दर्शन : पूर्वीय दर्शन – बौद्ध दार्शनिक सिद्धान्त

बौद्ध दर्शन पूर्वीय दर्शन अन्तर्गतको नास्तिक दर्शन हो। पूर्वीय दर्शन जगतमा यसलाई अत्यन्तै महत्त्वपूर्ण रूपमा हेरिन्छ। आधुनिक कालमा पनि बौद्ध दर्शनको प्रभाव सबैतिर देखिन्छ । यसबाट यसका प्रवर्तक बुद्धको महत्त्व पनि अतिप्रसिद्ध भएको पाइन्छ। बौद्ध दर्शनको चिन्तन दुःख निवृत्तिको मुख्य साधन हो। यो दर्शनले दुःखलाई परिभाषित गर्नुका साथै दुःखका कारणलाई बताएर त्यसबाट मुक्तिको मार्ग खोज्ने प्रयास गर्दछ। यो दर्शन व्यावहारिकतामा आधारित छ। यसले मध्यम मार्गको अनुशरण गरी व्यक्तिलाई निर्वाण प्राप्ति गर्ने मार्गको खोजी गर्ने उद्देश्य लिएको देखिन्छ।  बौद्ध दर्शनले जीव र जगत दुवैलाई अनित्य र क्षणिक मान्दछ। बुद्ध दर्शन अनिश्वरवादी, क्षणिकवादी, अनात्मवादी, यथार्थवादी र प्रतित्यसमुत्पादी दर्शन हो। बौद्ध दर्शनको मूल सिद्धान्त अनुसार यो ब्रम्हाण्ड परिमाणशील छ, वस्तुजगत र मानसिक जगत दुवैको सत्ता छ, आत्मा-परमात्माको आध्यात्मिक सत्ता छैन, मानिस पंच-सकन्ध (रूप, वेदना, संज्ञा, संस्कार र विज्ञान) को संघात मात्र हो, मानिसको विकास बाह्य र आन्तरिक क्रियाहरूद्वारा हुन्छ, मानव जीवनको अन्तिम उद्देश्य निर्वाण प्राप्ति हो, निर्वाणको लागि अष्टांग मार्ग (सम्यक – दृष्टि, संकल्प, वचन, कर्म, आजीविका, व्यायाम, स्मृति र समाधि ) आवश्यक हुन्छ,  अष्टांग मार्गमा चल्नको लागि त्रिरत्न (शिल, समाधि र प्रज्ञा) को आवश्यक हुन्छ, राज्यको नेतृत्को मूल कर्तव्य प्रजाको पालन र उनीहरूलाई सत्य मार्गमा लगाउनु हुन्छ, आदि हुनआउँछ। बुद्ध दर्शनले विश्वका समस्याहरूको सूक्ष्मतापूर्वक, तार्किक ढंगले तथा मानव मूल्यहरूको आधारमा अध्ययन गरेर त्यसको समाधानका नियम र मार्ग पत्ता लगाउने प्रयास गरेको छ। यो दर्शनले अन्धविश्वास र अन्धकारलाई चिर्ने भरपुर कोशिस गरेको छ।

गौतम बुद्ध (ई.पू. ५६३-४८३, कपिलवस्तु, नेपाल) यो संसारको सृष्टिकर्ता होइनन्, न त उनी कुनै भगवान नै हुन् । उनी इतिहासका सर्वाधिक विलक्षण व्यक्तित्व र तार्किक ज्ञानमार्गका सूत्राधार हुन् । बुद्धका अनुसार यस सृष्टिमा जो कोहीले पनि बुद्धत्व प्राप्त गर्न सक्छ ।  बुद्ध एक साधारण व्यक्ति थिए । उनले केवल राम्रा विचारको पालनपोषण गरे र खराब विचार त्यागिदिए । उनले समग्र मानव जीवनमा सुख, शान्ति प्राप्त गर्न र दुःखबाट मुक्तिको लागि जीवनका सबै सुख-सुविधाहरू क्षणभरमै त्याग गरे । यही त्याग, तपस्या,  संकल्प र समर्पणले सिद्धार्थलाई बुद्ध बनायो । बुद्धले संसारको कल्याणको लागि व्यवहारिक दर्शनको उपदेश दिए ।  संसार दुःखले भरिएको कुरा बुझेपछि यसलाई उनले सार्वभौम समस्याको रूपमा हेरे । त्यसपछि उनी यसको कसरी निदान गर्न सकिन्छ भनेर छटपटाए । परिणामस्वरूप उनी आफैले सबभन्दा पहिले सम्पूर्ण इन्द्रिय सुख त्याग गरी एक सामान्य व्यक्तिको रूपमा सत्यको खोजमा निक्लिए ।  गृहत्याग गर्दा उनको उमेर २९ वर्षको मात्र थियो । शुरुमा उनले पाँच साथीहरूसँगै कठोर शारीरिक तपस्या गरे तर पछि कम कठोर शारीरिक तप गरे । त्यसपछि उनले तृष्णा, राग र द्वैषमाथि विजय प्राप्त गरे । अब उनले अस्तित्वका रहस्यहरू, व्यक्ति, सम्पूर्ण जगत र यसको संचालन प्रक्रिया, आदिको बारेमा ज्ञान प्राप्त गरे । उनले समस्याले ग्रसित जगतको लागि र दुःखको अन्त्यको लागि चार आर्य सत्य र अष्टांगिक मार्गको दर्शनको प्रतिपादन गरे । त्यसैगरी उनले समस्त जगत र मानव कल्याणको लागि विभिन्न दार्शनिक ज्ञान प्रवाह गरे, जसको कारणले गर्दा उनी सदैव यस सृष्टिमा मानवता र मानवजातिको प्रगतिको उच्च प्रेरणा बन्नपुगे ।

बुद्ध आफैले कुनै पुस्तकको रचना गरेको पाइँदैन तर उनको मृत्यु भएको केही समय पछि उनका दर्शन तथा शिक्षाहरूको संकलन गरियो ।  बुद्धको निधन भएको तीन महिनापछि भएको प्रथम बौद्ध संघायनमा नै सम्पूर्ण बुद्ध वचनलाई संकलन गरिएको थियो ।  बुद्धका शिक्षा र दर्शनका विशाल साहित्य रहेका छन् र यिनीहरू मुख्य गरी पाली, संस्कृत र केही अन्य भाषामा पाइन्छन् । यद्यपि अहिले भने विश्वका धेरै भाषाहरूमा अनुवाद भइसकेको पाइन्छ । बुद्धको सम्पूर्ण दर्शन र शिक्षा त्रिपिटकमा समेटिएको पाइन्छ । त्रिपिटक विनय पिटक, सुत्त पिटक र अभिधम्मपिटक गरी तीन भागमा विभाजित छ । बुद्धका कथनहरूको संग्रह सुत्तपिटकमा छ, भिक्षु संघको लागि नियमहरू विनय पिटकमा समेटिएको छ भने दार्शनिक समस्याहरूमाथि विचार अभिधम्मपिटकमा गरिएको छ । त्रिपिटक संवादको रूपमा हुनुको साथै यसमा रूपक र उपमाहरू रहेका छन् । यी तीनैमध्ये सुक्तपिटकलाई महत्त्वपूर्ण मानिन्छ किनभने यसमा बुद्धका वचनहरू र दर्शनहरू संग्रहित रहेका छन् । अभिधम्म स्वयं पनि बुद्ध वचन हो  । बुद्धत्व प्राप्त गरिसकेपछि बुद्धको मुखारबिन्दूबाट निस्केका सम्पूर्ण शब्द एवं वाक्यहरू बुद्ध वचन हुन् । त्रिपिटकले बौद्ध आदर्श, सिद्धान्त र नियमहरूलाई दर्शाउनुको साथसाथै दार्शनिक समस्याहरूलाई पर्गेल्दछ ।  पाली भाषामा यसलाई तिपिटक भनिन्छ ।  त्रिपिटकको शाब्दिक अर्थ – त्रि + पिटक,  त्रि भनेको तीन र पिटकको अर्थ बक्स वा टोकरी हो ।  यसरी त्रिपिटकको अर्थ तीनवटा बाकस हो ।  यो एक महामानवको शिक्षा र दर्शनको संग्रह हो,  जसमा बुद्धबचनहरू, बुद्धका शिक्षाहरू, मार्गदर्शन, व्याख्या, सल्लाह, स्पष्टीकरण, प्रेरणाहरू र दर्शन संग्रहित छन् ।  यो ग्रन्थ पाली भाषामा लेखिएको छ र अहिलेसम्म आउँदा विभिन्न भाषाहरूमा अनुवाद भइसकेको छ ।  यस ग्रन्थमा बुद्धले बुद्धत्व प्राप्त गरेदेखि महापरिनिर्वाणसम्मका वचनहरू संग्रहित गरिएको देखिन्छ  ।  बुद्धले आफ्नो समयमा सबै शिक्षा मौखिक रूपमा दिएका थिए ।  भिक्षु आनन्दले आफ्नै मस्तिष्कमा सम्झना भई बसेको आधारमा सुत्त पिटक र भिक्षु उपालिले विनय पिटक संकलन गरेका थिए । त्रिपिटकको रचना वा निर्माण अवधिको कुरा गर्दा बुद्ध वचनहरूको संकलन बुद्धको महारिपनिर्वाण भएको तीन महिनापछि अर्थात् ईसापूर्व ४८३ मा भएको पहिलो बौद्ध संघायनमा नै गरिएको थियो भने ती बुद्ध वचनहरूलाई अलगअलग रूपमा विनयपिटक, सुत्तपिटक र अभिधम्मपिटक गरी तीनवटा पिटकहरुमा विभाजन गरी लिखित रूपमा संकलन गर्ने कार्य ईसापूर्व २९ मा श्रीलंकामा आयोजित तेश्रो बौद्ध संघायनमा सम्पन्न भएको थियो ।   पालि त्रिपिटक अन्तर्गत विनयपिटकका ५ ग्रन्थ, सुत्तपिटक अन्तर्गत ५ निकायका पाँच ग्रन्थ र खुद्दक निकायको पनि १७ ग्रन्थ र अभिधम्मपिटक अन्तर्गत ७ गरी जम्माजम्मी ३३ वटा प्रमुख ग्रन्थहरु रहेका छन् । त्रिपिटकले महामांगलिक प्रेरणा र मानव जातिको लागि शुभ मार्गदर्शन प्रदान गर्नुका साथै विभिन्न दार्शनिक सिद्धान्तहरू प्रस्तुत गर्दछ ।  सम्पूर्ण त्रिपिटकमा ८४००० बुद्धवचनहरू छन्, जसमध्ये ८२००० बुद्धका र २००० बुद्धका परम शिष्य भिक्षुहरूका हुन् भन्ने मानिन्छ । त्रिपिटकमा बुद्धका जीवनका घटनाहरू, तत्कालीन समाजको बारेमा जानकारी र उनको तत्कालीन शिक्षा प्रणालीको विवरण समेत उपलब्ध छ ।  त्रिपिटक यस्तो साहित्य तथा दार्शनिक ग्रन्थ हो, जसद्वारा संसारका समस्त मानव जातिको कल्याण र दु:खबाट मुक्त हुने मार्ग वा उपाय दिइएको छ । 

