सूचना–क्रान्ति र दर्शनमा संकट  (भाग -५ )

स्रोत – अनिल राजिमवालेको  पुस्तक “वैज्ञानिक-तकनीकी क्रान्ति और उत्तर-औद्योगिक समाज”

अनुवादक तथा सम्पादक

पोस्टमोडर्निज्म, पोस्टस्ट्रक्चरलिज्म र डिकन्ट्रक्सनिज्म 

अंग्रेजीका उपर्युक्त शब्दहरू निहित गहन अर्थको धेरै नजिक छन्, त्यसकारण हामीले तिनीहरूको अनुवाद गर्नुको बदला अंग्रेजी शब्दहरूकै प्रयोग बढी उचित मानेका छौं । यद्यपि हाम्रो भाषामा तिनीहरूलाई उत्तर–आधुनिकवाद, उत्तर–संरचनावाद र विनिर्माणवाद भन्न सक्दछौं । तर यी शब्दहरू केही बनावटी र आफ्ना कार्यहरूबाट अलग भएका प्रतीत हुन्छन् ।

‘पोस्ट–मोडर्निज्म’ तथा ‘स्ट्रक्चरलिज्म’ वा ‘पोस्ट–स्ट्रक्चरलिज्म’ विभिन्न विचारहरूबाट बनेका व्यापक धाराहरू हुन्, जुन आपसमा अत्यन्तै अन्तर्विरोधी पनि छन्; यिनीहरूभित्र पुनः विभिन्न धाराहरू छन्, जसमध्ये प्रत्येकले अत्यन्तै खुकुलो र अस्पष्ट ढंगबाट आफ्ना विचार पेश गर्दछन् । तिनीहरूको भाषा र उद्गार अत्यन्तै अप्रत्यक्ष, बहुअर्थी र शाब्दिक अर्थबाट धेरै अलग अर्थका हुन्छन् ।

तर साथसाथै तिनीहरूले आ–आफ्नो ढंगबाट बदलिंदो विश्वको प्रतिबिम्बन गर्दछन् । यदि तिनीहरूका अनौठा भाषाका अनौठा अर्थहरू वा व्याख्याहरूलाई आपसमा मिलाउने हो भने, अवश्य नै धेरै असाधारण तथा नवीन विचार उत्पन्न हुन्छन् । यी विचारहरूले धेरै अर्थमा प्रविधि वा सूचना क्रान्तिको फलस्वरूप नयाँ वास्तविकताहरूलाई दर्शाउँदछन्, यद्यपि अत्यन्तै अप्रत्यक्ष रूपमा ।

‘पोस्ट–मोडर्निज्म’, इत्यादिको नामले प्रचलित धाराहरूसँग हामी सहमत हुनुपर्छ भन्ने आवश्यकता छैन, वास्तवमा भन्ने हो भने, धेरै महत्वपूर्ण प्रश्नहरूमा तिनीहरूसँग सहमत हुन सकिंदैन । तर यहाँ त्यो पक्षमाथि विचार गरिंदै छैन, किनभने यो हाम्रो चर्चाको सन्दर्भभन्दा बाहिर छ । वर्तमान चर्चाको लागि के कुरा बढी महत्वपूर्ण छ भने यी चिन्तनधाराहरूले आफ्नो ढंगमा दर्शन, समाजशास्त्र, चिन्तन तथा विशेषगरी चेतनानिर्माणको क्षेत्रमा कैयौं यस्ता महत्वपूर्ण प्रस्थापनाहरू पेश गर्दछन्, जसले वर्तमान चिन्तन-प्रक्रिया र बदलिंदो विश्वलाई बुझ्न तथा त्यसको व्याख्या गर्नमा हाम्रो सहायता गर्दछन् । त्यसकारण उत्तर–आधुनिकतावादलाई बेवास्ता गर्न सकिंदैन; यो औद्योगिक तथा उत्तर–औद्योगिक युगहरूका जीवन्त चिन्तनधाराहरूमध्ये एक हो । विशेषगरी उत्तर–औद्योगिक समाजको व्याख्यामा यसको महत्वपूर्ण भूमिका छ । यसको विस्तृत र गहन अध्ययन आवश्यक छ । तर यहाँ हामीले यसका केही पक्षहरूमाथि मात्र एउटा सामान्य दृष्टि दिन सक्नेछौं । 

हामीले पहिले नै भनिसकेका छौं कि यी विचार–दर्शनहरूसँग सहमत हुनु वा पूर्ण रूपले सहमत हुनु आवश्यक छैन । तर यस सम्बन्धमा एउटा अर्को महत्वपूर्ण प्रश्नमाथि ध्यान दिनु आवश्यक छ । र, त्यो अध्ययनको तरीका वा “मेथोडोलोजी” सँग सम्बन्धित छ । ‘पोस्ट–मोडर्निज्म’ जस्ता विचार-प्रणालीहरू वर्तमान समाजमा चलिरहेका परिवर्तनहरूको प्रतिबिम्ब हुन् । सूचना तथा संचार क्रान्तिले चेतनाको निर्माणका तरीकाहरू तथा सामाजिक व्यवहार र चिन्तनमा नै परिवर्तन ल्याइरहेको छ । भाषा, शब्द तथा पाठ, र मानव-चेतना वस्तु वा विचार, विचार तथा भाषा व्यक्ति–वस्तु, इत्यादिको बीचमा बदलिरहेका सम्बन्धहरूको धेरै हदसम्म प्रतिबिम्ब ‘पोस्ट–मोडर्निज्म’ मा पाइन्छ । व्यक्तिगत चेतना तथा सामाजिक चेतनाको निर्माण र विकासमा नयाँ पक्षहरू उत्पन्न भइरहेका छन् । कम्प्युटर पाठ तथा त्यसका अर्थहरूका नयाँ आयामले रूप धारण गरिरहेका छन्, र त्यो पनि अति द्रूत गतिले । कम्प्युटरद्वारा लेख्ने तथा बोल्ने, त्यसको भाषा तथा मानवको भाषा, कम्प्युटरको मस्तिष्क र मानवको मस्तिष्कसम्बन्धी नयाँ प्रश्नहरू उत्पन्न भइरहेका छन् । मानव तथा वस्तुगत विश्वको बीचमा कम्प्युटर चेतनाको प्रवेशबाट चिन्तन तथा दर्शनमा नयाँ समस्याहरू उत्पन्न भइरहेका छन्, नयाँ आयामहरू जोडिइरहेका छन् । भाषाको रचना तथा स्वरूप र विभिन्न भाषाहरूको बीचमा अन्तरसम्बन्धको क्षेत्रमा नयाँ घटनाहरू घटिरहेका छन्; साथसाथै नयाँ समस्याहरू पनि उत्पन्न भइरहेका छन् । ‘पोस्ट–मोडर्निज्म’ ले कम्प्युटरद्वारा पाठको व्याख्याको विरुद्ध मानिसद्वारा व्याख्यासम्बन्धी प्रश्न पनि उत्पन्न गर्दछ । ‘डिकन्स्ट्रक्सनिज्म’, ‘पोस्ट–स्ट्रक्चरिज्म’ तथा ‘पोस्ट–मोडर्निज्म’ वर्तमान युगमा चलिरहेका परिवर्तनहरूको प्रतिबिम्ब हुन्, यद्यपि ती प्रतिबिम्बहरू कैयौं स्तरहरूलाई पार गरेर अत्यन्तै अप्रत्यक्ष रूपमा हामीसम्म आइपुग्दछन् ।

‘पोस्ट–मोडर्निज्म’, इत्यादिले उत्तर–आधुनिक युगमा चेतनाको बदलिंदो स्वरूपलाई बुझ्न सहायता गर्दछन् । तिनीहरूका प्रस्थापनाहरू विशिष्ट ऐतिहासिक परिस्थितिहरूमा निर्माण भएका छन्; विशेषगरी आजका परिस्थितिहरूमा तिनीहरूमाथि विचार र पुनर्विचार गर्नु यसकारणले पनि आवश्यक छ कि आज तिनीहरूमा अझ पनि महत्वपूर्ण परिवर्तन भइरहेका छन्; अझ सूचना क्रान्तिको फलस्वरूप ‘पोस्ट–मोडर्निज्म’ कैयौं अर्थमा नयाँ शिराबट विकसित भइरहेको छ ।

‘पोस्ट–मोडर्निज्म’, इत्यादिका विभिन्न प्रस्थापनाहरूको पछाडि कुनचाहिं भौतिक वा वैचारिक परिस्थितिहरूले काम गरिरहेका छन्, कुनै अवधारणाविशेष किन पेश गरिएको छ; सूचना–संचार–’इलेक्ट्रोनिक्स’–विज्ञानमा कुनचाहिं परिवर्तन विभिन्न अवधारणाहरू, सिद्धान्तहरू र प्रस्थापनाहरूको स्रोत हुन सक्दछन्; इत्यादिको बारेमा जान्नु आवश्यक छ । अध्ययनको यो तरीका हाम्रो लागि विचारहरू तथा चिन्तन र चेतनामा भइरहेका परिवर्तनहरूलाई बुझ्न सहयोगी हुनेछ ।

