स्रोत – अनिल राजिमवालेको पुस्तक “वैज्ञानिक-तकनीकी क्रान्ति और उत्तर-औद्योगिक समाज”
अनुवादक तथा सम्पादक
–रमेश सुनुवार
–नारायण गिरी
समयको बदलिंदो भूमिका र दर्शन
माइक्रो-इलेक्ट्रोनिक क्रान्ति स्वयं अति द्रूत गतिहरूको प्रयोगमा आधारित छ । यसले हामीलाई यस्ता नवीन माध्यम उपलब्ध गराएको छ, जसको सहायताबाट विभिन्न प्रक्रियाहरूको अझ गहन अध्ययन गर्न सकिन्छ । साथसाथै हामीलाई नयाँ विज्ञान पनि उपलब्ध भएको छ । र, यही नै दर्शनको लागि समस्या हो । समस्या विशेषगरी समयसँग सम्बन्धित छ । हामी अब इलेक्ट्रोनिक गतिहरू र क्वान्टम विज्ञानको सहायताबाट विश्वका घटनाहरूको अध्ययन गर्न लागेका छौं । यसकारण हाम्रो चेतनाको दुइप्रकार, दुई स्तरहरूका गतिहरूमा आपसी अन्तर्विरोधबाट भइरहेको छ । दर्शनको लागि मूल प्रश्नहरूको उत्तर दिन कठिन भएको छ, किनभने यी दुई स्तरहरूमा निर्मित र खण्डित भइरहेको छ । देखिने वस्तु वा प्रक्रियाको हामीसँग परम्परागत दार्शनिक चित्र छ । अब त्यसको व्याख्या हामी क्वान्टम स्तरमा नयाँ औजारहरू र विज्ञानको सहायताबाट गर्ने प्रयत्न गरिरहेका छौं ।
नयाँ साधन र नयाँ विज्ञान असाधारण रूपले तीव्र गतिमा आधारित छन् । सूचना प्रकाशको गतिले हिड्दछ । फलस्वरूप हामीलाई वस्तुमा निहित द्रूत गतिहरूसम्म पुग्न सजिलो हुन्छ । तर यसबाट वस्तु–विश्व–प्रक्रियाको परम्परागत स्वरूप बदलिन लागेको छ, अर्थात् त्यसको चित्र, त्यसको व्याख्या बदलिन लागेको छ । पृथ्वीका सबै प्रक्रियाहरू अब हाम्रो दृष्टिमा साना, साधारण र एकीकृत हुँदै गइरहेका छन् । पृथ्वीका घटनाहरूको बीचमा पहिले जुन स्थान र समयको अन्तर थियो, त्यो अब समाप्त भएको छ । दर्शनमा स्थान–समयको अवधारणा वस्तुको अवधारणाभन्दा अलग हुनलागेको छ । पृथ्वी एउटा “वस्तु” हुन सक्दछ, तर यसका अलग–अलग वस्तुहरू हुँदैनन् । जहाँसम्म पृथ्वीको प्रश्न छ, स्थान र समय धराशायी भइसकेका छन् । पुराना तरीकाहरूबाट नयाँ वास्तविकताहरूको अध्ययन संभव छैन ।
मानवको समुच्च इतिहास स्थान र समयको विकास, स्थानको प्रसार र समयको विभाजनसँग अभिन्न रूपले जोडिएर रहेको छ, तिनीहरूमाथि आधारित रहेको छ । विहान र साँझ, घण्टा र दिन, विभिन्न ऋतुहरू, यी सबै हाम्रो लागि अत्यन्तै महत्वपूर्ण रहेका छन्, हाम्रो जीवन, विचारहरू, कुराकानी, उद्गार, इत्यादिमा तिनीहरू अनजानमै प्रतिबिम्बित हुन्छन्, हाम्रो आय–आर्जन, उत्पादन र वितरणका क्रियाकलापहरूसँग स्थान–समय अविच्छिन्न रूपले सम्बन्धित छन् ।
