वैज्ञानिक समाजवाद-साम्यवादका प्रवर्तक कार्ल मार्क्सको संघर्षमय जीवनकाल र उनका महान कार्यहरू

दार्शनिक, क्रान्तिकारी अर्थशास्त्री, इतिहासकार, वैज्ञानिक समाजवादका प्रवर्तक र विश्व सर्वहारा वर्गका महान शिक्षक तथा  नेताका रूपमा संसारभर चिनिने कार्ल मार्क्सको जन्म सन् १८१८ मई ५ मा प्रसियाको राइन प्रान्तको ट्रियर नामक एक शहरको यहूदी परिवारमा भएको थियो ।उनकी आमा हल्याण्डकी एक यहूदी महिला थिइन्।छ वर्षको उमेरसम्म उनी यहूदी संस्कार अनुसार हुर्किए। उनका बुबा हेइनरिख मार्क्स एक वकिल थिए।उनी दार्शनिक कान्ट र भोल्टेयरप्रति समर्पित थिए।उनले प्रशियाको संविधानको लागि भएको आन्दोलनमा भाग पनि लिएका थिए।उनकी आमा हेनरिटा प्रिजबर्ग घरेलु कामदार थिइन्। १८२४ मा  मार्क्सको परिवार यहूदी धर्मबाट ईसाई धर्ममा परिवर्तन भयो।यसपछि यहूदी धर्मको बारेमा मार्क्सको धारणा जीवनभर विपरीत रह्यो।मार्क्स बचपनदेखि नै कुशाग्र बुद्धिका धनी थिए।उनको मनमा गरीबहरूप्रति गहिरो प्रेम वालककालदेखि नै थियो। मार्क्स आफ्ना बुबाका नौ सन्तानमध्ये जेठा थिए।मार्क्सका पिताले घरमा एउटा राम्रो पुस्तकालय पनि बनाएका थिए, जसमा रूसो, भोल्टेयर जस्ता अन्य धेरै दार्शनिकहरूका पुस्तहकरू थिए।यो पुस्तकालयमा मार्क्सले ग्रीक र रोम मिथोलोजी र प्रमेथियसको कथा पनि अध्ययन गरेका थिए।एक परिवर्तन वा क्रान्तिको इच्छा मार्क्समा आफ्नै घरबाट प्राप्त भएको थियो।मार्क्सका मातापिताले उनलाई १२ वर्षको उमेरसम्म घरमा नै पढाए।उनको प्रारम्भिक शिक्षा उदारवादी विचारक वेस्टफेलनको मार्गदर्शनमा भएको थियो। उनको शिक्षा १८३० देखि १८३५ सम्म ट्रियरको एक राम्रो विद्यालय ट्रियर जिमनेजियममा पूरा भएको थियो।मार्क्सले आफ्नो स्कूलको पढाइको अन्तिम परीक्षामा पेशा छनौट सम्बन्धमा एक युवाको विचार शीर्षकको निबन्ध लेखेका थिए।यसबाट के बुझिन्छ भने उनले त्यतिबेलादेखि नै मानवको त्यागपूर्ण सेवा गर्ने कुरामा आफ्नो जीवनको सार्थकता बुझेका थिए। उनका बुबा पेशाले वकिल थिए।उनी छोरालाई पनि वकिल नै बनाउन चाहन्थे। यसपछि उनलाई उच्च शिक्षाको लागि १८३५ मा बोन विश्वविद्यालयमा पठाइयो तर उनले कानून पढ्नुको सट्टा इतिहास र दर्शनको अध्ययन गर्न थाले ।बर्लिन विश्वविद्यालयमा पढ्दा मार्क्सको क्रान्तिकारी स्वभाव पूर्ण रूपले जागृत भएको थियो।त्यसको एक वर्षपछि मार्क्सले आफ्नो सम्पूर्ण ध्यान बर्लिन विश्वविद्यालयमा इतिहास र दर्शनमा लगाए। यहाँ उनले हेगेलको द्वन्द्वात्मक दर्शनको अध्ययन गरे।मार्क्स अत्यन्तै बुद्धिमान र तेजस्वी थिए। बोन र वर्लिन विद्यालयहरूमा उनले विज्ञानशास्त्र, दर्शनशास्त्र र न्यायशास्त्रको गहिरो अध्ययन गरेका थिए।शुरुमा मार्क्स कविता र उपन्यास पनि लेख्ने गर्दथे तर पछि उनले यो काम छोडे।यसपछि उनले दर्शनशास्त्रको अध्ययनमा सम्पूर्ण समय लगाए र प्रसिद्ध जर्मन दार्शनिक हेगेलका अनुयायी समेत भए।१० मई १८३८ मा मार्क्सका पिताको देहान्त भएकोले उनमा धेरै ठूलो चोट पुग्यो।मार्क्सका लागि उनी पिता मात्र थिएनन्, एक प्रेरणा र शक्ति पनि थिए।यसको बाबजुद उनले आफ्नो वैचारिक यात्रालाई निरन्तरता दिए।कार्ल मार्क्सको सम्पर्क त्यसबेला हगेलका अधिकांश शिष्यहरूसँग थियो।दर्शन विषयका अनेक व्याख्याता उनका मित्र बनेका थिए।

कार्ल मार्क्सका विचारमा त्यसबेलाका अनेकौं महत्त्वपूर्ण घटनाहरूको स्पष्ट प्रभाव भएको देखिन्छ।पूँजीवादी विकास हुँदै गएको कारणले यूरोपका कैयौं देशहरूमा सामन्त र भूदासहरू बीचको सम्बन्धका अवशेषहरू अधिकाधिक रूपमा असह्य भइसकेका थिए।ठूलो परिणाममा पूँजीवादी उद्योगको जन्म र विकाससँगै किसान तथा हस्तशिल्पकारहरूको अवस्था पनि बिग्रदै गएको थियो र सर्वहारा वर्ग पैदा भएका थिए।यो उत्पादनका साधनहरूबाट पूर्ण रूपले वंचित एक वर्ग थियो।त्यस बेला जर्मनीका जनता भयंकर शोषणको शिकार भइरहेका थिए।एकातिर सामन्तवादको अवशेष र अर्कोतिर अपरिपक्व पूँजीवादले उनीहरूलाई पीडित बनाइरहेको थियो।यी सम्पूर्ण अवस्थाहरूको प्रभाव मार्क्सका विचारधारारहरूमा स्पष्ट रूपमा देखिन्छ।

मार्क्सको विकासयात्रामा हेगेलका विचारहरूको सबभन्दा महत्त्वपूर्ण स्थान थियो। मार्क्सले आफ्नो विद्यार्थी जीवनमा नै हेगेलका कृतिहरूको राम्रोसँग अध्ययन गरेका थिए र वामपन्थी हेगेलवादीहरूसँग सम्पर्क बढाउन शुरु गरेका थिए। सन् १८४१ मा  उनले जेना विश्वविद्यालयबाट डेमोक्रिटस र एपिक्यूरसको प्राकृतिक दर्शन बीचको भिन्नता‘ मा एक निबन्ध लेखेर आफ्नो डक्टरेट (पीएचडी) प्राप्त गरे।उनको यो व्याख्यात्मक निबन्धबाट के बुझिन्छ भने त्यसबेलाको दृष्टिकोण अनुसार उनले हेगेलको असंगतिपूर्ण दर्शनबाट अनिश्वरवादी र क्रान्तिकारी निष्कर्ष निकाल्न लागेका थिए। उनले त्यहाँ हेगेलको एपिक्यूरसको भौतिकवाद र अनिश्वरवादलाई लिएर उनको निन्दा गरेका थिए।यसको विपरीत मार्क्सले धर्म र अन्धविश्वासको विरुद्धमा ती प्राचीन यूनानी दार्शनिकको साहसपूर्ण संघर्षको प्रशंसा गरेका थिए।मार्क्सले त्यो व्याख्यात्मक निबन्धमा नै १५ अप्रिल १८४१ मा दर्शनशास्त्रको डक्टरेटको उपाधि प्राप्त भएको थियो। त्यसपछि मार्क्सको वोन विश्वविद्यालयमा प्रोफेसर बन्ने इच्छा थियो ।तर उनका विचारहरू तत्कालीन सरकार विरोधी भएका कारण उनलाई निष्कासित गरियो । उनको शिक्षक बन्ने सपना भंग भयो। यसपछि उनले आफ्नो सम्पूर्ण समय गम्भीर अध्ययन-अनुसन्धानमा लगाए।कैयौं अप्ठ्याराहरूका बीचमा उनले धेरै लेखहरू लेखे।यही बीचमा हेगेलवादीहरूले राइन समाचापत्र निकाल्न लागेका थिए। राजनीतिक र क्रान्तिकारी विचारहरूलाई फैल्याउनको  लागि अक्टोबर १८४२ मा उनी उक्त ‘Rheinisch Zaitung’ (राइनिश जाइटुङ)  नामक पत्रिकामा  काम गर्न थाले।पहिले त्यससको सम्पादक उनका साथी एडोल्फ रूटेनवर्ग थिए र पछि त्यसको सम्पादकको रूपमा मार्क्सले काम गर्न थाले।उनी सम्पादक भएपछि पत्रिकाले नयाँ दिशा लियो।मार्क्स यो अखबारमा दैनिकका समस्यात्मक घटनाहरूमाथि विश्लेषणात्मक र विचारपूर्ण लेखहरू लेख्थे।उनको विश्लेषण अत्यन्तै प्रखर हुन्थ्यो।उनको विश्लेषणात्मक क्षामताको विकास यही क्रमबाट भएको देखिन्छ। अब अखबारको माग पनि ह्वात्तै बढ्न थाल्यो।छिट्टै नै त्यो जर्मनीका लिबरलहरूको रूचिकर अखबार बन्न पुग्यो।यो पत्रिकाको कोलमद्वारा मार्क्सले एशिया र सम्पूर्ण यूरोपमा त्यसबेलाको राजनीतिक र धार्मिक उत्पीडनको विरुद्धमा तथा आम जनताका हितको पक्षमा आवाज उठाए।उनले पटक-पटक जनताका अत्यन्त महत्त्वपूर्ण आवश्यकताहरूप्रति एशिया तथा यूरोपका सरकार र तिनका अधिकारीहरूको दृष्टिकोण अन्तयन्त निर्दयतापूर्ण छ भन्ने कुराको अनुभव गरे र आवाज उठाए।यिनै तथ्यहरूको आधारमा उनी सरकार, उसका अधिकारीहरू तथा कानून शासक वर्गका हितहरूको प्रतिनिधित्व र समर्थन गर्दछन्, जनताको होइन भन्ने निषकर्षमा पुगे।त्यसबेला प्रशियाका राजाले आफ्नो स्वेच्छाचारी शासन गरेर जर्मनीलाई अध्यारोमा राखेको थियो।यो शासनले विचारहरूको स्वतन्त्रतालाई क्रूरतापूर्वक दमन गर्दथ्यो।यस्तो बेलामा मार्क्स लगायतका क्रान्तिकारी बुद्धिजीवीहरूले राइनिश जाइटुङ पत्रिका निकाल्न शुरु गरेका थिए र त्यसको प्रधान सम्पादक स्वयं मार्क्स थिए।मार्क्सले उक्त अखवारको सम्पादन अत्यन्तै योग्ताका साथ गरे र तत्कालीन निरंकुश र अत्याचारी सरकारमाथि मार्मिक प्रहार गर्न शुरु गरे।त्यसमा प्रकाशित उनका लेखहरूको कारण सरकारी अधिकारीहरू आत्तिए।आफ्ना क्रान्तिकारी विचारको कारण उक्त पत्रिकाका हिस्सेदारसँग पनि मार्क्सको मतभेद भयो। मार्क्सको खास अध्ययनको विषय दर्शन थियो तर वोन गएपछि उनलाई अर्थशास्त्रको अध्ययनको अनिवार्यता महसुस हुनलाग्यो।यसको साथसाथै उनले जर्मनीका मजदूर र किसानहरूको अवस्थाको बारेमा पनि अध्ययन शुरु गरिसकेका थिए।उनले यी सबै अध्ययन र घटनाक्रमहरूलाई राइन अबवारमा लेखिरहेका थिए, जसले गर्दा पाठकहरूमा यसको अत्यन्तै राम्रो असर परेको थियो र पत्रिकाको अलग्गै पहिचान बनेको थियो। उनका क्रान्तिकारी विचार, धर्मको आलोचना, आदिको कारणले सरकारले यो पत्रिकालाई २१ जनवरी १८४३ मा प्रतिबन्ध लगायो।त्यसपछि मार्क्स केही समय बेकार जस्तै भए।तर यही अवधिमा उनले फ्रान्स, इङ्गल्याण्ड, जर्मनी र अमेरिकाको इतिहास, म्याकियाभेली, रुसो, सेन्ट साइमन, मोन्टेस्क्यु, रवर्ट ओवेन र फूरिये जस्ता काल्पनिक समाजवादीहरूका रचनाहरूको गहिरो अध्ययन गरे र समाजवादी साहित्यमा आफ्नो विश्वास बढाए।