यी सबै कुराहरूको अतिरिक्त उत्तर–औद्योगिक युगमा हाम्रो ज्ञानको ‘पोस्ट–मोडर्निज्म’ के हो, अथवा कुन विचाररुलाई यो नाम दिन सकिन्छ, यसमाथि पनि हामीले विचार गर्नेछौं । हुन सक्दछन, हाम्रो ‘पोस्ट-मोडर्निज्म’ यो नामबाट प्रचलित विचारहरूभन्दा भिन्न छ ।

‘पोस्ट-मोडर्निज्म’ केवल वर्तमान उत्तर–औद्योगिक युगको मात्र उपज होइन । वास्तवमा यो तथा उपर्युक्त अन्य विचार–धाराहरू मुख्यतया २०औं शताब्दीको आरम्भमा विकसित भए । पश्चिमी सभ्यता र संस्कृति, विशेषगरी संस्कृति, धेरै हदसम्म जागरण र पुनर्जागरणबाट प्रेरित छन्, जुन औद्योगिक कालको आरम्भका देन हुन् । पुनर्जागरण र विचार स्वतन्त्रताले मानिसलाई चर्चको उत्पीडनबाट मुक्त गराएर उसको, व्यक्तिको, मानिस र मानवको महत्वलाई बढायो । त्यसकारण कला, साहित्य र समाजशास्त्र व्यक्तिकेन्द्रित मानवता केन्द्रित बने ।  मानवतावाद यो जागरणको आधार थियो, र यसले कैयौं वास्तविक तथा काल्पनिक सपनाहरू देख्यो । ज्ञान तथा ज्ञान-प्रक्रियाले पनि मानवकेन्द्रित र मानव तथा प्रकृतिको बीचको क्रिया–प्रतिक्रियाको परिणाम मानिए । तर्क, वास्तविकतासम्बन्धी विचारहरू, वाद–विवाद तथा विचारहरूको आदान-प्रदानको महत्व बढ्यो । आधुनिक विचार उत्पन्न भए, र आधुनिकतावाद (modernism) को जन्म भयो ।

१९औं शताब्दीको अन्त र २०औं शताब्दीको आरम्भमा आधुनिकतावाद संकटग्रस्त भयो । समाज, अर्थव्यवस्था तथा राजनीतिमा केन्द्रीकरणतिर उन्मुख प्रवृत्तिहरूले व्यक्ति तथा मानवलाई गौण बनाए; विचारहरूको क्षेत्रमा पनि प्रभुत्व र आधिपत्यको भूमिका बढ्यो । पहिले त एकाधिकारी पूँजीवादले, र त्यसपछि अतिकेन्द्रित समाजवादले व्यक्तिलाई विकेन्द्रित बनायो, विखण्डित गरिदियो, व्यवस्थाको कलपूर्जा बनाइदियो; ऊ पूर्ण रूपले केन्द्रीकृत आधिपत्यको अधीन भयो, उसको ‘व्यक्ति’ र व्यक्तित्वले आफ्नो स्वतन्त्रता गुमाए । सामन्तवादबाट मुक्ति पाएर नवनिर्मित औद्योगिक व्यवस्था र विकासशील पूँजीवादबाट प्रेरणा पाएर पुनर्जागरणले मानवसम्बन्धी जुन सपनाहरू देखेको थियो, तिनीहरू चकनाचुर भए ।

विखण्डित व्यक्तित्व र उसका विभिन्न अंशहरू ‘डिकन्स्ट्रक्सन’ तिर, विनिर्माणवादतिर, बढे । हरेक ‘चीज’, हरेक ‘विचार’ को रचना ‘विखण्डित’ हुनलाग्यो । ‘डिकन्स्ट्रक्ट’ हुनलाग्यो । “घोर अन्धकार” को यो वातावरण र मनस्थितिमा निराशावाद, हतोत्साह, यहाँसम्म कि विनाशवाद फैलिन लागे, जसको प्रभाव विचारप्रणालीहरूमाथि स्पष्ट रूपले देखिन्छ ।

आधुनिकतावादको आलोचनाको क्रम शुरु भयो

‘मोर्डन’ लाई ‘डिकन्स्ट्रक्ट’, विनिर्माण गर्ने, विभिन्न टुक्राहरूमा विभाजित गर्ने, र त्यसपछि तिनीहरूबाट अलग हुने, तिनीहरूको ठोस वास्तविकताभन्दा माथि उठेर विचारहरूको संसारमा विचरण गर्ने प्रयत्न गर्न लागियो । यो दर्शाउने प्रयत्न हुनलाग्यो कि विचारहरू, भाषा र पाठको रचना विखण्डित भइरहेको छ, तिनीहरूका अर्थ बदलिरहेका छन्; पाठको जुन अर्थ देखिन्छ, निस्किन्छ, वास्तवमा त्यो होइन, बरु तिनीहरूभित्र लुकेर रहेका अर्थ हुन्, जसलाई खोज्नु ‘पोस्ट–मोडर्निज्म’ र ‘पोस्ट–स्ट्रक्चरलिज्म’ को काम हो । ती लुकेका अर्थहरू लेखक र पाठकसँग, स्थान, समय, सन्दर्भ, इत्यादिसँग बदलिन्छन् । शब्द र पाठको अर्थ धेरै हदसम्म व्यक्तिको इच्छा र हेर्ने दृष्टिकोणमाथि निर्भर हुन्छ । व्यक्ति व्यक्तित्व अस्त्विमा रहँदैनन्, बरु शब्द र पाठको ‘डिस्कोर्स’ (पाठ निर्माण-प्रक्रिया) को क्रममा अस्थायी रूपले निर्मित हुन्छन्, र त्यसपछि लुप्त हुन्छन् ।

त्यस बेलाका परिस्थितिहरूको आँकलन गरेर (जिग्मुंट बोउमान)३७ यसबाट बुद्धिजीवीहरूको बीचमा चिन्ता र अधिरता उत्पन्न भयो, उनीहरूको ज्ञान अस्पष्ट भयो । चिन्ता यो कुराको थियो कि बुद्धिजीवी अब आफ्नो त्यो ऐतिहासिक सेवा प्रदान गर्न असमर्थ थिए, जसको उनीहरू योग्य थिए । बुद्धिजीवीहरूको सामाजिक स्थिति र स्वयं समाजको नियतिमा संकट उत्पन्न भयो । जिन फ्रान्सो लियोतार्द३८ भन्दछन् कि वैज्ञानिक ज्ञानको “संकट” १९औं शताब्दीको अन्तदेखि गहिरिंदै गइरहेको थियो । पूँजीवादको प्रसारसँगै ज्ञानको वैधतामाथि नै प्रश्नचिन्ह लाग्यो ।

प्रथम र द्वितीय विश्वयुद्धहरूले बुद्धिजीवीहरूका संवेदनाहरू तथा विचारप्रक्रिया र विचारप्रणालीहरूलाई, उनीहरूका अवधारणाहरू तथा आस्थालाई, स्वयं मानवतामा उनीहरूको विश्वासलाई नराम्रोसँग झक्झक्याइदियो । मानव र मानवसमाजको भविष्यमाथि नै उनीहरूको विश्वास गुम्यो । सन् ६० देखि ७० का दसकहरूमा सत्ता तथा व्यवस्था वा शासनको विरुद्ध व्यापक विद्रोह भए । तिनीहरूमध्ये सन् १९६८ को फ्रान्सको विद्रोह विशेष रूपमा उल्लेखनीय छ । मानिसहरू कैयौं बन्धनहरूबाट मुक्त भए वा मुक्त हुने प्रयास  गर्नलागे । यस सन्दर्भमा “नव–वाम” आन्दोलन, विशेषगरी फ्रान्समा, अत्यन्तै व्यापक र प्रभावशाली सिद्ध भयो, यद्यपि थोरै समयको लागि । तर त्यसले दूरगामी प्रभाव पर्‍यो, विशेषगरी ‘पोस्ट–मोडर्निज्म’ का केही धाराहरूको रूपमा । साथसाथै, त्यसले पश्चिमी समाजका कैयौं संस्थाहरूलाई धराशायी वा कमजोर बनायो, र तिनीहसँग सम्बन्धित विचारहरूलाई पनि, जस्तै परिवार, विवाह, शिक्षा, राज्य, परम्परागत राजनीतिक संगठन, नैतिक मूल्य, इत्यादि । फ्रान्सका नव–वामपन्थी तथा अराजक र सर्वनाशवादी आन्दोलनहरूले द्वितीय विश्वयुद्धोत्तर कालका फ्रान्सेली चिन्तनबाट, विशेषगरी जिन पल शात्रबाट, पर्याप्त प्रेरणा प्राप्त गरे; साथसाथै लेभी–स्ट्रसको संरचनावाद, ‘स्ट्रक्चरलिज्म’ बाट पनि । सन् १९६८ को फ्रान्सेली विद्यार्थी तथा बुद्धिजीवीको विद्रोहमा ‘पोस्टमाडर्निज्म’ विशेषगरी विकसित भयो : लियोतार्द, डरिडा, फूको, बार्थ, बुद्रिलार्द तथा अनेकौं अन्य लेखकहरूका विचार प्रेरणाको स्रोत बने ।

