कम्युनिष्ट नेता स्टालिन र समाजवादी व्यवस्था निर्माणमा उनका योगदानहरू

जोसेफ स्टालिन बीसौं शताब्दीका सबैभन्दा चर्चित कम्युनिष्ट नेता तथा शासक थिए। स्टालिनलाई एक रहस्यमय व्यक्ति तथा नेताको रूपमा संसारमा चिनिन्छ।  उनलाई संसारका पूँजीवादी तथा साम्राज्यवादीहरूले भयंकर विवादको घेरामा ल्याउने हरेक कोशिस गरे। पूँजीवादी तथा साम्राज्यावादी प्रचारप्रसार यन्त्र तथा मिडियाहरूले उनलाई सवर्त्र विरोध, आलोचना र बदनाम गर्ने कोशिस गरिरहे तर उनले आफ्नो शासन-व्यस्थालाई सफलतापूर्वक संचालन गरिरहे। दोस्रो विश्वयुद्धमा उनले आफ्नो अभूतपूर्व कुशलता, नेतृत्वायी क्षमता र देशभक्तिको प्रयोग गरेर आफ्नो देशको मात्र रक्षा गरेनन्, संसारलाई नै फाँसीबादबाट मुक्त बनाउने काम गरे। यदि स्टालिनले दोस्रो विश्वयुद्धमा फाँसीवादलाई हराउनमा नेतृत्वदायी भूमिका खेलेका थिएनन् भने यो विश्वको सम्पूर्ण प्रारूप के हुन्थ्यो  होला, यसै भन्न सकिन्न।  त्यसकारण स्टालिनलाई बीसौं शताब्दीका एक महानतम् व्यक्ति,  साम्यवादी नेता र राजनीतिक प्रतिभा मानिन्छ। स्टालिनको जीवनकालमा उनले गरेका जति पनि क्रियाकलाप र उपलब्धिहरू थिए, तिनीहरूले मानवताको भविष्यको लागि धेरै ठूलो महत्त्व राखेको देखिन्छ। उनका सम्पूर्ण संघर्ष आर्थिक विकास, स्वतन्त्रता र समाजवादका लागि थिए। स्टालिनने सोभियत संघको र संसारकै कम्युनिष्ट नेताको रूपमा आफ्नो छाप छोडेका छन्। उनमा क्रान्तिकारी उत्साह, दृढ इच्छाशक्ति, राजनीतिक चालबाजी, सुदृढ संकल्प क्षमता थियो। समाजवादलाई सुदृढ गर्नको लागि उनले महत्त्वपूर्ण भूमिका खेले। यद्यपि उनका क्रियाकलापहरू विवादास्पद हुनबाट भने बच्न सकेनन्। स्टालिनको जीवनकहानीको अध्ययनबाट एउटा व्यक्तिले भयंकर जटिल परिस्थितिमा कसरी सफल नेतृत्वदायी भूमिका खेलेर एउटा देशलाई मात्र होइन, संसारलाई नै रक्षा गर्न सक्दछ भन्ने महत्त्वपूर्ण ज्ञान प्राप्त गर्न सकिन्छ। स्टालिनलाई लौह पुरूषको रूपमा अर्थात् स्टिलले बनेका मानिसको रूपमा पनि संसारमा चिनिन्छ। रूसमा महान समाजवादी नेता लेनिनको नेतृत्वमा सन् १९१७ मा अक्टुवर समाजवादी क्रान्तिको सफलतापछि रूस महाशक्ति राष्ट्र बनेको थियो। लेनिनको मृत्युपछि सत्तासंघर्षमा स्टालिनलाई सफलता मिल्यो। उनले देशको अर्थव्यवस्था सुधार्न, अन्तर्राष्ट्रिय स्तरमा त्यसलाई बलियो बनाउन, सैनिक दृष्टिले देशलाई बलियो बनाउन धेरै महत्त्वपूर्ण काम गरे र संसारमा आफ्नो छुट्टै  पहिचान बनाए। लेनिनले संसारमा सर्वहारा क्रान्तिको नेतृत्व गरे र सर्वहारा वर्गको हातमा सत्ता दिए। तर स्टालिनले त्यो सत्ताको प्रयोग सर्वाहारा वर्गको समाजवादी राज्य स्थापित गर्नको लागि गरे। स्टालिनले संसारमा पहिलो पटक समाजवादी सरकार, समाजवादी व्यवस्था तथा समाजवादी देशलाई वास्तविक रूपमा विकास गरेका हुन्।

जोसेफ स्टालिनको पूरा नाम जोसेप भिसारियोनोविज डेस जुगाशिभिली थियो।  उनको जन्म १८ डिसेम्बर १८७९ मा  तत्कालीन रूसी साम्राज्यको हिस्सा रहेको जर्जियाको गोरीमा भएको थियो। स्टालिनको जन्म मितिमा भने विवाद रहेको देखिन्छ। कतिपय जीवनी लेखकहरूले उनको जन्म २१ डिसेम्बर १८७९ मा भएको कुरा पनि उल्लेख गरेको पाइन्छ। उनी तीन भाइबहिनीहरूमा तेस्रो र एकमात्र जीवित व्यक्ति थिए। वाल्यकालमा उनको आर्थिक स्थिति धेरै नराम्रो थियो। उनका पिताको नाम भिसियन इभानोभिच दजुगश्भिली र आमाको नाम एकातेरिना ग्लाखोभना थियो। उनका पिताको स्थिति एकदम कमजोर थियो। उनी एक दासको रूपमा पैदा भएका थिए। उनी एक साधारण छालाको काम गर्ने व्यक्ति थिए। पिताले धेरै मध्यपान गर्ने हुनाले स्टालिन र उनकी आमाले धेरै दुःख बेहोर्नुपरेको थियो। उनकी आमा लुगा धुने काम गर्दथिन्। स्टालिनलाई सात वर्षको उमेरमा चिकेनपक्स रोगले सताएको थियो, जसले गर्दा उनको अनुहारमा दाग लागेको थियो। यही कारणले उनको देव्रे हातमा पनि समस्या आएको थियो।  स्टालिनले शुरूमा गाउँको युवक चर्च पाठशालामा भर्ना भएर पढ्ने काम गरे। सन् १८८८ मा स्टालिन जर्जियाको अनिवार्य शिक्षा कार्यक्रममा सामेल भए। सन् १८८९ मा उनको शिक्षणको अर्को क्रम शुरू भयो र यो चार वर्षसम्म चल्यो। आफ्नो सक्रियता र असल कार्यको कारणले स्टालिनले छात्रवृत्ति पनि पाए। यसरी १५ वर्षको उमेरमा सन् १८९४ मा उनले प्रारभिक पढाइ सके। यसपछि उनी राजधानी तिफ्लिस मदरसा गए। यतिबेलासम्म युवा स्टालिनले केही  क्रान्तिकारीसँग सम्पर्क स्थापित गरिसकेका थिए। उनी त्यसबेला कार्ल मार्क्स लगायतका समाजवादीहरूका पुस्तकहरू खोजी-खोजी पढ्ने गर्दथे।  त्यसपछि उनी जर्जियन सोशल डेमोक्रेटिक आन्दोलनमा सामेल भए। यसपछि उनी राजनीतिक रूपमा पनि विभिन्न प्रशिक्षण लिन लागे। उनी आफ्नो देशको स्वतन्त्रताको लागि आन्दोलन गर्ने एक समूहसँग पनि जोडिएका थिए।

सन् १८९९ मा उनले मदरसा छोडे र क्रान्तिकारी राजनीतिमा सक्रिय हुनलागे। यसपछि उनले एक गोप्य समाचारपत्र प्रकाशित गर्ने काम गर्नलागे। पछि उनले शिक्षकको रूपमा पनि काम गरेका थिए। यसैक्रममा तिफ्लिस प्रयोगशालामा एक कर्मचारीको रूपमा पनि काम गरे। यही बीचमा उनले जारशाहीको अत्याचारको विरोधमा विभिन्न आन्दोलनमा भाग लिइरहे। विभिन्न हड्ताल र विरोध प्रदर्शनमा सहभागी भइरहे। शुरूदेखि नै उनलाई लेनिनका विचारहरूले आकर्षित गरेका थिए। सन् १९०१ मा उनले सोशल डेमोक्रेटिक लबेर पार्टीसँग सम्पर्क गरे। त्यसपछि उनले आफ्नो सम्पूर्ण समय क्रान्तिको लागि समर्पित गरिदिए। अर्को वर्ष हड्तालको समन्वय गर्ने कोशिस गरिरहेको बेलामा उनलाई गिरफ्तार गरियो र साइबेरिया पठाइयो। पछि उनलाई जारशाही पुलिसको गुप्तचर विभागले मुख्य निगरानीमा राख्यो। त्यसकारण उनी भूमिगत भए। सन् १९०५ मा स्टालिनले पहिलोपटक जारशाहीको विरूद्धमा क्रान्तिमा भाग लिए। स्टालिनको बोल्शेभिक क्रान्तिका नेता लेनिनसँग पहिलोपटक फिनल्याण्डमा भेट भएको थियो। लेनिन स्टालिनको क्षमताबाट धेरै नै प्रभावित भएका थिए। सन् १९०५ को क्रान्तिकारी प्रयासपछि क्रान्तिकारीहरूले पेशेवर हुनुपर्दछ भन्ने कुरामा जोड दिएका थिए। यो कुरामा स्टालिन पूर्ण रूपमा सहमत थिए। त्यही कारणले उनी पूर्ण रूपमा पेशेवर भइ क्रान्तिमा सामेल भए।

सन् १९०६ मा स्टालिनले एकातेरिना स्वानिदेजसँग विवाह गरे । सन् १९०७ मा स्टालिनको एउटा छोरा याकोभको जन्म भएको थियो। यही वर्ष उनकी श्रीमतिको टाइफाइडको कारणले मृत्यु भयो। यसले उनलाई ठूलो चोट पर्‍याएको थियो। पछि सन् १९१९ मा स्टालिनले नादेजदा अल्लिलुभेभासँग विवाह गरेका थिए। उनीबाट स्टालिनका दुई सन्तान भसिली र स्वेतलाना भएका थिए। सन् १९३२ मा आत्महत्याबाट उनकी श्रीमतिको मृत्यु भएको थियो। स्टालिनका छोरा याकोभको दोस्रो विश्वयुद्धको क्रममा जर्मन युद्ध बन्दी शिविरमा मृत्यु भएको थियो।

स्टालिनका क्रान्तिकारी कदम तीव्र रूपमा अगाडि बढेपछि फेरि जारशाही पुलिसले उनलाई गिरफ्तार गर्‍यो र साइबेरिया पठायो। कारावासबाट मुक्त भएपछि उनी आफ्नो संघर्षमा पुनः फर्किए र मार्क्सवादी विचारसँग सम्बन्धित धेरै ग्रन्थहरू अध्ययन गर्नुका साथै प्रकाशन गर्न पनि शुरू गरे। यसरी विद्रोहीको आरोपमा स्टालिनलाई धेरैपटक गिरफ्तार गरियो। सन् १९०७ मा प्रसिद्ध तिफ्लिस बैंक आक्रमणको योजनामा उनले सफलता हासिल गरे र जर्जियाको पूँजीपति वर्गबाट ३४२१००० रूबल प्राप्त गरी पार्टीलाई बुझाउन सफल भएका थिए।  सन् १९१० मा पनि उनलाई गिरफ्तार गरी साइबेरिया पठाइएको थियो। यसरी बोल्शेभिक पार्टीमा स्टालिनको सक्रियता समयक्रमसँग बढ्दै गयो। उनले पार्टी नेतृत्वमा महत्त्वपूर्ण पदमा कार्य गर्दै गए र पार्टी नेता लेनिनको विश्वास पनि जित्दै गए।  सन् १९१२ मा स्टालिन बोल्शेभिक पार्टीको केन्द्रीय समितिमा चुनिएका थिए।