बुद्धका केही शिष्यहरूले बुद्धका सिद्धान्त र दर्शनहरू पछि लेखेका थिए  भन्ने विश्वास गरिन्छ ।  ४८३ ईसा पूर्वमा बुद्धको मृत्युको केही समयपछि अजातशत्रुले राजगृहको गुफामा पहिलो बौद्ध संघायनको आयोजना गरे ।  महाकश्यपले पहिलो बौद्ध संघायनको अध्यक्षता गरेका थिए ।  यस कार्यक्रममा बुद्धका प्रिय शिष्य आनन्द र उपालि पनि सहभागी भएका थिए  ।  पहिलो बौद्ध परिषदको मुख्य विशेषता के थियो भने यसले पाली भाषामा बुद्धका शिक्षाहरू संकलन गर्‍यो, जसलाई सुत्तपिटक र विनयपिटक नाम दिइएको थियो । अभिधम्मपिटक पहिलो बौद्ध संघायनको समयमा रचिएको थियो ।  तर केही इतिहासकारहरूले अभिधम्मपिटक तेस्रो बौद्ध परिषदमा रचिएको विश्वास गर्छन् ।  विनयपिटकमा बौद्ध संघका नियमहरूको व्याख्या गरिएको छ ।  यसमा भिक्षु-संघका लागि बनाइएका नियमहरू विस्तृत रूपमा दिइएको छ ।  यसमा भिक्षु र भिक्षुणीहरूले आफ्नो दैनिक जीवनमा कुन-कुन नियमहरू पालना गर्नुपर्छ भन्ने कुरा बताइएको छ ।  उपालिले विनय पिटकलाई व्यवस्थित रूप दिएका थिए ।  विनय पिटकमा २५०० वर्षको पूर्ण सभ्यता र संस्कृतिको इतिहास समेत देख्न सकिन्छ । भिक्षु र भिक्षुणीहरूका लागि उल्लेखित नियमहरूका साथसाथै यो पुस्तकले सम्पूर्ण मानवताका लागि ती अमूल्य जीवन-मूल्यहरू संरक्षित गरेको छ, जसले आज र भोलि पनि भट्किएको मानवलाई मार्गदर्शन गरिरहनेछ । सुत्तपिटक पनि बौद्ध दर्शनको ग्रन्थ हो । यसलाई सबभन्दा महत्त्वपूर्ण पिटकको रूपमा लिने गरेको पाइन्छ । यसमा बौद्ध धर्मका सबै मुख्य सिद्धान्तहरू स्पष्ट पारिएको छ ।  यो त्रिपिटकका तीन भाग मध्ये एक हो ।  सुत्त पिटकमा पनि बुद्धका सिद्धान्तहरू सङ्कलन गरिएको छ ।  सुत्त पिटकलाई ५ निकायमा विभाजन गरिएको छ  । जसानुसार दीघ निकाय, मज्झिम निकाय, संयुत्त निकाय, अंगुत्तर निकाय र खुद्दक निकाय पर्दछन् ।  यसमा छोटा-छोटा कथा, गद्य संवाद, आदि पाइन्छ ।  सुत्त पिटकमा लगभग १०००० भन्दा बढी सूत्रहरू रहेका छन् ।  सुत्तपिटकको खुद्दक निकायको एक ग्रन्थ धम्मपद धेरै मानिसहरूले पढ्ने गरेको पाइन्छ ।  धम्मपद सुत्त पिटकको खुद्दक निकायको अंश हो ।  धम्मपद अन्तर्गतका  २६ खण्डहरू र ४२३ श्लोकहरू रहेका छन् ।  यो सुत्त पिटकको सबैभन्दा सानो निकाय ‘खुद्दक निकाय’ को १५ भाग मध्ये एक हो ।  त्यसैगरी अभिधम्म पिटकमा ७ ग्रन्थहरू छन् । जसानुसार धम्मसंगनी, विभंग, पुग्गलपंजति,कथावत्थु, यमक र पट्ठान पर्दछन् ।  अभिधम्म पिटकमा धर्म,  दर्शन र त्यसका क्रियाकलापहरूको व्याख्या पाण्डित्यपूर्ण तरीकाले गरिएको छ । यसमा विभिन्न दार्शनिक समस्याहरूको विवेचना पाइन्छ । त्रिपिटकले बुद्धको समयको राजनीति, अर्थव्यवस्था, सामाजिक संरचना, शिल्पकला, संगीत, आदिको पनि वर्णन गर्दछ । त्यसकारण पनि त्रिपिटकको सम्पूर्ण हिसाबले महत्त्वपूर्ण स्थान रहेको देखिन्छ ।

बुद्ध एक यस्ता महान दार्शनिक थिए, जसले मानव दिमागमा नयाँ र उच्च दार्शनिक विचारधारा सिर्जना गरे । बुद्ध दर्शनलाई बुद्धचरित महावस्तु, सुत्तानिपात, ललितविस्तार, त्रिपिटक, आदि जस्ता विभिन्न बौद्ध ग्रन्थहरूमा वर्णन गरिएको छ । तर यी सबै ग्रन्थहरूमध्ये सबैभन्दा महत्त्वपूर्ण ग्रन्थ त्रिपिटकमा बुद्धको जीवनसँग सम्बन्धित प्रत्येक घटनाहरूको साथै विभिन्न दार्शनिक सिद्धान्तहरूको विस्तृत विवरण दिइएको छ ।  बुद्ध दर्शनका आधारभूत तत्वहरू प्रतित्यसमुत्पाद, अनिश्वरवाद, क्षणिकवाद, अनात्मवाद, निर्वाण, चार आर्य सत्य र अष्टांगिक मार्ग, आदि हुन् । यी दार्शनिक आधारहरूलाई पछि बौद्ध दार्शनिक नागर्जुन, असंग, बसुबन्धु, दिग्नाग र धर्मकीर्ति जस्ता विद्वानहरूले अझ विस्तृत रूपमा व्याख्या र विश्लेषण गरेको देखिन्छ । बुद्धका यी दार्शनिक सिद्धान्तहरूलाई विशेष रूपले त्रिपिटकको सुत्तपिटकमा र सामान्यतः अन्य सबै पिटकहरूमा उदाहरणसहित व्याख्या गरिएको छ ।  यहाँ हामी बुद्धका त्रिपिटकमा उल्लेखित यिनै केही दार्शनिक सिद्धान्तहरूको बारेमा सविस्तार परिचर्चा गर्नेछौं । 

बुद्धको सम्पूर्ण दर्शनको आधार प्रतीत्यसमुत्पाद हो र उनको सम्पूर्ण दर्शनलाई बुझ्नको लागि यो एक कुँजी हो । बुद्धका अनुसार जसले प्रतीत्यसमुत्पादलाई बुझ्दछ, त्यसले बुद्ध दर्शनलाई बुझ्दछ र जसले बुद्ध दर्शनलाई बुझ्छ त्यसले प्रतीत्यसमुत्पादलाई बुझ्दछ । प्रतीयत्यसमुत्पाद त्रिपिटकको सबभन्दा महत्त्वपूर्ण सुक्त पिटकमा उल्लेखित पाइन्छ । बुद्ध दर्शनका चार आर्य सत्यमध्ये दोस्रो आर्यसत्य दुःखको खोजको सिद्धान्तलाई प्रतीत्यसमुत्पाद भनिएको देखिन्छ । यसमा तेस्रो आर्य सत्य दुःखको कारण र दुःख निवारणको कुरा पनि स्पष्ट पारिएको छ । बुद्ध दर्शनको केन्द्रीय र आधारभूत सिद्धान्त मानिने प्रतीत्यसमुत्पादले कारणता सम्बन्धी मतलाई प्रकट गर्दछ । यसमा दुःखको कारणको खोज र त्यसको निवारणको कुरा सम्मिलित छ । प्रतीत्य  र समुत्पाद गरी दुई शब्दहरूबाट प्रतीत्यसमुत्पाद बनेको छ । प्रतीत्यको अर्थ आश्रित हुनु, अवलम्बित हुनु वा कुनै वस्तुको उपस्थिति भन्ने हुन्छ भने समुत्पादको अर्थ उत्पत्ति, प्रादुर्भाव वा कुनै अन्य वस्तु उत्पन्न हुनु भन्ने हुन्छ । यसरी के कुरा स्पष्ट हुन्छ भने प्रतीत्यसमुत्पाद अनुसार कार्यको उत्पत्ति कारणको अपेक्षाबाट वा कारणमा आश्रित भएर हुन्छ । संसारका प्रत्येक घटना सकारण हुन्छ र कुनै पनि घटना अकारण घटित हुँदैन । कारण हुँदा कार्य हुन्छ र कारण नहुँदा कार्य हुँदैन । यसरी कार्यको उत्त्पत्ति स्वतन्त्र रूपले वा आकस्मिक रूपले हुँदैन । प्रतीत्यसमुत्पादको यो नियम कुनै चेतनशक्तिद्वारा संचालित हुँदैन, बरु यो स्वयं संचालित हुन्छ । बौद्ध दर्शन अनुसार कार्यको उत्पत्तिको लागि कारणसँग अनुकूल वा सहयोग बाह्य घटकहरू हुनु आवश्यक हुन्छ ।  कुनै घटना कुनै कारण मात्रको अभिव्यक्ति नभएर अनेकौं बाह्य सहायक कारणहरूको परिणाम हुन्छ । एकपटक तिनीहरूमा कार्य-कारणको श्रृखला आरम्भ भएपछि त्यो श्रृंखला एकभन्दा धेरै घटकहरूलाई फिर्ता नल्याउन्जेलसम्म निरन्तर चलिरहन्छ । प्रत्येक घटनाको लागि पर्याप्त कारण हुनु आवश्यक हुन्छ । प्रतीत्यसमुत्पाद मध्यम मार्गको परिचायक हो । यो मध्यममार्गको स्थिति दुई रूपमा देखिन्छ । प्रतीत्य समुत्पाद शाश्ववाद र उच्छेदवाको बीचको मार्ग हो ।  शाश्वतवाद अन्तर्गत नित्यता नै सत्य हो भने उच्छेदवाद अनुसार वस्तुहरूको विनाशपछि केही पनि शेष रहँदैन । प्रतीत्यसमुत्पाद अनुसार वस्तु नित्य छैन । वस्तुहरूको उत्पत्ति अन्य कारणहरूले हुन्छ तर यिनीहरूको पूर्ण विनाश हुँदैन, बरु तिनीहरूको केही कार्य वा परिणाम अवश्य बाँकी रहन्छ । त्यसकारण यो न त नित्यवाद हो र न पूर्ण विनाशवाद नै । प्रतीत्यसमुत्पाद एकप्रकारको सापेक्षतावादी सिद्धान्त हो । बुद्ध दर्शन अनुसार कार्य न त कारणमा विद्यमान हुन्छ र न त त्यसभन्दा भिन्न पृथक र स्वतन्त्र हुन्छ । कार्य कारणमा निर्भर हुन्छ र कार्य कारण सापेक्ष हुन्छ । त्यसकारण यसलाई सापेक्षकारणतावादी सिद्धान्त पनि भनिन्छ ।

