धर्म र मार्क्सवाद

एल. एस. कारखानिस

धर्मको उदय र प्रभाव

धर्म हमेशा अस्तित्वमा रहेको छैन। यसको जन्म समाज विकासको विशेष परिस्थिति र चरणमा भएको हो। प्रारम्भिक अवस्थामा मानिसले आगो, वर्षा, विजुली जस्ता प्राकृतिक घटनाहरूको बारेमा बुझ्न सकेको थिएन। आफ्नो अत्यन्त गरीबी र गहन अज्ञानको कारण ऊ प्रकृतिका शक्तिहरूबाट डराउँदथ्यो। यसको साथै यी घटनाहरूबाट ऊ चकित हुने गर्दथ्यो। सूर्योदय र सूर्यास्त, असंख्य ताराहरूले भरिएको आकाश, आकाशमा लगातार चम्किरहेको विजुली र त्यसको आवाज, बादलहरूको गडगडाहट, कहिले घाम चर्किनु र कहिले छायाँ अनि ठण्डी, इत्यादि अनेकौं घटनाहरूले उसलाई प्रभावित गरिरहन्थे। कहिले ऊ चकित हुन्थ्यो त कहिले डराउँथ्यो; कहिले आनन्दित हुन्थ्यो त कहिले दुःखी हुन्थ्यो। उसलाई डरले धेरै सताउँदथ्यो। ऊ स्वयं आफ्नो र आफ्नो समूहका आवश्यकताहरू पूरा गर्न तथा स्वयंलाई सुखी राख्नको लागि प्रयासहरूमा लागिरहन्थ्यो।

यी घटनाहरूलाई नबुझ्नु र चकित हुनु तथा डराउनुको कारणले मानिसको धारणा के बन्दै गयो भने यी अचम्मका घटनाहरूको पछाडि कुनै न कुनै शक्तिले काम गरेको हुनुपर्दछ।

मानिस प्रकृतिबाट अलग अवयव हो र प्राकृतिक शक्तिहरूले उसमाथि असल र खराब प्रभाव पार्दछन्, यस्ता धारणाहरू विकसित हुनलागे। त्यसकारण यी बलवान शक्तिहरूको आराधना गरी उनीहरूको रिस कम गर्ने जस्ता बुझाइ मानिसमा पैदा हुनलागे। मानिसले प्रकृतिलाई अलौकिक शक्ति प्रदान गर्न लाग्यो। ऊ के बुझ्न लाग्यो भने पशु वा मानिसको वलि दिएपछि यी भयंकर प्राकृतिक शक्तिहरू शान्त हुनेछन्, प्रार्थना गरेपछि शान्त हुनेछन्, यज्ञादि गरेपछि वशमा आउनेछन्। यस्तै बुझाइको कारण धर्मको उदय भयो। मानिसले इन्द्र, वरूण, सूर्य, अग्नि र आकाश यी पाँच महाभूतहरूको पूजा गर्नलाग्यो। प्रारम्भमा यिनीहरूको पछाडि यही संसारमा फाइदा हासिल गर्ने विचार गरिरहेका थिए। यसको अर्थ के भयो भने प्रकृति-धर्मको संसारमा विचरण गर्ने व्यक्ति अझै भौतिकवादी नै थियो। आफ्नो जीवनको सुख-सुरक्षाको लागि उसले अन्न, सुरक्षा जस्ता कुराहरूको प्रार्थना गर्नलाग्यो। उसले इच्छाअनुसार वस्तुहरू प्राप्त होस्, अनिष्टबाट बचोस् भनेर कामना गर्नलाग्यो। उसले इन्द्र तथा अन्य देवी-देवताहरूको पूजा-आराधना गर्न लाग्यो र यसको लागि यज्ञ, इत्यादिको तरीका अपनाउन लाग्यो। उसको बुझाइ के थियो भने यज्ञमा दिइएको आहूति ती देवी-देवताहरूलाई प्राप्त हुनेछन र उनीहरू प्रशन्न हुनेछन्। विशिष्ट प्रकारका यज्ञ गर्दा, विशिष्ट आहूति दिँदा उनीहरू अझ खुशी हुनेछन्। त्यसपछि हामीलाई अनाज, आदि प्राप्त हुनेछन्, यसप्रकारको भावना पैदा हुनलाग्यो। र, यदि यसो गरिएन भने ती शक्तिहरू बेखुशी हुनेछन्। यो विचार-प्रक्रिया पूर्णतः भौतिकवादी थियो। हो, यो अलग कुरा हो कि तिनीहरूले तर्कबद्ध दर्शनको रूप अझै लिन सकेको थिएनन्। आदिम समाजको मानिसले आकाशतिर स्वर्ग खोज्नको लागि होइन वा देवताको पूजा गर्नको लागि होइन, बरू बादल कहिले आउनेछ र वर्षा कहिले हुनेछ भनेर हेर्दथ्यो। उसले आगोको खोजी त्यसको पूजा गर्नको लागि होइन, बरू त्यसको सहाराले आफ्नो भौतिक जीवन राम्रो बनाउनको लागि गर्‍यो । तर बलि दिने, प्रार्थना गर्ने र यज्ञ गरेपछि धार्मिक विश्वासको उदय भयो। मानिस प्राकृतिक शक्तिहरूबाट अनजान थियो। उसले तिनीहरूलाई वशमा ल्याउनको लागि पूजा गर्ने गर्दथ्यो। यी पूजा-पाठ, इत्यादि कार्यहरूको फलस्वरूप ऊ धर्मप्रति श्रद्धालु बन्नगयो। त्यसपछि भौतिकवादी दृष्टिको स्थान धार्मिक श्रद्धाले लियो। विधिवत पूजा-पाठ, इत्यादिको लागि रीति-रिवाज तयार भए। पूरोहित पैदा भए, जादू-टुनामुना गर्न लागियो। देवी-देवताहरूको संख्या वृद्धि हुनलाग्यो।

पूरोहित वर्ग अस्तित्वमा आउने वित्तिकै उसले आफ्नो प्रभुत्व कायम गर्न शुरू गर्‍यो। समाजमा उसकैका अनुसार परिवर्तन हुनलाग्यो। चारवर्णीय व्यवस्थाको शुरू हुनलाग्यो। अध्ययन, पढ्ने, धार्मिक अनुष्ठान, इत्यादि ब्राम्हणहरूको काम; लडाइँ र राज्यहरूको संरक्षण क्षेत्रीहरूको र खेतीपातीको काम वैश्यहरू गर्नलागे। यसरी तीन वर्ग पैदा भए। पूर्वीय समाजमा आर्यहरूभन्दा पहिले अस्तित्वमान समूहहरू र लडाइँमा पराजित मानिसहरूलाई शुद्र वर्गमा बदलियो। उनीहरूलाई दास बनाइयो। उनीहरूले माथिका तीन वर्गहरूको सेवा गर्नुपर्‍यो। आदिम अवस्थामा अति पिछडिएका दास अतिशुद्र मानिए। ऋग्वेदमा यही वर्णाधारित समाजको वर्णन छ।

ब्राम्हणहरूको अधिकार स्थायी बनाउनको लागि पूरोहितहरूले जन्मको आधारमा वर्ण-व्यवस्था खडा गरे। यो व्यवस्था श्रममा आधारित नभएर जन्ममा आधारित थियो। त्यसलाई उचित ठहराउनको लागि पाप-पुण्य, उच्च-निच, इत्यादि सिद्धान्तको रचना गरियो। त्यसमध्येबाट जातिहरूको उच्च-निच एमव् संघर्षको स्थिति कामय गरियो।

समाजमा शोषक र शोषित वर्ग पैदा भए। कुनै पनि वर्गीय समाजको सत्ता केवल दण्डनीतिबाट चल्न सक्दैनथ्यो। शोषितहरूलाई दिग्भ्रमित गर्नु पनि त्यति नै आवश्यक थियो। यसको लागि तर्क जुटाइयो। व्यासकृत भागवत गीतासहित महाभारतको रचनाको यही उद्देश्य थियो। भागवत गीताले चार वर्णीय सत्ता व्यवस्थाको धार्मिक-सांस्कृतिक पुष्टि गर्‍यो। भागवतगीता, मनुस्मृति, इत्यादि ग्रन्थहरूको माध्यमबाट चार वर्णीय प्रणालीको समर्थनमा तर्क जुटाइयो र त्यसलाई दैवी स्वरूप प्रदान गरियो। मानव जीवनमा धार्मिक अन्धभक्ति हावी हुनलाग्यो। यसको प्रभाव हामी आज पनि देखिरहेका छौं।

आधुनिक समाजमा धार्मिक विश्वासको कारण

धर्मान्धताको कारणले मानिसको मानवता र सोच्ने शक्ति लुप्त हुन्छ। मानिसमा धर्म र ईश्वरको जबर्जस्त पक्कड हुने कारणले निस्क्रियतामा वृद्धि हुन्छ। धर्मको आधार आध्यात्मिक विचार हो। रहस्यमय विश्वास धर्मको केन्द्रबिन्दु हो। समाज विकासको विशेष चरणमा प्रकृतिप्रति अज्ञानताको कारणले नै धर्म-आध्यात्मले मानव मस्तिष्कमा आफ्नो पक्कड बलियो बनाएको हो।

पूर्वीय परम्परामा प्राचीन कालमा न्याय-वैशेषिकहरूले भौतिकवादी विचार पेश गरेका थिए। उनीहरूले ब्रम्हाण्डको आरम्भबिन्दु भौतिक अणु हो भन्ने कुरा प्रचारित गरेका थिए। तर उनीहरूले आध्यात्मवादीहरूका सबै प्रश्नहरूको उत्तर दिन सकेनन्। अन्ततः उनीहरूले पनि ईश्वरलाई स्वीकारे। सांख्य दर्शनको मूल आधार आध्यात्मवादी नभएर भौतिकवादी थियो। वेदान्तसँग संघर्षको क्रममा उनीहरूले पनि ईश्वरवाद-आध्यात्मवादलाई स्वीकारे। बौद्ध र जैन अनिश्वरवादी थिए। बौद्ध मतअनुसार परलोकको कुनै महत्त्व थिएन। पछि उनीहरूले पनि पुनर्जन्म, मोक्ष, आदि स्वीकार गरे। जैनहरूले अन्तिममा आत्मालाई माने।

