राज्यबारे

लेखक  भी.आई. लेनिन

नेपाली अनुवाद -कृष्णप्रकाश श्रेष्ठ

सर्वप्रथम १८ जनवरी १९२९ मा ‘प्राभ्दा’ पत्रिकाको १५ औं अङ्कमा प्रकाशित भ्लादिमिर इलिच लेनिन, पूर्ण रचना सङ्ग्रह, खण्ड ३९, पृष्ठ ६४-८४।

कामरेडहरू, जुन योजना तपाईंहरूले अनुमोदन गर्नुभयो र जसबारे मलाई अवगत गराइयो, त्यसअनुसार आजको वार्ताको विषयवस्तु राज्यसम्बन्धी प्रश्न हो । मलाई थाहा छैन, तपाईंहरू यस प्रश्नसँग कतिसम्म परिचित हुनुहुन्छ । जहाँसम्म मलाई लाग्छ, तपाईंहरूको पाठ्यक्रम भर्खरै मात्र सुरु भएको छ र तपाईंहरूले यस प्रश्नको अध्ययन सिलसिलाबद्ध ढङ्गबाट पहिलोपल्ट गर्नुपरेको छ । यदि यसै हो भने हुनसक्छ, यस जटिल प्रश्नसम्बन्धी पहिलो व्याख्यानमा धेरैजसो स्रोताहरूको लागि पर्याप्त मात्रामा स्पष्ट र बोधगम्य वर्णन गर्न म असमर्थ हुनेछु । अनि यस्तै सावित भएको खण्डमा पनि म तपाईंहरूलाई यसबाट दिक्दार नहुन अनुरोध गर्दछु, किनभने राज्यसम्बन्धी प्रश्न सबभन्दा जटिल एवम् कठिन र पुँजीवादी विद्वान्, लेखक तथा दार्शनिकहरूद्वारा सायद सबभन्दा बढी उल्टोपाल्टो तुल्याइएका प्रश्नहरूमध्ये एक हो । यसकारण एकपटकको छोटो वार्तामै यस प्रश्नबारे पूर्ण स्पष्टता प्राप्त भइहाल्छ भन्ने आशा कदापि गर्न मिल्दैन । यस विषयको यो पहिलो वार्तापछि आफूले बुझ्न नसकेका अथवा आफूलाई अस्पष्ट रहेका ठाउँहरूमा चिनो लगाउनुहोला, जसले गर्दा ती बुझ्न बाँकी रहेका कुरालाई पछि गएर अध्ययन अथवा अलग-अलग व्याख्यान तथा वार्ताहरूद्वारा दोस्रो, तेस्रो र चौथो पटकसम्म दोहोर्‍याएर वढी पूर्ण र स्पष्ट पार्न सकियोस् । मलाई आशा छ, हामी फेरि पनि भेट्न सक्नेछौं र त्यसबेला हामी अन्य सम्पूर्ण थप प्रश्नहरूबारे विचारविमर्श गर्नुको साथै के कुरा अझ पनि निकै अस्पष्ट रहेको छ भन्ने ठम्याउनसमेत सफल हुनेछौं । त्यस्तै, म के पनि आशा गर्दछु भने विभिन्न वार्ता तथा व्याख्यानहरूको अतिरिक्त तपाईंहरू मार्क्स तथा एङ्गेल्सका प्रमुखतम् रचनाहरूमध्ये कुनै-कुनैको सम्म भए पनि अध्ययनको लागि निश्चित समय दिनुहुनेछ ।* (*मार्क्स, कार्ल (सन् १८१८-१८८३) तथा एङ्गेल्स, फ्रेडरिक (सन् १८२० – १८९५) – वैज्ञानिक साम्यवाद अर्थात् सर्वहारा वर्गसङ्घर्षका मार्ग तथा रूपहरू, समाजवादी क्रान्ति तथा समाजवाद एवम् साम्यवादको निर्माणसम्बन्धी शिक्षाका संस्थापकहरू – सं.) सोभियत एवम् पार्टी प्रशिक्षण केन्द्रका प्रशिक्षार्थीहरूको लागि पुस्तकालयमा – जुन पुस्तकालय तपाईंहरूकहाँ अवश्य हुनुपर्छ- उपलब्ध साहित्यसूची तथा पाठ्यपुस्तकमा तपाईंहरूले यी प्रमुख रचनाहरू प्राप्त गर्न सक्नुहुनेछ भन्ने कुरामा कुनै सन्देह छैन । अनि हुनसक्छ, फेरि पनि तपाईंहरूमध्ये कसै-कसैलाई वर्णनको कठिनाइले तर्साउला, तर फेरि पनि म सावधान गराउन चाहन्छु- यसबाट तपाईंहरू दिक्दार नहुनुहोला, जुन कुरा पहिलोपटक पढ्दा बुझ्न सकिँदैन, त्यसलाई दोहोऱ्याएर पढेपछि अर्थात् त्यस प्रश्नलाई कुनै अन्य दृष्टिकोणबाट हेरेपछि स्वतः स्पष्ट हुन्छ । किनभने, म फेरि पनि दोहोऱ्याउन चाहन्छु, यो प्रश्न कति जटिल र यसलाई पुँजीवादी विद्वान् तथा लेखकहरूले कति उल्टोपाल्टो पारेका छन् भने गम्भीरतापूर्वक सोचेर आफैँले बुझ्न चाहने हरेक व्यक्तिले यसलाई धेरैपटक दोहोऱ्याएर, बारम्बार त्यसमा फर्केर र त्यसलाई विभिन्न पक्षवाट हेरेर मनन गर्नु आवश्यक छ, जसले गर्दा स्पष्ट एवम् दृढ रूपले त्यसलाई बुझ्न सकियोस् । अनि तपाईंहरूलाई यस प्रश्नतिर फर्कन कुन कारणले पनि सरल हुँदै जानेछ भने यो प्रश्न सम्पूर्ण राजनीतिको त्यस्तो प्रमुख तथा मूलभूत प्रश्न हो, जसलाई अहिलेको हाम्रो यस्तो तुफानी क्रान्तिकारी समयमा मात्र नभएर सबभन्दा शान्तिपूर्ण समयमा पनि तपाईंहरू कुनै पनि आर्थिक अथवा राजनीतिक समस्याहरूको सन्दर्भमा प्रत्येक दिन हरेक पत्रपत्रिकामा भेट्टाउनु हुनेछ – राज्य भनेको के हो, त्यसको सार केमा छ, केमा त्यसको महत्त्व छ र हाम्रो पार्टी, पुँजीवादी व्यवस्थाको अन्त्य गर्न संघर्षरत पार्टी अर्थात् कम्युनिष्टहरूको पार्टीसँग त्यसको के सम्वन्ध छ, अनि त्यसप्रति हाम्रो पार्टीको कस्तो दृष्टिकोण छ- यसरी तपाईंहरू हरेक दिन कुनै न कुनै सन्दर्भमा यस प्रश्नतिर फर्कनुहुनेछ । अनि सबभन्दा मुख्य कुरा त के हो भने तपाईंहरूले आफ्नो अध्ययन, वार्ता तथा राज्यसम्बन्धी आफूले सुनेका व्याख्यानहरूको फलस्वरूप यस प्रश्नलाई स्वतन्त्र रूपले बुझ्ने क्षमताको विकास गर्न सक्नुपर्छ, किनभने विभिन्न अवसरहरूमा प्रत्येक सानातिना समस्याहरूमा, अत्यन्तै अप्रत्याशित संयोगहरूमा र प्रतिद्वन्द्वीहरूसँगका छलफल एवम् विवादहरूमा तपाईंहरूले यस प्रश्नको सामना गर्नुपर्ने हुन्छ । जब तपाईंहरूले यस प्रश्नलाई स्वतन्त्र रूपले वुझ्न सक्नुहुनेछ, तब मात्र आफूलाई आफ्ना धारणाहरूमा अडिग रहन समर्थ पाउनुहुनेछ र जुनसुकै व्यक्तिसमक्ष र जुनसुकै समयमा पनि आफ्ना धारणाहरूलाई यथावश्यक सफलताका साथ सुरक्षित राख्न सक्नुहुनेछ ।

यी सानातिना टीकाटिप्पणीहरू पश्चात् अब म सबभन्दा मुख्य प्रश्नतिर अर्थात् राज्य भनेको के हो, कसरी त्यसको उत्पत्ति भयो र पुँजीवादी व्यवस्थाको पूर्ण उन्मूलन गर्नको लागि संघर्षरत मजदुरवर्गको पार्टी- कम्युनिष्टहरूको पार्टीको राज्यसम्वन्धी मुख्यतया कस्तो दृष्टिकोण रहनुपर्छ भन्ने कुरातिर लाग्दछु ।

पुँजीवादी विज्ञान, दर्शनशास्त्र, न्यायशास्त्र तथा पत्रकारिताका प्रतिनिधिहरूद्वारा, जानीजानी होस् अथवा अन्जानमै, राज्यसम्बन्धी प्रश्नजस्तो जटिल तुल्याइएको अन्य प्रश्न सायदै भेट्टाइएला भन्ने कुरा त मैले पहिल्यै भनिसकें । प्रायसः अझ पनि यस प्रश्नलाई धार्मिक प्रश्नहरूसँग मिसाइएको पाइन्छ, अक्सर विभिन्न धार्मिक विचारधाराका प्रतिनिधिहरू मात्र नभएर । उनीहरूबाट यस कुराको अपेक्षा गर्नु त स्वाभाविकै हो । आफूलाई धार्मिक पूर्वाग्रहबाट मुक्त ठान्ने मानिसहरू समेत राज्यजस्तो विशिष्ट प्रश्नलाई धर्मसम्बन्धी प्रश्नहरूसँग मिसाउँछन् र उनीहरू यस्तो सिद्धान्त- प्रायः वैचारिक एवम् दार्शनिक दृष्टिकोण तथा तार्किक प्रमाणहरूसहित अति जटिल सिद्धान्त खडा गर्ने प्रयास गर्दछन्, जसअनुसार राज्य भनेको कुनै ईश्वरी देन हो, कुनै अलौकिक कुरा हो र यो कुनै त्यस्तो शक्ति हो, जसको सहायताले मानवजाति जीवित रहेको छ र जसले आफूमा निहित त्यस्तो तत्त्व मानिसहरूलाई प्रदान गरेको छ अथवा प्रदान गर्न सक्छ, जो मानिसको उपज नभएर उसभन्दा बाहिरको कुरा हो अर्थात् यस शक्तिको उत्पत्ति ईश्वरी छ ।

