उत्पीडितहरूको शिक्षाशास्त्र -१

(उत्पीडितहरूको शिक्षाशास्त्रको औचित्य, उत्पीडक र उत्पीडितहरूको अन्तर्विरोध र त्यसको समाधान, उत्पीडन र उत्पीडक, उत्पीडन र उत्पीडित, मुक्तिको पारस्परिक प्रक्रिया)

अमानवीकरणको समस्यालाई मूल्याश्रित दृष्टिकोण१ बाट हेर्दा यो प्रायः मानव जातिको केन्द्रीय समस्या रहदैँ आएको छ तर अब यसको चरित्र एक यस्तो चिन्ता बनेको छ, जसलाई बचाउन सकिन्न ।२ मानवीकरणको विषयमा चिन्तन गर्ने बित्तिकै हामी अमानवीकरणलाई बुझ्न शुरु गर्दछौँ – केवल यस रूपमा मात्र अमानवीकरण सम्भव छैन, बरु यो एक ऐतिहासिक वास्तविकता हो भन्ने रूपमा पनि । मानिसले जब अमानवीकरणको व्यापकतालाई देख्छ, तब ऊ आफैँसँग प्रश्न गर्दछ : के मानिस बन्नुको कुनै व्यवहारिक सम्भावना छ ? इतिहासका अनुसार ठोस वस्तुपरक सन्दर्भहरूमा त्यो मानिस जो अझै अपूर्ण छ र आफ्नो अपूर्णतालाई जान्दछ, र यदि अमानवीय बन्न सक्दछ भने, मानिस पनि बन्न सक्दछ ।

यद्यपि मानवीकरण र अमानवीकरणका यी दुवै विकल्प वास्तविक हुन्, फेरि पनि मानिसको कर्तव्य मानिस बन्नु नै हो । यस कर्तव्यलाई निरन्तर निषेध गरिन्छ तर यसको निषेधबाट यसैको पुष्टि हुन्छ । यसलाई अन्याय, शोषण, उत्पीडन तथा उत्पीडकहरूको हिंसाद्वारा रोकिन्छ तर उत्पीडितहरूको स्वतन्त्रता र न्यायको आकांक्षाबाट तथा आफ्नो गुमेको मानवीयतालाई फेरि प्राप्त गर्नका लागि गरिने संघर्षबाट यसको पुष्टि पनि हुँदै आएको छ ।

अमानवीकरण पूर्णतासँगै मानिस बन्ने कर्तव्यपथमा विमुख हुने एक विकार हो । यो विकार आफ्नो छाप तिनीहरूमाथि नै छोड्छ, जसको मानवीयता चोरी भैसकेको हुन्छ; यो तिनीहरूमाथि पनि एक भिन्न तरिकाले आफ्नो छाप छोड्दछ, जसले अन्य मान्छेको मानवीयता  चोरेका छन् । यो विकार इतिहास अन्तर्गत उत्पन्न हुन्छ, तर यो कुनै ऐतिहासिक कर्तव्य पनि भने होइन । अमानवीकरणलाई ऐतिहासिक कर्तव्य मान्ने कुराले वास्तवमा मानवद्वेषी सनकीपनतर्फ अथवा पूर्ण निराशातर्फ लिएर जान्छ । यसपछि त मानवीकरणका लागि, श्रमको विमुक्तिका लागि, पृथक्करणमाथि विजय पाउनका लागि तथा व्यक्तिहरूको रूपमा मानव जातिको पुष्टिका लागि गरिने संघर्षको कुनै अर्थ रहदैँन । यो संघर्ष त सम्भव नै यसकारणले हुन्छ कि अमानवीकरण एक ठोस ऐतिहासिक तथ्य भएर पनि कुनै प्रदत्त नियति होइन, बरु त्यस अन्यायपूर्ण व्यवस्थाको परिणाम हो, जसले उत्पीडकहरूलाई हिंस्रक बनाउँदछ र बदलामा उनीहरूको यो हिंसाले उत्पीडितहरूलाई अमानवीय बनाउँदछ ।

यद्यपि यो अधिक पूर्णताका साथ मानिस बन्ने क्रममा आउने विकार हो, यसकारण न्यूनतम मानिस हुनुले उत्पीडितहरूलाई ढिलो–चाँडो यस्ता मान्छेहरूका विरुद्ध संघर्षका लागि प्रेरित गर्दछ, जसले उनीहरूलाई यस्तो बनाए । यस संघर्षको सार्थकताका लागि के आवश्यक छ भने उत्पीडितहरू आफ्नो मानवीयतालाई पुनः प्राप्त गर्ने प्रयासमा (जसले एकप्रकारले मानवीयताको सिर्जना गर्दछन्) उत्पीडकहरूको उत्पीडक नबनून् । बरु दुवैलाई पुनः मानिस बनाउने बनून् ।

त्यसकारण उत्पीडितहरूको महान मानवतावादी र ऐतिहासिक कार्यभार हो : स्वयंलाई र सँगसँग आफ्नै उत्पीडकहरूलाई पनि मुक्त गर्नु । उत्पीडक, जो आफ्नो सत्ताको बलमा उत्पीडन, शोषण र बलात्कार गर्दछन्, आफ्नो सत्तामा त्यो शक्ति पाउँदैनन्, जसले उत्पीडितहरूलाई या स्वयंलाई मुक्त गर्न सकून् । उत्पीडितहरूको कमजोरीबाट निस्कने सत्तामा मात्र यति शक्ति हुन्छ कि उनीहरू दुवैलाई मुक्त गर्न सक्दछन् । उत्पीडितहरूका कमजोरीको सम्मान गर्दै उत्पीडकहरूको सत्तालाई नरम बनाउने कुनै पनि प्रयास प्रायः एक मिथ्या उदारताको रूपमा सामुन्ने आउँदछ । खासमा यस्तो प्रयास यसभन्दा अघि कहिल्यै जाँदैन । यो उदारता उत्पीडकहरूद्वारा देखाइन्छ र यसलाई प्रदर्शन गर्ने निरन्तर अवसर पाइरहनु उनीहरूका लागि अत्यावश्यक हुन्छ कि उनीहरू अन्यायलाई पनि स्थायी रूपले जारी राख्न सकून् । यस उदारताको श्रोत अन्यायपूर्ण व्यवस्था हो, जुन मृत्यु, निराशा र गरीबीमा हुर्किन्छ । यही कारणले गर्दा यस्तो उदारता बाँड्ने मान्छेहरू त्यो मिथ्या उदारताको श्रोतमा अलिकति पनि आँच आउने बित्तिकै हताश हुन्छन् ।

साँचो उदारता त्यस संघर्षमा हुन्छ, जुन संघर्ष मिथ्या उदारताको पोषण गर्ने कारणहरूलाई नष्ट गर्नका लागि गरिन्छ । मिथ्या दानशीलताले दबिएका र डराएका मान्छेहरूलाई, जिन्दगीबाट खारेज गरिएका मान्छेहरूलाई, आफ्नो काम्दै गरेको हात फैलाउन बाध्य बनाउँछ । वास्तविक उदारता त यस्तो प्रयास गर्नुमा छ कि ती हातहरूलाई – चाहे ती एक व्यक्तिको हात होस् या सारा जनताको हात – याचनाको लागि फैलाउने जरुरत कम होस, ताकि ती हातहरू बढी भन्दा बढी मानवीय बन्न सकून्; काम गर्ने हात बन्न सकून्, जो काम गर्दै विश्वको रुपान्तरण गर्न सक्दछन् । यो एक शिक्षा हो, जसलाई सिक्ने र सिकाउने प्रयास उत्पीडितहरूको तर्फबाट र उनीहरूका वास्तविक साथीहरूको तर्फबाट हुनुपर्दछ । आफ्नो मानवीयताको पुर्नप्राप्तिको लागि लडेर – चाहे यो लडार्इँ उनीहरू अलगअलग व्यक्तिको रूपमा लडृन् या जनताको रूपमा – उनीहरू वास्तविक उदारतालाई पुनः प्राप्त गर्ने प्रयास पनि गर्नेछन् । उत्पीडक समाजको भयानक महत्वलाई बुझ्नमा उत्पीडितहरू भन्दा बढी तत्पर को हुन्छ ? उत्पीडनका परिणामहरूलाई उत्पीडितहरूले भन्दा बढी अरु कसले भोग्छ ? मुक्तिको आवश्यकतालाई उनीहरूभन्दा राम्ररी अरु कसले बुझ्न सक्दछ ? मुक्तिको परिभाषा संयोगले होइन, बरु उनीहरूद्वारा गरिएको आचरणबाट हुन्छ; त्यसको लागि लड्नुको आवश्यकतालाई बुझ्नुले हुन्छ । र, यो लडार्इँको उद्देश्य उत्पीडितहरूद्वारा निश्चित गरिने छ, यसकारण यो लडाईँ वस्तुतः प्रेमहीनताको विरुद्ध प्रेमको कार्य हुनेछ; त्यो प्रेमहीनताको विरुद्ध, जुन उत्पीडकहरूको हिंसामा अन्तर्निहित रहन्छ; त्यस प्रेमहीनताको विरुद्ध, जसले मिथ्या उदारताको खोल ओढेको हुन्छ ।

तर संघर्षको प्रारम्भिक अवस्थामा प्रायः हमेशा उत्पीडितहरूमा मुक्तिको प्रयास गर्नुको सट्टामा आफैँ उत्पीडक वा उप–उत्पीडक बन्ने प्रवृत्ति देखिन्छ । ठोस अस्तित्वको स्थितिबाट उत्पन्न अन्तर्विरोधहरूले उनीहरूको सोचाइको ढाँचालाई नै यस हिसाबले अनुकूलित गरिराखेको हुन्छ । उनीहरूको आदर्श मान्छे बन्नु नै हुन्छ, तर उनीहरू ‘मर्द’ बन्न चाहन्छन्, जसको मतलब हुन्छ उत्पीडक बन्नु । उनीहरूका लागि त्यही नै मानवीयता  या मर्दनापनको नमूना हो । कुरो के हो भने उत्पीडितहरू आफ्नो अस्तित्वगत अनुभवको कुनै खास क्षणमा उत्पीडकसँग टाँसिइरहने रवैया अपनाउँछन् । ती परिस्थितिहरूमा उनीहरू उत्पीडकका सम्बन्धमा पर्याप्त र स्पष्ट रूपले विचार गर्न सक्दैनन् कि उनीहरू विचारणीय वस्तु हुन्, त्यसैले उनीहरू त्यसलाई बाहिर खोज्न थाल्दछन् । यसको अर्थ अनिवार्य रूपमा उत्पीडितहरूलाई स्वयं पददलित भएको थाहा हुँदैन भन्ने होइन । तर उत्पीडितको रूपमा उनीहरू स्वयंलाई जुन दृष्टिकोणबाट हेर्दछन् त्यो उत्पीडनको यथार्थमा उनीहरू डुबिरहेको कारण क्षीण भइराखेको हुन्छ । यस स्तरमा उनीहरू स्वयंलाई उत्पीडकको प्रतिपक्षको रूपमा त हेदछन् तर उनीहरूको यो हेराइको अर्थ अन्तर्विरोध३ लाई हटाउनका लागि त्यसको विरुद्ध संघर्ष गर्नु भने होइन । यस स्थितिमा उनीहरू एक ध्रुबको रूपमा अर्को ध्रुबसँग आफ्नो मुक्ति चाहँदैनन्, बरु प्रतिध्रुबसँग तादाम्यता गर्न चाहन्छन् ।

यस स्थितिमा उत्पीडित मान्छेहरू ‘नँया मानिस’ लाई यस रूपमा देख्न सक्दैनन् कि उनीहरू उत्पीडनबाट मुक्त हुने यस प्रक्रियामा यस अन्तर्विरोधको समाधान गरेपछि पैदा हुनेछन् । उनीहरूको लागि नयाँ मानिसको अर्थ स्वयं उत्पीडक बन्नु हुन्छ । नयाँ मानिसको बारेमा उनीहरूको दृष्टि व्यक्तिवादी हुन्छ । उत्पीडकसँग तादाम्यता गरिरहेकोले उनीहरू भित्र आफ्नो बारेमा हामी ऊ भन्दा फरक स्वतन्त्र व्यक्ति या उत्पीडित वर्गका सदस्य हौँ भन्ने चेतना हुँदैन । उनीहरू कृषिसम्बन्धी सुधार त चाहन्छन, तर यसकारणले होइन कि यसबाट उनीहरूलाई मान्छे बन्नु छ; उनीहरू त जमिन पाइयोस् र भू–स्वामी बन्न पाइयोस भनेर कृषिमा सुधार चाहन्छन् । अथवा अझ भन्ने हो भने अन्य मजदूरहरूको मालिक बन्न पाइयोस् भन्ने चाहन्छन् । कुनै कृषि मजदूर शायदै यस्तो होला, जो एकपटक ओभरसियरको रूपमा बढुवा भैसकेपछि आफ्नो पुरानो साथीको लागि स्वयं मालिक भन्दा धेरै बदमास नबनेको होस् । यो के कारणले हुन्छ भने कृषि मजदूरको स्थितिको सन्दर्भ अर्थात् उत्पीडन अपरिवर्तित रहन्छ । यस उदाहरणमा अरु कृषि मजदूरहरूबाट काम लिने ओभरसियर यदि आफ्नो नोकरी जोगाइराख्न चाहन्छ भने उसले मालिककै रूपमा, अझ मालिकले भन्दा बढी कडा हुनु पर्दछ । यो माथि भनिएको कुन कुराको दृष्टान्त हो भने संघर्षको प्रारम्भिक अवस्थामा उत्पीडितहरू ‘मर्दानापन’ को नमूना उत्पीडकहरूलाई नै मान्दछन् ।

यहाँ सम्म कि क्रान्तिले पनि, जसले मुक्तिको प्रक्रिया सुरु गरेर उत्पीडनको एक ठोस स्थितिको रुपान्तरण गर्दछ, यस परिघटनाको सामना गर्नुपर्दछ । धेरै उत्पीडितहरूमा, जुन प्रत्यक्ष या अप्रत्यक्ष रूपमा क्रान्तिमा सामेल हुन्छन्, पुरानो व्यवस्थाको मिथकहरूबाट अनुकूलित भएकोले त्यसलाई आफ्नो निजी क्रान्ति बनाउने प्रवृत्ति देखिन्छ । आफ्नो पुरानो उत्पीडकको छाँया अझै पनि उनीहरूमाथि मडारिइरहेको हुन्छ ।

उत्पीडितहरूलाई ‘स्वतन्त्रताको भय’ ले सताउने गर्दछ ।४ यो यस्तो भय हो, जसले उनीहरूलाई समान दुई दिशातिर लिएर जान सक्दछ : या त उनीहरू उत्पीडकको भूमिकामा आउने आकांक्षा गर्न थाल्दछन्, या त फेरि पनि उत्पीडितकै भूमिकामा रहिरहन चाहन्छन् । यस भयको परीक्षण गर्नुपर्दछ । उत्पीडक र उत्पीडितको बीचमा जुन सम्बन्ध हुन्छ, उनीहरूको आधारभूत तत्वहरूमध्ये एक तत्व हो निर्देशन । प्रत्येक निर्देशन निर्देशित व्यक्तिको चेतनालाई निर्देशक व्यक्तिको चेतनाको अनुसरण गर्ने चेतनामा बदलेर एक व्यक्तिको इच्छालाई अर्को व्यक्तिमा लाद्ने काम गर्दछ । यसप्रकार उत्पीडित व्यक्तिको व्यवहार एक निर्देशित व्यवहार बन्दछ, जसले निर्देशनहरूको अनुसरण गर्दछ ।

