विश्व इतिहास : एशिया – भारतको इतिहास – एक अध्ययन

भारतको इतिहास धेरै जटिल, चारैतिर जेलिएको र समृद्ध रहेको छ। यहाँको इतिहासले जीवन र घटनाक्रमका सबै पक्षहरूलाई समेटेर अगाडि बढेको छ। यसको इतिहासबाट ज्ञान, संघर्ष, अनुभव र गौरवगाथा देख्न सकिन्छ। सिन्धु घाँटी सभ्यतादेखि लिएर भारतको इतिहास स्वर्ण युग, विदेशी आक्रमण, औपनिवेशिक दासता र स्वतन्त्रता हुँदै अहिलेसम्म विकास भएको छ। भारतको इतिहासमा विविधता देखिन्छ। यो देशको इतिहास धेरैतिर लुकेर रहेको पाइन्छ। भारतको इतिहासको सबभन्दा बढी वर्णन प्राचीन ऐतिहासिक र धार्मिक ग्रन्थहरूमा पाइन्छ। यहाँको सभ्यता र संस्कृति धेरै व्यापक रूपमा फैलिएको देखिन्छ। धर्म, दर्शन, संस्कृति र धार्मिक व्यवहारबाट यो देशको इतिहास वा ऐतिहासिक घटनाक्रम विकसित भएको छ। भारतलाई प्राचीनकालमा आर्यव्रत, जम्बूद्वीप, भारतवर्ष, आदि नामले पनि चिन्ने गरिन्थ्यो। भारतको मध्यकालीन इतिहासलाई गौरवपूर्ण मानिंदैन। यस कालमा विदेशी शासकहरूले देशमा बारम्बार आक्रमण गरेर भारतलाई तहसनहस बनाएका थिए। यस कालमा भारतका विभिन्न भागहरूमा स्वतन्त्र राज्यहरूले शासन  गरेका थिए। यही कालबाट बाहिरी देशसँग सम्पर्क स्थापित भएको थियो। तर यो कालमा विदेशी शासकले भारतमा सम्पत्ति आर्जन गर्नको लागि अनेक प्रयास गरे। जसको कारणले देशलाई विभिन्न ढंगले नोक्सान पुगेको थियो। मध्यकालीन इतिहासमा विभिन्न धर्म र सम्प्रदायको साथै विविधताको विकास भयो। यसपछि यहाँ मिश्रित संस्कृति निर्माण भयो। आधुनिक युगमा भारतले आफूलाई औपनिवेशिक दासतामा जकडिएको पायो। पोर्चुगिज, फ्रेन्च, डच र अंग्रेजहरू व्यापारको सिलसिलामा यहाँ आए र पछि अंग्रेजले आफ्नो उपनिवेश बनायो। देश औपनिवेशिक जंजिरले बाँधिएपछि यहाँका अनेकौं देशभक्तहरूले विभिन्न संगठन र कार्यक्रमहरूमार्फत् दृढ साहस र संकल्पपूर्वक स्वतन्त्रता आन्दोलन गरे र बीसौं शताब्दीको मध्यमा आएर भारत स्वतन्त्र भयो।

भारतको पूर्व ऐतिहासिक काल ढुंगे युगको ५ लाख वर्षदेखि २ लाखवर्ष पहिले शुरू भएको थियो। तामिलनाडूमा भर्खरै भएका खोजहरूबाट यस क्षेत्रमा सबभन्दा पहिलेका मानवको उपस्थितिको जानकारी मिलेको छ। देशको उत्तरपश्चिमी भागबाट २ लाख वर्ष पहिलेका मानवले बनाएका हतियारहरूको पनि खोज गरिएको छ। यसबेला यहाँका मानिस केवल खाना संकलन गर्दथे। पछि आगोको खोज र चक्काको खोज गरे। भारतको इतिहास हजारौं वर्ष पहिले होमो सेपियन्ससँगै विकास भएको  कुरा ऐतिहासिक तथ्यबाट पुष्टि हुन्छ। यहाँको इतिहासलाई ७५००० वर्ष भन्दा पुरानो मानिन्छ। यसको प्रमाण यहाँ होमो सेपियन्सका विभिन्न क्रियाकलापहरू संचालित भएको तथ्यबाट प्राप्त हुन्छ। ई.पू. ६५०० सम्म यहाँका मानिसहरूले खेती गर्न शुरू गरिसकेका थिए। ई.पू. ५५०० सम्म मानिसहरूले माटाका भाडाहरू बनाउन शुरू गरेका थिए। लगभग ई.पू. २६०० सम्ममा भारतमा एक समृद्ध कृषक समाज निर्माण भइसकेको थियो। भारतको इतिहासमा पूर्वीय धर्म र दर्शनको धेरै ठूलो प्रभाव देखिन्छ। यहाँको समाजलाई सांख्य, योग, न्याय, वैशेषिक, वेदान्त, मीमांसा, बौद्ध, जैन र लोकायत दर्शनले व्यापक प्रभाव पारेको देखिन्छ। वैदिक आर्यहरूको समाजमा पुराण, उपनिषद, रामायण, माहाभारत जस्ता अन्य महाकाव्यात्मक कृतिहरूले समाजको बनोटमा भूमिका खेलेको देखिन्छ।

भारतीय सभ्यता सबभन्दा पहिले सिन्धु घाँटीबाट उत्पन्न भएको थियो। यो सभ्यता पश्चिम भारतदेखि अहिलेको पाकिस्तानसम्म फैलिएको थियो। सिन्धु घाँटीको उत्खनन्बाट सिन्धु सभ्यता मोहनजोदडो, कालीबंगा, लोथल, राखिगढी धोलावीरा र हडप्पा यो सभ्यताका मुख्य केन्द्र थिए भन्ने कुरा अनुमान लगाएको छ। मानिसहरू अफ्रिकाबाट दक्षिण भारत हुँदै बलुचिस्तान आए । त्यसपछि सिन्धु घाँटी पुगेर अत्यन्तै सुसंस्कृत वस्ती बसाउनुको साथै शहरीकरणको समेत विकास गरे। यसपछि सिन्धु घाँटी सभ्यताको विकास भयो। करिब पाँच हजार वर्ष पहिले सिन्धु घाँटी सभ्यताका वासिन्दाहरूले कृषि र व्यापारमा आधारित एक शहरी संस्कृति विकसित गरेका थिए।  यसरी भारतीय इतिहास सिन्धु घाँटीको रहस्यमय संस्कृतिबाट शुरू भएर दक्षिणी इलाकाका किसान समुदायसम्म फैलियो। सिन्धु घाँटीको सभ्यता ई.पू. २५०० देखि ई.पू. १५०० सम्म मानिन्छ। सिन्धु नदीको नामबाट यो सभ्यताको नाम रहनगएको हो । यो सभ्यताका मानिसहरूले प्राकृतिक स्रोतसाधनहरूको पूजा गर्दथे। भारतमा काँस्य युगको शुरूवात सिन्धु घाँटी सभ्यतासँगै शुरू भएको थियो। किसानहरूले काँसका औजारहरूको प्रयोग गर्दथे। उनीहरू केराउ, गहुँ, जौं जस्ता वाली उब्जाउथे। उनीहरू भैसी, गाइ, बाख्रा, भेडा, आदि पालन गर्थे। भैंसीको उपयोग गाडी तान्नको लागि गरिन्थ्यो। प्राचीन भारतको ऐतिहासिक हिस्सा हुनुको अतिरिक्त यो सभ्यता मेसोपोटामिया र प्राचीन मिश्रसँगसँगै विश्वका शुरूवाती सभ्यताहरूमध्येमा एक थियो। यो युगका मानिसहरूले धातुविज्ञान र हस्तशिल्पकारितामा नयाँ प्रविधिको विकास गरे र तामा, पितल, सिसा र टीनको उत्पादन गरेका थिए। मानिसहरू कपास कात्ने गर्थे र व्यापार व्यवसाय पनि गर्थे। माटाका विभिन्न मूर्ति तथा भाँडाकुँडा बनाउने गर्थे।  सिन्धु घाँटीका केही मानिसहरूले शहरहरूको निर्माण गरेर त्यहाँ बस्न लागे। यी शहरहरूमा सबभन्दा ठूला र सुसंस्कृत शहर मोहनजोदडो र हडप्पा थिए। मोहनजोदडोको जनसंख्या करिब ३५ देखि ५० हजारसम्म थियो। प्राचीन विश्वमा यसलाई धेरै ठूलो शहर मानिन्छ। यो शहरलाई दुई भागमा विभाजन गरिएको थियो। यसमा सार्वजनिक रूपमा नुहाउने ठाउँ, गढ, र सभा कक्षहरू  तथा अन्न भण्डारहरू बनाइएका थिए। शहरको तल्लो भागमा आकर्षण सडकहरू बनाइएका थिए। यहाँ घरहरू ३ वा ३ चरणमा एकै आकारका ईंटाले बनाइएका थिए। सिन्धु सभ्यतामा एक मानक आकार, वजन तथा मापन विधि बनाइएको थियो। यहाँ चौडा सडकहरूमा नालीहरू बनाइएका थिए।

सिन्धु घाँटीको सभ्यतामा जीवन स्पष्ट रूपमा धेरै सभ्य र व्यवस्थित थियो। यहाँका अधिकांश मानिस शहर बाहिरका किसान थिए। यो सभ्यतामा लेखन प्रणालीको एक रूप बनाइएको थियो तर यसलाई राम्रोसँग बुझ्न सकिएको छैन। जसको कारणले गर्दा यहाँको अन्य सामाजिक प्रणालीको बारेमा धेरै ज्ञान हुनसकेको छैन। यहाँ कैयौं उत्कीर्ण गरिएका माटाका तथा अन्य धातुका मूर्तिहरू पाइएका छन्। यो सभ्यता अन्तर्गतका मोहनजोदाडो र हडप्पामा गरिएको उत्खननबाट घरेलु सामान, युद्धका हतियार, सुन-चाँदीका आभुषण, मोहर, खेलौना र विभिन्न प्रकारका भाँडाकुँडा पाइएका छन्।  यहाँको सभ्यता ई.पू. २३०० देखि १७०० मा चरम विकासको स्थितिमा रहेको देखिन्छ। सिन्धु घाँटीको सभ्यतालाई व्यापारको केन्द्रको रूपमा जानिन्छ।  ई.पू. १७०० पछि यो विस्तारै पतन हुँदै गएको पाइन्छ। यसको पतन कसरी भयो भन्ने सम्बन्धमा एउटै स्पष्ट कारण पाइँदैन। जलवायु परिवर्तनको कारणले यहाँको क्षेत्र चीसो वा सुख्खा भएको हुनुपर्दछ। नदीहरूले आफ्नो बाटो परिवर्तन गर्दा पनि यस क्षेत्रमा भयंकर बाडी जस्ता प्रकोपहरू भएको अनुमान लगाइएको पाइन्छ। त्यतिबेला धेरै वर्षा वा नदीमार्ग परिवर्तनले खेतीमा गम्भीर असर पारेको हुनसक्छ। यहाँको सभ्यता पूरै कृषिमा आधारित भएकोले मानिहरू अन्यत्र उपयुक्त ठाउँमा सर्दै गएको हुनसक्छ। समाज कम समृद्ध हुँदै गएपछि जीवन सरल तरीकातिर फर्कियो र सिन्धु घाँटी सभ्यता लोप भयो ।

भारतको प्रारम्भिक ऐतिहासिक काल वैदिक काल (ई.पू. १५००-६००) बाट शुरू हुन्छ। यसमा ई.पू. १५०० देखि १००० को काललाई पूर्ववैदिक वा ऋग्वैदिक काल र ई.पू. १००० देखि ६०० सम्मलाई उत्तरवैदिक काल भनिन्छ। सिन्धु घाँटीको सभ्यताको अन्त्यपछि भारतमा एक नयाँ ऐतिहासिक क्रम शुरू भयो। यसपछि यहाँ मध्य एशियाबाट आर्यहरू आउन थाले। उनीहरू लगभग ई.पू. १५०० मा पूर्व-उत्तरबाट अफगानिस्तान हुँदै आउन थालेका थिए। आर्यहरू अर्धघुमन्ते जाति थिए। एकठाउँमा नबसेर विभिन्न ठाउँमा घुम्ने गर्थे। उनीहरूसँग दुई पाङ्ग्रायुक्त रथ थिए । समयक्रमसँगै आर्यहरू भारतमै बस्न थाले र कृषि कार्य शुरू गर्नथाले। उनीहरू मध्य गंगा घाँटी र सरस्वती नदीको तटीय क्षेत्रमा बसे र पूर्ववर्ती संस्कृतिलाई अपनाए। यी क्षेत्र अहिलेको भारतको पंजाव र हरियाणामा पर्दछन्। ऋग्वैदिक सभ्यता मुख्यतः ग्रामीण सभ्यता थियो। उनीहरूले उत्तर तथा मध्य भारतमा एक विकसित सभ्यताको निर्माण गरे। प्राचीन समयमा आर्य शब्दको प्रयोग जातिको लागि नभएर भाषाको लागि प्रयोग भएको पाइन्छ। विस्तारै उनीहरूले फलामको उपयोग गर्न पनि सिके। त्यसपछि धेरै व्यवस्थित र अनुशासासित समाजको विकास भयो।  उनीहरूले आफूसँगै बलियो सांस्कृतिक परम्परा पनि लिएर आएका थिए। संस्कृत भाषा उनीहरूले बोल्ने सबभन्दा प्राचीन भाषाहरूमध्ये एक थियो र वेदहरूलाई लेख्नमा पनि यो भाषाकै उपयोग भयो।  वेदहरू (ऋग्वेद, यजुर्वेद, सामवेद र अर्थववेद) लाई प्राचीनतम् ग्रन्थ मानिन्छ। वेदलाई मेसोपोटामिया र मिश्रका ग्रन्थहरूभन्दा पनि पुरानो ग्रन्थ मानिन्छ। वैदिक कालमा नै प्रारम्भिक भारतीय समाजमा हिन्दु धर्म र अन्य सांस्कृतिक आयामहरूको जग बन्यो। आर्यहरूले सम्पूर्ण उत्तर भारतमा विशेषगरी गंगा नदीका मैदानी इलाकाहरूमा वैदिक सभ्यताको प्रचारप्रसार गरेका थिए। शुरूमा वेदलाई मौखिक रूपमा प्रचारप्रसार गरिन्थ्यो। पछि तिनीहरूलाई लिखित रूप दिइयो। ऋग्वैदिक काल भारतको इतिहास लेखनको दृष्टिले महत्त्वपूर्ण छ किनकि यस कालमा नै धेरै धार्मिक ग्रन्थहरू लेखिएका थिए। यसको साथै भारतीय इतिहासका दार्शनिक ग्रन्थ अरण्य, ब्राम्हण ग्रन्थ र उपनिषदहरूको रचना पनि यही कालमा भएको थियो। यो कालमा युद्धको लागि रथ, घोडाको प्रयोग गरिन्थ्यो। यतिबेला प्रकृति पूजा, बलिप्रथा, दाहसंसंस्कार जस्ता संस्कृतिको विकास भइसकेको थियो। यो कालमा शिल्प, पशुपालन र कृषि मुख्य व्यवसाय थिए।  ई.पू. १०००- ६०० को बीचको भारतलाई महाकाव्यात्मक युग वा उत्तरवैदिक काल भनिन्छ।  यही युगमा वेद तथा अन्य विभिन्न धार्मिक ग्रन्थहरूको अझ व्यापक प्रचारप्रसार भयो। यही बेलामा वर्णभेद शुरू भएको पाइन्छ। यसबेला समाजलाई विभिन्न वर्गमा विभाजित गरिएको थियो। सबभन्दा माथि ब्राम्हण थिए र उनीहरू पूजाआजाको काम गर्दथे। त्यसपछि क्षेत्रीयहरू थिए र उनीहरू योद्धाको रूपमा भूमिका निभाउँथे। तेस्रोमा वैश्य थिए र उनीहरू किसान, व्यापारी तथा शिल्पकारको रूपमा काम गर्थे। अन्तिममा शुद्र पर्थे र उनीहरू कृषि मजदूर, नोकर र दासको रूपमा थिए। समयक्रमसँगै आर्यहरूले जौ, गहुँको अतिरिक्त धानको खेती गर्न शुरू गरे। ई.पू. ६०० सम्म भारतमा धान खेती धेरै फस्टाइरहेको थियो। त्यसपछि व्यवस्थित रूपमा व्यापार र वाणिज्यको विकास हुँदै गयो। शहरीकरण बढ्दै गयो र लेखन कलाको पुनःआविष्कार भयो। यसरी ई.पू. ६०० सम्म भारतमा धेरै सभ्य समाजको विकास भइसकेको थियो।

ई.पू. ६०० देखि ३२२ को बीचमा हिन्दु धर्म परिवर्तन हुनगयो। यस समयमा जाति प्रथा धेरै प्रबल भएको थियो। यही बेलामा महावीर अनि बुद्ध (ई.पू. ५६३-४८३, कपिलवस्तु, नेपाल) को आगमन भएको थियो। उनीहरूले जातिवादको विरूद्धमा विद्रोह गरेका थिए। यही समयमा भारतमा महाजनपद कालको शुरूवात भयो। यस कालमा भारतमा सिन्धु घाँटी सभ्यतापछि शहरीकरणको अर्को सबभन्दा ठूलो उदय देखियो। महा भनेको महान र जनपद भनेको कुनै जनजातिको आधार हो। वैदिक युगको अन्तमा सम्पूर्ण भारतमा कैयौं साना राजवंश र राज्यहरू हुर्किनलागेका थिए। त्यसकारण यो काललाई राज्यहरूको निर्माण काल भनिन्छ। यसको वर्णन बौद्ध र जैन साहित्यमा पनि पाइन्छ। ई.पू. ५०० सम्म १६ गणराज्यहरू वा महाजनपद स्थापित भइसकेका थिए। यिनीहरूमा पंचाल, काँसी,  मल्ला, कोसल, अंग, चेडी, मगध, वज्जि, वत्स, कुरू, मत्स्य, असाका, सुरसेन, गान्धार, कंबोजा, अवन्ति, आदि राज्यहरू थिए। मगध राज्य भने प्रमुख राज्यको रूपमा उदाएको थियो।  यसैगरी यतिबेला यहाँ अन्य गणराज्यहरूको पनि उदय भएको थियो। यसपछि भारत साना-साना राज्यहरूमा विभाजित भयो।

