विश्व इतिहास : एशिया – चीनको इतिहास – एक अध्ययन

चीन आफ्नो ऐतिहासिक विकासको क्रममा आदिम समाज, दास समाज, सामन्ती समाज, पूँजीवादी समाज र समाजवादी समाजका कालहरूबाट विशेष रूपले गुज्रिएको देखिन्छ। चीनमा विभिन्न प्रकारका ऐतिहासिक, सांस्कृतिक ग्रन्थ एवम् पुरातन सांस्कृतिक अवशेषहरू विभिन्न प्रकारका खोजहरूमा पाइएका छन्। यसरी नै चीनमा अतिप्राचीन मानव अवशेषहरू पनि ठूलो संख्यामा प्राप्त भएका छन्। ऐतिहासिक विकासको लामो अवधिमा चीनमा विभिन्न जातिहरूका परिश्रमी, साहासी र बुद्धिमान जनताले आफ्ना संयुक्त प्रयासहरूबाट एक शानदार संस्कृतिको निर्माण गरे र समग्र मानव जातिको लागि धेरै योगदान पनि दिए। प्राचीन चीनमा कागज, कपास, बारूद र कागजका नोट, आदि जस्ता महान आविष्कार भएका थिए।

चीन विशेष संस्कृति, परम्परा र प्राचीन सभ्यता भएको देश हो। चीन विश्वको सबभन्दा पुरानो र निरन्तर अगाडि बढेको सभ्यता भएको देश हो। चिनियाँ सभ्यताको उत्पत्ति ह्वांहो र यांगत्जी नदी घाँटीहरूमा भएको थियो ।  यहाँ हजारौं वर्षदेखि मानिसहरूको बसोबास रहँदै आएको कुरा ऐतिहासिक अध्ययनबाट पुष्टि हुन्छ। ई.पू. दस हजारदेखि नै चीनमा मानिस शिकार गरेर र बोटविरूवाका फलफूल, कन्दमुल जम्मा गरेर आफ्नो जीवनयापन गर्दथे। पाँच हजार ई.पू.मा चिनियाँहरूले खेतपातीको शुरूवात गरे। लगभग पाँच हजार ईशापूर्वदेखि नै दक्षिण चीनमा धान खेती गरिन्थ्यो र उत्तरमा कोदो उत्पादन गरिन्थ्यो। यतिखेरसम्म कुकुर र सुँघुरलाई घरेलु बनाइएको थियो। तीन हजार ई.पू.सम्म दक्षिण चीनमा भेडा र अन्य जनावरहरूलाई घरपालुवा बनाइएको थियो। ई.पू. तीन हजारदेखि तेइससयको बीचमा घोडाहरूलाई चीनमा ल्याइएको थियो। यही बीचमा चिनियाँ किसानहरूले माटाका भाँडा बनाउन सिकेका थिए। उनीहरूले लाहा पनि बनाए। शुरूका चिनियाँ किसान टोकरी र कपडा बनाउँदथे। भेडा पाल्नुभन्दा पहिले भांगबाट कपडा बनाउँथे। चिनियाँहरूले कडा ढुंगाबाट चक्कु, बन्चरो र औंठी जस्ता अनुष्ठानिक वस्तुहरू पनि बनाए। चीनमा चक्रको आविष्कार लगभग २५०० ई.पू. मा नै भएको थियो। ई.पू. दुई हजारसम्म चिनियाँहरूले काँस्य बनाउन सिकेका थिए। संभवतः उनीहरूले माटाका भाडाका भट्टीहरूमा तामा बनाउन शुरू गरे र त्यसपछि टीन मिलाएर काँस्य बनाउने काम गरे। सबभन्दा पहिले कास्यको उपयोग केवल हतियारको लागि गरिन्थ्यो। यो शायद अन्य चीजहरूको लागि धेरै महंगो थियो। चीनमा सामान्यतः युद्ध भइरहन्थ्यो। त्यसैले बलिया माटाका पर्खालहरूले केही वस्तीहरूलाई घेरेका हुन्थे। यिनीहरूको प्रारम्भिक समाज बढी समृद्ध हुँदै जाने क्रममा युद्ध संभवतः सामान्य हुँदै गएको देखिन्छ। धन वृद्धि हुँदै गएपछि छिमेकीहरूमाथि आक्रमण गर्ने र उनीहरूको सामान चोरी गर्ने प्रलोभन पनि बढ्दै गयो। ई.पू. २००० सम्म वर्गहरूको विभाजन पनि बढ्दै गएको थियो। मानिसहरूलाई उनीहरूको सामानसँगै गाड्ने चलनको विकास पनि यतिखेरैदेखि भएको देखिन्छ। यो समयमा चीनमा मानव बली प्रथा पनि थियो भनिन्छ। पीडितहरूका शव भवनहरूको जगमुनि दबाउने गरिन्थ्यो।

चीनको ज्ञात इतिहासमा सबभन्दा पुरानो प्राचीन राजवंश शिया राजवंश थियो। यसको समयावधि २०७० ई.पू. देखि १६०० ई.पू. सम्म मानिन्छ। तर कैयौं इतिहासकारहरूले यो राजवंशलाई केवल काल्पनिक हो भनेका छन्। शिया राजवंशको उल्लेख चिनियाँ साहित्यमा मात्र पाइन्छ। अहिलेसम्म यो राजवंश थियो कि थिएन भनेर सिद्ध गर्ने कुनै प्रमाण पाइएको छैन।

चीनमा शांग राजवंश (लगभग ई.पू. १६००-१०४६) लाई पहिलो चिनियाँ राज्य मानिन्छ, जसको स्पष्ट लिखित रेकर्ड रहेको छ। योकैयौं देवीदेवताहरूको पूजा गर्ने वहुदेववादी राजवंश थियो। यो वंशले एल्लो रिभरको घाँटी ह्वांगोमा शासन गर्दथ्यो। यो राजवंशले उत्तरमध्य चीनका अधिकांश भागलाई एकताबद्ध गरेको थियो। यिनीहरूको सबभन्दा महत्त्वपूर्ण देवतालाई दी भनिन्थ्यो। यसको अतिरिक्त चीनमा शांग राजवंशको क्रममा पूर्वजहरूको पूजाको प्रथा शुरू भयो। यसको मृत व्यक्तिले जीवितहरूको मामिलामा हस्तक्षेप गर्न सक्दछन् भन्ने विश्वास थियो। उनीहरूलाई खुशी राख्नको लागि प्रसाद, आदि दिइन्थ्यो। पूर्वजहरूको पूजा हजारौं वर्षदेखि चिनियाँ संस्कृतिको हिस्सा बन्दै आएको पाइन्छ। रेशम संभवतः सबभन्दा पहिले चीनमा शांग युगकै समयमा बनाइएको थियो। यसलाई ई.पू. १३०० मा बनाइएको थियो। शांग युगको समयमा कास्यलाई अधिकतम् व्यापारको रूपमा प्रयोग गरिएको थियो। पहिले यसको उपयोग केवल हतियार बनाउनको लागि गरिन्थ्यो । ई.पू. १७०० पछि काँसका भाँडाकुँडा बनाउन लागियो। तर हँसिया, हलो र कोदालो जस्ता उपकरण सामान्यतः काठ र ढुंगाबाट बनाइएका हुन्थे। शांग वंशले चीनमा पहिलो वास्तविक शहरहरूको निर्माण गर्‍यो। झेंग्झौंको पहिलो राजधानीको पर्खाल ६ किलोमीटरभन्दा बढी लामो थियो। पछि यो राजधानीलाई आन्यांग लगियो। शांग वंशले महल र मन्दिरहरूको पनि निर्माण गरेको देखिन्छ। शांग युगको क्रममा चीनमा दासप्रथा सामान्य थियो। युद्धबन्दीहरूलाई दास बनाइन्थ्यो। मानव बली त्यतिखेर पनि प्रचलित थियो। शांग सम्राटको मृत्यु हुँदा उसका सेवक र दासहरूले या त आत्महत्या गर्थे या सम्राटसँगै जानको लागि मारिन्थ्यो। दासहरूलाई पक्रिने आवश्यकताको कारण पनि चीनमा युद्ध सामान्य कुरा थियो। ई.पू. १२०० पछि चीनमा युद्धको लागि २ वा ४ वटा घोडाहरूले तान्ने रथहरूको उपयोग गरिन्थ्यो। यद्यपि शांग वंशलाई उनीहरूका छिमेकी झोउले लगभग १०२२ ई.पू. मा कब्जा गरे। त्यसपछि झोउ राजवंशको शुरूवात भयो।

झोउ राजवंशले चीनमा लगभग १०४६ ई.पू. देखि २५६ ई.पू.सम्म सम्पूर्ण उत्तरी चीनमा प्रमुख शक्तिको रूपमा शांगको स्थान लिएको थियो। १०४६ ई.पू. देखि ७७१ ई.पू. सम्मको झोउ युगको पहिलो भागलाई पश्चिमी झोउ भनिन्छ। किनकि यसका शासकहरूको राजधानी चीनको पश्चिममा थियो। ७७० देखि ४७६ ई.पू.सम्मको युगको दोस्रो भागलाई वशन्त र शरदकाल भनिन्छ। ४७६ देखि २५६ ई.पू.को युगको अन्तिम भागलाई युद्धरत राज्य काल भनिन्छ। प्राचीन चीनमा परिवहन र संचार अत्यन्तै धीमा भएकोले एक शासकको लागि विस्तृत क्षेत्रमाथि नियन्त्रण राख्न कठिन थियो। झोन्किग्सले एक सामन्ती राज्य बनाएर यो समस्याको समाधान गरेका थिए। उनले आफ्ना अनुयायीहरूलाई भूमि दिए। त्यस बदलामा अनुयायीहरूले उनलाई युद्धको समयमा रथ र सैनिक उपलब्ध गराए। त्यसपछि छिट्टै अनुयायीका पद वंशानुगत भए। उनीहरू मुनि सेनापति र प्रशासकहरूको रूपमा काम गर्ने अधिकार हुन्थे। समाजको तल्लो भागमा किसान थिए, जसले खाद्यान्न आपूर्ति गर्थे। किसानहरूले आफ्नो केही समय मालिकको भूमिमा काम गर्नमा विताउनु पर्थ्यो। सामान्यतः भूमिलाई ९ भागमा विभाजन गरिएको थियो। व्यक्तिगत परिवारले आठ वर्गहरूमा काम गर्थे। सबैले नवौं खण्डमा काम गर्नुपर्थ्यो तर यसबाट हुने उत्पादन मालिककोमा जान्थ्यो। ई.पू. ६०० पछि चीनमा सिक्काको उपयोग गर्न लागियो र केही किसान आफ्ना मालिकलाई भूमिमा काम गर्नुको बदलामा सिक्का भुक्तान गर्ने गर्थे। शांगको शासनकालमा चीनमा धेरै दासहरू थिए तर झोउको शासनकालमा तिनीहरूमध्ये थोरै थिए।

झोउ शासनकालमा केही महत्त्वपूर्ण प्राविधिक विकास भएको देखिन्छ। प्राचीन चित्रलिपिको विकास पनि यही शासनकालमा भएको थियो। यसमध्ये सबभन्दा महत्त्वपूर्ण फलामको आविष्कार थियो। यसको उपयोग ई.पू. ६५० देखि हतियारको लागि गरिएको थियो। लगभग ५०० ई.पू.सम्म फलामको उपयोग सबै प्रकारका औजारहरूको लागि गर्न लागिएको थियो। लगभग ४०० ई.पू.सम्म चिनियाँ किसान गोरूले तान्ने फलामको हलोको उपयोग गर्थे। लगभग ३०० ईसापूर्वसम्म चिनियाँहरूले घोडाको कलरको आविष्कार गरेका थिए। पहिले घोडालाई तिनीहरूको गलामा पट्टी बाँधेर बाहनसँग जोडिन्थ्यो। घोडाले धेरै बोझ तान्न सक्दैनथ्यो, किनकी पट्टी उसको गर्दनको चारैतिर मात्र कसिन्थ्यो; तर घोडाको कलरले तिनीहरूलाई बढी भारी तान्ने अनुमति प्रदान गर्‍यो। झोउ राजवंशको समयमा चिनियाँहरूले चंगाको आविष्कार गरेका थिए। पहिलो पटक चीनमा चियाको उल्लेख झोउ राजवंशमै भएको थियो। तर यसलाई धेरै पहिले नै पिइन्थ्यो। चीनमा विस्तारै युद्धकला पनि बदलिएको थियो। पहिलेका युद्धमा रथहरूको बोलवाला थियो। यद्यपि ६०० ई.पू.पछि घोडसवार सेनाले रथहरूको स्थान लिन शुरू गरे। तिनीहरूलाई प्रदान गर्नको लागि किसानलाई नियुक्त गरिन्थ्यो। लगभग ५०० ई.पू.मा सनत्जु नामक एक जनरलले ‘द आर्ट अफ वार’ नामक पुस्तक लेखे, जुन संसारको पहिलो सैन्य नियमावली थियो। लगभग ४०० ई.पू.मा चीनमा क्रसवोको आविष्कार भएको थियो। झोउ युगमा प्रायः युद्ध भइरहन्थे। व्यापार र वाणिज्य फस्टाउँदै गएको थियो र चिनियाँ शहर ठूला हुँदै गएका थिए। यसको अतिरिक्त फलामका औजारहरू र सिंचाईबाट कृषिमा धैरे सुधार भयो। बढी कुशल कृषिको परिणामस्वरूप झोउ कालमा चीनको जनसंख्या तीव्र रूपले बढ्यो। झोउ युगमा चीनको ‘ग्रेट वाल’ को एक हिस्सा बनाइएको थियो। पहिले त्यहाँ एउटा पनि पर्खाल थिएन, तर विभिन्न राज्यहरूले बर्बरहरूलाई टाढै राख्नको लागि आ-आफ्ना पर्खालहरू बनाए। पछि यिनीहरूलाई एकसाथ जोडियो। ई.पू. ४८६ मा ‘ग्र्याण्ड क्यानल’ खन्ने काम शुरू भयो। सबभन्दा पहिले केवल एक खण्ड बनाइएको थियो तर पछिका राजवंशहरूले नहरको विस्तार गर्दै लगे।

झोउ युगमा दार्शनिक प्रणालीको पनि विकास भएको थियो। यो युगमा आएर मानव वली समाप्त भएको पाइन्छ तर भविष्यवाणी भने जारी नै रह्यो। त्यसबेला स्वर्गको चिनियाँ अवधारणा उदायो। स्वर्ग एकप्रकारको सार्वभौमिक शक्ति थियो। यसले यस्तो विश्वास प्रकट गर्दथ्यो – स्वर्गले शासन गर्नको लागि सम्राटलाई चुन्यो तर यो एक नैतिक शक्ति थियो। यदि राजा वा सम्राट दुष्ट भए भने स्वर्गले चेतावनीको रूपमा प्राकृतिक विपत्ति पठाउँथ्यो। यदि सम्राट चेतावनीमाथि ध्यान दिन असफल रह्यो भने स्वर्गले आफ्नो शासनादेश फिर्ता लिनेछ। सामाजिक र राजनीतिक व्यवस्था टुट्नेछ र क्रान्ति हुनेछ। त्यसपछि स्वर्गले शासन गर्नको लागि कुनै अरूलाई चुन्नेछ। चीनमा झोउ शासन कालमा अधिकारीहरूको एउटा वर्ग थियो, जसले राजा र शासकहरूलाई सही तरीकाले व्यवहार गर्न र अनुष्ठानको लागि सल्लाह दिन्थ्यो। यिनीहरूमध्ये त्यतिबेलाका सबभन्दा महत्त्वपूर्ण व्यक्ति कन्फ्यूशियस (ई.पू. ५५१-४७९,कुंग-फूजी) थिए । उनको जीवनकालमा पुरानो सामन्ती सामाजिक र राजनीतिक व्यवस्था टुटिरहेको थियो। यो स्थितिबाट भयभीत भएर कन्फ्यूशियसले प्राचीन सिद्धान्तहरूलाई पुनर्स्थापित गर्ने प्रयास गरे। उनले के कुरा सिकाए भने जोकसैले जीवनमा आफ्नो भूमिका र अरूप्रति कर्तव्यलाई स्वीकार गर्नुपर्दछ। शासकहरूको कर्तव्य परोपकारी हुनुपर्दछ, जबकि प्रजाले सम्मानजनक र आज्ञाकारी हुनुपर्दछ। बच्चाहरूले आफ्ना आमाबाबुलाई सम्मान गर्नुपर्दछ र सबैले आफ्ना पूर्वजहरूको सम्मान गर्नुपर्दछ। कन्फ्यूशियसको अर्को मान्यता के पनि थियो भने शासकहरूले आफ्ना जनताहरूको लागि एक असल उदाहरण स्थापित गर्नुपर्दछ। सबभन्दा बढी कन्फ्यूशियसले अरूको ख्याल गर्न सिकाए। उनको शिक्षाको केन्द्रमा ‘रेन’ थियो, जसलाई सामान्यतः असलपन र परोपकारको रूपमा अनुदित गरिन्छ। कन्फ्यूशियसले भनेका थिए,  ‘अरूसँग त्यो नगर, जुन तिमी आफूसँग गर्न चाहँदैनौं।’ उनले सबै चीजहरूमा शिष्टाचार र संयमको महत्त्व पनि सिकाए। उनले महिलाहरूले युवास्थामा आफ्ना पितामा, विवाहित अवस्थामा पतिमा र विधवा अवस्थामा पुत्रमा आश्रित हुने आदर्श पनि सिकाए। चीनमा महिलाहरूलाई विनम्रता, अधिनता, र उद्यमता जस्ता मूल्यमान्यता सिकाइन्थ्यो। कन्फ्यूशियसले कहिल्यै कुनै पुस्तक लेखेको पाइँदैन। उनको मृत्युपछि उनका अनुयायीहरूले उनका कुराहरूलाई एकत्रित गरे र त्यसलाई लिखित रूप दिए। उनको मृत्युपछि शताब्दियौंसम्म उनको दर्शनले चीनमा प्रभाव जमायो र २००० भन्दा बढी वर्षसम्म यसले संस्कृतिमा गहिरो प्रभाव पारेको देखिन्छ। कन्फ्यूशियसका एक शिष्य मेंग्जी (३७२-२८९ ई.पू.) थिए, जसलाई मेन्सियसको नामले जानिन्छ। उनले मानव स्वभावको असलपनमाथि जोड दिए। उनले आफ्ना प्रजाको भलाईको ख्याल गर्नको लागि शासकको कर्तव्यमाथि जोड दिए। पछि मेन्सियसको जूनी (२९८-२३८ ई.पू.) ले विरोध गरेका थिए। उनको मान्यता के थियो भने मानव स्वभाव दुष्ट छ र यसलाई नियन्त्रित गरिनुपर्दछ।

सबै मानिसहरू शासकहरूले उदाहरणको रूपमा शासन  गर्नुपर्छ भनेर कन्फ्यूशियससँग सहमत थिएनन्। कानूनविदहरूको मान्यता शासकहरूले कठोर हुनुपर्दछ भन्ने मान्यता थियो। शासकको शब्द कानून हुनुपर्दछ। कानूनविदहरूको मान्यता शासकहरूले निष्पक्ष तथा दृढ र अटल हुनुपर्दछ भन्ने थियो। चिनियाँ राज्यहरूमा छिनले कानूनी शिक्षाको पालना गर्‍यो। छिन शासकहरूले पहिले वंशानुगत कुलीनहरूसँग सत्ता साझेदारी गरे तर उनीहरूले तिनीहरूका क्षेत्रका केही भाग शासकद्वारा नियुक्त अधिकारीहरूद्वारा शासित होस् भनेर व्यवस्था बदलिदिए। उनीहरूले परिवारका ५ वा १० जनाको समूहमा पनि संगठित गरे। प्रत्येक समूहका सदस्यहरूलाई एक-अर्कोको व्यवहारको लागि जिम्मेदार बनाइयो। कानूनविदहरूको मान्यता के थियो भने मानिस स्वाभाविक रूपमा दुष्ट हुन्छन्, त्यसकारण सजाय कडा हुनुपर्छ। मानिसहरूलाई कानून तोड्ने कुरामा डराउने बातावरण बनाउनुपर्दछ। उनीहरू व्यापारीहरूमाथि पनि अविश्वास गर्थे र जमिनका मालिक  वा त्यसमा काम गर्ने मानिसहरूलाई मात्र विश्वास गर्थे।

