✍ -नारायण गिरी
गेब्रियल गार्सिया मार्केज (६ मार्च १९२७ – १७ अप्रिल २०१४) नोबेल पुरस्कार विजेता विश्वप्रसिद्ध लेखक तथा साहित्यकार थिए। उनको बचपनको शुरुवाती वर्ष कोलम्बियाको उत्तरी तटको क्यारिवियन क्षेत्रस्थित अराकाटा नामक एउटा सानो शहरमा बिते। यहाँ उनी आफ्ना बाजे-बज्यै र तीन फूपुसँगै एकांकी बालकको रूपमा पालिए। बाजेको घरमा बितेका बचपनले नै उनको रचना-संसारलाई जन्म दिएको देखिन्छ। उनले जेसुइट स्कूल सेन जोसमा हाइ स्कूलको पहिलो वर्षमा भाग लिएका थिए। त्यस बेला नै उनले पत्रिकामा कविता प्रकाशन गर्न शुरु गरेका थिए। त्यसपछि उनले बोगोटा निकट लिसो नेसियन डी जिपाकिरामा अध्ययन गर्नको लागि एक सरकारी छात्रवृत्ति पाए। त्यहाँ उनले आफ्नो स्नातकको डिग्री प्राप्त गरे र नेशनल यूनिभर्सिटी अफ कोलम्बियामा कानूनको पढाइ शुरु गरे। मार्केजको इच्छा लेखक बन्ने थियो। सन् १९४७ मा उनले आफ्नो पहिलो लघुकथा स्पेक्टरमा प्रकाशित गरे। सन् १९५० मा उनले पत्रकारिताको अभ्यासको लागि आफ्नो कानूनी डिग्री छोडिदिए। त्यसपछि उनी रोम र पेरिसमा स्पेक्टेटरको संवाददाता थिए। पत्रकारको काम गर्दा उनी जेम्स जायज र भर्जिनिया वुल्फ जस्ता आधुनिक लेखकहरूका कृतिबाट परिचित भए। सन् १९५७ मा उनी भेनेजुयलाको राजधानी काराकास पुगे र त्यहाँ लगभग २ वर्ष पत्रकारिता गरे। सन् १९५८ को मार्चमा उनले मर्सिडीज बारचासँग विवाह गरे। उनीहरूका सन् १९५९ मा रोड्रिगो र १९६४ मा गोंजालो नामका दुई बच्चा भए। मार्केज पत्रकारको रूपमा छिट्टै प्रसिद्ध भए तर साहित्यकारको रूपमा पहिचान बनाउन भने उनलाई धेरै समय लाग्यो। सन् १९५९ को क्युवाको क्रान्तिपछि उनले क्यूबन समाचार एजेन्सी प्रेन्सा लातिनामा काम शुरु गरेका थिए। सन् १९५९ देखि १९६१ सम्म उनले हवाना र न्यूयोर्कमा क्युबाली सञ्चार एजेन्सीका लागि काम गरे। उनले पत्रकारिताका साथसाथै फिल्मी पटकथाहरू पनि लेखे । वामपन्थी विचारधारातर्फ झुकेका कारण उनलाई अमेरिका र कोलम्बिया सरकारले देश प्रवेशमा प्रतिबन्ध लगाएको थियो । सिआइएबाट धम्की आएपछि मार्केज र उनको परिवार मेक्सिको सिटी गयो। एज्टेक भूमिमा उनीहरूले आफ्नो बासस्थान बनाए र बोगोटा, कार्टाजेना डी इंडियास तथा पेरिसमा रहेर आफ्नो जीवनको अधिकांश समय बिताए। उनको पहिलो कथा संग्रह, Leaf Storm and Other Stories, 1955 मा प्रकाशित भएको थियो: No One Night (1961), To the Cornel and Other Stories and Eyes of a Dog उत्कृष्ट कथा संग्रह हुन्। उनको उपन्यास एकान्तका सय वर्ष पहिलो पटक १९६७ मा स्पेनिस भाषामा प्रकाशित भएको हो। यसलाई १९८२ मा नोबेल पुरस्कार प्राप्त भयो। ८७ वर्षको उमेरमा १७ अप्रिल २०१४ मा मेक्सिको सिटीमा उनको मृत्यु भयो।