लगभग ई.पू. ६४० देखि ३२० सम्म भारतमा मगध साम्राज्यको शासन चलेको थियो। मगध साम्राज्यमा लगभग ई.पू. ५४४ देखि ३२२ सम्म हर्यंका राजवंश, शिशुनाग राजवंश र नंदा राजवंशले शासन गरेका थिए। हर्यंका राजवंशको शासनकालमा मगधका शासक बिंबिसार, उनका पुत्र अजातशत्रु र उदीयन राजाले शासन गरे। शिशुनागको शालनकालमा अवन्ती राज्यमा विजय प्राप्त गरिएको थियो। नंदा राजवंशका संस्थापक महापद्दालाई पहिलो साम्राज्यको निर्माताको रूपमा जानिन्थ्यो। उनैको पालामा ग्रिक शासक अलेक्जेण्डरले भारतमा आक्रमण गरेका थिए। यसपछि नंदा राजवंशका अन्तिम शासक राजा धाना नंदालाई चन्द्रगुप्त मौर्यले पराजित गरे र मगधमा मौर्य राजवंशबाट शासन शुरू भयो।

भारतीय उपमहाद्वीपको अहिले पाकिस्तान र अफगानिस्तान भएका क्षेत्रको धेरै भागमा पर्सियन अक्मेनीड साम्राज्यका डियस द ग्रेटको शासनकाल ई.पू. ५२० देखि करिब दुई शताब्दीसम्म रह्यो। ई.पू. ३२६ मा युनानका अलेक्जेण्डरले एशिया माइनर र अक्मेनिड साम्राज्यमाथि विजय प्राप्त गरे। त्यसपछि उनले भारतको उत्तर-पश्चिम सीमामा पुगेर राजा पोरस (पुरू) सँग युद्ध गरी पंजाबका धेरै इलाकालाई आफ्नो अधिनमा लिएका थिए। तर उनले सम्पूर्ण रूपमा विजय प्राप्त गर्न भने सकेनन्। ई.पू. ३१७ मा अलेक्जेण्डरको मृत्युपछि युनानीहरू पछि हटे। त्यसपछि विभिन्न भारतीय राज्यहरूले एक-अर्कोमाथि विजय प्राप्त गर्न शुरू गरे र ई.पू. ३२२ पछि पहिलो महान साम्राज्यको रूपमा मौर्य साम्राज्यको उदय भयो।

यसपछि भारतको इतिहासमा मौर्य साम्राज्य (ई.पू. ३२२-१८५) अन्तर्गत मौर्य वंशहरूको शासन रह्यो। यो साम्राज्य प्राचीन भारतको भौगोलिक रूपले व्यापक एवं राजनीतिक रूपमा तथा सैन्य मामिलामा अत्यन्तै शक्तिशाली राज्य थियो। चन्द्रगुप्त मौर्य ३२२ ई.पू.मा यो साम्राज्य अन्तर्गत सम्पूर्ण उत्तर भारतमा भारतगंगाको मैदानको विजयद्वारा शक्तिशाली र केन्द्रीकृत राज्यको राजा बनेका थिए। उनले एक महान साम्राज्यको स्थापना गरेका थिए। मौर्य साम्राज्यको विकासमा चन्द्रगुप्तका मन्त्री त्यतिबेलाका विख्यात अर्थशास्त्री तथा कुटनितिज्ञ कौटिल्यले धेरै ठूलो योगदान दिएका थिए।  चन्द्रगुप्तले भारतमा अहिलेको विहारको पाटलीपुत्र (पटना) लाई मगध राज्यको रूपमा स्थापित गरेका थिए। यो शाही केन्द्र बाहिर साम्राज्यको भौगोलिक सीमा सैन्य कमाण्डरहरूको बफादारीमा निर्भर हुन्थ्यो र उनीहरूले विभिन्न सशस्त्र संघर्षलाई नियन्त्रण गर्थे। चन्द्रगुप्तले पहिले भारत गंगाका मैदानहरूमा आफ्नो साम्राज्य फैल्याए र उनले पश्चिम उत्तरमा आफ्ना कब्जा जमाए । पछि पंजाबको पूरै प्रान्तलाई जिते।  अलेक्जेण्डरका एक अधिकारी सेल्यूकसले पूर्वीमा भागमा अधिकार जमाएका थिए। उनले अलेक्जेण्डरले कब्जा गरेका भारतीय प्रान्तलाई पुनः प्राप्त गर्ने प्रयास गरे। तर उनको सेनालाई ई.पू. ३०५ मा चन्द्रगुप्तले रोकिदिए। पछि कंधार, बलुचिस्तान, काबुल, राज्यहरूलाई मौर्य साम्राज्यमा मिलाइयो। यसको केही समयपछि सिंधुका प्रान्तहरूमा पनि मौर्य साम्राज्यले आफ्नो अधिकार जमायो र चन्द्रगुप्त मौर्यले नर्मदा नदीको उत्तरी प्रान्तमा आफ्नो आधिपत्य स्थापित गरे। मौर्य साम्राज्य अत्यन्तै समृद्ध थियो र व्यापारव्यावसाय पनि फष्टाइरहेको थियो। यसको राजधानी प्राचीन विश्वका सबभन्दा ठूला शहरहरूमध्ये एक थियो। ई.पू. २९६ मा चन्द्रगुप्तले आफ्ना छोरा बिन्दुसारलाई सिंहासनमा बसाए। त्यसपछि उनले साम्राज्यको सीमालाई थप विस्तार गरे। मौर्य साम्राज्यका सबभन्दा महान शासक अशोक (ई.पू. २६८-२३२) थिए। राजा अशोकको शासनकालमा यो राज्य धेरै उन्नत अवस्थामा थियो। अशोकको शासनकालमा साम्राज्यले दक्षिणलाई छोडेर भारतीय उपमहाद्वीपका प्रमुख शहरी केन्द्र र अधिनियमहरूलाई संक्षेपमा नियन्त्रित गरेको थियो। उनको राज्य अफगानिस्तानदेखि मणिपुरसम्म र तक्षशिलादेखि कर्नाटकसम्म फैलिएको थियो। तर उनी सम्पूर्ण दक्षिणसम्म भने जान सकेनन्।   उनको पालामा भएको भयंकर रक्तपातपूर्ण कलिंग (अहिलेको उडिसा) युद्धमा उनले विजय प्राप्त गरे। पछि उनले युद्धको कारणबाट भएको पीडाबाट भयभीत भएको घोषणा गरे भने अब कुनै पनि प्रकारको विजय नगर्ने निर्णय लिए । त्यसपछि  राजा अशोकले बुद्ध धर्म अपनाएको पाइन्छ। उनले मानिसहरूलाई बाँच्ने तरीका  सिकाउनको लागि सही आचरणमा बौद्ध सिद्धान्तहरूलाई सम्पूर्ण राज्यमा  चट्टानमा र ढुंगाका स्तम्भहरूमा उत्कीर्ण गराउने आदेश दिए। त्यसपछि अशोकले आफ्नो राज्यलाई शान्तिपूर्ण बनाउन र बलियो बनाउने काम शुरू गरे।

सम्राट अशोकको मृत्युको लगभग ५० वर्षपछि मौर्य साम्राज्य पतन भयो। यसपछि यहाँ धेरै भाइहरूले राजा बन्ने कोशिस गरे। अब यहाँ आर्थिक पतन र राजनीतिक अस्थिरता शुरू भयो। ई.पू. १८७ मा एउटा सेनापतिले  पुष्यमित्र शुंगले अन्तिम मौर्य शासक बृहदरथको हत्या गरिदिए। त्यसपछि जनरलले साम्राज्यको संचालन आफ्नो हातमा लिए। त्यसपछि शुंग साम्राज्य (इपू १८५-७३) को स्थापना भयो। शुंग राजवंशको समयमा भारतमा मध्यगंगा घाँटी एवं चंबल नदीसम्मका प्रदेश सामेल थिए भने विदिशा, अयोध्या र पाटलीपुत्र मुख्य शहर थिए। ई.पू. ७३ मा अन्तिम शुंग शासकको पनि हत्या गरियो। त्यसपछि त्यसको स्थान कण्व वंशले लियो, जसले ई.पू. ७३ देखि २८ सम्म शासन गरेको थियो।

अलेक्जेण्डरको मृत्युपछि युनानीहरूले कब्जा गरेका भारतीय क्षेत्र उनका सेनापतिहरूको बीचमा विभाजित भएको थियो। लगभग आधुनिक अफगानिस्तान रहेको क्षेत्रको बेक्ट्रियामा एक बलियो राज्य बन्ने बेलासम्म विभिन्न उत्तराधिकारीहरू लडाइँ लडिरहेका थिए। बेक्ट्रियाका युनानी शासकहरूले उत्तर-पश्चिम भारतमा कब्जा गर्ने प्रयास गरेका थिए। लगभग १८५ ई.पू. मा राजा डेमोट्रियसले भारतमा आक्रमण गरेका थिए। ई.पू. १६० मा उनका उत्तराधिकारीहरूमध्ये एक राजा मेनेन्डरले उत्तरी भारतको धेरै भागमा कब्जा गरेका थिए। तर मेनेन्डरको मृत्युपछि यो साम्राज्य अलग-अलग भागमा विभाजित भयो र भारतीय सभ्यता अब यूरोपीय प्रभाव बिना नै विकसित हुनगयो। त्यसपछि फेरि भारतले एक नयाँ आक्रमणकारीको सामना गर्नुपर्‍यो। ई.पू. १२० को आसपास मध्य एशियाका घुमन्तेहरूले बेक्ट्रिया राज्यमाथि कब्जा गरेका थिए। त्यसपछि उनीहरूले आफ्नो घुमन्ते जीवनशैली छोडेर त्यही बसे। उनीहरू पाँच जनजातिहरूमा विभाजित थिए। यिनीहरूमध्ये एक कुषाणहरूले अन्य जनजातिहरूमाथि विजय प्राप्त गरे। त्यसपछि उनीहरूले आफ्नो ध्यान उत्तरी भारततिर लगाए। विस्तारै उनीहरूले धेरै क्षेत्रमा कब्जा जमाए। एकपछि अर्को गरी राजाहरूले उत्तरी भारतमा एक विशाल साम्राज्य स्थापना गरे। यसरी कुषाण साम्राज्य राजा कनिष्क (ई.पू. ७८ – सन् ११५) को नेतृत्वमा चरम सीमामा पुगेको थियो। उनको शासनकालमा उत्तरी भारत धेरै समृद्ध थियो र फष्टाएको थियो। उनको मृत्युपछि भने साम्राज्य पतन भयो र त्यो भंग भयो। त्यसपछि फेरि भारत एकपटक साना-साना राज्यहरूमा विभाजित भयो।

 चौथो र पाँचौं  शताब्दीमा उत्तरी भारत गुप्त राजवंशको अधिनमा एकीकृत भयो। भारतमा गुप्त साम्राज्य (सन् ३२०-५२०) अत्यन्तै शक्तिशाली र समृद्ध थियो। इस्वी सन् चौथो शताब्दीको शुरूवातमा चन्द्रगुप्तले एक नयाँ साम्राज्यको स्थापना गरेका थिए।  सन् ३३५ मा उनको मृत्युपछि उनका छोरा समुन्द्रगुप्त (सन् ३३५-३७५) ले सम्पूर्ण उत्तरी भारत र मध्य भारतका अधिकांश भागमा विजय प्राप्त गरे। यो अवधिलाई भारतको इतिहासमा स्वर्ण युग भनिन्छ। यस कालमा उत्तरी भारतमा शास्त्रीय युगको शुरूवात भएको थियो। समुद्रगुप्तले यस कालमा साम्राज्यको जमेर विस्तार गरेका थिए।  यहीबेला हिन्दु संस्कृति र राजनीतिक प्रशासन नयाँ उचाइमा पुगेको थियो। यसपछि भारत एकपटक फेरि समृद्ध र स्थिर भयो। यसबेलामा भारतको चीनसँग व्यापक रूपमा व्यापार विस्तार भएको थियो। यहीबेला यहाँ विज्ञान, खगोलविज्ञान, गणित र चिकित्साशास्त्रको विकास भएको थियो। यस कालमा कला, साहित्य, धर्म, दर्शन, प्रविधि, आदि क्षेत्रमा पनि व्यापक रूपमा विकास भयो। यही समयमा महाकवि कालिदासले आफ्नो प्रसिद्धि कायम गरेका थिए। यही युगमा शाकुंतलम् र कामसूत्र जस्ता ग्रन्थहरूको रचना भएको थियो। आर्यभट्टले खगोलविज्ञानमा कार्य गरेका थिए। भक्थिपथको पनि यही समय उदय भएको थियो। गुप्त शासन मौर्य शासनभन्दा लचक थियो। सजायमा पनि कमी गरिएको थियो भने साम्राज्यका अन्य केही प्रान्तहरूलाई स्वायत्तता पनि दिइएको थियो। गुप्त साम्राज्य चन्द्रगुप्त द्वितीय (सन् ३७५-४१५) को शासनकालमा चरम सीमामा पुगेको थियो। गुप्त साम्राज्य पाटलीपुत्रबाट प्रयाग, बिहार, पूर्वी उत्तरप्रदेशसम्म फैलिएको थियो। तर चन्द्रगुप्त द्वितीयको अन्त्यपछि साम्राज्य पतन हुँदै गयो र पछि भंग भयो।

पाँचौं शताब्दीको मध्यमा एशियाका एक क्रूर र युद्धप्रेमी मानव हुणहरूले उत्तर-पश्चिम भारतमा आक्रमण गरे। सन् ४६० तिर स्कन्दगुप्त (सन् ४५४-४६७) ले हुणहरूलाई भगाइदिएका थिए। तर पाँचौं शताब्दीको अन्तमा उनीहरू पुनः आए। यसपटक उनीहरूले उत्तर-पश्चिमी भारतका अधिकांश भागमा कब्जा गरे। त्यसपछि भारतमा हूण, मौखरी, मैत्रक, पुष्यभूति एवं गौड जस्ता राजवंशहरूको शक्ति फैलिएको थियो। यिनीहरूका साना-साना राजवंशहरू आपसमा युद्ध गर्दथे, यसबाट भारतमा धेरै साना-साना राज्यहरूको निर्माण भयो। सन् ५२८ मा यशोधर्मन नामक शासकको नेतृत्वमा भारतीयहरूले हुणहरूलाई युद्धमा हराए र लखेटे।

भारतको इतिहासमा एक माहान शासकको रूपमा हर्षवर्धन (सन् ६०६-६४७) लाई मानिन्छ। उनले गुप्तहरूलाई टक्कर दिनको लागि एक साम्राज्यको स्थापना गरेका थिए। उनले भारतमा आफ्नो साम्राज्य निर्माण गर्नुको साथै चीनसँग पनि राम्रो राजनीतिक सम्बन्ध स्थापित गरेका थिए। उनले भारतको उत्तरमा थानेसर राज्यको शासकको रूपमा शुरूवात गरे। यसपछि उनले उत्तरी भारतमा एक साम्राज्य बनाए। सन् ६३० मा हर्षवर्धनले दक्षिण भारतमाथि आक्रमण गरेका थिए। तर पुलकेसिन (सन् ६१०-६४३) नामक राजाले उनलाई नराम्रोसँग हराइदिएका थिए। यतिबेलासम्म दक्षिण भारत निश्चित रूपमा उत्तरसँग बराबर थियो। यो हारपछि पनि हर्षबर्धन एक शक्तिशाली शासक बनिरहे। हर्षवर्धनकै शासनकालमा प्रसिद्ध चिनियाँ यात्री ह्वेनसाङले भारतको यात्रा गरेका थिए। बाणभट्ट हर्षबर्धनको दरवारका कवि थिए र उनले नै हर्षवर्धनको जीवनी हर्षचरितको रचना गरेका थिए। हर्षवर्धनको मृत्युपछि साम्राज्य तुरून्तै भंग भयो। अब भारत फेरि एकपटक कैयौं राज्यहरूमा विभाजित भयो। उनीहरू प्रायः एक-अर्कोसँग युद्ध गर्थे। त्यसपछि भारतमा तीन सबभन्दा महत्त्वपूर्ण राजवंशको रूपमा राजपूत, पल्लव र चालुक्यको उदय भयो। यिनीहरूले विभिन्न समयमा विभिन्न क्षेत्रमा आफ्नो राज्य विस्तार गर्दै लगे। सन् ५०५ देखि ७५० सम्मको अवधिमा चालुक्य, पल्लभ र पंड्या साम्राज्यको उदय भयो र प्रसियनहरूको भातरमा आगमन भयो।

सन् ७१२ मा मोहम्मद बिन कासिमले भारतमा पहिलो अरब आक्रमण गरेका थिए र सिंधमाथि विजय हासिल गरेका थिए। त्यसबेला सिंधमा दाहिरको शासन थियो। मोहम्बद बिन कासिमको यो आक्रमणको मुख्य कारण भारतको धनसम्पत्ति लुट्नु थियो र इस्लाम धर्मको प्रचारप्रसार गर्नु थियो। सन् ९३२ मा अलप्तगिन नामक एक तुर्क सरदारले गजनी साम्राज्यको स्थापना गरेका थिए र यसको राजधानी गजनीमा थियो। उनको मृत्यु भएपछि केही समय गजनीमा पिरीतिगीनले शासन गरे र सन् ९७७ मा सुबुक्तगीनले सत्ता सम्हालेका थिए। सन् ९८८ मा महमूद गजनीले शासन सम्हाले। यिनले भारतमाथि १७ पटकसम्म आक्रमण गरेका थिए र यी आक्रमणहरूको मुख्य उद्देश्य धनसम्पत्ति लुट्नु नै थियो।

