवर्गीय दृष्टिकोणले उनीहरूको बीचमा एउटा नभरिने खाल्डो पैदा गरिदिएपछि ऊ अत्यन्तै दुःखी हुन्छ। र, उसको यो पहिलो प्रेम दुःखद रूपले स्वाभाविक नियतिमा समाप्त हुन्छ।

पोल्याण्डको क्रान्ति-विरोधी युद्धको क्रममा नै जीटोमीर शहरलाई कब्जा गरेपछि पाभेलको टुकडीले कैदीहरूलाई मुक्ति गरिरहेको थियो, त्यही बेला उसको भेट शेपोतोभकाको एक प्रेस कम्पोजिटरसँग भयो। जसबाट उसलाई आफ्नो शहरमा क्रान्तिविरोधी ध्रुबबाट गरिएका विनाशलिला र आफ्ना धेरै वीर साथीहरूको बहादुरीपूर्ण संघर्ष र सहादतको जानकारी प्राप्त भयो। घाइते भएपछि पाभेल चेकामा काम गरिरहेको थियो, त्यसपछि अचानक उसको भेट आफ्नो प्यारो साथी सेर्गेईसँग भयो, जो त्यसपछि लगत्तै युद्धमा मारियो। यी सम्पूर्ण घटनाका झट्काहरूले पाभेलभित्र पैदा भएको दृढता, शत्रुप्रति कठोर, लक्ष्यप्रति समर्पित र प्रेमपूर्ण नयाँ मानिसलाई अझ प्रौढ बनाइदियो। क्रान्ति-विरोधी पोल्याण्डको युद्धको समाप्ति पछि उसले एक आँघीसँग खेलेर शेपेतोभकामा आफ्नी आमा र भाइलाई भेट्यो र केही दिन त्यहाँ बसेपछि फेरि फर्कियो। त्यसपछि समाजवादी समाजको निर्माण कार्यमा सामेल भयो। उपन्यासको पहिलो खण्ड यही समाप्त हुन्छ।

उपन्यासको दोस्रो खण्डको कथा इतिहासको त्यो कालखण्डमा केन्द्रित छ, जहाँ रूसको गृहयुद्ध समाप्त भइसकेपछि जोशजाँगर, आत्मोत्सर्ग र आत्मानुशासनको भावनाले पाभेल कोर्चागिन देशभरी बोल्शेभिकहरूका नयाँ र पुराना पुस्ताहरूसँग समाजवादी निर्माणको कार्यमा सर्वहारा राज्यका नयाँ आधारहरूको निर्माण कार्यमा जुट्छ। सुदखोर, सट्टाबाज र छिटपुट तोडफोडका षड्यन्त्रहरूको विरूद्ध पार्टीका कार्वाहीहरूमा लगातार सहभागी हुँदै पाभेल कोर्चागिन आफू जस्तै सम्पूर्ण उत्कृष्ट युवाहरूसँगै कर्मठ कोमसोमोल कार्यकर्ता बन्छ र साम्यवादका सिद्धान्तहरूको पनि अध्ययन गर्दछ। शुरूमा उसले आफ्नो कर्तव्यलाई जुन रूपमा बुझेको थियो, त्यसमा आफ्नो व्यक्तिगत जिन्दगीको लागि कुनै स्थान थिएन; यहाँसम्म कि यौवनको नैसर्गिक गुण प्रेमको लागि पनि उसमा कुनै ठाउँ थिएन। यही कारणले गर्दा पाभेल कोर्चागिनले रिटा उस्तिनोभिचप्रति आफ्नो प्रेमको गला दबाएर मर्माहत रिटाबाट अलग हुन्छ। केही वर्षपछि उसलाई गल्तीको महसुस हुन्छ, जसको चर्चा पछि उसले मस्कोमा रिटासँग गर्दछ तर त्यतिखेरसम्म अबेर भइसकेको हुन्छ। किनकि रिटा त्यसबेलासम्म कसैकी पत्नी भइसकेकी हुन्छिन्। तर पाभेलले जीवनको यो भयंकर व्यक्तिगत क्षतिलाई आन्तरिक शक्तिको बलमा झेल्दछ, जुन उसलाई जनतासँग समाजवादी समाजको लागि मर्दै-बाँच्दै गर्दा हासिल हुन्छ। यति मात्र होइन,  अतिउत्साहको शिकार भएर आफ्नो इच्छाशक्तिको कडाभन्दा कडा परीक्षा लिने र आफ्नो स्वास्थ्यप्रति लापर्वाहीको अराजक व्यक्तिवादी दृष्टिकोणको पनि उसलाई महसुस हुन्छ र उसले तिनीहरूलाई छोडिदिन्छ।