चीनमा ताओवादी दर्शनको शुरूवात पनि झोउ युगमा नै भएको थियो। यसका प्रणेता लाओत्से (ई.पू. ५७१-४७१) हुन्।  ताओवादी ताओमा विश्वास गर्थे र यसको अर्थ मार्ग हुन्छ। ताओ प्रकृति र सबै जीवित चीजहरूको पछाडि एक अवर्णनीय शक्ति हो। ताओवादी ‘वुवेइ’ वा अक्रियाशीलतामा विश्वास गर्दछन्, जसको अर्थ चीजहरूको प्रवाह वा मार्गसँगै चल्नु हो। ताओवादले विनम्रता र करूणा पनि सिकाउँछ। झोउ काललाई कहिलेकाहिँ चीनको प्रारम्भिक काल पनि भनिन्छ। किनभने त्यसबेला चिनियाँ दर्शनको धेरै विकास भयो। आई चिंग नामक चिनियाँ भविष्यवाणी पद्बति संभवतः झोउ युगको शुरूवाती चरणमा विकसित भएको थियो। यिन र यांगको विचार पनि झोउ राजवंशको समयमा नै आएको हो। प्राचीन चिनियाँहरूको मान्यता के थियो भने सबै पदार्थ दुई विपरीत र पूरक सिद्धान्तबाट बनेको हुन्छ। यिन स्त्रीत्वयुक्त, मुलायम, कोमल, गहिरो, ग्रहणशील, उपजयुक्त र ओसिलो छ। यांग पुरूषत्वयुक्त, उज्जवल, कठोर, तातो, सक्रिय, शुष्क र आक्रामक हुन्छ। प्रत्येक चीज यी दुई विपरीतहरूको मिश्रण हो। प्राचीन चिनियाँहरू पनि काठ, आगो, पृथ्वी, धातु र जललाई पाँच तत्व मान्थे। झोउ कालमा एक्यूपंक्चरको चिनियाँ कलाको आविष्कार पनि भएको थियो।

पश्चिमबाट रोङगहरूले आक्रमण गरेपछि झोउले आफ्नो राजधानी लुओयांगमा सारेका थिए। पछि जोंकिग्सको शक्तिमा गिरावट आयो । त्यसपछि झोउ राज्य अलग-अलग राज्यहरूमा टुक्रियो। यद्यपि यो अझै पनि नाममात्रको लागि एकै राज्य थियो, जसको मुख्य व्यक्ति झोउ राजा थिए। झोउ राजाको अधिनका कुलीनहरू प्रभावकारी रूपले स्वतन्त्र शासक बने। विभिन्न राज्यहरूमा युद्ध भयो र शक्तिशाली राज्यहरूले कमजोर राज्यहरूमाथि त्यतिखेरसम्म विजय प्राप्त गरे, जतिखेरसम्म केही पनि बाँकी बचेको थिएन। अन्ततः छिन (चीन) राज्यले आफ्नो प्रतिद्वन्द्वितामा विजय प्राप्त गर्‍यो र त्यसको शासक नै छिनको सम्राट बन्यो। यसरी छिन राजवंशको शुरूवात भयो। यही राजवंशको नामबाट चीन देशको नाम रहनगएको हो भन्ने मान्यता राखिएको पाइन्छ।

छिन राजवंश (ई.पू. २२१-२०६) मा प्रथम छिन सम्राट यिंग झेंगले पहिलोपटक चीनलाई एकजुट बनाएका थिए। उनी स्वयंलाई छिन शी हुआंगदी भन्थे र चीनको सम्राट कहलिनमा जोड दिन्थे। उनले मानकबाट मापन पेश गरे र यहाँसम्म कि धुरी एक मानक चौडाइ हुनुपर्दछ भनेर जोड दिए। त्यसबेला चिनियाँ लेखनमा केही स्थानीय विविधताहरू थिए। सम्राटले जोड दिएर भने – सबै शिक्षितहरूले एक मानक संस्करणको उपयोग गर्नुपर्दछ। केही चिनियाँ विद्वानहरूले सम्राटको विरोध गरे र यस्तो गर्नको लागि पुराना पुस्तकहरूको हवाला दिए। चीनमा छिन शी हुआंदीले तिनीहरूलाई रोक्नका लागि कैयौं किताबहरू जलाइदिए। उनले भविष्यवाणी, चिकित्सा र कृषि जस्ता उपयोगी विषयहरूलाई छोडेर सबै पुस्तकहरू जलाउने आदेश दिए। जो विद्वानहरूले उनको विरोध गरे, तिनीहरूलाई कलंकित गरियो र ग्रेटवालमा मजदूरको रूपमा काम गर्नको लागि पठाइयो। सम्राटले ४६० विद्वानहरूलाई जिउँदै गाडेका थिए। उता ग्रेटवालमा काम गर्न पठाइनु भनेको पनि प्रायः मृत्युदण्डको सजाय समान थियो, किनकि कैयौं मानिसहरू त्यहाँ थकावट र जोखिमको कारणले मर्थे।

अन्य छिन सम्राटहरूले पनि आफ्ना कानूनी नीति जारी राखे। उनीहरूले हतियारको निजी स्वामित्वमा प्रतिबन्ध लगाइदिए र कैयौं कुलिन परिवारहरूलाई सजिलैसँग नियन्त्रित गर्नसकिने राजधानी जियानयांगमा स्थानान्तरित गर्ने आदेश दिए। त्यतिखेर चीनलाई ३४ क्षेत्रमा विभाजन गरिएको थियो। प्रत्येकमा एउटा नागरिक गभर्नरले शासन गर्दथ्यो तर प्रत्येकसँग क्षेत्रमा सैनिक जनरल इन्चार्ज पनि हुन्थ्यो। छिन सम्राट नागरिक र अन्य शक्तिलाई अलग-अलग हातमा राख्न इच्छुक हुन्थे। सबै अधिकारी सम्राटद्वारा नियुक्त गरिन्थे र तिनीहरू सम्राटप्रति उत्तरदायी हुन्थे। छिन सम्राटहरूले सडक र सिंचाई नहरहरू पनि बनाए। चीनको `ग्रेट वाल´का केही भाग पहिलेदेखि विद्यमान थिए तर पहिलो छिन सम्राटले तिनीहरूलाई एकसाथ जोडिदिएका थिए। सर्वसाधारण जनतालाई त्यो पर्खालको परियोजनामा काम गर्नको लागि विवश बनाइएको थियो। छिन शासन कठोर थियो र क्रूर दण्ड सामान्य कुरा थियो। छिन शासनको शी हुआंग्डीको मृत्युपछि उनलाई ७ हजारभन्दा बढी टेराकोटा योद्धासँगै एक चिहानमा गाडिएको थियो भनिन्छ। यी सेनाको खोज सन् १९७४ मा भएको थियो। छिन सम्राटहरूद्वारा भारी मात्रामा कर र जबर्जस्ती श्रमसँगै शुरू गरिएका क्रूर सजायहरूले भयंकर ठूलो जन-असन्तुष्टि पैदा गरिदिएको थियो। त्यसकारण उत्तरी चीनमा दुई किसानहरू चेनशेंग र वू यांगको नेतृत्वमा विद्रोह छेडियो। पछि जियांग्यूको नेतृत्वमा दक्षिणमा दोस्रो विद्रोह भयो। उत्तरी विद्रोहले हारेपनि दक्षिणी विद्रोह सफल भयो। त्यसपछि अन्तिम छिन सम्राटलाई फाँसी दिइयो। यद्यपि जियांग यूको आफ्नो लेफ्टिनेन्ट लियू बेंगसँग झगडा भयो। एक गृहयुद्ध शुरू भयो, जुन जियांग यू मारिएपछि समाप्त भयो र लियू बेंग पहिलो हान सम्राट बने।

झोउ राजवंशमा दर्शनको उदय हुँदा चीनको प्रारम्भिक काल थियो। हान राजवंश (ई.पू. २०६-२२० ई.) को समयमा चिनियाँ सभ्यता सघन भयो। हान राजवंश सम्पूर्ण चिनियाँ भूमिमा शासन गर्ने राजवंश थियो। यो काललाई चीनमा सांस्कृतिक स्वर्णयुग भनिन्छ। यो युगमा चीनमा एक शानदार सभ्यता थियो। चीनमा बौद्ध धर्मले प्रवेश पाएको पनि यही काल थियो। हान आविष्कारहरूमा वाटरमिल र खुट्टाले चलाउने तथा धान खेतमा सिंचाई गर्न मद्दत गर्ने चेन पम्प थिए। पहिलो हान सम्राटलाई गाओजी भनिन्थ्यो। उनी छिङ सम्राटहरूको तुलनामा बढी मानवीय थिए र उनले तिनीहरूको क्रूर सजायहरूलाई समाप्त गरिदिएका थिए। उनले आफ्ना पूर्ववर्तीहरूका केही कानूनी नीतिहरूलाई कायम राखे तर उनले केही कन्फ्यूसियसका नीतिहरूलाई पनि अपनाए। उनका उत्तराधिकारी कन्फ्यूशियसका बढीभन्दा बढी पक्षधर हुँदै गए। ई.पू. १६५ मा सम्राटले अधिकारी बन्न इच्छुक कुनै पनि व्यक्तिले एउटा परीक्षा दिनुपर्दछ, जसले कन्फ्यूशियस शिक्षाबाट उसको ज्ञानको परीक्षण हुनेछ भन्ने आदेश दिए। ई.पू. १२४ मा एउटा अर्को सम्राटले एक शाही एकेडेमीको स्थापना गरे, जहाँ उमेदवारहरूले कन्फ्युशियस क्लासिक्स (द बुक अफ चेन्जेज, द बुक अफ राइट्स, द बुक अफ डकुमेन्ट्स, द बुक अफ संग्स र द स्प्रिंग एण्ड अटम एनल्स) अध्ययन गर्नुपर्थ्यो। यदि उनीहरूले परीक्षा पास गरे भने उनीहरूलाई अधिकारीहरूको रूपमा पद दिइन्थ्यो। अब चीन कन्फ्यूशियस विचारधारामा प्रशिक्षित नागरिक सेवाद्वारा शासित हुनलागेको थियो।

छिन शासनमा जस्तै हान सम्राटहरूले व्यापारीहरूमाथि अविश्वास गरे र उनीहरूमाथि भारी कर लगाए। ई.पू. ११९ मा सम्राटले नून, फलाम र मदिरा निर्माणमा राज्यको एकाधिकार बनाइदिए। पहिले यी सबभन्दा बढी लाभदायक उद्योग थिए। हान शासनमा कृषिमा सुधार आंशिक रूपले सिंचाई योजनाको बढ्दो संख्याको कारण, आंशिक रूपले हलो तान्ने भैंसी-राँगाको बढ्दो उपयोगको कारण र आंशिक रूपले वालीचक्रको कारण जारी रह्यो, जुन लगभग ई.पू. १०० मा चीनमा शुरू गरिएको थियो। चीनको संख्या निरन्तर बढिरह्यो र सन् २ मा भएको जनगणनामा यहाँको जनसंख्या ५७ मिलियन थियो। हान युगमा पश्चिममा ठूलो मात्रामा रेशमको निर्यात गरिन्थ्यो र यो कैयौंको हात हुँदै रोमन साम्राज्यसम्म पुग्थ्यो। यसको बदलामा व्यापारीहरूले चीनमा रत्न, काँच र विभिन्न लहराहरू ल्याउँथे। जहाजको पतवारको आविष्कार पहिलो शताब्दी ईस्वीमा चीनमा नै भएको थियो। लगभग सन् १०० मा काईलून नामक व्यक्तिले कागजको आविष्कार गरे। त्योभन्दा पहिले मानिस रेशम वा बाँसमा लेख्थे। यही बीचमा बौद्ध धर्म पहिलो शताब्दी ईस्वीमा चीनमा पुग्यो र यसलाई स्वीकार गर्नमा धेरै समय लाग्यो। हान युगमा फेंगशुईको विकास भयो। शिल्पका तत्व पहिले पनि विद्यमान थिए तर यो अवधिमा फेंगशुई एक सुसंगत दर्शन बन्यो।

सन् १६८ पछि हान राजवंशको पतन भयो। आन्तरिक लडाइँले यसलाई कमजोर बनाइदिएको थियो। कुनै सम्राटको मृत्यु हुँदा सामान्यतः उसको ठाउँ कसले लिने भन्ने सन्दर्भमा संघर्ष भइरहेको देखिन्थ्यो। प्राकृतिक विपद र लोकप्रिय असन्तोषको कारण राजवंश पनि कमजोर भएको थियो। सन् ८४ मा ‘पहेलो फेटा विद्रोह’ र ‘फाइभ पेक्स अफ ग्रेन’ गरी दुई विद्रोह भए। यी दुवै विद्रोहलाई दबाइयो तर उनीहरूलाई हराउनको लागि पठाइएका सेनापतिहरूले सम्राटबाट स्वतन्त्र रूपमा कार्य गर्न शुरू गरे। उनीहरू एक-अर्कोसँग लड्नलागे। सन् १८९ मा एक जनरलले राजधानी लुओयांगमाथि कब्जा जमाए र २००० किन्नरहरू (eunuchs) लाई मारे। त्यसपछि सम्राट कठपुतली शासक बने। जनरलहरूसँग वास्तविक शक्ति थियो। यद्यपि अन्तिम हान सम्राटलाई सन् २२० मा हटाइएको थियो। पछि चीन तीन भागमा विभाजित भयो, जसमध्ये प्रत्येकमा एक जनरलको शासन थियो।

हान राजवंशको पतनपछि चीन तीन राज्यहरूमा विभाजित भयो। उत्तरमा वेई साम्राज्य, पश्चिममा शू साम्राज्य र दक्षिणमा वू साम्राज्य बने। सन् २६३ मा वेई साम्राज्यले शू साम्राज्यमाथि कब्जा जमायो। त्यसपछि सन् २८० मा वू साम्राज्यमाथि पनि कब्जा गर्‍यो र चीनलाई थोरै समयको लागि पुनः एकीकरण गरियो। यद्यपि यो शान्ति अल्पकालीन थियो। ईस्वीको पहिलो र दोस्रो शताब्दीमा जियोनग्नू नामक मानिसहरूले उत्तरी चीनमा आक्रमण गरे। अर्कोतिर, तेस्रो शताब्दीमा चिनियाँ सम्राटले उनीहरूलाई आत्मसात गर्न सकिन्छ भन्ने आशा गर्दै चीनको सीमाभित्र बस्ने अनुमति दिए। सम्राटले जियोनग्नूहरूलाई सैनिकको रूपमा नियुक्त गरे। यद्यपि सन् ३०४ मा जियोनग्नूहरूले पालनकर्तामाथि नै आक्रमण गरे। उनीहरूले सन् ३११ मा लुओयांग शहर कब्जा गरे र त्यसपछि ३१६ मा चांगानमाथि कब्जा जमाए। अन्ततः उनीहरूले उत्तरी चीनमाथि कब्जा गरे। यसपछि देशको उत्तरी भाग गैर-चिनियाँ शासकयुक्त प्रतिद्वन्द्वी राज्यहरूमा विभाजित भए। यो समयलाई १६ साम्राज्य काल भनिन्छ। कैयौं चिनियाँहरू देशको उत्तरबाट दक्षिणतिर भागे। यद्यपि चिनियाँ सभ्यता उत्तरबाट लोप भएन। जियोग्नू समुदाय जनसंख्याको केवल एउटा सानो अल्पसंख्यक थियो। अधिकांश जनता चिनियाँ  थिए र उनीहरू शताब्दियौंदेखि त्यसरी नै चल्दै आएका थिए। दक्षिणमा चिनियाँ सम्राटहरूले शासन गर्ने काम जारी राखे तर उनीहरू उत्तरमा कब्जा गर्न असमर्थ रहे।

त्यसपछि चौथो शताब्दीको अन्तमा मध्य एशियाका तुर्की तोर्बाहरूले उत्तरी चीनमा कब्जा गर्न शुरू गरे। सन् ३८६ सम्म उनीहरूले सबै क्षेत्र जितेका थिए। त्यसपछि तोर्बाले चिनियाँ जीवनशैली अपनाए र तिनीहरूमध्ये कैयौंले चिनियाँहरूसँग विवाह गरे। उनीहरूका शासकले चिनियाँ भाषा बोल्न सिके। विस्तारै-विस्तारै मानिसहरूलाई आत्मसात गरियो। यद्यपि सन् ५२४ मा उत्तरी चीनमा गृहयुद्ध शुरू भयो। एक दशकको लडाइँपछि उत्तर दुई भाग – पूर्व र पश्चिममा विभाजित भयो। तिनीहरू सन् ५७७ मा फेरि एक भए। त्यही वर्ष चिनियाँहरूले सलाईको आविष्कार गरेका थिए। त्यसपछि सन् ५८१ मा एक जनरलले सिंहासनमाथि कब्जा जमाए र तुरून्तै दक्षिणमाथि विजय प्राप्त गरे। सन् ५८९ मा उनले अल्पकालिक सुई राजवंशको शुरूवात गरे। त्यहाँ वेंडी र यांग गरी दुई सम्राट मात्र थिए। दुई सुई स्रमाटले कोरियामाथि चारपटक आक्रमण गर्ने प्रयास गरे तर हरेक पटक उनीहरू असफल भए। उनीहरूले शहरहरूको पुनर्निर्माण र चीनको महान नहर विस्तार जस्ता महंगा सार्वजनिक कार्य पनि गरेका थिए। ‘ग्रेट क्यानल’ लाई यसले उत्तर र दक्षिण जोडोस् भनेर सन् ६०५ देखि ६०९ मा जबर्जस्ती सर्वसाधारणको श्रमको उपयोग गरी बढाइएको थियो । यांगको मृत्युपछि चीन फेरि युद्धरत राज्यहरूमा विभाजित भयो।

चीनमा अव्यवस्था र सम्राटका कमजोरीहरूको कारण अभिजात वर्गलाई धेरै धन र शक्ति प्राप्त भयो। यसको साथै धेरै किसानहरूलाई  दासप्रथामा धकेलियो। कृषिकर्मी दास र स्वतन्त्र मानिसहरूको बीचमा आधा थिए। प्रायः उनीहरूलाई सुरक्षाको लागि मालिकहरूकोमा जान विवश गरिन्थ्यो र यसको मूल्य दासत्व हुन्थ्यो। विभाजनको युगमा चीनमा बौद्ध धर्मको थप विकास भयो र धेरै मन्दिर तथा मठहरू बनाइयो। चिनियाँ उच्च वर्ग बौद्ध धर्मप्रति अत्याधिक सहानुभूति राख्नलागे र चीनका उत्तरका शासकहरूले यसलाई आफ्नो आधिकारिक धर्म बनाए। यही कालमा ताओवादको पनि अझ बढी विकास भयो। त्यही बेला कैयौं ताओ ग्रन्थहरू लेखिएका थिए। कैयौं वर्षको युद्धपछि सन् ६१८ मा चीनका विभिन्न भागहरूलाई तांग राजवंशद्वारा पुनः एकजुट बनाइयो।

