हरारीको प्रसिद्ध पुस्तक ‘२१औं शताब्दीको लागि २१ पाठ’  को एक अध्ययन

✍– नारायण गिरी

‘२१औं शताब्दीको लागि २१ पाठ’ (21 lessons for the 21st century) जेरूसेलमको हिब्रू विश्वविद्यालयका इजरायली प्रोफेसर युवाल नोहा हरारीले लेखेको एक चर्चित पुस्तक हो। उनले यो भन्दा पहिले चर्चित दुई  पुस्तक सेपियन्स र होमो डेयस लेखेर व्यापक प्रसिद्धि प्राप्त गरेका थिए। हरारीले २१औं शताब्दीको लागि २१ पाठबाट आफ्नो ध्यान वर्तमानतिर लगाएका छन्। यो पुस्तक सन् २०१८ मा प्रकाशित भएको थियो। यसले आउने दशकहरूमा मानवतालाई प्रभावित गर्ने महत्त्वपूर्ण सामाजिक समस्याहरूको खोजी गर्दछ। यो पुस्तक विश्वव्यापीकरण, प्रविधि, जलवायु परिवर्तन र सांस्कृतिक संघर्षको एक लामो प्रतिबिम्ब हो। यो पुस्तकले अनलाइन संसारमा सूचनाको प्रचुरता र आजका विश्वव्यापी एजेण्डाहरूमा सबभन्दा आवश्यक प्रश्नहरूको उल्लेख गर्दछ। यसमा युद्ध, शैक्षणिक विशेषज्ञतादेखि लिएर ध्यान, रूचिकर अवकाश गतिविधिसम्म सबै कुरा समेटिएको छ। यो पुस्तकको उद्देश्य मानवता कहाँसम्म पुगेको छ र कहाँसम्म जानसक्दछ भन्ने कुरा स्पष्ट पार्नु हो। यसमा फर्जी समाचार जस्ता अति-सामयिक चिन्ताहरू र सत्तावादीहरूको उदय तथा जैविक र सामाजिक विकासको सन्दर्भ उल्लेख गरिएको छ। यो पुस्तकका २१ अध्यायहरूमा आजका २१ ठूला प्रश्नहरूको सामना गर्ने कुरा उल्लेख गरिएको छ। अप्रत्यासित विचारहरूलाई एकसाथ आश्चर्यकचकित ढंगले टिप्पणीमा बदल्ने हरारीको क्षमता यहाँ पनि प्रकट भएको देखिन्छ। यहाँ धेरै सन्दर्भहरूलाई सटिक ढंगले उल्लेख गरिएको छ, जसमा – १५औं शताब्दीमा चीनमा जीवन धेरै धीमा गतिमा थियो तर अहिले परिवर्तनको गति अजेय देखिन्छ। धर्म खराब हुनसक्दछ तर त्यसको आफ्नै उपयोग पनि छ। राष्ट्रवाद खराब हुनसक्दछ तर यसको आफ्नै उपयोग पनि छ। फ्याक्ट्री फार्मिङ धेरै-धेरै खराब छ। कृषि वा कुनै कारखानामा काम गर्नुको तुलनामा शिकारी-संग्रह धेरै रोमान्चक जीवनशैलीको विकल्प हो। प्राविधिक प्रगतिले धेरै ठूलो नैतिक प्रश्न ल्याउँदछ। यो पुस्तक मार्फत् हरारी बढ्दै गइरहेका असमानताहरू र कृत्रिम बौद्धिकताको उदयसँग जोडिएका सबभन्दा खराब स्थितिहरूको बारेमा चेतावनी दिन्छन्। उनका भविष्यवाणीहरू मानवतालाई यथाशीघ्र आफ्नो हितमा कार्य गर्नको लागि विवश बनाउनको लागि हो भन्ने देखिन्छ।

हरारीको मुख्य प्रश्नलाई यो पुस्तकमा एक अध्याय शीर्षकमा वर्णन गरिएको छ। “तपाईं छटपटाहटको युगमा कसरी जिउनुहुन्छ, जबकि पुराना कहानीहरू ध्वस्त भएका छन् र तिनीहरूको ठाउँ लिनको लागि अहिलेसम्म कुनै नयाँ कहानी सामुन्ने आएको छैन?” उनको तर्क अनुसार धन र कानून जस्ता सामूहिक मिथकहरूले हामीलाई जैविक सीमाभन्दा अति धेरै विशाल, जटिल समाज बनाउने अनुमति दिएको छ। हाम्रो विश्वव्यापी संसारमा एक सुसंगत राष्ट्र-राज्यको विचार खतरामा छ। हामीसँग विश्वास गर्नको लागि के बचेको छ? लेखकका अनुसार हामीले एक नयाँ वर्ग, प्रत्येकलाई व्यक्तिगत रूपले हाम्रा आवश्यकता अनुरूप बनाएका छौं। हरारीको पुस्तकमा विकासवादी मनोविज्ञानलाई स्व-सहायताको रूपमा उपयोग गरिएको देखिन्छ। संसार एक डरलाग्दो र तीव्र रूपले बदलिने स्थान हो, त्यसकारण हाम्रो प्रशिक्षित वानर-दिमागले यसको माध्यमबाट नकारात्मक क्रियाकलापको लागि संघर्ष गर्नु कुनै आश्चर्यको कुरा होइन।

२१औं शताब्दीको लागि २१ पाठ पुस्तकको शीर्षकबाट नै के थाहा हुन्छ भने यो विषयवस्तुमा आधारित निबन्धहरूको एक खुकुलो संग्रह हो, जुन न्यूयोर्क टाइम्स, ब्लूम्बर्ग र अन्य ठाउँहरूका लेखहरूमा आधारित छ। हरारीले महत्वाकांक्षा र अप्रत्याशित विचारहरूलाई एकसाथ आश्चर्यचकित बनाउनेगरी टिप्पणीहरूमा बदलिदिएका छन्। उनले उल्लेख गरे अनुसार मानिस अत्यन्तै रचनात्मक छ, र कहिलेकाहीँ हामी उत्तर दिनुको सट्टा प्रश्नलाई बदलेर समस्याहरूको समाधान गर्दछौं। जलवायु परिवर्तनबाट रूसी अर्थव्यवस्थालाई किन लाभ हुनसक्दछ ? मानिस विभिन्न प्रजातिमा कसरी विकसित हुन सक्दछन् ? जस्ता हरारीका धेरै कुराहरू इतिहास-विस्तारित दायरामा कमजोरी देखिन्छ। यहाँ केही अवलोकन पुनर्नवीकरण गरिएको देखिन्छ। यद्यपि उनको व्यापक बयान लोभलाग्दो छ। यिनीहरू उनी आएको बौद्धिक परम्पराहरूबाट पनि अछुतो रहेको महसुस हुन्छ।

हरारीका अनुसार प्रविधिले मानिसको लागि भुक्तान गरिएको श्रमको उपलब्धतालाई कम गर्न सक्दछ, जसबाट लाखौं अतिरिक्त मानिसहरू पैदा हुनेछन्। हामी मानवीय गतिविधिहरूको सीमालाई विस्तृत गर्न सक्दछौं, जसलाई नोकरी मानिन्छ। हरारीका अनुसार शायद हामीले आफ्नो दिमागमा परिवर्तन ल्याउनु र बच्चाको हेरविचार गर्नु वास्तवममै संसारको सबभन्दा महत्त्वपूर्ण र चुनौतिपूर्ण काम हो भन्ने महसुस गर्ने आवश्यकता हुन्छ। पूँजीवादी व्यवस्थामा अवैतनिक हेरविचार गर्ने श्रमलाई कम महत्त्व दिइन्छ। हरारीका अनुसार यदि तपाईं ब्रम्हाण्डको बारेमा वास्तविकता जान्न चाहनुहुन्छ भने यसको शुरूवात गर्नको लागि सबभन्दा राम्रो ठाउँ पीडाको अवलोकन गर्नु र यो के हो भन्ने जान्नु हो।  

प्रविधि मनोरम ढंगले अगाडि बढिरहेको छ। मुख्यगरी बायो-टेक्नोलोजी (जैव-प्रविधि) र इन्फो-टेक्नोलोजी (सूचना-प्रविधि)  मिलेर कृत्रिम बौद्धकितालाई मानवीय भावना र इच्छाको नक्कल गर्न, विस्तार र पूर्वानुमान लगाउनमा सक्षम बनाइरहेका छन्। बायो-टेक्नोलोजीको उदयको अर्थ कृत्रिम बौद्धिकताले एल्गोरिदम जीवन बदल्ने निर्णय लिनेछ भन्ने हो। यही बीचमा दार्शनिक स्वचालित कार जस्ता यन्त्रहरूमा नैतिक दिशानिर्देश निर्धारित गर्नमा पनि सक्षम हुन सक्दछन्। कृत्रिम बौद्धिकताको उदयसँगै धनी आफ्नो बौद्धिक र शारीरिक क्षमतालाई बढाएर आफू र गरीबहरूको बीचमा विभाजन बढाउनमा सक्षम हुनेछन्। यसको रक्षाको एउटा तरीका समुदायहरूलाई विकसित गर्नु हुन्छ। फेसबुक जस्ता केही प्राविधिक निगमहरू विश्वव्यापी समुदायहरूलाई बढावा दिने दिशामा लागेका छन्। तर आफ्नो क्रियाकलापलाई साकार बनाउन उनीहरूले अफलाइन सामुदायिक गतिविधिहरूलाई प्रोत्साहित गर्नको लागि आफ्ना अनलाइन संशाधनहरूको उपयोग गर्नु आवश्यक हुन्छ। यसमा उनीहरूको व्यवसाय मोडलमा आमूल सुधार सामेल हुनसक्दछ।

विश्वव्यापी समुदायमा सामेल हुनुको सट्टा मानिसहरू राष्ट्रवादी बयानबाजी र धार्मिक सम्बन्धहरूको विकल्प चुन्दछन्, जसले आफ्नोपनको भावनालाई सक्षम बनाउँदछन्। धर्म र राष्ट्रवाद दुवैले विश्वव्यापी चुनौतीहरूको स्थानीय जवाफ दिन्छन्। तर राष्ट्रवादले आप्रवासन विरोधी भावनाहरूलाई जन्म दिन सक्दछ, जसले पछि आतंकवादको खतरालाई बढाइदिन्छ। यो आफ्ना दुश्मनहरूलाई ठूलो परिमाणमा नोक्सान पुर्याउनमा असमर्थ मानिसहरूद्वारा अपनाइने एक हताश रणनीति हो। आतंकवादको वर्तमान स्वरूप नगण्य छ तर भविष्यमा यसले परमाणु आतंकवादलाई जन्म दिन सक्दछ, जुन अत्यन्तै खतर्नाक हुन्छ। परमाणु विनाशको संभावनाले एक्काइशौं शताब्दीमा युद्ध वास्तवमा किन असफल भएको छ भन्ने कुरा बताउँदछ। युद्ध डाटा प्राप्त गर्नको लागि पनि धेरै उपयोगी हुँदैन। डाटा भौतिक सम्पत्तिभन्दा धेरै मूल्यवान भएको छ। विश्वव्यापी समुदायलाई बढावा दिनुको साथसाथै युद्ध र आतंकवाद दुवैबाट बच्नको लागि मानवताले अझ बढी विनम्र हुने प्रयास गर्नुपर्दछ।

सत्तामा बसेका व्यक्तिहरू अहिले पनि उनीहरूसँग वास्तविकता जान्ने विशेष साधन छन् भनेर जनतालाई विश्वास दिलाउने काल्पनिक कथाहरूको उपयोग गर्दछन्। र, उनीहरू सफल हुन्छन् किनकि मानिसले सदैव सत्यको स्थानमा कल्पनालाई प्राथमिकता दिएको छ। तर यसको अर्थ मानिसले सत्यको खोजी गर्नुहुँदैन भन्ने होइन। उनीहरूले विश्वसनीय समाचारको लागि भुक्तान गर्नुपर्दछ र वैज्ञानिक साहित्य पढ्नुपर्दछ। वैज्ञानिकहरूले आफ्नो कुरा सुनाउनको लागि हरसंभव प्रयास गर्नुपर्दछ। उनीहरूले तन्त्रिकाविज्ञानको पूरकको रूपमा ध्यानमा पनि सामेल हुनुपर्दछ। बच्चाहरूको भविष्यको लागि स्वयंलाई तयार गर्ने कुरा पनि सिक्नुपर्दछ। उनीहरूलाई भावनात्मक रूपले थकाइदिने परिवर्तनहरूको सामना गर्नको लागि लचक हुन सिकाउनुपर्दछ। उनीहरूलाई तिनीहरूको अस्तित्व असतत र क्षणभंगुर छ; उनीहरूसँग भएका विचार र भावना उनीहरूका अनुभव  हुन् भन्ने कुरा स्वीकार गर्न सिकाउनु पर्दछ। के भइरहेको छ भनेर उनीहरूलाई थाहा छ भनी मान्नुको सट्टा मानिसहरूले आफ्नो सापेक्ष अज्ञानतालाई स्वीकार्नुपर्दछ। संसार आगोको लप्कामा लपेटिरहेको छ भनेर छटपटाउनुको सट्टा उनीहरूले छटपटाहटको नरम रवैया अपनाउनुपर्दछ र मानवको सामु आउने सबै ठूला समस्याहरूलाई हल गर्नको लागि काम गर्नुपर्दछ।