तर उपग्रहहरूको प्रयोगले हाम्रो यो नियतकालिकता, विहान–साँझ र त्यससँग जोडिएको जीवनक्रमलाई तथा त्यसको स्वरूपलाई भंग गरिदिएको छ । उपग्रहहरूद्वारा पठाइएका चित्रहरू र तिनीहरूमा बसेका यात्रीहरूले एकै दिनमा कैयौंपटक सूर्योदय र सूर्यास्त हेरेर यिनीहरूसँग सम्बन्धित सम्पूर्ण अवधारणाहरूलाई छिन्न–भिन्न गरिदिएका छन् । हामीलाई यो कुराले यो सीमाभन्दा बाहिर लगेर स्थान–समयको बारेमा पुनर्विचार गर्न विवश बनाइदिएको छ । उपग्रहहरूले विहान–साँझ, अगाडि–पछाडिको अन्तरलाई समाप्त गरिदिएका छन् ।
अब त हामी पृथ्वीमा आफ्नो स्थानमै बसी–बसीकन आफ्नै स्क्रीनमा यी परिवर्तनहरूको अनुभव गर्दै स्थान–समयभन्दा पर जान्छौं; पृथ्वीका सबै घटनाहरू, जुन आ–आफ्ना स्थानहरूमा आ–आफ्ना समयमा हुन्छन्, स्क्रीनमा एकैसाथ “घट्दछन्” । त्यसकारण स्क्रीनसँग सम्बन्धित “हाम्रो आफ्नो लागि” घटनाहरू एकै समयमा हुन्छन्, चाहे तिनीहरू कहीं पनि र कुनै पनि समयमा घटिरहेका होऊन् । हाम्रो स्क्रीनले हाम्रो सानो स्थानमा विभिन्न स्थानहरू र समयहरूलाई एउटै क्षणमा विलीन गरेर हाम्रो चेतनालाई तिनीहरूबाट स्वतन्त्र बनाएर निर्माण गर्दै जान्छ । फलस्वरूप चेतनाको निर्माण स्थान–समयबाट स्वतन्त्र तिनीहरूभन्दा पर गइसकेको छ । अब प्रकाशको गतिले निरन्तर स्क्रीनमा आउने सूचनाहरूको कारण स्थान परिवर्तन र घटनाहरूको क्रमिकताको कुनै अर्थ रहेको छैन ।
यसबाट एउटा कुरा प्रकट हुन्छ । जब घटनाहरू तीव्र गतिले हुन्छन्, विशेषगरी तिनीहरूसँग सम्बन्धित सूचनाहरू अति द्रूत गतिले हाम्रो मस्तिष्कसम्म आइपुग्दछन्, तब वस्तुहरू र चेतनाको स्वरूप, चेतनाको निर्माणको प्रक्रिया बदलिन लाग्दछ । “वस्तु” र “पदार्थ” को तुलनामा समयको भूमिका बढेको छ; पृथ्वीका परिस्थितिहरूमा पनि समय वस्तुबाट स्वतन्त्र हुँदै गइरहेको छ । समयको सामजिक र दार्शनिक भूमिकामा असाधारण वृद्धि भएको छ । घटनाहरूको बढ्दो गति पदार्थ, समाज र चेतनामाथि हावी हुँदै गइरहेको छ । समय “स्वयंमा”, एउटा स्वतन्त्र कारकको रूपमा, हाम्रो जीवनको अंग बन्दै गइरहेको छ, अझ निर्णायक कारक बन्दै गइरहेको छ । दर्शनको लागि यो एउटा महत्वपूर्ण र ऐतिहासिक घटना के हो भने समय पदार्थ, विचार, प्रकृति र समाजबाट स्वतन्त्र अस्तित्वको एउटा नयाँ आयामको रूपमा विकसित हुँदै गइरहेको छ । विभिन्न