लेखक -माओत्सेतुङ
अनुवाद तथा सम्पादन – नारायण गिरी
यो सामग्री – SELECTED WORKS OF MAO-TSETUNG, V- 6 बाट लिइएको हो। अरू क्रमशः प्रकाशित हुँदै जानेछन् –
मई, १९३०
स्रोत : माओका रचनाहरूबाट छानिएका लेखहरू (बी), १९६४, भोलम १, पृष्ठ १७-२८।
अनुवाद : माओका रचनहरूबाट छानिएका लेखहरू, १९७१, पृष्ठ ४०-५०।
(१) कुनै अनुसन्धानबिना बोल्ने अधिकार हुँदैन
जबसम्म तपाईं कुनै समस्याको अनुसन्धान गर्नुहुन्न, तबसम्म तपाईं त्यसमाथि बोल्ने अधिकारबाट वंचित हुनुहुन्छ। के यो धेरै कठिन छैन ? बिलकुल छैन। जब तपाईंले कुनै समस्याहरूको, वर्तमान तथ्यहरू र त्यसको विगत इतिहासको अनुसन्धान गर्नुभएको छैन, र त्यसका मूल तत्वहरूको बारेमा केही पनि जान्नुहुन्न भने तपाईंले त्यसको बारेमा जे भने पनि त्यो निस्सन्देह बकवास हुनेछ। बकवास गर्दा कुनै समस्याको हल हुँदैन, जस्तो कि सबैलाई थाहा छ, तपाईंलाई बोल्ने अधिकारबाट वंचित गर्नु किन अन्यायपूर्ण हुन्छ ? धेरै कम कमरेडहरू सधैं आफ्ना आँखा बन्द राख्दछन् र बकवास गर्दछन्, र एक कम्युनिष्टको लागि यो अपमानजनक हुन्छ। कुनै कम्युनिष्टले आफ्ना आँखा बन्द गरेर बकवास कसरी गर्न सक्दछ ?
बिल्कुल हुँदैन !
बिल्कुल हुँदैन !
तपाईंले अनुसन्धान गर्नुपर्दछ !
तपाईंले बिल्कुल बकवास गर्नुहुँदैन !
(२) कुनै समस्याको अनुसन्धान गर्नु नै त्यसलाई हल गर्नु हो
तपाईं कुनै समस्याको समाधान गर्न सक्नुहुन्न ? ठीक छ, तल आउनुहोस् र वर्तमान तथ्यहरू एवम् त्यसको विगत इतिहासको अनुसन्धान गर्नुहोस् ! जब तपाईंले समस्याको पूर्ण रूपले अनुसन्धान गर्नुहुनेछ, तब तपाईंलाई यो कसरी हल गर्ने भन्ने कुरा थाहा हुनेछ। निष्कर्ष सधैं अनुसन्धान पछि आउँदछन्, त्योभन्दा पहिले होइन। केवल एउटा मूर्ख व्यक्तिले मात्र कुनै अनुसन्धान बिना आफ्नो दिमागलाई एक्लै वा एक समूहसँग मिलेर “समाधान खोज्न” वा “एउटा विचार विकसित गर्न” को लागि प्रेरित गर्दछ। कुन कुरामा जोड दिइनुपर्दछ भने यसबाट संभवतः कुनै प्रभावकारी समाधान वा कुनै असल विचार प्राप्त हुन सक्दैन। अर्को शब्दमा, ऊ गलत समाधान र गलत विचारमा पुग्नको लागि विवश हुन्छ।
छापामार दस्ताका नयाँ-नयाँ नेता र कार्यकर्तामा सामेल धेरै साथीहरू अनुसन्धानको काम गर्दछन्, जो कुनै स्थानमा पुग्ने वित्तिकै राजनीतिक घोषणा गर्न मन पराउँदछन् र यताउता अड्किन्छन्, यसको आलोचना गर्दछन् र यसको निन्दा गर्दछन्, जबकि उनीहरूले केवल चीजहरूको सतह वा सामान्य विवरण देखेका हुन्छन्। यस्ता विशुद्ध रूपले मनोगत निरर्थक कुराहरू वास्तवमा घृणित हुन्छन्। यी मानिसहरू चीजहरूलाई गडबड बनाउन, जनताको विश्वास गुमाउन र कुनै पनि समस्यालाई हल गर्नमा असमर्थ हुनको लागि विवश हुन्छन्।