कारणताको सिद्धान्तको रूपमा प्रतीत्यसमुत्पादले दुःखको कारणको खोजी गर्दछ । यसमा दुःखका कारणहरूको बाह्र श्रृंखला प्रस्तुत गरिएको छ, जसलाई द्वादस निदान भनिन्छ । द्वादस निदान प्रतीत्यसमुत्पादको आधारमा दुःखका कारणहरूको तार्किक खोजी हो । यी बाह्र श्रृंखलाहरूमा अविद्या, संस्कार, विज्ञान, नामरूप, षडायतन, स्पर्श, वेदना, तृष्णा, उपादान, भव, जाति र जरामरण पर्दछन् । यसरी प्रतीत्यसमुत्पादले मानव जीवनका तीनै कालहरूलाई जोड्दछ । अविद्या र संस्कार अतीत जीवनसँग, जाति र जरामरण भविष्यको जीवनसँग तथा बाँकी आठ वर्तमान जीवनसँग सम्बन्धित छन् । प्रतीत्यसमुत्पादले तीनैलाई जोडेर कर्मवादको स्थापना गर्दछ । यस अनुसार मानिसको वर्तमान जीवन उसको पूर्ववर्ती जीवनको कर्महरूको परिणाम हो तथा भविष्यको जीवन वर्तमान जीवनको कर्महरू अनुरूप हुन्छ । त्यसैले मानिसले आफ्नो संकल्पबाट भविष्यको जीवनलाई शुभ बनाउँदछ । प्रतीत्यसमुत्पादको यो नियम अटल छ र संसारका सबै प्राणीहरू यसबाट संचालित छन् । प्रतीत्यसमुत्पाद अन्तर्गत बाह्र श्रृंखलाका तीनकाल अनुसार अतीत जीवनमा अविद्या र संस्कार पर्दछन् । अविद्या भनेको अज्ञान हो र प्रायः चार आर्य सत्यहरूको अज्ञान नै अविद्या हो । दुःखको नाशको लागि यसको नाश आवश्यक हुन्छ । अविद्या प्रतीत्यसमुत्पाद चक्रको प्रथम अंग हो र यही नै यो चक्रको प्रथम कारण पनि हो । अविद्या अनादि छ तर शान्त छ । अविद्या सम्पूर्ण दुःखको मूल कारण हो र यसको नाश विद्याद्वारा वस्तुहरूको वास्तविक र यथार्थ ज्ञानबाट हुन्छ । अवास्तविक वस्तुलाई वास्तविक ठान्नु, दुःख उत्पन्न गर्ने वस्तुलाई सुख उत्पन्न गर्ने ठान्नु, आदि अविद्याका प्रतीक हुन् । वस्तुहरूको वास्तविक र यथार्थ स्वरूप नजान्नुको कारण अविद्या संस्कारलाई जन्म दिन्छ ।  संस्कारको कारण अविद्या हो । संस्कार भनेको संचित कर्म हो । पूर्व प्रवृत्तिको रूपमा संस्कारलाई बुझिन्छ । अतीत जीवनका कर्महरूको प्रभावका कारण नै संस्कार निर्मित हुन्छन् । कार्य संस्कार, वाक संस्कार र मन संस्कार गरी संस्कार तीन प्रकारका हुन्छन् । कार्यसंस्कारमा शरीर प्रधान, वाक संस्कारमा वचन प्रधान र मन संस्कारमा मन प्रधान हुन्छ ।  संस्कारबाट विज्ञान निर्मित हुने भएकोले विज्ञानको कारण संस्कार हो । त्यसैगरी वर्तमान जीवन अन्तर्गत विज्ञान, नामरूप, षडायतन, स्पर्श, वेदना, तृष्णा, उपादान र भव पर्दछन् । विज्ञानको आशय चेतनासँग हुन्छ । यो जीवनको त्यो अवस्था हो, जहाँ प्राणीले माता-पिताको गर्भमा प्रवेश गर्दछ र चैतन्य प्राप्त गर्दछ ।  अर्थात् गर्भावस्थामा प्राप्त चेतनालाई विज्ञान भनिन्छ ।  यसको कारण ती चित्त धाराहरू हुन्, जसले कुशल र अकुशल कर्महरूको स्वरूप प्रकट गर्दछ । नामरूपको कारण विज्ञान हो । नामरूप भनेको मनसँग गर्भस्थ शरीर हो । यसको अभिप्राय भ्रूणको मानसिक र शारीरिक अवस्थासँग हुन्छ । मन र शरीर समूहलाई नामरूप भनिन्छ ।  नाम र रूप गरी यसमा दुई शब्द हुन्छन् । रूपमा पृथ्वी, जल, तेज र वायु गरी चार महाभूत आउँदछन् भने नाममा संज्ञा, वेदना, संस्कार र विज्ञान आउँदछन् । यी पाँचैलाई संयुक्त रुपमा पंचस्कन्ध भनिन्छ ।  पंचमहाभूत र पंचस्कन्ध दुवैलाई मिलाएरपछि नामरूप हुन्छ ।  षडायतनको कारण नामरूप हो । आँखा, नाक, कान, जिभ्रो, छाला र मन गरी छ इन्द्रियहरू नै छ आयतन वा षडायतन हो । स्पर्शको कारण षडायतन मानिन्छ । इन्द्रिहरूको विषयसँग संयोग हुँदा स्पर्श हुन्छ । वेदनाको कारण स्पर्श हो । सुख-दुःखको अनुभूतिलाई वेदना भनिन्छ । इन्द्रिय तथा मनको बाह्य वस्तुहरूसँग सम्पर्क हुँदा जुन अनुभूति हुन्छ, त्यसलाई वेदना भनिन्छ ।  सुखरूप, दुःखरूप र उदासीनरूप गरी वेदना तीन प्रकारका हुन्छन् । तृष्णाको कारण वेदना हो । विषयहरूप्रति आसक्तिलाई तृष्णा भनिन्छ । इन्द्रियहरूबाट प्राप्त सुखानुभूतिप्रति लालसा तृष्णा हो । सुखप्रतिको आसक्ति तृष्णा हो ।  काम तृष्णा (इन्द्रिय सुखको इच्छा), भव तृष्णा (जीवित रहने इच्छा) र विभव तृष्णा (धन सम्पत्तिको इच्छा) गरी तृष्णा तीन प्रकारका हुन्छन् । उपादानको कारण तृष्णा हो । उपादान भनेको जगतका वस्तुहरूप्रति राग र मोह हुनु हो । यो तृष्णाको बहुलता हो । कामोपादान (कामवासनामा लिप्त रहनु), दृष्टयुपादन (मिथ्या सिद्धान्तमा विश्वास गर्नु), शीलव्रतोपादान (व्यर्थको शीलाचारमा लागिरहनु) र आत्मावादोपादान (आत्माको अस्तित्वमा दृढ आग्रह गर्नु) गरी उपादान ४ प्रकारका हुन्छन् ।  भवको कारण उपादान हो । भव (अस्तित्व) भनेको जन्म ग्रहण गर्ने इच्छा हो । उत्पत्ति भव र कर्म भव गरी यो दुई प्रकारको हुन्छ ।  जातिको कारण भव हो । भविष्यको जीवनसँग सम्बन्धित श्रृंखला जाति र जरामरण हो । जाति भनेको जन्म लिनु अर्थात् शरीर धारण गर्नु हो । जरामरणको कारण जाति हो । जरामरण भनेको दुःखको प्रतीकको रूपमा प्रयुक्त शब्द हो । यहाँ जराको अर्थ बुढेशकाल र मरणको अर्थ मृत्यु हो । जीवनका दुःखहरूको सांकेतिक नाम जरामरण हो । यसरी यी बाह्र चक्रले दुःखका कारणहरूको खोजी मात्र गर्दैन, बरु त्यसको विनाशको कुरा पनि गर्दछ । यसरी प्रतीत्यसमुत्पादको सबभन्दा प्रमुख विशेषता के हो भने यी बाह्र चक्र मानवका भूत, वर्तमान र भविष्यका जीवनमा व्याप्त हुन्छन् ।

प्रतीत्यसमुत्पाद अनुसार प्रत्येक वस्तु वा घटनाको कुनै न कुनै कारण अवश्य हुन्छ । अभावबाट अभाव नै उत्पन्न हुन्छ, अभावबाट भाव हुँदैन । कारणको अभावमा कुनै कार्यको संभावना रहँदैन । बौद्ध दर्शनले यो सिद्धान्तलाई धम्म भनेको छ, जुन स्वयं संचालित हुन्छ । यसको लागि कुनै संचालकको आवश्यकता पर्दैन । कारण रहँदा कार्य स्वयं हुन्छ । पूर्वघटना कारण हुन्छ र त्यसमा आधारित उत्तर घटना कार्य हुन्छ । त्यसकारण कारण-कार्य सम्बन्धलाई पालीमा पतिच्यसमुत्पाद भनिन्छ । हेतु समूह प्रतिमुख हुने कुरालाई प्रतीत्य र एक्लै उत्पन्न भएर साथमा उत्पन्न हुने अर्थात् पारस्पारिक स्वभाव भएको धर्मलाई उत्पन्न गर्ने कुरालाई समुत्पाद भनिन्छ । प्रतीत्य पदमा शाश्वत दृष्टि र समुत्पादबाट निरपेक्ष दृष्टिमा प्रहार हुने हुँदा दुवैबाट मध्यमार्ग प्रतिभाषित हुन्छ र यसलाई नै मध्यमा प्रतिपदा पनि भनिन्छ । यसरी एकको उत्पन्न हुने अथवा उपस्थित हुने कुरामा अर्कोको उत्पन्न हुनु वा उपस्थित हुनु प्रतीत्यसमुत्पाद हो । यसमा कारण र कार्यबीच सापेक्षताको सम्बन्ध हुन्छ । सापेक्षवादी दृष्टिकोणले हेर्दा प्रतीत्यसमुत्पाद संसार हो र वास्तविक दृष्टिले यो निर्वाण पनि हो । प्रतीत्यसमुत्पादबाट जगताका सम्पूर्ण वस्तुहरू सापेक्ष, परनिर्भर र जरा-मृत्युको अधिनमा हुने भएकोले अनित्य छन् । संसारका सबै वस्तुहरू सापेक्ष भएकोले पूर्ण रूपले सत्य पनि छैन र पूर्ण असत्य पनि छैन । पूर्ण सत्य जरा-मृत्युको वशीभूत भएकोले हुँदैन र पूर्ण असत्य त्यसको अस्तित्व दृश्यमान हुने भएकोले हुँदैन । यसरी सबै वस्तुहरू सत्य र असत्य अथवा वास्तविकता र शून्यताको बीचमा स्थित हुन्छन् ।

यसरी बौद्ध दर्शनको मूल मन्त्र प्रतीत्यसमुत्पाद हो ।  यसको समग्र अर्थ कारणको अपेक्षा अनुसार कारणमाथि निर्भर रहेर कार्यको उत्त्पत्ति अर्थात् कुनै वस्तुको उपस्थितिमा कुनै अन्य वस्तुको उत्पत्ति हो ।  यो कारण-कार्य सम्बन्धी सिद्धान्त हो, जसका अनुसार कारण उपस्थित हुँदा कार्यको उत्पत्ति हुन्छ ।  प्रतीत्य–समुत्पादको शाब्दिक अर्थ हो, सापेक्ष कारणतावाद अर्थात् कुनै एक वस्तुको उपस्थितिमा अर्को वस्तुको उत्पत्ति हुनु ।  शून्यता र भविता अर्थात् केही नहुनुको भावार्थमा केही हुनु भन्ने आयामको गहनतालाई प्रतीत्य-समुत्पादले बुझाइरहेको हुन्छ ।  संसार प्रतीत्य–समुत्पादको नियम अनुसार कार्यकारण सम्बन्धको भावमा सञ्चालन हुने भएकाले समस्त प्राणी जगत् र वस्तु सत्ता यस सिद्धान्तबाट पृथक् छैनन् । प्रतीत्यसमुत्पाद अनुसार प्रत्येक वस्तु कारण अनुसार हुन्छ ।  कारण नष्ट भएपछि वस्तुको पनि नाश हुन्छ । यसबाट प्रत्येक वस्तु नश्वर छ भन्ने कुरा पनि प्रमाणित हुन्छ ।  प्रतीत्यसमुत्पादकै आधारमा यसका अन्य दार्शनिक सिद्धान्त – कर्मवाद, क्षणिकवाद, अनात्मवाद, अनिश्वरवाद, शून्यवाद, आदि अवलम्बित छन् । बुद्धले प्रतीत्यसमुत्पादको अनुभूति भएकोले र यसको यथार्थतालाई जानेकोले अन्य मानिसहरूसम्म पुर्र्याउने यथासंभव कोशिस गरे । बुद्धद्वारा प्रतिपादित यो सिद्धान्तको बौद्ध दर्शनमा धेरै ठूलो महत्त्व रहेको छ । यसलाई मानव जाति र प्राणी मात्रलाई बुद्धद्वारा दिइएको सबभन्दा अमूल्य र शाश्वत निधिको रूपमा लिइन्छ । यसको सम्यक सम्बोधनबाट सम्पूर्ण मिथ्या दृष्टिहरू भंग हुन्छ भन्ने मान्यता राखिन्छ । यसकारण प्रतीत्यसमुत्पादलाई बौद्ध दर्शनको केन्द्रबिन्दु भनिएको हो । यसलाई बुद्धको मौलिक देन मानिन्छ ।

