लेनिन र रोजाको वैचारिक मतभेद – लेनिनका रचनाहरूमा आधारित एक अध्ययन

English मा पढ्नको लागि यो लिंकमा क्लिक गर्नुहोस् –

विनोद मिश्र

रोजा लक्जेम्बर्ग (१८७१-१९१९) ले पोल्याण्ड र जर्मनीको मजदूर आन्दोलनमा अत्यन्त विशिष्ट भूमिका निभाएकी थिइन्। उनी दोस्रो अन्तर्राष्ट्रियको वाम पक्षकी नेता थिइन्। उनी जर्मनीमा अन्तर्राष्ट्रिय समूहका प्रायोजकहरूममध्येमा एक थिइन्। पछि यो समूहको नाम स्पार्टाकस समूह भयो र अन्तमा स्पार्टाकस लीग भयो। उनी नोभेम्बर १९१८ को क्रान्तिको क्रममा क्रान्तिकारी जमर्न मजदूरहरूका नेताहरूमध्ये एक थिइन्। उनी जर्मनीको कम्युनिष्ट पार्टीको उदघाटन अधिवेशनमा सामेल भएकी थिइन्। जनवरी १९१९ मा उनलाई गिरफ्तार गरियो र हत्या गरियो।

रोजा र लेनिनको सम्बन्ध अत्यन्तै जटिल थियो। रूसी क्रान्तिका ठोस सवालहरूमा उनीहरूले आपसमा तीव्र राजनीतिक वाद-विवाद चलाए, तर अन्तर्राष्ट्रिय क्रान्तिकारी सामाजिक जनवादको मञ्चमा दुवै एकसाथ रहे। दुवैले साम्राज्यवादी युद्धको क्रममा दोस्रो अन्तर्राष्ट्रियका गद्दारहरूको विरूद्ध दृढतापूर्वक संघर्ष चलाए। लेनिनले रोजालाई भावपूर्ण श्रद्धान्जली अर्पण गर्दै उनको वर्णन ‘तेस्रो अन्तर्राष्ट्रियको सर्वश्रेष्ठ प्रतिनिधि’ को रूपमा गरेका छन्।

अहिले पश्चिमी मार्क्सवादी पंडितहरूको बीचमा रोजा लक्जेम्बर्गका विचारहरूमाथि फेरि बहसहरू शुरू भएका छन्। पूर्वीय देशहरूमा पनि विभिन्न प्रकारका विचारकले आफ्ना धारणाहरूको समर्थनमा रोजाका रचनाहरूको अन्धाधुन्ध प्रयोग गरिरहेका छन्।

केही समाजवादी लेखकहरूको भनाइ अनुसार सोभियत संघमा गोर्भाचेभका सुधारहरूद्वारा सबभन्दा बढी स्पष्ट रूपमा प्रकट भएका नोकरशाही विकृतिहरूको स्रोत रोजाद्वारा १९१८ मा जेलप्रवासको क्रममा लेखिएका पाण्डुलिपिहरूमा प्रकट गरिएका शंकाहरू अनुसार बोल्शेभिकद्वारा १९१७ मा अलोकतान्त्रिक तरीकाले सत्ता प्राप्त गर्ने र केन्द्रीयतामाथि आवश्यकताभन्दा बढी जोड दिने लेनिनवादी पद्धति हो।

त्यसपछि फेरि रोजाको प्रशंसा पार्टी-निर्माणको बारेमा लेनिनको ‘अति-केन्द्रीयतावादी’ पद्धतिको विरोधको लागि पनि गरिन्छ।

संक्षेपमा रोजा लक्जेम्बर्गको यो पुनर्जीवनको पछाडि लेनिनको विरूद्ध रोजालाई उभ्याउने सचेत कोशिस देखिन्छ। त्यसकारण, हामीले रोजा र लेनिनको बहुमुखी सम्बन्धहरूको बारेमा – उनीहरूका तीव्र मतभेदहरू र अन्तर्राष्ट्रियतावादी सर्वहारासुलभ एकतामाथि – एक दृष्टि दिनुपर्दछ र अन्तर्राष्ट्रिय मजदूर आन्दोलनका विभिन्न चरणहरूमा यी मतभेद र एकता कसरी प्रकट भए भन्ने कुरा हेर्नुपर्दछ।

)रोजा लक्जेम्बर्गले सन् १९१३ मा प्रकाशित आफ्नो प्रसिद्ध रचना पूँजीको संचयमा मार्क्सका मान्यताहरूको विरोध गरेकी छिन् र पूँजीवादी क्षेत्रमा उत्पन्न अतिरिक्त मूल्य पिछडिएका क्षेत्र र देशहरूको औपनिवेशीकरणको प्रक्रियाको माध्यमबाट प्राक्-पूँजीवादी क्षेत्रमा हासिल गरिन्छ भन्ने सिद्धान्तलाई सामुन्ने राखेकी छिन्।

आउनुहोस्, मार्क्सले अतिरिक्त मूल्य प्राप्तिको परिकल्पना कसरी गरे भन्ने कुरा हेरौं। मार्क्सका अनुसार कुनै पूँजीवादी देशको कुल उत्पादनका तीन भाग हुन्छन् : (क) स्थिर पूँजी, (ख) चल पूँजी र (ग) अतिरिक्त मूल्य। यसको अतिरिक्त मार्क्सले पूँजीवादी उत्पादनमा दुई प्रभुख विभागहरूको बीचमा फरक छुट्ट्याएका छन्। यी दुई विभाग हुन् : विभाग नं. १ मा उत्पादनका साधनहरूको उत्पादन हुन्छ र विभाग नं. २ मा उपभोक्ता सामग्रीहरूको उत्पादन हुन्छ।

