पाउलो फ्रेरे र उनको शिक्षा-दर्शन

नारायण गिरी

पाउलो फ्रेरेको संक्षीप्त जीवनकाल

पाउलो फ्रेरे ब्राजिलका एक दार्शनिक थिए। उनी शिक्षाको परिवर्तनकारी शक्तिमा विश्वास गर्दथे। उनले शिक्षाको परम्परावादी प्रणाली खारेज गरे र एक समाजवादी, जनतान्त्रिक र सहभागितामूलक दृष्टिकोणको विकास गरे। उनका अनुसार शिक्षाले शिक्षार्थीहरूको वरिपरिको संसारसँग गम्भीर रूपले जोडिनको लागि सशक्त बनाउनेछ। उनले शिक्षालाई केवल एउटा व्यक्तिले अर्को व्यक्तिलाई ज्ञान प्रदान गर्ने माध्यम मात्र मानेनन्, बरू शिक्षा व्यक्ति र सामाजिक परिवर्तनको एक प्रक्रिया हो भन्ने कुरा स्पष्ट पारे। उनले के कुरा स्पष्ट बनाए भने शिक्षाले शिक्षार्थीहरूलाई आफ्ना अनुभव र तिनीहरूलाई आकार प्रदान गर्ने सामाजिक संरचनाहरूमाथि गम्भीर रूपले प्रतिबिम्बित गर्ने र बढी न्यायपूर्ण तथा न्यायसंगत समाज बनाउने दिशामा सक्रिय रूपले काम गर्नमा सक्षम बनाउनु पर्दछ।

पाउलो फ्रेरेको जन्म १९ सेप्टेम्बर १९२१ मा उत्तर-पूर्वी ब्राजिलको एउटा सानो शहर रेसिफको पेरनामबुकोमा भएको थियो। उनको पूरा नाम पाउलो रेग्लास नेभेस फ्रेरे हो। उनी गरीबी र अभावमा हुर्किएका थिए । गरीबीको सम्पूर्ण दर्शन उनको शिक्षा-दर्शनमा देखिन्छ। उनको प्रारम्भिक शिक्षा रेसिफको स्कूलमा भयो तर सन् १९२९ को आर्थिक संकट पछि उनले स्कूलमा नियमित रूपमा पढ्न सकिरहेका थिएनन्। त्यसकारणले गर्दा स्कूलमा उनी पछाडि परेका थिए। फ्रेरेले त्यसबेला उनको स्कूलका विद्यार्थी मित्रहरूमा कोही खान-लाउन नपाएर हैरान भएका र कोहीसँग भने खान र लाउन पर्याप्त भएको देखे। त्यसैबेला उनको मनमा ईश्वरले कोहीलाई गरीब र कोहीलाई धनी किन बनाउँदछन् भन्ने शंका उत्पन्न भयो। पछि उनले के निष्कर्ष निकाले भने गरीब र धनी हुने कुरा ईश्वरप्रदत्त नभएर सामाजिक वर्गभेदको कारण हो। यद्यपि उनले अझै यसको वास्तविक कारण के हो भन्ने बारेमा खोजी गर्न सकिरहेका थिएनन्। बचपनमा नै उनले सामन्तवादी, पूँजीवादी, साम्राज्यवादी, नस्लवादी र फाँसीवादी उत्पीडिनका अलग-अलग रूपहरूलाई बुझ्न पाएका थिए। त्यसकारण उनले एघार वर्षकै उमेरमा संसारमा मानिसले खान-लाउन नपाउने कुराको कारण खोजी त्यसलाई कम गर्नको लागि संभव भएसम्म उपाय खोज्ने प्रण लिए। उनको बचपनको अनुभवले उनलाई गरीब र कम भाग्यशाली भनिएका मानिसहरूको लागि सहानुभूतिमा प्रेरित गर्दथे र उनीहरूको जीवनलाई राम्रो बनाउनको लागि गहिराइपूर्वक प्रेरित गरेको थियो।

सन् १९३१ मा फ्रेरे परिवार जावाटाओमा बसाइ सरेको थियो। सन् १९३३ मा उनका पिताको देहान्त भयो। त्यसपछि उनको जीवन अझ कष्टमय अवस्था पुगेको थियो। उनले आफ्नो बेलाको सामाजिक स्थितिबाट समाजिक वर्ग र ज्ञानको अन्तर्सम्बन्धलाई बुझेका थिए। सन् १९४३ मा उनले ‘यूनिभर्सिटी अफ रेसिफ’ मा कानूनको स्कूलमा भर्ना भएका थिए। उनले यहाँ दर्शनशास्त्र र भाषा मनोविज्ञान पनि अध्ययन गरेका थिए। आफ्ना कठिन परिस्थितिहरूको बाबजुद विश्वविद्यालयमा प्रवेश गरेर उनले कानूनको डिग्री हासिल गरेका थिए। उनले कानूनको अध्ययन गरे पनि जीवनमा एकदिन मात्र वकालत गरेका थिए। उनले शुरूमा माध्यमिक तहमा पोर्चुगिज भाषा पढाएका थिए। सन् १९४४ मा फ्रेरेको इल्जा माइयासँग विवाह भएको थियो। उनी शिक्षिका पेशामा आवद्ध रहेकी थिइन्। उनीहरूका पाँच सन्तान थिए। सन् १९४६ मा फ्रेरेले सामाजिक सेवा अन्तर्गत शिक्षा तथा संस्कृति विभागमा काम गरेका थिए। यही बेलामा उनले शिक्षाबाट वंचित व्यक्ति कसरी अधिकारबाट वंचित हुन्छन् भन्ने कुरामा गहन अध्ययन गरेका थिए।  सन् १९५९ मा उनले रेसिफ विश्वविद्यालयबाट डाक्टरेटको उपाधि प्राप्त गरेका थिए र त्यही विश्वविद्यालयमा शिक्षाको इतिहास तथा शिक्षा दर्शनको प्रोफेसरको रूपमा उनको नियुक्ति भएको थियो। त्यसपछि उनले विभिन्न साक्षरता सम्बन्धी कार्यक्रमहरू शुरू गरे। फ्रेरेको चिन्तनले ल्याटिन अमेरिकाको क्रान्तिकारी जनआन्दोलनलाई धेरै गहिराइसम्म प्रभावित पारेको थियो।

सन् १९५० पछि ब्राजिलमा जनआन्दोलन तीव्र भएको थियो। उनी सन् १९६१ मा रेसिफ विश्वविद्यालयको सांस्कृतिक विस्तार विभागको निर्देशक भएका थिए। त्यसपछि राष्ट्रिय साक्षरताको अभियानको माध्यमबाट फ्रेरेले आफ्ना देशका विभिन्न भागहरूमा यात्रा गरे। सन् १९६२ मा उनी सामूहिक अशिक्षाबाट मुक्तिको लागि एक शैक्षिक परियोजनामा सामेल भएका थिए।  उनले कामको समयमा उत्पीडनका विभिन्न रूपहरूलाई धेरै निकटबाट हेर्ने र परीक्षण गर्ने काम गर्नुका साथै त्यसको विश्लेषणसमेत गरे। उनले यो अभियानसँगै शोषणलाई गहिरोसँग अनुभूत गरे, बुझे र त्यसको विश्लेषण गरे।  शिक्षामा जनता र शासक  वर्गमाथि विचार गर्दै उनी के निर्षकर्षमा पुगे भने शिक्षा पनि राजनीति नै हो र जसरी राजनीति वर्गीय हुन्छ, त्यसरी नै शिक्षा पनि वर्गीय हुन्छ। शिक्षाका विभिन्न पक्षहरूमा फ्रेरेले धेरै लेखेका छन्।  सन् १९६४ मा ब्राजिललाई सेनाको एउटा समूहले नियन्त्रणमा लिएको थियो। त्यसकारण फ्रेरेको जनजागरण सम्बन्धी कार्यक्रम अगाडि बढ्न सकेन। उनलाई बन्दी बनाएर जेल हालियो। ७५ दिन जेल हालेपछि उनलाई निर्वासित गरियो। यसपछि फ्रेरेको जीवन धेरै कठिन भयो। जीवनको लगभग पन्ध्र वर्षसम्म उनले देशनिकालामा बिताए। उनी निर्वासनको क्रममा पहिले वोलिभिया गए र पछि चिली गए। त्यहाँ उनले ‘क्रिश्चियन डेमोक्रेटिक एग्रेरियन रिफर्म मुभमेन्ट’ र संयुक्त राष्ट्रको खाद्य तथा कृषि संगठनको लागि काम गरे। केही समय उनी संयुक्त राज्य अमेरिका पनि बसे।  