 उत्पीडितहरूले उत्पीडकको बिम्बलाई आन्तरिकरण र उसका निर्देशनहरूलाई स्वीकार गरिसकेको हुनाले स्वन्त्रताबाट डराउँदछन् । स्वतन्त्र हुनका लागि उनीहरूले त्यस बिम्बलाई आफूभित्रबाट निकालेर फ्याक्नुपर्ने हुन्छ र त्यसको स्थानमा स्वायत्तता र उत्तरदायित्वलाई स्थापित गर्नुपर्ने हुन्छ । स्वतन्त्रता उपहारमा पाइँदैन, संघर्षमा विजयी भएपश्चात पाइन्छ । यसलाई पाउने प्रयास निरन्तर र जिम्मेवारीका साथमा गर्नुपर्दछ । स्वतन्त्रता कुनै यस्तो आदर्श होइन, जुन मानिसहरू भन्दा बाहिर रहेको हुन्छ । त्यो कुनै यस्तो भाव पनि होइन, जुन मिथक बन्न सकोस् । त्यो त मानवीय पूर्णताको प्रयासको एक अपरिहार्य शर्त हो ।

उत्पीडनको स्थितिमाथि विजय पाउनका लागि पहिले के आवश्यक छ भने मानिसले त्यसका कारणहरूलाई आलोचनात्मक ढंगबाट बुझ्नुपर्दछ, ताकि परिवर्तनकारी कामबाट उनीहरू एउटा यस्तो नँया अवस्थाको सृजना गर्न सकून्, जसमा सम्पूर्ण मानवीयताको लागि प्रयास गर्न सम्भव होस् । तर पूर्ण मानव बन्ने संघर्ष उत्पीडनको स्थितिलाई बदल्ने प्रामाणिक प्रयासको साथमा हुन्छ । यद्यपि उत्पीडनको स्थिति स्वयं अमानवीय हुने गर्छ तथा अमानवीय बनाउने खालको हुन्छ, जसले उत्पीडकहरू र उनीहरूद्वारा उत्पीडितहरू दुवैलाई प्रभावित गर्र्दछ । फेरि पनि दुवैको पूर्णतः मानवीयताका लागि गरिने संघर्ष उत्पीडितहरूले नै सुरु गर्नुपर्ने हुन्छ । उनीहरूले यो संघर्ष त्यँहाबाट सुरु गर्नुपर्ने हुन्छ, जहाँ उनीहरूको मानवीयता  अवरुद्ध भएको हुन्छ । उत्पीडकले यो संघर्षको नेतृत्व गर्न सक्दैन किनकि उसले अरुलाई अमानवीय बनाएको कारण ऊ अमानवीकृत भएको हुन्छ ।

तर ती उत्पीडित, जो प्रभुत्वको त्यस संरचनाका अनुसार त्यसमा उनीहरू भासिएका छन्, आफैँलाई भत्काएर अरुको सम्पत्ति भएर रहेका हुन्छन्, स्वतन्त्रताको लडाईँ त्यतिबेलासम्म लड्न सक्दैनन् जबसम्म उनीहरू त्यसका लागि आवश्यक जोखिम उठाउन स्वयंलाई असमर्थ महसुस गर्दछन् । यसको अतिरिक्त आफ्नो स्वतन्त्रताको लागि गरिने उनीहरूको संघर्ष उत्पीडकहरूलाई मात्र होइन, उनीहरूका आफ्नै उत्पीडित साथीहरूलाई पनि खतर्नाक लाग्दछ । उनीहरू संघर्ष सुरु भएपछि अरु बढी दमन हुने आशंकाले भयभीत हुन्छन् ।  आफूभित्र स्वतन्त्रताको आकांक्षालाई यथार्थमा तबसम्म बदल्न सकिन्न, जबसम्म यही आकांक्षा आफ्ना साथीहरूमा पनि जगाइँदैन । तर जबसम्म उनीहरूमा स्वतन्त्रताको भय रहिरहन्छ, तबसम्म न त उनीहरू यसका लागि कुनै अनुरोध गर्दछन् र न यस सम्बन्धमा अरुको अनुरोध सुन्दछन् । यहाँसम्म कि उनीहरू आफ्नो अन्तर्आत्माको अनुरोध पनि सुन्दैनन् । भेडाको चाललाई उनीहरू साँचो साथी मान्दछन् । उनीहरू स्वतन्त्रताबाट उत्पन्न हुने सृजनात्मक सहभागिताको तुलनामा पनि आफ्नो स्वतन्त्रतारहित स्थितिको अनुशरणबाट पाइने सुरक्षालाई राम्रो मान्दछन् ।

उत्पीडितहरू एकप्रकारको द्वैधताको शिकार हुन्छन्, जसले उनीहरूको अन्तर्तम् अस्तित्वमा स्वयंलाई स्थापित गरिरहन्छ । उनीहरू स्वतन्त्रताको बिनाको उनीहरूको अस्तित्व प्रामाणिक अस्तित्व होइन भन्ने कुरा त जान्दछन्, तर प्रामाणिक अस्तित्वको इच्छा भएपनि उनीहरू त्यसबाट डराउँछन् । उनीहरू एकैपटकमा ‘स्वयं’ पनि हुन्छन् र ‘उत्पीडक’ पनि, त्यो उत्पीडक, जसको चेतनालाई उनीहरू आत्मसात गरिरहेका हुन्छन् । द्वन्द्व केमा हुन्छ भने उनीहरू आफैँ हुने या विभाजित रहनेमध्ये कुनलाई छान्ने; आफूभित्रबाट उत्पीडकलाई निकाल्ने या उसलाई त्यँही रहन दिने; मानवीय एकजुटतालाई रोज्ने या पृथक्करणलाई; निर्देशनहरूको पालना गर्ने या आफ्नो इच्छाले काम गर्ने; दर्शक बनिरहने कि कर्ता बन्ने; स्वयं सक्रिय हुने या उत्पीडकहरूको कामको माध्यमबाट सक्रिय भएको भ्रम पाल्ने; बोल्ने या चुपचाप बस्ने; नपुंसक बनिरहने कि सृजन र पुर्नसिर्जन गर्न सक्ने, आफ्नो सत्ताबाट विश्वको रुपान्तरण गर्ने; यही उत्पीडितहरूको त्यो भयानक धर्मसंकट हो, जसको ध्यान उनीहरूको शिक्षामा अवश्य राख्नुपर्दछ ।

यो पुस्तकमा ती चीजका केही पक्षहरूलाई प्रस्तुत गरिनेछ, जसलाई लेखकले उत्पीडितहरूको शिक्षाशास्त्र (Pedagogy of oppressed) भनेका छन् । यो शिक्षाशास्त्रको निर्माण उत्पीडितहरू (चाहे त्यो व्यक्ति होस वा सारा जनगण) को लागि मात्र होइन, बरु उनीहरूसँगै मानवीयताको पुर्नप्राप्तिको लागि जारी अनवरत संघर्षमा पनि गरिन जरुरी छ । यो शिक्षाशास्त्रले उत्पीडन र त्यसका कारणहरूलाई उत्पीडितहरूद्वारा विचार गर्नुपर्ने वस्तु बनाउँदछ, र त्यस विचारको माध्यमबाट आफ्नो मुक्तिको लागि गरिने संघर्षमा उनीहरूको आवश्यक संलग्नतालाई सम्भव बनाउँदछ । र यसै संघर्षमा यो शिक्षाशास्त्र निर्मित र पुर्ननिर्मित हुनेछ ।

केन्द्रीय समस्या यस्तो छ : उत्पीडितहरू, जो विभाजित छन् र उनीहरू अप्रामाणिक अस्तित्व भएका मान्छेहरू हुन्, आफ्नो मुक्तिको शिक्षाशास्त्रको विकासमा कसरी सहभागी हुन सक्छन् ? उनीहरूको मुक्तिदाता शिक्षाशास्त्र उनीहरूलाई उत्पीडनबाट मुक्ति दिलाउने रक्षक हो, जसको काममा उनीहरू तबमात्र योगदान गर्न सक्दछन्, जब उनीहरू स्वयंलाई उत्पीडकको घरमूलीको रूपमा चिन्दछन् । जबसम्म उनीहरू यस दोधारमा परिरहन्छन्, त्यसमा ‘हुनु’ त हुन्छ तर त्यो भए जस्तो मात्र, उत्पीडक भएजस्तो मात्र, तबसम्म उनीहरूको योगदान असम्भव छ । उत्पीडितहरूको शिक्षाशास्त्र उनीहरूको यस आलोचनात्मक खोजको औजार हो कि उनीहरू र उनीहरूका उत्पीडक दुवै नै अमानवीकरणको अभिव्यक्ति हुन् ।

यसप्रकार मुक्ति एक प्रसव हो र यसको प्रसव पीडादायक हुन्छ । यसबाट जो मानिस पैदा हुन्छ, एक नयाँ मानिस हुन्छ, र ऊ जीवित रहन तब सम्भव छ, जब उत्पीडक–उत्पीडितको अन्तर्विरोधको स्थानमा सम्पूर्ण मानव जातिको मानवीकरण हुनुपर्दछ । अथवा, अर्को तरिकाले भन्ने हो भने यो अन्तर्विरोधको समाधानले त्यही प्रसुतिमा जन्म लिन्छ, जसमा नयाँ मानिस पैदा हुन्छ – यस्तो नयाँ मानिस जो न उत्पीडक हो र न उत्पीडित, बरु ऊ त स्वतन्त्रता प्राप्त गर्ने प्रक्रियामा हुन्छ ।

यो समाधान आदर्शवादी ढंगले गर्न सकिदैँन । उत्पीडितहरूले  आफ्नो मुक्तिका लागि संघर्ष सुरु गर्न सक्षम हुनका लागि यथार्थवादी हुनुपर्नेछ । उनीहरूले उत्पीडनको यथार्थलाई यस्तो बन्द दुनिँयाको रूपमा कदापि लिनु हुँदैन, जसबाट बाहिर निस्किन असम्भव हुन्छ । उनीहरूले यसलाई यस्तो अवरोधक स्थितिको रूपमा बुझ्नु पर्दछ, जसलाई उनीहरू बदल्न सक्दछन् । उनीहरू आफैँ मात्र मुक्तिका लागि पर्याप्त छैनन् भन्ने कुराको बोध आवश्यक हुन्छ । यो बोधलाई मुक्तिदायी कार्यका लागि प्रेरित गर्ने शक्ति बनाउनु आवश्यक छ । उत्पीडितहरूले यो जान्नु पनि आफैमा मुक्ति होइन कि उनीहरूको अस्तित्व एक प्रतिपक्षको रूपमा त्यो उत्पीडनसँगै द्वन्द्वात्मक रूपमा सम्बद्ध छ, जसको अस्तित्व उनीहरू बिना सम्भव छैन । (हेर्नुहोस हेगेलको पुस्तक द फेनोमेनोलोजी अफ माइन्ड) । उत्पीडितहरू जुन अन्तर्विरोधमा फँसेका छन्, त्यसलाई उनीहरूले त्यतिबेला मात्र हल गर्न सक्दछन्, जतिबेला उनीहरूको यो बोधले उनीहरूलाई आफ्नो मुक्तिको संघर्षमा प्रवृत्त गर्दछ ।

यही कुरा एक व्यक्तिको रूपमा कुनै उत्पीडकको बारेमा पनि साँचो हुन्छ । ऊ एक उत्पीडक हो भन्ने कुरा जानिसके पछि, उसलाई धेरै मनोव्याथा हुन सक्दछ, तर यति कुराले ऊ उत्पीडितहरूको साथ एकजुट हुन्छ भन्ने आवश्यक छैन । यसबाट काम चल्नेछैन कि उसले आफ्नो अपराधबोधलाई तर्कसंगत बनाउनका लागि उत्पीडितहरूसँग पितातुल्य व्यवहार गर्न थालोस्, तर यस्तो गर्दागर्दै पनि उसलाई स्वयंमाथि निर्भर रहने स्थितिमा पक्रेर राखोस् । एकताबद्धताको तरीका के हुन्छ भने मानिसले जोसँग तादाम्यता स्थापित गर्दैछ, उसको स्थितिमा प्रवेश गरोस् । यो एक आमूल परिवर्तनकारी कार्य हो । यदि जस्तो कि हेगेलले भनेका छन्५ उत्पीडितहरूको विशेषता के हुन्छ भने उनीहरू मालिकको चेतनाको अधीनमा रहन्छन्, तब उत्पीडितसँग वास्तविक एकजुटताको अर्थ त्यो वस्तुपरक यथार्थ हुन्छ, जसले उनीहरूलाई ‘अरु कसैको लागि बाँच्ने’ बनाइराखेको छ । यसलाई बदल्नका लागि उनीहरूको पक्षमा उभिएर लड्नुपर्दछ । उत्पीडक उत्पीडितसँग तबमात्र एकजुट हुन सक्छ, जब ऊ उत्पीडितहरूलाई एक अमूर्त कोटी बुझ्न छोड्दछ र उनीहरूलाई यस्तो व्यत्तिको रूपमा हेर्दछ, जसको साथमा अन्याय भएको छ, जसबाट उनीहरूको आवाज खोसिएको छ, जसको साथ उनीहरूको श्रमलाई किन्ने समयमा धोका भएको छ । अर्थात् ऊ उत्पीडितहरूको साथमा तब मात्रै एक हुन सक्छ, जब ऊ धर्मपरायण, भावुकतापूर्ण र व्यष्टिपरक देखिने नाटक गर्न छोड्दछ र प्रेमको कार्यमा आउने जोखिम उठाउँदछ । वास्तविक एकजुटता प्रेमको यो कार्यको परिपूर्णतामा नै पाइन्छ, त्यसको अस्तित्व मा नै, त्यसको आचरणमा नै पाइन्छ । मानिस जनता हो र जनता स्वतन्त्र हुनुपर्दछ भन्ने कुरा स्वीकार गर्नु, तर यस कुरालाई यथार्थमा बदल्नका लागि ठोस रूपमा केही नगर्नु, एक ढोंग हो ।

उत्पीडक–उत्पीडितको अन्तर्विरोध एक ठोस स्थितिमा स्थापित हुन्छ, त्यसकारण यो अन्तर्विरोधको समाधान वस्तुपरक ढंगले निरीक्षण हुन अत्यन्त आवश्यक छ । त्यसैले आमूल परिवर्तनवादीहरूका लागि (अर्थात् त्यो व्यक्तिको लागि जसलाई ऊ उत्पीडक हो भन्ने कुरा थाहा भएको हुन्छ, र उनीहरूका लागि पनि जो उत्पीडित हुन्) उत्पीडनलाई जन्म दिने स्थितिलाई पुरै बदल्नु आवश्यक हुन्छ ।