यी सम्पूर्ण भौतिकवादी विचारहरूलाई आध्यात्मिक परिकल्पनाहरूमा विजय पाउनमा सफलता प्राप्त भएन। ईश्वर, धर्म, आध्यात्मको पटक-पटक स्थापना भयो। आम मानिसहरूमा धर्मको पक्कड कमजोर भएन।

मात्र चार्वाक र लोकायतवादी नै यसका अपवाद थिए। लोकायतवादीले धर्मलाई मान्दैनथे। उनीहरू अनिश्वरवादी थीए। यति मात्र होइन, उनीहरू पूर्ण रूपले भौतिकवादी थिए। उनीहरूले धर्मका महारथीहरूसँग सम्झौता गरेनन्। त्यसकारण आध्यात्मवादीहरूले उनीहरूको सबभन्दा बढी निन्दा र आलोचना गरे। यहाँसम्मक उनीहरूका रचनाहरू पनि नष्ट गरिदिए। आज चार्वाक-लोकायत विचार स्वयं उनीहरूका शब्दमा उपलब्ध छैन। उनीहरूका विचारहरू उनीहरूका विरोधीहरूद्वारा गरिएका टीका-टिप्पणीहरूको आधारमा उलब्ध हुन्छ।

यसरी जुन अलग विचार पेश गरिए ती धर्मको विरोधमा होइन, बरू धार्मिक सुधारहरूको रूपमा गरियो। पश्चिमी देशहरूमा जस्तो पूर्वी देशहरूमा धर्मविरोधी संघर्ष भएनन्। मतभेद वैचारिक संघर्षहरूसम्म सीमित रहे। त्यसकारण धार्मिक भावना कायमै रह्यो। यसको अतिरिक्त त्यस जमानामा ज्ञान आर्जनको अधिकार मात्र ब्राम्हणहरूलाई थियो। ज्ञानभण्डारमा पनि उनीहरूको एकाधिकार थियो। त्यसकारण अलग विचार भएका मानिस ब्राम्हण नै थिए, जो ब्राम्हणहरूको प्रभुत्वलाई चुनौती दिन सक्दैनथे। ईश्वर, आत्मा, इत्यादिको प्रमाणको कहिलेकाहीँ कुरा आउँदा पूरोहितले एउटै कुरा पटक-पटक भन्थे – “धर्मग्रन्थ वा ईश्वर-समान वेदहरूमा विश्वास नै अमरत्व प्रमाणित गर्नको लागि पर्याप्त छ।”

अन्य स्थानहरूमा पनि यही भयो। महान विद्वान रूसोले भनेका छन् – “ईश्वर र अमरत्वको वास्तविकता एकान्तमा बसेर मानिसको हृदयमा सावित हुन्छ, बुद्धिबाट होइन।” धर्मको प्रमाण हृदय हो। धर्मग्रन्थहरूको रचना पनि मानव हृदयबाट भएको हो। धर्मप्रति भक्तिको लागि मानव-हृदय शुद्ध हुनुपर्दछ। शुद्ध मानव-हृदयको अर्थ हो – अहंकारहीन, काम, क्रोध, इत्यादि मनोविकारहरूबाट मुक्त हृदय। रूसोको सिद्धान्तलाई प्राकृतिक धर्मको सिद्धान्त भनिन्छ।

अन्धश्रद्धा नै धर्मको आधार हुन्छ। निरन्तर भयग्रस्त मानिसले के सोच्छ भने यो जन्ममा भएन भने पनि कम्तीमा अर्को जन्ममा त अवश्य सुख प्राप्ति हुनेछ।

शोषक र शोषितहरूमा विभाजित समाजमा शोषक वर्गको सिद्धान्तले धार्मिक मान्यताहरूलाई बलियो बनाउने शिक्षा दिन्छ। यस्तो समाजमा धर्मले मानिसलाई के सिकाउँछ भने भगवानको इच्छाले नै सबै कुरा हुन्छ। त्यसकारण तिमीले भक्तिभावले भगवानको पूजा गर्यौं भने संकट आफै हट्नेछ। धर्मले  शान्ति कायम राख्न सिकाउँदछ। जे छ त्यसैमा सन्तुष्ट होउ। भगवानको भक्ति गर । शोषक वर्गको विरूद्ध विद्रोह नगर। भगवानमा पूरा भरोसा राख। उसले अवश्य न्याय दिनेछ। यसरी लगातार शोषितहरूको दिमाग धुने काम गरिन्छ।

जब प्रमुख, प्रभावशाली र सुसंस्कृत सत्ताधारी गुटको प्रभुत्व कायम हुन्छ, तब त्यही गुटको धार्मिक सम्प्रदायको प्रभाव पनि हावी हुन्छ। असहाय परिस्थितियुक्त समुदाय यो स्थिति मान्नको लागि विवश हुन्छन् ।

सामन्तवादी युगमा मानिस मरून वा बाँचुन् तर मालिक नमरोस् भन्ने सिद्धान्त सर्वव्यापी थियो। राजा भगवानको अंश हो र उसले कहिल्यै गल्ती गर्दैन भन्ने सिकाइ आम मानिसहरूमा भरिएको थियो। धर्मलाई राजाको संरक्षण मिल्यो। राज्यसत्ता सँगसँगै धर्मसत्ता पनि कायम भयो।

साधारण जनता आफ्ना आधारभूत आवश्यकताहरूको लागि संघर्षरत रहन्छन्। उनीहरूको जीवन दैनिक भौतिक आवश्यकताहरूसँग जोडिएको हुन्छ। उनीहरू असल जीवनको लागि संघर्ष गर्दछन्। तर नयाँ समाज आउँदा पनि जनता सुखबाट वंचित नै हुन्छन्। पूँजीवादी समाजसम्म उनीहरूको दासता आवश्यक नै हुन्छ। जीवनको अनिश्चितता समाप्त हुँदैन। अनपेक्षित संकटको डर खत्तम हुँदैन र धार्मिक अन्धविश्वासको शिकंजा कमजोर हुँदैन।

विगत ५०-६० वर्षको क्रममा विज्ञान र प्रविधिको क्षेत्रमा भारी विकास भएको छ। उत्पादनमा प्रविधिको प्रयोग असाधारण रूपले बढेको छ। मानिसको शक्ति र भौतिक साधनहरूको आधिकारिक प्रयोग गर्नको लागि ज्ञानको तर्कबद्ध प्रयोग आवश्यक हुन्छ र यही नै नयाँ प्रविधिको प्रयोग हो। उत्पादन, सेवा, इतर क्षेत्रहरू, प्रचारप्रसार माध्यमबाट प्रयुक्त ज्ञान नै सूचना क्रान्तिको आधार बन्छ। भोक, बेरोजगारी, अशिक्षा, इत्यादि समस्याहरूलाई जरैदेखि उखेलेर फ्यांक्न र गरीबी जस्ता समस्याहरूलाई सदैवको लागि हटाउने सपना देख्ने कुरा यो वैज्ञानिक-प्राविधिक क्रान्तिको परिणामस्वरूप धेरै संभव छ। यो क्रान्तिको प्रयोगबाट सम्पूर्ण विश्वका मानिसहरूको जीवन धेरै सुखी हुन सक्दछ।

तर आज यसको प्रयोग युद्धका सामान र हतियारहरूको उत्पादनमा अति धेरै भइरहेको छ। शोध र विकासको काम बढीभन्दा बढी यही दिशामा भइरहेको थियो। आज कैयौं मानिसहरू गरीब छन्, अशिक्षित छन्, रोगले मरिरहेका छन्। तर विनाशक हतियार निर्माण र खरिदमा करौडौं खर्च गरिरहिएको छ। युद्धोन्माद बढिरहेको छ। मानिसहरूको असुरक्षा बढिरहेको छ। मानिस डरको छायाँमा बाँचिरहेका छन् र डरले ग्रसित मानिस धर्मको शरणमा गइरहेका छन्।

अर्को कुरा पूँजीवादी विकसित देशहरूले प्रविधिको प्रयोग विकाशशील र अविकसित देशहरूलाई लुट्नको लागि गरिरहेका छन्। वर्तमान परिस्थितिमा नयाँ प्रविधिको प्रयोगले राष्ट्रिय र बहुराष्ट्रिय कम्पनीहरूको बाढी आएको छ। बेरोजगारी र उत्पीडन बढेको छ। विकसित र अविकसित देशहरूको बीचमा अन्तर तीव्र रूपमा बढिरहेको छ। श्रमिकहरूले यसको विरूद्ध आवाज उठाइरहेका छन् र संघर्ष गरिरहेका छन्। तर पनि मानिस धार्मिक अन्धविश्वासको शिकार भइरहेका छन्। विश्वभरमा धनमा असाधारण रूपले वृद्धि भएको छ तर त्यसको फाइदा पीडित जनतालाई मिलेको छैन। त्यसकारण साधारण मानिस आश्वस्त भएर जीवन व्यतीत गर्न पाइरहेका छैनन्।

मानव समाजको प्रारम्भिक कालमा प्रकृतिमा विजय प्राप्त गर्ने साधन थिएनन् वा अधुरा थिए। आज पनि विज्ञानको युगमा साधनहरूको विकास अधुरै छ। भूकम्प, ज्वालामुखी, अतिवृष्टि, अनावृष्टि, बाढी-पहिरो, इत्यादि संकटहरूमाथि नियन्त्रण पाउन कठिन भइरहेको छ। यति मात्र होइन; स्वास्थ्य, शिक्षा, रोजगारी, कानून व्यवस्था जस्ता समस्याहरूको कुनै विश्वासयोग्य समाधान देखिंदैन। त्यसकारण मानवको मन हमेशा अनिश्चितताहरूमा डुब्दै-उत्रिदै रहेको हुन्छ। परिणामस्वरूप मानव मनमा एक डर जस्तै समस्या रहन्छ। यसले नै धर्मको लागि अनुकूल वातावरण निर्माण गर्दछ। धर्मको संरचना उच्चवर्गीय धनी सत्ताकारी वर्गको सोचबुझका तरीकाहरुबाट तयार हुन्छ। उसले सुखको केवल भ्रामक मृगतृण्णा तयार गर्दछ। यो कुरा सर्वसाधारण मानिसले भुल्दछ। ऊ देवताहरूतिर दौडिन्छ। यसरी आधुनिक विश्वमा पनि धर्मको शिकंजा कायमै रहेको छ।