सन् १९६८ मा फ्रेरेको विश्व प्रसिद्ध पुस्तक ‘पेडागोजी अफ अप्रेस्ड’ पोर्चुगिज भाषामा पहिलो पटक प्रकाशित भएको थियो। सन् १९६९ मा फ्रेरेले हावर्ड विश्वविद्यालयमा आगन्तुक प्रोफेसरका रूपमा काम गरेका थिए। त्यसपछि १९७० मा उनको पुस्तक ‘पेडागोजी अफ अप्रेस्ड’ अंग्रेजी र स्पेनिश भाषामा पनि प्रकाशित भयो। उनले निर्वासनकै क्रममा ल्याटिन अमेरिकाका विभिन्न देशहरूमा, अफ्रिकन देशहरू र अन्य देशमा शिक्षा सम्बन्धी महत्त्वपूर्ण कार्यहरू गरेका थिए। यही बेला उनले जेनेभामा शिक्षा विभागको शैक्षिक सल्लाहकार भएर काम गरेका थिए। त्यसपछि उनले अफ्रिकाका पोर्चुगिज उपनिपेशहरूलाई शैक्षिक सुधारको सल्लाह दिएका थिए।

सन् १९७९ मा सैनिक शासनको अन्त्यपछि आममाफी पाएर उनी ब्राजिल फर्किएका थिए।  उनले संसारका धेरै ठाउँको भ्रमण गरेर सबै ठाउँमा साक्षरता कार्यक्रमलाई व्यवस्थित गर्नको लागि सहायता प्रदान गरे। पछि फ्रेरेले ब्राजिलको साओ पालो शहरमा शिक्षा सचिवको रूपमा काम गरे। यो शहरका मार्क्सवादी मेयरले उनलाई यो पदमा नियुक्त गरेका थिए। साउ पाउलोमा सन् १९८० देखि १९८६ सम्म उनले शिक्षा परियोजनाको सिद्धान्तकार भएर काम गरेका थिए।  ब्राजिल फर्किने वित्तिकै उनले आफ्नो प्रत्यक्ष संलग्नतामा मजदूर दलको निर्माण गरेका थिए। सन् १९८८ मा उनी संलग्न पार्टीले नगरको निर्वाचनमा जितेपछि त्यहाँको शिक्षा सचिव भएर काम गरेका थिए। उनी आफ्नो देशमा चलेको साक्षरता अभियानसँग घनिष्ठ रूपले जोडिएका थिए। जनशिक्षा अभियानमा फ्रेरेको महत्त्वपूर्ण योगदान रह्यो। सन् १९८६ मा फ्रेरेकी श्रीमतिको मृत्यु भएकोले मारिया अरौजोसँग दोस्रो विवाह गरेका थिए।  शिक्षाविद तथा दार्शनिक पाउलो फ्रेरेको सन् १९९७ को २ मईमा ब्राजिलको साओ पाउलो राज्यमा हृदयघातका कारण देहान्त भयो। उनलाई बेल्जियमले सन् १९८० मा अन्तर्राष्ट्रिय विकासको लागि राजा बलुद्दिन पुरस्कार दिएको थियो। त्यसैगरी उनलाई यूनेस्कोले शान्तिको लागि शिक्षा १९८६ पुरस्कार दिएको थियो। उनले सन् १९९२ मा अमेरिकी राज्य संगठन (OAS) ले शिक्षाको लागि ‘एन्ड्रेस बेलो इन्टर-अमेरिकन’ पुरस्कार दिएको थियो। 

पाउलो फ्रेरेका प्रमुख पुस्तकहरूमा – ‘पेडागोजी अफ अप्रेस्ड’ (१९७०), ‘कल्चरल एक्सन एण्ड फ्रिडम’ (१९७०), ‘एजुकेसन फर क्रिटिकल कन्सस्नेस’ (१९७३), ‘एजुकेशन : द प्राक्टिस एण्ड फ्रिडम’ (१९७६), ‘द पोलिटिक्टस अफ इजुकेशन’ (१९८५), ‘पेडागोजी अफ होप’ (१९९४) मुख्य हुन्। उनले अन्यसँग मिलेर पनि धेरै किताबहरू लेखेका छन्। शोरसँग मिलेर उनले ‘पेडागोजी फर लिबिरेशन’ (१९८७), एन्टोनियो फोंडेजसँग मिलेर ‘लर्निङ टु क्वेशन : ए पेडागोजी अफ लिबिरेसन’ (१९८९) र माइलेस हर्टनसँग मिलेर ‘वी मेक दि रोड वाइ वाकिङ : कन्भर्सेसन्स इन एजुकेसन एण्ड सोशल चेन्ज’ (१९९०), आदि हुन्। तर यी सबैमा उनको विश्वप्रसिद्ध पुस्तक उत्पीडितहरूको शिक्षाशास्त्र हो। यसले शिक्षाको क्षेत्रमा मात्र होइन, बरू दर्शन, विज्ञान, अर्थशास्त्र, समाजशास्त्र, राजनीति, साहित्य, शोध र आलोचना, आदि अनेकौं क्षेत्रमा संसारका मानिसहरूलाई अति धेरै प्रभावित गरेको छ।

पाउलो फ्रेरेको शिक्षा-दर्शन

फ्रेरेले शिक्षा दर्शनमा आवश्यकता पूर्तिको लागि व्यक्तिले वातावरणसँग जुन प्रतिक्रिया गर्दछ, त्यही प्रतिक्रिया नै शिक्षा हो भन्ने कुरा स्पष्ट पारेका छन्। शिक्षा व्यक्तिगत विकासको कारक हो। औद्योगिक शिक्षा एवम् व्यक्तित्व विकासमा पारस्परिक निर्भरता हुन्छ। बचपनदेखि नै हामीलाई व्यक्तित्व विकासको आवश्यकता हुन्छ। यो आवश्यकता पूर्तिको लागि हामी शिक्षा ग्रहण गर्दछौं। शिक्षा ग्रहण गरेपछि हाम्रो व्यक्तित्व विकास हुन्छ। आवश्यकताले नै हाम्रो शिक्षाको स्वरूप निर्धारण गर्दछ। शिक्षा जस्तो हुन्छ, त्यही अनुसारको व्यक्तित्वको विकास हुन्छ। त्यसरी नै व्यक्तित्व विकास अनुरूप नै हाम्रा आवश्यकताहरूको निर्माण हुन्छ।

फ्रेरेले पाठ्यक्रममा पूर्ण रूपले परिवर्तन गर्ने कुरालाई स्वीकार गरेका छन्। उनी शुरूमा धार्मिक पुस्तकहरूबाट प्रभावित भए पनि पछि कार्ल मार्क्स र उनका विचारहरूबाट धेरै प्रभावित भएका थिए। यद्यपि उनले मार्क्सका सिद्धान्तहरूलाई आलोचनात्मक दृष्टिले हेरे। मार्क्सबाट प्रभावित उनले सबै शिक्षार्थीहरूलाई मार्क्सका अनुसार सामाजिक अन्तर्विरोधहरूलाई बुझ्ने परामर्श दिए। पाउलो फ्रेरे एरिक, सार्च, माओ, फ्रोम, मार्टिन लुथर किङ जस्ता चिन्तकहरूका विचारहरूलाई पाठ्यक्रमको अंग बनाउन चाहन्थे । फ्रोन्च फेनलको पुस्तक ‘द रेचिड अफ द अर्थ’ अर्थात् संसारका अभागी मानिसबाट उनी धेरै प्रभावित भएका थिए। उनका अनुसार विद्यार्थी गणित, इतिहास, भूगोल जस्ता  विषयहरूमा असफल भएकोले गर्दा यी विषयहरूलाई सरल बनाएर पढाउनु पर्दछ।