के कुरा पनि भन्नु आवश्यक छ भने यो शिक्षा शोषकवर्गहरूको- जमिनदार तथा पुँजीपतिहरूको स्वार्थसँग कति घनिष्ट रूपमा सम्बन्धित छ, यसले उनीहरूको स्वार्थलाई कति ठूलो सेवा पुयाउँछ र यो पुँजीवादी प्रतिनिधि महाशयहरूका सम्पूर्ण बानीबेहोरा, विचार तथा विज्ञानमा कति गहिरोसँग भिजेको छ भने तपाईंहरूले त्यसका अवशेषहरू प्रत्येक पाइलामा फेला पार्नुहुनेछ र अझ कहाँसम्म भने आफू धार्मिक अन्धविश्वासको वशमा रहेको कुरालाई स्पष्टतापूर्वक अस्वीकार गर्ने र राज्यको सम्बन्धमा गम्भीरतापूर्वक सोच्नसक्ने कुरामा आफू विश्वस्त रहेको दावी गर्ने मेन्शेविक  तथा एसेरहरूका* (*मेन्शेविकहरू – रसियाली सामाजिक जनवादभित्रको निम्नपुंजीवादी अवसरवादी धाराका पक्षधरहरू । एसेरहरू- क्रान्तिकारीहरूको पार्टी अर्थात् रसियाको एक निम्नपुँजीवादी पार्टीका पक्षधरहरू, जुन पार्टीको संक्षिप्त नाम एसेर हो । यस पार्टीको स्थापना सन् १९०१-१९०२ तिर भएको थियो । सन् १९१७ मा यस पार्टीले प्रतिक्रान्तिको पक्ष लियो । अक्टोवर समाजवादी क्रान्तिपछि मेन्शेविक तथा एसेरहरूका पार्टीले आफ्नो अस्तित्व गुमाए । सं.) राज्यसम्बन्धी धारणाहरूमा समेत यी अवशेषहरू भेट्टाउनु हुनेछ । यो प्रश्नलाई यति उल्टोपाल्टो र जटिल तुल्याइएको छ भने यसले (अर्थशास्त्रका आधारहरूबाहेक) अन्य कुनै पनि प्रश्नभन्दा बढी शासकवर्गको स्वार्थसँग सरोकार राख्छ । राज्यसम्बन्धी यस शिक्षाले सामाजिक विशेषाधिकारहरूको औचित्य, शोषणको अस्तित्वको औचित्य तथा पुँजीवादको अस्तित्वको औचित्यलाई सावित गर्न बल पुऱ्याउँछ- यसैकारणले यस प्रश्नमा निष्पक्षताको आशा गर्नु र यहाँ आफूलाई वैज्ञानिक दृष्टिकोण प्रदान गर्लान् भन्ने ठान्नु धेरै ठूलो गल्ती ठहरिनेछ । जब तपाईंहरू राज्यसम्वन्धी प्रश्नसँग परिचित हुनुहुनेछ र जब यसको यथावश्यक मनन गर्नुहुनेछ, तब तपाईंहरू सधैं यस प्रश्नमा, यससँग सम्बन्धित शिक्षामा र यससम्बन्धी सिद्धान्तमा विभिन्न वर्गहरूबीचको सङ्घर्ष देख्नुहुनेछ, अर्थात् त्यस्तो सङ्घर्ष देख्नुहुनेछ, जो राज्यसम्वन्धी धारणाको सङ्घर्षमा, त्यसको भूमिका तथा महत्त्वको मूल्याङ्कनमा प्रतिबिम्बित भएको हुन्छ अथवा जसले आफ्नो अभिव्यक्ति पाएको हुन्छ ।

अधिक वैज्ञानिक ढङ्गबाट यस प्रश्नको अध्ययन गर्नको लागि राज्यको उत्पत्ति कसरी भयो र कसरी त्यसको विकास हुँदै आयो भन्ने कुराको इतिहासप्रति कम्तिमा पनि एक दृष्टि दिनु आवश्यक छ । सामाजिक विज्ञानको प्रश्नमा सबभन्दा विश्वसनीय कुरा र त्यस प्रश्नको सही अध्ययनमा यथार्थ दक्षता हासिल गर्न र सानातिना समस्याहरूको राशिमा अथवा विभिन्न परस्परविरोधी विचारहरूको विशाल जालमा आफूलाई विलीन हुन नदिनको लागि अत्यावश्यक कुरा- वैज्ञानिक ढङ्गबाट यस प्रश्नको अध्ययन गर्नको लागि प्रमुखतम् कुरा के हो भने हामीले आधारभूत ऐतिहासिक सम्बन्धहरूलाई विर्सनु हुँदैन, कुनै निर्दिष्ट ऐतिहासिक घटना कसरी घट्न गयो र त्यस घटनाले आफ्नो विकासको सिलसिलामा केकस्ता प्रमुख चरणहरू पार गर्‍यो भन्ने दृष्टिकोणवाट प्रत्येक प्रश्नहरूलाई हेर्नुपर्छ र अब आएर त्यस घटनाले कुन रूप लिन पुग्यो भन्ने कुरा पनि त्यसको विकासक्रमकै दृष्टिकोणमा हेर्नुपर्छ ।

मलाई आशा छ, राज्यसम्वन्धी प्रश्नको जानकारी तपाईंहरूले एङ्गेल्सको ‘परिवार निजी स्वामित्व तथा राज्यको उत्पत्ति* (*हेर्नोस् फ्रे:एङ्गेल्स, ‘परिवार, निजी स्वामित्व तथा राज्यको उत्पत्ति’, मास्को, प्रगति प्रकाशन, सन् १९६८) नामक रचनावाट पाउनुहुनेछ । यो कृति आधुनिक समाजवादका आधारभूत रचनाहरूमध्ये एक हो, जसका प्रत्येक वाक्यमा विश्वास गर्न सकिन्छ, कस्तो विश्वास भने त्यहाँका प्रत्येक वाक्य कुनै सोचविचार नगरिकन भनिएका नभएर विशाल ऐतिहासिक तथा राजनैतिक सामग्रीको आधारमा लेखिएका छन् । त्यस रचनाका सबै खण्डहरू एकैनासले सरल र बोधगम्य रूपमा वर्णन गरिएका छैनन् भन्ने कुरामा सन्देह छैन, किनभने केही खण्डहरू पहिल्यै इतिहास तथा अर्थशास्त्रसम्वन्धी ज्ञान प्राप्त गरिसकेका पाठकहरूको लागि लेखिएका हुन् । तर म फेरि पनि भन्दछु- यदि यस रचनालाई एकपल्ट पढ्ने वित्तिकै तपाईंहरूले बुझ्नसक्नुभएन भने यसबाट दिक्दार नहुनुहोला । प्रायः कुनै पनि व्यक्तिको लागि एकपल्ट मात्र पढेर यो कृति बुझिहाल्नु असम्भव नै हुन्छ । तर जब तपाईंहरूमा त्यस विषयप्रति अभिरुचि पैदा हुन्छ र पुनः तपाईंहरू त्यसको अध्ययन गर्नुहुन्छ, त्यसबेला सबै नभए तापनि त्यसको अधिकांश भाग वुझ्न तपाईंहरू सफल हुनुहुनेछ । किन म तपाईंहरूलाई यस पुस्तकको विषयमा स्मरण गराइरहेछु भने त्यसले उक्त प्रश्नसम्बन्धी सही दृष्टिकोण प्रस्तुत गरेको छ । त्यो पुस्तक कसरी राज्यको उत्पत्ति भयो भन्ने कुराको ऐतिहासिक रूपरेखाबाट सुरु गरिएको छ ।

राज्यको प्रश्नमा सही दृष्टिकोण राख्न, त्यस्तै अन्य जुनसुकै प्रश्नहरूमा पनि, जस्तो, पुँजीवाद तथा मानिसद्वारा मानिसको शोषणको उत्पत्तिसम्बन्धी प्रश्नमा, समाजवादको प्रश्नमा अर्थात् कसरी समाजवाद अस्तित्वमा आयो र केकस्ता परिस्थितिहरूद्वारा त्यसको सिर्जना भयो भन्ने धारणाहरूमा यस्ता प्रत्येक प्रश्नमा गम्भीरता एवम् दृढतापूर्वक सही दृष्टिकोण राख्न तबमात्र सम्भव हुन्छ, जब त्यसको विकासको सम्पूर्ण इतिहासमा ध्यान दिइन्छ । यस प्रश्नको सन्दर्भमा सर्वप्रथम के कुरामा ध्यान दिनु आवश्यक छ भने राज्य सधैं अस्तित्वमा थिएन । त्यस्तो समय पनि थियो, जुनबेला राज्यको अस्तित्व नै थिएन । यसको उत्पत्ति त्यहाँ र त्यसबेला हुन्छ, जहाँ र जुनबेला समाज वर्गहरूमा विभाजित हुन्छ, जुनबेला शोषक तथा शोषितहरू देखापर्दछन् ।

मानिसद्वारा मानिसको शोषणको पहिलो रूप अर्थात् वर्गविभाजनको पहिलो रूप दास – मालिक तथा दासहरूको उत्पत्ति नहुउन्जेलसम्म पित्तृसत्तात्मक परिवार अथवा त्यसलाई कहिलेकाहीँ गोत्रीय (गोत्र- पुस्ता, वंश, जुनबेला मानिसहरू वंश तथा पुस्ताको रूपमा एकत्रित भएर बस्दथे ) परिवार भनिन्छ, अस्तित्वमा थियो । ती आदिम कालका छापहरू धेरैजसो आदिम जातिहरूका जीवनमा निश्चित रूपमा वाँकी रहेका छन् । यदि तपाईंहरूले आदिम संस्कृतिको विषयमा लेखिएको कुनै पनि रचना हेर्नुभयो भने त्यसमा सधैँ यस विषयमा धेरथोर निश्चित विवरण उल्लेख तथा संस्मरणहरू भेट्टाउनुहुनेछ, जसमा के कुरा वर्णित पाइन्छ भने आदिम साम्यवादसँग मिल्दोजुल्दो कुनै त्यस्तो समय पनि थियो, जुनबेला समाज दास तथा दासमालिकहरूमा विभाजित थिएन । अनि त्यसबेला राज्यको पनि कुनै अस्तित्व थिएन, मानिसहरूमाथि नियमित रूपमा दमन गर्ने र उनीहरूलाई शक्तिको वशमा राख्ने कुनै विशेष यन्त्र थिएन । यस्तो यन्त्रलाई नै राज्य भनिन्छ ।

आदिम समाजमा, जब मानिसहरू विकासको निम्नतम चरणमा प्रायः जङ्गली अवस्थामा, ससाना वंशहरूको रूपमा रहने गर्दथे, अर्थात् त्यस युगमा, जुन युगबाट आधुनिक सभ्यमानवजाति हजारौ वर्ष टाढा पुगेको छ- त्यसबेला राज्यको अस्तित्वका कुनै पनि लक्षणहरू थिएनन् । हामी त्यसताका रीतिरिवाजहरूको प्रभुत्व, प्रतिष्ठा, आदर तथा वंशका बूढापाकाहरूले उपयोग गरेको सत्ता, आदि अस्तित्वमा रहेको देख्दछौं, कहिलेकाहीँ नारीहरूले पनि त्यस्तो सत्ता उपभोग गरेको देख्दछौं, त्यसबेलाका नारीहरू अहिलेको जस्तो अधिकारविहीन उत्पीडित अवस्थामा थिएनन् तर हामी कहीं पनि मानिसहरूको त्यस्तो विशिष्ट श्रेणी देख्दैनौं, जसको काम नै अरूमाथि शासन गर्नुहुन्छ र जसले शासन चलाउने हेतुले र त्यसको लक्ष्यसिद्धिको निम्ति नियमित एवम् स्थायी रूपमा एक त्यस्तो निश्चित दमन तथा बलात्कारको यन्त्र आफ्नो हातमा लिएका हुन्छन्, जुन यन्त्रको रूपमा वर्तमान अवस्थामा तपाईंहरूलाई ज्ञात भएका सशस्त्र सैनिक दलहरू, झ्यालखानाहरू र अरूको इच्छालाई दमनको वशमा राख्ने अन्य साधनहरू- ती कुरा, जसमा राज्यको सार निहित छ- रहेका छन् ।