किएभमा पाभेल कोमसोमोलको एक स्थानको संगठनको प्रमुख भएर काम गर्दछ। यी अत्यन्त कठिन अभावका दिनहरूमा कोमसोमोल-युवाहरूलाई इन्धनको अति समस्यालाई हल गर्नको लागि जाडो आउनुभन्दा पहिले तीनमहिना भित्र दुर्गम जंगली इलाकामा पाँच माइल लामो रेलको लिग बिच्छ्याउने जिम्मा दिइन्छ। पाभेल आफ्ना कर्मठ युवा मजदूर साथीहरूसँगै अत्यन्तै अभावग्रस्त स्थितिमा कम कपडा र फाटेका जुत्ता लाएर बरफमा रेलको लिग विच्छ्याउँदछ। बर्षात् एवं भीषण चीसोसँगै उनीहरूले ओर्लिकका प्रतिक्रान्तिकारी डाकू गिरोहका आक्रमणको पनि सामना गर्नुपर्दछ। आफ्नो दुर्भाग्यपूर्ण आत्मिक शक्तिको दममा जिन्दगीलाई बदलिदिनको लागि आफूलाई होमिदिने युवाहरूले कठिन टाइफाइड ज्वरोको पनि सामना गर्नुपर्दछ। त्यसपछि बेहोस अवस्थामा रहेको कोर्चागिनलाई त्यहाँबाट शेपेतोभका पठाइन्छ। गलत प्रचारको कारणले कोर्चागिनको मृत्युको समाचार हरेक ठाउँमा फैलिन्छ र रिटाकोमा पनि पुग्छ। यता जीवनको चौथो पटक मृत्युको निकट पुगेर पाभेल जिन्दगीमा फर्किन्छ र आफ्ना साथीहरूलाई आश्चर्यचकित बनाउँदै पुनः काममा जुट्छ। केही दिनसम्म इलेक्ट्रिक फिटरको रूपमा काम गर्दै पाभेलले कोमसोमोलको जिल्ला कमिटीको प्रमुखको दायित्व निभाउँदछ। जाडो शुरू हुनुभन्दा पहिले उसले बरफ जस्तो चीसो पानीबाट बाढी बग्ने काठका टुक्रा निकाल्छ र फेरि बिरामी पर्छ। बाथ रोगले ऊ नराम्रोसँग ग्रसित हुन्छ। तर केही ठीक हुने वित्तिकै ऊ पुनः जीवनको आँधीमय लडाइँमा फर्किन्छ। केही दिनसम्म उसले पोल्याण्डको सीमानामा पनि काम गर्नुपर्दछ। त्यहाँको कोमसोमोल जिल्ला कमिटीबाट छिट्टै कोर्चागिनलाई सूबा कमिटीमा बोलाइन्छ र उसलाई पार्टी सदस्य बनाउने सिफारिस गरिन्छ। यही बीचमा लेनिनको मृत्यु हुन्छ। सम्पूर्ण सोभियत रूस शोकको लहरमा पर्दछ, तर यसको साथै सम्पूर्ण देशमा लेनिनको नेतृत्वमा जारी कार्यहरूलाई पूरा गर्ने संकल्पसँगै लाखौं मजदूर बोल्शेभिक पार्टीमा सामेल हुन्छन्, जसमा पाभेलको साथी शहीद भालिया र सेर्गेईको बुढो पिता जखार तथा पाभेलको भाई आर्तेम जस्ता मानिस पनि हुन्छन्।