फ्रेरेले पाठ्यक्रमको पुनर्गठनमा जोड दिएका थिए। उनका अनुसार यसको लागि दार्शनिक, कला शिक्षक, भौतिक वैज्ञानिक,  समाजशास्त्रीहरूको आवश्यकता पर्दछ। पाठ्यक्रमलाई विस्तृत र उपयोगी बनाउनको लागि उनीहरूको सहायता प्रभावकारी हुन्छ। शिक्षा, कला, नीतिशास्त्र, मानव अधिकार, खेल, सामाजिक वर्ग, भाषा, दार्शनिक विचारधारा, आदि जस्ता विभिन्न ज्ञानका शाखाहरूमा व्यापक रूपले चर्चा-परिचर्चा गरेर पाठ्यक्रमको पुनर्संरचना ठीक ढंगले गर्नुपर्दछ। पाठ्यचर्चामा अलपसंख्यकहरूको मूल्यमान्यताहरूलाई पनि सामेल गर्नुपर्दछ। फ्रेरेका अनुसार पाठ्यक्रम जड, असंवेदनशील र अनुपयोगी हुनु हुँदैन। यसलाई पूर्ण रूपले उपयोगी बनाउनुपर्दछ। प्रायः पाठ्यक्रम यसका निर्माताहरूको लाभलाई ध्यान दिएर बनाउने गरेको देखिन्छ। तर पाठ्यक्रम बनाउँदा जहिले पनि शिक्षार्थीहरूलाई ध्यानमा राखेर बनाउनुपर्दछ।

फ्रेरेका अनुसार सामान्य वर्गको लागि उपयुक्त हुने पाठ्यक्रम प्रभुत्वसम्पन्न वा धनी वर्गको लागि हितकारी नहुन सक्छ। पाठ्यक्रममा समाजवाद र साम्यवादका विचारहरूलाई अग्रणी स्थान दिनुपर्दछ। जनवादको वास्तविक स्वरूपलाई पाठ्यक्रममा सामेल गर्नुपर्दछ। तर जनवादको वर्तमान विकृत रूपलाई पाठ्यक्रममा समावेश गर्नुहुँदैन। पाठ्यक्रममा जनवादी भावनाको वास्तविक स्वरूपलाई अनिवार्य बनाउनु पर्दछ। पाठ्यक्रम जनवादी भएपछि शिक्षार्थीहरूले आफ्नो शिक्षालाई सही आकार दिनमा सक्रिय भूमिका निभाउन सक्दछन्। त्यसकारण संगठन, सहभागिता र सामाजिक परिवर्तनको विकास गर्नको लागि एक जनवादी पाठ्यक्रम महत्त्वपूर्ण हुन्छ। पाठ्यक्रमले सामाजिक र आर्थिक न्यायमा ध्यान दिनुपर्दछ। यसले धरातलीय यथार्थतालाई समेट्नुपर्दछ।

शिक्षा शिक्षार्थीहरूको जीवनको लागि प्रासंगिक र सार्थक हुनुपर्दछ। यसको लागि पाठ्यक्रम शिक्षार्थीहरूको अनुभवमा आधारित हुनुपर्दछ र यसलाई आलोचनात्मक प्रतिबिम्ब र सामाजिक परिवर्तनको विकास गर्नेगरी योजना बनाएर निर्माण गर्नुपर्दछ। पाठ्यक्रम बनाउदा सामाजिक, सांस्कृतिक र आर्थिक सन्दर्भलाई सम्बोधन गर्नको लागि विद्यार्थीसहितको योजना बनाउनुपर्दछ। पाठ्यक्रम शिक्षार्थीहरूलाई आफ्ना अनुभवहरूमाथि गम्भीर प्रतिबिम्बित गर्ने र आफ्ना वरिपरिको संसारसँग सार्थक रूपले जोडिनमा सक्षम बनाउनुपर्दछ। पाठ्यक्रम समस्यामा आधारित हुनुपर्दछ, जहाँ शिक्षार्थीहरूलाई वास्तविक संसारका समस्याहरूको पहिचान गरी त्यसलाई हल गर्नको लागि प्रोत्साहित गर्न सकियोस्। महत्त्वपूर्ण सोच, सहयोग र सक्रिय संगठनलाई विकास गर्नको लागि समस्यामा आधारित शिक्षा एक प्रभावकारी माध्यम हो।

फ्रेरेका अनुसार शिक्षण विधि शिक्षार्थीहरूलाई सशक्त बनाउने र महत्त्वपूर्ण सोच तथा सामाजिक परिवर्तनलाई विकास गर्नेगरी योजनाबद्ध ढंगले निर्माण गरिनुपर्दछ। पारम्परिक तरीका, व्याख्यानमा आधारित निर्देशन सार्थक सिकाइको लागि अप्रभावकारी र दमनकारी विधि हुन्। फ्रेरेले सबभन्दा महत्त्वपूर्ण शिक्षण विधि संवाद पद्धतिलाई मानेका छन्। यस विधि अनुसार शिक्षा सूचनाको एकतर्फी प्रसारको सट्टा शिक्षक र विद्यार्थीहरूको बीचमा बातचित हुनुपर्दछ। संवाद पद्धतिमा शिक्षक र विद्यार्थी सह-निर्माणको सहयोगी प्रक्रियामा संलग्न हुन्छन्, जहाँ उनीहरू संयुक्त रूपले ज्ञान र अर्थको निर्माण गर्दछन्। संवाद पद्धतिलाई महत्त्वपूर्ण सोच, सहयोग र सक्रिय संगठन निर्माणको विकासका लागि योजनाबद्ध गरिएको हुन्छ।

फ्रेरेका अनुसार शिक्षण सिकाइ भावनात्मक रूपले आकर्षक हुनुपर्दछ। प्रभावकारी शिक्षण वातावरणमा शिक्षार्थीहरू आफ्ना भावनाहरूसँग जोडिन र अन्यलाई सहानुभूतिको भावना विकसित गर्नको लागि प्रोत्साहित गर्न सक्छन्। सहानुमूति सहयोग र सामाजिक परिवर्तनलाई विकास गर्नको लागि एक प्रभावकारी शिक्षण वातावरण तयार गरिनुपर्दछ।

फ्रेरे प्रभुत्व सम्पन्न र शोषकहरूको विरोधी थिए। उनका अनुसार साक्षरताले त्यतिखेर अर्थ राख्दछ, जतिखेर निरक्षर व्यक्ति आफ्नो अवस्था, आफ्नो काम र संसारमा परिवर्तन ल्याउने आफ्नो क्षमतालाई लिएर सोच्न लाग्नेछन्। यही नै चेतना हो। उनीहरूलाई संसार हाम्रो हो, शोषकहरू र प्रभुत्व सम्पन्न वर्गको होइन भन्ने कुरा थाहा हुनुपर्दछ। त्यो नै वास्तविक साक्षरता हो।

फ्रेरेका अनुसार आवश्यकता पूर्तिको लागि साधनको ज्ञान हामीलाई समाजबाट नै प्राप्त हुन्छ भन्ने कुरा सर्वविदित छ। यसको साथै साधनको स्वरूपलाई पनि समाजले नै निर्धारित गर्दछ। उदाहरणतः शरीर ढाक्नका लागि हामीलाई बस्त्र साधनको ज्ञान समाजबाट नै प्राप्त हुन्छ। यसको साथै वस्त्रहरूको स्वरूपलाई पनि समाजले नै निर्धारित गर्दछ। जस्तो कि ग्रामीण समाजमा सानो उमेरदेखि नै केटीहरू साडी लाउन शुरु गर्दछन् र शहरी समाजमा धेरै उमेरसम्म पनि केटीहरू स्कर्ट, जिन्स पेन्ट, आदि लुगा लाउँदछन्। समाजमा प्रत्येक कार्यको सम्पादन एक निश्चित स्तरबाट हुन्छ।