यो शताब्दीको शुरुवातमा भियनामा ‘भियना धारा’ उदय भयो, जसमा मूसिल, क्राउस, ब्रोख, शोएनबर्ग, माख, विटगेन्स्टेनजस्ता विचारक प्रमुख छन् । विटगेन्स्टन यी सबैबाट यस कुरामा भिन्न थिए कि उनले ‘पोजिटिभिज्म’ लाई अगाडि विकसित गर्नुको बदला भाषाविज्ञान र सूचना आदान–प्रदानमा वैधता तथा व्याख्याताको पाठलाई बढी महत्व दिए । यो ‘पोस्टमोडर्निज्म’ को महत्वपूर्ण अंग हो । इमानुयल लेभिनास, मार्टिन बुबर, हाबरमास, इत्यादिले व्याख्यामा विभिन्न पक्षहरूलाई ठोस विज्ञानबाट अलग गरेर विज्ञानको आलोचना गरे । यिनीहरूमध्ये केहीले “भाषाको स्वतन्त्र खेल” को कुरा गरे, जसको “प्रेक्सिस” (विशेष अर्थमा व्यवहार) सँग कुनै सम्बन्ध थिएन । डार्कहाइम तथा हाइडेगरले पूँजीवादको “आत्मा” माथि बढी जोड दिए । लाकाँ, गेडेमर३९, डेल्यूज, इत्यादिले विभिन्न वामपन्थी, मूलगामी तथा नव–वाम धाराहरूको विकल्प पेश गर्ने प्रयत्न गरे ।

‘पोस्टमोर्डन‘ विवादका केही विषयहरू

‘पोस्ट–मोडर्निज्म’ तथा ‘पोस्ट–स्ट्रक्चरलिज्म’ ले भाषाको अलग अर्थ लगाउँदछन् । भाषाबाट उनीहरूको तात्पर्य शब्दहरू, तिनीहरूका अर्थहरू, व्याकरणका नियमहरू, इत्यादिसँग छैन । भाषाको तात्पर्य अर्थ निर्माण गर्ने व्यवस्था हो । यसले हरेक व्यक्ति, व्यक्तिहरूको समूह, जनता इत्यादिमा अलग–अलग रूप वा अर्थ धारण गर्दछ । यस्तो “भाषा” ‘पोस्ट–स्ट्रक्चरलिज्म’ द्वारा गरिने विश्लेषणको केन्द्रबिन्दु हो । भाषा सामाजिक तथा उत्पादन सम्बन्धहरूलाई बुझ्ने आरम्भिक कदम हो । ‘पोस्ट–स्ट्रक्चरलिस्ट’ ले यो जोड दिएर भन्दछन् कि शब्द र पाठको निहित निश्चित अर्थ वा आफ्नो अर्थ हुँदैनन्, र न तिनीहरूको तथा विचार वा वस्तुहरूको बीचमा कुनै स्वाभाविक सम्बन्ध हुन्छ; भाषा र विश्वको बीचमा कुनै अन्तिम सम्बन्ध हुँदैन ।४०

विशेषगरी फूकोले४१ डिस्कोर्स (discourse) को, जसको हाम्रो भाषाको शब्ले पूरा अर्थ व्यक्त गर्दैन, अवधारणा विकसित गरे । यो भाषण वा पाठ होइन, बरु विश्वास, प्रवर्गहरू, अवधारणाहरू, वर्णनहरू, इत्यादिको व्यवस्था हो, जसको रचनात्मक, सामाजिक र ऐतिहासिक सन्दर्भ हुन्छ । फुकोको भनाई छ – शब्द वा पाठको अर्थ तनाव वा अन्तर्विरोध र सत्ता वा अधिकारमाथि निर्भर हुन्छ ।४२ शक्तिका क्षेत्रहरूमा “डिस्कोर्स” अर्थहरूको संघर्ष हो; तिनीहरूको बीचमा तनाव उत्पन्न हुन्छ । पुनर्जागरणको समयदेखि क्षेत्रविशेष (ज्ञान) माथि आधिपत्यको दावी वैज्ञानिक ज्ञानको दावीमा पाइन्छ । यो सत्ता वा शक्ति  केवल लेखनमा छैन, बरु अनुशासनद्वारा संचालित व्यावसायिक संगठनहरू र ढाँचाहरू (अस्पताल, जेल, स्कूल, कारखाना, डाक्टर–बिरामी, शिक्षक–विद्यार्थी, मालिक–कर्मचारी, अभिभावक–बच्चा, पति–पत्नीजस्ता संगठनहरू तथा सम्बन्धहरू) मा पाइन्छ । डिस्कोर्स संगठनहरू, संरचनाहरू र पाठहरू तथा शब्दहरूमा पाइन्छ ।४३

आधुनिकतावादी विचारप्रणालीको आलोचनामा के भनियो भने यसले सत्यलाई वस्तुगत ज्ञानको रूपमा पेश गर्दछ, ज्ञानलाई मानवद्वारा आविष्कृत होइन, बरु बाहिर अवस्थित स्रोतहरूबाट उत्पन्न मानिएको छ, जसलाई वैज्ञानिक अनुसन्धानद्वारा खोज गरिन्छ वा जुन अगाडि हुन्छन् (देखिन्छन्) । र, त्यसैकारण ज्ञान सत्ताको रूपमा तिनीहरूलाई वैधता प्राप्त हुन्छ । किनभने तिनीहरूमाथि शंका गर्न सकिंदैन, किनभने तिनीहरू “वैज्ञानिक” हुने दावी लादिन्छ; कुनै पनि बहस वा विवाद तिनीहरूको वरिवरि संभव छ, जस्तै डार्विन वा न्यूटन वा एडम स्मिथ वा मार्क्सको सिद्धान्त; उनीहरूद्वारा निर्धारित सीमाहरूभन्दा बाहिर जाने अनुमति छैन; फूको तथा ‘पोस्ट–स्ट्रक्चरलिस्ट’ का अनुसार यी सिद्धान्तहरूसम्बन्धी मतभेद बाहिरी र सतही हुन्छन्, जुन प्रभुत्वशाली विचार वा ज्ञान प्रणालीहरूको शक्तिको परिचायक हुन्छन् ।

हर्बट माक्र्यूजले कार्ल जुंग तथा फ्रायडलाई आधार बनाएर ‘वास्तविकता’ को आधुनिक सिद्धान्तको खण्डन गरेका छन् ।४४ वास्तविकताको सिद्धान्तको आधारमा मानिसले तर्क विकसित गर्दछ, वास्तविकतालाई “कसी” मा जाँच्दछ, असल–खराब उपयोग–हानि, सत्य–झुटो, इत्यादिको बीचमा अन्तर गर्दछ । जब त्यो व्यक्ति तब बाहिरको वास्तविकताको दबावमा तर्क दिन्छ, वा तर्कद्वारा बुझ्ने प्रयत्न गर्दछ, तब उसको सम्पूर्ण मानसिक व्यवस्था वास्तविकता–सिद्धान्तमा गौण हुन्छ ।४५

माक्र्यूजको यो वक्तव्यबाट ‘पोस्ट–मोडर्निस्ट’ र ‘पोस्ट–स्ट्रचरलिस्ट’ ले के सोच्दछन्, त्यसको एउटा झलक मिल्दछ, यद्यपि माक्र्यूजलाई पूर्ण रूपले तिनीहरूसँग राख्न सकिंदैन । माक्र्यूज सन् १९६८ मा फ्रान्सको विद्यार्थी विद्रोहका प्रेरणा स्रोतहरूमध्ये एक थिए । विद्रोहले पूँजीवादी व्यवस्थामाथि प्रश्नसूचक निशाना लगाउँदै समुच्च वास्तविकता र सोचविचार गरिएका तर्क-प्रणालीहरूलाई नै मान्न अस्वीकार गरिदियो ।