तांग राजवंशको युग सन् ६१८ देखि ९०७ सम्म चलेको चीनको सबभन्दा महान युगहरूमध्ये एक थियो। यसले लगभग तीन शताब्दीसम्म चीनलाई एकताबद्ध गरेको थियो। हान राजवंशपछि यो राजवंशले चिनियाँ सभ्यतालाई अर्को उच्च चरणमा विकास गरेको थियो। यसको प्रभाव पहिलोपटक मध्य एशियासम्म फैलिएको थियो। यो कालमा चीनमा संभवतः विश्वको सबभन्दा उन्नत सभ्यता थियो। तांग सम्राटहरूको अधिनमा विभिन्न प्रकारका कलाहरू फस्टाएका थिए। चिनियाँ कविता र लाह-निर्माणको विकास भयो। त्यतिबेला संभवतः सबभन्दा महान कवि ली-बो (७०१-७६२) थिए। तांग सम्राटहरूले मध्य एशियामा आफ्नो शासन बढाए र विदेशी प्रभाव चीनमा फैलियो। राजधानी चांगानमा बौद्ध धर्मसँगै मुस्लिम धर्मको पनि विकास भएको थियो। तांग शासनमा व्यापार र वाणिज्य क्षेत्रमा पनि उल्लेखनीय विकास भएको थियो। लगभग सन् ९०० को आसपास चीनमा बारूदको आविष्कार भएको  थियो। सबभन्दा पहिले यसको उपयोग रकेट,  ग्रिनेट र बमहरू बनाउनको लागि गरिन्थ्यो। यिनीहरू दुश्मन शहरका काठका गेटहरूको विरूद्ध राखिन्थे। काठका ब्लकहरूबाट छपाइको आविष्कार पनि चीनको तांग शासनकालमा नै भएको थियो। यहाँको सबभन्दा पहिलो मुद्रित पुस्तक डायमंड सूत्र हो, जुन सन् ८६८ मा छापिएको थियो। पहिलो तांग सम्राट गाओजु (सन् ६१८-६२६) लाई सन् ६१८ मा सिंहासनमा बसाइएको थियो, तर सम्पूर्ण चीनलाई आफ्नो नियन्त्रणमा ल्याउनुभन्दा पहिले उनले ६ वर्ष लडाइँ लड्नुपर्‍यो। त्यसपछि चीनले शान्ति र स्थिरताको समयमा प्रवेश गरेको थियो। सबभन्दा उल्लेखनीय तांग सम्राटहरूमध्ये एक महारानी वू थिइन्, उनी चीनमा शासन गर्ने एकमात्र महिला शासिका थिइन्। उनी सम्राट गाओजोंग (सन् ६४३-६८३) की उपपत्नी थिइन्। त्यतिबेला सम्राटकी एक पत्नी साम्राज्ञी हुन्थिन् तर तिनका धेरै रखैल हुन्थे। के भनिन्छ भने एक सम्राटका ६०० सम्म उपपत्नीहरू हुन्थे। सन् ६६० मा सम्राट बिरामी भएपछि वूले चीनमा प्रभावकारी रूपमा शासन गरेकी थिइन्। सन् ६८३ मा गाओजोंगको मृत्यु भएपछि उनको छोरो झोंगजोंग उत्तराधारी बने, तर लामो समयसम्म होइन। वूले झोंगजोंगलाई अर्को पुत्रको पक्षमा पद छोड्नको लागि विवश गरिन्, जो प्रभावकारी रूपमा उनको कठपुतली थिए। सन् ६९० मा वूले कठपुतली शासन अन्त्य गरी स्वयं गद्दी सम्हालिन्। उनले सन् ७०५ सम्म चीनमा शासन गरिन्। वू एक धेरै शक्तिशाली महिला थिइन् र उनी पूर्ण रूपमा निर्दयी पनि थिइन्। यद्यपि आठौं शताब्दीको मध्यसम्म तांग राजवंशको पतन भयो। सन् ७५१ मा तलस नदीको युद्धमा अरबहरूले चिनियाँहरूलाई पराजित गरे। पछि चीनले मध्य एशियामाथि नियन्त्रण गुमायो। त्यसपछि सन् ७५५ मा एन लुशान नामका एक जनरलले विद्रोहको नेतृत्व गरे। यो एक गृहयुद्धको शुरूवात थियो, जुन ८ वर्षसम्म चल्यो। गृहयुद्ध केवल एक तुर्की उइगुर समूहको मद्दतले समाप्त भयो। यो लडाइँले चीनमा भयंकर तहसनहस भयो। तांग राजवंश वास्तवमा फेरि कहिल्यै उदाएन।

नवौं शताब्दीसम्म आइपुग्दा चीनमा बौद्ध धर्म धेरै प्रभावकारी भइसकेको थियो। भिक्षुहरूलाई कर भुक्तानमा छुट दिइएको थियो। तर सम्राट वुजोंग (८४०-८४६) ले यो कुरामा असन्तुष्टि व्यक्त गरेका थिए। चीनमा सिक्का बनाउनको लागि तामाको पनि कमी थियो। यसको लागि बौद्ध भिक्षुहरूलाई दोषी ठहराइयो। किनभने उनीहरूले कास्यका मूर्ति, घण्टी र झंकार बनाउनको लागि अति धेरै तामाको उपयोग गरेका थिए। सन् ८४५ मा मठहरूले आफ्नो जमिन र सम्पत्ति जस्तो कि फलाम र काँसका उपकरण सुम्पिनुपर्ने आदेश दिए। ४० वर्षभन्दा कम उमेरका सबै भिक्षुहरूलाई नागरिक जीवनमा फर्किने आदेश दिए। अनेकौं मन्दिर नष्ट गरियो। यो आदेशलाई सन् ८४६ मा रद्द गरिए पनि यो चीनको बौद्ध धर्मको लागि एक गम्भीर झट्का थियो। त्यसपछि सन् ८७४ मा एउटा अर्को विद्रोह भयो। विद्रोहीहरूले गुआंगजौमाथि कब्जा जमाए र विदेशहरूको नरसंहार गरे। उनीहरूले सन् ८८० मा राजधानी चंदनमाथि कब्जा गरे। तर पनि सम्राट पूर्ण रूपले पराजित भइसकेका थिएनन्। उनले तुर्कीहरूसँग मद्दत माँगे। त्यसपछि सम्राटले ८८४ मा राजधानीमाथि पुनः कब्जा गरे। यद्यपि तांग सम्राटहरूको शक्ति असफल भइरहेको थियो। अन्तिम सम्राटलाई सन् ९०७ मा हटाइएको थियो। अब तांगको स्थान सोंग राजवंशले लिएको थियो।

सन् ९०७ पछि चीन एकपटक फेरि अलग राज्यहरूमा बाँडियो। चीनको उत्तरमा ५ अलग-अलग राजवंशहरूको शासन थियो। उत्तरपश्चिममा एक स्वतन्त्र राज्य थियो, जसमा किदान लियाओको राजवंश थियो। दक्षिण १० राज्यहरूमा विभाजित भएको थियो।  सन् ९६० मा ताइजू उत्तरको सम्राट बने। उनी दक्षणी राज्यहरूमध्ये दुइटालाई छोडेर बाँकी सबैलाई आफ्नो अधिनतामा लिन सफल भए। उनको पुत्र ताइजोंगले बाँकी दुईमाथि पनि कब्जा जमाए र सन् ९७९ सम्म चीन एकपटक पुनः एकजुट भयो। त्यसमा उत्तरपूर्वको राज्य भने छुट्टै थियो।

तांग राजवंशको पतनपछि चीन धेरै साना राज्यहरूमा विभाजित भएको थियो। यसपछि सोंग राजवंश (सन् ९६०-१२७९) ले उनीहरूमध्ये कैयौंलाई हराएर एक ठूलो साम्राज्यको स्थापना गरेको थियो। यो राजवंशले चिनियाँ शास्त्रीय संस्कृतिलाई उच्च बिन्दुमा पुर्‍याएको थियो। यो राजवंश कालमा साहित्यको विकास भएको थियो, तत्कालिन वैज्ञानिक क्षेत्रमा पनि विकास भएको थियो। यस कालमा आधिकारिक राज्य विचारधाराको रूपमा नव-कन्फ्यूशियसवादलाई अपनाइएको थियो। सोंग युगमा चीनको अर्थव्यवस्थामा उच्च वृद्धि भएको थियो। भियतनामबाट छिट्टै पाक्ने धानको एक नयाँ रूपले कृषिमा सुधार भयो। सिंचाईको पनि विस्तार गरियो। यसको परिणामस्वरूप जनसंख्या पनि वृद्धि भयो। यस बीचमा व्यापार र वाणिज्य पनि समृद्ध भयो र शहरबजार धेरै ठूला भए । फलाम, सेरामिक्स, रेशम, लाह र कागज निर्माण जस्ता उद्योग फस्टाए। अब चीन संसारको लगभग धनी देश बन्यो। विदेशी व्यापार पनि बढ्यो। कम्पासको उपयोग सदियौंदेखि भविष्यवाणीको लागि गरिंदैथियो। तर बाह्रौं शताब्दीसम्म यसको जहाजहरूलाई नेभिगेट गर्नको लागि उपयोग गर्न थालियो। सोंग राजवंश पनि शक्तिशाली शत्रुहरूबाट घेरिएको थियो। यसको परिणामस्वरूप कुनै विदेशी चीजप्रति शंका र असन्तुष्टि थियो। बौद्ध धर्मको लोकप्रियतामा क्रमशः गिरावट आउँदै गयो। किनभने यो एक विदेशी धर्म थियो। त्यसपछि गीतको माध्यमबाट कन्फ्यूशियसवादको पुनरूद्दार  भयो। शिक्षितहरूले यसलाई चिनियाँ संस्कृतिलाई बलियो बनाउने एक तरीकाको रूपमा हेरे । विद्वानहरूले कन्फ्यूशियस क्लासिक्समाथि टिप्पणीहरू लेखे र नव-कन्फ्यूशियसवाद नामक एक नयाँ दर्शनमाथि काम गरे, जुन शताब्दियौंसम्म चीनमा हावी रह्यो। सोंग सम्राटहरूले चीनमा शासन गर्नको लागि एक शक्तिशाली नोकरशाही प्रणाली बनाए। नागरिक सेवाको धेरै विस्तार गरियो। चीनमा सरकारी स्कूल थिए, जहाँ पुरूष नागरिक सेवाको परीक्षा दिनको लागि पढ्नसक्थे। सोंग कालमा स्कूलहरूको संख्यामा धेरै वृद्धि गरियो। चीनमा अब विद्वान अधिकारीहरूको एक विशिष्ट वर्गको शासन हुनलागेको थियो।

उत्तरपूर्वी चीन अझै स्वतन्त्र थियो। यसमा किदान लियाओ राजवंशकै शासन थियो। उनीहरूले जर्चेन नामक मानिसहरूमाथि शासन गरे। यद्यपि सन् १११४ मा जर्चेनले आफ्ना मालिकहरूमाथि हमला गरे र सन् ११२५ सम्म उनीहरूले पूरै उत्तरपूर्वमाथि कब्जा गरे। त्यसपछि उनीहरूले बाँकी चीनमाथि आक्रमण गरे। सन् ११२७ मा उनीहरूले राजधानी केइफेंगमाथि कब्जा जमाए। जर्चेनहरूले सम्पूर्ण उत्तरी चीनमाथि कब्जा गरे तर उनीहरू दक्षिणमा कब्जा गर्नमा असमर्थ रहे। सन् ११४१ मा चिनियाँ सम्राटले उनीहरूसँग एक सन्धि गरे; त्यसपछि उनीहरूले उत्तर आफूसँग राखे र उनले दक्षिण आफूसँग राखे। यसकारण सोंग राजवंश दुई अवधिहरूमा विभाजित गरियो, चीनभन्दा पहिले उत्तरी सोंग काललाई दुई भागमा विभाजित गरिएको थियो र दक्षिणी सोंग काललाई त्यसपछि विभाजित गरिएको थियो। पछि चिनियाँहरूले चाँडै जर्चेनलाई आफ्नो कब्जामा लिए। उनीहरूले नागरिक सेवा प्रवेश परीक्षा आयोजित गरे र चिनियाँ पुरूषहरूलाई अधिकारीहरूको रूपमा नियुक्त गरे। जर्चेनले चिनियाँ पोशाक लाउन र चिनियाँ भाषा बोल्न शुरू गरे। सन् ११९१ पछि जर्चेनलाई चिनियाँहरूसँग विवाह गर्ने अनुमति दिइयो र उनीहरूमध्ये कैयौंले यसो गरे। सन् १२०६ मा दक्षिणी चिनियाँहरूले उत्तरमाथि आक्रमण गरे। यद्यपि उत्तरमा मूल चिनियाँहरूलाई जर्चेन शासनमा आदत बसिसकेको थियो र उनीहरूले विद्रोह गरेनन्। आक्रमण पराजित भयो।

१३औं शताब्दीको शुरूवातमा एक नयाँ खतरा मंगोलको रूपमा सामुन्ने आयो। चंगेज खानको नेतृत्वमा उनीहरूले उत्तरी चीनमाथि छापा मारे। सन् १२१५ मा उनीहरूले बेजिङलाई लुटे र जलाइदिए। त्यसपछि उनीहरूले आफ्नो ध्यान पश्चिमतिर लगाए। सन् १२२६ मा  चंगेज खानको मृत्युपछि मंगोलहरूले उत्तरी चीनमाथि आक्रमण गरे र सन् १९३४ सम्म उनीहरूले सम्पूर्ण क्षेत्र जिते। यद्यपि दक्षिणमा भने सम्राट केही दशकसम्म मंगोलहरूलाई रोकिराख्नमा सफल रहे। सन् १२६४ मा चंगेजको नाति कुब्ला खाँले बेजिङलाई आफ्नो शीतकालीन राजधानी बनाए। उनको ग्रीष्मकालीन राजधानी मंगोलियामा थियो। सन् १२७२ मा उनले स्वयंलाई युआन वा महान संस्थापक भन्न शुरू गरे। यसरी युआन राजवंशको शुरूवात भयो। युआन कालपछि चीनमा मध्यकालको इतिहास शुरू हुन्छ। कुब्लाले सन् १२६८ मा दक्षिण चीनमाथि आक्रमण गरे र ९ वर्षसम्म चलेको अभियानमा त्यसमाथि विजय प्राप्त गरे।

सन् १२७५ मा मंगोलहरूले रणनीतिक रूपमा महत्त्वपूर्ण जियान यांग शहरमाथि कब्जा गरे। त्यो निर्णायक मोड सावित भयो। पुरानो सोंग राजवंश अन्ततः सन् १२७९ मा मंगोलहरूले एक नौसैनिक युद्ध जितेपछि समाप्त भयो र युआन राजवंशको शुरूवात भयो, जसको स्थापना कुब्ला खाँले गरेका थिए। यही बेलामा यहाँ मार्को पोलो लगायत अन्य पश्चिमीहरूले यात्रा गरेका थिए। यही कालमा बेजिङ एकीकृत चीनको राजधानी बनेको थियो।  कुब्ला खाँले चीनमाथि शासन गर्नु र त्यसलाई लुट्नुको सट्टा त्यसमाथि बढी कर लगाउनु लाभदायक हुन्छ भन्ने कुरा महसुस गरे। उनलाई शासन गर्नको लागि चिनियाँहरूमाथि जीत हासिल गर्नुपर्दछ भन्ने कुरा पनि महसुस भयो। एक भनाइ अनुसार उनको एउटा सल्लाहकारले उनलाई भने – तपाईं घोडामा सवार भएर चीनमाथि विजय प्राप्त गर्न सक्नुहुन्छ तर तपाईं घोडामाथि सवार भएर त्यसमाथि शासन गर्न सक्नुहुन्न। त्यसपछि कुब्लाले शासन गर्नमा मद्दतको लागि चिनियाँ अधिकारीहरूलाई नियुक्त गरे तर सबभन्दा बरिष्ठ अधिकारी भने सबै मंगोल थिए। तर पनि विगतका आक्रमणकारीहरूको विपरीत मंगोलहरूलाई कहिल्यै पनि चिनियाँहरूले आफ्नो कब्जामा लिएनन्। उनीहरू चिनियाँ रीतिरिवाजहरूलाई स्वीकार गर्दैनथे । चिनियाँहरू दोस्रो दर्जाका नागरिक बनिरहे। समाजलाई चार वर्गमा विभाजित गरिएको थियो। मंगोल शीर्ष स्थानमा थिए र उनीहरूभन्दा तल अन्य गैर-चिनियाँहरू थिए। उनीहरूभन्दा तल विदेशी शासनमा बढी अभ्यस्त भएका उत्तरी चिनियाँहरू थिए र त्यसभन्दा तल दक्षिणी चिनियाँहरू थिए। मंगोलहरूले  ‘ग्रेट क्यानल’ लाई आफ्नो शीतकालीन राजधानी बेजिङसम्म बढाएका थिए। मंगोल वा युआन शासकहरूको काल चीनको लागि सुखद थिएन। यतिबेला चीनको जनसंख्यामा धेरै गिरावट आयो र देश गरीब हुँदैगयो। सन् १३५० को दशकमा चीनमा विद्रोह भड्कियो र युआन शासन भंग भयो। सन् १३६८ मा अन्तिम युआन सम्राट मंगोलिया भागे। त्यसपछि युआन राजवंशको स्थान मिंग राजवंशले लियो।  

मिंग राजवंश (सन्१३६८-१६४४) ले मंगोलहरूलाई लखेटेपछि बलियो केन्द्रीकृत नोकरशाही र सेनालाई आधार बनाएर परिष्कृत कृषि अर्थव्यवस्थाको स्थापना गरेका थिए।  प्रथम मिंग राजवंशका सम्राट होंगवूले सन् १३६८ मा बेजिङमाथि कब्जा जमाए तर त्यो राजधानीलाई नानजिङमा स्थानान्तरित गरियो। केही समय पहिले उनले सम्पूर्ण चीनमा शासन गरेका थिए। सन् १३८७ मा सम्म उनले सम्पूर्ण देशमा शासन गरेनन्। पछिका सम्राट यांग लोले राजधानीलाई पुनः बेजिङ स्थानान्तरित गर्ने निर्णय गरे। सन् १४०६ र १४२१ को बीचमा उनले ‘फरबिडन सिटी’ नामक महान महलको निर्माण गराए। यसको बाहिर शाही शहर थियो, जुन अधिकारीहरूको लागि बनाइएको थियो। सर्वसाधारणको लागि बाहिर नै बाहिरी शहर थियो। मिंग सम्राटहरूको अधीनमा चीन एकपटक फेरि समृद्ध र शक्तिशाली बन्यो। बेला-बेलामा यहाँ अनिकालले भने सताउने गर्दथ्यो। १६औं शताब्दीमा अमेरिकाबाट नयाँ वाली शखरखण्ड, मकै र बदाम ल्याइयो। यी नयाँ खाद्य पदार्थ धेरै उपयोगी थिए, किनभने यिनीहरू अन्य वाली नहुने ठाउँमा उत्पादन हुन्थे। त्यसपछि मिंगहरूले ‘ग्रेट वाल’ को पुनर्निर्माण कार्यलाई पनि अगाडि बढाएका थिए। उनीहरूको शासनकालमा चीनमा उद्योग र व्यापार पनि फस्टाएका थिए। ठूलो मात्रामा कपास कातियो र ठूलो मात्रामा चिनियाँ माटोका भाँडा बनाइए। १५औं शताब्दीको शुरूवातमा सम्राटले ६ अभियानहरूको लागि जहाज पठाएका थिए। तिनीहरू भारत, अरब र अफ्रिकाका पूर्वी तटसम्म पुगे। तिनीहरूमध्ये एउटाले चीनमा देखिएको पहिलो जिराफलाई फिर्ता ल्यायो। तर मिंग सम्राट तीव्र रूपमा अन्तर्मुखी भए र उनले चीनलाई बाहिरी संसारबाट अलग गर्ने कोशिस गरे। शायद मंगोल शासनको अवधिले विदेशीहरूप्रति उनको अविश्वास र विदेशी प्रभावप्रति उनको अरूचीलाई बढाइदिएको हुनुपर्दछ। पोर्चुगिस्टहरू सन् १५१३ मा समुद्री मार्गबाट चीन पुगे। सन् १५५७ मा उनीहरूलाई मकाउमा बस्ने अनुमति दिइयो। तर सम्राट युरोपियनहरूसँग सम्पर्क सीमित गर्नको लागि दृढ थिए।

चीनमा समृद्धिको अवधि लगभग १७औं शताब्दीमा समाप्त भयो। सन् १६३० को दशकमा मिंग शासन भंग हुनलाग्यो। चीन अनिकाल र महामारीले ग्रस्त थियो। त्यसपछि विद्रोह भड्कियो र सरकार तिनीहरूलाई दबाउन असफल रह्यो। विद्रोहीहरूले एकपछि अर्को शहरमाथि कब्जा जमाए। अन्ततः सन् १६४४ मा अन्तिम मिंग सम्राटले आत्महत्या गरे। तर विद्रोहीहरूका दुइटा गुट थिए र दुवैका नेता सम्राट हुने कुराको दावी गर्थे। त्यसैले व्यवस्था बहाल हुनसकेन।  यही बीचमा चीनको उत्तर-पूर्वमा मंचूहरूको बसोवास थियो। उनीहरूले मंचूरियालाई आफ्नो नाम दिए। सन् १६१८ मा उनीहरूले ग्रेट वालको उत्तरमा बस्ने चिनियाँहरूमाथि विजय प्राप्त गर्न शुरू गरेका थिए। सन् १६३६ बाट उनीहरूका नेताले चीनको सम्राट हुने दावी गरे र आफ्नो नाम छिंग राखे। सन् १६४४ मा एक चिनियाँ जनरलको विश्वास अनुसार विद्रोही नेताहरूको तुलनामा मंचू वा छिंगले चीनमा व्यवस्था बहाल गर्ने बढी संभावना थियो, त्यसकारण उनले तिनीहरूलाई पर्खाल पारी जान दिए। उनीहरूले उत्तरमा विद्रोहीहरूलाई तुरून्तै हराइदिए र उनीहरूका नेताले स्वयंलाई सम्राटको रूपमा स्थापित गरे। यसरी छिंग राजवंशको शुरूवात भयो।

