(‘प्याराडाइम’को लागि नेपालीमा कुनै एउटा शब्द छैन । यसमा अनुसन्धानको परिधि, त्यसको प्रक्रिया र त्यसको पद्धति – तीनैको समावेश छ ।)
स्रोत – The Structure of Scientific Revolutions – Thomas S. Kuhn, THE UNIVERSITY OF CHICAGO PRESS, LTD., LONDON
(यो उक्त पुस्तकको पँचौं अध्याय हो र अन्य अध्यायहरू क्रमशः प्रकाशित हुँदै जानेछन्)
अनुवाद तथा सम्पादन – नारायण गिरी
यस अध्यायमा हामी नियमहरू, अनुसन्धानका दायराहरू, प्रक्रियाहरू र पद्धतिहरू (‘प्याराडाइम’हरू) तथा सामान्य विज्ञानको बीचको सम्बन्धको विवेचना गर्नेछौं । यसको लागि पहिले हामी इतिहासकारले वैज्ञानिकहरूका ती प्रतिबद्धताहरूलाई कसरी खोज्दछन्, जसको हामीले अघिल्लो अध्यायमा स्वीकृत नियमहरूको रूपमा वर्णन गरेका थियौं भन्ने कुरामाथि विचार गर्नछौं। यदि हामीले कुनै विशेष विद्याशाखाको ऐतिहासिक विवेचना गर्यौं भने, हामी विभिन्न सिद्धान्तहरूको धारणात्मक, अवलोकनात्मक र यन्त्रात्मक प्रयोगहरूको क्रम यी सिद्धान्तहरूका केही खास उदाहरण मानकीय ढंगले पटक–पटक प्रयोगमा ल्याइन्छ भन्ने पाउँदछौं । यी त्यो वैज्ञानिक समुदायका उदाहरण वा नमूना हुन्छन् र यिनलाई पाठ्य–पुस्तकहरू, भाषणहरू र विद्यार्थीहरूद्वारा अभ्यासको लागि गरिने प्रयोगहरूको रूपमा प्रस्तुत गरिन्छ । तिनको अध्ययन गरी र तिनीहरूसँग काम गरी समुदायका सदस्य आफ्नो व्यवसायिक काम सिक्दछन् । यसको अतिरिक्त, इतिहासकारलाई संदिग्ध सफलताहरूको क्षेत्र पनि प्राप्त हुनेछ तर यसको बावजूद सफलतापूर्वक हल गरिसकिएका समस्याहरू र प्रविधिहरूको ठोस केन्द्र प्रायः स्पष्ट रूपले चिन्न सकिन्छ । यसप्रकार, कुनै परिपक्व वैज्ञानिक समुदायको ”प्याराडाइम” धेरै सजिलैसँग निर्धारित गर्न सकिन्छ, यद्यपि, यस निर्धारणमा प्रायः संदिग्धता पनि रहन्छ ।
यहाँ के बताउनु आवश्यक छ भने समान रूपले स्वीकृत ‘प्याराडाइम’ को निर्धारण समान रूपले स्वीकृत नियमहरूको निर्धारणभन्दा भिन्न हुन्छ । समान नियमयहरूको निर्धारणको लागि एउटा अर्को प्रक्रियाको आवश्यक हुन्छ, जसको विश्लेषण भिन्न प्रकारले गर्नुपर्ने हुन्छ । समान नियमहरूको पत्ता लगाउनको लागि इतिहासकारको लागि के आवश्यक छ भने उनीहरूले समुदायका ‘प्याराडाइम’ हरूको आपसमा र वर्तमान अनुसन्धान रिपोर्टहरूसँग तुलना गर्नुपर्दछ। यस कामको उद्देश्य ती तत्वहरूको पत्ता लगाउनु हुन्छ, जसलाई समुदायका सदस्यहरूले आफ्नो व्यापक रूपले प्रयोग गरिने ‘प्याराडाइम’ हरूबाट अलग गरेका हुन्छन् र जसलाई उनीहरूले आफ्नो अनुसन्धानमा नियमहरूको रूपमा प्रयोग गरेका हुन्छन् । कुनै पनि इतिहासकारले यदि कुनै विशेष वैज्ञानिक परम्पराको विकासको वर्णन गर्ने वा त्यसको विश्लेषण गर्ने प्रयास गरेको हुनेछ भने, उसले यसप्रकारको स्वीकृत सिद्धान्तहरू र नियमहरूलाई अवश्य खोज्नुपर्नेछ र अघिल्लो अध्यायको हाम्रो समीक्षाअनुसार, त्यसलाई यस काममा केही न केही सफलता अवश्य मिलेको हुनेछ । तर यस काममा मेरो अनुभव के रहेको छ भने नियमहरूको खोजी ‘प्याराडाइम’ हरूको खोजी भन्दा धेरै कठिन र कम सन्तोषप्रद हुन्छ । समुदायद्वारा स्वीकृत धारणाहरूको रूपमा केही सामान्यीकरणहरूको व्याख्या गर्नमा त कुनै समस्या आउँदैन र केही अन्य सामान्यीकरणले धेरै समस्या पैदा गर्दछन्; यिनीहरूमा अघिल्लो अध्यायमा केही उदाहरण पनि सामेल छन् । वैज्ञानिक दलका केही सदस्य यी सामान्यीकरणहरूलाई नियमहरूको रूपमा स्वीकार गर्दछन्, तर केही अरू यिनलाई कुनै पनि रूपमा स्वीकार गर्नको लागि तयार हुँदैनन् । यसबाट सामान्य विज्ञानको अनुसन्धान परम्पराको सामंजस्यलाई स्वीकृत नियमहरूको माध्यमबाट बुझ्ने कठिनाई स्पष्ट हुन्छ र यस परम्परालाई निर्धारित गर्न योग्य नियमहरूको ढाँचाको खोजी निरन्तर गम्भीर कठिनाई र अशान्तिको कारण बन्दछ ।