अब अतिरिक्त मूल्यको केवल एक हिस्सा मात्र उपभोक्ता सामग्रीहरूमा सामेल हुन्छ, बाँकी हिस्सा उत्पादनका साधनहरूमा विद्यमान रहन्छ। उत्पादनका साधनहरूमा विद्यमान अतिरिक्त मूल्यको ‘उपभोग’ स्वयं पूँजीपति वर्गले गर्दछ, जुन (अतिरिक्त मूल्य) विस्तारित पुनरूत्पादनको लागि स्थिर पूँजीमा बदलिन्छ। पूँजीवादी उत्पादन-प्रणालीको यही सारतत्व हो, जसमा हरेक चक्रको अन्तमा स्थिर पूँजी बढ्दछ र उत्पादक शक्तिहरूको असीम विस्तार हुन्छ। पूँजीवादी समाजमा घरेलु बजार उपभोक्ता सामग्रीहरूको कारण त्यति बढ्दैन, जति उत्पादनका साधनहरूको कारण बढ्दछ। यसलाई मार्क्सको प्राप्तिको सिद्धान्त ( theory of realisation) भनिन्छ।

विदेशी बजारहरूको विकास ऐतिहासिक स्थितिको उपज हो, जुन पूँजीवादको विकासको एक खास क्रममा प्रकट भएको हुन्छ। विदेश व्यापारको भूमिकालाई हासिल गर्नुको अर्थ केवल एक देशको बदला कैयौं पूँजीवादी देशहरूमा संयुक्त रूपले विचार गर्नु हो र यसले कुनै पनि प्रकारले प्राप्तिको आवश्यक प्रक्रियालाई प्रभावित गर्दैन।

जहाँसम्म किसानहरूद्वारा पूँजीवादको लागि बजार उपलब्ध गराउने कुरा छ, उनीहरूले त्यही हदसम्म यसो गर्दछन्, जुन हदसम्म उनीहरू पूँजीवादी समाजका वर्गहरू, ग्रामीण पूँजीपतिहरू र ग्रामीण सर्वहारामा बदलिन्छन्। यी वर्ग त्यही पूँजीवादी समाजका अंग हुन्छन्। यदि पूँजीवादी कृषि क्षेत्रको विकास औद्योगिक क्षेत्रको तुलनामा धीमा गतिले हुन्छ, र यदि औद्योगिक र कृषि-मालहरूको मूल्यमा फरक हुन्छ भने यो पूँजीवादी समाजको संरचनानको सिद्धान्तसँग जोडिएको सवाल हो; पूँजीवादी समाजमा उत्पादनको प्राप्तिको सिद्धान्तसँग त्यसको कुनै सम्बन्ध जोडिंदैन।

लेनिनले रोजाको ब्रेमेर-बर्जर जाइटुङमा प्रकाशित भएको पुस्तकको एक समीक्षालाई उद्धृत गर्दै त्यसका सम्पादकलाई लेखेका थिए – “यो देखेर मलाई धेरै खुशी लागेको छ कि मुख्य बुँदाहरूमा तपाईं पनि त्यही निष्कर्षमा पुग्नुभएको छ, जसमा चौध वर्ष पहिले तुगान-बेरोनोभ्स्की र भोल्क्सटम्लरको विरूद्ध राजनीतिक वाद-विवाद चलाएको बेला म पुगेको थिएँ। अर्थात्, ‘विशुद्ध पूँजीवादी’ समाजमा पनि अतिरिक्त मूल्यको प्राप्ति संभव छ। मैले अहिलेसम्म रोजा लक्जेम्बर्गको पुस्तक देखेको छैन, तर तपाईं सैद्धान्तिक रूपमा यो बुँदामा सही हुनुहुन्छ। तर पनि मलाई के लाग्दछ भने तपाईंले मार्क्सको एक महत्त्वपूर्ण अवतरणमा बढी जोड दिनुभएको छैन, जहाँ मार्क्स भन्दछन् – वार्षिक रूपमा उत्पादित मूल्यको विश्लेषण गर्नमा विदेश व्यापारलाई पूर्ण रूपले छाँटिदिनुपर्दछ। लक्जेम्बर्गको  ‘द्वन्द्ववाद’ मलाई (लिपजिगर भोल्केजाइटुङमा प्रकाशित लेखको आधारमा विचार गर्दा पनि) सार संग्रहवाद लाग्दछ।” (लेनिन,  संकलित रचना, खण्ड- ३, जनवरी- १९१३)। एलबी कामनेभलाई एउटा पत्रमा लेनिले फेरि लेखे, “मैले रोजाको नयाँ पुस्तक पूँजीको संचय पढेको छु। उनी एक भारी दिग्भ्रममा फसेकी छिन्। म धेरै खुशी छु कि पान्नेकोएक, एक्सटीन र अटो बावेर, आदि सबैले  एकजुट भएर उनको दोषारोपण गरेका गरेका छन् र उनको विरूद्ध त्यही कुरा भनेका छन्, जुन मैले १८९९ मा नरोदवादीहरूको विरूद्धमा भनेको थिएँ।” (उही, खण्ड – ३५)।

) रोजा लक्जेम्बर्गले सन् १९०८-०९ मा प्रकाशित भएको राष्ट्रिय प्रश्न र स्वायत्तता शीर्षकको लेखमा राष्ट्रहरूको आत्मनिर्णयको अधिकार अर्थात् अलग हुने अधिकारको विरोध गरेकी थिइन्। काउत्स्कीको मान्यता के थियो भने राष्ट्रिय राज्य वर्तमान परिस्थितिहरूको लागि सबभन्दा उपयुक्त छ……र बहुराष्ट्रिय राज्य हमेशा यस्ता राज्य हुन्छन्, जसको आन्तरिक गठन कुनै न कुनै कारण असामान्य अथवा अर्ध-विकसित रहेको छ। रोजाले यो विचारको खण्डन गर्दै लेखिन्, “यो ‘सर्वोत्तम’ राष्ट्रिय राज्य केवल एक अमूर्त धारणा हो, जसलाई सैद्धान्तिक दृष्टिले विकसित गर्न तथा यसको पक्षमा तर्क दिन धेरै सजिलो छ, तर यसले वास्तविकतासँग मेल खाँदैन।” उनले साना राष्ट्रहरूको ‘आत्मनिर्णयको अधिकार’ ठूला-ठूला पूँजीवादी शक्तिहरूको विकास तथा साम्राज्यवादको कारण एक भ्रम बनेर रहेको छ भन्ने आशयको तर्क पनि राखिन्।

