मानव जाति – एक सविस्तार अध्ययन

हाम्रो संसारलाई  लगभग साँढे चार अरब वर्ष पुरानो मानिन्छ। आधुनिक मानव पृथ्वीमा आएको लगभग दुईदेखि तीन लाख वर्ष भएको छ। यति लामो समयमा कति धेरै परिवर्तनहरू आए । कैयौं उथलपुथलहरू भए। मानिसले अन्तरीक्षको दूरी मापनसम्म सफलता हासिल गरे पनि आफ्नै उत्पत्ति र विकासको बारेमा पूर्ण रूपले जानकारी हासिल गर्न सकेको देखिंदैन। मानव इतिहास र विकासमा समयको अवधि र यो भन्दा पनि बढी प्राकृतिक इतिहासको अवधि हाम्रो जीवनभन्दा अत्यन्तै विशाल छ। त्यसकारण यसलाई बुझ्ने कुरा धेरै जटिल हुन्छ। मानव जातिको अस्तित्वलाई इतिहासभन्दा पनि पुरानो मान्न सकिन्छ। आधुनिक मानिस जस्तै देखिने जीवहरूको पृथ्वीमा विकास पहिलो पटक लगभग २५ लाख वर्ष पहिले भयो। तर पछिल्ला असंख्य पुस्ताहरूसम्म तिनीहरू आफ्ना वरिपरिका जीवहरूभन्दा फरक थिएनन्। आजभन्दा २० लाख वर्ष पहिले पूर्वी अफ्रिकामा आधुनिक मानवहरूका पूर्वजहरू विकास भएका थिए। यी पूर्वजहरू एकसाथ रहन्थे र उनीहरूमा आजको समाज जस्तै प्रतिस्पर्धा थियो।

जैविक जनसंख्याको आनुवंशिक लक्षणमा पुस्तौं-पुस्ता केही न केही परिवर्तन भइरहन्छन्। पुस्तौ-पुस्ता हुने यी परिवर्तनहरूलाई नै क्रमविकास भनिन्छ। चार्ल्स डार्विनको प्राकृतिक छनौटद्वारा जातिहरूको उत्पत्तिको क्रमविकासको सिद्धान्तमा मानवका पूर्वज बाँदर थिए भन्ने कुरा बुझाउने प्रयास गरिएको छ। मानव विकास त्यो प्रक्रिया हो, जसानुसार मानव यस्ता प्राइमेटबाट विकसित भएका हुन्, जुन अहिले विलोप भइसकेका छन्। प्राणीशास्त्रका तथ्यहरू अनुसार आधुनिक मानव होमो सेपियन्स अर्थात् दुई खुट्टाले हिड्ने प्रजाति हुन्। यिनीहरू पृथ्वीमा लगभग ३ लाख १५ हजार वर्ष पहिले सर्वप्रथम अफ्रिकामा विकसित भएका थिए। मानव उत्पत्तिको यो जटिल प्रक्रियालाई कुनै एउटा सिद्धान्तबाट बुझ्न धेरै कठिन हुने देखिन्छ। मानिस प्राइमेटको क्रम विकासका सदस्य हुन्, जसमा १८० प्रजातिहरू छन्। के मानिन्छ भने मानव होमिनिड्स परिवारका सदस्यहरू हुन्। तिनीहरू प्राचीन बाँदरका अन्य सदस्यहरूदेखि वर्तमानभन्दा लगभग ५ मिलियन वर्ष पहिले अलग भइसकेका थिए। अफ्रिकन बाँदर – जस्तो कि चिम्पान्जी, गुरिल्ला, आदिका डीएनएबाट के कुरा थाहा हुन्छ भने बाँदर मानिसको सबभन्दा निकट सम्बन्धी हो। मोलिक्यूलर र एपिजेनेटिक क्लकका अनुसार मानवलाई चिम्पान्जीबाट फरक गर्ने रेखा ५ मिलियन वर्ष पहिले नै अलग भइसकेको थियो। मानव जीन्स होमोको सबभन्दा पुरानो प्रजातिका हड्डीहरू लगभग २.४ मिलियन वर्ष पुरानो रक स्ट्रेटाको हो। वैज्ञानिकहरूका अनुसार होमोको विकास अस्ट्रेलोपिथेकसबाट नै भएको हो।

मानव जातिको इतिहास कुनै पनि इतिहासभन्दा धेरै रोचक रहेको छ। सृष्टि सम्बन्धी विशिष्ट वैज्ञानिक जानकारीहरू केवल सयदेखि दुइसयवर्षसम्मको देखिन्छ। महान वैज्ञानिक चार्ल्स डार्विनको आफ्नो खोजपूर्ण पुस्तक ‘ओरिजिन अफ स्पिसिज’ ले जिनियस सम्बन्धी रूढीवादी धारणाहरूलाई बदलिदिएको थियो। उनको सन् १८७१ मा प्रकाशित भएको अर्को पुस्तक ‘डिसेन्ट अफ मेन’ ले मानव जातिको प्रार्दुर्भावको एक खाका प्रस्तुत गरेको थियो। डार्विनले महावानरका कुनै प्रजातिहरूलाई मानव जातिका पूर्वज बताएका थिए। यलाई लिएर धेरै लामो बहस र विवादसमेत भयो। डार्विनको समयसम्म संसारका विभिन्न क्षेत्रहरूमा महावानरहरू र मानव जातिका केही प्राचीन कंकाल प्राप्त भइसकेका थिए। तर तिनीहरूमाथि त्यतिखेरसम्म अपेक्षित अनुसन्धान हुन सकेन, जबसम्म डार्विनको जीव विकास सम्बन्धी तथ्यपूर्ण परिकल्पनाहरू बाहिर आएनन्। डार्विनका अनुसन्धानहरू र निष्कर्षहरूको प्रकाशमा मानवशास्त्रसँग जोडिएका विद्वानहरूले कार्य शुरू गरेपछि धेरै रहस्यहरूको उद्घाटन भयो।

मानवको विकास पूर्वजहरूबाट विस्तारै-विस्तारै र पुस्तौं-पुस्ता हुँदै भएको हो। कुनै पनि अन्य जटिल अनुकूलन जस्तै मानवता लाखौं वर्षमा कदम-कदम विकसित भएको हो। मानवको ‘डीएनए’ मा उत्परिवर्तन हुँदै समयक्रमसँगै सम्पूर्ण जनसंख्यामा फैलिए र पूर्वजहरू क्रमशः हाम्रा निकट आउँदै गएका हुन्। यो लामो प्रक्रियामा आधुनिक मानव बनेका हुन्। हामी केही मामिलामा पशुहरूको धेरै निकट छौं तर पनि हामी उनीहरूभन्दा अलग छौं। हामीसँग जटिल भाषाहरू छन्, जसको माध्यमले हामी कुराकानी गर्न सक्दछौं र आफ्ना विचारहरूलाई आदान-प्रदान गर्न सक्छौं। हामी मानव रचनात्मक छौं। हामी कला, संगीत, उपकरण, आदि इत्यादि बनाउँदछौं। हाम्रो सामाजिक जीवन परिवार, साथीभाइ, आदिको एक जटिल संजाल हो। हामी एक-अर्कोलाई सहयोग गर्ने भरसक कोशिस गर्दछौं। हामीलाई आफ्नो बारेमा संसारको बारेमा केही न केही जानकारी छ। ग्रेट एप्सको नामले जानिने बाँदर हामीसँग निकट सम्बन्ध राख्दछन्। चिम्पान्जी हाउभाउ, इशारा, आवाज, आदिलाई मिलाएर एक सरल भाषाजस्तो चीज बनाउँदछन्। तिनीहरू कच्चा र अपरिष्कृत औजार पनि बनाउँदछन्। विभिन्न समूहसँग विभिन्न प्रकारका उपकरण हुन्छन्। यिनीहरूलाई विशिष्ट संस्कृतिको नामले जानिन्छ। चिम्पान्जीको सामाजिक जीवन पनि जटिल हुन्छ र तिनीहरू मिलेर बस्दछन्। विगतमा केही प्रजातिहरू अन्य बाँदरहरूको तुलनामा आधुनिक मानव जस्तै अर्डिपिथेकस, अस्ट्रेलोपिथेकस, होमो इरेक्टस र नियन्डरथल, आदि थिए। मानिस एवम् मानिस जस्ता देखिने बाँदरहरूसँग मिलेर बनेको यो समूहलाई होमिनिड्स भनिन्थ्यो, जसमध्ये आज केवल होमो सेपियन्स मात्र जीवित रहेका छन्। यो समूहमा लगभग २० प्रजातिहरू र संभवतः दर्जनौं अज्ञात प्रजातिहरू सामेल छन्। नियन्डरथल अथवा होमो नियन्डरथलेन्सिस युरोपको चीसो मौसमको लागि अनुकूलित थिए। तिनीहरूको शरीर गठिलो थियो र तिनीहरू कुशल शिकार गर्न सक्दथे। डेनिसोभन्स एशियामा, आदिम होमो इरेक्ट इन्डोनेशियामा र होमो रोडिसएन्सिस मध्य अफ्रिकामा बस्थे। यसको अतिरिक्त कैयौं साना कद र दिमाग भएका प्रजातिहरू पनि जीवित रहेका थिए। यिनीहरू दक्षिण अफ्रिकाकाका होमो नेलेदी,  फिलिपिन्सकका होमो लुजोनेन्सिस, इण्डोनेशियाका होमो फ्लोरेसेन्सिस (होबिट्स) र चीनका रहस्यमय गुफाका मानिसहरू हुन्। एक अनुसन्धान अनुसार ४० हजार वर्ष पहिले नै यी सम्पूर्ण प्रजातिहरूको लोप भइसकेको थियो। यी अन्य प्रजातिहरू लोप हुने कारणहरूमा ज्वालामुखी विस्फोट, जलवायु परिवर्तन, उल्कापात, आदि हुनसक्दछन् तर समयक्रमबाट के पत्ता लाग्दछ भने नयाँ प्रजातिको आगमन नै यिनीहरूको लोपको मुख्य कारण देखिन्छ। यो प्रजाति २६ लाख देखि ३ लाख ५० हजार वर्ष पहिले दक्षिण अफ्रिकामा विकसित भएको होमो सेपियन्स थियो।

वैज्ञानिकहरूका अनुसार ४० हजार वर्ष पहिलेदेखि चलिरहेको सामूहिक विनाशको शुरूवात मानवहरूको अफ्रिकाबाट निस्किएर संसारका अन्य हिस्साहरूमा फैलियो। यो सामूहिक विनाशमा हिमयुगका स्तनधारीहरूको विलोपदेखि लिएर अमेजनका वर्षावनहरूको विनाससमेत भयो। सेपियन्सले कृषिको लागि मैदान र जंगलहरूलाई नष्ट गरिदिए र पृथ्वीको आधाभन्दा बढी भूभागमा कुनै न कुनै प्रकारले नोक्सान पुर्‍याए। यसको साथै पृथ्वीको जलवायुलाई पनि परिवर्तन गरिदिए। आधुनिक मानव करिब ३ लाख वर्ष पहिले यो पृथ्वीमा पहिलो पटक आएको हो। आधुनिक मानव होमो जीनसका नवौं प्रजाति हुन् र यिनीहरूभन्दा पहिले पृथ्वीमा अरू आठ प्रजातिहरू थिए। ती आठ प्रजातिहरूमा हेबिलस, इरेक्टस, रूडोल्फेन्सिस, हाइडलबर्गेन्सिस, फ्लोरेसेन्सिस, नियन्डरथेलेन्सिस, नालेदी र लुजोनेन्सिस हुन्। अहिले यी सबै लोप भइसकेका छन् । यिनीहरूमध्ये कैयौं प्रजातिहरू आधुनिक मानवभन्दा धेरै समयसम्म जीवित रहेका थिए।

मानव जातिको पृथ्वीमा उद्विकास वा सामान्य अर्थमा मानवको पृथ्वीमा विकास र एक ठाउँबाट अर्को ठाउँमा जाने कुरा सँगसँगै चल्ने प्रक्रिया हो। पृथ्वीमा मानिसको उत्पत्ति सँगसँगै उसको बसाइसराइ पनि शुरू भएको थियो र यो सबै कुरा सेपियन्सको विकासभन्दा लाखौं वर्ष पहिलेदेखि नै भइरहेको थियो। लाखौं वर्ष  पहिले पृथ्वीमा आधुनिक मानव नहुँदा उनीहरूका पूर्वज थिए। आधुनिक मानवका ती पूर्वज त्यसबेलादेखि नै एक ठाउँबाट अर्को ठाउँ आउने जाने क्रम निरन्तर भइरहेको थियो। त्यसकारण मानव एक स्थानबाट अर्को स्थानमा जाने र त्यहाँ बसोवास गर्ने क्रम धेरै पुरानो हो। आधुनिक इतिहासभन्दा लाखौं  वर्ष पहिलेको यो समयलाई पूरा-इतिहास पनि भन्ने गरिन्छ।

मानव जातिको पृथ्वीमा विकास आधुनिक अफ्रिकाको दक्षिण-पूर्वी इलाकाहरूमा भएको पुष्टि भएको छ। सन् १९२४ मा दक्षिण अफ्रिकाको ताउंग नामक स्थानको चुनको खानीमा मजदूरहरूले मानिसको एक अवशेष प्राप्त गरेका थिए। यो जीवाशेषलाई ताउंग बच्चाको खोपडीको नामले जानिनुका साथै यसलाई मानवको सबभन्दा पुरानो जीवावशेषमध्ये एउटा मानियो। पछि यसप्रकारका अन्य धेरै जीवावशेषहरू दक्षिण, पूर्व र उत्तरपूर्वी अफ्रिकामा प्राप्त भइरहे। यी जीवावशेषहरूलाई अस्ट्रेलोपिथेकस नामले जानियो। यी मानवका सबभन्दा पुराना जीवावशेषहरू हुन् र यदि प्यारान्थ्रोपस नामक जीवावशेषलाई यसमा सामेल गर्ने हो भने यिनीहरूको समय ४२ लाख वर्ष पहिलेदेखि लिएर १२ लाख वर्षसम्म हुन्छ। यिनीहरूलाई सबभन्दा पहिलो मानव भनिनुको कारण मानवको जीनस होमोको विकास यिनै मानवहरूमा भएको थियो। मानवका जीनसका यी बाहेक थिए । त्यसकारण यिनीहरूलाई सबभन्दा पहिला मानव भनियो। मानवको विकास वनमान्छे (एप) बाट भएको मानिन्छ। यो विकासको जुन चरणमा जीनस होमो विकसित भयो, त्यहाँबाट त्यो जीवलाई मानव भनियो। यो जीनस लगभग ३० देखि २० लाख वर्ष पहिले विकसित भएको थियो।

आधुनिक मानिसको विकास पूर्वी अफ्रिकामा लगभग २५ लाख वर्ष पहिले अस्ट्रेलोपिथेकस नामक एक जीनसबाट भएको थियो, जसलाई दक्षिणी बाँदर भन्ने गरिएको पाइन्छ। लगभग २० लाख वर्ष पहिले यिनीहरूमध्ये केहीले आफ्नो बासस्थान छोडेर उत्तरी अफ्रिका, यूरोप र एशियामा बसाइ सरे । उत्तरी यूरोपका बरफले भरिएका जंगलहरू र इन्डोनेशियाका जंगलहरूमा जीवित रहनको लागि अलग-अलग लक्षणहरूको आवश्यकता हुने भएकोले मानव जनसंख्या अलग-अलग दिशाहरूमा विकसित भए। यसको परिणामस्वरूप कैयौं अलग-अलग प्रजातिहरू बन्दै गए, जसमध्ये प्रत्येकलाई मानव वैज्ञानिकहरूले अलग-अलग ल्याटिन नाम दिए। यूरोप र पश्चिमी एशियामा मानिस होमो नियन्डरथेलेन्सिसको रूपमा विकसित भए, जसलाई नियन्डरथल मानवको रूपमा जानिन्छ। नियन्डरथल आधुनिक मानवको तुलनामा ठूला र शक्तिशाली थिए र तिनीहरू पश्चिमी यूरेशियाका चीसो जलवायुको लागि राम्रोसँग अनुकूलित थिए।

अस्ट्रेलोपिथेकसमा एक मानव विकास भयो, जसलाई होमो हेविलस भनिन्छ। होमो हेविलसको अर्थ योग्य मानव वा श्रमिक मानव हुन्छ। यो पहिलो होमो जीनस भएको मानव थियो। आम भाषामा यसलाई हामी पृथ्वीको पहिलो मानव भन्न सक्छौं। अस्ट्रेलोपिथेकस समूहमा यो मानव लगभग २४ लाखदेखि लिएर १५ लाख वर्षसम्म पुरानो मानिएको छ। अस्ट्रेलोपिथेकसको जीनसले मानव मस्तिष्कको न्यूरोन्सको समुचित विकासको मार्ग प्रशस्त गर्‍यो । यो विशेषता मानिसले ३४ देखि २४ लाख वर्ष पहिले विकसित गरेका थिए। मानिसका औंलाहरूको विकासको शुरूवात पनि यही समयमा लगभग ३० लाख वर्ष पहिले अस्ट्रेलोपिथेकस अफरेन्सिस नामक जीवबाट भएको थियो। यसप्रकार के स्पष्ट हुन्छ भने संसारको पहिलो मानवको उत्पत्ति आधुनिक अफ्रिकामा नै भएको थियो।

अस्ट्रेलोपिथेकसको समयसम्म मानिसमा दुई खुट्टाले हिड्ने प्रविधिको ठीक-ठीक विकास हुनसकेको थिएन। त्यसको मेरूदण्डको हड्डीमा सही ढंगले उभिने मोड विकसित भएको थिएन। सन् १८९१ मा डच सर्जन यूजेन डुबोयसले दक्षिण पूर्वी एशियाको जावा द्वीपमा एक महत्त्वपूर्ण खोज गरेका थिए। त्यस बेला इन्डोनेशियाको यो इलाका डचहरूको उपनिवेश थियो। डुबोयस चार्ल्स डार्विन र उनको प्राकृतिक छनौटको सिद्धान्तबाट धेरै प्रभावित थिए र यी सबैको कारणले उनी जावाको त्यो इलाकामा आधुनिक मानवका पूर्वजहरूलाई खोजिरहेका थिए। यतिबेला आधुनिक मानवको विकास अफ्रिकामा नभएर एशियामा भएको हो भन्ने मान्यता विकसित भइरहेको थियो। त्यसकारणले गर्दा यस विषयमा काम गर्ने सम्पूर्ण अनुसन्धानकर्ता एशियातिर अग्रसर भइरहेका थिए। यही क्रममा डूबोसले एक खोपडीको माथिल्लो भाग र जाँघको हड्डीको खोज गरे। त्यसपछि यो मानव जावा मानवको रूपमा चर्चित भयो। आज पनि यसलाई जावा मानव नै भनिन्छ। पछि अफ्रिका, एशिया, युरोप र ओसेनियामा जावा मानिस जस्तै मानवका कैयौं जीवावशेषहरू प्राप्त भए। यी जीवावशेष जावा मानवसँग मिल्दाजुल्दा थिए। यी मानव आफ्ना पूर्वज अस्ट्रेलोपिथेकसभन्दा बढी विकसित थिए। यिनीहरू केवल दुई खुट्टाले हिड्ने मात्र होइन, बरू यिनीहरूको मेरूदण्डको हड्डी पनि धेरै विकसित थियो। दुई खुट्टाले हिड्न सक्नुको कारणले गर्दा यिनीहरू दुवै हातले हिड्ने कामबाट स्वतन्त्र भएका थिए, जसको उनीहरू सक्षम प्रयोग गर्न सक्दथे । यी मानवका सम्पूर्ण जीवावशेषहरूलाई इरेक्टसको नामले जानियो। अगाडि गएर मानवको उद्विकासको यस चरणमा विकसित भएका यी मानव इरेक्टस नामले नै चिनिए। इरेक्टसको अर्थ सीधा उभिएर हिड्न सक्ने क्षमता हुन्थ्यो। यसले दुई खुट्टाले हिड्नसक्ने क्षमता विकसित गरेको थियो । त्यसकारण यसले लामो यात्रा गर्न सक्दथ्यो। धेरै विद्वानहरूका अनुसार इरेक्टसको विकास पूर्वी अफ्रिकामा भएको थियो। दुई खुट्टाले हिड्ने क्षमतको कारण यो पहिलो यस्तो मानव थियो, जसले अफ्रिकाबाट बाहिर गयो, अर्थात् लामो समयसम्म यात्रा गरी अफ्रिका बाहिरका संसारका अन्य इलाकाहरूमा गयो। इरेक्टसको जीवावशेषको अध्ययनले के कुरा बताउँदछ भने अफ्रिकामा उत्पत्ति भएपछि यो उत्तर अफ्रिकातिर फैलियो र पुनः युरेशियातिर र त्यसपछि दक्षिण-पश्चिम एशियासम्म आयो।