नवौं शताब्दीमा आएर भारतमा एक नयाँ चोल साम्राज्य (नवौं देखि तेह्रौं शताब्दी) को उदय भयो। संगम साहित्यबाट प्राप्त भएको जानकारी अनुसार चोल साम्राज्यको विस्तार अहिलेको तिरूची जिल्लादेखि आन्धप्रदेशसम्म भएको थियो।  विजयलाद्वारा स्थापित चोल साम्राज्यले समुद्र नीति अपनाएको थियो। दसौं शताब्दीको अन्तमा चोल राजा राजाराज प्रथमले राज्य विस्तार गर्न शुरू गरे। उनले आफ्ना छिमेकी राज्यहरूमाथि विजय प्राप्त गरे। त्यसपछि श्रीलंका र माल्दिभ्सलाई पनि आफ्नो कब्जामा लिए। चोल साम्राज्यका अर्को राजा राजेन्द्र प्रथमले गंगा र अंडमान द्वीपसमूहसहित धेरै क्षेत्रमा कब्जा जमाएका थिए। चोल  एक समृद्ध साम्राज्य थियो। यो युगमा मन्दिर सांस्कृतिक र सामाजिक केन्द्रमा थियो र द्रविडियन भाषा फस्टाएको थियो। यहाँ कैयौं व्यापारीहरू आफ्ना हितको रक्षाको लागि संघहरूमा संगठित थिए। दक्षिणपूर्वी एशियासँग व्यापक रूपमा व्यापारको विस्तार भएको थियो। अरबहरूसँग पनि व्यापार फस्टाएको थियो। संगम सहित्यको शुरूवात दक्षिणमा यही समयमा भएको थियो। चोल साम्राज्य शक्तिशाली थियो। गुप्त जस्ता पुराना साम्राज्यहरूको तुलनामा कम केन्द्रीकृत थियो। एकपटक विजय प्राप्त गरेपछि शासकहरूलाई प्रायः सामन्त मानिने जागीरदारको रूपमा बहाल गरिन्थ्यो र उनीहरूलाई एक निश्चित मात्रामा स्वायत्तताको अनुमति दिइन्थ्यो। केही अर्थमा यो राजनीतिक व्यवस्था युरोपीय सामन्तवादसँग मिल्दोजुल्दो पनि थियो। तर कुनै सामन्तले कुनै पनि बेला विद्रोह गर्ने खतरा सँधै रहिरहन्थ्यो। यही बेला आठौं शताब्दीको मध्यबाट तेह्रौं शताब्दीको शुरूवातसम्म भारतमा उत्तरी साम्राज्यको विकास भएको थियो। यस कालमा उत्तर र दक्षिण भारतमा कैयौं शक्तिशाली साम्राज्यहरूको उदय भएको थियो।  यस बेला राष्ट्रकुट  शासक शक्तिशाली भए । त्यसपछि प्रतिहार साम्राज्यका अवंति र पलस राजवंशका शासकहरूले बंगालमा आफ्नो नियन्त्रण स्थापित गरे। यससँगै मध्य भारतमा राजपुत राजवंशहरूको उदय भइहेको थियो। यही कालमा भारतको मध्यप्रदेशको खजुराहोंको मन्दिर, पुरीको मन्दिरसहित कान्चीपरमका प्रसिद्ध मन्दिरहरूको पनि निर्माण गरिएको थियो। यसपछि भारतमा तुर्कहरूले आक्रमण गर्न शुरू गरे।

दसौं शताब्दीमा आएर तुर्कहरूहरूले अफगानिस्तानमाथि कब्जा जमाए। त्यसपछि उनीहरूका शासक महमूद (सन् ९७१-१०३०) को नेतृत्वमा तुर्कहरूले पंजावमा पनि विजय प्राप्त गरे। त्यसपछि उनीहरूले भारतका धेरै क्षेत्रमा पसेर मन्दिर लगायतका बहुमुल्य केन्द्रमा लुटपाट मच्चाए। तुर्कहरू सन् ११९१ मा विजेताको रूपमा पुनः फर्किए। यिनीहरूको नेतृत्व सुल्तान मुहम्मदले गरेका थिए। सन् ११९१ को तराइन युद्धमा उनले हारेका थिए तर फेरि अर्को वर्ष उनी फर्किए र यो पटक उनले जिते। तुर्कहरूले उत्तरी भारतको ठूलो हिस्सामा जित हासिल गरे र एक शक्तिशाली राज्य दिल्ली सल्तनत बनाए। सुल्तान कुतुबुद्धिन (सन् १२०६-१२११) र इल्तुतमिश (सन् १२११-१२३६) को नेतृत्वमा सल्तनतको विकास भएको थियो। सन् १२०६ मा दिल्लीमा कुतुबुद्दीन ऐबकले दास वंशको स्थापना गरे र १२९० सम्म शासन गरे।  इल्तुमिशको उत्तराधिकारी उनकी छोरी रजियात थिइन्। उनले ३ वर्ष शासन गरिन्। तर पछि उनलाई अपदस्थ गरियो र हत्या गरियो। अलाउद्दीन (सन १२९६-१३१६) को शासनकालमा सल्तनत आफ्नो चरम सीमामा पुगेको थियो। सन् १२९८ मा उनले गुजरातमाथि विज्य प्राप्त गरेका थिए। सन् १३०९ मा उनले दक्षिण भारतमाथि आक्रमण गरे। त्यसपछि उनले दक्षिण भारतका विभिन्न शहरहरूमा लुटपाट मच्चाउनुका साथै त्यहाँका शासकहरूलाई उनको अधिनमा जागिरदार बनाए। यही बीचमा उत्तरबाट मंगोलहरू विभिन्न राज्य कब्जा गर्दै आए। सन् १२९६-९७ मा उनीहरूले उत्तर-पश्चिमी भारतमा आक्रमण गरे । सन् १२९९ मा उनीहरू दिल्लीसम्म पुगेका थिए। सन् १३०६ मा  उनीहरू पुनः आए तर यो पटक उनीहरूलाई लखेटियो। मुहम्मद तुगलक (सन् १३२४-१३५१) ले सल्तनतलाई अझ अगाडि बढाए। उनले एक नयाँ र केन्द्रीकृत राजधानी बनाउने चाहना अनुरूप यसलाई दौलतावादमा स्थापित गरे। फेरि पछि उनले आफ्नो राजधानी दिल्लीमै ल्याए। यस कालमा गयासुद्दीन, मुहम्मद बिन तुगलक र फिरोज शाह तुगलकले शासन गरे। यो कालमा मुख्यगरी स्थापत्य र वास्तुकलाको विकास भएको थियो। १४औं शताब्दीको अन्तमा दिल्लीको सल्तनतको तीव्र रूपमा पतन शुरू भएको थियो। सन् १४९८ मा चंगेज खानका वंशज तेमूरलेंगले दिल्लीमाथि कब्जा गेर त्यहाँ नरसंहार मच्चाएका थिए। १५औं शताब्दीको शुरूवातमा स्वतन्त्र सल्तनत सामुन्ने आए र दिल्ली सल्तनत कैयौं सल्तनहरूमध्ये एक बन्यो। सुल्तान भलूल (सन् १४५१-१४८९) र सिकन्दर लोधीं (सन् १४८९-१५१७) को नेतृत्वमा दिल्लीको केही हदसम्म पुनरूद्दार भयो तर यसले आफ्नो पूर्वरूप कहिल्यै प्राप्त गर्नसकेन।

यही बीचमा दक्षिणमा विजयनगर साम्राज्यको उदय भएको थियो। यो साम्राज्यको स्थापना हरिहर र बुक्का नामका दुई दाजुभाइले गरेका थिए। के भनिन्छ भने उनीहरू मुहम्मद तुगलकका अधिकारी थिए। उनीहरूलाई दक्षिणमा विद्रोह दबाउन पठाइएको थियो। यसको सट्टा उनीहरू अलग भए र आफ्नो राज्य स्थापित गरे। सन् १३४६ मा हरिहरलाई राजा बनाइयो। हरिहरपछि उनका भाई बुक्कानी (सन् १३५७-१३७७) ले शासन गरे। विजयनगर साम्राज्य यसको राजधानीको नामबाट राखिएको थियो र यसको अर्थ विजयको शहर भन्ने थियो। विजयनगरका शासकले विस्तारै-विस्तारै बढीभन्दा बढी क्षेत्रहरूमा विजय प्राप्त गरे र १६औं शताब्दीको शुरूवातसम्म साम्राज्यलाई चरम सीमासम्म पुर्‍याएका थिए। तर सन् १५६४ मा आइपुग्दा विजयनगरले पूर्ण रूपमा हार्‍यो र मुगल साम्राज्यको उदय भयो।

भारतमा मुगल साम्राज्य (सन् १५२६-१८५८) को स्थापना चंगेज खानाका वंशज बाबर (सन् १४८३-१५३०) ले गरेका थिए। सन् १५०४ सम्म उनी अहिलेको अफगानिस्तान रहेको क्षेत्रका शासक थिए। तुर्कहरूबाट उनले तोप र बन्दुक चलाउन सिकेका थिए। उनी पहिले परम्परागत तरीकाबाट नै युद्ध गर्दथे तर बन्दुक र तोपको ज्ञानले उनलाई भारतीयहरूमाथि विजय हासिल गर्नमा सक्षम बनाएको थियो। उनले तुर्कहरूबाट घोडसवार सेनाको रणनीति पनि सिके। दुश्मनहरूमाथि सींधै आक्रमण गर्नुको साटो बाबरले घोडसवार सेनाले चारैतिर घेरेर पछाडिबाट आक्रमण गर्ने नीति लिए। सन् १५२६ मा बाबरले पानीपतको युद्धमा इब्राहिम लोधीको सेनालाई हराए। बाबरले ठेलागाडीहरूको ब्यारिकेड बनाए। तिनीहरूको पछाडि उनले आफ्ना तोप र बन्दुकधारी सेना तैनाथ गरे। अब विपक्षीले आक्रमण गर्दा बाबरका सेनाका बन्दुक तोपहरूको भयंकर सामना गर्नुपर्दथ्यो। यसपछि बाबरका घोडसवार सेनाले विपक्षीको चारैतिर घुमेर आक्रमण गरे र भारतीयहरूलाई लखेटे। सन् १५२७ मा बाबरले खानभाको युद्धमा वीर राणा साँगालाई हराएर आधा भारतमा जित हासिल गरेका थिए।  बाबरको साम्राज्यमा अहिलेको अफगानिस्तान, पाकिस्तान, भारत र बंगलादेश थिए। बाबरका उत्तराधिकारी उनका पुत्र हुमायुं (सन् १५०८-१५५६) भएका थिए। तर सन् १५३० को दशकमा शेर शाह नामक अफगानी शासकले साम्राज्यमाथि आक्रमण गरे। सन् १५४० सम्म शेर शाह बलियो भए र उनले स्वयंलाई उत्तरी भारतका अधिकांश भागको शासक बनाए। यसबेला हुमायुं निर्वासन गएर एक ठाउँबाट अर्को ठाउँमा भौतारिइरहे। सन् १५४२ मा हुमायुँका छोरा अकबरको जन्म भयो। यसपछि हुमायुँ प्रसिया गए। सन् १५४५ मा शेरशाहको मृत्यु भयो। त्यसपछि उनको साम्राज्य विभाजित भयो। त्यसपछि हुमायुंले प्रसियाको मद्दतबाट मुगल साम्राज्यलाई पुनः जित्न सफल भए। उनले सन् १५५४ मा उत्तर भारतमाथि आक्रमण गरी १५५६ सम्ममा यसमाथि कब्जा गरे। पछि सिंडीबाट झरेर उनको मृत्यु भयो।

यसपछि भारतको इतिहासमा सबभन्दा महान मुगल शासकको रूपमा परिचित हुमायुका छोरा अकबर (सन् १५५६-१६०५) राजा भए। उनले सन् १५७४ मा गुजरात, १५७६ मा बंगाल, १५८६ मा कश्मीर, १५९२ मा उडिसा र १५९५ मा बलुचिस्तानमाथि कब्जा जमाए।  अकबरले सरकारको पुनर्गठन पनि गरे र एक कुशल नागरिक सेवा पनि निर्माण गरे। अकबर मुसलमान भए पनि धर्मको मामिलामा उनी सहिष्णु थिए। उनले विगतका शासकहरूद्वारा गैर-मुसलमानहरूमाथि लगाइएका करहरूलाई समाप्त पारे। उनले हिन्दुहरूलाई पनि उच्च पदमा बसाए। अकबरले प्रसियन संस्कृतिको प्रशंसा गरेका थिए र यसलाई भारतमा प्रवर्धन गरेका थिए। उनको शासनकालमा भारतमा पर्सियन भाषाको साहित्यको धेरै विकास भएको थियो। हिन्दु साहित्यको पनि विकास भएको थियो। यतिखेर पर्सियन र हिन्दु चित्रकलाको विलय भएर मुगल चित्रकलाको एक नयाँ शैलीको निर्माण भएको थियो। अकबरका उत्तराधिकारी उनकै छोरा सलीम थिए। उनी आफूलाई जहाँगीर भन्दथे। उनको नेतृत्वमा भारतको दक्षिणमा मुगलहरूको प्रभाव बढ्यो र साम्राज्य फस्टायो। उनको पत्नीको नाम महरूनिस्सा थियो। पछि उनलाई नूरजहाँ वा संसारको प्रकाश भनियो। उनी प्रशियन थिइन् र फारसी संस्कृतिको कारण मुगल शासनकालमा उनी धेरै प्रभावशाली थिइन्। जहाँगिरको शासनकालमा कला र संस्कृति लगातार विकसित भएको थियो। चित्रकलाको एक विस्तृत र जटिल विद्यालय अस्तित्वमा थियो। उनको शासनकालमा वास्तुकलाको पनि व्यापक विस्तार भएको थियो। सन् १६२७ मा जहाँगीरको मृत्यु भयो। यसरी १७औं शताब्दीमा मुगल साम्राज्य आफ्नो चरम सीमामा पुगेको थियो। यसको पनि कमजोरी भनेको शासक परिवारको बीचमा सत्तासंघर्ष र कहिलेकाहीँ हुने विद्रोह थिए। सन् १६२७ मा यो साम्राज्यको शासक शाहजाँहा भए। उनको नेतृत्वमा साम्राज्य समृद्ध भयो। उनी संसारको सबभन्दा प्रसिद्ध भवनमध्ये एक ताजमहल निर्माणको लागि पनि प्रसिद्ध छन्। यो उनकी रानी मुमताज महलको स्मारकको रूपमा बनाउन लगाइएको थियो। रानीको मृत्यु भएपछि शाहजहाँले आफूलाई तहसनहस भएको महसुस गरे  र ताजमहल बनाउने कामको शुरूवात गराए। ताजमहलको कार्य पूरा गर्न २० हजार मजदूरलाई २२ वर्ष (सन् १६३१-१६५३) लागेको थियो। यसलाई इतिहासको सातौं आश्चर्यमध्ये एक मानिन्छ। यसमा मुगलले बनाएका सबै स्थापित कला रूपहरू सामेल गरिएको छ। शाहजहाँले दिल्लीमा लालकिल्ला रंगमहल आदि पनि बनाउन लगाएका थिए।

यसपछि मुगल साम्राज्यको धेरै विस्तार गर्ने काम औरंगजेब (सन् १६५८-१७०७) ले गरे। उनले सन् १६८७ सम्ममा लगभग सम्पूर्ण दक्षिण भारतमा विजय प्राप्त गरे। उनको नेतृत्वमा साम्राज्य यति धेरै विस्तार भएको थियो कि एउटा व्यक्तिलाई शासन गर्न कठिन भइरहेको थियो। तर उनले आफ्ना पूर्ववर्ती शासकहरूको धार्मिक सहिष्णुतालाई अस्वीकार गरे। सन् १६४४ मा उनले हिन्दु मन्दिरहरूको मर्मत कार्यमा प्रतिबन्ध लगाइदिए र १६६९ मा नयाँ मन्दिर बनाउने काममा पनि प्रतिबन्ध लगाए। औरगंजेवले प्रजामाथि विभिन्न प्रकारकाका भारी करहरू लगाए। यसको परिणामस्वरूप विद्रोहको वातावरण बन्यो। यही बेलाका दक्षिण भारतमा शक्तिशाली नेतृत्वमा रहेका मराठा शिवाजी औरंगजेबको सबभन्दा ठूला शत्रु थिए। शिवाजीले एकप्रकारको छापामार युद्धको नेतृत्व गरे। उनको आधारइलाका पहाडहरूमा थिए। उनीहरूले घोडामा सवार भएर शत्रुमाथि आक्रमण गरी पुन पहाडमा फर्किन्थे। सन् १६६४ मा शिवाजीका सेनाहरूले सुरतको बन्दरगाहमा आक्रमण गरेका थिए। औरंगजेबले शिवाजीलाई डर देखाउनको लागि सेना पठाए। पछि उनलाई राजधानी दिल्लीमा आमन्त्रण गरी साम्राज्यमा एक पदवी दिएर उनीसँग सम्झौता गर्ने कोशिस गरे। तर यो सफल भएन र शिवाजी एक टोकरीमा लुकेर दिल्लीबाट भागे। यसपछि उनी छापामार युद्धमा फर्किए। सन् १६८९ मा शिवाजीका छोरा संभाजीलाई मुगल शासकले पक्रिएर मारे तर पनि छापामार युद्ध जारी रह्यो। यही बेला उत्तरमा सिखहरूको उदय भएको थियो।

औरंगजेबका उत्तराधिकारी उनका पुत्र बहादुर शाह (१७०७-१७१२) थिए । उनको समयमा मुगल साम्राज्यमा चिरा पर्न लागेको थियो। दमनपूर्ण कर प्रणालीको कारणले गर्दा धेरै विद्रोह शुरू भएका थिए। सन् १७१२ पछि साम्राज्यका शक्तिशाली सरदारहरू अलग हुनलागे र स्वतन्त्र राज्य बन्दै जानथाले। यही बीचमा पहिलेदेखिका विद्रोही मराठाहरूले बाजीराव नामक व्यक्तिको नेतृत्वमा मुगल साम्राज्यमाथि आक्रमण गरे। त्यसपछि मुगलहरूले उनीहरूलाई आफ्नो क्षेत्र सुम्पिनको लागि वाध्य हुनुपर्‍यो। सन् १७३९ मा प्रसियनहरूले मुगल साम्राज्यमाथि आक्रमण गरे। उनीहरूलाई दिल्लीलाई लुटे। तर पनि साम्राज्य जारी रह्यो तर त्यसको शक्ति तीव्र रूपमा खत्तम भइरहेको थियो। सन् १७६१ मा दिल्लीमाथि फेरि अफगानी साम्राज्यले आक्रमण गर्‍यो। मुगल साम्राज्यमा एकपछि अर्को आक्रमण भइरह्यो।

मुगल साम्राज्यको उदयलाई भारतीय इतिहासमा एक महत्त्वपूर्ण मोड मानिन्छ। मुगल साम्राज्यको आगमनसँगै भारतमा आयात र निर्यातमा वृद्धि भयो। डच, फ्रेन्च,  यहुदी र ब्रिटिश, आदिजस्ता  विदेशीहरू भारतमा व्यापारको लागि आउनथाले। भारतको सम्पूर्ण क्षेत्रमा ठूलो संख्यामा व्यापारिक समूह फैलिंदै गए। भारतमा मुगल साम्राज्यको पतनपछि क्षेत्रीय राज्यहरूको उदय भयो र यूरोपियनहरू व्यापारको माध्यमबाट यहाँ आउन थालेका हुन्। यस समयमा पंजाब, मैसूर, अवध, बंगाल, आदि जस्ता साना राज्यहरूको विस्तार भयो। यसपछि यहाँ पोर्चुगिज उपनिवेश, डच उपनिवेश, फ्रान्सेली उपनिवेश र अंग्रेज उपनिवेशको स्थापना भयो।