रोजाको विरूद्ध तर्क दिँदै लेनिनले बताए, “पूँजीवादी समाजमा राष्ट्रहरूको राजनीतिक आत्मनिर्णय र राज्यहरूको रूपमा तिनीहरूको स्वाधीनताको प्रश्नको स्थानमा रोजा लक्जेम्बर्गले उनीहरूको आर्थिक स्वाधीनताका प्रश्नहरूलाई ल्याएर राखिदिएकी छिन्।” (राष्ट्रहरूको आत्मनिर्णयको अधिकार, उही, खण्ड – २०)।

लेनिनले एशियाको उल्लेख गरेर के देखाए भने एशियामा उत्पादनको पूर्णतम् विकासका परिस्थितहरू पैदा भएको एकमात्र देश जापान हो, जुन एक स्वाधीन राष्ट्रिय राज्य हो।

लेनिनले भने, “राष्ट्रिय राज्य पूँजीवादको नियम तथा त्यसको ‘मानक’ हो, बहुराष्ट्रिय राज्य या त अवन्नतिको द्योतक हुन्छ अथवा अपवाद हुन्छ।” (उही)

रोजाले रूसबाट पोल्याण्डको स्वाधीनताको मागमाथि आपत्ति जनाइन्। उनको तर्क के थियो भने पोल्याण्डका तयारी माल रूसमा बिक्थे, यही कारणले पोल्याण्डको तीव्र औद्योगिक विकास भयो। उनले पोल्याण्डको लागि आत्मनिर्णयको बदला स्वायत्तताको सिफारिस गरिन्, त्यो पनि अपवादस्वरूप।

लेनिनले भने, “राज्य प्रणाली धेरै स्पष्ट रूपले प्राक्-पूँजीवादी ढंगको भएका कुनै यस्ता देशमा, राष्ट्रियताको रूपमा कुनै अलग प्रदेश हुन्छ, जहाँ पूँजीवादको विकास तीव्र गतिले भइरहेको हुन्छ भने त्यहाँ पूँजीवाद जति तीव्र गतिमा अघि बढ्नेछ, पूँजीवादी तथा प्राक्पूँजीवादी राज्यप्रणालीको अन्तर्विरोध पनि त्यति नै जोडदार बन्नेछ, र त्यति नै बढी कुन कुराको संभावना हुन्छ भने धेरै प्रगतिशील प्रदेश पूरा देशबाट अलग हुन्छ, जससँग त्यो प्रदेश ‘आधुनिक पूँजीवादी’ बन्धनहरूले होइन, बरू ‘एशियाली निरंकुशतावादी’ बन्धनहरूले बाँधिएको हुन्छ।” (उही)

रोजाले सामाजिक जनवादी मजदूर पार्टीको कार्यक्रममा धारा ९ सामेल गर्दा (जसमा राष्ट्रहरूको आत्मनिर्णयको अधिकारको बारेमा भनिएको थियो), आपत्ति प्रकट गरिन्। उनको भनाइ अनुसार धारा ९ ले “सर्वहारा वर्गको दैनिक नीतिको लागि कुनै व्यावहारिक निर्देशन दिँदैन, त्यसले राष्ट्रहरूका समस्याहरूको कुनै व्यावहारिक हल बताउँदैन।”

‘व्यावहारिकता’ को प्रश्नमा लेनिनको भनाई थियो – “पूँजीपति वर्गले आफ्ना राष्ट्रिय मागहरूलाई सँधैभरी सर्वोपरी स्थान दिन्छ र यस्तो दुई तरीकाले गर्दछ। तर सर्वहारा वर्गको लागि यी मागहरू वर्गसंघर्षका हितको अधिनमा हुन्छन्। सिद्धान्ततः तपाईं पहिलेदेखि नै कुनै राष्ट्र अलग भएपछि वा अन्य राष्ट्रकै जस्तो बराबर अधिकार प्राप्त गरेपछि पूँजीवादी-जनवादी क्रान्ति समाप्त हुनेछ भन्न सक्नुहुन्न; दुवै रूपमा सर्वहारा वर्गको लागि महत्त्वपूर्ण कुरा के हो भने उसले आफ्नो वर्गको विकासलाई सुनिश्चित गर्नुपर्दछ…….यही कारणले गर्दा कुनै राष्ट्रलाई सुनिश्चित नगरीकन, कुनै अन्य राष्ट्रको हितको मूल्यमा त्यसलाई केही दिने समहति बिना सर्वहारा वर्गले आफूलाई आत्मनिर्णयको अधिकारलाई स्वीकार गर्ने नकारात्मक मागसम्म मात्र सीमित राख्दछ। यो माग ‘व्यावहारिक’ हुने कुरा पनि संभव छ, तर यो सबै संभव हलहरूमा सबभन्दा बढी जनवादी हल प्राप्त गर्ने सबभन्दा राम्रो सुनिश्चतता हो।” (उही)

पोल्याण्डमा राष्ट्रवादको विरूद्ध संघर्षको धारामा बहेर र पोल्याण्डको राष्ट्रवादी पूँजीवादी वर्गको ‘सहायता’ नगर्ने चिन्तामा रोजाले रूसी मार्क्सवादीहरूको कार्यक्रममा अलग हुने अधिकारलाई अस्वीकार गरिन्। उनका अनुसार अलग हुने अधिकारको समर्थन गर्नु उत्पीडित राष्ट्रहरूको पूँजीवादी राष्ट्रवादको समर्थन गर्नु हो।

लेनिनका अनुसार कुनै उत्पीडित राष्ट्रको पूँजीवादी राष्ट्रवादमा एक आम जनवादी तत्व हुन्छ, जुन उत्पीडितको विरूद्धमा निर्देशित हुन्छ र हामी यो तत्वको बिनाशर्त समर्थन गर्दछौं। साथै लेनिनले के कुरामाथि पनि जोड दिए भने हामीले राष्ट्रिय पृथकतावादको हरेक प्रवृत्तिको अवश्य विरोध गर्नुपर्दछ।

लेनिनले अगाडि बताए, “यो कुरालाई बुझ्न कठिन छ कि यदि सम्पूर्ण रूसका मार्क्सवादी र सर्वोपरी वृहत्तर रूसी मार्क्सवादी राष्ट्रहरूको अलग हुने अधिकारलाई स्वीकार गर्दछन् भने यसको अर्थ कुनै पनि प्रकारले कुनै उत्पीडित राष्ट्र विशेषका मार्क्सवादीहरूलाई अलग हुने कुराको विरूद्ध आन्दोलन चलाउने अधिकार रहँदैन भन्ने हुँदैन, बिल्कुल त्यस्तै, जस्तो सम्बन्ध विच्छेदको अधिकारलाई स्वीकार गर्नुको अर्थ कुनै खास मामिलामा समबन्ध विच्छेदको विरुद्ध आन्दोलन नै नचलाउने कदापि हुँदैन।” (उही)