जब उनीहरूका सामु कठिन समस्याहरू आउँदछन्, तब अग्रणी पदमा बसेका धेरै मानिस तिनीहरूलाई हल गर्नमा सक्षम नभइकन विलाप गर्दछन्। उनीहरू धैर्य गुमाउँदछन् र उनीहरूसँग “योग्यता छैन र उनीहरू काम गर्न सक्दैनन्” भन्ने आधारमा स्थानान्तरणको माग गर्दछन्। यी कायरहरूका शब्द हुन् ।
आफ्ना दुवै खुट्टाहरूमा अगाडि बढ्नुहोस्, आफ्नो शक्तिको माध्यमबाट राखिएका प्रत्येक क्षेत्रको चक्कर लगाउनुहोस् र “हरेक चीजको जाँच गर्नुहोस्”१५ जस्तो कि कन्फ्यूशियसले गरेका थिए, र त्यसपछि तपाईं समस्याहरूको समाधान गर्नमा सक्षम हुनुहुनेछ, भलै तपाईंको क्षमता जतिसुकै किन नहोस्; यद्यपि बाहिर जानुभन्दा पहिले तपाईंको टाउको खाली हुन सक्दछ, तर जब तपाईं फर्किनुहुनेछ, तब यो खाली रहनेछैन, र यसरी नै समस्याहरूको समाधान गरिन्छ। के तपाईंले ढोका बाहिर जानुपर्दछ ? आवश्यक रूपले पर्दैन। जसलाई तपाईं कठिन समस्या भन्नहुन्छ, त्यसको स्रोतसम्म पुग्नको लागि तपाईं स्थितिसँग परिचित मानिसहरूको एक तथ्य-खोज बैठक बोलाउन सक्नुहुन्छ र यो अब कसरी हो भन्ने कुरा जान्न सक्नुहुन्छ, र त्यसपछि तपाईंको कठिन समस्यालाई समाधान गर्न सहज हुनेछ।
अनुसन्धानको तुलना गर्भावस्थाको लामो महिनासँग गर्न सकिन्छ, र कुनै समस्याको समाधानको तुलना जन्मको दिनसँग गर्न सकिन्छ। कुनै समस्याको अनुसन्धान (जाँच) गर्नु वास्तवमा त्यसलाई हल गर्नु हो।
(३) पुस्तक पूजाको विरोध गरौं
सांस्कृतिक रूपले पिछडिएका चिनियाँ किसानहरूको मानसिकता अझै पनि पुस्तकमा जुनसुकै कुरा लेखिएको भए पनि त्यो सही नै हुन्छ भन्ने छ। अचम्मको कुरा के छ भने कम्युनिष्ट पार्टीभित्र पनि यस्ता मानिसहरू छन्, जो छलफलमा सँधै भन्छन्, “मलाई देखाउ, किताबमा यो कहाँ लेखिएको छ।” जब हामी भन्दछौं – नेतृत्वको कुनै उच्च अंगको निर्देशन सही छ, तब यस्तो केवल यसकारण होइन कि यो “नेतृत्वको उच्च अंग” बाट आउँदछ, बरू त्यसकारण कि यसको सामग्री संघर्षका वस्तुपरक र आत्मपरक दुवै परिस्थितिहरूका अनुरूप छन् र यसका आवश्यकताहरूलाई पूरा गर्छन्। केवल तिनीहरू उच्च निकायबाट आउँदछन् भनेर औपचारिक रवैया अपनाउनु र निर्देशनहरूमा छलफल नगरीकन र वास्तविक स्थितिहरूको प्रकाशमा तिनीहरूको अनुसन्धान नगरीकन आँखा चिम्लिएर तिनीहरूको पालना गर्नु गलत हुन्छ। यो औपचारिकताद्वारा गरिएको गलत व्यवहार हो, यसले पार्टीको लाइन र रणनीतिले जनताको बीचमा गहिरो जरा किन जमाएको छैन भन्ने कुरा बताउँदछ। कुनै उच्च अंगको निर्देशनलाई आँखा चिम्लिएर र बिना कुनै असहमति पूरा गर्नु वास्तवमा त्यसलाई पूरा गर्नु होइन, बरू त्यसको विरोध गर्नु वा तोडफोड गर्नु सबभन्दा कलात्मक तरीका हो।