एडोर्नो तथा होर्कहाइमरले४६ पनि पुनर्जागरणको आलोचना गर्दै ‘पोजेटिभिज्म’ (प्रत्यक्षवाद) तथा विज्ञानको भर्त्सना गरे । उनीहरूका अनुसार आधुनिक युगमा मानिसले प्रकृतिमाथि शासन गर्ने प्रयत्न गर्दछ, उसले गुणको त्याग गरेर वस्तुहरू, बाहिरी चीजहरूसँग मनोमानी गर्दछ, मनोमानी ढंगले त्यसको रूप बदल्दछ । सम्पूर्ण गुणहरूलाई गणितीय अंकहरूमा बदलेर प्रकृतिबाट टाढा जाने प्रयत्न हुन्छ; उदाहरणको लागि, हरेक प्रकारको कामलाई श्रमकालमा परिवर्तित गरिन्छ र यसरी विशिष्ट तथा विविध गुणहरूबाट च्यूत गरिन्छ । वस्तुहरू तथा मानिसलाई गुणहीन अवधारणाहरूमा बदलेर प्रभुत्ववाद र निरंकुशताको आधार तयार गरिन्छ, जस्तो कि पूँजीवाद र समाजवादमा भयो । विचारलाई सामान्य रूप दिनु, विश्वलाई एउटा अवधारणामा बाँध्नु प्रभुत्ववादलाई बढावा दिनु हो ।४७

“फ्र्यांकफोर्ट स्कूल” ले चिन्तनका विभिन्न क्षेत्रहरूमा नयाँ आयाम जोडेर ‘पोस्ट–माडर्निज्म’, इत्यादिका लागि कैयौं अवधारणाहरू विकसित गर्‍यो । द्वितीय विश्वयुद्धभन्दा पहिले, विशेषगरी दुई विश्वयुद्धहरूको बीचमा विकसित भएको यो स्कूल विश्वयुद्धपछि परम्परागत चिन्तन्, विशेषगरी मार्क्सवादका मूल धाराहरूबाट अलग भएर कैयौं नवीन दिशाहरूमा विकसित भयो । फ्रेडरिख पोलक, कार्ल ग्रुएनबर्ग, कार्ल विट्फोगेल, वर्कहाइमर, एडोर्ने, वाल्टर बेन्जामिन, लोवेयाल, हेनरिक ग्रासमान, माक्र्यूज, इत्यादि अनेकौं विद्वानहरूले ‘फ्र्यांकफोर्ट स्कूल’ तथा नयाँ चिन्तनमा आफ्नो योगदान गरे । जुएरगेन हाबरमास पनि वास्तविकता सिद्धान्तको खण्डन गर्ने महत्वपूर्ण सिद्धान्तकारहरूमध्ये एक हुन् ।

‘पोस्ट–मोडर्निज्म’, ‘पोस्ट–स्ट्रक्चरलिज्म’ तथा ‘डिकन्स्ट्रक्सनिज्म’ को अध्ययनबाट एउटा कुरा स्पष्ट रूपले प्रकट हुन्छ कि यिनीहरू वर्तमान समाज, विशेषगरी पूँजीवादी समाजका उतार–चढाव तथा विभिन्न अप्रत्याशित मोडहरूप्रति तीखो प्रतिक्रियाका परिणाम हुन् । समाजवादको स्वरूप, त्यसबाट उत्पन्न आशाहरू तथा त्यसका उतार–चढावहरूको पनि यिनीहरूमाथि गहिरो प्रभाव परेको छ । यी विचार–पद्धतिहरू वा चिन्तनधाराहरूको आशावादको बदला निराशावादबाट बढी प्रभावित छन् । यसको कारण हो, समाजविकासका विभिन्न चरणहरूले जुन संभावनाहरू उत्पन्न गरेका थिए, नयाँ समाज वा उत्तम कुराका जुन आशाहरू जागेका थिए, तिनीहरू ध्वस्त भए र सपना अधुरा रहे । फलस्वरूप, वर्तमान सिद्धान्तमाथि प्रश्नचिन्ह लगाइयो र पूँजीवादी समाज-व्यवस्थासम्बन्धी सिद्धान्तहरू र तिनीहरूका संरचनाहरू तथा तरीकाहरूमाथि नै शंका उत्पन्न भयो ।

‘पोस्ट–मोडर्निज्म’ अविश्वास, निराशा र विखण्डन तथा विकेन्द्रणले परिपूर्ण छ, विशेषगरी व्यक्तित्वको विखण्डनले ।

‘पोस्टमोडर्निज्म, इत्यादिको योगदान

‘पोस्ट–मोडर्निज्म’ का केवल नकारात्मक पक्ष मात्र छैनन् । यसका कैयौं सकारात्मक पक्षहरू पनि छन् । आफ्नो विकासको क्रममा यसले नकारात्मक तथा सकारात्मक दुवै रूपहरूमा चिन्तनमा ठूलो योगदान गरेको छ । विशेषगरी यसले विचारहरूका स्वतन्त्र गति र नियमहरू तथा विपरीत ध्रुबहरूको विकासका कैयौं नवीन, यहाँसम्म कि असाधारण पक्षहरू पत्ता लगाएको छ । विचारप्रणालीको रूपमा विज्ञानको बारेमा सही नभएर पनि विचारहरूमा सत्ताको स्तरीकरण र प्रभुत्ववादी रचनाहरू र प्रवृत्तिहरूको सत्यतालाई अस्वीकार गर्न सकिंदैन । वास्तवमा, साररूपमा, ‘पोस्ट–मोडर्निज्म’ वर्तमान समाजमा विचारहरूको क्षेत्रमा सत्ता र वैधता तथा तिनीहरूको स्तरीकरणको आलोचना हो । यो सामूहिक रूपमा विचार–सिद्धान्त–विचारधारा लाद्ने र त्यसलाई सही बताउने तथा यसरी व्यक्तित्वका विचारहरूलाई कुल्चिने तार्किक–सामाजिक व्यवस्थाको विरोध हो ।

‘पोस्ट–मोडर्निज्म’ धेरै अर्थमा अगाडिको कदम हो । यसले विचारहरूको स्वतन्त्र विकासका कैयौं पक्षहरू सन्दर्भरुलाई उजागर गरेको छ ।

वर्तमान सन्दर्भमा ‘पोस्टमोडर्निज्म‘ तथा ‘पोस्टस्ट्रक्चरलिज्म

वैज्ञानिक–प्राविधिक र सूचना–संचार क्रान्ति तथा नयाँ विश्व अर्थव्यवस्थाको सन्दर्भमा ‘पोस्ट–मोडर्निज्म’, ‘पोस्ट–स्ट्रक्चरलिज्म’ तथा ‘डिकन्स्ट्रक्सनिज्म’ पुनर्जीवित आउँदछन् । एकातिर, यिनीहरूका कैयौं पुराना अवधारणाहरूलाई वास्तविक र निरन्तर, दुवै प्रकारको बल मिलेको छ, जसलाई सही सिद्ध गर्ने प्रयास पुनः गरिंदै छ । अर्कोतिर, आजको सन्दर्भमा केही नयाँ अवधारणाहरू पनि विकसित भइरहेका छन्, अथवा जुन पहिले केवल कपोलकल्पना मात्र थिए, तिनीहरू वास्तविक सिद्ध भइरहेका छन् । क्वान्टम विज्ञान र इलेक्ट्रोनिक प्रविधिको सन्दर्भमा समाज र व्यक्तिसम्बन्धी नयाँ अवधारणाहरू विकसित गर्नमा ‘पोस्ट–मोडर्निज्म’ कैयौं अर्थमा सहायक सिद्ध भइरहेको छ ।

व्यक्तिमाथि सूचनासंचार माध्यमहरूको ‘पोस्टमोडर्निस्ट‘ प्रभाव

हामीले पहिले के देखिसकेका छौं भने इलेक्ट्रोनिक्स संचार क्रान्तिको फलस्वरूप विश्वस्तरमा व्यक्तिहरू र समूहहरूको बीचमा संचारको असाधारण प्रसार भएको छ । फलस्वरूप, स्थान र समयको अन्तर समाप्त भएको छ; र  एउटा स्थानको घटनाले उही समयमा पृथ्वीका कुनै पनि भागमा गहिरो प्रभाव पार्दछ भन्ने कुरा पनि स्पष्ट भएको छ ।