यदि आफ्नो ध्यान ती तथाकथित धार्मिक शिक्षा, चतुर्‍याई, दार्शनिक रचनाहरू र बुर्जुवा विद्वानहरूद्वारा प्रस्तुत अन्य बहुरङ्गी विचारहरूबाट हटाएर कुराको वास्तविक सार पहिल्याउने हो भने हामी राज्यलाई वास्तवमै मानव समाजबाट अलगिएको एक प्रशासनिक यन्त्रको रूपमा देख्दछौं । जब मानिसहरूको यस्तो विशेष समूह देखापर्दछ, जो केवल शासन चलाउनमा मात्र तल्लिन रहन्छ र जसलाई शासन चलाउनको लागि करकाप र शक्तिको प्रयोगबाट परइच्छाको दमन गर्ने यन्त्र झ्यालखानाहरू, मानिसका विशेष गठ्ठाहरू, सैनिकहरू आदिको आवश्यकता पर्दछ, त्यसैबेला राज्यको उत्पत्ति हुन्छ ।

परन्तु त्यस्तो समय पनि थियो, जुनबेला राज्यको अस्तित्व थिएन, जुनबेला सामूहिक सम्बन्ध स्वयम् समाज, अनुशासन तथा दिनचर्यालाई रीतिरिवाज एवम् परम्पराको शक्तिले र प्रतिष्ठा अथवा आदारको भावनाले थामेको हुन्थ्यो, जुन आदार वंशका बूढापाका अथवा नारीहरूले प्राप्त गरेका हुन्थे त्यसबेला नारीहरूले पुरुषको बराबर अधिकार मात्र नपाएर अझ निकै उच्चस्थिति पनि प्राप्त गरेका हुन्थे र जुनबेला मानिसहरूको शासन चलाउने विशेषज्ञहरूको विशिष्ट श्रेणी अस्तित्वमा थिएन । इतिहासले के कुरा देखाउँछ भने मानिसहरूको दमन गर्ने एक विशेषयन्त्रको रूपमा राज्यको उत्पत्ति त्यहाँ र त्यतिबेला मात्र भयो, जहाँ र जतिबेला समाज वर्गहरूमा अर्थात् मानिसका त्यस्तो समूहहरूमा विभाजित भयो, जसमध्ये एकथरीले अर्कोथरीका श्रम स्थायी रूपमा हडप गर्न सक्दछ, जहाँ एकले अर्कोको शोषण गर्दछ ।

वर्गहरूमा समाजको यो ऐतिहासिक विभाजन हामीसमक्ष एक आधारभूत तथ्यको रूपमा सधैं स्पष्ट रहनुपर्दछ । हजारौं वर्षहरूमा बिनाकुनै अपवाद सम्पूर्ण देशहरूमा भएको समस्त मानवसमाजको विकासले हामीलाई त्यस विकासको आम नियमबद्धता, औचित्य तथा क्रमबद्धता कसरी दर्शाउँछ भने सुरुमा हामी वर्गविहीन समाज, प्रारम्भिक, पित्तृसत्तात्मक, आदिमसमाज पाउँछौं, जसमा कुलीनहरूको अस्तित्व थिएन, त्यसपछि दासप्रथामा आधारित समाज अर्थात् दासप्रथात्मक समाजको उत्पत्ति हुन्छ । सम्पूर्ण आधुनिक सभ्य युरोपले यही बाटो पार गर्‍यो – दुईहजार वर्षअघि यहाँ दासप्रथाको पूर्ण प्रभुत्व थियो । संसारका अन्य भूभागहरूमा बसोबास गर्ने अधिकांश जनताहरूले पनि यही बाटो पार गरे । कम विकसित जातिहरूमा दासप्रथाका छापहरू अझै पनि पाइन्छन् र तपाईंहरूले आज पनि, उदाहरणार्थ अफ्रिकामा, दासप्रथा एक प्रणालीको रूपमा भेट्टाउनुहुनेछ । दासमालिक तथा दासहरूको उत्पत्ति प्रथम महत्त्वपूर्ण वर्गविभाजन थियो । पहिलो समूहले जमिन तथा अन्य औजारहरू चाहे ती त्यसबेला जति नै सामान्य र कम टिकाउका किन नहून्, जस्ता उत्पादनका सम्पूर्ण साधनहरूमाथि मात्र नभएर मानिसहरूमाथि पनि आधिपत्य जमाएको थियो । यस समूहलाई दासमालिक भनिन्थ्यो र आफूले परिश्रम गरेर आफ्नो श्रम अरूलाई सुम्पने मानिसहरूलाई चाहिँ दास भनिन्थ्यो ।

इतिहासमा यस रूपपछि अर्को रूप भूदासप्रथा अस्तित्वमा आयो । अत्यधिक देशहरूमा दासप्रथाले आफ्नो विकासक्रममा भूदासप्रथाको रूप लियो । समाजको आधारभूत विभाजनको रूपमा सामन्ती – जमिनदारहरू र भूदास कृषकहरू हुन गए । मानिसहरूबीचका सम्बन्धहरूको रूप बदलियो । दासमालिकहरूले दासहरूलाई निजी सम्पत्ति ठान्दथे, यस धारणालाई कानुनद्वारा सुदृढ तुल्याइन्थ्यो र दासहरूलाई पूर्णत: दासमालिकको स्वामित्वमा रहेको वस्तुको रूपमा हेरिन्थ्यो । भूदासहरूको सम्बन्धमा भने वर्गीय उत्पीडन तथा पराधीनताचाहिँ कायमै रह्यो तापनि सामन्ती-जमिनदार भने कुनै वस्तुको मालिक कृषकको मालिकको रूपमा रहेन । उसमा केवल कृषकहरूको श्रममाथिको हक तथा आफूलाई निश्चित सेवा पुऱ्याउन कृषकहरूलाई बाध्य गराउने अधिकार मात्र निहित रह्यो । व्यवहारमा भने भूदासप्रथा पनि विशेषगरी रसियामा, जहाँ त्यसका कठोरतम् रूपहरू पाइन्थे, जुनकुरा तपाईंहरू सबैलाई विदितै छ- दासप्रथाभन्दा कुनै कुरामा पनि फरक थिएन ।

यसपछि व्यापारको विकास हुँदै गएअनुसार, विश्वव्यापी बजारको उत्पत्ति तथा मौद्रिक परिचालनको विकासअनुरुप सामन्ती समाजमा एउटा नयाँ वर्गको पुँजीवादी वर्गको उत्पत्ति भयो । वस्तुबाट, वस्तुविनिमयबाट र मौद्रिक प्रभुत्वको उत्पत्तिबाट पुँजीको सत्ता उत्पन्न भयो । अठारौं शताब्दीको अन्त्यदेखि उन्नाइसौं शताब्दीभरि संसारमा अनेकौं क्रान्तिहरू भए । पश्चिमी युरोपका सबै देशहरूमा भूदासप्रथाको उन्मूलन भयो । यो घटना रसियामा सबभन्दा पछि घट्यो । रसियामा पनि सन् १८६१ मा यस्तो परिवर्तन भयो, जसको परिणामस्वरुप समाजको एउटा रूपको ठाउँ अर्को रूपले लियो, अर्थात् भूदासप्रथाको स्थान पुँजीवादले लियो, जसमा वर्गविभाजन तथा भूदासप्रथाका लक्षण एवम् अवशेषहरू कायमै रहे, तर वर्गविभाजनले भने मूलतः अर्कै रूप लियो ।

सम्पूर्ण पुँजीवादी देशहरूमा पुँजीपतिहरू, जमिनदारहरू र मिल तथा कारखानाका मालिहरू जनजनसङ्ख्याको एक नगण्य अंशको रूपमा रहेका थिए र रहेका छन्, जसले सम्पूर्ण जनताको श्रममाथि पूरै हुकुम चलाएका छन् अर्थात् ती सम्पूर्ण श्रमिक जनसमुदायहरूलाई आफ्नो वशमा, उत्पीडनमा र शोषणमा जकडेका छन्, जुन जनसमुदायहरूमध्ये अधिकांश सर्वहाराहरू र ज्यालादारी मजदुरहरू हुन्छन्, जो उत्पादनप्रक्रियामा केवल आफ्ना श्रमिक हातहरूको, श्रमशक्तिको विक्रयबाट जीविकोपार्जन गर्छन् । भूदासप्रथाको समयदेखि नै कंगाल तथा पददलित तुल्याइएका कृषकहरू पुँजीवादमा सङ्क्रमित भएपछि केही अंश (वहुसङ्ख्यक) सर्वहारावर्गमा परिणत भए भने केही अंश (अल्पसङ्ख्यक) त्यस्तो सम्पन्न कृषकवर्गमा परिणत भए जसले आफू ग्रामीण बुर्जुवावर्गको रूपमा रहेर श्रमिकहरूलाई ज्यालादारी काममा लगाउने थाले ।

यस आधरभूत तथ्यलाई दासप्रथाको आदिम रूपवाट भूदासप्रथामा र अन्तत: पुँजीवादमा समाजको सङ्क्रमणलाई तपाईंहरूले सधैँ ध्यानमा राख्नुपर्दछ, किनभने यस आधारभूत तथ्यको निरन्तर संस्मरण गरेर मात्र र सम्पूर्ण राजनीतिक सिद्धान्तहरूलाई यस आधारभूत संरचनाभित्र गाभेर मात्र तपाईंहरू ती सिद्धान्तहरूको सही मूल्याङ्कन गर्न र ती के कुरासँग सम्बन्धित छन् भन्ने छुट्याउन समर्थ हुनुहुनेछ, किनभने मानवजातिको इतिहासका यी बृहत् अविधिहरू- दासप्रथात्मक, भूदासप्रथात्मक तथा पुँजीवादीमध्ये प्रत्येकले दसौं र सयौं शताब्दीहरू अँगालेको छ र त्यसले राजनीतिक स्वरूपहरू तथा विभिन्न राजनीतिक सिद्धान्त, धारणा तथा क्रान्तिहरूको कस्तो सार प्रस्तुत गरेको छ भने त्यस चरम विचित्रता एवम् विशाल विविधतालाई बुझ्न विशेषगरी बुर्जुवा विद्वान तथा राजनीतिज्ञहरूका राजनीति, दार्शनिक एवम् अन्य सिद्धान्तहरूको सम्बन्धमा केवल समाजको यस वर्गीय विभाजनलाई र वर्गीय आधिपत्यका रूपहरूको परिवर्तनलाई आधारभूत निर्देशक सूत्रको रूपमा दृढतापूर्वक अनुशरण गर्न र यसै दृष्टिकोणबाट आर्थिक, राजनीतिक, बौद्धिक, धार्मिक, आदि सम्पूर्ण सामाजिक प्रश्नहरूलाई केलाउन सकेको खण्डमा मात्र सम्भव हुन्छ ।