२५ वर्षको उमेरमा कार्ल मार्क्सले १९ जुन १८४३ मा आफ्नो प्रारम्भिक शिक्षक वेस्टफेलेनकी छोरी जेनी वेस्टफेलेनसँग विवाह गरे।जेनी एक धनाढ्य परिवारमा हुर्केकी थिइन्।मार्क्स र जेनीबीचमा अत्यन्तै प्रगाढ प्रेम थियो र उक्त प्रेम जस्तोसुकै कठिन समयमा पनि अटल रह्यो।जेनी मार्क्सभन्दा पनि बढी साम्यवादी थिइन्।मार्क्स अत्यन्त विपत्तिमा परेर निराश्रय भएको बेलामा समेत जेनीले उनलाई निरन्तर सान्त्वना दिने गर्थिन्।जेनी पनि श्रमजीवीप्रति अत्यन्तै समर्पित थिइन्।अति गरीबीको कारण आफ्ना सन्तान गुमाएको भयानक पीडा र शोकमा समेत जेनी विचलित् भइनन् र मार्क्सलाई पनि विचलित हुन दिइनन्।विवाहपछि मार्क्सले राज्य समाजको आपसी निर्भरताको बारेमा गहन अध्ययन गरे।उनले हेगेलको राज्य र कानून सम्बन्धी धारणाहरूको विश्लेषण र परीक्षण पनि गरे।वास्तमा उनले एक यस्तो व्यापक दृष्टिकोणको खोजी गरेका थिए, जसको माध्यमबाट प्रकृति र समाज दुवैलाई बुझ्न सकियोस्।उनी भौतिकवादलाई सामाजिक परिघटनाहरूमा लागू गर्न लागेका थिए।उनी यो पद्धतिलाई धेरैभन्दा धेरै वैज्ञानिक बनाउने कोशिस गरिरहेका थिए।

विवाहपछि मार्क्स दम्पती पेरिस गए र त्यहाँ अर्नाल्ड रूगेको प्रस्ताव अनुसार मार्क्स फ्रान्को-जर्मन वार्षिकी शब्दकोश’ को सम्पादक भए।यसबाट उनलाई केही आम्दानी पनि भयो। उनको शासन विरोधी र व्यवस्था विरोधी विचारका कारण उनले यो पत्रिकाको प्रकाशन रोक्नुपरेको थियो ।मार्क्सले जर्मनीमा बसेर केही गर्न सकिंदैन भनेर फ्रान्स जाने विचार गरेका थिए।त्यस बेला फ्रान्समा पनि साम्यवादी सिद्धान्तको महत्त्व वृद्धि भइरहेको थियो।मार्क्स फ्रान्सको राजधानी पुगेपछि उनको नयाँ जीवन आरम्भ भयो।त्यसबेला पेरिसमा धेरै गुप्त संगठनहरूले काम गरिरहेका थिए।मार्क्सले ती सबैसँग सम्बन्ध स्थापित गरे, जसको कारण उनको धेरै फ्रान्सेली समाजवादीहरूसँग परिचय भयो। यहाँ बस्दा नै उनले अर्थशास्त्रमाथि एक विशाल ग्रन्थ लेख्ने उद्देश्यले अर्थशास्त्रको विधिवत अध्ययन शुरु गरेका थिए। जर्मन–फ्रान्स वार्षिकी पत्रिकाद्वारा मार्क्सले जर्मन राजनीतिक आन्दोलनको प्रचार गर्न लागे।उनले यहूदी प्रश्न, हेगेलको विधिदर्शनको समालोचनाको प्रयास, आदि जस्ता लेखहरूमार्फत् मानिसको मानवीय र राजनीतिक मुक्तिको फरक बुझाए र सर्वहारा वर्गको हैशियतलाई रेखांकित गरे। उनले जर्मन सरकारको कटु आलोचना गर्न लागे।त्यसपछि जर्मन सरकार अत्तालियो र फ्रान्सलाई उक्त पत्रिकाको दमन गर्नको लागि अनुरोध गर्यो।त्यसबेला फ्रान्समा अन्त्यन्तै दुष्ट र स्वेच्छाचारी लुई फिलिपको शासन थियो।त्यसकारण फ्रान्सको सरकारले तुरुन्तै कार्ल मार्क्स र उनका साथीहरूलाई फ्रान्सबाट निक्लिने आदेश दियो।मार्क्सले विवश भएर आफ्नी श्रीमति र बच्चासहित बेल्जिएमको राजधानी ब्रशेल्समा शरण लिए।ब्रशेल्समा अन्य जर्मन क्रान्तिकारी साथीहरूलाई पनि उनले भेटे, जसलाई उनी जसरी नै जर्मनीबाट निकालिएका थिए।उनले त्यहाँ जर्मन क्रान्तिकारीहरूको सहयोगबाट मजदूरहरूको आन्दोलन जारी राखे र मजदूरहरूको एक संगठन निर्माण गरे तथा एक समाचारपत्र पनि निकाले।मार्क्स मजदूरहरूका सभामा अत्यन्तै ओजस्वी भाषण गर्दथे र उनीहरूलाई राजनीतिका उच्च सिद्धान्त बुझाउने गर्दथे।मार्क्सले फ्रान्स र जर्मनीका क्रान्तिकारीहरूसँग पत्र-व्यवहार कार्यलाई पनि निरन्तर जारी राखे।विभिन्न कम्युनिष्ट संगठनहरू पनि निरन्तर निर्माण गर्ने काम गरिरहे।

पेरिसमा सन् १८४४ को अन्तमा मार्क्स र एंगेल्सको ऐतिहासिक मिलन भएको थियो र दुवैको विचार एक-अर्कोसँग पूर्णतया मेल खान्छ भन्ने कुरा उनीहरूले अनुभव गरेका थिए।एंगेल्स एक उद्योगपति र कपडा व्यवसायीका छोरा थिए।तर उनको निजी इच्छा कहिल्यै पनि एक उद्योगपति वा व्यवसायी बन्ने भएन।एंगेल्स बचपनदेखि नै किताबी ज्ञान आर्जन गर्न लाग्दथे।उनले सानै उमेरमा धेरै किताबहरू अध्ययन गरेका थिए।सैनिक सेवाको लागि वर्लिन प्रवासको क्रममा उनले विश्वविद्यालयको व्याख्यान पनि सुनेका थिए।त्यसपछि उनले राइन समाचारपत्रमा लेख्न पनि लागेका थिए।सन् १८४२ मा पितासँग मेनचेस्टर जाँदै गर्दा उनी कोलोनमा रोकिएका थिए र यही राइन समाचारपत्रको कार्यालयमा मार्क्ससँग उनको पहिलो भेट भएको थियो।यो केवल औपचारिक भेट थियो।तर सन् १८४४ देखि भने दुवैको बीचमा नियमित पत्रव्यवहार आरम्भ भयो र घनिष्ठता बढ्दै गयो।अब दुवैको बीचमा यति जबर्जस्त वैचारिक सहमति पैदा भयो कि पछि उनीहरूले सर्वहारा वर्गको पक्षधर एक सम्पूर्ण दर्शन खडा गरे। त्यसपछि ती दुवै परममित्रहरूको बीचमा यस्तो रचनात्मक सहयोग आरम्भ भयो, जसको इतिहासमा अर्को कुनै उदारहण पाउन असंभवप्रायः हुन्छ।

सन् १८४३-४४ मा जर्मन-फ्रान्सेली वार्षिक जर्नलमा हेगेलको अधिकारको दर्शनको समीक्षामा योगदानबाट मार्क्सको दार्शनिक यात्रा शुरु भएको हो।मार्क्सले भनेका थिए –  “धर्म हृदयविहीन परिस्थितिहरूको हृदय हो; आत्माविहीन संसारको आत्मा र पीडितको राहत, धर्म जनताको लागि अफिम हो।” मार्क्सले दर्शनको अवधारणालाई आत्मसात गर्न सर्वहारा विद्रोहको आह्वान गरेका थिए। यो निबन्ध र आर्थिक र दार्शनिक पाण्डुलिपि (पेरिस पाण्डुलिपि) १८४४ मा लेखिएको र लगभग १०० वर्षपछि प्रकाशित भएको थियो ।यसलाई मार्क्सवादी दर्शनको आधार मानिन्छ।अहिलेसम्मको अध्ययन-विश्लेषणबाट मार्क्स उत्पादनको जसरी विकास हुँदै जान्छ, त्यसरी नै वर्गहरूको बीचको संघर्ष पनि तीव्र हुँदै सर्वहारा वर्गको अधिनायकत्वको जोड बढ्दै जान्छ भन्ने निष्कर्षमा पुगेका थिए।पूँजीवादी अन्तर्विरोधहरूको अध्ययन गर्दै मार्क्सले समाजवादमाथि पनि विचार गरे र समाजव्यवस्थामा समुच्च बदलाव नआइकन कुनै पनि तरीकाले समान रहने र हरेक प्रकारले शोषणको खत्तम हुने समाज निर्माण गर्न सकिंदैन भन्ने निष्कर्ष निकाले।यही बीचमा पेरिसबाट जर्मन भाषामा निक्लिने समाचार पत्र अगाडि बढ मा मार्क्सले धेरै बौद्धिक लेखरचनाहरू लेखेका थिए।