पुस्तकको पहिलो अध्यायमा लेखकले मोहभंग (भ्रम) अन्तर्गत कहानी र कृत्रिम होशियारीको बारेमा व्याख्या गरेका छन्। यहाँ उनले संसारको तीव्र रूपमा परिवर्तनसँगै अनिश्चितता र भड्काव कस्तो हुन्छ भन्ने कुरा स्पष्ट बनाएका छन्। हरारीले यहाँ श्रम बजारमा प्रविधिको प्रभाव, पपुलिस्ट आन्दोलनको उद्भव र स्थापित पदानुक्रमहरू टुट्ने कुराको जाँच गर्दछन्। उनको तर्क अनुसार मानिस र समाजलाई नयाँ वास्तविकतासँग तालमेल गर्नको लागि भ्रमलाई बुझ्नुपर्दछ र त्यसको स्वागत गरिनुपर्दछ।  सूचनाको अधिकताको विषयमा हरारीले भनेका छन्,  मानिस तथ्य, संख्या र समीकरणहरूको सट्टा कहानीहरूमा सोच्छन्। यही कारणले गर्दा २०औं शताब्दीका साम्यवादी, उदारवादी र फाँसीवादी कहानीहरू धेरै शक्तिशाली थिए। कहानीहरू जति सरल हुन्छन्, त्यति राम्रा हुन्छन्। राजनीतिक युद्धको घोषणा गरिरहेका ती मानिसहरूको लागि मात्र होइन, बरू व्यवसाय र उद्यमशीलताको खेलमा लागेकाहरूले पनि आफ्ना कहानीहरूलाई सरल बनाउनु जरूरी हुन्छ। २०औं शताब्दी सबै तीन राजनीतिक प्रणालीहरूको बारेमा थियो भने २१औं शताब्दीले नयाँ कथा र वर्ग, मानव, अतिमानव र कृत्रिम बुद्धिको परिचय दिन्छ। कृतिको बौद्धिकता धेरै परिष्कृत हुँदै गएपछि त्यो मानिसका वर्गहरू बन्दै जानेछ; सुपरह्यूमन प्रविविधिद्वारा संवर्धित हुन्छ। उदारवादी कहानीको विरूद्धमा अहिले धेरै तानातान भइरहेको छ। हरारीका अनुसार दिनको अन्तमा मानव जातिले उदार कहानीलाई छोड्दैन किनकि यसमा कुनै व्यवहारिक विकल्प छैन। मानिस पेटमा प्रणाली र क्रोधको लात हान्न सक्दछन् तर कहीँ अन्त गएपछि अन्ततः फर्किनेछन्।

धेरै देश भ्रमको शिकार छन्। केही देश स्वयंलाई धेरै सर्वोच्च ठान्छन्। तर यसको अर्थ त्यहाँका सबै नागरिक नै अन्य देशका नागरिक भन्दा सर्वोच्च छन् भन्ने होइन। त्यसकारण वैयक्तिकता आफ्नो ठाउँमा हुन्छ र सामूहिक विवेक आफ्नो ठाउँमा हुन्छ। धेरै देश केवल डाटाबाट प्राप्त भएका जनकारीहरूको शक्तिमा अन्यलाई नियन्त्रण गरिरहेका छन्। जोसँग डाटा छ, उहीसँग शक्ति छ भन्ने कुरा मानिरहिएको छ। यसकारण आउनेसमय कृत्रिम बौद्धिकताको हुने देखिन्छ।

अध्याय २ मा हरारीले कार्य, स्वचालन, कृत्रिम बौद्धिकता, सार्वभौमिक आधारभूत सेवा, खुशी, वास्तविकता, आशा जस्ता विषयहरूको बारेमा व्याख्या गरेका छन्। एक्काइशौं शताब्दीमा बदलिंदो प्रकृतिको आफ्नो विश्लेषणमा हरारी स्वचालन र कृत्रिम बौद्धिकताद्वारा ल्याइएका समस्याहरूको सामना गर्ने कुरा उल्लेख गर्दछन्। उनी नयाँ कौशल प्रणालीको आवश्यकता, रोजगारी छुट्ने संभावना र कार्यस्थल प्रविधि सुधारको नैतिक प्रभावको बारेमा कुरा गर्दछन्। यसमा मानिसहरूले यी परिवर्तनहरूलाई कसरी अपनाउन सक्दछन् र परम्परागत रोजगारी संरचना बदलिइरहेको यस्तो संसारमा कसरी उद्देश्य प्राप्त गर्न सक्दछन् भन्ने बारेमा विचार व्यक्त गेका छन्।

 हरारीका अनुसार हामीले मानवीय भावना, इच्छा र विकल्पहरूलाई कम गर्ने जैव-रासायनिक तन्त्रहरूलाई बुझ्ने कुरा उत्कृष्ट छ। र, उत्कृष्ट कम्प्यूटरले मानव व्यवहारको विश्लेषण गर्ने, मानव निर्णयहरूको भविष्यवाणी गर्ने तथा बैंकर एवम् वकिलहरू जस्ता मानवीय व्यवसायहरूको ठाउँ लिन सक्दछन्। कम्तीमा कामका केही पंक्तिहरूमा यसले सबै मानिसहरूलाई कम्प्यूटरसँगै बदल्ने कुरा बुझिन्छ, यद्यपि व्यक्तिगत रूपले केही मानिस अझै पनि यन्त्रको तुलनामा धेरै उत्कृष्ट काम गर्दछन्। मानिसलाई पूर्ण रूपले बदल्नुको सट्टा कृत्रिम बौद्धिकताले वास्तवमा नयाँ मानव रोजगार बनाउनमा मद्दत गर्न सक्दछ। कृत्रिम बौद्धिकतासँग प्रतिस्पर्धा गर्ने मानिसहरूको सट्टा उनीहरू यसको सेवा र लाभ उठाउनमा ध्यान केन्द्रित गर्न सक्छन्। मानिसहरू प्रायः के भन्दछन् भने कृत्रिम बौद्धिकता कहिल्यै पनि एक मानव जसरी महसुस गर्न सक्दैन, त्यो कहिल्यै पनि एक मानवको रूपमा रचनात्मक हुन सक्दैन। २०५० सम्म केवल जीवनको लागि एक रोजगारीको विचार मात्र होइन, बरू जीवनको लागि एक पेशाको विचार पनि पुरानो लाग्न सक्छ। हरारीका अनुसार हामीले मानिसहरूका आधारभूत आवश्यकता र सामाजिक स्थिति तथा आत्ममूल्यको रक्षाको लागि प्रदान गर्ने चीजहरूमा ध्यान केन्द्रित गर्नुपर्दछ। विश्वव्यापी आधारभूत आयले गरीबहरूलाई रोजगारीमा हुने नोक्सान र आर्थिक अव्यवस्थाबाट बचाउनेछ। सरकारले आयको सट्टा सार्वभौमिक आधारभूत सेवाहरूलाई अनुदान दिन सक्दछ, यसको सट्टा सरकारले निशुल्क शिक्षा, स्वास्थ्य सेवा, परिवहनको लागि अनुदान दिन सक्छ। क्रान्तिबाट नभए पनि यसले प्रभावकारी रूपमा कम्युनिष्ट योजनालाई प्रष्फुटित गर्दछ। सार्वभौमिक आधारभूत सेवाको समस्या के हुन्छ भने मानिस केवल सन्तुष्टिको लागि बनेको हुँदैन। मानवीय प्रशन्नता वस्तुनिष्ठ परिस्थितिमा कम र आफ्ना अपेक्षाहरूमा बढी निर्भर हुन्छ। मानवीय अपेक्षाहरू बदलिंदो परिस्थिति अनुकूल हुन्छन्,  जसमा अन्य मानिसहरूको स्थिति सामेल हुन्छ। चीजहरू सुध्रिदै जाँदा आशा र स्थितिमा नाटकीय सुधारले हामीलाई पहिले जस्तै असन्तुष्ट छोड्न सक्छ। मानिसले केवल मुख्य कुरा मात्र चाहँदैन, बरू ऊसँग पर्याप्त छ, उसको योगदान सार्थक छ, उसले सिकिरहेको छ तथा बढिरहेको छ र उसको एक समुदायसमम्म पहुँच छ, आदि जस्ता कुराहरू महसुस गर्ने आवश्यकता हुन्छ।

भविष्यमा काम गर्ने तरीका एकदमै बदलिनेछ। सबै कुरा कृत्रिम बौद्धिकताबाट संचालित हुनेछ। कृत्रिम बौद्धिकतामा आधारित रोबोट्सहरूले नै सबै काम गर्नेछन्। हस्पिटलमा अपरेशन, घर संचालनका सबै काम, विद्यालयमा शिक्षण, इत्यादि हरेक काम कृत्रिम बौद्धिकताबाट संभव हुनेछ। तर सबभन्दा ठूलो समस्या के छ भने यदि कृत्रिम बौद्धिकताले एक दिन मानवमाथि नै नियन्त्रण गर्यो भने के स्थिति होला ?  के हामी रोबोट्सका दास बन्छौं ? त्यसकारण कृत्रिम बौद्धिकताको अनियन्त्रित प्रयोग हानिकारक हुनेछ।

अध्याय तीनमा लेखकले स्वतन्त्रता, लोकतन्त्र र मतदान, सत्य,  युद्धमा मनोविज्ञान तथा कृत्रिम बौद्धिकता, एल्गोरिदम र व्यक्तिगत वित्त जस्ता कुराहरूमाथि प्रकाश पारेका छन्। यहाँ हरारी प्राविधिक निगरानी र व्यक्तिगत स्वतन्त्रताको बीचमा संघर्षको परीक्षण गर्दछन्। उनले यहाँ बायोमेट्रिक डाटा र कृत्रिम बौद्धिकतासहित निगरानी प्रविधिले मानिसहरूको गोपनियतालाई कसरी प्रभावित गर्दछ भन्ने कुरा उल्लेख गर्दछन्। बढ्दो निगरानीको युगमा सुरक्षा र स्वतन्त्रता सँगसँगै व्यक्तिगत स्वतन्त्रतालाई संरक्षित गर्ने कठिनाइहरूको बीचमा कसरी सन्तुलन ल्याउने भन्ने कुरामा हरारी चिन्तित देखिन्छन्।  

सही वा गलत तरीकाले मानिस एल्गोरिदमका ठूला डाटाको बारेमा त्यही निष्कर्षमा पुग्न सक्दछन्, जुन संसारलाई चलाउनको लागि आउन सक्दछ। उनीहरूसँग अत्यन्तै धेरै चीजहरू हुन सक्दछन् तर हामीसँग कुनै उत्कृष्ट विकल्प हुँदैन। हरारीका अनुसार सत्यलाई आज गुगल खोजको शीर्ष परिणामहरूद्वारा परिभाषित गरिएको छ। ठूला डाटा एल्गोरिदम र कृत्रिम बौद्धिकतामा भरोसा गर्न थालेपछि – के अध्ययन गर्ने, कहाँ काम गर्ने, कोसँग विवाह गर्ने, लोकतान्त्रिक चुनाव र मुक्त बजार जस्ता कुराहरूलाई कम बुझ्नेछौं। डाटाको विश्लेषण एल्गोरिदमको सहायताले गरिन्छ। युद्ध पनि रोबोट्सद्वारा गर्ने संभावना हुन्छ। युद्ध भन्दा पहिले नै माइक्रोफोन, क्यामरा, ड्रोन, सफ्टवेयरद्वारा निगरानी गरिन्छ। संभावित खतरहरूको बारेमा पूर्वजानकारी हुनसक्छ। त्यसकारण आश्चर्यजनक रूपमा प्रविधिबाट सैन्य नियन्त्रण गर्न सकिन्छ।  मानिसले बैंकमा ऋणको लागि आवेदन दिँदा मानिसको सट्टा यसलाई एल्गोरिदमद्वारा संसाधित गरिन्छ। बैंकले एक व्यक्तिलाई ऋण दिन अस्वीकार गर्न सक्छ र कारण सोध्दा एल्गोरिदमले अस्वीकार गरेको भनिदिन्छ। हामीलाई थाहा छैन, कुनै पनि मानवले एल्गोरिदमलाई बुझ्दैन किनकि यो उन्नत यन्त्र सिकाइमा आधारित छ तर हामीलाई एल्गोरिदममा भरोसा छ त्यसकारण ऋण दिन सकिंदैन। यसरी सर्वत्र कृत्रिम बौद्धिकाले आफ्नो काम गर्नेछ।