यथार्थको वस्तुपरक रुपान्तरणको यो आमूल परिवर्तनवादी मागलाई प्रस्तुत गर्न र त्यस आत्मपरकवादी जडताको, जुन हुँदा उत्पीडितहरू उत्पीडनको पहिचान भइसकेपछि पनि यो भ्रममा पर्न सक्दछन् कि धैर्यपूर्वक प्रतीक्षा गरियो भने उत्पीडन आफैँ समाप्त भएर जानेछ, विरोध गर्नुको अर्थ संरचनाहरूलाई बदल्नका लागि गरिने संघर्षमा आत्मपरकताको भूमिकालाई नकार्नु होइन । यसको विपरीत सत्य त के हो भने आत्मपरकता बिना वस्तुपरकतालाई बुझ्न सँकिदैन । दुवैको सम्बन्ध अन्योन्याश्रित हुन्छ । यसमा द्विभाजन सम्भव छैन । वस्तुपरकतालाई आत्मपरकताबाट अलग गर्नु, यथार्थको विश्लेषण या त्यसमा काम गर्दा आत्मपरकतालाई नकार्नु, वस्तुपरकतावाद हो । अर्कोतिर विश्लेषण या कार्यमा वस्तुपरकतालाई नकार्नुले आत्मपरकतावादमा परिणत भएर अंहवादी दृष्टिकोणतिर लिएर जान्छ, जसले वस्तुपरक यथार्थलाई नकारेर कर्मलाई नै नकार्दछ । यहाँ हामी न त वस्तुपरकतावादको कुरा गरिरहेका छौँ न त आत्मपरकतावादको, न मनोविज्ञानवादको; कुरो त आत्मपरकता र वस्तुपरकताको निरन्तर द्वन्द्वात्मक सम्बन्धको हो ।

विश्व र इतिहासको रुपान्तरणको प्रक्रियामा आत्मपरकताको महत्वलाई नकार्नु सोझोपन र एकांकीपन हो । यो एक असम्भव चीजलाई नकार्नु हो, मानवरहित विश्वलाई स्वीकार्नु हो । यो वस्तुपरकतावादी दृष्टिकोण उति नै विलक्षण छ, जति विश्वरहित मानवको कल्पना गर्ने आत्मपरकतावादी दृष्टिकोण । विश्व र मानव एक-अर्काबाट पृथक हुँदैनन्, दुवै आपसी अन्तर्क्रिया अस्तित्ववान हुन्छन् । यिनीहरूलाई त न मार्क्सले अलग गरेर हेरेका छन्, न अन्य कुनै आलोचनात्मक यथार्थवादी चिन्तकले नै हेरेका छन् । मार्क्सले जुन कुराको आलोचना गरेका थिए, र जसलाई वैज्ञानिक ढंगले ध्वस्त गरेका थिए, त्यो आत्मपरकता होइन, बरु आत्मपरकतावाद र मनोविज्ञानवाद थियो । जसरी वस्तुपरक सामाजिक यथार्थताको अस्तित्व कुनै संयोग होइन, बरु मानवीय कर्मको उत्पादन हो, त्यसैगरी त्यसको रुपान्तरण पनि संयोगबाट हुँदैन । यदि मान्छेले सामाजिक यथार्थको उत्पादन गर्दछन् (जुन आचरण उल्टिएपछि उनीहरूकै विरुद्ध हुन्छ र उनीहरूलाई अनुकूलित गर्दछ) भने त्यस यथार्थको रुपान्तरण एक ऐतिहासिक कार्यभार हो, मानिसको कार्यभार हो ।

जुन यथार्थ उत्पीडनकारी बन्दछ, उत्पीडकहरू र उत्पीडितहरूको परस्पर विरोधमा परिणत हुनजान्छ । उत्पीडितहरूलाई, जसको कार्यभार आफ्नाप्रति साँचो एकजुटता प्रदर्शित गर्नेहरूसँग मिलेर आफ्नो मुक्तिको लागि संघर्ष गर्नु हो, उनीहरूलाई आफूभित्र यस संघर्षको आचरणको माध्यमबाट उत्पीडनको आलोचनात्मक बुझाइ अवश्य पैदा गर्नुपर्दछ । मुक्तिको प्राप्तिमा सबैभन्दा ठूलो अवरोधहरूमध्ये एक के हो भने उत्पीडनकारी यथार्थले उनीहरूमा पनि आफूभित्र जोश भर्दछ र यसको माध्यमबाट उनीहरूको चेतनालाई डुबाँउदछ ।६ प्रकार्यात्मक रूपमा उत्पीडनले घरेलु बनाउने काम गर्दछ । व्यक्ति यसको शक्तिको शिकार नबनिरहोस् भन्नका लागि उसले यस विषयलाई ध्यान दिन र यसबाट बाहिर निस्किन अत्यन्त जरुरी हुन्छ । यस्तो केवल आचरणको माध्यमबाट गर्न सकिन्छ, जसको अर्थ विश्वको रुपान्तरणको लागि त्यसमाथि चिन्तन र कर्म गर्नु हो ।

उत्पीडनतर्फ जनताको ध्यान आकर्षित गर्नका लागि हामीले उत्पीडनलाई अझ बढी वास्तविक बनाउनुपर्दछ । यसको लागि उत्पीडनको चेतनामा त्यसका बैगुनहरूलाई जोड्न जरुरी छ, साथै त्यसलाई अरु बढी बदनाम गर्न जरुरी छ ।

वास्तविक उत्पीडनमा उत्पीडनको पीडालाई जोडेर त्यसलाई अझ बढी उत्पीडनकारी बनाउनुले आत्मपरकता र वस्तुपरकताको द्वन्द्वात्मक सम्बन्धसँग मेल खान्छ । दुवैको यस परस्पर निर्भरताको स्थितिमा नै त्यो प्रामाणिक आचरण सम्भव हुन्छ, जस बिना उत्पीडक–उत्पीडितको अन्तर्विरोधको समाधान हुन सक्दैन । यस लक्ष्यलाई प्राप्त गर्नका लागि के आवश्यक छ भने उत्पीडितहरूले यथार्थको सामना आलोचनात्मक ढंगले गर्नुपर्दछ र यसको साथै यथार्थलाई वस्तुनिष्ठ बनाउँदै त्यसलाई बदलने काम पनि गर्नुपर्दछ । यस आलोचनात्मक हस्तक्षेपबिना कोरा यथार्थबोध साँचो अर्थमा बोध नै हुँदैन । त्यो एक यस्तो व्यक्तिको शुद्ध आत्मपरकतावादी सोच हुन्छ, जसले वस्तुपरक यथार्थलाई छोडिदिन्छ र त्यसको स्थानमा कुनै कथा रच्दछ ।

एउटा अर्को खालको मिथ्याबोध तब हुन्छ, जब वस्तुपरक यथार्थमा हुने कुनै परिवर्तनबाट बोधकर्ताको व्यक्तिगत या वर्गीय हितको लागि खतरा हुन्छ । पहिलो अवस्थामा यथार्थमा कुनै आलोचनात्मक हस्तक्षेप हुदैँन, किनकि यस्तो हस्तक्षेप बोधकर्ताको वर्गीय हितको विरुद्ध हुन्छ । अर्को मामिलामा बोधकर्ताको प्रवृत्ति स्नायुरोगीको जस्तो व्यवहार गर्ने हुन्छ । तथ्यको अस्तित्व हुन्छ तर तथ्य र त्यसको सम्भावित परिणाम, दुवै त्यसको प्रतिकूल हुन्छन् । त्यसकारण उसले तथ्यलाई अस्वीकार गरे पनि त्यसलाई भिन्न रूपमा हेर्नु आवश्यक हुन्छ । एक प्रतिरक्षा प्रणालीको रूपमा अपनाइने यो जुक्ति अन्ततः आत्मपरकतावादकै समान हुन्छ । कुनै तथ्यको सत्यलाई युक्तिसंगत बनाइदिने कुराले के हुन्छ भने तथ्यलाई यद्यपि नकरिंदैन तर त्यसको वस्तुपरक आधार भत्किन्छ । तथ्य ठोस रहँदैन, एक मिथक बन्न पुग्छ, जुन बोधकर्ताको वर्गको रक्षाको लागि कथ्दछ ।

यसै चीजमा ती निषेधहरू र कठिनाइहरूको एउटा कारण निहित हुन्छ, जुन जनतालाई यथार्थमा आलोचनात्मक हस्तक्षेप गर्नबाट रोक्नका लागि तयार गरिन्छ । यो हस्तक्षेप उसको हितमा हुनेछैन भन्ने कुरा उत्पीडिकलाई राम्रोसँग थाहा हुन्छ । उसको हितमा जे हुन्छ, त्यो के हो भने जनता डुब्ने स्थितिमा छन्, र त्यस्तै अवस्थामा रहिरहुन् । उत्पीडनकारी यथार्थको सामुन्ने नपुंसक बनिरहुन् । ‘लेनाइन’ मा लुकाचले क्रान्तिकारी दलका लागि जनसाधारणलाई उनीहरूको आफ्नो कामको अर्थ बुझाउनु र साथै उनीहरूको अनुभवहरूको उत्तरवर्ती विकासलाई सचेत रूपबाट क्रियाशील बनाउनु आवश्यक हुने बताएका छन् ।

 यो आवश्यक कुरा गर्दै लुकाचले निर्विवाद रूपबाट आलोचनात्मक हस्तक्षेपको प्रश्न उठाएका छन् । ‘जनसाधारणलाई उनीहरूको आफ्नो कामको अर्थ बुझाउनु’ को अर्थ हो –  त्यो कर्मलाई स्पष्ट र उज्वल बनाउनु, ताकि मान्छेहरूको दिमागमा दुई कुरा आऊन्,  एउटा, त्यस कर्मको ती वस्तुपरक तथ्यहरूसँग के सम्बन्ध छ, जसले उसलाई प्रेरित गर्यो; र अर्को, त्यस कर्मको उद्देश्य के हो । जनता यस चुनौतिपूर्ण यथार्थलाई, जुन उनीहरूको परिवर्तनकारी कार्यको वस्तु हो, जति खुला गर्नेछन्, उति नै धेरै आलोचनात्मक ढंगबाट त्यो यथार्थमा प्रवेश गर्नेछ । यसप्रकार जनसाधारण ‘आफ्नो अनुभवहरूको उत्तरवर्ती विकासलाई सचेत रूपबाट क्रियाशील बनाउँदछन् ।’ जसरी वस्तुपरक यथार्थ नहुँदा कुनै मानवीय कर्म सम्भव हुँदैन – किनभने त्यतिबेला मानिसलाई चुनौति दिने कुनै विश्व नै हुनेछैन, जुन उसको ‘म’ भन्दा फरक होस् र उसलाई चुनौति देओस् – ठीक यसैगरी मानवीय कर्म तबसम्म पनि सम्भव छैन, जबसम्म मानिस एक ‘अनुगमन’ नहोस; अर्थात् जबसम्म ऊ आफ्नो यथार्थको रुपान्तरण गर्नका लागि त्यस यथार्थलाई हेर्न र बुझ्नमा समर्थ नहोस् र यसबाट नगुज्रेको होस् ।

द्वन्द्वात्मक चिन्तनमा विश्व र कर्म निकै घनिष्ठतापूर्वक परस्पर निर्भर हुन्छन् । तर कर्म मानवीय हुन त्यतिबेला मात्र सम्भव छ, जब त्यो धन्दा झैँ मन मारेर होइन, बरु सोचविचार गरेर पूरै तन्मयताका साथ गरिन्छ । अर्थात् जब कर्म र चिन्तन अलग-अलग हुँदैनन् । चिन्तन, जुन कर्मका लागि अनिवार्य, लुकाचद्वारा बताइएको ‘जनसाधारणलाई उनीहरूको आफ्नो कामको अर्थ सम्झाउनु’ को आवश्यकतामा अन्तर्निहित हुन्छ । ठीक यसरी नै यो उनीद्वारा भनिएको यसको उद्देश्य ‘अनुभवहरूको अनुवर्ती विकासलाई सचेत रूपले क्रियाशील बनाउनु’ मा पनि अन्तर्निहित छ ।

तर हाम्रो लागि यस आवश्यकताको अर्थ जनतालाई उनीहरूको कर्मको अर्थ सम्झाउनु होइन, बरु त्यसको बारेमा उनीहरूसँग एक संवाद सुरु गर्नु हो । कुनै यथार्थले स्वयंलाई कहिल्यै पनि बदल्दैन,७ र लुकाचले क्रान्तिकारी दलको जुन कर्तव्य बताएका छन् – ‘जनसाधारणलाई उनीहरूको आफ्नो कामको अर्थ बुझाउउनु’ – त्यसले हाम्रो कुन कुरासँग मेल खान्छ भने जनताले आफ्नो आचरणमार्फत् यथार्थमा आलोचनात्मक हस्तक्षेप गर्न जरुरी छ । यहीँ नै उत्पीडितहरूको शिक्षाशास्त्रको जरा रहेको छ । त्यो शिक्षाशास्त्रको जरा, जुन आफ्नो मुक्तिको संघर्षमा संलग्न मानिसहरूको शिक्षाशास्त्र हो । र, ती मान्छेहरूलाई, जो आफैँलाई उत्पीडितको रूपमा चिन्दछन्, या चिन्न सुरु गरेका छन्, यो शिक्षाशास्त्रको विकास गर्नेहरूमध्ये भागिदार अवश्य हुनुपर्दछ । कुनै पनि शिक्षाशास्त्र, जुन वास्तवमा मुक्तिदायक हो, उत्पीडितहरूलाई भाग्यहीन मानेर उनीहरूको भलाइको लागि उत्पीडकहरूमध्य बाट नै कसैको उदाहरण पेश गर्दै, उत्पीडितहरू भन्दा अलग रहन सक्दैन । आफ्नो उद्धारको लागि गरिने संघर्षमा उत्पीडितहरू स्वयं नै आफ्नो उदाहरण बन्नुपर्दछ ।

वास्तविक मानववादी (लोकोपकारवादी होइन) उदारताबाट अनुप्राणित उत्पीडितहरुको शिक्षाशास्त्रले स्वयंलाई मानिसको शिक्षाशास्त्रको रूपमा प्रस्तुत गर्दछ । यो शिक्षाशास्त्रले, जुन उत्पीडकहरूको अहंवादी हितबाट सुरु हुन्छ (यसले अहंवाद पितातुल्य हुने झुटो उदारताको खास्टो ओढेको हुन्छ) र उत्पीडितहरूलाई परोपकारको वस्तु बनाइदिन्छ, स्वयं उत्पीडनको मूर्त रूप हुन्छ र उत्पीडनलाई कायम राख्दछ । यो अमानवीकरणको औजार हुन्छ । त्यसकारण, जस्तो कि हामीले पहिले नै भनिसकेका छौँ, उत्पीडितहरूको शिक्षाशास्त्र उत्पीडकहरूद्वारा न त विकसित हुन सक्छ र न यसलाई व्यवहारमा नै ल्याउन सकिन्छ । उत्पीडकहरूले मुक्तिदायी शिक्षालाई समर्थन मात्र गरेनन्, त्यसलाई लागू पनि गरे भन्नु नै एक अन्तर्विरोध हुन्छ।