तथापि, लेनिनको लागि आत्मनिर्णयको अधिकार केन्द्रीकरणको आम परिप्रेक्ष्यको अपवाद हो। “प्रतिक्रियावादी वृहत्तर रूसी राष्ट्रवादलाई मध्येनजर राख्दै यो अपवाद निस्सन्देह आवश्यक हुन्छ, र यो अपवादलाई अस्वीकार गर्नु अवसरवाद हो (जस्तो कि रोजा लक्जेम्बर्गको मामिलामा); र यसको अर्थ प्रतिक्रियावादी वृहत्तर रूसी राष्ट्रवादको हातमा मूर्खतापूर्ण खेलौना बन्नु हो। तर अपवादलाई व्यापक रूपमा घट्ने घटना कहिल्यै बनाउनु हुँदैन। यस मामिलामा, त्यो अलग हुने अधिकारभन्दा बढी केही पनि होइन र न हुन्छ नै ।” (एसजी शानमानलाई पत्र, लेनिन संकलित रचना, खण्ड – १९।)

लेनिन र रोजा दुवै मार्क्सवादी भएको कारणले कुन कुरामा एकमत थिए भने पूँजीवादी समाजमा सारा प्रमुख तथा महत्त्वपूर्ण आर्थिक र राजनीतिक प्रश्न पृथक-पृथक प्रदेशहरूका स्वायत्त विधानसभाहरूद्वारा होइन, बरू सम्पूर्ण सम्बन्धित देशका केन्द्रीय संसदहरूद्वारा नै समाधान गरिनुपर्दछ। लेनिनले भने, “मार्क्सवादीले कहिल्यै पनि र कुनै पनि रूपमा न त संघको सिद्धान्तको र न विकेन्द्रीकरणको समर्थन गर्नेछन्। ठूलो केन्द्रीकृत राज्य मध्ययुगीन अनैक्यताबाट सम्पूर्ण विश्वको भावी समाजवादी एकतातिर एक विशाल ऐतिहासिक कदम हो र मात्र यस्तै राज्य (पूँजीवादसँग अटुट रूपले जोडिएका) भएर गुज्रिने मार्गको अतिरिक्त समाजवादको अर्को कुनै मार्ग छैन र न हुन नै सक्दछ।”(राष्ट्रहरूको प्रश्नमाथि आलोचनात्मक टिप्पणीहरू, उही खण्ड – २०।)

लेनिनले जोड दिंदै भनेका छन् – केन्द्रीयताको वकालत गरेको बेलामा मार्क्सवादीहरू एकमात्र जनवादी केन्द्रीयताको वकालत गर्दछन्। जनवादी केन्द्रीयताले स्पष्टतः विशिष्ट आर्थिक तथा सामाजिक लक्षण, जनसंख्याको विशेष राष्ट्रिय गठन, आदि भएका प्रदेशहरूको लागि स्वायत्ततासमेत स्थानीय स्वशासनको माग गर्दछ।

शानमानको नाममा एक पत्रमा लेनिनले लेखे, “स्वायत्तताको अधिकार ? तपाईं फेर गल्ती  गरिरहनु भएको छ। हामी त सबै क्षेत्रको लागि स्वायत्तताको पक्षधर हौं; हामी अलग हुने अधिकारको पक्षमा छौं, (तर हामी प्रत्येकको अलग हुने अधिकारको पक्षपोषण गर्दैनौं।) स्वायत्तता हाम्रो योजना हो, जसबाट हामी एक जनवादी राज्य संगठित गर्नेछौं। अलग हुनु तर बिल्कुल हाम्रो योजना होइन। हामी अलग हुने कुराको वकालत गर्दैनौं। सामान्यतः हामी अलग हुने कुराको विरोध गर्दछौं।” (उही, खण्ड -१९)। लेनिनका अनुसार, “(स्थानीय तथा प्रादेशिक) स्वायत्तताले केन्द्रीयताको सिद्धान्तको उल्लंघन गर्दैन, जुन पूँजीवादको विकासको लागि अपरिहार्य छ, तर यसको विपरीत त्यसलाई नोकरशाही ढंगले होइन, बरू जनवादी ढंगले लागू गर्दछ। यस्तो स्वायत्तता बिना (जसले देशव्यापी परिणामा पूँजीको संकेन्द्रण, उत्पादक शक्तिहरूको विकास, पूँजीपति वर्गको एकता र सर्वहारा वर्गको एकतालाई सुगम बनाउँदछ) पूँजीवादको व्यापक, मुक्त तथा द्रूत विकास असंभव हुन्छ वा कम्तीमा बढी अवरोधित हुन्छ; त्यसकारण विशुद्ध स्थानीय (प्रादेशिक, राष्ट्रिय, आदि) प्रश्नहरूमा नोकरशाहीको हस्तक्षेप आम रूपमा आर्थिक र राजनीतिक विकासको तथा खासगरी गम्भीर, महत्त्वपूर्णता एवम् आधारभूत मामिलाहरूमा केन्द्रीयताको मार्गमा सबभन्दा ठूला अवरोधहरूमध्ये एक हो।” (राष्ट्रहरूको प्रश्नमाथि आलोचनात्मक टिप्पणीहरू, उही, खण्ड – २०।)

यस परिप्रेक्ष्यमा लेनिनले स्वायत्तताको मागलाई केवल पोल्याण्ड र त्यो पनि केवल अपवादस्वरूप लागू गर्ने दुराग्रहको लागि रोजालाई गाली गरे र उनीसँग सोधे, “केवल पाँच लाखको होइन, बरू पचास हजारसम्मको जनसंख्या भएका स्वायत्त राष्ट्रिय क्षेत्र किन हुन सक्दैनन्, यस्ता क्षेत्र विभिन्न आकारयुक्त नजिकका क्षेत्रहरूसँग सर्वथा विविध तरीकाले एकै स्वायत्त ‘क्षेत्र’ किन एकताबद्ध हुन सक्दैनन्, यदि यो आर्थिक विनिमयको लागि सुविधाजनक वा आवश्यक हुन्छ भने ?” (उही)