बौद्ध दर्शनको अर्को एक महत्त्वपूर्ण र प्रमुख दार्शनिक सिद्धान्त अनात्मवाद हो । यो यस्तो दार्शनिक पर्खाल हो, जसमा बौद्ध दर्शनका सम्पूर्ण आचार-विचारले आश्रय लिएको देखिन्छ । अनात्मवादको बारेमा त्रिपिटकको विनयपिटक र  सुक्तपिटक अन्तर्गत दीघनिकाय, मज्जिम निकाय, अंगुतर निकाय र बुद्धचर्यामा उल्लेख गरिएको देखिन्छ । त्यसैगरी धम्मपदमा पनि अनात्मवादबारे प्रकाश पारिएको छ । संयुक्तनिकायमा बुद्धले आत्माको सम्बन्धमा शाश्वतवादी र निरपेक्षतावादी दुवैप्रकारका धारणाहरूलाई मृथ्यादृष्टि भनेका छन् ।  अनात्मवादमा कुनै स्थायी अथवा नित्य आत्माको निषेधको बारेमा वर्णन गरिएको छ । बुद्धले स्थायी आत्माको सिद्धान्तको खण्डन गरेका छन् र त्यसको स्थानमा चेतनाको निरन्तर प्रवाहको मतलाई स्वीकार गरेका छन् । सामान्यतः यही विचारलाई बुद्ध दर्शनमा अनात्मवाद भनिन्छ । बुद्धका अनुसार आत्मालाई स्वीकार गर्नु भनेको अदृष्ट, अश्रुत र काल्पनिक कुरालाई स्वीकार गर्नु जस्तै हो अथवा कुनै अज्ञात भवनको लागि सिँडी तयार गर्नु जस्तै हो । सत्ताहीन पदार्थको प्राप्तिको उद्योग परम मूर्खताको सूचक हो । बुद्धले सत्काय अर्थात् आत्माको धारणालाई दर्शनसम्बन्धी एक भारी बन्धन मानेका छन् र साँचो ज्ञान प्राप्त गर्नको लागि त्यसलाई नष्ट गर्नु सबभन्दा धेरै आवश्यक ठानेका छन् । बुद्धले आत्माको नित्यता, अपरिवर्तनशीलता, अनन्तता, शाश्वतता जस्ता भावनालाई केवल वाल धर्म अर्थात् मूर्ख विश्वास भनेका छन् । बुद्धले महाबग्गमा आत्माको अस्तित्वको निराकरण र अनात्मवादको प्रतिपादन गरेका छन् । बुद्धका अनुसार रूप, वेदना, संज्ञा, संस्कार र विज्ञान यी सबै आत्मारूप हुन्थे भने यिनीहरूमा रोग हुँदैनथ्यो र हामी यो मेरो रूप, संज्ञा, वेदना, संस्कार र विज्ञान भन्न सक्थ्यौं । त्यसकारण यो मेरो हो, यो म हुँ, यो मेरो आत्मा हो भन्ने जस्ता सबै कुरा भ्रम हुन् । बुद्धका अनुसार पारमार्थिक रूपले आत्माको सत्ता अस्वीकार्य छ । लोक व्यवहारको लागि आत्माको सत्ता, जुन रूप, वेदना, संज्ञा, संस्कार र विज्ञान गरी पाँच स्कन्धहरूको समूह मात्र हो । यिनीहरूको अतिरिक्त आत्माको कुनै स्वतन्त्र अस्तित्व छैन । धम्मपदमा पनि समस्त पदार्थ अनित्य, दुःख र अनात्म छ भनिएको पाइन्छ ।

जुन आत्मा वा मनरहित हुन्छ, जुन आत्मिक हुँदैन वा जुन आत्माबाट भिन्न हुन्छ, त्यसलाई अनात्म भनिन्छ र यही अनात्मले युक्त विचारधारा नै अनात्मवाद हो । यसले आत्माको अस्तित्वलाई मान्दैन । बुद्धका अनुसार पाँच स्कन्धहरूको अतिरिक्त अरु कुनै यस्तो तत्व छैन, जसलाई आत्मा भन्न सकिन्छ । बुद्धका अनुसार पृथ्वी, जल, तेज, वायु तथा श्रुत, स्मृत, विज्ञान सबैलाई म अथवा मेरो ठान्नु हुँदैन किनकि यी मेरा होइनन् र न म नै यिनीहरूको हुँ । यसैलाई बुद्धको अनात्मवाद भनिन्छ । बुद्धले आत्माको सत्तालाई अस्वीकार गर्दै क्षणिक संवेदनाहरू र विचारहरूलाई मात्र स्वीकार गरेका छन् । यसरी आत्मा अनित्य छ र यो संवेदन, विचार र अस्थायी भौतिक शरीरको संकलन मात्र हो । यसरी आत्मा पाँच स्कन्ध (रूप, वेदना, संज्ञा, संस्कार र विज्ञान) हरूको समूह हो ।  रूप अन्तर्गत मानव शरीरको आकार, रंग, आदि पर्दछन् । वेदना अन्तर्गत सुख, दुःख, आदिको अनुभूति हुन्छ । संज्ञा अन्तर्गत वस्तुको निश्चित ज्ञान आउँदछ । संस्कार अन्तर्गत पूर्व कर्महरूको कारण उत्पन्न हुने प्रवृत्तिहरू आउँदछन् र, अन्तमा विज्ञान अन्तर्गत चेतना आउँदछ । यसरी बौद्ध दर्शन अनुसार वास्तवमा आत्मा नामको कुनै स्वतन्त्र नित्य सत्ता नै छैन ।  पाँच स्कन्धको अस्तित्व रहुन्जेलसम्म आत्माको कुनै अस्तित्व कायम रहँदैन । बौद्ध दर्शनमा अनात्मवादको एक विशेष अर्थ रहेको छ । यस अनुसार आत्मा अनित्य, अस्थायी शरीर र मनको संकलन मात्र हो । आत्मा क्षणिक तथा पंचस्कन्ध रूप मात्र हो । बुद्धका अनुसार स्थायी आत्मामा विश्वास गर्नु भ्रामक हो । उनका अनुसार विश्वमा न कुनै आत्मा छ र न आत्मा जस्तै कुनै अन्य वस्तु नै छ । पाँच ज्ञानेन्द्रियहरूको आधारस्वरूप मनका वेदनाहरू, आत्मा वा आत्मा जस्तै कुनै चीजबाट बिल्कुल शून्य छन् । 

बुद्धका अनुसार संसारमा आत्मा नामको कुनै पृथक सत्ता छैन तथापि मानिसको जीवनमा व्यक्तित्वको एकताको अभाव पनि छैन ।  जीवन विभिन्न क्रमबद्ध एवं अव्यवस्थित अवस्थाहरूको एक प्रवाह हो । विभिन्न अवस्थाहरूको सन्ततिलाई नै जीवन भनिन्छ । यसभित्र कुनै अवस्थाको उत्पत्ति त्यसको पूर्ववर्ती अवस्थाबाट हुन्छ । यसरी वर्तमान अवस्थाले आगामी अवस्थालाई उत्पन्न गर्दछ । जीवनका विभिन्न अवस्थाहरूमा पूर्वापर कारण-कार्यको सम्बन्ध रहन्छ । त्यसकारण सम्पूर्ण जीवन एकमय प्रतीत हुन्छ ।  जीवनको एकसूत्रतालाई रातभरि बल्ने बत्तिको दृष्टान्तबाट बुझ्न सकिन्छ । प्रत्येक क्षणको प्रकाश बत्तिको तत्लकालीन अवस्थामा निर्भर हुन्छ । क्षण-क्षणमा बत्तिका अवस्थाहरू परिवर्तित भइरहन्छन् । यसरी नै प्रत्येक क्षण बत्तिको प्रकाश पनि भिन्न-भिन्न हुन्छ । तर प्रकाश भिन्न-भिन्न हुँदा पनि बत्ति बिल्कुल अविच्छिन्न लाग्दछ । बुद्धले अनात्मवादको विवेचना कुनै दार्शनिक निश्चयको आधारमा गरेका थिएनन् । अनेकौं दार्शनिक प्रश्नहरू जस्तै बुद्धको आत्माको अस्तित्वको प्रश्न पनि दुःखबाट मुक्ति पाउनको लागि निरर्थक थियो ।  बुद्धले आत्माको नित्यतामा विश्वास भएपछि मानिसभित्र एकप्रकारको आग्रह उत्पन्न हुन्छ र त्यसले विभिन्न क्लेशहरूलाई जन्म दिन्छ भन्ने कुरा स्पष्ट रूपमा देखे । त्यसकारण बुद्धले अनात्मवादको उपदेश दिएका हुन् । बुद्ध दर्शनमा अनात्मवादको पक्षमा अनेकौं प्रकारका तर्कहरू प्रस्तुत गरिएका छन् । यस अनुसार आत्माको अस्तित्वको सिद्धि न त प्रत्यक्ष प्रमाणबाट र न अनुमानबाट नै हुन्छ । किनकि यदि अन्य भाव जस्तै आत्माको पृथक सदभाव हुन्छ भने यसको उपलब्धि या त प्रत्यक्ष ज्ञान (पंचेन्द्रिय वा मनोविज्ञान) बाट हुनुपर्दछ अथवा अनुमान ज्ञान (अदृश्य अतीन्द्रिय) बाट हुनुपर्दछ । यसरी बौद्ध दर्शनको अनात्मवादको सिद्धान्त अत्यन्तै गहन छ ।

बौद्ध दर्शनमा क्षणिकवाद अर्को एक महत्त्वपूर्ण दार्शनिक सिद्धान्त हो । प्रतीत्यसमुत्पाद अनुसार प्रत्येक घटनाको कुनै कारण अवश्य हुन्छ र कारण नष्ट भएपछि कार्यको नाश हुन्छ । यसबाट क्षणिकवादको उदय हुन्छ । यसलाई अनित्यवाद पनि भनिन्छ । यसका अनुसार संसारका सम्पूर्ण वस्तुहरू चंचल, परिवर्तनशील एवं क्षणिक छन् । सार्वभौम परिवर्वतन प्रकृतिको नियम हो । बुद्धको क्षणिकवादी दर्शनको व्याख्या पनि त्रिपिटकको सुत्तपिटकमा विशेष रूपले गरिएको पाइन्छ । यसै अन्तर्गतको धम्मपदमा के भनिएको छ भने जुन नित्य तथा स्थायी लाग्दछ, त्यो पनि नाशवान हुन्छ । जुन महान लाग्दछ, त्यसको पनि पतन अनिवार्य हुन्छ । प्रत्येक जड वा चेतन जुनसुकै वस्तु नश्वर छ भन्ने कुरा नै क्षणिकवाद वा अनित्यवाद हो । क्षणिकवाद अनुसार संसारका प्रत्येक वस्तुहरू प्रत्येक क्षणका हुन्छन् । वस्तुहरू उत्पन्न हुनु र नष्ट हुनुमा धेरै समय लाग्दैन । प्रत्येक वस्तु अनित्य हुनुका साथै क्षणिक पनि हुन्छन् । नदीको धारा एक क्षणपछि अर्को धारा बनेजस्तै संसारका वस्तुहरू पनि क्षण-क्षण बदलिरहेका हुन्छन् । क्षणिकवादका अनुसार सबै कुरा क्षणिक भएकोले संसारका प्रत्येक वस्तुको अस्तित्व क्षणमात्रको लागि रहन्छ । कुनै पनि वस्तु कुनै अर्को क्षणमा एउटै अवस्थामा रहँदैन । प्रत्येक वस्तुको त्यसको उत्पत्तिको तुरून्त पछि अन्त हुनजान्छ । वस्तुको आफ्नो उत्पत्तिको तुरुन्त पछि विनाश हुने कुरालाई नै क्षणिकवाद भनिन्छ । उत्पत्ति तथा विनाशबाट सबै वस्तुहरूको अनित्यता सिद्ध हुन्छ । जहाँ संयोग हुन्छ त्यहाँ वियोग हुन्छ । जहाँ जन्म हुन्छ त्यहाँ मृत्यु हुन्छ । बुद्धका अनुसार जीवन संभूति र भावरूप हो । विश्वका सबै वस्तुहरू अनित्य धर्महरूको संघातमा टिकेको हुन्छ । त्यसकारण तिनीहरू अनित्य छन् । तिनीहरूमा उत्पाद, स्थिति र क्षय हुन्छ । अनित्यवादलाई नै पछि क्षणिकवाद भनियो । क्षणिकवादका अनुसार जसको उत्पत्ति हुन्छ त्यसको अनिवार्य विनाश हुन्छ अर्थात् कुनै पनि वस्तुको अस्तित्व सनातन हुँदैन । कुनै पनि वस्तुको अस्तित्व केही समयसम्म मात्र रहन्छ । जुन चीजलाई हामी भ्रमवश शाश्वत मान्छौं, वास्तवमा कुनै पनि वस्तु शाश्वत छैन । सबै अनित्य, क्षणिक र परिणामी छन् । परिणाम वा परिवर्तन वस्तुको स्वभाव हो । जन आज हुन्छ, त्यो भोलि हुँदैन । भोलिको स्वरूप अर्को हुन्छ । यसरी प्रत्येक वस्तु क्षण-क्षण बदलिरहने मान्यतामा आधारित यो सिद्धान्तलाई क्षणिकवाद भनिएको हो । 