धर्मको बारेमा मार्क्स, एंगेल्स र लेनिनका विचार

कार्ल मार्क्स (१८१८-८३), फ्रेडरिख एंगेल्स (१८२०-९५) र लेनिन (१८७०-१९२४) ले विभिन्न समयमा र अलग-अलग सन्दर्भहरूमा धर्मको बारेमा विस्तारपूर्वक विचार व्यक्त गरेका छन्।

‘धर्म जनताको अफिम हो’ मार्क्सको यो वाक्य सुप्रसिद्ध छ। जहाँ मार्क्सको यो उद्दरणको प्रशंसा गरिएको छ, त्यहाँ उनका विरोधीहरूले यसको तीव्र आलोचना पनि गरेका छन्। त्यसकारण यसलाई पूर्ण रूपले उचित सन्दर्भमा हेर्नु आवश्यक हुन्छ।

मार्क्सले यी शब्द १८४३-१८४४ मा आफ्नो लेख “कन्ट्रिब्यूसन टू द क्रिटिक अफ हेगेल्स फिलोसपी” मा लेखेका थिए। सम्पूर्ण उद्दरण यसप्रकार छ – “धार्मिक कष्टले भरिएका उद्गार मानिसको वास्तविक दुःखले भरिएको जीवनको व्यक्त रूप पनि हो र साथै त्यसको माध्यमबाट उसको विरोध पनि। धर्म पीडित, दुःखी मानवको दुःख हो, त्यो हृदयहीन जगतको हृदय आत्महीन परिस्थितिहरूको आत्मा हो। त्यो जनताको अफिम हो।”

“धर्म मानिसको भ्रामक सुख हो। त्यसको अन्त हुनु आवश्यक छ। जुन समाज-व्यवस्थामा धर्म जस्ता भ्रमहरूको मानिसलाई आवश्यकता पर्दछ, त्यसलाई नष्ट गर्ने कुराको माग गर्नुको अर्थ यस्ता परिस्थितिको अन्तको माग गर्नु हो, जसले यी भ्रमहरूलाई जन्म दिन्छ। धर्मको आलोचनाको अर्थ ती कारणहरूको आलोचना हो, जसले आँसुहरूलाई जन्म दिन्छ, किनभने धर्मले यी परिस्थिति वरिपरि एक पर्दाको काम गर्दछ।”

“धर्मको आलोचनाले मानिसलाई भ्रमबाट मुक्त गर्दछ। भ्रमबाट मुक्त भएर मानिस सोच्न विवश हुन्छ। आफ्नो वरिपरिका परिस्थिति र कार्यहरूमाथि विचार गर्दै वास्तविकता बुझ्न लाग्दछ। ऊ सच्चा स्वरूप धारण गर्न लाग्दछ। मानवीय अस्तित्वलाई नै उसले केन्द्र मान्दछ। धर्म वास्तवमा भ्रममूलक सूर्य हो। जबसम्म मानिस स्वयंलाई केन्द्र मानेर आफ्नो चारैतिर घुम्दैन, ऊ आफ्नो कल्पनाको धार्मिक सूर्यको चारैतिर घुमिरहन्छ।”

“इतिहासको सामु धेरै ठूलो जिम्मेवारी सत्यभन्दा पर जगत लुप्त भएपछि यो विश्वको वास्तविकतालाई प्रतिष्ठापित गर्नु हो। दर्शनको गतिशील कर्तव्य इतिहासको सेवामा रहेको मानव आत्मवंचनाको स्वरूप लुप्त भएपछि ऐतिहासिक स्वरूपहरूको आलोचना गर्नु हो। यसप्रकार स्वर्गको खण्डन भौतिक अस्तित्वको खण्डनमा बदलिन्छ, धर्मको आलोचना मानवरचित नियमहरूको आलोचनामा तथा धर्मशास्त्रीय आलोचना राजनीतिक आलोचनामा बदलिन्छ।”

मार्क्सले धर्म र समाजका भौतिक परिस्थितिहरूका परस्पर सम्बन्धहरूलाई स्पष्ट पारे। मार्क्सका अनुसार मानिसको लौकिक जीवन र उसको अन्तर्विरोध  र विभेदलाई बुझ्ने हो भने तीमाथि क्रान्तिको तरीकाबाट विजय पाउन सकिन्छ। धार्मिक भावनाहरूको उदय सामाजिक जीवनमा असह्य विषाद (उदासीनता) बाट हुन्छ। जस्तो कि त्यसको उदय मानिसको मनभित्र जसरी हुँदैन, त्यसरी नै सामाजिक जीवन बाहिर पनि हुँदेन। मार्क्सका अनुसार धार्मिक विश्व वा धार्मिक भावनाबाट जनित विश्व लौकिक जगतकै परिवर्तित रूप हो।

परिस्थितिको वशमा रहेको मानिस लगातार सुखको खोजमा रहन्छ : यदि यो  जन्ममा भएन भने पनि अर्को जन्ममा नै ठीक ! र, यसैको लागि ऊ  “भगवान” सँग प्रार्थना गरिरहन्छ। यो भ्रमबाट उसलाई छुटकारा दिलाउनको लागि यही जन्ममा सुखको केही व्यवस्था गर्नु जरूरी हुन्छ। यसको लागि समाजमा मूलभूत परिवर्तन गरिनुपर्दछ। त्यसपछि मात्र ईश्वर एवम् धर्ममाथि उसको विवश निर्भरता हट्नेछ।

मानिसलाई यो असह्य परिस्थितिबाट बाहिर निकाल्न र नयाँ समाज बनाउनको लागि उसलाई तयार गर्ने मार्क्सको उद्दश्य थियो। यस सम्बन्धमा उनले भने : “दार्शनिकहरूले अहिलेसम्म विश्वको व्याख्या गरेका छन्; अब समय त्यसलाई बदल्ने हो।”

आफ्नो रचना ड्यूहरिङ्ग मत-खण्डनमा एंगेल्सले धर्मको विषयमा निम्नलिखित प्रस्तावना पेश गरेका छन् – “कुनै पनि धर्म अरू केही होइन, मानिसहरूको दैनिक जीवनमाथि नियन्त्रण राख्ने बाहिरी शक्तिको मानिसमा रहस्यमय प्रतिबिम्बद्वारा नियन्त्रण हो। यो प्रतिबिम्बमा लौकिक शक्तिले पारलौकिक शक्तिको रूप धारण गर्दछ।” एंगेल्सले आत्मा र अमरत्वको चर्चा पनि गरेका छन्।

‘लुडविग  फायरबाख र शास्त्रीय जर्मन दर्शनको अन्त’ नामक आफ्नो रचनामा एंगेल्सले लेखेका छन् – प्रारम्भिक कालमा जब मानिस आफ्नो शारीरिक रचनाको बारेमा बिल्कुल अज्ञानी थियो, तब भूतको बारेमा सपना देखेर मानिस सोच्दथ्यो। इन्द्रिजन्य ज्ञान र संवेदनाहरू शरीरको कार्यप्रणालीका हिस्सा थिएनन्। उनीहरू के ठान्थे भने शरीरमा बस्ने अलग आत्माले मृत्युको बेला शरीर छोड्दछ, त्यो संवेदनशील छ। मानिसले त्यसबेलादेखि आत्मा र बाह्य जगतको बारेमा सोच्न लाग्यो;  उसले सोच्न लाग्यो – यदि मरेपछि आत्माले शरीर छोड्दछ र अस्तित्वमा रहिरहन्छ भने त्यसको अलग्गै मृत्युको बारेमा विचार गर्ने आवश्यता छैन। यसबाट अमरत्वको विचार पैदा भयो। त्यसबेला यसपकारका घटनाहरू समाधानरहित देखिन्थे र त्यसकारण विधिलिखित र दैवी थिए। यसकारण त्यससँग लड्नुको कुनै फाइदा देखिंदैनथ्यो। यूनानीहरू यी घटनालाई दुर्दैवी मान्ने गर्थे। मृत्युपछि आत्माको के गर्ने भन्ने बारेमा उनीहरूलाई केही ज्ञान भएन। त्यसकारण उनीहरूले व्यक्तिगत अमरत्वको कुरा गरे। ठीक यसरी नै मानवीय शक्तिलाई मानवीय तर दैवी, पारलौकिक स्वरूप प्रदान गरियो। जब देवी-देवताहरूको  कल्पना गरियो, यो प्रथम अवसर थियो। त्यसपछि यी देवी-देवताहरूको लौकिक स्वरूप प्राप्त भयो र त्यसपछि विकासको निरन्तर प्रक्रियामा एकेश्वरवादको उदय भयो।

कमरेड लेनिनले धर्म सम्बन्धी धेरै लेख लेखे। धर्मको बारेमा श्रमिकका विचारहरू सम्बन्धी लेखमा लेनिनले भने – “धर्म जनताको लागि अफिम जस्तै हो।” मार्क्सको यो प्रस्तावना धर्म सम्बन्धी समाजवादीहरूका विचारहरूको आधारस्तम्भ हो। श्रमिकहरूलाई अज्ञानको अन्धकारमा भड्किरहेको अवस्थामा छोडेर उत्पीडन उनीहरूको भाग्यरेखा हो भन्ने कुराको महसुस पटक-पटक गराउनु पूँजीपतिहरूको कार्वाहीको अभिन्न अंग हो। र, यी सबै धर्म र धार्मिक संस्थाहरू तथा आधुनिक धर्म, चर्च, मन्दिर, इत्यादि उनीहरूका यी गतिविधिहरूका साधन बन्दछन्। यो मार्क्सवादीहरूको दृढ मत हो।

अरूको लागि जीवनभर पिस्ने र गरीबी तथा कंगालीमा दिन बिताउने मानिसहरूको मन यसप्रकारको दमनकारी प्रक्रियामा पिसिएर किचिन्छ। चारैतिर जनताको यही स्थिति छ। उनीहरूको मनलाई निस्क्रिय बनाउने कुराहरूमा एक धर्म पनि हो। अन्यायको विरूद्धमा विद्रोह गर्नमा असमर्थ मानिसहरूलाई कम्तीमा मरेपछि त स्वर्ग प्राप्त हुनेछ, यस्तो सन्तोष हुन्छ। तर सारा जिन्दगी रगत सुकाउनेहरूलाई धर्मले के सिकाउँदछ ?  जबसम्म यो लोकमा रहन्छौं, वैराग्यमा रहु, कुनै चीजको मतलब नराखीकन स्थितप्रज्ञ रहु। अरूको मद्दतमा जिउँदो रहनेहरूलाई धर्मले के सिकाउँदछ ?  अरूको भ्रमलाई लुट्यौं त केही छैन, दान-धर्म गरिरहु, स्वर्गको ढोका आफै खुल्नेछ।

मार्क्स, एंगेल्स र लेनिन के सिकाउँदछन् ?