)सन् १९०३ मा रूसी सामाजिक-जनवादी मजदूर पार्टीको दोस्रो महाधिवेशनपछि एकातिर औपचारिक रूपमा पार्टी एकताबद्ध भयो तर अर्कोतिर, त्यो ‘बहुमत’ (वोल्शेभिक) र ‘अल्पमत’ (मेन्शेभिक) मा बाँडियो। महाधिवेशनको तुरून्तै पछि सह-विकल्पमा विवाद खडा गरी यो विभाजनमा निहित सिद्धान्तलाई धुमिल बनाइयो। अल्पमतले तीन भूतपूर्व सम्पादकहरूलाई पुनः सामेल नगरेसम्म काम नगर्ने भन्यो। दुई महिनासम्म चलेको यो संघर्षमा ‘अल्पमत’ ले बहिष्कार गर्ने र पार्टीको कामकाजमा अवरोध पुर्याउने हतियारको प्रयोग गर्यो। अल्पमतले पार्टीको मुखपत्र इस्क्रामा आफ्नो कुरा राख्ने लेनिन र प्लेखानोभको प्रस्तावलाई अस्वीकार गर्यो र केन्द्रीय निकायका सदस्यहरूलाई नोकरशाह, निरंकुश, पुलिस, झुट, आदि भनेर व्यक्तिगत अपमान र दुर्व्यवहारको सहारा लियो। उनीहरूमाथि  व्यक्तिगत पहलकदमीको दमन गरेको, अन्धो जसरी आज्ञापालन गरेको जस्ता आरोपहरू लगाइयो। यद्यपि प्लेखानोभले अल्पमतको अराजकतावादी विचारको निन्दा गरे, तथापि उनले ‘के गर्नु हुँदैन’ शीर्षकको एउटा लेखमा संसोधनवादसँग संघर्ष गर्नुको अर्थ संशोधनवादीहरूसँग लड्नु जरूरी छैन भने। उनले अगाडि भने – हामीले रूसी क्रान्तिकारीहरूमा यति गहिराइपूर्वक बसेको अराजकतावादी व्यक्तिवादको विरूद्धमा सँधैं चिढ्याउनु हुँदैन, बरू कहिलेकाहीँ त्यसलाई शान्त बनाउन तथा पार्टीलाई  फुटबाट बचाउनको लागि केही अधिकार दिनु धेरै राम्रो तरीका हो। तर प्लेखानोभका विचारहरूसँग सहमत हुन सकेनन् र उनीहरूले सम्पादक मण्डलबाट राजीनामा दिए। अल्पमतका सम्पादकहरूलाई सहयोजित गरियो। शान्ति स्थापनाको लागि लेनिनको सुझाव के थियो भने केन्द्रीय मुखपत्र अल्पमतको कब्जामा रहोस र केन्द्रीय कमिटी बहुमतको, तर उनको यो प्रस्तावलाई अस्वीकारियो। अल्पमतले सम्पूर्ण लडाइँ नोकरशाही, अतिकेन्द्रीयता, औपचारिकता, इत्यादिको विरूद्ध ‘सैद्धान्तिक’ संघर्षको नाममा लडे। यही अवसरमा लेनिनले आफ्नो प्रसिद्ध रचना ‘एक कदम अगाडि, एक कदम पछाडि’ लेखेका थिए। उनले महाधिवेशनमा भएका विवादहरूको विश्लेषण गर्दै बोल्शेभिक र मेन्शेभिकहरू बीचको यो नयाँ विभाजन पार्टीको सर्वहारा क्रान्तिकारी र बुद्धिजीवी अवसरवादी शाखाहरूको बीचको पुरानो विभाजनकै अर्को रूप हो भन्ने कुरा देखाए।

रोजा लक्जेम्बर्गको सहानुभूति पूर्ण रूपले मेन्शेभिकहरूसँग थियो। उनले लेनिनको आलोचना गर्दै उनको पुस्तकलाई ‘कट्टर केन्द्रीयतावादी’ विचारहरूको सुस्पष्ट र विस्तृत अभिव्यक्ति भनिन्। रोजाको बुझाइ के थियो भने रूसी सामाजिक-जनवादीहरूको बीचमा एकताबद्ध पार्टीको आवश्यकतामा कुनै मतभेद थिएन, समग्र विवाद केन्द्रीयताको मात्रामा थियो। ‘अतिकेन्द्रीयता’ को वकालतकर्ता भएकाले उनले लेनिनलाई गाली गरिन् र जोड दिएर के भनिन् भने केन्द्रीयताको मात्रा विस्तारै-विस्तारै बढाइनुपर्दछ।

लेनिनले रोजा लक्जेम्बर्गलाई पत्युत्तरमा भने – रूसी पार्टीभित्र विवाद “मुख्यतः कुन कुरामा छ भने केन्द्रीय कमिटी र केन्द्रीय मुखपत्रले पार्टी-महाधिवेशनको बहुमतको प्रवृत्तिको प्रतिनिधि हुनुपर्दछ अथवा पर्दैन………तपाईं के पार्टीका केन्द्रीय संस्थाहरूमा पार्टी महाधिवेशनको अल्पमतकै हावी रहनु नै मुख्य कुरा हो भन्ने ठान्नुहुन्छ ? तपाईं के यस्तो कल्पनासम्म पनि गर्न सक्नु हुन्छ? तपाईंले के कुनै अन्य पार्टीभित्र यस्तो भएको देख्नुभएको छ ?” (लेनिन संकलित रचना, खण्ड – ७)