यस अशान्तिलाई चिनेपछि मात्र यसको स्रोत पत्ता लगाउन सकिन्छ । यदि न्यूटन, लेवोजिए, म्याक्सवेल वा आइन्सटाइनको कामको उदाहरण लिने हो भने, संभवतः सबै वैज्ञानिक यीमध्ये हरेकले समस्याहरूको एउटा समूहको स्थायी प्रतीत हुने हल पहिलो पटक प्राप्त गरे भन्ने कुरामाथि सहमत हुन्छन्, तर यिनै वैज्ञानिकहरूको बीचमा शायद तिनीहरू कुन निरपेक्ष विशेषताहरू हुन् भन्ने कुरामाथि सहमति हुँदैन, जसको कारण यी हल स्थायी छन् । यस्तो पनि संभव छ कि वैज्ञानिकहरूलाई आफ्नो यस मतभेदको जानकारीसम्म हुँदैन । अर्थात् यस्तो हुनसक्दछ कि वैज्ञानिकहरूको कुनै दल ‘प्याराडाइम’ को निर्धारणको विषयमा त सहमत हुन्छ, तर त्यस दलले त्यो ‘प्याराडाइम’ को व्याख्या वा तार्किक प्रतिपादन पूर्ण रूपले सम्पन्न गरेको हुँदैन । यदि ‘प्याराडाइम’ को समान रूपले स्वीकृत व्याख्या भएको छैन वा त्यसको रूपान्तरण समान रूपले स्वीकृत नियमहरूको रूपमा भएको छैन भने पनि ‘प्याराडाइम’ द्वारा अनुसन्धानको पथ प्रदर्शन गर्न सकिन्छ । यसप्रकार हुने सामान्य विज्ञानको कामलाई आंशिक रूपले ‘प्याराडाइम’ को प्रत्यक्ष निरीक्षणद्वारा जान्न सकिन्छ; तर, यो एउटा यस्तो प्रक्रिया हो, जसलाई नियम र मान्यताहरूको प्रतिपादनबाट मद्दत त मिल्दछ तर जसले त्यसमाथि पूर्ण रूपले निर्भर गर्दैन । वास्तविक त के हो भने ‘प्याराडाइम’ को सत्तामा नियमहरूको कुनै पूरा ढाँचा पनि विद्यमान होस् भन्ने कुरा निहित हुँदैन ।१
उपरोक्त वक्तव्यहरूबाट स्थिति स्पष्ट हुनुको बदला धेरै जटिल हुनजान्छ भन्ने कुरा स्पष्ट छ । नियमहरूको प्रभावशाली ढाँचाको अभावमा, कुन चीजको कारणले वैज्ञानिकहरूको काम सामान्य वैज्ञानिक परम्पराद्वारा सीमाबद्ध हुनजान्छ ? “‘प्याराडाइम’ हरूको प्रत्यक्ष निरीक्षण” जस्ता वाक्यांसहरूसँग हाम्रो के तात्पर्य हो ? यद्यपि सन्दर्भ त बिल्कुल भिन्न छ, तर यसप्रकारका प्रश्नहरूको आंशिक व्याख्या स्वर्गीय लुडविग विटगेन्स्टाइनद्वारा गरिएको छ । यद्यपि उनको विवेचनाको स्तर कम जटिल छ र अधिक सुपरिचित पनि छ, त्यसकारण पहिले हामी तिनको तर्कमाथि विचार गर्नेछौं । विटगेन्स्टाइनले प्रश्न गरे – त्यो कुन चीज हो, जसलाई जान्दा हामी ‘कुर्सी’, ‘पत्ती’ वा ‘खेल’ जस्ता शब्दहरूलाई असंदिग्ध र निर्विवाद रूपले प्रयोगमा ल्याउन सक्दछौं ।२
प्रश्न धेरै पुरानो छ र सामान्यतः त्यसको उत्तर के भनेर दिइन्छ भने हामीले प्रत्यक्ष अथवा निहित रूपले कुर्सी, पत्ती (तास) वा खेल के हो भन्ने कुरा जानुपर्दछ । अर्थात् हामीले केही यस्ता विशेषताहरूलाई बुझ्नुपर्दछ, जुन सबै खेल र केवल खेलहरूमा समान रूपले विद्यमान हुन्छ । तर विटगेन्स्टाइनले के निष्कर्ष निकाले भने जसरी हामी भाषाको प्रयोग गर्दछौं र जसरी संसारको सन्दर्भमा हामी त्यसलाई प्रयोग गर्दछौं, त्यसलाई हेर्दा विशेषताहरूको यस्तो कुनै समूह विद्यमान होस् भन्ने आवश्यक छैन । यद्यपि धेरै खेलहरू, वा कुर्सीहरू वा पत्तीहरूमा समान रूपले पाइने केही विशेषताहरूलाई ध्यानमा राख्दा प्रायः हामीलाई सम्बन्धित शब्दको प्रयोग गर्नमा मद्दत मिल्दछ, तर विशेषताहरूको यस्तो कुनै समूह छैन, जुन यस श्रेणीका सबै सदस्यहरूको लागि एकसाथ र केवल तिनैको लागि उपयुक्त