सन् १९१७ को क्रान्तिको बेला लेनिन र अरू धेरै नेताहरू निर्वासनमा थिए। स्टालिन त्यसबेला पार्टीको समाचारपत्र ‘प्राव्दा’ को सम्पादक नियुक्त गरिएका थिए। मार्चदेखि डिसेम्बर १९१७ को बीचमा स्टालिनका ८४ वटा महत्त्वपूर्ण वैचारिक तथा क्रान्ति सम्बन्धी लेखहरू बोल्शेभिक अखवार र पत्रिकाहरूमा छापिएका थिए। लेनिन भूमिगत अवस्थामा नै भएकोले सन् १९१७ जुलाइमा भएको पार्टी महाधिवेशनमा केन्द्रीय समितिको तर्फबाट रिपोर्ट पढ्ने काम स्टालिनले नै गरेका थिए। पार्टी क्रान्तिलाई संगठित गर्ने काममा पनि उनको मुख्य भूमिका थियो। त्यसरी नै उनले क्रान्तिमा पनि महत्त्वपूर्ण भूमिका खेलेका थिए। त्यही स्थितिमा फेब्रुअरी क्रान्ति भयो। त्यसपछि केरेन्स्की र उनका अनुयायी सरकारमा आएका थिए। सन् १९१७ को अक्टुवर २५ मा महान समाजवादी क्रान्तिको विजय भएको भोलिपल्ट नै मेन्सेभिक पार्टीले क्रान्ति दबाउन साम्राज्यवादी शक्तिहरूसँग अपिल गरेको थियो। त्यसपछि शिसु समाजवादी सोभियत संघको विरूद्ध ब्रिटेन, फ्रान्स, जापान, इटली र अमेरिकाको हस्तक्षेप भएको थियो। यस्तो भयंकर हस्तक्षेपकारी सैनिकहरूको विरूद्ध जनयुद्धका निर्णायक मोर्चाहरूलाई नेतृत्व प्रदान गर्न लेनिनले स्टालिनलाई प्रमुख नेता बनाएका थिए। लामो समयसम्म भूमिगत भएको कारणले गर्दा बोल्शेभिक क्रान्तिकारीहरूको संख्या त्यति धेरै थिएन। त्यसकारणले गर्दा साम्राज्यवादीहरूको आँकलन के थियो भने विदेशी शक्तिशाली फौजको सामु सोभियत संघ टिक्दैन। तर लेनिन र स्टालिनले वास्तविक रूपमा व्यापक जनताको लडाइँलाई संगठित गरे र अन्ततः सबै साम्राज्यवादी तथा प्रतिक्रियवादी एवम् तिनीहरूका सहयोगीहरूलाई परास्त गरे। क्रान्तिकारीहरूको विजयपछि गृहयुद्ध भएको थियो र पोल्याण्डसँग पनि युद्ध भएको थियो। स्टालिन लालसेनाका राजनीतिक कमिश्नर थिए। उनले नेशनल अफेयर्स पिपुल्स कमिसारको रूपमा पनि काम गरे। सरकारमा उनको अग्रणी स्थान थियो। यसरी स्टालिन निरन्तर पार्टीभित्र बलियो हुँदै गए। अप्रिल १९२२ मा उनी कम्युनिष्ट पार्टीको महासचिव  बने तर पार्टी नेतृत्व भने अझै लेनिनले नै गरिरहेका थिए । सन् १९२२ मा लेनिनको तल्लो अंगमा पक्षघात भएकोले पहिले जसरी पार्टी नेतृत्वमा सक्रिय हुन सकेनन्। डिसेम्बर १९२२ र मार्च १९२३ मा पुनः दुईपटक पक्षघात भएपछि लेनिन शारीरिक रूपमा असक्षम भए र पार्टी नेतृत्व स्टालिनको हातमा गयो।  सन् १९२४ मा लेनिनको मृत्युपछि पार्टीमा शक्तिसंघर्ष शुरू भयो। अब कम्युनिष्ट पार्टी सैद्धान्तिक रूपले दुई खण्डमा विभाजित भयो। एउटाको नेतृत्व ट्राटस्कीले गरेका थिए भने अर्कोको नेता स्टालिन थिए। त्यसबेला पार्टी र सोभियत सत्तामा स्टालिनको जबर्जस्त प्रभाव थियो। त्यसकारण ट्राटस्की लगायत अन्य नेताहरू परास्त भए। स्टालिन पार्टी नेतृत्वमा आउँदा उनीसमक्ष एकातिर पार्टीभित्रका राजनीतिक मतभेदहरूलाई समाधान गर्दै ठोस नीति अपनाउने तथा आर्थिक निर्माण गर्ने कार्यभार थियो र अर्कोतिर पार्टीलाई एकताबद्ध बनाइराख्ने तथा सम्पूर्ण जनताको समाजवाद कायम राखी देश निर्माणमा सृजनात्मक शक्ति जगाउने कार्यभार थियो। यसरी नै अन्तराष्ट्रिय कम्युनिष्ट आन्दोलनलाई भौतिक सहयोगको साथसाथै विचारधारात्मक नेतृत्व र प्रेरणा प्रदान गर्ने कार्यभार पनि थियो। स्टालिन जटिल परिस्थितिमा पार्टी नेतृत्वमा थिए। अन्तर्राष्ट्रिय सहयोग कहीँबाट थिएन। पूँजीवादी साम्राज्यवादीहरू सबै हिसाबले सोभियत यूनियनको विरोधमा लागेका थिए। पुनर्निमार्णको काम र त्यसपछि औद्योगिककीकरणबाट कृषिको विकास गरी सोभियत संघलाई आर्थिक रूपले प्रबल बनाउने जटिल कार्यभारसहित स्टालिन नेतृत्वमा थिए। स्टालिन नेतृत्वमा आउँदा देशमा निरक्षरता व्यापक थियो, स्वास्थ्य स्थिति खराब थियो, प्राविधिक विकास धेरै कम भएको थियो, शहर बाहिर बिजुली एकदमै कम थियो, मजदूर वर्ग र किसानहरूको संयुक्त मोर्चा बलियो थिएन,  चारैतिर विश्व पूँजीवादको आर्थिक नाकाबन्दीले घेरिएको थियो र विश्वमा फासिवादले आफ्नो प्रभाव जमाउँदै गएको थियो।

स्टालिन सम्पूर्ण रूपले पार्टी र सत्तामा नेतृत्वदायी भूमिकामा आएपछि उनले रूसको आर्थिक, सामाजिक र राजनीतिक समस्याहरूको समाधानतर्फ ध्यान दिए। उनी सम्पूर्ण देशलाई आत्मनिर्भर बनाउनको लागि कटिबद्ध थिए। उनको के विश्वास थियो भने रूस जस्तो पिछडिएको देशमा प्राविधिक ज्ञानको पूर्ण रूपले अभाव छ। त्यसकारण प्राविधिक रूपमा सक्षम नभइकन साम्यवादी व्यवस्थाको निर्माण गर्न सकिंदैन। स्टालिन के ठान्दथे भने साम्यवादी व्यवस्थालाई घृणा गर्ने पश्चिमी पूँजीवादी-साम्राज्यवादी देशहरूले जुनकुनै बेला सोभियत संघमाथि आक्रमण गर्नेछन्। त्यसकारण भावी आक्रमणबाट देशको रक्षा गर्नको लागि स्टालिनले भारी मात्रामा उद्योगधन्दा र कलकारखानो विस्तार गर्नुका साथै आधुनिक सेना एवम् हतियार बनाउने कुराको आवश्यकता ठाने। सन् १९२५ मा उनले योजना आयोग बनाएका थिए। सन् १९२७ सम्म रेलवे, ठूला कारखाना र ध्वस्त भएका कारखानाहरू राज्यले लिइसकेको थियो तर साना उद्योग निजी हातमै थिए। कृषि उत्पादनको केवल सानो हिस्सा मात्र समाजवादी थियो, बाँकी निजी हातमा थियो। निजी कृषि कुलकहरूको हातमा थियो। स्वास्थ्य, शिक्षा, खासगरी प्राविधिक क्षेत्रमा स्थिति पिछडिएको थियो।  स्टालिनसँग कुनै आर्थिक समृद्धिको अनुभव नभए पनि उनले कमभन्दा कम समयमा आर्थिक पुनर्निर्माणको लागि योजनाबद्ध अर्थव्यवस्था लागू गर्ने निश्चय गरे। डिसेम्बर १९२७ मा भएको १५औं पार्टी महाधिवेशनले कृषिकको सामूहिकीकरण र देशलाई औद्योगिकीकरणको लागि पहिलो पंचवर्षीय योजना बनाइयो। त्यसपछि सन् १९२८ देखि प्रथम पंचवर्षीय योजना (१९२८-३२) आरम्भ गरियो। यो नै संसारको सबभन्दा पहिलो योजनाबद्ध विकासको शुरूवात थियो। त्यसकारण विश्वको अर्थतन्त्रमा योजनाबद्ध अर्थव्यवस्था र पंचवर्षीय योजना स्टालिनको नेतृत्वको सोभियत रूसकै देन हो। यो योजना विषद र विवरणपूर्ण थियो साथै यसलाई विशेष मण्डलले सावधानीपूर्वक तयार गरेको थियो। यो योजना ठोस आर्थिक विकासको लागि बनाइएको थियो। पंचवर्षीय योजना अन्तर्गत कृषि र उद्योग दुवैको लागि विकासका योजना बनाइएको थियो । यो योजनाद्वारा नवीन व्यापारिक विधिहरूको निर्माण, उत्पादक कारखानाहरूको स्थापना, कृषिसँग सम्बन्धित कारखानाहरूको स्थापना, स्पात कारखानाहरूको स्थापना, रेलमार्गहरूको निर्माण लगायत अन्य विभिन्न कारखानाहरूको स्थापना गर्नु थियो।

विरोधीहरूबाट मुक्त भएर स्टालिनले एक योजनाबद्ध कार्यान्वय गरे। यसपछि नयाँ आर्थिक नीति अनुसार आफ्नो प्रभाव बढाइरहेका नयाँ पूँजीपति र कुलक वा जमिन्दारलाई समाप्त गरियो र रूसलाई तीव्रतापूर्वक औद्योगिकीकरण गरियो। राजकीय योजना आयोगद्वारा तयार गरिएको यो पंचवर्षीय योजना सन् १९२८ बाट लागू गरियो। स्टालिनले उत्पादनका अति महत्त्वपूर्ण साधन उद्योग, कृषि, संस्कृति र सैन्य विकासका मुख्य समस्याहरूको समाधानको लागि तिनीहरूको नियोजित उपयोगको लागि पंचवर्षीय योजनाको आरम्भ गरेका थिए। स्टालिनले साना र छरिएका कृषिभूमिहरूलाई क्रमशः कृषि मेशिनरी, ट्याक्टर र वैज्ञानिक प्रविधिको प्रयोग गरेर साझा, सहकारी र सामूहिक खेतीको आधारमा ठूला कृषि भूमिमा बदलिदिए। तर यो कार्य उनले जबर्जस्ती ढंगले नगरेर सम्झाउँदै र उदाहरण प्रस्तुत गर्दै गरेका थिए। स्टालिनले यतिबेला के कुराको घोषणा गरेका थिए भने गरीब किसानहरूमाथि निर्भर हुनुपर्दछ, मध्यम किसानहरूसँग बलियो एकता कायम गर्नुपर्दछ,  कुलकहरूको विरुद्ध संघर्षलाई कमजोर हुन दिनु हुँदैन। यी सबै कामलाई लागू गरेर मात्र किसानहरूका ठूला जनसमूहरूलाई समाजवादी निर्माणको दायरामा ल्याउन सकिन्छ।