सामाजिक विज्ञानलाई विशेष रूपले किताबहरूबाट पढ्ने तरीका पनि धेरै खतर्नाक हुन्छ र यहाँसम्म कि यसले व्यक्तिलाई प्रति-क्रान्तिकारी मार्गमा पनि लैजान सक्दछ। यसको स्पष्ट प्रमाण कुन तथ्यबाट प्राप्त हुन्छ भने सामाजिक विज्ञानको अध्ययनमा स्वयंलाई किताहरूसम्म मात्र सीमित राखेको चिनियाँ कम्युनिष्ट पार्टीको पूरा समूह प्रति-क्रान्तिकारीहरूमा बदलिएको छ। हामी मार्क्सवाद सही छ भन्दछौं भने यो निश्चित रूपले मार्क्स एक “पैगम्बर” थिए भनेर होइन, बरू कुन कारण हो भने उनको सिद्धान्त हाम्रो व्यवहारमा र हाम्रो संघर्षमा सही सावित भएको छ। हामीलाई आफ्नो संघर्षमा मार्क्सवादको आवश्यकता छ। उनको सिद्धान्तको हाम्रो स्वीकृतिमा “भविष्यवाणी” जस्तो रहस्यमय धारणको कुनै औपचारिकता कहिल्यै पनि हाम्रो दिमागमा आउँदैन। जसले मार्क्सवादी किताब पढेका छन्, उनीहरू क्रान्तिबाट विमुख भएका छन्, जबकि अनपढ कार्यकर्ता प्रायः मार्क्सवादलाई राम्रोसँग बुझ्दछन्। अवश्य हामीले मार्क्सवादी पुस्तकहरूको अध्ययन गर्नुपर्दछ, तर यो अध्ययन हाम्रो देशको वास्तविक परिस्थितिहरूसँग जोडिएको हुनुपर्दछ। हामीलाई किताबहरूको आवश्यकता हुन्छ, तर हामीले पुस्तक पूजालाई पराजित गर्नुपर्दछ, जुन वास्तविक स्थितिभन्दा अलग हुन्छ।
हामी पुस्तक पूजालाई कसरी पराजित गर्न सक्दछौं ? वास्तविक स्थितिको अनुसन्धान (जाँच) गर्नु नै एकमात्र तरीका हो।
(४) वास्तविक स्थितिको अनुसन्धान बिना वर्ग शक्तिहरूको मूल्याङ्कन आदर्शवादी हुनेछ, काममा आदर्शवादी पथ-प्रर्शन हुनेछ, यसको निष्कर्ष अवसरवाद वा दुस्साहसवाद हुनेछ ।
के यो निष्कर्षमा तपाईंलाई शंका छ ? यसलाई मान्नको लागि तथ्यले तपाईंलाई विवश गरिदिनेछन्। अनुसन्धान बिनाको राजनीतिक परिस्थितिको मूल्याङ्कन वा संघर्ष संचालन गरेर हेर्नुहोस्, तब यस्तो मूल्याङ्कन वा पथ प्रदर्शन आधारहीन तथा आदर्शवादी छ कि छैन, र अवसरवादी तथा दुस्साहसवादी गल्तीतिर लिएर जान्छ कि जाँदैन भन्ने कुरा पत्ता लाग्दछ। निश्चित रूपमा यस्तै हुनेछ। यो संघर्षमा जानुभन्दा पहिले सावधानीपूर्वक योजना बनाउनमा असफलताको कारण हुँदैन, बरू योजना बनाउनु भन्दा पहिले विशेष सामाजिक स्थितिको अध्ययन गर्नमा असफलताको कारण हुनेछ, जस्तो कि प्रायः हाम्रा लालसेनाको छापामार इकाईमा भएको छ। ल्वी क्वी१६ जस्ता अधिकारीले अपराधीहरूलाई सजाय दिएको बेलामा विवेकले काम लिंदैनन्। परिणामस्वरूप अपराधीले उनीहरूसँग दुर्व्यवहार गरिरहिएको छ भन्ने बुझ्छन्। धेरै विवाद पैदा हुन्छन् र नेताले सम्पूर्ण प्रतिष्ठा गुमाउँदछन्। के लालसेनामा प्रायः यस्तो भएको छैन ?