यदि तपाईंहरू राज्यलाई यस आधारभूत विभाजनको दृष्टिकोणबाट हेर्नुहुन्छ भने समाजको वर्गीय विभाजन पहिले राज्यको कुनै अस्तित्व थिएन भन्ने कुरा थाहा पाउनुहुनेछ, जुन कुरा मैले पहिल्यै भनिसकेको छु । परन्तु जसरी समाजको वर्गीय विभाजनको उत्पत्ति तथा सुदृढीकरण हुँदै गयो, त्यसरी नै अर्थात् वर्गीय समाजको उत्पत्ति भएअनुसार नै राज्यको पनि उत्पत्ति एवम् सुदृढीकरण हुँदै गयो । मानवजातिको इतिहासमा हामी त्यस्तो दशौँ र अझ सयौं देशहरू भेट्टाउँदछौं, जसले दासप्रथा, भूदासप्रथा तथा पुँजीवादका चरणहरू पार गरे अथवा अहिले पनि तीमध्ये कुनै चरणमा छन् । ती महानतम् ऐतिहासिक परिवर्तनहरू हुँदाहुँदै पनि मानवजातिको यस विकाससँग र दासप्रथावाट भूदासप्रथा हुँदै पुँजीवादसम्म तथा पुँजीवादविरुद्ध वर्तमान विश्वव्यापी सङ्घर्षसम्मको सङ्क्रमणसँग सम्वन्धित सम्पूर्ण राजनीतिक उथलपुथल तथा क्रान्तिहरू हुँदाहुँदै पनि तपाईंहहरू ती देशहरूमध्ये प्रत्येकमा राज्यको उत्पत्ति भएको कुरा देख्नुहुनेछ । राज्य सदा एक त्यस्तो निश्चित यन्त्रको रूपमा रह्यो, जो समाजबाट अलग्गिएको थियो र जसमा त्यस्ता व्यक्तिहरूको समूह सम्मिलित थियो, जो केवल शासन चलाउने काममा मात्र, प्रायः यसै काममा मात्र अथवा विशेषतः यसै काममा मात्र व्यस्त रहन्थे । मानिसहरू शासितहरूमा र शासन चलाउने त्यस्ता विशेषज्ञहरूमा विभाजित हुन्छन्, जो समाजभन्दा माथि उठ्छन् र जसलाई शासक अथवा राज्यका प्रतिनिधिहरू भनिन्छ । यो यन्त्र अर्थात् अरूहरूमाथि शासन चलाउने व्यक्तिहरूको यो समूहले दमन तथा हिंसाको यन्त्र सधैँ आफ्नो हातमा लिएको हुन्छ, चाहे त्यो मानिसहरूमाथि गरिने दमन आदिम युगको लाठीमा अभिव्यक्त भएको होस् या दासयुगको अझ परिष्कृत हतियारमा, चाहे मध्ययुगमा उत्पन्न बारुदास्त्रमा अथवा अन्त्यमा, पूर्णत: वर्तमान प्रविधिका नवीनतम् उलपब्धिहरूमा आधारित बीसौं शताब्दीको प्राविधिक चमत्कारको रूपमा रहेका हतियारहरूमा नै । दमनका तरिकाहरू बदलिँदै गए तर प्रत्येक समाजमा राज्यको उत्पत्ति भएदेखि नै सधैं त्यस्ता व्यक्तिहरूको एक समूह अस्तित्वमा रह्यो, जो शासन चलाउँदथे, जसको आधिपत्य कायम थियो र जसले आफ्नो सत्ता थाम्नको लागि शारीरिक दवाव तथा दमनको यन्त्र आफ्नो हातमा लिएका थिए, अनि त्यस यन्त्रमा त्यस्ता हतियारहरू सामेल गरिन्थे, जुन प्रत्येक युगको प्राविधिक स्तरअनुकूल थिए । यसरी यी सामान्य घटनाहरूको गहन अवलोकन गरेर मात्र र वर्गहरू अस्तित्वमा नआउन्जेलसम्म एवम् शोषक तथा शोषितहरूको उत्पत्ति नहुन्जेलसम्म किन राज्य अस्तित्वमा आएन र किन त्यसको उत्पत्ति भएपछि मात्र भयो भन्ने जस्ता प्रश्नहरू आफैँले आफूलाई दिएर मात्र हामी राज्यको सार तथा त्यसको महत्त्वसम्बन्धी प्रश्नको उत्तर प्राप्त गर्न सक्दछौं ।

राज्य भनेको एक वर्गले अर्को वर्गमाथि आफ्नो प्रभुत्व कायम राख्ने यन्त्र हो । जबसम्म समाजमा वर्गहरूको उत्पत्ति भएको थिएन, जबसम्म, दासयुग अघि, मानिसहरू आम समानतामा आधारित आदिम अवस्थाहरूमा, श्रमको न्यूनतम उत्पादनशीलताका अवस्थाहरूमा परिश्रम गर्दथे र जबसम्म आदिम मानवले आफ्नो सामान्यतम् आदिम जीविकाको लागि आवश्यक साधनहरू पनि कठिनतापूर्वक प्राप्त गर्दथ्यो, त्यस बेलासम्म शासन चलाउनको लागि विशेष रूपमा छुट्याइएका र वाँकी सम्पूर्ण समाजमाथि आफ्नो आधिपत्य जमाउने मानिसहरूको विशेष समूहको उत्पत्ति पनि भएको थिएन र हुन पनि सक्दैन्थ्यो । राज्य केवल त्यसबेला मात्र उत्पन्न भयो, जुन बेला समाजको वर्गीय विभाजनको पहिलो रूप देखा पर्‍यो यो, जुन बेला दासप्रथाको उत्पत्ति भयो, जुनबेला मानिसहरूको एक निश्चित वर्ग खेतीपातीका सामान्यतम रूपहरूमा आधारित भएर केही वचत उत्पादन गर्न समर्थ भयो, जुनबेला त्यो बचत दासको दरिद्रतम जीविकाको लागि त्यति अनिवार्य रूपमा आवश्यक नभएकोले त्यो दासमालिकको हातमा पर्न थाल्यो । यसरी, जुनबेला दासमालिकहरूको अस्तित्व सुदृढ हुँदै गयो र त्यसको सुदृढीकरणको लागि राज्यको उत्पत्तिको आवश्यकता देखियो ।

अनि त्यस्तो राज्यको अर्थात् दासकालीन राज्यको उत्पत्ति भयो, एक त्यस्तो यन्त्रको उत्पत्ति भयो, जसले दासमालिकहरूको हातमा सत्ता अर्थात् सम्पूर्ण दासहरूमाथि शासन चलाउने अवसर प्रदान गयो । फेरि त्यसबेलाका समाज तथा राज्यहरू अहिलेको तुलनामा धेरै साना हुन्थे र सञ्चारका साधनहरू पनि अत्यन्तै कमजोर थिए- त्यसबेला अहिलेका जस्ता सञ्चारका माध्यमहरू थिएनन् । पहाड, नदी तथा सागरहरू अहिलेभन्दा धेरै असाधारण बाधाको रूपमा रहेका थिए र राज्यको निमार्ण आजको तुलनामा धेरै सङ्कुचित भौगोलिक सीमाहरूको परिधिभित्र हुने गर्थ्यो । तुलनात्मक रूपमा सङ्कुचित सीमा तथा सङ्कुचित प्रभावक्षेत्रभित्र रहेका राज्यको प्रशासनयन्त्र प्राविधिक दृष्टिले कमजोर थियो । यद्यपि त्यस्तो यन्त्र अस्तित्वमा थियो, जसले दासहरूलाई दासतामा रहन वाध्य तुल्याएको थियो, जसले समाजको एक हिस्सालाई अर्को हिस्साको दमन तथा उत्पीडनको बन्धनमा राखेको थियो । कुनै स्थायी दमनयन्त्रबेगर समाजको एक अधिकांश हिस्सालाई अर्को हिस्साको निमित्त नियमित रूपमा काम गर्न बाध्य तुल्याउनु सम्भव थिएन । जबसम्म वर्गको उत्पत्ति भएको थिएन, तबसम्म यस्तो यन्त्रको पनि अस्तित्व थिएन । जब वर्गहरू देखापरे, तब यस विभाजनको वृद्धि तथा सुदृढीकरणको साथसाथै सधैँ र सबै ठाउँमा एक विशेष जनसङ्ख्या अर्थात् राज्यको उत्पत्ति भयो । राज्यका स्वरूपहरू अत्यन्तै बहुरूपी थिए । दासप्रथात्मक कालमा त्यस समयको अनुपातमा सबभन्दा उन्नत, सुसंस्कृत एवम् सभ्य देशहरूमा, उदाहरणको लागि पूर्णत: दासप्रथामा स्थित प्राचीन युनान तथा रोममा नै हामी राज्यका विविध रूपहरू भेट्टाउँछौं । अझ त्यसबेला नै राजतन्त्र तथा गणतन्त्रको वीचमा कुलीनयन्त्र एवम् प्रजातन्त्रको वीचमा विभेद देखा पर्‍यो । राजतन्त्र भनेको एक व्यक्तिको सत्ता हो भने गणराज्यमा कुनै प्रकारको अनिर्वाचित सत्ता हुँदैन, कुलीनतन्त्र तुलनात्मक रूपमा अल्पसङ्ख्याको सत्ता हो भने प्रजातन्त्र जनताको सत्ता हो (युनानी भाषावाट शब्दश: अनुवाद गर्दा “डेमोक्राटिया” को अर्थ जनताको सत्ता भन्ने हुन्छ) । यी सम्पूर्ण विभेदहरू दासयुगमै देखापरे । यस्ता विभेदहरू हुँदाहुँदै पनि दासयुगीन राज्य दासप्रथामै आधारित थियो, चाहे त्यो राज्य राजतन्त्रात्मक होस् अथवा गणतन्त्रात्मक, चाहे कुलीनतन्त्रीय होस् अथवा प्रजातान्त्रिक नै ।