होस् । बरु यदि हामी कुनै अपरिचित गतिविधि देख्दछौं भने, त्यसको लागि हामी ‘खेल’ शब्दको प्रयोग यसकारण गर्दछौं, किनकि हामी जे देखिरहेका छौं, त्यो ती अनेक गतिविधिहरूसँग मिल्दो–जुल्दो छ, जसलाई हामीले पहिले खेल नामले पुकार्न सिकेका छौं । संक्षेपमा, विटगेन्स्टाइनको अनुसार खेल, कुर्सी र पत्तीहरू यस्ता प्राकृतिक जातिहरू हुन्, जुन परस्पर–व्यापी र जटिल ढंगले आपसमा जेलिएका समानताहरूको जालको माध्यमबाट संघटित हुन्छन् । सम्बन्धित वस्तु वा गतिविधिहरूलाई सन्तोषजनक ढंगले जान्न हामीलाई सक्षम बनाउनमा, समानताहरूको यस्तो जालको अस्तित्व पर्याप्त कारण हो । अर्थात् वस्तुहरूलाई सन्तोषजनक ढंगले चिन्न र तिनलाई नाम दिने आफ्नो क्षमतालाई हामी कुन कुराको प्रमाण मान्दछौं भने सम्बन्धित वस्तुहरूको बीचमा केही विशेषताहरू समान रूपले विद्यमान हुन्छ । यो निष्कर्ष निकाल्ने अधिकार हामीलाई त्यही अवस्थामा हुनेछ, जब हामीद्वारा चर्चित जातिहरू एक–अर्कोसँग बिस्तारै–बिस्तारै मिल्छन् र एक–अर्कोमा बिस्तारै–बिस्तारै विलीन हुन्छन् ; अर्थात् प्राकृतिक जातिहरूको कुनै अस्तित्व नै हुँदैन ।
संभवतः केही यसै प्रकारका कुरा एकै सामान्य–वैज्ञानिक परम्पराभित्र उत्पन्न हुने विभिन्न अनुसन्धान–समस्याहरू र प्रविधिहरूको लागि पनि लागू हुनेछ । यी समस्याहरू र प्रविधिहरूको बीचको समान विशेषता ती प्रत्यक्ष रूपले व्यक्त वा भविष्यमा खोज्न सकिने केही यस्ता नियमहरू वा मान्यताहरू अन्तर्गत रहन्छन् भन्ने होइन, जसद्वारा अनुसन्धान परम्परा निहित भएको हुन्छ, वा जसले वैज्ञानिक सिर्जन शक्तिलाई सीमाबद्ध गरेको हुन्छ । तर अनुसन्धानका यी समस्या र प्रविधिको सम्बन्ध वा सादृश्य, वैज्ञानिक ज्ञान–भण्डारको कुनै यस्तो भागसँग स्थापित गर्न सकिन्छ, जसलाई सम्बन्धित वैज्ञानिक समुदायद्वारा आफ्नो कुनै प्रतिष्ठित सफलताको रूपमा पहिलेदेखि नै स्वीकार गरिसकिएको हुन्छ। वैज्ञानिकहरूको कामको आधार ती प्रतिरूप (मोडेल) हुन्छन्, जसलाई तिनीहरू या त आफ्नो शिक्षाका क्रममा आर्जित गर्दछन् या पुनः आफ्नो व्यावसायिक साहित्य पढेर सिक्दछन् । वैज्ञानिकहरूलाई यो कुरा थाहा हुँदैन र यी प्रतिरूपहरूको कुन विशेषताको कारण तिनलाई समुदायका ‘प्याराडाइम’ हरूको स्तर प्रदान गरिदिइन्छ भन्ने कुरा जान्नु आवश्यक पनि हुँदैन । र, प्रतिरूपहरूको आधारमा व्यावसायिक काम गर्नुको कारणले वैज्ञानिकहरूलाई नियमहरूको पूर्ण समूहको आवश्यकता हुँदैन । वैज्ञानिकहरूको अनुसन्धान परम्पराद्वारा प्रदर्शित व्यावसायिक सामंजस्यको निहितार्थ के हुँदैन भने तिनीहरूको बीचमा नियम र मान्यताहरूको कुनै यस्तो अन्तरस्थ ढाँचा विद्यमान हुन्छ, जसलाई ऐतिहासिक र दार्शनिक अन्वेषणद्वारा अनावृत्त गर्न सकिन्छ। वैज्ञानिक प्रायः कुन प्रश्न सोध्दैनन् भने कुनै विशेष समस्या वा हललाई वैध बनाउने चीज के हुन्छ । यसको कारण के हुनसक्दछ भने तिनीहरूले यस प्रश्नको उत्तर कम्तीमा सहज अनुभूतिको रूपमा जान्दछन् । अर्को संभावना के पनि छ भने तिनको दृष्टिबाट न त प्रश्न वैज्ञानिक अनुसन्धानको लागि प्रासंगिक हुन्छन् र न तिनको उत्तर नै । यसप्रकार यदि ‘प्याराडाइम’ बाट निरपेक्ष रूपले निकालिएका असंदिग्ध नियमहरूको अपेक्षा स्वयं ‘प्याराडाइम’ ऐतिहासिक रूपले पहिले प्रकट हुन्छ, अनुसन्धान कार्यलाई अधिक सीमाबद्ध गर्दछ र अधिक पूर्ण हुन्छ ।