“कमरेड लक्जेम्बर्ग एक विशाल र अतिकेन्द्रीकृत पार्टीको निर्माणका सम्पूर्ण परिस्थितिहरू रूसमा विद्यमान छन् भन्ने विचार मेरो मुखमा ठोसिरहेकी छन्। फेरि एक तथ्यात्मक गल्ती,  मैले आफ्नो किताबमा यो विचारको वकालत गर्नु त टाढाको कुरा, यसको उल्लेख पनि गरेको छैन। मैले त्यसमा जुन सिद्धान्तलाई राखेको छु, त्यसबाट अरू नै केही कुरा स्पष्ट हुन्छ। मैले के कुरामा जोड दिएको थिएँ भने पार्टी-महाधिवेशनका निर्णयहरू लागू हुनेछन् भन्ने कुराको आशा गर्ने सम्पूर्ण स्थितिहरू विद्यमान छन् तथा निजी मण्डलीहरूद्वारा पार्टी संस्थाहरूको ठाउँ लिने जमाना बितिसकेको छ। मैले हाम्रो पार्टीका केही विद्वान अस्थिर र ढुलमुले देखिएका प्रमाण पेश गरेँ। उनीहरूलाई आफ्नो अनुशासनहीनताको लागि रूसी सर्वहारालाई उत्तरदायी ठहराउने कुनै हक छैन। रूसी मजदूरहरूले पटक-पटक, विभिन्न अवसरहरूमा, पार्टी महाधिवेशनका निर्णयहरू पालन गर्ने घोषणा गरेका छन्।” (उही)

लेनिनले रोजामाथि रूसी सामाजिक-जनवादी मजदूर पार्टीभित्र चलिरहेको संघर्षका ठोस तथ्यहरूको उपेक्षा गरेको तथा अमूर्तीकरणमा डुबेको र यसरी मार्क्सवादी द्वन्द्ववादलाई विकृत गरेको आरोप लगाए।

यद्यपि, पछि बोल्शेभिकहरूले रोजा लक्जेम्बर्ग र कार्ल काउत्स्कीलाई आफ्नो दृष्टिकोणको पक्षमा बनाए। लेनिनले सन् १९०९ मा भने,”उनीहरू बोल्शेभिकहरूको पक्षमा आए। बोल्शेभिकहरू आफ्ना कुराहरूमा, अवश्य उपदलीय सिद्धान्तहरूमा डटिरहून् भनेर होइन, बरू बोल्शेभिकहरूले क्रान्तिकारी सामाजिक-सामाजिक कार्यनीतिको आम भावना र  अर्थलाई बुलन्द गरून् भनेर हो।” (लेनिन संकलित रचना, भाग-६।)

)रूसमा सन् १९०५ को क्रान्तिले सोभियत सत्ता र सर्वहारा अधिनायकत्वको व्यावहारिक अनुभवलाई सतहमा ल्याइदियो। मेन्शेभिकहरूको विपरीत, रोजाले तुरून्त यसको महत्त्वलाई बुझिन् र सभा तथा प्रेसमा यसको आलोचनात्मक विश्लेषण गरिन्।

)सन् १९१३ समापनवादीहरू (liquidators) प्रतिको दृष्टिकोणको प्रश्नमा रोजा र लेनिन पुनः एक-अर्कोको विरोधमा उभिए।

रोजाको मान्यता के थियो भने रूसी पार्टीमा जे भइरहेको छ,  त्यसलाई दलीय झगडाको कारण उत्पन्न पृथकता नै भन्न सकिन्छ। उनले लेनिनवादी समूहमाथि फुटलाई बढावा दिनमा सबभन्दा बढी सक्रिए भएको आरोप लगाइन्। उनी के ठान्थिन् भने रूसी पार्टीभित्र विद्यमान मतभेदहरूले संयुक्त कार्वाहीहरूको संभावनालाई नष्ट गरिदिएको छ तथा सहमति र सम्झौताहरूको माध्यमबाट एकताको पुनर्स्थापना गर्न संभव छ। उनले सेप्टेम्बर १९१३ मा यो आशयको एक प्रस्ताव अन्तर्राष्ट्रिय समाजवादी ब्यूरोलाई पठाएकी थिइन्।

लेनिनको यस मतसँग तीक्ष्ण मतभेद थियो। उनले पटक-पटक  भने, रूसमा जे भइरहेको छ, त्यसलाई दलीय झगडाबाट उत्पन्न अव्यवस्था भन्न सकिंदैन, त्यो त समापनवादीहरूको विरूद्धमा संघर्ष हो। लेनिनले के दावी गरे भने यही संघर्षको माध्यमबाट मजदूरहरूको वास्तविक समाजिक-जनवादी पार्टीको निर्माण भइरहेको छ र वर्गसचेत मजदूरहरूको भारी बहुमत (तिनीहरूको असी प्रतिशत) पार्टी लाइनको पक्षमा आएको छ।

ब्रशेल्स सम्मेलनमा पेश गरिएको आफ्नो रिपोर्टमा लेनिनले पार्टीको १९०८ को एक प्रस्तावबाट एक अंश उदृत गरेका थिए। यसमा समापनवादको परिभाषाको रूपमा भनिएको थियो, “पार्टीका केही बुद्धिजीवीहरूद्वारा रूसी सामाजिक-जनवादी मजदूर पार्टीको विद्यमान संगठनको समापन गर्न र त्यसलाई कुनै पनि मूल्यमा, यहाँसम्म कि पार्टीको कार्यक्रम, कार्यनीति र परम्पराहरूको खुल्लमखुला तिलाञ्जली दिएर भए पनि, कानूनी सीमाभित्र काम गर्ने एक ढीलाढाला संगठनमा बदल्ने प्रयास हो।” (उही, खण्ड – २०।)

लेनिनले अगाडि भने, “पश्चिम यूरोपमा कहीँ पनि कुनै व्यक्तिलाई आफ्नो पार्टी सदस्यता कायम राख्नुको साथसाथै पार्टीलाई भंग गर्न, पार्टी बेकार र अनावश्यक छ तथा यसको बदला अर्को पार्टी कायम गरियोस् भन्ने कुराको वकालत गर्ने अनुमति छ कि छैन भन्ने प्रश्न कहिल्यै उठेन र न कहिल्यै उठ्न सक्दछ। पश्चिमी यूरोपमा कहीँ पनि पार्टीको अस्तित्वको प्रश्न यसरी विद्यमान छैन, जसरी यहाँ विद्यमान छ अर्थात् पार्टी रहोस् या नरहोस् भन्ने प्रश्न।”