यसरी इरेक्टस अफ्रिकाका बसाइसराइ गरेर संसारका अन्य सम्पूर्ण इलाकामा फैलिने पहिलो मानव भयो। लगभग २० लाख देखि १० लाख वर्ष पहिलेसम्म इरेक्टसको यो बसाइसराई पूर्वी अफ्रिकाबाट दक्षिण अफ्रिकासम्म र लगभग १८ लाख वर्ष पहिले अफ्रिकाबाट युरेशियासम्म भयो। लगभग १९ लाख वर्ष पहिले यिनीहरूको बसाइसराइ सहाराको इलाकाबाट एशिया र दक्षिण एशियाको मार्ग जावा द्वीपसम्म भयो। जावा द्वीपसम्म जाने श्रृंखला दक्षिणपूर्वी एशियासम्म फैलिएको छ, जहाँ यिनीहरूको जीवावशेष होमो इरेक्टस सिनान्थ्रोपस पाइन्छ। यी मानवका प्रजातिलाई होमो इरेक्टस भनियो र यसका सब-स्पिशिजलाई जोडेर होमो इरेक्टस पिथिकान्थ्रोपस, होमो इरेक्टस सिनान्थ्रोपस, होमो इरेक्टस नर्मन्दैन्सिस, आदि भनियो। संसारमा इरेक्टसको उपस्थितिको पहिचान इरेक्टसको ओल्डुवान पाषाण संस्कृतिबाट हुन्छ। यो पृथ्वीको उत्तरी गोलार्धको ४० डिग्री अक्षांससम्म फैलिएको छ। पुरातात्विक प्रमाणहरूका आधारमा के भन्न सकिन्छ भने इरेक्टसहरूको यो फैलावट १३ लाख वर्ष पहिलेसम्म भइसकेको थियो। इरेक्टसको यो विस्तार पाकिस्तानको रेवा, लेभान्तको उबेदिया र ककेससको द्मानिसीमा पाइएको छ। यसैगरी चीनको निहेवान बेसिनमा लगभग १६ लाख ६० हजार वर्ष पहिले इरेक्टस बसिसकेको कुरा पुष्टि हुन्छ। चीनमा प्राप्त भएको एक महत्त्वपूर्ण जीवावशेषलाई पेकिङ मानव भनियो। जावामा १७ लाख वर्ष पहिलेसम्म इरेक्टस आएका थिए।

होमो इरेक्टस बसाइसराइ गर्ने सबभन्दा महत्त्वपूर्ण कारणहरूमा उनीहरूको संरचनात्मक, बौद्धिक र प्राविधिक दक्षता थियो, जसलाई होमो इरेक्टसले आफ्नो प्रारम्भिक विकासमा आर्जित गरेको थियो। यसको अतिरिक्त एउटा अर्को कारण त्यस बेलाको वातावरणमा आएको परिवर्तन पनि थियो, जसको कारणले उनीहरू अन्ततः अफ्रिकाभन्दा बाहिर आएर संसारका विभिन्न भागमा फैलिंदै गएका हुन्।

होमो इरेक्टस (सीधा उभिने मानिस) एशियाका पूर्वी क्षेत्रहरूमा बस्ने गर्दथे। होमो इरेक्टस २० लाख वर्षसम्म जीवित रहे र यिनीहरू मानव इतिहासको सबभन्दा लामो समयसम्म जीवित रहने प्रजाति थिए। इन्डोनेशियाको जावा द्वीपमा होमो सोलेन्सिस मानव जाति बस्दथे। यिनीहरू उष्णकटिबन्धीय क्षेत्रमा जीवनको लागि अनुकूलित थिए। एउटा अर्को सानो इन्डोनेशियाली द्वीप फ्लोर्समा प्राचीन मानव बाउन्ने हुने प्रक्रियाबाट गुज्रिएका थिए। मानिस पहिलो पटक फ्लोर्स पुगेको बेलामा समुद्रको स्तर असाधारण रूपले कम थियो। मुख्य भूमिबाट टापुसम्म सजिलैसँग पुग्न सकिन्थ्यो। समयक्रमसँगै समुद्रको पानीको सतहमा वृद्धि हुँदै गयो र केही मानिसहरू त्यही टापु वा द्वीपमा फसे। द्वीपमा स्रोतसाधनको कमी भएको कारणले बढी खाना आवश्यक हुने ठूला कदमा मानिसहरू पहिले मरे। यद्यपि सानो कद  भएका मानिसहरू जीवित रहनको लागि तुलनात्मक रूपले सहज थियो। यसरी पुस्तौंपुस्ता फ्लोर्सका मानिस बाउन्ने हुँदै गए। वैज्ञानिकहरूका अनुसार होमो फ्लोरेसेंसिसको नामले जानिने यो अनौठो प्रजातिका मानिस केवल एक मीटरको अधिकतम् लम्बाईका हुन्थे र यिनीहरूको तौल २५ किलो भन्दा बढी हुँदैनथ्यो। उनीहरू ढुंगाका औजार बनाउनमा धेरै सीपालु थिए र कहिलेकाहीँ त उनीहरू हात्तीको शिकार पनि गर्ने गर्दथे। यद्यपि त्यहाँ रहने हात्ती पनि बाउन्ने नै थिए।

सन् २०१० मा भएको साइबेरियाको डेनिसोभा गुफाको एक उत्खनन्बाट गुमनाम अध्यारामा मानिसको एक अन्य पूर्वजको औंलाको हाड प्राप्त भएको थियो। यसलाई वैज्ञानिकहरूले होमो डेनिसोभा नाम दिए। त्यसकारण यस्तै अन्य कैयौं पूर्वजहरू अध्यारो गुफा र द्वीपहरूमा अज्ञात रहेको कुरा स्पष्ट हुन्छ, जुन खोजको प्रतीक्षामा छन्। यी मानिसहरू यूरोप र एशियामा विकसित भइरहेको बेलामा पूर्वी अफ्रिकामा पनि विकासको प्रक्रिया निरन्तर अगाडि बढिरहेको थियो। यिनीहरूमध्ये होमो रूडोल्फेन्सि (लेक रूडोल्फका मानिस), होमो एर्गस्टर (वर्किङ मानिस) र अहिलेका मानवका प्रजित होमो सेपियन्स मुख्य हुन्।

लगभग १७ देखि १८ लाख वर्ष पहिलेका पूर्वी अफ्रिकाका मानवहरूको अध्ययनबाट के कुरा थाहा हुन्छ भने कम्तीमा तीन प्रजातिहरूका होमो जीनसको विकासको निरन्तरता देखिन्छ। यी तीन मानव होमो हेविलस, होम रूडोल्फेन्सिस र होमो इरेक्टस हुन्। तर यिनै इलाकाहरूमा प्राप्त भएका केही प्रमाणहरूको अध्ययनले के बताउँदछन् भने होमो जीनसको होमो हेबिलस र होमो रूडोल्फेन्सिसमा विकसित हुने कुरा २३ देखि २४ लाख वर्ष पुरानो हो। यद्यपि एउटा समस्या के देखिन्छ भने २० देखि ३० लाख वर्ष पुराना जीवावशेषका संरचना, समय र स्थानको कमजोरीले यिनीहरूलाई ठीक ढंगले तय गर्न नसकिने हुनजान्छ। यसरी पछि आएका होमो सेपियन्समा होमो हेबिलसमा विकसित जीनस होमोको निरन्तरतामा केही चीज आज पनि बुझिरहिएको छ। धेरैजसो विद्वान के कुरामा सहमत छन् भने होमो हेबिलस जीनस ‘होमो’ युक्त पहिलो जीव थियो र यसकारणले पृथ्वीको पहिलो मानव पनि थियो। यसरी पृथ्वीको पहिलो मानव हुनुको कारणले होमो हेबिलसको संस्कृति पृथ्वीमा मानिसको पहिलो संस्कृति थियो। अस्ट्रेलोपिथेकस समुदायको सदस्य अफ्रिकामा नै रह्यो र त्यहाँबाट फैलिएर बाहिर गएन। त्यसकारण उसको पुरापाषाण संस्कृति अफ्रिकामा नै सीमित भयो। यसलाई ओल्डुवान संस्कृति भनिन्छ।

मानिसको शारीरिक रूपले उनीहरूका वानर पूर्वजहरूबाट होमो प्रजातिमा आविर्भाव हुनुलाई होमीनाइजेशन भनिन्छ। ल्याटिन शब्द ‘होमो’ ले एक जीवको रूपमा मानिसको प्रतिनिधित्व गर्दछ। यसको सबभन्दा पहिले स्वीडेनका प्रकृतिवादी कार्ल लिनियसले प्रयोग गरेका थिए। होमो सेपियन्सको वंशलाई सम्मिलित गर्ने प्रजाति हो। यसमा आधुनिक मानवको साथसाथै अनेकौं लोप भएका आधुनिक मानवसँग निकट सम्बन्ध भएका प्रजातिहरू पर्दछन्। सबभन्दा धेरै यसमा होमो इरेक्टसलाई पनि सम्मिलित गरिन्छ। मानिसको जैविक विकास वानर पूर्वजहरूसँगै ६५ लाख वर्ष पहिलेदेखि प्रोसिमियन्सबाट शुरू भएर विशाल बाँदर हुँदै मानवसम्म हुन्छ। डार्विनले नै मानिसको मध्य कडीलाई बुझाउन कार्य संभव बनाएका हुन्। मानवको क्रमिक विकासको इतिहासले होमिनिड र मानवको बीचको मह्यत्त्वपूर्ण चरणको खोजीलाई सामेल गर्छ। यसले आधुनिक मानिसको जन्म अर्थात् आरम्भलाई तिनीहरूका पूर्वजबाट अलग गरी चित्रित गर्दछ। के मानिन्छ भने मानवका पूर्वजहरूको सबभन्दा निकट कडी मायोसिन युग (२३ लाखदेखि ५३ लाख वर्ष पहिले) को हो। सदाबहार पतझड जंगलहरूको कारणले तिनीहरूकझ बासस्थान खुला वनस्थली,  झाडियुक्त मैदान, घाँसे मैदानमा बदलिए र मिश्रित वास, कहिलेकाहीँ ताल, नदी र जलाधारका किनारहरूमा घना छाना भएका जंगलहरूमा वानरस्वरूप पूर्वज यो युगमा फस्टाएका थिए। पर्यावरणको विविधताले नवीन परिवर्तन भयो, जसमा कैयौं प्रकारका जनावरहरूसहित नर-वानरको गतिशीलतालाई उद्यीप्त गरिदियो। यसले यिनीहरूलाई रूखबाट भूमितिरको जीवनमा स्थानान्तरित गरिदियो। दुई खुट्टाले हिड्ने क्रमको विकास अर्थात् होमिनिन्सको सीधा हिड्ने योग्यताले उनीहरूलाई खुला वनस्थलीमा राम्रो प्रयास गर्न योग्य बनायो। मानव ढाँचाको कंकालीय परिवर्तनहरूको पछाडि दुई खुट्टाले हिड्नु एक मुख्य कारण थियो, जुन सबै दुईखुट्टाले हिड्ने होमिनिडहरूमा विद्यमान छ। सहेलोन्थ्रोपस अर्थात् ओरोनिन  दुई खुट्टाले हिड्ने सर्वाधिक आदिम उदाहरण मानिन्छ। यिनीहरूलाई अन्तिम नर-वानर पनि मानिन्छ, जुन वंश-परम्परामा घुँडाले हिड्ने गुरिल्ला र चिम्पान्जी जस्तै थियो। सीधा हिड्नुले हातलाई खाद्यान्नसम्म पुर्‍याउन र उठाउनको लागि स्वतन्त्रता प्रदान गर्‍यो। दुई खुट्टाले हिड्दा गतिशीलताको क्रममा ऊर्जा बचाउँदथ्यो। यसबाट लामो दौड र शिकारमा सहायता मिल्थ्यो। यसले एकसाथ कार्य गर्न र उत्पादकता बढाउनमा सहायता प्रदान गर्दछ। र, दुई खुट्टाले हिड्दा अगाडि र पछाडिका हातखुट्टाद्वारा एक सन्तुलित अनुपातको निर्देश हुन्थ्यो। यसपछि अगाडि-पछाडि घुम्नयोग्य औंलाहरू औजार बनाउन सहायोगी सिद्ध भए। दुई खुट्टाले हिडेपछि हातका औंला र कंकालीय ढाँचामा विभिन्न परिवर्तनहरू आए।

होमोनाइजेशनको प्रक्रियामा एक अर्को महत्त्वपूर्ण परिवर्तन मानवको मस्तिष्कको आकारमा वृद्धि थियो। यसले गुरिल्ला अर्थात् चिम्पान्जीको तुलनामा तीन गुना मस्तिष्कको आकार वृद्धि गरिदियो। मस्तिष्को विस्तारणको यो प्रक्रियालाई एनसेफलाइजेशन भनिन्छ र यो प्रक्रिया होमो हेबिलस प्रजातिसँगै शुरू भएको मानिन्छ। यसपछि मस्तिष्कको विकाससँगै भाषाको प्रक्रियामा विकास भयो र निधारको बाहिरी आवरण जटिल निर्णय लिनमा सहयोगी भयो। यस्तै ‌औंलाहरूको सम्पर्क, सुघ्ने भन्दा हेर्ने क्षमतामा वृद्धि, आन्द्रा सानो हुनु, दाँतको पंक्तिको परिवर्तन, पसिना ग्रन्थीमा परिवर्तन, आदि मानव र वानर बीचको फरको निर्धारक कारण हुन्। मानिसको क्रमिक विकासको सबभन्दा सुस्पष्ट प्रमाण जीवावशेषको पहिचानसँगै आएको हो। जीवावशेष वैज्ञानिक वाँदर र मानव प्रजातिको जीवावशेषमा समानता र असमानताहरू खोजेर बाँदरबाट मानिसको क्रमिक विकासको परीक्षण गर्न सक्षम थिए। जीवावशेष आधुनिक मानव प्रजातिको क्रमिक विकासको क्रमबद्ध चरणहरूलाई परिभाषित गर्नमा सहायक सिद्ध भयो।

वास्तवमा भन्ने हो भने लगभग २० लाख वर्ष पहिलेदेखि लिएर १० हजार वर्ष पहिलेसम्म पृथ्वीमा एकै समयमा कैयौं मानव प्रजातिहरू बस्ने गर्दथे। पृथ्वी कम्तीमा हाम्रा ६ प्रजातिका पूर्वजहरूको वासस्थान रहिसकेको कुरा प्रमाणित हुन्छ। अहिले हाम्रो प्रजाति एक्लै छ। यो एकबाट धेरै प्रजाति बन्ने कुरामा धेरै आश्चर्यजनक लाग्दछ। यद्यपि मानव विकासको क्रममा भएका घटनाहरू परिवर्तनहरूको एक समयरेखा स्थापित गर्नुभन्दा पहिले यस विषयमा सटिक तिथि वा वर्ष निकाल्ने कुरा असंभवप्रायः हुन्छ। अतीतमा गएर आफ्ना पूर्वजहरूको बारेमा जानकारी लिने माध्यम जीवावशेष हो। वैज्ञानिकहरूले यी विभिन्न पूर्वहरूको इतिहासको खोजी गर्नको लागि जीवावशेषहरूको उपयोग गर्ने गर्दछन् र मानव जातिको विकासको एक समयरेखा बनाउनमा सफलता हासिल गरेका छन्। नयाँ जानकारी र वैज्ञानिक प्रगतिसँगै यो समयरेखामा पनि परिवर्तन आइरहन्छन्। आधुनिक मानिसको विकासको समयरेखालाई बुझ्न सकिन्छ। आधुनिक मानिसिको वैज्ञानिक नाम होमो सेपियन्स हो। यो होमो जिनियस र सेपियन्स प्रजातिको हो। होमो सेपियन्स होमो जिनियसको एक मात्र जीवित सदस्य हो। मानव विकासका पूर्वजहरूका केही प्रजातिहरूको बारेमा मुख्य जानकारी भएपछि मानव जातिको विकासको बारेमा केही स्पष्टता हासिल हुन्छ।

वानर जस्तै विलुप्त एक प्रजातिलाई ड्रियोपिथेकस भनिएको छ। यसले मानवको क्रमिक जैविक विकासको चरणको प्रतिनिधित्व गर्दछ, जबकि मानव र वानर एकै वंशावलीका अंश थिए। यी मिओसिन र प्लिओसिन (२३ देखि २.६ लाख वर्ष पहिले) का जीवावशेषका रूपमा प्राप्त भए र शुरूवातमा स्पष्ट रूपले अफ्रिकामा उत्पन्न भएका थिए। ड्रियापिथेकसका अनेकौं रूपरहेका रहेका थिए, जसमा साना, मध्यम र ठूला गुरिल्लाका आकारका जीव सम्मिलित छन्। 

आजसम्मको मानव पूर्खाको अन्वेषणको आधारमा केन्यामा प्राप्त भएको प्रोप्लियोपिथेकसलाई सर्वप्राचीन मानव मानिएको छ। त्यसपछि रामापिथेकसलाई सर्वप्राचीन मानव बन्ने प्रक्रियामा विकसित प्राणी मानिन्छ। पहिलो रामापिथेकसको जीवावशेष सन् १९३२ मा उत्तर-पश्चिमी भारतको शिवालिक पहाडको जीवावशेष भण्डारमा प्राप्त भएको थियो।  जी. ई. लेविसले यसको खोजी गरेका थिए। रामापिथेकसलाई ८० लाख वर्षभन्दा पनि पहिलेको मानव मानिएको छ। यहाँ रामापिथेकस पंजाबीकस र रामामिथेकस भिकेरी गरी दुई प्रजातिको खोज गरिएको थियो। जीवावशेषबाट प्राप्त बंगाराका टुक्रा रामापिथेकसको सम्बन्ध एक भिन्न प्रजातिको रूपमा देखियो, जुन आधुनिक मानव प्रथम प्रत्यक्ष पूर्वज थियो। तर अमेरिकन मानवशास्त्री डेबिट पिल्बिमले भने रामापिथेकसलाई वनमान्छेका पूर्वज सिवापिथेकससँग मिलेको निष्कर्ष निकालेका थिए। सन् १९८१ मा नेपालको वुटवल क्षेत्रको तिनाउ खोला निकट रामापिथेकसको एक करोड दस लाख वर्ष अगाडिको दाँत पाइएको थियो। यसैगरी लिकी दम्पत्तिले केन्यामा एक करोड तीस लाख वर्ष पुरानो केन्यापिथेकसको अवशेष प्राप्त गरेका थिए। यी सबैका आधारमा रामापिथेकस विशेषगरी चुरे हावापानीमा बसोवास गर्ने मान्छेसँग धेरै मिल्दोजुल्दो वनमान्छे नै थियो।

मानव जातिको विकासक्रममा सबभन्दा पुरानो ज्ञात प्रजातिहरूमध्येमा एक सहेलान्थ्रोप चान्डेसिसलाई मानिएको छ। यो प्रजाति लगभग ६० देखि ७० लाख वर्ष पहिले पश्चिम-मध्य अफ्रिकाको चाडमा रहन्थ्यो। सीधा हिड्ने क्षमताको कारणले यो प्रजाति जंगल र घाँसे मैदानहरूसहित विभिन्न स्थानमा जीवित रहन सकेको हो। तर सहेलान्थ्रोपसको केवल खोपडी मात्र उपलब्ध भएको छ। अध्ययनहरूबाट के पत्ता लागेको छ भने यो प्रजातिमा बाँदर र मानव जस्ता विशेषताको संयोजन थियो। यिनीहरूका सानो मस्तिष्क (चिम्पान्जीको तुलनामा थोरै सानो), झुकेको अनुहार,  उन्नत आँखीभौं,  लामो खोपडी रहेका थिए। मानिसका जस्ता विशेषतामा साना दाँत, अनुहारको सानो मध्य भाग र खोपडी तल खुल्ने मेरूदण्डको हाड रहेका छन्। सहेलान्थ्रोपभन्दा पहिले एकमात्र जीवावशेष उत्तरी चाडबाट प्राप्त भएका नमूना हुन्। फ्रान्सेली जीवावशेष वैज्ञानिक माइकेल ब्रुनेटको नेतृत्वमा वैज्ञानिकहरूको एक शोध समूहले सन् २००१ मा यी जीवावशेषहरूको खोजी गरेका थिए। यद्यपि सहेलान्थ्रोपसका अधिकांश दाँत धेरै खराब भएकाले यिनीहरूका खाना पत्ता लगाउनको लागि दाँतहरूको अध्ययन अहिलेसम्म हुनसकेको छैन। तर यिनीहरूको पर्यावरण र अन्य प्रारम्भिक प्रजातिहरूको आधारमा यिनीहरू शाकाहारी थिए भन्ने अनुमान लगाउन सकिन्छ। उनीहरू पात, फल, विउ, जरा, नट, आदि खान्थे।