समुद्रको मार्गबाट भारत पुग्ने पहिलो युरोपियन पोर्चुगिज थिए। उनीहरू सन् १४९८ मा आएका थिए र मसलाको आयात शुरू गरेका थिए । सन् १५१० मा उनीहरूले गोवामा एक आधारइलाका बनाए। १७औं शताब्दीमा पोर्चुगिस्टहरूको पतन भयो र त्यसको ठाउँ अंग्रेज र डचहरूले लिनथाले। अंग्रेज इस्ट इण्डिया कम्पनीको गठन ३१ डिसेम्बर १६०० मा भारतसँग व्यापार गर्नको लागि गरिएको थियो। पहिले यसलाई जोन कम्पनी भनेर चिनिन्थ्यो। जोन वाट्स यो कम्पनीका फाउण्डर थिए। उनले ब्रिटेनकी महारानीबाट हीइस कम्पनीको लागि व्यापार गर्ने अनुमति लिएका थिए। सन् १६३९ मा अंग्रेजहरूले भारतको मद्रासमा एक व्यापारिक आधार खडा गरेर यसको विकास गरे। सन् १६६२ मा अंग्रेज राजाले एक पोर्चुगिज राजकुमारीसँग विवाह गरे र उनलाई बम्बई दिइयो। सन् १६६८ मा यो ईस्ट इण्डिया कम्पनीलाई बेचियो। सन् १६९० मा अंग्रेजहरूले बंगालको कलकत्तामा एक आधार स्थापना गरे। १७औं शताब्दीको अन्तमा डचहरूको पनि पतन भयो र उनीहरूको ठाउँ फ्रन्सेलीहरूले लिए। सन् १६७३ मा फ्रान्सेलीहरूले पांडिचेरीमा एक आधार बनाए। १८औं शताब्दीमा फ्रान्सेली र अंग्रेज कट्टर प्रतिद्वन्द्वी बने र उनीहरू दुवैले भारतीय राजनीतिमा हस्तक्षेप गर्नथाले। ब्रिटेन र फ्रान्सको बीचमा सन् १७५६ बाट सप्तवर्षीय युद्ध भयो। युद्ध शुरू हुने वित्तिकै बंगालका नबाव सिराजुदौलाले कलकत्ताको अंग्रेज अड्डामा कब्जा गरे। उनले बन्दीहरूलाई एक सानो कोठरीमा थुने, उनीहरू रातभरि निस्सासिए। यसलाई कलकत्ताको ब्लाक होलको नामले चिनियो। त्यसपछि ईस्ट इण्डिया कम्पनीले कलकत्तामा पुनः कब्जा गर्नको लागि रोबर्ट क्लाइभ (१७२५-१७७४)  को नेतृत्वमा एक सैन्यदल पठायो र विजय प्राप्त गर्‍यो। क्लाइभ यतिमा मात्र सन्तुष्ट थिएनन्। उनले सम्पूर्ण बंगालमा कब्जा गर्ने निर्णय गरे। त्यसपछि उनले जुन १७५७ मा पलासीको युद्धमा एक ठूलो विजय हासिल गरे। यो युद्धमा बंगाली सेनाका कमाण्डरमध्येका एक जना मीर जाफरले पक्ष बदलेका थिए र लडाइँमा सामेल हुन अस्वीकार गरेका थिए। त्यसकारण कम्पनीले जित हासिल गर्‍यो। सन् १७६४ को बक्सरको युद्धमा पनि अंग्रेजहरूले जिते। यसपछि क्लाइभले बंगालका शासक सिराजुदौलालाई हटाएर त्यसको ठाउँमा कठपुतली सरकारको रूपमा मीर जाफरलाई नियुक्त गरे। सन् १७६५ मा कम्पनीले बंगालमा प्रत्यक्ष रूपमा शासन गर्न शुरू गर्‍यो। पलासीको युद्धमा क्लाइभको जितले भारत अन्ततः फ्रान्सेली नभएर एक ब्रिटिश उपनिपेश बन्ने कुरा सुनिश्चित गरिदियो। तर पनि कम्पनीले तुरून्तै भारतमाथि कब्जा गरेन। यो एक क्रमिक प्रक्रिया थियो, जुन पूरा हुन धेरै समय लाग्यो। अब  ईस्ट इण्डिया कम्पनीले भारतमा फ्रान्सको प्रभाव समाप्त बनाइदियो र अन्य भारतीय राज्यहरूलाई क्रमशः आफ्नो अधिनमा ल्याउन शुरू गर्‍यो।

मैसूर राज्यका दुई शासक हैदर अली (१७६१-१७८२) र टिपू सुल्तान (१७८२-१७९९) ले ब्रिटिश साम्राज्यवादको कडा विरोध गरे। मैसूरका सेना भयंकर लडाकु शक्ति थिए। यहाँ सन् १७६७-९९, १७८०-८४, १७९०-९२ र १७९९ गरी धेरैपटक भयंकर युद्ध भयो। अन्ततः मैसूरको प्रतिरोध सन् १७९९ मा गएर समाप्त भयो र मैसूर राज्यले आफ्नो आधा क्षेत्र ब्रिटिश साम्राज्यवादीलाई दिनको लागि बाध्य भयो। यसपछि अंग्रेजहरूले भारतका अरू धेरै क्षेत्र कब्जा गर्दै गए। भारतीय राज्यहरूले ब्रिटिश संरक्षण स्वीकार गर्न बाध्य हुनुपर्‍यो। हैदरावादले सन् १७९८ मा अंग्रेसँग एक सन्धि गरेर केही स्वतन्त्रता कायम राख्यो तर अन्य राज्यहरूले ब्रिटिश शासन स्वीकार्न विवश हुनुपर्‍यो। सन् १८०३ मा अंग्रेज र मराठा राज्यको बीचमा युद्ध भयो। अंग्रेजको नेतृत्व अर्थर वेलेस्लीले गरेका थिए। वेलेस्ली सन् १७९८-१८०५ सम्मका गभर्नर जनरल थिए र उनी एक निर्लज्ज साम्राज्यवादी थिए। सन् १८०३ मा मराठाका सरदारहरूको बीचमा फुट भएपछि अंग्रेजहरूले यसबाट केही लाभ प्राप्त गर्न सफल भए। उनीहरूले आग्रा र दिल्ली लिए। त्यसबेला दिल्लीमा अन्तिम मुगल शासन थियो। अंग्रेजहरूले शहर कब्जा गरेपछि मुगल साम्राज्य अन्ततः समाप्त भयो। सन् १८०४ मा अंग्रेजहरूले केही हारको सामना गर्नुपरेको थियो र उनीहरूले शान्ति स्थापना गरेका थिए। सन् १८१७ मा एउटा अर्को युद्ध भयो। तर यसपटक सबै मराठा सरदारहरूले हारे र उनीहरूले ब्रिटिश शासन स्वीकार गर्नको लागि विवश हुनुपर्‍यो। सन् १८१९ सम्म ईस्ट इण्डिया कम्पनीको उत्तर-पश्चिमलाई छोडेर अधिकांश भारतमा नियन्त्रण भइसकेको थियो। सन् १८२६ र १८३८ को बीचको धेरै चरणपछि आसाममाथि कब्जा गरियो। सन् १८१९ देखि १८३९ को बीचमा भारतका केही ठाउँमा विद्रोह भए तर तिनीहरूलाई दबाइयो। त्यसपछि अंग्रेजहरूले भारतमा आफ्नो संस्कृति थोपर्न शुरू गरे। केही सुधारका कामहरू पनि गरे, जसमा सतीप्रथाको अन्त्य एक थियो। सन् १८३५ मा अंग्रेजी भाषालाई सरकारी र शिक्षाको आधिकारिक भाषा बनाइयो।  यतिबेलासम्म पनि अंग्रेजको नियन्त्रण बाहिर एक शक्तिशाली सिख साम्राज्य थियो। तर सन् १८३९ मा सिखहरूका नेता रणजीत सिंहको मृत्यु भएपछि उत्तराधिकारलाई लिएर ठूलो युद्ध भयो। त्यसपछि सन् १८४५-४६ मा अंग्रेजहरूले सिखहरूको विरूद्धमा युद्ध शुरू गरे। भयंकर लडाइँपछि अंग्रेजले लाहोरमाथि कब्जा जमाए। अब सिखहरू कश्मिर र पंजावका केही भागहरूमा आत्मसमर्पण गर्न बाध्य भए। सन् १८४८-४९ मा दोस्रो युद्ध भयो, लडाइँ डरलाग्दो थियो, तर मार्च १८४९ मा ईस्ट इण्डिया कम्पनीले सम्पूर्ण पंजावमाथि कब्जा जमायो।

ईस्ट इण्डिया कम्पनीले क्रमशः सबै भारतीय राज्यहरूमाथि कब्जा जमायो। कम्पनीले लामो समयसम्म भारतीयहरूलाई सैनिकहरूको रूपमा नियुक्त गरेको थियो। प्रत्येक ब्रिटिशको लागि ४ जनाभन्दा बढी सैनिक नहुने स्थिति थियो। तर अंग्रेजहरूले जहासुकै हुने संघर्षहरूमा सेवाको लागि सेना लिएका थिए। सन् १८५७ सम्म भारतमा केवल ४० हजार ब्रिटिश सैनिक थिए भने ३ लाख ११ हजार भारतीय सेना थिए। अंग्रेजहरूको अत्याचार सहन नसकेपछि भारतीय सिपाहीहरूमा विद्रोहको भावना मडारिरहेको थियो। १० मई १८५७ मा भारतमा एक सैन्य विद्रोह शुरू भयो। यसको मुख्य कारणमा त्यतिबेला सैनिकहरूलाई नयाँ एनफिल्ड नामक राइफल दिइएको थियो। त्यसबेला त्यहाँ के हल्ला चलाइयो भने राइफलको कारतूसमा गाइ र सुँगुरको बोसो लगाइएको छ। यो कुरा हिन्दु र मुसलमान दुवैको लागि असहनीय थियो। त्यसपछि विद्रोहको आगो व्यापक रूपमा सल्कियो। यो भारतको लागि पहिलो स्वतन्त्रताको लडाइँ थियो, जसको डोरी भारतका निडर स्वतन्त्र सेनानी मंगल पाण्डेको हातमा थियो। उनलाई पछि कैयौं राजा तथा सेनाहरूले पनि साथ थिए। यो विद्रोह दिल्लीबाट ६० माइल टाढा मेरठमा शुरू भएको थियो। भारतीय सैनिकहरूले अंग्रेजहरूको नरसंहार शुरू गरे। त्यसपछि विद्रोह तीव्र रूपमा फैलियो। विद्रोहीहरूले दिल्लीमाथि कब्जा जमाए र पुरानो मुगल साम्राज्यको पुर्नबहालीको घोषणा गरे। यो विद्रोह सम्पूर्ण मध्य र उत्तरी भारतमा फैलियो तर दक्षिणमा भने विद्रोह भएन। मद्रास र बम्बईका सैनिकहरू अंग्रेजहरूप्रति बफादार रहे। विद्रोहीहरूले कानपुर र लखनउमा अंग्रेजहरूलाई घेरे  र २७ जुन १८५७ मा अंग्रेजहरूले आत्मसमर्पण गरेका थिए । तर तुरून्तै अंग्रेजहरूले भारतमा अतिरिक्त सेना पठाए । सर हेनरी हेभलकले लखनउमा सैन्य नेतृत्व गरे। उनले १६ जुलाई १८५७ मा कानपुरमा विद्रोही नेता नाना साहिबलाई पराजित गरे। हेभलक २५ सेप्टेम्बर १८५७ मा लखनउ पुगे। तर उनलाई विद्रोहीहरूले घेरा हाले। पछि सर कोलिन क्याम्पबेलको नेतृत्वमा एक अर्को सैन्य फौज पठाइयो। त्यो फौज १६ नोभेम्बरमा लखनउ पुगेर गेरिसनतिर गयो। क्याम्पबेलले ६ डिसेम्बरमा कानपुर बाहिर एक विद्रोही सेनालाई निर्णायक रूपले हराए। यही बीचमा सेप्टेम्बरमा अंग्रेजहरूले दिल्लीमाथि पुनः कब्जा जमाए। मार्च १८५८ मा अंग्रेजहरूले लखनउमाथि पनि पुनः कब्जा गरे। सर ह्यू रोजले ३ अप्रिलमा झाँसीका विद्रोहीहरूको किल्ला कब्जा गरे। उनले १९ जुन १८५८ को ग्वालियरको लडाइँमा विद्रोहीहरूका एक प्रमुख नेता तात्या टोपेलाई निर्णायक रूपले हराए। यो घटनापछि विद्रोहको मेरूदण्ड नै तोडियो। त्यसपछि अंग्रेजहरूले बाँकी रहेका अन्य विद्रोहीहरूलाई सखाप पारे। यसरी सन् १८५८ को अन्तसम्म अंग्रेजहरूले विद्रोहलाई दबाए र नियन्त्रणमा लिए। यो विद्रोहमा भारतका मंगल पाण्डे, तात्या टोपे, झाँसीकी रानी लक्ष्मीबाई, वीर कुँवर सिंह बहादुर शाह, बख्त खान, नाना साहिब जस्ता महान योद्धहरूको ठूलो योगदान रहेको थियो।  यो विद्रोहमा अधिकांश विद्रोहीहरूले बहादुर शाह जाफरलाई भारतका राजा चुने र उनको नेतृत्वमा एकजुट भएका थिए। ईस्ट इण्डिया कम्पनीमा सुबेदार रहेका बख्त खानले रोहिल्ला सिपाहीहरूको एक सेना बनाएका थिए। मई १८५७ मा अंग्रेजको विरूद्धमा मेरठमा सिपीहरूले विद्रोह गरेपछि उनी दिल्लीमा सिपाहीको कमाण्डर बनेका थिए। ३४ औं नेटिभ इन्फ्रेन्ट्रीको हिस्सा रहेका मंगल पाण्डेले २९ मार्च १८५७ मा ब्यारेकपुरमा एक वरिष्ट अंग्रेज अधिकारीमाथि आक्रमण गरेका थिए। यही घटनाबाट नै भारतको स्वतन्त्रता संग्रामको शुरूवात भएको मानिन्छ। निर्वासित पेशवा बाजीराव द्वितीयका धर्मपुत्र नाना साहिबले कानपुरमा विद्रोहको नेतृत्व गरेका थिए। रानी लक्ष्मीबाई तात्या टोपेसँग मिलेर अंग्रेज सैनिकहरूको विरूद्धमा बहादुरीपूर्वक लडेकी थिइन्। १७ जुन १८५८ मा ग्वालियको फुलबाग इलाका नजिकै अंग्रेजहरूसँग लड्दालड्दै उनको मृत्यु भयो।  नाना साहिबका निकटतम् सहयोगी र सेनापति तात्या टोपेले रानी लक्ष्मीबाईसँग मिलेर अंग्रेहरूको लडेका थिए। बिहारको भोजपुर जिल्लाको जगदीशपुरका राजा वीर कुँवरसिंहले पनि अंग्रेजहरूको विरूद्ध सशस्त्र संघर्षको नेतृत्व गरेका थिए। १८५७ को विद्रोह असफल भएपछि दिल्लीका मुगल सम्राट बहादुर शाह जफरलाई अंग्रेजहरूले सजायको रूपमा म्यानमार पठाए। किनकि बहादुर शाह जफरले विद्रोहमा अंग्रेको साथ दिएका थिएनन्। सन् १९६२ मा उनको मृत्यु भयो र यसको साथै भारतबाट मुगल शासनको पूर्णतः अन्त्य भयो। यस क्रममा राजा राममोहन राय जस्ता समाजसुधारकहरूले देशमा फैलिएको सतीप्रथा जस्ता अमानीय कुरीतिहरूलाई हटाउमा सफलता हासिल गरे।

सन् १८५७ को विद्रोहपछि ईस्ट इण्डिया कम्पनीले भारतमा आफ्नो नियन्त्रण गुमायो। १ सेप्टेम्बर १८५८ पछि भारतको नियन्त्रण सीधैं ब्रिटिश सरकारको हातमा गयो। यसरी ईस्ट इण्डिया कम्पनीबाट सम्पूर्ण राजनीतिक शक्ति क्राउनको हातमा गयो। अब ब्रिटेनले स्थानीय शासकहरूसँग सन्धिको माध्यमबाट बाँकी भारतमा प्रत्यक्ष रूपमा शासन शुरू गर्‍यो।   सन् १८६१ मा भारतमा विधायिक निकाय गठन गरिएको थियो तर सदस्य निर्वाचित भएका थिएनन्। उनीहरूको नियुक्ति गभर्नर जनरलहरूद्वारा गरिन्थ्यो। त्यसका अधिकांश सदस्य अंग्रेज थिए। विद्रोहपछि भारतीयहरूको अनुपातमा ब्रिटिश सैनिकहरूको अनुपात बढ्यो। सन् १८७७ मा महारानी भिक्टोरियालाई भारतको महारानी बनाइयो। भारतमा भएको १८५७ को यो भयंकर विद्रोहपछि अंग्रेजहरू भारतीय संस्कृतिप्रति बढी सतर्क भए र उनीहरूले केही सम्मान पनि गर्नथाले। अझै पनि छिटपुट रूपमा विद्रोहहरू भइरहेका हुन्थे। अब विद्रोहले विस्तारै संगठित रूप अपनाउँदै जान थालेको थियो। २८ डिसेम्बर १८८५ मा एक ब्रिटिश अधिकारी एलन ओक्टेभियन ह्यूमले भारतीय राष्ट्रिय काँग्रेसको स्थापना गरेका थिए । यो देशको सबभन्दा पहिलो राजनीतिक पार्टी हो। यसले पछि स्वतन्त्रता आन्दोलनमा धेरै ठूलो योगदान दियो। पछि यसका नेता महात्मा गान्धी भए।  त्यसरी नै सन् १९०६ मा मुस्लिम लीगको स्थापना भएको थियो। सन् १८०० को दशकको अन्तमा ब्रिटिश भाइसरोयलाई सल्लाह दिनको लागि भारतीय पार्षदहरूको नियुक्ति र भारतीय सदस्यहरूसहित प्रान्तीय परिषदको स्थापनासँगै ब्रिटिशले भारतमा स्वशासनको दिशामा पहिलो कदम उठाएका थिए। पछि अंग्रेजहरूले विधान परिषदहरूमा सहभागिता वृद्धि गर्दै गए।