एकातिर पाभेल चिन्ताजनक काममा निरन्तर डुबेको हुन्छ भने अर्कोतिर सानै उमेरमा उसको शरीरले तीव्र रूपमा साथ छोड्न शुरू गर्दछ। जसको चरम परिणाम के हुन्छ भने उसको लाख विरोधको बाबजुद उसलाई छुट्टी दिएर युक्रेन पार्टी केन्द्रीय समितिको सेनेटोरियममा पठाइन्छ। २४ वर्षको कम उमेरमा उसको जीवनको उदास र डरलाग्दो प्रक्रिया अब कमजोर हुँदै जान्छ। धेरै शल्यक्रिया र उपचारपछि के कुरा तय हुन्छ भने पाभेलको शरीरले अब धेरै दिन उसको साथ दिँदैन। यही बीचमा ऊ समुद्रतटको किनाराको एउटा सानो शहरमा आफ्नी आमाको साथी अलबिना क्युत्समसँग भेट्न जान्छ। त्यहाँ एक पिछडिएको पिताको तानाशाहीमा बाँचिरहेका उनका छोरीहरू लोला र तायासँग उसको परिचय हुन्छ। एकपटक फेरि फर्किएर उसले काम गर्ने प्रयास गर्दछ तर शरीरले एकदम साथ दिंदैन। कामबाट छुट्टी र पेन्सन लिएर पाभेल पुनः क्युत्सम परिवारलाई भेट्न जान्छ। । त्यहाँ आफ्ना मातापिता र आवारा भाइबाट अलग भइसकेकी ताया विस्तारै उसको निकट हुन्छिन्। र, दुवैले विवाह गर्छन्। यो अन्तिम क्षणमा पाभेलले जिन्दगीलाई असफलता बिना नै प्रेमसँग जोडेको हुन्छ। उसले तायालाई एक कम्युनिष्ट बनाउनुको साथै युवाहरूको अध्ययन सर्कलमा पनि लैजान लाग्छ। यसबेलासम्म उसको शरीर प्यारालाइसिसको कारणले गर्दा अपांग भइसकेको हुन्छ, दोस्रो आँखाको ज्योति पनि गुमिसकेको हुन्छ। तर जीवनको लडाइँबाट अवकास नलिन संकल्पबद्ध पाभेलले पुनः एउटा मार्ग निकाल्दछ। उसले आफ्नो जीवनको गृहयुद्धका दिनका अनुभवहरूलाई लिएर स्वयं एक उपन्यास लेख्न शुरू गर्दछ। पछि साथीहरूलाई लेखाउन लाउँछ र यसरी उसले ‘आँधीको छोरा’ नामक उपन्यास अत्यन्त कठिन परिस्थितिमा रचना गर्छ। प्रादेशिक कमिटीबाट उपन्यासको प्रकाशनको स्वीकृतिको खबर मिल्ने वित्तिकै उसलाई के लाग्छ भने ऊ एकपटक फेरि जिन्दगीको मैदानमा युद्धको पंक्तिमा फर्किएको छ। यसरी उपन्यास यही आएर समाप्त हुन्छ।

यो उपन्यासमा घटनाहरूको अत्यन्तै रोचक र गतिशील प्रवाहको क्रममा नायक पाभेल कोर्चागिनको जीवनको केन्द्रीय गाथासँग जोडिएका उसका धेरै बहादुर साथी र पुराना बोल्शेभिक पात्र पनि आउँछन् र यसले सँगै चलिरहेका अन्य घटनाप्रसंगहरूको माध्यमबाट उदात्त भावहरूबाट ओतप्रोत तिनीहरूको वास्तविक श्रमिक जीवनलाई झाँकिरहन्छ। कोर्चागिनले आफ्नो जीवन-स्थितिको विरूद्ध सहजै प्रतिवाद गर्दछ, उसले त्यसलाई वर्गसंघर्षभित्र तानेर लान्छ र त्यही मार्गबाट अगाडि बढ्दै उसभित्र एक समाजवादी चेतनाको उदय हुन्छ। गृहयुद्ध र समाज निर्माणको क्रममा गुज्रिदै उसमा आत्मोत्सर्गको भावना  र पुनः आत्मानुशासनले जन्म लिन्छ। अशक्तता र बिरामीको बावजुद पनि नवजीवनको संघर्षमा लागिरहने उसको संघर्ष जनताको लागि एक उदाहरण बन्छ। यो उपन्यासले पाठकलाई जीवनको आन्तरिक सौन्दर्यसँग, क्रान्तिको संघर्षमा निहित अदम्य प्राणशक्तिसँग, समष्टिको अपार क्षमता र सृजनशीलतासँग र नयाँ समाजसँग परिचित गराउनेछ। वास्तवमा यो उपन्यासले संघर्ष गर्ने प्रेरणा र शक्ति प्रदान गर्नेछ र यथास्थितिसँग विद्रोह गरी जिउने तरीका सिकाउँछ।

सन्दर्भ स्रोतहरू  

  1. NIKOLAI OSTROVSKY, How the Steel Was Tempered, TRANSLATED FROM RUSSIAN BY R. PROKOFIEVA,  ILLUSTRATIONS BY A. REZNICHENKO, DESIGN AND LAYOUT BY J. ANDREWS, Published by: COMMUNIST PARTY OF AUSTRALIA SYDNEY, AUSTRALIA AUGUST 2002
  2. सत्यव्रत, ‘आह्वान कैंपस टाइम्‍स’, जनवरी-मार्च 2000
  3. अग्निदीक्षा – निकोलाई आँस्त्रोवस्की, हिन्दी अनुवाद – अमृतराय, पिपुल्स पब्लिसिङ हाउस प्रालि, नयाँ दिल्ली
  4. https://www.goodreads.com/book/show/860566.How_the_Steel_Was_Tempered
  5. A MARXIST READING OF NIKOLAI OSTROVSKY’S HOW THE STEEL WAS TEMPERED – Dr. Sana’ Mahmoud Jarrar, Department of English Language, Faculty of Educational Sciences and Arts/Unrwa, P. O. Box: 541216 Postal Code: Abu-Nsair, 11937


Leave a comment

About Me

I am a student of philosophy and nature. I thoroughly research all subjects and summarize them in Nepali and English. I am Secretary of Marxism Study-Research Academy, Nepal. I am a Social Worker. Education – i) Master of Arts Degree in Political Science – TU, ii) Master of Public Administration Degree – TU, iii) Master of Arts Degree in History-TU, iv) Master of Arts Degree in Nepalese History Culture and Archaeology-TU.