समाजमा विभिन्न कार्यहरूको लागि विभिन्न प्रकारका भिन्न स्तरका योग्यता भएका व्यक्तिहरूको आवश्यकता हुन्छ। जस्तो कि भवन निर्माण योजनामा एउटा व्यक्तिले नक्सा बनाउँदछ, अर्कोले त्यसलाई कार्यान्वयन गर्दछ। यो योजना पूरा गर्नको लागि पर्खाल बनाउने,  ढलान गर्ने, छत बनाउने, वायरिङ गर्ने, प्लम्बिङ गर्ने, रंग लगाउने, आदि विभिन्न प्रकारका कार्य गर्नेहरूको आवश्यकता हुन्छ। एउटा काम गर्ने क्षमता भएको मानिसले अर्को प्रकारको कार्य उचित दक्षतापूर्वक गर्न सक्दैन। त्यसकारण भवन निर्माण मात्र होइन, कुनै पनि योजनामा कुशल कारिगरको नै बढी आवश्यक हुन्छ। कारिगरहरूको मानसिक योग्यताको स्तर सामान्य हुन्छ। किनभने उनीहरूको आफ्नो कार्यलाई राम्रोसँग गर्नको लागि सोचविचार भन्दा कौशलको बढी आवश्यकता हुन्छ। यस प्रकारका सामान्य योग्यता भएका व्यक्तिहरूलाई विभिन्न व्यवसायहरूको प्रशिक्षण दिएर प्राविधिकहरू तयार गर्ने उद्देश्यले नै औद्योगिक प्रशिक्षण संस्थानहरूको स्थापना भएको हो। बढ्दै गएको औद्योगिकीकरणको कारण प्राविधिक शिक्षा संस्थानहरूको धेरै विकास भएको छ र भविष्यमा अझ धेरै विकास हुन्छ।

फ्रेरेका अनुसार भोक र अन्य दैनिक एवम् शारीरिक आवश्यकताहरूको पूर्ति सबैले गर्नुपर्ने हुन्छ। त्यसकारण हामीले व्यक्ति साक्षर र शिक्षित भएर आफ्ना आवश्यकताहरूको पूर्ति राम्रोसँग गर्नसकोस् भन्ने प्रयास गर्नुपर्दछ। शिक्षाद्वारा दैनिक आवश्यकता परिपूर्ति हुनुका साथै असल व्यक्तित्व निर्माण हुनुपर्दछ। मानिसले व्यवहार कुनै आवश्यकताको कारणले नै गर्दछ। मानिसका सबै क्रियाहरू सोउद्देश्यीय हुन्छन्। मानिसले गर्ने एउटा क्रियाबाट आवश्यकता पूर्ति नभएपछि उसले आफ्नो आवश्यकता पूर्तिको लागि अन्य क्रियाहरू गर्दछ। मानिसले गर्ने क्रियाबाट नै उसलाई अनुभव प्राप्त हुन्छ। यही अनुभवबाट नै उसको व्यक्तित्वको विकास हुन्छ। शुरूमा हाम्रा आवश्यकताहरू समिति हुन्छन् किनकि हाम्रो ज्ञानको क्षेत्र सीमित हुन्छ। तर हाम्रो विकास हुँदै गएपछि जानकारीको क्षेत्र पनि बढ्दै जान्छ। हाम्रा अनुभवहरूमा विविधता आउँदछ। ज्ञानमा वृद्धि भएको कारणले हाम्रा आवश्यकताहरूको क्षेत्रमा पनि वृद्धि हुन्छ। यी वृद्धि भएका आवश्यकताहरूको पूर्ति गर्नको लागि हाम्रा अनुभवहरूमा वृद्धि हुन्छ। यसको परिणामस्वरूप हाम्रो व्यक्तित्वको विकास हुन्छ। जस्तो कि शुरूमा हामी अक्षर-ज्ञान सिक्दछौं। अक्षर सिकेपछि हाम्रो ज्ञानको क्षेत्रको विकास हुन्छ। त्यसपछि हामीलाई अझ बढी जान्ने र बुझ्ने आवश्यकता हुनजान्छ। त्यसपछि हामी भाषाज्ञान सिक्दछौं। त्यसैगरी सरल साहित्य पढ्न सिक्दछौं र यो क्रम निरन्तर चलिरहन्छ।  

आवश्यकता पूर्तिको लागि व्यक्तिमा आन्तरिक प्रवृत्तिहरूको रूपमा विद्यमान रहने प्रेरक व्यक्तित्वलाई नै आवश्यकता भनिन्छ। आवश्यकताको स्वरूप हाम्रा आन्तरिक प्रवृत्तिहरूमा निर्भर हुन्छ। प्रत्येक व्यक्तिको व्यक्तिगत आवश्यकताहरूमा अन्तर पाइन्छ। त्यसकारणले गर्दा नै व्यक्तिहरूले एउटै आवश्यकता पूर्तिको लागि फरक-फरक साधनको प्रयोग गर्दछन्। साधनहरूलाई प्रयोग गर्ने तरीका पनि फरक-फरक हुन्छ। त्यसकारण आवश्यकताको स्वरूप व्यक्तिका आन्तरिक प्रवृत्तिहरूमा निर्भर हुन्छ।

फ्रेरेका अनुसार व्यक्ति तुच्छ स्वार्थबाट ग्रसित भएर अन्यलाई क्षति पुर्याउन अलिकति पनि संकोच मान्दैन। अनेकौं मानसिक यातना र खराब परिस्थितिहरूबाट व्यक्ति ग्रसित भएको हुन्छ। वैज्ञानिक प्रगति पछि पनि मानिसलाई आत्मीय शान्ति छैन। ऊ स्वनिर्मित वस्तुहरूको दास भएको छ। सामाजिक न्यायको अवधारणा विकसित हुन सकेको छैन। त्यसकारण मानवीय दृष्टिकोण संकुचित र एकाङ्की भएको छ। यही कारणले गर्दा उसले आफ्नो तुच्छ स्वार्थको लागि अरुका आवश्यकताहरूलाई बुझ्न सक्दैन र अन्याय हुनजान्छ। शिक्षालयहरूमा विद्यार्थी र अध्यापकहरूका अनेकौं समस्याहरू छन्। त्यसकारण यहाँ मानवतावादी शिक्षाको अभाव रहेको छ। मानवतावादी शिक्षाद्वारा एउटा व्यक्तिले अर्को व्यक्तिलाई सौहार्द, प्रेम, दया, आदरभावको संचार गर्नेछ र सर्वत्र शान्ति र भातृत्व सिर्जना हुनेछ। यसरी फ्रेरेले मानवतावादमाथि विशेष ध्यान दिएका छन्। उनका अनुसार निरंकुश राज्य र सम्पन्न व्यक्ति किसान शिक्षित होस् भन्ने चाहँदैनन्। शिक्षाको आदर्श भनेको दलित, किसान, मजदूरहरूलाई साक्षर र शिक्षा बनाउनु हो। मानवतावादको पनि यही सन्देश हुनजान्छ। वर्तमान युग औद्योगिकीकरणको युग भएकोले मानिस यन्त्रका पूर्जाजस्तै भएको छ। यसले गर्दा विद्रोहको भावना संचार भयो। शहरीरकरण र औद्योगिकीकरणको परिणामस्वरूप मानिसमा दुःख, कष्ट र हैरानी तीव्र रूपमा बढेको छ। मानवतावाद कल्पनामा होइन, बाह्य जगतमा अस्तित्वमान हुन्छ। यो विचार, शुभाकांक्षा एवम् सद्भावनाहरूले ओतप्रोत हुन्छ। त्यसकारण शिक्षाको उद्देश्य मानवतावदको विकासमा आधारित हुनुपर्दछ।

फ्रेरेका अनुसार मानव हुनुको अर्थ अन्य र संसारसँग सम्बन्ध राख्नु हो। संसारसँग मानिसको सम्बन्ध विभिन्न प्रकारका हुन्छन्। पर्यावरणका धेरै भिन्न चुनौतीहरूको विरुद्ध संघर्ष गर्ने कुरा होस् वा अरू जुनसुकै प्रकारका चुनौती हुन्, मानिसको एकै प्रकारको रूप हुँदैन। मानिसहरूले आफूलाई संगठित गर्दछन्, सर्वोत्तम प्रत्युत्तरलाई चुन्दछन्, आफ्नो परीक्षण गर्दछन्, क्रिया गर्दछन् र परिवर्तित हुन्छन्। उनीहरूले यो सबै कार्य सचेतन रूपले गर्दछन्, जस्तो कि कुनै व्यक्तिले समस्यासँग लड्नको लागि कुनै उपकरणको प्रयोग गर्दछ। मानिसले आलोचनात्मक तरीकाले आफ्नो संसारसँग सम्बन्ध बनाउँदछन्। यही चिन्तनको माध्यमबाट आफ्नो वस्तुपरक वास्तविकतालाई खोज्दछन्। र, आलोचनात्मक बोधको क्रियामा मानिसले आफ्नो लौकिकतालाई खोज्दछन्। मानव संस्कृतिको इतिहासमा समयको आयामको खोज उसको आधारभूत खोजमध्ये एक हो। अनभिज्ञ संस्कृतिमा स्पष्ट रूपमा अनन्त समयको भारले मानिसहरूलाई आफ्नो लौकिकताको चेतनासम्म पुर्याउन र यसरी आफ्नो ऐतिहासिक स्वरूपको बोधबाट रोक्यो।