जनतालाई आफ्नो पक्षमा ल्याउन र दुश्मनलाई परास्त गर्नमा सफल हुनुभन्दा पहिले नै हामीले आदर्शवादलाई निर्मूल गर्नुपर्दछ र अवसरवादी तथा दुस्साहसवादी गल्तीहरूबाट बच्नुपर्दछ। आदर्शवादलाई निर्मूल गर्ने एक मात्र मार्ग प्रयासहरू र वास्तविक स्थितिको अनुसन्धान जारी राख्नु हो।
(५) सामाजिक र आर्थिक अनुसन्धानको लक्ष्य वर्ग शक्तिहरूको सही मूल्याङ्कन गर्नु र त्यसपछि संघर्षको लागि सही कार्यनीति निर्धारित गर्नु हो
यो त्यो प्रश्नको जवाफ हो : हामी सामाजिक र आर्थिक अवस्थाहरूको अनुसन्धान किन गर्दछौं ? यसका अनुसार, हाम्रो अनुसन्धानको निशाना समजका सबै वर्ग हुन्छन्, समाजका आंशिक तत्व मात्र होइन। यसप्रकार लाल फौजका चौथो सेनाका कमरेडहरूले सामान्य अनुसन्धान१७ को काममा ध्यान दिए, तर जुन तरीका उनीहरूमध्ये अधिकांशले अपनाए, त्यो गलत छ। त्यसकारण उनीहरूको अनुसन्धानको परिणाम व्यापारीको खाता जस्तै तुच्छ हुनेछ, वा एक ग्रामीण गँवार शहरमा आउँदा अनौठा कहानीहरू सुनेजस्तै हुनेछ, वा पाहाडको टुप्पाबाट घना जनसंख्या भएको शहरलाई हेर्ने दूरी जस्तै हुनेछ। यसप्रकारको अनुसन्धान धेरै कम अर्थको हुन्छ, यसबाट हाम्रो मुख्य उद्देश्य पूरा हुन सक्दैन। हाम्रो मुख्य उद्देश्य समाजका विभिन्न वर्गहरूको राजनीतिक र आर्थिक स्थितिको जानकारी गर्नु हो। हाम्रो अनुसन्धानको निष्कर्ष हरेक वर्गको वर्तमान स्थिति र त्यसको विकासमा उतारचढावको तस्वीर हुनुपर्दछ। उदाहरणको रूपमा, जब हामी किसानहरूको ढाँचाको अनुसन्धान गर्दछौं, तब मालिक किसानहरू, अर्धमालिक किसानहरू र खेती गर्ने किसान (जो किसान-सम्बन्धहरुको आधारमा अलग-अलग छन्) को संख्या मात्र हामीले जानेर हुँदैन, बरू खासगरी धनी किसानहरू, मध्यम किसानहरू र गरीब किसानहरूको संख्या पनि जान्नुपर्दछ, जो वर्ग वा श्रेणीको आधारमा बाँडिएका हुन्छन्। जब हामी व्यापारीहरूको अनुसन्धान गर्दछौं, तब हामीले प्रत्येक व्यवसाय जस्तो कि अन्न, कपडा, औषधि-जडिबुटी, आदिमा केवल तिनीहरूको संख्या मात्र हेर्नुहुँदैन, बरू हामीले साना व्यापारीहरू, मध्यम व्यापारीहरू र ठूला व्यापारीहरूको संख्या कति छ भन्ने कुरा पनि हेर्नुपर्दछ। हामीले केवल हरेक व्यापारको स्थितिको मात्र अनुसन्धान गर्नु हुँदैन, बरू त्यसमा वर्ग-सम्बन्धहरूको पनि अनुसन्धान गर्नुपर्दछ। हामीले केवल विभिन्न व्यवसायहरूको बीचमा मात्र होइन, बरू विभिन्न वर्गहरूको बीचमा सम्बन्धहरूको पनि अनुसन्धान गर्नुपर्दछ। अनुसन्धानको हाम्रो मुख्य तरीका समाजका विभिन्न वर्गहरूलाई अलग-अलग गर्नु हुनुपर्दछ; उनीहरूको पारस्परिक सम्बन्धलाई बुझ्ने अन्तिम लक्ष्यको लागि वर्ग शक्तिहरूको सही मूल्याङ्कन गर्नुपर्दछ; र त्यसपछि क्रान्तिकारी संघर्षमा कुन मुख्य शक्ति हो, कुन वर्गलाई साथी बनाउने, तथा कुन वर्गहरूलाई ध्वस्त बनाउने भन्ने कुराको निश्चित गरेपछि मात्र संघर्षको लागि सही कार्यनीति निर्धारित गरिनुपर्दछ। यही नै हाम्रो एकमात्र उद्देश्य हुन्छ।
अनुसन्धानमा आवश्यक पर्ने सामाजिक वर्गहरू कुन-कुन हुन् ?