सन् १८४४ मा नै साइलेसियाका कपडा बनाउनेहरूको विद्रोहको मार्क्सले अन्यन्तै उत्साहपूर्वक स्वागत गरेका थिए।यसपछि प्रसिया सरकारले फ्रान्सको सरकारमाथि दबाव दिएर मार्क्सलाई फ्रान्सबाट  निकालिदिएको थियो। त्यसपछि सन् १८४५ देखि मार्क्स ब्रसेल्स (बेल्जियम) गएर बस्न लागेका थिए।यतिखेर उनकी पहिलो छोरीको जन्म भइसकेको थियो।उनलाई गरीबीले विस्तारै च्याप्दै जान लागेको थियो।मार्क्स पेरिस बस्दा लीग अफ जस्टका विभिन्न क्रान्तिकारी सदस्यहरूसँग विचार विनिमय गरिरहन्थे।यही बीचमा प्रसिद्ध कवि हाइनेसँग पनि उनको परिचय भएको थियो। ब्रसेल्समा बस्दा नै मार्क्सले एंगेल्ससँग इंग्ल्याण्डको यात्रा गरे।त्यहाँ पूँजीवादको जुन स्वरूप विकसित भइरहेको थियो, त्यसलाई पनि स्वयं बुझे।ब्रशेल्समा उनीसँग परिवार र उनको लागि गुजारा गर्ने कुनै साधन नभएको अवस्थामा एंगेल्सले उनको सहायता गरे।यही अवधिमा मार्क्स-एंगेल्सले संयुक्त रचना पवित्र परिवार‘ नामक पुस्तक रचना गरे, जुन 184५ मा प्रकाशित भयो।यसमा सर्वहारा वर्गको विश्वव्यापी ऐतिहासिक उद्देश्यसँग सम्बन्धित विचारहरूको लगभग एक प्रणाली खडा गरिएको छ।पवित्र परिवारमा नयाँ क्रान्तिकारी भौतिक दर्शनको र सर्वहारा वर्गको सैद्धान्तिक विचारधाराको तत्व विद्यमान थियो। मार्क्सले इतिहास र अर्थशास्त्रको पनि गहिरो अध्ययन गरिरहेका थिए।सन् १८४५ मा  मार्क्स र एंगेल्सले इतिहासको भौतिकवादी सिद्धान्तहरूसँग सम्बन्धित समाजविज्ञानलाई स्पष्ट र क्रमबद्ध रूपले प्रस्तुत गर्नको लागि एक अर्को संयुक्त रचना ‘जर्मन विचारधारा‘ लेखे। यसमा शासक वर्गका विचारहरू नै शासक विचारहरू पनि हुन्छन् भन्ने उल्लेख गरे, जसलाई उनले युग चेतना भने र यसको विरुद्धमा वर्ग चेतनाको आवश्यकतालाई जोड दिए।यसमा हेगेलका भाववादी र नवहेगेलवादीहरूका मनोगत भाववादी दर्शनको विस्तृत आलोचना प्रस्तुत गरिएको छ।द्वन्द्वात्मक भौतिकवाद र ऐतिहासिक भौतिकवादको यहीँ सैद्धान्तिक रूपले उल्लेख गरिएको छ।साम्यवादको सैद्धिन्तिक स्तम्भ द्वन्द्वात्मक भौतिकवाद र ऐतिहासिक भौतिकवादको निर्माणमा जर्मन विचारधाराले सर्वाधिक महत्वपूर्ण कार्य गरेको थियो।यसमा सबभन्दा पहिले सर्वहारा वर्गले राजनीतिक सत्ता प्राप्त गर्नुपर्छ भनिएको थियो।यसमा समाजको विकास भौतिक उत्पादनमा निर्भर हुन्छ।सम्पूर्ण सामाजिक सम्बन्ध, धर्म, नैतिकता जस्ता चीजहरू पनि उत्पादन पद्धतिमै निर्भर हुन्छन् भनिएको छ।यही किताबमा चेतनाले जीवनलाई होइन, बरू जीवनले चेतनालाई निर्धारित गर्दछ भन्ने महत्त्वपूर्ण कुरा पनि उल्लेख गरिएको छ। त्यसैगरी यसमा वर्गसंघर्षको अवधारणालाई व्यवस्थित रूपले सामुन्ने राखिएको छ र भावी कम्युनिष्ट समाजको परिकल्पना सामुन्ने राख्दै त्यो समाजमा सम्पूर्ण सामाजिक ढाँचा बदलिएको हुनेछ र त्यसमा गाउँ-शहर जस्तो कुनै फरक हुनेछैन भन्ने कुराको खुलासा गरिएको छ। मार्क्सका विचार समकालीन शासक वर्ग र उदारवादी र अराजकतावादी बुद्धिजीवीहरूको क्रोधको वस्तु बने। विभिन्न किसिमका नराम्रा प्रचार र विचारमाथि प्रश्न उठ्न थाल्यो ।मार्क्स जसलाई उपयुक्त ठान्थे त्यसको जवाफ दिन्थे, बाँकीलाई बेवास्ता गर्दथे ।

ब्रसेल्समा रहँदा मार्क्सले छरिएर रहेर कम्युनिष्टहरूलाई एकताबद्ध गर्ने कामको शुरूवातसँगै सन् १८४६ मा कम्युनिष्ट संवाद समितिको स्थापना गरे।यतिखेरसम्म मार्क्स र एंगेल्सले वर्गसंघर्षको लागि तयार एक क्रान्तिकारी पार्टी निर्माण नगरीकन सर्वहारा वर्गले आफ्नो हकअधिकार प्राप्त गर्न सक्दैन भन्ने कुरा राम्रोसँग बुझिकेका थिए।त्यसकारण यही संवाद समितिको माध्यमबाट संसारभर फैलिएका कम्युनिष्टहरूसँग सम्पर्कको काम गरिरहेका थिए र विचार आदानप्रदानको काम पनि गरिरहेका थिए।यही बीचमा सन् १८४५ मा मार्क्सकी माइली छोरी लाउरा र सन् १८४७ मा छोरो एडगरको जन्म भइसकेको थियो।यतिखेर उनी राजनीतिक अर्थशास्त्रको अध्ययन-अनुसन्धानमा लागेका थिए र सम्पूर्ण व्यस्तताको कारणले उनी केवल चार घण्टा मात्र सुत्न पाउँथे।

अराजकतावादी दार्शनिक जोसेफ-पियरे प्रूँधोंले सर्वहारा वर्गको अधिनायकत्वको मार्क्सको अवधारणाको उपहास गर्दै एउटा पुस्तक लेखे – दरिद्रताको दर्शन, जसले नवीनताको अभावमा धेरै प्रभाव पार्न असफल भयो। मार्क्सले दर्शनको दरिद्रता लेखेर त्यसको प्रतिक्रिया दिए, जुन एक कालजयी कृति बन्नगयो।सन् १८४७ मा प्रकाशित यो कृति फ्रान्सेली भाषामा लेखिएको थियो।यसमा मार्क्सका अहिलेसम्मका खोज र त्यसबाट प्राप्त निष्कर्ष सामुन्ने आएको थियो।पूँजीको बीजरूप यो पुस्तकमा पाइन्छ।  यसमा द्वन्द्वात्मक तथा ऐतिहासिक भौतिकवादका आधारभूत सूत्रको झलक पाइन्छ।यसमा सम्पूर्ण पूँजीवादी अर्थव्यवस्थाको प्रमुख तथा आधारभूत दुर्बलताहरू र दोषहरूको उल्लेख गरिएको छ।मार्क्सले पूँजीवादी अर्थशास्त्रीहरू र त्यसको समर्थक प्रूँधोंका मतहरूको खण्डन गर्दै सामाजिक अर्थव्यवस्थाका विभिन्न मान्यताहरूले सैद्धान्तिक रूपमा सामाजिक सम्बन्धहरूलाई नै व्यक्त गर्दछन्, तिनीहरू ऐतिहासिक रूपले परिवर्तनशील मान्यताहरू हुन् र तिनीहरूलाई जन्म दिने परिस्थितिहरू मेटिएपछि ती मान्यताहरू पनि रहनेछैनन् भन्ने कुरा स्पष्ट रूपमा बताए।प्रूँधोले पूँजीवादमा सुधार गर्ने एक दावी पेश गरेका थिए। मार्क्सले उनको तर्कहीनतालाई स्पष्ट पार्दै पूँजीवादी समाजमा शोषण, गरीबी र संकट रहनु अनिवार्य छ र तिनीहरूलाई त्यतिखेर हटाउन सकिन्छ, जब समाजमा पूँजीवादी प्रणाली नै हटाइन्छ भन्ने कुरा सिद्ध गर्ने प्रयास गरे।

जनवरी १८४७ मा मार्क्स-एंगेल्सले लीग अफ जस्टको सदस्यता लिए र यो संगठनको सहायता उनीहरूले सोचविचारपूर्वक गरे।उनीहरू यो संगठनलाई शक्तिशाली बनाउन चाहन्थे र यसको प्रयोग एक शक्तिको रूपमा गर्न चाहन्थे।१८४७ को लीगको लण्डनमा भएको कांग्रेसपछि यसको सोचमा धेरै परिवर्तन आयो।यसको सम्पूर्ण कार्यक्रम नयाँ शिराबाट बनाइयो।यही कार्यक्रम पछि विकसित रूपमा साम्यवादको सिद्धान्तको रूपमा सामेल भयो।त्यसपछि १८४७ ब्रसेल्समा स्थापित कम्युनिष्ट लीग र क्षेत्रीय समितिको नेतृत्वको जिम्मेवारी मार्क्सलाई सुम्पियो।मार्क्सले अब एउटा नयाँ काम शुरू गरेका थिए।उनी जर्मन मजदूर समाजमा बेला-बेलामा भाषण गर्ने गर्दथे।यही बेलामा ज्यालादारी श्रम र पूँजी नामक कृति प्रकाशित भयो, जुन दर्शनको दरिद्रता जस्तै उनको आर्थिक सिद्धान्तको जग थियो।उनलाई मजदूरहरूको बीचमा सही विचार, आधार र गति प्रदान गर्नको लागि एक अखवारको आवश्यकता महसुस भएपछि तत्काल जर्मन ब्रसेल्स समाचारपत्रमा काम गर्ने निश्चय गरे।त्यसछि आफ्नो प्रभावले त्यसलाई सर्वहारा पार्टीको एकप्रकारको मुखपत्र जस्तै बनाए।सरकारी नीतिको विरोध गर्ने काम उनले यहाँ पनि गरे।यही पत्रिकाद्वारा मार्क्सले पुनः वास्तविक क्रान्तिको लागि सर्वहारा वर्गको एक स्वतन्त्र पार्टीको अनिवार्यतालाई रेखांकित गरे।पत्रिकाको कामसँगै क्रान्तिकारी शक्तिहरूलाई एकजुट बनाउनको लागि संगठन निर्माण अन्तर्गत जनवादी संघको स्थापना गरियो र यसले देश-विदेशका जनवादीहरूलाई संगठित गर्ने काम गर्दथ्यो।

मार्क्स बौद्धिक-क्रान्तिकारी थिएनन्, उनी क्रान्तिकारी-बौद्धिक थिए। फ्रान्समा उनी प्रूँधों र बाकुनिन जस्ता अराजकतावादीहरूसँग सम्पर्कमा आएका थिए र उनीहरूको विचारले मार्क्सलाई धेरै प्रभावित गरेको थियो। फ्रान्सेली सरकारको आदेशमा देश छोडेपछि मार्क्स इङ्गल्याण्ड गएका थिए र त्यसपछि उनी जीवनभरी त्यही बसे । मार्क्सले एङ्गेल्ससँग मिलेर आफ्नै समाजवादी सोचको विकास गरे र १८४७ मा कम्युनिस्ट लीगको स्थापना गरेका थिए।मार्क्स-एंगेल्सले कम्युनिष्ट लीगको दोस्रो कांग्रेसको तयारीलाई धेरै महत्त्व दिए।यो कांग्रेस सन् १८४७ को नोभेम्वरको अन्त र डिसेम्बरको आरम्भमा लण्डनमा भएको थियो।यसमा मार्क्स-एंगेल्सद्वारा प्रतिपादित सिद्धान्तलाई सर्वसम्मतिले स्वीकार गरिएको थियो र उनीहरूलाई कम्युनिष्ट घोषणापत्र तयार गर्ने काम सुम्पिएको थियो।जसको मातहतमा मार्क्स र एंगेल्स मिलेर सन् १८४८ फेब्रुअरी १२ मा  साम्यवादी नियमहरूमा आधारित क्रान्तिकारी वातावरणलाई ध्यानमा राख्दै कम्युनिष्ट विचारधाराको एक पुस्तिका प्रकाशित गरे, जुन ‘कम्युनिस्ट घोषणापत्र’ को रूपमा विश्वमा चर्चित भयो।यो घोषणापत्रमा सबभन्दा पहिलो पटक सर्वहारा वर्गको क्रान्तिकारी सिद्धान्तको एक संक्षिप्त र सरल व्याख्या गरिएको छ।यो वैज्ञानिक साम्यवादको कार्यक्रम सम्बन्धी दस्तावेज हो।यहीँबाट वैज्ञानिक समाजवादको जन्म भयो।यो घोषणापत्रका साम्यवादी विचारहरूको संसारभरी महत्त्वपूर्ण स्थान रहेको छ।पहिलो पटक यसैमा वैज्ञानिक समाजवाद, दर्शन र राजनीतिक अर्थशास्त्रलाई क्रमबद्ध रूपमा विचार गरिएको छ।यसमा निष्कर्षको रूपमा वर्गमा बाँडिएको समाजको विकास पनि वर्गसंघर्षकै कारण हुन्छ भनिएको छ।यसमा पूँजीवादको विकास र त्यसको अन्तर्विरोधहरूलाई पनि बुझाइएको छ। यसमा बताइएको छ – उत्पादक शक्ति र उत्पादन सम्बन्धको बीचमा हुने अन्तर्विरोधले पूँजीवादी समाजमा बेला-बेलामा संकट पैदा गरिरहन्छ।कम्युनिष्ट क्रान्तिले समाजका परम्परागत सम्बन्धहरूलाई पूर्ण रूपले ध्वस्त पारिदिन्छ।यो दस्तावेजमा जब साम्यवादी क्रान्ति हुनेछ, तब वर्ग र वर्गविरोधहरूबाट घायल पूँजीवादी समाजको ठाउँमा एक यस्तो संघ कायम हुनेछ, जसमा व्यक्तिको निजी प्रगति समूहको प्रगतिको शर्त हुनेछ भन्ने कुरालाई पूर्ण विश्वासपूर्वक भनिएको छ।