दर्शनहरूमा समयको भूमिकाको पहिले पनि उल्लेख गरिसकिएको छ । तर त्यो गुणात्मक रूपले भिन्न छ । तिनीहरूमा र आज चलिरहेको दर्शनका परिवर्तनहरूमा कुनै समानता छैन । आजका परिवर्तनहरू वास्तविक हुन्, कपोलकल्पना होइनन् । यिनीहरू विज्ञान, प्रविधि, उत्पादन र समाजमा चलिरहेका परिवर्तनहरूको ठोस परिणाम हुन् । पहिलेको दर्शन अनुमान र मानसिक वा तार्किक तर्क–वितर्क, काल्पनिक अवधारणाहरूमा आधारित थियो । औद्यौगिक युगमा विज्ञान र प्रविधिका खोजहरूले समयलाई अभिन्न रूपले पदार्थको एउटा गुण बनाइदियो, त्यो पदार्थवादका महत्वपूर्ण आधारहरूमध्ये एउटा बन्यो । वर्तमान प्राविधिक क्रान्तिले त्यसलाई चेतना र पदार्थबाट अलग गरेर स्वतन्त्र अस्तित्व प्रदान गर्न शुरु गरेको छ ।
समयको स्वतन्त्र अस्तित्वले त्यसलाई पदार्थ र विचारबाट अलग गरेर तिनीहरूभन्दा पर पुर्याइदिन्छ, र यसप्रकार स्वयं दर्शनको स्वरूपलाई बदलिदिन्छ । विचार, चेतना, गतिविधिहरू र दर्शन तीव्र हुँदै गइरहेका गतिहरूबाट निर्मित हुँदै गइरहेका छन् । यहाँसम्म कि भौतिक वा सामाजिक घटनाहरूको स्वरूप पनि समयद्वारा निर्धारित हुनलागेको छ । यदि समाज वा उत्पादनको कुनै बिन्दुमा गति मन्द हुन्छ भने, त्यो सम्पूर्ण प्रक्रियासँग कदम मिलाएर चल्न सक्दैन : त्यो तीव्र हुनै पर्दछ । यदि सूचना तथा संचार माध्यमहबाट कुनै नयाँ प्रक्रिया, उत्तम तरीका, कुनै द्रूत गतिको सूचना पृथ्वीको कुनै अन्य स्थानमा पुग्दछ भने, त्यो स्वयंले नै विचारप्रक्रिया तथा सामाजिक–भौतिक प्रक्रिया वा उत्पादन–संचार प्रक्रियाको गतिलाई अति द्रूत बनाइदिन्छ । वस्तुहरूको बीचमा, वस्तु–विचार वा चेतनाको बीचमा अन्तरसम्बन्ध वस्तुद्वारा होइन, विचारबाट होइन, समय वा गतिको स्वतन्त्र कारकद्वारा निर्धारित हुनलागेका छन् । समय एवं गति विकासको स्वतन्त्र कारक बन्दै गइरहेको छ । फलस्वरूप, पुरानो दर्शन समाप्त भइसकेको छ । हाम्रो विचार, हाम्रो चेतना अब कालमा विचरण गर्न लागेको छ ।
कृत्रिम चेतना तथा आभासी वास्तविकता
वस्तुबाट स्थान–समयको स्वतन्त्रताका अन्य उदाहरणहरूमा कृत्रिम र आभासी वास्ताविकताजस्ता विज्ञान–प्रविधिका असाधारण घटनाहरूलाई लिन सकिन्छ । कम्प्युटरको विकास विशेषगरी समानान्तर कम्प्युटिङले कम्प्युटरलाई मानवीय मस्तिष्कका नयाँ क्षमताहरू प्रदान गरेको छ, जुन बढ्दै गइरहेका छन् । यी क्षमता एक हदसम्म मानवीय चेतनासँग