चीनमा सन् १६४४ बाट छिंग मंचु शासनको शुरूवात भएको थियो, जुन सन् १९११ मा समाप्त भयो। यो साम्राज्य तिब्बत, मंगोलिया र अहिलेको झिझियांगसम्म फैलिएको थियो। छिंग वा मंचूले सजिलैसँग उत्तरी चीनमाथि कब्जा गर्‍यो तर दक्षिणलाई जित्नमा उनीहरूलाई धेरै लामो समय लाग्यो। सन् १६६० सम्म पनि उनीहरूले सम्पूर्ण चीनमाथि नियन्त्रण गरेनन्। सन् १६७३ मा एक विद्रोह भयो तर अन्ततः त्यसलाई दबाइयो। सन् १६८३ मा छिंग वंशले मिंग राजवंशप्रति बफादारहरूको अन्तिम गढ ताइवानमाथि कब्जा जमाए। छिंग शासनले सबै पुरूषहरूलाई आफ्ना टाउकाको अघिल्लो भागको कपाल काट्ने र पछाडिको कपाललाई एक पंक्तिमा बाँध्ने आदेश दिए। सबभन्दा पहिले छिंगहरूले मूल चिनियाँहरूबाट धेरै भूमि कब्जा गरे र दुवै जातिहरूलाई अलग गरिदिए। यद्यपि छिंगले विस्तारै चिनियाँ तरीका अपनाए र अन्ततः चिनियाँहरूले उनीहरूलाई केही हदसम्म भए पनि वैधानिक राजवंशको रूपमा स्वीकार गरे। त्यसपछि छिंग राजवंशले एक बलियो र समृद्ध राज्य बनायो। सन् १६९७ सम्म उनीहरूले मंगोलियामा विजय प्राप्त गरेका थिए र १७२० मा तिब्बतलाई संरक्षित राज्य बनाइदिएका थिए।

१८औं शताब्दीमा चीनको जनसंख्या तीव्र रूपले बढ्यो। यो आंशिक रूपले अमेरिकाबाट ल्याइएका विभिन्न वालीहरूको कारण थियो। आंशिक रूपले धानको नयाँ रूपको कारणले थियो, जसले चीनका केही भागमा प्रतिवर्ष ३ वाली उब्जाउन संभव बनाइदियो। १८औं शताब्दीमा चीनमा व्यापार र उद्योगमा पनि तीव्रता आयो। फलाम उद्योग समृद्ध भयो र भारी मात्रामा कपासको उत्पादन गरियो। चीनले भारी मात्रामा चिनियाँ माटोका भाँडाहरू पनि बनायो र यसको अधिकांश भाग युरोपमा निर्यात गर्नलागियो। चिनियाँहरूले ब्रिटेनबाट केही फलामका सामान र ऊनको आयात गरे तर अंग्रेजहरूले आफ्नो अधिकांश चियाको लागि चाँदीको भुक्तान गर्नुपर्‍यो । सन् १७५० पछि उनीहरू गुआंगजाओसम्म मात्र सीमित थिए र उनीहरूलाई कुनै अरू बन्दरगाहमा व्यापार गर्ने अनुमति थिएन। सन् १७९३ मा उनीहरूले लर्ड मेकार्टनीलाई चिनियाँ सम्राटसँग व्यापार सन्धिमा वार्ता गर्नको लागि पठाए । तर सम्राटले के स्पष्ट बनाइदिए भने उनीहरूलाई युरोपमा निर्मित वस्तुहरूमा कुनै रूचि छैन। र, उनीहरूले व्यापारका शर्तहरूलाई बदल्न अस्वीकार गरे। चीनमा एक समय धेरै उन्नत सभ्यता थियो तर अब त्यो प्रविधिको मामिलामा युरोपभन्दा पछि हुँदै गइरहेको थियो। अंग्रेजहरूको लागि चिया र अन्य सामानहरूको भुक्तान चाँदीबाट गर्न कठिन हुँदै गइरहेको थियो। त्यसकारण उनीहरूले चीनलाई बढी मात्रामा अफिमको निर्यात गर्नथाले । सन् १८०० मा चीनमा अफिमको आयातमा प्रतिबन्ध लगाइयो र सन् १८१३ मा अफिम सेवनलाई पनि अवैध बनाइयो। यद्यपि ब्रिटिशहरू छिट्टै चिनियाँ तस्करहरूसँग मिले। त्यसपछि अंग्रेजहरूले चियाको बदलामा अफीमको आदान-प्रदान तीव्र रूपमा गर्न शुरू गरे। छिट्टै चीनमा धेरै मानिस अफिमको लतमा फस्नलागे। त्यसपछि अफिम युद्धको वातावरण बन्यो।

अफिम युद्ध इतिहासको एक शर्मनाक घटना थियो। चिनियाँ सरकारले यो खतराको समाधानको लागि विभिन्न कार्वाहीहरू अगाडि बढायो। सन् १८३९ मा अफिम तस्करीलाई रोक्नको लागि लिन जेक्सू नामक एक अधिकारीलाई गुआंगजाओ पठाइएको थियो। उनले अंग्रेजहरूलाई उनीहरूको अफिम भण्डार बुझाउने आदेश दिए। अनिच्छापूर्वक उनीहरूले आज्ञा माने। यद्यपि ब्रिटिश सरकारले गुआंगजाओ र निंगबो तथा तियानजिनका बन्दरगाहहरूलाई अबरूद्ध गर्नको लागि समुद्री बेडा पठायो। सन् १८४१ मा एक चिनियाँ अधिकारीले एउटा सन्धि वार्ता गरेपछि ब्रिटेनलाई हंङकङ दिन र चीनलाई एक बेडा पठाउनको लागि ब्रिटिशहरूको लागतको भुक्तान गर्ने कुरामा सहमत भए। तर कुनै पनि पक्ष यो सन्धिबाट सन्तुष्ट भएनन् र पुनः युद्ध शुरू भयो। अंग्रेजहरूले दोस्रो बेडा पठाए र कैयौं बन्दरगाहरूमाथि कब्जा जमाए। यो पटक चिनियाँहरूले धेरै ठूलो रकम चुकाउनुपर्‍यो । उनीहरूलाई ब्रिटिश व्यापारीहरूको लागि जियामें, फूजौं, निंगगबो र शांघाइमा ५ बन्दरगाह खोल्न पनि विवश बनाइयो। ब्रिटिश नागरिकहरूले यदि चीनमा रहँदा कुनै अपराध गर्थे भने केवल ब्रिटिश अधिकारीहरूलाई जवाफ दिनुपर्दथ्यो। ब्रिटिश वस्तुहरूमाथि चिनियाँ शुल्क केवल ५ प्रतिशत मात्र थियो। यसको तुरून्त पछि चिनियाँहरूले अन्य युरोपीय देशहरूहरूसँग यसैप्रकारको सन्धिमाथि हस्ताक्षर गर्न विवश हुनुपर्‍यो । दुर्भाग्यले चिनियाँहरू सैन्य प्रविधिमा पिछडिएका थिए र उनीहरूको युरोपीय सेनासँग कुनै प्रतिस्पर्धा हुनसक्दैनथ्यो।

सन् १८४०-४२ को पहिलो अफीम युद्धपछि दोस्रो संघर्ष भयो। १८४२ को सन्धिबाट कुनै पक्ष पनि सन्तुष्ट थिएनन्। चिनियाँहरूले स्वाभाविक रूपले यो सन्धिमा असन्तुष्टि जनाए। अंग्रेजहरूले चिनियाँ अधिकारीहरूमाथि आफ्नो खुट्टा तानेको र व्यापारमा अवरोध पुर्‍याएको आरोप लगाए। सन् १८५६ मा चिनियाँहरू एरो नामक जहाजमा सवार भएपछि यो संघर्ष चरम बिन्दुमा पुग्यो। सन् १८५८ मा अंग्रेजहरूले एउटा अर्को ठूलो जहाजी बेडा चीन पठाए र चिनियाँहरूले एउटा अर्को सन्धिमाथि हस्ताक्षर गर्न विवस हुनुपर्‍यो। व्यापारको लागि दस अरू बन्दरगाह खोलिए र विदेशीहरूलाई चीनको चारैतिर यात्रा गर्ने अनुमति दिइयो। सन् १८५९ मा ब्रिटिश अधिकारी सन्धिको पुष्टि गर्नको लागि पुनः आए तर उनलाई चीनमा प्रवेश गर्नबाट रोकियो। त्यसपछि सन् १८६० मा अंग्रेगहरूले एउटा अर्को अभियान पठाए। यो पटक अंग्रेजहरूले सम्राटको ग्रीस्मकालीन महललाई जलाइदिए। त्यसपछि चीनले व्यापारको लागि उत्तरमा बन्दरगाह खोल्न र ब्रिटेनलाई ठूलो रकम दिनको लागि विवश हुनुपर्‍यो।

यसरी चीनमा प्राचीन कालदेखि  क्रमिक राजवंशहरूले नोकरशाही नियन्त्रणको एक प्रणाली विकसित गरे, जसबाट कृषिमा आधारित चीनियाँहरूलाई आसपासका घुमन्ते र पहाडिया संस्कृतिमा लाभ मिल्यो। कन्फ्यूशियस राज्य विचारधारा र एक सामान्य लिखित भाषाको विकासबाट चिनियाँ सभ्यता अझ बलियो भयो। यसबाट देशका अन्य धेरै स्थानीय भाषा तथा बोलीहरूको बीचको अन्तरलाई मार्गप्रशस्त भयो। चीनमा १३औं शताब्दीमा मंगोल घुमन्ते जनजातिहरूले विजय प्राप्त गरेपछि विजेताहरूले ढिलोचाँडो उच्च चिनियाँ सभ्यताका तरीकाहरूलाई अपनाए र नोकरशाहीतन्त्रमा चिनियाँहरूलाई सामेल गरे। अन्तिम राजवंशको रूपमा सन् १६४४ मा मंचूले मूल मिंग राजवंशलाई पल्टाएपछि छिंग राजवंशको स्थापना भएको थियो। यसको राजधानी बेइजिङ थियो। रगत र राज्यकोषको भारी मूल्य चुकाएर मंचूले अर्को अर्धशताब्दीमा झिंझियांग, युन्नान, तिब्बत, मंगोलिया र ताइवानसहित अन्य धेरै सीमावर्ती क्षेत्रहरूमा नियन्त्रण हासिल गरे। प्रारम्भिक छिंग कालको सफलता मंचू मार्शल कौशल र परम्परागत चिनियाँ नोकरशाही कौशलको संयोजनमा आधारित थियो। १९ औं शताब्दीमा छिंगको नियन्त्रण कमजोर भयो र समृद्धि पनि कमजोर भयो। अब चीनले ठूलो परिमाणमा सामाजिक संघर्ष, आर्थिक स्थिरता, विस्फोटक जनसंख्या वृद्धि र पश्चिमी प्रवेश तथा प्रभावको सामना गर्नुपर्‍यो । शिनजियांगमा रूसी समर्थित मुस्लिम पृथकतावादी आन्दोलनसँगसँगै ताइपिंग र नियान विद्रोहहरूले चीनको स्रोतसाधनहरूलाई खत्तम बनाइदियो र राजवंशलाई नै पल्टाइदियो। चीनसँग आफ्नो अवैध अफीमको व्यापारलाई जारी राख्ने ब्रिटेनको इच्छा नशालु पदार्थमाथि प्रतिबन्ध लगाउने शाही आदेशसँग टकरायो र सन् १८४० मा पहिलो अफिम युद्ध छेडियो। चीनले युद्ध हार्‍यो, यसपछि ब्रिटेन र संयुक्त राज्य अमेरिकासहित अन्य पश्चिमी शक्तिहरूले जबर्जस्ती अधिकारमाथि कब्जा गरेर विशेष वाणिज्यिक व्यापार प्राप्त गरे। सन् १८४२ मा नानकिंग सन्धीमार्फत् हङकङ ब्रिटेनलाई सुम्पियो भने ब्रिटेनले नयाँ क्षेत्र ९९ वर्षको लागि लिजमा प्राप्त गर्‍यो, जसको कारणले हङकङ कोलोनीको आकारमा धेरै विस्तार भयो। समय बित्दै जाँदा पश्चिमी शक्तिहरूले उत्कृष्ट सैन्य प्रविधिको उपयोग गर्दै धेरै राजनीतिक र आर्थिक प्राधिकार प्राप्त गरे। सुधारवादी चिनियाँ अधिकारीहरूले राजवंशलाई बलियो बनाउन र पश्चिमी प्रगतिको प्रतिस्पर्धा गर्नको लागि पश्चिमी प्रविधिलाई अपनाउने तर्क दिए तर छिंग राजवंशले पश्चिमी खतरा र पश्चिमी प्रविधिको लाभ दुवैलाई नजरअन्दाज गरे।

अठारौं शताब्दीको अन्तसम्ममा छिंग राजवंशको पतन भइसकेको थियो। यो आंशिक रूपले जनसंख्या वृद्धिको कारण थियो। चीनको जनसंख्या त्यहाँको स्रोतसाधनभन्दा बढी हुनलागेको थियो र किसानहरू गरीब हुँदैगएका थिए। यसको परिणामस्वरूप विभिन्न विद्रोहहरू भट्किए। सन् १७९६-१८०४ का वर्षहरूमा ‘ह्वाइट लोटस’ सम्प्रदायले विद्रोह गरेका थिए। त्यो विद्रोहलाई दबाइयो तर यसपछि सन् १८१३ मा ‘एट ट्राइग्राम्स’ सम्प्रदायको नेतृत्वमा एक अर्को विद्रोह भयो। यो विद्रोहमा सत्तरी हजार भन्दा बढी मानिसहरूको ज्यान गयो। चीनमा यतिखेरसम्मको सबभन्दा भयंकर विद्रोह सन् १८५०-६४ को ताइपिङ विद्रोह थियो। यसमा लगभग २० मिलियन मानिसहरूको ज्यान गएको  अनुमान गरिन्छ। यसको नेतृत्व होंग शिचुवानले गरेका थिए। उनलाई ईश्वरका पुत्र वा यशुका भाई मानिन्थ्यो। उनले केही ईशाइ मान्यता र केही साम्यवादको मिश्रणको प्रचार गरे। उनका अनुयायीहरूले आफ्नो सम्पत्ति बेचिदिए र पैसा एक सामान्य कोषमा हाले। भूमि उनीहरूका अनुयायीहरूको बीचमा वितरण गरियो। उनीहरूले खुट्टा बाँध्ने, आफीम सेवन गर्ने र पंङ्तिमा कपडा लाउनमा प्रतिबन्ध लगाइदिए। उनीहरूले विभिन्न धार्मिक मन्दिरहरूलाई नष्ट गरे। उनीहरूले सन् १८५३ मा नानजिंग कब्जा  गरे र एक लामो विद्रोहको नेतृत्व गरे। यसलाई दबाउनमा छिंग शासकलाई एक दशकभन्दा बढी समय लाग्यो। यसको अतिरिक्त चीनमा अन्य विद्रोहहरू पनि भड्किए। उत्तरमा नानिन नामक डाकुहरूको विद्रोहलाई खत्तम गर्नमा चार वर्ष लाग्यो। बाहिरी इलाकाहरूमा मुसलमानहरूद्वारा पनि विद्रोह भए। यिनीहरू सन् १८७३ सम्म पराजित भएका थिएनन्।

१९औं शताब्दीको अन्तसम्ममा चीन सरकारले युरोपीय प्रविधिलाई पेश गर्नको लागि केही प्रयास गर्‍यो तर सफलता मिलेन। चिनियाँ व्यापारीहरूसँग समझदारीमा सरकारले कोइला खानी खोल्यो, एक स्टीम शिपिङ कम्पनी शुरू गर्‍यो र आइरनवर्क्स तथा कपास मिल खोल्यो। सरकारले एक टेलिग्राम नेटवर्क र रेलवेको छोटो नेटवर्क पनि बनायो। सुधारका यी सबै प्रयास भए पनि पारंपरिक कन्फ्यूशियस विद्वानहरूको प्रतिरोधको सामना गर्नुपर्‍यो । योभन्दा पनि खराब कुरा के हो भने सन् १८९३ मा महारानी सिक्सिनले नौसेनाको लागि केही धन लिइन् र त्यसको उपयोग पेडल स्टिमरको आकारमा एक संगमरमरको जहाज बनाउनमा गरिन्। सन् १८९४ मा चीनको जापानसँग युद्ध भयो। यही बेलामा कोरियामा पनि विद्रोह भयो र चिनियाँ सेना त्यहाँ पठाइयो। जापानी नौसेनाले एउटा चिनियाँ सैन्यवाहक जहाजलाई डुबाइदिएकोले युद्ध भड्कियो। जापानीहरूले छिट्टै आश्चर्यजनक जित हासिल गरे र चिनियाँहरूले एक अपमानजनक सन्धिमा हस्ताक्षर गर्न विवश हुनुपर्‍यो । त्यसपछि ताइवान जापानलाई दिइयो र जापानीहरूलाई चीनमा कारखाना बनाउने अनुमति मिल्यो। चीनले ठूलो रकम पनि भुक्तान गर्नुपर्‍यो। पछि युरोपीय शक्तिहरूले चीनको कमजोरीको फाइदा उठाए र चीनले अरू क्षेत्र पनि गुमाउनुपर्‍यो। चीन-जापान युद्धको झड्कापछि कैयौं चिनियाँहरूले के महसुस गरे भने अब चीनलाई आधुनिकीकरण गर्नुपर्दछ, अन्यथा त्यो विदेशी शक्तिहरूमा बाँडिनेछ। सन् १८९८ मा केही अधिकारीहरूले सम्राटलाई कैयौं सुधारहरूको आदेश दिनको लागि राजी गराए। यद्यपि महारानी डोवेगर सिक्सीले यसमाथि रोक लगाइन्। उनले अधिकांश सुधारकहरूलाई गिरफ्तार गराइन् र तिनीहरूलाई  सत्ता पल्टाउने षड्यन्त्रमा लागेको झुटो आरोपमा फाँसीको सजाय दिलाइन्।

सन् १९०० मा विदेशी हस्तक्षेपप्रति चिनियाँ आक्रोशको कारण बक्सर विद्रोहमा बदलियो। यसको शुरूवात ‘हार्मोनियस पिस्ट्स’ नामक एक गोप्य समाजबाट भएको थियो। उनीहरू ईशाइ मिसनरी र विदेसी प्रभावलाई घृणा गर्दथे। सन् १८९८ पछि समाजको तीव्र रूपमा विकास भयो र उनीहरूको अरू मिसनरीहरूसँग मनमुटाव बढ्यो। त्यसपछि अंग्रेजहरू डराएर बेजिङमा आफ्ना नागरिकहरूको सुरक्षाको लागि दुईहजार मानिसलाई पठाए। बक्सरहरूले तियानजिनसम्म रेलवे काटिदिए र अंग्रेजहरूले आफ्ना सेनाहरूलाई फिर्ता बोलाउन विवश हुनुपर्‍यो। त्यसपछि सिक्सीले बक्सर्समा सामेल हुने फैसला गरिन् र युद्धको घोषणा गरिन्। अब बेजिङमा विदेशीहरूले स्वयंलाई आफ्ना भवनहरूमा बन्द गरे। यद्यपि बीस हजार युरोपीय सैनिकहरूले बेजिङमा मार्च गरे र त्यसलाई बर्खास्त गरिदिए। पछि चिनियाँहरूले मुआब्जाको रूपमा युरोपीयहरूलाई धेरै ठूलो रकम दिन विवश हुनुपर्‍यो।  

सन् १९०१ मा महारानी डोवेगर सिक्सीले आफ्नो इरादा बदलिन् र अन्ततः केही सुधारको आवश्यकता छ भन्ने निर्णय लिइन्। पश्चिमी विषयहरूलाई सामेल गर्नको लागि प्राथमिक र माध्यमिक शिक्षाहरूमा परिवर्तन गरियो। तर दुई हजार वर्ष अगाडिदेखि चल्दै आएको नागरिक सेवा प्रवेश परीक्षा सन् १९०५ मा समाप्त गरियो । सेना र नौसेनामा सुधारको लागि केही प्रयासहरू गरियो। सन् १९०८ मा उनी चिनियाँ राजतन्त्रलाई संवैधानिक बनाउने कुरामा सहमत भइन्। सन् १९०९ मा प्रान्तीय विधान सभाको चुनाव भयो। तर केवल सीमित संख्यामा पुरूषहरूलाई भोट दिने अनुमति थियो र सभासँग धेरै कम शक्ति थियो। सन् १९१० पछि एक राष्ट्रिय सभा त बन्यो तर त्यसको शक्ति पनि धेरै सीमित थियो। छिंगका सीमित सुधारहरूले कसैलाई पनि सन्तुष्ट गरेनन् र सन् १९११ मा उनीहरू एक क्रान्तिमा सहभागी भए र राजतन्त्रको अन्त्यसँगै चीन एक गणतन्त्र बन्ने प्रक्रियामा गयो।