क्षणिकवादले शाश्वतवाद (प्रत्येक वस्तु सत्) र उच्छेदवाद (प्रत्येक वस्तु असत्) को मध्यमार्ग अपनाउँदछ । क्षणिकवाद यी दुवैको बीचको सिद्धान्त हो । यसका अनुसार कुनै पनि वस्तु न त पूर्ण रूपले नित्य हुन्छ र न पूर्ण रूपले नश्वर नै हुन्छ । प्रत्येक वस्तु परिवर्तनशील छ । यसरी क्षणिणकवादले सत् र असत् बीचको मार्ग अपनाउँदछ ।  क्षणिकवादलाई अर्थ-क्रिया-कारित्व नामक तर्कको आधारमा स्पष्ट रूपले बुझ्न सकिन्छ । अर्थ-क्रिया-कारित्व भनेको कुनै कार्यलाई उत्पन्न गर्ने शक्ति हो । क्षणिकवाद अनुसार कुनै वस्तुको सत्ता त्यसमा कार्य गर्ने शक्ति हुन्जेलसम्म मात्र रहन्छ । जुन वस्तु कार्य गर्नमा असमर्थ हुन्छ, त्यसको सत्तालाई मानिंदैन । एउटा वस्तुले एक समयमा एउटा कार्य उत्पन्न गर्दछ, अर्को समयमा अर्को कार्यलाई उत्पन्न गरेको बेलामा प्रथम अस्तित्व समाप्त हुन्छ । यो तथ्यलाई विउको उदाहरणबाट स्पष्ट पार्न सकिन्छ । विउ जमिनमा रोप्दा अंकुर हुँदै विरुवाको रूपमा विकसित हुन्छ र त्यो विरूवाको हरेक क्षण विकास भइरहन्छ । यसरी नै विश्वका प्रत्येक वस्तु प्रत्येक क्षण परिवर्तित भइरहेका हुन्छन् । जलसमूहको निरन्तर प्रवाहमा एक जलसमूह बगेपछि तुरुन्तै अर्को आइहाल्छ । तर अर्को जलसमूहले त्यसको स्थान लिन्छ र यसरी यो क्रम निरन्तर चलिरहन्छ । त्यसैगरी बलिरहेको वत्तिमा पनि यो प्रक्रिया चल्दछ । वस्तुतः बत्ति कैयौं क्षणिक शिखाहरूको निरन्तर प्रवाह हो, जसमा एक क्षणिक ज्वाला जानेवित्तिकै त्यसको स्थान तुरुन्तै अर्को ज्वालाले लिन्छ र यो क्रम बत्ति बलुन्जेलसम्म निरन्तर चलिरहन्छ । प्रवाहको तीव्र वेग र निरन्तरताको कारण समानतामा एकताको आरोप र प्रवाहको अविच्छिन्नतामा नित्यताको आरोप हुन्छ । बुद्धका अनुसार जो वृद्ध हुनसक्दछ त्यो पूर्णतः वृद्ध हुन्छ, जो रोगी हुन्छ त्यो अवश्य रोगी हुन्छ । जो मृत्यको अधीन छ त्यो अवश्य मर्नेछ । जुन नाशवान छ त्यसको नाश हुनु अनिवार्य हुन्छ । बुद्धद्वारा प्रतिपादित अनित्यवादको विकसित रूप नै क्षणिकवाद हो । यस अनुसार हरेक वस्तुको अस्तित्व क्षणमात्र हुन्छ ।  विश्व क्षणिकवादकै विकसित रूप हो । विश्वका प्रत्येक वस्तु क्षणभंगुर छन् ।

क्षणिकवाद अनुसार जहाँ सत्ताको अस्तित्व हुन्छ त्यहाँ क्षणिकता पनि हुन्छ ।  वर्तमान भूतजन्य हुन्छ तथा भविष्यमा परिवर्तन स्वाभाविक हुन्छ ।  प्रत्येक क्षणमा क्षणजन्य जनकत्वको भाव हुन्छ । विश्वका सबै वस्तुहरू प्रतिक्षण बदलिरहन्छन् किनकि कुनै पनि वस्तुसँग प्रतिक्षण एकै परिणामको संभावना रहँदैन । यसरी के कुरा प्रमाणित गर्न सकिन्छ भने वस्तुको सत्ता क्षणभर मात्र रहन्छ । यसकारण परिवर्तनमा पनि एकता र आफ्नो तादात्म्य स्थायी रूपमा बनाउन सक्ने कुनै प्रवाह-नित्य वस्तु छैन । केवल क्षणिक धर्मका धाराहरू बगिरहेका हुन्छन् । यिनीहरू चेतन र अचेतन गरी दुई प्रकारका हुन्छन् । दुवै परस्पर स्वतन्त्र हुन्छन् र दुवै सत हुन्छन् । चेतन धर्म विज्ञान हो र अचेतन धर्म भौतिक परमाणु हो । यी क्षणिक विज्ञान र क्षणिक परमाणुका अलग-अलग धाराहरू सतत बगिरहेका हुन्छन् । सबै क्षणिक धर्म, विज्ञान र परमाणु प्रतीत्य समुत्पन्न हुन्छन् र कारण-कार्य नियमले बाँधिएका हुन्छन् । किनकि क्षणिक धर्मको निरन्तर प्रवाहमा पूर्वभावी क्षणिक धर्म कारण हो र उत्तरभावी क्षणिक धर्म त्यसको कार्य हो । कारण-क्षण उत्पन्न हुने वित्तिकै कार्य-क्षणलाई जन्म दिएर नष्ट हुन्छ ।  यसप्रकार प्रतिक्षण यी क्षणिक धर्महरूको उत्पादन विनाश भइरहन्छ । क्षणिकवादका अनुसार कुनै नित्य द्रव्य (चेतन वा जड) छैन । द्रव्यता, एकता, तादात्म्य, नित्यता, आदि कल्पना मात्र हुन् । क्षणिक विज्ञानको प्रवाहमा पुदगल वा जीवात्मामा आरोपित गरिन्छ र क्षणिक परमाणुको परवाहमा भौतिक पदार्थ आरोपित गरिन्छ । वस्तुतः न चेतन आत्मा छ र न भौतिक पदार्थ नै । क्षणिक विज्ञान र क्षणिक परमाणुहरूको प्रवाह वा सन्तानलाई सन्तानवाद भनिएको छ । तर यो विज्ञान र परमाणु मिलेर आफ्नो संघात वा समुच्चय पनि बनाइरहन्छन्, जुन परिमाणको कारण बन्दै र बदलिंदै जान्छन् । यसलाई संघातवाद भनिन्छ ।  सन्तानवाद र संघातवाद क्षणिकवादकै दुई रूप हुन ।

परिवर्तित हुनु संसारको लाक्षणिक विशेषता हो । क्षणिकवादका अनुसार कुनै पनि चीजको अस्तित्व केवल केही समयसम्म मात्र रहन्छ । जसरी एक प्रवाहले दोस्रो प्रवाहलाई जन्म दिन्छ, दोस्रोले तेस्रोको, तेस्रोले चौथोको, यसरी नै एक क्षणले दोस्रोको, दोस्रोले तेस्रोको हुँदै निरन्तर जन्म दिँदै अगाडि बढिरहन्छ । यही प्रवाह नित्यतालाई नै मानिसले भ्रमवश सनातन अर्थात् शाश्वत ठान्दछन् । जबकि कुनै पनि वस्तु शाश्वत हुँदैन । यसरी क्षणिकवादको सिद्धान्तअनुसार सबै वस्तुहरू क्षणिक र विनाशशील छन् । जसरी मानिस पहिले वालअवस्था, त्यसपछि युवावस्था तथा अन्तमा वृद्धावस्था हुँदै मृत्युको अधीनमा हुन्छ । यही नै अनित्यता हो, परिवर्तनशीलता हो तथा क्षण-क्षण परिवर्तन भइरहेका वस्तुहरूको उत्पत्ति र विनाश हो । 

बुद्ध दर्शनको अर्को एक महत्त्वपूर्ण सिद्धान्त अनिश्वरवाद हो । यसलाई त्रिपिटकको सुत्तपिटकमा विशेष रूपमा र त्रिपिटकको सबैतिर विभिन्न उदाहरणसहित बुद्धले स्पष्ट बनाएका छन् ।  बुद्धले मानव जातिलाई जिउने तरीका सिकाउने क्रममा ईश्वरको अस्तित्वमाथि पनि ज्ञान प्रदान गरेका थिए । बुद्धले ईश्वरलाई एक कल्पना मात्र हो भनेका छन् । उनका अनुसार ईश्वरवादको सिद्धान्त सत्यमा आधारित छैन ।  बुद्धले दार्शनिक विचारहरूमा ईश्वरको सत्ताको विरोध गरेका छन् । बुद्धका अनुसार यो संसार प्रतीत्यसमुत्पादको निययबाट संचालित हुन्छ । यो संसार परिवर्तनशील र अनित्य छ । त्यसकारण यो नश्वर एवं परिवर्तनशील जगतलाई ईश्वरको मान्नु असंगत हुन्छ । त्यसैले ईश्वरलाई सृष्टिको स्रष्टा र नियामक मान्नु हास्यास्पद हुन्छ । यदि ईश्वरलाई विश्वको स्रष्टा मान्ने हो भने अनेकौं समस्याहरू प्रस्तुत हुनेछन् । यदि ईश्वर संसारको नियन्त्रक हो भने सृष्टिमा विनाश र परिवर्तनको अभाव हुनुपर्दछ तर यस्तो त हुँदैन । बुद्धका अनुसार सम्पूर्ण संसार प्रतीत्यसमुत्पादको नियमद्वारा संचालित हुन्छ । सृष्टिका समस्त वस्तुहरू कार्य-कारणको श्रृंखलामा आबद्ध हुन्छन् र कुनै पनि वस्तु अकारण हुँदैनन् ।  बुद्धका अनुसार यो ब्रह्माण्ड चलाउने कोही छैन, न त कोही प्रवर्तक नै छ ।  किनकि उत्पत्ति भन्ने वित्तिकै अन्त्य बुझिन्छ ।  त्यसपछि न शुरु हुन्छ र न अन्त्य हुन्छ । सारा विश्व उत्पत्ति र विनासको नियमबाट शासित छ । विश्व परिवर्तनशील र अनित्य छ ।  यो नश्वर एवं परिवर्तनशील जगतको स्रष्टा नित्य र अपरिवर्तनशील ईश्वरलाई मान्ने कुनै पनि आधार छैन ।  यसरी विभिन्न ढंगले बुद्धले अनिश्वरवादलाई प्रमाणित गर्ने प्रयास गरेका छन् ।

बुद्धका अनुसार संसार शुभ-अशुभ, सुख-दुःख, आदिको अधीनमा छ । त्यसकारण ईश्वरलाई पूर्ण मान्नु भ्रान्ति मात्र हो । ईश्वरलाई विश्वको स्रष्टा मान्ने कुराको के अर्थ लाग्दछ भने उसले विश्वको निर्माण कुनै प्रयोजनको लागि गर्दछ ।  यदि उसले विश्वको निर्माण कुनै प्रयोजनको पूर्तिको लागि गर्दछ भने ईश्वरको अपूर्णता देखिन्छ । यसरी तार्किक रूपले ईश्वरको अस्तित्व विचार खण्डित हुन्छ । बुद्धका अनुसार विश्वको संचालक प्रतीत्यसमुत्पादले गर्ने हुँदा यो कुरालाई ईश्वरको सृष्टि मान्नु दोषपूर्ण हुन्छ । किनभने ईश्वरले कुनै प्रयोजनको पूर्तिको लागि मात्र कारण नियमको निर्माण गर्न सक्दछ, जसमा ईश्वरको अपूर्णता प्रमाणित हुन्छ । त्यरकारण कारण नियमको आधारमा ईश्वरलाई सिद्ध गर्नु भ्रम मात्र हो ।  बुद्ध दर्शनलाई महत्त्वका साथ हेरिनुको कारण पनि उनले ईश्वरको अस्तित्वलाई पूर्ण रूपले अस्वीकार गर्नु हो भनिन्छ । ईश्वरको अगाडि-पछाडि रहेर त धेरै दर्शनहरू जन्मिएका छन् तर बुद्ध दर्शनमा ईश्वरको लागि कुनै स्थान छैन । ईश्वरबाट मुक्ति नपाउन्जेलसम्म बुद्धिले पूर्ण रूपमा मुक्ति प्राप्त गर्न सक्दैन । बुद्धले प्रत्यक्ष इतर अदृश्य तागतलाई मान्दैनन् । बौद्ध दर्शनमा ईश्वर सम्बन्धी प्रश्नहरूलाई अव्याकृत भनिएको छ र यी प्रश्नहरूमा कतिपय स्थानमा बुद्ध मौन रहेका देखिन्छन् । ईश्वरको अस्तित्वको विषयमा बुद्धले खोज गरेर आफैले जानेपछि मात्र सत्य हुने कुरा बताएका थिए । उनका अनुसार कसैले पनि मान्ने होइन, जान्नुपर्दछ । अन्यको सत्य मेरो काममा नआउन सक्दछ । वैद्यले बिरामीलाई हेरेर मात्र औषधि दिन्छ तर सबै बिरामीलाई एउटै औषधि काम लाग्दैन । बुद्धका अनुसार कसैले पनि भ्रमपूर्ण मान्यताहरूमा बाँधिनु हुँदैन । सत्यको खोजमा निरन्तर लागिरहनुपर्दछ । यसरी हरेक कोणबाट बुद्ध दर्शनलाई अनिश्वरवादी दर्शनको रूपमा पुष्टि गर्न सकिन्छ ।