मिल्दा–जुल्दा छन्; यिनीहरूको मेमोरी तथा तर्कको बढ्दो गति र विकसित भइरहेका गुणहरूबाट ‘कृत्रिम चेतना’ को प्रश्न उत्पन्न भएको छ । गतिमा अवश्य नै नयाँ कम्प्युटर मस्तिष्कभन्दा अगाडि गइसकेको छ, तर्कमा पनि त्यसले मानवसँग केही प्रतिस्पर्धा गर्नलागेको छ । सन् १९९७ मा गेरी कास्पारोभ र आई. बी. एम. कम्प्युटरको बीचमा तीव्र प्रतिस्पर्धाले यो प्रश्नलाई, कम्प्युटरको आफ्नो तर्कको प्रश्नलाई एजेण्डामा ल्याइदिएको छ । कास्पारोभको पहिलोपटक यति नराम्रो पराजय भयो, यद्यपि उनले एउटा खेल जिते । तर बाँकी खेलहरूमा कम्प्युटरका तर्कहरूको अगाडि उनको केही चलेन; उनी कम्प्युटरप्रति अत्यन्तै क्रुद्ध भए । लाग्दछ, हामीले कम्प्युटरका तर्कको विरोध गर्नुको बदला तिनीहरूलाई आफ्नो सहयोगी बनाउनुपर्दछ ।
आभासी वास्तविकतालाई हामी कृत्रिम वास्तविकता, अवास्तविक वास्तविकता वा ‘लगभग’ वास्तविकता भन्न सक्दछौं । विशेष प्रकारका चश्माहरू, हेड गियर र तिनीहरूको कम्प्युटरसँग सम्बन्धबाट बनेको यन्त्र-प्रणालीले हाम्रा आँखाको सामु एउटा यस्तो कृत्रिम संसार ल्याइदिन्छ, जसमा हामी घुम्न सक्दछौं, वस्तुहरू छुन सक्दछौं, तिनीहरूको स्थान बदल्न सक्दछौं, हिडडुल गर्न सक्दछौं, इत्यादि । हामी यन्त्रहरू र औजारहरूको अध्ययन गर्न सक्दछौं, डिजाइन बनाउन सक्दछौं र अन्य ग्रहहरूमा जान सक्दछौं ।
आभासी वास्तविकताले वास्तविकतालाई कृत्रिम रूपमा पेश गरेर हामीलाई, हाम्रो चेतनालाई त्यससँग एकाकार गर्दछ । हाम्रो क्रिया–प्रतिक्रिया एउटा यस्तो वास्तविकतासँग हुन्छ, जसको अस्तित्व हुँदैन, तर त्यसको सहायताले वास्तविकताको स्वरूप र त्यसका नियमलाई हामीले जान्न सक्दछौं । त्यसभन्दा पनि बढी महत्वपूर्ण कुरा के हो भने यो क्रिया–प्रतिक्रिया मानसिक चेतनाको स्तरमा हुन्छ; यहाँ चेतना र “वास्तविकता” एउटै प्रक्रियाका अंग बन्दछन् ।
आभाषी वास्तविकता वास्तविकताको ठोस रूपको निषेध हो, स्थान–समयको वस्तुबाट अलगाव हो । यो अलगाव अब हाम्रो चेतनाको निर्माणको एउटा महत्वपूर्ण कारक हो ।
अन्तरीक्ष र दार्शनिक अवधारणा तथा मानवीय चेतना
रिचर्ड एस. लुईसले आफ्नो असाधारण र अत्यन्तै रोचक पुस्तक एपोलोका यात्राहरू (The Voyages of Apollo)३६ मा ती एपोलो अभियानहरूको वर्णन गरेका छन्, जुन चन्द्रमासम्म पुगेर फर्किए । एपोलो–११ बाट आरम्भ भएर ती यात्राहरू १९६९ देखि १९७२ को बीचमा एपोलो–१७ सम्म चले । तिनीहरूमध्ये केवल एपोलो–१३ ले मात्र चन्द्रमामा अवतरण गर्नसक्यो । एपोलो–११ का आर्मस्ट्रङ तथा एल्ड्रीन ती प्रथम मानव थिए, जसले चन्द्रमामा अवतरण गरे, जबकि कोसिंस लूनर–मोड्यूलमा चन्द्रमाको वरिपरि घुमिरहे ।