संसारमा विभिन्न प्रकारका राजनीतिक दर्शनहरू आउने-जाने भइरहन्छन्। कहिले फाँसीवाद, कहिले साम्यवाद र कहिले उदारवाद आयो। सबैलाई आफ्नो जीवन आफ्नै ढंगले जिउने अधिकार छ र हुनु पनि पर्दछ। तर राजनीतिक समूहले यस्तो हुन दिँदैनन्। उनीहरू अन्य मानिसहरूलाई पनि उनीहरूले जस्तै आचरण-व्यवहार गरून् भनेर बल प्रयोग गर्दछन्। तर सबै व्यक्तिहरू आफैमा अद्वितीय हुन्छन्। सबैका रूचि अलग-अलग हुन्छन्। त्यसकारण हरेक राजनीतिक दलले स्वतन्त्रताको अवधारणालाई पनि आफ्नो घोषणापत्रमा सामेल गर्नुपर्दछ।

अध्याय चारमा हरारीले समानताको बारेमा उल्लेख गरेका छन्। यहाँ उनले प्रविधिमा परिवर्तनले सामाजिक-आर्थिक अन्तरलाई कसरी प्रभावित गर्दछ भन्ने विषयको खोज गर्दछन्। उनले यहाँ कसरी विशेष मानिसहरू र निगमहरूद्वारा शक्तिशाली प्रविधिको अधिग्रहणबाट असमानतामा वृद्धि हुनसक्दछ भन्ने कुरा स्पष्ट पारेका छन्। यसमा लेखक संकेन्द्रित धन र शक्तिको नैतिक प्रभावसँगै असमानताको सामना गर्नको लागि २१औं शताब्दीको सामाजिक पहलको आवश्यकताको परीक्षण गर्दछन्।  जो डाटाको मालिक हुन्छ, उही भविष्यको मालिक हो। हरारीका अनुसार भूमि र यन्त्रको विपरीत डाटा हरेक ठाउँमा हुन्छ र एकै समयमा यो प्रकाशको गतिले अगाडि बढ्दछ। यसलाई तपाईं जति चाहनुहुन्छ, त्यति प्रति बनाउन सक्नुहुन्छ। त्यसकारण आफ्ना दार्शनिक, राजनेता, वकिल र यहाँसम्म कि कविहरूले समेत यो कुरामा ध्यानाकर्षण गर्नुपर्दछ। हाम्रो युगको प्रमुख राजनीतिक प्रश्न संभवतः तपाईं डाटाको स्वामित्वलाई कसरी विनियमित गर्नुहुन्छ भन्ने हो। हामीले बहुविषयक दृष्टिकोण अपनाएर जटिल समस्याहरूको हल गर्नुपर्ने हुन्छ।

अहिले संसारका देशहरूमा आर्थिक स्तरमा धेरै असमानता छ। देशहरूलाई विकसित, विकासोन्मुख र अविकसितमा बाँड्न सकिन्छ। त्यसकारण सबैलाई मिलाएर यो असमानतालाई हटाउने कोशिस गर्नुपर्दछ। किनभने कुनै देशमा खाना, बास, स्वास्थ्य, शिक्षा, आदि जस्ता आधारभूत आवश्यकता पनि नभएका मानिसहरू छन्। धेरै मानिसहरू टाट पल्टिएको स्थिति पनि छ। यसको अन्त्य हुनुपर्दछ।

अध्याय पाँचमा लेखकले समुदायको बारेमा उल्लेख गरेका छन्। यो अध्यायमा डिजिटल युगमा मानव समूहमा विकसित हुने चरित्रहरूको जाँच गरिएको छ। हरारीले यहाँ सोशल मिडिया र अनलाइन नेटवर्कद्वारा समुदायका पारंपरिक रूपहरूलाई कसरी प्रभावित गरिंदैछ भन्ने कुरा स्पष्ट बनाएका छन्। उनी असल र खराब दुवै  परिणामका संभावनाहरूको खोजी गर्दछन्, मानिसहरूको लागि गहिरो सम्बन्ध राख्ने र करूणा तथा बोधलाई बढावा दिने समूहसँग बातचित गर्ने आवश्यकतामाथि प्रकाश पार्दछन्।  प्रविधिले वास्तविक मानव सम्बन्ध र समुदायसँग गरेको सम्झौताको बारेमा हरारीले भनेका छन् – स्वीट्जरल्याण्डमा भएको भाइसँग कुरा गर्नु पहिलेभन्दा धेरै सजिलो भएको छ तर खाजाको समयमा आफ्नो पतिसँग कुरा गर्न धेरै कठिन छ किनकि ऊ लगातार आफ्नो स्मार्टफोनमा व्यस्त हुन्छ। विज्ञान र प्रविधिले मानव समुदायलाई धेरै प्रभावित गरेको छ। आज जुनसुकै ठाउँमा बसेर जोकसैसँग पनि प्रत्यक्ष रूपमा कुराकानी गर्न सकिन्छ। यो कुरा इन्टरनेट र भिडियो कलबाट संभव भएको हो। यी सबै कारणले मानिसहरूको एक देशबाट अर्को देशमा गतिशीलता धेरै बढेको छ। र, संसार एक अन्तर्राष्ट्रिय समुदायमा विकास भइरहेको छ।

अध्याय छमा लेखकले सभ्यताको बारेमा स्पष्ट पारेका छन्। यसमा हरारीले राष्ट्रवाद, धर्म र सांस्कृतिक पहिचानका समस्याहरूलाई दृष्टिगत गर्दै सभ्यतालाई एक व्यापक रूपमा व्याख्या गरेका छन्। उनी यहाँ राष्ट्रवादी आन्दोलनको उद्भव, धार्मिक अतिवादको प्रभाव र मानताको सामुन्ने आउने परस्पर सम्बन्धित समस्याहरूको समाधानको लागि विश्वव्यापी दृष्टिकोण अपनाउने आवश्यकताको बारेमा कुरा गर्दछन्। यसरी नै एक्काइशौं शताब्दीको जटिलतालाई सफलतापूर्वक पार गर्नको लागि सामान्य विश्वव्यापी पहिचान विकसित गर्ने महत्त्वमाथि प्रकाश पारेका छन्।   दसहजार वर्ष पहिले मानव जातिलाई अनगिन्ती जनजातिहरूमा विभाजित गरिएको थियो, जहाँ हामी केही दर्जनभन्दा बढी मानिसहरूलाई जान्दैनथ्यौं। बितेका प्रत्येक सहस्राब्दीहरूसँगै यी जनजातिहरूले ठूलाभन्दा ठूला समूहहरूको लागि कमभन्दा कम विशिष्ट सभ्यताहरूको निर्माण गर्दै गए। वर्तमान पुस्ताहरूमा केही बाँकी सभ्यताहरू एकै विश्वव्यापी सभ्यतामा सम्मिश्रित रहेका छन्। हरारीका अनुसार मानिस आफ्ना दुश्मनहरूको बारेमा व्यापार सहभागीको तुलनामा कैयौं बढी परवाह गर्दछन्। हामी जो मानिससँग बढी झगडा गर्दछौं, तिनीहरू हाम्रा परिवारका सदस्य हुन्छन्। यसरी शताब्दियौं पहिले लाखौं सभ्यताहरू थिए तर समयसँगै तिनीहरू सबै विलुप्त हुँदै गए। अहिले संसार एक ग्लोबल भिलेज बनेको छ। के यी संस्कृति र रीतिरिवाजहरू विलुप्त हुनु सही छ ? यो कुरामा धेरै ध्यान दिनुपर्दछ। लेखकले हाइब्रिड संस्कृतिमा जोड दिएका छन्। आधुनिकता सँगसँगै परम्परागततालाई पनि प्रयोग गर्नुपर्दछ।

अध्याय सातमा लेखकले राष्ट्रवाद अन्तर्गत पर्यावरण, मानवताको सामु प्रविधि, परमाणु र पर्यावरणीय खतरा, आदिको बारेमा प्रकाश पारेका छन्।  यो अध्यायमा हरारीले एक्काइशौं शताब्दीमा राष्ट्रवादको पुनर्जन्मको परीक्षण गरेका छन्, जसबाट यो एक प्रमुख मुद्दा बनेको छ। उनी यहाँ राष्ट्रवादको आकर्षण, यसको ऐतिहासिक जग अन्तर्राष्ट्रिय सहयोगको लागि प्रस्तुत कठिनाइहरूलाई उल्लेख गर्दछन्। यहाँ उनले आजका समस्याहरूको अन्तर्सम्बन्धसँगै राष्ट्रवादको अनुकूलतासँगसँगै अन्तर्राष्ट्रिय सहयोगभन्दा पहिले राष्ट्रिय हितहरूलाई राख्नको लागि संभावित परिणामहरूको बारेमा चिन्ता व्यक्त गरेका छन्। सौम्य देशभक्तिमा केही पनि गलत हुँदैन। हरारीका अनुसार समस्या त्यतिबेला शुरू हुन्छ, जतिबेला सौम्य देशभक्ति अन्धराष्ट्रवादमा बदलिन्छ। सबै राष्ट्रको लागि वास्तविक हुने कुरा मेरो राष्ट्र अद्वितीय छ भन्ने मान्नुको साटो मेरो राष्ट्र सर्वोच्च छ भन्ने मान्दा समस्या पैदा हुन्छ। हामीले आउँदो बीस वर्षमा ग्रीनहाउस ग्यासको उत्सर्जनमा कटौती गरेनौं भने औसत विश्वको तापक्रममा दुई डिग्रीले वृद्धि हुनेछ, जसको परिणामस्वरूप मरूभूमिको विस्तार हुनेछ, बरफका टापु लोप हुनेछन्, महासागरहरू बढ्नेछन्, तुफान र टाइफुन जस्ता चरम मौसमका घटनाहरू घट्नेछन्। हरारीका अनुसार जलवायु परिवर्तनको बारेमा शंकाले राट्रवादी अधिकारको संरक्षण गर्दछ भन्ने कुरा एक संयोग होइन। केही राष्ट्रवादी नेता ग्लोबल वार्मिङको समस्या छैन भन्न रुचाउँदछन्। अहिले मानिसहरूको सामु एक विश्व पर्यावरण, एक विश्व अर्थव्यवस्था र विश्व विज्ञान छ तर अझै पनि मानिस केवल राष्ट्रिय राजनीतिमा फसेका छन्। यो बेमेलले राजनीतिक व्यवस्थालाई मुख्य समस्याहरूसँग प्रभावकारी ढंगले संघर्ष गर्नबाट रोक्दछ। प्रभावकारी राजनीति गर्नको लागि हामीले या त अर्थशास्त्र र प्रमुख विज्ञानलाई विश्वव्यापीकरण गर्नुपर्दछ या हामीले राजनीतिको विश्वव्यापीकरण गर्नुपर्दछ। हरारीका अनुसार विश्वव्यापी शासन अवास्तविक हुन्छ। राजनीतिलाई विश्वव्यापी बनउनु भनेको देशभित्र राजनीतिक गतिशीलताले विश्वव्यापी समस्या र हितलाई अति महत्त्व दिनु हुन्छ।

यसप्रकार, धेरै नेताले राष्ट्रवादको अवधारणा प्रयोग गर्दछन्। कैयौं पटक देशभक्ति शब्दको प्रयोग पनि गरिन्छ। तर कैयौं पटक राष्ट्रवादको गलत अर्थ निक्लिन्छ। राष्ट्रवादको वास्तविक अर्थ तपाईंको देश आफैमा अद्वितीय छ भन्ने मान्नु हो। तर यदि तपाईंले आफ्नो देश सर्वोच्च छ र बाँकी देश कमसल छन् भन्ने मान्नुहुन्छ भने समस्या हुन्छ। केही मानिसहरू कट्टर बन्दछन् र राष्ट्रवादलाई बढावा दिन लाग्छन्। यसबाट केवल हिंसा र घृणा फैलिन लाग्छ, जुन अगाडि गएर कुनै पनि देशको पतनको कारण बन्दछ।

अध्याय आठमा लेखकले धर्मको बारेमा स्पष्ट बनाएका छन्। हरारीका अनुसार २१औं शताब्दीको संसारमा परम्परागत धर्महरूको भूमिकालाई बुझ्नको लागि हामीले कैयौं समस्याहरूमध्ये तीन समस्याहरूको बीचमा फरक छुट्ट्याउनु आवश्यक हुन्छ। पहिलो, प्राविधिक समस्या अनुसार सुख्खा देशका किसानहरूले ग्लोबल वार्मिङका कारण हुने गम्भीर खडेरीलाई कसरी सामना गर्नेछन् ? दोस्रो,  नीतिगत समस्या अनुसार पहिलो पटकमा ग्लोबल वार्मिङलाई रोक्नको लागि सरकारले के उपाय अपनाउनुपर्दछ ? तेस्रो,  पहिचानको समस्या अनुसार के मैले संसारको अन्य क्षेत्रका किसानका समस्याहरूको पनि ख्याल गर्नुपर्दछ ? कार्ल मार्क्सका अनुसार धर्मसँग हाम्रो समयको महान नीतिगत बहसमा योगदान गर्नको लागि धेरै केही छैन। फ्रायडले साना-साना मतभेदहरूको संकीर्णताको रूपमा यस्ता मामिलाहरूको बारेमा मानिसहरूको सनकको उपहास गरे।