प्राचीन कालको इतिहाससम्बन्धी जुनसुकै पाठ्यक्रममा पनि यस विषयमा व्याख्यान सुन्दा तपाईंहरूले राजतन्त्रतात्मक तथा गणतन्त्रात्मक. राज्यहरूको बीचमा सङ्घर्ष भएको कुरा थाहा पाउनुहुनेछ, तर मुख्य कुरा के थियो भने दासहरू मानिसमा गनिँदैनथे उनीहरू केवल नागरिक नठानिएका मात्र नभएर, मानिसमा सम्म पनि गनिदैनथे । रोमन कानुनले तिनीहरूलाई वस्तुको रूपमा लिएको थियो । व्यक्तिगत सुरक्षाका नियमकानुनहरूको त कुरै छोडौं, दासहरूको हत्यामाथि समेत कानुनी बन्देज थिएन । कानुनले केवल दासमालिकहरूको मात्र सुरक्षा गर्दथ्यो र उनीहरू मात्र पूर्णाधिकारसम्पन्न नागरिक मानिन्थे । यदि राजतन्त्रको स्थापना भएको थियो भने त्यो दासप्रथात्मक – राजतन्त्र नै थियो, अथवा गणराज्यको स्थापना भएको थियो भने पनि त्यो गणराज्य दासप्रथात्मक नै थियो । त्यस्ता प्रणालीहरूमा सम्पूर्ण अधिकारहरूको उपभोग दासमालिकहरूले मात्र गर्दथे र दासहरूचाहिँ कानुनअनुसार वस्तु मानिन्थे । उनीहरूमाथि कुनै पनि प्रकारको अत्याचार गर्न सकिने मात्र नभएर उनीहरूको हत्यासम्म अपराध ठानिदैनथ्यो । आन्तरिक बनावटअनुसार दासप्रथात्मक गणराज्यहरू फरक-फरक हुन्थे: कुलीनतन्त्रीय गणराज्यमा विशेषाधिकारसम्पन्न व्यक्तिहरूको एक सीमित जनसङ्ख्याले मात्र निर्वाचनमा भाग लिन्थ्यो तर प्रजातान्त्रिक गणराज्यमा चाहिँ सबैले भाग लिन्थे, तर फेरि पनि, सबैले भन्नाले दासहरूबाहेक सबै दासमालिकहरूले मात्र । यस आधारभूत तथ्यमा ध्यान दिनु आवश्यक छ किनभने यसले राज्यसम्बन्धी प्रश्नमाथि सबभन्दा राम्ररी प्रकाश पार्दछ र राज्यको सारलाई स्पष्ट रूपमा दर्शाउँछ ।

राज्य भनेको एक वर्गद्वारा अर्को वर्गको उत्पीडनको यन्त्र हो, अन्य अधीनस्थ वर्गहरूलाई कुनै एक वर्गको आज्ञापालन गर्न बाध्य तुल्याउने यन्त्र हो । यस यन्त्रका रूपहरू विविध हुन्छन् । हाम्रो दासप्रथात्मक राज्यमा राजतन्त्र, कुलीनतन्त्रीय गणराज्य अथवा प्रजातान्त्रिक गणराज्यसम्म पनि पाउँदछौं । व्यवहारत: शासनका रुखहरू अत्यन्तै विविध हुन्थे तापनि सबैको सार एउटै थियो : दासहरूलाई कुनै पनि प्रकारको अधिकार प्राप्त थिएन र उनीहरू उत्पीडतवर्गको रूपमा रहेका थिए, उनीहरू मानिसमा गनिदैनथे । भूदासप्रथात्मक राज्यमा पनि हामी यही कुरा पाउँदछौं ।

शोषणका रूपहरूमा भएको परिवर्तनले दासप्रथात्मक राज्यलाई भूदासप्रथात्मक राज्यमा रूपान्तरित गर्‍यो । यो अति महत्त्वपूर्ण कुरा थियो । दासप्रथात्मक समाजमा दास पूर्णत: अधिकारविहीन थियो र ऊ मानिसमा पनि गनिदैनथ्यो, भूदासप्रथात्मक समाजमा कृषक जमिनसँग बाँधिएको थियो । भूदासप्रथाको प्रमुख लक्षण के थियो भने कृषकवर्ग (त्यसबेला कृषकहरूको बहुसङ्ख्या थियो, शहरी जनसंख्या अत्यन्त कम थियो ।) जमिनसँग बन्धित ठानिन्थ्यो- भूदासप्रथा भन्ने शब्दको उत्पत्ति पनि यहींबाट भएको हो । जमिन्दारले आफूलाई दिएको जमिनको टुक्रामा कृषकले आफ्नो लागि काम गर्न पाउने भयो, बाँकी दिनहरूमा ऊ भूदासको रूपमा जमिन्दारको लागि काम गर्थ्यो । वर्गीय समाजको सार कायमै रह्यो । समाज वर्गीय शोषणमा आधारित रह्यो । केवल जमिन्दारहरू मात्र पूर्णाधिकारसम्पन्न हुन्थे, कृषकहरू अधिकारविहीन ठानिन्थे । व्यवहारमा उनीहरूको स्थिति र दासप्रथात्मक राज्यका दासहरूको स्थितिमा कमै अन्तर थियो तापनि उनीहरूको मुक्तिको लागि, कृषक समूहको मुक्तिको लागि, बढी फराकिलो बाटो खुल्यो, किनभने भूदास जमिन्दारको प्रत्यक्ष सम्पत्ति मानिँदैनथ्यो । उसले आफ्नो जमिनको टुक्रामा काम गर्न केही समय खर्च गर्न सक्दथ्यो अर्थात् भनौँ, ऊ कुनै हदसम्म आफ्नै अधिनमा रहन सक्ने भयो, अनि विनिमय तथा व्यापारिक सम्बन्धहरूको विकासका विस्तृत सम्भावनाहरू उत्पन्न हुँदै गएअनुसार भूदासप्रथा पनि क्रमशः नष्ट हुँदै गयो र कृषक समुदायको मुक्तिको परिधि फराकिलो हुँदै गयो । भूदास समाज निःसन्देह दासप्रथात्मक समाजभन्दा बढी जटिल थियो । त्यसमा व्यापार तथा उद्योगको विकासको ठूलो सम्भावना निहित थियो, जसले त्यसैबेला समाजलाई पुँजीवादतिर उन्मुख गरायो । यहाँ पनि राज्यका रूपहरू विभिन्न थिए, यहाँ पनि राजतन्त्र तथा गणराज्य भेट्टाउँदछौं, यद्यपि त्यस्तो गणराज्य अत्यन्तै क्षीण रूपमा अभिव्यक्त थियो र केवल सामन्ती-जमिन्दारहरू मात्र सदा प्रभुत्वसम्पन्न मानिन्थे । भुदासहरू सबै प्रकारका राजनीतिक अधिकारहरूवाट पूर्णत: बञ्चित थिए ।

दासप्रथा तथा भूदासप्रथा दुवैमा मानिसहरूको तुच्छ अल्पसङ्ख्याले अध्यधिक बहुसङ्ख्यामाथि प्रभुत्व जमाउने काम दमनबेगर असम्भव थियो । सम्पूर्ण मानवइतिहास उत्पीडित वर्गहरूले उत्पीडनको उन्मूलनको लागि गरेका निरन्तर प्रयत्नहरू भरपुर छ । दासप्रथाको इतिहासमा दासताबाट मुक्ति पाउनको लागि गरिएका युद्धहरू अनेकौं दशकसम्म लम्बिएको कुरा उल्लिखित छ । प्रसङ्गवश भन्ने हो भने “स्पार्टाकसवादी” भन्ने संज्ञाको प्रयोग अहिले जर्मन साम्यवादीहरूले गरेका छन् । जर्मनीमा पुँजीवादको जुवाविरुद्ध सङ्घर्षरत एकमात्र पार्टीले किन त्यस संज्ञाको प्रयोग गरेको छ भने स्पार्टाकस लगभग दुई हजार वर्षपहिले घटेका दासहरूका विशालतम् विद्रोहहरूमध्ये एउटा विद्रोहका परम वीर थिए । पूर्णत: दासप्रथामा आधारित, सर्वशक्तिसम्पन्न लाग्ने रोमन साम्राज्यले स्पार्टाकसको नेतृत्वमा एकत्रित एवम् सशस्त्र भएर एउटा विशाल सेनाको रूपमा खडा भएका दासहरूको प्रचण्ड विद्रोहका आघात तथा धक्काहरूको सामना गर्नुपरेको थियो । अन्त्यमा उनीहरू दास मालिकहरूद्वारा पराजित भए, समातिए र कठोर यातनाका भागी बने । यस्ता गृहयुद्धहरूमध्ये सबभन्दा ठूलो युद्ध उदाहरणस्वरुप प्रस्तुत गरेको हुँ । सम्पूर्ण भूदासप्रथात्मक युग पनि त्यसरी नै कृषकहरूद्वारा चलाइएका निरन्तर विद्रोहहरूले परिपूर्ण छ । उदाहरणको लागि जर्मनीमा मध्ययुगमा दुईटा वर्गबीच अर्थात् जमिनदार तथा भूदासहरूबीचको सङ्घर्ष विस्तृत रूपमा फैलिएको थियो र त्यसले जमिनदारहरूको विरुद्ध कृषकहरूले चलाएको गृहयुद्धको रूप ग्रहण गरेको थियो । रसियामा पनि कृषकहरूले जमिनदारहरूको विरुद्ध चलाएका त्यस्ता अनेकौं आन्दोलनका उदाहरण तपाईंहरू सबैलाई बिदितै छ ।

आफ्नो प्रभुत्व कायम राख्न र आफ्नो सत्ता सुरक्षित राख्नको लागि जमिनदारहरूलाई यस्ता यन्त्रको आवश्यकता पर्‍यो, जसको सहायताले मानिसहरूको एक बृहत सङ्ख्यालाई आफ्नो अधिनमा एकत्रित गर्न सकियोस् र तिनीहरूलाई निश्चित नियम तथा कानुनहरूको वंशमा राख्न सकियोस् । अनि यस्ता सम्पूर्ण नियमकानुनहरूको सार मूख्यतया एउटै कुरा निहित थियो- भूदासमाथि जमिनदारको सत्ता कायम राख्नु । उदाहरणको लागि, रसिया अथवा अन्य एकदमै अविकसित एसियाली देशहरूमा, जहाँ आज पनि भूदासप्रथाको आधिपत्य रहेको छ, अस्तित्वमा रहेको सामन्ती राज्य यस्तै किसिमको थियो, केवल त्यसको रुप मात्र फरक थियो कि त त्यो गणतान्त्रिक हुन्थ्यो कि त राजतन्त्रात्मक । राजतन्त्रात्मक राज्यमा एक व्यक्तिको सत्ता कायम रहन्थ्यो, गणतान्त्रिक राज्यमा जमिनदार समुदायबाट निर्वाचित प्रतिनिधिहरूको सहभागिताले धेरथोर मान्यता पाएको हुन्थ्यो- यो भयो सामन्ती समाजको कुरा । सामन्ती समाजमा वर्गहरू त्यस्तो रूपमा विभाजित भएका थिए, जहाँ जनताको अत्याधिक बहुसङ्ख्या अर्थात् भूदास कृषक समुदाय एक नगण्य अल्पसङ्ख्याको अर्थात् जमिनमाथि अधिकार जमाएका जमिनदारहरूको पूर्णाधीनमा रहेको थियो ।