उपरोक्त विवेचनाको आशय के हो भने सिद्धान्ततः अन्वेषण गर्न योग्य नियमहरूको अभावमा पनि ‘प्याराडाइम’ हरूको लागि सामान्य विज्ञानको कामलाई निर्धारित गर्न संभव छ भन्ने कुरा साँचो हो । अब हामी यो तर्कको महत्व र यसलाई अझ स्पष्ट गर्नको लागि अगाडि ती कारणहरूको व्याख्या गर्नेछौं, जसको आधारमा व्यवहारमा पनि स्थिति यस्तै नै हुन्छ भन्न सकिन्छ । पहिलो कारण त के हो भने सामान्य वैज्ञानिक परम्पराहरूको पथ प्रदर्शन गर्ने नियमहरूको पत्ता लगाउनु नै धेरै जटिल काम हो । यसमा हामीले माथि विस्तारपूर्वक चर्चा गरिसकेका छौं । यस कठिनाइको स्रोत पनि त्यही हो, जसको सामना हामीले माथि विटगेन्स्टाइनद्वारा उठाइएको ‘सबै खेलहरूमा कुन विशेषता समान रूपले विद्यमान रहन्छ’ भन्ने दार्शनिक प्रश्नको सन्दर्भमा गरेका थियौं । अर्को कारणको आधार वैज्ञानिक शिक्षाको प्रकृतिमा निहित छ । वैज्ञानिक शिक्षाको जुन विशेषतातर्फ हाम्रो संकेत छ त्यो के हो भने वैज्ञानिक आफ्नो धारणा, नियम र सिद्धान्त निरपेक्ष रूपले र अलग्गै सिक्दैनन् । बरु, बौद्धिक विशेषताका यी साधनहरूसँग वैज्ञानिकहरूको पहिलो सम्पर्क आफ्नो शिक्षाको क्रममा हुन्छ, जहाँ यी वैचारिक रूप आफ्नो अनुप्रयोगहरूसँगै र तिनको माध्यमबाट प्रकट हुन्छन् । उदाहरणको लागि कुनै नयाँ वैज्ञानिक सिद्धान्तको घोषणा तब हुन्छ, जब प्राकृतिक परिघटनाहरूको कुनै निश्चित समूहको व्याख्याको लागि त्यसको प्रयोग गर्न सकिन्छ। यस्ता प्रयोगहरूबिना वैज्ञानिक समुदायमा कुनै सिद्धान्तको वैधताको सवालमा बहस पनि छेड्न सकिंदैन । समुदायद्वारा सिद्धान्त स्वीकृत भएपछि भविष्यका अनुसन्धानकर्ताहरूलाई व्यावसायिक शिक्षा दिने पाठ्य–पुस्तकहरूमा सिद्धान्तको व्याख्या उपरोक्त प्रयोगहरूको वा यिनको अतिरिक्त अन्य प्रयोगहरूसँगै गरिन्छ । पाठ्य–पुस्तकहरूमा, प्रयोग केवल सौन्दर्यको दृष्टिबाट वा ऐतिहासिक दस्तावेजहरूको रूपमा मात्र रहँदैन । तर सिद्धान्त सिक्ने प्रक्रियाले प्रयोगहरूको सफल अध्ययनमाथि निर्भर गर्दछ । यसमा कागज र पेन्सिल लिएर समस्याहरू हल गर्नु र प्रयोगशालामा यन्त्रहरूको माध्यमबाट प्रयोग गर्नु, यी दुवै प्रकारका अभ्यास सामेल छन् । उदाहरणस्वरूप, न्यूटनीय गतिविज्ञानको विद्यार्थी ‘बल’, ‘द्रव्यमान’, ‘देश’ र ‘काल’ जस्ता पारिभाषिक शब्दहरूको अर्थ यी धारणाहरूको प्रयोगहरूलाई व्यवहारमा स्वयं हल गर्नको लागि बनाइएका समस्याहरूलाई हल गर्दै सिक्दछ । पाठ्य–पुस्तकहरूमा दिइएका यी शब्दहरूको अपूर्ण परिभाषाहरूले यस काममा केवल गौण भूमिका मात्र निभाउँदछन् ।
कागज पेन्सिलको अभ्यासद्वारा वा प्रयोगशालाको प्रयोगहरूद्वारा सिक्ने यो प्रक्रिया व्यावसायिक दीक्षाको पूरा क्रममा निरन्तर जारी रहन्छ । विद्यार्थी कलेजको पहिलो वर्षबाट डक्टरेटको थेसिसतर्फ अग्रसर हुँदै जाँदा, हल गर्नको लागि उसलाई दिइने समस्याहरू अत्यन्तै जटिल हुनजान्छन् ; तर पनि यी समस्याहरू व्यवसायको पछिल्लो सफलताहरूसँग धेरै मिल्दा–जुल्दा हुन्छन्; आफ्नो भविष्यको व्यावसायिक जीवनमा पनि वैज्ञानिक सामान्यतया यसैप्रकारका समस्याहरूलाई नै हल गर्दछन् । व्यावसायिक कामको उपरोक्त धारणाको अधारमा वैज्ञानिक आफ्नो कामको क्रममा कुनै अवस्थामा, सहज अनुभूतिद्वारा मान्य नियम निरपेक्ष रूपले निर्धारित गर्दछ भन्ने कुरा सोच्न सकिन्छ । तर हाम्रो विचारमा यस्तो निष्कर्ष उचित छैन । यद्यपि वैज्ञानिक तत्कालीन अनुसन्धानको कुनै ठोस र सीमित क्षेत्रमा प्रयुक्त परिकल्पनाहरूको बारेमा अत्यन्तै सहजपूर्वक र धेरै प्रभावशाली ढंगले कुरा गर्दछन्, तर आफ्नो क्षेत्रका सर्वमान्य आधारभूत मान्यताहरू, क्षेत्रका वैध समस्याहरू र प्रणालीका विशेषताहरू बताउनमा तिनको क्षमता कुनै सामान्य व्यक्तिभन्दा अधिक हुँदैन । यदि आफ्नो क्षेत्रसँग सम्बन्धित उपरोक्त सामान्यीकरणहरूको राम्रो ज्ञान कुनै वैज्ञानिकलाई छ भने, यस कुराको अभिव्यक्ति प्रमुख रूपले उसको सफल अनुसन्धान कार्य गर्ने योग्यताको रूपमा हुन्छ । तर त्यो योग्यता त क्षेत्रको परिकल्पनात्मक मान्य नियमहरूको समझदारी प्राप्त नगरीकन नै आर्जित गर्न सकिन्छ ।