बुद्धले स्वअनुभवबाट हरेक व्यक्तिमा अपार शक्ति भएको र ऊ स्वयंले आफ्नो चित्तलाई शुद्ध बनाएर असीम करूणा र प्रज्ञा प्राप्त गर्नसक्ने कुराको ज्ञान हासिल गरे । उनको दर्शनले के कुरा प्रेरित गरेको देखिन्छ भने हरेकले स्वर्गबाट ध्यान हटाएर हृदयतिर लगाउने हो भने सबै समस्याहरूलाई आफ्नो बोधबाट समाधान गर्न सक्छ । बुद्धका अनुसार विश्व अनन्त कालदेखि नष्ट भएर पुनर्निमित हुँदै आएको छ । यो सम्पूर्ण प्रक्रिया अनन्तकालदेखि स्वयं नैसर्गिक नियमहरूबाट भएको छ । बुद्धले चमत्कारितालाई ईश्वरीय परिणाम नभएर हाम्रो अपूर्ण ज्ञान हो भनेका छन् । बुद्ध दर्शन अनुसार मान्नेहरूको संख्याले सत्य र असत्यको फैसला हुँदैन । यसको फैसला त तथ्य र प्रमाणहरूको आधारमा मात्र हुन्छ । त्यसकारण सत्य र असत्यमा ईश्वरको कुनै स्थान छैन । बुद्धका अनुसार ईश्वरमा विश्वास राखेर व्यक्तिले मद्दत वा संरक्षण पाउने होइन । उनीहरूले यो कुरा स्वयंको मनबाट प्राप्त गर्दछन् । ईश्वरमा भरोसा गर्ने र नगर्नेहरूको बीचमा हुने रोग, उमेर, सफलता, आदिमा कुनै भिन्नता भएको प्रमाण प्राप्त भएको छैन । जीवनका हरेक समस्याहरूसँग जुध्नको लागि हामी सबैसँग मानसिक संसाधन र बुद्धि छ । आधारहीन विश्वासको बदलामा हामीले यी शक्तिहरूलाई विकसित गर्नमा ध्यान दिनुपर्दछ ।

यसरी बुद्धका अनुसार हामीले ईश्वरमा विश्वास राख्नुभन्दा पनि मानिसमा विश्वास राख्नुपर्दछ । हरेक मानिस अनमोल र महत्त्वपूर्ण हुन्छ । सबैमा बुद्धत्वको क्षमता हुन्छ । अज्ञान र तर्कभन्दा पर सत्यलाई हामी जस्तो छ त्यस्तै देख्न सक्दछौं । हामी घृणा, क्रोध, डाह, ईर्ष्या, आदिलाई प्रेम, शान्ति, दान र करूणामा परिवर्तन गर्न सक्दछौं । सबै मानिसहरू क्षमतावन हुन्छन् । बुद्धका अनुसार स्वयंको सिवाय हामीलाई कसैले बचाउन सक्दैन र बचाउन पाउँदैन । हामी आफैले आफ्नो मार्गमा हिड्नुपर्दछ ।  

बुद्ध दर्शनमा निर्वाण पनि एक महत्त्वपूर्ण दार्शनिक सिद्धान्त हो । बुद्धले आफ्नो तेस्रो आर्यसत्यमा निर्वाणको चर्चा गरेका छन् । उनका अनुसार दुःखको कारण हुने भएकोले यदि दुःखको कारणको अन्त भयो भने दुःखको अन्त पनि अवश्य हुन्छ । कारणको अभावमा कार्यको उत्पत्ति हुँदैन । दुःखको अन्तको अवस्थालाई दुःख निरोध भनिन्छ । बुद्धले यही दुःख निरोधलाई निर्वाण भनेका छन् । यसलाई पाली भाषामा निब्बान भनिन्छ । बुद्धले नित्य आत्माको अस्तित्वलाई अस्वीकार गरेकोले यस्तो स्थितिमा उनको दार्शनिक सिद्धान्त निर्वाण महत्वपूर्ण रूपमा देखा पर्दछ । बौद्ध दर्शनमा निर्वाणलाई नै जीवनको चरम लक्ष्य मानिएको छ । निर्वाणको बारेमा त्रिपिटको सुक्त पिटक र अभिधम्क पिटकमा विशेष रूपले व्याख्या गरिएको छ । त्यसैगरी सुक्तपिटक अन्तर्गत रहेको धम्पदमा पनि निर्वाणको बारेमा स्पष्ट पारिएको छ ।  धम्मपदमा निर्वाणलाई आनन्द, चरमसुख, पूर्ण शान्ति तथा लोभ, घृणा र भ्रमरहित अवस्थाको रूपमा चित्रण गरिएको छ । 

निर्वाणलाई जीवनको अन्तको रूपमा लिइएको देखिंदैन । यद्यपि निर्वाण प्राप्ति यही जीवनमा पनि संभव छ भन्ने कुरा प्रष्ट्याइएको छ । बुद्धका अनुसार प्रत्येक मानवले आफ्नो निर्वाण स्वयं प्राप्त गर्नुपर्दछ । बुद्ध जस्तै गरी मानिसले यो जीवनमा आफ्ना दुःख निरोध गरी निर्वाण प्राप्त गर्न सक्दछ । यसैले निर्वाणलाई जीवनको अन्त भन्दा पनि जीवनकालमा नै प्राप्यताको रूपमा बुद्धले व्याख्या गरेका छन् । निर्वाणको शाब्दिक अर्थ निभ्नु हो । निर्वाण प्राप्त भएपछि सबै दुःखको अन्त्य हुन्छ अथवा सबै दुःख निस्क्रिय अवस्थामा जान्छन् र तिनीहरूको अनुभव पूर्ण रूपले समाप्त हुन्छ । त्यसकारण निर्वाणलाई एक आनन्ददायक अवस्था मानिएको छ, जसबाट बाँकी जीवन कुनै पनि दुःखको अनुभव नगरीकन शान्तिपूर्वक बित्दछ । यसबाट मृत्युपछि पुनर्जन्मको भय पनि समाप्त हुन्छ । निर्वाण निस्क्रियता र अकर्मण्यताको अवस्था होइन । व्यक्तिले निर्वाण प्राप्त गरेपछि चार आर्य सत्यमा निरन्तर विचार वा मनन गर्दछ र जब एकपट अखण्ड समाधिद्वारा स्थायी रूपले प्रज्ञा प्राप्ति भएपछि निरन्तर समाधिमा पनि रहनुपर्दैन र कर्मबाट अलग रहने कुनै आवश्यकता पनि पर्दैन । निर्वाण प्राप्त व्यक्तिले पनि कर्म गर्नुपर्दछ तर त्यो कर्म स्वार्थमय नभएर लोककल्याणको लागि हुनुपर्दछ ।  निर्वाण प्राप्त भएपछि करूणा र दयाले प्रेरित भएर जनकल्याणको लागि स्वयंलाई सक्रिय राख्न सकिन्छ ।

बुद्धका अनुसार कर्म दुई प्रकारका हुन्छन्  । एकप्रकारको कर्म राग, द्वैष र मोहको कारण हुन्छ र अर्को प्रकारको कर्म बिना राग, द्वेष र मोहको हुन्छ । पहिलो प्रकारको कर्मलाई आसक्त कर्म भनिन्छ भने दोस्रो प्रकारको कर्मलाई अनाशक्त कर्म भनिन्छ । अनाशक्त कर्म गर्ने मानिसले मात्र निर्वाण प्राप्त गर्न सक्दछ । यसरी बुद्धका अनुसार निर्वाण प्राप्त व्यक्तिले सबै दुःखबाट छुटकारा पाउँदछ । यसले दुःखका समस्त कारणहरूको अन्त गरी मानिसलाई दुःखबाट मुक्ति दिलाउँदछ । निर्वाणले मानव जीवनकालमा शान्ति प्राप्ति हुन्छ । निर्वाणपछि मानिसले बाँकी जीवन पूर्ण शान्तिपूर्वक व्यतीत गर्न सक्दछ । यो एक परम सुख हो ।

बुद्ध दर्शनमा अव्याकृत प्रश्नहरूमा बुद्धको मौनतालाई पनि महत्त्वपूर्ण रूपमा हेर्ने गरिन्छ ।   जब बुद्धलाई जीव, संसार, ईश्वर, आदिको बारेमा चौध वटा दार्शनिक प्रश्न सोधियो, उनी सधैं मौन रहे ।  यी प्रसिद्ध चौध प्रश्नहरू यस्ता थिए – १-४ –  के संसार अनन्त छ ? कि छैन ? वा दुवै ? वा दुवै होइन ? ५-८ –  के संसार नाशवान छ ?  कि छैन ? वा दुवै ?  वा दुवै छैन ? ९-११ –  शरीर छोडेर पनि तथागत कायम रहन्छन् ? कि रहँदैनन् ? वा दुवै ? वा दुवै होइन ? ११-१४ –  के आत्मा र शरीर एउटै हुन् ? वा फरक ? वा दुवै ? वा दुवै होइन ? यी प्रश्नहरूलाई अव्याकृत प्रश्न (indeterminable questions) भनिन्छ । यिनीहरू विश्व, आत्मा र तथागतसँग सम्बन्धित प्रश्नहरू हुन् ।  उक्त प्रश्नहरूमा बुद्ध मौन रहे  ।  यसको तात्पर्य उनलाई तिनीहरूको जवाफ थाहा थिएन भन्ने होइन ।  उनको मौनताले केवल यो व्याकरणीय थिएन भन्ने कुराको संकेत गर्दछ ।  यिनीहरूबाट जीवनको कुनै पनि हिसाबले फाइदा हुँदैन ।  उक्त प्रश्नहरूको पक्ष वा विपक्षमा प्रमाण वा तर्क जुटाउन सकिन्छ ।  तिनीहरूलाई कुनै पनि तरीकाले सत्य वा गलत साबित गर्न सकिन्छ ।  यो पारमार्थिक दृष्टिकोणले बेकार छ । बुद्ध आत्मा, विश्व, ईश्वर, इत्यादिको अस्तित्त्वमा विश्वास गर्दैनन् । व्यहावरिक दृष्टिकोणले पनि यी प्रश्नहरूको उत्तर निरर्थक हुन्छ ।  यसै सन्दर्भमा बुद्धले भनेका छन् –  भिक्षु हो ! केही श्रमण र ब्राह्मणहरू शाश्वतवादमा विश्वास गर्छन् ।  दृष्टिजाल र बुद्धिको जालमा फसेकाले यी विचारहरूमा विश्वास गर्छन् ।  तथागत सबै कुरा थाहा पाएर पनि जानेकोमा घमण्ड गर्दैनन् ।  बुद्धिका यी वर्गहरूमा नफस्नुको कारण तथागतहरूले निर्वाणको साक्षात्कार गर्दछन् ।