मानिस कालमा अस्तित्वमान हुन्छन्। उनीहरू भित्र र बाहिर हुन्छन्। उनीहरू उत्तराधिकारमा प्राप्त हुन्छन्। मानिस स्थायी ‘आज’ मा कैद हुँदैनन्,  उनीहरू पुनः आएर लौकिकता प्राप्त गर्दछन्। मानिस कालमा आइसकेपछि लौकिकता खोज्दछन् र स्वयंलाई मुक्त गर्दछन्, त्यसपछि संसारसँग उनीहरूको सम्बन्ध परिणामले युक्त हुन्छन्। संसारभित्र र संसारसँग मानिसहरूको सामान्य भूमिका तटस्थ हुँदैन। उनीहरू प्राकृतिक क्षेत्रसम्म सीमित हुँदैनन्, बरू सृजनात्मक आयाममा पनि भाग लिन सक्दछन्। त्यसकारण वास्तविकतालाई बदल्नको लागि मानिसले त्यसमा भाग लिन सक्दछन्। आर्जित ज्ञानलाई उत्तराधिकारमा प्राप्त गरी, सृजना र पुनर्सृजना गरी आफ्नो परिस्थितिसँग स्वयंलाई समेकित गरी, त्यसका चुनौतिहरूको प्रत्युत्तर दिएर स्वयंलाई वस्तुपरक बनाएर,  विवेकपूर्ण र अन्तर्ज्ञात भएर मानिस यस्तो क्षेत्रमा प्रवेश गर्दछन्, जुन पूर्ण रूपले उनीहरूको हुन्छ – त्यो क्षेत्र इतिहास र संस्कृतिको क्षेत्र हुन्छ।

शिक्षार्थीले जुन ज्ञान प्राप्त गर्दछ, त्यसबाट ऊ शक्तिसम्पन्न हुनुपर्दछ भन्ने कुरा फ्रेरेको शैक्षिक विचारको मूल मान्यता हो। फ्रेरेका अनुसार शिक्षण विधि सिक्नेले आफ्ना जिन्दगीका अनुभवबाट ढाटा हुनेखालको हुनुहुँदैन। सिक्नेलाई शिक्षाले उसको भाषा, संस्कृति र परम्परालाई निषेध गर्दछ भन्ने लाग्नु हुँदैन। यसरी फ्रेरेले मानवतावादी दृष्टिकोणलाई सबैको सामु राख्दै शैक्षिक दर्शनलाई प्रगति प्रदान गर्न परम्परा र संस्कृतिको विकासको कुरा गरेका छन्।

फ्रेरेका अनुसार शिक्षण संस्था बाहिर पनि शैक्षिक प्रक्रिया संभव हुन्छ। उनका अनुसार शिक्षा प्रणालीको माध्यमबाट शिक्षार्थीमा आलोचनात्मक चेतना विकसित गरी सामाजिक न्याय केन्द्रित क्रान्तिबाट शोषणको अन्त्य हुनजान्छ। फ्रेरेका अनुसार – शिक्षामा सर्वाधिका समस्याहरूको उठान गर्नुपर्दछ। शिक्षाको पाठ्यक्रम लचिलो हुनुपर्दछ। शिक्षक अविभावकत्व बोध हुने खालको हुनुपर्दछ र उसले विवेकीकरणको माध्यमबाट व्यक्तिलाई मानवीयकरण गर्नुपर्दछ। शिक्षा व्यक्तिलाई वस्तु भन्दा पनि मानव इकाई मान्ने हुनुपर्दछ। शिक्षण प्रक्रियालाई मनोवैज्ञानिकताले समृद्ध गर्नुपर्दछ। सिकाई प्रक्रियालाई कृत्रिमताको भ्रमबाट यथार्थको धरातलमा ल्याउनु पर्दछ। अनौपचारिक शैक्षिक गतिविधिहरूलाई शैक्षिक रूपले धेरै प्रभावशाली बनाउनुपर्दछ। शिक्षाको माध्यमबाट सामाजिक रूपान्तरण गर्नुपर्दछ।

फ्रेरेका अनुसार शिक्षकको भूमिका सिक्ने माहौलको निर्माण गर्नु हो, जसले शिक्षार्थीहरूलाई सशक्त बनाउँदछ र सामाजिक परिवर्तनलाई बढावा दिन्छ। शिक्षणको लागि पारम्परिक दृष्टिकोण दमनकारी र अप्रभावकारी भएकोले शिक्षकले शिक्षणको लागि बढीभन्दा बढी सहभागी र संवादात्मक दृष्टिकोण अपनाउनु पर्दछ। शिक्षकले कुनै प्राधिकारी व्यक्तिको रूपमा  होइन, सिकाइको सहायको रूपमा कार्य गर्नुपर्दछ। समस्या उत्पन्न गर्ने शिक्षणमा शिक्षकले विद्यार्थीहरूलाई आफू स्वयंलाई प्रश्न सोध्न र वरिपरिको संसारको आलोचनात्मक विश्लेषण गर्नको लागि प्रोत्साहित गर्दछ। त्यसरी नै विद्यार्थीले केवल शिक्षकबाट जानकारी प्राप्त गर्नुको सट्टा उनीहरूलाई प्रश्न गर्नको लागि प्रोत्साहित गरिनुपर्दछ। शिक्षकको भूमिका उत्तर दिनुको सट्टा सिक्ने प्रक्रियालाई सुगम बनाउनु हुन्छ। शिक्षकले विद्यार्थीहरूलाई महत्त्वपूर्ण सोचमा संलग्न हुन र संसारको आफ्नो बुझाइलाई विकसित गर्नको लागि प्रोत्साहित गर्नुपर्दछ।

फ्रेरेका अनुसार शिक्षक र शिक्षार्थी बीचको सम्बन्ध शिक्षाको महत्त्वपूर्ण पक्ष हो। शिक्षक र शिक्षार्थी बीचमा पारंम्परिक सत्तावादी सम्बन्ध दमनकारी र अप्रभावकारी थियो। त्यसैले बढीभन्दा बढी समतावादी र संवादात्मक समबन्ध आवश्यक हुन्छ। शिक्षक र विद्यार्थीको बीचको सम्बन्ध सत्तावादीको सट्टा बराबरीको हुनुपर्दछ। शिक्षक र शिक्षार्थीले सिक्ने माहौललाई सशक्त र जनवादी बनाउनको लागि सहयोगात्मक ढंगले काम गर्नुपर्दछ। शिक्षकले शिक्षार्थीको दृष्टिकोण र अनुभवहरूलाई महत्त्व दिनुपर्दछ र समस्या पैदा गर्ने पाठ्यक्रम बनाउनको लागि उनीहरूसँग काम गर्नुपर्दछ। आपसी सम्मान र विश्वास शिक्षक-शिक्षार्थी सम्बन्धको आवश्यक घटक हो। शिक्षकले शिक्षार्थीको स्वायत्तता र संगठनको सम्मान गर्नुपर्दछ। शिक्षार्थीले मार्गदर्शन र सहायता प्रदान गर्न तथा एक सुरक्षित एवम् सहायक शिक्षण वातावरण बनाउनको लागि शिक्षकमाथि भरोसा गर्नुपर्दछ।