इलेक्ट्रोनिक तथा कम्प्युटर सूचना विनिमय नयाँ भाषामा प्रयोग पनि हो । कम्प्युटरको यो विश्वप्रणाली, जसले अब संजालको रूप धारण गरिरहेको छ, एक हदसम्म मानव मस्तिष्क र चेतनासँग समानता हासिल गर्दै गइरहेको छ । साथसाथै यसले एउटा नयाँ प्रकारको व्यक्तिगत–सामूहिक चेतनाको निर्माण पनि गरिरहेको छ । र, अहिले बढेको अन्तरसम्बन्धहरूको गति क्रमशः बढ्दै गइरहेको छ । यी सम्बन्धहरू जटिल र नवीन छन् । यसलाई हामी कृत्रिम चेतनाको नाम दिन सक्दछौं । विश्व कम्प्युटर संजालले नै ठूलो मात्रामा सूचनाको प्रोशेसिङ र विनिमय गरिरहन्छ । अब यो हामीमाथि निर्भर हुन्छ कि यो सूचनाको कति भागको कति प्रयोग हामीले गर्न सक्दछौं । यहाँ हामी दुई स्तरहरूमा चेतनाको कुरा गरिरहेका छौं : एउटा, विश्व इलेक्ट्रोनिक संजालको आफ्नो चेतना हो, जुन कृत्रिम हो, तर जुन असाधारण तीव्रतापूर्वक काम गरेर मात्रा र गुणमा बढ्दै गइरहेको छ । अर्को स्तर र प्रकारको चेतना हाम्रो आफ्नो हो, व्यक्ति तथा समूह दुवैको । हाम्रो चेतना आफ्नो विकासको लागि बढीभन्दा बढी कृत्रिम चेतनासँग जोडिंदै गइरहेको छ । यसप्रकार चेतनाका दुई स्वरूपहरूमा आपसी सम्बन्ध गहिरो हुँदै गइरहेको छ । सूचनाको लागि हामी विश्वसंजालसँग जोडिन्छौं, आफ्नो भाषामा होइन, कम्प्युटरको भाषामा । व्यक्तिको वस्तुसँग सम्बन्ध हुँदैन, पहिले वस्तुसम्बन्धी सूचनासँग हुन्छ; व्यक्तिगत चेतनाको निर्माणमा मनोगत पक्षको भूमिका बढेको छ ।

हामीले कुन तथ्यमाथि ध्यान दिनुपर्दछ भने इलेक्ट्रोनिक सूचनाविनिमय आमने–सामनेको वा प्रिन्ट मिडियाजस्तो नभएर बढी अप्रत्यक्ष, दूरवर्ती, समयविहीन हुन्छ । हामी व्यक्तिसँग सूचनाविनिमय गर्नुको बदला बढीभन्दा बढी कम्प्युटरसँग गर्न लागेका छौं । कम्प्युटरसँग हाम्रो सम्बन्ध गहिरो हुँदै गइरहेको छ । त्यसकारण, विश्वमा स्थान र समय, मानिस र उसका जैविक तथा शारीरिक सीमाहरू पहिलेभन्दा अस्पष्ट तथा धमिला हुँदै गइरहेका छन् । इलेक्ट्रोनिक संचारको युगमा व्यक्तिले, विशेषगरी उसको व्यक्तित्व र ‘आत्मा’ ले बढी विकेन्द्रित, विस्तारित, प्रसारित, लगातार–बारम्बारताबाट उत्पन्न अस्थायी रूप लिइरहेको छ । व्यक्तिको “म” बदलिएर उसको शरीरसम्म मात्र सीमित छैन, बरु सूचनाप्रणालीभित्र फैलिएर त्यसको अंश बन्दै गइरहेको छ । यो प्रक्रियाको लागि कम्प्युटरीकरका नयाँ चरणहरू अत्यन्तै अनुकूल सिद्ध भइरहेका छन् ।

जस्तो कि हामीले पहिले भन्दै आएका छौं, अब नयाँ कम्प्युटर श्रृंखलाबद्धबाट समानान्तरतिर विकसित भइरहेको छ । यो कम्प्युटर र कम्प्युटिङमा गुणात्मक परिवर्तन, एउटा क्रान्ति हो । यिनीहरूका कैयौं रूपहरूमध्ये एउटा हो वितरित मेमेरीको प्रणालीको । परम्परागत कम्प्युटरमा एउटै मेमोरी हुन्छ, जसमा पठाइएका संकेतहरू एक–एक गरेर प्रशोधित हुन्छन्, जसका परिणाम स्क्रिनमा आउँदछन् । यो सूचना प्रोशेसिङको क्रमबद्ध तरीका हो । वितरित वा समानान्तर मेमोरीमा मेमोरीलाई केयौं साना भागहरूमा छाँटेर एक–एक प्रोशेसरको अधीन बनाइन्छ । कम्प्युटरले आँकडाहरू वा सामग्री वा सूचनाहरूलाई विभिन्न भागहरूमा विभाजित गरेर तिनीहरूकहाँ पठाउँदछ र यसरी सूचना विभिन्न खण्डहरूमा एकसाथ नै प्रोशेस हुन्छ । यसबाट कम्प्युटरद्वारा कुनै समस्याको समाधानको क्षमता कैयौंगुना बढ्दछ ।

कम्प्युटरलाई समानान्तर स्वरूप दिएर हामीले कम्प्युटिङ प्रक्रियालाई जटिल र अतिद्रूत बनाएका छौं । हामी हजारौं सूचना अंशहरूमा एकसाथ नै काम गरेर केही अर्थमा गुणात्मक रूपले मानव मस्तिष्कको नजिक आएका छौं । हाम्रो मस्तिष्कले पनि समानान्तर तरीकाले एकसाथ नै सूचनाहरू, संवेदनाहरू तथा तरंगहरूको ठूलो मात्रालाई प्रशोधन गरेर विचारहरू तथा भावनाहरूलाई जन्म दिन्छ । यहाँ ध्यान दिनलायक कुरा के छ भने कम्प्युटरको सूचना प्रोशेसिङको गति मस्तिष्कभन्दा धेरै बढी हुन्छ । र, त्यो बढ्दै गइरहेको छ । समानान्तर कम्प्युटरले एरिस्टोटल, न्यूटन, देकार्त, इत्यादिको समयदेखि चलिआएका चिन्तनप्रक्रियालाई बदल्ने क्षमता राख्दछन् ।४८ रेने देकार्त (१७औं शताब्दी) ले आफ्नो पुस्तक डिस्कोर्स अन मेथोड४९ मा विचारप्रक्रियालाई श्रृंखलाबद्ध र व्यवस्थित भनेका थिए । उनले भने – विचार एकपछि अर्को आउँदछ र सरलबाट जटिलतिर जान्छ । देकार्तको विचारलाई “कार्टेशियन” भनिन्छ ।

गणित र ज्यामितिको बलमा ग्यालिलियोले कार्टेशियन विचारमाथि प्रश्नचिन्ह लगाउँदै के बताउने कोशिस गरे भने कुनै पनि प्रश्नको उत्तर क्रमबद्ध होइन, समानान्तर स्वरूपको हुन्छ, र त्यसैकारण स्वयं चिन्तनप्रक्रिया तथा यसको रचना समानान्तर स्वरूपको हुन्छ ।

आधुनिक समाजको सन्दर्भमा क्रमबद्ध प्रक्रियाको सिद्धान्तको स्थानमा समानान्तर प्रक्रियाको सिद्धान्तले लिइरहेको छ । सन् ३० को दसकका एक दार्शनिक सुजाने लंगेरले भने – “डिस्कोर्सिभ” सूचनाप्रणालीमा, जस्तै छापिएका पाठमा, शब्द र तिनीहरूको अर्थ एकपछि अर्को आउँदछन् । कुल अर्थ वा सार पछि मात्र आउँदछ । अर्को प्रकारका, ‘सँगसँगै’ चल्ने प्रक्रियाहरू अधिकांश चित्रात्मक साधनहरू वा चित्ररूपहरूमा सम्बन्धित हुन्छन् । यिनीहरूमा विचार एकपछि अर्को होइन, बरु एकैसाथ समुच्च वस्तुको बारेमा बन्दछन् । चित्रलाई एक दृष्टिमै हेर्नासाथ सबै कुरा स्पष्ट हुन्छ ।५०

आजको कम्प्युटर क्रान्तिले धेरै हदसम्म यसै गरिरहेको छ । अब हामी विभिन्न प्रकारका चित्र, रेखांकन, पाठ र चलचित्रलाई धेरै सजिलोसँग बदलिरहेको स्क्रीनमा देख्दछौं । स्क्रीनमा लिखित पाठको स्वरूप पनि सजिलैसँग परिवर्तनीय हुनुको कारण बढी चित्रजस्तै हुन्छ । विचारप्रक्रिया बन्ने र अगाडि बढ्ने स्वरूप बदलिसकेको छ : त्यो ‘पोस्ट–मोडर्निस्ट’ बनिसकेको छ; यो आवश्यक छैन कि जुन अर्थमा “पोस्ट–मोडर्निज्म” ले भन्दछ, बरु तिनीहरूका कैयौं विषयहरूसमेत कम्प्युटर क्रान्तिका वास्तविक परिणामहरूको अर्थमा । व्यक्तिको चेतना कैयौं बिन्दुहरूमा एकसाथ निर्माण भइरहेको छ । वस्तुहरूका प्रतीकहरू र व्यक्तिको चेतनाको बीचमा अन्तरसम्बन्धहरूबाट एकसाथ एउटै समयमा नयाँ स्वरूपको चेतनाको जन्म भइरहेको छ । जसमा स्थान–समयलाई कम स्थान छ । हाम्रो चेतनामाथि कम्प्युटर समानान्तरवादको अत्यन्तै गहिरो र युगान्तरकारी प्रभाव परिरहेको छ ।