बुद्ध दर्शनको आधारशिला उनका चार आर्य सत्यहरू र अष्टांगिक मार्गहरू हुन् । यसलाई बुद्ध दर्शनका मूल्य र आचारमीमांसा पनि भनिन्छ । यसको बारेमा त्रिपिटकको सुत्त पिटकमा विशेष रूपले र अभिधम्म पिटकमा पनि व्याख्या गरिएको छ । यसलाई क्रमशः यसरी बुझ्न सकिन्छ । दुःख – पहिलो आर्य सत्य दु:ख हो ।  संसार दुःखमय छ । जीवनमा अनेक प्रकारका दुःख छन् । जन्म दुःख हो, मृत्यु दुःख हो, रोग दुःख हो, मृत्यु दुःख हो, अप्रिय मिलन दुःख हो, प्रियजनबाट विछोड हुनु दुःख हो, मनपर्ने कुरा नपाउनु दुःख हो  । त्यसैगरी असन्तोष, नैराश्य, शोक सबैले सांसारिक दुःखको प्रतिनिधित्त्व गर्दछन् ।  दु:ख नामको यो आर्य सत्य बोधयोग्य छ ।  छोटकरीमा रूप, पीडा, ज्ञान, संस्कृति र विज्ञान यी पञ्चोपादान स्कन्ध (समुदाय) दुःख हुन् । बुद्धका अनुसार संसार दु:खको घर हो । उनका अनुसार ब्रह्माण्डमा हरेक प्राणीमा दुःख छ । जन्म नै दुःखको कारण हो । जबसम्म सृष्टि रहन्छ, तबसम्म दुःख मानिससँगै छायाँ बनेर रहनेछ ।  दुःख  समुदाय –  दुःख समुदाय नामको दोस्रो आर्य सत्य तृष्णा हो, जुन दु:खको मूल कारण हो ।  यो तृष्णा आसक्तिबाट उत्पन्न भएको छ ।  लौकिक भोगको लालसा, स्वर्ग जाने लालसा र आत्महत्या गरेर संसारबाट लोप हुने लालसा, यी तीन लालसाका कारण मानिसले अनेक किसिमका पापहरू गर्छ र  दुःख भोग्छ ।  यो दु:ख समुदायको महान सत्य हो । बुद्धका अनुसार दु:खको कारण सांसारिक वस्तुहरूको अतृप्त तिर्खा हो ।  यो प्रेमको नियन्त्रणमा मानिसले अनेक प्रकारका स्वार्थी कर्महरू गर्दछ र यी कर्महरूको फलस्वरूप उसलाई दुःख प्राप्त हुन्छ ।  आफ्नो अभिलाषाले गर्दा मानिस संसारको बन्धनबाट मुक्त हुन सक्दैन र यस संसारमा बारम्बार आएर दुःख भोगिरहन्छ ।  दु:खको कारण हो, कुनै वस्तुलाई आफूसँगै पक्रिएर राख्नु ।  जीवनमा सबै कुरा क्षणभंगुर हुन्छ भन्ने जीवनको सत्यतालाई नदेख्नु हो ।  दु:ख  निवारण- तेस्रो महान सत्य दुःखको अन्त्य हो ।  निर्वाण तृष्णालाई नियन्त्रण गरेर प्राप्त हुन्छ, शारीरिक दण्ड वा यौन भोगद्वारा होइन ।  बुद्धका अनुसार यदि मानिसले दु:खको कारण समाप्त गर्छ भने उसले दुःखबाट मुक्ति पाउन सक्छ ।  इच्छा र आवेग (वासना)  लाई दबाएर दुःखबाट मुक्ति पाउन सकिन्छ ।  त्याग पनि एक औषधि हो  ।  मुक्तिको लागि विवेक जगाउनु आवश्यक छ ।  आफूलाई केन्द्रित गर्न सिक्नुपर्दछ, चाहे त्यो दुःखको सूचना होस् वा आनन्दको छायाँ ।  यी दुईको बीचमा आफूलाई स्थिर राख्नुपर्दछ ।  यो आर्य सत्य हो जसलाई दु:खको निरोध भनिन्छ, यो बोध गर्नु कर्तव्य हो ।  दुःखको निवारणको मार्ग – चौथो आर्य सत्य दु:खको औषधि हो ।  दुःख निरोधगामिनी प्रतिपद नामक यो आर्य सत्य अनुभूति गर्न योग्य छ ।  यो आर्य सत्यलाई अष्टाङ्ग मार्ग भनिन्छ ।  बुद्धले दु:खको निवारणको लागि अवलम्बन गरेको मार्गलाई दुःख निवारणको मार्ग भनिन्छ ।  मानिसले इच्छाहरू त्यागेर तिनीहरूबाट मुक्ति पाउन सक्छ । दु:खको अन्त्य भएपछि मानिसले परमानन्द प्राप्त गर्छ ।  यस मार्गमा दु:खको बन्धन टुट्नेछ र परम सत्यको प्राप्ति हुनेछ ।

बुद्धले आफ्ना अनुयायीहरूलाई बौद्ध दर्शनमा अष्टमार्ग भनिने ८ सिद्धान्तहरू अपनाउन आग्रह गरेका थिए । बुद्धले लालसाको दमन गर्न र मोक्ष प्राप्त गर्नको लागि अष्टाङ्ग मार्गको प्रतिपादन गरे ।  यी सिद्धान्तहरू वास्तवमा उनको शिक्षाका सार हुन् ।  यिनैको पालना गर्नाले मानिसको जीवन पवित्र हुन्छ र उसको वासनाको अन्त्य हुन्छ  ।  अष्टमार्गका अनुसार ८ नियमहरू यस प्रकार छन्- सम्यक दृष्टिकोण, सम्यक वाणी, सम्यक संकल्प, सम्यक कर्म, सम्यक निर्वाह, सम्यक व्यायाम, सम्यक स्मृति र सम्यक समाधी हुन् । उनका निषेधात्मक सिद्धान्तानुसार ईश्वर पूजामा अविश्वास,  जाति प्रथामा अविश्वास, बाह्य आडम्बरमा अविश्वास, आदि पर्दछन् ।   सम्यक (सही) दृष्टि – यसलाई सही दृष्टि भन्न सकिन्छ ।  यसलाई यथार्थ बुझ्ने दर्शन पनि भन्न सकिन्छ  ।  सही दृष्टि भनेको हामीले जीवनको दुःख र सुखलाई राम्ररी अवलोकन गर्नु हो ।   यो  सत्य र असत्य पहिचान गर्ने शक्ति हो ।  बुद्धका अनुसार जसले दुःखबाट मुक्ति पाउन चाहन्छ, उसमा सत्य र असत्य छुट्याउन सक्ने शक्ति हुनुपर्छ  । सम्यक संकल्प – इच्छा (वासना) र हिंसारहित दृढ संकल्प ।  बुद्धका अनुसार दुःखबाट मुक्ति पाउन चाहनेहरूले हिंसारहित र प्रबल इच्छाशक्तिसहितको संकल्प लिनुपर्छ ।  जीवनमा संकल्पहरू धेरै महत्त्वपूर्ण छन् ।  दु:खबाट छुटकारा पाउन चाहाने हो भने आर्य मार्गमा हिड्ने दृढ संकल्प गर्नुपर्दछ । सम्यक वाणी – सत्य र नरम बोली ।  दु:खबाट मुक्ति पाउनको लागि बुद्धले सही वाणीको वर्णन गरेका छन् ।  बुद्धका अनुसार सत्य र मीठो बोल्दा मानिसले सुखको अनुभूति गर्छ र दुःख उसको वरिपरि पनि घुम्दैन  ।  जीवनमा वाणीको शुद्धता र सत्यता हुनु आवश्यक छ ।  वाणीमा शुद्धता र सत्यता भएन भने दु:ख आउन धेरै समय लाग्दैन । सम्यक कर्म –  सत्कर्म, दान, दया, सदाचार,  पुण्य, अहिंसा, आदि ।  दया, करुणा, दान-पुण्य र सत्कर्मको भावना राख्नाले पनि मानिस दुःखबाट टाढा रहन्छ ।  कर्मको चक्रबाट छुटकारा पाउनको लागि आचरण शुद्ध हुनु आवश्यक छ ।  क्रोध, द्वेष, दुर्व्यवहार, आदि त्यागेर आचरण शुद्धि हुन्छ । सम्यक निर्वाह (जीविका)  – नैतिक र उचित जीवन शैली । बुद्धले सम्यक निर्वाहलाई जीवन जिउने उचित तरीकाको रूपमा वर्णन गरेका छन् ।  अरुको अधिकार मारेर वा अन्य अन्यायपूर्ण माध्यमबाट जीवनको साधन कमाएको हो भने त्यसको परिणाम भोग्नुपर्छ, त्यसैले न्यायसंगत जीविकोपार्जन गर्नु जरुरी छ  । सम्यक व्यायाम  – विवेकशील प्रयास ।  बुद्धले दु:ख हटाउनको लागि उचित व्यायाम गर्न पनि भनेका छन्  ।  कुनै पनि काममा विवेकपूर्ण प्रयास भएमा सफलता अवश्य मिल्ने र मानिस दुःखबाट टाढा रहने कुरा स्पष्ट पारेका छन्  ।  शुभको उत्पत्ति र अशुभको रोकथाम होस् भन्ने प्रयास गर्नुपर्दछ ।  जीवनमा राम्रोको लागि प्रयास गरिरहनुपर्छ । सम्यक स्मृति –  यसले आफ्नो कार्यको बारेमा विवेकपूर्ण रूपमा सचेत हुन सिकाउँछ । बुद्धले मानव जीवनका दु:खहरू हटाउनको लागि आफ्नो कर्मप्रति विवेकशील हुने कुरा पनि सिकाए ।  शारीरिक र मानसिक उपभोगका वस्तुहरूबाट आफूलाई टाढा राख्दा मनमा एकाग्रताको भाव आउँछ ।  एकाग्रतासँग  विचार, भावना स्थिर र शुद्ध रहन्छ । सम्यक समाधि (ध्यान) –  उपरोक्त सात मार्गको अभ्यासबाट मनको एकाग्रताबाट शुद्ध ज्ञानको अनुभूति हुन्छ ।  यो समाधि धर्मको सागरमा छलांग हो मनको एकाग्रता ।  बुद्धले मानव जीवनमा एकाग्रताको महत्व बताएका छन्  ।  सम्यक समाधि लिएपछि मानिस दु:खबाट टाढा हुन्छ  ।

बुद्धले अष्टांग मार्गमा हिड्नको लागि शरीर शुद्धिलाई पहिलो आवश्यता ठाने । शरीर शुद्धिको लागि बौद्ध दर्शनमा शील, समाधि तथा प्रज्ञा गरी तीन साधन बताइएको छ । शील भनेको आचार एवं नियम हो ।  हिंसा नगर्ने, चोरी नगर्ने, सत्य काम गर्ने, ब्रम्हचर्यमा रहने र नशाको सेवन नगर्ने कुरालई पंचशील भनिएको छ । यी शीलहरू भिक्षु र गृहस्थी दुवैको लागि अनिवार्य मानिएको छ । समाधि भनेको चित्तको नैसर्गिक एकता हो । समाधिबाट पूर्व स्मृत्ति, जीवको उत्पत्ति तथा विनाशको ज्ञान र चित्तका बाधक विषयहरू जानकारी गरी तीन प्रकारका विधाहरू उत्पन्न हुन्छन् । प्रज्ञा भनेको विशिष्ट ज्ञान हो ।  सुनिएका, युक्तिबाट उत्पन्न र समाधिजन्य निश्चय गरी प्रज्ञा तीन प्रकारका हुन्छन् ।  यसरी बुद्धले हिंसा नगर्ने, सत्य काम गर्ने, चोरी नगर्ने, कुनै प्रकारको सम्पत्ति नराख्ने, मध्यपान नगर्ने, असमयमा भोजन नगर्ने, सुखद विस्तरामा नसुत्ने, धन संचय नगर्ने, स्त्रीहरूबाट टाढा रहने, आदि विभिन्न शिक्षा पनि दिएका थिए । उनले जीवमाथि दया गर्ने र हवन, पशुवली जस्ता आडम्बरहरूको जमेर निन्दा गरेका थिए । यही नै बुद्ध दर्शनका मूल्य र आचारमीमांसा समेत हुन् ।