स्टालिनको नेतृत्वमा सोभियत संघमा प्रथम पंचवर्यीय योजनाअनुसार सोभियत रूसको औद्योगिकीकरण, कृषिको सामूहिकीकरण र यान्त्रीकरण, पूँजीवादका अन्तिम अवशेषहरूको समाप्ति र राष्ट्रिय सुरक्षा गर्ने उद्देश्य थियो। यी उद्देश्यहरूको प्राप्तिको लागि सबभन्दा पहिले कृषिको राष्ट्रियकरण गरियो र व्यक्तिगत जमिनको स्थानमा दुई प्रकारका फार्म (सरकारी र सामूहिक फार्म) बनाइयो। सन् १९२९ को अन्तसम्ममा स्टालिनले सबै फार्महरू विशेषगरी कृषकहरूका फार्महरूलाई पूर्ण रूपले उन्मूलन गर्ने निर्णय गराए। सरकारी फार्महरूको खोल्नुको उद्देश्य देशको सम्पूर्ण बाँझा र विकट भूमिलाई कृषियोग्य बनाउनु थियो। त्यसपछि धेरै किसानहरूको जमिनलाई मिलाएर एक विशाल फार्मको रूपमा सामूहिक फार्मको स्थापना गरियो, जसमा समस्त किसानहरू सामूहिक रूपले खेती गर्न लागे। शुरूवातमा कृषकहरूले केही समस्या पनि झेल्नुपरेको थियो। १ मार्च १९३० सम्म ५७ प्रतिशत भन्दा बढी रूसी परिवार कोइलाको खानी खोजीमा सामेल भइसककेका थिए। नोभेम्बर १९२९ मा २५ हजार औद्योगिक मजदूरहरूलाई किसान र कृषि मजदूरहरूको नृतृत्व गर्नको लागि तुरून्त तयार गरियो। सन् १९३० को पहिलो महिनामा लालसेनासहितको एक लाख मानिसहरूको समूहलाई गाउँमा पठाइयो। फेब्रुअरी १९३० मा शहरी सोभियतका ७२०० सदस्यहरूलाई गाउँमा पठाइयो। सन् १९३० का चार महिनामा सामूहिकीकरणको लागि व्यापक प्रचारप्रसार अभियान चलाइयो। किसानहरूलाई शिक्षित गर्नको लागि विभिन्न केन्द्रहरू बनाइए र ५६२५ विशेष भर्ती दस्तारहरू निर्माण गरियो।   सन् १९३१ मा स्टालिनले के घोषणा गरे भने हामी उन्नत देशहरूभन्दा ५० देखि १०० वर्ष पछाडि छौं। हामीले यो दूरीलाई १० वर्षमा नाप्नुपर्नेछ। या त हामी सफल हुनेछौं, या डुब्नेछौं। तर स्टालिनले बाजी जिते। उनले दुई जादूगरी हतियार – बोल्शेभिक पार्टीसँग जोडिएका मजदूरहरू र किसानहरूको अग्रदस्ता तत्वहरूलाई संगठित गर्ने र जनताको चेतनास्तर वृद्धि गरेर त्यसलाई आर्थिक विकासको लागि गोलबन्द गर्ने कुराको प्रयोग गरे।

सन् १९३२ को अन्तसम्ममा रूसका अधिकांश किसानहरूले जुनसुकै तरीकाले भए पनि सामूहिक कृषि प्रणालीलाई स्वीकार गरे। अब देशको तीन चौथाइ कृषियोग्य भूमि सामूहिक फार्महरूमा वितरित गरिसकिएको थियो । यसको परिणामस्वरूप कृषि उत्पादानमा भारी वृद्धि भयो। यसरी अनेकौं कठिनाइहरू तथा विरोधहरूको बाबजुद सोभियत सरकारले कृषि क्षेत्रमा क्रान्ति ल्याउनमा प्रयाप्त सफलता प्राप्त गर्‍यो। यद्यपि उत्पादनको निर्धारित लक्ष्य अझै पूरा हुन सकेको थिएन। पहिलो पंचवर्षीय योजनामा उद्योगधन्दा कलकारखानामाथि पनि ध्यान दिइयो। रूसमा स्टालिनले ठूला-ठूला उद्योगरूलाई पहिले राष्ट्रियकरण गरिसकेका थिए तर धेरै मध्यम उद्योगधन्दाहरूको संचालन व्यक्तिगत ढंगले हुन्थ्यो। यिनीहरूलाई राष्ट्रियकरण गरिएन, बरू यी ठूलासाना उद्योगधन्दाहरूको एक ट्र्स्ट बनाइयो। पछि सबै ट्रस्टहरूलाई मिलाएर १९ ठूला सिन्डिकेटहरू बनाइयो। यसको साथै रूसका अनेकौं ठूला उद्योगहरूलाई क्रमशः स्टालिनको नेतृत्वको सरकारले विस्तारै-विस्तारै आफ्नो नियन्त्रण कायम गर्‍यो। यसरी पहिलो पंचवर्षीय योजना अन्तर्गत देशको औद्योगिक प्रगतिको लागि विभिन्न महत्त्वपूर्ण कार्यहरू गरियो। जसानुसार  – यूराल पर्वतको मेगनिटोर्गास्क नामक स्थानमा फलाम र स्पातको विशाल कारखाना खोलियो; नीपर नदीमा एक बाँध बनाइयो र यसबाट बिजुली निकालयो; बाकुका तेलकुवामा काम गर्ने मजदूरहरूको लागि नगरको निर्माण गरियो; आवागमनमा सुविधाको लागि विजुलीबाट चल्ने रेलगाडीहरू चलाइयो र मजदूरहरूलाई कैयौं सुधारहरू प्रदान गरियो। पहिलो पंचवर्षीय योजनामा रूस धेरै हदसम्म पश्चिमी पूँजीवादी देशहरूमा निर्भर थियो। धेरै तलवमा पश्चिमी युरोप र अमेरिकाबाट इन्जिनियरहरू तथा प्राविधिकहरूलाई बोलाइएको थियो। सन् १९२९ को विश्वव्यापी आर्थिक मन्दीको कारणले गर्दा सोभियत संघमा खाद्यान्नको मूल्य गिर्‍यो। खाद्यान्न नै सोभियत रूसको सर्वाधिक महत्त्वपूर्ण निर्णायक माल थियो। त्यसकारण विदेशी मुद्राको कमीको कारण विदेशबाट यन्त्रहरूको आयात धेरै खर्चिलो भयो। अर्कोतिर अन्तर्राष्ट्रिय स्थिति पनि चिन्ताजनक हुँदै गइरहेको थियो। जापान र जर्मनीले रूसप्रति शत्रुतापूर्ण व्यवहार गरिरहेका थिए। यस्तो जटिल परिस्थितिमा अब स्टालिनले रूसलाई आत्मनिर्भर बनाउने दिशामा विशेष ध्यान दिए। शुरूमा पहिलो पंचवर्षीय योजनाबाट मजदूर र किसानहरूको जीवनस्तरमा तत्काल कुनै विशेष प्रभाव नपरे पनि योजनाकाल समाप्त हुने बेलासम्म रूसको पूरै नक्सा बदलिएको थियो।

सामूहिकीकरणको क्रममा ग्रामीण क्षेत्रहरूको एक अभूतपूर्व सांस्कृतिक क्रान्तिको अनुभव गरेका थिए। प्राथमिक विद्यालयहरू खोलिएका थिए। यसको साथसाथै माध्यमिक र प्राविधिक विद्यालयहरू पनि खोलिएका थिए, जसमा पशु चिकित्सकहरू, मिस्त्री, ट्याक्टर चालक र कृषि वैज्ञानिकहरूको प्रशिक्षणको सुविधा थियो। ग्रामीण जनसंख्याको संरचना शहरी समाजको निकट आएको थियो। ग्रामीण समाजमा भएको यो तीव्र परिवर्तनले नयाँ व्यवस्थालाई जनसंख्याको ठूलो हिस्साको समर्थन प्राप्त भएको थियो। सन् १९२८ देखि १९३७ सम्म रूसमा  औद्योगिक उत्पादन १६.५ प्रतिशतको दरले वृद्धि भएको थियो। स्टालिनले विद्युतीय योजनालाई १९२० को अपेक्षामा २३० प्रतिशतले वृद्धि गरेका थिए। कृषिको सामूहिकीकरणले अभूतपूर्व रूपले व्यापक जनआन्दोलनको रूप लिएको थियो। यसबाट साना र मध्यम किसानहरूलाई भूस्वामीहरूको शोषणबाट मुक्त हुने र आधुनिक औजारहरू तथा यन्त्रहरूको प्रयोगले सामूहिक खेतीद्वारा समृद्ध हुने अवसर प्रदान गरेको थियो। जनतामा आएको यस्तो गतिशीलता इतिहासमा कहिल्यै देखिएको थिएन।

सन् १९३२ मा शुरू भएको दोस्रो पंचवर्षीय योजना पहिलो योजनाभन्दा फरक थियो। स्टालिनले यो दोस्रो योजनामा आयात प्रतिस्थापनमा जोड दिए र आत्मनिर्भरताको लागि उपभोग्य वस्तुहरूको उत्पादनमा विशेष जोड दिए। यो योजना पूरा हुनुभन्दा पहिले नै रूसले स्पातको उत्पादन जस्ता कैयौं क्षेत्रहरूमा ग्रेट ब्रिटेनले भन्दा बढी सफलता हासिल गर्नसक्यो। यो योजनाबाट स्पष्ट रूपले रूसी जनताले कठिन जीवनबाट मुक्ति पाउन सके। खाद्य पदार्थको पाँच प्रतिशत उत्पादन व्यक्तिगत क्षेत्रमा बच्यो र रूस पूर्ण रूपले एक समाजवादी देश बन्न सफल भयो। औद्योगिकीकरणको दिशामा एक उल्लेखनीय प्रगति के थियो भने यूराल पर्वतमालाको पूर्वमा उद्योगको भारी मात्रामा विस्तार भयो र यसरी देशको एशियाली क्षेत्रमा आधुनिकीकरण भयो। साइबेरिया र कजाकस्तान क्षेत्रहरूमा खेतीयोग्य जमिन बनाइयो। त्यसरी नै रेललाइनको कैयौं धेरै विस्तार गरियो। रूसमा औद्योगिकीकरणको शुरूवात स्टालिनको नेतृत्वको सरकारले लगभग शून्यावस्थाबाट शुरू गरेको थियो। त्यतिबेला रूसमा प्रति मजदूर उत्पादन क्षमता पश्चिमी पूँजीवादी देशहरूको तुलनामा धेरै कम थियो। तर पनि जसरी तीव्र गतिले रूसमा औद्योगिकीकरणको विस्तार भयो, यो धेरै आश्चर्यजनक थियो। यसमा स्टालिनको दृढ नेतृत्व क्षमताले काम गरेको थियो। सन् १९३८ मा तेस्रो योजना शुरू भए पनि लगत्तै दोस्रो विश्वयुद्ध शुरू भएकोले यो योजनालाई युद्धमा ढाल्नुपर्‍यो र सम्पूर्ण शक्ति युद्धमा लाग्यो। पछिल्ला दुई पंचवर्षीय योजनाकै परिणामस्वरूप यति धेरै पिछडिएको र कृषिमा आश्रित रूस दुई दशकमै एक महान औद्योगिक देश बनेको थियो। यस्तो अवस्थामा रूसमाथि युद्ध थोपरिँदा र फाँसीवादी एवम् पूँजीवादी साम्राज्यवादी आक्रमण हुँदा पनि स्टालिनको सफल नेतृत्वको कारण रूसले युद्धको सामना मात्र गरेन, बरू विजयी राष्ट्रको रूपमा सामुन्ने आयो र अन्य धेरै देशहरूलाई पनि मुक्त गरायो।