पूँजी, ड्यूहरिङ मत-खण्डन, इत्यादि रचनाहरूमा मार्क्स-एंगेल्सले धर्मका जराहरूलाई स्पष्ट पारेका छन्। उनीहरूले के दर्शाए भने मानव समाजको विकासको विल्कुल प्राथमिक चरणमा प्राकृतिक शक्तिहरूको अगाडि असहाय भएकोले धार्मिक विश्वासको जन्म हुन्छ। परस्पर विरोधी वर्गमाथि आधारित समाजमा उत्पीडन गर्ने वर्गको विरूद्धमा असहाय भएकोले मानिसहरूमा धार्मिक प्रवृत्तिहरू बढ्दछन्। के भ्रम फैल्याइन्छ भने यो जन्ममा यातनाहरू सहेको बदलामा अर्को जन्ममा सुख प्राप्ति हुनेछ।

मार्क्स-एंगेल्सले के कुरा स्पष्ट पारेका छन् भने रोमन साम्राज्यको विरूद्धमा दासहरूको विद्रोहको असफलता र राजाहरूद्वारा रगतमा डुबाइदिएपछि हताशा र निराशामा डुबेका मानिसहरूमा ईसाई धर्मको उदय भयो र तीव्र रूपमा फैलियो। ईसाई धर्मावलम्बीहरूको आन्दोलन शुरूमा दमित-उत्पीडित जनताको आन्दोलन थियो। मानव-प्रेम, समता र करूणा त्यसका आधार थिए। पछि धर्म विकसित भएर शोषक समाजको अंग बन्यो। त्यसको प्रयोग दमित, श्रमिकहरूलाई नशामा राख्नको लागि अफिम समान हुनलाग्यो, यो कुरा मार्क्स-एंगेल्सले स्पष्ट बनाए। उनीहरूले के पनि दर्शाए भने धर्मको सम्पूर्ण इतिहास तर्कबद्ध वैज्ञानिक इतिहासको विरोधको इतिहास हो।

शताब्दियौंसम्म चर्चले प्रतिक्रियावादी भूमिका निर्वाह गर्‍यो। त्यसकारण उसले नयाँ वैज्ञानिक खोजहरू र जनतान्त्रिक तथा समाजवादी आन्दोलनको विरोध गर्‍यो। तर वैज्ञानिक खोजहरूले धर्मलाई लगातार पछाडि धकेल्यो। त्यसकारण मार्क्स र एंगेल्सका अनुसार वैज्ञानिक र भौतिक प्रचार धर्मको विरूद्ध लड्ने एक महत्त्वपूर्ण हतियार हो। यसको अर्थ धर्मको विरूद्ध युद्धको घोषणा होइन। उनीहरूका अनुसार सर्वहारा वर्गको बीचमा भौतिकवादी र वैज्ञानिक विचारहरूले युक्त साहित्यको प्रचारप्रसार गरिनुपर्दछ। पूँजीवादी समाजमा धर्मको बदलिंदो स्थानको बारेमा पनि उनीहरूले विचार व्यक्त गरे।

पूँजीवादी समाज-व्यवस्था र धर्म

पूँजीवादी विचारको उदयको समयमा धार्मिक प्रभावमा कमी आएको थियो र साथै पूँजीवादी व्यवस्थाले आवश्यक रूपले धर्मको विरोध गरिरहेको थियो। तर पछि गएर जब यो व्यवस्था स्थिर भयो, तब त्यसले धर्मलाई आफ्नो स्वार्थको लागि दुरूपयोग गर्न शुरू गर्‍यो। यी पक्षहरूमा मार्क्स, एंगेल्स र लेनिनले स्पष्ट विचार पेश गरेका छन्।

सन् १८४८ मा रचित कम्युनिष्ट घोषणापत्रमा मार्क्स-एंगेल्सले भनेका छन् – “जहाँ-जहाँ पूँजीपति वर्गले आफ्नो प्रभुत्व कायम गर्‍यो, त्यहाँ-त्यहाँ उसले सम्पूर्ण सामन्ती, पितृसत्तात्मक, ‘भद्र’  सम्बन्धहरूको अन्त गरिदियो। त्यसले मानिसलाई आफ्ना ‘स्वाभाविक श्रेष्ठहरू’ सँग बाँध्ने विभिन्न प्रकारका सामन्ती सम्बन्धहरूको निर्ममतापूर्वक धज्जी उडाइदियो र नग्न आत्मस्वार्थको, नगदपैसाको हृदयशून्य व्यवहार सिवाय मानिसको बीचमा अरू कुनै सम्बन्ध रहन दिएन। धर्मिक श्रद्धाको  स्वर्गीय आनन्दलाई, वीरतापूर्ण उत्साह र कूपमण्डूकतापूर्ण भावुकतालाई उसले स्वार्थमय हिसाब-किताबको बरफिलो पानीमा डुबाइदियो। मानिसको वैयक्तिक मूल्यलाई उसले विनिमय-मूल्यमा बदलिदियो। अनगिन्ती अक्षय  प्रदत्त तथा उपार्जित स्वाधीनताहरूको स्थानमा उसले न्याय-अन्यायको परवाह नगर्ने अनैतिक स्वाधीनताको स्थापना गरेको छ, जसलाई स्वतन्त्र व्यापार भनिन्छ। संक्षेपमा धार्मिक एवम् राजनीतिक भ्रान्तिहरूको आवरण पछाडि लुकेको शोषणको ठाउँमा उसले नग्न, प्रत्यक्ष र पाशविक शोषणको स्थापना गरेको छ।”

“आजसम्म जुन पेशाको बारेमा मानिसहरूको मनमा आदर र श्रद्धाको भावना जाग्दथ्यो, तिनीहरूको सम्मान पूँजीपति वर्गले खोसेको छ। डाक्टर, वकिल, पूरोहित, कवि र वैज्ञानिक सबैलाई उसले तलबी मजदूर बनाएको छ।” ऐतिहासिक भौतिकवाद सम्बन्धी आफ्नो ग्रन्थमा एंगेल्सले पूँजीवादी विचारहरूको उदयको युगको बारेमा लेखेका छन् – “मध्यम वर्गको विकाससँगसँगै पूँजीवादी र सामन्ती व्यवस्थाको बीचमा दूरी बढ्यो। यस्तो स्थितिमा सामन्ती व्यवस्थाको अन्त हुनु आवश्यक भयो।”

“तर सामन्ती व्यवस्थाको महत्त्वपूर्ण अन्तर्राष्ट्रिय केन्द्र रोमन क्याथोलिक चर्च थियो। आपसमा लडाइँ गर्नुको अतिरिक्त पश्चिम यूरोपीय सामन्ती देशहरूलाई ग्रीकहरूमा धार्मिक मानसिकता र मुश्लिम देशलाई यिनको विरूद्ध सँगसँगै राखियो र तिनीहरूलाई प्रभावकारी राज्य पद्धतिमा राखियो। पवित्रताको त्याग गरी उनीहरूले सामन्ती संस्थाहरू तोडिदिए। सामन्ती नमूनाहरूमा उनीहरूले आफ्नो अधिकार परम्परा कायमर राखे। उनीहरूले पूँजीवादी नमूनामा स्वयं आफ्नो अधिकार परम्परा कायम राखे। महत्त्वपूर्ण कुरा के थियो भने रोमन क्याथोलिक चर्च स्वयं सबभन्दा शक्तिशाली सामन्त थियो। क्याथोलिक विश्वको एक-तिहाई जमिन उसको स्वामित्वमा थियो। त्यसकारण सामन्ती व्यवस्थाको अन्त गर्नको लागि हरेक देशमा सामन्ती प्रणालीमाथि प्रभावकारी आक्रमको लागि यो पवित्र केन्द्रीय संगठनलाई नष्ट गरियो।”

यसको अतिरिक्त  मध्यम वर्गको  उदयसँगसँगै विज्ञान, खगोल विज्ञान, यन्त्र विज्ञान, पदार्थ विज्ञान, शरीर विज्ञान, इत्यादि विषयहरूमा नयाँ जीवनको संचार भयो। तिनीहरूमा सुधार र परिवर्तन हुनलाग्यो। पूँजीवादको औद्योगिक उत्पादन बढाउनको लागि यी विज्ञानहरूको उपयोग हुनलाग्यो। यसभन्दा पहिले यी विज्ञानहरूलाई चर्च वा धर्मग्रन्थहरूको फ्रेममा मिलाउने कोशिस गरिन्थ्यो। उनीहरूलाई श्रद्धा र अन्धविश्वासको फ्रेमभन्दा बाहिर जान दिइँदैनथ्यो। त्यसकारण त्यो सच्चा विज्ञान थिएन। विज्ञानले चर्चको विरूद्ध संघर्ष चलायो। पूँजी विज्ञान बिना विकास गर्न सकिंदैनथ्यो। त्यसकारण पूँजीको प्रणालीले पनि यो संघर्षमा भाग लिनुपर्‍यो। यसबाट दुई कुराहरू स्पष्ट हुन्छन् – (१) रोमन क्याथोलिक चर्चको पाखण्डको विरूद्धमा लडाइँमा पूँजीपति वर्गको सीधा वर्गहित थियो। (२) त्यस बेलाको धर्मको विरूद्धमा असन्तोष व्याप्त थियो; त्यसकारण सामन्तवादको विरूद्धमा हरेक लडाइँ चर्चको विरूद्धमा पनि लडाइँ थियो।