यसरी बौद्ध दर्शन अनुसार ब्रम्हाण्ड परिणामशील छ ।  वस्तुजगत र मानसिक जगत दुवैको सत्ताको अस्तित्व छ । आत्मा-परमात्माको आध्यात्मिक सत्ता छैन । मानिस पंचस्कन्धहरूको संघात मात्र हो । मानिसमा आत्मा हुने कुराको भ्रम मात्र हो ।  अष्टांगिक मार्गबाट व्यक्तिलाई वस्तुहरूको अनित्यताको आभास हुन्छ । मानिसको विकास बाह्य एवं आन्तरिक क्रियाहरूद्वारा हुन्छ । मानिसको अन्तिम उद्देश्य निर्वाण प्राप्ति हो । निर्वाणको लागि अष्टांग मार्ग आवश्यक हुन्छ । अष्टांग मार्गमा हिड्नको लागि शील, समाधि र प्रज्ञाको पालना गर्नु आवश्यक हुन्छ ।

बुद्ध दर्शनले मानवलाई यथार्थको सही स्वरूपलाई पहिचान गरी आफ्ना सम्पूर्ण मानवीय क्षमताहरूलाई विकसित गर्नमा सहायता प्रदान गर्दछ । बुद्ध दर्शनमा परस्पर निर्भरता, सापेक्षता र कार्य-कारण समबन्ध जस्ता विषयहरूको बारेमा गरिएको चर्चाले वस्तुवादी दृष्टिकोण निर्माण हुन्छ । बुद्ध दर्शनमा समुच्चय सिद्धान्त र तर्क-वितर्कमा आधारित तर्कशास्त्रको विस्तृत व्यवस्था छ, जसले हामीलाई चित्तको दोषपूर्ण कल्पनाहरूलाई बुझाउनमा सहायता प्रदान गर्दछ । बौद्धदर्शन स्वयं आफ्नो लागि तथा अरूको लागि हितकारी र हानिकारक कुराहरूको बीचमा फरक छुट्ट्याउने योग्यतामा आधारित छ । बुद्ध दर्शनले मानवीय प्रवृत्तिहरूको राम्रोसँग विश्लेषण गरेको छ । यस अनुसार मानिसको मन नै सम्पूर्ण कर्महरूको नियन्त्रक हो । त्यसकारण मानिसको गलत प्रवृत्तिहरूलाई नियन्त्रित गर्नको लागि उसको मनमा सदविचारको प्रवाह गरी उसलाई सदमार्गमा लानु जरुरी हुन्छ । बुद्ध दर्शनले संसारिक दुःख सम्बन्धमा चार आर्य सत्य र सांसारिक दुःखबाट मुक्तिको लागि अष्टांगिक मार्गको सिद्धान्त प्रतिपादन गरेको हो । बुद्ध दर्शनको मध्यमार्गको सिद्धान्त अनुसार मानिसले सबै प्रकारका आकर्षण र कायाक्लेशबाट बच्नुपर्दछ । मानिसले न त अत्याधिक इच्छा राख्नु हुन्छ र न अत्याधिक तप (दमन) नै गर्नुपर्दछ, बरु यिनीहरूको बीचको मार्ग अपनाएर दुःख निरोधको प्रयास गर्नुपर्दछ । सम्यकको अर्थ नै दुई अतिहरूको बीचको मध्यम स्थिति हो । दुवै अति खराब हुन्छ । बुद्ध दर्शन अनुसार जसले आफ्नो जीवनको परिदृष्टि ठीक राख्नेछ, जसले सही संकल्प वा इरादा राख्नेछ, जसको वाणी राम्रो हुन्छ, कर्म राम्रो हुन्छ, जसले जिविकाको लागि सबभन्दा राम्रो साधन चुन्दछ, जसले आफ्ना इन्द्रियहरूलाई नियन्त्रणमा राख्नको लागि निरन्तर व्यायाम गर्दछ उही नै सारा दुःखबाट मुक्त हुनेछ । यसरी सूक्ष्मभन्दा सूक्ष्म चीजहरूमा बुद्धले पर्याप्त विचारविमर्श गरेका छन् । यो दर्शनले पूर्ण रूपले यथार्थमा बाँच्ने शिक्षा दिन्छ ।

सन्दर्भ ग्रन्थहरू

  1. Buddhist Dictonary : A Manual Buddhins Terms and Doctrines – Nyanatiloka Thera
  2. Different Website Research
  3. Pali Tripataka – http://www.tripitaka.org
  4. The Buddha and his Teachings – Narada, Buddhist Missionary Society Malaysia
  5. The Buddha and his Teachings – Narad Mahathera
  6. The Life and Teachings Of the Buddha – According to the oldest texts – Allan R. Bomhard
  7. बौद्ध दर्शन – राहुल सांकृत्यायन, किताब महल, इलाहावाद
  8. महामानव बुद्ध – राहुल सांकृत्यायन, भारतीय बौद्ध समिति, बुद्ध विहार, लखनउ
  9. दीघ निकाय- राहुल सांकृत्यायन र भिक्षु जगदिश काश्यप, महाबोधी सभा
  10. बौद्ध धर्म दर्शन – आचार्य नरेन्द्र देव, मोतिलाल बनारसीदास पब्लिसर्स प्रालि, दिल्ली
  11. बौद्ध दर्शन – डा. संगीता जगताप, कला विज्ञान एवं वाणिज्य महाविद्यालय, चिखलदरा
  12. बौद्ध दर्शन के प्रतीत्यसमुत्पाद मे विज्ञान तथा सामाजिक मूल्य-तत्वों की अवधारणा – डा. मनीष मेश्राम, गौतम बुद्ध युनिभर्सिटी, उत्तरप्रदेश
  13. बौद्ध दर्शन मे अनात्मवाद की अवधारणा – डा. मनिष मेश्राम,  गौतम बुद्ध युनिभर्सिटी, उत्तरप्रदेश
  14. बौद्ध धर्म एवं दर्शन – डा. सागरमल जैन, प्राच्य विद्यापीठ, शाजापुर, मप्र
  15. गौतम बुद्ध : जीवन और दर्शन – डा. राधाकृष्णन
  16. बुद्ध दर्शन मे मिमांसा – डा अर्चना कुमारी
  17. गौतम बुद्ध : जीवनी, उपदेश र सिद्धान्त – आनन्द श्रीकृष्ण, इन्डिगो प्रकाशन
  18. त्रिपिटक-एक चिनारी – अमिता धाख्वा, पवित्र ब बज्राचार्य र साथीहरू
  19. बुद्धकालीन नेपाली विश्वकोश – आचार्य डा. भिक्षु अमृतानन्द, वीर-पूर्ण पुस्तक संग्रहालय
  20. त्रिपिटक प्रवेश – वासुदेव देसार कोविद – विपुल दर्शन उदार र श्रेया शाक्य
  21. आगम और त्रिपिटक : एक अनुशीलन – श्री नगराजजी डिलिट, जनश्वेताम्बर थेरापन्थी महासभा
  22. बुद्धचर्या – राहुल सांकृत्यायन, शिवप्रसाद गुप्त
  23. पालि साहित्यका इतिहास राहुल सांकृत्यायन, हिन्दी समिति सूचना विभाग
  24. बौद्ध संस्कृति राहुल सांकृत्यायन, आधुनिक पुस्तक भवन
  25. तिब्बत मे बौद्ध धर्म राहुल सांकृत्यायन, किताब महल
  26. धम्मपदं – राहुल सांकृत्यायन
  27. मज्जिम निकाय- राहुल सांकृत्यायन, महाबोधी सभा
  28. दीघनिकाय – अनुवाद तथा सम्पादक – दुण्डबहादुर बज्राचार्य, वीर-पूर्ण पुस्तक संग्रहालय
  29. दर्शन-दीग्दर्शन – राहुल सांकृत्यायन, किताब महल
  30. भारतीय दर्शन की रूपरेखा – प्रो. डा. हरेन्द्र प्रसाद सिन्हा, मोतिलाल बनारसीदास


Leave a comment

About Me

I am a student of philosophy and nature. I thoroughly research all subjects and summarize them in Nepali and English. I am Secretary of Marxism Study-Research Academy, Nepal. I am a Social Worker. Education – i) Master of Arts Degree in Political Science – TU, ii) Master of Public Administration Degree – TU, iii) Master of Arts Degree in History-TU, iv) Master of Arts Degree in Nepalese History Culture and Archaeology-TU.

म अध्ययन-अनुसन्धान कार्यमा निस्वार्थ भावले निरन्तर लागेको एक वाम विचारधारायुक्त सामाजिक कार्यकर्ता हुँ। मेरो कुनै पनि राजनीतिक दलसँग संलग्नता नरहेको जानकारी गराउँदछु। मेरा हरेक अध्ययन-अनुसन्धान कार्य शोषण, दमन, अन्याय, अत्याचारका विरुद्ध हुनेछन् । आम श्रमजीवी, भोका-नांगा, गरीब, उत्पीडित जनसमुदायहरूलाई सुशिक्षित गर्ने प्रयत्न मेरो कर्तव्य हुनजान्छ । मेरा सबै कार्य जनहितका लागि हुनेछन् भन्ने आशा तथा विश्वासपूर्वक मैले निरन्तर कार्य अगाडि बढाइरहेको हुनेछु। श्रमप्रति सम्मान र शोषणप्रति घृणा नै मेरा कार्यका उद्देश्य हुनेछन्।  

यहाँ तपाईंहरू सबै प्रकारका सामग्रीहरू अध्ययन गर्न र हेर्न पाउनुहुनेछ । अध्ययन गर्नको लागि रूचियुक्त सामग्रीहरू माग गर्नुभयो भने यथासंभव परिपूर्तिसमेत गरिनेछ । यहाँ लेखरचना, पत्रपत्रिका, म्यागजिन,  जर्नल, विभिन्न पुस्तकहरू (नेपाली, अंग्रेजी र हिन्दी भाषामा), डकुमेन्ट्री, फिल्म, आदि सामग्रीहरू खोजेर पढ्न तथा हेर्न सक्नुहुन्छ।

I am a leftist social worker who is selflessly engaged in research work. I inform you that I am not affiliated with any political party. Every study-research work of mine will be against exploitation, oppression, injustice and tyranny. It is my duty to try to educate the common workers, the hungry, the poor, the oppressed masses. I will continue my work with the hope and confidence that all my work will be for public interest. Respect for labor and hatred for exploitation will be the objectives of my work.

Here you will find all kinds of content to study and watch. If you demand for interesting materials to study, they will be provided as much as possible. Here you can search and read articles, newspapers, magazines, journals, various books (in Nepali, English and Hindi languages), documentaries, films, etc.

श्रमको सम्मान गर्नुभएकोमा धन्यवाद ।

Thank you for respecting the labor.

Newsletter

Marxism-मार्क्सवाद

Communist history

Philosophy-दर्शन

लेनिन-LeninLeninism

दस्तावेज-documents

धर्म-दर्शन

त्रिपिटक–बुद्ध

गीता सार

Politics–राजनीति

ग्रन्थ परिचय

Mao-Maoism

साहित्य- literature

जीवनी-biography

साम्यवाद-communism

युवाबारे-On Youth

कार्ल मार्क्स–Karl Marx

फ्रेडरिक एंगेल्स–F. Engels

भी.आइ.लेनिन–V.I.Lenin

जे. भी. स्टालिन – J.V. Stalin

माओत्सेतुङ – Maotsetung

डिजिटल पुस्तकालय (digital library)

ई-पुस्तकालय -e-library

विज्ञान-प्रविधि (Science-Technology)

सामान्य ज्ञान (GK)

Documentaries and YouTube channels

पुस्तकालय – LIBRARY

नेपाली डिजिटल पुस्तकहरू (Nepali Digital Books)

नेपाली न्यूजपेपर, म्यागजिन र अनलाइन पत्रपत्रिकाहरू (Nepali Newspapers, Online and Nepali Magazines)

English Digital Books : Part – 1 (world communist special books)

English Digital Books : Part – 2

English Digital Books : Part – 3

हिन्दी डिजिटल पुस्तक (Hindi digital Books) भाग – १

हिन्दी डिजिटल पुस्तक (Hindi digital Books) भाग – २

हिन्दी डिजिटल पुस्तक (Hindi digital Books) भाग – ३

हिन्दी डिजिटल पुस्तक (Hindi digital Books) भाग – ४

हिन्दी डिजिटल पुस्तक (Hindi digital Books) भाग – ५

Documentaries and YouTube channels

Uncategorized

ENGLISH SECTION

Design a site like this with WordPress.com
Get started