तर यदि मुक्तिदायी शिक्षालाई लागू गर्नको लागि राजनीतिक शक्तिको आवश्यकता भएमा र उत्पीडितहरूको साथमा यस्तो कुनै शक्ति नभएमा, के क्रान्तिभन्दा अगाडि उत्पीडितहरूको शिक्षाशास्त्रलाई प्रयोगमा ल्याउन सम्भव छ ? यो प्रश्न अत्यन्त महत्वपूर्ण छ, जसको उत्तर कम्तीमा एक कामचलाउ रूपरेखाको हिसाबमा, यो पुस्तकको चौथो अध्यायमा दिइएको छ । त्यो उत्तरको एक पक्ष व्यवस्थित शिक्षा र शैक्षिक परियोजनाहरूमा गरिएको फरकमा भेटिनेछ । (‘व्यवस्थित शिक्षा’ लाई राजनीतिक शक्तिबाट मात्र बदल्न सकिन्छ, जबकि शैक्षिक परियोजनाहरू उत्पीडितहरूलाई संगठित गर्ने प्रक्रियामा तिनीहरूसँगै चलाउनु पर्दछ)।

मानववादी र स्वतन्त्रतावादी शिक्षाशास्त्रको रूपमा उत्पीडितहरूको शिक्षाशास्त्रका स्पष्ट रूपले दुई भिन्न अवस्थाहरू हुन्छन् । पहिलो अवस्थामा उत्पीडितहरू उत्पीडनको विश्वको अनावरण गर्दछन् र आचरणको माध्यमबाट त्यसको रुपान्तरणको लागि प्रतिबद्ध हुन्छन् । दोश्रो अवस्थामा उत्पीडनको यथार्थको रुपान्तरण भइसकेको हुन्छ, यो शिक्षाशास्त्र केवल उत्पीडितहरूको शिक्षाशास्त्र मात्र रहदैँन, बरु स्थायी मुक्तिको प्रक्रियामा सबै मानिसहरूको शिक्षाशास्त्र बन्दछ । यी दुई अवस्थाहरूमा सधैँ नै गम्भीर कर्मको माध्यमबाट प्रभुत्वको संस्कृतिको प्रतिस्पर्धा साँस्कृतिक रूपबाटै गरिन्छ ।८ पहिलो अवस्थामा यो प्रतिस्पर्धा उत्पीडितहरूद्वारा उत्पीडनको विश्वलाई हेर्ने ढंगलाई बदलेर गरिन्छ; दोश्रो अवस्थामा यो प्रतिस्पर्धा पुरानो व्यवस्थामा निर्मित र विकसित ती मिथकहरूको बहिष्कार गरेर गरिन्छ, जुन क्रान्तिकारी रुपान्तरणबाट स्थापित हुने नयाँ संरचनामा प्रेतहरू झैँ नाच्दछन् ।

पहिलो अवस्थामा उत्पीडितहरूको शिक्षाशास्त्रको लागि के अनिवार्य हुन जान्छ भने त्यसले उत्पीडक र उत्पीडितको चेतनाको समस्यालाई अर्थात् उत्पीडन गर्नेहरू र उत्पीडित हुनेहरूको चेतनाको समस्यालाई हल गर्दछ । त्यसले यी दुवैको व्यवहारलाई, दुवैको विश्वदृष्टिलाई र दुवैको नीतिशास्त्रलाई ध्यानमा राख्नु अनिवार्य छ। यसमा एउटा खास समस्या उत्पीडितहरूमा पाइने दुविधाको हुन्छ : उनीहरू उत्पीडन र हिंसाको एक ठोस स्थितिद्वारा निर्मित र त्यसैमा बाँच्ने अन्तर्विरोधी तथा विभाजित प्राणी हुन्छन् ।

कुनै पनि स्थिति, जसमा ‘क’ ले वस्तुपरक रूपले ‘ख’ को शोषण गर्दछ या उसको आत्म पुष्टिमा जानीबुझीकन अवरोध बन्दछ भने त्यो उत्पीडनको स्थिति हो । यस स्थितिमा हिंसा स्वतः नै अन्तर्निहित रहन्छ, भलै त्यसलाई मिथ्या उदारताले मधुर नै बनाइएको होस, किनकि यो स्थितिले मानिसको पूर्ण मानिस बन्ने सत्तामूलक र ऐतिहासिक कर्तव्यमा अवरोध उत्पन्न गर्दछ । उत्पीडनको सम्बन्ध स्थापित हुने बित्तिकै हिंसा आरम्भ भइसक्छ । हिंसाको आरम्भ सम्पूर्ण इतिहासमा कहिल्यै पनि उत्पीडितहरूको तर्फबाट भएको छैन । जो स्वयं हिंसाका पैदावार हुन्, उनीहरू नै कसरी हिंसा आरम्भ गर्ने हुनसक्छन् ? जुन चीजले आफ्नो जन्मदेखि नै उनीहरूको अस्तित्वलाई उत्पीडितहरूको अस्तित्व बनाइदिन्छ, त्यसलाई आरम्भ गर्ने उनीहरू कसरी हुनसक्छन् ? पराधीन बनाउने हिंसाको स्थिति पहिले बाट नै नहुने हो भने त कोही पनि उत्पीडित नै हुँदैन नि ।

हिंसाको आरम्भ उनीहरू गर्दछन्, जो उत्पीडन गर्दछन्, शोषण गर्दछन्, अरुलाई मानिस मान्दैनन्; यसको आरम्भ उनीहरू गर्दैनन्, जो उत्पीडित छन्, शोषित छन्, जसलाई मानिस मानिदैँन । मनमुटाव उनीहरू फैलाउँदैनन्, जो प्रेमबाट वञ्चित छन्; बरु तिनीहरू फैलाउँछन्, जो प्रेम गर्न सक्दैनन्, किनभने उनीहरू आफैँलाई मात्र प्रेम गर्दछन् । असहाय र आतंकित मान्छेहरूले आतंक सुरु गर्दैनन्, आतंकको सुरुवात उनीहरू गर्दछन्, जो हिंस्रक हुन्छन् र आफ्नो शक्तिको साहाराले ‘जिन्दगीबाट खारेज भएका’ मान्छेहरूलाई पैदा गर्ने ठोस स्थिति उत्पन्न गर्दछन् । निरंकुशताको श्रोत तिनीहरू होइनन्, जो अत्याचारको शिकार हुन्छन्, त्यसको श्रोत निरंकुश अत्याचारीहरू हुन्छन् । घृणा तिरस्कृतले होइन, तिरस्कार गर्नेले फैलाउँछ । मानिसको निषेध तिनीहरू गर्दैनन्, जो मानवीयताबाट वञ्चित गरिएका छन्, बरु तिनीहरू गर्दछन्, जसले उनीहरूको साथै आफ्नो पनि मानवीयतालाई निषेध गरेका छन् । बल प्रयोग तिनीहरू गर्दैनन्, जो बलशालीहरूको बलको अधीनमा निर्बल बनाइएका छन्, बल प्रयोग तिनीहरूलाई निर्बल बनाउने बलशालीहरूले गर्दछन् । 

तर उत्पीडकहरूका लागि उत्पीडित नै – जब उनीहरू उत्पीडकहरूको हिंसाको विरोध गर्दछन् – हिंस्रक, बर्बर या क्रुर हुन्छन् । (उत्पीडकहरू उत्पीडितलाई कहिल्यै पनि ‘उत्पीडित’ भन्दैनन्, बरु यस आधारमा कि उनीहरू त्यस देशका बासिन्दा हुन् वा हैनन्, उनीहरूलाई ‘ती मान्छेहरू’ या ‘अन्धा र ईर्ष्यालु जनता’ या ‘सनकीहरू’ या ‘आदिवासी’ या ‘विद्रोही’ नामले बोलाउँदछन् !)

फेरि पनि, चाहे यो कुरा विरोधाभाषपूर्ण नै लागोस्, उत्पीडितहरूद्वारा उत्पीडकहरूको हिंसाको जवाफमा गरिने कारवाहीमा पनि प्रेमको झलक देखिन्छ । सचेत या अचेत रूपमा उत्पीडितहरूको विद्रोहको कार्य (जो प्रायः उत्पीडकहरूको आरम्भिक हिंसा जत्तिकै हिंस्रक हुन्छ) ले प्रेमको सुरुवात गर्न सक्दछ । जहाँ उत्पीडकहरूको हिंसाले उत्पीडितहरूलाई पूर्ण मानव बन्नबाट रोक्दछ, त्यहीँ उत्पीडितहरूद्वारा त्यस हिंसाको विरोधमा गरिने कारवाहीको आधार मानिस बन्ने अधिकार प्राप्त गर्ने इच्छा हुन्छ ।  उत्पीडक जब अरुलाई अमानवीय बनाउँदछन् र उनीहरूलाई अधिकारबाट वञ्चित गर्दछन्, तब उनीहरू आफैँ पनि अमानवीय बन्दछन् । उत्पीडितहरू मानिस बन्ने लडार्इँ लड्दै जब उत्पीडकहरूको प्रभुत्व जमाउने र दमन गर्ने शक्ति खोस्दछन्, उनीहरू उत्पीडकहरूलई त्यो मानवीयता  फिर्ता दिन्छन्, जसलाई उनीहरूले उत्पीडन गर्ने क्रममा हराएका हुन्छन् ।

केवल उत्पीडितहरू नै आफूलाई मुक्त गरेर, आफ्ना उत्पीडकलाई पनि मुक्त गर्न सक्दछन् । उत्पीडक, एक उत्पीडनकारी वर्गको रूपमा, न त अरुलाई मुक्त गर्न सक्दछन्, न आफूलाई । त्यसकारण के आवश्यक छ भने उत्पीडितहरू त्यो अन्तर्विरोधलाई समाप्त गर्दछन्, जसमा उनीहरू फसेँका छन् । यो अन्तर्विरोध एक नयाँ मानिसको उत्पत्तिबाट समाप्त हुनेछ, जो न त उत्पीडित हुन्छ न उत्पीडक नै । त्यो मुक्त मानिस हुनेछ । यदि उत्पीडितहरूको लक्ष्य पूर्ण मानव हुनु हो भने, उनीहरू त्यस लक्ष्यसम्म अन्तर्विरोधमा बाटो परिवर्तन गरेर या मात्र ध्रुबहरूलाई बदलेर (अर्थात् स्वयं उत्पीडक बनेर आफ्ना उत्पीडकहरूलाई उत्पीडित बनाइदिएर) पुग्न सक्दैनन् ।

यो कुरा निकै सजिलो लाग्न सक्छ तर यस्तो हुँदैन । उत्पीडक–उत्पीडितको अन्तर्विरोधको समाधानमा के कुरा अन्तर्निहित छ भने प्रभुत्वशाली वर्गको रूपमा उत्पीडकहरूको अस्तित्व हुँदेन । तर भूतपूर्व उत्पीडितहरूद्वारा आफ्नो उत्पीडकहरूमाथि यदि उनीहरू पुनः उत्पीडक बन्न नसकुन् भनेर नियन्त्रण लगाउँदछन् भने यो उत्पीडन होइन । कुनै पनि काम तब उत्पीडनकारी हुन्छ, जब त्यसले मानिसलाई पूर्ण मानिस बन्नबाट रोक्दछ । त्यस अनुसार यी आवश्यक नियन्त्रण आफैँमा हिँजोका उत्पीडित आजका उत्पीडक भए भन्ने कुराको सूचक होइन । उत्पीडनकारी शासनप्रणालीको पुर्नस्थापनालाई रोक्ने व्यवहारको तुलना ती कार्यहरूसँग गर्न सकिँदैन, जसले उत्पीडनकारी शासनप्रणालीलाई जन्म दिन्छन् र त्यसलाई कायम राख्दछन् । यसको तुलना ती कार्यहरूसँग गर्न सकिदैँन, जसबाट मुट्ठीभर मान्छेहरू बहुसंख्यक मान्छेहरूलाई मानिस बन्ने अधिकारबाट वञ्चित गर्दछन् ।

तर नयाँ शासनप्रणाली जति प्रभुत्व जमाउने ‘नोकरशाही’ को रूपमा स्थापित भएर कठोर हुँदै जान्छ९, त्यति नै संघर्षको मानवतावादी आयाम हराउँदै जान्छ र मुक्तिको कुरा गर्नु असम्भव बन्दछ । यसकारण हाम्रो जोड के कुरामा छ भने उत्पीडक–उत्पीडितको अन्तर्विरोधको समाधान न त स्थितिहरूलाई उल्ट्याएर या ध्रुबहरूलाई परिवर्तन गरेर हुन्छ, न पुराना उत्पीडकहरूको ठाँउमा उत्पीडितहरूलाई उनीहरूको मुक्तिको नाममा पराधीन बनाएर राख्ने नयाँ उत्पीडकहरू बनाएर हुन्छ ।

तर मुक्ति प्राप्त गरिसकेका श्रमजीवीहरूद्वारा स्थापित नयाँ स्थितिद्वारा जब यस अन्तर्विरोधको प्रामाणिक समाधान हुन्छ, तब पनि भूतपूर्व उत्पीडक स्वयंलाई मुक्त महसुस गर्दैनन् । यसको विपरीत, उनीहरू साँच्चै नै आफूलाई उत्पीडित ठान्दछन् । अरुलाई उत्पीडित गरेको अनुभवबाट अनुकूलित भएको कारणले उनीहरूलाई आफ्नो पहिलेको स्थिति भन्दा फरक कुनै पनि स्थिति उत्पीडन जस्तो लाग्दछ । पहिले उनीहरू खान सक्दथे, सुटबुट लगाउन सक्दथे, शिक्षित हुन सक्दथे, यात्रा गर्न सक्दथे र बिथोविनको संगीत सुन्न सक्दथे; जबकि अन्य करोडौँ मान्छेहरूसँग न खानका लागि अन्न हुन्थ्यो, न लगाउनका लागि कपडा, न खुट्टामा जुत्ता, न उनीहरू शिक्षित हुन सक्दथे, न यात्रा गर्न सक्दथे, र बिथोविनको संगीत सुन्ने त कुरै आँउदैनथ्यो । सामुदायिक अधिकारको नाममा यो जीवनपद्धति माथि कुनै पनि प्रतिबन्ध भूतपूर्व उत्पीडकहरूलाई आफ्नो निजी अधिकारको गम्भीर उल्लंघन प्रतीत हुन्छ – यद्यपि ती करोडौँ मान्छेहरूप्रति उनीहरूको मनमा कुनै आदर थिएन, जो भोक, रोग, दुःख र निराशाको शिकार भएर मर्दथे । उत्पीडकहरूका लागि मानिसको अर्थ हो, ‘उनीहरू स्वयं’ । अरु त उनीहरूका लागि वस्तु हुन् । उत्पीडकहरूका लागि एक मात्र अधिकारको अस्तित्व हुन्छ : उनीहरूको आफ्नो सुख–चैनले बस्न पाउने अधिकार । उत्पीडितहरूको बाँच्न पाउँने  अधिकारलाई पनि उनीहरू अधिकार मान्दैनन् । उनीहरू यसलाई अधिकारको रूपमा मान्यता नै दिंदैनन्, बरु बाध्यतामा स्वीकार गर्दछन्, र यो अधिकार पनि यसकारणले दिन्छन् कि उत्पीडितहरूको अस्तित्व उनीहरूको अस्तित्वको लागि आवश्यक छ ।