म अध्ययन-अनुसन्धान कार्यमा निस्वार्थ भावले निरन्तर लागेको एक वाम विचारधारायुक्त सामाजिक कार्यकर्ता हुँ। मेरो कुनै पनि राजनीतिक दलसँग संलग्नता नरहेको जानकारी गराउँदछु। मेरा हरेक अध्ययन-अनुसन्धान कार्य शोषण, दमन, अन्याय, अत्याचारका विरुद्ध हुनेछन् । आम श्रमजीवी, भोका-नांगा, गरीब, उत्पीडित जनसमुदायहरूलाई सुशिक्षित गर्ने प्रयत्न मेरो कर्तव्य हुनजान्छ । मेरा सबै कार्य जनहितका लागि हुनेछन् भन्ने आशा तथा विश्वासपूर्वक मैले निरन्तर कार्य अगाडि बढाइरहेको हुनेछु। श्रमप्रति सम्मान र शोषणप्रति घृणा नै मेरा कार्यका उद्देश्य हुनेछन्।  

यहाँ तपाईंहरू सबै प्रकारका सामग्रीहरू अध्ययन गर्न र हेर्न पाउनुहुनेछ । अध्ययन गर्नको लागि रूचियुक्त सामग्रीहरू माग गर्नुभयो भने यथासंभव परिपूर्तिसमेत गरिनेछ । यहाँ लेखरचना, पत्रपत्रिका, म्यागजिन,  जर्नल, विभिन्न पुस्तकहरू (नेपाली, अंग्रेजी र हिन्दी भाषामा), डकुमेन्ट्री, फिल्म, आदि सामग्रीहरू खोजेर पढ्न तथा हेर्न सक्नुहुन्छ।

I am a leftist social worker who is selflessly engaged in research work. I inform you that I am not affiliated with any political party. Every study-research work of mine will be against exploitation, oppression, injustice and tyranny. It is my duty to try to educate the common workers, the hungry, the poor, the oppressed masses. I will continue my work with the hope and confidence that all my work will be for public interest. Respect for labor and hatred for exploitation will be the objectives of my work.

Here you will find all kinds of content to study and watch. If you demand for interesting materials to study, they will be provided as much as possible. Here you can search and read articles, newspapers, magazines, journals, various books (in Nepali, English and Hindi languages), documentaries, films, etc.

श्रमको सम्मान गर्नुभएकोमा धन्यवाद ।

Thank you for respecting the labor.

Newsletter

Marxism-मार्क्सवाद

Communist history

Philosophy-दर्शन

लेनिन-LeninLeninism

दस्तावेज-documents

धर्म-दर्शन

त्रिपिटक–बुद्ध

गीता सार

Politics–राजनीति

ग्रन्थ परिचय

Mao-Maoism

साहित्य- literature

जीवनी-biography

साम्यवाद-communism

युवाबारे-On Youth

कार्ल मार्क्स–Karl Marx

फ्रेडरिक एंगेल्स–F. Engels

भी.आइ.लेनिन–V.I.Lenin

जे. भी. स्टालिन – J.V. Stalin

माओत्सेतुङ – Maotsetung

डिजिटल पुस्तकालय (digital library)

ई-पुस्तकालय -e-library

विज्ञान-प्रविधि (Science-Technology)

सामान्य ज्ञान (GK)

Documentaries and YouTube channels

पुस्तकालय – LIBRARY

नेपाली डिजिटल पुस्तकहरू (Nepali Digital Books)

नेपाली न्यूजपेपर, म्यागजिन र अनलाइन पत्रपत्रिकाहरू (Nepali Newspapers, Online and Nepali Magazines)

English Digital Books : Part – 1 (world communist special books)

English Digital Books : Part – 2

English Digital Books : Part – 3

हिन्दी डिजिटल पुस्तक (Hindi digital Books) भाग – १

हिन्दी डिजिटल पुस्तक (Hindi digital Books) भाग – २

हिन्दी डिजिटल पुस्तक (Hindi digital Books) भाग – ३

हिन्दी डिजिटल पुस्तक (Hindi digital Books) भाग – ४

हिन्दी डिजिटल पुस्तक (Hindi digital Books) भाग – ५

Documentaries and YouTube channels

Uncategorized

ENGLISH SECTION

Design a site like this with WordPress.com
Get started