धर्म आवश्यक छ तर एक तर्कसंगत धर्म हुनुपर्दछ। धर्मका केही कुरा गलत छन्। त्यसकारण हामीले वैज्ञानिक सोचको सहायता लिएर धर्म र विज्ञान दुवैलाई सन्तुलनमा राख्न सिक्नुपर्दछ। केही मानिस कट्टरवादी हुन्छन् र दंगा तथा हिंसा फैल्याउँदछन्। यसबाट देशको शान्ति र अर्थतन्त्र बर्बाद हुन्छ। धर्मबाट आशा मिल्ने हुँदा यसबाट निराशा हट्दछ। यसको अतिरिक्त धर्ममा साहित्य, कलाकौशल र एकता जस्ता असल तत्वहरू पनि पाइन्छन्। यो कुरा पनि स्मरण गर्नुपर्दछ कि धर्मका किताबहरू शताब्दियौं पहिले लेखिएका हुन् र पूर्ण रूपले सही छैनन्। जस्तो, किन कुनै पनि धार्मिक पुस्तकमा स्याटलाइट, भ्याक्सिनेसन, फेसबुक, रोबोट, आदिको उल्लेखसम्म गरिएको छैन। त्यसकारण हामीले विज्ञान र धर्ममा असल तत्वहरूलाई अपनाउनु पर्दछ र खराब तत्वहरूलाई त्याग गर्नुपर्दछ।

अध्याय नौमा लेखकले आप्रवासनको व्याख्या गरेका छन्। विषयलाई स्पष्ट बनाउनको लागि हरारीले यहाँ तीन आधारभूत स्थिति वा शर्तहरूसँग एक सम्झौताको रूपमा आप्रवासनलाई परिभाषित गर्दछन्। पहिलो, पाहुना देशले आप्रवासीहरूलाई आउने अनुमति दिन्छ। दोस्रो, बदलामा आप्रवासीहरूले कम्तीमा पाहुना देशका मापदण्ड र मूल्यहरूलाई स्वीकार्नुपर्दछ, यद्यपि यसको अर्थ के हो भने केही पारंपरिक मापदण्ड र मूल्यहरूलाई छोडिदिनुपर्दछ। तेस्रो, यदि उनीहरूले समयसँगै एक पर्याप्त मात्रामा आत्मसात गरे भने पाहुना देश समान पूर्ण सदस्य बन्दछन्। हरारीका अनुसार तपाईं सहिष्णुतालाई महत्त्व दिनुहुन्छ, अति असहिष्णु मानिसहरूलाई अनुमति दिन सक्नुहुन्न। जबकि सहिष्णु समाजले धेरै उदार अल्पसंख्यकहरूलाई प्रबर्धन गर्न सक्दछ। संस्कृतिकर्मीहरूमाथि मानिसहरू परम्परावादी नस्लवादको विरूद्धमा एक वीरतापूर्ण संघर्ष जारी राख्दछन्, जसमा युद्धको मोर्चा पारंपरिक नस्लवादबाट संस्कृतिवादीहरूतिर स्थानान्तरित भएको छ भन्ने कुरा ध्यान दिइँदैन।

धेरै पटक एउटा देशका मानिस अर्को देशमा बसाइँसराइ गर्दछन्। यसबाट पनि समस्या पैदा हुन्छ। केही मानिस यसलाई समर्थन गर्दछन् र केही यसलाई मन पराउँदैनन्। तर जसले मन पराउँदैनन्, तिनीहरू जातिवादी नभएर संस्कृतिवादी हुन्छन्। उनीहरू आफ्नो संस्कृतिलाई बचाइराख्न चाहन्छन्। बाहिरबाट आएका मानिसहरूले उनीहरूको संस्कृतिलाई बिगारिदिन्छन् भनेर उनीहरू बसाइँसराइ चाहँदैनन्। त्यसकारण सरकारले उचित नीति बनाएर एक-अर्कोको संस्कृति नष्ट नहुनेगरी सबै आ-आफ्ना क्षेत्रमा विकसित होऊन् भन्ने ढंगले व्यवस्थापन गर्नुपर्दछ।

अध्याय दसमा लेखकले आतंकवादको बारेमा स्पष्ट पारेका छन्। आतंकवादीहरू धेरै कम मानिसहरूलाई मार्दछन् तर पनि अरबौंलाई आतंकित गर्ने र यूरोपीय संघ वा अमेरिका जस्ता ठूला राजनीतिक संरचनाहरूलाई मूल रूपमा हल्लाइदिनमा सफल रहेका छन्। आतंकवादप्रति अत्याधिक प्रतिक्रिया हाम्रो सुरक्षाको लागि आतंकवादीहरूभन्दा धेरै बढी खतरा हुन्छ। हरारीका अनुसार तीन मोर्चामा एक सफल आतंकवाद विरोधी संघर्ष चलाउनु पर्दछ। पहिलो, सरकारले आतंकवादी संजालको विरूद्धमा गुप्त कार्वाहीमा ध्यान केन्द्रित गर्नुपर्दछ। दोस्रो, मिडियालाई चीजहरूको परिप्रेक्ष्यमा राख्नुपर्दछ र उन्मादी रंगमंचबाट बच्नुपर्दछ। जस्तो कि मिडियाले सनकपूर्ण तरीकाले आतंकवादी हमलाको रिपोर्ट गर्ने स्थिति छ, किनकि आतंकवादी आक्रमणको रिपोर्ट अन्य रिपोर्टभन्दा धेरै विक्री हुन्छ। तेस्रो, हामीमध्ये हरेकको कल्पना हो। आतंकवादी हाम्रो कल्पनालाई बन्दी बनाउँदछन् र यसको प्रयोग हाम्रो विरूद्ध गर्दछन्। प्रत्येक नागरिकको जिम्मेवारी आफ्नो कल्पनालाई आतंकवादीहरूबाट मुक्त गराउनु र यो खतराको वास्तविक आयामहरूको स्मरण गराउनु हुन्छ।

आतंकवादको खतरा सदैव रहिरहेको हुन्छ। यसका धेरै कारण हुन्छन्। केही मानिस पृथकतावादी बन्दछन् र आफ्नो लागि नयाँ देशको माग गर्न लाग्दछन्। धेरैपटक धार्मिक कट्टरतावादको कारणले पनि मानिस आतंकवादी बन्दछन्। बेरोजगार युवा पनि पैसाको लागि यो समूहरूमा सामेल हुन्छन्। त्यसकारण सरकारले वार्ताको माध्यमबाट यस्ता समूहहरूलाई परामर्श गर्नुपर्दछ। र, देशबाट गरीबी र बेरोजगारी हटाउने प्रयास गर्नुपर्दछ।

अध्याय एघारमा लेखकले युद्धको बारेमा उल्लेख गरेका छन्। आज युद्ध हुँदा भारी उद्योगधन्दा भन्दा  सूचना-प्रविधि र जैव-प्रविधि धेरै महत्त्वपूर्ण हुन्छ। आज मुख्य आर्थिक सम्पत्तिमा गहुँको खेत, सुनको खानी वा यहाँसम्म कि तेल क्षेत्रको सट्टा प्रविधि र संस्थागत ज्ञान सामेल छ र तपाईं केवल युद्धको माध्यमबाट ज्ञान प्राप्त सक्नुहुन्न। यसभन्दा पहिले नै दुइवटा विश्वयुद्ध भइसकेका छन्, जसमा करौडौं मानिसहरूको ज्यान गएको थियो र अर्थतन्त्र धराशायी भएको थियो। हामीले तिनीहरूलाई पाठ लिनुपर्दछ र भविष्यमा कुनै पनि विश्वयुद्ध हुन दिनु हुँदैन। किनकि तेस्रो विश्वयुद्धले सबै कुरा ध्वस्त बनाउन सक्दछ। धेरै देशसँग आणविक बम छ। र, यसमा कसैको पनि जित हुँदैन। सबै एक-अर्कोमाथि आणविक बम फ्यांक्न सक्दछ, जसबाट मानवता नै खत्तम हुनेछ।

अध्याय बाह्रमा हरारीले नम्रताको बारेमा उल्लेख गरेका छन्। उनका अनुसार बाँदरहरूले पनि लाखौं वर्ष पहिले इस्रायलीहरूलाई निर्देशन दिनको लागि गरीब, अभावग्रस्त र अनाथहरूको मद्दत गर्ने प्रवृत्ति विकसित गरेका थिए। आजभोलि अरूलाई सहयोग गर्ने प्रवृत्ति खत्तम हुँदै गइरहेको छ। सबै मानिस आफ्नो स्वार्थ सोचिरहेका छन्। यसप्रकारको मानवतालाई जिउँदै मरेको मानिन्छ। हामीले एक-अर्कोलाई सहयोग गर्न सिक्नुपर्दछ। त्यसपछि मात्र मानवीयता जीवित रहन सक्दछ।

अध्याय तेह्रमा लेखकले ईश्वरको बारेमा उल्लेख गरेका छन्। यहाँ हरारीले एक्काइशौं शताब्दीमा धर्मले कसरी कार्य गर्दछ तथा मानिस र समाज दुवैलाई कसरी प्रभावित गर्दछ भन्ने कुरामाथि ध्यान केन्द्रित गरेका छन्। उनले यहाँ धार्मिक कट्टरताको कारण हुने समस्याहरू, नैतिकतामाथि धार्मिक विचारहरूको प्रभाव र नयाँ विश्वासहरूको उद्भवको संभावनालाई उल्लेख गर्दछन्। तीव्र रूपमा वैज्ञानिक प्रगति र विकसित भइरहेको समाजिक रीतिरिवाजको समयमा मानिसले आफ्ना विश्वास प्रणालीको जटिलतासँग कसरी सामना गर्दछन् भन्ने कुरा लेखकले यहाँ स्पष्ट पारेका छन्। हरारीका अनुसार नैतिकताको अर्थ दिव्यअंगहरूको अनुशरण गर्नु होइन। यसको अर्थ दुःख कम गर्नु हो। त्यसकारण नैतिक रूपले कार्य गर्नको लागि तपाईंले कुनै मिथक वा कहानीमा विश्वास गर्न आवश्यक छैन। तपाईंले केवल दुःखप्रति गहिरो प्रशंसा विकसित गर्नु आवश्यक हुन्छ। लामो समयसम्म अनैतिक व्यवहारले उल्टो परिणाम दिन्छ। तपाईंले त्यो समाजमा रहन संभव हुँदैन, जहाँ अपरिचितलाई लगातार बलात्कार र हत्या गरिन्छ। त्यहाँ तपाईं केवल लगतार खतरामा मात्र रहनुहुन्न, बरू तपाईंलाई अपरिचितको बीचमा विश्वासको लाभ पनि प्राप्त हुँदैन, जसले अन्य चीजको अतिरिक्त व्यापार र आर्थिक विकासको समर्थन गर्दछ। धार्मिक विश्वासले या त मानिसहरूमा करूणा पैदा गर्न सक्दछ या उनीहरूको क्रोधलाई भड्काउन सक्दछ र विशेषगरी कसैले तिनीहरूको ईश्वरको अपमान गर्ने हिम्मत गर्यो भने उनीहरूको इच्छाको नजरअन्दाज गर्दछ।

ईश्वर हुने कुरा केवल विश्वासमा निर्भर गर्दछ। त्यसकारण ईश्वर मान्ने वा नमान्ने कुरामा जोकोही स्वतन्त्र हुन्छ। त्यसैले कसैमाथि पनि ईश्वरीय अवधारणा थोपरिनु हुँदैन। यदि कसैले ईश्वरमाथि विश्वास गर्दैन तर मानवताको सेवामा लागेको छ भने त्यसलाई असल मानिस मानिन्छ। यसको विपरीत खराब काम गर्नेहरूले ईश्वर माने पनि उनीहरू खराब नै हुन्छन्। उनीहरू धार्मिक त हुन सक्दछन् तर उनीहरूलाई असल मानिस मानिंदैन। त्यसकारण धर्मको देखावटी गर्ने मानिसलाई असल भन्नु आवश्यक हुँदैन।