मिलेनियस मानवको नामले जानिने मानव जातिको अर्को प्रजातिलाई ओरोनिन टुगेनेन्सिस भनिन्छ। यो प्रजाति लगभग ६२ देखि ५८ लाख वर्ष पहिले पाइन्थ्यो। यो प्रजातिमा होमो सेपियन्सको जस्तै जाँघ पाइएको छ। यसकारण यो प्रजाति दोपाया हुने कुराको संकेत प्राप्त हुन्छ। ओरेनिन टुगेनेन्सिसका जीवावशेषबाट के कुरा पत्ता लाग्दछ भने यो प्रजाति शुष्क सदाबहार जंगलहरूमा रहन्थ्यो। फ्रान्सेली जीवावशेष वैज्ञानिक ब्रिगिट सेनुट र फ्रान्सेली भूवैज्ञानिक पिकफोर्डको नेतृत्वमा गरिएको एक शोध समूहले मध्य केन्याको टुगेन हिल्स क्षेत्रमा यो प्रजातिको खोजी गरेका थिए। उनीहरूले लगभग ६२ देखि ६० लाख वर्ष पुराना १२ वटा भन्दा बढी प्रारम्भिक मानवका जीवावशेष पत्ता लगाएका थिए। बाँदर र मानव लक्षणको नयाँ संयोजनको कारण शोधकर्ताहरूले यी जीवावशेषहरूलाई एक नयाँ जिनस  र प्रजाति ओरोनिन टुगेनेन्सिसको नाम दिएका थिए। यसको स्थानीय भाषामा टुगेन क्षेत्रका मूल निवासी भन्ने अर्थ लाग्दछ। यी प्रजातिका साना गोलमोल दाँत र साना केनाइन दाँतबाट यिनीहरू शाकाहारी थिए भन्ने अनुमान लगाउन सकिन्छ। यिनीहरू पनि मुख्यगरी पात, फल, बिउ, जरा, नट, आदि खान्थे।

मानव जातिको विकासक्रममा एक अर्को प्रजाति अर्डिपिथेकस कडब्बालाई मानिएको छ। यो प्रजाति दुई खुट्टाले हिड्थ्यो। यसको शरीर र मस्तिष्कको आकार आधुनिक चिम्पान्जीको जस्तै थियो। यसका केनाइट दाँत पछिका मानिससँग मिल्थे । यो प्रारम्भिक मानव प्रजातिको केवल केही पोस्ट-क्रेनियल हाडहरू र दाँतहरूका सेट मात्र प्राप्त भएका छन्। यिनीहरूका खुट्टाका औंलाका हाडहरू ठूला र बलिया थिए, जसको प्रयोग दुई खुट्टाले हिड्नको लागि गर्दथे। यो प्रजातिको खोज पेलियोन्थ्रोपोलोजिस्ट योहन्स हेले-सेलासीले सन् १९१७ मा गरेका थिए। उनलाई इथियोपियाको मध्य आवास क्षेत्रको जमिनमा एउटा तल्लो बंगारा प्राप्त हुँदा यो एक नयाँ प्रजाति हो भन्ने कुराको कुनै शंका थिएन। तर पछि कम्तीमा पाँच अलग-अलग व्यक्तिहरूबाट प्राप्त ११ नमूनाको जाँज गरेपछि हेले-सेलासीलाई एक नयाँ प्रारम्भिक मानव प्रजाति प्राप्त भएको कुरा स्पष्ट भयो। यो जीवावशेषमा हात र खुट्टाका हाडहरू, आंशिक हातका हड्डीहरू र एक गला मुनिको हड्डी पनि सामेल थियो। र, यी ५६-५८ लाख वर्ष पुराना थिए। यी नमूनाहरूमध्ये एक खुट्टाको औंलाका हाड ५२ लाख वर्ष पुरानो मानिएको छ र यो जीवावशेषमा दुई खुट्टाले हिड्ने विशेषताहरू छन्। सन् २००२ मा मध्य आवासको आसाकोमा स्थलमा ६ वटा दाँत प्राप्त भएका थिए। यी दाँतहरूको प्रारूपबाट के कुरा प्रमाणित भएको थियो भने यी प्रारम्भिक मानव जीवावशेष अलग प्रजातिका थिए र एरेमिडसका उपप्रजाति थिएनन्। यी दाँतहरूको आधारमा जीवावशेष वैज्ञानिक योहनेस हेले-सेलासी, जेनसुवा र टिम ह्वाइटले सन् २००४ मा जीवावशेषलाई एक नयाँ प्रजाति मानेर त्यसलाई उनीहरूले अर्डिपिथेकस कडब्बा (कडब्बाको अर्थ अफार भाषामा सबभन्दा पुराना पूर्वज हुन्छ) राखे। चिम्पान्जीको जस्तै फल र नरम पात खानुको सट्टा अर्डिपिथेकस कडब्बा रेशादार खाद्य पदार्थ पनि खान्थे।

मानव विकासमा सबैभन्दा बढी जानिने जीनसको रूपमा अस्ट्रेलोपिथेकसलाई मानिन्छ। यो प्रष्ट मानव गुण भएको सर्वप्राचीन मानव प्रजाति हो। यसलाई दक्षिण नरवानर र आग्नेय मानव पनि भनिन्छ।  यो प्रजातिको बारेमा अनुसन्धान अस्ट्रेलियाका रेमन्ड ए. डार्ट (दक्षिण अफ्रिकाको जोहान्वर्गमा शरीर रचना विज्ञानका प्रोफेसर) ले  सन् १९२४ मा दक्षिण अफ्रिकामा एक बालकको खप्परको खोजीबाट गरेका थिए। यो प्रजातिको अस्तित्व लगभग ४२-३९ लाख वर्ष पहिलेदेखि लगभग २५ लाख वर्षसम्म थियो। यो जीनस अन्तर्गत लगभग ७ स्वीकृत प्रजातिहरू छन्, जसमध्ये सबभन्दा लोकप्रिय अस्ट्रेलोपिथेकस अफरेन्सिस हो। यो प्रजाति लगभग ९ लाख वर्षसम्म जीवित रह्यो। यो प्रजातिका ३०० भन्दा बढी व्यक्तिका अवशेष प्राप्त भएका छन्। यो प्रजातिको मस्तिष्कको आकार मानिसको मस्तिष्कको आकारको लगभग एक तिहाइ थियो। यिनीहरूको नाक सपाट र तल्लो बंगारा उठेका थिए। यिनका दाँत आधुनिक मानवका जस्तै साना थिए। यिनका लामा र बलिया बाहु थिए। यिनीहरू मुख्यतः दुई खुट्टाले हिड्थे। यो प्रजातिका युवा आधुनिक मानवको तुलनामा तीव्रतापूर्वक बढ्थे, त्यसकारण उनीहरूलाई कम समय हेरविचारको आवश्यकता पर्दथ्यो। यो जीनस विकसित हुँदै जाँदा यिनीहरूमा होमो सेपियन्स जस्ता विशेषताहरू – जस्तो कि साना दाँत, चौडा छाती, इत्यादि देखिन्छ। समग्रमा यो प्रजातिको टाउको माथि पछाडिको भाग सानो भएको,  नाक थेप्चो र चौडा भएको, गिँजा हल्का बाहिर आएको, चिउँडो कम भएको थियो। यसको शरीरमा फिक्का काला रंगका बाक्ला रौं भएको अनुमान लगाइएको छ। यो प्रजाति बाक्लो जंगल र खुला मैदानमा सानो समूहमा बस्दथ्यो। यसले काँचो मासु, सागपात र कन्दमुल खाने गर्दथ्यो। यो सीधा दौडनसक्ने, तीक्ष्ण दृष्टि क्षमता भएको र इसारा गर्नसक्ने क्षमता भएको थियो भन्ने अनुमान गरिएको छ। यसले आगोको प्रयोग र स्थायी बसोवास गर्न भने जानेको थिएन। सबभन्दा सुस्पष्ट र राम्रोसँगले संरक्षित गरिएको अस्ट्रेलोपिथेकसको नामूना एक पुरूष कंकाल हो, यसलाई सन् १९७४ मा जीवावशेष वैज्ञानिक डोनाल्ड जोनसनको नेतृत्वमा वैज्ञानिकहरूको एक समूहले इथियोपियाको हदर क्षेत्रमा खोजेका थिए। मानवशास्त्रीहरूले त्यो कंकालको लगभग ४० प्रतिशत एकत्रित गर्न सके र त्यसलाई लुसी उपनाम दिइयो। सन् १९३८ मा अस्ट्रेलोपिथेकस जातिका अन्य जीवावशेषहरूको पनि खोजी भयो, जसलाई अस्ट्रेलोपिथेकस रोबस्टस भनियो। अस्ट्रेलोपिथेकसका विभिन्न प्रजातिहरू प्लिओसिन (५३ लाखदेखि २६ लाख वर्ष पहिले) प्लिस्टोसीन (२६ लाख देखि ११ लाख वर्ष पहिले) युगको क्रममा जीवित थिए। त्यहाँ लगभग ४० लाखदेखि १८ लाख वर्ष पहिले अस्ट्रेलोपिथेकसका प्रजातिहरू – ऐनामेन्सिस, अफरेन्सिस, अफ्रिकानस, बाहरेलघजाली, गर्ही र सेडिबा थिए। त्यहाँ लगभग ३० लाख देखि १२ लाख वर्ष पहिले पेरान्थ्रोपस थिए, जसका प्रजातिहरू – पी ऐथियोपिकस, पी बोईसेई र पी रोबस्टस थिए।

जीवावशेष वैज्ञानिकहरू लगातार जीवावशेषहरूको खोजमा लागिरहेका छन्। अक्टुवर २००९ मा मध्य इथियोपियामा एवोशको एक समूहले मानव जीवावशेषको एक ठूलो भण्डारको खोज गरेको थियो, जसमा अस्ट्रेलोपिथेकस र आरडीपिथेकसका अलग-अलग प्रजातिहरू थिए। ८ अप्रिल २०१० मा केही वैज्ञानिकहरूले दक्षिण अफ्रिकामा अस्ट्रेलोपिथेकसका नयाँ प्रजातिका जीवावशेषहरूको खोजी गरे। नयाँ प्रजातिलाई अस्ट्रेलोपिथेकस सेडिबा नाम दिइयो, जुन मालापा नामको गुफाबाट प्राप्त भएको थियो। यो जीवावशेष लगभग १९.५ देखि १७.८ लाख वर्ष पुरानो थियो। जीवावशेषमा  करिब १२-१३ वर्षको एक युवा पुरूषको खोपडी र आंशिक कंकाल  तथा एक वयष्क स्त्रीको बंगारा र आंशिक कंकाल थिए। पहिले विस्तारित मस्तिष्क र शिशुहरूको ठूलो मस्तिष्कसँगै जन्म लिनु मानव उत्पत्तिको लागि विशिष्ट कारक मानिएको थियो तर अस्ट्रेलोपिथेकस सेडिबाका कंकालहरूको जीवावशेषले नयाँ खोजलाई दर्शाएको थियो। जसानुसार नितम्ब र मस्तिष्कको बाहिरी सतहमा महत्त्वपूर्ण परिवर्तनको विस्तारबाट पूर्व घटित भयो। डिसेम्बर २००३ मा वैज्ञानिकहरूले नियन्डरथलका जिन्सको खाका तीन अलग नियन्डरथल मानव जीवावशेषहरूको हाडबाट लिइएका डीएनए अंशहरूबाट बनाए, जुन प्रत्येक एक-अर्कोबाट भिन्न छन्। यसले त्यसलाई डीएनए खोजको सबभन्दा पहिलो विलुप्त प्रजाति बनाउँदछ। यो जीवाश्म क्रोएशियाको विन्दिजा गुफाबाट प्राप्त गरिएको थियो, जुन लगभग ४४ हजार वर्ष पुरानो छ। मार्च २०१५ मा वैज्ञानिकहरूले इथियोपियामा एक नयाँ जीवावशेष प्राप्त गरे, जसलाई ‘लेडी ज’ नाम दिइयो। यसको तिथि निर्धारण २७.५ देखि २८ लाख वर्ष पहिले गरिएको छ। यसको तल्लो बंगारा, केबल बायातिरको आधार बंगारा अस्ट्रेलोपिथेकसका पूर्वजका साना दाँत हुन्, जबकि यसका अन्य गुणले पछिका होमो प्रजातिसँग समानता राख्दछन्, जस्तो कि होमो हेबिलस। सेप्टेम्बर १०, २०१५ मा एक अर्को असाधारण खोज भयो। यहाँ दक्षिण अफ्रिकाको राइजिंग स्टार गुफामा पन्ध्र कंकाल प्राप्त भए। यी कंकालहरूका आधुनिक मानवका जस्तै खुट्टा र हात, साथै उच्च काँध, चौडा नितम्ब र अस्ट्रेलोपिथेकसकै जस्ता फैलिएका करङले यसलाई होमो पूर्वज जस्तै देखाउँदछन्। अहिलेसम्म प्राप्त जीवावशेष भण्डारहरूमा लक्षणहरूको यो संयोजन अहिलेसम्म कतै प्राप्त भएको छैन। त्यसकारण शोध समूहले यो जीवावशेषलाई एक नयाँ प्रजाति होमो नलेडी नाम राखेका छन्।

पृथ्वीमा २८ लाखदेखि १४ लाख वर्षसम्म जीवित रहेको एक मानव प्रजाति होमो हेबिलस थियो। यी मानव दक्षिणी र पूर्वी अफ्रिकामा होलोसीन युगको अन्त र प्रारम्भिक प्लीस्टोसिन युगमा विकसित भएका थिए। यसको पहिलो जीवावशेष सन् १९६० मा मेरी लीके र लुईको नेतृत्वमा एउटा समूहले तान्जानियाको ओल्डुवाई गर्ज, पूर्वी अफ्रिकामा गरिएको थियो। यो स्थानमा हड्डीहरूसँगै ढुंगाका औजारहरू पनि प्राप्त भएका थिए। यसको औजारहरूसँग सम्बन्ध भएको कारणले गर्दा यो आरम्भिक मानवलाई होम हेबिलस भनियो। होमो हेबिलसको कद छोटो थियो, जसका हात-खुट्टा लामा थिए र कंकाल धेरै हदसम्म अस्ट्रेलोपिथेकसको जस्तै थियो। यिनीहरूको मस्तिष्क ठूलो थियो र चबाउने दाँत अस्ट्रेलोपिथेकसका भन्दा साना थिए।

शारीरिक अनुपात आधुनिक मानवको जस्तो भएको सबभन्दा पुरानो एक ज्ञात प्रारम्भिक मानव प्रजातिलाई होमो इरेक्टस भनिन्छ।  यसको शरीरको आकार भन्दा लामा खुट्टा र छोटा हात जस्ता विशेषताहरूको कारण यसलाई जमिनमा रहने जीवन अनुकूल मानिन्छ। पहिलेका मानिसहरूको तुलनामा यिनीहरूको मस्तिष्क ठूलो थियो। यो प्रजातिको सबभन्दा पूर्ण जीवावशेषलाई ‘तुर्किस्तानी व्वाइ’ को नामले जानिन्छ। यो जीवावशेष राम्रोसँग संरक्षित छ र लगभग १६ लाख वर्ष पुरानो मानिन्छ। यसका दाँतको सूक्ष्म अध्ययनबाट के संकेत मिल्छ भने यो प्रजातिको विकास दर ‘ग्रेट एप्स’ समान थियो। यो प्रजातिले बुढा र कमजोर व्यक्तिहरूको हेरविचार गरेको संकेत प्राप्त भएको छ। जीवावशेष रेकर्डमा होमो इरेक्टसको प्राप्तिलाई प्रायः बञ्चरोको प्रयोगसँग जोडेर हेरिन्छ। बञ्चरोले ढुंगाबाट औजार बनाउने प्रक्रियाको एक विकसित चरणलाई दर्शाउँदछ। सन् १८९० को दशकमा शुरू भएको जावा  र सन् १९२० को दशकमा शुरू भएको  चीन (पेकिङ मेन) को  प्रारम्भिक जीवावशेष खोजहरूमा यो प्रजातिका उत्कृष्ट उदाहरण पाइएका छन्। डच सर्जन यूजीन डुबोइले सन् १८९१ मा इन्डोनेशियामा होमो इरेक्टसको जीवावशेषको खोज गरेका थिए। सन् १८९४ मा डुबोइले यो प्रजातिको नाम पिथेकेन्थ्रोपस इरेक्टस वा ‘इरेक्ट एप-मेन’ राखे।  सन् १९२७ मा चीनको चाउकोटिन गुफामा प्राप्त यो समूहको मानवलाई पेकिङ मानव भनियो। सन् १९८२ मा भारतको नर्मदा नदी किनारमा होमो इरेक्टसको तालुको हाड फेला परेको थियो र यसलाई नर्मदा म्यान मानिएको छ। यसको आकार होमो सेपियन्सकै जत्रो थियो।  होमो इरेक्टसको दिमागी क्षमता ‘एप’ को भन्दा धेरै बढी भएकोले यो मानव निकै चलाख, दुरदर्शी र केही बोल्नसक्ने भएको विश्वास गरिन्छ। यसका हातहरू केही ठूला हुँदै गएका थिए। छालामा रौं हराउँदै गएका थिए। यो अग्लो र द्रूत गतिमा दौडन सक्थ्यो। होमो इरेक्टस एक मध्यम कदको मानव थियो। यसको नाक, बंगारा र तालु चौडा थिए। यसका दाँत आधुनिक मानिसको तुलनामा ठूला थिए। यसको अधिकतम् उमेर ४० वर्ष अनुमान लगाइएको छ। होमो इरेक्टसको ठूलो शरीर र दिमागलाई काम गर्नको लागि नियमित रूपले धेरै ऊर्जाको आवश्यकता पर्दथ्यो। उनीहरू माँसु र अन्य प्रकारका छिट्टै पाचन हुने प्रोटीनहरूको अतिरिक्त मह र जंगली कन्दमुल पनि खान्थे। यो मानव प्रजातिले शिकारको उच्च सीप विकास गर्न सकेको भने थिएन। यसले ढुंगा, काठ, हाड र यस्तै अन्य उत्कृष्ट चीजका हतियार बनाएको पाइन्छ। यिनीहरूले शिकार गर्थे र समूहमा परिवारसहित बस्थे। यिनीहरूको अस्थायी र स्थायी दुवैप्रकारको बसोवास रहेको पाइन्छ। यी प्रजातिले आगोको प्रयोग गर्न सिकेको प्रमाण प्राप्त भएको छ।

मानव जातिको एक अर्को प्रजाति होमो सोलोएन्सिस हो। यसको खोज सन् १९३१ देखि १९३३ को बीचमा गुस्ताभ हेनरिक राल्फ कोएंग्सवाल्डद्वारा गरिएको थियो। यो होमो इरेक्टसकै एक उपप्रजाति हो। इन्डोनेशियाको जावा द्वीपको सोलो नदीको किनारामा यसलाई खोजिएको थियो। यो प्रजाति पछिको होमो इरेक्टसको एक रूपान्तरण हो र होमो हाइडेलबर्गेन्सिसको समयकै हो। आकृतिका अनुसार यसको आँखाको क्षमता १०१३-१२५२ क्युबिक सेमी छ, जुन होमो इरेक्टसको समरूप हो।

चीसो जलवायुमा रहने पहिलो प्रारम्भिक मानव प्रजातिलाई होमो हाइडलबर्गेन्सिस भनिन्छ। यिनका छोटा र चौडा शरीर संभवतः गर्मीको संरक्षणको लागि अनुकूलित थिए। यो प्रजातिले आगोमाथि नियन्त्रण गर्नुको साथै काठका भालाहरूको प्रयोग गर्न पनि सिकेको थियो। यिनीहरू ठूला जनावरहरूको शिकार गर्ने पहिलो मानव प्रजाति थिए। खराब मौसमबाट बच्नको लागि पहिलो पटक काठ र पत्थरबाट बनेका घर बनाउने काम पनि यिनै प्रजातिहरूले गरेका थिए। सन् १९८० मा जर्मनकी हाइडलबर्ग निकट माउर गाउँमा एउटा मजदूरले हाइडेलबर्गेन्सिसको पहिलो नमूना फेला पार्‍यो । यसको एक बंगारामा प्री मोलर  र दुई मोलरहरूलाई छोडेर सबै दाँत रहेका थिए। जर्मन वैज्ञानिक अटो शोनटेसेकले सबभन्दा पहिले यो नमूनाको वर्णन गरे र यो प्रजातिको नाम होमो हाइडेलबर्गेन्सिस राखे।

डेनिसोवा होमिनिन्स वा डेनिसोवांस होमो जातिको आद्य मानवको विलुप्त उपप्रजाति हो। मार्च २०१० मा वैज्ञानिकहरूले अल्टाई पर्वतमा रहेको साइबेरियाको डेनिसोवा गुफाबाट लगभग ४१ हजार वर्ष पहिले अस्तित्वमा रहेको एक पुरूष युवकको औंलाका हड्डीहरूको खोजको घोषणा गरेका थिए। यी गुफा नियन्डरथल र आधुनिक मानवका आवास थिए। यस प्रजातिका शारीरिक अवशेषहरूमा केवल औंलाका हड्डी, दुई दाँत र एउटा खुट्टाको पंजाका हड्डी प्राप्त भए। यी प्रमाणहरूले के संकेत गर्दछन् भने डेनिसोभा धेरै शक्तिशाली थिए, संभवतः नियन्डरथल समान आकारमा ठूला थिए।