हाम्रो मस्तिष्कले कैयौं तरीकाहरूबाट समानान्तर स्तरहरूमा काम गर्दछ, जसमा दुईवटा अत्यन्तै रोचक छन्; हामी आफ्नो आसपासमा पनि चीजहरूको अनुभव गर्दछौं, तिनीहरूलाई देख्दछौं, सुन्दछौं । तर साथसाथै हाम्रो कल्पनाको शक्तिले पनि काम गरिरहन्छ र विगत कुनै घटना वा कुनै अर्को वस्तुको बारेमा अनजानमै सोचिरहन्छ वा कुनै अर्को चिन्तामा डुबिरहन्छ । हाम्रो मस्तिष्कमा पनि एकप्रकारको मेमोरी स्टोर हुन्छ, जसमा विगत अनुभव एकत्रित रहन्छन् र तिनीहरूलाई ‘स्मरण’ गर्न सकिन्छ।५१ कम्प्युटरले पनि, विशेषगरी समानान्तर कम्प्युटरले, एक हदसम्म यसैगरी काम गर्दछ; त्यसको मेमोरीमा सूचनाहरू एकत्रित भइरहन्छन्, र ती सूचनाहरूलाई फिर्ता ‘बोलाउन’ सकिन्छ, स्क्रीनमा हेर्न सकिन्छ ।

 हाम्रो मस्तिष्कमा न्यूरल सेल्सको संजालले हामीलाई विश्वस्तरमा बनिरहेको कम्प्युटर संजाल र ‘संजालहरूको संजाल’ को स्मरण गराउँदछ । मस्तिष्कमा न्यूरोन सेलको अत्यन्तै जटिल संरचना हुन्छ, जसद्वारा बाहिरबाट ग्रहण गरिएका सूचनाहरूका संवेदनाहरू सम्पूर्ण मस्तिष्कमा पुग्दछन् र तिनीहरूको विश्लेषण–संश्लेषण हुन्छ । दुई वा धेरै स्तरहरूमा क्रिया–प्रतिक्रियाहरूबाट चेतनाको आत्मपरिचयको निर्माण हुन्छ ।

आज कम्प्युटर संजालले पनि सम्पूर्ण विश्वको स्तरमा एउटा यस्तो कृत्रिम चेतनाको निर्माण गरिरहेको छ, जुन अत्यन्तै गहन रूपमा मानिसको व्यक्तिगत तथा सामजिक चेतनासँग सम्बन्धित छ । कम्प्युटर संजालको सम्पूर्ण मेमोरी र सूचना विशाल परिमाणमा बढ्दै गइरहेको छ, र साथसाथै त्यसको स्वतन्त्र, कृत्रिम चेतनाको स्वरूप पनि । यो चेतनाले सदा समाजको चेतनासँग जोडिएर मात्र काम गर्दैन, बरु स्वतन्त्र रूपले प्रोशेसिङ पनि गरिरहन्छ । कम्प्युटर संजालहरूको यो स्वक्रिया तथा त्यसको स्वचालित स्वरूप मानवसमाजको तुलनामा एउटा स्वतन्त्र तथा शक्तिशाली र प्रभावशाली चेतनाप्रणाली बन्दै गइरहेको छ । यसको सम्पर्कमा आएपछि मानवीय चेतनाले स्थान–समयसम्बन्धी तथा व्यक्तिगत स्वरूप गुमाउँदछ र एउटा व्यापक, विस्तारित, विकेन्द्रित र धेरै हदसम्म एउटा व्यक्तित्वहीन स्वरूप अपनाउँदछ । कम्प्युटर संजालको सन्दर्भमा व्यक्ति र व्यक्तिगत चेतना वास्तवमा स्थान–समयभन्दा पर प्रसारित र व्यापक हुन्छ र व्यक्तिको शरीरको अर्थमा व्यक्तित्व गुमाउँदछ । मनोगत व्यक्तित्व प्रसारित सामूहिक बन्दछ; साथसाथै, व्यक्तिगत चेतनाहरू सामाजिक चेतनाकै भाग बन्दछन् । सामूहिक मानवचेतना कम्प्युटर प्रणालीको कारणले सामान्य र सामूहिक हुन्छ तथा अझ पनि बढी फैलिन्छ, सर्वव्यापी हुन्छ र कम्प्युटरको कृत्रिम चेतनासँग एक हुन लाग्दछ, कम्प्युटर–मानवचेतना एउटै प्रणाली बन्न लाग्दछ । मनोगत मानव–कम्प्युटर चेतना वास्तवमा पृथ्वीको चेतन आवरण, पृथ्वीको चेतना बन्दछ । उत्तर–औद्योगिक कालमा एउटा उत्तर–आधुनिकतावादी चेतनाको उदय हुन्छ, जुन वस्तुको संसर्गबाट त्यति होइन, जति प्रतीकहरूको संसर्गबाट बन्दछ ।

‘पोस्ट–मोडर्निज्म’ को विकासको लागि यसले अनुकूल आधार निर्माण गरिरहेको छ, तर यसले आफ्ना कैयौं पक्षहरू छोड्नुपर्नेछ, विशेषगरी नकारात्मक पक्षहरू, र एउटा सकारात्मक विचार वा विचारप्रणाली बनाउनुपर्नेछ, जुन आशावादी होस् ।

सूचनाप्रणालीमा व्यक्तिले नयाँ दिशा अपनाउँदछ, उसको व्यक्तित्व प्रसारित, “अस्पष्ट” अर्थात् व्यापक हुन्छ । यसलाई ‘पोस्ट–स्ट्रक्चरलिस्ट’ व्यक्तिको दिग्भ्रम, विखण्डन र विनाश भनिन्छ । फूकोले यसलाई यो रूपमा पेश गरेका छन् : “मानिस मेटिनेछ, त्यसैगरी, जसरी समुद्रको किनारामा बालुवामा कोरिएको कुनै आकृति मेटिन्छ ।”५२

तर यो अतिनिराशावादी विचार हो, जुन वास्तविक प्रक्रियाको एकतर्फी र हठपूर्ण विवेचना हो । परम्परागत “व्यक्ति”, “म”, “आत्मा” समाप्त अवश्य भइरहेको छ, तर त्यसको नयाँ शिराबाट नयाँ रूपमा पुनर्गठन पनि भइरहेको छ, जस्तो कि हामीले भर्खरै देखिसकेका छौं, यहाँसम्म कि त्यसको स्पष्ट परिभाषा गर्न कठिन छ ।

व्यक्ति र व्यक्तित्व, उसको चेतना वस्तुगतताका विभिन्न बिन्दुहरूको बीचमा “तैरिरहन्छ” र सूचना प्रणालीको आवश्यकतानुसार पुनर्गठित भइरहन्छ, जस्तो कि कम्प्युटर संजालमा भइरहेको छ । त्यसकारण चेतना धेरै हदसम्म संचारको संरचनामाथि निर्भर हुन्छ । कम्प्युटर सूचनाको भाषाले प्रत्येक व्यक्ति र संस्कृतिअनुसार नयाँ अर्थ ग्रहण गर्दछ । मानिसको विश्वसँग सम्बन्ध लगातार बदलिरहन्छ । ‘पोस्ट–स्ट्रक्चरलिस्ट’ सिद्धान्तानुसार नयाँ भाषास्वरूपले सामाजिक क्षेत्रमा नयाँ परिवर्तन ल्याइरहेका छन्, र ती सामाजिक सन्दर्भ स्वयं ‘पोस्ट–स्ट्रक्चरलिज्म’ को लागि नयाँ सन्दर्भ बन्दछन् ।