सामन्ती युगमा धर्मसत्ताले राज्यसत्तासँग मिलेर आफ्नो प्रभुत्व कायम गरेको थियो। तर पूँजीवादको यो प्रारम्भिक युगमा धर्मको प्रभावमा कमी आइरहेको थियो। सामन्ती युगमा युरोपमा राष्ट्रहरूको बीचमा संघर्ष धर्मको आधारमा हुने गर्दथ्यो। त्यो युगमा धेरै धर्मयुद्धहरू लडिए। पूँजीवादमा यसबाट के फरक पर्‍यो, यो कुरा मार्क्सका रचनाहरूमा स्पष्ट छ। कार्ल मार्क्सले न्यूयोर्क टाइम्समा सन् १८५२-५३ मा यूरोपमा लडिएका क्रिमिया युद्धको बारेमा लेखेका थिए। धार्मिक सत्ताको ह्रासको बारेमा एक लेख लेखेका थिए। उनले लडाइँ कसको बीचमा र कुन कुराहरूलाई लिएर भइरहेको थियो भन्ने कुराको वर्णन गरे। क्रिमियाको लडाइँ एकातिर इंग्ल्याण्डको प्रोटेस्टेन्ट सत्ता  र फ्रान्सको क्याथोलिक सत्ताले मिलेर रूसको पवित्र ईसाई जारको विरूद्ध लडेका थिए। त्यो यूरोपको मुस्लिम (टर्की) साम्राज्यको संरक्षणको नाममा लडिएको थियो। वास्तवमा भन्ने हो भने एक जमानामा मुसलमानहरूलाई युरोपबाट बाहिर निकाल्नमा सक्रिय देश नै अब रूसद्वारा त्यही काम गरेको विरोध गरिरहेका थिए। अगाडि उनी लेख्दछन् – १३औं शताब्दीमा (सामन्ती कालमा) र  १९औं शताब्दीमा (पूँजीवादी युगमा) यही अन्तर छ। यो अन्तर कहिलेदेखि आरम्भ भयो, यसको उल्लेख लेखमा गरिएको छ। त्यसमा के भनिएको छ भने “पश्चिम युरोपका  लडाइँहरूमा धार्मिक प्रभावका दिन सकिए। १६४८ मा (पूँजीवादी विचारहरूको आरम्भिक दिनमा) जर्मनीमा जब ३० वर्षीय युद्धमा सन्धि भयो, तबदेखि धार्मिक प्रश्नहरूको प्रभाव समाप्त भयो। विश्व संघर्षहरूबाट धर्मको प्रश्न हट्यो।” राजनीतिमा कुल मिलाएर धर्मको प्रभाव कम भयो।

ईसाई धर्ममा प्रोटेस्टेन्ट सप्रदायको उदय भएपछिको कालमा क्याथोलिक वा प्रोटेस्टेन्ट सम्प्रदायहरूलाई मान्ने देशहरूको बीचमा राजनीतिज्ञ, वकिल, इत्यादिले व्यक्तिगत स्तरमा धार्मिक विश्वासलाई त्याग गर्न र विचारहरूको स्वतन्त्रतालाई स्वीकार गर्न शुरू गरे। फ्रान्सेली राज्य क्रान्तिपछि जनतामा जागृति फैलियो र तिनीहरूमा पनि धार्मिक रूढीवादलाई छोड्ने विचार फैलिन लाग्यो।

तर पूँजीवाद पूर्ण रूपले स्थापित भएपछि पूँजीपतिहरूमा के कुरा ध्यानमा आयो भने सर्वहारामाथि शासन केवल सत्ताको प्रयोग वा कानूनको प्रयोगबाट मात्र हुन सक्दैन। यसको लागि मजदूरहरूका विचारहरूलाई पनि प्रभावित गर्नुपर्दछ। त्यसकारण उनीहरूले विचारहरूको स्वतन्त्रताको झण्डा फ्याँकिदिए र धर्मको सहारा लिए। मजदूर आफ्नो उत्पीडन एवम् शोषणको सम्पूर्ण दोष  ईश्वरमाथि हालिदिऊन् र शोषण चुपचाप सहिरहुन् भनेर पूँजीवादले धर्मको झण्डा फेरि आफ्नो हातमा लियो।

त्यसकारण लेनिनले के भनेका छन् भने पूँजीवादी समाजमा दासले आफ्नो मानवता भुलोस् र असल मानवीय जीवनको बारेमा भुलोस् भन्नका लागि धर्मले एक नशालू पदार्थको काम गर्दछ।

मार्क्स-एंगेल्सद्वारा दर्शाइएको अनिश्वरवाद अग्रगामी दस्ताको विशेषता हो। अंग्रेज र फ्रान्सेली भौतिकवादी र नास्तिक यिनै उदाउदो पूँजीवादका दार्शनिक थिए। तर पूँजीवादीहरूको प्रभुत्व कायम हुने वित्तिकै मजदूर र पूँजीपतिहरूको बीचमा टकराब तीव्र भएपछि पूँजीपति वर्गले धर्मको प्रयोग अफिमको रूपमा गर्नलाग्यो।

यो र पछिको अध्यायमा मार्क्सवादी-लेनिनवादी दर्शनको धर्म सम्बन्धी शिक्षाहरूमाथि केही विचार गरिएको छ। हामीले आफ्नो परिस्थितिको पृष्ठभूमिमा यी विचार पेश गरेका छौं।

धर्मको विरोध किन र कसरी ?

आज सत्ताधारी र प्रतिक्रियावादी एकाधिकारवादी पूँजीपति र तिनीहरूका साम्प्रदायिक समर्थकहरू जनतामा धार्मिक पागलपन र विभाजन बढाउनमा लागेका छन्। आम जनता उत्पीडन र शोषणको जाँतोमुनि दबिइरहेका छन्। यसको विरूद्धमा तीव्र वर्गसंघर्ष विकसित भइरहेको छ। यस्तो अवस्थामा पूँजीपति उनीहरूको ध्यान विकेन्द्रित गर्नको लागि र आर्थिक-राजनीतिक प्रश्नहरूमा पर्दा हाल्नको लागि धार्मिक आधारमा गतिविधिहरू गरिरहेका छन् र जनताको मनमा हजारौं वर्षका धार्मिक श्रद्धा एमव् भक्तिको दुरूपयोग गरी त्यसलाई पालनपोषण गर्दै बढाइरहेका छन्। जनताका धार्मिक भावनाहरूको फाइदा उठाइरहेका छन्। त्यसकारण जनताको मनमा कसिएको धार्मिक बन्धनलाई खुकुलो बनाउनुपर्दछ। तर यो काम कसले गर्नेछ ? भौतिकवादी र विज्ञानमा आधारित दार्शनिकले नै यो काम गर्न सक्दछन्। कम्युनिष्ट भौतिकवादी नै हुन्छन्। त्यसकारण धर्मविरोधी र अनिश्वरवादी पनि हुन्छन्। तर उनीहरूको यो विरोध तिनको गतिशील वैज्ञानिक दर्शनमा आधारित हुन्छ। मार्क्स र एंगेल्सले आफ्नो युगको पूँजीवादी तथा अन्य विचारहरूको अध्ययन गरे। उनीहरूले फ्रान्सेली भौतिक परम्परालाई आत्मसात गरे। फायरबाखको भौतिक अनिश्वरवादको स्वागत गरी त्यसको सकारात्मक विश्लेषण गरे। फायरबाखका अनुसार मानिसको ज्ञान र सुख अपूर्ण हुन्छ। डरको निवारण गर्नको लागि शक्ति अपूर्ण हुन्छ। मानिस यो दुःखबाट बाहिर निक्लिने प्रयास गर्दछ। यसको लागि ऊ सर्वशक्तिमान दयारूपी कृपालु ईश्वरको प्रार्थना गर्दछ।

एंगेल्सले फायरबाख सम्बन्धी आफ्नो लेखमा उनको धर्मविरोधको खण्डन गर्दै के कुरा स्पष्ट पारेका छन् भने उनी धर्मको आलोचना गर्दागर्दै एक नयाँ धर्मको निर्माण गरिरहेका छन्।

सन् १८७१ मा पेरिस कम्युनको पराजयपछि भएको हत्याकाण्डबाट बचेर निस्किएका केही ब्लाकीवादीहरूले सन् १८७४ मा एउटा घोषणापत्र जारी गरेका थिए। त्यसमा धर्मको विरूद्ध आक्रामक दृष्टिकोण अख्तियार गरिएको थियो। यसको उल्टो असर पर्‍यो र मानिसहरूमा धर्मप्रति रूचि बढ्यो। जर्मनीका बिस्मार्कले सन् १८७७ मा जर्मन क्याथोलिक दलका विरूद्धमा अभियान शुरू गरे। क्याथोलिक धर्मको विरूद्धमा राज्यद्वारा दमन गरियो। पादरीहरूलाई जेल हालियो। परिणामस्वरूप क्याथोलिकहरूका कट्टरपन्थीहरूलाई धेरै बल नै मिल्यो। मार्क्स-एंगेल्सले यसलाई गलत तरीकाबाट धर्मको विरोध बताएका छन्।