बीसौं शताब्दीको शुरूवातबाट नै कैयौं मानिसहरूले पुरानो व्यवस्थालाई ध्वस्त पार्ने फैसला गरेका थिए। क्रान्तिकारीहरूको नेतृत्व सन यात-सेन (१८६६-१९२५) ले गरिरहेका थिए। छिङ शासनबाट निराश भएर युवा अधिकारी, सैन्य अधिकारी र विद्यार्थीहरू सनयात सेनका क्रान्तिकारी विचारहरूबाट प्रेरित भएर छिङ राजवंशलाई पल्टाएर गणतन्त्र निर्माणको वकालत गर्न लागेका थिए। सन यातसेनले राष्ट्रियता, जनतन्त्र र जनजीविका गरी तीन जन-सिद्धान्तलाई अगाडि बढाए। सन् १९०५ मा उनले ‘तोंगमेन हुई’ को क्रान्तिकारी गठबन्धन बनाए। वुचाङमा केही क्रान्तिकारी विचार भएका सैनिकहरूले ‘लिटरेरी सोसाइटी’ नामबाट एक संगठन बनाए। सन् १९११ मा उनीहरू एक क्रान्तिको योजना बनाइरहेका थिए। तर गल्तीपूर्वक उनीहरूले सरकारलाई सतर्क गर्नको लागि बम विस्फोट गराए। त्यसपछि उनीहरूले तुरून्तै क्रान्ति शुरू गर्ने फैसला गरे। यो क्रान्तिले छिट्टै गति लियो र सम्पूर्ण दक्षिण चीनमा फैलियो। एकपछि अर्को प्रान्त छिंगको साम्राज्यबाट अलग हुँदै गए। यद्यपि छिङ शासक एक व्यक्ति युआन शिकाईतिर मोडिए। यी व्यक्ति एक क्षेत्रीय गभर्नर थिए। छिंगले उनलाई शक्तिशाली हुँदै गएको देखेर बोलाएर क्रान्ति दबाउनको लागि व्यापक शक्ति दिए। तर नानजिङमा उनको सेनालाई भगाइयो त्यसपछि जनरलले पक्ष बदल्ने फैसला गरे। उनले क्रान्तिकारीहरूसँग एक सम्झौता गर्ने निर्णय गरे र यदि आफू राष्ट्रपति बन्न पाउने हो भने चीनलाई गणतन्त्र बनाइदिने कुरा स्वीकार गरे। सन यातसेन र अन्य क्रान्तिकारीहरूलाई विभाजित चीन विदेशी शक्तिहरूको लागि सहज शिकार हुन्छ भन्ने डर थियो। त्यसकारण उनीहरू जनरलको शर्तमा सहमत भए। यसरी १० अक्टुवर १९११ मा एक क्रान्तिकारी सैन्य विद्रोहको कारण क्रान्ति सम्पन्न भयो।  त्यसपछि फेब्रुअरी १९१२ मा छिंग सम्राट पुयी पद छोड्न विवश भए र युआन शिकाई चीनको पहिलो राष्ट्रपति बने। गृहयुद्ध बिना नै राजवंशलाई फ्याँक्ने सम्झौताको हिस्साको रूपमा क्रान्तिकारी र सुधारकहरूले उच्च छिङ अधिकारीहरूलाई नयाँ गणराज्यमा प्रमुख पदमा कायम राख्ने अनुमति दिए। फेब्रुअरीमा नै एक संसद चुनियो। सबभन्दा ठूलो पार्टी क्वोमिन्ताङ राष्ट्रवादीहरूको थियो, जसको प्रमुख सन यातसेन थिए। तर जनरलको सांसदसँग सत्ता साझेदारी गर्ने कुनै इच्छा थिएन। र, छिट्टै उनले स्वयंलाई तानाशाह बनाए। सन् १९१३ को अन्तमा क्वोमिन्ताङमाथि प्रतिबन्ध लगाइयो र जनवरी १९१४ मा सांसद भंग गरियो।

सन् १९१६ मा आफ्नो मृत्युभन्दा पहिले युआनले स्वयंलाई सम्राट घोषित गर्ने असफल प्रयास गरेका थिए। उनको मृत्युपछि गणतन्त्र सरकार पूर्ण रूपले चकनाचुर भयो। त्यसपछि युद्ध-सरदाहरूको युगको शुरूवात भयो। यसबेला प्रतिस्पर्धी सैन्य नेताहरूको गठबन्धनद्वारा चीनमा शासन गरियो र चीनलाई तहसनहस बनाइयो। अब चीन अराजकताको स्थितिमा पुग्यो। केन्द्र सरकारसँग धेरै कम शक्ति थियो। प्रान्तहरू युद्ध सरदारहरूको नियन्त्रणमा थिए। सन् १९१६ मै जापानीहरूले शेडोंगमा जर्मन प्रभाव क्षेत्रमाथि कब्जा गरे। युद्धपछि सन् १९१९ मा विजयी शक्ति जापान यसलाई आफूसँग राख्ने इरादा राख्थ्यो भन्ने कुरा स्पष्ट भयो। यो खबरपछि ४ मई १९१९ मा तीन हजार भन्दा बढी विद्यार्थीहरूले यसको विरूद्धमा प्रदर्शन गरे। उनीहरूले संचार मन्त्रीको घर जलाइदिए। पुलिसले बेजिङमा प्रदर्शन दबाउनको लागि कदम उठाए पनि चीनका अन्य क्षेत्रहरूमा यस्तै प्रकारका विरोध प्रदर्शनहरू भए। विरोधले एक आन्दोलनको जन्म दियो, जसलाई ४ मई आन्दोलन भनियो। यसले कन्फ्यूशियसका मूल्यमान्यताहरूलाई खारेज गरिदियो र चीनलाई आधुनिक बनाउने माग गर्‍यो। सन् १९१३ देखि क्वोमिन्ताङमाथि प्रतिबन्ध लागे पनि उनीहरूले आफ्नो आधार गुआंगजाओमा स्थानान्तरित गरेका थिए र कामलाई जारी राखेका थिए।

सन् १९२० को दशकमा सन यातसेनले दक्षिणी चीनमा एक क्रान्तिकारी आधार स्थापना गरे र खण्डित राष्ट्रहरूलाई एकजुट गर्नको लागि कम्मर कसेर लागे।  सोभियत संघको सहयोगबाट उनले क्वोमिन्ताङ (KMT, वा चिनियाँ राष्ट्रवादी पिपुल्स पार्टी) लाई संगठित गरे । सन् १९२१ मा चिनियाँ कम्युनिष्ट पार्टीको स्थापना भएको थियो। सन यातसेनले नवोदित चिनियाँ कम्युनिष्ट पार्टी (CCP) सँग गठबन्धन गरे। सन् १९२५ मा सन यातसेनको मृत्युपछि उनका एक शिष्य चियाङ काई-शेकले क्वोमिन्ताङ पार्टीमाथि कब्जा जमाए। त्यसपछि उनले दक्षिण र मध्य चीनको अधिकांश भागलाई आफ्नो अधिनमा लिन सफल भए। यसबीचमा बीसौं शताब्दीको शुरूवातदेखि नै चीन बदलिरहेको थियो। चीनियाँ उद्योगहरूको तीव्र रूपमा विकास भइरहेको थियो। यद्यपि देश मुख्य रूपले कृषिप्रधान नै थियो। सन् १९२० को दशकमा चीनमा विभिन्न प्रकारका हड्ताल, आन्दोलन र अशान्तिको स्थिति सृजना भएको थियो। सन् १९२६ मा क्वोमिन्ताङले चीनलाई पुनः एकजुट बनाउने फैसला गर्‍यो। दक्षिणमा आफ्नो अड्डाबाट उनीहरूले एकलाख पचास हजार सेनाहरूलाई उत्तरतिर पठाए। केही उत्तरी प्रान्तका सरदारहरूलाई पराजित गरियो र सन् १९२६ को अन्तसम्म उत्तरी चीनका ठूला क्षेत्रलाई क्वोमिन्ताङको नियन्त्रणमा लिइयो। सन् १९२८ मा उत्तरी अभियानको नवीकरण गरियो र अप्रिलमा क्वोमिन्ताङका सेनाहरूले बेइजिङ प्रवेश गरे र चीन पुनः एकीकरण भयो।

यही बीचमा क्वोमिन्ताङ र कम्युनिष्टहरूको बीचमा संघर्ष शुरू भयो। सन् १९२७ को शरद ऋतुमा माओले शरद वाली विद्रोह नामक किसान आन्दोलनको नेतृत्व गरेका थिए तर यसलाई दबाइयो।  डिसेम्बरमा गुआंगजाओमा विद्रोह भएको थियो र थोरै समय कम्युनिष्ट क्रान्तिकारीले कब्जा जमाएका थिए तर क्वोमिन्ताङ बलले छिट्टै यसलाई पनि दबाइदियो। यसरी सन् १९२७ मा चियाङले चिनियाँ कम्युनिष्ट पार्टीमाथि आक्रमण गरे र त्यसका धेरै नेताहरूको हत्या गराए। कम्युनिष्ट पार्टीका बाँकी नेता-कार्यकर्ता पूर्वी चीनका पहाडहरूमातिर भागे। सन् १९३० मा क्वोमिन्ताङले चीनमा लोकतन्त्र दिनको लागि तयार छैन भन्ने कुरा घोषणा गरिदिए। त्यसपछि चीन च्याङ काईशेकको नेतृत्वमा एक सैन्य तानाशाही राज्य बन्यो। यहीबेला लिलि सानले एक कम्युनिष्ट विद्रोहको नेतृत्व गरेका थिए तर यसलाई सजिलैसँग दबाइयो। सन् १९३० पछि क्वोमिन्ताङ र कम्युनिष्ट पार्टीको बीचमा भयंकर संघर्ष भयो। शुरूमा च्याङ काइशेका एकलाख सरकारी सेना र कम्युनिष्ट पार्टीका ४० हजार लालसेनाको बीचमा क्याङ्सी र निग्त्सुमा भयंकर लडाइँ भयो। यसमा क्वोमिन्ताङ सेनाको हार भएको थियो। सन् १९३१ मा कम्युनिष्टहरूको केन्द्रीय आधारक्षेत्र हुनानमा २ लाख क्वोमिन्ताङ सेनाले आक्रमण गरेका थिए र उक्त आक्रमणमा पनि लाल सेनाले जित हासिल गरेको थियो। जुलाईमा च्याङले लालसेनालाई घेरा हाल्नको लागि ३ लाख सेना पठाएका थिए तर पनि सफलता हासिल गर्न सकेनन्। त्यसपछि चौथो अभियान अन्तर्गत च्याङले पाँच लाख सेना संचालन गरे तर यसमा पनि अपफलता मिल्यो। उनले सन् १९३३ मा पाँचौ अभियान व्यापक तयारीका साथ संचालन गरे। सन् १९३३ को अक्टुवरमा लालसेनाको पूरै आधार इलाका ध्वस्त पार्न च्याङले दस लाख सेना संचालन गरे। एक वर्षसम्म भएको भीषण युद्धमा दुवै पक्षले ठूलो क्षति बेहोर्नुपरेको थियो। व्यापक दमन र लगातार आक्रमणपछि कम्युनिष्टको फुकियन क्षेत्रको जनवादी सरकारको अन्त्य भयो र अरू युद्धमा पराजयको सामना गर्नुपर्‍यो। त्यसपछि कम्युनिष्ट लालसेनाले तत्कालीन आधारक्षेत्र छोडेर अन्यत्र जाने निर्णय लियो।

यसपछि ग्रामीण इलाकाहरूमा माओत्सेतुङको नेतृत्वमा कम्युनिष्ट क्रान्तिकारीहरूले आफ्नो प्रभाव जमाउँदै गए। उनीहरूले चीनको पर्वत श्रृंखलामा आफ्नो आधार इलाका बनाए । उनीहरूले राम्रोसँग एक अनुशासित सेनाको निर्माण गरे र यसको माध्यमबाट छापामार युद्ध संचालन गरे। यसमा उनीहरूले हान र भागको नीति अपनाए। बीसौं शताब्दीमा माओको नेतृत्वमा चीनमा भएको छापामार युद्ध धेरै सफल सावित भएको थियो। लालसेनाको संख्यामा व्यापक वृद्धि गर्दै लगियो। चिनियाँ कम्युनिष्ट पार्टीले ग्रामीण इलाकामा जनतालाई स्वाबलम्बी बनाउनको लागि हजारौंको संख्यमामा खाद्यान्न, कपडा, धातु, हतियार, चिनी, नून, आदि जस्ता उद्योग स्थापना गराए भने धेरै संख्यामा सहकारी संस्थाहरू खोलियो। जनतालाई कम्युनिष्ट सिद्धान्तमा आकर्षित गर्नको लागि स्वास्थ्य, शिक्षा, यातायात, खानेपानी, भौतिक पूर्वाधार लगायतका विकासनिर्माण कार्यमा पनि संचालन गरियो।

सन् १९३४ मा क्वोमिन्ताङले कम्युनिष्टहरूलाई चारैतिर घेर्ने प्रयास गर्‍यो। त्यसपछि अक्टुबरबाट माओ आफ्ना पहाडी सेल्टरहरूबाट बाहिर निस्किए र कम्युनिष्ट पार्टीका सेनाहरूसहित चीनका केही सबभन्दा उजाड इलाका फुकिएन र क्याङ्सी  हुँदै उत्तर-पश्चिमी प्रान्त शान्सीसम्म १२,५०० किलोमीटर “लङ मार्च” अभियानमा निस्किए। यो अभियानमा लालसेनाले साम्यवादी कार्यक्रमबाट जनतालाई धेरै आकर्षित गरे।   यो लङ मार्च धेरै प्रसिद्ध भयो। यो महान लङ मार्चको क्रममा सहभागी करीब एक लाखमा बीस हजारभन्दा कम बाँचेका थिए भने सरकारी सेनासँग भीडन्तमा ८० हजारभन्दा बढी लालसेनाको ज्यान गएको थियो। त्यसरी नै यहाँ लाखौंको संख्यामा नागरिकहरू लालसेनामा सामेल पनि हुँदै गए।   यस क्रममा कम्युनिष्टहरूले येनानमा एक छापामार आधार इलाका बनाएका थिए। नयाँ आधारक्षेत्र बनाएपछि कम्युनिष्ट पार्टीले कृषिमा सुधार,भूमिको समान वितरणसँगसँगै विकास कार्यलाई प्राथमिकता दिए।  लङ मार्चको क्रममा चीनको कम्युनिष्ट पार्टी माओत्सेतुङको नेतृत्वमा पुनर्गठित भयो।

१९३१ मा जापानले मंचुरियामा निर्माण गरेको रेलमार्गमा बम विस्फोट भएको थियो र यसको दोष चीनलाई लगाइएको थियो तर चीनले यो कुरा स्वीकारेन । र, जापानीहरूले चीनमाथि आक्रमण गरी मंचूरियामाथि कब्जा गरेका थिए। यहाँ चीनका मंचु वंशका पदच्युत गरिएका अन्तिम सम्राट पुयीलाई राजा घोषित गरियो। चीनले राष्ट्रसंघमा उजुरी गरेपछि जापानले यो क्षेत्रमा सेना फिर्ता लानुपर्ने प्रतिवेदन दिएको थियो तर जापानले यसको साटो राष्ट्रसंघको सदस्यता नै परित्याग गरेको घोषणा गर्‍यो।  सन् १९३२ फेब्रुअरीमा उनीहरूले मंचुकुओ नामक कठपुतली सरकारसँगै एक अलग्गै राज्य बनाए। सन् १९३७ मा जापानीहरूले बाँकी चीनमाथि पनि आक्रमण गरिदिए। आक्रमणको शुरूवात नानजिङको बलात्कार घटनाबाट भयो। त्यसपछि त्यो शहरमा हजारौं मानिसहरूको हत्या गरियो। महिलाहरूलाई बलात्कार गरियो र भवनहरू जलाइयो। तर यसको विशालताको कारण जापानले जित्न भने सकेन।

सीपीसी र केएमटीको बीचमा जापानी साम्राज्यवादी आक्रमणको बेलामा पनि खुला वा गुप्त रूपमा भयंकर संघर्ष जारी रहिरहेको थियो। यही बीचमा सन् १९३७ मा दोस्रो चीन-जापान युद्ध भयो।  अब दुवै पार्टीले सन् १९३७ मा जापानी साम्राज्यवादी आक्रमणकारीहरूको विरोध गर्नको लागि नाममात्रको एक संयुक्त मोर्चामा सन्धि गरेका थिए। यो युद्धमा चीनले ठूलो क्षतिको सामना गर्नुपरेको थियो। नानकिंगको युद्धमा लाखौं चिनियाँ जनताको ज्यान गएको थियो। जापानले जितेका विभिन्न ठाउँमा कठपुतली सरकार गठन गर्दै गयो।

सन् १९३० को दशकमा चीनका तटीय शहरहरूमा केही आधुनिकीकरण भएको थियो। धेरै नयाँ रेलवेहरू बनाइएका थिए र धेरै पक्की सडकहरू पनि निर्माण गरिएका थिए। बिजुली उत्पादन सात गुना बढेको थियो। औद्योगिक उत्पादन पनि सामान्य रूपमा बढिरहेको थियो। कोइला उत्खननमा तीव्रता आएको थियो। कपास कताईको पनि विकास भइरहेको थियो। तर चीनको भित्री भाग भने सम्पूर्ण रूपमा कृषिमा आश्रित थियो। १९३७ को जापानी आक्रमणपछि चियाङले व्यापक रूपमा पैसा छाप्नथाले र नराम्रोसँग मुद्रास्फीति सिर्जना भयो, गरीबी र भोकमरी चरम सीमामा पुग्यो। यसबाट उनको जनसमर्थनमा व्यापक रूपमा कमी आयो। जनता अब क्रमशः क्रान्तिकारी कम्युनिष्ट शक्तितिर आकर्षित हुँदैगए।  

सन् १९४५ मा दोस्रो विश्वयुद्धमा जापानी साम्राज्यवादको हार भएपछि रूसी सैनिकहरूले मंचूरियामाथि कब्जा गरे र त्यसपछि मंचूरिया कम्युनिष्टहरूको कब्जामा आयो।  बीचको केही समय क्वोमिन्ताङ र कम्युनिष्ट पार्टीको बीचमा युद्धबिराम भएता पनि यसबाट केही निस्कर्ष निस्किएन र फेरि युद्ध शुरू भयो।  सन् १९४६ मा  कम्युनिष्ट र क्वोमिन्ताङको बीचमा भएको गृहयुद्धले झन भयंकर रूप लियो। शुरूमा क्वोमिन्ताङ सफल रहे र उनीहरूले दक्षिणी मंचूरिया र उत्तरी चीनका अन्य भागहरूमा पुनः कब्जा गरे। तर कम्युनिष्टहरूले लगातार छापामार युद्धलाई अगाडि बढाए र क्वोमिन्ताङ तथा उसका संचार लाइनहरूलाई तहसनहस बनाइदिए। सन् १९४७ को मध्यसम्म कम्युनिष्टहरूले युद्ध जितिरहेका थिए। त्यसपछि नोभेम्बर १९४८ देखि जनवरी १९४९ मा कम्युनिष्टहरूले हुआई-हाईमा जित हासिल गरे। उनीहरूले त्यहाँ ३००,००० क्वोमिन्ताङका सेनाहरूलाई घेरे र अन्ततः उनीहरूलाई आत्मसमर्पण गर्नको लागि विवश बनाइयो। त्यसपछि क्वोमिन्ताङहरूको स्थिति धराशायी भयो। जनवरी १९४९ मा कम्युनिष्टहरूले बेजिङमाथि कब्जा गरे। अप्रिलमा उनीहरूले नानजिंग र मईमा शांघाईमाथि कब्जा गरे। सन् १९४९ सम्म कम्युनिष्ट पार्टीले देशका अधिकांश भागमा कब्जा जमाइसकेको थियो। त्यसपछि चियाङ काईशेक आफ्नो क्वोमिन्ताङ सरकार र सैन्य बलका अवशेषसँगै ताइवान भागे र ताइपेइलाई चीनको अस्थायी राजधानी घोषणा गरे। त्यसपछि चिनियाँ कम्युनिष्ट पार्टीका नेता माओत्सेतुङले १ अक्टुबर १९४९ मा तियेनमेन स्क्वायरमा जनवादी गणतन्त्र चीनको घोषणा गरे। त्यसपछि माओ जनगणतन्त्र चीनको सर्वोच्च अंग केन्द्रीय जनसरकार परिषदका अध्यक्ष भए।