आफ्नो यो व्यवहार तथा विश्व र मानवलाई बुझ्ने आफ्नो ढंगको व्याख्या (जसको कारण उत्पीडक अनिवार्यतः नयाँ शासनप्रणाली स्थापनाको विरोध गर्दछन्) उनीहरू प्रभुत्वशाली वर्गको रूपमा आफ्नो अनुभवको आधारमा गर्दछन् । हिंसा र उत्पीडनको स्थिति बन्यो भने, त्यसले आफैँमा फसेका तमाम मान्छेहरूको लागि – उत्पीडक र उत्पीडित दुवैखाले मान्छेहरूका लागि – जीवन र व्यवहारको एक सम्पूर्ण पद्धति उत्पन्न गरिदिन्छ । दुवै यस स्थितिमा डुब्दछन् र उत्पीडनले दुवैलाई आफ्नो छाप छोड्दछ । उत्पीडन कस्तो अवस्थाहरूमा आयो भन्ने कुराको विश्लेषण गर्दा के थाहा हुन्छ भने त्यसको प्रारम्भ हिंसाको कुनै कार्यबाट सुरु हुन्छ र त्यो हिंसा कुनै शक्तिशाली मान्छेद्वारा सुरु गरिएको थियो । यो हिंसा एक प्रक्रियाको रूपमा ती उत्पीडकहरूद्वारा पुस्तौँपुस्तासम्म जारी रहन्छ, जो यसको उत्तराधिकारी बन्दछन्, र यसैको वातावरणमा अनुकूलित बन्दै जान्छन् । यो वातावरणले उत्पीडकहरूमा एक बलियो स्वमित्व चेतना उत्पन्न गर्दछ – अर्थात् उनीहरू स्वयंलाई मानिसहरूको स्वामी  ठान्न थाल्दछन् । विश्व र मानवको प्रत्यक्ष, ठोस, भौतिक स्वमित्व बिना उत्पीडक चेतनाले आफैलाई चिन्दैन – यहाँसम्म कि यो बिना त्यसको अस्तित्व नै सम्भव छैन । एरिक फ्रोमले यो चेतनाको बारेमा भनेका छन् – यस्तो स्वमित्व बिना “संसारबाट त्यसको सम्पर्क नै समाप्त हुनेछ ।” उत्पीडक चेतनामा आफ्नो वरिपरिको हरेक चीजलाई आफ्नो प्रभुत्व भएको वस्तुमा बदलिदिने प्रवृत्ति हुन्छ । पृथ्वी, सम्पत्ति, उत्पादन, मान्छेको सृजना, स्वयं मानिस, समय, आदि हरेक चीज त्यसको सेवा गर्ने वस्तुको स्तरसम्म सीमित भएर रहन्छ ।

स्वमित्वको अनियन्त्रित प्रलोभनको कारणले उत्पीडकहरूमा यो बलियो धारणा विकसित हुन्छ कि उनीहरू हरेक चीजलाई आफ्नो क्रयशक्ति भित्रको वस्तु बनाउन सक्छन् – आफूले किन्न सक्ने वस्तुमा बदल्न सक्दछन् । यसकारण तिनीहरूको अस्तित्व सम्बन्धी धारणा नितान्त भौतिकवादी हुन्छ । हरेक चीजको मापदण्ड पैसा हो, र नाफा कमाउनु प्राथमिक लक्ष्य हो । उत्पीडकहरूका लागि सार्थक कुरो मात्र एउटा छ र त्यो के हो भने उनीहरूलाई बढी प्राप्त होस्, सदैव बढी प्राप्त होस् – चाहे यसको कारणले उत्पीडितहरूले थोरै पाऊन् या पाउँदै नपाउन् । उनीहरूको लागि अस्तित्वको अर्थ स्वमित्व, र मालिक वर्गको हुनु हो ।

उत्पीडनको स्थितिबाट लाभान्वित भएकोले उत्पीडकहरूलाई यदि स्वमित्व नै अस्तित्वको शर्त हो भने यो शर्त सबै मानिसहरूमा लागू हुन्छ भन्ने कुरा थाहा हुँदैन । यही कारणले गर्दा नै उनीहरूको उदारता मिथ्या हुन्छ । उनीहरूका लागि मानवीयता पनि एउटा वस्तु हुन्छ, र उनीहरू त्यसको मालिक हुन्, पैत्रिक सम्पत्तिको अधिकार झैँ त्यसमा केवल उनीहरूको अधिकार हुन्छ । उत्पीडक चेतनालाई अरुको मानवीकरण, जनताको मानवीकरण, पूर्ण मानव बन्ने प्रयास लाग्दैन, बरु व्यवस्थाविरोधी कार्य लाग्दछ ।

उत्पीडकहरू धेरैको स्वमित्वको आफ्नो एकाधिकारलाई यस्तो विशेषाधिकारको रूपमा हेर्दैनन्, जसले अरुलाई र स्वयं आफूलाई पनि अमानवीय बनाउँदछ । उनीहरू के देख्न सक्दैनन् भने मालिक वर्गको रूपमा स्वामित्वको आफ्नो अहंवादी प्रयासमा आफ्नो सम्पदाहरूको बीचमा निस्सासिएर मर्दछन् – कि उनीहरूको अस्तित्व समाप्त हुन्छ र केवल स्वमित्व बाँकी रहन्छ । उनीहरूको लागि ‘अरु अधिक पाउनु’ एक यस्तो अधिकार हुन्छ, जसलाई उनीहरूबाट अलग गर्न सकिन्न – एक यस्तो अधिकार, जसलाई उनीहरू के ठान्दछन् भने उनीहरूले आफ्नो निजी प्रयासबाट, जोखिम उठाउने साहसबाट प्राप्त गरेका हुन् । यदि अरुसँग अधिक धन छैन भने उनीहरू अयोग्य र अल्छि भएको कारणले हो र उनीहरूमा सबैभन्दा खराब कुरो, जसलाई कहिल्यै पनि उचित मान्न सकिदैँन, उपल्लो वर्गको उदारतापूर्ण कार्यहरूका लागि कृतज्ञ हुँदैनन् । उत्पीडितहरू अकृतज्ञ र ईर्ष्यालु हुन्छन्, त्यही कारणले उनीहरूलाई यस्तो सम्भावित शत्रु मानिन्छ, जसमाथि हमेशा ध्यान राख्नुपर्दछ ।

उत्पीडक वर्गका मान्छे यो भन्दा फरक केही पनि सोच्न सक्दैनन् । यदि उत्पीडितहरूको मानवीकरण व्यवस्था विरोधको सूचक हो भने उनीहरूको स्वतन्त्रता पनि व्यवस्था विरोधी भयो । त्यसकारण उनीहरूलाई निरन्तर नियन्त्रणमा राख्नु आवश्यक छ । र, उत्पीडक जति उत्पीडितहरूलाई नियन्त्रण गर्दछन्, त्यति नै उनीहरू निर्जीव चीजमा बदलिदैँ जान्छन् । स्वामित्वको प्रलोभनको कारण उत्पीडक चेतनामा आफ्नो छेउको हरेक चीज र मानिसलाई निर्जीव बनाइदिने प्रवृत्ति हुन्छ । यो प्रवृत्ति निसन्देहः परपीडनको प्रवृत्तिसँग मेल खान्छ । ‘दि हार्ट अफ मेन’ मा फ्रोमले लेखेका छन् :

अरु कुनै व्यक्ति वा प्राणीमाथि आफ्नो सम्पूर्ण प्रभुत्व प्राप्त गर्दा पाइने आनन्द नै परपीडन वृत्तिको सार हो । यसै कुरालाई अर्को ढंगबाट के भन्न सकिन्छ भने परपीडनको उद्देश्य मानिसलाई एउटा वस्तुको रूपमा बदल्नु हो, सजीवलाई निर्जीवमा बदल्नु हो, किनकि पूर्ण र परम नियन्त्रणबाट सजीव प्राणीमा जीवनको एक सारभूत गुण हराउँदछ, त्यो हो स्वतन्त्रता । परपीडक प्रेम विकृत प्रेम हो – त्यो जीवनसँग होइन, लाशसँग गरिने प्रेम हो । यस प्रकार उत्पीडक चेतना र त्यसको लाशप्रेमी विश्वदृष्टिको एउटा विशेषता परपीडन हो । प्रभुत्व प्राप्त गर्नको लागि उत्पीडक चेतनाले जीवनलाई नष्ट गर्दछ, किनकि त्यसले जीवनको मुलभूत विशेषताहरू जिज्ञासा, सँधै व्यग्र रहने प्रेरणा र सृजनशक्तिलाई अवरुद्ध गर्दछ । उत्पीडक आफ्नो उद्देश्यको लागि विज्ञान र प्रविधिको बढी भन्दा बढी प्रयोग गर्दछन्, जुन निसन्देह निकै शक्तिशाली हतियार हो । तर तिनीहरूको उद्देश्य के हो ? उद्देश्य हो : दमन र चालबाजीको माध्यमबाट उत्पीडनकारी व्यवस्थालाई टिकाइराख्नु ।१० वस्तुहरू (अब्जेक्टिभ्स) को रूपमा, चीजहरू (थिंग्स) को रूपमा उत्पीडितहरूको अरु कुनै उद्देश्य हुँदैन, यसको अतिरिक्त कि उनीहरूको उत्पीडकले उनीहरूलाई जुन उद्देश्य निर्धारण गरिदिन्छन् ।

माथि जे भनिएको छ, त्यसको प्रकाशमा एउटा अर्को मुद्दा उठ्छ र असंधिग्द रूपमा यो मुद्दा महत्वपूर्ण छ । त्यो तथ्य के हो भने उत्पीडक वर्गका केही सदस्य मुक्ति संघर्षमा उत्पीडितहरूको साथमा आउँदछन् र यसैप्रकार अन्तर्विरोधको एक ध्रुवबाट अर्को ध्रुबतिर पुग्दछन् । यो संघर्षमा यस्ता मान्छेहरूको आधारभूत भूमिका हुन्छ । तर के हुन्छ भने जब उनीहरू शोसक रहदैँनन् या उदासीन दर्शक रहदैँनन् या शोषणको एकमात्र उत्तराधिकारी रहदैँनन्, र शोषितहरूको पक्षमा आउँदछन् भने प्रायः उनीहरू आफ्नो साथमा आफ्ना उद्गम स्थानका केही संस्कार पनि लिएर आँउछन् । आफ्नो पूर्वाग्रह र विकार, जसमा के कुरा सामेल हुन्छ भने उनीहरूलाई जनताको सोच्ने, चाहने र बुझ्ने क्षमता माथि भरोसा हुदैँन । तद्अनुसार जनताहरूको उद्देश्यसँग जोडिएका यी मान्छेहरूको साथमा के खतरा रहिरहन्छ भने यिनीहरू कतै यस्तो उदारताको चक्करमा नपरून्, जुन उदारता उत्पीडकहरूको मिथ्या उदारता जत्तिकै हानीकारक हुन्छ । उत्पीडकहरूको उदारता एक अन्यायी व्यवस्थामा हुर्कन्छ, जसलाई कायम राख्नु त्यस उदारतालाई उचित सिद्ध गर्नका लागि आवश्यक हुन्छ । अर्कोतिर, उत्पीडक वर्गबाट आएर उत्पीडितहरूको संघर्षमा सामेल हुने मान्छेहरू साँच्चै त्यस अन्यायपूर्ण व्यवस्थालाई बदल्न चाहन्छन्, तर आफ्नो पृष्ठभूमिको कारण उनीहरू के मान्दछन् भने व्यवस्थालाई बदल्नका लागि उनीहरू नै चाहिन्छ । उनीहरू जनताको बारेमा कुरा त गर्दछन् तर उनीहरूमाथि भरोसा गर्दैनन्, यसको विपरीत जनतामाथि भरोसा गर्नु क्रान्तिकारी परिवर्तनको एक अनिवार्य पूर्वशर्त हो । साँचो मानवतावादी को हो, यसको पहिचान जनतामा भरोसा नगरी उनीहरूको पक्षमा गरिएका हजारौँ कामबाट त्यति हुँदैन, जति उनीहरूमाथि गरिएको भरोसाबाट हुन्छ । किनकि यो भरोसाले नै त्यसलाई जनताको संघर्षमा सामेल गर्दछ ।

जो मान्छेहरू प्रामाणिक रूपबाट जनतासँग प्रतिबद्ध हुन्छन्, उनीहरूले निरन्तर आफ्नो पुर्नपरीक्षा गरिरहनुपर्दछ । उनीहरूको मत परिवर्तन यति मूलगामी हुनुपर्दछ कि उनीहरूको व्यवहारमा दुविधाको कुनै शंका समेत हुनुहुदैँन । प्रतिबद्धताको कुरा गर्नु, तर स्वयंलाई क्रान्तिकारी बुझाइको स्वामी मान्नु, जुन जनतालाई दिइन्छ या लादिन्छ, पुरानै तरिकालाई कायम राख्नु हो । जो मानिस मुक्तिको उद्देश्यमा विश्वास राख्ने कुरा गर्दछ तर जनतासँग घनिष्ठता स्थापित गर्नमा असफल हुन्छ, यसकारणले ऊ जनतालाई अज्ञानी ठान्छ र गम्भीर आत्मछलको शिकार हुन्छ । मत परिवर्तन गरेर जनतातिर आएको व्यक्ति यदि जनताबाट उठाइएका प्रत्येक कदमबाट,  उनीहरूबाट व्यक्त गरिएका प्रत्येक सन्देहबाट, र उनीहरूबाट दिइएका प्रत्येक सुझावबाट अत्तालिन्छ र आफ्नो हैसियत लाद्ने गर्दछ भने यसको अर्थ हो – उसले आफ्नो उद्गम स्थान अझैपनि भुलेको छैन, बरु त्यसको विरहले उसलाई अझै पनि सताइरहेको छ ।

जनपक्षीय हुनका लागि एकप्रकारको पूर्नजन्म या गम्भीर आत्मरुपान्तरणको आवश्यकता पर्दछ । जनपक्षीय हुनेहरूले अस्तित्वको एक नँया रूप ग्रहण गर्नुपर्दछ, किनकि अब उनीहरू त्यही रहन सक्दैनन्, जो पहिले थिए । उनीहरू उत्पीडितहरूको साथी बनेर नै तिनीहरूको जीवन र व्यवहारको त्यो तरिकाहरूलाई बुझ्न सक्दछन्, जसमा विभिन्न अवसरहरूमा प्रभुत्वको संरचना प्रतिबिम्बित हुन्छ । उत्पीडितहरूको जीवन र व्यवहारको एक विशेषताको उल्लेख पहिले पनि गरिसकिएको छ, यो विशेषता उनीहरूमा पाइने अस्तित्वसम्बन्धी त्यो दोधार हो, जसका कारण उनीहरू एकैसाथ आफू पनि हुन्छन् उत्पीडक पनि, जसको बिम्बलाई उनीहरू आत्मसात गरिरहेका हुन्छन् । त्यस अनुसार जबसम्म उनीहरूले आफूभित्र रहेको उत्पीडकलाई खोजेर निकाल्दैनन् र बदलामा स्वयं आफ्नो चेतना प्राप्त गर्दैनन्, तबसम्म उनीहरू प्रायः आफ्नो स्थितिप्रति भाग्यवादी दृष्टि अपनाइरहन्छन् :