फ्रेरेका अनुसार शिक्षाको अवधारणाको आधार विस्तृत मानवतावादी लक्ष्य अनुरूप हुनुपर्दछ। यसको मूल उद्देश्य मानवतापूर्ण व्यक्तित्वको सर्वाङ्गीण विकास हुनुपर्दछ। यद्यपि अहिलेको शिक्षा ज्ञान केन्द्रित नभएर धन केन्द्रित छ। फ्रेरेका अनुसार औद्योगिक समाजले शिक्षालाई संकीर्ण शैक्षिक लक्ष्यतिर मोडिदिन्छ। शिक्षामा व्यक्ति र समाजलाई बदल्ने क्षमता हुनुपर्दछ। शिक्षामा संसारलाई बदल्नसक्ने क्षमता हुन्छ। शिक्षा खासगरी उत्पीडित जनसमुदायहरूको लागि संसार बदल्ने हतियार हो। शिक्षा सामाजिक परिवर्तनको उपकरण भएकोले यसले व्यक्तिलाई यथास्थितिलाई चुनौती दिन र एक न्यायसंगत समाज बनाउने दिशामा काम गर्न सक्षम बनाउँदछ।

फ्रेरेका अनुसार व्यक्तिगत स्वतन्त्रता र सामाजिक न्याय प्राप्त गर्नको लागि शिक्षा महत्त्वपूर्ण हुन्छ। शिक्षाले व्यक्तिलाई उनीहरूको संगठनको पहिचान गर्न र उनीहरूको स्वतन्त्रतालाई सीमित गर्ने सामाजिक र आर्थिक संरचनामा नियन्त्र पाउने दिशामा काम गर्नको लागि सशक्त बनाउँदछ। उनका अनुसार शिक्षाले व्यक्तिहरूलाई आत्म-जागरूक बनाउने काम गर्दछ। उनका अनुसार शिक्षाको माध्यमबाट महत्त्वपूर्ण साक्षरताको विकास गर्नुपर्दछ, जहाँ शिक्षार्थीले आलोचनात्मक र चिन्तनशील ढंगले आफ्नो वरिपरिको संसारलाई पढ्न, बुझ्न र व्याख्या गर्न सक्षम हुन्छन्। महत्त्वपूर्ण साक्षरताबाट व्यक्तिहरू सामाजिक असमानताहरूलाई चुनौती दिन र न्यायपूर्ण समाज बनाउने दिशामा काम गर्नमा सक्षम हुनेछन्। शिक्षाले व्यक्तिहरूलाई स्वयंको विशेषाधिकारलाई पहिचान गर्न र सामाजिक असमानताहरूलाई बलियो बनाउने संरचनालाई ध्वस्त गर्ने दिशामा काम गर्नलाई सक्षम बनाउनु पर्दछ। शिक्षाले व्यक्तिलाई पूर्ण रूपले मानव बन्न र न्यायपूर्ण तथा न्यायसंगत समाज बनाउने दिशामा काम गर्न सक्षम बनाउनुपर्दछ। शिक्षाले आलोचनात्मक मूल्याङ्कनको विकास गर्नुपर्दछ। यसबाट शिक्षार्थीहरूले आफ्ना अनुभवहरू र तिनीहरूलाई आकार दिने सामाजिक संरचनाहरूमा गम्भीर रूपले प्रतिबिम्बिधत गर्नमा सक्षम हुन्छन्।

ज्ञान एक गतिशील र निरन्तर विकसित हुने प्रक्रिया हो, जसलाई शिक्षार्थी र शिक्षकहरूको बीचमा संवादको माध्यमबाट सहसृजित गरिनुपर्दछ। फ्रेरेका अनुसार शिक्षार्थीहरूले आफ्नो वरिपरिको संसारमा गम्भीर रूपले प्रतिबिम्बित गर्ने र समस्या समाधान एवम् सामाजिक परिवर्तनमा सक्रिय रूपले संलग्न हुनको लागि प्रोत्साहित हुने शिक्षा प्रणाली आवश्यक हुन्छ। शिक्षाको यो दृष्टिकोणले शिक्षार्थीहरूलाई ज्ञानको निस्क्रिय प्राप्तिकर्ताको सट्टा परिवर्तनको सक्रिय कर्ता बनाउनको लागि सशक्त  भूमिका खेल्दछ। शिक्षाले सामाजिक न्याय र असमानताका मुद्दाहरूमा सशक्त ढंगले प्रतिबिम्बित हुनुपर्दछ। शिक्षाद्वारा संवाद र सहयोगको माध्यमबाट शिक्षार्थीहरूलाई उनीहरूले सामाजिक समस्याहरूको लागि आफ्ना समस्याहरू समाधान गर्दै अधिक न्यायसंगत समाज बनाउने दिशामा काम गरून् भन्ने कुरामा प्रोत्साहित गरिनुपर्दछ। शिक्षा सामाजिक परिवर्तनको उपकरण हुनुपर्छ।

पाउलो फ्रेरेका अनुसार जब कुनै शोषित व्यक्ति मुक्त हुने कोशिस गर्दछ, तब शोसकले उसलाई धेरै बाधा पुर्याउँदछ। समाजको ठूलो हिस्सा शोषकको दिमागले राख्दछ, जसको कारणले तानाशाहीलाई बल मिल्छ। फ्रेरेका अनुसार शिक्षामा मानिसहरूको अनुभवलाई सामेल गर्नुपर्दछ। मानिसहरूसँग संवाद गर्नु आवश्यक हुन्छ। प्रभुत्वमा काम गर्नु हुँदैन। उनका अनुसार शिक्षाको बैंकिङ प्रणाली अन्याय र अत्याचारको जड हो। यस अनुसार शिक्षार्थीहरूलाई शिक्षकहरूले जानकारीले भरिएका निस्क्रिय पात्रको रूपमा हेर्दछन्। शिक्षाको लागि यो दृष्टिकोणले सामाजिक असमानतालाई बलियो बनाउँदछ र शिक्षार्थीहरूलाई उनीहरूका संस्था तथा स्वयं आफूलाई सिक्ने क्षमताको पहिचानमा असफल बनाउँदछ।  शिक्षाको काम मनुष्यतालाई बहाल गर्नु हो। नयाँ-नयाँ उत्पीडकहरूबाट उत्पीडित सावधान हुनु हो। फ्रेरेका अनुसार नेता अथवा शिक्षक त्यसलाई भन्न सकिन्छ, जसले समाजमा नयाँ चेतना पैदा गर्नेछ।

फ्रेरेले परम्परावादी शिक्षण प्रणालीलाई “शिक्षाको बैंकिङ अवधारणा” को रूपमा उल्लेख गरेका छन्। यो प्रणालीमा शिक्षालाई ज्ञानको संकलनकर्ताको रूपमा र शिक्षार्थीलाई निस्क्रिय प्राप्तकर्ताको रूपमा हेरिन्छ। शिक्षकले शिक्षार्थीको दिमागमा जानकारी जम्मा गर्दछ र के आशा गरिन्छ भने शिक्षार्थीले यो जानकारी स्मरण गर्नेछ र फेरि जम्मा गर्नेछ।  फ्रेरेका अनुसार यो दृष्टिकोण दमनकारी र अप्रभावकारी हुन्छ। शिक्षाको बैंकिङ प्रणालीमा शिक्षक एक प्राधिकारी व्यक्ति हुन्छ, जसले निस्क्रिय शिक्षार्थीहरूलाई ज्ञान प्रदान गर्दछ। शिक्षकलाई त्यो विशेषज्ञको रूपमा हेरिन्छ, जोसँग सबै उत्तर हुन्छन् र विद्यार्थीहरूबाट के अपेक्षा गरिन्छ भने उनीहरू शिक्षकले जे बताए पनि त्यसलाई सजिलैसँग प्राप्त गर्न सक्छन् र स्मरण गर्न सक्दछन्। बैंकिङ प्रणालीमा शिक्षक सबै ज्ञानको स्रोत हुन्छ, जबकि शिक्षार्थीलाई केवल भरिने प्रतीक्षा गरिरहेको भाँडोको रूपमा हेरिन्छ। शिक्षकलाई केवल त्यही मानिन्छ, जससँग ज्ञान दिन लायक ज्ञान हुन्छ र शिक्षार्थीबाट कुनै प्रश्न नगरीकन यसलाई स्वीकार गर्ने अपेक्षा गरिन्छ। बैंकिङ प्रणालीमा शिक्षक बोलिरहन्छ र शिक्षार्थी चुपचाप रहेर ध्यानपूर्यक सुनिरहन्छ। यसमा शिक्षकलाई बोल्ने अधिकार छ, जबकि शिक्षार्थी चुप लागेर आज्ञाकारी रहनुपर्दछ। यो प्रणालीमा शिक्षकले सिक्नलायक के छ भन्ने कुरा तय गर्दछ र शिक्षार्थीले कुनै प्रश्न नगरीकन यसलाई स्वीकार्दछन्। शिक्षकले के महत्त्वपूर्ण हुन्छ भन्ने कुरा जान्दछ, जबकि शिक्षार्थी शिक्षकका निर्णयहरूको निस्क्रिय प्राप्तकर्ताको रूपमा रहेको हुन्छ। फ्रेरेका अनुसार यसको विरूद्ध संवादात्मक र समस्या उत्पन्न गर्ने दृष्टिकोण आवश्यक हुन्छ। फ्रेरेका अनुसार शिक्षाको बैकिङ अवधारणाले शिक्षार्थीको रचनात्मक शक्तिलाई दमन गर्दछ र शिक्षा तथा ज्ञानको प्रश्नोत्तर प्रक्रियालाई नकार्दछ। यो दृष्टिकोणले समाजमा विद्यमान शक्ति संरचनाहरूलाई कायम राख्दछ र उत्पीडित समूहहरूलाई किनारा लाग्नको लागि विवश बनाउँदछ। त्यसैले शिक्षाको जानकारी जम्मा गर्ने प्रक्रियाको सट्टा सोधपुछ र संवादको प्रक्रियामा हुनुपर्दछ।