यसभन्दा पहिले कैयौं सोभियत तथा अमेरिकी अन्तरीक्ष यात्रीहरूले पृथ्वीको चक्कर लगाइसकेका थिए । यूरी गागरिनले सबभन्दा पहिले १९६१ मा स्पुतनिकमा बसेर पृथ्वीको चक्कर लगाएर सूर्योदय–सूर्यास्तको सीमारेखालाई समाप्त गरे । मानवरहित अन्य कैयौं यानहरूले पृथ्वी, चन्द्रमा तथा अन्य ग्रहहरूको चक्कर लगाएर पृथ्वीको फोटो खिचे ।
गागरीनजस्ता अन्तरीक्षयात्रीहरूले पृथ्वीलाई पहिलोपटक बाहिरबाट हेरे । र, चन्द्रमाबाट पृथ्वीलाई हेरेर त मानिसका अनुभवहरूको आश्चर्यजनक वर्णन गरिएको छ; ती सबैको अनुभव के हो भने मानवको दृष्टिमा मूलभूत परिवर्तन आउँदछ । यद्यपि त्यस बेला केही यान मात्र अन्तरीक्षमा गएका थिए, तर हामीले पहिलोपटक पृथ्वीलाई एउटा “सम्पूर्ण”, पूर्ण पृथ्वी, एउटा ग्रहको रूपमा देख्यौं । हाम्रो चेतनामा गुणात्मक परिवर्तन आयो । चन्द्रमाबाट पृथ्वी कालो गहन अन्तरीक्षमा एउटा सानो प्रकाश छोडिरहेको नीलो, सेतो गोलाको रूपमा देखिन्छ । यो असाधारण दृश्यले अकस्मात हाम्रो दृष्टिलाई बदलिदिन्छ । बाहिर जाने हरेक यात्रीको अनुभव के छ भने उसलाई पृथ्वीका झगडा र संघर्ष, अनन्त समस्याहरू अकस्मात तूच्छ, साना र अर्थहीन लाग्न थाल्दछन्; उसले केवल पृथ्वीको बारेमा मात्र सोच्दछ, कुनै देश र समस्याको बारेमा सोच्दैन । नयाँ पृथ्वी र नयाँ चन्द्रमाको बारेमा सोचेर मानिसले गौरवान्वित महसुस गर्दछ । उसले पहिलोपटक समस्याहरूको विभाजन रेखाभन्दा माथि उठेको महसुस गर्दछ ।
यो वास्तविक अर्थमा “होलिज्म” वा सम्पूर्णतावाद हो, जुन दार्शनिक संसारबाट निस्किएर वास्तविक बन्दछ । एउटा अर्को उदाहरण लिऊँ । २४ अगस्ट, १९८९ मा भोयजर–२ हाम्रो अन्तिम र टाढाको ग्रह बरुण (Neptune) को उपग्रह ट्राइटनलाई पछाडि छोडेर सौर्यमण्डलको सीमातिर बढ्यो । यतिका वर्षपछि अब त्यो बाहिर पनि गइसकेको छ ।