“यो असहमति पार्टी निर्माण कसरी हुनुपर्दछ भन्ने संगठनको प्रश्नमा असहमति होइन, बरू असहमति पार्टीको अस्तित्वमा हो। यहाँ पुनर्मिलन, राजीनामा र सम्झौताको कुनै सवाल नै उठ्दैन।” (उही)

) साम्राज्यवादी युद्ध शुरू हुने वित्तिकै दोस्रो अन्तर्राष्ट्रिय र जर्मन सामाजिक-जनवादी पार्टीमा हावी भएका  काउत्स्कीपन्थीहरूले सामाजिक अन्धराष्ट्रवादी स्थिति अपनाए। उनीहरूले यो लुटेरा युद्धमा आ-आफ्ना देशका पूँजीपतिहरूको समर्थन गर्ने वकालत गरे। रोजा लक्जेम्बर्गले यो लाइनको कठोर विरोध गरिन् र सामाजिक-जनवादलाई ‘दुर्गन्धित लाश’ को संज्ञा दिइन्।

मेन्शेभिकहरूले रूसमा केरेन्स्कीको आक्रमणको समर्थन गर्दा रोजाले ‘रूसी क्रान्तिको अन्तर्राष्ट्रिय अन्तर्वस्तुलाई कमजोर गरिदिएकोले’ उनीहरूको तीखो आलोचना गरिन्।

लेनिनले रोजाको सम्मान गर्दै उनलाई महान अन्तर्राष्ट्रियतावादी भने तथा दोस्रो अन्तर्राष्ट्रियको पतन पछि एक नयाँ अन्तर्राष्ट्रियको निर्माण गर्नको लागि दुवैले मिलेर काम गरे।

) रोजालाई बोल्शेभिकहरूले सत्तामाथि कब्जा गरेको १९१७ को नोभेम्बर क्रान्तिको बारेमा केही शंका थिए। उनको विचारमा सत्ताप्राप्तिको प्रक्रिया गैरजनवादी थियो,र केन्द्रीयतामा आवश्यकताभन्दा बढी जोड दिने लेनिनवादी पद्धतिको बारेमा उनको भिन्नमत थियो। रोजाको बुझाइ के थियो भने यसबाट तलदेखि मजदूरहरूको पहलकदमीको गला घोटिनेछ र नोकरशाही विकृतिहरूको उदय हुनेछ। यी विचार १९१८ मा उनको जेल प्रवासको क्रममा लिखित पाण्डुलिपिहरूमा पाइन्छन्।

तथापि रोजालाई अत्यन्तै नजिकैबाट चिन्ने क्लारा जेटकिनले दिएको प्रमाण अनुसार डिसेम्बर १९१८ मा जेलबाट रिहा भएपछि रोजाले उनका विचार गलत र अधुरा सूचनाहरूमा आधारित थिए भन्ने कुरा स्वीकार गरेकी थिइन्।

) रोजा लक्जेम्बर्ग र कार्ल लिब्नेख्तले जर्मनका सामाजिक-जनवादी गद्दारहरूको विरूद्धमा तीखो संघर्ष चलाएका थिए तथा जर्मन कम्युनिष्ट पार्टीलाई पुनर्गठित गरेका थिए र उनीहरू जर्मनीको नोभेम्बर १९१८ को क्रान्तिको अग्रपंक्तिमा डटिरहे।

१५ जनवरी १९१९ मा सामाजिक-जनवादीको सरकारको गोप्य समर्थनबाट श्वेत गार्डहरूले रोजा र कार्ल लिब्नेख्तको निर्ममतापूर्वक हत्या गरिदिए।

उनीहरूको हत्यापछि आयोजित एक विरोध र्यालीमा लेनिनले आफ्नो वक्तव्यमा भने, “आज पूँजीपतिहरू र सामाजिक जनवादी गद्दार बर्लिनमा खुशी मनाइरहेका छन्, उनीहरूले कार्ल लिब्नेख्त र रोजा लक्जेम्बर्गको हत्या गर्नमा सफलाता प्राप्त गरेका छन्। लुट र स्वार्थमा चार वर्षदेखि मजदूरहरूको कत्लेआम गर्दै आइरहेका एलबर्ट र शीदेमानले अब सर्वहारा वर्गका नेताहरूको विरूद्धमा कसाइको भूमिका निर्वाह गरे। जर्मन क्रान्तिको उदाहरणले के सिद्ध गर्दछ भने ‘जनवाद’ पूँजीवादी डकैती र सर्वाधिक बर्बरतापूर्ण हिंसाको लागि केवल आड हो। कसाइहरूको नाश होस्।”

सन् १९२२ मा जर्मन मेन्शेभिक पल लेभीले रोजा लक्जेम्बर्गका खासगरी ती रचनाहरूलाई पुनर्प्रकाशित गर्ने योजना बनाए, जहाँ लेनिनसँग उनको मतभेद थियो। त्यसपछि लेनिनले के टिप्पणी गरे भने लेभीको इच्छा पूँजीपतिहरू र दोस्रो तथा अढाइऔं अन्तर्राष्ट्रियका नेताहरूको कृपादृष्टि प्राप्त गर्नु हो।

लेनिनले लेखे – “हामी यसको जवाफ एक रूसी भनाइका दुई पंक्तिहरू उद्दृत गरेर दिन्छौं, बाज कहिलेकाहीँ कुखुराभन्दा पनि तल उड्दछ तर कुखुरा बाजको उचाइसम्म कहिल्यै उड्न सक्दैन। रोजा लक्जेम्बर्गले पोल्याण्डको स्वाधीनताको प्रश्नमा गल्ती गरिन्, उनले १९०३ मा मेन्शेभिकवादको मूल्याङ्कन गर्नमा गल्ती गरिन्, उनले पूँजीको संचयको सिद्धान्तको बारेमा गल्ती गरिन्, जुलाई १९१४ मा उनले प्लेखानोभ, वान्डरवार्ल्ड, काउत्स्की र अन्यसँग मिलेर बोल्शेभिकहरू र मेन्शेभिकहरूको एकताको वकालत गर्दा गल्ती गरिरहेकी थिइन्, र १९१८ मा जेलप्रवासको क्रममा उनले लेखेका कुराबाट गल्ती गरिन्।(उनले जेलबाट छुटेपछि १९१८ को अन्तिम र १९१९ को शुरूवातमा आफ्ना अधिकांश गल्तीहरूलाई सुधार गरेकी थिइन्।) तर आफ्ना गल्तीहरूको बाबजुद उनी हाम्रो लागि बाज थिइन् र हुन्। संसारमा सम्पूर्ण कम्युनिष्टहरूले उनलाई केवल सदैव स्मरण मात्र गर्दैनन्, बरू उनको जीवनी र उनका सम्पूर्ण रचना संकलनले कम्युनिष्टहरूका कैयौं पुस्ताहरूलाई प्रशिक्षित गर्नमा उपयोगी ग्रन्थको काम गर्नेछन्।”