अध्याय चौधमा लेखकले धर्मनिरपेक्षताको बारेमा उल्लेख गरेका छन्। हरारीका अनुसार धर्मनिरपेक्षता संहिताले सत्य, करूणा, समानता, स्वतन्त्रता, साहस र जिम्मेवारीका मूल्यहरूलाई स्थापित गर्दछ। सामाजिक वास्तविकताको सट्टा धर्मनिरपेक्षता कुनै आदर्श होइन, जसको आकांक्षा गरिन्छ। सबभन्दा महत्त्वपूर्ण धर्मनिरपेक्षा प्रतिबद्धता सच्चाई हो, जुन केवल विश्वासको सट्टा अवलोकन र प्रमाणमा आधारित हुन्छ। हरारीका अनुसार त्यहाँ बलियो विश्वासको आवश्यकता हुन्छ, जहाँ कहानी सत्य हुँदैन। यो सत्य र आधुनिक विज्ञानप्रति प्रतिबद्धता नै हो, जसले मानव जातिलाई परमाणु विखण्डन गर्न, मानव जिनोमलाई बुझ्न, जीवन विकासलाई पथप्रदर्शन गर्न र मानवताको इतिहासलाई बुझ्नमा सक्षम बनाएको छ। धर्मनिरपेक्ष मानिस जिम्मेवारीलाई महत्त्व दिन्छन्। हामी स्वयंले प्राप्त गरेका उपलब्धिहरूको श्रेय कुनै दैवी संरक्षकलाई दिनु आवश्यक छैन, जसको परिणामस्वरूप मानिसले आफ्नो ज्ञान र करूणालाई विकसित गरिरहेका छन्। चमत्कारहरूको लागि प्रार्थना गर्नुको सट्टा हामीले मद्दतको लागि के गर्न सक्दछौं भन्ने कुरा सोध्नु आवश्यक हुन्छ। हरारीका अनुसार हामी जीवनको इतिहासमा सबभन्दा महत्त्वपूर्ण निर्णय लिन आएका हौं, म व्यक्तिगत रूपमा अचूकताको दावी गर्नेको तुलनामा अज्ञानतालाई स्वीकार गर्ने व्यक्तिहरूमाथि बढी भरोसा गर्दछु। निरपेक्ष मानिसहरूबाट सावधान रहनुपर्दछ। यदि मैले तपाईंलाई धर्म, विचारधारा र दृष्टिकोणमा सबभन्दा ठूलो गल्ती के थियो भनेर सोधें र तपाईंले केही गम्भीर लिएर आउनुभएन भने म तपाईंमाथि विश्वास गर्दिनँ।

सबै देशहरूमा विभिन्न प्रकारका धर्म, जाति र धार्मिक सिद्धान्तहरू पाइन्छन्। त्यसकारण ती सबैको सम्मान गरिनुपर्दछ। तर चुनाव जित्नको लागि धेरै नेताहरूले धर्ममा मतभेद पैदा गराउँदछन्। दंगा, हिंसा, घृणा र ध्रुबीकरण फैल्याउँदछन्। सामाजिक संजालको माध्यमबाट यी कार्य अझ बढी सहज भएका छन्। यसबाट जुन वर्ग बहुमतमा हुन्छन्, उनीहरूको भोट त्यो नेतालाई प्राप्त हुन्छ। र, ऊ सत्तामा गएर पुनः भ्रष्टाचारको माध्यमबाट देश लुट्दछ। त्यसपछि जनताले दुःख भोगिरहन्छन्। त्यसकारण हामीले यस्ता प्रकारका धार्मिक भड्कावमा लाग्नु हुँदैन। सबै धर्म, जाति र धार्मिक सिद्धान्तहरूको सम्मान गर्नुपर्दछ।

अध्याय पन्ध्रमा लेखकले अज्ञानताको बारेमा स्पष्ट बनाएका छन्। व्यवहारवादी र विकासवादी मनोवैज्ञानिकहरूले के प्रदर्शित गरेका छन् भने अधिकांश मानवीय निर्णय तर्कसंगत विश्लेषणको सट्टा भावनात्मक प्रतिक्रिया र अनुमानमा आधारित हुन्छन्। र, जबकि भावना र अनुमान शायद पाषाण युगमा जीवन संघर्षको लागि उपयुक्त थिए, सिलिकन युगमा ती धेरै अपर्याप्त छन्। कुनै पनि व्यक्ति गिरजाघर, परमाणु बम वा विमान बनाउनको लागि आवश्यक सबै कुरा जान्दैन। जुन चीजले होमो सेपियन्सलाई अन्य जनावरभन्दा माथि देखायो, त्यो तर्कसंगतता होइन, बरू ठूला समूहमा एकसाथ सोच्ने हाम्रो अद्वितीय क्षमता थियो। अलग-अलग मानिस संसारको बारेमा धेरै कम जान्दछन् र इतिहास अगाडि बढ्दै जाँदा हामीले थोरै-थोरै जान्दै गयौं। हामी आफ्ना आवश्यकताहरूको लागि अरूको विशेषज्ञतामाथि निर्भर रहन्छौं। यसलाई स्टेभेन स्लोमन र फिलिप फर्नबेकले ‘ज्ञानको भ्रम’ भनेका छन्। हामी धेरै कुरा जान्दछौं भन्ने सोच्छौं तर व्यक्तिगत रूपमा हामी धेरै कम जान्दछौं, यसको कारण के हो भने हामी अरूको दिमागको ज्ञानलाई हाम्रो आफ्नो ज्ञान हो भन्ने मान्दछौं। यदि तपाईंले समय बर्बाद गर्नुभएन भने सत्य कहिल्यै प्राप्त गर्नुहुन्न। अधिकांश राजनीतिक हस्तीहरू र व्यापारिक दिग्गज सँधै दौडिरहेका हुन्छन्। तर पनि यदि तपाईं कुनै पनि विषयमा गहिराइपूर्वक जान चाहनुहुन्छ भने धेरै समय चाहिन्छ र विशेष रूपले तपाईंलाई धेरै समयको आवश्यकता हुन्छ। विशेष रूपमा तपाईंलाई अनुत्पादक मार्गसँगै प्रयोग गर्न, शंका र पट्यारको लागि ठाउँ बनाउन मृत सिराहरू पत्ता लगाउन, अन्तर्दृष्टिका साना बीजहरूलाई  विस्तारै बढ्ने र खेल्ने अनुमति दिनको लागि समय बर्बाद गर्ने विशेषाधिकार चाहिन्छ।

यसरी मानिसका धेरै निर्णयहरू अज्ञानताले भरिएका हुन्छन्। उनीहरू तार्किक भन्दा पनि भावनात्मक निर्णय लिन्छन्। हरारीले यसमा डिजिटल युगमा गलत सूचना र सूचना ओभरलोडसँग जोडिएका समस्याहरूको जाँच गरेका छन्। उनी यस्तो संसारमा जानको लागि मिडिया साक्षरता, तथ्य-जाँच र आलोचनात्मक सोचको महत्त्वको बारेमा कुरा गर्दछन्, जहाँ जानकारी सजिलैसँग उपलब्ध छन् तर पनि प्रायः अविश्वसनीय हुन्छन्। जानकारी प्रचुर मात्रामा भएको यस्तो समयमा मानिसहरूले तथ्यलाई कल्पनाबाट अलग गर्नु सिक्नुपर्दछ।

अध्याय सोह्रमा लेखकले न्यायबोधको बारेमा लेखेका छन्। न्यायको विचारको आफ्नो चर्चामा हरारीले तीव्रतापूर्वक बदलिरहेको समाजमा न्यायलाई परिभाषित गर्न र लागू गर्नमा आउने कठिनाहरूको बारेमा विचार व्यक्त गरेका छन्। उनी कसरी आधुनिक प्रविधिहरूले नैतिक प्रश्न उठाउँदछन्, तिनीहरूले कानूनी प्रणालीहरूलाई कसरी प्रभावित गर्दछन् र बदलिंदो परिस्थितिको सामु न्याय कायम राख्नको लागि नयाँ ढाँचा कसरी आवश्यक हुन्छ भन्ने जस्ता कुराहरूलाई स्पष्ट बनाउँदछन्। यसमा एक्काइशौं शताब्दीका चुनौतीहरूको सामना गर्नको लागि सभ्यताले आफ्नो नैतिक र कानूनी ढाँचालाई कसरी संशोधित गर्न सक्दछ भन्ने कुरा स्पष्ट पारिएको छ।

अध्याय सत्रमा लेखकले सत्यपछिको युगको बारेमा बताएका छन्। हरारीले यसमा वस्तुनिष्ट सत्यको गिरावट व्यक्तिपरक आख्यानको उद्भवको विश्लेषण गरेका छन्। उनले यसमा सूचनाको फेरबदल, प्रचार र गलत समाचारले कसरी मानिसको राय र निर्णय लिने कुरालाई प्रभावित गर्छ भन्ने कुरा स्पष्ट बनाएका छन्। यहाँ उनले २१औं शताब्दीका राजनीतिक, सामाजिक र सांस्कृतिक कथाहरूले कसरी सत्यबाट आकार लिन्छन् भन्ने कुरामा चिन्ता प्रकट गरेका छन्।  एक हजार मानिसहरूले एक महिनासम्म कुनै मनगढन्ते कहानीमा विश्वास गर्दछन् भने त्यो फर्जी समाचार हुन्छ। जब एक अरब मानिसले एकहजार वर्षसम्म यसमा विश्वास गर्दछन् भने यो धर्म हो र हामीलाई के सल्लाह दिइन्छ भने यसलाई गलत समाचार भन्नु हुँदैन ताकि भावनाहरूमा ठेस नपुगोस्, बरू आस्थावानहरूलाई ठेस पुगोस्। हरारीका अनुसार असल वा खराब कल्पना मानवताको टूलकिटमा सबभन्दा प्रभावकारी उपकरणहरूमध्ये एक हो। धार्मिक सिद्धान्तले मानिसहरूलाई एकसाथ ल्याएर ठूलो परिमाणमा मानवीय सहयोगलाई संभव बनाउँदछ। धर्म र विचारधाराको अतिरिक्त व्यावसायिक कम्पनीहरूले काल्पनिक र नक्कली समाचारहरूमा पनि विश्वास गर्दछन्। ब्रान्डिङमा प्रायः एउटै काल्पनिक कहानीलाई पटक-पटक मानिसहरूलाई यो साँचो हो भन्ने कुरा एकीन नभएसम्म दोहोर्याइन्छ। मैले कोकाकोला भन्दा तपाईं शायद युवाहरूको बारेमा सोच्नुहुन्छ होला, जो आनन्द लिइरहेका छन्, खेल खेलिरहेका छन् र मोजमस्ती गरिरहेका छन्। तपाईं शायद अस्पतालका बेडमा पल्टिएका धेरै तौल भएका मधुमेहका रोगीहरूको बारेमा सोच्नुहुन्न होला। हरारीका अनुसार हामीलाई निश्चित रूपले असल विज्ञानको आवश्यकता छ, राजनीतिक दृष्टिकोणले एक असल विज्ञान कथा फिल्म विज्ञान वा प्रकृतिको एक लेखभन्दा कैयौं बढी मूल्यवान हुन्छ। आजभोलि हरेक देशमा मिडियालाई कब्जा गरेर राजनीतिक दलहरूले त्यसलाई आफ्नो गोजीमा हालेका छन्। र, यसको माध्यमबाट उनीहरू जनताको ब्रेनवास गर्दछन्। यस्तो अवस्थामा नागरिकहरूले सामाजिक मिडियामा सत्यतालाई स्पष्ट गरिरहनुपर्दछ । किनभने अन्तमा संसार सत्यताबाट नै चल्छ, झुट, छल र गलत समाचारबाट चल्दैन।

अध्याय अठारमा हरारीले विज्ञान कथाको बारेमा उल्लेख गरेका छन्। यसमा उनले कसरी विज्ञान कथाले मानिसका अपेक्षा र कल्पनालाई आकार दिन्छन् भन्ने कुराको खोज गर्दछन्। उनी जैव-प्रविधि र कृत्रिम बौद्धिकता जस्ता अत्याधुनिक नवप्रवर्तनहरूको नैतिक र सामाजिक प्रभावलाई ध्यान दिँदै विज्ञान कथा र वास्तविकताले अन्ततः कसरी एक-अर्कोलाई प्रतिच्छेद  गर्न सक्दछन् भन्ने कुरा पत्ता लगाउँदछन्। यहाँ उनले पाठकहरूलाई विज्ञान कथामा पाइने भविष्यवादी सेटिङद्वारा उठाइएका नैतिक दुविधाहरूलाई विचार गर्ने चुनौति दिएका छन्। २१औं शताब्दीको शुरूवातमा शायद सबभन्दा महत्त्वपूर्ण कलात्मक शैली विज्ञान कथा हो। किनभने धेरै कम मानिस मेशिन लर्निङ वा जेनेटिक इन्जिनियरिङको क्षेत्रमा नवीनतम् लेख पढ्दछन्, बरू म्याट्रिक्स हर जस्ता फिल्म, वेस्टवर्ल्ड र ब्लाक मिरर जस्ता टिभी श्रृंखलाहरूबाट मानिसले प्रविधि  तथा यसको सामाजिक र आर्थिक प्रभावलाई कसरी बुझ्छन् भन्ने कुराको तय गर्दछन्। यसको अर्थ विज्ञान कथाहरूले वैज्ञानिक वास्तविकतालाई चित्रित गर्ने तरीकामा धेरै जिम्मेवार हुने आवश्यकता  पनि हो। अन्यथा यसले मानिसहरूलाई गलत विचार दिन सक्दछ वा उनीहरूको ध्यान गलत समस्याहरूमा केन्द्रित गर्न सक्दछ। शायद वर्तमान विज्ञान कथाको सबभन्दा नराम्रो असफलता के हो भने यसले चेतनालाई बुद्धिसँग भ्रमित गर्ने कोशिस गर्दछ। परिणामस्वरूप यो रोबोट र मानिसको बीचमा संभावित युद्धको बारेमा बढी चिन्तित छ, जबकि हामीले एक सानो अलौकिक अभिजात वर्गको बीच संघर्षलाई महसुस गर्ने आवश्यकता छ। कृत्रिम बौद्धिकताको भविष्यको बारेमा सोच्दै हरारी भन्दछन्, कार्ल मार्क्स अझै पनि स्टीभन स्पीलबर्गभन्दा बढी मार्गदर्शक छन्।