रूसको क्रान्ति सम्पन्न भएपछि तुरून्तै सन् १९१८ मा देशको लागि एक नयाँ संविधान बनेको थियो, जुन तत्कालिन स्थितिमा आवश्यक थियो। आन्तरिक र बाह्य प्रतिरोध समाप्त भएपछि सन् १९२३ मा यो संविधानमा केही परिवर्तनहरू भए। स्टालिनले सत्ता सम्हालेको १० वर्षपछि स्थिति धेरै बदलिसकेको थियो। पंचवर्षीय कार्यक्रमहरूको माध्यमबाट समाजवादी कार्यक्रमहरू लागू गरिएको थियो, जसमा निश्चित रूपले सफलता हासिल भएको थियो। देशमा विभिन्न राष्ट्रियताहरूको समुचित विकास भएको थियो। दुई दशकभित्र परम्परवादी संस्कृतिको स्थानमा नयाँ जनवादी र समाजवादी संस्कृतिको विकास भएको थियो। यसरी बदलिएको परिस्थितिमा रूस एक स्थायी संविधानको लागि तयार थियो। यसैले स्टालिनले सन् १९३६ मा नयाँ संविधान बनाउने निर्णय गरे। यो संविधान अनुसार रूसलाई ११ सोभियत समाजवादी गणतन्त्रहरूको संघ बनाइयो। हरेक गणराज्यलाई यो संघमा रहने वा त्यसबाट अलग हुने अधिकार दिइयो। देशमा दुई सदनात्मक व्यवस्थापिकाको प्रावधान बनाइयो। सीधा जनताद्वारा चार वर्षको लागि निर्वाचित सर्वोच्च सोभियतमा ५७० सदस्यहरूको प्रावधान बनाइयो। दोस्रो सदनलाई जातिहरूको काउन्सिल भनियो, जसका सदस्यहरू संघका विभिन्न राष्ट्रिय इकाइहरूद्वारा चुनिन्थे। कार्यपालिकाको शिखरमा एक अध्यक्ष परिषदको व्यवस्था गरियो, जसको अध्यक्षलाई राष्ट्रपति भनिन्थ्यो। ११ जना उपाध्यक्ष, चौविस सदस्य र एक मन्त्रीमण्डल हुन्थ्यो। शासन संचालन एक मन्त्रीमण्डलले गर्दथ्यो, जसका प्रत्येक सदस्यलाई कमिसार भनिन्थ्यो र यसले अलग दुई विभाग हेर्दथ्यो। यो संविधानमा निर्वाचित न्यायपालिकाको पनि व्यवस्था गरियो। स्थानीय, क्षेत्रीय, प्रादेशिक स्तरमा अलग-अलग न्यायालय बनाइए। सम्पूर्ण देशको लागि एक सर्वोच्च न्यायालयको व्यवस्था गरियो र विभिन्न गणराज्यहरूका लागि उच्च न्यायालयको व्यवस्था गरियो। नयाँ संविधान अनुसार रूसमा पहिलो पटक सामान्य वयष्क मताधिकारको व्यवस्था गरियो, जसको आधारमा कुनै भेदभाव बिना १८ वर्षको उमेरको हरेक व्यक्ति मतदाता बन्न सक्थ्यो। संविधानमा नागरिक अधिकारहरूको साथै उसका कर्तव्यहरूलाई पनि स्पष्ट रूपले उल्लेख गरियो। यद्यपि सत्ता भने कम्युनिष्ट पार्टीको अधिनस्थमा नै थियो। प्रत्येक नागरिकको कर्तव्य अनुसार उसले श्रम सम्बन्धी अनुशासनको पालना गर्ने, सार्वजनिक सम्पत्तिको रक्षा गर्ने र आवश्यकता पर्दा देशको रक्षा गर्ने हुन्थ्यो।

स्टालिनले रूसबाट निरक्षरता समाप्त गर्नको लागि धेरै ठूलो प्रयास गरे। पंचवर्षीय योजनाको कारण विद्यालयहरूको संख्यामा धेरै वृद्धि भयो। प्राथमिक शिक्षालाई निशुल्क र अनिवार्य बनाइयो। ३ देखि १६ वर्षका बच्चाहरूलाई शिक्षा अनिवार्य बनाइयो। यसको साथै प्राविधिक शिक्षामा जोड दिइयो। उच्चस्तरीय शोध कार्यको लागि विभिन्न प्रयोगशालाहरूको निर्माण गरियो। जसको कारणले गर्दा शिक्षित मानिसहरूको संख्या असाधारण रूपले वृद्धि भयो।  स्टालिनले प्रत्येक जातिलाई सांस्कृतिक विकासको पूर्ण मौका लिए। देशमा नागरिकहरूलाई कम्तीमा दुई भाषमा शिक्षा दिलाउने व्यवस्था गरियो। उच्च शिक्षाको व्यवस्था पनि जातीय भाषाको माध्यमबाट गरियो। रूसमा प्रत्येक गणतन्त्रको सरकारले आफ्नो भाषामा कानून बनाउने र जनताको शिक्षाको प्रबन्ध गर्ने नीति बनाइयो। शिक्षाको प्रगतिसँगै देशमा विभिन्न संग्रहालय र थियेटरहरू पनि बनाइयो। थियटरहरूको संख्यामा धेरै वृद्धि गरी पहिलेको भन्दा पाँचगुना बनाइयो। पहिले नगर शासनमा रूसमा महिलाहरूको कुनै अधिकार थिएन। निरक्षहरूको संख्यामा महिलाहरूको संख्या धेरै थियो। अब स्टालिनको नेतृत्वको समाजवादी सरकारले महिलाहरूलाई सबै क्षेत्रमा पुरूष समान अधिकार प्रदान गर्‍यो। रूसी महिलाहरूलाई अब केवल आर्थिक स्वतन्त्रता मात्र प्राप्त भएको थिएन, बरू शासनमा पनि उनीहरूलाई पुरूष समान अधिकार प्राप्त भएको थियो। स्टालिनले धार्मिक अन्धविश्वासको अन्त्य गर्दै चर्चका सम्पूर्ण अवैधानिक सम्पत्तिको राष्ट्रियकरण गरे। धार्मिक स्थानलाई अन्य जनउपयोगी कार्यहरूमा रूपान्तरण गरियो। चर्चलाई हरेक प्रकारको राजकीय सहायता दिन बन्द गरियो तर व्यक्ति स्तरमा धर्म छोड्न कसैलाई विवश बनाइएन। यसरी स्टालिनको नेतृत्वमा रूसमा देशको सामाजिक र सांस्कृतिक जीवनमा क्रान्तिकारी परिवर्तन आएको थियो।

यसरी दुई दशकको बीचमा रूसमा स्टालिनको नेतृत्वमा साम्यवादी संस्कारको धेरै राम्रोसँग विकास भएको थियो। अब कारखानाका कामदार र आर्थिक स्रोतहरूको अपर्याप्त उपयोग गर्नु सोभियत श्रमिकहरूलाई धोका दिनु र राष्ट्रिय सम्पत्तिको बर्बादी मान्न लागिएको थियो। श्रमिकहरूको प्रतियोगिताको कारणले विकासका सबै रेकर्ड तोडिएका थिए। स्रोतसाधनहरूको भरपुर उपयोग र अत्याधिक उत्पादन राष्ट्रिय आर्थिक जीवनको मूल मन्त्र बनेको थियो। सरकारले श्रमिकहरूका उपलब्धिहरूलाई व्यापक रूपले प्रचारप्रसार गर्‍यो र आन्दोलनलाई समाजवादी प्रतियोगिताको नयाँ तथा उच्चतम् चरण घोषित गर्‍यो। हरेक व्यक्तिले समाजवादी पितृभूमिको निर्माणको लागि संघर्ष गरिरहेको छ भन्ने भावनाकासाथ व्यापक रूपमा प्रतिस्पर्धा अगाडि बढाइएको थियो। यो नयाँ व्यवस्थाको सबभन्दा महत्त्वपूर्ण र विशिष्ट उपलब्धी थियो। अब रूसमा मजदूर र व्यवस्थापकको बीचमा कुनै वर्गविभेद महसुस गराइएको थिएन। समाजवादी व्यवस्था भएकोले आयको अन्तर आवश्यक र उचित मानिए पनि कुनै ईर्ष्या र द्वैष थिएन। यो एकताबद्धता, सामूहिक योगदान, आफ्नो अर्थव्यवस्थामा अत्याधिक विश्वास र सामूहिक उपलब्धिमा गर्वको भावना पैदा गरी स्टालिनको नेतृत्वको सोभियत रूपले पूँजीवादलाई सबभन्दा गम्भीर चुनौति दिएको थियो। यी सम्पूर्ण काम स्टालिनको प्रबल नेतृत्वदायी क्षमताको कारणले भएको थियो। उनले सम्पूर्ण देशको सरकारलाई पूर्ण अनुशासनमा राखेका थिए। काम गर्ने शिलसिलामा उनको नेतृत्वमा शैलीमा कैयौं कमजोरी देखा परे पनि समग्र देश निमार्णमा उनले ठूलो योगदान पुर्याएका थिए।