ग्याब्रियल ग्रासिया मार्केज ती चार ल्याटिन अमेरिकी उपन्यासकारहरूमध्ये एक थिए, जसलाई पहिलोपटक १९६० र १९७० को दशकमा साहित्यिक ल्याटिन अमेरिकी बूममा राखिएको थियो। अन्य तीन जना पेरुका मारियो वर्गास लोसा, अर्जेजेन्टिनाका जुलियो कोर्टजार र मेक्सिकन कार्लोस फ्यूएन्टेस थिए।’वान हण्ड्रेड इयर्स अफ सोलिच्यूड’ (१९६७) ले गार्सिया मार्केजलाई ल्याटिन अमेरिकी साहित्यभित्रको जादुमय यथार्थवादी आन्दोलनको उपन्यासकारको रूपमा अन्तर्राष्ट्रिय ख्याति प्रदान गर्यो। यो उपन्यास शैलिगत रूपमा आधुनिकतावाद (यूरोपियन र उत्तरअमेरिकी) र क्युवाको भ्यानगार्डिया साहित्यिक आन्दोलनबाट प्रभावित थियो। गार्सिया मार्केजको उत्कृष्ट रचना मानिने यो उपन्यासलाई विश्व साहित्यमा महत्त्वपूर्ण कार्यको रूपमा व्यापक रूपले प्रशंसित र मान्यता प्राप्त छ।
मार्केजको एकान्तका सय वर्ष एक विश्वप्रसिद्ध उपन्यास हो। लेखकले यो उपन्यास १८ महिना लाएर लेखेका थिए। यो उपन्यास संसारमा धेरै ठूलो संख्यामा विक्री भयो र ५० भन्दा बढी भाषामा अनुवाद पनि भयो। पहिलो पटक यो उपन्यास सन् १९६७ मा स्पेनिश भाषामा प्रकाशित भएको थियो। यो उपन्यासलाई मार्केजको जादूमय यथार्थको बेजोड कृति मानिन्छ। यो उपन्यास केवल एउटा शहर र त्यसका कैयौं पुस्ताहरूको कहानी मात्र होइन, यसले वास्तवमा आफ्नो समय र समाजको व्यापक यथार्थ जादूमय अलंकार प्रस्तुत गर्दछ। शहर र पुस्ताका लामा र रोचक कथामार्फत लेखक यसमा समाज, देश र सभ्यताको अस्तित्व र ध्वंसको कथा पनि प्रस्तुत गर्दछन्। क्रमबद्ध कथा तथा उपकथाहरू, अतिरंजना, रहस्य र कल्पनाको बीचबाट उपन्यासको मूल कथा निरन्तर अगाडि बढिरहेको हुन्छ। यो उपन्यास म्याकोण्डो नामक शहरको उदयदेखि पतनसम्मको रोचक कथा हो। यो शहरको स्थापना जोस अर्काडियो बुएन्डिया र उसका केही पुस्ताहरूले मिलेर बनाएका थिए। शहरसँगै यसमा अर्काडियो परिवारको सात पुस्ताको कथा छ। यसमा प्रस्तुत गरिएको कथाको आधारमा मार्केजलाई विश्व साहित्यमा जादूमय यथार्थवादी भनिन्छ। यो यस्तो यथार्थ हो, जसले पुस्तौं पुराना कथाहरू जस्ता रोचक, मोहक र कैयौं पटक अविश्वसनीय लागेर पनि वास्तविकतालाई सामुन्ने ल्याउने एक गैर-पारम्परिक रूप लिएर आउँछ। यस्तो कथामा मार्केज अलंकार बनाउँदछन् र त्यो बेजोड छ। उनको यो शैली र अव्यक्त सन्दर्भले उनलाई विश्वको महान उपन्यासकार बनाएको छ।
एकान्तका सय वर्ष उपन्यासमा बुएन्डिया परिवारका कैयौं पुस्ताहरूको महाकाव्यात्मक कथा सय वर्षसम्म फैलिएको छ। केराको उत्पादन र व्यापारमा जमेका ठूला कम्पनीहरूका लुट र षड्यन्त्रकारी गतिविधिहरूको विरूद्ध कर्नेल ओरेलियानो बुएन्डिया आफ्नो समाज र जनताको लागि लड्दछ। ऊ नायकको रूपमा प्रकट हुन्छ र पछि ऊ स्वयं तानाशाह बन्छ। ल्याटिन अमेरिकाका कैयौं देशहरू यो राजनीतिक कथात्मक उपन्यासको मूल कथानकका महत्त्वपूर्ण हिस्सा हुन्। अनिद्रा, गरीबी, युद्ध र करिब पाँच वर्षसम्म चल्ने एक उष्णकटिबन्दीय तूफानबाट ध्वस्त भएको म्याकोण्डो शहरको कथाले बुएन्डिया परिवारका सात पुस्ताका घटनाक्रमहरूलाई सामुन्ने ल्याउँदछ। र, मार्केज यसलाई समाज र सभ्यताको अलंकार बनाएर प्रकट