अंग्रेजहरूले भारतमा शासनको सम्पूर्ण अधिकार लिएपछि विकासनिर्माणका केही कामहरू पनि गरे। १९औं शताब्दीको अन्तसम्ममा उनीहरूले भारतमा रेलवेको एउटा संजाल निर्माण गराए। सन् १९०० सम्म भारतमा २५ हजार माइल रेलवे लाइन बनिसकेको थियो। भारतमा पहिलो रेल भने सन् १८६५ मा बम्बईमा बनाइएको थियो। अंग्रेजहरूले सम्पूर्ण भारतमा नयाँ सडकहरू पनि निर्माण गराए। राम्रो संचार प्रणालीबाट भारतका विभिन्न राज्यहरूलाई एक-अर्कोको निकट ल्याउनको लागि  र राष्ट्रिय पहिचालनलाई राम्रोसँग बुझ्नको लागि उनीहरूले संचार सेवाको पनि राम्रोसँग विकास गराए। १९औं शताब्दीको अन्तसम्ममा समाचारपत्रहरूको पनि विकास भइसकेको थियो र कैयौं अखवारहरू प्रकाशित भए। सन् १९०५ मा अंग्रेजहरूले शासन गर्नको लागि सजिलो होस् भनेर बंगाललाई विभाजन गरिदिए। यसपछि बंगालमा अशान्ति फैलियो र जनताले प्रदर्शन गर्नुको साथै ब्रिटिश सामान बहिष्कारसम्म गरेका थिए। १९ औं शताब्दीको अन्तसम्ममा भारत एक कृषिप्रधान समाज थियो। यहाँ जुट, कच्चा कपास, चिया, कफी, आदि बेलायत निर्यात हुन्थे। भारतीय कपडा उद्योगले सस्तो र ठूलो परिमाणमा उत्पादित बेलायती सामानहरूसँग प्रतिस्पर्धा गर्न सकेको थिएन। २०औं शताब्दीको शुरूवातमा भारतीय उद्योगहरूको व्यापक रूपमा विकास भएको थियो । र, कृषि प्रधान देशबाट भारतले क्रमशः औद्योगिक उत्पादनलाई बढावा दिँदै जान थालेको थियो।

ब्रिटिश उपनिवेशवादी सर्वोच्चता र उनीहरूले लादेका विभिन्न अन्यायपूर्ण एक्ट र कानूनहरूको विरुद्धमा भारतका विभिन्न समाज सुधार संठनहरूले समय-समयमा धेरै विद्रोहहरू गरिरहे। यस बेलामा रामकृष्ण, विवेकानन्द, ईश्वरचन्द्र विद्यासागर, डेजेरियो र यंग बंगाल, राममोहन रोय र ब्रम्ह समाज जस्ता समाज सुधारकहरूले प्रत्यक्ष अथवा अप्रत्यक्ष रूपमा ब्रिटिश उपनिवेवादको विरूद्धमा आन्दोलन संचालन गरेका थिए। त्यसरी नै भारतलाई ब्रिटिश शासनबाट स्वन्त्र बनाउनका लागि शिक्षा विकास, भारतीय प्रेसको विकास, भारतीय राष्ट्रिय काँग्रेसको स्थापना, मुस्लिम लीगको स्थापना, चर्खा आन्दोलन, जलियाला बाग हत्याकाण्ड, रोलेक्ट एक्ट विरोधी आन्दोलन, सत्याग्रह, स्वेदेशी आन्दोलन, असहयोग आन्दोलन,  साइमन कमिशन विरोधी आन्दोलन, भारत छोड आन्दोलन, आदि धेरै आन्दोलन र संगठनको निर्माण भयो। महात्मा गान्धी, बालगंगाधर तिलक, लाला राजपतराय, विपिनचन्द्र पाल, सरदार भगतसिंह, चन्द्रखेशर आजाद, सुकदेव, सुवासचन्द्र बोस, एनी बेसेंट, जवाहरलाल नेहरूसहित कैयौं महान स्वतन्त्र सेनानीहरू र क्रान्तिकारीहरूले स्वतन्त्रता आन्दोलनमा महत्त्वपूर्ण भूमिका खेलेका थिए। 

१९ औं शताब्दीको मध्यसम्ममा ब्रिटेन संसारको सबभन्दा शक्तिशाली देश थियो। तर यो शताब्दीको अन्तसम्ममा जर्मनी र संयुक्त राज्य अमेरिका जस्ता देशहरू शक्तिमा आइसकेका थिए। सन् १९१४-१९१८ मा भएको संसारको पहिलो भयानक विश्वयुद्धपछि ब्रिटेनको स्थिति झन कमजोर हुँदैगयो। सन् १९२० र १९३० को दशकमा यसको साम्राज्यको पतनको दिशा निरन्तर अगाडि बढ्यो। ब्रिटेनको साम्राज्यको पतन हुँदै जाँदा भारतमा राष्ट्रवादी भावना पनि प्रबल बन्दै गयो। १३ अप्रिल १९१९ मा भारतमा अमृतसरको जलियाँलाबाग नामक चौरमा अन्यायपूर्ण कानून (रोलेक्ट एक्ट) को विरूद्धमा हजारौं भीड जम्मा भए। त्यसपछि जनरल रेजिनाल्ड डेयरले शक्ति प्रदर्शन गर्ने निर्णय लिए र आफ्ना सेनालाई गोली चलाउन आदेश दिए। त्यसपछि त्यहाँ लगभग ४०० भन्दा बढीको ज्यान गयो भने १२०० भन्दा बढी घाइते भए। यो घटनालाई भारतको इतिहासमा जलियाँलाबाग हत्याकाण्ड भनिन्छ। यो घटनाबाट भारतीय जनता ब्रिटिश शासनप्रति अत्यन्तै क्रोधित भए। यही समयपछि भारतमा एक महत्त्वपूर्ण स्वतन्त्र संग्रामका नेता मोहनदास करमचन्द गांधी (१८६९-१९४८) को आकर्षक रूपमा उदय भयो। उनलाई पछि माहात्मा गांधीको नामले विश्वव्यापी रूपमा चिनियो। उनले ब्रिटिश औपनिवेशिक शासनको विरूद्धमा अभियान चलाउनको लागि एक राजनीतिक दल भारतीय राष्ट्रिय काँग्रेसलाई जनआन्दोलनमा बदलिदिए। उनी एक वकिल थिए र केही समयसम्म उनी दक्षिण अफ्रिका रहेका थिए। त्यहीबाट नै उनले ब्रिटिशहरूको विरूद्धमा विभिन्न आन्दोलनका कार्यक्रमहरू संचालन गर्दै आएका थिए। सन् १९१५ मा उनी भारत फर्किए र तुरून्तै राष्ट्रवादीहरूको नेताको रूपमा उदाए। गांधीले अहिंसात्मक र अहसयोग दुवै आन्दोलाई सँगसँगै लिएर गए, यद्यपि धेरै हिंसात्मक आन्दोलनहरू पनि भए। सन् १९२० पछि उनको नेतृत्वमा अंग्रेजहरूको विरूद्धमा असहयोग आन्दोलन संचालन भयो। यो आन्दोलनमा अंग्रेजहरूका वस्त्र, कपडा, टेक्सटाइल्स र स्कूल बहिष्कार गरियो। पछि यो आन्दोलनले हिंसात्मक रूप लिंदै गयो। त्यसपछि सन् १९२२ मा गांधीलाई पक्राउ गरी २ वर्षको लागि जेल हालियो। गान्धीको लाइनसँग सबै सहमत नभए पनि एक राजनेताको रूपमा उनको कौशल र क्षमताको कारणले उनी स्वतन्त्रता आन्दोलनका नेता बने। सन् १९३० मा गान्धीको नेतृत्वमा नून उत्पादनमा ब्रिटिश सरकारको एकाधिकारलाई अन्त्य गर्नको लागि एक अभियान संचालन भयो। उनीहरूले नून जम्मा गर्नको समुद्रसम्मको एक मार्च संचालन गरे। त्यसपछि अंग्रेजहरूले गांधीसहित हजारौं अन्यलाई पक्राउ गरे। तर सन् १९३१ मा गांधीसहित धेरैलाई रिहा गरे र बाँकी केहीलाई भने बन्दी अवस्थामा  नै राखे। त्यसपछि अंग्रेजहरूले जनतालाई आफ्नो निजी उपयोगको लागि नून बनाउने अनुमति पनि दिए। सन् १९३१ मा भारतको राजधानी कलकत्ताबाट दिल्ली स्थानान्तरित गरियो। त्यसपछि सन् १९३२ बाट सेनामा भारतीय अधिकारीहरूको भर्ती पनि शुरू भयो। सन् १९३१ मार्च २३ मा स्वतन्त्रता सेनानी क्रान्तिकारी भगतसिंह लगायत धेरैलाई फाँसीको सजाय दिइयो।

गांधीले आफ्नो संघर्षको कार्यक्रमलाई निरन्तर अगाडि बढाइरहे। उनलाई सन् १९३२ र १९३३ मा पुनः गिरफ्तार गरेर छिट्टै मुक्त पनि गरियो। सन् १९३५ सम्म अंग्रेजहरूले ढिलोचाँडो भारत छोड्नैपर्ने कुरा महसुस गर्न थालिसकेका थिए। सन् १९३५ मा नै अंग्रेजहरूले नयाँ संविधान जारी गरेका थिए र सन् १९३७ मा यो लागू गरियो। त्यसपछि भारतीयहरूलाई प्रान्तीय विधानसभाको चुनाव गर्ने अनुमति दिइयो। तर अंग्रेजहरूले केन्द्र सरकारमा भने नियन्त्रण कायमै राखे। सन् १९३९ बाट दोस्रो विश्वयुद्ध शुरूवात भयो। भारतका भाइसरोयले भारतीयहरूसँग छलफल नगरीकन जर्मनीको विरूद्ध युद्धको घोषणा गरे। यसबाट भारतीय जनता र स्वतन्त्रता संग्रामका नेताकार्यकर्ता धेरै बेखुशी भए। सन् १९४२ मा दोस्रो विश्वयुद्ध भयंकर रूपमा अगाडि बढिरहेको बेलामा राष्ट्रिय कांग्रेसले अंग्रेजहरूको विरूद्धमा भारत छोड आन्दोलन संचालन गर्‍यो। त्यसपछि अंग्रेजहरूले गांधी लगायत अन्य नेता र कार्यकर्ताहरूलाई पक्रिएर जेल हाले। उनीहरूलाई सन् १९४४ मा मात्र रिहा गरियो।

सन् १९४५ मा दोस्रो विश्वयुद्धको अन्त्यपछि ब्रिटिश साम्राज्य धेरै खुम्चिएको थियो। उसले अब आफ्नो अधिनमा रहेका देशहरूलाई मुक्त गर्दै गएको थियो। त्यसको परिणामस्वरूप सन् १९४६ मा भारतका तत्कालीन भाइसरोयले राष्ट्रिय कांग्रेसका एक नेता जवाहरलाल नेहरूलाई प्रधानमन्त्री बनाएर एक अन्तरिम मन्त्रिमण्डल नियुक्त गरे। त्यसपछि माउन्टबेटनलाई भायसरोय बनाइयो। अगस्ट १५, १९४७ मा गएर भारत ब्रिटिश राष्ट्रमण्डलभित्र एक स्वत्नत्र देश बन्यो।  माउन्टबेटन अन्तरिम अवधिको लागि गभर्नर जनरलको रूपमा भारतमा रहनको लागि सहमत भए। त्यसपछि जवाहरलाल नेहरूको प्रधानमन्त्रित्वमा भारत राष्ट्रमण्डलभित्र एक प्रभुत्व बन्यो। हिन्दु र मुसलमानहरूको बीचको दुश्मनीको कारण भारतले यही बेला विभाजनको पीडा पनि बेहोर्नुपर्‍यो। खासगरी धार्मिक आधारमा दुई अलग-अलग देश बनाइयो। भारत बहुसंख्यक हिन्दुसँगै अलग देश भयो भने पाकिस्तान बुहसंख्यक मुसलमानसहित अलग देश भयो।  सन् १९४६ डिसेम्बरमा भारतको लागि संविधान बनाउन संविधान सभाको बैठक भयो। भारतीय राष्ट्रिय काँग्रेसका नेता माहात्मा गांधीले कुनै पद स्वीकार गरेका थिएनन्। २७ अक्टुबर १९४७ मा भारत र पाकिस्तानको बीचमा कश्मिरको विवादमा हिमाली क्षेत्रमा युद्ध भएको थियो।  ३० जनवरी १९४८ मा स्वतन्त्र आन्दोलनका महान नेता माहात्मा गान्धीको नाथूराम गोड्से नामको एक व्यक्तिद्वारा हत्या भयो। सेप्टेम्बर १९४८ मा भारतीय सैनिक अपरेशन पोलोको नेतृत्वमा हैदरावादका निजाम शासित राज्यलाई भारतमा मिलाइयो। १७ अक्टुवर १९४९ मा भारतीय संविधानले धारा ३७० अपनाएर जम्मू कश्मिरलाई विशेष दर्जा र आन्तरिक स्वायत्तता सुनिश्चित गरेको थियो।

स्वतन्त्रतापछि काँग्रेस पार्टी, गांधी तथा नेहरूको पार्टीले भारतमा शासन गरे। नेहरूले शुरूदेखि सन् १९६४ मा आफ्नो मृत्यु नहुन्जेल शासन गरे। भारतको राजनीतिक एकीकरणको काम तत्कालीन उपप्रधानमन्त्री वल्लभभाई पटेलले गरेको मानिन्छ। उनले गांधीको मृत्युपहिले नेहरू र गांधीसँग मिलेर स्वतन्त्र भारतको संविधान धर्मनिरपेक्ष हुनेछ भन्ने कुराको सुनिश्चित गरेका थिए।  २६ जनवरी १९५० बाट नयाँ संविधान लागू भयो। संविधानले भारतलाई एक सम्प्रभु, समाजवादी, धर्मनिरपेक्ष र लोकतान्त्रिक गणराज्य घोषणा गर्‍यो; नागरिकहरूलाई न्याय, समानता र स्वतन्त्रताको आश्वासन दियो र बन्धुत्वलाई बढावा दिने प्रयास गर्‍यो। त्यसपछि भारत गणतन्त्रात्मक देश बन्यो; एक धर्मनिरपेक्ष देश बन्यो। सन् १९५१ मा पहिलो पंचवर्षीय योजना शुरू गरियो, जुन मुख्य रूपले प्राथमिक क्षेत्रको विकासमा केन्द्रित थियो।  प्रधानमन्त्री नेहरूले राज्यको स्वामित्वयुक्त उद्योग र निजी स्वामित्वका उद्योगहरूको मिश्रित अर्थव्यवस्था प्रणालीको विकास गरे। उद्योगहरूलाई दृढतापूर्वक नियमन गरियो। भारतले सन् १९५२ मा संविधान अन्तर्गत आफ्नो पहिलो राष्ट्रिय चुनाव गरेको थियो, जसमा ६० प्रतिशतभन्दा बढी मत खसेको थियो। चुनावमा राष्ट्रिय काँग्रेसले भारी बहुमत प्राप्त गर्‍यो र नेहरू दोस्रो कार्यकालको लागि प्रधानमन्त्री बने। भारतको राष्ट्रपति पुनः राजेन्द्रप्रसाद नै चुनिए। ६ जनवरी १९५४ मा संविधान सभाले जम्मु-कश्मिरको भारतमा प्रवेशको पुष्टि गर्नको लागि मतदनान गर्‍यो।

सन् १९५० को दशकमा भारतमा नेहरूको नेतृत्वमा पंचवर्षीय योजनाको श्रृंखला तयार गरियो। शुरूमा व्यापक रूपमा सिंचाई प्रणालीको विकास गरी कृषि उत्पादनलाई बढावा दिइयो। दोस्रो र तेस्रो योजनाबाट उद्योगधन्दा र कलकारखानाहरूलाई बढावा दिइयो। संसदले व्यापक सुधार योजना पारित गर्‍यो। हिन्दु समाजमा महिलाहरूको कानूनी अधिकार वृद्धि भयो। शिक्षामा व्यापक सुधार गरियो, हजारौं संख्यामा स्कूल, कलेज र उन्नत शिक्षा संस्थान, प्राविधिक शिक्षालयहरू खोलियो। व्यापक सार्वजनिक कार्यक्रम अन्तर्गत औद्योगिकीकरणको अभियानको परिणामस्वरूप भारतमा प्रमुख बाँध, सिंचाई नहर, सडक, थर्मल र बिजुली स्टेशनहरूको निर्माण गरियो। यतिबेलैदेखि भारतको जनसंख्या पनि तीव्र रूपमा वृद्धि हुँदै गयो। गरीबी र अशिक्षा पनि नराम्रोसँग वृद्धि भयो। ३० जनवरी १९५९ मा दलाइ लामा र उनका अन्य समर्थकहरू सीआईएको सहयोगले तिब्बतबाट भागेर भारत प्रवेश गरे; भारतले उनीहरूलाई शरण दियो। यसबाट भारत र चीनको बीचमा शत्रुता वृद्धि भयो। सन् १९६२ को युद्धको एउटा कारण यसलाई पनि मानिन्छ।    