फ्रेरेले शिक्षालाई समस्या पैदा गर्ने दृष्टिकोणको रूपमा वकालत गरेका छन्। उनका अनुसार शिक्षक र शिक्षार्थी एक पाठ्यक्रम बनाउनको लागि सहयोगी रूपमा काम गर्नेछन्, जुन विद्यार्थीका अनुभव र रूचिमा आधारित हुन्छ। यो दृष्टिकोणमा शिक्षक र विद्यार्थी एक संवादमा संलग्न हुन्छन् र सम्मानजनक एवम् पारस्परिक रूपले सहायक हुन्छन्। शिक्षकले विद्यार्थीलाई प्रश्न सोध्न, गम्भीर रूपले सोच्न र स्व-निर्देशित रूप सिक्नको लागि प्रोत्साहित गर्दछ। समस्या पैदा गर्ने शिक्षाले महत्त्वपूर्ण सोच, सक्रिय शिक्षा र शिक्षार्थी सशक्तीकरणमा जोड दिन्छ। यो दृष्टिकोण अनुसार शिक्षक केवल निस्क्रिय शिक्षार्थीहरूलाई ज्ञान प्रदान गर्दैन, बरू उनीहरू आफ्ना शिक्षार्थीसँग संवाद गर्दछन्, प्रश्न सोध्दछन् र सामग्रीको बारेमा गहिराइपूर्वक सोच्नको लागि उनीहरूलाई चुनौती दिन्छन्। यस दृष्टिकोण अनुसार शिक्षकले शिक्षार्थीहरूलाई कुनै विषयमा केवल व्याख्यान दिनुको सट्टा हल गर्नको लागि समस्याहरू दिन्छन्। यी समस्याहरू मुक्त प्रश्नहरूले वास्तविक संसारका परिदृश्यहरू वा अन्य प्रकारका चुनौतीहरूका रूप लिन सक्दछन्, जसको लागि शिक्षार्थीहरूले रचनात्मक र गम्भीर रूपले सोच्ने आवश्यकता हुन्छ। यो दृष्टिकोण अनुसार शिक्षक र शिक्षार्थी आउने समस्याहरूको समाधान खोज्नको लागि मिलेर काम गर्नेछन्। यो सहयोगात्मक प्रक्रियाले विद्यार्थीहरूलाई स्वयं सिक्नमा सक्रिय भूमिका निभाउनको लागि प्रोत्साहित गर्दछ र उनीहरूको महत्त्वपूर्ण सोच र समस्यालाई समाधान गर्ने कौशललाई विकसित गर्नमा सहयता गर्दछ। समस्या पैदा गर्ने दृष्टिकोण अनुसार शिक्षार्थी सिक्ने प्रक्रियामा सामेल भएपछि मात्र सबभन्दा राम्रोसँग सिक्दछ र शिक्षार्थीलाई सिक्ने अवसर दिएपछि आफ्नो क्षमतामा ज्ञान निर्माण गर्दछन्। समस्याहरूलाई हल गर्नको लागि सहयोगात्मक रूपले काम गरेपछि शिक्षार्थी सूचनाको निस्क्रिय प्राप्तकर्ताको सट्टा स्वयंलाई सिकाइ प्रक्रियाको भागिदार बनाउँदछन्। त्यसकारण शिक्षार्थीहरूमा महत्त्वपूर्ण सोच-कौशलको विकासलाई वृद्धि गर्नको लागि समस्या-निर्माण दृष्टिकोण अत्यन्तै प्रभावकारी हुन्छ। मुक्त प्रश्नहरू प्रस्तुत गरेर र जटिल मुद्दाहरूको बारेमा गहिराइपूर्वक सोच्नको लागि प्रोत्साहित गरेर यो दृष्टिकोणले शिक्षार्थीहरूलाई जानकारीको विश्लेषण, मूल्याङ्कन र संश्लेषण गर्ने क्षमता विकास गर्नमा मद्दत गर्दछ।

फ्रेरेका अनुसार मानवीय शिक्षा त्यो मार्ग हो, जसको माध्यमबाट स्त्री र पुरूष संसारमा आफ्नो उपस्थितिको बारेमा सचेत हुन सक्दछन्। यसबाट स्पष्ट हुन्छ, शिक्षाले व्यक्तिलाई संसारमा उनीहरूको अस्तित्व र स्थानको बारेमा जागरूक हुनमा सहयोग गर्न सक्दछ। यसबाट व्यक्तिगत विकास र सामाजिक जिम्मेवारी वृद्धि हुन्छ। मानवीय शिक्षा केवल ज्ञान र कौशल प्राप्त गर्ने मात्र होइन, यसको उद्देश्य महत्त्वपूर्ण सोच, सहानुभूति र सामाजिक जागरूकता विकसित गर्नु हो। यसले व्यक्तिहरूलाई अन्यसँग र पर्यावरणसँग तिनीहरूको अन्तर्सम्बन्धलाई बुझ्नमा सहयोग गर्दछ। जसको कारणले उनीहरू समाजमा सकारात्मक योगदान दिनको लागि सशक्त हुन सक्दछन्।