वैज्ञानिक शिक्षाको उपरोक्त परिणामहरूको एउटा प्रतिलोम पनि छ, जसको कारणले आफ्नो तर्कको पक्षमा तेस्रो कारण प्राप्त हुन्छ । त्यसको अनुसार ‘प्याराडाइम’ द्वारा अनुसन्धानको पथ प्रदर्शन प्रत्यक्ष प्रतिरूप (मोडेल) बनाएर पनि हुन्छ र निरपेक्ष रूपले अलप गरिएका नियमहरूको माध्यमबाट पनि हुन्छ । सामान्य विज्ञानको काम तबसम्म नियमहरूबिना अग्रसर भइरहन सक्दछ, जबसम्म सम्बद्ध वैज्ञानिक समुदाय सफलतापूर्वक पहिले हल गरिसकिएका समस्याहरूलाई र तिनका उत्तरहरूलाई निर्विवाद रूपले स्वीकार गरिरहन्छन् । त्यसकारण जब कुनै वैज्ञानिक समुदायका प्रतिरूपहरू वा ‘प्याराडाइम’ हरूको वैधतामाथि विवाद छेडिन्छ, तब नियमहरूप्रति समुदायको सामान्यतः विद्यमान उदासीनता खत्तम हुनजान्छ र नियम महत्वपूर्ण बन्नजान्छ । विज्ञानको इतिहासमा यो कुरा घटित भएको पटक–पटक देखिन्छ ।
विशेषगरी, कुनै वैज्ञानिक क्षेत्रमा ‘प्याराडाइम’ स्वीकृत हुनुभन्दा पहिलेको समयमा निरन्तर क्षेत्रको कामको वैध प्रणाली, समस्या र हलहरूको स्वीकृतिको मापदण्ड के हो भन्ने कुरालाई लिएर गम्भीर विवाद उठ्दछ। । यद्यपि यस्ता विवादहरूको परिणामस्वरूप क्षेत्रमा आम सहमति बन्नुको सट्टा विभिन्न विचार–पद्धतिहरूको बीचको विभाजन रेखा नै प्रायः स्पष्ट रूपले निर्धारित हुनजान्छ । प्रकाश विज्ञान र विद्युतको क्षेत्रमा उठेका विवादहरूको उदाहरण पहिले नै दिइसकिएको छ । सत्रौं शताब्दीको रसायन–विज्ञानको विकासमा र प्रारम्भिक उन्नाइसौं शताब्दीको भूगर्भशास्त्रको विकासमा यी विवादहरूको अझ धेरै महत्वपूर्ण भूमिका रह्यो।३ यसको अतिरिक्त के बताउनु पनि आवश्यक हुन्छ भने यस प्रकारको विवाद ‘प्याराडाइम’ प्रकट हुनुसँगै हमेसाको लागि खत्तम हुँदैनन् । सामान्य विज्ञानको कालको क्रममा यद्यपि यी उठ्दैनन् तर वैज्ञानिक क्रान्तिहरूको ठीक पहिले र तिनको क्रममा यी नियमित रूपले फेरि उठ्दछन् । वैज्ञानिक क्रान्ति हामी त्यो स्थितिलाई भन्दछौं, जब पहिले त ‘प्याराडाइम’ माथि हमला हुन्छ र फेरि त्यसको बदलिने संभावना उत्पन्न हुन्छ । न्यूटनीय यान्त्रिक विज्ञानबाट क्वान्टम यान्त्रिक विज्ञानको संक्रमणकालमा भौतिक विज्ञानको प्रकृति र त्यसका मापदण्डहरूको विषयमा धेरै विवाद खडा भए, जसमध्ये केही अझै पनि अनिर्णित छन् ।४ आज पनि यस्ता मानिस जीवितै छन्, जसलाई आफ्नो जीवन–कालमा नै म्याक्सवेलको विद्युत–चुम्बकीय सिद्धान्त र सांख्यिकीय यान्त्रिक विज्ञानको कारण पैदा भएका विवादहरूको याद अझैसम्म छ।५ र, यदि हामीले यसभन्दा पहिलेको इतिहासलाई हेर्यौं भने, ग्यालिलियो र न्यूटनको यान्त्रिक विज्ञानको वैज्ञानिक समुदायद्वारा स्वीकृत हुने प्रक्रियामा विज्ञानको लागि वैध मापदण्डहरूको सवाललाई लिएर एरिस्टोटलवादीहरू, देकार्तवादीहरू र लाइनित्जवादीहरूको बीचमा इतिहास–प्रसिद्ध लामो बहस छेडिएको थियो।६ जब वैज्ञानिकहरूको बीचमा के तिनको क्षेत्रको आधारभूत समस्याहरू हल हुनगएको छ भन्ने प्रश्नमाथि मतभेद हुन्छ, तब नियमहरूको खोजको कामको एक यस्तो महत्व वैज्ञानिक समुदायको लागि बन्नजान्छ, जुन सामान्यतः विद्यमान हुँदैन । जबसम्म ‘प्याराडाइम’ निर्विवाद रूपले स्वीकृत रहन्छ, तबसम्म वैज्ञानिकहरूमा तिनको तार्किक आधारमा सहमति नबनीकन तिनको भूमिका पूरा भइरहन्छ; यस परिस्थितिमा वैज्ञानिक ‘प्याराडाइम’ को तार्किक औचित्य खोज्ने प्रयास पनि गर्दैनन् ।