सन् १९६० को दशकमा भारतले विभिन्न युद्धहरूको सामना गर्नुपर्‍यो।  सन् १९६० मा एक हिंस्रक विरोध प्रदर्शनपछि बम्बई राज्य भाषाको आधारमा विभाजित गरेर नयाँ राज्य महाराष्ट्र र गुजरातको गठन गरियो। सन् १९६१ मा भारतीय सेनाले गोवालाई पोर्चुगिस्टहरूबाट स्वतन्त्र गराए र यो एक केन्द्र शासित प्रदेश बन्यो। १६ अगस्ट १९६२ मा फ्रान्सबाट शासित पांडिचेरीलाई केन्द्र शासित प्रदेशको रूपमा भारतको हिस्सा बनाइयो। सन् १९५० को दशकको अन्तबाट नै भारत र तिब्बतको बीचमा सीमा समस्या शुरू भएको थियो। २० अक्टुवर १९६२ मा भारत र चीनको बीचमा युद्ध भयो। २१ नोभेम्बरमा गएर यो युद्ध समाप्त भयो। यो युद्ध भारतीयहरूको लागि पूर्ण हार थियो र धेरै नोक्सान समेत बेहोर्नुपरेको थियो। सन् १९६४ मा जम्मु र कश्मिरमा नेशनल लिबरेशन फ्रन्टले एक स्वतन्त्र र एकीकृत कश्मिरको लागि सशस्त्र संघर्ष शुरू गरे।  २७ मई १९६४ मा प्रधानमन्त्री नेहरूको मृत्यु भयो । उनका उत्तराधिकारी लालबहादुर शास्त्री थिए। उनको पनि कार्यकालमै मृत्यु भयो। सेप्टेम्बर १९६५ मा कश्मिर मुद्दामा भारत र पाकिस्तानको बीचमा दोस्रो युद्ध भयो। यो युद्ध संयुक्त राष्ट्रसंघको युद्धबिरामको आव्हानपछि समाप्त भएको थियो। सन् १९६६ पंजावलाई भाषाको आधारमा तीन राज्य (हरियाणा, हिमांचल प्रदेश र पंजाब) मा विभाजित गरियो।  सन् १९६६ मा नेहरूकी छोरी इन्दिरा गांधी प्रधानमन्त्री बनिन् र सत्ता सम्हालिन् ।  अब भारतमा एक महिला सबभन्दा पहिले एक लोकप्रिय राजनीतिज्ञ बनेकी थिइन्। सन् १९६७ मा पश्चिम बंगालको दार्जिलिङ जिल्लाको नक्सलबाडीमा सशस्त्र किसान विद्रोह शुरू भयो। १५ अगस्ट १९६९ मा भारतीय अन्तरीक्ष अनुसन्धान संगठन (इसरो) को स्थापना गरियो। यसपछि भारतीय सकारले विकासका आवश्यकताहरूलाई पूरा गर्नको लागि १४ प्रमुख भारतीय अनुसूचित वाणिज्यिक बैंकहरूलाई राष्ट्रियकरण गर्‍यो र कैयौं अन्य समाजवादी आर्थिक र औद्योगिक नीति बनाइयो। सन् १९७० मा आसामभित्र  मेघालय एक स्वायत्त राज्य बन्यो। यसपछि मणिपुर, त्रिपुरा, मिजोरम, अरूणांचल र आसाम राज्यहरू बने। सन् १९७१ मा लाखौं शरणार्थी पाकिस्तानी सेनाको उत्पीडनबाट भागेपछि भारतले बंगलादेशको स्तवन्त्रता संग्राममा हस्तक्षेप गरेको गर्‍यो र ३ डिसेम्बर १९७१ देखि १६ डिसेम्बरसम्म भारत-पाकिस्तानको तेस्रो युद्ध भयो। यो युद्धको परिणामस्वरूप पूर्वी पाकिस्तान स्वतन्त्र भएर बंगलादेश एक स्वतन्त्र राष्ट्र बनेको थियो।

 सन् १९७३ सम्म पुग्दा भारतमा तेलको मूल्य तीव्र रूपमा वृद्धि भएकोले मुद्रास्फीति बढेको थियो। यसले उत्पादन धेरै महंगो भएर कृषिमा ठूलो नोक्सान पुग्यो। उद्योगहरूमा पनि मन्दी आयो। यिनै विभिन्न कारणले यहाँ व्यापक जनअसन्तोष वृद्धि भयो ।  १९७४ मा एक ठूलो रेल हड्ताल भएको थियो।  सन् १९७४ मा गएर भारतले परमाणु बम विस्फोट परीक्षण गरेको थियो।  अपरेशन स्माइलिंग बुद्धा नामबाट राजेस्थानको पोखरण आर्मी वेशबाट भएको यो भारतको पहिलो परमाणु बम परीक्षण थियो। यो प्रधानमन्त्री इंदिरा गांधीको नेतृत्वमा भएको थियो । यसको क्षमता १२ किलो टन  थियो। यसको सफल परीक्षणपछि भारत एक परमाणु शक्ति देश बनेको थियो। सन् १९७३ मा नै सिक्किममा राजतन्त्र विरोधी दंगा शुरू भयो। सन् १९७५ मा सिक्किमका प्रधानमन्त्रीले सिक्किमलाई भारतको एक राज्य बनाउनको लागि भारतीय संसदमा अपिल गरे। त्यही वर्ष अप्रिलमा भारतीय सेनाले गंगोटक शहरमा अधिकार जमाए र राजा चोग्यालका महलका रक्षकहरूलाई पराजित गरे। त्यसपछि भएको एक जनमतसंग्रहमा ९७.५ प्रतिशत मतदाताहरूले राजतन्त्र समाप्तिको माग गर्दै भारतसीय संघमा जान मंजुरी दिए। तर के भनिन्छ भने भारतले जनमतसंग्रहमा २० देखि ४० हजार सैनिक तैनाथ गरेको थियो। १६ मई १७९५ मा सिक्किम भारतको २२औं गणराज्य बन्यो।

सन् १९७४ मा इलाहावादको उच्च न्यायालयले इंदिरा गांधीलाई चुनावमा सरकारी दुरूपयोग गरेकोमा दोषी ठहराएको थियो। आर्थिक र सामाजिक समस्याहरूको साथसाथै भ्रष्टाचारका आरोपहरूले गर्दा भारतमा व्यापक रूपमा अशान्ति बढ्नथाल्यो । यसपछि बिहारमा आन्दोलन शुरू भयो। विपक्षी दलहरूले इन्दिरा गान्धीलाई तत्काल राजीनामा दिने माग गर्दै हड्ताल र विरोध प्रदर्शन गर्नथाले। जयप्रकाश नारायणको नेतृत्वमा विभिन्न राजनीतिक दल आन्दोलनमा होमिए।   २५  जुन  १९७५ मा गहिरो राजनीतिक, समाजिक र आर्थिक समस्याले घेरिएकी इन्दिरा गांधीले भारतमा संकटकालीन स्थितिको घोषणा गराइन्। त्यसपछि नागरिकहरूको स्वतन्त्रता निलम्बित भयो र धेरै मानिसहरू गिरफ्तार भए। त्यसपछि समाजवादी नेता जयप्रकाश नारायणले संकटकालीन विरोध आन्दोलनको नेतृत्व गरे।  सन् १९७७ मा संकटकाल हटाइयो। यस क्रममा मुद्रास्फीतिमाथि अंकुश लगाइयो र उद्योगहरूलाई पुनर्जीवित गरियो।  १९७६ मा चुनाव हुनुपर्नेमा त्यसलाई लम्ब्याएर १९७७ सम्म लगियो। आफ्ना नीतिहरूको लागि चुनावमा जनादेशको माग गर्दै इन्दिरा गांधीले चुनाव आव्हान गरेकी थिइन् तर पाँच विपक्षी दलहरूको एक समूह जनता पार्टीको नेतृत्व गरेका मोरार्जी देसाईले चनाव जिते र सरकार सम्हाले। यसपछी देसाइ सरकारले संकटकालीन समयको जाँचआयोग बनायो र रिपोर्ट अनुसार इन्दिरा र संजय गांधीलाई गिरफ्तार गरेको थियो। सन् १९७९ मा गएर देसाईको सरकार ढल्यो र चरण सिंहले अन्तरिम सरकार बनाए। सन् १९८० मा भारतीय जनता पार्टी निर्माण भएको थियो।  जनवरी १९८० को चुनावमा मा कांग्रेस आइले बहुमत प्राप्त गरेपछि इन्दिरा गांधी पुनः सत्तामा फर्किइन्। त्यसपछि उनको सरकारले छैटौं पंचवर्षीय योजनामा धेरै आर्थिक सुधारका कामहरू गर्‍यो।

स्वतन्त्रता प्राप्त गरेपछिदेखि नै भारत र पाकिस्तानको बीचमा तनावपूर्ण प्रतिद्वन्द्विता चलिरहेको थियो। शुरूमा विवादको मुख्य स्रोत कस्मिर थियो। कस्मिरका हिन्दु महाराजाले त्यसबेला भारतमा सामेल हुने विकल्प चुनेका थिए। तर उनका अधिकांश जनता मुश्लिम थिए। भारतका अनुसार राजाको फैसला र त्यसपछि कश्मिरमा भएको चुनावले यसलाई भारतको अभिन्न अंग बनाइदिएको छ। यही विवादको कारण १९४७ मा र १९६५ मा दुवै देशबीचमा युद्ध भएको थियो। डिसेम्बर १९७१ मा तत्कालीन पूर्वी पाकिस्तानमा राजनीतिक संकट र लाखौं बंगाली शरणार्थी भारतमा भागेपछि पाकिस्तान र भारतको बीचमा फेरि युद्ध भयो। यो युद्धले पश्चिमको स्थितिलाई धेरै हदसम्म अपरिवर्तित छोडिदियो तर पूर्वमा एक निर्णायक भारतीय जितको परिणामस्वरूप बंगलादेशको जन्म भयो। सन् १९७१ को युद्धपछि भारत र पाकिस्तानको बीचको सम्बन्धमा केही सुधार भयो। जुलाई १९७२ मा भारतीय प्रधानमन्त्री इंदिरा गांधी र पाकिस्तानी राष्ट्रपति जुल्फिकर अली भुट्टोको बीचमा भारतीय हिल स्टेशन शिमलामा भेटघाट भएको थियो। उनीहरूले एक सम्झौतामा हस्ताक्षर गरेर भारतले पश्चिममा कब्जा गरेका सबै कर्मचारी र क्षेत्र फिर्ता गर्ने तथा दुवै देशले द्विपक्षीय वार्ताको माध्यमबाट शान्तिपूर्ण तरीकाले आफ्ना मतभेदहरूको समाधान गर्ने निर्णय गरेका थिए। सन् १९७६ मा राजनीतिक र व्यापारिक सम्बन्ध पुनः स्थापित गरिएको थियो।

सन् १९७९ मा अफगानिस्तानमा सोभियत संघको आक्रमणपछि भारत-पाकिस्तान सम्बन्धमा फेरि नयाँ तनाव सिर्जना भयो। पाकिस्तानले अफगानिस्तान प्रतिरोधको समर्थन गरेको थियो भारतले सोभियत संघको कब्जाको अप्रत्यक्ष रूपमा समर्थन गरेको थियो। त्यसपछिका ८ वर्षमा भारतले पाकिस्तानी हतियार खरिद, पाकिस्तानलाई अमेरिकी सैन्य सहायता र पाकिस्तानको परमाणु हतियार कार्यक्रममाथि बढ्दो चिन्ता व्यक्त गर्‍यो। तनाव कम गर्ने प्रयासमा दुवै देशले एक संयुक्त आयोगको गठन गरे। डिसेम्बर १९८८ मा प्रधानमन्त्री राजीव गान्धी र वेनेजिर भुट्टोले एक-अर्कोको परमाणु सुविधाहरूमा आक्रमण नगर्ने सम्झौता गरे। त्यसपछि सांस्कृतिक आदानप्रदान र नागरिक उड्डययन सम्झौता पनि शुरू गरियो।

सन् १९८० को दशकमा भारतमा पनि मन्दीले धेरै ठूलो असर पुर्‍याएको थियो। यही बेलामा पंजावमा सिखहरूले स्वतन्त्रता आन्दोलन चलाइरहेका थिए। त्यसपछि जर्नेल सिंह भिंडराव नामक व्यक्ति र उनका सशस्त्र समर्थकहरूले अमृतसरको स्वर्णमन्दिर कब्जा गरे। त्यसपछि मई १९८४ मा भारतीय सेनाले ब्लू स्टार अपरेशन मार्फत् मन्दिरलाई घेरा हाले। उनीहरूले मन्दिरमा कट्टरपन्थीमाथि आक्रमण गरे तर यो प्रक्रियामा उनीहरूले सिख धर्मका सबभन्दा पवित्र स्थानलाई नष्ट बनाए। त्यसपछि ३१ अक्टुबर १९८४ मा  इन्दिरा गान्धीका आफ्नै सिख अंगरक्षकले यसको बदलास्वरूप उनको हत्या गरिदिए। त्यसपछि उनका छोरा राजीव गांधी उत्तराधिकारी बने। यसपछिको बदलावपूर्ण दंगामा धेरै मानिसहरूको मृत्यु भयो।  डिसेम्बर १९८४ मा भोपालको मध्य शहरमा अमेरिका अन्तर्गत यूनियन कार्बाइड कोर्पको स्वामित्वमा रहेको कीटनाशक संयन्त्रबाट घातक ग्यास लीक भयो र यसबाट लगभग ६५०० मानिसको मृत्यु भयो।

राजीव गान्धीले सत्ता सम्हालेपछि उद्योगहरुको नियन्त्रणलाई स्वतन्त्र बनाए र भारतीय अर्थव्यवस्थालाई एकपटक तीव्र रूपमा बढाउनमा महत्त्वपूर्ण भूमिका खेले। उनले विज्ञानप्रविधिको प्रोत्साहनस्वरूप दूरसंचार उद्योग र भारतको अन्तरीक्षय कार्यक्रमको विस्तार गरे। उनले सफ्टवेयर उद्योग र सूचनाप्रविधिको क्षेत्रमा पनि धेरै विकास गरे। सन् १९८७ मा बहुसंख्यक सिंहल र अल्पसंख्यक तामिलहरूको बीचमा भएको तनावपछि श्रीलंकामा शान्ति र सामान्य स्थिति स्थापित गर्नको लागि भारत र श्रीलंकाबीच एक सम्झौतामा हस्ताक्षर भयो, जसानुसार भारतले श्रीलंकामा सैनिक तैनाथ गर्‍यो। सन् १९८८ मा प्रम राजीव गांधीले चीनको भ्रमण गरे र देङ स्यायोपिंगसँग भेट गरे। ३४ वर्षपछि भारतीय प्रमले चीन भ्रमण गरेको यो पहिलो पटक थियो। उनीहरूले सीमा क्षेत्रमा शान्ति सुनिश्चित गर्नको लागि एक निश्चित समयसीमाभित्र सीमा सम्बन्धी प्रश्नको  समग्र रूपले समाधानको लागि ठोस सिफारिस गर्न एक संयुक्त कार्यदल निर्माण गर्ने कुरामा सहमति गरे। सन् १९८९ मा जम्मु-कश्मिरमा उग्रवादी स्थिति सिर्जना भयो। राजीवको काँग्रेस सरकारले सन् १९८९ मा राष्ट्रिय चुनाव घोषणा गर्‍यो। यो चुनावमा राजीव गांधी र काँग्रेसले कुनै अन्य पार्टीहरूको तुलनामा धेरै सिट जित्यो तर स्पष्ट बहुमतसहित सरकार बनाउन भने असमर्थ बन्यो। त्यसपछि जनता दल, विपक्षी दलहरूको एक संघ दायाँबाट हिन्दु राष्ट्रवादी भाजपा र बाँयाँबाट कम्युनिष्टहरूसँग सामेल भयो। ७ अगस्ट १९९० मा नेशनल फ्रन्ट सरकारले केन्द्रीय सेवा र सार्वजनिक संस्थानहरूमा रोजगारीको लागि “सामाजिक र शैक्षणिक रूपले पिछडिएका वर्गहरू” लाई २७ प्रतिशत आरक्षण दिने घोषणा गरेको थियो। नोभेम्बर १९९० मा यो कमजोर गठबन्धन भंग भयो र काँग्रेस (आई) को समर्थनमा जनता दल थोरै समयको लागि सत्तामा आयो।  त्यसपछि चंन्द्र शेखर प्रधानमन्त्री बने। पछि यो गठबन्धन पनि भंग भयो र जून १९९१ मा राष्ट्रिय चुनाव भयो।  २७ मे १९९१ मा कांग्रेस (आई) तर्फबाट तामिलनाडुमा चुनावी प्रचारप्रसार गर्दैगर्दा श्रीलंकाका तामिल चरमपन्थी समूहकी एक महिला आत्मघाती आक्रमणकारीद्वारा राजीव गांधी लगायत उनका अन्य सहयोगीको हत्या गरियो।  चुनावमा काँग्रेस आईले २४४ सिट जित्यो र पीभी नरसिंह रावको नेतृत्वमा गठबन्धन सरकार बन्यो। काँग्रेस नेतृत्वको यो सरकारले पाँचै वर्षको कार्यकाल पूरा गर्‍यो। यो सरकारले आर्थिक उदारीकरण र सुधारको एक क्रमिक प्रक्रिया शुरू गर्‍यो। यसले भारतीय अर्थव्यवस्थालाई विश्व व्यापार र विदेशी र निजी लगानीको लागि खुला गर्‍यो । भारतको घरेलु नीतिले पनि एक नयाँ आकार  लियो। काँग्रेशको राष्ट्रवादी अपिलपछि धेरै क्षेत्रीय पार्टीहरू बन्दैगए। १९९० को दशकमा भारतमा अर्थव्यवस्थालाई धेरै नियन्त्रणमा लिइएको थियो। सन् १९९२ मा अयोध्यामा राम जन्मभूमि विवादको क्रममा हिन्दु चरमपन्थीद्वारा बाबरी मस्जिदलाई विध्वंस बनाएपछि हिन्दु र मुसलमानहरूको बीचमा भएको साम्प्रदायिक हिंसाबाट भारतमा धेरै ठूलो असर परेको थियो। यसमा दस हजारभन्दा बढी मानिसको मृत्यु भएको थियो। १२ मार्च १९९३ मा बम्बईमा एकपछि अर्को गरी १२ बम विस्फोट भएको थियो।