विज्ञान कथालाई मानिसहरूले धेरै रूचिपूर्वक र मनोरन्जनात्मक ढंगले ग्रहण गर्दछन्। तर विज्ञान कथामा सँधै वास्तविक जानकारी दिइँदैन। त्यसकारण यस्ता लेखकहरूले पूर्ण रूपमा अनुसन्धान गरेर मात्र आफ्ना रचना दिनुपर्दछ। आउने समयमा कृत्रिम बौद्धिकतामा जोड दिइरहिएको छ र यसमाथि पनि धेरै साहित्य लेखिसकिएका छन्। के वास्तवमा मानिसलाई रोबोटले नियन्त्रण गर्दछ ?  के भविष्यमा मानिसले गर्ने सबै काम रोबोटले नै गर्नेछ ? यो सबै कुरा भविष्यले बताउँदै जानेछ।

अध्याय उन्नाईस मुख्य रूपमा शिक्षामा केन्द्रित छ। लेखकले यसमा एक्काइशौं शताब्दीका मागहरूलाई पूरा गर्नको लागि शैक्षिक प्रणालीहरूलाई कसरी बदल्नुपर्दछ भन्ने कुरा विश्लेषण गरेका छन्। उनले यहाँ मानिसलाई गम्भीर रूपले सोच्न, लचिलो हुन र आजीवन सिक्नको लागि प्रोत्साहित गरिनुपर्दछ ताकि उनीहरू तीव्र रूपमा बदलिरहेको संसारको लागि तयार हुन सकून् भन्ने कुरा स्पष्ट बनाएका छन्। यो अध्यायले प्रविधिले शिक्षालाई कसरी बदल्न सक्छ र सिक्नको लागि एक व्यापक दृष्टिकोण किन आवश्यक छ भन्ने कुरा परीक्षण गरेको छ।

आज बच्चाहरूले जे कुरा सिक्छन् त्यो संभवतः २०५० सम्ममा अप्रासंगिक हुनेछ। बच्चाहरूलाई वास्तवमा अनुकूलनशीलता, सिक्ने तरीका, लचिलोपन, जिज्ञासा, आलोचनात्मक सोच,  समस्या समाधान र प्रभावकारी सहयोग सिकाउनु जरूरी हुन्छ। हरारीका अनुसार आज एक शिक्षकले आफ्ना विद्यार्थीहरूलाई आखिरी चीज दिने आवश्यकता भनेको अधिक जानकारीको लागि हो, किनकि उनीहरूसँग पहिलेदेखि नै यसको धेरै जानकारी छ। यसको सट्टा मानिसहरूलाई जानकारीको बोध गराउने क्षमताको आवश्यकता हुन्छ, के महत्त्वपूर्ण छ र के सबभन्दा महत्त्वपूर्ण छ भन्ने कुराको बीचमा अन्तर बताउन र सबभन्दा बढी जानकारीका कैयौं भागहरूलाई संसारको एक व्यापक तस्वीरमा संयोजित गर्ने क्षमताको आवश्कता हुन्छ। हरारीका अनुसार धेरै शैक्षणिक विशेषज्ञ के तर्क दिन्छन् भने स्कूलहरूले चार सी पढाउन शुरू गर्नुपर्दछ;  आलोचनात्मक सोच,  संचार, सहयोग र रचनात्मकता। अझ व्यापक रूपमा स्कूलहरूले प्राविधिक कौशलमा कम गरी सामान्य उद्देश्यात्मक जीवन कौशलमा जोड दिनुपर्दछ। परिवर्तनको सामना गर्न, नयाँ चीज सिक्न र अपरिचित परिस्थितिमा आफ्नो मानसिक सन्तुलन कायम राख्ने क्षमता हुनु सबभन्दा महत्त्वपूर्ण कुरा हुन्छ। पुनः सिक्नु, लचिलोपना र अनुकूलनशीलता सिक्नु पर्दछ। हरारीका अनुसार यदि कसैले तपाईंलाई २१औं शताब्दीको मध्यको संसारको वर्णन गर्दछ र यो विज्ञान कथा जस्तै लाग्छ भने निश्चित रूपले यो झुट हो। हरारीका अनुसार एक निश्चित उमेरपछि धेरै मानिस परिवर्तनलाई मन पराउँदैनन्। पन्ध्र वर्षको हुँदा तपाईंको पूरा जीवन बदलिन्छ। पचास वर्षको हुनेबेलासम्म तपाईं बदलिन चाहनुहुन्न र अधिकांश मानिस संसारलाई जित्न छोडिसकेका हुन्छन्। तपाईं स्थिरता मन पराउनुहुन्छ। आ-आफ्नो कौशल, आफ्नो वृत्तिविकास, आफ्नो पहिचान र आफ्नो विश्वदृष्टिकोणमा यति लगानी गरिएको हुन्छ कि तपाईं यसलाई फेरि शुरू गर्न चाहनुहुन्न। तपाईंले कुनै चीजको निर्माणमा जति मेहनत गर्नुभएको छ, त्यसलाई छोड्न र कुनै नयाँ चीजको लागि ठाउँ बनाउन त्यति नै कठिन हुन्छ। यो आज धेरैजसो स्थापित संगठनहरूमा देखिन्छ, जसको काम गर्ने तरीका समृद्ध छ, वरिष्ठ निर्णय निर्माता यथास्थिति कायम राख्ने आफ्नो इच्छामा अटुट छन्। हरारीका अनुसार आजका प्रन्ध्र वर्षका बच्चाहरूले वयस्कहरूमाथि बढी भर पर्नु हुँदैन। उनीहरूमध्ये अधिकांशको मतलब ठीक छ तर उनीहरू संसारलाई बुझ्दैनन्। तीव्र रूपमा दौडिनको लागि आफूसँग बढी सामान लिनुपर्दछ र आफ्ना सबै भ्रम पछाडि छोडिदिनुपर्दछ, तिनीहरू धेरै भारी हुन्छन्।

धेरै देशहरूमा अझै पनि शतप्रतिशत साक्षरता हुनसकेको छैन। यसकारण समाजमा धेरै असमानता पाइन्छ। अज्ञानताको कारण मानिसहरूले आफ्नो लागि राम्रा योजनाहरू भएर पनि तिनीहरूको फाइदा उठाउन सकिरहेका छैनन्। र, उनीहरू सँधै गरीब अवस्थामा रहेका छन्। जसको कारण धनी-गरीबको बीचमा खाडल बढ्दै जान्छ। गरीबी बढ्दै जाँदा समाजमा अपराध पनि बढ्न लाग्छ र सभ्य समाज भ्रष्ट हुन्छ। त्यसकारण हरेक देशले आफ्ना नागरिकहरूलाई पूर्ण रूपमा साक्षर बनाउनुपर्दछ।

अध्याय बीसमा लेखक अर्थको बारेमा प्रकाश पार्दछन्। अस्तित्वगत चिन्ता र अनिश्चित संसारमा अर्थको खोजको आफ्नो परीक्षामा हरारी एक्काइशौं शताब्दीको अर्थ-खोज प्रक्रियामाथि प्रकाश पार्दछन्। उनी धर्मनिरपेक्षताको प्रभाव, प्रविधिको युगमा उद्देश्य खोज्ने कठिनाइ र पूर्ति तथा अर्थका नयाँ स्रोतहरूको खोजको संभावनाको बारेमा कुरा गर्दछन्। यो अध्यायमा सार्थक अस्तित्वको खोजीमा पाठकहरूलाई तिनीहरूको मूल्य र मान्तयाहरूमाथि विचार गर्नको लागि आमन्त्रित गरिएको छ। यदि तपाईं मानिसलाई वास्तवमा कुनै कल्पनामा विश्वास दिलाउन चाहनुहुन्छ भने उनीहरूलाई यसको लागि बलिदान लिनको लागि प्रेरित गर्नुहोस्। हरारीका अनुसार –  महिलाहरू आफ्ना प्रेमीहरूलाई हीराको औंठी ल्याउन किन भन्छन् ? एकपटक जब कुनै प्रेमीले यति ठूलो वित्तीय बलिदान गर्दछ, तब ऊ स्वयंलाई के विश्वास दिलाउनु पर्दछ भने यो एक योग्य कारणको लागि थियो। यो हाम्रा निर्णयहरूलाई तर्कसंगत बनाउनु र सामान्य बनाउनु समान हुन्छ। जब तपाईं कुनै कहानीको नाममा स्वयंलाई कष्ट दिनुहुन्छ, तब यसले तपाईंलाई एक विकल्प दिन्छ, या त कहानी साँचो हो या म एक सोझो मूर्ख हुँ। जब तपाईं अरूलाई पीडा दिनुहुन्छ, तब तपाईंको सामुन्ने पनि एक विकल्प हुन्छ, या त यो कहानी साँच हो या म एक क्रूर खलनायक हुँ। र, जसरी हामी मूर्ख हौं भन्ने कुरा स्वीकार गर्न चाहँदैनौं, त्यसरी नै हामी खलनायक हौं भन्ने कुरा पनि स्वीकार गर्न चाहँदैनौं। त्यसकारण हामी कहानी साँचो हो भन्ने कुरा मान्न रूचि लिन्छौं।

थोरै एउटा अर्को विचारमाथि ध्यान दिऔं, जुन यो कहाँबाट आयो भनेर तपाईंको मनमा आउँछ। के तपाईंले वास्तवमा यो सोच्ने कुरा छनौट गर्नुभयो र त्यसपछि तपाईंले यो सोच्नुभयो ? कदापि होइन। यसलाई बुझ्नमा हामीलाई आफ्नो राय, भावना र इच्छाप्रति कम सनकमा मद्दत मिल्न सक्छ। मानिसले सामान्यतः आफ्ना इच्छाहरूलाई यति महत्त्व दिन्छन् कि उनीहरू सम्पूर्ण संसारलाई यिनै इच्छा अनुसार नियन्त्रित गर्ने प्रयास गर्दछन्। हाम्रो दिमागमा जेसुकै कल्पना आउँदछन्, तिनीहरूलाई साकार पार्ने कोशिस गर्नुभन्दा स्वयंलाई, आफ्नो मन र आफ्ना इच्छाहरूलाई बुझ्नु धेरै राम्रो हुन्छ। हरारीका अनुसार यदि तपाईं वास्तवमा स्वयंलाई बुझ्न चाहनुहुन्छ भने फेसबुक वा इन्स्टाग्राम एकाउन्टबाट आफ्नो पहिचान बनाउनुपर्दैन। बुद्धले ब्रम्हाण्डका तीन आधारभूत वास्तविकताहरूको बारेमा सिकाए – पहिलो, हरेक चीज लगातार बदलिरहेको छ; दोस्रो, कुनै पनि चीजको कुनै स्थायी सार छैन; तेस्रो, कुनै पनि चीज पूर्णतः सन्तुष्ट हुँदैन। दुःख यसकारण आउँछ किनकि मानिस यसको सराहना गर्नमा असफल हुन्छन्। तपाईं आकाशगंगाको सबभन्दा टाढासम्मको क्षेत्र पत्ता लगाउन सक्नुहुन्छ तर तपाईंले कहिल्यै पनि यस किसिमका चीजहरूको सामना गर्नुपरेन, जुन बदलिंदैनन्, जसको शाश्वत सार छ र जसले तपाईंलाई पूर्ण रूपले सन्तुष्ट गर्दछ। बुद्धका अनुसार जीवनको कुनै अर्थ छैन र मानिसहरूले कुनै अर्थ पैदा गर्ने आवश्यकता छैन।