स्टालिनले अमानवीय तत्व फाँसीवादलाई हराउन धेरै ठूलो योगदान पुर्‍याए। सम्पूर्ण युद्धको क्रममा सबभन्दा कठिन वर्षमा स्टालिनले धैर्य, दृढनिश्चय र कुशलतापूर्वक रूसका जनतालाई प्रेरित र प्रात्साहित गरे। उनले निराशाको क्षणमा पनि अन्तिम विजयमा विश्वास राखे। सन् १९३३ मा जर्मनीमा नाजीवादी हिटलरको उदय भयो र उसले सन् १९३६ मा इटालीको फाँसीवादी मुसोलिनी र जापानसँग गठबन्धन गर्‍यो भने सन् १९३८ मा नाजी जर्मनीसँग अस्ट्रियाको एकीकरण भयो। यसरी फाँसीवादी गुटद्वारा उत्पन्न खतरालाई महसुस गर्दै स्टालिनले फाँसीवादी आक्रमणको विरूद्धमा ब्रिटेन, फ्रान्स र अन्य यूरोपीय देशहरूसँग एक राजनीतिक गठबन्धनको पक्षमा प्रस्ताव राखे। तर पूँजीवादी-साम्राज्यवादीहरूले रूसी समाजवादलाई एक खतराको रूपमा लिए र फाँसीवादलाई नै अप्रत्यक्ष रूपमा समर्थन गरे। उनीहरूको सोच के थियो भने सोभियत रूस फाँसीवादी देशबाट ध्वस्त हुनेछ र सदाका लागि कम्युनिष्ट व्यवस्थाको अन्त्य हुनेछ। फाँसीवादीहरूले एकपछि अर्को गरी कमजोर राष्ट्रहरूलाई कब्जा गर्दै जाँदा पनि पूँजीवादी राष्ट्रहरूले स्टालिनको प्रस्तावमा मान्न हिच्किचाइरहे। यस्तो स्थितिमा स्टालिनले ब्रिटेन, फ्रान्स, पोल्याण्ड, रूमानिया र टर्कीसँग युद्धविरोधी सम्मेलनको आयोजना गर्ने आग्रह गर्दा पनि पूँजीवादीहरू असहमत भए। यही बीचमा नाजी जर्मनीले लिथुवानियाको प्रमुख बन्दरगाह मेमेलमाथि कब्जा गर्‍यो र बाल्टिक सागरको पोलिस मार्ग अवरोध गरिदियो। सोभियत रूससँग गठबन्धनप्रति ब्रिटिश लगायतका पूँजीवादी साम्राज्यवादी उदासीतानाको कारण ब्रिटेन, फ्रान्स र सोभियत संघ बीचको राजनीतिक मिशन असफल रह्यो। ब्रिटेन र उसका सहयोगीहरूले पूर्वतिरको नाजी आक्रमणलाई नजरअन्दाज गरे । पोल्याण्डको नाजी कब्जा रोक्न सोभियत रूसले पहल गरे पनि सफल भएन। यस्तो जटिल राजनीतिक माहौलमा सोभियत नेता स्टालिनले सोभियत सम्प्रभुताको रक्षाको लागि सन् १९३९ मा नाजी जर्मनीसँग अनाक्रमण सन्धि गरे। यो सन्धिले तत्काल सोभियत रूसलाई नाजी आक्रमणबाट मात्र बचाएन, बरू फाँसीवादी शिविरभित्र पनि फुट पैदा गर्नमा सफलता हासिल गर्‍यो। इटालीका फाँसीवादी मुसोलिनी र स्पेनका तानाशाह फ्रेन्कोले नाजी हिटलरको यो फैसलालाई खुलेर विरोध गरेका थिए। यसरी जापानी साम्राज्यवादका लागि पनि यो एक गम्भीर झड्का थियो। किनभने उसले मंगोलियाको सीमामा सोभियत रूसको विरूद्ध युद्ध गर्ने उद्देश्य लिएको थियो।

हिटलरले सन् १९३९ को सेप्टेम्बर १ मा पोल्याण्डमाथि आक्रमण गर्दा सोभियत लाल सेनाले नाजी आक्रमणलाई रोक्नको लागि सेप्टेम्बर १७ मा पूर्वी पोल्याण्डमा प्रवेश गरेका थिए। पोल्याण्ड कब्जा भएपछि र वरिवरिका सबै देशहरूमा विजय हासिल गर्दै गएपछि नाजी हिटलरको दृष्टि बदलियो। हिटलरले पूर्वी यूरोपमाथि कब्जा गर्दै अस्ट्रिया र हंगेरीलाई विलय गर्‍यो। अब उसले रूसको बारेमा सोच्न थाल्यो। २२ जुन १९४१ मा नर्वे, नेदरल्याण्ड, बेल्जियम र फ्रान्समाथि विजय हाँसिल गरेपछि हिटलरले रूससँगको अनाक्रमण सन्धिन उल्लंघन गर्दै सोभियत संघमाथि आक्रमण गर्‍यो। सन् १९४१ को डिसेम्बरसम्म नाजी जर्मनीले पस्कोभ, नोभगोरोद, ब्रेस्ट-लिटोभस्क र मिन्समाथि कब्जा गरेको थियो। यस बीचमा भएका लेनिनग्राद र रोस्तोभको क्षेत्रमा लाखौंलाख लालसेनाहरू शहीद भए। तर लालसेनाले नाजीहरूलाई मस्कोमा रोकिदिन सफल भए। तेल, खाद्यान्न जस्ता स्रोतसाधनहरूको अभावमा हिटलर सेना सोभियत संघको दक्षिणको ककेशसतिर गए। सन् १९४२ को गर्मी महिनासम्म नाजी सेनाले अजरबैजानका तेल क्षेत्रहरूमाथि कब्जा गरे। यसपछि उनीहरूले भोल्गा नदीको किनारामा रहेको एक महत्त्वपूर्ण शहर स्टालिनग्रादमाथि कब्जा गर्ने सोच बनाए। २८ जुलाई १९४२ मा स्टालिनले महान पूर्वजहरूको सहासिक छविलाई सम्झेर एक कदम पनि पछि नहटीकन युद्धमा भाग लिन लालसेना तथा आम जनतालाई अभिप्रेरित गरे। स्टालिनग्रादका स्थानीय जनताले ट्याङ्क विरोधी बंकरहरू बनाएर फाँसीवादी सेनालाई क्षति पुर्‍याउँदै स्थानीय सुरक्षा कायम राख्न भाग लिए। सोभियत संघले सबै सम्पत्ति नष्ट गर्दै अगाडि बढिरहेका दुश्मनहरूको लागि उपयोगी सबै कुरा बर्बाद गर्ने नीति लियो। नाजी सेनाले भयंकर बमबारी गरेकोले शहर ध्वस्त भएको थियो। सोभियत लालसैनिक क्रमशः उचाइतिर जाँदै गए। लालसेनाले कहिल्यै आत्मसमर्पण नगर्ने घोषणा गर्‍यो। दस लाखभन्दा बढी सोभियत महिलाहरूले ट्याङ्क क्रू, गनर, स्निपर्स, आदिको रूपमा भाग लिए। हिटलर सेनाले सोभियत जनतालाई कम आँकेका थिए र युद्धमा महिलाहरूको यो सहभागिताको बारेमा देखेर छक्क परेका थिए। नाजीहरूले स्टालिनग्रादको धेरै भूभागमा कब्जा गरे पनि रूसमा चीसो मौसमको आगमनसँगै उनीहरूमा सर्दी र भोजनको अभावको कारणले अत्यन्तै पीडित बनायो। यही स्थितिको फाइदा उठाउँदै रूसी लालसेनाले १९ नोभेम्बर १९४२ मा भयंकर प्रत्याक्रमण शुरू गर्‍यो। रूसका सम्पूर्ण जनता र महिलाहरू एवम् लालसेनाले नाजीहरूलाई चारैतिरबाट घेरे। यसपछि ३० जनवरी १९४३ मा ९१ हजार सैनिकसहित नाजी सेनाले आत्मसमर्पण गर्‍यो। यसले इतिहासको सबभन्दा खर्तनाक लडाइँमा सोभियत रूस अर्थात् स्टालिनको विजय र संसारमा फाँसीवादी आतंकबाट मुक्त गर्नको लागि लागि बर्लिनतिर लालसेनालाई उद्दत गर्‍यो। अन्ततः मई १९४५ मा सोभियत लालसेनाले बर्लिन कब्जा गरे।

ब्रिटेन र अमेरिकाले शुरूमा सोभियत संघलाई नाजीहरूले कब्जा गरून् भन्ने कुदृष्टिका साथ छोडिदिएका थिए र युद्धको पश्चिमी मोर्चामा मात्र सहभागी भएका थिए। सोभियत लाल सेनाले पहिले नै पोल्याण्डको माध्यमबाट ६ जुन १९४४ मा बर्लिनतिर मार्च गर्न शुरू गरेकोले सम्पूर्ण यूरोपमा कम्युनिष्ट बर्चस्व कायम हुन्छ भनेर पूँजीवादी-साम्राज्यहरू आत्तिएका थिए र सोभियत संघको अप्रत्यक्ष रूपमा पतन चाहन्थे। सन् १९४३ को तेहरान सम्मेलनमा अमेरिका र ब्रिटेनको साम्राज्यवादी दबावको कारण स्टालिनले तेस्रो कम्युनिष्ट अन्तर्राष्ट्रिय भंग गरेका थिए। यसपछि मात्र सन् १९४५ को याल्टा सम्मेलनले मित्र राष्ट्रहरूको बीचमा अस्थायी एकता सुनिश्चित गर्‍यो। यसपछि इटालीमा फाँसीवादी र जर्मनीमा नाजीवादीहरूको पतन क्रमशः अप्रिल र मई १९४५ का महिनाहरूमा भयो। सोभियत लाल सेनाले जर्मनीलाई पूर्ण रूपले हरायो। अमेरिकी साम्राज्यवादले आफ्नो विश्व प्रभाव देखाउन हिरोसिमा र नागासाकीमा ६ र ९ अगस्ट १९४५ मा आणविक बम प्रहार गरी नृशंस सामूहिक हत्या गरायो। २ सेप्टेम्बर १९४५ मा जापानले बिनाशर्त आत्मसमर्पण गरेपछि दोस्रो विश्वयुद्धको अन्त भयो। यसरी स्टालिनको सफल नेतृत्वमा सोभियत संघका आम जनता र लालसेनाले विनाशकारी फाँसीवादी, नाजीवादी तथा सैन्यवादी शक्तिलाई परास्त गरी मानव जातिको मात्र रक्षा गरेन, संसारलाई एक नयाँ प्रारूप दिए।

दोस्रो विश्वयुद्धमा सबभन्दा बढी क्षति सोभियत संघलाई भएको थियो। यहाँका १७००० शहर र २७००० भन्दा बढी गाउँ पूर्ण  रूपले ध्वस्त भएका थिए।  २५००००० भन्दा बढी मानिस घरबारविहीन भएका थिए। करिब ४० हजार माइल भन्दा बढी रेलवे लाइन ध्वस्त भएका थिए। उद्योगधन्दा कलकारखाना, खानी, निपुर नदीमा बनेका हाइड्रो-इलोक्ट्रिक प्लान्ट सबै ध्वस्त भएका थिए। कराडौं पशुहरू मारिएका थिए। २ करोडभन्दा बढी मानिसको मृत्यु भएको थियो। यस्तो भयंकर अवस्थामा पनि स्टालिन कत्ति विचलित भएनन्। उनको नेतृत्वमा सोभियत सरकारले बिजुली र कारखानाहरूलाई पुनः स्थापित गर्नु शुरू गर्‍यो। सरकारले सेभस्तोपोलको रणनीतिक बन्दरगाहको पुनिर्माण गर्‍यो। यस्तै धेरै पुनर्निमार्णका कामहरू निरन्तर अगाडि बढाइयो। सन् १९४६ मा सोभियत संघमा आम चुनाव भएपछि चौथो पंचवर्षीय योजना लागू गरियो। कुइविशेभ र स्टालिनग्रादमा भोल्गा नदीमा जलविद्युत संयन्त्र स्थापित गरेर २००० करोड किलोवाट बिजुली निकालियो। यूराल पर्वतमा बनेका नवनिर्मित बाँधहरूले करीब ४०००,००० एकड कृषियोग्य भूमिलाई सिंचाई सहायता प्रदान गर्‍यो। मध्य एशियाको अमुदरिया नदीमा तुर्कमेन बाँध बनाइयो। यसले ३०,००,००० एकड कृषियोग्य भूमिलाई सिंचाइ प्रदा गर्‍यो र मरूभूमिलाई उर्बर भूमिमा परिणत गरियो। यसको परिणामस्वरूप त्यहाँको उत्पादन ८ प्रतिशतसम्म वृद्धि भयो। सन् १९५१ मा युक्रेन र क्रिमियामा बनेका बाँधहरूले कपास र गहुँ उत्पादनमा वृद्धि गर्‍यो। सोभियत संघले भोल्गा र दोन नदीहरूको बीचमा एक जल सम्बन्ध स्थापित गरी यसबाट बाल्टिक सागर, क्यास्पियन सागर र मृत सागरलाई एकसाथ जोड्यो। सन् १९५० मा सोभियत संघले आफ्नो स्थापनापछि सबभन्दा बढी उत्पादन वृद्धि गरेको थियो। स्टालिनको नेतृत्वमा सोभियत संघले हाइड्रोजन बम उत्पादनको लागि वैज्ञानिक रहस्यहरूको पनि समाधान गर्‍यो र सार्वजनिक उपयोग गर्नको लागि परमाणु ऊर्जाको उपयोग गर्न शुरू गर्‍यो। रूसको यो वैज्ञानिक विजयपछि अमेरिकाको विनाशकारी विश्वप्रभुत्व समाप्त भएको थियो। यसपछि स्टालिनले विश्व शान्तिमा वृद्धि गर्नको लागि अन्तर्राष्ट्रिय शान्ति संघमा पनि भाग लिएका थिए। उनले तेस्रो संसारका देशहरूको सहायताको लागि सस्तो दरमा निर्यात सम्झौता स्थापित गर्न माग गरेको थिए। 