आज भाषा विशेषगरी क्षीण र सुरक्षित भएको छ । विश्व कम्प्युटर संजालले यसलाई अझ पनि सन्दर्भहीन बनाइरहेको छ । शब्दले कसको प्रतिनिधित्व गर्दछन् ? तिनीहरू केका प्रतीक हुन् ? कुन अर्थहरूको, कुन वस्तुहरूको ? यी प्रश्नहरू पुनः प्रकट भएर आएका छन् । शब्दहरू र यी वस्तुहरू वा प्रक्रियाहरूको, जसको तिनीहरू प्रतीक हुन्, बीचको दूरी बढ्दै गइरहेको छ । शब्दले वस्तुको प्रतिनिधित्व गर्नुको बदला बढीभन्दा त्यसको स्वरूप वा चित्र वा चिन्हको प्रतीक मात्र बन्दै गइरहेका छन्, अर्थात् केही चरणहरूमा प्रतीकको प्रतीक । पूँजी, धन, पैसा, सेयर, बजार, अखबार, यन्त्र, कार, कारखाना, व्यक्ति, इत्यादिसम्बन्धी शब्द र स्वरूप हामीले स्क्रीन तथा अन्य इलेक्ट्रोनिक यन्त्रहरूमा उतार्दछौं, देख्दछौं र सुन्दछौं । उदाहरणको लागि पैसा, जुन कुनै बेला सीधै सुन वा सिक्काको रूपमा देखिन्थ्यो, आज चेकजस्तो रूप धारण गरेर बैंक कार्ड बनिसकेको छ । कार्डको यो रूप स्क्रीनमा केवल अंकहरू र शब्दहरूको स्थान परिवर्तन मात्र हो, जुन वास्तविक मुद्रा–धन–पैसाको लेनदेनबाट धेरै टाढा छ । यही कुरा अन्य सबै शब्दहरू, वाक्यहरू र भाषामाथि लागू हुन्छ । यसप्रकार, भाषाले आफ्नो निहित स्वरूप र रचना तथा विकासको गति निर्धारण गरिरहेको छ । शब्दहरू र वस्तुहरूको बीचको सम्बन्ध धेरै टाढा र विच्छेद भएको छ । इलेक्ट्रोनिक युगबाट प्रभावित भाषा आत्म–सन्दर्भी हुँदै गइरहेको छ; यस्तो अवस्थामा वस्तुगत समाज–विज्ञानमाथि पहिलेकै जस्तो जोड दिइरहनु ज्ञानको अगाडिको विकासमा बाधा पुर्‍याउनु हो ।

प्रतीक प्रणालीको यो संकट मुख्यतया सूचना विष्फोट, सूचना तथा संचार क्रान्ति र संचार संरचनामा तीव्रतापूर्वक भइरहेका परिवर्तनहरूको कारण हो । नयाँ संचारप्रणालीको कारण सुदूर अवस्थित व्यक्तिहरूको बीचमा विचारहरू तथा सूचनाहरूको आदान–प्रदान संभव भएको छ । फलस्वरूप, व्यक्ति तथा व्यक्तित्व, सूचना पठाउने तथा पाउने, र सम्पूर्ण समूह वा समाजमा नै प्रतीकहरूको आदान–प्रदानको भूमिका बढ्दै गइरहेको छ र तिनीहरूको अर्थ बदलिंदै गइरहेको छ । दूरीको कारण व्यक्ति–विषयका आपसी प्रतीकात्मक सम्बन्धहरूको कारण मनोगत चेतनाको विषय, विषय–वस्तु तथा चेतनास्वरूप सामान्य र व्यापक हुँदै गइरहेका छन्, जबकि वस्तु तथा वस्तुगततासँग यो परिवर्तनले त्यति हदसम्म काम गरिरहेको छैन । व्यक्ति–विषयले वस्तुहरूसँग त्यति सम्बन्ध स्थापित गर्दैन, जति प्रतीकहरूको अन्तहीन प्रक्रियासँग । सूचनाप्रणालीको यो विशिष्ट विशेषता हो । सूचनाप्रणालीले व्यक्ति तथा व्यक्ति–विषयलाई गुणात्मक रूपले नयाँ स्तरमा विकसित गर्दछ । व्यक्तित्व तथा चेतना अब समय–स्थानको विशेष बिन्दुमा अवस्थित नभएर कम्प्युटर र सफ्टवेयरको चारैतिर प्रसारित, विकेन्द्रित, पुनर्निमित, सन्दर्भहीन, यहाँसम्म कि विलीन नयाँ सन्दर्भहरूसँग एकाकार, “डिकन्स्ट्रक्ट” भएर “रिकन्स्ट्रक्ट” भइरहेका छन् । संचार क्रान्तिले हाम्रो शरीरको नर्भस सिस्टमलाई सम्पूर्ण पृथ्वीको वरिपरि फैल्याइदिएको छ । जस्तो कि विगत बहसबाट स्पष्ट छ, अब यही अर्थमा बढीभन्दा बढी मनोगत–वस्तुगत अन्तरसम्बन्धहरूको कुरा गर्न सकिन्छ । यदि हामी आफ्नो अर्थमा उत्तर–औद्योगिक समाजको सन्दर्भमा विश्व कम्प्युटर संजालको सन्दर्भमा ‘पोस्ट–मोडर्निज्म’ को कुरा गर्दछौं भने, वर्तमान निराशावादी, विखण्डनवादी ‘पोस्ट–मोडर्निज्म’ बाट हामीले आफूलाई अलग गरेर आशावादी अर्थमा वर्तमानको विश्लेषण गर्न सक्दछौं, र “म” तथा “म को हुँ ?” को नयाँ परिस्थितिहरूमा अर्थ खोज्न सक्दछौं ।

सूचना युगको चेतना, जनआन्दोलनको सिद्धान्त तथा ‘पोस्टस्ट्रक्चरलिज्म

सूचना–प्रणाली तथा उत्तर–औद्योगिक समाजको चरित्रले जनआन्दोलनमाथि प्रश्नचिन्ह लगाइदिएको छ । १९औं र २०औं शताब्दीका सामाजिक विज्ञान, अर्थशास्त्र, राजनीतिक, विचारधाराहरू, दर्शनशास्त्र, इत्यादि वर्ग तथा व्यक्तिलाई जगाउन, उत्पादन पद्धतिप्रति उसको चेतना विकसित गर्न, र यही सक्रिय वर्गचेतनाबाट प्रेरित वर्ग तथा जनतालाई मुक्तिको लागि जनआन्दोलनहरूमा उतार्नमा आधारित थिए, ता कि क्रान्ति सम्पन्न गर्न सकियोस् । व्यक्ति र वस्तु तथा वर्ग र वस्तुको बीचमा सम्बन्ध स्पष्ट थियो । सर्वहारा वा मजदूर वर्गका परिस्थितिहरू के छन्, किन छन् र तिनीहरूलाई कसरी बदल्न सकिन्छ जस्ता प्रश्नहरूको सन्दर्भ र प्रासंगिकता अब पर्याप्त बदलिएको छ । वर्ग, समाज र व्यक्तिलाई बदल्ने “योजनाहरू” तथा क्रान्तिको माध्यमबाट विकल्प खोज्ने प्रयत्न इलेक्ट्रोनिक सूचना–प्रणालीको सन्दर्भसँग पूर्ण रूपले मेल खाँदैनन्; तिनीहरू बढीभन्दा बढी सतही हुँदै गइरहेका छन् । समाज परिवर्तनसम्बन्धी प्रश्न, जस्तो कि माथि हामीले उदाहरण दियौं, राजनीतिक–सामाजिक–आर्थिक बहसहरू तथा विचार–विमर्शमाथि हावी रहेका छन् । सन् ६० र ७० का दसकहरूमा बुद्रिलार्द, लियोतार्द, डेरिया, फूको, लाकालु, मूफे, लाकात्रा, इत्यादि अनेकौं विद्वानहरूले “डिक्स्ट्रक्सन” को माध्यमबाट ‘पोस्ट–स्ट्रक्चरलिज्म’ सम्म पुगेर के महसुस गरे भने सामाजिक विभागमाथि अब यी प्रश्नहरू सिद्धान्त र वर्ग तथा व्यक्तिमाथि हावी रहन सक्दैनन् । उनीहरूका अवलोकनहरू र अनुभवहरूमा पर्याप्त सत्यता छ । के स्पष्ट हुँदै गइरहेको छ भने व्यापक जनआन्दोलन कम हुँदै गइरहेका छन् र जनआन्दोलनका भित्री र बाहिरी दुवैको शक्ति र दावी कम हुँदै गइरहेका छन् । सामाजिक मुक्तिको सन्दर्भ बदलिनाले राजनीतिक विचारधाराका दावीहरू विभिन्न अवयवहरूमा अलग भएर विलीन वा क्षीण हुँदै गइरहेका छन् । यसको अर्थ के होइन भने जनआन्दोलन वा दबाव छोड्नुपर्दछ, र यो अवश्य हो कि तिनीहरूलाई नयाँ राजनीतिक–सामाजिक सन्दर्भ वा प्रसंगको भाग बनाउनुपर्दछ ।