किसानले ऊ पराधीन छ भन्ने कुरा बुझेपछि मात्र उसले आफ्नो पराधीनतामाथि विजय प्राप्त गर्ने साहस जुटाउन सुरु गर्दछ । जबसम्म ऊ आफ्नो पराधीनतलाई बुझ्दैन, तबसम्म आफ्नो मालिकको अनुशरण गरिरहन्छ र के भन्ने गर्दछ भने “म के गर्न सक्छु र ? म त एक किसान मात्र हुँ ।”११

सतही विश्लेषण गर्दा यो भाग्यवादलाई कहिलेकाहीँ यस्तो विनयशीलताको रूपमा व्याख्या गरिन्छ, जसलाई राष्ट्रिय चरित्रको लक्षण मानिन्छ । विनयको आवरणमा लुकेको भाग्यवाद एक ऐतिहासिक र समाजशास्त्रीय स्थितिको परिणाम हो, न कि जनताको व्यवहारको कुनै तात्विक विशेषता । यसको सम्बन्ध प्रायः या त नियति वा दुर्भाग्यसँग या सौभाग्यको शक्तिसँग जोडिन्छ (जुन अपरिहार्य शक्ति मानिन्छ) या ईश्वर विषयक कुनै विकृत दृष्टिकोणसँग । जादु र मिथकहरूमा बग्ने उत्पीडितहरू – विशेष रूपले किसान, जो प्रकृतिमा लगभग पूरै डुबेको हुन्छ (हेर्नुहोस मेन्डेसको किताब ‘मोमेन्टो डि वाइवोस’), आफ्नो दुःखहरूलाई, जुन शोषणको परिणाम हुन्छ, ईश्वरको इच्छाको रूपमा हेर्दछन्, मानौँ यो संगठित अव्यवस्था ईश्वरकै रचना हो ।

यथार्थमा डुबेका उत्पीडितहरू यो व्यवस्थालाई स्पष्ट रूपले देख्न सक्दैनन्, जुन ती उत्पीडकहरूका लागि बनेको हो, त्यसको बिम्बलाई उनीहरूले आत्मसात गरिरहेका छन् । यो व्यवस्थाबाट लगाइएको प्रतिबन्धबाट रगडिएर तातिइरहेका कारण उनीहरूमा प्रायः समस्तरीय हिंसा निस्कन्छ, जो तुच्छतम् कारणहरूबाट आफ्नै साथीहरूमाथि गरिने प्रहारको रूपमा व्यक्त हुन्छ । फ्रान्ज फेननले ‘दि रेचिड अफ दि’ अर्थमा लेखेका छन् :

उपनिवेशीकृत मानिसले पहिले त्यो आक्रमकतालाई व्यक्त गर्नेछ, जुन उसको आफ्नै मान्छेहरूको विरुद्ध उसमा खाँदीखाँदी भरिदिइएको हुन्छ । त्यही भएर काला जातिका मान्छेहरू एक-अर्कोलाई पिट्छन्, र उत्तरी अफ्रिकामा अपराधहरूको आश्चार्यजनक लहर उठेको देखेर पुलिस र न्यायधीशहरूको दिमागमा के गर्ने भन्ने कुरो आउँदैन । जबकि औपनिवेशिक शासकहरू र पुलिसहरूलाई जीवनपर्यन्त मूलनिवासीहरूलाई मार्ने, पिट्ने, उनीहरूको अपमान गर्ने र उनीहरूलाई आफ्नो अगाडि जोताउने अधिकार छ, तपाईँ हेर्नसक्नुहुन्छ – एक मूलनिवासीले कुनै अर्को मूलनिवासीको आँखामा उसको लागि अलिकति पनि शत्रुता या आक्रमकता देख्ने बित्तिकै छुरी निकाल्छ, किनभने मूलनिवासीसँग आफ्नै भाइसँग ज्यान जोगाउने भन्दा अर्को कुनै उपाय बचेको हुँदैन ।

सम्भव छ, यो व्यवहारमा पनि उनीहरू आफ्नो दोधारलाई व्यक्त गरिरहेका हुन् । उत्पीडक उनीहरूका साथीहरू भित्र पनि बसिरहेको हुन्छ, यसकारण उनीहरू आफ्ना साथीहरूमाथि हमला गरिरहँदा परोक्ष रूपमा उत्पीडकहरू माथि पनि हमला गरिरहेका हुन्छन् ।

अर्को तिर, आफ्नो अस्तित्वगत अनुभवको खास विन्दुमा उत्पीडित उत्पीडक र त्यसको जीवनशैली प्रति अदम्य आकर्षण पनि महसुस गर्दछ । उनीहरूको जस्तै जीवन जिउने आकांक्षाले उनीहरूलाई घिच्याउँदछ । आफ्नो पृथक्करणमा उत्पीडितहरू कुनै पनि मूल्यमा उत्पीडक जस्तो देखिन, नक्कल गर्न, उनीहरूको अनुशरण गर्न चाहन्छन् । यो चीज मध्यमवर्गीय उत्पीडितहरूमा विशेष रूपले पाइन्छ, जो उच्च वर्गका प्रमुख मान्छेहरू जस्तै बन्नका लागि र्याल चुहाउँदछन् । अल्बर्ट मेम्मीले उपनिवेशित मानसिकताको विश्लेषण गर्ने पुस्तक ‘दि कोलोनाइजर एन्ड दि कोलोनाइज्ड’ मा उपनिवेशकप्रति आफ्नो त्यो घृणालाई स्पष्ट वर्णन गरेका छन्, जसमा उनीहरूप्रति उत्कट आकर्षण पनि सामेल थियो :

उपनिवेशक आफ्ना कामदारहरूको हेरचाह कसरी गर्न सक्छ, जबकि उसले बिसाइबिसाइकन उपनिवेशित मान्छेहरूको भीडलाई गोलीले भुट्नु पर्दछ ? उपनिवेशित कसरी यति क्रुरतापूर्वक स्वयंलाई नकार्न सक्छ, जबकि ऊ यस्तो अतिशयोक्तिपूर्ण मागहरू पनि गर्दछ ? ऊ उपनिवेशकहरूलाई कसरी घृणा गर्न सक्छ, जबकि ऊ उनीहरूको यस्तो उत्कट प्रशंसा पनि गर्दछ ? (मैले पनि आफ्नो स्वभाव विरुद्ध आफूभित्र यो प्रशंसा भाव महसुस गरेको छु) ।

आत्म–अवमूल्यन (सेल्फ डिप्रिसियसन) उत्पीडितहरूको अर्को विशेषता हो, जुन आफ्नो बारेमा बनेको उत्पीडकहरूको रायलाई आत्मसात गरेपछि पैदा हुन्छ । उनीहरूले यति धेरै पटक यो सुन्नु पर्दछ कि, तँ काम लाग्ने मान्छे होइनस्, तँ केही पनि जान्दैनस्, तँ केही पनि सिक्न सक्दैनस्, तँ बिमार छस्, अल्छि र निकम्मा होस, र अन्ततः ऊ यस कुरालाई विश्वास गरेर स्वयंलाई यस्तै मान्न थाल्दछ । ‘किसान आफूलाई आफ्नो मालिक भन्दा आफूलाई हीन सम्झिन्छ, किनकि उसलाई मालिक नै एकमात्र यस्तो मानिस लाग्छ, जो सबै कुराको जानकार र काममा कुशल छ ।’१२

उनीहरू स्वयंलाई अज्ञानी बताउँछन् र भन्छन् ज्ञान त गुरुकै साथमा हुन्छ, यसकारण गुरुको कुरा मान्नु पर्दछ । उनीहरूमाथि ज्ञानको परम्परागत प्रतिमान लादिन्छ । एक संस्कृति मण्डलमा भाग लिने एउटा किसानले भने, “पहिले तपाईँ नै चित्रको व्याख्या किन गर्नुहुन्न ? यसबाट समय पनि कम लाग्नेछ र हाम्रो टाउको पनि दुख्नेछैन ।”

उनीहरूलाई लगभग कहिल्यै पनि महसुस हुँदैन कि उनीहरू पनि ती वस्तुहरूका जानकार हुन्, जसलाई उनीहरूले विश्व र अन्य मानिसहरूबाट आफ्नो सम्बन्धको माध्यमले आत्मसात गरेका छन् । जुन परिस्थतिले उनीहरूमा दोधार पैदा गर्दछ, उनीहरूले स्वयंमाथि भरोसा गर्दैनन् भन्ने कुरा स्वाभाविक छ ।

शैक्षिक परियोजनाहरूमा प्रायः के हुन्छ भने किसान कुनै प्रजननशील  मूलविषय (जेनेरटिभ थिम) माथि निकै जीवन्त ढंगले चर्चा सुरु गर्दछ, तर अचानक रोकिएर शिक्षकसँग भन्दछन् – “माफ गर्नुहोला, हामीले चुप लाग्नुपर्छ र तपाईँलाई बोल्न दिनुपर्छ । तपाईँ जानकार हुनुभयो, हामी त अज्ञानी छौँ ।” उनीहरू प्रायः के कुरामा जोड दिन्छन् भने उनीहरूमा र जनावरमा कुनै फरक छैन । यदि उनीहरू कुनै फरक मान्छन् भने पनि त्यो उनीहरूको पक्षमा होइन, जनावरहरूको पक्षमा जान्छ : “उनीहरू हामीभन्दा बढी स्वतन्त्र छन् ।”

तर यो देखेर के आश्चर्य हुन्छ भने उत्पीडनको स्थितिमा आरम्भिक परिवर्तनहरूसँगै यो आत्मअवमूल्यन कसरी बदलिन्छ । चिलीमा कृषिसम्बन्धी सुधारहरूको प्रयोगको बेलामा ‘अन्सेटामिएन्टो’ भनिने उत्पादन इकाईहरू बनेका थिए । मैले यस्तै एक इकाईको बैठकमा एउटा किसान नेताले यस्तो भन्दै गरेको सुनेँ : “उनीहरू भन्ने गर्दथे – हामी अनुत्पादक छौँ किनकि हामी अल्छे र जँड्याहा छौँ, सबै झुठो हो । अब, जबकि मानिसको रूपमा हाम्रो आदर हुन थालेको छ, हामी प्रत्येकलाई देखाइदिन्छौँ कि हामी कहिल्यै पनि अल्छि र जँड्याहा थिएनौँ । हो, हामी शोषित जरुर थियौँ ।”

जबसम्म उत्पीडितहरूको दुविधा रहिरहन्छ, उनीहरू प्रतिरोध गर्नमा हिच्किचाउँछन् र उनीहरूमा आत्मविश्वास बिल्कुल हुँदैन र तबसम्म उनीहरू उत्पीडितहरूको सत्तामा र उनीहरूको अपराजेयतामा एक प्रकारको धमिलो जादुमयतामा विश्वास गरिरहन्छन् ।१३ ग्रामीण क्षेत्रहरूमा भूस्वामित्वको सत्ताको जादुगरी शक्ति खास तरीकाले मान्छेहरूमा छाइरहन्छ । मेरा एक समाजशास्त्री मित्र ल्याटिन अमेरीकाको एउटा देशका ती सशस्त्र क्रान्तिकारी किसानहरूका बारेमा बताउँछन्, जसले हालैमात्र त्यहाँको एक ‘लेटिफेन्डियम’ (भूस्वामीको इलाका) माथि कब्जा गरेको थियो । उनी भन्छन् – ती किसानहरूले राजनीतिक कारणहरूबाट त्यहाँका भूस्वामीलाई बन्धक बनाउने योजना बनाए । तर एउटा पनि किसानमा उसको पहरेदारी गर्ने साहस थिएन, किनकि उसको उपस्थितिले मात्र पनि उनीहरूलाई आतंकित गर्दथ्यो । यो पनि सम्भव हुन सक्दछ कि मालिकको विरोध गरेको कारण उनीहरूमा अपराधबोध पैदा भएको होस् । वास्तविकता के थियो भने मालिक स्वयं उनीहरूकै ‘भित्र’ थियो ।

उत्पीडकहरूले यस्तो उदाहरण अवश्य हेर्नुपर्छ, जसमा उत्पीडक परास्त भएको छ, किनकि यसबाट उनीहरूको यो धारणा बदलिन्छ कि उत्पीडक परम शक्तिशाली र अपराजेय हुन्छन्, बरु यसको विपरीत कुन धारणा बन्दछ भने उसलाई परास्त गर्न सकिन्छ । जबसम्म यस्तो हुँदैन, उनीहरू हताश, भयभीत र पराजित नै बनिरहन्छन् ( हेर्नुहोस् रेजिस देब्रेको पुस्तक ‘रिभोल्युसन इन द रिभोल्युसन’) । जबसम्म उत्पीडितहरू आफ्नो परिस्थितिको कारणहरूसँग अनभिज्ञ रहन्छन्, उनीहरू आफ्नो शोषणलाई भाग्यवादी ढंगले स्वीकार गरिरहन्छन् । फेरि जब आफ्नो स्वतन्त्रता र आत्म पुष्टिको लागि संघर्ष गर्नुपर्ने आवश्याता पर्दछ, उनीहरू सक्रिय हुनुको सट्टा निष्क्रिय रहने र अरुसँग जोडिनुको सट्टा तिनीहरूबाट बच्नुलाई नै उनीहरू आफ्नो कुशलता ठान्दछन्। तर बिस्तारै-बिस्तारै उनीहरू विद्रोही कार्यका विभिन्न रूपहरूलाई प्रयोग गर्न थाल्दछन् । त्यसकारण मुक्तिको लागि काम गर्दैगर्दा न त उनीहरूको निष्क्रियतालाई नजरअन्दाज गर्नु हुन्छ न उनीहरूको जागृतिको क्षणलाई नै ।

संसार र आफूप्रति एक अप्रामाणिक दृष्टिकोण राखेकाले उत्पीडितहरू के ठान्दछन् भने उनीहरू ‘वस्तु’ हुन्, जसको स्वामी उनीहरूको उत्पीडक हो । उत्पीडकहरूको लागि अस्तित्वको अर्थ स्वामित्व हुन्छ, तर उनीहरूको मूल्यमा, जो मालिक हुँदैनन्, जसको साथमा केही पनि हुदैँन । उत्पीडितहरूका लागि आफ्नो व्यक्तिगत अनुभवको एक विशेष अवस्थामा आफ्नो हुनुको अर्थ उत्पीडक जस्तो हुनु होइन, बरु उनीहरूको अधीन हुनु हुन्छ, उनीहरूमा निर्भर हुनु हुन्छ । त्यहीअनुसार, उत्पीडितहरू भावनात्मक रूपबाट पनि पराधीन हुन्छन् : किसान पराधीन हुन्छ । ऊ कहिल्यै पनि आफूलाई के चाहिन्छ भन्न सक्दैन । आफ्नो पराधीनतालाई जानेपछि ऊ दुःखी रहन्छ । ऊ आफ्नो मनको पटाका आफ्नो घरमा फुटाउँछ, जहाँ ऊ आफ्नो बच्चालाई कराँउछ, उनीहरूलाई पिट्छ र हताश हुन्छ । ऊ आफ्नो स्वास्नीको बारेमा गुनासो गर्छ र सोच्छ कि हर चीज डरलाग्दो छ । ऊ मालिकको रिस गर्दैन, किनकि मालिकलाई श्रेष्ठतर प्राणी मान्दछ । धेरै पटक किसान आफ्नो दुःखलाई रक्सि खाएर व्यक्त गर्दछ ।१४