हुन्छन्। अन्तिममा मेल्कियाडेसका रहस्यमय पाण्डुलिपिहरूबाट यो कथा सामुन्ने आउँदछ। यही नै मार्केसको जादूमय यथार्थ हो, जसमा कुनै पारम्परिक कथाभन्दा बढी कहानीपन छ र जहाँ कथाभित्र समाज र सभ्यताको उत्थान-पतन, संघर्ष र विकासको जटिलता र गत्यात्मकता गाँसिएको प्रतीत हुन्छ। यो महाकाव्यात्मक मानवीय गाथामा धेरै विचित्र लाग्ने कथा-मोडहरू छन्, जुन जादूमय र अतिरंजित देखिए पनि तिनीहरूले आफ्नो समयको वास्तविकतालाई रोचक ढंगले पेश गर्दछन्।
यो उपन्यासले पोर्चुगल र स्पेनको आइबेरियन संस्कृति, सामाजिक जीवन र त्यससँग जोडिएका अन्य चीजहरूको बारेमा जानकारी दिन्छ। यसले सामन्तवादबाट व्यापारिक पूँजीवादमा संक्रमणको युगका मानिसहरूको चरित्र, समुद्री डाकु, घुमन्ते, आदिको बारेमा पनि जानकारी प्रदान गर्दछ। यसले स्पेनी औपनिवेशीकरणको बेलामा ल्याटिन अमेरिकामा कसरी मानिसहरू अलग-अलग ठाउँबाट आएर बसे र कसरी विभिन्न संस्कृतिहरूको बीचमा घात-प्रतिघात र मिश्रण भयो भन्ने कुरा स्पष्ट पार्दछ। त्यसरी नै स्पेनी, अंग्रेजी र अमेरिकी उपनिवेशवदीहरूले ल्याटिन अमेरिकासँग कस्तो व्यवहार गरे भन्ने कुराको जानकारी पनि उपन्यासले प्रदान गर्दछ। एकान्तका सय वर्ष एक काल्पनिक शहर म्याकोन्डोको जन्म, उत्थान र पतनको गाथा हो। यसका सबभन्दा महत्त्वपूर्ण वासिन्दा बुएन्डिया परिवारका मानिस हुन्, जसका सात पुस्ताको कहानी यो शहरको उत्थान र पतनसँगै गाँसिएको छ। यो एक ऐतिहासिक विवरणात्मक गाथा जसरी अगाडि बढ्दछ। अन्य महाकाव्यात्मक कृति जस्तै यो उपन्यासको पनि एक खास इलाकाका जनताको ऐतिहासिक यथार्थसँग प्रत्यक्ष सम्बन्ध छ। यसमा एक ल्याटिन अमेरिकी देश कोलम्बियाको उन्नाइशौं शताब्दीको आरम्भदेखि स्पेनबाट स्वतन्त्रता (१८१०-१८२५) प्राप्तिदेखि लिएर त्यसपछिको विकासको इतिहास छ। उपन्यासमा वर्णन गरिएको गृहयुद्धको अन्तहीन सिलसिलालाई प्रत्यक्ष रूपमा सन् १८५५ देखि १९०२ सम्म कोलम्बियामा जारी गृहयुद्धम आधारित ठानिन्छ र कर्नेल ओरेलियानोको चरित्र तथा कर्नेल राफेल उरीबेको बीचमा अनेकौं समानताहरू छन्। यिनीहरूको कमाण्डमा लेखकका हजुरबाले लडाइँ लडेका थिए। उरीबेको संघर्ष सन् १९०२ मा नीरल्याण्डिया सन्धिसँगै खत्तम भएको कुरा उपन्यासमा उल्लेख गरिएको छ। सन् १९०० र १९२८ को बीचमा बोस्टनको यूनाइटेड फ्रूट कम्पनीले कोलम्बियालाई आफ्नो कब्जामा लियो। यो कम्पनीको विरूद्धमा मजदूरहरूको संघर्ष अक्टुबर १९२८ मा आफ्नो चरम उत्कर्षमा पुग्यो। यसमा ३२००० मजदूरहरूले हड्ताल गरे। पछि सरकारले आन्दोलनको दमनको लागि सेना पठायो। यो सेनाले ५ डिसेम्बर १९२८ मा सियेड्गामा नरसंहार गर्यो।