नियम र मान्यताहरूभन्दा पहिले ‘प्याराडाइम’ स्थापित हुन्छन्, यस कुराको लागि चौथो र अन्तिम कारण दिएर यो अध्याय पूरा गरिनेछ । पहिलो अध्यायमा के भनिएको थियो भने वैज्ञानिक क्रान्तिहरू साना, ठूला सबै प्रकारका हुन्छन् । केही क्रान्तिहरूले केही व्यावसायिक विशेष–विद्याशाखाको केवल सानो भागलाई मात्र प्रभावित गर्दछन् । र, यस्ता साना दलहरूको लागि कुनै नयाँ र अप्रत्याशित घटनाको खोजले नै क्रान्तिको रूप लिन सक्दछ । आउँदो अध्यायमा यसप्रकारका केही चुनिएका क्रान्तिहरूको विवेचना गरिनेछ । यो अझै यिनीहरू अस्तित्वमान कसरी हुन्छन् भन्ने स्पष्ट छैन । माथि दिइएको व्याख्याको निहितार्थ के हो भने सामान्य वैज्ञानिक अनुसन्धान अत्यन्तै कठोर शर्तहरूको कारण गरिन्छ । विभिन्न वैज्ञानिक समुदाय एक–अर्कोसँग घनिष्ठतापूर्वक रहन्छन् । तब ‘प्याराडाइम’ को परिवर्तनले एउटा सानो उप-दललाई कसरी प्रभावित गर्न सक्दछ ? हाम्रो उपरोक्त व्याख्याबाट पाठकहरूलाई संभवतः के प्रतीत भएको हुन्छ भने सामान्य विज्ञान एक यस्तो उद्यम हो, जसको विभिन्न भाग एक–अर्कोसँग दृढतापूर्वक जोडिइरहन्छ । तिनीहरूको बीचमा यति धेरै सुव्यवस्थित तालमेल रहन्छ कि यदि त्यसका अनेक ‘प्याराडाइम’हरूमध्येमा कुनै एउटा पनि अस्वीकृत गरिदिने हो भने, वैज्ञानिक उद्यमको पूरा ढाँचा नै चरमराएर ढल्नेछ । तर स्पष्ट छ, वैज्ञानिक काम कहिल्यै यसप्रकारको हुँदैन । यदि विज्ञानका विभिन्न क्षेत्रहरूको एकसाथ परीक्षण गरियो भने, हामी पाउनेछौं – अलग–अलग क्षेत्रहरूको बीचमा अत्यन्तै थोरै सामन्जस्य हुन्छ र वैज्ञानिक उद्यमको ढाँचा अत्यन्तै ढीला–ढाला प्रतीत हुन्छ । हाम्रो उपरोक्त व्याख्यामा कुनै यस्तो कुरा छैन, जुन यस्तो सुव्यवस्थित तथ्यको विरुद्ध गएको हुन्छ । बरु हाम्रो विवेचनामा के भनिएको छ भने वैज्ञानिक अनुसन्धानमा स्वीकृत निमयहरूको जुन भूमिका सामान्यतः मानिन्छ, त्यसलाई ‘प्याराडाइम’ ले नै निभाउँदछ । ‘प्याराडाइम’ हरूको यो बढेको महत्वको माध्यमबाट वैज्ञानिक क्षेत्रहरू र विशेष–विद्याशाखाहरूको विविधता सजिलैसँग बुझ्न सकिन्छ । स्पष्ट रूपले व्यक्त नियम त धेरै व्यापक वैज्ञानिक दलको बीचमा समान रूपले स्वीकृत हुन्छन्, तर ‘प्याराडाइम’ हरूको लागि यो कुरा लागू हुँदैन । उदाहरणको लागि, खगोल–विज्ञान र ‘वर्गीकृत वनस्पति–विज्ञान’ (टेक्सोनोमी बोटोनी) जस्ता एक–अर्कोसँग बिल्कुल भिन्न क्षेत्रहरूका अनुसन्धानकर्ताहरूको शिक्षा, एकदम भिन्नप्रकारका पाठ्य–पुस्तकहरूमा वर्णित, बिल्कुल अलग–अलग वैज्ञानिक सफलताहरूमाथि आधारित ‘प्याराडाइम’ हरूको माध्यमबाट हुन्छ । यसको विपरीत यो पनि संभव छ कि यदि दुई व्यक्तिले एकै क्षेत्रमा, वा निकटतासँग सम्बन्धित क्षेत्रहरूमा काम गर्दछन् भने, तिनीहरू आफ्नो शिक्षा त समान पुस्तकहरू र समान सफलताहरूमा आधारित ‘प्याराडाइम’ को माध्यमबाट गर्छन् तर आफ्नो व्यावसायिक विशिष्टीकरणको क्रममा तिनका कार्य–क्षेत्रहरूमा अन्तर उत्पन्न हुनजाने कारणले ती भिन्न–भिन्न ‘प्याराडाइम’ हरूप्रति प्रतिबद्ध हुन्छन् ।