यसरी स्टालिनको शासनकालमा सोभियत रूसले जीवनका सबै क्षेत्रहरूमा अभूतपूर्व प्रगति गरेको थियो। दोस्रो विश्वयुद्धमा रूसको ठूलो धनजनको क्षति भएको थियो । तर पनि रूस विश्वयुद्धमा विजयी राष्ट्र बन्न सफल भयो। यसमा स्टालिनको दुरगामी नेतृत्व क्षमता नै थियो। दोस्रो युद्ध समाप्त भएपछि कैयौं देशहरू गरीब भए तर रूस एक महान शक्तिको रूपमा उदायो। दोस्रो विश्वयुद्धपछि पूँजीवादी-साम्राज्यवादी देशहरूले रूसको विरूद्ध जतिसुकै शंका, शत्रुता र षड्यन्त्र गरे पनि स्टालिनको कुनै पनि अन्तर्राष्ट्रिय मामिलामा महत्त्वपूर्ण उपस्थिति र प्रतिष्ठा थियो। यसरी तीन दशकभित्र लेनिनपछि स्टालिनको बलियो नेतृत्वमा रूस विश्वको महान शक्ति बनेको थियो र जनतामा समाजवादी भावनाको गहिरो जरा जमाएको थियो।

स्टालिनले विशेषगरी देशलाई एकत्रीकरण र औद्योगिकीकरण गर्नमा विशेष ध्यान केन्द्रित गरेका थिए। उनी आफ्ना लक्ष्य प्राप्ति गर्ने उत्सुकतामा केही गर्नमा पनि पछि हटेनन्। उनले कैयौं अनुर्बर जमिनलाई उर्बर बनाए। राष्ट्रवादी समस्याहरूलाई हल गर्नको लागि उनले कृषिको अनिवार्य रूपले सामूहिकीकरण र सम्मूर्ण जनतामा हस्तान्तरणको नीति ल्याए। उनले सरकारद्वारा तयार केन्द्रीय योजनापछि सम्पूर्ण उत्पादक प्रणालीमा सख्त अनुशासनको व्यवस्था गरे। यसरी विभिन्न प्रकारका प्रकोप, संकट, मन्दी, युद्ध, आदि जस्ता विपत्तिहरूको कारणले व्यापक रूपमा धनजनको क्षतिसँगै सोभियतले संघले पंचवर्षीय योजनाका साथ तीव्रतापूर्वक आर्थिक विकास हासिल गर्‍यो। यसले भारी उद्योगधन्दा, कलकारखाना, ऊर्जा, सिंचाइ, विज्ञानप्रविधि, आदि क्षेत्रमा अभूतपूर्व विकास गर्‍यो।

स्टालिनको मृत्यु रहस्यमय ढंगले भएको थियो। सन् १९५० पछि स्टालिनको स्वास्थ्य अवस्था खराब हुँदै गएको थियो। उनको सम्झने शक्तिमा ह्रास हुँदै गएको थियो  र उनलाई थकावट महसुस हुन लागेको थियो। त्यसकारण उनका निजी चिकित्सकले उनलाई पद छोड्ने सिफारिस गरेका थिए। दुई वर्षपछि सोभियत संघको कम्युनिष्ट पार्टी बोल्शेभिकको १९औं महाधिवेशनमा स्टालिनलाई पहिलो पटक अनधिकृत मानियो। नेताहरूले युद्धविरोधी भाषण दिए तर मेलेनकोभले स्थिति कायम राख्नको लागि विभिन्न अन्तर्राष्ट्रिय संघर्षहरूमा भाग लिनको लागि सोभियत संघको आवश्यकताको पुष्टि गरे। त्यस अवसरमा महाधिवेशनले स्टलिनको विरूद्ध मतदान गर्‍यो। यसपछि स्टालिनको बिरामी र महाधिवेशनको त्यो झट्काको कारणले गर्दा उनको पागलपन झन बढ्दै गएको थियो। स्टालिनको मृत्यु शंकास्पद ढंगले भएको देखिन्छ। कतिपय सन्दर्भमा उनलाई डाक्टरले गलत औषधि दिए भन्ने पनि गरिन्छ। स्टालिनको मृत्युका दुई अलग-अलग संस्करण छन्। पहिलो अनुसार २८ फेब्रुअरी १९५३ मा  स्टालिनले आफ्ना निकट सहयोगीहरू बेरिया, मालेनकोभ, ख्रुश्चेभ र बुल्गेनिनसँग भेट गरे। राति खाना खाएपछि सुत्न गए। अर्को भनाइ अनुसार बैठक बसेकै बेलामा उनीहरू सबैको बीचमा एक महान पंक्तिमा समाप्त भए। अन्तमा स्टालिन धेरै उच्च भए, आफ्नै ओच्छ्यानमा सेवानिवृत्त भए। वास्तविकता के हो भने अर्को विहान स्टालिन देखिएनन्, न उनले आफ्ना सेवक र गार्डहरूलाई नै बोलाए। १ मार्चको राति १० बजेसम्म कसैले नेताको बेड रूममा प्रवेश गर्ने हिम्मत गरेनन्। उनको एउटा नोकरले अन्तिममा उनलाई बोल्न नसक्ने अवस्थामा भुइँमा भेट्टाएका थिए। कुनै कारणले २४ घण्टासम्म कसैले डाक्टरलाई बोलाएनन्। डाक्टर आएपछि के फैसला गरे भने स्टालिनले एक तीव्र आघातको सामाना गर्नुपरेको थियो। उनी धेरै दिनसम्म तड्पिएर रहे। आखिरमा ५ मार्चमा स्टालिनको मुटुको मृत्यु भएपछि उनी सदाका लागि विदा भए।

स्टालिनले काम गर्ने सिलसिलामा माओले औंल्याए झैं केही कमजोरीहरू गरे । उनीमा समाजवादी समाजका अन्तर्विरोधहको बारेमा ठोस विश्लेषण गर्नमा कमजोरी देखियो। उनको आफ्नो चिन्तनमा यान्त्रिक भौतिकवादी विचलन पनि कतिपय सन्दर्भमा देखिन्छ। उनी विरोधीहरूको एकता र संघर्षका आधारभूत नियमलाई पूर्ण तवरले र मुख्य नियमको रूपमा बुझ्नमा असफल भए। समाजवादको अर्थवादी बोध र चिन्तनमा यान्त्रिक भौतिकवादको विचलनले गर्दा स्टालिनबाट केही कमजोरीहरू हुनपुगे। भनिन्छ स्टालिनमा केही स्वभावगत सनकीपन पनि थियो। उनले समाजवादको संक्रमणकाललाई सैद्धान्तिक स्तरमा बुझाउन सकेनन् तर अनुभववादी ढंगले समाजवादको क्रममा आउने समस्याहरू र अवरोधहरूसँग लडिरहे। उनले उत्पादक शक्ति र उत्पादन सम्बन्धहरूको बीचको द्वन्द्वात्मक सम्बन्ध, आधार र उपरिसंरचनामा हुने द्वन्द्वात्मक सम्बन्धलाई सही ढंगले बुझ्न सकेनन्। आधार र उपरिसंरचनामध्येमा उनले आधारलाई नै प्रमुख ठानिरहे र आधारमा, उत्पादक शक्ति तथा उत्पादन सम्बन्धमध्येमा उनको मुख्य जोड उत्पादक शक्तिमाथि रह्यो। यसबाट धेरै गडबडीहरू पैदा भए। उत्पादक शक्तिमा पनि उनको मुख्य जोड मानवीय शक्तिमा नभएर प्राविधिक विकासमा रह्यो। वर्गहरूको अस्तित्वको बारेमा पनि स्टालिनको बुझाई गलत भयो। सन् १९३६ मा सोभियत संघमा कानूनी रूपले निजी सम्पत्तिको अन्त्य हुँदा स्टालिनले यसलाई शत्रुतापूर्ण वर्गको अन्त्यको रूपमा बुझे। यसकारण उनले समाजवादी समाजभित्र वर्गसंघर्ष नै खत्तम भएको रूपमा बुझे। यसरी समाजवादी समाजमा जनताको बीचको अन्तर्विरोधलाई बुझ्ने र त्यसको हल गर्ने प्रश्नलाई पनि अन्त्य गरिदिए। यसरी अन्तर्विरोधहरूको गलत बुझाइको कारणले उनीमा तिनीहरूको समाधान गर्ने गलत विधिको विकास भयो, जसको कारणले गर्दा केही ज्यादतिहरू भए। यसकारण वर्गसंघर्षलाई पनि सही ढंगले संचालन गर्न सकेनन्। स्टालिनले सर्वसाधारण जनतालाई नोकरशाहरूको विरूद्धमा संगठित गर्ने कुरामा जोड दिए पनि नोकरशाहको विरूद्धमा जनआन्दोलन संगठित गरेनन्, बरू हरेक पटक नोकरशाही र प्रतिक्रान्तिकारी खतराहरूले टाउको उठाउँदा त्यसको विरूद्ध प्रशासनिक ढंगले मात्र समाधान गर्ने अभियान छेडे। त्यसकारण नोकरशाही तथा प्रतिक्रान्तिकारीहरूले पार्टीमा जरो जमाए र स्टालिनको मृत्यु हुने वित्तिकै नेतृत्व हत्याउनमा सफल भए। उनले आर्थिक आधार खत्तम भएपछि उपरिसंरचना पनि खत्तम हुन्छ भन्ने बुझे। उनले समाजमा र पार्टीमा बुर्जुवा विचारहरूको प्रभावलाई देख्न सकेनन् र न बुर्जुवा पैदा गर्ने स्रोतलाई नै पहिचान गर्न सके। उनले उद्योग र कृषिको बीचमा हुने फरक, गाउँ र शहरको बीचको फरक र मानसिक र शारीरिक श्रमको फरकलाई सही ढंगले बुझ्न सकेनन्। उनले बुर्जुवा विचार फस्टाउने जमिन रहिरहेको हुन्छ र पूँजीवादी पुनर्स्थापनाको खतरा रहिरहन्छ भन्ने कुरालाई पनि सही अर्थमा बुझ्न सकेनन्। स्टालिन पूँजीवाद पुनर्स्थापनाको लागि आन्तरिक कारणहरूलाई प्रधान नमानेर विदेशी आक्रमणलाई मुख्य कारक मान्थे। त्यसकारणले उनले सोभियत समाजभित्र बुर्जुवाहरू पैदा हुने र उनीहरूद्वारा सत्ता हत्याएर पूँजीवादी मार्ग पक्रिने संभावनामाथि जोड दिएनन्।  यद्यपि उनले अन्तर्राष्ट्रिय कम्युनिष्ट आन्दोलन र समाजवादी व्यवस्थाको विकासमा गर्नमा अत्यन्तै महत्त्वपूर्ण योगदान दिएका छन्। वास्तविक रूपले समाजवाद निर्माणमा स्टालिनको अभूतपूर्व योगदान थियो। उनले मार्क्सवादी, समाजवादी र साम्यवादी सिद्धान्तलाई संसारभरि विभिन्न भाषामा पुर्‍यउनमा ठूलो योगदान दिए। स्टालिनको सबैभन्दा ठूलो योगदान भनेको समाजवादी सोभियत संघको सफल नेतृत्व गर्नुको साथै दोस्रो विश्वयुद्धमा शक्तिशाली लालसेना निर्माण गरी सर्वविजेताको रूपमा अगाडि बढिरहेको फाँसीवादी हिटलरलाई धूलो चटाउनु हो। यदि स्टालिन र उनको लालसेना हुँदैनथ्यो भने हिटलरलाई हराउने अर्को शक्ति शायदै हुन्थ्यो होला। फासीवादमाजथि विजय प्राप्त गरेपछि स्टालिनले पूर्वी युरोपको ठूलो हिस्सामा आफ्नो प्रभाव पार्न सफल भएका थिए। सन् १९५३ मा स्टालिनको मृत्यु हुँदासम्म उद्योग, विज्ञान, प्रविधि र सैन्य शक्तिको रूपमा  सोभियत संघ विश्वको दोस्रो ठूलो शक्ति बनिसकेको थियो र कैयौं मामिलामा त अमेरिकाभन्दा पनि विकसित थियो। सबै नागरिकहरूको लागि निशुल्क शिक्षा सुविधा, निशुल्क स्वास्थ्य सुविधा दिने सोभियत संघ पहिलो देश थियो। बेरोजगारी र सामाजिक खराबीहरूको अन्त्य भएको थियो। महिलाको स्थिति कुनै पनि सभ्य देशभन्दा राम्रो थियो। भोकमरीको कुनै नामनिशाना थिए। यो सबै विकास भयंकर दोस्रो विश्वयुद्धको तहसनहसपछि स्टालिनले गरेका थिए।