व्यापार तथा वस्तुविनिमयको विकासले एक नयाँ वर्गको पुँजीपतिवर्गको उत्पत्ति गरायो । मध्ययुगको अन्त्यतिर अर्थात् जुनबेला अमेरिकाको उद्घाटनपश्चात् विश्व व्यापारको वृहत् विकास भयो, बहुमूल्य धातुहरूको मात्रामा बृद्धि भयो, सुन तथा चाँदी विनिमयका साधन बने र मौद्रिक परिचनले एउटै व्यक्तिको हातमा बृहत् सम्पत्ति केन्द्रित गर्ने सम्भावना प्रदान गर्‍यो, त्यसैबेला पुँजीको पनि जन्म भयो । चाँदी तथा सुनले विश्वभरि सम्पत्तिको रूपमा मान्यता पाए । सामान्तीवर्गको आर्थिक शक्ति क्षीण हुँदै गयो र एउटा नयाँ वर्गको पुँजीका प्रतिनिधिहरूको शक्ति बढ्दै गयो । यसरी समाजको पुननिर्माण गरियो, जसले गर्दा समस्त नागरिकहरू एक प्रकारले समानझैँ देखिए, पहिलको दास तथा दासमालिकहरूका बीचको विभाजन मेटियो र कानुनसमक्ष सबै समान देखिए, चाहे कसैसँग पुँजीको रूपमा जतिसुकै जमिन अथवा निजी सम्पत्ति किन नहोस् अथवा कोही आफ्ना परिश्रमी हातहरू सिवाय आफूसँग अन्य केही पनि नभएको नग्न नै किन नहोस्- कानुन – समक्ष सबै समान देखिए । कानुनले सबैको समान रूपले सुरक्षा गर्दछ- वैभवशालीहरूको सम्पत्तिलाई त्यस्तो जनसमुदायको आक्रमणबाट सुरक्षित राख्दछ, जसका साथमा कुनै प्रकारको सम्पत्ति हुँदैन, जसका साथमा आफ्ना हातहरूबाहेक अरू केही पनि हुँदैन र जो निरन्तर गरिब – कङ्गाल हुँदै सर्वहारामा परिणत हुन्छ । यस्तो हुन्छ पुँजीवादी समाज ।

म यस विषयमा विस्तृत चर्चा गर्न असमर्थ छु । तपाईंहरू जब पार्टी कार्यक्रमबारे छलफल गर्नुहुनेछ, त्यसबेला यस प्रश्नमा फर्कनुहुनेछ- त्यसैबेला पुँजीवादी समाजको चरित्रबारे चर्चा गरिनेछ । त्यस समाजले स्वतन्त्रताको नारा लिएर सामान्ती प्रणालीको विरोध गर्‍यो, पुरानो भूदासप्रथाको विरोध गर्‍यो । तर त्यो स्वतन्त्रता ती व्यक्तिहरूको लागि मात्र थियो, जो सम्पत्तिका मालिक थिए । अनि जब भूदासप्रथाको पतन भयो, यो घटना अठारौं शताव्दीको अन्त्य र उन्नाइसौं शताब्दीको सुरुमा घटेको थियो र रसियामा यो घटना अन्य देशहरूको तुलनामा अझ पछि सन् १८६१ मा मात्र घटेको थियो । त्यसबेला सामान्ती राज्यको ठाउँ पुँजीवादी राज्यले लियो, जसले सार्वजनिक स्वतन्त्रतालाई आफ्नो नाराको रूपमा घोषित गर्‍यो, त्यसले सम्पूर्ण जनताको इच्छालाई अभिव्यक्ति गर्दछ भन्ने दाबा गर्‍यो र आफू वर्गीय राज्यको रूपमा रहेको कुरा अस्वीकार गर्‍यो । तर त्यही पुँजीवादी समाजमा सम्पूर्ण जनताको स्वतन्त्रताको लागि सङ्घर्ष गर्ने समाजवादी र पुँजीवादी राज्यको वीचमा त्यस्तो सङ्घर्ष विकसित हुन्छ, जुन सङ्घर्षको परिणामस्वरुप अहिले सोभियत समाजवादी गणराज्यको निर्माण भएको छ र जुन सङ्घर्षले सम्पूर्ण विश्वलाई अँगाल्दै छ ।

विश्वव्यापी पुँजीको विरुद्ध सुरु भएको सङ्घर्ष र पुँजीवादी राज्यको सार बुझ्नको लागि के कुरा सम्झनुपर्दछ भने पुँजीवादी राज्य भूदासप्रथाको विरोध गर्दै स्वतन्त्रताको नारा दिएर सङ्घर्षको मैदानमा उत्रिएको थियो । भूदासप्रथाको उन्मूलनले उनीहरूलाई त्यतिसम्म सेवा पुऱ्यायो, जति भूदासप्रथा नष्ट हुँदै गयो र जति कृषकहरूले आफ्नो पूर्ण सम्पत्तिको रूपमा त्यस जमिनमाथि अधिकार राख्ने सम्भावना पाए, जुन जमिन उनीहरूले नगद भुक्तानीद्वारा अथवा कुतमा आधारित किस्ताबन्दीमा किनेका हुन् । यस कुरामा राज्यले कुनै ध्यान दिएन राज्यले केवल सम्पत्तिको रक्षा गर्दथ्यो, चाहे त्यो सम्पत्ति जुनसुकै किसिमले उत्पन्न भएको किन नहोस्, किनभने राज्य निजी स्वामित्वमा आधारित थियो । सम्पूर्ण वर्तमान सभ्य राज्यहरूमा कृषकहरू निजी सम्पत्तिका मालिकहरूमा परिणत भएका छन् । जहाँ जमिन्दारले जमिनको एक हिस्सा कृषकलाई दियो, त्यहाँ पनि राज्यले निजी स्वामित्वको संरक्षण गयो र जमिनदारलाई नगद भुक्तानी अर्थात् नगद विक्रयद्वारा पुरस्कृत गयो । मानौँ राज्यले एक प्रकारले घोषणा नै गर्‍यो : “हामी सम्पूर्ण निजी स्वामित्वको संरक्षण गर्दछौं ।” त्यसले निजी स्वामित्वलाई हर प्रकारले सहयोग तथा संरक्षण प्रदान गर्‍यो । यस स्वामित्वलाई राज्यले प्रत्येक व्यापारी, उद्योगपति तथा कारखानाका मालिकहरूको पक्षमा मान्यता प्रदान गर्‍यो । अनि निजी स्वामित्व, पुँजीको सत्ता तथा सम्पूर्ण निर्धन मजदुर एवम् कृषक जनसमुदायहरूमाथिको आधिपत्यमा अवलम्वित त्यस समाजले आफूलाई स्वतन्त्रतामा आधारित शासनको रूपमा घोषित गर्‍यो । भूदासप्रथाको विरुद्ध सङ्घर्ष गर्दै त्यस समाजले स्वामित्व स्वतन्त्र हुन्छ भन्ने घोषणा गर्‍यो र आफूलाई त्यस कुरामा विशेष रूपमा गौरवान्वित ठान्यो, मानौं राज्य अब वर्गहीन भइसक्यो ।

यद्यपि राज्य पूर्ववतः पुँजीपतिहरूलाई सवभन्दा गरिब कृषकहरू र मजदुरवर्गमाथि आधिपत्य कायम राख्न सहयोग पुर्‍याउने यन्त्रको रूपमा कायमै रह्यो, परन्तु वाह्य रूपमा त्यो स्वतन्त्र देखिन्थ्यो । त्यसले सार्वजनिक मताधिकारको घोषणा गर्दछ, आफ्ना पक्षधरहरू, उपदेशहरू, विद्वानहरू तथा दार्शनिकहरूको मुखबाट आफू वर्गहीन राज्यको रूपमा रहेको कुरा घोषित गराउँदछ । आज त्यस्तो राज्यको विरुद्ध सोभियत समाजवादी गणतन्त्र संघले सङ्घर्ष सुरु गरिसकेपछि पनि उनीहरू हामी स्वतन्त्रताका उल्लङ्घनकारी हौं र हामी बलजफ्ती तथा केही मानिसहरूद्वारा अरूहरूमाथि गरिने दमनमा आधारित राज्यको निर्माण गरिरहेका छौं भन्ने आरोप हामीमाथि लगाउँदै छन् र आफूलाई चाहिँ सार्वजनिक प्रजातान्त्रिक राज्यका प्रतिनिधिहरूको रूपमा प्रस्तुत गर्दैछन् । यस राज्यसम्बन्धी प्रश्नले आज विश्वव्यापी समाजवादी क्रान्तिको थालनीको समयमा, केही देशहरूमा क्रान्तिको थालनीको समयमा, केही देशहरूमा क्रान्तिको विजय भइसकेको समयमा र विश्वव्यापी पुँजीसँगको सङ्घर्ष चर्किएको समयमा सवभन्दा ठूलो महत्त्व राख्दछ र अझ यो सबभन्दा संवेदनशील प्रश्न हो । यो सम्पूर्ण वर्तमान राजनीतिक प्रश्नहरू तथा सम्पूर्ण राजनीतिक विवादहरूको केन्द्रबिन्दुको रूपमा खडा भएको छ भने हुन्छ ।