जिन्दगीको अर्थ खोज्ने कोशिस गर्नुहुँदैन। किनभने यसको कुनै अर्थ नै छैन। तपाईंले जतिसुकै सफलता प्राप्त गरे पनि र जतिसुकै पैसा कमाए पनि एकदिन सबै यही रहन्छ। त्यसकारण अर्थ खोज्नुहुँदैन, बरू अर्थको सृजना गर्नुपर्दछ। साना-साना चीजहरूलाई पनि अर्थपूर्ण बनाउनुपर्दछ। जीवन जस्तो छ त्यसलाई त्यसरी नै जिउनुपर्दछ। यदि दुःख छ भने त्यसलाई जिउनुपर्दछ र खुशी छ भने पनि त्यसलाई जिउनुपर्दछ। राम्रा दिन आउँछन् भनेर पर्खिनुहुँदैन। दुःखबाट भाग्ने कोशिस पनि गर्नुहुँदैन। किनकि दुःख झेलेपछि मात्र तपाईंले सुख वा खुशीको मूल्य थाहा पाउनुहुन्छ। यसको साथै दुःखबाट सिर्जनशिलता पनि बढ्दछ र तपाईं मानसिक रूपमा बलियो पनि बन्दै जानुहुन्छ।

अध्याय २१ मा लेखकले ध्यानको बारेमा प्रकाश पारेका छन्। हरारीका अनुसार दार्शनिकहरूले जुन कुरा सहस्राब्दियौंदेखि भन्दै आइरहेका छन्, दुःखको सबभन्दा गहिरो स्रोत हाम्रो आफ्नै दिमागको प्रारूपमा छ। जब म केही चाहन्छु र त्यो हुँदैन भने मेरो मनले दुःख उत्पन्न गरी प्रतिक्रिया जनाउँदछ। बाहिरी संसारमा कष्ट कुनै वस्तुगत स्थिति होइन। यो हाम्रो आफ्नै मस्तिष्कबाट उत्पन्न एक मानसिक प्रतिक्रिया हो। यसलाई सिक्नु धेरै पीडा उत्पन्न गर्नको लागि कब्जा गर्ने दिशामा पहिलो कदम हो। ध्यान वास्तविकताबाट पलायन होइन। यो वास्तविकताको सम्पर्कमा हुन्छ। हरारीका अनुसार यो अभ्यासद्वारा प्रदान गरिएको ध्यान र स्पष्टताबिना उनी यो पुस्तक लेख्न सक्दैनथे। उनी ध्यानलाई वैज्ञानिक कुराकानीमा एक अर्को मूल्यवान उपकरणको रूपमा हेर्दछन्, विशेषगरी मानव मनलाई बुझ्ने कोशिस गर्दा यो महत्वाकांक्षा र प्रगतिसँगै शान्ति र स्पष्टतालाई जोड्ने रोचक तरीका हो।

हाम्रो दुःखको कारण हाम्रो दिमाग बलियो नहुनु हो। त्यसकारण हामीले ध्यानको सहारा लिनुपर्दछ। जसरी शरीर बनाउनको लागि जिमको सहायता लिइन्छ, त्यसरी नै मस्तिष्कलाई बलियो बनाउनको लागि हामीले ध्यानको सहारा लिनुपर्दछ। हरेक दिन १५ मिनेट ध्यान गर्नुपर्दछ । यसबाट तपाईंको तनाव हट्नेछ। तपाईंलाई आफूभित्रको शक्तिको पहिचान हुनेछ र तपाईं आफ्नो वरिपरि बढी सचेत हुनुहुनेछ।

यसरी यो पुस्तकले हामीलाई २१औं शताब्दीमा आफूलाई र आफ्ना बच्चाहरूलाई कसरी तयार गर्ने भन्ने कुरा बताउँदछ। आजको सयमा जुन परिवर्तन भइरहेका छन्, तिनीहरूको बारेमा धेरै मानिसहरूलाई जानकारी छैन। धेरै मानिसहरू अझै पनि पुरानै तरीकालाई अपनाइरहेका छन् । आजको संसारमा जानकारी हरेक ठाउँमा विद्यमान छ तर हामी यसको प्रयोग गर्न जान्दैनौं। २१औं शताब्दीमा परिवर्तन तीव्र रूपमा भइरहेको छ र आउने समयमा यदि हामी जिउँदो रहन चाहन्छौं र आफ्ना बच्चाहरूलाई जिउँदो राख्न चाहन्छौं भने हामी आफैले पनि र उनीहरूलाई पनि केही नयाँ तरीका सिकाउनु पर्दछ। हामीले बच्चाहरूलाई आउने दिनमा काम लाग्ने तरीका सिकाउनु पर्दछ, अहिले प्रयोग गरिरहेको तरीका होइन।

आजको समयमा हामी कम्प्युटरलाई हरेक ठाउँमा देख्दछौं। त्यसबिना आजको जिन्दगीको बारेमा सोच्न पनि सकिंदैन। तर यसका धेरै बेफाइदाहरू पनि छन्, जसमाथि ध्यान दिइएको छैन। आजको समयमा हामी कम्प्यूटरको दास भइरहेका छौं। हाम्रो वित्तीय प्रणाली र पैसालाई पनि आज कम्प्यूटरले सम्हालिरहेका छन्। यी सम्पूर्ण काम कम्प्यूटरले सम्हालिरहेको स्थितिमा पनि यसको बारेमा धेरै मानिसहरूलाई यसले कसरी काम गरिरहेको छ र कसरी यसलाई काम गराउने भन्ने बारेमा जानकारी छैन। बाँकी मानिस केवल यिनीहरूले प्रदान गरेका सुविधाहरूको प्रयोग गर्दछन्। तर जब आउने समयमा सम्पूर्ण काम रोबोटले गर्नेछ, त्यसपछि त हामी हाम्रो पैसाको प्रयोग कसरी भइरहेको छ र कसरी त्यसमाथि नियन्त्रण गर्ने भन्ने बारेमा अझ बुझ्न सक्दैनौं। यसको अर्थ के हो भने केवल केही मानिसहरूको हातमा मात्र यति धेरै पैसाको बागडोर हुनेछ। आउने समयमा सरकारले पनि कम्प्यूटरको मद्दतले जनताबाट कति ट्याक्स लिने र कसरी देश चलाउने भन्ने कुरा तय गर्नेछ। कम्प्यूटर आएपछि धेरै मानिसहरूले आफ्नो रोजगारी गुमाइरहेका छन्। यो कुरामाथि कुनै नेताले पनि ध्यान दिएको छैन। यसको नाम कसैले आफ्नो राजनीतिक एजेण्डामा लिँदैन, जबकि यो यस समयको सबभन्दा ठूलो मुद्दा हो। किनभने आज सबै कुरा कम्प्यूटरको मद्दतले भइरहेको छ र सरकार यसको लागि केही गरिरहेको छैन। त्यसकारण धेरै मानिसहरूको सरकारमाथि भरोसा हराउँदै गएको छ। आम मानिस कम्प्यूटर आएपछि हरेक दिन डराइरहेका छन्। उनीहरू रोजगारी गुम्ने डरले डराइरहेका छन्। आज मानिस एउटा यन्त्रसँग धेरै डराइरहेका छन्।

आजको समयमा हामी मानिसको दिमागलाई बुझ्ने पूरा कोशिस गरिरहेका छौं। वैज्ञानिकहरूले के कुरा खोजेर निकालेका छन् भने हाम्रो दिमागले रूपरेखालाई हेरेर कुनै घटना हुने संभावना निकाल्न सक्ने योग्यता राख्दछ। यही कारणले हामी वर्षा हुन्छ वा हुँदैन वा कुनै व्यक्तिले जसरी काम गरिरहेको छ, त्यसरी काम गर्दा सफल हुन्छ वा हुँदैन भन्ने कुरा पत्ता लगाउँदछौं। हाम्रो दिमागले कसरी काम गर्छ भन्ने कुरा वैज्ञानिकले बुझेपछि कम्प्यूटरभित्र यो सबै प्रोग्राम राखेर त्यसलाई पनि योग्य बनाइरहेका छन्, ताकि त्यसले पनि यसप्रकारको फैसला गर्नसकोस्। यसको अर्थ के हो भने आउने समयमा कम्प्यूटरले पनि मानिसले जसरी नै सोच्न लाग्नेछ। १९औं शताब्दीमा कारखाना बन्न शुरू भएपछि र विभिन्न प्रकारका यन्त्रहरू आएपछि धेरै मजदूरहरूले आफ्नो रोजगारी गुमाए। अहिले जुन परिवर्तन तीव्र रूपमा भइरहेको छ, यसबाट के बुझिन्छ भने आउने समयमा सोच्ने र बुझ्ने काम पनि कम्प्यूटरले नै गर्नेछ। संभवतः त्यो हामीभन्दा पनि उत्कृष्ट बन्नेछ र उसैले एक वकिल, इन्जिनियर र डाक्टरको कामसमेत सम्हाल्नेछ। त्यसपछि कति मानिसले रोजगारी गुमाउँदछन् भन्ने कुराको कुनै अनुमान लाउन सकिन्न।

आजको समयमा हामी जहाँसुकै जान सक्छौं। संसार धेरै सानो भएको छ र हरेक देशका नागरिक हरेक देशमा जान सक्छन्। यसबाट अलग-अलग सभ्यता आपसमा मिलिरहेका छन्। जसको कारणले मानिसहरूमा तनाव बढिरहेको छ। युरोपमा यो काम सबभन्दा बढी भएको देखिन्छ। यहाँ आउने मानिस आफ्नो देशको सभ्यतालाई आफूसँगै लिएर आउँछन्, जुन युरोपका मानिसलाई मन पर्दैन। उनीहरूको मान्यता अनुसार अलग-अलग प्रकारका सभ्यताहरू आएपछि उनीहरूको सभ्यता उनीहरूकै देशमा लोप भइरहेका छन्। उनीहरू यहाँ आएका व्यक्तिहरूले यहाँकै रहनसहन अपनाउनुपर्दछ भन्ने चाहन्छन्। त्यसरी नै उनीहरूले यहाँको धर्मलाई अपनाउनुपर्दछ। यो झगडाको कुनै अन्त छैन। हामीले यो झगडालाई युरोपको सभ्यता बचाउने वा कुनै अन्यको सभ्यतालाई अपनाउने दृष्टिले हेर्नुहुँदैन। बरू हामीले यसलाई एक राजनीतिक मुद्दाको रूपमा हेरेर यससँग मिलेर समस्या समाधान गर्नुपर्दछ।

आतंकवादीहरूको काम आतंक फैल्याउनु  हो र उनीहरू यसलाई राम्रोसँग गर्न सकिरहेका छन्। आतंकवादीहरू शक्तिशाली देशहरूको राज्यव्यवस्थामा उथलपुथल मच्चाउन चाहन्छन्। आतंकवादी कमजोर हुँदा पनि मानिसहरूको दिमागमा खेल्न जान्दछन्। उनीहरूसँग बढी नोक्सान गर्ने शक्ति भने हुँदैन।

अल्बर्ट आइन्स्टाइनले भनेका थिए,  ज्ञानको सबभन्दा ठूलो दुश्मन अज्ञानता होइन, बरू ज्ञानको भ्रम हो। यदि तपाईं अज्ञानी हुनुहुन्छ भने धेरै कुरा सिकेर ज्ञानी बन्न सक्नुहुन्छ। यदि तपाईंलाई केही आउँदैन तर तपाईंलाई सबै कुरा आउँछ भन्ने लाग्छ भने तपाईं सम्पूर्ण उमेर बेवकूफ बनेर बिताउनुहुन्छ। अचम्मको कुरा त के छ भने आज धेरै मानिसहरू उनीहरूलाई सबै कुरा आउँछ भन्ने भ्रममा बाँचेका छन्। पहिलेको समयका आदिवासीहरूलाई शिकार गरेर खाना कसरी पकाउने, जनावरहरूको छालालाई कसरी कपडा बनाउने र स्वयंलाई कसरी बचाउने जस्ता कुराहरूको जानकारी थियो। उनीहरूलाई हरेक दिनका कामहरूको बारेमा थाहा थियो। तर एक अनुसन्धानमा केही मानिसहरूलाई उनीहरूको पर्सको जिपरले कसरी काम गर्दछ भन्ने कुरा सोध्दा उनीहरूलाई थाहा थिएन। आजको समयमा हामीलाई हाम्रो संसारले कसरी काम गरिरहेको छ भन्ने कुरा थाहै छैन। हामी अन्य विज्ञहरूको भरोसामा रहन्छौं र उनीहरूको ज्ञानलाई आफ्नो ज्ञान ठान्छौं। आजको समयमा सरकारले मानिसहरूलाई भोट दिने अधिकार दिएको छ, किनकि उनीहरूलाई के लाग्छ भने के राम्रो छ र के गर्नुपर्दछ भन्ने कुरा मानिसहरूलाई थाहा छ। तर तपाईंको लागि के राम्रो छ भन्ने कुरा वास्तवमा थाहा छ ? यसको परिणाम के हुन्छ भने संसारभरका मानिसहरूलाई संसारले कसरी काम गर्दछ भन्ने कुरा थाहा छैन। उनीहरू घरमा बसेर वाट्सएपको माध्यमबाट कुनै सुधारको लागि म्यासेज पठाउँदछन् र यसलाई धेरैभन्दा धेरै शेयर गर्नको लागि भन्दछन् ताकि यसबाट परिवर्तन आउन सकोस्। उनीहरूलाई के कुरा थाहा छैन भने धेरै मानिस त्यसलाई पढेको दुइ मिनेटपछि भुल्दछन् र अधिकारीसँग वाट्सएप चलाउने समय छैन। उनीहरूलाई सरकारमा कसरी कुनै नियमा लागू हुन्छ वा कसरी फैसला लिइन्छ भन्ने कुरा थाहा छैन तर उनीहरू आफ्नो राय दिइरहन्छन्। त्यसकारण यदि कसैले तपाईंलाई कुनै कुरा बताउँदछ भने त्यसलाई मान्नुभन्दा पहिले तपाईंले थोरै अनुसन्धान गर्नुपर्दछ।