यो पूर्ण भावनात्मक पराधीनताले उत्पीडितहरूलाई त्यस चीजतर्फ लिएर जान्छ, जसलाई एरिक फ्रोमले ‘शवकामी व्यवहार’ भनेका छन् । यसको अर्थ हुन्छ : जीवनको नाश – आफ्नो या आफ्ना साथीहरूको जीवनको नाश ।

उत्पीडितहरू आफैँ माथि भरोसा गर्न तब सुरु गर्दछन्, जब उनीहरू उत्पीडकलाई खोज्दछन् र आफ्नो मुक्तिको लागि संगठित संघर्ष गर्न सुरु गर्दछन् । यो खोज नितान्त बौद्धिक खोज हुन सक्दैन । यसको लागि कर्म पनि आवश्यक पर्दछ । तर यो खोज निरीह कर्मवादसम्म पनि सीमित हुदैँन । यसमा चिन्तन पनि अवश्य सामेल रहनुपर्दछ । तब मात्र यो खोजलाई ‘आचरण’ (प्रेक्सिस) भन्न सकिन्छ ।

उत्पीडितहरूको मुक्तिको संघर्ष चाहे जस्तोसुकै अवस्थामा होस, उनीहरूसँग संवाद अवश्य चलाउनु पर्दछ – यस्तो संवाद जुन आलोचनात्मक र मुक्तिदायी हुन्छ र जसमा कर्मलाई पहिलेबाट नै आवश्यक मानेर चलाइन्छ।१५ यस संवादको अन्तर्वस्तु ऐतिहासिक परिस्थितिहरू र उत्पीडितहरूको यथार्थबोधको स्तर अनुसार बदलिन सक्छ, र बदलिनु पनि पर्दछ, तर संवादको ठाँउमा एकालाप, नाराहरू र विज्ञप्तिहरूको माध्यमबाट उत्पीडितहरूको मुक्तिको प्रयास कहिल्यै गर्नु हुदैँन, किनकि यो मुक्तिको होइन, बरु उनीहरूलाई पाल्तु बनाउने औजारहरू हुन् । मुक्तिको कर्ममा उत्पीडितहरूको विचारपूर्ण सहभागिता बिना नै उनीहरूको मुक्तिको प्रयास गर्नु उनीहरूलाई निर्जीव चीज मान्नु बराबर हुन्छ, जसलाई मानौँ जल्दै गरेको घरबाट निकालेर बचाउनु जस्तै हुन्छ । यस्तो गर्नु उनीहरूलाई अंधलोकवादको खाल्डोमा जाक्नु र यस्तो मानिसमा बदल्नु हो, जसलाई भेटेर प्रायः चालबाजी गर्न सकिन्छ ।

उत्पीडितहरूका लागि के आवश्यक छ भने उनीहरू आफ्नो मुक्तिका सबै अवस्थाहरूमा पूर्ण मानव बन्ने सत्तामूलक र ऐतिहासिक कार्यमा संलग्न मानिसहरूको रूपमा आफूलाई हेरून् । मानिस जब मानवीयता र त्यसका ऐतिहासिक रूपहरूको अन्तर्वस्तुलाई अलग गर्ने गल्ती गर्दैन, तब चिन्तन र कार्य उसको लागि अवश्य करणीय हुनजान्छ ।

उत्पीडितहरूले आफ्नो ठोस स्थिति माथि चिन्तन गर्नु पर्दछ भन्ने कुरामा जोड दिनु आरामकुर्सीमा लडीलडी क्रान्ति गर्नका लागि भनिएको होइन । यसको विपरीत, चिन्तन – वास्तविक चिन्तन – ले त कर्मतिर लिएर जान्छ । अर्कोतिर, स्थितिद्वारा आवश्यक बनाइएको कर्म साँचो आचरण तबमात्र बन्न सक्छ, जब त्यसका परिणामहरूमाथि आलोचनात्मक ढंगले विचार गरिन्छ । यस अर्थमा आचरण उत्पीडितहरूको नँया उद्देश्य हो, र क्रान्ति, जसले यस उद्देश्यको ऐतिहासिक क्षणको उद्घाटन गर्दछ, तबसम्म हुन सक्दैन, जबसम्म उनीहरू आफ्नो उद्देश्य अनुसार सचेत रूपमा त्यसमा सामेल हुदैँनन् । यस बिना गरिने कर्म मात्र सक्रियतावाद हो ।

 तर यस आचरणसम्म पुग्नका लागि उत्पीडितहरूमाथि र उनीहरूको विवेकशीलतामाथि भरोसा गर्नु आवश्यक हुन्छ । जोसँग यो भरोसा हुनेछैन, ऊ तिनीहरूसँग संवाद र विचार–विमर्श गर्न सक्नेछैन (या बन्द गरिदिनेछ) र नाराहरू, विज्ञप्तिहरू, एकालापहरू र सुझावहरूको प्रयोग गर्ने गल्ति गर्न थाल्नेछ, मुक्तिको उद्देश्यप्रति सतही समर्पण गर्नेहरूसँग यो खतरा प्रायः रहिरहन्छ ।

उत्पीडितहरूको पक्षमा गरिने राजनीतिक कर्म वास्तविक अर्थमा शिक्षाशास्त्रीय कर्म हुनुपर्दछ । त्यकारण यो कर्म उनीहरूबाट अलग रहेर होइन, बरु उनीहरूसँगै गरिनुपर्दछ । मुक्तिका लागि काम गर्नेहरूले उत्पीडितहरूको त्यो भावनात्मक पराधीनताको फाइदा कदापि उठाउनु हुदैँन, जुन उनीहरूलाई घेरिरहेको प्रभुत्वको वास्तविक स्थितिको परिणाम हुन्छ र जसले उनीहरूलाई संसारलाई वास्तविक रूपमा हेर्न दिदैँन । उनीहरूको पराधीनताको प्रयोग गरेर उनीहरूलाई अरु बढी पराधीन बनाउनु त उत्पीडकहरूको तरीका हो ।

स्वतन्त्रतावादी कर्ममा यो पराधीनतालाई एउटा कमजोरीको रूपमा बुझ्नुपर्छ र चिन्तन तथा कर्मको माध्यमबाट यसलाई स्वाधीनतामा बदल्ने प्रयास गर्नुपर्दछ । तर सर्वोत्तम् सदासयता भएको नेतृत्वले पनि कसैलाई उसको स्वधीनता उपहारको रूपमा दिन सक्दैन । उत्पीडितहरूको मुक्ति वस्तुको होइन, मानिसको मुक्ति हो । त्यसकारण जहाँ आफ्नै प्रयासहरूबाट कसैले आफूलाई मुक्त गर्न सक्दैन भन्ने कुरा साँचो हो, त्यहाँ अरुले पनि उसलाई मुक्त गर्न सक्दैनन् भन्ने कुरा पनि साँच हो । मानिसलाई अर्ध–मानव मानेर अगाडि बढ्नुले उनीहरूलाई अमानवीय बनाउँदछ । मानिस जब उत्पीडनको कारण पहिले नै अमानवीय बनाइएका छन्, त्यसमाथि उनीहरूको मुक्तिको प्रक्रियामा अमानवीकरणका तरीकाहरूको प्रयोग किमार्थ गर्नु हुदैँन ।

त्यसकारण क्रान्तिकारी नेतृत्वद्वारा मुक्तिको कार्यमा अपनाइने सही तरीका ‘स्वतन्त्रतावादी प्रचार’ होइन । नेतृत्वले उत्पीडितहरूको विश्वास प्राप्त गर्नका लागि उनीहरूको मनमा स्वतन्त्रतामा विश्वास राख्ने विचार रोपिदिने कुरा पनि संभव छैन । सही तरिका हो संवाद । उत्पीडितहरूलाई क्रान्तिकारी नेतृत्वले दिने मुक्तिको लागि संघर्ष गर्नुपर्छ भन्ने दृढ विश्वास उपहार होइन, बरु उनीहरूको आफ्नै विवेकीकरणको परिणाम हो ।

क्रान्तिकारी नेताहरूले यो कुरा अवश्य बुझ्नुपर्दछ कि संघर्षको आवश्यकतामा उनीहरूको दृढ विश्वास (जुन क्रान्तिकारी समझदारीको एक निर्णायक आयाम हो) यदि साँचो छ भने, त्यो पनि उनीहरूलाई अरु कसैले दिएको थिएन । यो पोका पारेर बजारमा बेच्न सकिने कुरा होइन । यसलाई त चिन्तन र कर्मको एकताबाट स्वयं आर्जित गर्नुपर्दछ । एक ऐतिहासिक स्थितिमा यथार्थसँग नेताहरूको आफ्नो सम्बद्धता नै उनीहरूलाई त्यस स्थितिको आलोचना गर्न तथा त्यसलाई बदल्ने दिशामा लिएर आएको थियो ।

यसैगरी उत्पीडितहरूलाई (जुन तबसम्म संघर्षप्रति प्रतिबद्ध हुदैँनन्, जबसम्म त्यसलाई आफैँ उचित र आवश्यक मान्दैनन्, र यस्तो प्रतिबद्धताको अभावमा संघर्षको लागि आवश्यक परिस्थिति नै बन्न दिदैँनन् ) यस दृढ विश्वाससम्म वस्तु (अब्जेक्ट्स) हरूको रूपमा होइन, कर्ताहरू (सब्जेक्ट्स) को रूपमा पुग्नुपर्दछ । तिनका लागि के पनि आवश्यक हुन्छ भने उनीहरू त्यस परिस्थितिमा, जसले उनीहरूलाई घेरिरहेको हुन्छ र उनीहरूमाथि छाप छोडेको हुन्छ, आलोचनात्मक हस्तक्षेप गरून् । यो काम प्रचारबाट हुन सक्दैन । संघर्षको आवश्यकतामा दृढ विश्वास (जसको बिना संघर्ष सम्भव छैन) क्रान्तिकारी नेतृत्वको लागि आवश्यक छ । त्यो अनावश्यक त्यतिबेला हुनसक्छ, जब कुनै व्यक्ति सामाजिक रुपान्तरण उत्पीडितहरूको साथमा होइन, उत्पीडितहरूका लागि गर्न चाहन्छ । तर मेरो के विश्वास छ भने उत्पीडितहरूको साथमा गरिने रुपान्तरण नै सही हुन्छ ।१६

यी कुराहरूलाई भन्नुको उद्देश्य क्रान्तिको चरित्र प्रमुख रूपबाट शिक्षाशास्त्रीय हुन्छ भन्ने कुरालाई स्पष्ट पार्नु हो । प्रत्येक युगका क्रान्तिकारी नेताहरूले भनेका छन् – उत्पीडितहरूले उनीहरूलाई आफ्नो मुक्तिको लागि संघर्षको आवश्यकता हुन्छ भन्ने कुरा स्वीकार्नुपर्दछ । यो एक थाहा भएको कुरा हो तर यसमा के अन्तर्निहित छ भने यस्तो कुरा उत्पीडितहरूको शिक्षाको माध्यमबाट नै हुनसक्छ । त्यसकारण क्रान्तिकारी नेताहरूको यस कुरामा यो संघर्षको शिक्षाशास्त्रीय पक्षको पहिचान अन्तर्निहित हुन्छ । तर उनीहरूमध्ये थुप्रै नेताहरू (सम्भवतः शिक्षाशास्त्रको विरुद्ध  स्वाभाविक र बुझ्न लायक पूर्वाग्रहहरूको कारण) उत्पीडकहरूद्वारा अपनाइने शैक्षिक तरीकाहरूको प्रयोग गर्ने गल्ती गर्छन् । उनीहरू मुक्तिको प्रक्रियामा शिक्षाशास्त्रीय कर्मलाई नकार्दछन् र यसको ठाँउमा मान्छेहरूलाई सम्झाउने–बुझाउने प्रचारको प्रयोग गर्दछन् ।

उत्पीडितहरूले यही कुरा अवश्य बुझ्नु पर्दछ कि जब उनीहरू मानवीकरणका लागि संघर्ष गर्न स्वीकार गर्दछन्, तब त्यसै क्षणबाट उनीहरू त्यो संघर्षका लागि आफ्नो जिम्मेवारी पनि स्वीकार गर्दछन् । उनीहरूले यो अवश्य बुझ्नु पर्दछ कि उनीहरू केवल भोकबाट मुक्ति पाउनका लागि लडिरहेका छैनन्, बरु फ्रोमको पुस्तक ‘दि हार्ट अफ मेन’ को अनुसार भनियो भने :

सिर्जना र निर्माणको स्वतन्त्रताको लागि, चकित हुने र साहस गर्ने स्वतन्त्रताको लागि । यस्तो स्वतन्त्रताको लागि मानिस सक्रिय र जिम्मेवार हुन आवश्यक छ, न कि दास या मेसिनको पुर्जा । मानिस दास छैन भन्ने कुरा पर्याप्त छैन, यदि सामाजिक परिस्थितिहरूले उनीहरूलाई स्वचालित यन्त्र बनाइराख्छन् भने यसको परिणाम जीवन–प्रेम होइन, मृत्यु–प्रेम हुनेछ ।

उत्पीडितहरू मृत्युको पुष्टि गर्ने उत्पीडनको वातावरणमा ढलेका छन्, उनीहरूले आफ्नो संघर्षद्वारा जीवनको पुष्टि गर्ने मानवीकरणतर्फ लिएर जाने मार्ग खोज्नु पर्दछ । यो उनीहरूलाई खानको लागि बढी मिलोस् भन्ने कुराबाट मात्र हुनेछैन (यद्यपि यसमा उनीहरूलाई खानका लागि धेरै मिलोस् र उनीहरूको संघर्षले यसलाई नजरअन्दाज गर्न सक्दैन भन्ने कुरा पनि सामेल छ) । उत्पीडितहरूको सर्वनाशको कारण नै के हो भने उनीहरूको स्थितिले उनीहरूलाई वस्तुहरूमा बदलिदिएको छ । आफ्नो मानवीयतालाई पुनः प्राप्त गर्नका लागि उनीहरू वस्तु बनिरहने होइन, बरु मानिसको जसरी लड्नु आवश्यक छ । यो एक आमूल परिवर्तनवादी आवश्यकता हो । उनीहरू वस्तुहरूको रूपमा आफ्नो संघर्ष सुरु गर्न सक्दैनन् र मानिस पछि बन्ने कुरा सोच्छन्।