१८७७ मा एंगेल्सले ड्यूहरिङग-मतखण्डन नामक रचना लेखे। त्यसमा ड्यूहरिङगको धर्मविरोधमाथि टिप्पणी गरिएको छ। एंगेल्सका अनुसार ड्यूरिङको धर्मविरोध अनिश्वरवादी र भौतिकवादी छैन। उनीमा धार्मिक विचारहरूको प्रभाव देखिन्छ। मार्क्स र एंगेल्सले उपर्युक्त तरीकाहरूबाट जुन धर्मसँग जबर्जस्ती गरिएको थियो र जसरी विरोध गरिएको थियो, त्यसको जोडदार खण्डन गरे। उनीहरूले के कुरा स्पष्ट बनाए भने सजाय दिएर  वा यातनाहरू दिएर धर्म खत्तम हुनुको साटो बढ्दछ। उनीहरूले स्पष्ट रूपमा भने, जबसम्म धर्मलाई पैदा गर्ने सामाजिक-आर्थिक परिस्थितिहरू बदलिंदैनन्, तबसम्म धर्म समाप्त हुँदैन।

एंगेल्सले यो विषयमा हामीलाई पटक-पटक सावधान गरेका छन्। धर्मको विरुद्ध युद्धको घोषणा गर्दा वा आक्रामक कार्वाही लिँदा धर्मलाई नै सहायता मिल्नेछ। सबभन्दा महत्त्वपूर्ण कुरा के हो भने समाज परिवर्तनको क्रान्तिकारी छायाँमा पर्दछ।

एंगेल्सका अनुसार श्रमिकहरूलाई संगठित गर्ने र शिक्षित गर्ने काम दृढतापूर्वक गर्नुपर्दछ। धर्म र मानिसको भौतिक जीवनको बीचमा सम्बन्धलाई हेर्नु जरूरी छ। यदि यसलाई बुझिएन भने धर्मविरोधी संघर्ष अर्थहीन हुनेछ। त्यसको परिणाम घातक सिद्ध हुन सक्दछ। पूँजीपतिहरूद्वारा धर्मविरोधी संघर्षको यही कमी थियो। त्यसैले त्यो एकांगी बनिरह्यो र धर्मको कब्जा कायम रह्यो।

श्रमिकहरूको बीचमा धार्मिक भ्रम कम गर्नको लागि कम्युनिष्टहरूले उनीहरूको बीचमा वैज्ञानिक विचारहरूको प्रचार गर्दछन्। उनीहरू श्रमिकहरूलाई के बताउँदछन् भने स्वर्गको सुखको भ्रम र आशा छोडेर यो धर्तीमा सुखी जीवन निर्माणको संघर्ष गर्नुहोस् र दिनप्रतिदिनको लडाइँमा साथ दिनुहोस्। यसको लागि वैज्ञानिक साहित्यको प्रचार गर्नु आवश्यक हुन्छ। त्यसरी नै आफ्नो भौतिकवादी परम्पराको ज्ञान उनीहरूसम्म पुर्‍याउन आवश्यक हुन्छ। एंगेल्सले जर्मन समाजवादीहरूलाई १८औं शताब्दीमा जागृति पैदा गर्ने अनिश्वरवादी साहित्यको प्रचार गर्ने सल्लाह दिएका थिए।

‘समाज र धर्म’ नामक लेखमा लेनिन भन्दछन् – “परिस्थितिसँग मेल नखाने र धर्मसम्बन्धी एकांगी विचार अपनाउने भुल हामीले गर्नुहुँदैन। धेरै पटक पूँजीवादी जनवादको समर्थन गर्ने नवमतवादीहरू धर्मसम्बन्धी विचारहरूलाई एक बौद्धिक प्रश्न बनाइदिन्छन् र त्यसलाई वर्गसंघर्षबाट टाढा राख्दछन्। उनीहरू त्यसलाई बीचमा झुल्दैगरेको दार्शनिक प्रश्न बनाइदिन्छन्। यस्तो आदर्शवादी (भाववादी) दार्शनिक बुझाइको कारण हुन्छ। के यो अतिज्ञानवादी प्रवृत्ति होइन ?  श्रमिकहरूको दमनमा जुन व्यवस्था आधारित छ, त्यहाँ धर्मको विरूद्धमा केवल पाण्डित्य हाँकेर के फाइदा हुन्छ ? पूँजीवादी विचारहरूको दौड यहाँसम्म पुग्दछ। उसले के बुझ्दैन भने समाजमा हुने आर्थिक अत्याचारको परिणाम वा प्रतिबिम्ब मानव-बुद्धिमा धर्मको पक्कड हो। श्रमिकहरूको चेतनालाई जकडने बन्धनलाई कमजोर बनाउनको लागि पुस्तकहरू र पाण्डित्य अपर्याप्त र प्रभावहीन हुन्छन्।”

“पूँजीको भारी शक्तिको विरूद्धमा संघर्ष दृढतापूर्वक चलाएर नै मजदूरले आफ्नो हातबाट त्यो बन्धन हटाउन सक्नेछन्। त्यसकारण काल्पनिक स्वर्गको बारेमा मजदूरहरूको एकताको सट्टा यो धर्तीमा नै सुखको स्वर्ग बनाउने सम्बन्धी एकता अति धेरै जरूरी हुन्छ, यस्तो हाम्रो विचार छ।” आम जनताको बीचमा वैज्ञानिक भौतिकवादको प्रचार गर्नु र धार्मिक दुषित पूर्वाग्रहहरूबाट मानिहरूलाई मुक्त गर्नु नै वैज्ञानिक अनिश्वरवादी प्रचारको उद्देश्य हो। तर केवल पुस्तकहरूको सहाराले दार्शनिक प्रचारसम्म सीमित रहनु भूल हुनेछ। यो कामलाई वर्गसंघर्षको वास्तविक लडाइँसँग जोड्नुपर्दछ। धर्मको सामाजिक आधारको समाप्ति धार्मिक संघर्षको मुख्य संघर्ष हुनुपर्दछ।

मार्क्सवादीहरूको दृष्टिकोणको मुख्य आधार ‘धर्म निजि मामिला हो’ भन्ने बुझाइ हो। १८७१ मा फ्रैन्कफर्टमा आयोजित सोशल डेमोक्रेटिक दलको अधिवेशनमा यो प्रस्तावना स्वीकार गरियो। तर यस सम्बन्धमा प्रस्तावबाट भ्रम पनि पैदा भयो। यो बुझाइको स्पष्ट अर्थ र सीमा निर्धारण नगरेको कारणले समस्याहरू पैदा भए।

धर्म निजी मामिला हुनु शासन र शिक्षाको सन्दर्भमा हो। शिक्षण संस्थाहरूले कुनै धर्म विशेषको पक्ष लिनुहुँदैन र धार्मिक संस्थाहरूमा हस्तक्षेप गर्नुहुँदैन। त्यसरी नै धर्मले शिक्षाको काममा चासो दिनु हुँदैन। यो प्रस्तावनाको यही वास्तविक अर्थ हो। त्यसरी नै कसैलाई पनि आफ्नो रूचि अनुसारको धर्म मान्ने वा जो कसैलाई पनि धर्म नमानेर अनिश्वरवादी रहने स्वतन्त्रता हुनुपर्दछ। यो पनि निजी मामिलाको क्षेत्र हो। तर समाज परिवर्तन गर्ने कार्यकर्ता वा उसको दलले धर्मलाई निजी मामिला बताएर समस्याको अपेक्षा गरेर काम चल्दैन। धार्मिक भ्रमबाट प्रभावित जनता परिवर्तनको लागि उद्यत हुँदैनन्। वर्गसंघर्षको एकतामा बाधाअड्चन आउनेछ। क्रान्तिकारी शक्तिहरू बलिया हुँदैनन्। त्यसकारण परिवर्तनवादीहरूले धर्मलाई निजी मामिला नमानेर धर्मलाई भ्रामक कल्पनाहरू र त्यसको भाववादी स्वरूपलाई उजागर गर्ने हुनुपर्दछ। धर्मको विरूद्ध दार्शनिक संघर्ष व्यक्तिगत मामिला होइन।

तर कम्युनिष्ट पार्टीले आफ्ना दस्तावेजहरूमा धर्मविरोधी कुरा गर्दैन। उसले विज्ञानको प्रचारप्रसारमा जोड दिन्छ। ड्यूहरिङले आफ्नो रचनामा के कुरा उल्लेख गरेका छन् भने समाजवादी व्यवस्थामा धर्ममाथि कानूनी पावन्दी लगाइनेछ। यसमा एंगेल्सको टिप्पणी यस्तो छ : यो झूटो क्रान्तिकारी पन हो। एंगेल्सले स्पष्ट रूपमा के भनेका छन् भने कम्युनिष्टहरूको मुख्य काम र उद्देश्य धर्मलाई बढावा दिने, शोषणमा आधारित समाज-व्यवस्था समाप्त गर्नु हो।

यसको लागि मजदूरहरूको व्यापक संगठन बनाउनु र वर्गसंघर्षलाई तीव्र बनाउनु आवश्यक हुन्छ। यस्तो परिस्थितिमा धर्ममा विश्वास गर्नेहरूलाई टाढा राख्नु सही हुँदैन। पादरीहरू जस्ता धार्मिक मानिसहरूले यदि दलको कार्यक्रम स्वीकार गरे र संघर्षमा इमान्दारीपूर्वक भाग लिए भने उनीहरूलाई केवल यस आधारमा टाढा राख्नु सही हुँदैन कि उनीहरू धर्म मान्दछन्। एंगेल्सले यस सम्बन्धमा चेतावनी पनि दिएका थिए, किनकि ब्लाकीवादीहरूले आफ्नो घोषणापत्रमा यस्तै शर्त राखेका थिए।

यो सम्पूर्ण चर्चाबाट धर्मको विषयमा मार्क्सवादीहरूको दृष्टिकोण यसप्रकार स्पष्ट हुन्छ –

(१) धर्म जनताको अफिम हो। यो प्रस्तापना धर्मको सम्बन्धमा मार्क्सवादी सिद्धान्तको आधार हो।

(२) भ्रामक सुखको पछाडि दौडिन सिकाउने धर्मको विरूद्ध वैज्ञानिक दर्शन र विभिन्न विज्ञानहरूको क्षेत्रमा नवीनतम् खोजहरूको निरन्तर प्रचारप्रसार गरिनुपर्दछ। यसको साथै आफ्नो-आफ्नो देशका भौतिक परम्पराहरूको प्रचार गरिनुपर्दछ। त्यसको लागि पुरातन साहित्यको सहारा लिनुपर्दछ।