तिनीहरू हुन् :
औद्योगिक सर्वहारा
हस्तशिल्प श्रमिक
खेत मजदूर
गरीब किसान
शहरी गरीब
लम्पट सर्वहारा
हस्तशिल्पकार मालिक
साना व्यवसायी
मध्यम किसान
धनी किसान
जमिन्दार
व्यापारी पूँजीपति
औद्योगिक पूँजीपति
आफ्नो अनुसन्धानमा हामीले यी सबै वर्गहरू, श्रेणीहरूको अवस्थामाथि ध्यान दिनुपर्दछ। आज जुन क्षेत्रमा हामी काम गरिरहेका छौं, त्यहाँ औद्योगिक सर्वहारा र औद्योगिक पूँजीपति छैनन्, बाँकी सबैलाई हामी प्रायः बराबर देख्दछौं। यी सबै वर्गहरू, श्रेणीहरूप्रति हाम्रो कार्यनीति नै हाम्रो संघर्षको कार्यनीति हो।
विगतको अनुसन्धानमा शहरहरूको अवहेलना गरी गाउँहरूमा अतिरिक्त जोड दिने अर्को गम्भीर कमी रहेको छ, जसको कारण शहरी गरीब र व्यापारी पूँजीपतिप्रति कार्यनीतिको बारेमा हाम्रा तमाम साथी अस्पष्ट रहेका छन्। संघर्षको विकासले हामीलाई पहाडहरूबाट मैदान१८ मा ल्यायो ! शरीर हाम्रो तल आयो तर दिमागी रूपमा हामी अझै पनि पहाडमै छौं। हामीले गाउँसँगै शहरलाई पनि बुझ्नुपर्दछ, अन्यथा क्रान्तिकारी संघर्षका आवश्यकताहरूलाई पूरा गर्नमा हामी असमर्थ हुनेछौं।
(६) चीनको क्रान्तिकारी संघर्षको विजय चीनको परिस्थितिको बारेमा साथीहरूको बुझाइमा निर्भर हुनेछ
हाम्रो संघर्षको लक्ष्य जनवाद हुँदै समाजवादलाई प्राप्त गर्नु हो। यो काममा पहिलो कदम श्रमिक वर्गको बहुमतलाई आफ्नो पक्षमा पारी जमिन्दार वर्ग, साम्राज्यवाद र कोमिन्ताङ सरकारलाई उखेलेर फ्याँक्नको लागि किसान जनता एवम् शहरी गरीबहरूलाई जगाएर जनवादी क्रान्ति पूरा गर्नु हो। त्यसपछिको कदम समाजवादी क्रान्ति गर्नु हो, जुन यो संघर्षको विकासबाट नै संभव हुन्छ। यो महान क्रान्तिकारी काम पूरा गर्नु कुनै साधारण वा सजिलो काम होइन, र यो पूर्ण रूपले सर्वहारा पार्टीको सही र दृढ कार्यनीतिमा निर्भर हुनेछ। यदि संघर्षको कार्यनीति गतल छ, वा सुदृढ छैन र ढुलमुल छ भने निश्चित रूपमा क्रान्तिले अस्थायी रूपमा हार खानुपर्नेछ। कुन कुरा दिमागमा राख्नुपर्दछ भने पूँजीवादी पार्टीहरू पनि संघर्षको आफ्नो कार्यनीतिमा निरन्तर बहस-छलफल गर्ने गर्दछन्। उनीहरू मजदूर वर्गको बीचमा संशोधनवादी असरलाई कसरी फैल्लाउने ताकि तिनीहरूलाई गुमराहमा पार्न सकियोस् र कम्युनिष्ट पार्टीको नेतृत्वबाट उनीहरूलाई अलग गर्न सकियोस्; गरीब किसानहरूको विद्रोहलाई दबाउनको लागि धनी किसानहरूलाई कसरी पाउने; र क्रान्तिकारी संघर्षलाई दबाउनको लागि बदमासहरूको गिरोहलाई कसरी संगठित गर्ने भनेर सोच्ने गर्दछन्। जब वर्गसंघर्ष तीव्र भइरहेको हुन्छ र आमनेसामने भइरहेको हुन्छ, यस्तो अवस्थामा विजय प्राप्त गर्नको लागि सर्वहारा वर्गले पूर्ण रूपमा आफ्नो पार्टी कम्युनिष्ट पार्टीको संघर्षको सही र