यो एउटा सानो तर महान घटना थियो, जसको क्रममा मानिस आफ्नो वास्तविक स्वरूप, ‘पृथ्वीवासी’ को रूपमा आयो, त्यसैगरी, जसरी चन्द्रमाबाट पृथ्वीलाई हेर्दा । ऊ होमो स्यापियन्सबाट होमो कस्मिकस बन्यो । वास्तवमा यो यान, भोयजर–२, केवल शनीसम्मको यात्राको लागि मात्र बनेको थियो । अमेरिकी सरकारले अझ बढी धन दिन अस्वीकार गर्यो । अमेरिकी वैज्ञानिकहरू के चाहन्थे भने त्यसले सम्पूर्ण सौर्यमण्डलको मार्ग निश्चित गरेर शनीपछिका ग्रहहरू र सौर्यमण्डलको सीमाको बारेमा पनि सूचना संग्रह गरोस् । सरकारद्वारा अस्वीकृत भएपछि वैज्ञानिकहरूले स्वयं आफ्ना प्रयत्नहरूबाटै यानका संचार, कम्प्युटर तथा अन्य शक्तिहरूलाई बचाई–बचाईकन खर्च गरे र त्यसलाई बढी लामो यात्राको लागि तयार गरे । यान शनीभन्दा अगाडि सौर्यमण्डलको सीमासम्म जान सफल भयो ।
यस घटनामा केही असाधारण कुराहरू थिए, जसले हाम्रो विचार-प्रक्रियामा एक हदसम्म परिवर्तन ल्याइदिए । यसभन्दा पहिले र पछिका अन्तरीक्ष यानहरूले यो परिवर्तनलाई सुदृढ बनाएका छन् । सुदूर बरुणबाट पृथ्वीसम्म संकेतहरू र चित्रहरूको यात्रा र यात्रा अवधिले सौर्यमण्डलका सीमाहरूको बारेमा हाम्रो ज्ञानमा पर्याप्त परिवर्तन ल्याइदिए; यस्तो समुच्च मानव-इतिहासमा पहिले कहिल्यै भएको थिएन । समुच्च पृथ्वीका मानिसहरूले यानको प्रगतिमा ध्यान दिएका थिए, र वैज्ञानिक तथा अभिरुचि राख्ने मानिसहरूले सास रोकेर यानको यात्राको प्रत्येक क्षणमाथि ध्यानाकर्षित गरिरहेका थिए । मानिसहरूले रेडियो, टि. भी. र अखवारहरूको माध्यमबाट सूचनाहरू प्राप्त गरिरहेका थिए, र हरेक क्षण एक–एक युगको बराबर थियो । बरुण यसभन्दा पहिले एउटा अज्ञात, एक्लो ग्रह थियो; अकस्मात त्यो हाम्रा घरहरूमा स्क्रीनमा र अखवारहरूमा आयो । हामीसँग यसको सम्बन्ध गाढा भयो, त्यो हाम्रै एउटा भाग बन्यो । हामी वास्तवमा, सही अर्थमा सौर्यमण्डलको भाग बन्यौं, अन्तरीक्ष-निवासी बन्यौं । यान ‘हाम्रो’, पृथ्वीवासीहरूको बन्यो ।
अन्तरीक्ष यात्राहरूको फलस्वरूप हामी वास्तविक अर्थमा पृथ्वीवासी, एउटा ग्रहका निवासी बन्दै गइरहेका छौं, चाहे ती यानहरू मानवरहित होऊन् वा मानवसहित । दुवै प्रकारका उपग्रहले सूचना तरंगहरू वा संवेदनहरूको माध्यमले हामीलाई सम्पूर्ण पृथ्वीसँग जोडिरहेका छन्; तिनीहरूले पृथ्वीको चारैतिर सूचना-तरंगहरूको एउटा विकसित भइरहेको आवरण बनाएर मानौं पृथ्वी र समाजको पृथ्वीव्यापी मस्तिष्कको निर्माण गरिरहेका छन् । साथसाथै, अन्तरीक्षको अन्तहीन, तथा विविध स्थान–समयसँग हाम्रो सम्बन्ध व्यापक र गहन हुँदै गइरहेको छ । हामी आफूलाई, आफ्नो समाजलाई, मानव-व्यक्तित्वलाई, समुच्च पृथ्वीलाई पहिलोपटक यसभन्दा बाहिर गएर, बाहिरबाट, अन्तरीक्षबाट हेर्न लागेका छौं । हाम्रो चेतनाको निर्माण र विकास अन्तरीक्षको विशाल क्षेत्र र समयहीनता तथा स्थानहीनताबाट पनि बढीभन्दा बढी प्रभावित हुन लागेको छ । हब्बल टेलिस्कोपले त हामीलाई सुदूर अन्तरीक्षको बारेमा केवल सदा नयाँ मात्र होइन, बरु हरेक क्षण नयाँ जानकारीहरू दिइरहेको छ । हामी ती घटनाहरू तथा प्रक्रियाहरूसँग एकाकार हुनलागेका छौं, जुन हाम्रो पृथ्वीमा र हाम्रो लागि स्वाभाविक, प्राकृतिक र नैसर्गिक होइनन्, र जुन मानव-समाजको जन्म र विकासको कहिल्यै पनि भाग रहेका छैनन् ।
गुलाबी बरफका “ज्वालामुखीहरू” को कसले कल्पना गर्न सक्दछ वा बृहस्पतिका उपग्रहमा विष्फोट हुने ज्वालामुखीहरूको कसले कल्पना गर्न सक्दछ ? र, अब मंगल ग्रहमा जीवनको ? सौर्यमण्डला सीमाहरूका विशेषताहरू र अन्तहीन दूरीहरूमा अवस्थित आश्चर्यजनक “ब्ल्याक होल” को ? अन्तरीक्ष यात्रामा तथा टाढाका ग्रहहरूमा प्रायः तापक्रम शून्यभन्दा तल जान्छ; अन्तरीक्षका वैज्ञानिक खोजहरूमा यो सामान्य कुराजस्तो बन्दै गइरहेको छ । स्वयं पृथ्वीमा हामी सुपरकन्डक्टीभिटीको प्रयोग गरिरहेका छौं, जसले हाम्रो जीवन, विचार र समाजलाई नै पूर्ण रूपले बदल्ने क्षमता राख्दछन्; सुपरकन्डक्टिभिटी शून्यभन्दा धेरै तलको तापक्रममा अस्तित्वसम्बन्धी प्रयोग हुन् ।
हामी अत्यन्तै तीव्र रूपले आफ्ना ती आन्तरिक अन्तर्विरोधहरूबाट बाहिर निस्किरहेका छौं, जसबाट पृथ्वी र समाज बनेका छन् । अब हामी यी अन्तर्विरोधहरूलाई जानी–नजानीकन अर्को रूपमा हेर्न लागेका छौं । आधुनिक प्राविधिक क्रान्तिले हामीलाई अहिलेसम्मको विकासका सामाजिक–आर्थिक सीमाहरूबाट बाहिर निस्किन सहायता गरेको छ र अब हाम्रो विकासमा गैर तथा अनैतिहासिक पक्ष बढ्दै गइरहेका छन् । स्थान–समयको समाप्तिले इतिहासलाई नै समाप्त गरिरहेको छ । संचार तथा अन्तरीक्षमा मानिसको प्रवेशले समाजमा वर्गीय तथा अन्य अन्तर्विरोधहरूलाई समाधान गर्नको लागि मार्ग खोलिरहेको छ; अन्तर्विरोध नष्ट होइन, समाधान भइरहेका छन् । तिनीहरू उच्च सम्पूर्णतावादी समाजको क्रमशः प्रभावहीन अंश बन्दै गइरहेका छन् ।
भविष्यमा हामीलाई अन्तरीक्षमा जाने वा त्यसको खोजका बढी अवसरहरू प्राप्त हुने छन् । पृथ्वी बढीभन्दा बढी सानो हुँदै जानेछ । के यस्तो अवस्थामा यो उचित हुनेछैन कि हामीले आफ्ना पार्थिव समस्याहरूलाई मानवीय र मैत्रीपूर्ण ढंगले समाधान गरौं र आफ्नो विकास पृथ्वीवासीहरूको रूपमा गरौं ?