के तपाईंले आफ्नो समयमा स्कूलमा पढेको कुराको थोरै भागलाई पनि आफ्नो जिन्दगीमा प्रयोग गरिरहनुभएको छ भन्ने लाग्छ ? आजको समयमा बच्चाहरूलाई जे पढाइन्छ, त्यो आउने समयमा उनीहरूको लागि काम लाग्दैन। हामी उनीहरूलाई जति पनि जानकारी दिइरहेका छौं, ती उनीहरूको लागि कुनै कामका वस्तु हुनेछैनन्। यसरी पढ्ने तरीका हामी १९औं शताब्दीदेखि अपनाउँदै आइरहेका छौं। त्यसबेला जानकारी प्राप्त गर्न धेरै मुश्किल हुने गर्दथ्यो। त्यसबेला न त रेडियो थियो र न टिभी नै। त्यसकारण मानिसहरूलाई इतिहास, विज्ञान र अन्य विषयहरूको बारेमा केही थाहा थिएन। जब स्कूल जान शुरू गरियो, तब मानिसहरूलाई धेरै जानकारी मिल्यो, जसबाट उनीहरूको जिन्दगीमा धेरै सुधार भयो। तर के आजको समयमा हामीलाई जानकारीको आवश्यकता छ ? अवश्य छैन। जानकारी त हामी जहाँसुकैबाट निकाल्न सक्छौं। हामीले त्यो जानकारीलाई आफ्नो लागि कसरी प्रयोग गर्ने भन्ने कुरा सिक्नुपर्दछ। हामीले त्यो डाटाको अर्थ कसरी निकाल्ने भन्ने कुरा सिक्नुपर्दछ। हामीले सोचहरूबाट आउने समयमा स्वयंलाई कसरी बचाउने भन्ने कुरा सिक्नुपर्दछ। जानकारी हाम्रो समस्या होइन। हाम्रो समस्या इन्टरनेटमा घुमिरहेका गलत जानकारीहरू हुन्। संसारभरी आज गलत समाचार घुमिरहेका छन् र धेरै मानिस यसलाई मानिरहेका पनि छन्, किनकि यो जानकारी साँचो छ वा झुटो छ भनेर कसरी पत्ता लाउने भन्ने कुरा उनीहरूलाई थाहा छैन। हामीले आफ्ना स्कूलहरूमा बच्चाहरूलाई कसरी बेकारका जानकारीहरूलाई कामका जानकारीबाट अलग गर्ने र कसरी सामुन्ने राखिएका डाटाको अर्थ निकालेर आफ्नो कामको लागि प्रयोग गर्ने भन्ने कुरा सिकाउनु पर्दछ। हामीले उनीहरूलाई जानकारी दिन बन्द गरिदिनुपर्दछ र उनीहरूलाई जानकारीको प्रयोग गर्ने कुरा बताउनुपर्दछ।

आजको समयमा हामी कम्प्यूटरमा हदभन्दा बढी निर्भर भइरहेका छौं। हामी यसलाई आफूभन्दा बढी समझदार बनाइरहेका छौं, जसबाट आउने समयमा तिनीहरूले हाम्रो ठाउँमा र हाम्रो काम लिन सकून्। आतंकवादीले हाम्रो मानसिकतालाई बुझ्दछन् र त्यसको प्रयोग गरेर आफ्नो उद्देश्यमा सफल हुन्छन् । र, मानिसहरूलाई  उनीहरू धेरै कुरा जान्दछन् भन्ने लाग्छ। जानकारी आजको समयमा हाम्रो लागि आवश्यक छैन, बरू त्यसको प्रयोग गर्ने योग्यता हाम्रो लागि अत्यन्तै आवश्यक हुन्छ। नेताहरूले सँधै सही बोल्छन् भन्ने कुरा साँचो होइन। आजभोलि हामी के बुझ्छौं भने  कुनै नेता वा कुनै योग्य व्यक्तिले जे बोलिरहेको छ,  त्यो साँचो नै बोलिरहेको होला। तर उसलाई यो कुरा आफ्ना वरिपरिका मानिसहरू र कर्मचारीहरूबाट थाहा हुन्छ। ती कर्मचारीहरू प्रायः आफ्नो फाइदाको लागि झुट बोलेर नेतालाई शुखी पार्ने कोशिस गर्दछन्। त्यसकारण नेतासँग आजको समयमा सही जानकारी पुग्छ भन्ने कुरा साँचो होइन। त्यसकारण कोमाथि भरोसा गर्ने भन्ने कुराको सट्टा हामी स्वयं बाहिर गएर वास्तविकता बुझ्ने कोशिस गर्नुपर्दछ।

हरारी ज्ञानका केही शब्दहरूसँगै आफ्नो कुरा समाप्त गर्दछन्। चेतना ब्रम्हाण्डमा सबभन्दा ठूलो रहस्य हो। एल्गोरिदम हाम्रो लागि उपयुक्त हुनुभन्दा पहिले हामीले आफ्नो दिमागलाई राम्रोसँग बुझिसकेका थियौं।

अन्तमा, पुस्तकलाई अति संक्षिप्त रूपमा यसरी व्यक्त गर्न सकिन्छ। मानवताको भविष्यमा बायो-टेक्नोलोजी र इन्फो-टेक्नोलोजीको तीव्रतापूर्वक विकास सामेल हुनेछ। बायो-टेक्नोलोजी र इन्फो-टेक्नोलोजीले मानिसहरूलाई तीव्रतापूर्वक अप्रासंगिक बनाइदिनेछन् किनभने उनीहरूको रोजगारीलाई यन्त्रहरूले प्रतिस्थापित गरिदिनेछन्। धनी आफ्नो दिमाग र शरीर बढाउनमा सक्षम हुनेछन्। आप्रवासविरोधी संस्कृतिवादी हुन्छन्। भविष्यका चुनौतिहरूलाई सामना गर्नको लागि मानवताले विनम्रताको विकास गर्नुपर्दछ। मानिसले सदैव सत्यको स्थानमा कल्पनालाई प्राथमिकता दिएको छ। यस अर्थमा उनीहरू हमेशा उत्तर-सत्य समाजमा रहेका छन्। कला र विशेष रूपले विज्ञान कथा जनतालाई आसन्न रूपले भविष्यको वास्तविकता तथा खतराको बारेमा सूचित गर्नमा एक महत्त्वपूर्ण माध्यम बन्न सक्दछ। मानवताले जीवनको अर्थ खोज्नुको सट्टा दुःख कम गर्ने तरीकाहरूको खोजी गर्नुपर्दछ। वैज्ञानिकहरूले तन्त्रिकाविज्ञानको पूरकको एक तरीकाको रूपमा ध्यानमा संलग्न हुनुपर्दछ।

सन्दर्भ स्रोतहरू

  1. 21 lessions for the 21st Century – Yuval Noah Harari, Jonathan Cape, London, 2018
  2. 21वीं सदी के लिए २१ सबक  – युवाल नोआ हरारी, हिन्दी, अनु- मदन सोनी, मंजुल पब्लिशिंग हाउस, नइ दिल्ली।
  3. Study and Research of various websites, Blogs, youtube channels, Magazines, Journals, Newspapers, online portal and etc.


2 responses to “हरारीको प्रसिद्ध पुस्तक ‘२१औं शताब्दीको लागि २१ पाठ’  को एक अध्ययन”

Leave a comment

About Me

I am a student of philosophy and nature. I thoroughly research all subjects and summarize them in Nepali and English. I am Secretary of Marxism Study-Research Academy, Nepal. I am a Social Worker. Education – i) Master of Arts Degree in Political Science – TU, ii) Master of Public Administration Degree – TU, iii) Master of Arts Degree in History-TU, iv) Master of Arts Degree in Nepalese History Culture and Archaeology-TU.

म अध्ययन-अनुसन्धान कार्यमा निस्वार्थ भावले निरन्तर लागेको एक वाम विचारधारायुक्त सामाजिक कार्यकर्ता हुँ। मेरो कुनै पनि राजनीतिक दलसँग संलग्नता नरहेको जानकारी गराउँदछु। मेरा हरेक अध्ययन-अनुसन्धान कार्य शोषण, दमन, अन्याय, अत्याचारका विरुद्ध हुनेछन् । आम श्रमजीवी, भोका-नांगा, गरीब, उत्पीडित जनसमुदायहरूलाई सुशिक्षित गर्ने प्रयत्न मेरो कर्तव्य हुनजान्छ । मेरा सबै कार्य जनहितका लागि हुनेछन् भन्ने आशा तथा विश्वासपूर्वक मैले निरन्तर कार्य अगाडि बढाइरहेको हुनेछु। श्रमप्रति सम्मान र शोषणप्रति घृणा नै मेरा कार्यका उद्देश्य हुनेछन्।  

यहाँ तपाईंहरू सबै प्रकारका सामग्रीहरू अध्ययन गर्न र हेर्न पाउनुहुनेछ । अध्ययन गर्नको लागि रूचियुक्त सामग्रीहरू माग गर्नुभयो भने यथासंभव परिपूर्तिसमेत गरिनेछ । यहाँ लेखरचना, पत्रपत्रिका, म्यागजिन,  जर्नल, विभिन्न पुस्तकहरू (नेपाली, अंग्रेजी र हिन्दी भाषामा), डकुमेन्ट्री, फिल्म, आदि सामग्रीहरू खोजेर पढ्न तथा हेर्न सक्नुहुन्छ।

I am a leftist social worker who is selflessly engaged in research work. I inform you that I am not affiliated with any political party. Every study-research work of mine will be against exploitation, oppression, injustice and tyranny. It is my duty to try to educate the common workers, the hungry, the poor, the oppressed masses. I will continue my work with the hope and confidence that all my work will be for public interest. Respect for labor and hatred for exploitation will be the objectives of my work.

Here you will find all kinds of content to study and watch. If you demand for interesting materials to study, they will be provided as much as possible. Here you can search and read articles, newspapers, magazines, journals, various books (in Nepali, English and Hindi languages), documentaries, films, etc.

श्रमको सम्मान गर्नुभएकोमा धन्यवाद ।

Thank you for respecting the labor.

Newsletter

Marxism-मार्क्सवाद

Communist history

Philosophy-दर्शन

लेनिन-LeninLeninism

दस्तावेज-documents

धर्म-दर्शन

त्रिपिटक–बुद्ध

गीता सार

Politics–राजनीति

ग्रन्थ परिचय

Mao-Maoism

साहित्य- literature

जीवनी-biography

साम्यवाद-communism

युवाबारे-On Youth

कार्ल मार्क्स–Karl Marx

फ्रेडरिक एंगेल्स–F. Engels

भी.आइ.लेनिन–V.I.Lenin

जे. भी. स्टालिन – J.V. Stalin

माओत्सेतुङ – Maotsetung

डिजिटल पुस्तकालय (digital library)

ई-पुस्तकालय -e-library

विज्ञान-प्रविधि (Science-Technology)

सामान्य ज्ञान (GK)

Documentaries and YouTube channels

पुस्तकालय – LIBRARY

नेपाली डिजिटल पुस्तकहरू (Nepali Digital Books)

नेपाली न्यूजपेपर, म्यागजिन र अनलाइन पत्रपत्रिकाहरू (Nepali Newspapers, Online and Nepali Magazines)

English Digital Books : Part – 1 (world communist special books)

English Digital Books : Part – 2

English Digital Books : Part – 3

हिन्दी डिजिटल पुस्तक (Hindi digital Books) भाग – १

हिन्दी डिजिटल पुस्तक (Hindi digital Books) भाग – २

हिन्दी डिजिटल पुस्तक (Hindi digital Books) भाग – ३

हिन्दी डिजिटल पुस्तक (Hindi digital Books) भाग – ४

हिन्दी डिजिटल पुस्तक (Hindi digital Books) भाग – ५

Documentaries and YouTube channels

Uncategorized

ENGLISH SECTION

Design a site like this with WordPress.com
Get started