दृढ कार्यनीतिमा नै निर्भर हुनुपर्दछ। कम्युनिष्ट पार्टीको संघर्षको सही र सुदृढ कार्यनीति कुनै पनि हालतमा कार्यालयमा बसेका केही मानिसहरूद्वारा तय गरिंदैन; यो ती मानिसहरूद्वारा तयार गरिन्छ, जो जनसंघर्षको क्रमबाट निस्किएका हुन्छन्, अर्थात् तिनिहरूको वास्तविक अनुभवबाट। त्यसकारण प्रत्येक समय हामीले सामाजिक परिस्थितिहरूको अध्ययन गर्नुपर्दछ र व्यवहारिक अनुसन्धान गर्नुपर्दछ। जुन कमरेडहरू सख्त रूढीवादी, भाववादी र आधारहीन आशावादी छन्, उनीहरू नै के सोच्छन् भने संघर्षको वर्तमान कार्यनीति पूर्ण छ, पार्टीको छैटौं महाधिवेशनको दस्तावेज पुस्तक१९ ले अन्तिम विजयको सुनिश्चित गर्दछ, र केवल स्थापित विधिबाट मात्र सँधैं जित हासिल गर्न सकिन्छ। यी विचारहरू बिल्कुल गलत छन् र यो विचारसँग बिल्कुल मेल खाँदैन कि संघर्षको माध्यमबाट कम्युनिष्टहरूले नयाँ अनुकूल परिस्थिति पैदा गर्नुपर्दछ, तिनीहरूले विशुद्ध रूढीवादी दिशाको नै प्रतनिधित्व गर्दछन्। जबसम्म यसलाई पूर्ण रूपले मेटाइँदैन, यसले क्रान्तिलाई धेरै ठूलो धक्का पुर्याउँदछ र स्वयं साथीहरूलाई पनि नोक्सान पुर्याउँदछ। अवश्य, हाम्रो लालसेनाभित्र चीजहरूलाई जस्ताको तस्तै छोडेर नै सन्तुष्ट हुने केही कमरेडहरू छन्, जसले चीजलाई गहिराइपूर्वक बुझ्दैनन् र आधारहीन आशावादी बनेका छन्, तथा उनीहरू “यही सर्वहारावाद” हो भन्ने भ्रान्तिको प्रचार गर्दछन्। उनीहरू पेटभरी खान्दछन्, दिनभरी कार्यालयको कुर्सीमा बसीरहन्छन्; एक कदमसम्म हिडडूल गर्दैनन्, अनुसन्धानको लागि जनताको बीचमा जाँदैनन्। जब उनीहरू मुख खोल्छन् तब यति लम्बेचौडे कुरा गर्छन् कि मानिसहरूको दिमाग नै बिग्रिन्छ। यी कमरेडहरूलाई जगाउनको लागि हामीले आफ्नो आवाज उठाउनुपर्दछ र उनीहरूलाई जोडपूर्वक भन्नुपर्दछ :
ढिलो नगरीकन आफ्नो रूढीवादी विचार बदल्नुहोस् !
त्यसको ठाउँमा प्रगतिशील र लडाकू कम्युनिष्ट विचार पैदा गर्नुहोस्!
संघर्षमा हाम फाल्नुहोस् !
जनताको बीचमा जानुहोस् र तथ्यहरूको अनुसन्धान गर्नुहोस् !
(७) अनुसन्धानको तरीका
१. तथ्य-संग्रह बैठक बोलाउनुहोस् र बहस-छलफलको माध्यमबाट अनुसन्धान गर्नुहोस् ।
यो एउटा तरीका हो, जसबाट सच्चाईको निकट पुग्न सकिन्छ, केवल यसैबाट निष्कर्ष निकाल्न सकिन्छ। यदि तपाईं बहस-छलफलको माध्यमबाट अनुसन्धान गर्नको लागि तथ्य संग्रह बैठक बोलाउनुहुन्न र केवल एउटै व्यक्तिको अनुभवमा निर्भर रहनुहुन्छ भने गल्तीहरू धेरै सजिलोसँग हुनेछ ! यदि बहस-छलफलमा मुख्य सवालहरूलाई उठाउनुको सट्टा जस्तातस्ता सवाल उठाउनुहुन्छ भने तपाईं संभवतः यस्ता बैठकहरूबाट धेरथोर सही निष्कर्ष निकाल्न सक्नुहुन्न।
२. कस्ता मानिसहरूले तथ्य-संग्रह बैठकमा भाग लिनु पर्दछ ?