उदाहरणस्वरूप, सबै भौतिक वैज्ञानिकहरूको दलमाथि विचार गरौं । तिनीहरूको समुदाय धेरै ठूलो छ र तिनका कामहरूमा धेरै विविधता हुन्छ । तर पनि, आज यो दलका हरेक सदस्यलाई क्वान्टम यान्त्रिक विज्ञानको नियम सिकाइन्छ । तिनीहरूमध्ये अधिकतम् आफ्नो अनुसन्धान वा शिक्षण कार्यको क्रममा जहिले भए पनि यी नियमहरूलाई प्रयोग गर्दछन् । तर अलग–अलग क्षेत्रहरूमा काम गर्ने भौतिक वैज्ञानिक यी नियमहरूको अलग–अलग प्रयोग सिक्दछन् । त्यसकारण यदि क्वान्टम–यान्त्रिक विज्ञानलाई व्यवहारमा लागू गर्ने प्रणालीहरूमा कुनै परिवर्तन हुन्छ भने, त्यसको प्रभाव सबैमाथि एकसमान हुँदैन । व्यावशायिक विशिष्टीकरणको क्रम केही भौतिक वैज्ञानिकहरूको सम्पर्क क्वान्टम–यान्त्रिकीको केवल आधारभूत सिद्धान्तहरूसँग मात्र हुन्छ; जबकि केही अन्य वैज्ञानिक रसायन–विज्ञानको क्षेत्रमा यी सिद्धान्तहरूको ‘प्याराडाइम’–अनुप्रयोगहरूको विस्तारपूर्वक अध्ययन गर्दछन् । यसको अतिरिक्त केही अन्य वैज्ञानिक ठोस अवस्थाको भौतिक विज्ञान (सोलिड स्टेट फिजिक्स) का प्रयोगहरूको अध्ययन गर्दछन्; इत्यादि । यिनीहरूमध्ये हरेकको लागि क्वान्टम–यान्त्रिक विज्ञानको अर्थ भिन्न हुन्छ । हरेकको क्वान्टम यान्त्रिक विज्ञानको समझदारी त्यसको शिक्षा कुन पाठ्यक्रम अन्तर्गत भएको छ भन्ने कुरामा निर्भर गर्दछ, त्यसले कुन पाठ्य–पुस्तकहरू पढेको छ, उसले कुन पत्रिकाहरूलाई निममित रूपले पढ्दछ । यसको तात्पर्य के हो भने क्वान्टम–यान्त्रिक विज्ञानका आधारभूत नियमहरूको परिवर्तन यद्यपि यी सबै दलहरूको लागि क्रान्तिकारी हुनेछन्, तर यदि कुनै परिवर्तनले क्वान्टम–यान्त्रिक विज्ञानको केवल कुनै विशेष ‘प्याराडाइम’–प्रयोगलाई प्रभावित गर्दछ भने, त्यो केवल कुनै विशिष्ट व्यावशायिक विद्याशाखाको उपदलका सदस्यहरूको लागि मात्र क्रान्तिकारी हुनेछ । यो बिल्कुल आवश्यक छैन कि त्यो बाँकी व्यवसायभरको लागि क्रान्तिकारी होस् र अर्को भौतिक विज्ञानको क्षेत्रमा काम गर्ने मानिसहरूको लागि पनि । संक्षेपमा, यद्यपि क्वान्टम यान्त्रिक विज्ञान, न्यूटनीय गति–विज्ञान वा विद्युत–चुम्बकीय सिद्धान्त अनेक वैज्ञानिक दलहरूको लागि ‘प्याराडाइम’ हुन्, तर ती सबैको लागि एकै ‘प्याराडाइम’ छैन । अर्थात् यिनीहरूमध्ये हरेक ‘प्याराडाइम’ को आधारमा कैयौं भिन्न सामान्य वैज्ञानिक परम्पराहरूको निर्धारण एकसाथ हुनसक्दछ । यी विभिन्न परम्पराहरूको बीचमा कार्य क्षेत्रको समानता सँग–सँगै विविधता पनि हुनेछ । त्यसकारण यिनीहरूमध्ये कुनै एक परम्परामा घटित हुने क्रान्तिको असर बाँकी सबै परम्पराहरूको कार्यक्षेत्रमाथि पनि होस् भन्ने कुरा आवश्यक छैन।
विशिष्टीकरणको प्रभावलाई स्पष्ट पार्नर् निम्नलिखित संक्षिप्त उदाहरणको माध्यमबाट माथि दिइएका तर्कहरूको पुष्टि हुनेछ । एक अन्वेषकले परमाणु–सिद्धान्तहरूबाट विभिन्न वैज्ञानिकहरूको के तात्पर्य हुन्छ भन्ने कुरा जान्ने प्रयास गरे । यसको लागि उनले एक प्रसिद्ध भौतिक वैज्ञानिकसँग हेलियमको एउटा एक्लै परमाणु अणु हुन्छ वा हुँदैन भन्ने कुरा सोधे । रसायनविद्को मतानुसार हेलियमको परमाणु अणु हुन्छ, किनकि ग्यासहरूको अणुगति–सिद्धान्त अनुसार त्यसको व्यवहार एक अणुको समान हुन्छ । तर भौतिक वैज्ञानिकको मतानुसार हेलियमको परमाणु अणु हुँदैन, किनकि त्यसले कुनै आणविक ‘स्पेक्ट्रम’ प्रदर्शित गर्दैन।७ के स्पष्ट छ भने यद्यपि दुवै वैज्ञानिक एकै कणको विषयमा कुरा गरिरहेका थिए तर अनुसन्धान प्रशिक्षणको विविधताको कारणले दुवै वैज्ञानिकहरूको त्यसको धारणा भिन्न थियो । समस्याहरू हल गर्ने आफ्ना अनुभवको आधारमा उनीहरूले ती कसौटीहरू चुनेका थिए, जसको माध्यमबाट उनीहरू कुनै कण अणु हो वा होइन भन्ने कुरा तय गर्दथे । निसन्देह, तिनका अनुभवहरूको बीचमा धेरै समानता थियो, तर पनि आफ्नो–आफ्नो अनुभवको आधारमा एकै प्रश्नको तिनको उत्तर भिन्न थियो । अगाडि बढेर आफ्नो विश्लेषणको क्रममा हामी के देख्नेछौं भने ‘प्याराडाइम’ का यसप्रकारका भिन्नताहरू कहिलेकाहीँ अत्यन्तै महत्वपूर्ण हुनसक्दछन् ।