यो उपन्यास ऐतिहासिक उपन्यास भने होइन। यसले पाठकहरूलाई यो काल्पनिक हुने बारेमा सावधान पनि गर्दछ। इतिहास यहाँ यथार्थवादी उपन्यासहरूको इतिवृत्तात्मक हुबहुपनसँगै उपस्थित छैन, बरू बिम्ब, मिथक र चामत्कारिक घटनाहरूको एक श्रृंखलाबाट निर्मित जादूमय आवरणद्वारा आलंकारिक छ। सम्पूर्ण उपन्यासमा मनोरन्जनात्मकता, काल्पनिकता र तथ्यपरकता एक-अर्कोसँग घुलमिल भएका छन् र यो नै उपन्यासको एक खास विशेषता रहेको छ। यसको रसास्वादन गर्न अस्वीकार गर्दा वा अधिक यथार्थवादी तर्कसंगताको माग गर्दा यो उपन्यासबाट आनन्द लिन सकिंदैन। यथार्थलाई मनोरन्जनात्मक र कल्पनात्मक ढंगले अभिव्यक्त गर्ने यो शैलीलाई जादूमय यथार्थवाद भनिन्छ। यो उपन्यास यसको प्रतिनिधिमूलक उदाहरण हो। जादूमय यथार्थवादलाई सामान्यतः ल्याटिन अमेरिका र त्यहाँको प्राकृतिक, भौगोलिक, राजनीतिक र सांस्कृतिक रहस्यसँग जोडेर हेरिन्छ र यसले यथार्थवादी उपन्यासहरूको पारस्परिक शैलीबाट आफ्नो अलग पहिचान कायम गरेको छ।
यसरी एकान्तका सय वर्ष उपन्यासले विभिन्न आयामहरूको बीचमा एक द्वन्द्वात्मक आकर्षण कायम राख्दछ। यो उपन्यास एक मनोरन्जनात्मक र कल्पनात्मक रूपमा अगाडि बढ्द । यो पुस्तकले ल्याटिन अमेरिकाको इतिहासको पुनर्लेखनको बिडा उठाउँदै अन्तमा यसले पाठकलाई एक कल्पित संरचना हो भन्दछ। वास्तविकतालाई बुझ्ने र त्यसको वर्णन गर्ने मानिसको क्षमतामाथि परम्परागत यथार्थवादी लेखनको भरोसालाई स्वीकार्न असमर्थ मार्केजले यथार्थवादी उपन्यासको दस्तावेजी विधिभन्दा बाहिर रहेर एक शैली अपनाए। यसलाई जादूमय यथार्थवाद भनियो। एकान्तका सय वर्ष उपन्यासले ल्याटिन अमेरिकाको प्राकृतिक माहौलका अपूर्व आयामहरू र राजनीतिक जनजीवनका अतिशयक्तिहरूलाई खुलासा गर्दछ। उपन्यासमा वर्णित प्रत्येक घटना जतिसुकै अद्भुत भए पनि नितान्त तर्कसंकत स्पष्टीकरण हो। उपन्यासमा प्रस्तुत गरिएका घटनाहरू वास्तवमा घटित नभए पनि त्यहाँका मानिसहरूले तिनीहरूलाई बुझेका र अनुभव गरेका हुन्छन्।
यो उपन्यासमा बुएन्डिया परिवारको इतिहासको एक दृष्टान्त छ। यसले सम्पूर्ण अमरिकाको सामाजिक-सांस्कृतिक इतिहासलाई दृष्टान्त बनाएर प्रस्तुत गरेको छ। यो मानव प्रगतिको इतिहासको एक संक्षिप्त प्रतिरूमा देखा परेको छ। यो उपन्यासले विकसित समाजलाई लक्षित गर्दै ल्याटिन अमेरिकाका औपनिवेशिक चरणहरूका खाकालाई इतिहासको रेखीय गतिक्रममा हाम्रो सामु प्रस्तुत गर्दछ। म्याकोन्डो परिवारमा कसरी क्रमैसँग फ्रान्सेली, अंग्रेजी र सेपेनिश उपनिवेशहरूको स्थापना हुन्छ भन्ने कुरा उपन्यासमा दर्शाइएको छ। म्याकोण्डोको स्थापना मूल रूपमा सबभन्दा पहिले कर्नेल बुएन्डियाले २१ सहयोगीसँग गरेको थियो, जसमा पहिलो पुस्ता पितृसत्तात्मक छ र यो जादू, टुना र रहस्ययुक्त छ। यो समाज बाहिरी संसारको सम्पर्कमा आएपछि आदिवासी जीवन अनुशासन प्रणालीको स्थानमा औपनिवेशिक शासन प्रणालीमा जान्छ। यससँगै आदिवासी जीवन अनुशासन प्रणालीलाई कायम राख्ने र औपनिवेशिक शासन स्थापित हुने कुरालाई लडाइँ शुरु हुन्छ, जुन गृहयुद्धको रूपमा सामुन्ने आउँदछ। यो युद्ध बीस वर्षसम्म चल्छ। एउटा ठूलो गृहयुद्धपछि त्यहाँ बचर्स्ववादी औपनिवेशिक शासन प्रणालीको नगरपालिका स्थापित हुन्छ। यससँगै यहाँ बाहिरी संसारको प्रविधिको प्रवेश हुन्छ। जसमा, आधुनिक ट्रेन, यन्त्र, विजुली, ग्रामोफोन, चलचित्र, टेलिफोन, आदि धेरै बर्चस्व र विकासका नयाँ संकेतका रूपमा सामुन्ने आउँदछन्।