सन् १९९६ को वशन्तमा राव नेतृत्वको सरकारको अन्तिम महिनामा ठूला राजनीतिक भ्रष्टाचार र घोटालाहरू देखा परे। यसले काँग्रेस पार्टीको इतिहासमा सबभन्दा खराब चुनावी परिणाम प्रदान गर्‍यो। सन् १९९६ को राष्ट्रिय चुनावमा  हिन्दु राष्ट्रवादी भारतीय जनता पार्टी (भाजपा) लोकसभामा सबभन्दा ठूलो पार्टीको रूपमा उदायो तर संसदमा बहुमत भने थिएन। प्रधानमन्त्री अटल बिहारी बाजपेयीको नेतृत्वमा भाजपाको गठबन्धन केवल १३ दिनसम्म रह्यो। सबै राजनीतिक दल अर्को चुनावबाट बच्न चाहन्थे, त्यसकारण जनता दलको नेतृत्वमा १४ पार्टी गठबन्धनले कर्नाटकका पूर्व मुख्यमन्त्री एचडी देभेगौडाको नेतृत्वमा संयुक्त मोर्चाको रूपमा सरकार बनाइयो। उनीहरूको सरकार काँग्रेस पार्टीले मार्च १९९७ मा आफ्नो समर्थन फिर्ता लिएपछि एकवर्षभन्दा पनि कम समयमा ढल्यो। यसपछि १६ पार्टीको संयुक्त मोर्चा गठबन्धनको प्रमुखको रूपमा सर्वसम्मत इन्द्र कुमार गुजरालले देभेगौडाको स्थान लिए। नोभेम्बर १९९७ मा कांग्रेस पार्टीले फेरि संयुक्त मोर्चाबाट समर्थन फिर्ता लियो। त्यसपछि फेब्रुअरी १९९८ मा भएको चुनावमा भाजपाले संसदमा सबभन्दा धेरै १८२ सिट जित्यो तर पनि बहुमत भने प्राप्त गर्न सकेन। २० मार्च १९९८ मा भाजपाको नेतृत्वमा गठबन्धन सरकार बन्यो र अटल विहारी वाजपेयी फेरि प्रधानमन्त्री बने। सन् १९९८ मई ११ र १३ मा सरकारले भूमिगत परमाणु परीक्षणको एक श्रृखला (पाँच परमाणु बम) आयोजना गर्‍यो र परमाणु हतियार राख्ने देशहरूमा सामेल भयो। त्यसपछि पाकिस्तानले पनि यसको जवाफमा ६ परमाणु हतियारको परीक्षण गरेको थियो। यसबाट अमेरिकी राष्ट्रपति क्लिन्टनले सन् १९९४ को परमाणु प्रसार रोकथाम अधिनियम अनुसार भारतमाथि आर्थिक प्रतिबन्ध लगाए। अप्रिल १९९९ मा भाजपा नेतृत्वको गठबन्ध सरकार फेरि ढल्यो र सेप्टेम्बरमा चुनाव भयो। त्यसपछि अक्टुबर १९९९ मा भाजपा नेतृत्वको राष्ट्रिय लोकतान्त्रिक गठबन्धनले वाजपेयीको नेतृत्वमा सरकार बनाउनको लागि बहुमत हासिल गर्‍यो।

भारत र पाकिस्तानको बीचमा पटक-पटक बिग्रिएको सम्बन्धमा सन् १९९७ मा ३ वर्षको बिरामपछि उच्चस्तरीय भारत-पाकिस्तान वार्ता पुनः शुरू भयो। भारत र पाकिस्तानका प्रधानमन्त्रीहरूको दुईपटक भेट भयो र विदेश सचिवहरूले तीन चरण वार्ता गरे। जुन १९९७ मा लाहोरमा विदेश सचिवहरूले आठ उत्कृष्ट मुद्दाको पहिचान गरेपछि त्यसको वरिपरि रहेर निरन्तर वार्ता भयो। जम्मु कश्मिरको स्थितिमा विवाद वार्ताको एक प्रमुख अवरोध बन्यो। भारतका अनुसार सम्पूर्ण क्षेत्र भारतीय संघको अभिन्न अंग हो भने पाकिस्तानका अनुसार राज्यका जनताको आत्मनिर्णयको लागि संयुक्त राष्ट्र संघका प्रस्तावलाई ध्यान दिनुपर्दछ। त्यसपछि सेप्टेम्बर १९९७ मा कश्मिरमा शान्ति सुरक्षाको विषयलाई लिएर वार्ता भंग भयो। फेब्रुअरी १९९९ मा लाहोरमा दुवै देशका प्रधानमन्त्रीको बैठक र उनीहरूद्वारा गरिएका तीन सम्झौतामा हस्ताक्षरपछि वार्ता फेरि शुरू गर्ने प्रयास भएको थियो। मई १९९९ मा कारगिलमा भारतीय कब्जा भएका क्षेत्रमा पाकिस्तानी समर्थित बलको घुसपैठ र युद्धपछि र त्यही वर्ष अक्टुबरमा पाकिस्तानको सैन्य सत्तापलटपछि यी सबै प्रयास रोकिए। सन् २००० मा उत्तराखंड, छत्तिसगढ र झारखंड नयाँ राज्यहरू बने।  डिसेम्बर २००१ मा भारतीय संसदमाथि लस्करे तोइबा, जैशे मोहम्मद जस्ता पाँच अतिवादीहरूद्वारा आक्रमण भयो। यसको कारणले गर्दा पाकिस्तानसँग पहिलेदेखि रहेको तनाव अझ वृद्धि भयो। १३ डिसेम्बर २००१ मा भारतीय संसदमा आक्रमणपछि भारत-पाकिस्तान सम्बन्ध अझ बिग्रियो किनकि भारतले पाकिस्तानीहरूमाथि आक्रमणमा सामेल भएको आरोप लगायो। २७ फेब्रुअरी २००२ मा गुजरातमा भएको दंगमा ७०० जनाको ज्यान गयो। जम्मु कश्मिरमा हत्याको कारण तनाव अझ बढ्यो र २००२ को शुरूवातमा दुवै पक्षको तर्फबाट सेनाको तैनाथ गर्ने काम चरम सीमामा पुग्यो। २५ जुलाई २००२ मा भारतलाई आवणविक हतियारमा अगाडि बढाएका एपीजे अब्दुल कलाम राष्ट्रपति भए। सन् २००३ को मुम्बई बमकाण्डमा ५० जनाको ज्यान गयो र यसको दोष मुश्लिम आक्रमणकालीलाई लाइयो।  प्रधानमन्त्री वाजपेयीको १८ अप्रिल २००३ को श्रीनगरमा दिइएको भाषणले भारत-पाकिस्तान सम्बन्धलाई सामान्य बनाउने द्विपक्षीय प्रयासलाई पुनर्जीवित गरेको थियो। यसपछि प्रधानमन्त्री वाजपेयी र राष्ट्रपति मुशर्रफले जनवरी २००४ मा इस्लामबादमा सार्क शिखर सम्मेलनको मौकामा भेटघाट गरे र कश्मिरसहित भारत र पाकिस्तानको बीचमा लम्बिएका मुद्दाहरूमाथि एक समग्र वार्ता शुरू गर्ने सहमति व्यक्त गरे। नोभेम्बर २००३ मा वाजपेयी र मुशर्रफले जम्मु र काश्मिरको नियन्त्रण रेखामा युद्धविराममा सहमति व्यक्त गरेका थिए। यूपीए सरकारले पाकिस्तानसँग समग्र वार्ता गर्ने जिम्मेवारी लिएको थियो। तर पछि फेरि विभिन्न कारणले दुई देशबीचको सम्बन्ध बिग्रिदै गयो।

हिन्दु राष्ट्रवादीले लामो समयदेखि अयोध्याको विवादित स्थलमा मन्दिर बनाउनको लागि आन्दोलन गरिरहेका थिए। फेब्रुअरी २००२ मा मुसलमानहरूको भीडले अयोध्याबाट गुजरात फर्किंदै गरेका  हिन्दु स्वयंसेवकहरूलाई बोकेको एउटा रेलमाथि आक्रमण गर्दा  ५९ जना मानिसहरूको मृत्यु भयो। त्यसपछि सम्पूर्ण राज्यमा भएका मुस्लिम विरोधी दंगामा ९०० भन्दा धेरै मानिसहरूको मृत्यु भयो, सयौं वेपत्ता भए र एक लाखभन्दा बढी मानिस घरबारविहीन हुनपुगे। यसपछि राज्य सरकारले दंगा रोक्न, दंगा फैल्याउनेहरूलाई गिरफ्तार गर्न र उनीहरूमाथि मुद्दा चलाउन पर्याप्त कदम नउठाएको आरोप शुरू हुनलाग्यो।

सन् २००३ को समयावधिमा भारतको तीव्र आर्थिक प्रगति, राजनीतिक स्थिरता र पाकिस्तानसँग एक पुनर्जीवित शान्ति पहलले सरकारको लोकप्रियतामा वृद्धि भएको थियो। भारत  पाकिस्तान हवाइ सेवालाई पुनः संचालन गर्न र ओभरफ्लाइटलाई अनुमति दिन सहमत भएका थिए। यही बेला स्वर्णिम चतुर्भुज परियोजना पनि लागू गरिएको थियो। यसको उद्देश्य आधुनिक राजमार्ग संजालमा अन्यलाई जोड्नु थियो। सन् २००४ को जनवरीमा भारतले चीनको सीमा विवादको समाधान गर्न चीन र भारतको बीचमा उच्चस्तरीय राजनीतिक वार्ता शुरू गर्‍यो। जनवरीमा नै भारतले परमाणु क्षमताको ब्यालेस्टीक क्षेप्यास्त्र परीक्षण गरेको थियो।  जनवरी २००४ मा प्रम बाजपेयीले लोकसभा र आम चुनावको शीघ्र विघटनको सिफारिस गरे। सन् २००४ को अप्रिल र मईमा भएका पाँच चरणको चुनावमा सत्तारूढ गठबन्धनले हार्‍यो र सोनिया गांधीको कांग्रेस नेतृत्वको संयुक्त प्रगतिशील गठबन्धन (UPA) ले आश्चर्यजनक जित हासिल गर्‍यो र २२ मईमा काँग्रेसले सत्ता सम्हाल्यो। विदेशमा (इटली) मा जन्मेकी भनेर सोनिया गांधीको ठाउँमा अर्थाशास्त्री मनोमोहनसिंह प्रधानमन्त्री बने। पछि केही विवाद पनि सृजना भयो। यूपीएमा कांग्रेश पार्टीसहित समाजवादी र अन्य क्षेत्रीय दल थिए। गठबन्धनलाई भारतका कम्युनिष्ट पार्टीहरूको  बाहिरी समर्थन थियो। अब मनोमोहनसिंह भारतको सबभन्दा शक्तिशाली पदमा बस्ने पहिलो सिख र गैरहिन्दु नेता थिए। उनले भारतमा आर्थिक उदारीकरणलाई जारी राखे र केही समयको लागि समाजवादी र कम्युनिष्टहरूको समर्थन प्राप्त गर्नको लागि निजीकरणलाई रोकिदिए। सन् २००४ को अन्तसम्म भारतले कश्मिरबाट आफ्ना केही सैनिकहरूलाई फिर्ता बोलाउन शुरू गरेको थियो। अर्को वर्षको मध्यसम्ममा श्रीनगर-मुजफ्पराबाद बस सेवाको उदघाटन भयो। यो भारत प्रशासित र पाकिस्तान प्रशासित कश्मिरको बीचमा संचालित भएको ६० वर्षमा पहिलो कार्यक्रम थियो। २६ डिसेम्बर २००४ मा हिन्द महासागरमा आएको भूकम्पपछिको सुनामीले  भारतीय समुद्रतट र द्वीपहरूलाई ध्वस्त बनाइदियो र अनुमानित १८००० मानिसको मृत्यु भयो, ५६०० मानिस वेपत्ता भए तथा लगभग  ५ लाखभन्दा बढी मानिस विस्थापित भए। अर्को वर्षको मुम्बई बाढीबाट एक हजार मान्छेको मृत्यु भयो भने कश्मिर भूकम्पमा ७९ हजार मानिसको मृत्यु भयो। यस्ता प्राकृतिक विपदहरूले यतिबेला भारतलाई नराम्रो प्रभावित गर्‍यो। सन् २००५ को अक्टुबरमा दिल्लीको ३ ठाउँमा भएको बम बिस्फोटबाट ६० जनाको मृत्यु भयो र ठूलो नोक्सानसमेत भयो । यो घटनामा पनि मुस्लिम उग्रवादी संलग्न भएको ठानियो।

फेब्रुअरी २००६ बाट संयुक्त प्रगतिशील गठबन्धन सरकारले लगभग ६० मिलियन परिवारलाई गरीबीबाट मुक्त गर्ने उद्देश्यले भारतको अहिलेसम्मको सबभन्दा ठूलो ग्रामीण रोजगार योजना शुरू गर्‍यो। यही बीचमा मई २००६ मा शंकास्पद इस्लामी चरमपन्थीहरूले भारत प्रशासित कश्मिरमा धेरै महिनासम्म भीषण आक्रमणमा ३५ हिन्दुहरूको हत्या भयो र दुई देशको सम्बन्धमा दरार पैदा भयो। मार्च २००६ मा संयुक्त राज्य अमेरिकाका राष्ट्रपति जर्ज डब्ल्यू बुशको भारत यात्राको क्रममा अमेरिकाका र भारतले एक प्रमुख परमाणु सहयोग सम्झौतामा हस्तारक्षर गरे। परमाणु सम्झौता अनुसार अमेरिकाले भारतलाई असैनिक परमाणु प्रविधिसम्म पहुँच प्रदान गर्ने थियो र भारत यसको लागि सहमत थियो। पछि अमेरिकाले एक विवादास्पद कानूनमा सहमति जनाएपछि भारतलाई ३० वर्षमा पहिलो पटक आफ्नो परमाणु रिएक्टर र इन्धन खरिद गर्न अनुमति मिलेको थियो। सन् २००७ मा भारतमा पहिलो महिला राष्ट्रपति प्रतिभा पाटिल बनिन्। यिनी लामो समयसम्म गान्धी-नेहरू परिवारसँग जोडिएकी राजेस्थानकी एक राज्यपाल थिइन्। यही वर्षका विभिन्न समयमा गएका बाढी र पहिरोले २६०० भन्दा बढी मानिसको मृत्यु भयो भने लाखौं घरबारविहीन भए। २००८ मा नै लश्करे तोइवाका दस सदस्यहरूले मुम्बईको ताज होटलसहित अन्य विभिन्न ठाउँमा बमबारी गरेका थिए। जुलाई २००८ मा संयुक्त प्रगतिशील गठबन्धन विश्वासको मतबाट बच्यो। वामपन्थी दलहरूले परमाणु सम्झौतामा आफ्नो समर्थन फिर्ता लिए। धेरै वामपन्थी र क्षेत्रीय पार्टीहरूले सरकारलाई भ्रष्टाचारबाट कलंकित छ भनेर यसको विरोधको लागि एक नयाँ गठबन्धन बनाए। तीन महिनाभित्र अमेरिकी काँग्रेसद्वारा अनुमोदन भएपछि बुशले भारतसँग परमाणु सम्झौतामा हस्ताक्षर गरे। यसले भारतसँग अमेरिकी परमाणु व्यापारमाथि तीन दशकदेखिको प्रतिबन्धलाई समाप्त बनायो। सन् २००८ को अक्टुबरमा भारतले चन्द्रममा मानवरहित चंद्रयान-१ मार्फत पहिलो मिशन सफलतापूर्वक परीक्षण गर्‍यो। अघिल्लो वर्ष भारतले पहिलो वाणिज्यिक अन्तरीक्ष रकेट लन्च गरेको थियो। नोभेम्बर २००८ मा  मुम्बईमा भएको आक्रमणको लागि भारतले पाकिस्तानका उग्रवादीहरूलाई दोषी ठहरायो र चलिरहेको शान्ति प्रक्रियामा विरामको घोषणा गर्‍यो। जनवरी २००९ मा भारत र पाकिस्तानले आणविक आक्रमण नगर्ने सम्झौता गरे। यही महिनामा भारतले २९० किमी टाढासम्म मार हान्ने क्षेप्यास्त्र परीक्षण गरेको थियो। अप्रिलमा जी२० सम्मेलनको बेलामा अमेरेकी राष्ट्रपति ओबामा र मनोमोहनसिंहले आतंकवादविरूद्ध एकजुट हुने सहमति गरे। यही महिनामा भारतले इजरायलमा निर्मित रिसोट २ नामको जासुसी भूउपग्रहको प्रक्षेपण गर्‍यो। मई महिनामा अग्नी २ नामको क्षेप्यास्त्र प्रक्षेपण गर्‍यो।  सन् २००९ मा भएको भारतको आम चुनावमा संयुक्त प्रगतिशील गठबन्धनले २६२ सिटमा जित हासिल गर्‍यो, त्यसमध्ये काँग्रेस एक्लैले २०६ सिट जितेको थियो। यसपछि भारतीय काँग्रेसको नेतृत्वमा रहेको युनाइटेड प्रोग्रेसिभ एलाइन्स गठबन्धनले मनमोहन सिंहलाई दोस्रो कार्यकालको लागि प्रम चयन गर्‍यो।  तर कांग्रेस नेतृत्वको सरकारले भ्रष्टाचारका कैयौं आरोपहरूको सामना गर्नुपर्‍यो। त्यसबेला मुद्रास्फिति पनि सबैभन्दा उच्चस्तरमा पुग्यो र खाद्य वस्तुहरूको लगातार बढ्दो मूल्यले एक व्यापक आन्दोलनलाई जन्म दियो। सेप्टेम्बरमा भारतका आन्ध्र प्रदेशका मुख्यमन्त्री तथा  प्रसिद्ध समाजसेवी र राजनितिज्ञ राजशेखर रेड्डीको हेलिकेप्टर दुर्घटनामा मृत्यु भएपछि उनका ७० भन्दा बढी समर्थकहरूले आत्महत्या गरेका थिए। यसलाई संसारको अनौठौ घटनाको रूपमा लिइन्छ। अक्टुबरमा भारतले पृथ्वी २ नामक २५० माइल दूरीमा मार हान्नसक्ने क्षेप्यास्त्रको परीक्षण गरेको थियो।  ८ नोभेम्बर २००९ मा चीनले विरोध गर्दागर्दै पनि १४ औं दलाई लामाले अरूणांचल प्रदेशको तवांग मठको भ्रमण गरेका थिए  र मठाधीशले धुमधासँग उनको स्वागत गरेका थिए। यसले चीन र भारतको सम्बन्धमा थप तिक्तता सिर्जना गरेको थियो।