सन् १८४८ मा नै पहिलो पटक फ्रान्समा पूँजीवादी क्रान्तिको शुरुवात भएको थियो।त्यसको प्रभाव सम्पूर्ण यूरोपभरी परेको थियो।मार्क्स-एंगेल्सले यो क्रान्तिको स्वागत नगरे पनि जर्मन मजदूर संघ, जनवादी संघ, कम्युनिष्ट लीग जस्ता संगठनहरूको माध्यमबाट क्रान्तिको मूल भावनालाई प्रसार गर्ने काम गरे।मार्क्सको आर्थिक अवस्था राम्रो थिएन, हुनत उनको यो अवस्था कहिल्यै राम्रो भएन तर पनि उनले आफ्नो पैत्रिक सम्पत्ति समेत मजदूरहरुको हितमा खर्च गरेका थिए।मार्क्स जति वैचारिक लेखन कार्यमा प्रबल थिए, त्यस्तै नै संगठनातमक काममा पनि निपुण थिए।यसकारण जिन्दगीभर उनी लेखनको अतिरिक्त सर्वहारा क्रान्तिको लागि सक्रिय रूपले लागे।मार्क्सको सक्रियताको कारण वेल्जियम सरकारले मार्क्सलाई देश निकाला गरिदियो।यो उनको एक नयाँ संकट थियो।मार्क्स अब फेरि फ्रान्समा गएर बस्न थाले।मार्क्सले आफ्नो व्यक्तिगत समस्यालाई महत्त्वपूर्ण ठानेनन्।यही बीचमा मार्क्सले बैठक बोलाएर केन्द्रीय समित पेरिसमा राख्ने र यसको सम्पूर्ण हेरविचार मार्क्सले गर्ने निर्णय भयो।पेरिसमा मार्क्सले सबै कुरा नयाँ शिराबाट शुरु गरे।मार्क्स त्यहाँ केन्द्रीय समितिको अध्यक्ष चुनिए।केही दिनपछि त्यहाँ एंगेल्स पनि आए।दुवै मिलेर संगठनको कामको अतिरिक्त लेख्ने-पढ्ने काम अगाडि बढाए।उनीहरूले त्यहाँ जर्मन कम्युनिष्ट पार्टीका मागहरू, आदि तयार गरे, जसमा जर्मनीलाई गणतन्त्र घोषणा गर्ने, राज्यमा चर्चको नियन्त्रण खत्तम गर्ने, जमिन्दारी प्रथा समाप्त गर्ने मागहरू राखिएका थिए।जर्मनीमा चलिरहेको क्रान्तिकारी गतिविधिमा मार्क्स-एंगेल्स पनि सामेल भए।त्यसपछि मार्क्स-एंगेल्सले नयाँ राइन अखबार निकाल्ने निश्चय गरे र यसलाई जनवादीहरूको मुखपत्र घोषणा गरिदिए। मार्क्स यसको प्रधान सम्पादक बने र एंगेल्स सहायक सम्पादक थिए।मार्क्सले यो अखबारका हरेक अंक मार्फत् मजदूर आन्दोलनका समस्याहरू हटाउने, आन्दोलनलाई सही दिने काम गरे।यसको माध्यमबाट क्रान्तिविरोधी शक्तिहरूमाथि हमला पनि गरियो।यही अखवारमार्फत् सर्वहारा वर्गको अधिनायकत्वको स्थापना, सर्वहारा वर्गको किसानहरूसँग सहज र स्वाभाविक सम्बन्ध, क्रान्तिकारी उपाय जस्ता सबै मुद्दाहरूमा तर्कसम्मत र विचारपूर्ण जानकारी दिइन्थ्यो।यो अखवारमा मार्क्सले आफ्नो व्यापक र प्रगतिशील अन्तर्राष्ट्रिय दृष्टिको पनि प्रचार गरे।उनलाई अब एक क्रान्तिकारी नेताको रूपमा चिन्न लागिएको थियो।मार्क्सको क्रान्तिकारी सक्रियताको कारणले उनी र उनको अखबारलाई तत्कालीन प्रतिक्रियावादी सरकारले दुःख दिन लाग्यो।अखबारको विरुद्धमा कैयौं मुद्दा चलाइए।जनतालाई सशस्त्र संघर्षको लागि भड्काएको आरोप मार्क्स र अखबारमाथि लागेको थियो।यद्यपि मार्क्सले आफ्नो सक्रियता निरन्तर अगाडि बढाइरहे।जनवादी संघमा अवसरवादीहरू घुसेपछि त्यसले पहिले जसरी सक्रियतापूर्वक काम गरेन र मार्क्सले त्यहाँबाट अलग हुन जरुरी ठाने।त्यसपछि उनी मजदूर संगठनसँग जोडिन लागे। उनले अखवारसँग मिलेर मजदूर हितका धेरैभन्दा धेरै काम गरे। मई १८४९ मा जर्मनीमा भएको विद्रोहमा कम्युनिष्टहरूले सक्रियापूर्वक भाग लिएका थिए।त्यसपछि तत्कालीन सकारले मार्क्स र उनको अखबारले लगातार आगो उकेलिरहेको र खतर्नाक हुँदै गइरहेको देख्यो।त्यसपछि १५ मई १८४९ मा मार्क्सलाई २४ घण्टाभित्र प्रशिया छोड्ने आदेश दिइयो।१९ मईमा अखबारको अन्तिम अंक निस्कियो र बन्द भयो।यसबीचमा उनले जेनीका केही चाँदीका सामानहरू बेचेर आफ्नो आर्थिक समस्या समाधान गरेका थिए।त्यसपछि मार्क्स परिवार पेरिस गयो, त्यहाँ पनि आर्थिक समस्याले गिजोल्यो र उनले फर्निचर, आदि बेचेर तत्कालीन समस्याको समाधान गरे।

पेरिसमा क्रान्तिलाई नराम्रोसँग दबाइएको थियो।मार्क्स पेरिस गएर पनि चुप बसेनन्।उनले यहाँका जनवादी आन्दोलनका नेताहरू र मजदूर संगठनसँग सम्पर्क कायम राखे।यसको साथै उनले विरोधका विभिन्न गतिविधिहरूमा खुलेर भाग लिए। यसको परिणामस्वरूप उनलाई पेरिसबाट पनि निकालियो र उनी लण्डन जान लागे तर अब उनीमाझ धेरै समस्याहरू थिए।आर्थिक संकट थियो। जेनी त्यसबेला गर्भवती थिइन्।त्यसकारण सरकारसँग अनुरोध गरेर जेनीलाई केही समय त्यही छोडी मार्क्स एक्लै २६ अगस्ट १८४९ मा लण्डन पुगे।यसपछि मार्क्सको पटक-पटक देशनिकालाको अध्याय समाप्त भयो।देशनिकाला र यता-उता जाने यी सम्पूर्ण वर्षहरूमा मार्क्सले आफ्ना रचनात्मक सक्रियालाई निरन्तरता दिएका थिए।फ्रान्सबाट निकालिएपछि उनी लण्डन आए र यही नै उनको स्थायी निवास र कर्मभूमि बन्यो।जिन्दगीका भागदौड र आर्थिक संकटबाट उनले कहिल्यै छुटकारा पाएनन् तर त्यसले उनको लक्ष्यमा सुदृढता आयो भने व्यक्तित्व र वैचारिक दृढतामा निखारता आयो।लण्डनमा आएपछि पनि मार्क्सले भयंकर समस्याहरूसँग जुध्नुपर्र्यो।घरभाडा तिर्न, बालबच्चा पाल्न र दैनिक गुजारा गर्नसमेत उनीसँग कुनै आम्दानी थिएन।बच्चालाई दूध, आहार, औषधि, आदि उनले घरका सामानहरू बेचेर पूर्त गर्ने गर्थे। यस्तो स्थितिमा पनि मार्क्सले हिम्मत हारेनन्।उनी धेरै अगाडि हेर्ने गर्दथे र आशा बाँध्ने गर्दथे।यस्तो स्थितिमा एंगेल्स नै उनका सबभन्दा असल मित्र सावित भए।आफ्नो मित्रको लागि एंगेल्स मेनचेस्टरको मिल अफिसमा नोकरी गरिरहेका थिए।  

मार्क्सले १८४८ देखि १८५० को बीचमा एक अत्यन्तै महत्त्वपूर्ण पुस्तक फ्रान्समा वर्गसंघर्ष लेखेका थिए।यही रचनामा उनले सर्वहारा अधिनायकत्वको प्रसिद्ध सिद्धान्त प्रतिपादन गरेका थिए।यो रचनामा स्पष्ट रूपले के देखाउने प्रयास गरिएको छ भने वैज्ञानिक समाजवाद विभिन्न प्रकारका पूँजीवादी, निम्न-पूँजीवादी र कल्याणकारी समाजवादभन्दा सर्वथा भिन्न छ।यसमा भनिएको छ – वैज्ञानिक समाजवाद क्रान्तिको स्थायित्वको घोषणा हो, यो सामान्य रूपले सबै वर्गविभेदहरूलाई हटाउने, ती विभेदहरूका आधार बनेका सबै प्रकारका उत्पादन सम्बन्धहरूलाई तोड्ने, यी उत्पादन सम्बन्ध अनुरूप बनेका सामाजिक सम्बन्धहरूलाई नष्ट गर्ने र यी सामाजिक सम्बन्धहरूबाट पैदा हुने सबै विचारहरूमा क्रान्ति ल्याउनको लागि एक आवश्यक संक्रमणकालीन व्यवस्थाको रूपमा सर्वहारा वर्गको अधिनायकत्वको घोषणा हो।