माओको नेतृत्वमा कम्युनिष्टहरूको नयाँ सरकारले युद्ध र सामाजिक संघर्षका दुई पुस्ताहरूबाट थाकेका जनताहरू र उच्च मुद्रास्फीति एवम् अवरोधित परिवहन लिंकबाट तहसनहस भएको अर्थव्यवस्थाको नियन्त्रण आफ्नो हातमा लियो। सोभियत प्रारूपमा आधारित एक नयाँ राजनीतिक र आर्थिक व्यवस्था शीघ्र रूपमा स्थापित गरियो। सन् १९५० को दशकको शुरूवातमा चीनले ठूलो परिमाणमा आर्थिक र सामाजिक पुनर्निर्माण कार्यक्रम चलायो।  १९५० को फेब्रुअरीमा चीन र सोभियत संघले ३० वर्षको लागि पारस्परिक सहयोग सन्धि गरेका थिए।  कृषि सुधार ऐन लागू गरियो; करौडौं सुकुम्वासी र भूमिहीन किसानलाई भूमि वितरण गरियो । नयाँ नेताहरूले मुद्रास्फीतिमाथि अंकुश लगाएर अर्थव्यवस्थालाई बहाल गरी युद्धबाट क्षतिग्रस्त कैयौं औद्योगिक संयन्त्ररूको पुनर्निर्माण गरे र लोकप्रिय समर्थन हासिल गरे। चिनियाँ कम्युनिष्ट पार्टीको अधिकार चिनियाँ जीवनको लगभग हरेक पक्षसम्म पुग्यो। पार्टीको नियन्त्रण ठूला, राजनीतिक रूपले बफादार सुरक्षा र सैन्य बलहरूद्वारा सुनिश्चित गरिएको थियो। पार्टीको निर्देशनप्रति उत्तरदायी एक सरकारी तन्त्र र श्रम, महिला तथा अन्य जनसंगठनहरूको नेतृत्वका पदहरूमा पार्टी सदस्यहरूलाई नियुक्त गरियो। कम्युनिष्टहरूको नेतृत्वमा उद्योगहरूलाई राष्ट्रिकरण गरियो। किसानहरूलाई आफ्नो स्रोतसाधनहरूलाई एकत्रित गर्न र आफ्ना साना खेतहरूलाई सहकारी समिति बनाउनको लागि प्रोत्साहित गरियो। सन् १९५३ मा जनगणना लिने काम भयो। यसपछि निर्वाचन नियमावली लागू गरियो र योजना आयोग पनि गठन गरियो। सन् १९५४ मा जनवादी केन्द्रीयतावादी शासनमा आधारित ४ भाग र १०६ धारा भएको नयाँ संविधान लागू गरियो। यसले जनताको जनवादी अधिनायकत्वको आधारमा शासन संचालन गर्ने पद्धति अपनायो। सन् १९५०-५३ सम्म भएको कोरियाली युद्धमा चीनले उत्तर कोरियाको पक्षबाट लडेको थियो र यसमा धेरै क्षति बेहोरेको थियो। अक्टोबर १९५० मा माओले जन स्वयंसेवक सेना, जनमुक्ति सेनाको एक विशेष इकाईलाई कोरियाली युद्धमा पठाउने र उत्तर कोरियाको सशस्त्र बल, कोरियाली जन सेनासँगसँगै लड्ने निर्णय गरे। त्यसपछि संयुक्त राज्य अमेरिकाले कोरियाली युद्धमा संलग्न भएको कारण जनवादी गणतन्त्र चीनमा व्यापार प्रतिबन्ध लगायो। युद्धको क्रममा १ लाखभन्दा बढी चिनियाँ सैनिकको मृत्यु भएको थियो। त्यस युद्धमा माओका छोरा समेत मारिएका थिए ।

सन् १९५८ पछि माओले चीनमा सोभियत मोडेललाई भंग गरे र एक नयाँ आर्थिक कार्यक्रम “महान अग्रगामी छलाङ” को घोषणा गरे। यसको उद्देश्य औद्योगिक र कृषि उत्पादनलाई तीव्र रूपमा बढाउनु थियो। कृषि सहकारी समितिहरूलाई एकसाथ जोडेर विशाल सहकारी समितिहरू (कम्युन) बनाइयो र कम्युनलाई आफ्ना अस्थायी भट्टी र  विभिन्न कारखानाहरूमा स्टील बनाउनको लागि प्रोत्साहित गरियो। महिलाहरूलाई काम गर्नको लागि नर्सरी जस्ता विभिन्न क्षेत्रहरूको सृजना गरियो।  कैयौं किसानहरूलाई जल संरक्षणको काममा लगाइयो। यसबाट एक किसिमको अर्थतन्त्रको आधार बनेपनि तत्कालीन जटिल परिवेश र खराब मौसम तथा विपदको कारण परिणाम राम्रो निस्किएन। सन् १९५९ मा तिब्बतमा विद्रोह भएको थियो तर चिनियाँ सेनाले यसलाई नियन्त्रणमा लियो। पहिलेदेखि नै तनावपूर्ण स्थितिमा रहेको सोभियत-चीन सम्बन्ध सन् १९५९ मा नराम्रोसँग बिग्रियो। त्यसपछि सोभियत संघले चीनमा वैज्ञानिक र प्राविधिक सहयोगको प्रवाहलाई प्रतिबन्ध गर्न शुरू गर्‍यो। विवाद बढ्दै गएपछि सोभियतले संघले अगस्ट १९६० मा आफ्ना सबै कर्मीहरूलाई चीनबाट फिर्ता बोलायो। त्यसपछि चीन र सोभियतसंघ बीच अन्तर्राष्ट्रिय मंचमा खुल्ला रूपमा विवाद हुनलाग्यो।  सन् १९६० देखि १९६१ सम्म महान अग्रगामी छलाङको क्रममा चीनले खराब परिवेश र खराब मौसमको संयोजनको परिणामस्वरूप धेरै ठूलो अनिकालको सामना गर्नुपर्‍यो।  

सन् १९६० को दशकको शुरूवातमा राष्ट्रपति ल्यू शाओची र उनका समर्थक, पार्टी महाचिव देङ शियायो पिंगले पार्टीको दिशा सम्हाले र माओको क्रान्तिकारी दृष्टि विपरीत व्यावहारिक आर्थिक नीतिलाई अपनाए। त्यसपछि चीनको नयाँ दिशा र स्वयं आफ्नो कम अधिकारबाट असन्तुष्ट पार्टी अध्यक्ष माओले सन् १९६६ को वशन्तमा लियू शाओची, देंग शियायो पिंग र अन्य नेता-कार्यकर्ताहरूमाथि ठूलो परिमाणमा राजनीतिक कार्वाही गरे। यसपछि महान सर्वहारा सांस्कृतिक क्रान्तिको शुरूवात भयो; यो आन्दोलन कम्युनिष्ट इतिहासमा अभूतपूर्व थियो। पहिलो पटक चिनियाँ कम्युनिष्ट नेतृत्वको एक वर्गले कुनै अन्य नेतृत्व समूहको विरूद्धमा लोकप्रिय विरोधलाई एकताबद्ध गर्ने माग गर्‍यो। यो आन्दोलन पुराना आदत, विश्वास र दृष्टिकोणहरूलई जरैबाट उखेल्ने र सांस्कृतिक क्रान्ति ल्याउनको लागि शुरू भएको थियो। यो क्रान्तिकारी भावनालाई पुनर्जीवित गर्ने उद्देश्यले गरिएको राजनीतिक र वैचारिक अभियान थियो। यसले ठूलो परिमाणमा सामाजिक, आर्थिक र राजनीतिक उथलपुथल मच्चायो। यो आन्दोलन एक दशकको अधिकांश समयसम्म चल्यो। सांस्कृतिक क्रान्तिको शुरूवाती चरणमा माओ र उनका निकटका साथी रक्षामन्त्री लिन पियायोले ल्यू, देङ र पार्टीका अन्य शीर्ष नेताहरूमाथि चीनलाई पूँजीवादी दिशामा लगेको आरोपमा कार्वाही गरे।  ‘रेड गार्ड्स’ नामक युवा संगठनहरूले सबै स्तरमा पार्टी र राज्य संगठनहरूमाथि आक्रमण गरे। यसबेला चीनमा धेरै उथलपुथलकारी घटनाहरू भए। कतिपय घटनाहरू अन्यायपूर्ण पनि भएका थिए। रेड गार्ड्स, पीएलए र अन्य अधिकारीहरूले यतिबेला माओकै समर्थनमा गतिविधि अगाडि बढाएका थिए। पछि विस्तारै रेड गार्ड्स र तीव्र क्रान्तिकारी गतिविधिमा कमी आउँदै गयो। सन् १९७१ मा नेतृत्व संघर्ष चरम सीमामा पुगेको थियो। यतिबेला नै पार्टी उपाध्यक्ष तथा रक्षामन्त्री लिन पियायोले माओको विरूद्ध षड्यन्त्र रचेर सत्ता हत्याउने असफल प्रयास गरे; पछि उनको मंगोलियामा एक विमान दुर्घटनामा मृत्यु भयो। लिनपियायो घटनापछि १९६६-६९ को आन्दोलनको क्रममा आलोचना गरिएका र बर्खास्त गरिएका धेरै अधिकारीहरूलाई बहाल गरियो। यसमध्येमा प्रमुख देंङ स्यायोपिंग थिए; उनी सन् १९७३ मा फेरि उदाए र सन् १९७५ मा पोलिट ब्यूरो स्थायी समिति सदस्य हुँदै जनसेनाको प्रमुख पदमा नियुक्त गरिए।

चीनमा ताइवानको समस्या वृद्धि हुँदै गएपछि २५ अक्टुबर १९७१ मा संयुक्त राष्ट्रसंघको साधारण सभाले ताइवान सरकारलाई मान्यता नदिने घोषण गर्‍यो। त्यसपछि जनगणतन्त्र चीनलाई मान्यता प्रदान गरियो; तर अमेरिकाले भने यो निर्णयको विपक्षमा आवाज उठाएको थियो। सन् १९७२ मा अमेरिका र चीनबीचमा बिग्रिएको सम्बन्धलाई सुधार गर्नको लागि प्रधानमन्त्री चाउ एनलाईको निमन्त्रणामा अमेरिकी राष्ट्रपति निक्सनले चीनको भ्रमण गरेका थिए। त्यसपछि सन् १९७३ मा दुई देशबीचको सम्बन्ध कार्यालय खोलियो। सन् १९७८ मा अमेरिकाले औपचारिक रूपमा जनगणतन्त्र चीनको सरकारलाई मान्यता दिएको थियो। सन् १९७९ मा गएर दुई देशको बीचमा कुटनैतिक सम्बन्ध स्थापना भएको थियो।

सन् १९७५ को अन्तमा बढी व्यावहारिक, अनुभवी पार्टी नेता तथा अति-क्रान्तिकारीहरूको बीचमा प्रतिरोधसँगै पुनः वैचारिक संघर्ष शुरू भयो। माओकी पत्नी चियाङ चिंग र अन्य तीन जना (च्याङ चुङ चुआओ, वाङ हुङ वेन र यायो वेन युवान) निकट सांस्कृतिक क्रान्ति सहयोगीहरूले यसको विरूद्ध मिडिया अभियान चलाए। उनीहरूलाई पछि “ग्याङ अफ फोर” भनियो। जनवरी १९७६ मा एक लोकप्रिय राजनीतिक नेता चाउ एन लाईको मृत्यु भयो। ५ अप्रिलमा बेइजिङका नागरिकहरूले चाओको स्मरणमा तियानमेन स्क्वायरमा एक सहज प्रदर्शन गरे, जसमा देंगका समर्थकहरूको बलियो राजनीतिक स्वर थियो। त्यसपछि त्यहाँ अधिकारीहरूद्वारा जबर्जस्ती प्रदर्शनलाई दबाइयो। अब देंगलाई अव्यवस्थाको दोषी ठहराएर उनका सबै अधिकार खोसियो र केवल पार्टी सदस्य मात्र राखियो।

चिनियाँ कम्युनिष्ट पार्टीका अध्यक्ष माओको सेप्टेम्बर ९, १९७६ मा मृत्यु भएपछि चिनियाँ राजनीतिमा उत्तराधिकारीको लागि संघर्ष शुरू भयो । पूर्व सार्वजनिक सुरक्षा मन्त्री हुआ क्वोफेङलाई तुरून्त पार्टी अध्यक्ष र प्रमको रूपमा स्थापित गरियो। माओको मृत्युको एकमहिना पछि जनसेनाद्वारा समर्थित हुआद्वारा च्याङ चिङ र ग्याङ अफ फोरका अन्य सदस्यहरूलाई सत्तासंघर्षमा लागेको र राज्यको विरोधमा अपराध गरेको आरोपमा गिरफ्तार गरियो।

व्यापक छलफलपछि तत्कालीन चिनियाँ कम्युनिष्ट पार्टी नेतृत्वले अगस्ट १९७७ को ११औं पार्टी महाधिवेशनमा देङ स्यायोपिंगलाई उनका सबै अघिल्ला पदहरूमा बहाल गरिदियो। यसपछि देङले सरकारी नियन्त्रणको नेतृत्व सम्हाले। त्यसपछि आर्थिक विकासमा जोड दिइयो। डिसेम्बर १९७८ को केन्द्रीय समितिको ११औं पार्टी महाधिवेशनको तेस्रो प्लेनममा नेतृत्वले ग्रामीण आय र प्रोत्साहनहरूको विस्तार गर्ने, उद्यम स्वायत्ततामा प्रयोगहरूलाई प्रोत्साहित गर्ने, केन्द्रीय योजनालाई कम गर्ने र चीनमा प्रत्यक्ष विदेशी लगानीलाई आकर्षित गर्ने उद्दश्यले आर्थिक सुधार नीतिहरूलाई अपनायो। प्लेनमले कानूनी सुधारको गतिलाई तीव्र बनाउने पनि निर्णय लियो, जसको परिणामस्वरूप जुन १९७९ मा राष्ट्रिय जनकांग्रेसद्वारा धेरै नयाँ कानून संहिता पारित गरियो।

सन् १९७९ पछि चीनियाँ नेतृत्व लगभग सबै क्षेत्रमा सुधारात्मक रूपमा अगाडि बढ्यो। माओको नीतिमा फेरबदल गर्दै खुलापनलाई अपनायो। नाफामूलक बजार व्यवस्थापन र आर्थिक सुधारलाई प्राथमिकता दिइयो। पार्टीले कलाकार, लेखक र पत्रकारहरूलाई आलोचनात्मक दृष्टिकोण अपनाउनको लागि प्रोत्साहित गर्‍यो, यद्यपि पार्टी प्राधिकरणमा खुला आक्रमण गर्ने अनुमति अझै थिएन। यस वर्ष अमेरिकासँग पनि राजनीतिक सम्बन्ध स्थापित गरियो। जनसंख्या वृद्धिमा रोक लगाउनको लागि सरकारले ‘वान-चाइल्ड’ नीति पनि लागू गर्‍यो। सन् १९८० को अन्तमा माओको सांस्कृतिक क्रान्तिलाई आधिकारिक रूपमा एक संकट घोषणा गरियो। माओले उत्तराधिकारी बनाएका हुआकोफेंगलाई १९८० मा चाओ जियाङद्वारा प्रमको रूपमा प्रतिस्थापित गरियो र १९८१ मा सुधारवादी कम्युनिष्ट युथ लीगका अध्यक्ष हु याओबाङद्वारा पार्टी महासचिवको रूपमा प्रतिस्थापित गरियो। देंगको सुधार नीतिले विशेषगरी शहरी श्रमिक र किसानहरूलाई वालीमा विविधता ल्याउने र ग्रामीण उद्योगहरू स्थापित गर्ने अवसर प्राप्त भयो। साहित्य र कला विकसित भयो र चिनियाँ बुद्धिजीवीहरूले अन्य देशका विद्वानहरूसँग पनि व्यापक सम्बन्ध स्थापित गरे। यद्यपि त्यसबेला अझ राजनीतिक असन्तोष सँगसँगै मुद्रास्फति, शहरी प्रवास र वेश्यावृत्ति जस्ता सामाजिक समस्याहरू उत्पन्न भएका थिए। सन् १९८६ मा विद्यार्थी प्रदर्शनकारीहरूले सामाजिक अस्थिरताको विरूद्धमा विरोध प्रदर्शन गरे। त्यसपछि देङका समर्थक र सुधारका प्रमुख समर्थक हु याओबांगलाई दोषी ठहर्‍याइयो। त्यसपछि उनलाई जनवरी १९८७ मा महासचिव पदबाट राजीनामा दिन बाध्य बनाइयो। त्यसपछि झाओ जियांगलाई महासचिव बनाइयो र लि पेंगलाई प्रीमियर बनाइयो।

झाओ पार्टी महासचिव बनेपछि उनले वकालत गरेका आर्थिक र राजनीतिक सुधारमाथि आक्रमण हुनथाल्यो। मई १९८८ मा मूल्य सुधारमा तीव्रता ल्याउने उनको प्रयासको कारण ठूलो परिमाणमा मुद्रास्फीतिको बारेमा व्यापक जनगुनासो आयो र यसका विरोधीहरूलाई आर्थिक नियन्त्रणको केन्द्रीकरण र पश्चिमी प्रभावको विरूद्धमा सख्त निषेधको आव्हान गर्ने मौका मिल्यो। यसबाट एक राजनीतिक बहस छेडियो, जुन १९८८-८९ को चीसो मौसममा स्थिति धेरै उग्र भयो। १५ अप्रिल १९८९ हु याओबांगको मृत्यु, उच्च मुद्रास्फीतिको कारण बढ्दो आर्थिक कठिनाइसँगै विद्यार्थी, बुद्धिजीवी र अप्रभावित शहरी जनसंख्याका अन्य हिस्साद्वारा ठूलो परिमाणमा विरोध आन्दोलनको पृष्ठभूमि प्रदान गरियो। विश्वविद्यालयका एक लाख विद्यार्थी र अन्य नागरिकहरू हूको मृत्युमा शोक व्यक्त गर्न र सुधारवादीहरूको विरोधमा बेजिङको तियानमेन चोकमा जम्मा भए। उनीहरूलाई रोक्ने सरकारी प्रयासहरूको बाबजुद पनि उनीहरूको विरोध बढ्दै गयो। यसले आधिकारिक भ्रष्टाचारलाई समाप्त गर्ने र चिनियाँ संविधानद्वारा सुनिश्चित स्वतन्त्रताको रक्षाको आव्हान गर्‍यो। विरोध प्रदर्शन शांघाई, चेन्दु र ग्वांजाओसहित अन्य कैयौं शहरहरूमा फैलियो। त्यसपछि २० मई १९८९ लाई मार्शल ल घोषित गरियो। ३ जुनको अबेर राति र ४ जुनको विहान सैन्य टुकडीलाई बेजिङमा ल्याइयो। त्यसपछि उनीहरूले प्रदर्शनकारीहरूलाई सडकबाट हटाउनको लागि सशस्त्र बलको प्रयोग गरे। सैनिकले आन्दोलनको बीचमा डोजर चलाए। यसपछि भयंकर हत्याको आतंक सृजना भयो। यतिबेला बेइजिङमा मृत्युको कुनै आधिकारिक अनुमान छैन तर अधिकांश पर्यवेक्षकहरूका अनुसार सयौंको संख्यामा हताहत भएको थियो र हजारौं घाइते भएका थिए। यो घटनापछि विदेशी सरकारले यसको व्यापक विरोध गरे। चीन सरकारले संगठित विरोधको बाँकी स्रोतलाई समाप्त गरिदियो र ठूलो संख्यामा प्रदर्शनकारीहरूलाई हिरासतमा लिइयो। २४ जुन १९८९ मा जियांग जमिनले झाओबाट चिनियाँ कम्युनिष्ट पार्टीको महासचिवको पद सम्हाले। उनले तियानमेन प्रदर्शनको क्रममा भएको मार्शल लको समर्थन गरेनन्। यसपछि सांघाई र शेनजेनमा शेयर बजार खुले। सन् १९९२ मा रूस र चीनले मैत्रीपूर्ण सम्बन्ध बहाल गर्ने घोषणामा हस्ताक्षर गरे। त्यतिबेला चीनको अर्थव्यवस्था अमेरिका र जापानपछि संसारको तेस्रो ठूलो रहेको थियो।