उत्तर अमेरिकाकाको केरा कम्पनी यहाँ आएपछि ऐतिहासिक परिवर्तन हुन्छ र यससँगै म्याकोण्डो औपनिवेशिक विदेशी शक्तिको बर्चस्वको प्रतीको रूपमा एक विशेष प्रकारको औपनिवेशिक केन्द्र बन्दछ। यही बीचमा यहाँ एउटा अर्को व्यापारिक गुट पुग्दछ। त्यसपछि सामाजिक टकराव सृजना हुन्छ र साथसाथै प्राकृतिक विपद पनि आउँदछ। यी सबै टकराव र प्राकृतिक विपद जस्ता स्थितिहरूले म्याकोण्डो परिवारलाई आफ्नो इतिहासको अन्तिम चरणमा पुर्याइदिन्छ। प्राग-ऐतिहासिक समाजको प्रतीकको रूपमा सम्पूर्ण म्याकोन्डो ऐतिहासिक प्रगतिमा प्रवेश गर्दै जाँदा उसले कृत्रिमताको बोधको स्थिति पाउँदछ। प्राग-ऐतिहासिक समाज आधुनिक समाजमा परिवर्तित हुँदै जान्छ, जसमा व्यवस्थित संस्थान र विस्तृत संयन्त्र हुन्छ। त्यसपछि यो सृजना हो वा विश्वंस भन्ने प्रश्न उठ्छ। यहाँको सामाजिक भूगोल रक्त-सम्बन्धमा नै बन्दछ। मुक्त पारिवारिक समाज भएर पनि एकान्तपन त्यो परिवेश र समाजमा व्याप्त छ। यो एकान्तपनले त्यो परिवार र समाजलाई खान्छ। यही कुराले यो उपन्यासको कथा बुन्दछ। यसलाई इतिहासको हस्तक्षेप वा इतिहासको व्यावधानबाट मुक्त भएर लेखिन्छ। यो यस्तो समाज हो, जुन बाँकी संसार र सभ्यताभन्दा धेरै फरक छ। यो समाज आफ्नो पारिवारिक संसारको गहिराइसम्म पुगेको छ तर पनि भयंकर उदासीमा छ। त्यहाँ उदासीपन धेरै गहिराइसम्म विद्यमान छ। यो परिवारमा एकान्तको स्रोत प्रेमको अभाव हो। यसकारणले गर्दा नै यो उपन्यासको अन्तिम परिणति प्रेममा हुन्छ, जुन यो समाजमा थिएन। यही परिणतिसँगै एकान्तको सय वर्ष सकिन्छ। बुएन्डिया परिवारको अन्तिम पुस्ताले जमेर प्रेम गर्दछ त्यसैमा डुब्दछ। सबै कुरा सकिएपछि पनि यो पुस्ता सबै भुलेर प्रेम गरिरहन्छ, जुन पहिले यहाँ कहिल्यै हुनसकेको थिएन। यसको साथै यो परिवार हरेक प्रकारका बन्धन, एकान्त र उपनिशहरूबाट मुक्त हुन्छ। यसपछि ओरेलिएनो र उर्सुला दुवै प्रेममय रिक्त संसारमा रहन लाग्छन्, बन्धनहरूबाट मुक्त, बिल्कुल मुक्त र प्रेमयुक्त जिन्दगी।
संक्षिप्तमा उपन्यासका घटनाक्रम
जोस अर्काडियो बुएन्डिया नामक एउटा व्यक्ति कोलम्बियमा बस्थ्यो। उसले उर्सुलासँग विवाह गर्दछ। उर्सुलाले यस्तो कपडा लाउँछे कि जसको कारणले गर्दा उनीहरूबीचमा एक वर्षसम्म यौनसम्पर्क हुन सक्दैन। त्यसपछि समाजमा बुएन्डियाको कुरा काट्न थालिन्छ। आफ्नी श्रीमतिको कारणले उसको धेरै बेइजत हुन्छ। त्यसपछि ऊ एकदिन भाला लिएर स्वास्नीकोमा जान्छ र भन्छ – कि कपडा खोल, होइन भने म तँलाई मार्छु। त्यसपछि उनीहरूबीच शारीरिक सम्पर्क सम्पन्न हुन्छ।