सन् २०१० को राष्ट्रमण्डल खेलसँग सम्बन्धित विवादले ठूलो समस्या पैदा गरेको थियो। त्यसपछि २जी स्पेक्ट्रमको विषय र आदर्श हाउजिंग सोसाइटी घोटालापछि सरकारको विश्वसनीयतामा धेरै प्रश्नहरू उठे। सन् २०१० को फेब्रुअरीमा भारतले अग्नी ३ नामक क्षेप्यास्त्र परीक्षण गरेको थियो।  यसपछि सन् २०११ को बीचमा एक प्रमुख सामाजिक कार्यकर्ता अन्ना हजारेले भ्रष्टाचारको विरोधमा दिल्लीमा १२ दिनसम्म भोक हड्ताल गरे। त्यसपछि सरकारले भ्रष्टाचारविरोधो कानूनलाई कडा बनाउने घोषणा गर्‍यो। यी सबै कुराको बाबजुद पनि भारतले घरेलु उत्पादनमा उच्च विकास दरसँगै धेरै राम्रो परिणाम देखायो।  अगस्ट २०१० मा लद्दाख क्षेत्रमा आएको बाढीबाट लगभग २५५ नागरिकहरूको मृत्यु भयो भने ९००० भन्दा बढी मानिस प्रभावित भए।  जनवरी २०११ मा भारतले (२०११ -२०१२ को अवधिको लागि)  संयुक्त राष्ट्र संघ सुरक्षा परिषदमा अस्थायी सिट प्राप्त गर्‍यो। सन् २०११ मा सबभन्दा लामो समयसम्म चलेको जनतान्त्रिक वाम शासन समाप्त भयो, किनकि ममता बनर्जीले पश्चिम बंगालमा कम्युनिष्टलाई हराइन्। मार्च महिनामा भारत हतियार आयातमा एक ठूलो देश बनेको थियो। सन् २०१२ मा दिल्लीमा भएको सामूहिक बलात्कार र हत्याको विषय र त्यसपछि भएको नागरिक समाजको विरोधको परिणामस्वरूप बलात्कार र महिलाको विरूद्ध अपराधसँग सम्बन्धित कानूनमा परिवर्तन गरियो। अप्रिल २०१३ मा शारदा समूहको वित्तीय घोटालाको खुलासा भयो। यो पूर्वी भारतमा २०० भन्दा बढी निजी कम्पनीहरूको संघ शारदा समूहद्वारा संचालित योजनाको पतनको कारण भयो। यसबाट  १.७ मिलियनले जम्मा गरेको अनुमानित  २०० देखि ३०० बिलियन रूपैया नोक्सान भयो। जुन २०१३ मा उत्तराखण्ड र अन्य उत्तर भारतीय राज्यहरूमा बिनाशकारी बाढी र भूस्खलनले ५७०० भन्दा बढी मानिसहरूको मृत्यु भयो। अगस्ट-सेप्टेम्बर २०१३ मा मुजफ्फरनगर,उत्तरप्रदेशमा हिन्दु र मुसलमानहरूको बीचमा भएको झडपमा कम्तीमा ६२ जनाको मृत्यु भयो, ९३ जना घाइते भए भने ५० हजारभन्दा बढी विस्थापित भए। नोभेम्बर २०१३ मा भारतले  मंगलयानको नामले जानिने पहिलो इन्टरप्लेनेटरी मिशन, मार्श अर्बिटरी मिशनलाई मंगल ग्रहमा लन्च गर्‍यो र सफलता हासिल गर्‍यो। त्यसकारण २ सेप्टेम्बर २०१४ मा इसरो सोभियत अन्तरीक्ष कार्यक्रम, नासा र यूरोपीय अन्तरीक्ष एजेन्सीपछि मंगल ग्रह पुग्ने चौथो अन्तरीक्ष एजेन्सी बन्यो। इसरोको माध्यमबाट आफ्नो प्रयासमा मंगल ग्रह पुग्ने भारत पहिलो देश बन्यो। सेम्प्टेम्बर २०१४ मा जम्मु कश्मिरमा भारी वर्षाको कारण बाढीले गर्दा २७७ जनाको मृत्यु भयो र ठूलो नोक्सान पुग्यो।

सेप्टेम्बर २०१३ मा गुजरातका मुख्यमन्त्री नरेन्द्र मोदीलाई २०१४ को लोकसभा चुनावमा प्रधानमन्त्री पदको लागि भाजपाको उमेदवार घोषणा गरियो। भाजपा नेता लालकृष्ण आडवानी लगायतले यसको विरोध गरे। चुनावको क्रममा पार्टीद्वारा प्रयोग गरिएको रणनीतिको विपरीत मोदीले भाजपाको शैलीले चुनाव अभियानमा प्रमुख भूमिका खेले। सन् २०१४ को शुरूवातमा भएको १६औं राष्ट्रिय आम चुनावमा भाजपा नेतृत्वको एनडीएले भारी जित हासिल गर्‍यो र गठबन्धनलाई पूर्ण बहुमत प्राप्त भयो। त्यसपछि मोदीको नेतृत्वमा राष्ट्रिय जनतान्त्रिक गठबन्धन सरकार बनाइयो। त्यतिबेलादेखि  मोदी अहिलेसम्म पनि भारतको प्रधानमन्त्रीको रूपमा रहेका छन्। तेलंगना आन्दोलनबाट जुन २०१४ मा गएर भारतको २९औं राज्यको रूपमा तेलंगना राज्यको गठन भयो। सन् २०१४ मा नै प्रधानमन्त्री जनधन योजना, सरकारको प्रमुख वित्तीय समावेशिता कार्यक्रम शुरू गरियो। मोदीको सरकारको व्यापक जनादेश र लोकप्रियताले भाजपालाई भारतका अन्य धेरै राज्यहरूको विधानसभा चुनावमा विजय हासिल गर्न पनि मद्दत मिल्यो। मोदी सरकारले निर्माणका आधारभूत ढाँचालाई बढाउनको लागि विभिन्न पहल र अभियान संचालन गर्‍यो। यसले विशेष रूपमा मेक इन इण्डिया,  डिजिटल इण्डिया र स्वच्छ भारत अभियन, आदिजस्ता कार्यक्रम संचालन गर्‍यो। मोदीको मेक इन इण्डियाको उद्देश्य  कम्पनीहरूलाई भारतमा आफ्ना उत्पादनहरूको निर्माण गर्न र उनीहरूको लगानी बढाउनको लागि प्रोत्साहित गर्नु थियो। सन् २०१६ मा प्रधानमन्त्री उज्यालो कार्यक्रमले गरीबीको रेखाभन्दा तलका महिलाहरूलाई एलपीजी कनेक्सन प्रदान गर्नको लागि पूर्वशुल्लक बिना ऋण दिने काम शुरूवात भयो। यही बेलामा सरकारले ५०० र १००० का नोटहरूको विमुद्रीकरणको घोषणा गर्‍यो। सन् २०१७ को उत्तरप्रदेश विधानसभा चुनावमा भाजपाले शानदार जित हासिल गर्‍यो।  सन् २०१७ मा भारतमा सबभन्दा ठूलो कर सुधार वस्तु एवं सेवा कर (GST) पेश गरियो। मोदी सरकारले भारतीय संविधानको धारा ३७० लाई रद्द गरेर जम्मु-कश्मिरको स्वायत्तताको अन्त्य गरिदियो। आलोचकहरूका अनुसार यो निर्णय भारतको विद्यमान आर्थिक मन्दीबाट ध्यान विकेन्द्रित गर्नको लागि गरिएको थियो। मोदी सरकारले सन् २०१९ मा नागरिकता संसोधन विधेयक पेश गरेको थियो र यसको व्यापक विरोध भएको थियो। फेब्रुअरी २०२० मा दिल्लीमा नागरिकता संशोधन विधेयकको विरोधलाई उक्साउने कारकको रूपमा दंगा  भड्कियो। ५ मई २०२० मा भारत र चीनका सैनिकहरूको बीचमा आक्रामक युद्धपछि भारत-चीन सीमा तनाव बढ्यो। ५ अगस्ट २०२० मा भूमि पूजा समारोहपछि राम जन्मभूमि मन्दिर निर्माण आधिकारिक रूपमा पुनः शुरू भयो। २०२० मा भारतीय कृषि अधिनियमसँगै विरोध प्रदर्शनको सिलसिला जारी रह्यो। यसले अगस्ट २०२० मा भारतीय किसानहरूको विरोधलाई भड्कायो। सन् २०१९ पछि भारतमा कोभिड महामारीले र अन्य कारणले लाखौं व्यक्तिको मृत्यु भयो। २५ जुलाई २०२२ मा द्रौपदी मुर्मू भारतकी नयाँ राष्ट्रपति बनिन्। उनी भारतकी पहिलो आदिवासी महिला थिइन्। अप्रिल २०२३ मा भारतको जनसंख्या चीनको भन्दा बढी भयो र संयुक्त राष्ट्रसंघका अनुसार अहिले भारतको जनसंख्या १४२.५ करोड भएको अनुमान लगाइन्छ। २०२३ को जुलाईमा भारतीय अन्तरीक्ष अनुसन्धान संगठनले चन्द्रमाको अन्वेषण गर्न एक मानवरहित अन्तरीक्षयान चन्द्रायन २ पठायो र यसले सफलतापूर्वक अवतरण गर्‍यो। यससँगै कम अन्वेषण गरिएको उक्त भागमा पुग्ने भारत पहिलो देश बनेको छ । चन्द्रमाको सतहको दक्षिणी ध्रुबमा पुग्ने यो नै भारतको पहिलो नियन्त्रित अवतरण हो। र, भारत सफलतापूर्वक चन्द्रममा पुग्ने चौथो देश भएको छ।  सन् २०२३ को सेप्टेम्बर ९ र १० मा भारतको नयाँ दिल्लीमा “एक पृथ्वी, एक परिवार, एक भविष्य” विषयमा १८औं जी२०शिखर सम्मेलन भयो र यो सम्मेलनमा खाद्य सुरक्षा, जलवायु परिवर्तन, ऊर्जा, स्वास्थ्य हेरविचार र डिजिटलाइजेसन जस्ता महत्त्वपूर्ण विश्वव्यापी विषयहरूमा छलफल केन्द्रित भएको थियो। भारतले जी२०को अध्यक्षता ब्राजिललाई सुम्पिएपछि यो सम्मेलन सकारात्मक रूपमा सम्पन्न भयो।

एक्काइशौं शताब्दीमा भारतले नक्सलबाडी-माओवादी लगायतका अन्य धेरै विद्रोहहरूको सामना गरिरहेको छ र यी विद्रोहहरूको सही ढंगले व्यवस्थापन गर्न सकिरहेको छैन। जम्मु कश्मिरको समस्या, बाहिरी इस्लामिक आतंकवादी अभियानले ठूलो समस्या बनाइरहेको छ। मुम्बई, नयाँ दिल्ली, पंजाव, बैंगलोर र हैदरावाद जस्ता प्रमुख शहरहरूमा बम विस्फोटका घटनासँगै भारतले विभिन्न चरमपन्थी, कट्टरतावादी र कतिपय आतंवादी हमलाको पनि सामना गरिरहेको छ। भारतले नेपाल, चीन, पाकिस्तानसँगको सीमा विवादलाई पनि समाधान गर्न सकेको छैन। भारतले आन्तरिक समस्या समाधान गर्ने दिशामा सही र वैज्ञानिक ढंगले योजना निर्माण गरेर अगाडि नबढ्दा यसबाट अझ धेरै समस्याहरू निम्तिदै जाने देखिन्छ।  यद्यपि भारतले विदेशी सम्बन्धमा व्यापक सुधार गर्दै गएको छ। भारतमा विज्ञानप्रविधिको विकास पनि तीव्र गतिमा भइरहेको छ।  भारतको अर्थव्यवस्था तीव्र रूपमा अगाडि बढिरहेको छ र कतिपयले भारतलाई एउटा संभावित महाशक्तिको रूपमा पनि हेर्ने गरेका छन्।

सन्दर्भ स्रोतहरू

  1. A COMPREHENSIVE HISTORY OF INDIA, Henry Beveridge, Publisher: Suryodaya Books
  2. AN ADVANCED HISTORY OF INDIA, R.C. Majumdar, H.C. Raychaudhuri and Kalikinkar DattaPublisher:Macmillan India Limited
  3. The Shortest History of India
  4. A Brief History of India By Tim Lambert
  5. From the World’s Oldest Civilization to Its Largest Democracy—A Retelling for Our Times by John Zubrzycki
  6. Glimpses of World History, Jawaharlal Nehru, Publisher Penguin Books
  7. A Brief History of India By Alain Daniélou Translated by Kenneth F. Hurry Published by Inner Traditions Distributed by Simon & Schuster
  8. The Discovery of India, Jawaharlal Nehru, Imprint: Penguin
  9. हडप्पा सभ्यता और वैदिक साहित्य – हिन्दी, भगवान सिंह, राधाकृष्ण, नयाँ दिल्ली
  10. आधुनिक एशिया (१८३९-१९४९), हिन्दी, कौलेश्वर राय, किताब महल
  11. आधुनिक भारत (१७५७-१९५०), हिन्दी, कौलेश्वर राय, किताब महल
  12. आधुनिक भारत का इतिहास – एक नवीन मूल्यांकन, हिन्दी, एस चन्द, विएल ग्रोवर, अलका मेहता, यशपाल, हंशराज कलेज
  13. एशिया का आधुनिक इतिहास, हिन्दी, सत्यकेतु विद्यालंकार, श्री सरस्वती सदन, नयाँ दिल्ली
  14. विश्व सभ्यता का संक्षिप्त परिचय, हिन्दी, लेखक – राम जगिना त्रिपाठी, ओमप्रकाश मालवीय, सेन्ट्रल बुक डिपो, इलाहावाद
  15. भारत आदिम साम्यवाद से दासप्रथा तक का इतिहास, हिन्दी, श्रीपाद अमृत डांगे, पिपुल्स पब्लिसिंग हाउस
  16. विश्व राष्ट्र परिचय, उमेश भुसाल, एशिया पब्लिकेसन
  17. आधुनिक भारतको इतिहास – बम बहादुर अधिकारी, डिकुरा पब्लिकेसन
  18. भारतको आधुनिक इतिहास – डा राजेश गौतम, भुँडीपुराण प्रकाशन
  19. https://anantjivan.in/history-of-india-in-hindi
  20. https://www.hindinotes.org/
  21. http://www.worldrover.com/
  22. https://localhistories.org/
  23. Study and Research of various websites, Blogs, youtube channels, Magazines, Journals, Newspapers, online portal and etc.
  24. http://www.historymaps.com
  25. https://leverageedu.com/
  26. https://bharatdiscovery.org/
  27. https://testbook.com/hi/
  28. https://www.gyanipandit.com/category/history/
  29. https://hindi.mapsofindia.com/history/


2 responses to “विश्व इतिहास : एशिया – भारतको इतिहास – एक अध्ययन”

Leave a comment

About Me

I am a student of philosophy and nature. I thoroughly research all subjects and summarize them in Nepali and English. I am Secretary of Marxism Study-Research Academy, Nepal. I am a Social Worker. Education – i) Master of Arts Degree in Political Science – TU, ii) Master of Public Administration Degree – TU, iii) Master of Arts Degree in History-TU, iv) Master of Arts Degree in Nepalese History Culture and Archaeology-TU.

म अध्ययन-अनुसन्धान कार्यमा निस्वार्थ भावले निरन्तर लागेको एक वाम विचारधारायुक्त सामाजिक कार्यकर्ता हुँ। मेरो कुनै पनि राजनीतिक दलसँग संलग्नता नरहेको जानकारी गराउँदछु। मेरा हरेक अध्ययन-अनुसन्धान कार्य शोषण, दमन, अन्याय, अत्याचारका विरुद्ध हुनेछन् । आम श्रमजीवी, भोका-नांगा, गरीब, उत्पीडित जनसमुदायहरूलाई सुशिक्षित गर्ने प्रयत्न मेरो कर्तव्य हुनजान्छ । मेरा सबै कार्य जनहितका लागि हुनेछन् भन्ने आशा तथा विश्वासपूर्वक मैले निरन्तर कार्य अगाडि बढाइरहेको हुनेछु। श्रमप्रति सम्मान र शोषणप्रति घृणा नै मेरा कार्यका उद्देश्य हुनेछन्।  

यहाँ तपाईंहरू सबै प्रकारका सामग्रीहरू अध्ययन गर्न र हेर्न पाउनुहुनेछ । अध्ययन गर्नको लागि रूचियुक्त सामग्रीहरू माग गर्नुभयो भने यथासंभव परिपूर्तिसमेत गरिनेछ । यहाँ लेखरचना, पत्रपत्रिका, म्यागजिन,  जर्नल, विभिन्न पुस्तकहरू (नेपाली, अंग्रेजी र हिन्दी भाषामा), डकुमेन्ट्री, फिल्म, आदि सामग्रीहरू खोजेर पढ्न तथा हेर्न सक्नुहुन्छ।

I am a leftist social worker who is selflessly engaged in research work. I inform you that I am not affiliated with any political party. Every study-research work of mine will be against exploitation, oppression, injustice and tyranny. It is my duty to try to educate the common workers, the hungry, the poor, the oppressed masses. I will continue my work with the hope and confidence that all my work will be for public interest. Respect for labor and hatred for exploitation will be the objectives of my work.

Here you will find all kinds of content to study and watch. If you demand for interesting materials to study, they will be provided as much as possible. Here you can search and read articles, newspapers, magazines, journals, various books (in Nepali, English and Hindi languages), documentaries, films, etc.

श्रमको सम्मान गर्नुभएकोमा धन्यवाद ।

Thank you for respecting the labor.

Newsletter

Marxism-मार्क्सवाद

Communist history

Philosophy-दर्शन

लेनिन-LeninLeninism

दस्तावेज-documents

धर्म-दर्शन

त्रिपिटक–बुद्ध

गीता सार

Politics–राजनीति

ग्रन्थ परिचय

Mao-Maoism

साहित्य- literature

जीवनी-biography

साम्यवाद-communism

युवाबारे-On Youth

कार्ल मार्क्स–Karl Marx

फ्रेडरिक एंगेल्स–F. Engels

भी.आइ.लेनिन–V.I.Lenin

जे. भी. स्टालिन – J.V. Stalin

माओत्सेतुङ – Maotsetung

डिजिटल पुस्तकालय (digital library)

ई-पुस्तकालय -e-library

विज्ञान-प्रविधि (Science-Technology)

सामान्य ज्ञान (GK)

Documentaries and YouTube channels

पुस्तकालय – LIBRARY

नेपाली डिजिटल पुस्तकहरू (Nepali Digital Books)

नेपाली न्यूजपेपर, म्यागजिन र अनलाइन पत्रपत्रिकाहरू (Nepali Newspapers, Online and Nepali Magazines)

English Digital Books : Part – 1 (world communist special books)

English Digital Books : Part – 2

English Digital Books : Part – 3

हिन्दी डिजिटल पुस्तक (Hindi digital Books) भाग – १

हिन्दी डिजिटल पुस्तक (Hindi digital Books) भाग – २

हिन्दी डिजिटल पुस्तक (Hindi digital Books) भाग – ३

हिन्दी डिजिटल पुस्तक (Hindi digital Books) भाग – ४

हिन्दी डिजिटल पुस्तक (Hindi digital Books) भाग – ५

Documentaries and YouTube channels

Uncategorized

ENGLISH SECTION

Design a site like this with WordPress.com
Get started