(३) धर्म व्यक्तिगत मामिला हुने सिद्धान्तको व्याख्या गरिनुपर्दछ र सीमा तय गरिनुपर्दछ।

(४) धर्ममा विश्वास गर्ने व्यक्तिलाई पार्टीमा केवल यही आधारमा प्रवेश रोक्नु सही होइन।

(५) सबभन्दा महत्त्वपूर्ण कुरा के हो भने धर्मलाई बढावा दिने शोषणमा आधारित समाज-व्यवस्था बदल्नको लागि सम्पूर्ण शक्ति वर्गसंघर्षमा केन्द्रित गर्नुपर्दछ। यसैको अनुभवबाट मजदूरहरूलाई आवश्यक जानकारी र दृष्टि हासिल हुनेछ र उनीहरूले स्वतः भ्रमलाई त्याग्नेछन्।

मार्क्सवादी दर्शन : विकासशील विज्ञान

मार्क्सवाद-लेनिनवादको शक्ति निम्न लिखित कुराहरूमा छ –

मार्क्सवाद-लेनिनवादको सिद्धान्तले कुनै पनि परिस्थितिमा उचित मार्ग बताउँदछन्। तिनीहरूले घटनाहरूको परस्पर सम्बन्धहरूलाई बुझाउनमा सहायता गर्दछन्, घटनाहरूको दिशा  दर्शाउँदछन्, तिनीहरूका परिणामहरूलाई इंगित गर्दछन्, घटनाहरू घट्ने क्रममा तिनीहरूको संभावित दिशा बुझ्नमा सहायक हुन्छन्।

मार्क्सवादमा पूर्ण विशेषज्ञता हासिल गर्ने पार्टीले नै आत्मविश्वासका साथ सफलतापूर्वक प्रगति गर्न सक्दछ र श्रमिक वर्गको नेतृत्व गर्न सक्दछ। अन्यथा पार्टी दिग्भ्रमित हुनसक्दछ। त्यसले आत्मविश्वास गुमाउन सक्दछ। त्यसले श्रमिकहरूको नेतृत्व गर्न सक्दैन।

मार्क्सवादी दर्शन विकासशील छ। त्यो नबदलिने नियमहरूको संकलन होइन।  त्यसमा जडसूत्रवादको कुनै ठाउँ छैन। त्यो सामाजिक-ऐतिहासिक विकास र विज्ञानका नयाँ  खोजहरू तथा परिवर्तनहरूको कारण निरन्तर समृद्ध हुँदै जान्छ। लेनिनले आफ्नो युगको पूँजीवाद अर्थात् साम्राज्यवादको विकासको अध्ययन गरी मार्क्सवादलाई अझ अगाडि विकसित गरे र समृद्ध बनाए। आज पनि विश्वभरका कम्युनिष्ट पार्टीहरू स्वतन्त्र रूपले तथा आपसमा संयुक्त रूपले सरसल्लाह गरेर वर्तमान परिस्थितिको आँकलन गर्दछन्; यही नै आजको युगको मार्क्सवाद हो।

मार्क्सवाद-लेनिनवादलाई तोडमरोड गर्ने मानिसहरू मार्क्सहरूका रचनाहरूका केही उद्दरणहरूलाई उनीहरूको सन्दर्भमा काँटछाँट गरेर देखाउने प्रयत्न गर्दछन कि यी कुराहरू जस्ताको तस्तै हरेक ठाउँमा त्यस्तै लागू हुन्छन्। यस्ता जडसूत्रवादीहरूले अरूलाई गलत मार्ग देखाउँदछन्। यो अत्यन्तै गलत दृष्टिकोण हो।

मार्क्सवाद-लेनिनवाद समाज विकासको, मजदूर वर्गको आन्दोलनको, सर्वहारा क्रान्तिको हतियार हो, जुन कहिल्यै निस्क्रिय रहन सक्दैन। त्यो अनुभवहरू र अनुभव-जनित ज्ञानबाट अगाडि विकसित भइरहन्छ। नयाँ अनुभवले केही प्रस्तापनाहरू र निष्कर्षलाई बदलिदिन्छन् र तिनीहरू समृद्ध हुन्छन्, जबकि केही अन्यलाई समयसँगै बदल्नुपर्दछ।

मार्क्स, एंगेल्स र लेनिनका रचनाहरूको अध्ययन गरेको बेलामा र उनीहरुका मूल कुराहरूमा विचार गरेको बेलामा तिनीहरूको सन्दर्भ र अर्थहरूमा विशेष ध्यान दिनुपर्दछ। त्यसपछि हामीलाई वर्तमानका सही उत्तर प्राप्त हुन्छन् र ती उत्तरहरूलाई हामी कसौटीमा उतार्न सक्छौं। उत्तरहरूको उपयुक्ततामाथि ध्यान दिनुपर्दछ। यही आधारमा अगाडिको मार्ग तय हुनसक्दछ। आजको युगका विभिन्न अन्तर्विरोधहरूलाई ध्यान दिनुपर्दछ। यसरी  संघर्षको सैद्धान्तिक आधार तयार हुन्छ।

मार्क्सवाद-लेनिनवाद हरेकप्रकारको जडसूत्रवादको विरोधी छ। कम्युनिष्ट घोषणापत्रको १८७२ को जर्मन संस्करणको मार्क्स-एंगेल्सद्वारा लेखिएको प्रस्तापनामा भनिएको छ – “विगत २५ वर्षमा परिस्थिति जतिसुकै बदलिएको भए पनि घोषणापत्रमा प्रस्तुत सामान्य निष्कर्ष समग्रमा आज पनि पहिले जति नै प्रासंगिक छ। शायद यदाकदा बीचमा कुनै निष्कर्ष बदल्ने आवश्यकता परेको होस्। कुनै स्थान र कालमा यी तत्वहरूलाई प्रत्यक्ष व्यवहारमा कसरी उतार्ने हो भन्ने कुरा त्यस बेलाको ऐतिहासिक परिस्थितिमा निर्भर गर्दछ।”

यस पृष्ठभूमिमा धर्मको बारेमा मार्क्स, एंगेल्स र लेनिनले जे कुरा लेखेका छन्, त्यसमाथि विचार गर्नु आवश्यक हुन्छ।

युग एवम् परिस्थिति

मार्क्स-एंगेल्सले जे कुरा लेखे तथा अन्य विद्वानहरूले धर्मको सम्बन्धमा जे शोधकार्य गरे, त्यसको काल सामान्यतः १८४३-४४ देखि १८९२ सम्मको हो। त्यस बेला युरोपमा भारी उलटफेर भइरहेका थिए। विकासको गति बढ्दै गइरहेको थियो। पूँजीवादी समाज व्यवस्थाको विकास जारी थियो। इंग्ल्याण्डमा औद्योगिक प्रगति भइसकेको थियो। फ्रान्स, अस्ट्रिया, हंगेरी, पोल्याण्ड, पछि रूस जस्ता देशहरूमा उद्योगहरूले पाइला जमाएका थिए। परिणामस्वरूप वास्तविक पूँजीवादी वर्ग अस्तित्वमा आइसकेको थियो। ठूला उद्योग विकसित भइसकेका थिए। सामन्तवादको स्थान पूँजीवादले लिइसकेको थियो।

सर्वहारा वर्गको संघर्ष बढिरहेको थियो। सफलताका परिस्थितिहरू तयार भइरहेका थिए । त्यो क्रान्तिकारी आन्दोलनको काल थियो। १८४८ मा युरोपका अनेकौं देशहरूमा क्रान्तिकारी विद्रोह भए। इतिहास प्रसिद्ध फ्रान्सेली क्रान्ति र पेरिस कम्युन (१८७१) को स्थापना भयो। दुई महिनासम्म मजदूरले सत्ता कब्जा गरिरहे।

यसको साथै धार्मिक परम्पराहरूप्रति संदेश एमव् आलोचनाको प्रवृत्ति पैदा भयो। हेगेल र फायरबाखका विचारहरूको प्रभाव मार्क्स र एंगेल्समाथि परेको थियो। प्रूँधों, ड्यूहरिङ, इत्यादि विद्वानहरूका लेखहरू प्रसिद्ध हुनलागे। मार्क्स र एंगेल्सको ध्यान उनीहरूमाथि गयो। यी  दुवैले आलोचनात्मक लेख लेखे।

धर्मविरोध फैलिन लाग्यो। धार्मिक नियन्त्रणमा कमी आउन लाग्यो।

पेरिस कम्युनले सत्ताबाट धर्मलाई अलग राख्ने घोषणा गर्‍यो। धार्मिक संस्थाहरूलाई सरकारबाट प्राप्त हुने सहायता बन्द गरियो। चर्चको सम्पत्ति राष्ट्रिय सम्पत्ति घोषणा गरियो। स्कूलहरूबाट सम्पूर्ण धार्मिक शिक्षाहरू हटाइयो। प्रार्थनाहरू बन्द गरियो। यी घटनाहरूमा मार्क्स र एंगेल्सका रचनाहरूको प्रभाव थियो। १८४८ का क्रान्तिहरूमा मार्क्स र एंगेल्सले स्वयम् भाग लिएका थिए। मार्क्सले भने : “जुनबेला १८४८ का क्रान्तिहरू शुरू भए, त्यसबेला हामी सबै १७८९ को फ्रान्सको प्रथम क्रान्तिका अनुभवहरूको प्रभावमा थियौं। युरोपको सम्पूर्ण इतिहासमा १७८९ को फ्रान्सेली क्रान्तिको छाप थियो। अब फेरि क्रान्तिकारी परिवर्तनका संकेत मिलिरहेका थिए।”