‘४ अगस्ट १९१४ बाट जर्मन सामाजिक जनवाद एक दुर्गन्धित लाशमा बदलिएको छ’ – यो वक्तव्यले रोजा लक्जेम्बर्गलाई अन्तर्राष्ट्रिय मजदूर आन्दोलनमा प्रशिद्ध बनाइदिएको छ र मजदूर आन्दोलनको पछिल्तिर फोहोरको डंगुरमा पल लेभी, शीदेमान, काउत्स्की जस्ता कुखुराहरू र तिनीहरूका बन्धुहरू यी महान कम्युनिष्टद्वारा गरिएका गल्तीहरूमा अवश्य बर्बराइरहनेछन्। (लेनिन, संकलित रचना, खण्ड-३३)

स्रोतhttps://www.marxists.org/reference/archive/mishra



2 responses to “लेनिन र रोजाको वैचारिक मतभेद – लेनिनका रचनाहरूमा आधारित एक अध्ययन”

Leave a comment

About Me

I am a student of philosophy and nature. I thoroughly research all subjects and summarize them in Nepali and English. I am Secretary of Marxism Study-Research Academy, Nepal. I am a Social Worker. Education – i) Master of Arts Degree in Political Science – TU, ii) Master of Public Administration Degree – TU, iii) Master of Arts Degree in History-TU, iv) Master of Arts Degree in Nepalese History Culture and Archaeology-TU.

म अध्ययन-अनुसन्धान कार्यमा निस्वार्थ भावले निरन्तर लागेको एक वाम विचारधारायुक्त सामाजिक कार्यकर्ता हुँ। मेरो कुनै पनि राजनीतिक दलसँग संलग्नता नरहेको जानकारी गराउँदछु। मेरा हरेक अध्ययन-अनुसन्धान कार्य शोषण, दमन, अन्याय, अत्याचारका विरुद्ध हुनेछन् । आम श्रमजीवी, भोका-नांगा, गरीब, उत्पीडित जनसमुदायहरूलाई सुशिक्षित गर्ने प्रयत्न मेरो कर्तव्य हुनजान्छ । मेरा सबै कार्य जनहितका लागि हुनेछन् भन्ने आशा तथा विश्वासपूर्वक मैले निरन्तर कार्य अगाडि बढाइरहेको हुनेछु। श्रमप्रति सम्मान र शोषणप्रति घृणा नै मेरा कार्यका उद्देश्य हुनेछन्।  

यहाँ तपाईंहरू सबै प्रकारका सामग्रीहरू अध्ययन गर्न र हेर्न पाउनुहुनेछ । अध्ययन गर्नको लागि रूचियुक्त सामग्रीहरू माग गर्नुभयो भने यथासंभव परिपूर्तिसमेत गरिनेछ । यहाँ लेखरचना, पत्रपत्रिका, म्यागजिन,  जर्नल, विभिन्न पुस्तकहरू (नेपाली, अंग्रेजी र हिन्दी भाषामा), डकुमेन्ट्री, फिल्म, आदि सामग्रीहरू खोजेर पढ्न तथा हेर्न सक्नुहुन्छ।

I am a leftist social worker who is selflessly engaged in research work. I inform you that I am not affiliated with any political party. Every study-research work of mine will be against exploitation, oppression, injustice and tyranny. It is my duty to try to educate the common workers, the hungry, the poor, the oppressed masses. I will continue my work with the hope and confidence that all my work will be for public interest. Respect for labor and hatred for exploitation will be the objectives of my work.

Here you will find all kinds of content to study and watch. If you demand for interesting materials to study, they will be provided as much as possible. Here you can search and read articles, newspapers, magazines, journals, various books (in Nepali, English and Hindi languages), documentaries, films, etc.

श्रमको सम्मान गर्नुभएकोमा धन्यवाद ।

Thank you for respecting the labor.

Newsletter

Marxism-मार्क्सवाद

Communist history

Philosophy-दर्शन

लेनिन-LeninLeninism

दस्तावेज-documents

धर्म-दर्शन

त्रिपिटक–बुद्ध

गीता सार

Politics–राजनीति

ग्रन्थ परिचय

Mao-Maoism

साहित्य- literature

जीवनी-biography

साम्यवाद-communism

युवाबारे-On Youth

कार्ल मार्क्स–Karl Marx

फ्रेडरिक एंगेल्स–F. Engels

भी.आइ.लेनिन–V.I.Lenin

जे. भी. स्टालिन – J.V. Stalin

माओत्सेतुङ – Maotsetung

डिजिटल पुस्तकालय (digital library)

ई-पुस्तकालय -e-library

विज्ञान-प्रविधि (Science-Technology)

सामान्य ज्ञान (GK)

Documentaries and YouTube channels

पुस्तकालय – LIBRARY

नेपाली डिजिटल पुस्तकहरू (Nepali Digital Books)

नेपाली न्यूजपेपर, म्यागजिन र अनलाइन पत्रपत्रिकाहरू (Nepali Newspapers, Online and Nepali Magazines)

English Digital Books : Part – 1 (world communist special books)

English Digital Books : Part – 2

English Digital Books : Part – 3

हिन्दी डिजिटल पुस्तक (Hindi digital Books) भाग – १

हिन्दी डिजिटल पुस्तक (Hindi digital Books) भाग – २

हिन्दी डिजिटल पुस्तक (Hindi digital Books) भाग – ३

हिन्दी डिजिटल पुस्तक (Hindi digital Books) भाग – ४

हिन्दी डिजिटल पुस्तक (Hindi digital Books) भाग – ५

Documentaries and YouTube channels

Uncategorized

ENGLISH SECTION

Design a site like this with WordPress.com
Get started