सन् १९९२ को शुरूवातमा देंगले दक्षिणी चीनको यात्रा गरे। अब उनले बजारोन्मुख अर्थव्यवस्थाको लागि नयाँ शिराबाट प्रयास गर्ने सोचे। १४औं पार्टी महाधिवेशनमा यसको आधिकारिक सहमति प्राप्त भयो। यस वर्ष कैयौं युवा, सुधारवादी विचार भएका नेता शीर्ष पदमा पुग्नलागे। देंग र उनका समर्थकहरूले के तर्क दिए भने पूँजीवादी उपाय अपनाए पनि अर्थव्यवस्थालाई यसरी प्रबन्धित गर्नुपर्दछ कि जीवनस्तरमा वृद्धि नै चीनको प्राथमिक नीति हुनुपर्दछ। क्रमशः कम्युनिष्ट पार्टीको पोलिटब्यूरोले सार्वजनिक रूपमा देंगको आर्थिक खुलापन नीतिको समर्थन जारी गर्‍यो। राजनीतिक सुधारलाई पूर्णरूपमा नछोडे पनि चीनले आफ्नो अर्थतन्त्रको खुलापनलाई निरन्तर प्राथमिकतामा राख्यो।

बीसौं शताब्दीको अन्तमा चीनले एक बजार अर्थव्यवस्था शुरूवात गरेको थियो। यसको परिणामस्वरूप चीनले व्यापक रूपमा आर्थिक प्रगति हासिल गर्दै गयो। बीसौं शताब्दीका अन्तिम वर्षहरूमा अर्थव्यवस्था धेरै तीव्र रूपमा वृद्धि भयो र सन् १९९० को दशकको मध्यसम्म चीन एक समृद्ध देश बनिसकेको थियो। ९० को दशकको अन्तिम वर्षहरूमा सरकारले कम्युनहरू किसानलाई ठेक्का दियो। उनीहरूलाई एक निश्चित मात्रामा जमिन दिइयो र उनीहरू निश्चित मात्रामा उत्पादन गर्नको लागि सहमत भए र अतिरिक्त उत्पादन बेच्न दिइयो। उद्योग र कारखानाहरूमा स्वायत्तता दिइयो। चीनको पूर्वमा चार विशेष आर्थिक क्षेत्र बनाइयो। यसको परिणामस्वरूप चीनले औद्योगिक उत्पादनमा भारी वृद्धि गर्‍यो र चिनियाँ जीवनस्तरमा पनि धेरै सुधार भयो।

सन् १९९३ मा जियांग जमिन आधिकारिक रूपमा राष्ट्रपति बने। डिसेम्बर १४, १९९४ बाट चीनमा याङ्गत्से नदीबाट यिलिङ जिल्ला, यिचाङ, हुबेई प्रदेश, मध्यचीनमा बाढी नियन्त्रण, ऊर्जा र परिवहनको उद्देश्यले  ‘थ्री गर्जेज’ बाँध परियोजना शुरू भयो। यो विश्वको सबैभन्दा ठूलो ऊर्जा केन्द्र (२२,५०० मेघावाट) हो। यसले ६०० किलोमिटर ताल बनाएको छ। यसको निर्माणकार्य सन् २००६ मा पूरा भएको थियो र पूर्ण रूपमा भने २०१५ डिसेम्बरमा पूरा भएको थियो। सन् १९९४ मा चीनले आधिकारिक रूपमा आरएमबी करेन्सी विनिमय दरलाई समाप्त गरिदियो र सन् १९४९ पछि आफ्नो पहिलो फ्लोटिङ दर तय गर्‍यो। सन् १९९५ मा चीनले ताइवान स्ट्रेटमा मिसाइलहरूको परीक्षण र सैन्य अभ्यास गरेको थियो। सन् १९९६ मा चीन, रूस, कजाकिस्तान, किर्गिस्तान, ताजिकिस्तान (जसलाई शांगाई – ५ भनिन्छ) ले शांगाईमा बैठक गरे र एक-अर्कोको देशमा भएका जातीय र आर्थिक तनावको समाधान गर्नको लागि सहयोग गर्नमा सहमत भए।

सन् १९९७ मा देङको ९२ वर्षको उमेरमा मृत्यु भयो। त्यसपछि राष्ट्रपति जियाङ जमिन र उनको पुस्ताका अन्य सदस्यहरूले विस्तारै सरकारका दैनिक कार्यहरूमाथि नियन्त्रण लिए। यो तेस्रो पुस्ताको नेतृत्वले केन्द्रमा राष्ट्रपति जियाङसँग सामूहिक रूपले शासन गर्‍यो।  सन् १९९७ जुलाई १ मा १८४२ देखि वेलायतले लिएको हङकङ टापु चीनलाई प्रदान गर्‍यो र यहाँ अहिलेसम्म पनि एक देश दुई नीति अनुसार शासनव्यवस्था संचालित छ। मार्च १९९८ मा जियांगलाई नवौं राष्ट्रिय जनकांग्रेसले पुनः राष्ट्रपति चुन्यो। प्रधानमन्त्री ली पेंगलाई संवैधानिक रूपले त्यो पदबाट हटाउनु आवश्यक थियो। उनलाई राष्ट्रिय जनकांग्रेको अध्यक्षमा चुनियो। झू रोंगजीलाई प्रीमियरको रूपमा लीको ठाउँ लिनको लागि चुनिएको थियो। सन् १९९८ मा नै चीनमा भएको भारी वर्षाको कारणले यांग्त्से, सोंगहुआ र नेनजियांग, आदि नदीमा बाढी आएर  २ हजार मानिसको मृत्यु भएको थियो भने २० करोडभन्दा बढी चिनियाँ नागरिक प्रभावित भएका थिए। सन् १९९९ को मईमा युगोस्लोभियामा रहेको चिनियाँ दूतावासमा नेटो सेनाले बम विस्फोट गराउँदा ३ जनाको मृत्यु भयो र यसको क्षतिपूर्ति अमेरिकाले बेहोर्नुपरेको थियो। १ अक्टुबरमा जनगणतन्त्र चीनको आफ्नो पचासौं वर्षगाँठ भव्यतापूर्वक मनाएको थियो। यही वर्षको नोभेम्बरमा अमेरिका र चीनबीचमा एक महत्त्वपूर्ण व्यापारिक सम्झौता भएको थियो। २० डिसेम्बर १९९९ मा पोर्चुगिज उपनिवेशको रूपमा रहेको मकाउ टापु औपचारिक रूपले चीनले प्राप्त गरेको थियो। यो पनि चीनको एक राष्ट्र दुई व्यवस्थाको सिद्धान्तमा आधारित विशेष प्रशासनिक क्षेत्र हो।

सन् २००० मा राष्ट्रिय जनकांग्रेसका पूर्व उपाध्यक्षलाई घुस लिएको आरोपमा फाँसीसँगै आधिकारिक भ्रष्टाचारमाथि तीव्र रूपमा कार्वाही संचालन गरियो। यही वर्ष शिनजियांगको उरूम्कीमा बम विस्फोट हुँदा ६० भन्दा बढी मानिसहरूको मृत्यु भयो।  जनवरी २००१ मा चीनले दोस्रो मानवरहित अन्तरीक्ष यान सफलतापूर्व प्रक्षेपण गर्‍यो। यही वर्षको अप्रिल महिनामा चीनियाँ आकाशमा उड्दै गरेको चीनको युद्ध बिमानलाई अमेरिकाको जासुसी विमान इपी-३ लेख ठक्कर दिएको थियो, त्यसपछि दुई देशबीचको कुटनीतिक सम्बन्धमा दरार पैदा भएको थियो। पछि दुई देशबीचमा आपसी समझदारीपछि तत्कालिन अवस्थामा यो समस्या समाधान भयो। पछि फेरि चीनको विरोध भइरहँदा पनि अमेरिकाले चिनियाँ जलक्षेत्रमा जासुसी बिमान उडाएको थियो र चीनले यसको धेरै विरोध गरेको थियो। जुन २००१ मा चीन, रूस र चार मध्य एशियाली राज्यका नेताहरूले शांघाई सहयोग संगठन (SCO) को शुरूवात गरे र व्यापार तथा लगानीलाई बढावा दिँदै जातीय र धार्मिक उग्रवादसँग लड्नको लागि एक सम्झौतामा हस्ताक्षर गरे। यो समूह शांगाई – ५ (चीन, रूस, कजाकिस्तान, किर्गिस्तान र ताकिकिस्तान) – उज्बेकिस्तानसँग जोडिएपछि उदाएको हो। यही महिनामा चीनले ताइवानमाथि आक्रमणको अनुकरण गर्दै सैन्य अभ्यास गर्‍यो। नोभेम्बर २००१ मा चीन विश्व व्यापार संगठनमा सामेल भयो।

फेब्रुअरी २००२ मा अमेरिकी राष्ट्रपति निक्सनको चीन भ्रमणको तीसौं वर्षगाँठको अवसरमा अमेरिकी राष्ट्रपति जर्ज बुशले चीनको भ्रमण गरे।  नोभेम्बर २००२ मा १६औं पार्टी महाधिवेशनले हू जिंताओलाई चुन्यो। उनलाई १९९२ मा देंगले चौथो पुस्ताका नेताको प्रमुखको रूपमा मनोनयन गरेका थिए। नोभेम्बरमै नयाँ पोलिटब्यूरो र पोलिटब्यूरो स्थायी समितिको पनि चुनाव गरिएको थियो। मार्च २००३ मा भएको निर्वाचनबाट महासचिव हू जिंताओलाई १०औं राष्ट्रिय जनकांग्रेसमा अध्यक्ष चुनियो। जियांग जमिनले केन्द्रीय सैन्य आयोगको अध्यक्षता पनि कायम राखे। यसपछि चीन आर्थिक सुधार र बाहिरी संसारमा लागि खुलापनको लागि दृढतापूर्वक प्रतिबद्ध भयो। चिनियाँ नेतृत्वले राज्य उद्योगहरूको सुधार र सामाजिक सुरक्षा संजालको स्थापनालाई प्राथमिकता दियो। यी लक्ष्यहरूलाई प्राप्त गर्नको लागि सरकारी रणनीतिहरूमा लाभहीन राज्यको स्वामित्व भएका उद्यमहरूलाई ठूलो परिमाणमा निजीकरण र श्रमिकहरूलाई लागि पेन्सन प्रणालीको विकास गरियो। नेतृत्वले सरकार र कर्मचारीको आकार पनि सानो बनायो। सन् २००३ मा नै चीनले धेरै अगाडिदेखि विवादित बनेको उत्तर कोरियाको आवणिक हतियार सम्बन्धी विवादलाई समाधान गर्नको लागि बहुराष्ट्रिय वार्ताको आयोजना गरेको थियो। यही वर्षको अक्टुवर महिनामा चीनले अन्तरीक्षयमा मानवसहितको अन्तरीक्ष यान सफलतापूर्वक प्रक्षेपण गर्‍यो । त्यसपछि चीन रसिया र अमेरिका पछि अन्तरिक्षमा मानव यान पठाउने विश्वको तेस्रो राष्ट्र बन्यो। सन् २००३ को मार्च-अप्रिलमा चीन र हङकङमा सार्स भाइरसको प्रकोपमा परेर धेरै क्षति पुगेको थियो। २००३ को जुनमा संसारको सबभन्दा ठूलो जलविद्युत परियोजना ‘थ्री गर्जेज’ बाँधमा स्लुइस गेट जलाशय भर्ने अनुमतिको लागि बन्द गरिएको थियो। यही महिनामा चीन-भारत ऐतिहासिक सीमामा व्यापार सम्झौतामा तिब्बत र सिक्किमको स्थितिमा वास्तविक सम्झौतामा हस्ताक्षर भयो। सन् २००३ को अक्टुबर महिनामा चीनको पहिलो मानवयुक्त अन्तरीक्ष यानको प्रक्षेपण गरियो। अन्तरीक्ष यात्री यांग लिवेईलाई लङ मार्च 2F रकेटद्वारा अन्तरीक्षमा पठाइयो।

सन् २००४ मा हु जिन्ताओ सेनाको पनि प्रमुख बने र उनले राष्ट्रपतिको अधिकारमा थप वृद्धि गरे। र, जियांग जमिन सेनाको प्रमुख पदबाट हटाइए। नोभेम्बर २००४ मा चीनले १० वटा दक्षिण-पूर्वी एशियाली देशहरूसँग ऐतिहासिक व्यापार सम्झौतामा हस्ताक्षर गर्‍यो; यो सम्झौताले संसारको २५ प्रतिशत जनसंख्यालाई स्वतन्त्र व्यापारक्षेत्रमा एकजुट गर्‍यो।

यसपछि चीनको अर्थव्यवस्था विश्वको सर्वाधिक तीव्र रूपमा अगाडि बढिरह्यो । यसको औसत विकासदर विगत ३० वर्षमा १० गुनाले वृद्धि भयो। सन् २००५ मा चीनमा शांघाईले ‘रोडर्ड्याम’ लाई पछारेर संसारको सबभन्दा ठूलो बन्दरगाह बनायो। यसपछि चीनमा बढ्दो आर्थिक शक्तिको एक महत्त्वपूर्ण संकेत मिल्छ। अप्रिल २००५ मा चिनियाँ शहरहरूमा भएका हिंस्रक जापानविरोधी विरोध प्रदर्शनहरूको बीचमा जापानसँग सम्बन्ध बिग्रिएको थियो। यही बीचमा ताइवानका नेशनल पार्टीका नेता लियन चानले सन् १९४९ पछि पहिलो पटक राष्ट्रपति र कम्युनिष्ट पार्टीका नेताहरूको बीचमा पहिलो बैठकको लागि चीनको भ्रमण गरेका थिए। अगस्ट २००५ मा चीन र रूसले आफ्नो पहिलो संयुक्त सैन्य अभ्यास आयोजना गरे। अक्टुवर २००५ मा चीनले आफ्नो दोस्रो मानवयुक्त अन्तरीक्ष उडानको संचालन गर्‍यो; यसमा दुई अन्तरीक्ष यात्री शेनझोउ VI क्यापसुलमा पृथ्वीको परिक्रमा गरिरहेका थिए। नोभेम्बर २००५ मा चीनको एक रासाइनिक संयन्त्रमा विस्फोट हुँदा सोंगहुआ नदी विषालु भयो र लाखौं मानिसहरूको पिउने पानी आपूर्ति बन्द भएको थियो।

मई २००६ मा चीनले संसारको सबभन्दा ठूलो जलविद्युत परियोजना थ्री गर्जेज बाँधको संरचनाको काम पूरा गर्‍यो।  जुलाई २००६ मा  चीनले संसारको सभन्दा अग्लो ठाउँमा चल्ने रेलमार्ग (चीन-तिब्बत रेलवे लाइन) संचालन गर्‍यो। त्यसपछि १२ वटा पंचवर्षीय ठूला परियोजनाहरू सम्पन्न गर्नको लागि २० अरब अमेरिकी डलरको घोषणा गर्‍यो। जुलाई महिनामा प्रत्यक्ष रूपमा सीमावर्ती व्यापार गर्ने उद्देश्यले चीन र भारतबीचको नाथुला रेसममार्ग खुला गरियो। नोभेम्बर महिनामा राष्ट्रपति हुले चीन र भारत बीचको सीमा विवाद समाधान गर्न, आपसी सम्बन्ध सुधार गर्न र व्यापारमा वृद्धि गर्नका लागि भारत र पाकिस्तानको भ्रमण गरे। यही महिना चीन-अफ्रिका शिखर सम्मेलन भयो र अफ्रिका राष्ट्राध्यक्षहरू चीनमा जम्मा भए। यसमा लगभग २ अरब डलरको व्यापारिक सम्झौतामा हस्ताक्षर गरियो र चीनले अरबौं डलरको ऋणको दिने बाचा गर्‍यो।  चीनले जनवरी २००७ मा भूउपग्रहको एउटा नयाँ पद्धतिको सफलतापूर्वक परीक्षण गर्‍यो। चीनले अन्तरीक्षमा एक मिसाइल परीक्षण गर्‍यो, जसमा ‘वर्ल्ड वेदर स्याटालाइट’ झारियो। यसपछि अमेरिका, जापान लगायत अन्य देशहरू चीनको सैन्य निर्माणबाट थप चिन्तित बने। फेब्रुअरी २००७ मा राष्ट्रपति हु जिंताओले व्यापार र लगानी बढाउनको लागि आठ अफ्रिकी देशहरूको भ्रमण गरे। अप्रिल २००७ मा एक ऐतिहासिक यात्राको क्रममा वेन जियाबाओ जापानी संसदलाई संबोधन गर्ने पहिलो चिनियाँ प्रधानमन्त्री बने। त्यसपछि दुवै पक्षमा आफ्नो साझा इतिहासका मदभेदहरूलाई हटाउने प्रयासमा सहमत भए। जुलाई २००७ मा चीनको खाद्य एवं औषधि एजेन्सी प्रमुखलाई घुस लिएको आरोपमा फाँसी दिइयो। त्यसपछि खाद्य र औषधि घोटालाले चिनियाँ निर्यातको सुरक्षाको बारेमा अन्तर्राष्ट्रिय भय पैदा भएको थियो।  यही वर्षको जुनमा चीनले संसारको सबभन्दा अग्लो चुचुरो सगरमाथाको आधारशिविरसम्म कालोपत्रे सडक निर्माण गर्ने काम गर्‍यो। अक्टुवर २००७ मा चीनले आफ्नो पहिलो चन्द्रमा अर्विटर लन्च गर्‍यो। अक्टुवर २००७ मा नै भएको चिनियाँ कम्यनिष्ट पार्टीको १७औं महाधिवेशनपछि राष्ट्रपति हुले आफ्नो उत्तराधिकारीको रूपमा सि जिनपिङलाई अगाडि सारे। यही वर्षको नोभेम्बर महिनामा चीनले अमेरिकासँग रक्षा सम्बन्धी उच्चस्तरीय सम्पर्क सेवा ‘डिफेन्स हटलाइन’ शुरू गर्ने सहमतिमा हस्ताक्षर गर्‍यो।

जनवरी २००८ मा चीनले दर्जनौं अन्तरीक्ष कार्यक्रम सम्पन्न गर्ने घोषणा गर्‍यो। यही  वर्षको जनवरीमा भएको हिमपातले चीनका १४ प्रान्तका १० करोडभन्दा बढी मानिस प्रभावित भए र करिब १०० जनाको ज्यान गयो भने ७ अरब अमेरिकी डलरभन्दा बढी क्षति भयो। सन् २००८ को मार्चमा राष्ट्रिय जनकाँग्रेसले हु जिन्ताओलाई अर्को पाँच वर्षको लागि राष्ट्रपति र सैन्य आयोगको अध्यक्षमा नियुक्त गर्‍यो;  सि जिनपिङलाई उपराष्ट्रपति बनाइयो भने वेन जियावाओ प्रधानमन्त्री बने। यही वर्ष तिब्बतमा भएको आन्दोलन हिंस्रक बन्दा २३० भन्दा बढी प्रदर्शनकारीको मृत्यु भयो र पछि सरकारले यो आन्दोलनलाई नियन्त्रमा लियो। यही वर्षको मई महिनामा चीनको प्रमुख औद्योगिक शहर निङ्वो र प्रमुख आर्थिक शहर साङघाई जोड्ने संसारकै सबभन्दा लामो ३२ किमीको पुल निर्माणकार्य सम्पन्न गरियो। मईमा नै चीनको सिचुवान प्रान्तमा ७.८ रेक्टरस्केलको भूकम्प गयो र ७८ हजारभन्दा बढी जनताले ज्यान गुमाए। जुन महिनामा चीन र ताइवान सन् १९९९पछि पहिलो औपचारिक द्विपक्षीय वार्तामा एक-अर्कोको क्षेत्रमा कार्यालय स्थापित गर्न सहमत भए। यतिबेलै जापान र चीनले चार वर्ष पुरानो विवादलाई समाधान गर्दै पूर्वी चीन सागरमा एक ग्यास क्षेत्रको संयुक्त विकासको लागि सम्झौता गरे। जुलाई २००८ मा चीन र रूसले ४० वर्ष पुरानो सीमा विवादलाई समाप्त गर्नको लागि सन्धिमा हस्ताक्षर गरे। अगस्टमा चीनको बेजिङमा गृष्मकालीन ओलम्पिक खेलकुद प्रतियोगिता-२००८ सम्पन्न भयो। चीनले यो प्रतियोगितामा सबैभन्दा बढी स्वर्ण पदक जित्यो। सेप्टेम्बरमा चीनले अन्तरिक्ष पदयात्रा कार्यक्रमअनुसार ३ जना यात्रुसहित सफलतापूर्वक अन्तरीक्ष यात्रा प्रक्षेपण गर्‍यो। अन्तरीक्ष यात्री झाई झिगांगले देशको तेस्रो मानवयुक्त अन्तरीक्ष मिशन शेनझोउ VII को क्रममा चीनको पहिलो स्पेश-वाक पूरा गरे।  अक्टुवर महिनामा सरकारले कृषकहरूलाई भूस्वामित्वको अधिकार प्रदान गर्ने निर्णय गर्‍यो। यहीबेला बेजिङमा ४५ देशका नेतृत्वको बीचमा विश्व वित्तीय प्रणालीमा सुधार सम्बन्धी शिखर सम्मेलन सम्पन्न भयो। नोभेम्बरमा चीनले ताइवानसँग व्यापार अभिवृद्धि सम्बन्धी एक सम्झौता गर्‍यो।