सन् १८५० देखि १८५२ को बीचका वर्ष मार्क्सको पारिवारिक जीवनको लागि अत्यन्तै दुःखदायी रहे।आर्थिक अभाव त मार्क्सले जिन्दगीभरी झेलेका थिए तर १८५० को नोभेम्बरमा उनका प्रिय छोरा ग्विदोको मृत्यु भयो।यो एक भयंकर धक्का थियो।यो धक्का सहन गर्ने तागत जुटाउँदै गर्दा मार्क्स परिवारी एक वर्षकी छोरी फ्रान्सिस्काको १८५२ मा मृत्यु भयो।यस्तो वेदनामय स्थितिमा मार्क्ससँग तिनको अन्तिम संस्कार गर्नेसम्म केही थिएन।मार्क्सले छिमेकीको सहायताले छोरीको अन्तिम संस्कार गरेका थिए।आर्थिक अभाव मार्क्सको जीवनभरी पछि लागिरह्यो।उनले बचपन बाहेक अरु सम्पूर्ण जिन्दगी मुश्किल, हैरानी र दुःखदायी ढंगले व्यतीत गर्नुपरेको थियो।तर उनले आफ्नो निजी दुःखलाई कुनै परवाह नगरी आफ्नो सम्पूर्ण जिन्दगी सर्वहारा वर्गको मुक्ति र मानवमुक्तिको लागि लगाए, जुन उनको खास सपना थियो।यही बीचमा उनले कम्युनिष्ट लीगको पुनर्गठन गरे र नयाँ केन्द्रीय समिति निर्माण गरे।अब उनले लीगलाई वैचारिक प्रशिक्षण दिने काम गर्नथाले।यसमार्फत अब उनी सर्वहारा वर्गलाई शक्तिशाली बनाउने र अन्तर्राष्ट्रिय स्तरमा छरिएका कम्युनिष्टहरूलाई एकजुट बनाउनमा जुटे। उनले धेरै संघर्षपछि जनवरी १८५० देखि एक राजनीतिक र आर्थिक मासिक न्यू राइनिश रिभ्यू नामक अखवार निकाले।यद्यपि आर्थिक कठिनाइ र स्रोतसाधनको अभावको कारणले यी अखबारका केवल ६ अंकहरू मात्र निस्किए।यी अंकहरूमा जर्मनी र फ्रान्सका क्रान्तिहरूको विश्लेषण गरिएको थियो।यी लेखहरूमा क्रान्तिकारी संघर्षमा सर्वहारा वर्गको नेतृत्वकारी भूमिकालाई चित्रण गरिएको थियो।त्यसैगरी क्रान्ति पहिले र पछि पनि मजदूर र किसानहरूसँग आफ्नो सुदृढ सम्बन्ध कायम राख्ने कुरालाई जोड दिइएको थियो।यहाँ सर्वहारा वर्गको अधिनायकत्वको सिद्धान्तको पनि राम्रोसँग व्याख्या गरिएको थियो।उत्पादनका साधनहरूमा कब्जा, ज्यालादारी श्रम, पूँजी जस्ता मुद्दाहरूमा पनि विचार गरिएको थियो।यसमा क्रान्तिको सफलता र स्थायित्वको बारेमा धेरै लेखहरू छापिएका थिए। यी अंकहरूमा एंगेल्सका लेखहरू पनि थिए।यही बीचमा कम्युनिष्ट लीगका सदस्यहरूको बीचमा मतभेदको परिणामस्वरूप लीगको विभाजन पनि भयो।सन् १८५१ मा प्रशा सरकारले लीगका प्रशा इकाईका केही सक्रिय साथीहरूलाई गिरफ्तार गरेर मुद्दा चलायो। मार्क्सले आफ्ना साथीहरूलाई बचाउन र सरकारका झुटा आरोपहरूलाई जवाफ दिनको लागि धेरै प्रमाण जुटाए।तर उनी सफल भएनन्।उनीहरूलाई सजाय तोकियो।यसबाट मार्क्स धेरै दुखी भएर एक पुस्तक पनि लेखेका थिए।यसमा उनले सरकारका खराब पक्षहरूको राम्रोसँग व्याख्या गरेका थिए।अब मार्क्सको आर्थिक अवस्था झन भनो झन खराब हुँदै गइरहेको थियो।मुद्दामा लागेकोले गर्दा उनको लेख्ने-पढ्ने काम पनि बन्द भएको थियो।उनीसँग बाहिर जानको लागि जुत्ता र कपडा समेत राम्रा थिएनन् त्यसकारण उनी केही समय बाहिर समेत निस्किएनन्।यसपछि लीग समिति भंग भयो।यसको उमेर एकदमै छोटो भए पनि यसले मजदूर आन्दोलनमा नयाँ चेतना ल्याउने, त्यसलाई संगठित गर्ने र एक सुदृढ वैचारिक आधार दिने महत्त्वपूर्ण काम गरेको थियो।पछि कम्युनिष्ट इन्टरनेशनलको विशाल भवन यही जगमा खडा भएको थियो।मार्क्सले आफ्ना यी सम्पूर्ण अनुभवहरूलाई पछिको काममा राम्रोसँग प्रयोग गरेका थिए।जस्तोसुकै स्थितिमा पनि मार्क्सको अध्ययन-अनुसन्धान जारी थियो।उनी इंग्ल्याण्डका अखबारहरूमा निरन्तर लेखिरहेका थिए।यसपछि उनले फ्रान्सको क्रान्ति-प्रतिक्रान्ति एवं त्यसपछिको स्थितिमाथि आधारित एक पुस्तक अठारौं ब्रुमेयर लेखे।मार्क्सको नयाँ जिन्दगीमा एकपछि अर्को समस्या आइरहेका थिए।उनी चेल्सीको घरभाडामा बसेका थिए तर भाडा तिर्न नसकेर घर खाली गर्नुपर्ने स्थिति आयो र उनी केही दिन होटेलमा बसे।त्यपछि उनी डीन स्ट्रिटमा बस्न लागे।परिवारमा भोकमरीले नराम्रोसँग सताएको थियो।धेरै दिनसम्म सबै परिवारले आधा पेट आलू खाएर समेत गुजरा गरे।परिवारका आवश्यकता पूरा गर्नका लागि आफूसँग भएका जुनसुकै सामान बेच्ने वा धरौटी राख्ने कुरा सामान्य भइसकेको थियो।अब आर्थिक अभावबाट मुक्तिको लागि उनी न्यूयोर्क डेली ट्रिव्युन पत्रिकामा लेख्ने काममा लागे।कोलोन मुद्दाको भण्डाफोर गरिएको उनको पुस्तक स्वीट्जरल्याण्डमा छापिएको थियो तर सरकारले ती पुस्तक जफत गरे।त्यसपछि प्रकाशकले मार्क्ससँग चारसय फ्र्यांक जरिवाना माग्यो।मार्क्सको लागि यो धेरै ठूलो रकम भए पनि जसोतसो यो समस्या हल गरे।पछि त्यो पुस्तक न्यू इंग्ल्याण्ड जाइटुंगमा प्रकाशित भयो।एंगेल्सले आफ्नो खर्चले यो पुस्तक छपाएका थिए।मार्क्स न्यू योर्क ट्रिब्यूनमा र चार्टिस्ट अखबारहरूमा पनि लेख्ने काम गरिरहेका थिए।यसबाट उनको वैचारिक संघर्षसँगै जिउने समस्या पनि हल हुँदै थियो।यस्तो स्थितिमा मार्क्ससँग एंगेल्स निरन्तर सँगै थिए।उनले आर्थिक सहयोगको साथसाथै वैचारिक सहयोग पनि गरिरहेका थिए।लीग भंग भइसकेकोले मार्क्सको राजनीतिक काम पनि बन्द थियो।पौष्टिक आहारको अभाव र प्रतिकूल वातावरणको कारण परिवारमा प्रायः कुनै न कुनै आपत आइरहन्थ्यो।मार्क्स पनि प्रायः बिरामी भइरहन्थे र कमजोर हुँदै गएका थिए।यही बीचमा मार्क्सले एक भयंकर पीडाको सामना गर्नुपर्र्यो।मार्क्स परिरवारको अति प्रिय ९ वर्षको छोरो एडगर बिरामी भयो।यसपछि मार्क्समाथि संकटको भयंकर घडी सामुन्ने आयो।संभव भएसम्म उनले छोराको उपचारमा सम्पूर्ण बल लगाए।मार्क्स र जेनी रातभरी छोराको बेडमा नसुती बसे।उनीहरूले छोरो बचाउनको लागि कुनै कसर बाँकी राखेनन् तर आखिर सन् १८५५ को गुडफ्राइडेको दिन उसको मृत्यु भयो।यसछि मार्क्स र जेनीलाई धेरै ठूलो चोट पुग्यो।मार्क्सले यो पीडा एंगेल्सलाई पत्रमा लेखेका थिए।आफ्ना शुरुका दिनमा उनले मानव मुक्तिको लागि निरन्तर काम गर्ने जुन संकल्प लिएका थिए, त्यसैले उनलाई यो दुःखबाट मुक्त हुनमा मद्दत गर्र्यो।उनले जे गुमाएका थिए, त्यसलाई सजिलैसँग भुल्न त संभव थिएन। ग्विदो, फ्रांसिस्का र एडगर गरी तीन-तीन बच्चाहरूको मृत्युलाई मार्क्सले आफ्नै आँखाले देखेका थिए।यसको केही दिनपछि उनकी सासुको पनि मृत्यु भयो।जेनीकी आमाले जेनीको लागि केही रकम छोडेकी थिइन् ।यो नै घरका साना-साना समस्या समाधान  गर्न र दैनिकी गुजार्नको लागि काममा आएको थियो।मार्क्सको सोहो स्क्वायरको घर एकदमै असुविधाजनक भएकोले मेटल्याण्ड पार्कको एउटा घरमा सरे।मार्क्ससँग दैनिक आम्दानीको कुनै स्रोत थिएन। केवल न्यूयोर्क डेली ट्रिब्यून र अन्य अबवारमा लेख्दा केही थोरै रकम आउँथ्यो, त्यसैले दुःखले गुजारा चलाउने गर्दथे।यस्तो लगातारको गरीबी, भोकमरी र दुःखको कारणले मार्क्सको शरीरमा समस्या आउँदै जान थाल्यो त्यसपछि उनी कलेजोको बिरामी भए।यस्तो जटिल अवस्थामा पनि उनले आफ्नो अध्ययनको काम कहिल्यै छोडेनन्।उनी आफ्नो पुस्तक अर्थशास्त्रको समीक्षालाई छिट्टै पूरा गर्न चाहन्थे।पुस्तकलाई धेरैभन्दा धेरै प्रमाणिक बनाउनको लागि उनी आफ्नो अध्ययनलाई व्यापकता, वैज्ञानिकता दिनको लागि अन्य धेरै विषयहरूको पनि अध्ययन गरिरहेका थिए। सन् १८५७ को अप्रिलबाट मार्क्सले न्यू अमेरिकन इन्साइक्लोपेडियाको लागि काम गर्न शुरु गरे।यसमा इतिहासका पुरुषहरूको जीवनीहरू सामेल गर्नु थियो।मार्क्सले सन् १८५७ मा भएको भारतको स्वतन्त्रता संग्राम आन्दोलनको बारेमा पनि लामो लेखमाला लेखेका थिए।