हामी रसिया अथवा अन्य कुनै पनि अधिक सभ्य देशको जुनसुकै पार्टीलाई लिऔं- अहिले प्रायः सबै राजनीतिक विवाद, मतभिन्नता तथा विचारहरू यही राज्यसम्बन्धी धारणाको वरिपरि केन्द्रित छन् । के कुनै पुँजीवादी देशमा, कुनै प्रजातान्त्रिक गणराज्यमा विशेषत: स्विट्जरल्याण्ड अथवा अमेरिकाजस्ता सबभन्दा स्वतन्त्र गणराज्यहरूमा राज्य जनताको इच्छाको अभिव्यक्ति, जनताको निर्णयको सार, जातीय इच्छाको अभिव्यक्ति आदिको रूपमा रहेको छ, अथवा त्यसले त्यहाँका पुँजीपतिहरूलाई मजदुर तथा कृषकवर्गमाथि आफ्नो सत्ता कायम राख्न समर्थ तुल्याउने यन्त्रको रूपमा काम गरेको छ ? आज विश्वभर राजनीतिक विवादहरू यही आधारभूत प्रश्नको वरिपरि केन्द्रित छन् । बोल्शेभिकवादको* (*बोल्शेभिकवाद, बोल्शेभिकहरू (वर्तमान समयमा साम्यवादीहरू) – क्रान्तिकारी समाजिक-जनवादीहरू-मार्क्सवाद, भ्लादिमिर इलिच लेनिनका अनुयायीहरू – सं.) विषयमा के कस्ता कुराहरू गरिन्छन् : बुर्जुवा पत्रपत्रिकाहरूले बोल्शेभिकहरूलाई गाली गरिरहेका छन् । तपाईंहरू त्यस्तो कुनै एउटा पत्रिका पनि फेला पार्न सक्नुहुन्न, जसले बोल्शेभिकहरू लोकतन्त्रात्मक शासनका उल्लंघनकारी हुन् भन्ने चर्चित अभियोग दोहोऱ्याएको नहोस् । यदि हाम्रा मेन्शेभिक तथा सामाजिक- क्रान्तिकारीहरू आफ्नो सरलपनाले गर्दा ( हुन सक्छ, सरलपनाले गर्दा होइन, अथवा हुन सक्छ यो त्यस्तो सरलपना हो, जसलाई चोरीभन्दा पनि खराब मानिन्छ) बोल्शेभिकहरूको विरुद्ध लगाइएको स्वतन्त्रता तथा लोकतन्त्रात्मक शासनका उल्लंघनकारीको अभियोगका उद्घाटन तथा आविष्कारको रूपमा आफूलाई ठान्दछन् भने तिनीहरू अत्यन्तै हास्यास्पद भ्रममा परेका छन् । वर्तमान समयमा सबभन्दा सम्पन्न राष्ट्रहरूका सम्पन्नतम् अखबारहरूमा एउटा पनि त्यस्तो अखबार छैन, जसले तिनका करोडौँ प्रतिहरूको प्रसारमा करोडौँ रुपियाँ खर्च गर्दै तिनका करोडौं प्रतिहरूमा बुर्जुवा मिथ्या तथा साम्राज्यवादी नीतिको प्रचार नगरेको होस् । यी अखबारहरूमध्ये एउटा पनि त्यस्तो अखबार पाइँदैन, जसले बोल्शेभिकहरूको विरुद्ध लगाइएका त्यस्ता प्रमुख तर्क तथा अभियोगहरू दोहोऱ्याएको नहोस्, मानौं अमेरिका, बेलायत तथा स्विट्जरल्याण्ड लोकतन्त्रात्मक शासनमा आधारित समुन्नत राज्य हुन्ं तर बोल्शेभिकहरूको गणराज्यचाहिँ लुटाहाहरूको राज्य हो, त्यसलाई स्वतन्त्रताको बारेमा थाहै छैन, बोल्शेभिकहरू लोकतन्त्रात्मक शासनको धारणाका उल्लघंनकारी हुन् र तिनीहरू संविधान परिषद्को विघटन गर्नसम्म पुगे ।** (** संविधान परिषद् (रसियामा एकतन्त्रीय शासनको अन्त्यपछि राज्यको बनावटसम्बन्धी प्रश्नको समाधान गर्न समाजका सम्पूर्ण वर्गका प्रतिनिधिहरूलाई सम्मिलित गराएर बनाइएको परिषद्) को उद्घाटन ५ जनवरी १९१८ मा भएको थियो । परिषद्को प्रतिक्रान्तिकारी बहुसङ्ख्या ( मेन्शेभिक तथा एसेरहरू) ले सोभियत सत्तालाई मान्यता प्रदान गर्न र सोभियत सरकारद्वारा पारित शान्ति तथा भूमिसम्बन्धी आज्ञप्तिहरूको अनुमोदन गर्न अस्वीकार गरेपछि उक्त संविधान परिषद् विघटित भएको थियो । मजदुर तथा कृषकहरूको विशालतम् जनसमुदायले यस कुराको अनुमोदन गरेको थियो । – सं.) बोल्शेभिकहरूमाथि लगाइएका यी भयानक अभियोगहरू विश्वभरि  राज्यबारे दोहोर्‍याउँदै छन् । यी अभियोगहरूले पूर्णतः हामीलाई यस प्रश्नमा पुऱ्याउँछन् : राज्य भनेको के हो ? यी अभियोगहरू बुझ्नको लागि, तिनीहरूको छानवीन गर्न र तिनीहरूलाई पूर्ण रूपले सचेत दृष्टिकोण बनाउन, अनि केवल होहल्लाको आधारमा छानवीन नगरेर एक दृढ धारणा वनाउनको लागि राज्य भनेको के हो भन्ने कुरा स्पष्टसँग बुझ्नु आवश्यक छ । यहाँ हामीसमक्ष विभिन्न प्रकारका पुँजीवादी राज्यहरू र तिनको वकालत गर्ने त्यस्ता सिद्धान्तहरू खडा छन्, जसको उत्पत्ति युद्धअगाडि नै भएको थियो । यस प्रश्नको सही समाधानको लागि ती सम्पूर्ण सिद्धान्त तथा विचारहरूप्रति आलोचनात्मक दृष्टि राख्नुपर्दछ ।

एङ्गेल्सको कृति ‘परिवार, निजी स्वामित्व तथा राज्यको उत्पत्ति’ यस प्रश्नमा सहायक बन्नेछ भन्ने कुरा त मैले पहिल्यै बताइसकेको छु । त्यही  कृतिमा के कुरा उल्लेख गरिएको छ भने जुनसुकै राज्य, जसमा जमिन तथा उत्पादनका साधनहरूमाथि निजी स्वामित्व कायम रहन्छ र जसमा पुँजीको आधिपत्य कायम हुन्छ, चाहे त्यो जतिसुकै प्रजातान्त्रिक किन नहोस्- त्यो पुँजीवादी राज्य हो र त्यो पुँजीपतिहरूको हातमा रहेको यस्तो यन्त्र हो, जसको सहायताबाट मजदुरवर्ग तथा दरिद्रतम् कृषकवर्गमाथि पुँजीपतिहरूको आधिपत्य जमाइन्छ । अनि सार्वजनिक मतदानको अधिकार, संविधान परिषद्, संसद् आदि सबै केवल देखावटी रूप तथा एक किसिमका तमसुक मात्र हुन्, जसले सारत: वस्तुस्थितिमा कुनै प्रकारको परिवर्तन ल्याउँदैनन् ।

राज्यको आधिपत्यका रूपहरू विविध हुन सक्दछन् : जहाँ एक प्रकारको राज्य हुन्छ, त्यहाँ पुँजीले आफ्नो शक्ति एक प्रकारले दर्शाउँदछ भने जहाँ अर्को प्रकारको राज्य हुन्छ, त्यहाँ अर्कै प्रकारले तर सत्ताचाहिँ मूलत: पुँजीकै हातमा रहेको हुन्छ, चाहे त्यहाँ बालिग मताधिकारको कदर गरियोस् अथवा चाहे त्यो गणराज्य प्रजातान्त्रिक होस् अथवा नहोस्, अनि त्यो जति बढी प्रजातान्त्रिक मानिन्छ, त्यति वढी पुँजीको आधिपत्य असभ्य र निर्लज्ज हुन्छ । संयुक्त राज्य अमेरिका विश्वमा सबभन्दा प्रजातान्त्रिक गणराज्य मानिएको छ तर पुँजीको सत्ता, मुट्ठीभर करोडपतिहरूको सम्पूर्ण समाजमाथिको सत्ता अन्यत्र कहीं पनि त्यति असभ्य र त्यति खुला भ्रष्टाचारी रूपमा अभिव्यक्त भएको छैन, जति अमेरिकामा देखिन्छ (जो १९०५ पछि त्यहाँ पुगेको छ, सायद उसलाई यस विषयमा थाहा हुनुपर्दछ) । जब एकपल्ट पुँजी अस्तित्वमा आउँदछ, त्यसले सम्पूर्ण समाजमाथि आधिपत्य जमाउँदछ र कुनै पनि प्रकारको प्रजातान्त्रिक गणराज्य अथवा कुनै पनि प्रकारको मताधिकारले त्यसको सारमा परिवर्तन ल्याउँदैन ।

भूदासप्रणालीको तुलनामा प्रजातान्त्रिक गणराज्य तथा सार्वजनिक मताधिकार धेरै प्रगतिशील कुरा थिए : तिनले मजदुरवर्गलाई त्यस्तो एकता तथा एकवद्धता प्राप्त गर्ने सम्भावना प्रदान गरे, जुन आजको मजदुरवर्गमा निहित छन् र त्यस्ता सुसङ्गठित तथा अनुशासित पङ्क्तिहरूले आज पुँजीविरुद्ध नियमित सङ्घर्ष चलाइरहेका छन् । दासहरूको विषयमा त कुरै छोडौं, दासलाई पनि यसप्रकारको र यससँग अलिकतिसम्म पनि मिल्दोजुल्दो कुनै सम्भावना प्राप्त थिएन । हामीलाई थाहा छ, दासहरूले विद्रोह गरे, विप्लव मच्चाए, गृहयुद्ध चलाए, तर उनीहरूले कुनै चेतनशील बहुसङ्ख्या तथा संघर्षको सञ्चालन गर्ने पार्टीको निर्माण गर्न सकेनन् । आफू कुन लक्ष्य लिएर अगाडि वढिरहेका छन् भन्ने कुरा स्पष्टसँग बुझ्न सकेनन् र इतिहासका अधिक क्रान्तिकारी क्षणहरूमा पनि उनीहरू सधैँ सत्तारुढवर्गका हातमा गोटी बन्न पुगे । मानवसमाजको विश्वव्यापी विकासको दृष्टिकोणमा पुँजीवादी गणराज्य, संसद्, सार्वजनिक मताधिकार आदि सम्पूर्ण कुरा महान् प्रगतिका परिचायक हुन् । मानवसमाज पुँजीवादसम्म आइपुग्यो र शहरी संस्कृतिको फलस्वरुप केवल पुँजीवादले मात्र उत्पीडित सर्वहारावर्गलाई आत्मचेतना प्राप्त गर्ने र त्यो विश्वव्यापी सर्वहारा आन्दोलन, ती विश्वभर पार्टीको रूपमा सङ्गठित लाखौँ मजदुरहरू र ती आम जनसमुदायका सङ्घर्षका सचेत नेतृत्वदायी समाजवादी पार्टीहरूको सिर्जना गर्ने सम्भावना प्रदान गर्‍यो । संसदीय व्यवस्था तथा निर्वाचन अधिकारबेगर मजदुरवर्गको विकास असम्भव हुन्थ्यो । यही कारणले गर्दा यी सम्पूर्ण कुराले विशालतम् जनसमुदायको दृष्टिमा त्यति ठूलो महत्त्व प्राप्त गरेका छन् । यही कारणले गर्दा त्यो परिवर्तन त्यति जटिल लाग्दछ । राज्य वर्गोपरि हुन्छ र त्यो सबैको हितको रक्षा गर्न खडा गरिएको हो भन्ने बुर्जुवा मिथ्यालाई सचेत पाखण्डहरू, विद्वानहरू तथा पादरीहरूले मात्र समर्थन तथा संरक्षण गर्ने होइनन्, अपितु ती जनसमुदायहरूले पनि यस कुराको समर्थन तथा संरक्षण गर्दछन्, जो साँच्चै नै पुराना पूर्वाग्रहहरूमा विश्वास गर्दछन् र जो पुरानो पुँजीवादी समाजबाट समाजवादमा हुने सङ्क्रमणलाई बुझ्न सक्दैनन् । बुर्जुवावर्गको प्रत्यक्ष वशमा रहेका मानिसहरू र पुँजीको दबाबमा रहेका अथवा त्यस पुँजीद्वारा किनिएका (पुँजीको सेवामा विभिन्न प्रकारका विद्वान्, कलाकार, पादरी आदिको ठूलो जनसङ्ख्या रहेको हुन्छ) मात्र नभएर वुर्जुवा स्वतन्त्रताका पूर्वाग्रहहरूको प्रभावमा रहेका सम्पूर्ण साधारण मानिसहरूले पनि विश्वभरि वोल्शेभिकवादको विरोध किन गरिरहेका छन् भने सोभियत गणराज्यले त्यस वुर्जुवा मिथ्यालाई जरैदेखि उखेलेर सोझै घोषित गयो : तिमीहरू आफ्नै राज्यलाई स्वतन्त्र भन्दै गर चाहे त्यो प्रजातान्त्रिक गणराज्य नै होस्, मजदुरहरूमाथि दमन गर्नको लागि पुँजीपतिहरूका हातमा रहेको यन्त्रसिवाय अरू केही पनि होइन र यो कुरा त्यत्तिकै स्पष्ट रूपमा अभिव्यक्त हुँदै जानेछ, जति त्यस्तो राज्य स्वतन्त्र हुँदै जानेछ, जति त्यस्तो राज्य स्वतन्त्र हुँदै जान्छ । यस कुराको उदाहरणस्वरूप युरोपमा स्विट्जरल्याडमा र अमेरिकामा संयुक्त राज्य अमेरिकालाई प्रस्तुत गर्न सकिन्छ । पुँजीले त्यति निर्लज्ज एवम् निर्मम ढबाट अन्यत्र कहीँ पनि आफ्नो आधिपत्य जमाएको पाइँदैन र यी देशहरूमा बाहेक अन्यत्र कहीं पनि यो कुरा त्यति स्पष्टसँग देखिँदैन, चाहे यी जनवादी गणराज्यहरू जतिसुकै टल्कने गरी रङ्गाइएका किन नहुन्, चाहे श्रमको स्वतन्त्रता र सम्पूर्ण नागरिकको समानताबारे जतिसुकै भाषण किन नछाँटियोस् । यथार्थमा स्विट्ज़रल्याण्ड र अमेरिकामा पुँजीको रजाइँ छ र आफ्नो स्थितिमा अलिकति पनि गम्भीर सुधार ल्याउनको लागि मजदुरहरूवाट गरिने जुनसुकै प्रयत्नले पनि तुरुन्तै गृहयुद्धको सामना गर्नुपर्दछ । यी देशहरूमा सिपाहीहरू र स्थायी फौजको सङ्ख्या कमै छ, स्विट्जरल्याण्डमा मिलिशिया छ र प्रत्येक स्विससँग घरमा हतियार हुन्छ, अमेरिकामा पछिल्लो समयसम्म स्थायी फौज थिएन र यसैकारणले हड्तालको समयमा बुर्जुवावर्ग हतियारले लैस हुन्छ, सिपाहीहरूलाई भाडामा भर्ती गराउँदछ र हड्ताललाई दबाउँदछ : अनि त्यस मजदुर आन्दोलनको दमन स्विट्जरल्याण्ड तथा अमेरिकामा जस्तो निर्ममता र बर्बरतापूर्वक अन्यत्र कहीं पनि गरिदैन र त्यहाँका संसद्मा भन्दा अन्त कहीँ पनि पुँजीको त्यस्तो शक्तिशाली प्रभाव अभिव्यक्त भएको पाइँदैन । पुँजीको शक्ति नै सबथोक हो, सटही बजार नै सब कुरा हो, तर संसद्, निर्वाचन आदिचाहिँ कठपुतली मात्र हुन् । परन्तु जति अगाडि बढ्दै गयो त्यति मजदुरहरूका आँखा खुल्दै गइरहेका छन् र त्यति सोभियत सत्ताको धारणा, विशेषत: हामीले भर्खरै मात्र भोगेको रक्तपातपूर्ण नरसंहारपछि फैलिदै गइरहेको छ । मजदुरवर्गको लागि पुँजीपतिहरूविरुद्ध निर्मम सङ्घर्ष चलाउने आवश्यकता अझ टड्कारो हुँदै गइरहेछ ।