सन् २००९ मा चीनले लामो समयदेखि तिब्बत स्वतन्त्रताको माग राख्दै निर्वासनको जीवन विताइहेका दलाइ लामाको पक्षमा जोसुकैलाई कार्वाही गर्ने निर्देशन दियो। फेब्रुअरी महिनामा रूस र चीनले ऋणको बदलामा अर्को २० वर्षसम्म चीनलाई तेलको आपूर्ति गर्नको लागि २५ अरब डलरको सम्झौतामा हस्ताक्षर गरे।  यही वर्षको जुलाइमा चीनले कम्प्युटरमा अश्लिल र हिंस्रक सामग्रीको प्रचारप्रसार रोक्ने प्रणालीको विकास गर्‍यो। जुलाई महिनामा सिन्जियाङ प्रान्तमा हान समुदायमाथि अलकायदा समर्थित तालिवान विद्रोहीले आक्रमण गर्दा १६२ निर्दोष जनताको ज्यान गयो। पछि विद्रोह जटिल हुँदै गएको थियो तर  सरकारले दंगा फैल्याउनेलाई मृत्युदण्डको चेतावनी दिएपछि स्थिति सामान्य भएको थियो। सेप्टेम्बरमा चीनले महामारी स्वाइन फ्लुविरूद्ध संसारमा पहिलोपटक आम नागरिकहरूलाई खोप लगाउने कार्यक्रम शुरू गर्‍यो। अक्टुबर महिनामा यूरेनियम प्रशोधन र आणविक कार्यक्रम सम्बन्धी विवाद समस्या समाधान गर्न प्रधानमन्त्री वेन निया वाओले उत्तर कोरियाको भ्रमण गरे। अक्टुवर २००९ मा नै चीनको कम्युनिष्ट पार्टीले जनगणतन्त्र चीनको ६०औं वर्षगाँठ भव्यतापूर्वक मनायो। नोभेम्बर महिनामा अमेरिकी राष्ट्रपति बाराक ओबामाले चीनको भ्रमण गरे र व्यापार अभिवृद्धि र जलवायु परिवर्तन सम्बन्धमा दुवै देश मिलेर काम गर्ने सम्झौता गरे। नोभेम्बरमा नै चीनले चन्द्रमाको परीक्षण गर्ने योजना सार्वजनिक गर्‍यो। डिसेम्बर २००९ देखि चीनले संसारको सबभन्दा छिटो ३९४ किमी प्रतिघण्टा चल्ने रेलसेवा संचालन गर्‍यो। सन् २००९ मा चीन विश्वको सबभन्दा बढी सामान निर्यात गर्ने (१२ खरब अमेरिकी डलर बराबरको सामान) देश बनेको थियो।

जनवरी २०१० देखि चीनले दक्षिण पूर्वी एशियाली राष्ट्र संगठन आसियानको बीचमा करमुक्त व्यापार संचालन गर्‍यो। यही महिना चीनले दुश्मनको क्षेप्यास्त्रलाई हावामै नष्ट गर्ने अस्त्रको सफलतापूर्वक परीक्षण गर्‍यो। सन् २०१० मा चीन संसारको सबभन्दा बढी निर्यातकर्ता देश बनेको थियो। अक्टुवर २०१० मा उपराष्ट्रपति सि जिनपिंगलाई शक्तिशाली केन्द्रीय सैन्य आयोगको उपाध्यक्ष नियुक्त गरियो। यसबाट सि जिनपिङलाई उत्तराधिकारीको दिशामा एक कदम ढोका खोलियो। फेब्रुअरी २०११ मा चीन औपचारिक रूपमा जापानलाई पछारेर संसारको दोस्रो सबभन्दा ठूलो अर्थव्यवस्था भएको मुलुक बन्यो।

सन् २०१२ मा चीनमा शहरवासीहरूको जनसंख्या ग्रामीण इलाकाको भन्दा बढी भयो। अप्रिलमा चीनले युआनको मुद्राको मूल्य वृद्धि गर्‍यो। मईमा फिलिपिन्स र चिनियाँ नौसैनिक जहाज दक्षिण चीन सागरको स्कारबोरो शोल रिफमा भिडे। दुवैले त्यो स्थानमा आफ्नो भएको दावी गरे। जुन महिनामा चीनले अर्को अन्तरीक्ष मोडलसँगै अन्तरीक्ष यानको पहिलोपक डकिङ पूरा गर्‍यो। शेन्झाउ ९ ले स्वाचालित प्रणालीमा भर नपरी टिबङ्गोङ प्रयोगशाला मोडलसँगै डकिङ गरे। यसमा चीनकी पहिलो महिला अन्तरीक्ष यात्री लिउ याङले भाग लिइन्। सेप्टेम्बरमा चीनले पहिलो विमान बाहक लिओनिङको शुरूवात गर्‍यो।

नोभेम्बर २०१२ मा कम्युनिष्ट पार्टीले  नयाँ पुस्ताका नेताहरूलाई एक दशकमा एक पटक सत्ता हस्तान्तरण गर्ने अपेक्षाका साथ महाधिवेशन गर्‍यो। त्यसपछि उपराष्ट्रपति र उत्तराधिकारी सि जिनपिङले पार्टी प्रमुखको रूपमा पदभार ग्रहण गरे; त्यसपछि उनी मार्च २०१३ बाट जनवादी गणतन्त्र चीनको राष्ट्रपति भए र उनले चीनलाई चिनियाँ विशेषताको समाजवादी लाइनबाट उच्चतम् रूपमा विकास गर्ने लक्ष्य लिए। उनले प्रभावकारी रूपमा भ्रष्टाचार विरोधी अभियान पनि शुरू गरे। नोभेम्बरमा चीनको ‘वान चाइल्ड’ पोलिसीलाई खुकुलो बनाइयो। नोभेम्बरमा नै शाङ्गाईमा चिनियाँ चन्द्र रोभर युटु वा जेट र्‍याबिट अन्तर्राष्ट्रिय उद्योग मेला प्रदर्शन गरियो। डिसेम्बर २०१३ मा चीनले युटु (जेड र्‍याबिट) रोबोटिक रोभरलाई चन्द्रमाको सतहमा सफलतापूर्वक उतार्‍यो; यो ३७ वर्षपछिको पहिलो सेफल्यान्डिङ थियो।

सन् २०१४ मा चीन जीडीपी दरको हिसाबले संसारको दोस्रो ठूलो देश बन्यो भने पीपीसी (पर्चेजिङ पावर पेरिटी) को हिसाबले संसारको सबभन्दा ठूलो देश बन्यो। यही क्रममा ७० करोड जनता गरीबीबाट मुक्त भए र ३८.५ करोड मानिस मध्यम वर्गमा उक्लिए। चीनको विदेश व्यापार यो अवधिमा १७५०० प्रतिशत बढ्यो र सन् २०१५ सम्म चीन विदेश व्यापारमा संसारको अगुवा बनेर सामुन्ने आयो। सेप्टेम्बर २०१५ मा राष्ट्रपति सि जिनपिंगले चीनमा लगानीको लागि अमेरिकाकाको आधिकारिक यात्रा गरे। अक्टुबरमा चीनले दशकौंदेखि लागू गरेको ‘वान चाइल्ड पोलिसी’ समाप्त गरेको घोषणा गर्‍यो। नोभेम्बरमा चिनियाँ राष्ट्रपति सि जिनपिंग र ताइवान राष्ट्रपति यिंग-जेउले सिंगापुरमा ऐतिहासिक वार्ता गरे। चीनको जीडीपी सन् १९७८ देखि २०१६ सम्ममा ३२३० प्रतिशतले वृद्धि भएको थियो। सन् २०१७ मा चीनले विश्व अर्थव्यवस्थाको १८.२ प्रतिशत हिस्सा ओगटेको थियो।  जुन २०१७ मा चिनियाँ सरकारले एक साइबर सुरक्षा कानून पारित गर्‍यो, जसबाट राष्ट्रिय र अन्तराष्ट्रिय फर्मका डाटामा धेरै नियन्त्रण मिल्यो। सन् २०१७ जुलाई र अगस्टमा हिमालयका विवादित क्षेत्रलाई लिएर चीन र भारतको बीचमा विवाद बढेको थियो। अक्टुबर २०१७ मा कम्युनिष्ट पार्टीले संविधानमा सि जिनपिंगको नाम र विचारधारालाई सामेल गर्न कांग्रेशमा मतदान गर्‍यो; यसपछि सि जिनपिंगलाई माओत्सेतुङकै समान स्तर प्राप्त भयो। मार्च २०१८ मा राष्ट्रिय जनकांग्रेसको वार्षिक विधायिकी बैठकमा संविधानबाट राष्ट्रपति पद दुई कार्यकालको लागि हटाउनको लागि मतदान भयो। यसपछि सि जिनपिंगलाई पुनः राष्ट्रपति बन्ने बाटो खुल्यो। सन् २०१९ को अन्तमा चीनको हुवेई प्रान्तबाट फैलिएको कोरोना भाइरसले ठूलो क्षति पुर्‍याए पनि यसलाई चीनले समयमै नियन्त्रणमा लियो।

सन् २०१९ मा चीनले चन्द्रमाको अध्यारो क्षेत्रमा चांगई ४ नामक अन्तरीक्ष उतारेको थियो; यसबाट चीनको अतिविकासको संकेत मिल्छ। चीनलाई शक्तिशाली बनाउने नेताहरूमा माओ, देङ र सि जिनपिंग नै हुन्। अहिले सि जिनपिंग चीनको अर्थव्यवस्थालाई अझ प्रभावकारी बनाउन ‘म्यानुफ्याक्चरिङ’ को मामिलामा ‘सुपरपावर’ बनाउन चाहन्छन्। त्यसपछि उनी मौलिक प्रविधि र पर्यावरणको रक्षासँगै विकास गर्न चाहन्छन्। अहिले चीनले व्यापारको दायरा सम्पूर्ण संसारमा बढाएको छ। चीनले ‘वान वेल्ट वान रोड’ परियोजनाको माध्यमबाट ‘इन्फ्रास्ट्रक्चर’ र ‘ट्रेड नेटवर्क’ लाई एशिया, अफ्रिका र यूरोपसँग जोड्ने महत्वाकांक्षी योजना बनाएको छ। वैज्ञानिक र प्राविधिक विकासमा पनि चीनले अभूतपूर्व विकास गरिसकेको छ। के अनुमान गरिन्छ भने सन् २०४० सम्ममा चीन संसारको सबभन्दा ठूलो अर्थव्यवस्था भएको मुलुक बन्नेछ।

चीन अहिले २२ प्रान्त, ५ स्वायत्त क्षेत्र, ४ नगरपालिका र २ विशेष प्रशासनिक क्षेत्रमा नियन्त्रित समाजवादी राष्ट्र हो। अहिलेसम्म चीन विश्वको दोस्रो ठूलो अर्थव्यवस्था भएको मुलुक हो र पहिलो अर्थव्यवस्थायुक्त मुलुक बन्ने दौडमा निरन्तर लागिरहेको छ। यो देश संयुक्त राष्ट्र संघको सुरक्षा परिषदको स्थायी सदस्य पनि हो। यो विश्वको सबभन्दा ठूलो निर्यातकर्ता मुलुक हो भने दोस्रो ठूलो आयातकर्ता मुलुक हो। चीन एक मान्यताप्राप्त आणविक  शक्तिराष्ट्र पनि हो। सम्पूर्ण संसारले राजनीतिक, आर्थिक र सामाजिक ढाँचामा चीनलाई २१औं शताब्दीको अपरिहार्य महाशक्तिको रूपमा स्वीकार गरेको छ। चीनको परिदृष्य विशाल र विविध छ। हिमालय, काराकोरम, पामिर र तियनशान पर्वत श्रृंखलाले चीनलाई दक्षिण र मध्य एशियाबाट छुट्ट्याउँदछ। चीनको याङ्त्से र यल्लो रिभर क्रमशः संसारका तेस्रो र छैटौं सबभन्दा लामा नदी हुन्। यिनीहरू तिब्बतियन पठारबाट शुरू भएर पूर्वी समुद्रीतटसम्म बग्दछन्। चीनको समुद्र तट प्रशान्त महासागरसँगै १४,५०० किलीमीटर लामो र  बोहाई, पूर्वी चीन र दक्षिण चीनको समुद्रले घेरिएको छ। यहाँको मुख्य भाषामा चिनियाँ हो, जसको पारम्परिक तथा आधुनिक दुवै रूपमा उपयोग गरिन्छ। यहाँको प्रमुख शहर राजधानी बेजिङ हो; प्रमुख वित्तीय केन्द्र शांघाई, हङकङ, शेन्जेङ, ग्वांगजाउ, आदि हुन्। यो देशको सीमा रूस, मंगोलिया, उत्तर कोरिया, भियतनाम, लाओस, म्यानमार, भूटान, नेपाल, पाकिस्तान, अफगानिस्तान,  ताजिकिस्तान, किर्गिजिस्तान र काजाकास्तानसँग जोडिएको छ।

स्रोत सामग्रीहरू  

  1. China’s History, by Cao Dawei & Sun Yanjing (Author), China Intercontinental Press, 2010
  2. http://www.worldrover.com/
  3. https://www.bbc.com/hindi/international-44597992
  4. https://www.bbc.com/news/world-asia-pacific-13017882
  5. https://www.khanacademy.org/humanities/art-asia/imperial-china/x97ec695a:republic-of-china/a/modern-china-1912present-an-introduction
  6. A Brief History of China By Tim Lambert
  7. http://www.historymaps.com/
  8. https://rochhak.com/2017/03/cheen-ka-itihas.html
  9. https://newsmug.in/
  10. https://localhistories.org/
  11. https://hi.wikipedia.org/wiki
  12. https://www.go4prep.com/
  13. https://udtagyani.com/
  14. https://egyankosh.ac.in/handle/123456789/88192
  15. https://egyankosh.ac.in/handle/123456789/88141
  16. Study and Research of various websites, Blogs, youtube channels, Magazines, Journals, Newspapers, online portal and etc.
  17. माओत्सेतुङ र जनक्रान्ति एवं समाजवादी व्यवस्था निर्माणमा उनको योगदान – नारायण गिरी, https://dayitwabodh.com/news/detail/159617/
  18. आधुनिक चीन का इतिहास, प्रो. ए. टी. एस. सराओ, दिल्ली विश्वविद्यालय
  19. चीन का इतिहास, सी. ई. जीनी, वाणी प्रकाशन, प्रकाशित वर्ष : 2014
  20. चीनको राजनीतिक इतिहास, प्रा. डा. षडमुख बहादुर थापा, चीन अध्ययन केन्द्र
  21. आधुनिक चीनको आवधिक इतिहास, सु. काइमिङ, अनुवाद – भगवानचन्द्र ज्ञावली, ऐरावती प्रकाशन
  22. चीन मे क्या देखा, राहूल सांकृत्यायन, किताब महल
  23. आधुनिक चीन र जापानको इतिहास, डा. बमबहादुर अधिकारी, डिकुरा प्रकाशन
  24. चीनको वृहत परिचय, प्रकाशक वाङ काङ्ग न्यान हु पाङ्ग शङ्ग, प्रमुख सम्पादक वाङ्ग थिङ्ग
  25. चीन एक जानकारी – चीन अध्ययन केन्द्र, न्यु स्टार पब्लिसर्स


2 responses to “विश्व इतिहास : एशिया – चीनको इतिहास – एक अध्ययन”

  1. As I read your narratives, I have a difficult time determining if you are reporting with objectivity. Socialism, Communism and Marxism seem to inconsistent and I believe their major flaw, like democracy is that it still rewards the power. Leadership, still smells of feudalistic royalty from the Dark Ages of central Europe.

    Liked by 1 person

    1. Thank you for your comment. As much as there are materials written here, it has been tried to present them as a whole based on facts as far as possible. You can have your own opinion, but in today’s age, I think that everyone’s opinion should be respected and applied objectively. There is no mention of my knowledge here, only flow. Thank you!!!

      Like

Leave a comment

About Me

I am a student of philosophy and nature. I thoroughly research all subjects and summarize them in Nepali and English. I am Secretary of Marxism Study-Research Academy, Nepal. I am a Social Worker. Education – i) Master of Arts Degree in Political Science – TU, ii) Master of Public Administration Degree – TU, iii) Master of Arts Degree in History-TU, iv) Master of Arts Degree in Nepalese History Culture and Archaeology-TU.

म अध्ययन-अनुसन्धान कार्यमा निस्वार्थ भावले निरन्तर लागेको एक वाम विचारधारायुक्त सामाजिक कार्यकर्ता हुँ। मेरो कुनै पनि राजनीतिक दलसँग संलग्नता नरहेको जानकारी गराउँदछु। मेरा हरेक अध्ययन-अनुसन्धान कार्य शोषण, दमन, अन्याय, अत्याचारका विरुद्ध हुनेछन् । आम श्रमजीवी, भोका-नांगा, गरीब, उत्पीडित जनसमुदायहरूलाई सुशिक्षित गर्ने प्रयत्न मेरो कर्तव्य हुनजान्छ । मेरा सबै कार्य जनहितका लागि हुनेछन् भन्ने आशा तथा विश्वासपूर्वक मैले निरन्तर कार्य अगाडि बढाइरहेको हुनेछु। श्रमप्रति सम्मान र शोषणप्रति घृणा नै मेरा कार्यका उद्देश्य हुनेछन्।  

यहाँ तपाईंहरू सबै प्रकारका सामग्रीहरू अध्ययन गर्न र हेर्न पाउनुहुनेछ । अध्ययन गर्नको लागि रूचियुक्त सामग्रीहरू माग गर्नुभयो भने यथासंभव परिपूर्तिसमेत गरिनेछ । यहाँ लेखरचना, पत्रपत्रिका, म्यागजिन,  जर्नल, विभिन्न पुस्तकहरू (नेपाली, अंग्रेजी र हिन्दी भाषामा), डकुमेन्ट्री, फिल्म, आदि सामग्रीहरू खोजेर पढ्न तथा हेर्न सक्नुहुन्छ।

I am a leftist social worker who is selflessly engaged in research work. I inform you that I am not affiliated with any political party. Every study-research work of mine will be against exploitation, oppression, injustice and tyranny. It is my duty to try to educate the common workers, the hungry, the poor, the oppressed masses. I will continue my work with the hope and confidence that all my work will be for public interest. Respect for labor and hatred for exploitation will be the objectives of my work.

Here you will find all kinds of content to study and watch. If you demand for interesting materials to study, they will be provided as much as possible. Here you can search and read articles, newspapers, magazines, journals, various books (in Nepali, English and Hindi languages), documentaries, films, etc.

श्रमको सम्मान गर्नुभएकोमा धन्यवाद ।

Thank you for respecting the labor.

Newsletter

Marxism-मार्क्सवाद

Communist history

Philosophy-दर्शन

लेनिन-LeninLeninism

दस्तावेज-documents

धर्म-दर्शन

त्रिपिटक–बुद्ध

गीता सार

Politics–राजनीति

ग्रन्थ परिचय

Mao-Maoism

साहित्य- literature

जीवनी-biography

साम्यवाद-communism

युवाबारे-On Youth

कार्ल मार्क्स–Karl Marx

फ्रेडरिक एंगेल्स–F. Engels

भी.आइ.लेनिन–V.I.Lenin

जे. भी. स्टालिन – J.V. Stalin

माओत्सेतुङ – Maotsetung

डिजिटल पुस्तकालय (digital library)

ई-पुस्तकालय -e-library

विज्ञान-प्रविधि (Science-Technology)

सामान्य ज्ञान (GK)

Documentaries and YouTube channels

पुस्तकालय – LIBRARY

नेपाली डिजिटल पुस्तकहरू (Nepali Digital Books)

नेपाली न्यूजपेपर, म्यागजिन र अनलाइन पत्रपत्रिकाहरू (Nepali Newspapers, Online and Nepali Magazines)

English Digital Books : Part – 1 (world communist special books)

English Digital Books : Part – 2

English Digital Books : Part – 3

हिन्दी डिजिटल पुस्तक (Hindi digital Books) भाग – १

हिन्दी डिजिटल पुस्तक (Hindi digital Books) भाग – २

हिन्दी डिजिटल पुस्तक (Hindi digital Books) भाग – ३

हिन्दी डिजिटल पुस्तक (Hindi digital Books) भाग – ४

हिन्दी डिजिटल पुस्तक (Hindi digital Books) भाग – ५

Documentaries and YouTube channels

Uncategorized

ENGLISH SECTION

Design a site like this with WordPress.com
Get started