विगत १५ वर्षदेखि निरन्तर मार्क्स आर्थिक चिन्तनमा लागिरहेका थिए।अझैसम्म उनको पाण्डुलिपि समेत तयार भएको थिएन।अब यो काम अक्टुवर १८५७ देखि मई १८५८ को बीचमा भएको थियो।यो काम उनले रातदिन लगाएर गरेका थिए।यो पुस्तक लेख्ने क्रममा उनले वास्तवमा आफ्नो लागि केही आवश्यक प्रश्नहरूको उत्तर खोज्ने कोशिस गरेका थिए।यो पाण्डुलिपि पूँजीको ड्राफ्ट थियो।अतिरिक्त मूल्यको सिद्धान्तलाई यसैमा व्यवस्थित रूपले बुझाइएको थियो।यो पुस्तकमा इतिहासको भौतिकवादी बुझाइको आधारमा भौतिक उत्पादनलाई पहिलो स्थानमा राखिएको थियो।प्रारम्भिक पाण्डुलिपि तयार भएपछि त्यसलाई अन्तिम रूप दिएर प्रकाशित गर्नतिर लागियो।उनले यसलाई अलग्गै खण्डको रूपमा छाप्ने सोचका साथ धेरै जाँचे र जनवरी १८५९ मा अन्तिम रूपले तयार पारे।तर अवस्था यस्तो थियो कि किताब वर्लिन पठाउनको लागि उनीसँग डाकखर्च पनि थिएन र साथीहरूको मद्दतले किताब पठाइयो।यसरी जुन १८५९ मा राजनीतिक अर्थशास्त्रको समीक्षामा एक प्रयास शीर्षकमा पहिलो खण्ड छापियो।यसमा इतिहासको भौतिकवादी बुझाई, अतिरिक्त मूल्यको सिद्धान्त, आदि बुझाइएको थियो र समाज, कानून, इत्यादि सम्पूर्ण चीजहरूको ढाँचा उत्पादनका साधनहरू र तिनको अन्तर्सम्बन्धहरूमा खडा हुन्छ भन्ने कुरा जोड दिएर भनिएको थियो।यो पुस्तकमा व्यक्त सम्पूर्ण विचार मार्क्सका वर्षौंका गम्भीर अध्ययनका निचोड थिए।यी विचार र निष्कर्षहरूलाई बुझ्न र सजिलैसँग लिन त्यस बेलाका समीक्षकहरूलाई मुश्किलै थियो।यद्यपि मार्क्स यसप्रकारको समीक्षाको सामना गर्नको लागि तयार थिए।तर शुरु-शुरुमा यो किताबलाई लिएर कुनै चर्चा नै भएन।एक खासप्रकारको मौनता रहेको थियो।कुनै रचनाको महत्त्व घटाउने यो पनि एउटा तरीका हुन्थ्यो।रूसमा भने यो किताब धेरै नै चर्चित भएको थियो।आरोप, प्रत्यारोप, मुद्दा, अपमान, बिरामी र आत्मीयजनहरूका मृत्यु जस्ता महासंकटहरूको बीचबाट गुज्रिएको जिन्दगीमा आफ्नो महत्वाकांक्षी पुस्तकको प्रकाशन मार्क्सको लागि सुखदायी र प्रेरणादायी थियो तर उनले अझै धेरै काम गर्न बाँकी थियो।उनको जिन्दगीभरको काममा यो पुस्तकको प्रकाशन एक महत्त्वपूर्ण घटना थियो।यही बेलामा मई १८५९ मा मजदूरहरूको पक्षपोषक अखबार जनता निक्लिन लाग्यो।छिट्टै मार्क्स यसको सम्पादक स्तरमा पुगे तर यो अखबार धेरै दिन टिकेन।यसमा मार्क्स-एंगेल्सले अस्ट्रिया, फ्रान्स र इटलीको बीचमा भएका युद्धलाई लिएर विश्लेषणात्मक लेखहरू लेखेका थिए।यही बेलामा उनलाई कार्ल फोग्टले धेरै झुटा आरोप पनि लगाएका थिए।फोग्टका हमला सैद्धान्तिक मुद्दाहरूमा नै थियो।उसले मार्क्सलाई आवारा क्रान्तिकारीहरूको नेता, आदि घोषणा गरेर उनका मान्यताहरूमाथि प्रहार गरेको थियो।यही बीचमा उनले यो सबै कुराको विरुद्धमा पुस्तक लेखेर र कानूनी तौरले पनि लडे।यसले जेनीलाई पनि धेरै चोट पुगेको थियो।यही बेलामा जेनी धेरै बिरामी भइन्।पछि मार्क्स पनि बिरामी भए।झुटो आरोप, बिरामी, अखवारबाट घट्दो आय, साहुहरूको परेशानी, आदि सम्पूर्ण कारणले मार्क्सलाई हलचल मच्चाइदियो।त्यसपछि उनी आफ्ना मामा फिलिपकोमा गएर आर्थिक सहयोग मागे र आफ्नो ऋण चुक्ता गरे।यसपछि मार्क्स जर्मनी प्रवास गए र त्यहाँ उनले लासाललाई भेट्टाए।जर्मनी प्रवासमा आफ्ना पुराना साथीहरू भेट गरे र आफ्नी वृद्ध बिरामी आमालाई हेरेपछि कोलोन पनि गए।त्यसपछि उनी इंग्ल्याण्ड फर्किदा गृहयुद्ध शुरु भएको थियो।अर्कोतिर न्युयोर्क डेलीले उनका लेखहरूलाई मनमानी ढंगले छाप्न लागेको र पारिश्रमिक पनि घटाएकोले मार्क्सले अखबारसँग सम्बन्ध तोडे।मार्क्सलाई कलेजोको बिरामीसँगै केयौं अन्य बिरामीले पनि आक्रमण गरिरहेका थिए।बच्चा बढिरहेका थिए। खर्च जुटाउने कुनै आर्थिक स्थिति थिएन।यसपछि उनले घरका सम्पूर्ण महंगा फर्निचर बेचेर सस्तो घरमा गएर गुजारा गर्ने निर्णय समेत गरेका थिए।यद्यपि यस्तो स्थितिमा पनि एंगेल्सले धेरै ठूलो सहयोग गरे।यही बेला उनकी धेरै दिनदेखि विरामी आमाको मृत्यु भयो।यसरी एकपछि अर्को गरी मार्क्समाथि भयंकर पीडाहरू आइरहे।आमाको मृत्युपछि उनको केही रकमबाट मार्क्सले सामान्य ऋण चुकाउने काम गरे।मार्क्स जहाँ बस्थे तर घरभाडा तिर्न सक्दैनथे र त्यसले ऋणको रूप लिन्थ्यो।त्यसैगरी बच्चाको खर्च, खाद्यान्न, अन्य पारिवारिक खर्चले गर्दा दिनप्रतिदिन ऋण वृद्धि भइरहन्थ्यो।मार्क्ससँग कहिल्यै पनि बाहिर निस्किने भाडा समेत हुँदैनथ्यो।यस्तो भयंकर स्थितिमा पनि उनी आफ्नो काममा निरन्तर लागिरहन्थे।सन् १८६३ मा पोल्याण्डमा विद्रोह भड्किएको बेलामा मार्क्सले आफ्नो अन्तर्राष्ट्रिय बुझाइअनुसार यो विद्रोहको समर्थन गरे र एंगेल्ससँग मिलेर धेरै पुस्तकहरू लेखे।पोल्याण्डको विद्रोहलाई उनी क्रान्तिको दृष्टिले हेरिरहेका थिए।अब उनले मजदूर आन्दोलनलाई तीव्र बनाउने स्थिति आएको देखे र धेरैभन्दा धेरै मजदूर गतिविधिहरूमा भाग लिन लागे। उनी लण्डनको त्यतिबेलाको ज्ञान प्रचार समाजका कामहरूमा भाग लिने लागे।मार्क्सले यो समाजका सदस्यहरूमा एक अन्तर्राष्ट्रिय दृष्टि पैदा होस् भन्ने सोचिरहेका थिए।अन्तर्राष्ट्रिय सर्वहारा संगठन बनाउने सोचमा उनी लागेका थिए।यही बीचमा उनका एक प्रिय मित्र विल्हेम भोल्फको मृत्युले उनलाई ठूलो पीडा भयो।भोल्फ पेशाले अध्यापक थिए र सर्वहारा वर्गका एक समर्पित नेता पनि थिए।

मार्क्सको आर्थिक समस्यालाई मध्यनगर गर्दै एंगेल्सले फार्मको हिस्सेदार बनेपछि आफ्नो मित्रलाई एक निश्चित रकम पठाउने व्यवस्था गरे, जसबाट मार्क्सलाई धेरै राहत मिल्यो।एंगेल्सबाट आर्थिक सहायता प्राप्त गरेर कार्ल मार्क्सले आफ्ना क्रान्तिकारी विचारहरू स्वतन्त्र रूपमा आफ्ना लेखहरूमार्फत् प्रस्तुत गरिरहे। एंगेल्सको ऋण स्वयम् स्वीकार गर्दै उनले आफ्नो समाजवादी सोचलाई ‘हाम्रो सिद्धान्त’ भनेका छन् । कार्ल मार्क्सले Das Capital (पूँजी) जस्ता महान् पुस्तकहरू रचना गर्नमा एंगेल्सको अत्यन्तै महत्त्वपूर्ण भूमिका रहेको छ।एंगेल्सले मार्क्सलाई आर्थिक, वैचारिक, आदि विभिन्न क्षेत्रमा निरन्तर सहयोग गरिरहे।

आफ्ना सिद्धान्तलाई व्यावहारिक रूप दिन उनले १८६४ मा लन्डनमा अन्तराष्ट्रिय श्रमिक संघको गठन गरे र यो नै संसारमा पहिलो अन्तर्राष्ट्रिय (First International) को नामले विश्वप्रसिद्ध भयो।डिसेम्बर १८६४ मा लण्डनमा अन्तर्राष्ट्रिय मजदूर सभा भयो।यो सभामा कैयौं देशका मजदूर नेताहरूले भाग लिएका थिए।मार्क्स यसमा जर्मन मजदूर प्रतिनिधिका रूपमा उपस्थित भए र इन्टरनेशनल एशोसियसनको संविधान बनाउनको लागि मार्क्स पनि एक सदस्यको रूपमा सामेल भएका थिए र यो संविधान बनाउन मार्क्सको अत्यनतै महत्त्वपूर्ण भूमिका रहेको थियो।यसमा अहिलेसम्मको मजदूर आन्दोलन, औद्योगिक विकाससँगै खराब हुँदै गएको मजदूरको स्थिति, आदि कुराहरुमा प्रकाश पारिएको थियो।अन्तर्राष्ट्रियको सामु धेरै समस्याहरू पनि आइरहेका थिए।मार्क्सको धेरै समय यसका समस्याहरू समाधान र विवादहरू सुल्झाउनमा खर्च भएको थियो।पहिलो इन्टरनेशनलको जेनेभा अधिवेशनमा मार्क्स जान सकेनन् तर अधिवेशनको लागि उनले नियमावली बनाएका थिए र उदघाटन भाषण तयार गरेका थिए, ती सबै पारित भए।यो सम्मेलनको लागि सम्पूर्ण सामग्री मार्क्सले जुटाएका थिए।

दिनभरी लण्डनको ब्रिटिश म्यूजियम पुस्तकालयमा बसेर सामग्री संकलन गर्दै राति त्यसमा काम गर्दै मार्क्सले पूँजीको पहिलो प्रारूप १८५७-५८ मा, दोस्रो प्रारूप १८६१-६३ र तेस्रो प्रारूप १८६३-६५ मा ड्राफ्ट तयार गरेका थिए।यद्यपि तेस्रो ड्राफ्टको अन्तिम रूप जनवरी १८६६ देखि ६७ को बीचमा दिइएको थियो।मार्क्सले १६ अगस्ट १८६७ मा पुस्तकका अन्तिम प्रूफ हेरे र एक प्रकारको मुक्तिको अनुभव गरे।एंगेल्सले यो पुस्तक तयार पार्न सबै प्रकारले मद्दत गरेका थिए।यसरी सन् १८६७ मा मार्क्सको विश्वप्रसिद्ध ग्रन्थ पूँजी (Das capital) को सम्पूर्ण प्रथम खण्ड प्रकाशित भयो।यो पुस्तकको पहिलो अध्यायमा अघिल्लो पुस्तकको सारांश दिइएको छ।यो पुस्तकमा लेखिएको छ – विनिमयको दायरा बढेपछि मालहरूको आपसी विनिमयको लागि मुद्राको रूपमा एक तेस्रो मालको आवश्यकता पर्दछ।मुद्रा बनेको माललाई एकप्रकारको उपयोग मूल्य हासिल हुन्छ।पूँजीको शुरुवात मालहरूको खरिद-विक्रीबाट हुन्छ।मजदूरलाई प्राप्त हुने ज्याला बराबर काम त उसले आफ्नो कूल कार्यावधिको शुरूकै एक सानो हिस्सामै गर्दछ।त्यसैले मजदूरले गर्ने काम उसको अतिरिक्त श्रम हुन्छ।यही श्रम अतिरिक्त मूल्य जम्मा भएपछि पूँजी बन्दछ, जसमा केवल मालिकको हक हुन्छ।र, मजदूर त्यसबाट वंचित रहन्छ।यही नै मजदूरको शोषण हो।यो शोषण र यो अन्याय लगातार भइरहन्छ।समाजको सम्पूर्ण ढाँचा यही अमानवीय व्यवस्थामा टिकेको हुन्छ।यो अव्यवस्था उत्पादनका साधनहरूमा केही मानिसहरूको अधिकार रहुन्जेलसम्म रहिरहन्छ।यी मानिस आफ्नो अधिकार कहिल्यै गुमाउन चाहँदैनन्।हरेक समय यी थोरै मानिसहरू नै साना-साना हेरफेरपछि उत्पादनका साधनहरूमा मालिक हुने गर्दछन्, यसकारण उत्पादनका साधनहरूमा त परिवर्तन आउँछ तर व्यवस्थाको शोषक रूप कायम रहन्छ।एक शोषण व्यवस्थाको ठाउँमा अर्को आउँछ र शोषणको सिलसिला चलिरहन्छ।सामन्ती युगमा मजदूरलाई स्वतन्त्र रूपले काम गर्ने जुन हैशियत हुन्थ्यो, त्यो पनि पूँजीवाद आएपछि खोसियो।सरकारले प्रायः पूँजीपतिको हित संरक्षकको काम गर्दछ।उत्पादनका साधन जनताबाट खोसेर पूँजीपतिलाई हवाला गर्ने काम एकप्रकारले सरकारले नै गरेको हुन्छ।पूँजीपतिले श्रमशक्तिको उत्पादकतालाई लगातार बढाउँदै जान्छ र श्रमशक्तिको मूल्य कम हुँदै जान्छ।ठूला मेशिन र ठूलो परिणाममा उद्योगले अन्ततः मजदूरका समस्याहरूलाई बढाउँदछ्न्।श्रम  एकप्रकारको माप हो र ज्याला श्रमको मूल्य हो।ज्यालाको भुक्तान समय र काम यी दुवै आधारहरूमा गरिन्छ।मार्क्सको यो पूँजी प्रकाशित भएपछि शुरुमा त एकप्रकारको षड्यन्त्रकारी मौनधारण राखियो तर शीघ्र नै त्यसको महत्त्वलाई मानिसहरूले बुझे।फ्रान्सेली र जर्मन भाषामा यसका अनुवाद भए।नयाँ संस्करहरू पनि निक्लिए।रूसमा त यो पुस्तक लोकप्रिय नै भएको थियो। यसपछि कार्ल मार्क्सले आफ्नो प्रसिद्ध पुस्तक ‘पूँजी’ का बाँकी भागहरू पूरा गर्न आफ्नो कलम उठाए र उनले अन्य धेरै महत्त्वपूर्ण पुस्तकहरूको रचना गरे। अस्वस्थ्यताका कारण पूँजीको दोस्रो र तेस्रो खण्ड भने उनको कार्यकालमा पूरा गर्न सकेनन् र पछि एंगेल्सले यसलाई पूरा गरेर क्रमशः सन् १८८५ र १८९४ मा प्रकाशन गराए।पूँजी मार्क्सको एक अनुपम देन हो।यो ग्रन्थमा सर्वहारा वर्गका ऐतिहासिक कर्तव्यको सिद्धान्त, समाजवादी क्रान्ति र सर्वहारा वर्गको अधिनायकत्वको गहन दार्शनिक तथा अर्थशास्त्रीय ढंगले व्याख्या गरिएको छ।यो रचना पूँजीवादी दासताको विरुद्धमा सर्वहारा वर्गको वर्गसंघर्षमा उसको शक्तिशाली सैद्धान्तिक हतियार हो।पूँजीलाई समाजवादीहरूको महाग्रन्थ मानिन्छ। 