एकपटक भाले जुधाई खेल खेलिरहेको बेलामा बुएन्डियाको साथी प्रुडेन्सियोले उसलाई ठट्टा गर्दै ऊ एक नपुंसक हो र यसको लिंग छैन भनेर भन्यो। यो अपमानले जोसलाई धेरै रिस उठ्छ र त्यसलाई हिर्काउन थाल्छ। यो लडाइँको क्रममा त्यो मानिस मर्छ। त्यसपछि त्यो मरेको मान्छेको आत्मा भट्किएर जोसको पिछा गर्दछ। यसपछि जोस आफ्नी पत्नी उर्सुलासँगै त्यहाँबाट भाग्छ। रातभरको जंगलैजंगलको यात्रा पछि तिनीहरू एउटा नदीको किनारमा पुग्छन्। त्यहाँ जोसले एउटा सपना देख्छ, जसमा उसले त्यो ठाउँमा एउटा शहर बसाएको हुन्छ। उसले उर्सुलालाई यो सपनाको बारेमा बताउँछ र त्यसपछि त्यहाँ उसले म्याकोन्डो नामको शहर बनाउँछ। बिस्तारै म्याकोन्डो एक पूर्ण शहर बन्छ। र, जोसका सात पुस्ताहरू त्यहीँ बस्छन्। म्याकोण्डोमा बुएन्डिया आफ्नो परिवारसहित बस्दछ। सुरुमा म्याकोन्डोको बाहिरी संसारसँग कुनै सरोकार थिएन। र, मानिसहरू प्रविधि, आदिबाट टाढा थिए। जोस त्यहाँका मानिसहरूको नेता भएर बसेको थियो।
समय बित्दै जाँदा जोस र उर्सुलाका धेरै सन्तान भइसकेका थिए। उनीहरूको जेठो छोराको नाम पनि जोस थियो, जो आफ्नो बुबा जस्तै बलियो र गम्भीर स्वभावको थियो। तर कान्छो छोरा अर्काडियो निकै फुर्तिलो, सानो र महत्वाकांक्षी थियो। उसले उसको पितालाई काममा सघाउँदथ्यो। एउटी छोरी अमारान्ता पनि थिई। परिवारका बाँकी सदस्यहरू पनि फरक-फरक व्यक्तित्वका थिए। कोही सनकी थिए, कोही दुर्व्यसनी थिए र कोही शान्त र धैर्यवान थिए। जेठो छोरो अनौठो प्रकारको, विशाल देह भएको, ठूलो लिंग भएको थियो।
एक पटक केही जिप्सी (घुमन्ते) हरू म्याकोन्डोमा आउँछन्। त्यसपछि तिनीहरू प्रायः त्यहाँ आइरहन थाल्छन्। तिनीहरूले टेलिस्कोप, बरफ, चुम्बक, आदि जस्ता प्रविधिका चीजहरू मानिसहरूलाई देखाउँछन्। तिनीहरूका नेता, मेलक्वाडेस, जोसको साथी बन्छ। उसका कुराहरू धेरै रहस्यले भरिएका हुन्थे। जोसलाई पनि जीवनका रहस्यहरू सुल्झाउनमा रूचि हुनलाग्यो। बिस्तारै-विस्तारै उसले मानिसहरूसँग भेटघाट गर्न छोड्यो । र, जादूगरी, जीवन-मरण, आदि विषयमा लेखिएका पुस्तकहरू पढ्न थाल्यो तर एक दिन ऊ पागल हुन्छ ।
कोलम्बियाको स्वतन्त्रता पछि, त्यहाँ कन्जरभेटिभ र लिबरल पार्टीहरू बीच शीतयुद्ध सुरु भयो, जसको हिंसाको आगो म्याकोन्डोसम्म पनि आइपुग्यो । ओरेलियानो लिबरल पार्टीमा सामेल भयो र यस लडाइँमा ऊ सक्रिय रूपमा सहभागी भयो। भीषण मारकाट र कुटपिट मच्चाएको कारणले ऊ निकै चर्चित भयो । म्याकोन्डोमा सरकारी गभर्नर बनेर आएको व्यक्तिको छोरीसँग ओरेलियानोले विवाह गर्छ। त्यसभन्दा पहिले नै उसको दाजु र उसले पिलार तेरनेरासँग सम्बन्ध राखेर एक-एक सन्तान जन्माइसकेका थिए। ओरेलियानको ससुरो रेमेडियो मस्कोट त्यहाँको गभर्नर भए पनि वास्तविक शक्ति भने बुएन्डियालीहरूकै हातमा हुन्छ। जोस अर्काडियो बुढो भएपछि एकदिन पागल हुन्छ र हराउँछ। त्यसपछि म्याकोण्डोमा सरकारी चलखेल शुरु हुन्छ। चुनावमा पुरातनवादीहरूको जाल देखेर ओरोलियानोले उदारवादीहरूलाई नै सहयोग गर्दछ र उनीहरूसँगै लागे युद्धमा होमिन्छ। रक्तपातपूर्ण युद्धपछि ओरोलियानोले आफूलाई कर्नेल घोषणा गर्दछ।