तिनीहरू यस्ता मानिस हुनुपर्दछ, जो सामाजिक र राजनीतिक अवस्थाहरूबाट राम्रोसँग सचेत हुनुपर्दछ। जहाँसम्म उमेरको सम्बन्ध छ, बुजुर्गहरू सबभन्दा असल हुनेछन्, किनभने उनीहरूसँग धेरै अनुभव हुन्छन्, उनीहरू केवल के भइरहेको छ भन्ने कुरा मात्र जान्दैनन्, बरू त्यसको कारण र प्रभावहरूलाई पनि बुझ्दछन्। संघर्षको अनुभव राख्ने नयाँ साथीहरूलाई पनि त्यसमा सामेल गरिनुपर्दछ, किनभने उनीहरू प्रगतिशील विचारका हुन्छन् र उनीहरूको दृष्टि तेज हुन्छ। जहाँसम्म पेशाको सम्बन्ध छ, मजदूर, किसान, दोकानदार, बुद्धिजीवी र समय-समयमा सिपाहीहरू एवम् कहिलेकाहीँ घुमन्तेहरूलाई पनि सामेल गर्नुपर्दछ। स्वाभाविक रूपमा जब एक खास विषयमा विचार गरिरहिएको हुन्छ, तब जसलाई त्यससँग कुनै मतलब छैन, तिनको उपस्थितिको आवश्यकता हुँदैन। उदाहरणस्वरूप, जुन समय व्यापारको विषयमा अनुसन्धान गरिरहिएको हुन्छ, त्यस समय मजदूरहरू, किसानहरू र विद्यार्थीहरूको उपस्थिति आवश्यक हुँदैन।
३. ठूलो तथ्य-संग्रह बैठक राम्रो हुन्छ वा सानो ?
यो बैठक संचालन गर्नको लागि अनुसन्धान गर्नेहरूको क्षमतामा निर्भर गर्दछ। यदि उनीहरू यसमा चतुर छन् भने एक दर्जन वा बीससम्म वा अझ ठूलो पनि मानिसहरूको बैठक बोलाउन सकिन्छ। ठूलो बैठकबाट लाभ हुन्छ, जवाफहरूमा तपाईं सही-सही आँकडाहरू (जस्तो कुल किसानहरूमा गरीब किसानहरूको प्रतिशत निकाल्नु) र सही निष्कर्ष (जस्तो भूमिको पुनर्वितरण समान रूपले वा असमान रूपले गर्नु राम्रो हुन्छ भन्ने जान्नु) निकाल्न सक्नुहुन्छ। वास्तवमा, त्यसबाट नोक्सान पनि हुनजान्छ; यदि बैठकको संचालनमा तपाईं निपुण हुनुहुन्न भने त्यसमाथि काबू पाउन तपाईंको लागि कठिन हुनेछ। त्यसकारण बैठकमा सामेल हुने मानिसहरूको संख्या अनुसन्धान गर्नेहरूको क्षमतामा निर्भर गर्दछ। तर पनि कम्तीमा तीन जना त हुनु नै पर्दछ अन्यथा प्राप्त सूचनाहरू यति थोरै हुनेछन् कि वास्तविक स्थिति पत्ता लगाउनको लागि तिनीहरूको प्रयोग नै गर्न सकिंदैन।
४. अनुसन्धानको लागि विस्तृत रूपरेखा तयार गर्नुहोस्
विस्तृत रूपरेखा पहिले नै तयार गरिनुपर्दछ, तिनीहरू अनुसार नै जवाफ दिनको लागि बसेका बैठकमा उपस्थित व्यक्तिहरूलाई प्रश्न सोधिनुपर्दछ। अस्पष्ट र शंकास्पद कुनै कुरालाई बहस-छलफलको लागि सामुन्ने राखिदिनुपर्दछ। विस्तृत रूपरेखामा मुख्य विषय र सहायक विषय तथा विस्तृत कुराहरू सामेल हुनुपर्दछ। उदाहरणको रूपमा, व्यापारलाई मुख्य विषयको रूपमा लिऔं, त्यसका सहायक विषय कपडा, अन्न, अन्य आवश्यकताका चीजहरू वा औषधि-जडिबुटी हुन्; त्यसपछि कपडामाथि विस्तृत कुराहरू हुन सक्दछ – क्यालिको, होमस्पन, सिल्क र साटिन।
५. व्यक्तिगत सहभागिता
शहर-सरकारका अध्यक्षदेखि लिएर केन्द्रीय सरकारका अध्यक्षसम्म, एक सानो सैन्यदलका नेतादेखि लिएर कमाण्डर इनचीफसम्म, पार्टी शाखाका मन्त्रीदेखि लिएर महामन्त्रीसम्म, नेतृत्व गर्ने जिम्मेवारीदेखि सबैले विशेष सामाजिक र आर्थिक अवस्थाहरूको अनुसन्धान व्यक्तिगत रूपले गर्नुपर्दछ र केवल रिपोर्टहरूको अध्ययनमा मात्र निर्भर हुनुहुँदैन। अनुसन्धान र रिपोर्टको अध्ययन दुवै बिल्कुल भिन्न चीजहरू हुन्।