स्टालिनका गल्तीहरूको अपेक्षमा उनका योगदानहरू कैयौं बढी छन्। उनले लेनिनको मृत्युपछि गैरलेनिनवदी धारणाहरूलाई हराए। सोभियत संघमा समाजवाद निर्माणको अवस्थितिमा धेरै पुराना बोल्शेभिक नेताहरू भट्किए पनि स्टालिन डटिरहे। उनले समाजवादको निर्माणलाई अगाडि बढाए, पंचवर्षीय योजना शुरू गरे र संसारको पहिलो समाजवादी राज्य कायम गरे। स्टालिनको नेतृत्वमा नै एउटा ध्वस्त भएको देश विश्वको दोस्रो ठूलो शक्ति बनेर  उदाउन सकेको हो, त्यो पनि आफ्नै दममा दोस्रो विश्वयुद्धको भयंकर सामना गर्दै।

संसारका सम्पूर्ण पूँजीवादी तथा साम्राज्यवादी शक्तिहरूले स्टालिनको विरोध गर्नु र उनको विरूद्ध दुश्प्रचार गर्नुको मुख्य उद्देश्य समाजवादको विरोध गर्नु थियो। स्टालिन लेनिनपछिका एक सर्वशक्तिशाली सर्वहारा नेता हुन्। उनले समाजवादको निर्माण गरी सोभियत रूसलाई सही मार्गमा डोर्‍याए । उनले अत्यन्तै कमजोर अवस्थामा रहेको रूसलाई सही विचारधारा, नेतृत्व क्षमता, उत्पादानका साधनहरूको सही प्रयोग, सर्वहारा वर्गीय राज्यशक्तिको प्रयोग गरेर संसारको शक्तिशाली समाजवादी देश बनाए। यही कारणले गर्दा समाजवादको सफलतामा आतंकित भएका साम्राज्यवादी पूँजीवादी शक्तिहरूले स्टालिनको दुश्प्रचार गरेका हुन्। स्टालिनको मृत्युपछि सबभन्दा बढी ख्रुश्चेभले समेत स्टालिनको अमानवीकरणमा धेरै ठूलो शक्ति खर्चिए र साम्राज्यवादी शक्तिहरूलाई स्टालिनको विरोध गर्नमा थप बल पुग्यो।

आधुनिक क्रान्तिकारी पार्टी निर्माणको सिद्धान्त भी. आइ. लेनिनले बनाएका हुन् र पार्टीको मेरूदण्ड निर्माण गर्ने काम पनि लेनिनले नै गरेका थिए। स्टालिनले भने क्रान्तिकारी पार्टीलाई एक शानदार राजनीतिक सेनामा रूपान्तरित गरे। पार्टीको निर्णायक नेतृत्वकारी भूमिकाको कारणले नै स्टालिनले सोभियत संघको समाजवादी व्यवस्था सफल बनाउनुको साथै फाँसीवादी महान युद्धमा सफलता हासिल गरेका थिए। स्टालिनले सोभियत संघको कम्युनिष्ट पार्टीको इतिहास, लेनिवादका आधारहरू, लेनिनवादका समस्याहरू, आदि जस्ता धेरै महत्त्वपूर्ण पुस्तकहरू लेखेका छन्। उनका सम्पूर्ण कृतिहरू १६ भागमा प्रकाशित भएका छन्।

स्टालिनले सोभियत समाजवादभित्र घुसपैठ गर्ने शत्रुहरूलाई शुरूदेखि नै राम्रोसँग पहिचान गरेका थिए। समाजवादी व्यवस्थाका दुश्मनहरूलाई परास्त गर्ने क्रममा स्टालिनबाट केही कमजोरीहरू पनि भएका देखिन्छन्। पार्टीभित्रका अवसरवादी तत्वहरूले स्टालिनका नीतिहरूको घोर विरोध गरिरहँदा स्टालिनले विरोधीहरूलाई दबाउने क्रममा केही समस्याहरू पैदा भएका देखिन्छन्। सन् १९२७ मा ट्राटस्की, जिनोभिएव, कामेनेभलाई पार्टीबाट निषकासित गरिएको थियो। तर केही समयपछि जिनोभियएव र कामेनेभलाई फेरि पार्टीमा बोलाइएको थियो। सन् १९२८ र १९३० मा ट्राटस्की, जिनोभियव, कामेनेभ र बुखारिनले औद्योगिकीकरण र सामूहिकीकरणको विरोध गरेका थिए। सन् १९३१ मा पुनः जिनोभिएव र कामेनेभलाई पार्टी विरोधी कार्यक्रममा सार्वजनिक समर्थन दिएको कारणले निकालिएको थियो। सन् १९३४ मा भएको पार्टीको १७औं महाधिवेशन एकता र विजयको महाधिवेशन थियो। स्टालिनले निस्कासित गरिएका पार्टी क्याडरहरूलाई पुनः सदस्यता प्रदान गरी अधिकार बहाल गरेका थिए। यिनीहरूमा प्याताकोभ, रादेक, स्मिरनोभ, प्रेयोबाझेन्स्की, जिनोभिएव र कामेनेभ थिए। त्यसकारण के भन्न सकिन्छ भने स्टालिनले गल्ती गरेका क्याडरहरूलाई पनि माफी दिइ दोस्रो मौका दिन्थे। १ डिसेम्बर १९३४ मा पार्टी कमाण्डका दोस्रा नेता किरोवको हत्या भयो तर तत्काल हत्या कसले गर्‍यो भन्ने कुरा पत्ता लागेन। सन् १९३७ मा के पत्ता लाग्यो भने किरोवको विरद्ध षड्यन्त्रमा जिनोभिएव, कामेनेभ, स्मिरनोभ, रादेक र अन्य क्याडर सामेल थिए र यसमा ट्राटस्कीको पनि समर्थन थियो। ट्राटस्कीले स्टालिनका सम्पूर्ण क्रियाकलापको खुलेर विरोध गरेका थिए। सन् १९३८ मा बुखारिन नामका सोभियत कम्युनिष्ट नेता सबभन्दा सम्मानित र उच्च ओहोदामा थिए। के भनिन्छ भने उनी समाजवादी व्यवस्थाको विरूद्धमा साम्राज्यवादीहरूसँग मिलेर षड्यन्त्र गरिरहेका थिए। पछि बुखारिनले विश्वासघातका यी सबै कुरा स्वीकारेका थिए।

स्टालिनले सोभियत समाजवादको नेतृत्व गर्ने क्रममा आन्तरिक विश्वासघातीहरूलाई पहिचान गरेर समाजवादको रक्षा गरेका थिए। त्यति मात्र होइन उनले सन् १९३५ देखि फासिवाद विरोधी अन्तर्राष्ट्रिय शक्ति तथा देशहरूको गठबन्धनलाई पनि समर्थन गरेका थिए। उनले जर्मनी र इटालीको फासीवादी विस्तारवादको विरूद्ध युरोपमा एक सामूहिक सुरक्षा प्रणालीको प्रस्ताव राखेका थिए। यद्यपि स्टालिनका यी प्रयासहरू असफल रहे। दोस्रो विश्वयुद्धमा हिटलर कमजोर शक्तिलाई हराएर रूसमाथि कब्जा गर्न चाहन्थ्यो। हिटलरलाई के कुरा थाहा थियो भने रूसलाई पराजित गर्ने काम त्यति सजिलो छैन। त्यसैले उसले रूससँग अनाक्रमण सन्धिको नाटक गरेको थियो। पूँजीवादी साम्राज्यवादी देशहरू सबैले स्टालिन र रूसको प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा विरोध गरिरहेको तथा समाजवादको हत्यामा सबै लागिरहेको यो जटिल परिस्थितिमा स्टालिनले पनि दूरगामी सोचका साथ शक्ति सन्तुनलको आधारमा प्रस्ताव स्वीकार गरेका थिए। ब्रिटेन र फ्रान्स पनि हिटलरको प्रयोग गरेर सोभियत संघ नष्ट गर्न चाहन्थे। हिटलरले पहिले फ्रान्स, बेल्जियम र ब्रिटेन कब्जा गरी रूसलाई सम्पूर्ण युरोपीय सेनासँगै कब्जा गर्ने सोचेको थियो। स्टालिनको दुरगामी सोचको कारण रूसले आफ्नो सुरक्षालाई निर्णायक रूपले बलियो बनाउने २१ महिनाको समय प्राप्त गर्‍यो। यही शक्ति नै दोस्रो विश्वयुद्धमा फाँसीवाद, नाजिवाद र सैन्यवादी शक्तिलाई हराउने प्रमुख शक्ति प्रमाणित भयो।