यस अवधिमा कोलम्बियामा धेरै सरकारहरू आए र गए। पिलार तेरनेराबाट जन्मिएका दुई सन्तानमध्ये अर्काडियोले म्याकोण्डोको शासनको जिम्मा पाउँछ तर उसले अत्यन्तै खराब शासन चलाउँछ, त्यसपछि उसको हत्या हुन्छ। यसको कारणले फेरि लडाइँ शुरू हुनगयो। धेरै वर्ष पछि एक शान्ति सन्धि भयो र अन्ततः यो युद्ध समाप्त भयो। हराएको जोस अर्काडियो एकदिन अचानक आउँछ । ऊ पूरा विश्व घुमेर आएको हुन्छ । त्यसपछि उसले रेबेकालाई विहे गर्दछ। उता अमारान्ता एक सङ्गीतकार पेत्रो क्रेस्पीसगँ प्रेममा परेकी हुन्छे । तर अमारान्ताले पेत्रोलाई प्राप्त गर्ने अवसर आएपछि उसलाई छोडिदिन्छे । यही पीरले गर्दा पेत्रो मर्दछ ।
यसबीचमा थुप्रै घटनाहरु घटेका हुन्छन् । म्याकोन्डोमा रेल आइपुगेको हुन्छ। कर्नेल फेरि आफ्नो पुरानो पेशामा फर्किन्छ र एकदिन ऊ पनि मर्दछ, अमारान्ता पनि मर्दछे । सुन्दरी रेमेडियोसको सुन्दरताको बयान गर्नै नसकिने हुन्छ, तर एकदिन आफ्नो भाउजुलाई आश्चर्यमा पार्दै ऊ आकाशतिर उड्छे । म्याकोन्डोमा केराको खेती शुरु हुन्छ र जोसे अर्काडियो सेगुण्डो त्यसमा मजदूर बनेर काम गर्न थाल्दछ । अनि एकदिन तीन हजारभन्दा बढी मान्छेहरुको हत्या हुन्छ । म्याकोन्डोमा त्यस दिनदेखि लगातार चार वर्ष एघार महिना दुई दिन पानी पर्दछ । अरु दश वर्ष खडेरी परेपछि मान्छेहरुले बुएन्डिया परिवार र तीन हजार मान्छेहरूको मृत्युलाई बिर्सन्छन् ।
ओरेलियानो सेगुण्डो र जोस अर्काडियो पनि मर्दछन् । फेर्नाण्डा पनि मर्दछे, जसको सन्तानको रूपमा जोस अर्काडियो रोमबाट आइपुग्छ र उर्सुलाले गाडेको सुनको सिक्काको थैलो फेला पार्दछ र मोजमस्ती गर्न थाल्दछ । तर उसको पनि हत्या हुन्छ । केही समयपछि अमारान्ता उर्सुला पनि आफ्नो पति गेस्टोनसँगै बेल्जियमबाट आउँछे। त्यसबेलासम्म घरमा ओरेलियानो मात्र रहेको हुन्छ । ऊ बिस्तारै अमारान्तालाई प्रेम गर्न थाल्दछ तर भन्न नमिल्ने हुनाले ऊ आफ्नो धेरै समय निग्रोमान्तासगँ बिताउन थाल्दछ । तर एकदिन अचानक सबै कुरा अमारान्तालाई भन्न पुग्छ र सम्बन्ध बिग्रन्छ । त्यसपछि ओरेलियनो पिलार तेरनेराकोमा जान्छ र तासको पत्तामा आफ्नो भविष्य हेर्न भन्छ । पिलार तेरनेरा बुएन्डिया परिवारको सम्पूर्ण भविष्य जान्न सक्ने हुन्छे र उसलाई फर्केर घर जान भन्छे, जहाँ अमारान्ता उर्सुला उसलाई पर्खेर बसेकी हुनेछे । घरमा लोग्ने एकातिर पढ्दै हुन्छ, अर्कोतिर अमारान्तालाई ओरेलियानो समात्न पुग्छ । एक किसिमको लडाइँ चल्छ तर ऊ आवाज निकाल्दिन र अमारान्ता गर्भवती हुन्छे । यसैबीच गेस्टोन बेल्जियम फर्कन्छ र चिठीमा मात्र सम्पर्क कायम रहन्छ । ओरेलियानोका चारै साथीहरु पनि गाँउ छोडेर जान्छन् र बिस्तारै सम्पर्कविहीन बन्दछन् । तर यतिबेला अरेलियानो यी सबैसँग दिक्क भइसकेको थियो। ऊ म्याकोन्डो फर्कियो र अब ऊ आफ्नो घरमा गोल्डफिस मात्र बनाउने गर्थ्यो। यी सबै क्रममा विभिन्न महिलाबाट उसका १७ वटा अवैध सन्तान भइसकेका थिए।