यी निरन्तर बदलिरहेका परिस्थितिहरूको कारण मार्क्स र एंगेल्सको लागि सामन्ती युगमा धर्मसत्ता, संक्रमण कालमा त्यसको पतन, उदाउँदो पूँजीवादद्वारा धर्मको विरोध र स्थापित पूँजीवादद्वारा धर्मको प्रयोगको बारेमा वैज्ञानिक सुझबुझ पेश गर्न संभव भयो। धर्म एवम् वर्गका सम्बन्ध स्पष्ट हुनलागे।

लेनिनले सामान्यतः १९०० देखि १९२० को बीचमा अलग-अलग सन्दर्भमा धर्मको बारेमा लेख लेखे। यसको लागि उनले मार्क्स र एंगेल्सका विचारहरूको मद्दत लिए। लेनिनका रचनाहरू रूसको जार र क्याथोलिक चर्चको सत्ताको सन्दर्भमा पनि थिए। ड्यूमा (संसद) मा धार्मिक विषयहरूमाथि विवादको क्रममा दलहरू एमव् वर्गहरूको स्थिति स्पष्ट भयो। रूसको बोल्शेभिक पार्टीका विचार धेरै स्पष्ट भएर सामुन्ने आए। लेनिनले धर्ममा आधारित राष्ट्रको परिकल्पनाको आलोचना गरे।

उपसंहार

धर्मको उदय, प्रभाव र त्यसलाई कम गर्ने आवश्यकता सम्बन्धी मार्क्सवादी-लेनिनवादी शिक्षाको प्राथमिक रूपरेखा हामीले देख्यौं। उपर्युक्त चर्चाको सारांश हामी यसरी राख्दछौं –

असमानता र शोषणमा आधारित व्यवस्था धर्मको प्रभावको लागि जिम्मेवार छ। मार्क्सवादको भाषामा समाजको उत्पादन पद्धति, आर्थिक रचना समाजको आधार हुन्छ। त्यसका अनुसार समाजको कानून, राजनीति, धर्म दर्शन सम्बन्धी विचार बन्दछन्, जसलाई उपरिसंरचना भनिन्छ। आधार बदलिएपछि उपरिसंरचना पनि बदलिन्छ।

यस सन्दर्भमा कम्युनिष्ट घोषणापत्रमा मार्क्स-एंगेल्सले भनेका छन् – “मानिसको भौतिक जीवनको परिस्थिति, त्यसको सामाजिक सम्बन्ध र सामाजिक जीवनमा जुन परिवर्तन आउँछ, त्यसबाट कल्पना, विचार, मत, इत्यादिमा पनि परिवर्तन आउँछ। जुन हदसम्म भौतिक उत्पादन बदलिन्छ, त्यस हदसम्म बौद्धिक उत्पादनको स्वरूप पनि बदलिन्छ।”

प्रत्येक युगको आर्थिक पद्धतिले त्यस युगको उत्पादन पद्धतिसँग मिल्दोजुल्दो संरचना तयार गर्दछ। त्यो समाजको कानून व्यवस्था र राजनीतिक विचार तथा यसप्रकार धार्मिक, दार्शनिक र अन्य विचारहरूलाई स्वरूप प्रदान गर्दछ।

वर्गीय समाजमा शासन-व्यवस्था, न्यायपालिका, पुलिस-व्यवस्था, फौज र रानीतिक पार्टीहरू तथा अन्य संगठन विकसित हुन्छन्। धार्मिक एवम् नीतिगत विचारहरूको प्रचारको लागि साहित्य, सिनेमा, रेडियो, टेलिभिजन, इत्यादि अस्तित्वमा आउँछन्। यी संस्थाहरूले समाज-पद्धतिको संरक्षणको प्रचार गर्दछन्। तिनीहरूको काम वर्तमान समाजलाई बल प्रदान गर्नु हो।

आधार लगातार विकासशील हुन्छ। त्यसानुसार उपरिसंरचना पनि बदलिन्छ। त्यसकारण आधार बदलिनु महत्त्वपूर्ण हुन्छ। त्यसपछि शोषणमा आधारित समाज बदलिएपछि धर्मसहित उपरिसंरचना बदल्न सकिन्छ वा त्यसको प्रभाव कम गर्न सकिन्छ। संक्रमण कालमा पुरानो-नयाँको वैचारिक संघर्ष चल्छ र परिवर्तनको संघर्ष तीव्र हुन्छ।

यो  संघर्षलाई, क्रान्तिकारी विचारहरूलाई तथा सृजनात्मक कार्यलाई प्रेरित गर्ने कार्य मार्क्सवादी दर्शनले गर्दछ। क्रान्तिकारी विचार बिना क्रान्ति संभव छैन, यो कुरा मार्क्सवादले सिकाउँदछ।

सन्दर्भ सूची

  1. कम्युनिष्ट घोषणापत्र, मार्क्स-एंगेल्स
  2. समाजवाद : काल्पनिक र वैज्ञानिक, एंगेल्स
  3. Essay on Ludwing Feuerbach, Engels
  4. Introduction to Civil War in France, Engels
  5. The Crimean War, Marx
  6. Marx-Engels on Religion
  7. On Historical Materialism, Engels
  8. Critique of Hegelian Philosophy , Marx
  9. मार्क्स  वा मानव विचार, मुरलीधर पवार, लो वा गृह, मुम्बई।
  10. धर्म ले, लेनिन, दि के बेडेकर, लोक बाङ्मय गृय, मुम्बई
  11. धर्म : एक पुनर्विचार, दि के बेडेकर, प्राज्ञ पाठशाला मण्डल, मुम्बई
  12. धर्मचिन्तन, दि के बेडेकर, लोकमाङ्मय गृह, मुम्बई


Leave a comment

About Me

I am a student of philosophy and nature. I thoroughly research all subjects and summarize them in Nepali and English. I am Secretary of Marxism Study-Research Academy, Nepal. I am a Social Worker. Education – i) Master of Arts Degree in Political Science – TU, ii) Master of Public Administration Degree – TU, iii) Master of Arts Degree in History-TU, iv) Master of Arts Degree in Nepalese History Culture and Archaeology-TU.

म अध्ययन-अनुसन्धान कार्यमा निस्वार्थ भावले निरन्तर लागेको एक वाम विचारधारायुक्त सामाजिक कार्यकर्ता हुँ। मेरो कुनै पनि राजनीतिक दलसँग संलग्नता नरहेको जानकारी गराउँदछु। मेरा हरेक अध्ययन-अनुसन्धान कार्य शोषण, दमन, अन्याय, अत्याचारका विरुद्ध हुनेछन् । आम श्रमजीवी, भोका-नांगा, गरीब, उत्पीडित जनसमुदायहरूलाई सुशिक्षित गर्ने प्रयत्न मेरो कर्तव्य हुनजान्छ । मेरा सबै कार्य जनहितका लागि हुनेछन् भन्ने आशा तथा विश्वासपूर्वक मैले निरन्तर कार्य अगाडि बढाइरहेको हुनेछु। श्रमप्रति सम्मान र शोषणप्रति घृणा नै मेरा कार्यका उद्देश्य हुनेछन्।  

यहाँ तपाईंहरू सबै प्रकारका सामग्रीहरू अध्ययन गर्न र हेर्न पाउनुहुनेछ । अध्ययन गर्नको लागि रूचियुक्त सामग्रीहरू माग गर्नुभयो भने यथासंभव परिपूर्तिसमेत गरिनेछ । यहाँ लेखरचना, पत्रपत्रिका, म्यागजिन,  जर्नल, विभिन्न पुस्तकहरू (नेपाली, अंग्रेजी र हिन्दी भाषामा), डकुमेन्ट्री, फिल्म, आदि सामग्रीहरू खोजेर पढ्न तथा हेर्न सक्नुहुन्छ।

I am a leftist social worker who is selflessly engaged in research work. I inform you that I am not affiliated with any political party. Every study-research work of mine will be against exploitation, oppression, injustice and tyranny. It is my duty to try to educate the common workers, the hungry, the poor, the oppressed masses. I will continue my work with the hope and confidence that all my work will be for public interest. Respect for labor and hatred for exploitation will be the objectives of my work.

Here you will find all kinds of content to study and watch. If you demand for interesting materials to study, they will be provided as much as possible. Here you can search and read articles, newspapers, magazines, journals, various books (in Nepali, English and Hindi languages), documentaries, films, etc.

श्रमको सम्मान गर्नुभएकोमा धन्यवाद ।

Thank you for respecting the labor.

Newsletter

Marxism-मार्क्सवाद

Communist history

Philosophy-दर्शन

लेनिन-LeninLeninism

दस्तावेज-documents

धर्म-दर्शन

त्रिपिटक–बुद्ध

गीता सार

Politics–राजनीति

ग्रन्थ परिचय

Mao-Maoism

साहित्य- literature

जीवनी-biography

साम्यवाद-communism

युवाबारे-On Youth

कार्ल मार्क्स–Karl Marx

फ्रेडरिक एंगेल्स–F. Engels

भी.आइ.लेनिन–V.I.Lenin

जे. भी. स्टालिन – J.V. Stalin

माओत्सेतुङ – Maotsetung

डिजिटल पुस्तकालय (digital library)

ई-पुस्तकालय -e-library

विज्ञान-प्रविधि (Science-Technology)

सामान्य ज्ञान (GK)

Documentaries and YouTube channels

पुस्तकालय – LIBRARY

नेपाली डिजिटल पुस्तकहरू (Nepali Digital Books)

नेपाली न्यूजपेपर, म्यागजिन र अनलाइन पत्रपत्रिकाहरू (Nepali Newspapers, Online and Nepali Magazines)

English Digital Books : Part – 1 (world communist special books)

English Digital Books : Part – 2

English Digital Books : Part – 3

हिन्दी डिजिटल पुस्तक (Hindi digital Books) भाग – १

हिन्दी डिजिटल पुस्तक (Hindi digital Books) भाग – २

हिन्दी डिजिटल पुस्तक (Hindi digital Books) भाग – ३

हिन्दी डिजिटल पुस्तक (Hindi digital Books) भाग – ४

हिन्दी डिजिटल पुस्तक (Hindi digital Books) भाग – ५

Documentaries and YouTube channels

Uncategorized

ENGLISH SECTION

Design a site like this with WordPress.com
Get started