यसरी पाउलो फ्रेरेको शिक्षा-दर्शनको चिन्तनको आधारमा के भन्न सकिन्छ भने उनले जुन मूल्यमान्तामा आधारित शिक्षा प्रणालीलाई प्रस्तुत गरेका छन्, त्यो सामाजिक न्याय, शोषणविहीन एवम् मानवतावादी श्रेष्ठ मूल्यमान्यतामा आधारित छ। यो शोषणविहीन समाजको स्थापनाको लागि श्रेष्ठतम् छ। पाउलो फ्रेरेको शैक्षिक-दार्शनिक चिन्तनबाट के निष्कर्ष निकाल्न सकिन्छ भने उनले शिक्षा एवं व्यक्तिको जीवनको गुणात्मकतालाई एक-अर्कोको पर्याय मानेका छन्। यसको तात्पर्य के हो भने फ्रेरेले व्यक्तिको सर्वोच्च नैतिकताको विकासको उपकरणको रूपमा सार्वभौमिक मानवीय नवीन मूल्यलाई स्वीकार गरेका छन्। यसरी पाउलो फ्रेरेले स्वावलम्बी, सच्चरित्रवान, विनयशील, करूणायुक्त, दयावान, शोषणविहीन मानव समाजको निर्माण सही शिक्षाले गर्न गर्न सक्दछ भन्ने कुरा स्पष्ट पारे। फ्रेरेका अनुसार शिक्षा पनि एक राजनीति हो। किनकि शिक्षा बिना राजनीतिक क्रान्ति हुन सक्दैन। यद्यपि यसको उद्देश्य भने कसरी व्यक्तिको विवेकीकरण एवम् मानवीयकरण गर्ने भन्ने हुनुपर्दछ। फ्रेरेका अनुसार शिक्षालाई मुक्त र सशक्त बनाउनु पर्छ, जसबाट व्यक्तिले आफ्ना सामाजिक र राजनीतिक सन्दर्भहरूको आलोचनात्मक विश्लेषण गर्न सकोस्।  फ्रेरेका अनुसार शिक्षाको मूल उद्देश्य नै अर्थपूर्ण संवाद एवम् सिर्जनात्मकता विकास गर्नु हो। फ्रेरे शिक्षार्थीलाई केन्द्रमा राखेर शिक्षा योजना बनाउने कुरामा जोड दिन्छन्। उनी विवेकीकरण एवम् आलोचनात्मक चेतनाको अवधारणालाई  महत्त्व दिन्छन्। फ्रेरे शिक्षामा आमूल परिवर्तन चाहन्छन्। उनी शिक्षा प्रणालीको माध्यमबाट शिक्षार्थीहरूमा आलोचनात्मक चेतनाको विकास गरी सामाजिक न्याय केन्द्रित गर्दै शोषणमुक्त समाज निर्माण गर्नको लागि क्रान्ति गर्नुपर्ने कुरामा जोड दिन्छन्। यसरी नै उनी अनौपचारिक शैक्षिक गतिविधिहरूलाई पनि शैक्षिक रूपमा प्रभावकारी बनाउने र शिक्षाको माध्यमबाट सामाजिक रूपान्तरण गर्ने प्रयास गर्नुपर्ने कुरामा विशेष जोड दिन्छन्। फ्रेरेका अनुसार शिक्षा तटस्थ नभएर यसले कि उत्पीडनलाई बढावा दिन्छ कि उत्पीडनमा परेकालाई मुक्त गर्दछ । त्यसकारण शिक्षाको मुख्य उद्देश्य उत्पीडनमा परेकालाई मुक्त गर्ने हुनुपर्दछ।

सन्दर्भ सामग्रीहरू

  1. Pedagogy of the Oppressed, Paulo Freire, Translated by Myra Bergman Ramos With an Introduction by Donaldo Macedo Continuum, New York, London.
  2. PAULO FREIRE,  PEDAGOGY OF HOPE, Reliving Pedagogy of the Oppressed With Notes by Ana Maria Araujo Freire, Translated by Robert R. Barr, Thomas J. Bata Library, CONTINUUM • NEW YORK
  3. Educational For Critical Consciousness, Paulo Freire, Contimuum, London. New York
  4. PEDAGOGY IN PROCESS The Letters to Guinea-Bissau, PAULO FREIRE, TRANSLATED BY C A R M A N ST. J 0 H N H U N T E R, CON TINUUM · NEW YORK
  5. The politics of education : culture, power, and liberation, South Hadley, Mass. : Bergin & Garvey
  6. Pedagogy of Freedom – Ethics. Democracy. And Civic Courage, Paulo Freire
  7. Study and Research of Various website and blogs
  8. उत्पीडितों का शिक्षाशास्त्र, पाओलो फ्रेरे, हिन्दी, अनु. रमेश उपाध्याय, ग्रन्थावली प्रकाशन, दिल्ली
  9. उम्मीदों का शिक्षाशास्त्र, पाओलो फ्रेरे, हिन्दी, अनु. विपिन, ग्रन्थावली प्रकाशन, दिल्ली


2 responses to “पाउलो फ्रेरे र उनको शिक्षा-दर्शन”

  1. Never a truer word has been spoken!

    Liked by 2 people

Leave a comment

About Me

I am a student of philosophy and nature. I thoroughly research all subjects and summarize them in Nepali and English. I am Secretary of Marxism Study-Research Academy, Nepal. I am a Social Worker. Education – i) Master of Arts Degree in Political Science – TU, ii) Master of Public Administration Degree – TU, iii) Master of Arts Degree in History-TU, iv) Master of Arts Degree in Nepalese History Culture and Archaeology-TU.

म अध्ययन-अनुसन्धान कार्यमा निस्वार्थ भावले निरन्तर लागेको एक वाम विचारधारायुक्त सामाजिक कार्यकर्ता हुँ। मेरो कुनै पनि राजनीतिक दलसँग संलग्नता नरहेको जानकारी गराउँदछु। मेरा हरेक अध्ययन-अनुसन्धान कार्य शोषण, दमन, अन्याय, अत्याचारका विरुद्ध हुनेछन् । आम श्रमजीवी, भोका-नांगा, गरीब, उत्पीडित जनसमुदायहरूलाई सुशिक्षित गर्ने प्रयत्न मेरो कर्तव्य हुनजान्छ । मेरा सबै कार्य जनहितका लागि हुनेछन् भन्ने आशा तथा विश्वासपूर्वक मैले निरन्तर कार्य अगाडि बढाइरहेको हुनेछु। श्रमप्रति सम्मान र शोषणप्रति घृणा नै मेरा कार्यका उद्देश्य हुनेछन्।  

यहाँ तपाईंहरू सबै प्रकारका सामग्रीहरू अध्ययन गर्न र हेर्न पाउनुहुनेछ । अध्ययन गर्नको लागि रूचियुक्त सामग्रीहरू माग गर्नुभयो भने यथासंभव परिपूर्तिसमेत गरिनेछ । यहाँ लेखरचना, पत्रपत्रिका, म्यागजिन,  जर्नल, विभिन्न पुस्तकहरू (नेपाली, अंग्रेजी र हिन्दी भाषामा), डकुमेन्ट्री, फिल्म, आदि सामग्रीहरू खोजेर पढ्न तथा हेर्न सक्नुहुन्छ।

I am a leftist social worker who is selflessly engaged in research work. I inform you that I am not affiliated with any political party. Every study-research work of mine will be against exploitation, oppression, injustice and tyranny. It is my duty to try to educate the common workers, the hungry, the poor, the oppressed masses. I will continue my work with the hope and confidence that all my work will be for public interest. Respect for labor and hatred for exploitation will be the objectives of my work.

Here you will find all kinds of content to study and watch. If you demand for interesting materials to study, they will be provided as much as possible. Here you can search and read articles, newspapers, magazines, journals, various books (in Nepali, English and Hindi languages), documentaries, films, etc.

श्रमको सम्मान गर्नुभएकोमा धन्यवाद ।

Thank you for respecting the labor.

Newsletter

Marxism-मार्क्सवाद

Communist history

Philosophy-दर्शन

लेनिन-LeninLeninism

दस्तावेज-documents

धर्म-दर्शन

त्रिपिटक–बुद्ध

गीता सार

Politics–राजनीति

ग्रन्थ परिचय

Mao-Maoism

साहित्य- literature

जीवनी-biography

साम्यवाद-communism

युवाबारे-On Youth

कार्ल मार्क्स–Karl Marx

फ्रेडरिक एंगेल्स–F. Engels

भी.आइ.लेनिन–V.I.Lenin

जे. भी. स्टालिन – J.V. Stalin

माओत्सेतुङ – Maotsetung

डिजिटल पुस्तकालय (digital library)

ई-पुस्तकालय -e-library

विज्ञान-प्रविधि (Science-Technology)

सामान्य ज्ञान (GK)

Documentaries and YouTube channels

पुस्तकालय – LIBRARY

नेपाली डिजिटल पुस्तकहरू (Nepali Digital Books)

नेपाली न्यूजपेपर, म्यागजिन र अनलाइन पत्रपत्रिकाहरू (Nepali Newspapers, Online and Nepali Magazines)

English Digital Books : Part – 1 (world communist special books)

English Digital Books : Part – 2

English Digital Books : Part – 3

हिन्दी डिजिटल पुस्तक (Hindi digital Books) भाग – १

हिन्दी डिजिटल पुस्तक (Hindi digital Books) भाग – २

हिन्दी डिजिटल पुस्तक (Hindi digital Books) भाग – ३

हिन्दी डिजिटल पुस्तक (Hindi digital Books) भाग – ४

हिन्दी डिजिटल पुस्तक (Hindi digital Books) भाग – ५

Documentaries and YouTube channels

Uncategorized

ENGLISH SECTION

Design a site like this with WordPress.com
Get started