सबभन्दा निकट विलुप्त मानव नातेदारको रूपमा रहेको एक प्रजातिको नाम होमो नियन्डरथल मानव हो। यसलाई प्रायः होमो सेपियन्स नियन्डरथलेन्सिस पनि भनिन्छ। आधुनिक मानवका अधिकांश गुण भएका मानिसका पुर्खा नियन्डरथल मानव हुन्।  यो मानव प्रजातिको विशेषताहरूमा अनुहारको ठूलो मध्य भाग, तीखो गालाको हड्डी र चीसो तथा शुष्क हावालाई तातो बनाइराख्नको लागि एक ठूलो नाक, आदि हुन्। यिनीहरूको शरीर अहिलेको मानवको भन्दा साना र गठिला थिए। यिनीहरू चीसो वातावरणमा बस्नको लागि अनुकूलित थिए। यिनीहरूको दिमाग आधुनिक मानवको जस्तै ठूलो थियो र कहिलेकाहीँ त त्यो भन्दा पनि ठूलो हुन्थ्यो। यो उनीहरूको ठूलो शरीरको समानुपाती थियो। नियन्डरथल विभिन्न प्रकारका परिष्कृत औजार बनाउन र तिनीहरूको प्रयोग गर्नुको साथै आगोमाथि नियन्त्रण गर्न जान्थे। यिनीहरूले विभिन्न प्रकारका काठ, हाड, सिंङ, ढुंगा, आदिका उत्कृष्ट हतियार बनाएर प्रयोग गर्दथे। यिनीहरूको धारिला, चुच्चा तथा ठूला-ठूला जनावर मार्न सकिने हतियार बनाउने क्षमता पनि थियो। उनीहरू घर बनाएर बस्थे, कपडा बुन्थे र लगाउँदथे। उनीहरू ठूला-ठूला जनावरहरूको शिकार कुशलतापूर्वक गर्दथे। उनीहरू कहिलेकाहीँ प्रतीकात्मक तथा सजावटका वस्तुहरू पनि बनाउँदथे। के कुराको प्रमाण प्राप्त भएको छ भने नियन्डरथल मानव आफ्ना मृतकहरूलाई गाड्दथे र कहिलेकाहीँ उनीहरूको चिहानमा फूल, आदि पनि चढाउने गर्दथे। यिनीहरू घाइते र विरामीको हेरविचार पनि गर्थे। यस्तो व्यवहार यिनीहरूभन्दा पहिले कुनै अन्य मानव प्रजातिहरूमा देखिएको थिएन। यसप्रकार वास्तवमा नियन्डरथल आधुनिक मानवका गुणहरू भएको प्राचीन मानव थियो।  जर्मनीको नियन्डर घाँटीको फेल्डहोफर गुफामा पाइएका यी अवशेषहरूलाई भूवैज्ञानिक विलियम किंगले होमो नियन्डरथेलेंसिस नाम राखेका थिए। यसको खोजी सन् १८५६ मा भएको थियो। फ्रान्सको दोर्दोएन क्षेत्रको मुस्तेरमा पनि यो मानव प्रजातिका अनेकौ जीवावशेष पाइएकोले यसलाई मुस्तेर मानव पनि भन्ने गरिन्छ। यो मानव प्रजातिको समयावधि एक लाख वर्ष पहिलेदेखि ३८ हजार वर्षसम्म मानिएको छ।  यो मानव संसारमा सबैतिर फैलिएको पाइएको छ। नियन्डरथल मानव पश्चिमी युरोपको भयंकर ठण्डीको कारण वा आधुनिक मानवसँग संघर्षको कारण विलुप्त भएका हुनसक्दछन् भन्ने अनुमान वैज्ञानिकहरूले लगाएका छन्।

क्रमिक विकासको क्रममा मानव बुद्धिका कैयौं लक्षणहरू – सहानुभूति, विलाप, खुशी, अनुष्ठान, प्रतीक र औजारहरूको प्रयोग, आदि विकसित भए। यी लक्षणहरू ‘एप्स’ मा पनि पाइएका  थिए तर आधुनिक मानवमा कम जटिल रूपले पाइयो। होमो सेपियन्समा पूर्ण रूपले बुझ्ने र एक-अर्कोसँग संवाद गर्ने क्षमताको विकास भयो। मानव बोधको क्रमिक विकास मानव मस्तिष्क, कुराकानी र भाषाको उत्पत्तिको क्रमिक विकाससँग निकटतापूर्वक सम्बन्धित छ। आधुनिक मानव र नियन्डरथलहरूको कण्ठिकाका हाडहरूमा लगातार गिरावट आएको कारणले भिन्न प्रकारको ध्वनिको निर्माण भयो। बुद्धिमत्ता र बोल्ने क्षमता सँगसँगै विकास भयो। ज्ञानको लागि बुद्धिमत्ता सबभन्दा उन्नत रचना हो, जुन हाम्रो बुद्धिमा यन्त्रस्थ हुन्छ। वास्तवमा धेरै मानव वैज्ञानिकहरू के कुरासँग सहमत छन् भने महान अग्रगामी छलाङको आरम्भ मानव अस्तित्वको आधुनिक युगमा भयो, जसको कारण पूर्ण संज्ञानात्मक विकास थियो, जसले जटिल भाषालाई संभव बनायो।

आधुनिक मानव प्रजातिलाई होमो सेपियन्स भनिन्छ। यसको विकास लगभग तीन लाख वर्ष पहिले अफ्रिकामा चलिरहेको जलवायु परिवर्तनको क्रममा भएको थियो। होमो सेपियन्स ४० हजार वर्ष पूर्वदेखि अस्तित्वमा छ।  यिनीहरू अन्य प्रारम्भिक मानिसहरू जस्तै शिकार र खाना जम्मा गर्दथे। शारीरिक रूपमा सेपियन्सका कंकाल आफ्ना पूर्वजहरूको तुलनामा हल्का थिए। आधुनिक मानिसहरूको दिमाग धेरै ठूलो हुन्छ र यसको आकार महिला र पुरूषहरूमा अलग-अलग हुन्छ तर यसको  औसत आकार लगभग १३०० घन सेन्टिमीटर हुन्छ। यो ठूलो मस्तिष्कको लागि स्थान बनाउनको लागि सेपियन्सको खोपडीको पुनर्गठन भयो। पातलो पर्खाल भएको एक सपाट र भर्टिकल निधारसँगै उच्च गुम्बजको आकारको खोपडी बन्यो। आधुनिक मानवका आँखीभौं पहिलेभन्दा कम उन्नत हुनुको साथै दाँत र बंगाराको आकार पनि सानो छ। प्रागैतिहासिक होमो सेपियन्स ढुङ्गाका सामान्य औजार बनाउने र प्रयोग गर्दथे। यसको साथै उनीहरू मिश्रित ढुङ्गाका ‍औजार, माछा मार्ने बल्छी, धनुष, तीर र भाला फ्याँक्ने, सियोसहित कैयौं साना, धेरै जटिल, परिष्कृत र विशेष उपकरण पनि बनाउँथे। १ लाख ६४ हजार वर्ष पहिलेसम्म आधुनिक मानव शंख जम्मा गरिरहेका थिए र ९० हजार वर्ष पहिलेसम्म आधुनिक मानिसहरूले माछा मार्ने विशेष उपकरण बनाउन शुरू गरेका थिए। खाद्यान्न उत्पादन आधुनिक मानवले १२ हजार वर्ष पहिले शुरू गरेको थियो। आधुनिक मानव पूर्वजहरूले पशुहरू तथा बोटविरूवाको विकास एवम् प्रजननमा नियन्त्रण गर्न सिके। यसकारण कृषि एवम् पशुपालनको शुरूवात भयो। विस्तारै पूर्वजहरूले आफ्नो ध्यान खाद्यान्नको उत्पादनमा केन्द्रित गरे र उनीहरू एक ठाउँमा बस्न लागे। धेरै खाद्यान्न उपलब्ध हुनुको साथसाथै मानवीय जनसंख्या तीव्र रूपमा वृद्धि हुनथाल्यो। यसरी होमो सेपियन्सले पृथ्वीको इतिहासलाई एक नयाँ मोडमा ल्याउनमा सफल भयो। यिनीहरूमध्ये कैयौं प्रजातिहरू एकै समयमा अस्तित्वमा थिए। किनभने एउटा नयाँ प्रजातिको उपस्थितिको अर्थ अघिल्ला प्रजातिहरू तत्काल लोप हुनु थिएन। तिनीहरूको बीचमा पनि अन्तर-प्रजनन हुन्थ्यो, जस्तो डेनिसोभन्स, नियन्डरथल र होमो सेपियन्सको सन्दर्भमा देखिन्छ। केही वैज्ञानिकहरूका अनुसार पृथ्वीमा अहिले विद्यमान विभिन्न जातिहरूका बीचमा पाइने अन्तरहरूको पछाडिको कारण यही हो। यद्यपि आधुनिक मानवका पूर्वजहरूको बारेमा अझै पनि धेरै अनुत्तरित प्रश्नहरू रहेका छन् साथै समयरेखामा पनि असंगतिहरू पनि छन्। तर आउने समयमा यो कुरा स्पष्ट हुँदै जानेछ भन्ने कुरामा विश्वास राख्नुपर्ने हुन्छ।

होमो सेपियन्स वर्गमा पर्ने थुप्रै उपसमूहहरू छन् – जसानुसार ग्रिमाल्डी मानव, क्रमेग्नन मानव, सोलुत्रे मानव, अजिल मानव, ओरनेक मानव, आदि पर्दछन्। अजिल मानवलाई प्रागैतिहासिक मानवको अन्तिम प्रतिनिधि मानिन्छ। अध्ययन अनुसार होमो सेपियन्स मानव  इपू दस हजार वर्ष अगाडिसम्म पुगेको देखिन्छ। होमो सेपियन्सले गुफाका भित्ताहरूमा विभिन्न कलात्मक चित्रहरू बनाउनुका साथै कलाका विभिन्न नमूनाहरूको पनि विकास गरेको देखिन्छ। पशुपंक्षी पालन र कृषिको शुरूवात अजिल मानवले गरेको मानिएको छ। सेपियन्सले नै छाला सिउने र लुगाको प्रयोग गरेको थियो।

मानव जातिको आनुवंशिक जातिपरिवर्तन लगभग ५ लाख वर्ष पहिलेदेखि नियन्डरथल र आधुनिक मानवका पूर्वज संसारमा घुमिरहेको बेला भएको देखिन्छ। यस क्रममा एउटा आनुवंशिक उत्परिवर्तन भयो, जसको परिणामस्वरूप तिनीहरूमध्ये केहीको दिमागमा असाधारण वृद्धि भयो। वैज्ञानिक अनुसन्धान अनुसार यो उत्परिवर्तनपछि आधुनिक मानवका पूर्वज होमिननका मस्तिष्क कोशिकाहरूको संख्यामा नाटकीय रूपले वृद्धि भयो। जसको कारणले नियन्डरथलमाथि एक बौद्धिक लाभ दिएको हुनुपर्दछ। आनुवंशिक उत्परिवर्तनले एमिनो एसिडलाई बदलिदियो। यो एक यस्तो प्रोटीन हो, जुन होमिनिन पूर्वजहरू, नियन्डरथल र गैर-मानव प्राइमेटमा पाइने प्रोटीनभन्दा अलग छ।

आधुनिक मानवले अफ्रिकाबाट आएको तुरून्तै पछि नियन्डरथललाई हटाएका थिए। लुडविच स्लिमाकको नेतृत्वमा २६ शोधकर्ताहरूको समूहले दक्षिणी फ्रान्सको एउटा गुफामा एक बच्चाको दाँत र ढुंगाको औजारहरूको खोजी गरेपछि के पत्ता लाग्यो भने होमो सेपियन्स लगभग ५४ हजार वर्ष पहिले पश्चिमी यूरोपमा पुगिसकेका थिए। यो पुरानो जानकारीभन्दा कैयौं हजार वर्ष पहिले हो। यसले के दर्शाउँदछ भने दुवै प्रजातिहरू लामो समयदेखि सँगै बस्दै आइरहेका थिए।

वैज्ञानिक अनुसन्धान अनुसार जलवायु परिवर्तन प्रारम्भिक मानव प्रजातिहरू लोप हुनुको एक महत्त्वपूर्ण कारण हुन सक्दछ। इटलीमा नेपल्स फेरडरिको विश्वविद्यालयका पासक्वेल रिया र उनका सहयोगीहरूले होमो जीनसमा आउने प्रजातिहरूको अस्तित्वमा जलवायु परिवर्तनको प्रभावलाई निर्धारित गर्नको लागि जलवायु मोडलिङ र जीवावशेष रेकर्डको उपयोग गरेका छन्। यी शोधकर्तहरूले विगत २५ लाख वर्षहरूमा जीवित कैयौं प्रजातिहरूका अवशेषहरूका २७५४ पुरातात्विक अभिलेखहरूको डाटावेशको उपयोग गरेका छन्। यिनीहरूमा होमो हेबिलस, होमो एर्गास्टर, होमो हाइडलबर्गेन्सिस, होमो नियन्डरथेलेंसिस र होमो सेपियन्स रहेका छन्। शोधकर्ताहरूले होमो इरेक्टस, होमो हाइडलबर्गेन्सिस र होमो नियन्डरथलेन्सिस सबैले विलोप हुनुभन्दा ठीक पहिले आफ्नो जलवायु क्षेत्रको एक महत्त्वपूर्ण हिस्सा गुमाएको पाएका थिए। होमो इरेक्टस १ लाख १५ हजार वर्ष पहिले शुरू भएको पछिल्लो हिमयुगमा समाप्त भएका थिए। शोधकर्ताहरूका अनुसार यो प्रजातिको जीवनकालको समय अत्याधिक चीसो थियो। उनीहरूका अनुसार नियन्डरथलको लागि सेपियन्ससँग प्रतिस्पर्धा पनि एक कारक थियो तर सेपियन्सको उपस्थिति बिना पनि जलवायु परिवर्तनको प्रभाव विलोप हुने पर्याप्त कारण हुन सक्दछ। पासक्वेलका अनुसार आफ्नो वरिपरिको पर्यावरणलाई नियन्त्रित गर्ने क्षमता राख्ने प्रजातिहरू पनि जलवायु परिवर्तनका प्रभावहरूप्रति असंवेदनशील थिए। यद्यपि जलवायु परिवर्तन एकमात्र कारण भने थिएन।

मानिस दुई खुट्टाले सीधा उभिएर हिड्दछन्। उनीहरू आफ्ना कामलाई सहज बनाउनको लागि विभिन्न औजारहरूको प्रयोग गर्दछन्। त्यसरी आफ्ना विभिन्न विचारहरूलाई आदान-प्रदान र प्रवाह गर्नको लागि भाषाको सहायता लिन्छन्। मानव विकासको यात्राको शुरूवात एककोशीय जीवको उत्पत्तिबाट नै भएको हो र यी चरणहरूको जानकारी मुख्यगरी जीवावशेष विज्ञानबाट प्राप्त हुन्छ। लाखौं वर्ष पहिले पाइने यी जीवहरूको बारेमा जानकारीको यो मूल्यवान स्रोतको सहयोगबाट लोप भइसकेका र विद्यमान प्रजातिहरूको बारेमा जानकारी हासिल गर्न सफल भएको हो। मानव विकासको इतिहासको बोधको लागि जीवजगतको विकासमा दृष्टि दिनुपर्दछ। जीवको शुरूवात एक कोशबाट भएको हो भन्ने कुरा स्पष्ट नै छ। एककोशीय जीवमा सबभन्दा ठूलो चुनौती पर्याप्त ऊर्जा प्राप्त गर्ने थियो। किनभने धेरै कार्यहरूलाई एकसाथ कुशलतापूर्वक गर्न  उनीहरूलाई मुश्किल हुन्थ्यो। यही कारणले गर्दा लगभग ३ देखि साँढे ३ अरब वर्ष पहिले बहुकोशीय जीवहरू एवम् एन्डोसिम्बायोसिस (कुनै अन्य जीवको शरीर वा कोशिकामा रहने जीव) को शुरूवात भयो। समयक्रमसँगै यी जीवहरूमा मूलभूत तन्त्रिका प्रणालीको विकास भयो। विशेषीकृत न्यूरोनहरूको विकास धेरै पछि भए  पनि यी जीनहरूको उपस्थितिको परिणामस्वरूप एक तन्त्रिका प्रणाली र मस्तिष्क जस्तो संरचनाको विकास भयो। यो प्रक्रियालाई सेफेलाइजेसनको रूपमा बुझिन्छ । यसलाई ५००० लाख वर्ष पहिलेका जीवावशेषहरूमा देख्न सकिन्छ। सेफेलाइजेशन एक प्रमुख अनुकूलन थियो। किनभने यसले संवेदी अंगहरूलाई सूचना-प्रसारण तन्त्रिका कोशिकाहरूको निकट राख्यो, जसमा जीव पर्यावरण प्रति तीव्र प्रतिक्रिया गर्नमा सक्षम भयो। लगभग ४००० लाख वर्ष पहिलेसम्म जीव महासागरहरूसम्म नै सीमित थियो। त्यसपछि जीवमा सतहको दलदलमा र पुनः भूमिका हिड्ने र श्वास लिने प्रणालीको विकास भयो। एक पटक यी जीवहरूले पृथ्वीमा रहन सिके। त्यसपछि कीरा र स्थलीय पशुहरूको विविधीकरण शुरु भयो। वैज्ञानिकहरूका अनुसार पहिलो स्तनधारी जीव लगभग २१०० लाख वर्ष पहिले देखिएको थियो र यो संभवतः एउटा सानो छुचुन्द्रो जस्तो प्राणी थियो। मांसाहारी डाइनासोरहरूको उपस्थितिको कारण यी शुरूवाती स्तनधारीहरूको आधार प्रारम्भमा सानो भएको हुनुपर्दछ। तर ६० लाख वर्ष  पहिले विध्वंसकारी उल्कापातको कारणले सबै कुरा बदलिदियो। डाइनासोरहरूको लोप भएपछि स्तनकारी प्रजातिहरूको संख्यामा विस्तार भयो। उनीहरूको आकार तथा विविधतामा पनि वृद्धि भयो। स्तनधारीहरूको विकासक्रममा मस्तिष्कको विस्तार र नियोकोर्टेक्सको गठन जस्ता महत्त्वपूर्ण लक्षणहरू देखिएका छन्। यी लक्षणहरूलाई प्राइमेट्स,  होमिनिड्स र मानिसमा विशेष रूपले महत्त्वपूर्ण मानिन्छ। यो सम्पूर्ण कालक्रममा प्राइमेट तथा तिनीहरूका वंशजहरूको आगमन धेरै पछि भयो। सबभन्दा पुरानो प्राइमेट जीवावशेष केवल ५५० लाख वर्ष पुरानो छ, जबकि सबभन्दा पहिलो होमो जीवावशेष केवल २८ लाख वर्ष पुरानो छ।

करीब ५० देखि ७० लाख वर्ष पहिले अफ्रिकामा केही बाँदर जस्ता जीवहरूले आफ्नो खुट्टाद्वारा हिड्न शुरू गरेका थिए र त्यहीँबाट मानव पूर्वजहरूको इतिहासको शुरूवात भएको मानिन्छ। करिब २५ लाख वर्ष पहिले उनीहरूले ढुङ्गाबाट औजार बनाउने कामको शुरूवात गरे र करिब २० लाख वर्ष पहिले उनीहरूमध्ये केही अफ्रिकाबाट निक्लिएर एशिया र यूरोपका देशहरूमा फैलिए। वैज्ञानिकहरूका अनुसार आधुनिक मानवको विकास कम्तीमा १ लाख ३० हजार वर्ष पहिले अफ्रिकामा रहेका पूर्वजहरूबाट भएको हो। तिनीहरूका मस्तिष्क आधुनिक मानवकै जस्तो ठूला थिए र उनीहरूले पनि अफ्रिकाबाट बाहिर यात्रा शुरू गरेका थिए। आफ्नो यो यात्राको क्रममा उनीहरूले अन्य गैर-आधुनिक मानव प्रजातिहरू, जस्तो कि युरोप तथा एशियाका केही स्थानमा पाइने नियन्डरथल र सुदूर पूर्वका होमो इरेक्टस (जावा र पेकिङ मानव) को ठाउँ लिए। यसभन्दा पछाडिको मानवको विकासमा वैज्ञानिकहरूको एक मत देखिंदैन। शारीरिक रूपले आधुनिक मानव जस्तै देखिन जीवमा रचनात्मक तथा प्रतीकात्मक सोचको विकास कहिले र कसरी भयो, त्यसरी नै उनीहरू शरीरसँगै व्यवहारमा पनि मानव कहिले भन्ने भन्ने कुरा त्यति स्पष्ट पाइँदैन। मानव सभ्यता र संस्कृतिको जन्म कहिले र कसरी भयो भन्ने सन्दर्भमा पनि एकमत पाइएको छैन। वैज्ञानिकहरूका अनुसार आधुनिक मानव व्यवहारको शुरूवात लगभग ४०००० वर्ष पहिले पहिले युरोपमा होमो सेपियन्सले प्रवेश गरेपछि भएको मानिन्छ। यो मानिसहरूले स्वयंलाई अभिव्यक्त गर्न शुरू गरेको समय थियो। फ्रान्सका लासो र शोभेमा प्राप्त भएका गुफाचित्रको आधारमा वैज्ञानिकहरूले एक रचनात्मक विस्फोटको सिद्धान्त दिएका थिए। तर कैयौं शोधकर्ताहरूले यसलाई अस्वीकार पनि गरे। अफ्रिका र मध्य पूर्वमा भएका खोजहरूको माध्यमबाट कैयौं भौतिक प्रमाणहरू प्राप्त भएका छन्। यिनीहरूले आधुनिक व्यवहारको युरोप केन्द्रित नभएको पुरानो र धेरै क्रमिक विकासको समर्थन गर्दछन्। यद्यपि वैज्ञानिकहरूको एउटा धेरै ठूलो समूहले अहिले पनि अफ्रिकामा भएका एक-दुई छिटपुट खोजहरूलाई छोडेर कुनै विशेष प्रमाण नमिलेको कुरा मान्दछन्।