मार्क्स कम्युनिष्ट अन्तर्राष्ट्रियलाई मजदूर वर्गको एक शक्ति बनउन चाहन्थे।यसको काम निरन्तर अगाडि बढिरहेको थियो।मार्क्सको एकमात्र उद्देश्य मजदूरहरूलाई सम्पूर्ण रूपले मुक्त गराउनु थियो र उनले अन्तर्राष्ट्रियलाई यही आधारमा अगाडि बढाउने प्रयत्न गरे।यही बेलामा आयरल्याण्डमा स्वतन्त्रता आन्दोलन भएको बेलामा इंग्ल्याण्डका मजदूरहरूलाई उनीहरूको मुक्तिको लागि आयरल्याण्डको आन्दोलन सफल हुनुपर्दछ भने।यसबाट इंग्ल्याण्ड र फ्रान्सको सरकार अन्तर्राष्ट्रियका सदस्यहरूप्रति वेखुशी थिए।अब सम्पूर्ण यूरोपभरी मजदूर हड्ताल र आन्दोलनको कारण अन्तर्राष्ट्रियलाई मान्न थालियो।अन्तर्राष्ट्रियमा बाकुनिन जस्ता व्यक्तिहरूले मार्क्सलाई राजनीतिक रूपले समाप्त गर्न षड्यन्त्र गरे।अन्तर्राष्ट्रियमा विशेष प्रकारको संघर्ष शुरु भयो।यसमा मार्क्सले रूसी शाखाबाट साथ पाएका थिए।यही बीचमा सन् १८७० मा फ्रान्स र प्रशियाको बीचमा युद्ध भयो।यस युद्धमा मजदूर संगठनमा ठूलो संकट पैदा भएको थियो।फ्रान्समा गणतान्त्रिक सरकार स्थापना भए पनि यो धेरै दिन टिकेन।यसपछि एउटा ऐतिहासिक तथा दूरगामी घटना भयो।सन् १८७१ मा पेरिसमा त्यहाँका मजदूरहरूले त्यो कम्युनको स्थापना गरे, जसको शुरुदेखि नै मार्क्स समर्थक रहेका थिए।मार्क्सले यो कम्युनको समर्थन गरे तर उनी यसको भविष्यलाई लिएर चिन्तित थिए।कम्युनमाथि आक्रमणको सिलसिला जारी थियो।मार्क्सले निरन्तर कम्युनको बचाउ र फैलिरहेको भ्रम हटाउने काम गरिरहे।एकातिर कम्युनमाथि बाहिरबाट वैचारिक र अन्य प्रकारका आक्रमण जारी थिए भने अर्कोतिर कम्युनभित्र पनि लडाइँ-झगडा शुरु भएका थिए।यसबाट कम्युनको वास्तविक शक्ति बर्बाद भइरहेको थियो।अवस्था सुधार्ने मार्क्सका सम्पूर्ण कोशिसहरू बेकार भए र कम्युनले हार्र्यो।मार्क्सले यो पराजलयलाई लिएर एक बयान दिएका थिए, जसबाट केही मानिसहरू वेखुशी भएर अन्तर्राष्ट्रिबाट राजीनामा समेत दिएका थिए।यही बीचमा एंगेल्स पनि सबै कारोबार छोडेर लण्डनमै बस्न आएका थिए र उनीहरु हमेशा सँगै रहन चाहेका थिए।वैचारिक रूपले चिन्तित मार्क्सले पेरिस कम्युन लगायतका सम्पूर्ण घटनाक्रमको विश्लेषण गरेर एक पुस्तक फ्रान्समा गृहयुद्ध तुरुन्तै लेखे।यसमा उनले कम्युनका सम्पूर्ण कामकाज र भूमिकाको विश्लेषण गर्दै ती विभिन्न षड्यन्त्रहरूको पनि भण्डाफोर गरे, जुन कम्युनहरूको विरुद्धमा गरिएका थिए।यो पुस्तक अत्यन्तै प्रसिद्ध भयो।यो पुस्तक निस्किएपछि मार्क्समाथि सरकार र प्रतिक्रियावादी शक्तिहरूले विभिन्न आरोपहरू लगाए र मुद्दा समेत चलाइयो।अन्तर्राष्ट्रियभित्र पनि उनको तीव्र विरोध भयो।यही बीचमा विभिन्न नेताहरू गिरफ्तार हुँदै गएपछि, वैचारिक मतभेदहरू बढ्दै गयो र अन्तर्राष्ट्रियको विघटन हुनपुग्यो।

मार्क्सलाई विभिन्न रोगहरूले आक्रमण गरिरहेका थिए।लगातार तनावको कारणले तीव्र रूपमा टाउको दुख्ने समस्या पनि भइरह्यो।अब उनले आफ्नो अध्ययन र चिन्तनको कामलाई तीव्र रूपमा विस्तार गर्ने योजना बनाए।मार्क्सले आफ्नो अध्ययनको क्षेत्र अझ धेरै व्यापक बनाउँदै गएका थिए। नयाँ-नयाँ भाषा सिक्ने सिलसिला अन्त्यसम्म जारी राखे।गणित, प्राकृतिक विज्ञान, प्रविधि जस्ता सम्पूर्ण विषयहरूको पनि व्यापक रूपमा अध्ययन गरे।उनले शोषण र पूँजीवादले सताएका राष्ट्रहरूको इतिहासलाई नयाँ शिराबाट अध्ययन गरे।मार्क्सले अहिलेसम्म हरेक राजनीतिक-आर्थिक मुद्दामा गहन विचार गरेका थिए।जर्मनीको एकीकरणको कुरा उठेपछि उनले वैज्ञानिक समाजवादका सिद्धान्तहरूको आधार विस्तार गर्नलागे।मार्क्सको समाज परिवर्तनको परिकल्पना अनुसारको प्रक्रियामा पहिले समाजवादी समाज अस्तित्वमा आउँथ्यो र त्यसपछि साम्यवादी समाज।उनले के कुरा स्पष्ट पारेका थिए भने हरेक आन्दोलन हमेशा शान्तिपूर्ण हुनसक्तैन।कुनै पनि आन्दोलन त्यतिखेरसम्म शान्तिपूर्ण रहनसक्दछ, जब त्यसको विरुद्ध हिंसाको प्रयोग हुँदैन।सन् १८८० मा मार्क्सले मजदूरहरूको लागि प्रश्नावली तयार गरे।यही बेला उनले मजदूर पार्टी तयार गर्ने काम पनि गरेका थिए।उनको मार्गदर्शन धेरै महत्त्वपूर्ण हुँदाहुँदै पनि मजदूर पार्टी बनेपछि यो धेरै दिन टिकेन र आपसी झगडाको कारणले विघटन भयो।मार्क्समाथि धेरै वैचारिक हमलाहरू भइरहे।उनका विचारहरूको चोरी पनि भएको थियो। हाइडेमन नामक अंग्रेजी लेखकले पूँजीको सम्पूर्ण सामग्री आफ्नै नामले शब्दशः छापेको पनि थियो।यस्ता प्रकारका विभिन्न विरोध, आलोचना, निन्दाको बाबजुद पनि मार्क्सलाई संसारभरबाट प्रशंसा र समर्थन प्राप्त भइरह्यो।उनको जीवनको उत्तरार्धमा उनका काम र विचारहरूको महत्त्व बुझ्न लागिएको थियो।सन् १८८१ मा मोर्डन थटमा उनको सम्पूर्ण जीवन र काममाथि एक लामो समीक्षात्मक लेख छापिएको थियो।यसलाई हेरेर मार्क्स र जेनी अति धेरै खुशी भएका थिए।  

सन् १८८१ डिसेम्बर २ मा उनकी पत्नीको मृत्यु भएपछि मार्क्सलाई धेरै आघात पुग्यो।घरको जिम्मेदारी, लगातारको पारिवारिक चिन्ता, बच्चाहरूको मृत्यु, गरीबी जस्ता धेरै पीडाहरूले जेनीलाई जिन्दगीभरी निचोरिरह्यो।तर उनले कहिल्यै यस्तो पीडाको महसुस गरिनन्।वर्षौंको बिरामीसँग पनि जेनी आफ्नो सम्पूर्ण शक्तिका साथ लड्दै आएकी थिइन्।अन्ततः उनलाई क्यान्सर भएको थियो।मार्क्सको लागि जेनीको मृत्यु धेरै ठूलो आघात थियो।जेनीको मृत्युपछि मार्क्स सम्पूर्ण रूपले बेसाहारा जस्ता भए।एंगेल्सले त जेनीको मृत्युलाई मार्क्सकै मृत्यु भनेका थिए।यस्तो स्थितिमा पनि मार्क्स वैचारिक रूपमा भने जिउँदा थिए।यसपछि भने मार्क्स गम्भीर रूपले बिरामी भए।यही बीचमा ११ जनवरी १८८३ मा आफ्नी ठूली छोरीको केवल ३८ वर्षको उमेरमा मृत्यु भएको खबर प्राप्त भयो।यसले उनलाई झन ठूलो चोट पुर्यायो।फोक्सो सुन्निने र पुरानो खोकीको उपचारको लागि उनी दक्षिणी फ्रान्स पनि गएका थिए तर त्यसबाट केही फाइदा भएन।त्यसपछि धेरै उपचार गर्दा पनि उनको स्वास्थ्यमा कुनै सुधार आएन।अन्ततः क्यान्सरका कारण १४ मार्च १८८३ मा यस्ता महान कम्युनिष्ट सन्तको निधन भयो ।मार्क्सको मृत्यु भएपछि एंगेल्सले संसारका सबै भागमा पत्र पठाए र मार्क्सका मित्र र अनुयायीहरूलाई अन्तराष्ट्रिय क्रान्तिकारी आन्दोलनलाई यो दुःखद घटनाबाट कति ठूलो क्षति भएको छ भन्ने कुरा बताए।एंगेल्सले लेखे – हाम्रो पार्टीका सबभन्दा महान मसतिष्कले सोच्न बन्द गरिदएको छ, आज यस्तो दृढतम् हृदयले धड्कन बन्द गरिदियो, जुन मैले पहिले कहिल्यै देखेको र सुनेको थिएन।१७ मार्च १८८३ को शनिवारको दिन मार्क्सको शवलाई लण्डनको हाइगेट नामक चिहानमा दबाइयो।एंगेल्सले उनको समाधिको निकट एक हृदयविदारक भाषण गरे।आफ्नो भाषणमा उनले वैज्ञानिक साम्यवादका यी संस्थापक, मजदूर वर्गका यी महान नेताका भगीरथ प्रयत्नहरूको सबै श्रमिक र शोषित वर्गहरूको लागि, सर्वहारा वर्गको उद्देश्यको लागि उनका त्यागपूर्ण र वीरोचित संघर्षहरूको प्रत्यक्ष र सजीव चित्र प्रस्तुत गरिदिए।उनले मार्क्सको नाम युगौंयुगसम्म अमर रहेनछ र यसैगरी उनको कृति पनि अमर रहेनछ भनेर आफ्नो भाषण समाप्त गरे।