स्टालिनले सबभन्दा कठिन परीक्षणका घडीहरूमा देशको प्रतिभाशाली नेतृत्व गरेका थिए। उनी रूसलाई सम्पूर्ण रूपले बदल्नमा क्रूर समयसँग लड्ने सबभन्दा शक्तिशाली र उत्कृष्ट व्यक्तित्व थिए। स्टालिन एक असाधारण ऊर्जायुक्त,  अखण्ड इच्छाशक्तियुक्त महान व्यक्ति थिए। स्टालिनसँग जस्तोसुकै जटिल परिस्थितिमा पनि मार्ग खोज्ने क्षमता थियो। उनी कठिनभन्दा कठिन परिस्थितिमा संयमतापूर्वक काम गर्दथे। उनी एक जटिल व्यक्तित्व थिए। उनीसँग दुश्मनलाई प्रयोग गरेर दुश्मनलाई मेटाइदिने शक्ति थियो। स्टालिन एक अत्यन्त विकसित उद्योग, सामूहिक कृषि, सम्पूर्ण जनताको लागि सार्वजनिक शिक्षा, देशको एकता, समाजवादी राज्यशक्तिको विकास, जनताको बीचमा देशभक्तिको उत्कट भावना निर्माण गर्नमा सफल भए। पार्टीको माध्यमबाट लडाइँको मोर्चामा र मोर्चा इतर एकता निर्माण गर्नमा पनि उनी सफल भए। यी सबै कुराले गर्दा नै उनले फासीवादको विरूद्धमा महान विजय हासिल गर्न सकेका हुन्। स्टालिनले रूसलाई अति कमजोर राष्ट्रबाट परमाणु शक्तियुक्त, औद्योगिक शक्तिसम्पन्न, शक्तिशाली र वैज्ञानिक राष्ट्रमा परिणत गरिदिए।

सन्दर्भ सामग्रीहरू

  1. RW Davies, The Industrialization of Soviet Russia I: Socialst Offensive; The Collectivization of Soviet Agriculture, 1929–1930; Cambridge, Massachusetts: Harvard University Press, 1980
  2. Lenin and Stalin on propoganda, Little Lenin Library – 24,  London Lawrence and Wishart LTD
  3. https://www.jugashvili.com/blog/did-the-soviet-union-invade-poland-in-september-1939-the-answer-no-it-did-not
  4. STALIN A new world seen through one man by Henri Barbusse, Translated by Vyvya Holland, London John Lane the bodley head, printed in Great Birtain by western printing servive ltd.
  5. Stalin – Edvard Radzinsky, Translated by H T willetts, Anchor Books
  6. Stalin and the Defence of Science, review of ‘Stalin and the Soviet Science Wars’ by Ethan Pollock in 2006 http://www.lalkar.org/issues/contents/nov2008/stalinscience.html
  7. Stalin and Soviet Union – Stephen J. Lee, Routledge, London and New York
  8. The Secret file of Joseph Stalin, A hidden life, Roman Brackman, Frank Cass, London, Portland
  9. https://www.marxists.org/reference/archive/stalin/works/1943/05/04.htm
  10. J Arch Getty and Oleg V Naumov, The Road to Terror: Stalin and the Self-Destruction of the Bolsheviks 1932–1939, Yale University Press, 1999
  11. https://www.britannica.com/event/Russo-Finnish-War
  12. Stalin: A Biography – by Edvard Radzinsky (Author), Hodder & Stoughton
  13. https://www.marxists.org/reference/archive/stalin/works/1945/05/09a.htm
  14. Mario Sousa, Lies Concerning the History of the Soviet Union, http://www.northstarcompass.org/nsc9912/lies.htm
  15. https://mashable.com/2016/07/30/soviet-women-snipers/
  16. http://www.marx2mao.com/Stalin/
  17. https://www.greanvillepost.com/2019/02/14/the-holodomor-and-the-film-bitter-harvest-are-fascist-lies/
  18. https://www.marxists.org/reference/archive/stalin/works/1924/09/20.htm
  19. https://www.marxists.org/reference/archive/dimitrov/works/1935/08_02.htm
  20. http://jabardakhal.in/english/the-moscow-trials-defendants-guilty-by-the-evidence/
  21. Richard Levins and Richard Lewontin, The Dialectical Biologist, Aakar publishers; 2009, p164
  22. https://www.marxists.org/reference/archive/stalin/works/1939/03/10.htm
  23. Stalin – The Tasks of Business Executives (Speech Delivered at the First All-Union Conference of Leading Personnel of Socialist Industry), February 4, 1931, http://www.marxists.org/reference/archive/stalin/works/1931/02/04.htm
  24. https://www.pratibhaekdiary.com/
  25. Study and Research of various websites, blogs, journals, magazines and newspapers.
  26. दायित्वबोध, जुलाई-सितम्‍बर 2003
  27. स्तालिन युग, अन्ना लूई स्ट्रांग, हिन्दी, अनुवाद – राजेश उपाध्याय, आरोही बुक ट्रस्ट
  28. जीवनी और संस्मरण – स्टालिन और माओ चे तुङ – राहुल बाङ्मय, राधाकृष्ण प्रकाशन पालि, दिल्ली
  29. रणनीति र कार्यनीतिको सवालबारे – स्टालिन, नेपाली संस्करण, अनुवाद- दुर्योधन केसी, विविध पुस्तक भण्डार
  30. कार्ल मार्क्स र जोसेफ स्टालिनका अन्तर्वाताहरू – अनुवाद – मोहन विक्रम सिंह, नवज्योति प्रकाशन
  31. मार्क्सवाद और जातियताओं का सवाल – स्टालिन,  हिन्दी संस्करण, अनुवाद – नरेश नदीम, लोकचेतना बुक, प्रकाशन संस्थान
  32. स्टालिनका छानिएका रचनाहरू – नेपाली संस्करण, अनुवाद – कृष्णदास श्रेष्ठ, पैरवी प्रकाशन
  33. स्टालिन एक जीवनी- राहुल सांकृत्यायन, राहुल फाउण्डेसन, लखनऊ
  34. महान बहस – अन्तर्राष्ट्रिय कम्युनिष्ट आन्दोलन की आम कार्यदिशा पर हुए विचारधारात्मक वादविवाद के मुख्य दस्तावेज, अन्तर्राष्ट्रिय प्रकाशन, गाजियावाद
  35. सोभियत संघको कम्युनिष्ट पार्टी बोल्शेभिकको इतिहास – नेपाली रूपान्तरण – कृष्णदास श्रेष्ठ, जनसाहित्य प्रकाशन समूह, वुटवल
  36. मार्क्सदेखि माओत्सेतुङसम्म – जर्ज थोम्सन, अनुवाद – भगवानचन्द्र ज्ञावली, विविध पुस्तक भण्डार
  37. सोभियत संघ र महान अक्टुवर क्रान्तिको इतिहास – अलेक्सेएभ, कार्चोभ र त्रोइत्स्की, अनुवादक – राजेन्द्र मास्के, जनस्रष्टा प्रकाशन


2 responses to “कम्युनिष्ट नेता स्टालिन र समाजवादी व्यवस्था निर्माणमा उनका योगदानहरू”

  1. साथी नारायणजी मैले सोभियत महान नेता जेभी स्टालिनबारे लेख्नु भएको विस्तृत लेख पढें । गजबको लाग्यो । कतिपय नयाँ विषयको पर्दा खुलाउनु भएको छ । हो जन्म मितिहरु क्तिपय ठाउँमा अलग अलग भएकोले म आफै अलमलमा पनि थिएँ । तपाईले प्रष्ट पार्नु भयो फरक फरक छन् भनेर । धन्यवाद छ ।

    Liked by 1 person

Leave a comment

About Me

I am a student of philosophy and nature. I thoroughly research all subjects and summarize them in Nepali and English. I am Secretary of Marxism Study-Research Academy, Nepal. I am a Social Worker. Education – i) Master of Arts Degree in Political Science – TU, ii) Master of Public Administration Degree – TU, iii) Master of Arts Degree in History-TU, iv) Master of Arts Degree in Nepalese History Culture and Archaeology-TU.

म अध्ययन-अनुसन्धान कार्यमा निस्वार्थ भावले निरन्तर लागेको एक वाम विचारधारायुक्त सामाजिक कार्यकर्ता हुँ। मेरो कुनै पनि राजनीतिक दलसँग संलग्नता नरहेको जानकारी गराउँदछु। मेरा हरेक अध्ययन-अनुसन्धान कार्य शोषण, दमन, अन्याय, अत्याचारका विरुद्ध हुनेछन् । आम श्रमजीवी, भोका-नांगा, गरीब, उत्पीडित जनसमुदायहरूलाई सुशिक्षित गर्ने प्रयत्न मेरो कर्तव्य हुनजान्छ । मेरा सबै कार्य जनहितका लागि हुनेछन् भन्ने आशा तथा विश्वासपूर्वक मैले निरन्तर कार्य अगाडि बढाइरहेको हुनेछु। श्रमप्रति सम्मान र शोषणप्रति घृणा नै मेरा कार्यका उद्देश्य हुनेछन्।  

यहाँ तपाईंहरू सबै प्रकारका सामग्रीहरू अध्ययन गर्न र हेर्न पाउनुहुनेछ । अध्ययन गर्नको लागि रूचियुक्त सामग्रीहरू माग गर्नुभयो भने यथासंभव परिपूर्तिसमेत गरिनेछ । यहाँ लेखरचना, पत्रपत्रिका, म्यागजिन,  जर्नल, विभिन्न पुस्तकहरू (नेपाली, अंग्रेजी र हिन्दी भाषामा), डकुमेन्ट्री, फिल्म, आदि सामग्रीहरू खोजेर पढ्न तथा हेर्न सक्नुहुन्छ।

I am a leftist social worker who is selflessly engaged in research work. I inform you that I am not affiliated with any political party. Every study-research work of mine will be against exploitation, oppression, injustice and tyranny. It is my duty to try to educate the common workers, the hungry, the poor, the oppressed masses. I will continue my work with the hope and confidence that all my work will be for public interest. Respect for labor and hatred for exploitation will be the objectives of my work.

Here you will find all kinds of content to study and watch. If you demand for interesting materials to study, they will be provided as much as possible. Here you can search and read articles, newspapers, magazines, journals, various books (in Nepali, English and Hindi languages), documentaries, films, etc.

श्रमको सम्मान गर्नुभएकोमा धन्यवाद ।

Thank you for respecting the labor.

Newsletter

Marxism-मार्क्सवाद

Communist history

Philosophy-दर्शन

लेनिन-LeninLeninism

दस्तावेज-documents

धर्म-दर्शन

त्रिपिटक–बुद्ध

गीता सार

Politics–राजनीति

ग्रन्थ परिचय

Mao-Maoism

साहित्य- literature

जीवनी-biography

साम्यवाद-communism

युवाबारे-On Youth

कार्ल मार्क्स–Karl Marx

फ्रेडरिक एंगेल्स–F. Engels

भी.आइ.लेनिन–V.I.Lenin

जे. भी. स्टालिन – J.V. Stalin

माओत्सेतुङ – Maotsetung

डिजिटल पुस्तकालय (digital library)

ई-पुस्तकालय -e-library

विज्ञान-प्रविधि (Science-Technology)

सामान्य ज्ञान (GK)

Documentaries and YouTube channels

पुस्तकालय – LIBRARY

नेपाली डिजिटल पुस्तकहरू (Nepali Digital Books)

नेपाली न्यूजपेपर, म्यागजिन र अनलाइन पत्रपत्रिकाहरू (Nepali Newspapers, Online and Nepali Magazines)

English Digital Books : Part – 1 (world communist special books)

English Digital Books : Part – 2

English Digital Books : Part – 3

हिन्दी डिजिटल पुस्तक (Hindi digital Books) भाग – १

हिन्दी डिजिटल पुस्तक (Hindi digital Books) भाग – २

हिन्दी डिजिटल पुस्तक (Hindi digital Books) भाग – ३

हिन्दी डिजिटल पुस्तक (Hindi digital Books) भाग – ४

हिन्दी डिजिटल पुस्तक (Hindi digital Books) भाग – ५

Documentaries and YouTube channels

Uncategorized

ENGLISH SECTION

Design a site like this with WordPress.com
Get started