संघर्ष तब सुरु हुन्छ, जब मानिसले उनीहरूलाई नष्ट गरिएको छ भन्ने कुरा बुझ्न थाल्छन् । प्रचार, प्रबन्धन र चालबाजी त प्रभुत्वका हतियारहरू हुन । यो उनीहरूको पुर्नमानवीकरणको औजार बन्न सक्दैन । यसको एकमात्र प्रभावकारी हतियार हो – मानिस बनाउने शिक्षाशास्त्र, जसको माध्यमबाट क्रान्तिकारी नेतृत्वले उत्पीडितहरूसँग संवादको एक स्थायी सम्बन्ध बनाउँदछ । मानवीकरण गर्ने शिक्षाशास्त्रमा शिक्षाको पद्धति यस्तो औजार रहदैँन, जसबाट शिक्षक (यहाँ क्रान्तिकारी नेतृत्व) विद्यार्थीहरू (उत्पीडितहरू)का साथ कुनै चालबाजी गर्न सकून्, किनभने यसको पद्धतिले स्वयं विद्यार्थीहरूको चेतनालाई व्यक्त गर्दछ :

पद्धति वास्तवमा कर्महरूमा व्यक्त हुने चेतनाको बाह्य रूप हो, जसले चेतनाको आधारभूत तत्व संकल्पशीलताको गुणलाई ग्रहण गर्दछ । चेतनाको सार हो – संसारको खुलासा, जुन एउटा स्थायी र अपरिहार्य व्यवहार हो ।  त्यहीअनुसार चेतना सारतः कुनै यस्तो चीज ‘तर्फको बाटो’ हो, जुन यसबाट अलग, यस बाहिर तथा यसलाई घेरेर बस्ने चीज हो, जसलाई यसले आफ्नो विचारोत्तेजक क्षमता ठान्दछ । यसप्रकार यसलाई शब्दको अत्यन्त सामान्य अर्थमा परिभाषित गरियो भने, चेतना एक पद्धति हो ।

त्यसकारण क्रान्तिकारी नेतृत्वको लागि उनीहरूले सह–संकल्पशील शिक्षाको व्यवहार गर्नु आवश्यक छ । यसमा शिक्षक र विद्यार्थी (जनता र नेतृत्व) दुबै यथार्थप्रति संकल्पशील हुन्छन् । दुवै कर्ता हुन्छन् । दुवै मिलेर केवल त्यो यथार्थलाई अनावरण गर्दैनन् र यसप्रकार आलोचनात्मक ढंगले त्यसको ज्ञान प्राप्त गर्दैनन्, बरु त्यो ज्ञानको पुर्नसिर्जनामा पनि दुवै सह–संकल्पशील कर्ता हुने गर्दछन् । साझा चिन्तन र कर्मको माध्यमबाट उनीहरू जति यो ज्ञान प्राप्त गर्दछन्, त्यति नै उनीहरू यसको पुर्नसर्जक भएको पनि पाउँछन् । यस रूपमा आफ्नो मुक्तिको संघर्षमा उत्पीडितहरूको उपस्थिति त्यस्तै नै हुन्छ, जस्तो हुनुपर्दछ : छद्म सहभागितयुक्त, बरु प्रतिबद्ध संलग्नतायुक्त ।

सन्दर्भ र टिप्पणीहरू

१. मूल्याश्रित दृष्टिकोणमा नैतिक, सौन्दर्यात्मक र धार्मिक गरी तीनै दृष्टिकोण सामेल हुन्छन् ।

२. विद्रोहको समसामयिक आन्दोलनहरूमा विशेष रूपबाट युवा विद्रोहाको आन्दोलनहरूमा यद्यपि आफ्नोआफ्नो क्षेत्रको स्थानीय विशेषताहरू अवश्य प्रतिबिम्बित हुन्छन्, तथापि सारतः उनीहरूको मुख्य सरोकार मानिस र ती मानिस हुन्छन्, जो विश्वमा र विश्वको साथ अस्तित्ववान छन् । यस सरोकारको अर्थ हो ः मानिसको अर्थ के हो र कस्तो हो । यो आन्दोलन उपभोक्ता सभ्यातालाई दोषपूर्ण मान्दछ, यसकारण हरतरहको नोकरशाहीको भत्र्सना गर्दछ, विश्वविद्यालयहरूको रुपान्तरणको माग गर्दछ ( जसमा शिक्षक विद्यार्थी सम्बन्धको रुढ प्रकृतिलाई बदल्ने र यस सम्बन्धलाई यथार्थको सन्दर्भमा राख्ने माग हुन्छ) यथार्थको नै रुपान्तरणको प्रस्ताव गर्दछन्, ता कि मानिसहरूको अभिपुष्टि निर्णय गर्ने वालाको रूपमा हुन सकोस् । यी सबै आन्दोलनहरूमा हाम्रो युगको शैली झल्किन्छ, जुन मानवकेन्द्रित कम र मानवशास्त्रीय युग बढी छ ।

३. अन्तर्विरोध शब्दको प्रयोग परस्पर विरोधी सामाजिक शक्तिहरूको द्वन्द्वात्मक संघर्षको अर्थमा गरिएको छ ।

४. स्वतन्त्रताको भय उत्पीडकहरूमा पनि पाइन्छ, यद्यपि जाहेर छ, त्यसको रूप भिन्न हुन्छ । उत्पीडित स्वतन्त्रतालाई अँगालो हाल्न डराउँछन्, जबकि त्यसबाट यसकारणले डराउँछन् कि यसबाट उनीहरूको उत्पीडन गर्न पाउने स्वतन्त्रता खोसिन्छ ।

५. मालिकको चेतना र उत्पीडितहरूको चेतनाको द्वन्द्वात्मक सम्बन्धको विश्लेषण गर्दै हेगेलले यस पुस्तकमा भनेका छन् : “एक स्वाधीन छ, र त्यसको सारभूत प्रकृति स्वार्थी हो, अर्को पराधीन छ र उसको सार यो हो कि जीवन र अस्तित्व अरुको लागि हुन्छ । पहिलो मालिक वा प्रभु हुन्छ भने दोश्रो दास ।”

६. “मुक्तिदायी कर्ममा बोध र संकल्पको एक क्षण अवश्य आउँदछ, । यो कार्य त्यस क्षण भन्दा पहिले पनि गरिन्छ र पछि पनि । पहिले त्यो त्यस कामको लागि भूमिका बनाउँदछ, पछि त्यसलाई पुरा गरेर इतिहास भित्र जारी राख्दछ । तर जरुरी छैन कि प्रभुत्वको काममा पनि यो आयाम कायम रहोस, किनकि प्रभुत्वको संरचना आफ्नै यान्त्रिक र असचेत क्रियाशीलताको माध्यमबाट स्वयंलाई बनाइ राख्दछ ।” जोसे लुई फियोरीको एक अप्रकाशित कृतिबाट, जसले कृपापूर्वक स्वयंलाई उद्धृत गर्ने अनुमति दिएका छन् ।

७. “यो भौतिकवादी सिद्धान्त कि मानिस परिस्थितिहरू र पालनपोषणको देन हुन्छन् र यसकारण बदलिएका मानिसहरू भिन्न परिस्थितिहरू तथा भिन्न पालनपोषणको देन हुन्छन्, यो कुरा बिर्सिन्छन कि मानिसहरू नै परिस्थितिहरूलाई बदल्दछन्  र शिक्षकको लागि स्वयं शिक्षकलाई पनि शिक्षित हुन जरुरी छ ।” कार्ल माक्र्स र फ्रेडरिक एंगेल्सको चुनिएका रचनाहरू ।

८. माओको साँस्कृतिक क्रान्तिको आधारभूत पक्ष यही हो ।

९. यस कठोरतालाई ती नियन्त्रणहरू भन्दा भिन्न सम्झिनु पर्दछ, जुन यसकारले लगाउन जरुरी पर्दछ कि भूतपूर्व उत्पीडक पुरानो उत्पीडनकारी व्यवस्थालाई फेरि कतै कायम गर्न नसकून् । यहाँ जुन कठोरताको कुरो गरिदैँ छ, त्यसको सम्बन्ध त्यो क्रान्तिसँग हुन्छ, जुन अवरुद्ध भएर सड्न थाल्दछ, र पुरानो दमनकारी नोकरशाही राज्यतन्त्रको प्रयोग गर्दै जनविरोधी बन्न जान्छन् (जबकि यस प्रणालीलाई, जस्तो कि माक्र्सले धेरैपटक जोड दिएर भनेका छन्, बलपूर्वक दबाउनुपर्दछ ।)

१०. सामाजिक नियन्त्रणको प्रबल रूपहरूको विषयमा हेर्नुहोस हर्बट माक्र्युजको पुस्तकहरू : ‘वान डाइमेन्सन मेन’ र ‘ईरोस एन्ड सिभिलाइजेसन’ ।

११. लेखकसँग बातचीत गर्दै एक किसानको शब्द ।

१२. लेखकसँग कुरा गर्दै एक किसानको शब्द ।

१३. एक कुराकानीमा एक किसानले भने : “किसानको मनमा मालिकको डर जन्मबाटै बसिरहन्छ ।”

१४. एक किसानसँगको बातचित ।

१५. जाहेर छ, यस्तो सम्वाद खुलेआम चल्नुहुँदैन, किनकि यस्तो गर्दा यही हुन्छ कि उत्पीडकहरूको रिस भड्किनेछ र उनीहरू उत्पीडितहरूलाई पहिले भन्दा बढी दमन गर्नेछन् ।

१६. यी कुराहरूको चर्चा चौथो अध्यायमा गरिनेछ ।

१७. अल्वारो वायीरा पिन्टो द्वारा लेखिइरहेको विज्ञानको दर्शनसँग सम्बन्धित पुस्तकबाट उद्धृत । यो उद्धरणलाई म समस्या उठाउने शिक्षाशास्त्रलाई बुझ्ने दृष्टिकोणबाट निकै महत्वपूर्ण मान्दछु र प्रो. पिन्टोलाई धन्यवाद दिन चाहन्छु कि उनले पुस्तकको प्रकाशनभन्दा पहिले नै मलाई यसको अंश उद्धृत गर्ने अनुमति प्रदान गरे ।



6 responses to “उत्पीडितहरूको शिक्षाशास्त्र -१”

  1. I got the idea of the picture. However, it was not my experience with being a student or being a teacher. Maybe 🤔 teaching has changed that much?

    Liked by 1 person

  2. “The duty of man….” Unfortunately, few men alive today care to fulfill obligation or duty unless doing so serves their selfish purposes. A timely read.

    Liked by 2 people

    1. thank you so much for your good comment, sir !

      Liked by 1 person

  3. एतिहासिक सहयोग हो यो।

    Liked by 1 person

    1. धन्यवाद ! धेरै-धेरै !!

      Like

Leave a comment

About Me

I am a student of philosophy and nature. I thoroughly research all subjects and summarize them in Nepali and English. I am Secretary of Marxism Study-Research Academy, Nepal. I am a Social Worker. Education – i) Master of Arts Degree in Political Science – TU, ii) Master of Public Administration Degree – TU, iii) Master of Arts Degree in History-TU, iv) Master of Arts Degree in Nepalese History Culture and Archaeology-TU.

म अध्ययन-अनुसन्धान कार्यमा निस्वार्थ भावले निरन्तर लागेको एक वाम विचारधारायुक्त सामाजिक कार्यकर्ता हुँ। मेरो कुनै पनि राजनीतिक दलसँग संलग्नता नरहेको जानकारी गराउँदछु। मेरा हरेक अध्ययन-अनुसन्धान कार्य शोषण, दमन, अन्याय, अत्याचारका विरुद्ध हुनेछन् । आम श्रमजीवी, भोका-नांगा, गरीब, उत्पीडित जनसमुदायहरूलाई सुशिक्षित गर्ने प्रयत्न मेरो कर्तव्य हुनजान्छ । मेरा सबै कार्य जनहितका लागि हुनेछन् भन्ने आशा तथा विश्वासपूर्वक मैले निरन्तर कार्य अगाडि बढाइरहेको हुनेछु। श्रमप्रति सम्मान र शोषणप्रति घृणा नै मेरा कार्यका उद्देश्य हुनेछन्।  

यहाँ तपाईंहरू सबै प्रकारका सामग्रीहरू अध्ययन गर्न र हेर्न पाउनुहुनेछ । अध्ययन गर्नको लागि रूचियुक्त सामग्रीहरू माग गर्नुभयो भने यथासंभव परिपूर्तिसमेत गरिनेछ । यहाँ लेखरचना, पत्रपत्रिका, म्यागजिन,  जर्नल, विभिन्न पुस्तकहरू (नेपाली, अंग्रेजी र हिन्दी भाषामा), डकुमेन्ट्री, फिल्म, आदि सामग्रीहरू खोजेर पढ्न तथा हेर्न सक्नुहुन्छ।

I am a leftist social worker who is selflessly engaged in research work. I inform you that I am not affiliated with any political party. Every study-research work of mine will be against exploitation, oppression, injustice and tyranny. It is my duty to try to educate the common workers, the hungry, the poor, the oppressed masses. I will continue my work with the hope and confidence that all my work will be for public interest. Respect for labor and hatred for exploitation will be the objectives of my work.

Here you will find all kinds of content to study and watch. If you demand for interesting materials to study, they will be provided as much as possible. Here you can search and read articles, newspapers, magazines, journals, various books (in Nepali, English and Hindi languages), documentaries, films, etc.

श्रमको सम्मान गर्नुभएकोमा धन्यवाद ।

Thank you for respecting the labor.

Newsletter

Marxism-मार्क्सवाद

Communist history

Philosophy-दर्शन

लेनिन-LeninLeninism

दस्तावेज-documents

धर्म-दर्शन

त्रिपिटक–बुद्ध

गीता सार

Politics–राजनीति

ग्रन्थ परिचय

Mao-Maoism

साहित्य- literature

जीवनी-biography

साम्यवाद-communism

युवाबारे-On Youth

कार्ल मार्क्स–Karl Marx

फ्रेडरिक एंगेल्स–F. Engels

भी.आइ.लेनिन–V.I.Lenin

जे. भी. स्टालिन – J.V. Stalin

माओत्सेतुङ – Maotsetung

डिजिटल पुस्तकालय (digital library)

ई-पुस्तकालय -e-library

विज्ञान-प्रविधि (Science-Technology)

सामान्य ज्ञान (GK)

Documentaries and YouTube channels

पुस्तकालय – LIBRARY

नेपाली डिजिटल पुस्तकहरू (Nepali Digital Books)

नेपाली न्यूजपेपर, म्यागजिन र अनलाइन पत्रपत्रिकाहरू (Nepali Newspapers, Online and Nepali Magazines)

English Digital Books : Part – 1 (world communist special books)

English Digital Books : Part – 2

English Digital Books : Part – 3

हिन्दी डिजिटल पुस्तक (Hindi digital Books) भाग – १

हिन्दी डिजिटल पुस्तक (Hindi digital Books) भाग – २

हिन्दी डिजिटल पुस्तक (Hindi digital Books) भाग – ३

हिन्दी डिजिटल पुस्तक (Hindi digital Books) भाग – ४

हिन्दी डिजिटल पुस्तक (Hindi digital Books) भाग – ५

Documentaries and YouTube channels

Uncategorized

ENGLISH SECTION

Design a site like this with WordPress.com
Get started