६. गहिराइपूर्वक अनुसन्धान गर्नुहोस्
अनुसन्धानको काम गर्ने कुनै पनि नयाँ व्यक्तिले एक विशेष स्थान जस्तो कि गाउँ वा शहर, अथवा एक विशेष समस्या – अन्न वा मुद्राको बारेमा पूरा ज्ञान प्राप्त गर्नको लागि एक वा दुई अनुसन्धान गहिराइपूर्वक गर्नुपर्दछ। विशेष स्थान वा समस्याको गहिरो अनुसन्धानबाट अन्य स्थान र समस्याहरूको पछिको अनुसन्धान सजिलो हुन्छ।
७. बैठकका नोटहरू आफै लेख्नुहोस्
अनुसन्धान गर्नेले तथ्य-संग्रह बैठकहरूको अध्यक्षता र उपस्थित व्यक्तिहरूको सही पथप्रदर्शन मात्र गर्ने होइन, बरू बैठकका नोटहरूलाई स्वयं लेख्नुपर्दछ, स्वयं त्यसका परिणामहरू दर्ज गर्नुपर्दछ। यो काम कोही अरूले गर्नु राम्रो कुरा होइन।
फुटनोट
१५. हेर्नुहोस्,कन्फ्यूशियसको एनालेक्ट्स पुस्तक III, पा यी : “जब कन्फ्यूशियसले पैत्रिक मन्दिरमा प्रवेश गरे, तब उनले हरेक चीजको जाँच गरे।
१६. ली क्वी : शुई हु जुआन (वाटर मार्जिन) नामक प्रशिद्ध चिनिया उपन्यासका नायक थिए। यो उपन्यासमा उत्तरी सुंग राज्य (९६०-११२७) को अन्तिममा भएको किसान युद्धको वर्णन गरिएको छ। ली क्वी अत्यन्तै असाधारण, स्पष्ट वक्ता तथा किसानहरूको क्रान्तिकारी लक्ष्यप्रति धेरै बफादार थियो तर अपरिपक्व एवम् कौशलहीन थियो।
१७. कमरेड माओत्सेतुङले नेतृत्व सम्बन्धी कार्यनीतिको आधार बनाउने र सामाजिक अनुसन्धानका अत्यन्त महत्त्वपूर्ण काम गर्नको लागि सँधैं अनुसन्धानमाथि धेरै जोड दिएका छन्। कमरेड माओत्सेतुङका प्रयासबाट नै लाल फौजको चौथो सेनामा अनुसन्धानको काम विस्तारै-विस्तारै विकसित भयो। उनले के सिद्धान्त बनाए भने सामाजिक अनुसन्धान हाम्रो कामको नियमित अंग बन्नुपर्दछ र लाल सेनाको राजनीतिक विभागले विस्तृत विवरण तयार गर्यो, जसमा जनसंघर्षको स्थिति, प्रतिक्रियावादीहरूको अवस्था र ग्रामीण क्षेत्रका हरेक वर्गका मानिसहरूको आर्थिक जीवन तथा उनीहरूको स्वामित्वका जमिन जस्ता विषय सामेल थिए। लालसेना जहाँ पुग्यो, त्यहाँ उसले पहिले त्यहाँको वर्गस्थितिबाट जानकारी प्राप्त गर्यो र त्यसपछि जनताका आवश्यकता अनुसार नारा निर्धारित गर्यो।
१८. यहाँ “पहाडहरू ” को तात्पर्य जियांगसी र हुनान प्रान्तहरूको सीमासँग जोडिएका चिंगकांग पहाडी इलाकाहरूसँग हो; “मैदानहरू” को तात्पर्य दक्षिणी जियांगसी र पश्चिमी फूकिनका मैदानहरूसँग हो। जनवरी १९२९ मा माओत्सेतुङले दुई क्रान्तिकारी आधार इलाका तयार गर्नको लागि चिङकाङ पहाडहरूबाट दक्षिणी जियागसी र पश्चिमी फूकिनसम्म लाल फौजको चौथो सेनाको प्रमुख शक्तिको नेतृत्व गरे।
१९. दस्तावेजहरूको किताबमा जुलाई १९२८ मा चिनिया कम्युनिष्ट पार्टीको छैटौं राष्ट्रिय महाधिवेशनद्वारा ग्रहण गरिएका प्रस्ताव, राजनीतिक प्रस्ताव र किसानहरूको सवाल – जमिनको सवाल, राजनीतिकव सत्ताको संगठनको सवाल, आदिमाथि प्रस्ताव सामेल छ।
Leave a comment