केही शोधकर्ताहरूको मतानुसार रचनात्मकता अचानक प्रकट भएको हो । यसको व्याख्याको लागि उनीहरूले आनुवंशिक परिवर्तनको एक नयाँ परिकल्पनालाई अगाडि ल्याएका छन्। मानव सभ्यताको शुरूवातलाई लिएर धेरै बहसहरू भएको देखिंदैन। इंग्ल्याण्डमा रहेको साउथेम्प्टन विश्वविद्यालयमा मानव उत्पत्तिका पुरातत्व केन्द्रका निर्देशक डा. क्लाइव ग्याबलको भनाइ अनुसार युरोप एक सानो प्रायद्वीप हो तर यहाँ बढी मात्रामा शानदार पुरातात्विक अवशेष प्राप्त भएका छन्। तर यी अवशेषहरूमा पक्कड रहेको पाइँदैन। अफ्रिका एवम् अन्य ठाउँमा लगातार नयाँ प्रमाणहरू प्राप्त भइरहेका छन् र पछिल्ला वर्षहरूमा यसले आधुनिक मानव व्यवहारको बहसलाई बदलेर अझ बढी व्यापक बनाइदिएको छ।

आधुनिक मानवका पूर्वजहरू आधुनिक देखिने र आधुनिक व्यवहार गर्ने कुराको बीचमा धेरै लामो समय गुज्रियो। यसलाई सांस्कृतिक व्यवहारको उत्पत्तिलाई लिएर अनिश्चितता एवम् भ्रम हुने  कुराको पछिको मुख्य कारण मान्न सकिन्छ। के कुरा संभव छ भने पहिले होमो सेपियन्समा आधुनिक रचनात्मकताको योग्यता भयो। तर उनीहरूको यो कौशल उनीहरूलाई जीवित रहनको लागि यसको आवश्यकता महसुस नहुन्जेलसम्म अविकसित रह्यो। कनेक्टिकट विश्वविद्यालयमा मानववैज्ञानिकको रूपमा कार्यरत डा. सेली म्याकब्रेर्टीका अनुसार के संभव छ भने पुरातन होमो सेपियन्समा स्पुतनिकको आविष्कार गर्ने बौद्धिक क्षमता रहेको हुनुपर्दछ तर उनीहरूसँग अझैसम्म यसप्रकारको आविष्कारको इतिहास थिएन र न उनीहरूलाई यी चीजहरूको आवश्कयता नै थियो। के संभव छ भने नयाँ सामाजिक परिस्थिति, पर्यावरण परिवर्तन एवम् अन्य पुरातन मानव प्रजातिहरूसँग प्रतिस्पर्धाको तनावको परिणामस्वरूप यी आवश्यकताहरूको विकास भएको हुनुपर्दछ। अर्थात् आधुनिक व्यवहारको क्षमता कुनै यस्ता आनुवंशिक परिवर्तनको रूपमा आएको हुनुपर्छ, जसको अहिलेसम्म जानकारी छैन। एरिजोना विश्वविद्यालयका पुरातत्वविद डा. मेरी सी स्टाइनरका अनुसार यी विपरीत विचार एवम् तिनीहरूका विविधताहरूलाई एक प्रश्नमा समाहित गर्न सकिन्छ : के मस्तिष्कको कार्यप्रणाली अथवा पृथ्वीको वातावरणमा कुनै मौलिक परिवर्तन भएको थियो ?

मानव रचनात्मकता अचानक र मुख्य रूपले युरोपमा प्रकट भयो । यो पारम्परिक सिद्धान्तका सबभन्दा प्रमुख समर्थकहरूमध्येमा एक स्टेनफर्ड विश्वविद्यालयका पुरातत्वविद डा. रिचर्ड जी. क्लाइन हुन्। उनले ब्लेक एडगरसँग मिलेर लेखेको र जोन भिलेद्वारा प्रकाशित पुस्तक ‘द डन अफ ह्यूमन कल्चर’ मा आफ्नो यो स्थापनालाई परिभाषित गरेका छन्। ४० हजार वर्षभन्दा पनि कम समयको अन्तरालमा भएका कैयौं सांस्कृतिक क्रान्तिहरूले मानवलाई एक अपेक्षाकृत दुर्लभ, ठूला स्तनधारीको  श्रेणीबाट निकालेर एक विश्वविजेताको रूपमा स्थापित गरिदिएको छ। यो दृष्टिकोणबाट हेर्दा आधुनिक होमो सेपियन्स युरोप पुगेपछि ४० हजार वर्ष पहिले मानव रचनात्मकमा एक मोड आएको थियो। यसको प्रमाण अमूर्त र प्रतीकात्मक विचारयुक्त पहिलो कलाकृतिहरूबाट प्राप्त हुन्छ। तिनीहरूका उपकरण समयसँगै उन्नत हुँदै गए र मुर्दालाई दबाउने परम्परा पनि शुरू भयो। यसको अतिरिक्त एक नयाँ प्रकारकाको आत्म-जागरूकताको संकेत पनि पाइन्छ, जसलाई गहन रूपले प्रयोग गरिने मानक एवम् पेन्डेन्टको अतिरिक्त सूक्ष्म रूपले गढिएका मूर्तिहरूको माध्यमबाट हेर्न सकिन्छ। समय बित्दै जाँदा उनीहरूले हरिण, घोडा र जंगली साँढेका सानदार चित्रहरूको माध्यमबाट आफ्नो दैनिक जीवन एवम् विचारहरूलाई गुफाका परखालहरूमा व्यक्त गर्न शुरू गरिदिए। रचनात्मकतामा अचानक भएको यो वृद्धिको लागि डा. क्लाइनले एक तन्त्रिका सम्बन्धी स्पष्टीकरण दिएका छन्। उनको तर्क अनुसार लगभग ५० हजार वर्ष पहिले भएका आनुवंशिक म्युटेशनहरूले मानव मस्तिष्कको संरचनामा केही महत्त्वपूर्ण परिवर्तन गरे, जसबाट हाम्रो बोल्ने क्षमतामा उल्लेखनीय प्रगति भयो। भाषाको उत्पत्ति विकासवादका रहस्यहरूमध्ये एक हो। डा. क्लाइन अनुसार भाषाको प्रयोगले आधुनिक मानवका पूर्वजहरूले आफ्ना वरिपरिका प्राकृतिक र सामाजिक परिस्थितिहरूलाई बुझ्न र तिनीहरूसँग संघर्ष गर्नमा सहयोग गर्‍यो। यो शक्तिको बलमा उनीहरू संस्कृतिको आविष्कार गर्नमा सफल भए। यद्यपि यो परिवर्तन अफ्रिकामा भयो तर डा. क्लाइनका अनुसार यसले मानवलाई नयाँ र चुनौतिपूर्ण वातावरणमा रहन तथा उसलाई आफ्नो अनुसार ढाल्नमा सक्षम बनायो। युरोप पुगेपछि क्रोम्याग्नन भनिने यी आधुनिक मानिसहरूले संभवतः नियन्डरथलहरूलाई विलोप गरे र  भूमिमा आफ्नो अमिट सांस्कृतिक छाप छोडे। तर क्लाइन के मान्दछन् भने यो सिद्धान्तलाई मानव जीवावशेषको परीक्षणद्वारा सही वा गलत प्रमाणित गर्न सकिंदैन। त्यस समयका खोपडीहरूमा मस्तिष्कको आकारमा कुनै परिवर्तन देखिएन र न मस्तिष्कको कामकाजमा आनुवंशिक परिवर्तन नै प्राप्त हुने बढी संभावना छ। डा. क्लाइनका अनुसार यो मानव विकासको सबभन्दा सीधा व्याख्या हो । तर आलोचकहरूका अनुसार एक आकस्मिक मानव क्रान्तिको यस्तो अवधारणा धेरै सरल हुनुको साथसाथै अप्रमाणित पनि छ।

केही समय अगाडिको एक व्यापक अध्ययनमा डा. म्याकब्रेर्टी र जर्ज वाशिंटन विश्वविद्यालयका डा. एलिसन एस. ब्रूक्सले भनेका थिए – अफ्रिकामा आधुनिक व्यवहारको संकेत दिने कैयौं कलाकृतिहरू मानव क्रान्तिको भविष्यवाणी अनुरूप अचानक एकसाथ प्राप्त भएनन्। यी अलग-अलग साइटहरूमा र अलग-अलग कालखण्डहरूमा प्राप्त भए। यसबाट के कुरा थाहा हुन्छ भने अफ्रिकामा आधुनिक मानव व्यवहारको क्रमिक संयोजन भयो, जुन पछि पुरानो संसारका अन्य क्षेत्रमा फैलियो। आधुनिक मानव संस्कृतिको उत्पत्तिमा अझै बहस अगाडि बढिहरेको छ। र, समयसँगै यी मुद्दाहरू अझै जटिल बन्दै जानेछन्। आजको यो अत्याधुनिक समयमा संस्कृतिको स्वरूप अलग छ भने प्रागैतिहासिक समयमा पनि यस्तै रहेको हुनुपर्दछ। यसको धेरै संभावना छ।

वैज्ञानिकहरूले सन् २००७ मा केन्यामा गरिएको खोजबाट १ करोड वर्ष पुरानो पुच्छरविहीन बाँदरजस्तै जीवावशेष प्राप्त गरेका थिए। त्यही जीवावशेषलाई नै आजसम्म प्राप्त मानवको सबैभन्दा प्राचीन पूर्वज मानिएको छ। वैज्ञानिकहरूका अनुसार त्यही प्राचीन पूर्वजबाट नै गुरिल्ला ७० लाख वर्ष पहिले र चिम्पान्जी ५० लाख वर्ष पहिले अलग भएका थिए। त्यसपछि विभिन्न समयमा अस्ट्रलोपिथेकस – अनामिसेस,  अफरेन्सिस, डेयरिमेडा, सेडिबा, गर्ही तथा होमो – अन्टेसेसोर, हेडल्बेर्जेन्सिस, हेबिलस, अर्गास्टर, इरेक्टस जस्ता विभिन्न प्रजातिका मानवहरूको विकास र लोपको प्रक्रिया निरन्तर चलिरह्यो। यसरी वैज्ञानिकहरूका अनुसार होमो इरेक्टसबाट नै आधुनिक मानव होमो सेपियन्सको विकास भएको हो।

होमो सेपियन्सको उत्पत्ति र विस्तारबारे समय-समयमा प्राप्त विभिन्न जीवावशेषहरूले पूर्व मान्यताहरूलाई चुनौति प्रदान गरिरहेको पाइन्छ। सन् २०१७ मा एक प्रसिद्ध साइन्स पत्रिमामा विश्वकै प्राचीन होमो सेपियन्सको ३ लाख १५ हजार वर्ष पुरानो जीवावशेष मोरक्कोमा भेटिएको समाचार छापियो। तर त्यसभन्दा पहिले होमो सेपियन्सलाई २ लाख वर्ष पुरानो मानिन्थ्यो। सन् २०१८ मा नेशनल जियोग्राफिक म्यागजिनमा १७७ देखि १९४ हजार वर्ष पुरानो अफ्रिका बाहिर अहिलेसम्मकै पुरानो मानव अवशेष इजरायलको मिस्लिया ओडारमा पाइएको अनुसन्धानात्मक लेख छापिएपछि होमो सेपियन्स करिब ७० हजार वर्ष अघि अफ्रिकाबाट एशियामा बसाइ सरेको मान्यतामा चुनौति पुग्यो। सन् २०१९ मा नेचर जर्नलमा युरोपमा मानव बसाइसराइ सम्बन्धमा एक अनुसन्धात्मक लेख छापियो। यसमा ग्रीसमा दुई लाख वर्ष पुरानो होमो सेपियन्सको जीवावशेष पाइएको कुरा बताइएको छ। यसबाट युरोपमा लामो समयसम्म हिमयुग रहेको कारण धेरैपछि मात्र अफ्रिका र एशियाबाट मानिस त्यता सरेको कुरामा चुनौति थपिएको छ। वैज्ञानिक अनुसन्धानहरूबाट मानिस हिडेर नै अमेरिका पुगेका विभिन्न तथ्यहरू प्राप्त भएका छन्। दुई अमेरिकी महादेश र एशियामा करिब ८५ किलोमीटर समुद्री क्षेत्र अवस्थित छ। १५ देखि २० हजार पर्ष पहिले समुद्र सतह घटेर उत्तरी गोलार्धमा हिँउका ठूला चट्टानजस्तै पहाड बनेका थिए र त्यस बेला नै उत्तरपूर्वी एशियाबाट मानव पैदल हिँडेर अलास्का पुगेको कुरामा वैज्ञानिकहरूको मत मिलेको पाइन्छ। अनुसन्धानबाट के पुष्टि भएको छ भने होमो सेपियन्स मध्य एशियाबाट पाकिस्तान, भारत, वर्मा, मलेशिया, पपुवा न्युगिनी हुँदै पचास हजार वर्ष पहिले अस्ट्रेलिया पुगेको थियो। ८ हजार वर्ष पहिलेसम्म अस्ट्रेलिया र पपुवा न्युगिनी एकसाथ थिए तर समुद्र सतह बढ्दै गएपछि तिनीहरू अलग भएका हुन्। हिमयुग समाप्त भएपछि समुद्र सतह बढेको थियो। त्यसपछि जलवायु परिवर्तन पनि भएको थियो। पहिले अस्ट्रेलियासँग तस्मानिया पनि जोडिएको थियो।

वैज्ञानिक अनुसन्धान अनुसार होमो सेपियन्स ६० देखि ७० हजार वर्ष पहिले खाडी क्षेत्रका समुद्री किनारैकिनार वर्तमान पाकिस्तान हुँदै भारतीय क्षेत्रमा प्रवेश गरेको थियो। भारत आएको त्यही मानव समूह हजारौं वर्षपछि सुदुरपश्चिम नेपालको हिमाली क्षेत्रमा आएको थियो। केही समूह खाडी क्षेत्रबाट चीन हुँदै कस्मिरको बाटोबाट तिब्बत पुगी नेपाल प्रवेश गरेका थिए। चीनको कम उचाइमा बस्नेहरू पूर्वी पहाडमा बसोवास गरेको देखिन्छ। आर्यहरू विभिन्न समयमा भारतबाट पश्चिम तराई हुँदै कर्णाली क्षेत्र आएका देखिन्छन्। यसरी वैज्ञानिक अध्ययन अनुसार अफ्रिकामा उत्पत्ति भएका होमो सेपियन्स नै विभिन्न समयक्रमसँगै विभिन्न ठाउँमा पुगेर विभिन्न नश्ल ग्रहण गरेको देखिन्छ। जसमा, अफ्रिकी नश्ल, युरोपेली नश्ल, आर्य नश्ल तथा मंगोलियन नश्ल पर्दछन्। एशियाली र युरोपेली नश्लका समुदायहरू अष्ट्रेलियामा रहेका छन्। त्यसरी नै दक्षिण पूर्वी एशियाली र युरोपेली नश्लका मानिसहरू अमेरिकामा छन्। यिनीहरूले धेरै लामो समयको अन्तरालमा ठाउँ अनुसारको हावापानीसँगै फरक रूप, रंग र आकृति  लिएका हुनसक्दछन्।

यसरी पृथ्वीमा जीवनको उत्पत्तिपछि नै मानवको जन्म र विकास भएको हो। मानिसले पूर्ण विकसित हुनमा धेरै लामो समय लगायो। मानव शुरूमा बाँदरकै रूपमा रहन्थ्यो विस्तारै उसले खुट्टाको बलमा हिड्न सिक्यो। मानवको मस्तिष्कको विकास हुँदै गयो। उसले समूहमा बस्ने र प्रकृतिद्वारा उपलब्ध विभिन्न खानेकुरा खान सिक्यो। मानव विकासको यो क्रममा लगभग ४० हजार वर्ष पहिले वर्तमान मानवको आविर्भाव भएको हो, जसलाई होमो सेपियन्स भनियो। होमो सेपियन्स एक ल्याटिन शब्द हो, जसको अर्थ बुद्धिमान मानिस हुन्छ। यो बुद्धिमान मानिसले आगोको प्रयोग गर्न, घर बनाउन, कृषि र पशुपालनको कार्य सिक्यो। यसरी नै मानव संस्कृतिको विकास भयो। विभिन्न ठाउँमा रहने मानव समुदायका विभिन्न संस्कृतिहरूको विकास हुँदै जाँदा मानव सभ्यताको पनि विकास भयो।

प्राचीन सभ्यताको यो क्रमिक विकासलाई तीन प्रमुख युगमा विभाजन गरिन्छ। जसानुसार – पाषाण युग, ताम्र एवम् कास्य युग  र लौह युग  पर्दछन्। पाषाण युग भनेको मानिसले आफ्ना औजार तथा आफ्ना आवश्यकताका अन्य वस्तुहरू पाषाण वा ढुंगाका नै बनाउने युग हो। पुरातत्वविदहरूका अनुसार मानिसको जन्म ढुङ्गाकै कठोर भूमिमा भएको थियो। मानिसले शुरूमा आफ्नो रक्षाको लागि पनि ढुंगाकै प्रयो गरेको थियो। ढुंगे युगमा मानिस असभ्य थियो र जंगली जीवन व्यतीत गर्दथ्यो। यद्यपि विस्तारै-विस्तारै उसले आफूलाई सभ्य जीवनतिर अग्रसर गरायो। त्यसकारण पाषाण युग भनेको मानव सभ्यताको त्यो युग हो, जहाँ उसले आफ्ना आवश्यकताका सबै चीजहरू ढुङ्गाबाट बनाउने गर्दथ्यो। सबभन्दा पहिले सन् १८६३ मा भएका अनुसन्धानहरूको आधारमा रोबर्ट बुस फुटले पाषाण युगलाई पूर्व पाषाण युग र नव पाषाण युग गरी दुई भागमा विभाजन गरेका थिए। यी दुवै कालको बीचमा सभ्यताको विकासको दृष्टिकोणले धेरै अन्तर थियो। धेरै समयपछि बर्किट र टोडले उत्खननहरूको आधारमा दुवै कालको बीचको सम्बन्धलाई जोडिदिए। यही बीचको कडीलाई मध्य पाषाण युग भनियो। त्यसकारण अहिले पाषाण युगलाई पूर्व पाषाण युग, मध्य पाषाण युग र नव पाषाण युग गरी तीन भागमा विभक्त गरिन्छ।

मानव सभ्यताको प्रारम्भिक काललाई पूर्व पाषाण युग भनिन्छ। यस युगमा मानव जीवन अत्यन्तै कठोर र संघर्षपूर्ण थियो। सबभन्दा पहिले मानवले जंगली पशुहरूबाट आफ्नो रक्षा गर्नको लागि ढुंगाका हतियार बनाउन शुरू गर्‍यो। यी हतियारहरूमा सबभन्दा पहिले मानवले हथौडा बनायो। त्यसपछि बञ्चरो, चक्कु, फ्लेक्स, आदि तयार गर्‍यो। उत्खननबाट प्राप्त उपकरणहरूको आधारमा के भन्न सकिन्छ भने यो युगका औजार भद्दा, अपरिष्कृत र अव्यवस्थित थिए। ढुंगाका औजारहरूमा काठ तथा हाडहरूका बीड लगाइएका थिए। यो युगमा मानिसहरू गुफामा बस्दथे। यी गुफाहरू नदी, ताल एवम् जलस्रोतहरूका नजिकै पाइएका छन्। मानव जीवन घुमक्कडी खालको पाइएको छ। कहिलेकाहीँ उनीहरू रूखका हाँगा र पातका झोपडीहरूमा पनि आफ्नो घर बनाउने गर्दथे। यो युगमा मानिसले आफ्नो जीविकाको लागि जंगली पशुहरूको शिकार गर्ने गर्दथे। माछा मार्ने र खाने गर्दथे। यसको साथै फलफूल, कन्दमूल जस्ता चीजहरू खाएर आफ्नो भोक मेटाउने गर्दथे। यिनीहरूले माँसु खान पनि सिकिसकेका थिए। यस युगमा धेरैजसो काँचो माँसु खाएको प्रमाण पाइएका छन्। यो युगमा मानिसले चीसोबाट बच्नको लागि रूखका पात एवम् छालाको प्रयोग गर्न शुरू गरेका थिए। यसपछि मानिसहरूले पशुहरूका छाला पहिरिन लागे। यो युगमा मानिसले हड्डीहरूका सियो बनाएर छालालाई सिलाउन शुरू गरेका थिए। यो युगका मानिसले नै आगोको खोजी गरेका थिए। आगोको खोजी सबभन्दा महत्त्वपूर्ण उपलब्धी थियो। आगोको खोजीपछि मानिसले त्यसको प्रयोग चीसोबाट बच्न, प्रकाश प्राप्त गर्न, माँसु, आदि पकाएर खान शुरू गरे। उत्खननबाट प्राप्त सामग्रीहरूका आधारमा यो युगका मानिसहरूले आफ्ना मृतकहरूलाई गाड्न शुरू गरेको कुरा थाहा हुन्छ। मृतकहरूसँग खानेकुरा र अन्य उपयोग वस्तु पनि सँगै गाडिएकोले के कुरा अनुमान गर्न सकिन्छ भने यस युगमा मानिसहरू पूर्वजन्ममा पनि विश्वास गर्न लागेका थिए। यो युगको अन्तिम चरणमा मानिसले जंगली पशुहरूका चित्र बनाउन सिकेका थिए। स्पेनको अल्तमीरा, पश्चिमी फ्रान्सको लास्को, भारतको भीमवेटका, आदि ठाउँका गुफाका पर्खालहरूमा बनेका विभिन्न प्रकारका चित्रहरूले आज पनि यो युगका मानवहरूका कलाकृतिहरूलाई दर्शाउँदछन्। यो युगमा मानिस समूह बनाएर बस्दथे। प्रत्येक समूहको एउटा मुख्य व्यक्ति हुन्थ्यो। मुख्य व्यक्तिको नेतृत्वमा यो समूह खाद्यान्नको खोजीमा एक स्थानबाट अर्को स्थानमा जाने गर्दथ्यो। यिनीहरू कुनै एउटै ठाउँमा बस्दैनथे, बरू जहाँ शिकार, फलफूल, कन्दमूल, आदि पाउने संभावना हुन्थ्यो, त्यहाँ यी समूह जाने गर्दथे।