विश्वका मजदूरहरूको एकताको नारा लिएर शोषणविहीन, दमनविहीन, वर्गहीन, राज्यविहीन समाजमा मानव मुक्तिको सपना देख्ने दूरदर्शी; क्रान्तिकारी विचारक र कालजयी थिए कार्ल मार्क्स । उनी क्रान्तिकारी विचारक; शिक्षक; समतावादी, सामूहिकतावादी समाजका आयोजक मानव इतिहासका महान् चिन्तक हुन्। उनका शिक्षा मानव मुक्तिसम्म सान्दर्भिक रहिरहनेछन्। अद्वितीय विश्व दृष्टिकोण र अन्तरदृष्टि; मानव मुक्तिप्रतिको अटल प्रतिबद्धता, दुःख र पीडा (शोषण) रहित समाज स्थापना गर्ने संकल्प र समर्पण थियो मार्क्समा । उनी संसारलाई बुझाउन मात्र होइन, यसलाई परिवर्तन गर्न पनि चाहन्थे। बर्लिन विश्वविद्यालयमा आफ्नो पीएचडी अध्ययनको क्रममा उनले सर्वहारा वर्गलाई इतिहासको नयाँ नायकको रूपमा पत्ता लगाएका थिए।मार्क्सको सम्पूर्ण जिन्दगी र वैचारिक कार्यको एकमात्र उद्देश्य श्रमजीवि वर्गको लडाइँलाई सही रूप र गति दिनु थियो।यसकारणले उनले जिन्दगीका अनेकौं जटिलताहरूलाई पनि कुनै ध्यान नदिइकन निरन्तर आफ्नो काममा लागिरहे।उनी युगौंयुगसम्म शोषित, पीडित र श्रमजीवहरूको हृदयमा रहिरहनेछन्। मार्क्सको सर्वहारा वर्गको राजनीतिक कार्यक्रम कम्युनिष्ट घोषणात्र, आर्थिक मन्दी पटक-पटक आइरहने विचार, पूँजीपतिको अकुत मुनाफा र एकाधिकार सम्बन्धी विचार, भूमण्डलीकरण र असमानताको विचार सदैव जीवित रहिरहनेछन्।अहिलेसम्म पनि सम्पूर्ण विश्वमा मार्क्सका विचारहरूको प्रभाव परिरहेको छ र मार्क्सवाद सम्पूर्ण कम्युनिष्ट आन्दोलनको केन्द्रमा रहेको छ।

सन्दर्भ ग्रन्थहरू

१) लेनिन – मार्क्स–एंगेल्स, प्रगति प्रकाशन मास्को

२) कार्ल मार्क्स – राहुल सांकृत्यायन, हिन्दी, किताब महल

३) विश्व सर्वहारा वर्गका महान गुरूहरूका उद्धरणहरू – नारायण गिरी, पैरवी बुक हाउस

४) आज के जमाने मे मार्क्स्वाद का महत्त्व – एजाज अहमद

५) कार्ल मार्क्सको जीवनी – एफगेनिया स्तेपानोभा,  अनुवाद राजेन्द्र मास्के, प्रगति पुस्तक प्रकाशन मास्को

६) कम्युनिष्ट पार्टीको घोषणापत्र – मार्क्स–एंगेल्स, प्रगित पुस्तक प्रकाशन मास्को

७) मार्क्स की पूँजी एक सरल परिचय – एडवर्ड एभेलिंग हिन्दी संस्करण, प्रकाशन संस्थान

८) कार्ल मार्क्स जीवनी और शिक्षाएँ  – Zelda_Kahan_Coates

९) अजेय र अमर जीवन बाँच्ने कार्ल मार्क्स – सिद्धीश्वरमान श्रेष्ठ, अक्षलोक प्रकाशन

१०)Engels_The_Death_of_Karl_Marx

११)An Encyclopedic Study of Marxist Philosophy – A C Molsey, Farsight publishers

१२) Karl Marx, Frederick Engels Collected Works volume 1-50

१३)Karl Marx A Biography – Yuri Sdobnikov, Progress Publishers, Mascow

१४) मार्क्सवादको मूल सिद्धान्त – जनेश्वर वर्मा,  विविध पुस्तक भण्डार

१५) मार्क्सवाद चिनारी पुस्तकमाला –  कृष्णदास श्रेष्ठ– पैरवी प्रकाशन

१६) मार्क्सवादी पार्टी दर्शन – मौरिस कर्नफोर्थ

१७) मार्क्स एंगेल्स रचना संग्रह सम्पूर्ण भाग १ देखि ४, नेपाली संस्करण, अनुवाद – राजेन्द्र मास्के, प्रगति प्रकाशन मास्को

१८) मार्क्सवादको पहिलो पुस्तक – सम्पादन भरतमोहन अधिकार, खोजी प्रकाशन गृह

१९) कार्ल मार्क्स र जोसेफ स्टालिनका अन्तर्वार्ताहरु – मोहन विक्रम सिंह

२०) मार्क्स्वाद क्या है – आनिल राजिमवाले

२१) मार्क्सवाद क्या है – एमिल वर्न्स, राहूल फाउण्डेसन

२२) पेरिस कम्युन – मार्क्स र एंगेल्स, अनुवाद – राजेन्द्र मास्के, प्रगति पुस्तक प्रकाशन मास्को

२३) इतिहासको भौतिकवादी व्याख्या – मार्क्स एंगेल्स, अनुवाद – रमेश सुनुवार, प्रगति पुस्तक सदन

२४)कार्ल मार्क्स समाजवादका मसिहा– डा. प्रकाश कान्त, हिन्दी पकेट बुक्स

२५) संस्कृतिको इतिहाससम्बन्धी भौतिकवादी धारणा- मार्क्स एंगेल्स, विविध पुस्तक भण्डार

२६) मार्क्सवादी दर्शन – मोहन वैद्य किरण, प्रगितशिल अध्ययन केन्द्र

२७) मार्क्सवादका आधारभूत सिद्धान्तहरु – नेपाली संस्करण, अनुवाद – रमेश सुनुवार, प्रगति पुस्तक सदन

२८) दर्शनको दरिद्रता – कार्ल मार्क्स, नेपाली संस्करण, अनुवाद – नारायण गिरी, विश्व नेपाली प्रकाशन



2 responses to “वैज्ञानिक समाजवाद-साम्यवादका प्रवर्तक कार्ल मार्क्सको संघर्षमय जीवनकाल र उनका महान कार्यहरू”

Leave a comment

About Me

I am a student of philosophy and nature. I thoroughly research all subjects and summarize them in Nepali and English. I am Secretary of Marxism Study-Research Academy, Nepal. I am a Social Worker. Education – i) Master of Arts Degree in Political Science – TU, ii) Master of Public Administration Degree – TU, iii) Master of Arts Degree in History-TU, iv) Master of Arts Degree in Nepalese History Culture and Archaeology-TU.

म अध्ययन-अनुसन्धान कार्यमा निस्वार्थ भावले निरन्तर लागेको एक वाम विचारधारायुक्त सामाजिक कार्यकर्ता हुँ। मेरो कुनै पनि राजनीतिक दलसँग संलग्नता नरहेको जानकारी गराउँदछु। मेरा हरेक अध्ययन-अनुसन्धान कार्य शोषण, दमन, अन्याय, अत्याचारका विरुद्ध हुनेछन् । आम श्रमजीवी, भोका-नांगा, गरीब, उत्पीडित जनसमुदायहरूलाई सुशिक्षित गर्ने प्रयत्न मेरो कर्तव्य हुनजान्छ । मेरा सबै कार्य जनहितका लागि हुनेछन् भन्ने आशा तथा विश्वासपूर्वक मैले निरन्तर कार्य अगाडि बढाइरहेको हुनेछु। श्रमप्रति सम्मान र शोषणप्रति घृणा नै मेरा कार्यका उद्देश्य हुनेछन्।  

यहाँ तपाईंहरू सबै प्रकारका सामग्रीहरू अध्ययन गर्न र हेर्न पाउनुहुनेछ । अध्ययन गर्नको लागि रूचियुक्त सामग्रीहरू माग गर्नुभयो भने यथासंभव परिपूर्तिसमेत गरिनेछ । यहाँ लेखरचना, पत्रपत्रिका, म्यागजिन,  जर्नल, विभिन्न पुस्तकहरू (नेपाली, अंग्रेजी र हिन्दी भाषामा), डकुमेन्ट्री, फिल्म, आदि सामग्रीहरू खोजेर पढ्न तथा हेर्न सक्नुहुन्छ।

I am a leftist social worker who is selflessly engaged in research work. I inform you that I am not affiliated with any political party. Every study-research work of mine will be against exploitation, oppression, injustice and tyranny. It is my duty to try to educate the common workers, the hungry, the poor, the oppressed masses. I will continue my work with the hope and confidence that all my work will be for public interest. Respect for labor and hatred for exploitation will be the objectives of my work.

Here you will find all kinds of content to study and watch. If you demand for interesting materials to study, they will be provided as much as possible. Here you can search and read articles, newspapers, magazines, journals, various books (in Nepali, English and Hindi languages), documentaries, films, etc.

श्रमको सम्मान गर्नुभएकोमा धन्यवाद ।

Thank you for respecting the labor.

Newsletter

Marxism-मार्क्सवाद

Communist history

Philosophy-दर्शन

लेनिन-LeninLeninism

दस्तावेज-documents

धर्म-दर्शन

त्रिपिटक–बुद्ध

गीता सार

Politics–राजनीति

ग्रन्थ परिचय

Mao-Maoism

साहित्य- literature

जीवनी-biography

साम्यवाद-communism

युवाबारे-On Youth

कार्ल मार्क्स–Karl Marx

फ्रेडरिक एंगेल्स–F. Engels

भी.आइ.लेनिन–V.I.Lenin

जे. भी. स्टालिन – J.V. Stalin

माओत्सेतुङ – Maotsetung

डिजिटल पुस्तकालय (digital library)

ई-पुस्तकालय -e-library

विज्ञान-प्रविधि (Science-Technology)

सामान्य ज्ञान (GK)

Documentaries and YouTube channels

पुस्तकालय – LIBRARY

नेपाली डिजिटल पुस्तकहरू (Nepali Digital Books)

नेपाली न्यूजपेपर, म्यागजिन र अनलाइन पत्रपत्रिकाहरू (Nepali Newspapers, Online and Nepali Magazines)

English Digital Books : Part – 1 (world communist special books)

English Digital Books : Part – 2

English Digital Books : Part – 3

हिन्दी डिजिटल पुस्तक (Hindi digital Books) भाग – १

हिन्दी डिजिटल पुस्तक (Hindi digital Books) भाग – २

हिन्दी डिजिटल पुस्तक (Hindi digital Books) भाग – ३

हिन्दी डिजिटल पुस्तक (Hindi digital Books) भाग – ४

हिन्दी डिजिटल पुस्तक (Hindi digital Books) भाग – ५

Documentaries and YouTube channels

Uncategorized

ENGLISH SECTION

Design a site like this with WordPress.com
Get started