कुनै गणराज्य, मानौं त्यो सबभन्दा प्रजातन्त्रवादी नै छ रे, त्यो जस्तोसुकै रूपमा आवेष्ठित किन नहोस्, परन्तु यदि त्यो बुर्जुवा गणराज्य हो भने, यदि त्यसअन्तर्गत जमिन, मिल तथा कारखानाहरूमाथि निजी स्वामित्व कायम छ र निजी पुँजीले सम्पूर्ण समाजलाई ज्यालादारी दासतामा जकड्याइराख्दछ भने अर्थात् यदि त्यस गणराज्यमा हाम्रो पार्टी कार्यक्रम तथा सोभियत संविधानले घोषित गरेको जस्ता कुराहरू कार्यान्वित हुँदैनन् भने, त्यस्तो राज्य एकथरी मानिसहरूद्वारा अर्को थरीको उत्पीडन गर्ने यन्त्र मात्र हो । अनि हामी यो यन्त्र त्यस वर्गका हातमा सुम्पदैछौं, जसले पुँजीको सत्ता पल्टाउनु परिरहेछ । राज्य भनेको सार्वजनिक समानता हो भन्ने जस्ता सम्पूर्ण पुराना पूर्वाग्रहहरूको हामी परित्याग गर्दछौं, किनभने यो ठूलो धोका हो, जबसम्म शोषण कायम रहन्छ तवसम्म समानता असम्भव छ । जमिनदार मजदुरसँग समान हुन सक्दैन, भोका अघाएकोसँग समान हुन सक्दैन । त्यस यन्त्रलाई, जुन यन्त्र राज्य कहलिएको छ, जससमक्ष मानिसहरू अन्धभक्तिमा झुक्दछन् र यो सार्वजनिक सत्ता हो भन्नेजस्ता पुराना दन्त्यकथाहरूमा विश्वास गर्दछन्, सर्वहारावर्गले मिल्काइदिन्छ र भन्दछ, यो बुर्जुवा मिथ्या हो । हामीले यस्तो यन्त्रलाई पुँजीपतिहरूबाट खोस्यौं र त्यसलाई आफ्नो हातमा लियौं । हामी यस यन्त्र अथवा लाठीको सहायताले सबै प्रकारको शोषणको अन्त गर्नेछौं र जब पृथ्वीमा शोषण गर्ने सम्भावना रहनेछैन- जब जमिन तथा कारखानामा मालिकहरू रहनेछैनन् र जब एकथरी गलगिज्ज हुउन्जेल खाने र अर्कोथरी भोकै मर्ने स्थिति रहनेछैन, जब यसको लागि कुनै सम्भावना बाँकी रहनेछैन, केवल त्यसबेला मात्र हामी यस यन्त्रलाई रछ्यानमा मिल्काइदिनेछौं । त्यसबेला राज्य पनि रहनेछैन र शोषण पनि हुनेछैन । यही हो हाम्रो कम्युनिष्ट पार्टीको दृष्टिकोण । मलाई थाहा छ, आगामी व्याख्यानकारहरूमा हामी फेरि पनि यस प्रश्नमा धेरै पटक फर्कनेछौं ।

सर्वप्रथम १८ जनवरी १९२९ मा ‘प्राभ्दा’ पत्रिकाको १५ औं अङ्कमा प्रकाशित भ्लादिमिर इलिच लेनिन, पूर्ण रचना सङ्ग्रह, खण्ड ३९, पृष्ठ ६४-८४



Leave a comment

About Me

I am a student of philosophy and nature. I thoroughly research all subjects and summarize them in Nepali and English. I am Secretary of Marxism Study-Research Academy, Nepal. I am a Social Worker. Education – i) Master of Arts Degree in Political Science – TU, ii) Master of Public Administration Degree – TU, iii) Master of Arts Degree in History-TU, iv) Master of Arts Degree in Nepalese History Culture and Archaeology-TU.

म अध्ययन-अनुसन्धान कार्यमा निस्वार्थ भावले निरन्तर लागेको एक वाम विचारधारायुक्त सामाजिक कार्यकर्ता हुँ। मेरो कुनै पनि राजनीतिक दलसँग संलग्नता नरहेको जानकारी गराउँदछु। मेरा हरेक अध्ययन-अनुसन्धान कार्य शोषण, दमन, अन्याय, अत्याचारका विरुद्ध हुनेछन् । आम श्रमजीवी, भोका-नांगा, गरीब, उत्पीडित जनसमुदायहरूलाई सुशिक्षित गर्ने प्रयत्न मेरो कर्तव्य हुनजान्छ । मेरा सबै कार्य जनहितका लागि हुनेछन् भन्ने आशा तथा विश्वासपूर्वक मैले निरन्तर कार्य अगाडि बढाइरहेको हुनेछु। श्रमप्रति सम्मान र शोषणप्रति घृणा नै मेरा कार्यका उद्देश्य हुनेछन्।  

यहाँ तपाईंहरू सबै प्रकारका सामग्रीहरू अध्ययन गर्न र हेर्न पाउनुहुनेछ । अध्ययन गर्नको लागि रूचियुक्त सामग्रीहरू माग गर्नुभयो भने यथासंभव परिपूर्तिसमेत गरिनेछ । यहाँ लेखरचना, पत्रपत्रिका, म्यागजिन,  जर्नल, विभिन्न पुस्तकहरू (नेपाली, अंग्रेजी र हिन्दी भाषामा), डकुमेन्ट्री, फिल्म, आदि सामग्रीहरू खोजेर पढ्न तथा हेर्न सक्नुहुन्छ।

I am a leftist social worker who is selflessly engaged in research work. I inform you that I am not affiliated with any political party. Every study-research work of mine will be against exploitation, oppression, injustice and tyranny. It is my duty to try to educate the common workers, the hungry, the poor, the oppressed masses. I will continue my work with the hope and confidence that all my work will be for public interest. Respect for labor and hatred for exploitation will be the objectives of my work.

Here you will find all kinds of content to study and watch. If you demand for interesting materials to study, they will be provided as much as possible. Here you can search and read articles, newspapers, magazines, journals, various books (in Nepali, English and Hindi languages), documentaries, films, etc.

श्रमको सम्मान गर्नुभएकोमा धन्यवाद ।

Thank you for respecting the labor.

Newsletter

Marxism-मार्क्सवाद

Communist history

Philosophy-दर्शन

लेनिन-LeninLeninism

दस्तावेज-documents

धर्म-दर्शन

त्रिपिटक–बुद्ध

गीता सार

Politics–राजनीति

ग्रन्थ परिचय

Mao-Maoism

साहित्य- literature

जीवनी-biography

साम्यवाद-communism

युवाबारे-On Youth

कार्ल मार्क्स–Karl Marx

फ्रेडरिक एंगेल्स–F. Engels

भी.आइ.लेनिन–V.I.Lenin

जे. भी. स्टालिन – J.V. Stalin

माओत्सेतुङ – Maotsetung

डिजिटल पुस्तकालय (digital library)

ई-पुस्तकालय -e-library

विज्ञान-प्रविधि (Science-Technology)

सामान्य ज्ञान (GK)

Documentaries and YouTube channels

पुस्तकालय – LIBRARY

नेपाली डिजिटल पुस्तकहरू (Nepali Digital Books)

नेपाली न्यूजपेपर, म्यागजिन र अनलाइन पत्रपत्रिकाहरू (Nepali Newspapers, Online and Nepali Magazines)

English Digital Books : Part – 1 (world communist special books)

English Digital Books : Part – 2

English Digital Books : Part – 3

हिन्दी डिजिटल पुस्तक (Hindi digital Books) भाग – १

हिन्दी डिजिटल पुस्तक (Hindi digital Books) भाग – २

हिन्दी डिजिटल पुस्तक (Hindi digital Books) भाग – ३

हिन्दी डिजिटल पुस्तक (Hindi digital Books) भाग – ४

हिन्दी डिजिटल पुस्तक (Hindi digital Books) भाग – ५

Documentaries and YouTube channels

Uncategorized

ENGLISH SECTION

Design a site like this with WordPress.com
Get started