हाम्रो चेतना समुच्च पृथ्वीमा फैलिसकेको छ, त्यसको चारैतिर एउटा आवरणजस्तै बनेको छ । मानव, विशेषगरी, उसको चेतना, विश्वव्यापी बनिसकेको छ । त्यसकारण हाम्रा अन्तरसम्बन्धहरूमा, उत्पादन सम्बन्धहरूमा र स्वयं समाजको चरित्रमा ठूलो परिवर्तन आइरहेको छ । संचार साधन र संचार प्रणालीको भूमिका बढ्नाले समाज सूचना समाज बन्दै गइरहेको छ । पृथ्वीको एउटा समय र एउटा चेतना समाजका विभिन्न समयहरू र विभिन्न चेतनाहरूमा मिलेर एउटा समाज र चेतनाको निर्माण भइरहेको छ ।
अहिलेसम्म हामीले के देखिसकेका छौं भने उत्तर–औद्योगिक समाज र प्राविधिक क्रान्तिले चिन्तनमा संकट उत्पन्न गरेर नयाँ चिन्तनको निर्माण गरिरहेका छन् । नयाँ चिन्तन उत्तर–औद्योगिक समाजको अभिन्न र अत्यन्तै महत्वपूर्ण अंग हो; अझ यसबिना समाजको पूर्ण व्याख्या हुन सक्दैन । यो चिन्तन (वा चिन्तनहरू) का केवल सिद्धान्त र अवधारणा मात्र अलग छैनन्, बरु यसका आन्तरिक संरचना तथा स्रोत पनि अलग छन् । उत्तर–औद्योगिक चिन्तन तथा चेतना ठोस भौतिक आधारमा कम र सूचना, संचार तथा तरंगहरू र विचारहरूमा बढी निर्भर छ । यसको विकासका आफ्नै स्वतन्त्र गतिहरू र प्रवृत्तिहरू छन् । नव–औद्योगिक वा उत्तर–औद्योगिक चिन्तन तथा चेतना गुणात्मक रूपले नयाँ अवधारणाहरू हुन्, जसको स्वरूप र सार अहिलेसम्मको मानवइतिहासमा विकसित चिन्तन तथा चेतनाभन्दा अलग छ ।
उत्तर–औद्योगिक युगमा निर्मित भइरहेका चेतना तथा विचार-प्रक्रियाहरूका धेरै यस्ता विशेषताहरू छन्, जुन पहिलेका युगहरूमा निर्मित चेतना तथा चिन्तनभन्दा भिन्न छन् । त्यसकारण हामी नयाँ चिन्तन तथा चेतना निर्माण-प्रक्रियालाई उत्तर–औद्योगिक वा उत्तर–आधुनिक (post-modern) भन्न सक्दछौं । उत्तर–औद्योगिक वा उत्तर–आधुनिक चिन्तनप्रक्रिया तथा चेतना निर्माण-प्रक्रियाको भौतिक वस्तुगत आधार पत्ता लगाउनु तथा यो चिन्तनका विशेषताहरूको अध्ययन गर्नु स्वयंमा एउटा अलग रोचक, तर विस्तृत विषय हो । यसको लागि एउटा वा अनेक अलग पुस्तकहरू लेख्नु आवश्यक हुन्छ । आशा छ, वैज्ञानिक तथा अन्य लेखकहरूले यसको प्रयत्न गर्नेछन् । यो पनि आशा छ कि यो लेखकले पनि भविष्यमा यसमाथि केही लेख्न सक्नेछ ।
तर पनि, हामी अत्यन्तै संक्षेपमा उत्तर–आधुनिक चिन्तनमाथि केही विचार गर्नेछौं, र त्यसका कम्तीमा पनि केही अवधारणाहरू खोज्न वा विकसित गर्न सक्नेछौं । यस सम्बन्धमा हामी त्यो चिन्तनमाथि पनि विचार गर्नेछौं, जुन आम रूपमा ’उत्तर–आधुनिकवाद‘ को नामले प्रसिद्ध छ । हाम्रो व्यक्तिगत उत्तर–आधुनिक चिन्तन केही अर्थमा त त्यससँग मिल्दछ, तर कैयौं महत्वपूर्ण अर्थहरूमा त्यसभन्दा अलग छ; र अलग भएर पनि यो उत्तर–आधुनिक वा उत्तर–औद्योगिक हो । यदि उत्तर–आधुनिकवादका कुनै पनि सामाजिक, भौतिक र वैचारिक आधारलाई हामीले खोज्न सक्यौं भने, यो अगाडिको अध्ययनमा सहायक हुनेछ ।
क्रमशः
सन्दर्भ सूची
- ३६) रिचर्ड एस. लुइस, द भोएजेज अफ एपोलो : द एक्सपोलोरेशन अफ द मुन, टाटा–मेग्राहील प. कम. लि. नयाँ दिल्ली, १९७४
Leave a comment