आन्दोलन अवश्य भइरहेको छ, तर इलेक्ट्रोनिक्स सूचना आवरणको भागको रूपमा । र, त्यसैकारण त्यसको चरित्र निर्माण, त्यसको उदय तथा विकासको स्वरूप बदलिएको छ, स्वयं त्यसको उद्देश्य पनि । यसमा ध्यान दिनैपर्दछ कि इलेक्ट्रोनिक व्यवस्थाले केवल व्यक्ति मात्र होइन, बरु मुक्ति आन्दोनलहरू तथा सबै आन्दोलनहरूको व्यक्तित्वलाई विकेन्द्रित गरिरहेको छ । साथसाथै इलेक्ट्रोनिक मेडियाले समूह वा आन्दोलनको निहित आन्तरिक रचनामा सत्ताको भूमिका, निर्देशकको भूमिका कम बनाइरहेको छ । इलेक्ट्रोनिक संचार–प्रणालीले समाजलाई जनआन्दोलनभन्दा पनि बढी आन्दोलित गरिरहेको छ । यो संचार–प्रणालीले प्रतीकहरू तथा भाषाको सहायताले राजनीतिक तथा सामाजिक चेतनालाई बढी स्वतन्त्र रूप प्रदान गरेर केवल स्वगतिलाई मात्र तीव्र बनाइरहेको छैन, बरु स्वयं समाजको गतिलाई पनि तीव्र बनाइरहेको छ । यो व्यवस्था वस्तुहरूको पुनर्गठन तथा हस्तान्तरण र स्थानान्तरणमाथि त्यति होइन, जति प्रतीकहरू तथा सन्दर्भहरूको परिवर्तन र असाधारण वृद्धिमाथि निर्भर छ । परिवर्तनशील हुँदै, तीव्र गति प्राप्त गर्दै तथा बढीभन्दा बढी हामीलाई हेर्दै प्रतीकले वस्तुमा परिवर्तन ल्याउन विवश बनाइरहेका छन् । सही अर्थमा संक्षीप्त भइरहेको समय नयाँ वस्तुको प्रतीक हो र त्यसैकारण ‘पोस्ट–मोडर्निज्म’ को प्रतीक हो ।

सन्दर्भ सूची

  • ३७) जिग्गुंट बोउमान, इन्टिमेशन्स अफ पोस्ट–मोडर्निटी, रुलेज, लण्डन–न्यूयोर्क, १९९२, पृ. ९५
  • ३८) जिन फ्रान्सो लियोतार्द, द पोस्ट–मोर्डन कण्डिनसन, युनिभर्सिटी अफ मिनेसिटी प्रेश, मिनियापोलिस, १९८४
  • ३९) गेल सोफर “गेडेमर, हर्मेन्यूटिक्स एण्ड अब्जेक्टिभिटी इन इन्टरप्रिटेशन”, प्राक्सिस इन्टरनेशनल, ब्ल्याकबेल, १९९२
  • ४०) जोन स्कट, “डिकस्ट्रक्टिङ इक्वालिटी–भर्सेज डिफरेन्स”, द पोस्ट मोर्डन टर्न, (सं.) स्टीभेन सीडमान, क्याम्ब्रिज युनिभर्सिटी प्रेश, १९९४, पृ. १८९
  • ४१) मिशेल पूmको, द आर्कियोलोजी अफ नलेज, हारपर एण्ड रो, न्यूयोर्क, १९७६
  • ४२) मिशेल फूको, पावर–नलेज : सेलेक्टेट इन्टरभ्यूस एण्ड अदर राइटिंग्स, १९७२–१९७७, पोन्थियन, न्यूयोर्क, १९८०
  • ४३) ह्यूबर्ट एल. ड्रिफस एण्ड पल रोबिनो, मिशेल पूmको : वियोण्ड स्ट्रक्चरलिज्म एण्ड हर्मेन्यूटिक्, युनिभर्सिटी अफ सिकागो प्रेश, १९८३
  • ४४) अर्बर्ट माक्र्यूज, ईरो एण्ड सिभिलाइजेशन, स्फियर बुक्स लिमिटेड, लण्डन, १९६६
  • ४७) उही, पृ. ३१
  • ४८) टी. डब्ल्यू. एडोर्नो एण्ड एम होर्कहाइमर, डाइलेक्टिक्स अफ इन्टाइटेनमेन्ट, लण्डन, १९७३
  • ४९) लेस्जेक कोलाकोब्स्की, मेन करेन्ट्स अफ माक्र्सिज्म, खण्ड ३, अक्सफोर्ड युनिभर्सिटी प्रेश, १९८७
  • ५०) जेम्स बेली, “द ब्रोडर इन्टलेक्चुअल इम्प्याक्ट अफ प्यारालेलिज्म”, डायडेलस, १९९२, प्यारालेल कम्युटिङ विशेशांक
  • ५१) उही
  • ५२) उही


Leave a comment

About Me

I am a student of philosophy and nature. I thoroughly research all subjects and summarize them in Nepali and English. I am Secretary of Marxism Study-Research Academy, Nepal. I am a Social Worker. Education – i) Master of Arts Degree in Political Science – TU, ii) Master of Public Administration Degree – TU, iii) Master of Arts Degree in History-TU, iv) Master of Arts Degree in Nepalese History Culture and Archaeology-TU.

म अध्ययन-अनुसन्धान कार्यमा निस्वार्थ भावले निरन्तर लागेको एक वाम विचारधारायुक्त सामाजिक कार्यकर्ता हुँ। मेरो कुनै पनि राजनीतिक दलसँग संलग्नता नरहेको जानकारी गराउँदछु। मेरा हरेक अध्ययन-अनुसन्धान कार्य शोषण, दमन, अन्याय, अत्याचारका विरुद्ध हुनेछन् । आम श्रमजीवी, भोका-नांगा, गरीब, उत्पीडित जनसमुदायहरूलाई सुशिक्षित गर्ने प्रयत्न मेरो कर्तव्य हुनजान्छ । मेरा सबै कार्य जनहितका लागि हुनेछन् भन्ने आशा तथा विश्वासपूर्वक मैले निरन्तर कार्य अगाडि बढाइरहेको हुनेछु। श्रमप्रति सम्मान र शोषणप्रति घृणा नै मेरा कार्यका उद्देश्य हुनेछन्।  

यहाँ तपाईंहरू सबै प्रकारका सामग्रीहरू अध्ययन गर्न र हेर्न पाउनुहुनेछ । अध्ययन गर्नको लागि रूचियुक्त सामग्रीहरू माग गर्नुभयो भने यथासंभव परिपूर्तिसमेत गरिनेछ । यहाँ लेखरचना, पत्रपत्रिका, म्यागजिन,  जर्नल, विभिन्न पुस्तकहरू (नेपाली, अंग्रेजी र हिन्दी भाषामा), डकुमेन्ट्री, फिल्म, आदि सामग्रीहरू खोजेर पढ्न तथा हेर्न सक्नुहुन्छ।

I am a leftist social worker who is selflessly engaged in research work. I inform you that I am not affiliated with any political party. Every study-research work of mine will be against exploitation, oppression, injustice and tyranny. It is my duty to try to educate the common workers, the hungry, the poor, the oppressed masses. I will continue my work with the hope and confidence that all my work will be for public interest. Respect for labor and hatred for exploitation will be the objectives of my work.

Here you will find all kinds of content to study and watch. If you demand for interesting materials to study, they will be provided as much as possible. Here you can search and read articles, newspapers, magazines, journals, various books (in Nepali, English and Hindi languages), documentaries, films, etc.

श्रमको सम्मान गर्नुभएकोमा धन्यवाद ।

Thank you for respecting the labor.

Newsletter

Marxism-मार्क्सवाद

Communist history

Philosophy-दर्शन

लेनिन-LeninLeninism

दस्तावेज-documents

धर्म-दर्शन

त्रिपिटक–बुद्ध

गीता सार

Politics–राजनीति

ग्रन्थ परिचय

Mao-Maoism

साहित्य- literature

जीवनी-biography

साम्यवाद-communism

युवाबारे-On Youth

कार्ल मार्क्स–Karl Marx

फ्रेडरिक एंगेल्स–F. Engels

भी.आइ.लेनिन–V.I.Lenin

जे. भी. स्टालिन – J.V. Stalin

माओत्सेतुङ – Maotsetung

डिजिटल पुस्तकालय (digital library)

ई-पुस्तकालय -e-library

विज्ञान-प्रविधि (Science-Technology)

सामान्य ज्ञान (GK)

Documentaries and YouTube channels

पुस्तकालय – LIBRARY

नेपाली डिजिटल पुस्तकहरू (Nepali Digital Books)

नेपाली न्यूजपेपर, म्यागजिन र अनलाइन पत्रपत्रिकाहरू (Nepali Newspapers, Online and Nepali Magazines)

English Digital Books : Part – 1 (world communist special books)

English Digital Books : Part – 2

English Digital Books : Part – 3

हिन्दी डिजिटल पुस्तक (Hindi digital Books) भाग – १

हिन्दी डिजिटल पुस्तक (Hindi digital Books) भाग – २

हिन्दी डिजिटल पुस्तक (Hindi digital Books) भाग – ३

हिन्दी डिजिटल पुस्तक (Hindi digital Books) भाग – ४

हिन्दी डिजिटल पुस्तक (Hindi digital Books) भाग – ५

Documentaries and YouTube channels

Uncategorized

ENGLISH SECTION

Design a site like this with WordPress.com
Get started