शीत युद्धको समयमा बुएन्डिया परिवारमा कैयौंको मृत्यु र जन्म भइसकेको थियो। धेरै प्रेम सम्बन्ध र काण्ड पनि भइरहन्थे । केही रोचक कुराहरु यस प्रकार थिए – एकपटक एउटी केटीले आफ्नो बोर्डिङ स्कुलबाट ७२ जना साथीहरूलाई घरमा ल्याई। एउटी केटी यति अनुष्ठानयुक्त थिई कि उसले लुगा लगाएर नै हनिमुन पनि मनाई। आफ्नो पतिको लागि केवल उसले आफ्नो योनी नजिकको कपडामा मात्र प्वाल पारेकी थिई। त्यो परिवारका धेरै पुरुषहरू प्रायः वेश्यालयमा जाने गर्थे, आदि-आदि।यी सबै कुराको बाबजुद आफ्नी बुढी मालिक्नी उर्सुलालाई असाध्यै माया गर्थे, जसले सिंगो परिवारलाई बाँधेर राखेकी थिई।
विस्तारै-विस्तारै अमेरिकी पूँजीवादीहरूको म्याकोन्डोमा दृष्टि पर्नगयो। त्यहाँ रेलवे ट्र्याक बिच्छ्याइयो र त्यहाँको उर्वर भूमिमा केराको खेती ठूलो मात्रामा शुरू गरियो। यसबाट धेरै भन्दा धेरै जनताले काम पाए । तर पूँजीपतिहरूले मजदूरको धेरै शोषण गर्थे । कम पैसा दिएर धेरै काम गर्न लगाउँथे । साथै उनीहरूलाई कुनै सुविधा पनि दिइएको थिएन । पूँजीवादीहरूले नदीको अर्को किनारमा आफ्नो रमणीय उपनिवेश बनाएका थिए। र, तिनको सेना तथा नेताहरूसँग राम्रो सम्बन्ध थियो।
एक पटक शोषणको विरुद्धमा सबै मजदूर मिलेर हड्ताल गरे । तर सेनाले हजारौं मजदूरहरूलाई गोली हानेर मारे। यसलाई केरा नरसंहार (Banana Massacre) पनि भनिन्छ, जुन १९२८ मा भएको थियो। सबैको लाशलाई खोलामा फ्याँकिएको थियो । यो घटना पछि म्याकोन्डोमा लगातार ५ वर्षसम्म वर्षा भइरह्यो र सबै कुरा उजाडियो। पूँजीपतिहरू त्यहाँबाट गए। विस्तारै-विस्तारै म्याकोन्डो फेरि उस्तै भयो, जस्तो जोस त्यहाँ हुँदा भएको थियो। एकपटक फेरि त्यसको बाहिरी संसार र सभ्यतासँग सम्बन्ध टुटिसकेको थियो।
अमारान्ता उर्सुलाले एक अचम्मको छोरो जन्माउँछे । यसबीच ओरेलियानो आफ्नो उत्पत्तिको श्रोत खोजिरहन्छ तर भेटेको हुँदैन । अत्याधिक रक्तश्राव भएपछि अमारान्ता उर्सुला मर्दछे र ओरेलियानो भौतारिएर हिड्ँछ । ऊ छोराको सम्झनाले फर्केर आउँदा छोरो कमिलाले खाएर मरिसकेको हुन्छ । अन्तमा उसले एउटा पुरानो किताब पढिरहेको थियो, जसमा के लेखिएको थियो भने एक दिन सम्पूर्ण वुएन्डिया परिवार खत्तम हुनेछ भन्ने कुरा पहिले नै भविष्यवाणी भइसकेको छ। साथै त्यसमा यो जीवन-मरणको चक्र यस ब्रम्हाण्डमा चलिरहन्छ भनेर पनि लेखिएको थियो। यसको मतलब हामी पहिले धेरै पटक जन्मेका छौं र धेरै पटक मरिसकेका छौं।
Reference
- ONE HUNDRED YEARS OF SOLITUDE, GABRIEL GARCIA MARQUES, TRANSLATED FROM THE SPANISH BY GREGORY RABASSA, Published by arrangement with Harper & Row, Publishers, Inc.
- गैब्रियल गार्सिया मार्खेज, एकान्त के सौ वर्ष, हिन्दी संस्करण, अनुवाद – मनिषा तनेजा, राजकमल प्रकाशन
- गैब्रियल मार्खेज : यथार्थ का मायावी चितेरा (आलेख), अक्षय काले, आव्हान पत्रिका, २०१४
- Study and Research of various website and blogs
Leave a comment