सन्दर्भ र टिप्पणीहरू
१) माइकेल पोलान्यीले धेरै प्रभावशाली ढंगले यसप्रकारको धारणा विकसित गरेका छन् । उनको भनाई छ कि वैज्ञानिकको सफलता धेरै हदसम्म त्यसको “अव्यक्त ज्ञान” माथि अर्थात् आफ्नो व्यवहारबाट आर्जित ज्ञानमाथि निर्भर गर्दछ र शब्दहरूबाट यसको सुव्यवस्थित प्रतिपादन गर्न सकिंदैन । पोल्यान्यीका पुस्तकहरू पर्सनल नलेज (शिकागो, १९५८), विशेषगरी अध्याय ५ र ६ हेर्नुहोस् ।
२) लुटविग विटगेन्स्टाइनको पुस्तक फिलोसोफिकल इन्भेस्टिगेशन्स अनु. सी.ई.एम. ऐंस्कम्ब (न्यूवर्क १९५३), पृ. ३१ देखि ३६ । तर विटगेन्स्टाइन वस्तुहरूलाई नाम दिने जुन प्रणालीको वर्णन गर्दछन्, त्यसको लागि आवश्यक दुनियाँको प्रकृतिको बारेमा उनी लगभग केही भन्दैनन् । त्यसकारण अगाडि दिइने तर्कको एउटा हिस्सा तिनको व्याख्यामा निर्भर गर्दैन ।
३) रसायन–विज्ञानको लागि एच. मेत्जगरको पुस्तक लेस डक्ट्रिन्स किमिक्स एन फ्रान्स टु देब्यू दु XVII अ ला फिन डु XVIII सिएकल (पेरिस, १९२३), पृ. २४ देखि २७, १४६ देखि ४९ र मारी बोआसको पुस्तक रोवर्ट बयल एण्ड सेभेन्टीन्थ सेन्चुरी क्यामेस्ट्री, (क्याम्ब्रिज, १९५८) अध्याय २, भूगर्भशास्त्रको लागि वाल्टर एफ क्याननको लेख “द यूनिफर्मिटेरियन – क्याटास्ट्राफिक डिबेट”, आइसिस LI (१९९०), पृ. ३८ देखि ५५ र सी.सी. जिलेस्पीको पुस्तक जेनेसिस एण्ड जियोलोजी –क्याम्ब्रिज, मैसा, १९५१), अध्याय ४ देखि ५ ।
४) क्वान्टम–यान्त्रिकीको विवादहरूको लागि ज्यां उल्मोको पुस्तक ल क्राइसे द ला फिजिक क्वान्टिक, (पेरिस, १९५१), अध्याय ४ देखि ५ ।
५) सांख्यिकीय यान्त्रिकीको लागि रेने डूगाको पुस्तक ल थ्योरी फिजिक आउ सेन्स द बोल्ट्जमान एट सेस प्रोलांगमेन्ट मोडन्र्स,(न्यूच्याटेल, १९५९), पृ. १५८ देखि ८४, २०६ देखि १९ । म्याक्सवेलको कामसँग सम्बन्धित विवादको लागि म्याक्सवेलको लेख “म्याक्सवेल्स इन्फ्लूएन्स इन जर्मनी संकलित : जेम्स क्लर्क म्याक्सवेल : ए कमेमोरेशन भोल्यूम १८३१ देखि १९३१” –क्याम्ब्रिज १९३१) पृ. ४५ देखि ६५, विशेषगरी पृ. ५८ देखि ६३ र सिल्वानस पी. थम्सनको पुस्तक द लाइफ अफ विलियम थमसन ब्यारन केल्विन अफ लग्र्स (लण्डन, १९१०), II पृ. १०२१ देखि २७ ।
६) एरिस्टोटलवादीहरूसँग भएको संघर्षको लागि ए. कोयेरेको लेख “ए डक्युमेन्ट्री हिस्ट्री अफ द प्रोब्लेम अफ फल फ्रम केप्लर टु न्यूटन”, अनु. अमेरिकन फिलोसोफिकल सोसाइटी XLV (१९५५), ३२९ देखि ३९५ हेर्नुहोस् । देकार्तवादीहरू र लाइब्निट्त्जवादीहरूसँग भएको विवादहरूको लागि पियरे ब्रूनेको पुस्तक ल’ इन्ड्रोक्सन डेस थ्योरिज द न्यूटन एण्ड फ्रान्स आउ XVIII सिएकल, (पेरिस, १९३१) र ए. कोयरेको पुस्तक फ्रम द क्लोज्ड वल्र्ड टु द इनफाइनाइट युनिभर्स, (वाटिल्मोर, १९५७), अध्याय XI ।
७) अनुसन्धानकर्ता जेम्स के. सीनियर थिए र उनीसँग यस विषयमा भएको कुराकानीको लागि म उनको आभारी छु । केही सम्बन्धित विषयहरूको विवेचनाको लागि उनको लेख “द भर्नाकुलर अफ द ल्याबोरेटरी”, फिलोसफी अफ साइन्स, XXV (१९५८), पृ १६३ देखि ६८ ।
Leave a comment