आधुनिक शोध कार्यहरूबाट प्राप्त भएका सामग्रीहरू र अवशेषहरूको आधारमा पूर्व पाषाण युगपछि यस्तो युगको तथ्यहरू प्रकाशमा आएका छन्, जसलाई मध्य पाषाण युग भनिन्छ। मध्य पाषाण युगका मानिसहरू कुनाकन्दराहरू तथा साना-साना पहाडहरूमा बस्दथे। जनावरहरूको काँचो माँसु, कन्दमूल र फलफूल पनि खान्थे। तर यसबेला उनीहरू कृषि र पशुपालनसँग त्यति परिचित भइसकेका थिएनन्। यो युगमा मानिसले ब्लेड, प्वाइन्ट स्क्रेपर, इन्ग्रेभर, ट्र्याङ्गल, क्रेसेन्ट नामका ढुंगाका हतियारहरू प्रयोग गरेका प्रमाणहरू भेटिएका छन्। यी हतियारहरू तथा उपकरण जेस्पर, फ्लिट चर्ट तथा कल्सेडानी नामक विशेष ढुंगा वा पत्थरहरूबाट निर्माण गरिएका थिए। यो युगका मानिसले एकदेखि दुई इन्चका छोटा हतियार पनि बनाइएका थिए, जसमा काठका बिड पनि लगाइएका थिए। मध्य पाषाण कालका मानिसले पनि मृतकहरूलाई गाड्न शुरू गरेका थिए। उत्खननबाट अस्थिपंजरहरूमाथि ढुंगाका हतियार प्राप्त भएकाले के प्रतीत हुन्छ भने यो युगका मानिसमा पनि पारलौकिक भावनाको जन्म भएको थियो।

मध्य पाषाण युगपछि नव पाषाण युगको आरम्भ भएको हो। यो युगमा मध्य पाषाण युगको भन्दा धेरै परिवर्तनहरू भएका थिए। उत्खनन्बाट अनेकौं स्थानहरूमा यो युगमा सेल्ट, बञ्चरो, एड्स पालिशर, ह्यामर स्टोन, फेब्रिकेटर, स्लिक स्टोन जस्ता हतियारहरू प्राप्त भएका छन्। यो युगका हतियारहरूमा चमकदार पालिस देखिन्छ। पहिलेका हतियारहरूभन्दा यिनीहरू सुव्यवस्थित, धारिला, तीखा र सुन्दर पाइएका छन्। केही हतियारहरूमा हड्डी एवम् काठका बीड पनि प्राप्त भएका छन्। यो युगमा चक्का र हँसियाको पनि प्रयोग हुन लागेको थियो। यी उपकरणहरूका सबभन्दा ठूला विशेषता के थिए भने यिनीहरू केवल शिकार गर्नको लागि मात्र निर्माण गरिएका थिएनन्, बरू अन्य कार्यहरूको लागि पनि निर्माण गरिएका थिए। चक्काको आविष्कारले विभिन्न दूरीमा बसेका मानिसहरूला एक-अर्कोसँग मिलाउने कार्य गरेको थियो। वास्तवमा यो युग आधुनिक यातायातको जन्मदाता थियो। यो युगको सबभन्दा महत्त्वपूर्ण विशेषता भनेको कृषिको शुरूवात गर्नु थियो। यो भन्दा पहिलेको युगका मानिसहरूलाई कृषिको त्यति ज्ञान थिएन। त्यसकारण यो कार्य यो युगको एक महान क्रान्ति भनिन्छ। यो युगमा गहुँ, जौ, कोदो, मकै, फलफूल, जडिबुटी, कपासको उत्पादन भएको कुरा उत्खननबाट प्राप्त जानकारीबाट स्पष्ट हुन्छ। यो युगमा मानिसले व्यापक मात्रामा पशुपालन शुरू गरेका थिए। जसमा – गाइ, भैंसी, बाख्रा, कुकुर, घोडा, गोरू, आदि थिए। यो युगका मानिसहरूले माटोका भाँडा बनाउन शुरू गरेका थिए। कृषि एवम् पशुपालनको कार्य शुरू भएकोले मानिसहरूमा धेरै सामान भएका थिए। यसकारण आफ्ना सामानहरू सुरक्षित राख्नको लागि यिनीहरूले माटाका भाँडाहरू बनाउन शुरू गरेका थिए। माटाका भाँडा आगोमा पकाएर हातैले बनाउने गर्दथे। नव पाषाण युगका मानिसहरूले रूखका रेशाहरू तथा तिनीहरूबाट धागो कात्न शुरू गरेका थिए र तिनीहरूलाई बुनेर बस्त्र बनाउन शुरू गरेका थिए भन्ने कुराको जानकारी उत्खननबाट प्राप्त भएका धेरै कतुवा तथा करघाहरूबाट हुन्छ। यस बेला बस्त्रहरूलाई रंग्याउने काम पनि शुरू भइसकेको थियो। कताइ-बुनाइसँगै रंङ्ग्याउने कलामा पनि यो युगमा धेरै विकास भइसकेको थियो। यो युगको सबभन्दा महत्त्वपूर्ण उपलब्धि घर निर्माण थियो। कृषि र पशुपालनले मानिसलाई एक ठाउँमा रोकिएर बस्नलाई अभिप्रेरित गरेको थियो। त्यसपछि मानिसले काठ, घाँसपराल र माटाको सहायताले घर तथा झुप्रो निर्माण गर्ने कार्य शुरू गर्‍यो। वास्तवमा भन्ने हो भने यहीँबाट मानिसको परिवारको इकाईको जन्म भएको हो।

मानव सभ्यताको अर्को एक महत्त्वपूर्ण युग ताम्र एवम् कास्य युग हो। मानिसले धातुबाट ढुंगाभन्दा बढी टिक्ने सामग्री प्राप्त गरे । तिनीहरूको प्रयोगबाट विभिन्न प्रकारका औजारहरू, उपकरणहरू र हतियारहरू बनाउनको लागि गर्न सकिन्थ्यो। यसबाट मानिसका बढ्दै गएका आवश्यकताहरू पनि पूर्ति हुन्थे। विश्वका केही भागहरूमा धेरै लामो समयसम्म तामाका औजारहरूको प्रयोग ढुंगाका औजारहरूसँग भयो। मानिसले ढुंगा र तामाका औजारहरूलाई एकसाथ प्रयोग गरिने युगलाई ताम्र पाषाण युग भनियो। यो युगको प्रारम्भिक चरणमा खानीबाट निकालिने तामाको बारेमा जानकारी थिएन र मानिसले केवल नदी किनारहरूमा पाइने प्राकृतिक तामाको प्रयोग गर्दथे। अनुसन्धानकर्ताहरूका अनुसार तामाको प्रयोग लगभग ५००० ईपूमा भएको थियो। पछि मानिसले खानीबाट कच्चा तामा बनाउन सिके। यसरी तामाको प्रयोग लगभग ईपू ४५०० मा दक्षिणी इराकको सुमेरू क्षेत्रबाट आरम्भ भएको मानिन्छ।

मानिस तामाबाट मात्र सन्तुष्ट भएनन् । उनीहरूले छिट्टै टीन वा जस्ताको पनि खोजी गरे। त्यसपछि तामा र जस्तालाई मिलाएर एक मिश्रित धातु बनाए, जसलाई काँस भनिन्छ। काँस मानवको विकासको लागि तामाभन्दा बढी उपयोगी प्रमाणित भयो। किनभने काँस तामाको तुलनामा धेरै बलियो थियो। अत्याधिक कठोर भएको कारणले यसबाट बनेका उपकरण, औजार र हतियार धेरै बलिया र टिकाउ थिए। बलिया औजारहरूको कारण काठको कामको पनि विकास भयो। मानिसले छिट्टै चक्का वा पाङ्ग्राको पनि आविष्कार गरे। यो युगमा मानिसद्वारा काँसको सर्वाधिक प्रयोग गरिएको थियो। त्यसकारण यसलाई कास्य युग भनिन्छ। पाङ्ग्राको आविष्कारले मानव सभ्यताको विकासको गतिलाई तीव्रतापूर्वक अगाडि बढायो। पाङ्ग्राको आविष्कार भएपछि मानिसले चक्रको सहायताले माटाका भाँडाहरू बनाउन शुरू गर्‍यो। पाङ्ग्राको सहायताबाट कताई र बुनाईको कार्य सहज भयो, जसबाट भविष्यमा कपडा बनाउन सकियो। पाङ्ग्राले यातायातको क्षेत्रमा पनि क्रान्ति ल्याइदियो। पाङ्ग्राको सहायताबाट तीव्र रूपमा गाडी चल्नसक्यो। यसबाट यात्रा गर्न र सामान ओसार्न सजिलो भयो। कास्य युगमा विश्वका विभिन्न भागहरूमा अनेकौं सभ्यताहरूको विकास भएको पाइन्छ। यी सभ्यताहरूले मानिसको प्रगतिमा धेरै नै महत्त्वपूर्ण योगदान दिए। यी सबै सभ्यताहरूको शुरूवात भने नदीका किनाराहरूमा नै भएको थियो। उदाहरणस्वरूप नाइल नदीको तटमा मिश्रको सभ्यता, यूफ्रेटिस र टिग्रिस नदीहरूको तटमा सुमेरियाको सभ्यता तथा सिन्धु नदीको किनारामा सिन्धु वा हडप्पा सभ्यताको विकास भएको थियो। नदी किनारामा सभ्यताको विकास हुने विभिन्न कारणहरू थिए। नदी किनारामा भूमि नरम र उर्बर थियो। मानव जीवनको लागि पानी अपरिहार्य हुने हुँदा नदी किनारामा बस्दा पानीको अभाव हुँदैनथ्यो। नदीहरू प्रारम्भदेखि नै यातायातको मुख्य माध्यम रहेकाले नदी किनारामा बस्दा यातायातको कुनै समस्या हुँदैनथ्यो। नदीहरूमा समय-समयमा बाढी आइरहने कारणले गर्दा बाढीको पानीसँगै अनेकौं खनिज माटो पनि आउने भएकोले बाँझो जमिन पुनः उर्बर हुन्थ्यो ।

शुरूमा मानिसले काठको हलो बनाएर आफैले जोत्ने गर्दथे तर पछि मानिसले पशुद्वारा यो हलो जोत्न थाले । नदी किनाराहरूमा बसेका सभ्यताहरूमा मानिसले त्यहाँको जमिनबाट जंगल हटाएर खेतीयोग्य भूमि बनाए। मानिसले दलदलको पानी निकाल्नको लागि नहरहरू खने र बाढीबाट वस्तीहरूलाई सुरक्षित बनाउनको लागि विभिन्न बाँधहरू बनाए। खेतहरूमा नियमित रूपले आवश्यकता अनुसार पानी प्राप्त भइरहोस् भनेर धेरै नहरहरूको निर्माण गरियो। अन्नको उत्पादन धेरै हुँदै गएपछि मानिसले आफ्ना आवश्यकताको लागि अन्न उत्पादनबाट मुक्त हुँदै शहरको विकास गर्न लागे। यसरी कास्य युगको आगमनबाट नै शहरहरूको शुरूवात भयो। यो युगमा सिंचाईको सुविधाको विकास भएकोले अनेकौं समुदायहरूले मिलेर सबैले आधिपत्य स्वीकार गर्ने केन्द्रीय सत्ताको स्थापना गरे। यो संस्थाले सिंचाईका साधनहरूको विकास गरोस् भन्ने थियो। यस्तो संस्था कुनै एउटा गाउँमा स्थापित हुन सक्दैनथ्यो। त्यसकारण शहरको विकास हुन लाग्यो। सिंचाईका साधनहरूको विकास भएपछि उत्पादनमा वृद्धि भयो, जसबाट अनेकौं मानिस स्वयंको लागि अन्न उत्पादन गर्नबाट मुक्त भए। किनकि अब उनीहरूलाई सजिलैसँग अन्न उपलब्ध थियो। कृषि कार्य छोड्ने मानिसहरूले अन्य विभिन्न कार्य गर्न लागे। जसको कारणले व्यापारमा वृद्धि भयो र व्यापारको विकासले मुद्रा (सिक्का) को आवश्यकता महसुस हुनलाग्यो। त्यसपछि विभिन्न मुद्राहरूको प्रचलन हुनलाग्यो। यसरी मानिसका आवश्यकताहरूले शहरको विकास गर्‍यो। कास्य युगमा शहर पूर्ण रूपले विकसित थिए। शहरमा पक्का घर, चौडा सडक तथा ढाकिएका नालीहरू बनाइन्थे।

कास्य युगमा मानिसको सामाजिक जीवन संगठित हुनलागेको थियो। कृषि र यसको साथसाथै अन्य विभिन्न आविष्कारहरूको कारण मानिसले एक ठाउँमा स्थायी रूपले बस्न र परिवारको रूपमा जीवनयापन गर्न शुरू गरेको थियो। परिवारमा सबभन्दा जेष्ठ सदस्यको नियन्त्रण हुन्थ्यो। परिवारका सबै सदस्य उसको आदेश मान्ने गर्दथे। अनेकौं परिवारहरूका जातिहरू मिलेपछि कबिलाहरू अस्तित्वमा आए। प्रत्येक कबिलाको एक प्रमुख हुन्थ्यो, जसले आफ्नो कबिलाको नेतृत्व गर्दथ्यो। यिनै कबिलाहरूबाट अगाडि गएर राज्यको उत्पत्ति भयो। कास्य युगमा श्रमको विभाजन भइसकेको थियो र मानिसहरूले विभिन्न क्षेत्रहरूमा विशेषज्ञता प्राप्त गरिसकेका थिए। शहरहरूमा बस्ने व्यक्तिहरू कृषिको ठाउँमा शिल्पकार, सिकर्मी, डकर्मी, आदि काम गर्न लागेका थिए। समाज अनेकौं वर्गहरूमा विभाजित भएको थियो। किनभने विभिन्न कार्यहरूको आधारमा काम गर्ने व्यक्तिहरूले आ-आफ्नो क्षेत्रमा धेरै उन्नति गरेका थिए। व्यापारको विकास र शहरसँगै जनजीवनको रक्षाको प्रश्न उठ्यो। त्यसकारण मानिसहरू कुनै निश्चित शासन व्यवस्था लागू गर्ने प्रयास गर्नलागे। परिणामस्वरूप राज्यको जन्म भयो। राज्यको स्थापनाको प्रमुख उद्देश्य एक सुचारू शासनव्यवस्थालाई लागू गरी मानिसहरूको जीवन र धनसम्पत्तिको रक्षा गर्नु थियो। यसपछि राज्यद्वारा निश्चित नियमहरू बनाइए, जसको पालना गर्नु सबैको लागि अनिवार्य थियो। शासनव्यवस्थालाई कायम राख्नको लागि शासक एवम् योद्धा वर्गको पनि जम्न भयो।

कास्य युगका मानिसहरू प्राकृतिक शक्तिहरू सूर्य, चन्द्रमाको साथै विभिन्न देवीदेवताहरूको पूजा गर्दथे। यो युगमा भाषाको क्षेत्रमा पनि महत्त्वपूर्ण प्रगति भयो। मानिसले आफ्ना विचारहरूलाई लेखेर व्यक्त गर्न सिकेका थिए। यसरी यो युगमा लिपिहरूको पनि विकास भयो। लगभग ३००० ईपूमा कास्य युगको एक लिपिलाई ‘कीलाकार लिपि’ भनिन्छ। यो लिपिमा २५० भन्दा बढी अक्षर थिए। शुरूमा यो लिपि चित्रहरूमा आधारित थियो तर पछि त्यो ध्वनिमा आधारित भयो। कास्य युगमा मानिसले कलाको क्षेत्रमा पनि महत्त्वपूर्ण प्रगति गरे। वास्तुकला, मूर्तिकला, धातुकला, चित्रकलाका उत्कृष्ट नमूनाहरू यो युगमा पाइएका छन्। यो युगमा मानिसले अनेकौं भव्य कलाकृतिले सजिएका भवनहरू पनि निर्माण गरेका थिए। यसको साथै उनीहरूले अनेकौं शहरहरू पनि बसाएका थिए। यो युगका मानिसहरूले धातु, पत्थर र माटोका मूर्तिहरू धेरै ठूलो संख्यामा बनाएको प्रमाण उत्खननबाट प्राप्त भएका छन्। यो युगका मानिसहरू सुन्दर आभूषणहरू र भाडावर्तन  पनि कुशलतापूर्वक बनाउने गर्दथे।

ताम्र एवम् कास्य युगपछि लौह युगको शुरूवात भयो। यो युगबाट मानव जीवनको वैज्ञानिक विकास आरम्भ भएको थियो। यसपछि मानव जीवनमा धेरै ठूलो क्रान्तिकारी परिवर्तन हुनलाग्यो। मानिसको जीवनलाई सुखमय बनाउन तथा सभ्यता एवम् संस्कृतिको उन्नतिमा कुनै अरू धातुभन्दा धेरै सफलता फलामबाट प्राप्त भयो। लगभग १२०० ईपूदेखि ५५० ईपूसम्म फैलिएको यो युग एक परिवर्तनकारी युग थियो। यो युगमा ‍औजारहरू हतियारहरूको लागि प्राथमिक सामग्रीको रूपमा फलामको आगमन भएको थियो। यो युगले मानिसको प्राविधिक क्षमता र सामाजिक संरचनाहरूमा महत्त्वपूर्ण परिवर्तन ल्यायो। फलामले आफ्नो प्रचुरता तथा श्रेष्ठ गुणहरूबाट मानव जीवनका कैयौं पक्षहरूमा क्रान्ति ल्याइदियो। यो युग मानव इतिहासमा एक महत्त्वपूर्ण अवधिको रूपमा देखियो र यसले सभ्यताहरूको परिवर्तनको लहरलाई जन्म दियो। फलामका औजारहरू र हतियारहरूको उद्भवले कृषि, व्यापार, युद्ध र सामाजिक संरचनाहरूमा गहिरो परिवर्तन ल्यायो। यो युगमा केवल प्राविधिक प्रगति मात्र भएन, बरू प्राचीन समाजको विकास र प्रगतिमा पनि यसको गहिरो प्रभाव पर्‍यो । यो युगमा मानव सभ्यतालाई आकार दिने प्रमुख तत्वहरू उजागर भए। कच्चा फलाम भण्डारण, खोज र गलाउने प्रविधिको विकासले यो युगमा फलामको ठूलो पैमानामा उत्पादनको मार्ग प्रशस्त गर्‍यो। यसबाट समाज र अर्थव्यववस्थामा परिवर्तन आयो। यो युगमा प्राविधिक प्रगतिमा नवीनता आयो। यसले मानव प्रगतिलाई गति दियो। भविष्यको सभ्यताको लागि मंच तयार गर्‍यो। यो युगले महत्त्वपूर्ण सामाजिक र सांस्कृतिक परिवर्तन ल्यायो। फलामको उदयसँगै समाज बढी विशिष्ट र स्तरीकृत भयो, जसबाट जटिल सामाजिक संरचनाहरूको विकास भयो। फलामका औजारहरू र कृषि औजारहरूको उपलब्धताले कृषि पद्धतिमा सुधार भयो, जसको परिणामस्वरूप खाद्य उत्पादन र जनसंख्यामा वृद्धि भयो। फलामको स्थायित्व र बहुमुखी प्रयोजनको कारणले जटिल कलाकृति र सजावटका वस्तुहरू निर्माणलाई सक्षम बनायो, जसबाट एक समृद्ध सांस्कृतिक समाज निर्माण भयो। लौह युगको क्रममा फलामका हतियारहरू निर्माण भएपछि युद्धमा क्रान्ति आयो। फलामका तरवार, भाला र कवचले निर्णायक लाभ प्रदान गर्‍यो, जसबाट संघर्ष र विजयको गतिशीलता बदलियो। शक्तिशाली साम्राज्य र शहर-राज्यहरूको उदयमा यो युगले महत्त्वपूर्ण भूमिका निभायो। क्षेत्रीय विस्तार र विशाल साम्राज्यहरूको स्थापनालाई यसले सक्षम बनायो। यसले भूराजनीतिक परिदृश्यलाई नयाँ आधार दियो।

अहिले मानव जातिको खोजबिन प्राचीन दस्तावेज, भवन, कलाकृति, औजार,चिहान, हाड, आदिको मद्दतले मात्र होइन मानव शरीरमा पाइने डीएनएको परीक्षणबाट गर्न थालिएको छ। डीएनए परीक्षणबाट मानव जातिका हजारौं-लाखौं वर्ष पुरानो विगतलाई देख्न सकिन्छ। मानव जातिका आदिम पुर्खा कहाँ बस्थे, कहिले र कसरी त्यहाँबाट निक्लिएर बाँकी संसारमा फैलिए, आदि जस्ता कुरा अब सहज ढंगले पत्ता लगाउन सकिन्छ। आजभन्दा करिब १६० हजार वर्ष पहिले मानव जातिका आदिम पुर्खा पूर्वी अफ्रिकामा रहन्थे। उनीहरू नदी र पोखरीका किनाराहरूमा, झाडीदार जंगलहरूमा बस्थे। जाडो, गर्मी, वर्षा, आँधी र तुफानलाई उनीहरू नाङ्गो शरीरले झेल्थे। जमिनमा झरेका फलफूल, साना-साना जनावरहरू र माछाको शिकार गरेर भोक मेटाउँथे। लाठी, धारयुक्त ढुङ्गा उनीहरूका हतियार थिए। हिंस्रक पशुहरूले घेरिरहनुको कारणले उनीहरूको जीवन असुरक्षित थियो। विशेषगरी साना-साना बच्चाहरूलाई बचाउने काम धेरै जोखिमयुक्त थियो। तर उनीहरूको सामाजिकताले उनीहरूलाई बल दियो। जनसंख्या वृद्धि हुँदै गएपछि हाम्रा पुर्खाहरूले नयाँ-नयाँ प्रदेशहरू खोजी गरी त्यहाँ वस्तीहरू बसाउन लागे। त्यसपछि उनीहरू अफ्रिका, एशिया, अस्ट्रेलिया युरोप र दुई अमेरिकी महाद्वीपका निर्जन धर्तीमा मानिसहरू छरिए। करिब १६० देखि १३५ हजार वर्ष पहिले मानव जनसमूहका तीन मुख्य शाखाहरू अफ्रिकाको दक्षिण र पश्चिममा फैलिएर बसे। एउटा समूह केप अफ गुड होपसम्म पुग्यो, अर्को समूह दक्षिण कंगोसम्म र तेस्रो घाना एवम् आइभेरीकोस्टसम्म पुग्यो। करिब १३५ देखि ११५ हजार वर्ष पहिले मानव जातिको एउटा शाखा नाइल नदीबाट मिश्रसम्म पुग्यो र त्यहाँबाट लाल सागरलाई पार गरी टर्की पुगेर बस्यो। करिब ११५ हजार देखि ९० हजार पहिले तातो हावा बहन शुरू भयो। साहारा क्षेत्र मरूभूमि बन्यो र त्यो बस्नयोग्य भएन। मिश्र र टर्कीसम्म बसेका मानव जातिका शाखाहरू नष्ट भए। ९० हजार देखि ८५ हजार वर्ष पहिलेको अन्तरालमा मानव जातिको एउटा समूह मूल निवासबाट उत्तरतर्फ गएर इथियोपिया हुँदै यमनसम्म पुग्यो र त्यहाँबाट समुद्र तट हुँदै दक्षिणी इरानसम्म फैलियो। यी मानिसहरू नाउ चलाउन जान्दथे र उनीहरूको मुख्य आहारा माछा थियो। दक्षिणी इरानबाट हिँडेर उनीहरू केवल दस हजार वर्षमा दक्षिणी सिन्ध हुँदै सुमात्रामा फैलिए। यमनबाट चीनसम्म हजारौं माइल लामा समुद्र तटमा मानव जातिले आफ्नो वस्ती बसाएका थिए। यो विशाल सभ्यतालाई सागर सभ्यता भनिन्छ। आजभन्दा ७४ हजार वर्ष पहिले सुमात्राको पर्वतमा भएको विस्फोटले मानव जीवनमा भयंकर समस्या आयो। ७५ देखि ६५ हजार वर्ष पहिले पुनः मानवको एक शाखा मलेशिया हुँदै भारतको उत्तरपूर्व बस्यो र यसको अर्को शाखा अस्ट्रेलियाको पूर्व-पश्चिमी तटमा बस्यो। ६५ देखि ५२ हजार वर्ष पहिले पृथ्वीको तापक्रममा परिवर्तन आयो। गर्मी बढेर बरफ पग्लियो। नदी तथा समुद्रमा पानी बढ्यो । कैयौं टापुहरू डुबे। त्यसपछि मानव जातिको जनसंख्या उत्तरतिर बढ्यो। दक्षिणी इरानमा बसेका मानिसहरूमध्ये केही टर्की पुगे र त्यहाँबाट तिनीहरू युरोप प्रवेश गरे र त्यसको ७ हजार वर्षपछि सम्पूर्ण यूरोपमा फैलिए। युरोपमा मानवहरू भरिंदै गर्दा मध्य एशियामा मानव जातिका तीन शाखाहरूको विशाल संगम बनिरहेको थियो। एउटा शाखा दक्षिणी इरानबाट मध्य एशिया आएर बस्यो। अर्को शाखा सिन्ध नदी, पंजाब हुँदै हिमालयलाई नाँघेर मध्य एशियामा आएर बस्यो। तेस्रो शाखा भियतनामबाट हिडेर तिब्बत हुँदै मध्य एशिया पुग्यो। सभ्यताका यी महाभीडहरूमा मानिसहरूले एक-अर्कोबाट सीप, कौशल, क्षमता, कला, भाषा, आदि धेरै कुरा सिके। ४० हजार देखि २५ हजार वर्ष पहिले यो भीडबाट कैयौं शाखाहरू फुटे, जसमा तीन महत्त्वपूर्ण रहे। एउटा शाखाले उत्तरी युरोपको बाटो लियो, अर्कोले स्केनडेनिभियन देशहरूको । तेस्रो साइबेरिया र अलास्का हुँदै उत्तर अमेरिकी महादेशमा प्रवेश गरी दक्षिणी अमेरिकामा पुग्यो। अर्को दस हजार वर्षमा मानिसले दक्षिण अमेरिकी महादेशलाई पनि भरिदियो।

वैज्ञानिक तथा मानवशास्त्रीहरूले रूप, रंग, आकार तथा अन्य शारीरिक लक्षणहरूका आधारमा मानव समूहलाई वर्गीकरण गरेका छन्। वैज्ञानिकहरूका अनुसार प्रजाति एक जैविकीय वा प्राणीशास्त्रीय अवधारणा हो। उनीहरूले शारीरिक लक्षणहरूको आधारमा एक विशिष्ट मानव समूहलाई प्रजाति मानेका छन्। यी शारीरिक लक्षण मानव समूहमा वंशानुक्रमद्वारा पुस्तौंपुस्ता हस्तान्तरित हुँदै आएका हुन् र यिनीहरूमाथि पर्यावरणको पनि केही प्रभाव परेको हुन्छ। विद्वान हेडनका अनुसार प्रजातिले सामान्य विशेषताहरू आपसमा समरूप हुने विशेष मानिसलाई प्रदर्शित गर्दछ। यो एक जैविक नश्ल हो, जसको प्राकृतिक लक्षणको योग अन्य प्रजातिको प्राकृतिक लक्षणहरूको योगभन्दा भिन्न हुन्छ। त्यसरी नै प्रोफेसर ब्लाशका अनुसार मानव प्रजातिको वर्गीकरण मानव शरीरको आकृति एवम् लक्षणहरूको आधारमा गरिन्छ। त्यसकारण प्रजाति भनेको मानिसको एक यस्तो समूह हो, जसमा एकबाट शारीरिक लक्षणहरूको संयोग निश्चित रूपले पाइन्छ र जसलाई आनुवंशिक शारीरिक लक्षणहरूको आधारमा जान्न सकिन्छ। क्रोबरका अनुसार मानिसको प्रजाति बन्नमा लाखौं वर्ष लागेको छ।

कुनै क्षेत्रको वातावरणको अवस्थामा परिवर्तन भएपछि त्यससँगै अन्य जीवहरू जस्तै मानव जातिको शारीरिक संरचनामा पनि नयाँ अन्तर आउँदै गयो। परिणामस्वरूप ती प्रजातिहरू एक-अर्कोबाट फरक हुँदै गए। केही विद्वानहरूका अनुसार विश्वका तीन मुख्य प्रजातिहरू पृथ्वीका विभिन्न प्राथमिक पर्यावरणमा नै मुख्यगरी विकसित भए र कालान्तरमा अन्यत्र फैलिए। यसमा अझ परिवर्तन हुँदै गए। यस्ता परिवर्तनहरूका मुख्य कारण जलवायु, ग्रन्थी रसका क्रियाहरू, जैविक परिवर्तन र जातीय मिश्रण थिए। जलवायुको प्रत्यक्ष प्रभाव मानिसको छालामा लक्षित हुन्छ। धेरै गर्मी देशहरूमा छालाको रंग काला हुन्छ, जस्तो कि लाखौं वर्षदेखि उष्ण कटिबन्धीय क्षेत्रमा बस्ने नीग्रो, नीग्रिटो र अस्ट्रेलोयन प्रजातिहरूको छ। जलवायुले मानव शरीरमा जीवाणु रसलाई पनि प्रभावित गर्दछ। यो प्रभाव भविष्यका सन्तानहरूमाथि पनि वंशानुक्रमबाट अगाडि बढ्दै जान्छ। जुन प्रजातिहरू अस्ट्रेलिया र पोलीनेशिया द्वीपसमूहतिर अगाडि बढ्दै गए, तिनीहरूका शारीरिक लक्षणको विकास ती प्रदेशहरूका जलवायु अनुसार हुँदैगए। जलवायुको प्रभाव मानिसको रौंको आकृति, आँखाका अंग, टाउकाको अकृति र चिउँडाको बनावटमा पनि पर्दछ। ग्रन्थीरस अर्थात् हर्मोनको कारणले पनि प्रजातिहरूमा परिवर्तन आउँछ। प्रजातिहरूमा छाला, आँखा, अनुहार, आदिमा पाइने भिन्नताहरूको कारण शरीरका विभिन्न ग्नन्थीहरू हुन्, जसका क्रियाहरू भिन्न-भिन्न हुन्छन्। यी ग्रन्थीहरूबाट जुन रासायनिक तत्वहरूको क्षय हुन्छ, त्यसलाई नै हर्मोन्स भनिन्छ। पिट्युटरी ग्रन्थी बढी क्रियाशील हुँदा ककेशियन प्रजातिका मानिस लामो कद, भारी शरीर, सुन्दर नाकयुक्त हुन्छन्। यसको विपरीत थाइराइड ग्रन्थी अकर्मण्य हुने भएकोले मंगोलियन प्रजातिका मानिसहरूको नाक र अनुहार चेप्टो तर निधार उठेको हुन्छ तथा कद केही छोटो हुन्छ। एड्रिनल ग्रन्थीको कम क्रियाशिलताको कारणले छालाको रंगलाई प्रभावित गर्दछ। यसरी नै जैविक परिवर्तनबाट पनि प्रजातिहरूमा परिवर्तन आउँदछ। कुनै पनि प्रजातिको मूल शारीरिक लक्षण उसका वंश-तत्वहरूसँग मिल्दछ, जुन भावी पुस्ताहरूमा पनि अगाडि बढ्दछ तर यिनीहरूमा परिवर्तन पनि आउँदछ। यो परिवर्न प्राकृतिक छनौटको कारण हुन्छ। कुनै पनि प्रजातिमा अनेकौं प्रकार र स्वभावका मानिसहरू पाइन्छन्। जलवायु परिवर्तनको कारण र बदलिंदो वातावरणसँग पूर्ण सामान्जस्य स्थापित हुन नसक्नुको कारणले नयाँ क्षेत्रमा निर्बल र रोगी व्यक्तिहरू पछि पर्छन् र सबल तथा सुदृढ व्यक्ति अगाडि बढ्दै जान्छन्। त्यसकारण जैविक परिवर्तनको क्रियाले सुदृढ शारीरिक एवम् मानसिक सुडौलताको विकास गर्दछ। यस्तै जातीय मिश्रणले पनि प्रजातिहरूमा परिवर्तन आउँदछ। कुनै क्षेत्रका प्रजातिहरू स्थानान्तरण गरी अर्को क्षेत्रमा गएपछि समयक्रमसँगै त्यहाँ बस्नै अन्य प्रजातिहरूसँग मिल्दछन्। प्रायः विभिन्न जातिहरूमा पारस्परिक वैवाहिक सम्बन्धहरूको कारण पनि जातिहरूको आपसमा मिश्रण हुन्छ।

मानव वैज्ञानिकहरूले प्रजातिहरूको वर्गीकरण मानिसको शारीरिक बनावटका विशिष्ट लक्षणहरू (छालाको रंग, खोपडीको लम्बाइ, चिउँडो र बंगाराको उभार, शरीरको कद, कपाल र अनुहारको आकृति, आँखाको बनावट, आदि) आधारमा गरेका छन्। कुनैले एउटा आधारलाई बढी जोड दिएका छन् भने कुनैले अर्कोलाई। सामान्यतः प्रजातिहरूको वर्गीकरण बाह्य, माथिल्लो वा शारीरिक लक्षण र आन्तरिक कंकाल, संरचनात्मक लक्षणका आधारमा गरिन्छ। मानिसको छालामा म्यालेनिया, क्यारोटीन अथवा हेमोग्लोबिनको मात्रा कम बढी हुँदा छालाको रंग कालो, पहेलो  र रातो हुन सक्दछ। भूमध्य रेखाबाट ध्रुबतिर बढ्दै जाँदा जलवायु परिवर्तनको कारण छालाको रंग कालोबाट सेतो हुँदै जान्छ। छालाको रंगको आधारमा विश्वका प्रजातिहरूलाई ककेशियन सेता, मंगोलियन पहेला र नीग्रोइड काला गरी तीन भागमा विभाजन गरिएको छ। यी तीन रंगहरूमा कैयौं विभिन्नताहरू छन्। कपाल बनावटमा जलवायु अथवा खानाको कम प्रभाव पर्छ। यो वंशानुक्रमद्वारा निर्धारित हुन्छ। त्यसकारण यसको नाम संभव छ। यस आधारमा सीधा कपाल,  चिल्लो र घुँघुरिएको कपाल र ऊन जस्तो कालो कपाल गरी तीन प्रकारका कपाल भएका प्रजातिहरू रहेका छन्। सीधा कपाल सीधा, मोटा, कडा र लामा हुन्छन्। एशियाली पहेलो छाला भएका चिनिया, मंगोलियन, अमेजन शेसिनका अमेरिकी-इण्डिन समूह, पूर्वी द्वीपसमूहका निवासीहरूमा यस्ता कपाल पाइन्छन्। चिल्ला र घुँघुरिएका कपाल मुलायम र पातला हुन्छन्। युरोप, पश्चिम एशिया, उत्तरी अफ्रिका, भारत, अस्ट्रेलियाका मानिसहरूमा यस्ता कपाल पाइन्छन्। ऊन जस्तो कालो कपाल जेलिएका र घना हुन्छन्। नीग्रो, नीग्रेटस, पेपुआन, मेलेनेशियन मानिसहरूमा यस्ता कपाल हुन्छन्। यस्तै शरीरको कद अनुसार धेरै  छोटो, मध्य, लामो र धेरै लामो कद गरी  प्रजातिहरूलाई चार भागमा विभाजन गरिएका छन्। धेरै छोटा कद भएका मानिस १४८ देखि १५८ सेन्टिमीटरसम्म हुन्छन्। यिनीहरू अफ्रिकाका पिग्मी समुदायहरू, पूर्वी एशियाका चीनी, जापानी, पेरू निवासी, दक्षिण भारतीयहरू हुन्। मध्य कद भएका मानिसहरू १५९ देखि १६८ सेन्टिमीटरसम्म हुन्छन्। यिनीहरू मलेशिया, न्यूगिनी, रूसका मानिसहरू हुन्। लामो कद भएका मानिसहरू १६९ देखी १७२ सेन्टिमीटरसम्मका हुन्छन्। यिनीहरू मेलेशियान, अस्ट्रेलियाली, द्रविड र भूमध्यसागरीय मानिसहरू हुन्। त्यस्तै धेरै लामो कद भएका मानिसहरू १७२ सेन्टिमीटरभन्दा माथिका हुन्छन्। यिनीहरू पूर्वी सुडान, नीग्रोइड, अफगान, पेटागोनिया, स्कडल्याण्ड, इङ्ल्याण्ड अस्ट्रेलिया, आदि क्षेत्रका निवासीहरू हुन्। यसरी नै मुखको आकृतिको आधारमा पनि प्रजातिहरूको विभाजन गरिएको छ। मुखको चौडाई स्पष्ट रूपमा गालाका हड्डीहरूको विपरीत अंशको बीचमा अधिकतम् दूरी हुन्छ। त्यसको लम्बाई माथिल्लो बंगारामा यसको केन्द्रीय रेखाको तल्लो अंशसम्म नापिन्छ। यी नाप एक-अर्कोसँग सम्बन्धहरूको दृष्टिले व्यक्त गरिन्छ तथा यिनीहरूलाई मुख सम्बन्धी चिन्ह भनिन्छ। मुख सम्बन्धी चिन्ह अनुसार मानिसहरूलाई चौडा मुख भएका, मध्यम मुख भएका र लामा मुख भएका गरी तीन भागमा वर्गीकृत गरिन्छ। आँखाको रंग र बनावटको आधारमा पनि प्रजातिहरूको वर्गीकरण गरिन्छ। आँखाको पुतलीको सामान्य रंग कालो हुन्छ तर केही मानिसहरूमा नीलो, हरियो र खैरो पनि हुन्छ। आँखाको बनावटमा अन्तर पाइन्छ। केही आँखा बदाम जस्तै तेर्सा हुन्छन् र तिनीहरूको फटान क्षितिजावस्थामा हुन्छ। यस्ता आँखा युरोप, उत्तरी अफ्रिका, दक्षिण-पश्चिम एशियाका मानिसहरूमा पाइन्छ। तर चिनियाँ, जापानी, मंगोल, आदि मानिसहरूको आँखाको फटान तेर्सो हुन्छ र माथिल्लो भागमा छालाको मोड परेको हुन्छ। यी गालासम्म फैलिएका हुन्छन्। यसरी आँखाको मंगोलियन प्रकारलाई अर्धखुलित आँखा भनिन्छ। यस्तै ओठका आकारका आधारमा पनि प्रजातिहरूको वर्गीकरण गरिन्छ। ओठहरूको बनावटमा पनि भिन्नता पाइन्छ। पश्चिमी अफ्रिकी मानिसहरूमा ओठ धेरै मोटा, फुलेका तथा बाहिर उल्टिएका हुन्छन्। सामान्यतः अन्य प्रजातिहरूका ओठ साना, पातला र भित्र झुकेका हुन्छन्।

यसरी नै प्रजातिहरूको वर्गीकरण आन्तरिक लक्षणहरूका आधारमा विभिन्न अंगहरूको आधारमा गर्ने गरिन्छ। टाउकाको आधारमा पनि जातिहरूको वर्गीकरण गरिन्छ। टाउकाको आधारलाई हेर्दा के स्पष्ट हुन्छ भने केही टाउको लामो देखिन्छ भने केही छोटो देखिन्छ। सामान्यतः लामो शिर साँघुरो र छोटो शिर चौडा हुन्छ। शीर सूचकांकका आधारमा मानव शिरलाई लामो शिर, मध्यम शिर र छोटो शिर गरी तीन भागमा वर्गीकरण गरिएको छ। लामो शिर भएका मेलेनेशियन, नीग्रो, एस्किमो, नीग्रोइड, अमेरिकन-इन्डियन, उत्तरी र दक्षिणी युरोपका निवासी र द्रविडहरू हुन्। मध्यम शिर भएका बुशमेन, होटेन्टस, भूमध्यसागरीय, नर्डिक, उत्तरी अमरिण्ड मानिसहरू हुन्। छोटो शिर भएका आल्पस-कारपेथियन, तुर्क, तुंगुस, मंगोल, आदि मानिसहरू हुन्। यस्तै नाकको आकार र सूचकांकका आधारमा पनि प्रजातिहरूको वर्गीकरण गरिएको छ। साँघुरो-पातलो नाक भएका मानिसहरू उष्ण कटिबन्धीय क्षेत्रहरूमा बसोवास गर्दछन्। मध्यम नाक भएका मानिसहरू पोलीनेशियाली, साइबेरियाली, केही अमेरिकी-इन्डियन र पहेलो वर्णका प्रजातिहरू हुन्। च्याप्टो-चौडा नाक अर्ध शुष्क मरूभूमिहरूमा, प्रशासन्त महासागर एवम् अस्ट्रेलियाका निवासीहरूमा पाइन्छ।

मानव प्रजातिहरूलाई धेरै विद्वानहरूले विभिन्न प्रकारले वर्गीकरण गरेका छन्। तर ए. एल. क्रोबर, हेडन तथा टेलरले गरेका वर्गीकरण महत्त्वपूर्ण छन्। क्रोबरले वर्तमान प्रजातिहरूलाई ककेशियाली वा सेता, मंगोलियन वा पहेला र नीग्रोइड वा काला प्रजाति गरी तीन मुख्य वर्गहरूमा विभाजन गरेका छन्। यिनीहरूलाई थप ११ उपभागमा विभाजन गरिएको छ। यसको साथै क्रोबरले अस्ट्रेलियाली, वेडायड, पोलीनेशिया र ऐनू गरी चार शंकास्पद वर्गीकरणको पनि उल्लेख गरेका छन्। सन् १९२४ मा हेडनले कपाल, कद, छालाको रंग र खोपडीको आधारमा र मानव प्रजातिहरूका कपालका अनुसार ऊन वा लच्छादार कपाल, लहरादार कपाल र सीधा कपाल गरी तीन प्रकारको वर्गीकरण गरेका छन्। ऊन कपाल भएका प्रजातिहरूका कपाल ऊन जस्तै लच्छादार हुन्छन्। छालाको रंग कालो, कद छोटो र शिर लामो हुन्छ। यस्ता लक्षण भएका प्रजातिहरू निग्रिटो तथा निग्रो हुन्। यिनीहरू दक्षिण एवम् मध्य अफ्रिकी देशहरू तथा दक्षिण-पूर्वी एशियामा बसोवास गर्दछन्। लहरेदार कपाल भएका प्रजातिहरूको छालाको रंगको आधारमा यिनीहरूलाई दुई उपवर्गमा विभाजित गरिएको छ। अस्ट्रेलोइड प्रजातिको कद मध्य तथा शिर लामो हुन्छ। कपाल लगभग लहरेदार हुन्छन्। दक्षिण भारत, अस्ट्रेलिया, ब्राजिल, दक्षिणपूर्वी एशियाका द्वीपका आदिवासी यो प्रजातिमा पर्दछन्। खैरो तथा सेता वर्णका ककेशियन प्रजातिहरूमा भूमध्यसागरीय, नोर्डिक एवम् अल्पाइन सम्मिलित छन्। भूमध्यसागरीय गहिरो खैरो रंगका, नोर्डिक तथा अल्पाइन सेता रंगका हुन्छन्। भूमध्यसागरीय तथा नोर्डिक मध्यम शिर तथा अल्पाइन चौडा शिर भएका हुन्छन्। दक्षिण-पूर्वी यूरोप, उत्तर भारत, इरान, अरब, अफगानिस्तान, उत्तरी अफ्रिका र अर्मेनियाका प्रजातिहरू यस वर्ग अन्तर्गत आउँदछन्। नोर्डिक प्रजाति उत्तर-पश्चिमी यूरोपमा पाइन्छन्। ऐनू, अफगान, अमरिण्ड, पेरियन, सेमाइट, आदि प्रजातिहरूले यसकै प्रतिनिधित्व गर्दछन्। सीधा कपाल भएका प्रजातिहरूको रंग पहेलो अथवा खैरो हुन्छ। कद मध्य तथा शिर चौडा र लगभग गोलो हुन्छ। मंगोल प्रजातिले यो वर्गको प्रतिनिधित्व गर्दछन्। यिनीहरूका अनेक उपवर्ग छन्, जो चीन, मंचुरिया तथा उत्तरी साइबेरियामा बसोवास गर्दछन्। केही वर्ग रूस, टर्की, तिब्बत, मलेसियासम्म छरिएका छन्।

विद्वान हेडनले आफ्नो वर्गीकरणमा विश्वका प्रजातिहरूलाई भूमध्यसागरीय, अल्पाइन, निग्रिटो, मंगोल, पूरा द्रविडियन र ककेशियन गरी ६ वर्गहरूमा राखेका छन्। उनको यो वर्गीकरण सन् १९२४ देखि लगातार रूपले विशेष मान्य रहेको छ। भूमध्यसागरीय प्रजातिहरूमा पर्ने मानिहरूको लामो शिर, खैरोदेखि सेतो छाला, पातलो नाक र लहरेदार कपाल हुन्छन्। यिनीहरूको कुनै विशेष निवासस्थान हुँदैन। तर यिनीहरू उष्ण कटिबन्धीय प्रदेशहरूदेखि शीतोष्ण प्रदेशहरूसम्म पाइन्छन्। यस्तै अल्पाइन प्रजातिका मानिसहरूको शिर चौडा तथा सीधा हुन्छन्। घुँघुरिएको कपाल हुन्छ। खैरो र सेतो छाला हुन्छ। यिनीहरू शीतोष्ण कटिबन्धमा बस्दछन्। यसरी नै निग्रिटो प्रजातिमा पर्ने मानिसहरूको धेरै लामो शिर, चौडा नाक, गहिरो कालो रंग र घुँघुरिएको कपाल हुन्छन्। यिनीहरू उष्ण कटिबन्धीय क्षेत्रहरूमा बस्दछन्। यस्तै मंगोल प्रजातिमा पर्ने मानिसहरू पहेलो रंगका, टाउकामा कम कपाल भएका, छोटोदेखि मध्यम कद तथा साना आँखा भएका हुन्छन्। यिनीहरू पूर्वी एशियामा बस्दछन्। पूरा द्रविडिइन प्रजातिका मानिसहरू लामो शिर भएका र कालो छाला भएका हुन्छन्। ककेशियन प्रजातिका मानिसहरू उच्च कद, गोरो वर्ण, लहरेदार कपाल र नीला-हरिया आँखाका पुतली भएका हुन्छन्। यिनीहरूलाई भूमध्यसागरीय, नोर्डिक र अल्पाइन गरी तीन श्रेणीहरूमा विभाजन गरिएको छ।

अर्का विद्वान ग्रिफिथ टेलरले सन् १९१९ मा जलवायु चक्र, जातिहरूको विकासको प्रवास सिद्धान्तको आधारमा मानव प्रजातिहरूको वर्गीकरण गर्दै के स्पष्ट पारेका छन् भने शुरूका सात मानव प्रजातिहरू (नीग्रो, निग्रीटो, अस्ट्रेलियन, भूमध्यसागरीय, नोर्डिक, अल्पाइन र मंगोलियन) को उत्पत्ति मध्य एशियामा महा-हिमयुग पहिले भएको थियो र त्यहाँबाट नै यी जातिहरू अन्य महादेशहरूमा फैलिएका हुन्। जलवायुमा परिवर्तन सँगसँगै मानव प्रजातिहरूका भौतिक लक्षणहरूमा पनि विभिन्नताहरू उत्पन्न भइरहे। टेलरले कपालको बनावट र खोपडीको सूचकांकको आधारमा निग्रिटो (धेरै सानो शिर), निग्रो (धेरै लामो शिर), अस्ट्रेलियन (लामो शिर), भूमध्यसागरीय (मध्यम लामो शिर), नोर्डिक (मध्यम शिर), अल्पाइन (चौडा शिर) र मंगोलियन (धेरै चौडा शिर) गरी ७ मानव प्रजातिहरूको उल्लेख गरेका छन्। टेलरले आफ्नो स्थानान्तरणको सिद्धान्त अन्तर्गत निम्न तथ्यहरूमाथि प्रकाश पारेका छन् – मध्य एशियामा नै सबभन्दा पहिले प्रजातिहरूको उद्गभ भएको हो। जुन प्रजातिहरूको विकास सबभन्दा पहिले भयो, ती प्रजातिहरू पछि विकसित भएका प्रजातिहरूद्वारा महादेशका बाहिरी भागतिर लखेटिए। सबभन्दा पछि विकसित प्रजातिहरू महादेशका धेरै भित्री भागहरूमा पाइन्छन्। यी सबै वर्गीकरणहरूको आधारमा मानव प्रजातिहरूको वर्णन सामान्यतः श्वेत जाति वा ककेशियाली, पहेला जाति वा मंगोलियन र  निग्रोइड्स वा काला जाति गरी तीन वर्गहरूमा गर्न सकिन्छ।

मानवका प्रमुख प्रजातिहरू निग्रिटो, नीग्रो, अस्ट्रेलोयड, भूमध्यसागरीय, नोर्डिक, अल्पाइन र मंगोलियन गरी ७ प्रकारका रहेका छन्। निग्रिटो प्रजातिको रंग रातो चक्लेटीदेखि लिएर खैरो कालोसम्म हुन्छ। यिनीहरूको आकार ५ फुटभन्दा कम, ओठ धेरै मोटा, नाक चौडा र चेप्टो हुन्छन्। यिनीहरूका कपाल चेप्टा, फिताजस्तै र घना हुन्छन्। यिनीहरूका बंगारा र दाँत अगाडि निक्लिएका हुन्छन्। अहिले केही हजार मात्र निग्रिटो जीवित छन्। उनीहरूमा अन्य जातिहरूको रगतको मिश्रण भएको छ। निग्रिटो प्रजातिका मानिसहरू अहिले श्रीलंका, मलेशिया, फिलिपिन्स, इन्डोनेशिया, लूजोन र न्यूगिनीका पहाडी वन प्रदेशहरूमा बस्दछन्। यिनीहरूका ठूला समूह युगाण्डा, फ्रान्सेली भूमध्यरेखा, कंगो बेसिन केमरून र अण्डमान द्वीपसमूहमा पाइन्छन्। नीग्रो प्रजातिका मानिसहरूको शिर अत्यन्तै लामो हुन्छ। यिनीहरूका कपाल लामा र अण्डाकार हुन्छन्।यिनीहरूको छालाको रंग प्रायः खैरोबाट हल्का रातो, कालो र गाजल जस्तै हुन्छ। यिनीहरूका बंगारा निक्लिएका र नाक चेप्टो तथा चौडा हुन्छन्। नीग्रो प्रजाति पश्चिमी अफ्रिकामा सुडान र गिनी तटमा तथा पपुवा न्यूगिनी गरी दुई ठाउँमा पाइन्छन्। पूर्व ऐतिहासिक युगमा नीग्रो दक्षिण युरोप र एशियामा पनि बस्थे। अस्ट्रेलोयड प्रजातिको शिर लामो र उठेको हुन्छ। कपाल पूर्ण घुँघुरिएको र छालाको रंग गहिरो कालोदेखि लिएर हल्का पहेलो हुन्छ। बंगारा केही तलतिर हुन्छ र नाक साधारण रूपले चौडा हुन्छ। यी प्रजाति अस्ट्रेलिया र दक्षिण भारतका वनहरूमा पाइन्छन्। ब्राजीलका डोंस र कूटोबूटो तथा पूर्वी र मध्य अफ्रिकाका जातिहरू यसकै प्रतीक हुन्। भूमध्यसागरीय प्रजातिको शिर लामो, नाक अण्डाकार, कपाल घुँघुरिएको र बंगारा निक्लिएको हुन्छ। आइबेरियन सुडौल शरीर भएका  हुन्छन्। सेमाइट प्रजाति लामो र सुन्दर हुन्छन् र यिनको नाक सुदृढ हुन्छ। यी प्रजाति सबै बसेका महाद्वीपहरूका बाहिरी किनाराहरूमा पाइन्छन्। यसमा युरोपका पोर्चुगिज, अफ्रिकाका मिस्त्री र अस्ट्रेलियाका माइक्रोनेसियन सम्मिलित छन्। उत्तरी अमेरिकाका इरोक्वाइस र दक्षिणी अमेरिकाका टुपी पनि यही श्रेणीमा आउँदछन्। नोर्डिक प्रजातिका मानिसहरू मध्यम लम्बाइ र चौडाका शिर भएका, लहरदार कपाल भएका, चेप्टो अनुहार भएका र गरुडको जस्तो नाक भएका हुन्छन्। अधिकांश नोर्डिकहरूको छाला हल्का खैरोदेखि गुलाबी रंगको हुन्छ। उत्तरी युरोपियनहरूको छाला गोरो र गुलाबी हुन्छ। यी प्रजाति भूमध्यसागरीय किनारहरू, न्यूजील्याण्ड, अस्ट्रेलिया, उत्तरी अमेरिका, आदि देशहरूमा बसोवास गर्दछन्। अल्पाइन  प्रजातिका मानिसहरूको शिर चौडा हुन्छ, अनुहारको ढाँचा सीधा हुन्छ, नाक स्पष्ट रूपले संकीर्ण र कपाल सीधा हुन्छन् र यिनीहरूको रंग खैरोदेखि गोरोसम्म हुन्छ। अल्पाइन जातिको पश्चिमी शाखामा स्लेभ, अर्मेनियन, अफगान, आदि सामेल छन्। यिनीहरू रंगमा खैरा हुन्छन् तर पूर्वी शाखामा मानिसहरू अर्थात् फिन, मेगीआर्स, मंचूज र सीभक्सले केही पहेलोपन पनि लिएका हुन्छन्। मंगोलियन  प्रजातिका मानिसहरू गोलो शिर भएका हुन्छन्। यिनीहरूका कपाल सीधा, अनुहार चेप्टो र बंगारा कन्केभ आकारका हुन्छन्। नाक पातलो र साँघुरो, रंग हल्का पहेलो हुन्छ। यी प्रजाति मुख्यगरी मध्य एशिया र पूर्वी एशियामा पाइन्छन्।

वास्तवमा मानव पृथ्वीमा आउनु पृथ्वीको इतिहासमा एक नयाँ घटना हो। पृथ्वीको करोडौं वर्षको इतिहासमा केही लाख वर्षको इतिहास हाम्रो चेतना अनुसार यो समय धेरै लामो लागे पनि  एक धेरै नवीन घटना नै मानिन्छ। पहिलो मानव होमो जीनस पृथ्वीमा कुनै पनि स्थितिमा २४ लाख वर्षभन्दा पुरानो छैन र यो मानव संसारमा बसाइसराइ नगरेर अफ्रिकामा नै रह्यो । त्यसकारण यसको अवशेष न त संसारमा कहीँ पाइन्छ न पाइने कुनै संभावना नै छ। मानवको सम्पूर्ण इतिहासमा सेपियन्सको उत्पत्ति धेरै पछिको र अत्यन्तै नवीनतम् घटना हो। मानिस एकपटकमा एकै स्थानमा उत्त्पत्ति भएको होइन, बरू भिन्न-भिन्न भूभागहरूमा आफ्नै पूर्वजहरूबाट विकसित भएको हो। मानिसका अनेक प्रजातिहरू अनेक स्थानमा विकसित भइरहेका हुन्।  वास्तवमा जुन संस्कृतिलाई हामी जान्दछौ र बुझ्दछौं, जुन हाम्रा इतिहासका किताबमा छन्। यी सम्पूर्ण कुरा संसारमा सेपियन्स आएपछि नै संभव भएको हो। मानव विकासको अध्ययन एक जटिल कार्य हो। यसमा अनेकौं विद्वानहरू यूनानी कालदेखि अहिलेसम्म लगातार लागिरहेका छन् । लेमार्क, लोयल, मेण्डल, डार्विन, आदि जस्ता वैज्ञानिकहरूका सैद्धान्तिक योगदानहरूले मानव जातिको खोजी कार्यमा धेरै ठूलो योगदान दिएका छन्। फिशर, राइट र होल्डेनले आफ्नो ‘सेन्थेटिक थ्योरी अफ इभोलुसन’ मा डार्विन लगायतका सिद्धान्तहरूलाई पुनः परिष्कृत गरे। प्राकृतिक छनौट र जीनको विरासतको सम्मिश्रणले क्रमिक विकासका कारकहरूको रूपमा यी सिद्धान्तहरूलाई चित्रित गर्दछन्। मानवको उत्पत्तिलाई स्थापित गर्नको लागि यी घटनाहरूलाई अन्य शारीरिक मानव विज्ञानका प्रमाणहरूसँग उपयोग गरियो। जीवावशेषको प्राप्ति अहिलेसम्म मानव विकासका चरणहरूलाई पत्ता लगाउनको लागि सबभन्दा महत्त्वपूर्ण प्रमाणहरू हुन्। पुरामानव वैज्ञानिकहरूले जीवावशेषहरूको खोजी गरे र तिनीहरूलाई तुलनात्मक शारीरिक रचनाद्वारा वर्गीकरण गरे। त्यसपछि वानर र मानवलाई जीवावशेषको मद्दतले पूर्वजहरूका रूपमा स्थापित गरे। मानव विकासको यात्रा प्राइमेट्सबाट शुरू भएर  वानरमा विकसित भयो। जलवायु परिस्थितिहरूमा परिवर्तनको कारणले खुला भूमितिर उत्तम अनुकूलन क्षमताको विकास भयो र यही कारणले मानिसले सीधा उभिएर दुई खुट्टाले हिड्ने काम संभव भयो। ड्रायोपिथेकस हुँदै अस्ट्रेलोपिथेकस, होमो इरेक्टस हुँदै होमो सेपियन्ससम्म मानिसको विकास हुने प्रक्रिया ६० लाख वर्ष देखि ४० हजार वर्ष पहिलेसम्म निरन्तर चलिरह्यो। त्यसपछि समयक्रमसँगै  मानिसले ढुंगे युग, ताम्र तथा कास्य युग हुँदै लौह युगसम्म पार गर्‍यो र आफ्नो आधुनिकतम् सभ्यताको विकास गर्दै गयो। ठाउँ, परिस्थिति र पर्यावरण अनुसार मानव जातिका विभिन्न उपप्रजातिहरूको विकास हुँदै गयो। मानिसले अनेकौं संस्कृति र सभ्यताको पनि विकास गर्दै गयो। यसरी अहिलेको सिंगो मानव जातिको समग्र रूपले विकास भएको हो।

सन्दर्भ सामग्रीहरू

  1. The Origins of Modern Humans, Biology Reconsidered, Edited by Fred H. Smith and James C. M. Ahern, First Edition © 1984 Alan R. Liss, Published by John Wiley & Sons, Inc., Hoboken, New Jersey, Published simultaneously in Canada
  2. On the Origin of Species By Charles Darwin, Down, Bromley, Kent,October 1st, 1859.
  3. Down to Earth – the-story-of-human-evolution-from-primitive- By Anil Ashwani Sharma, Bhagirath Srivas, Raju Sajwan
  4. The Human Past : world prehistory and the development of human societies by Thames and Hudson
  5. Recent Human Evolution in East Asia and Australasia, Peter Brown,  philosophical of the royal society of London : Biological Science
  6. “Australopithecus garhi: a new species of early hominid from Ethiopia” – Asfaw, B; White, T; Lovejoy, O; Latimer, B; Simpson, S; Suwa
  7. From Australopithecus to Homo : the trangition that vojent – Kimbel, W.H.; Villmoare
  8. “The evolutionary history of the hominin hand since the last com mon ancestor of Pan and Homo”- Tocheri, Matthew W.; Orr, Caley M.; Jocofsky, Marc C.; Marzke, Mary
  9. “From Australopithecus to Homo: the transition that wasn’t”.- Kimbel, W.H.; Villmoare
  10. Out of Africa I: The First Hominin Colonization of Eurasia.- Fleagle, J.G.; Shea, J.J.; Grine, F.E.; Baden, A.L.; Leakey
  11. “Earliest human remains in Eurasia: New 40Ar/39Ar dating of the Dmanisi hominid-bearing levels, Georgia”. Quaternary Geochronology- Garcia, T.; Féraud, G.; Falguères, C.; de Lumley, H.; Perrenoud, C.; Lordkipanidze
  12. A reinvestigation, Proceedings of the Prehistoric Society- Ashton, NM, McNabb, J, and Parfitt, S, Choppers and the Clactonian
  13. “On the age of the Acheulian culture of the Hunsgi-Baichbal Valleys, Peninsular India”- Szabo, B.J., McKinney, C., Dalbey, T.S. and Paddayya, K.
  14. “Radiometric dating of a Quaternary dune section, Didwana, Rajasthan.” – Raghavan, H., Rajaguru, S.N. and  Misra, V.N.
  15. Dispersal and colonisation, long and short chronologies: how continuous is the Early Pleistocene record for hominids outside East Africa?- Dennell R W
  16. The South Asian Paleolithic record and its potential for transitions studies dk in Sourcebook of paleolithic transitions: Methods, theories and interpretations- Chauhan P R and M Camps
  17. https://www.jstor.org/stable/pdf/4330635.pdf?refreqid=search%3A57645ec65070a67f12177cb266930cc7
  18. http://www.mhhe.com/biosci/genbio/raven6b/graphics/raven06b/other/raven06b_23.pdf
  19. https://www.jstor.org/stable/pdf/192425.pdf?refreqid=search%3A1c2eb48887010d229b 6ab4511e283e5
  20. https://www.jstor.org/stable/pdf/24931324.pdf?refreqid=search%3Aec37a33d68c0038dbf95a1537f171fc0
  21. https://www.jstor.org/stable/pdf/2742808.pdf?refreqid=search%3Ad44a9ef7270a9ad75f42b6c72cd2472a
  22. https://en.wikipedia.org/wiki/Human_evolution
  23. https://www.youtube.com/watch?v=5sMqFivWTmk
  24. https://www.britannica.com/animal/Gigantopithecus
  25. https://www.youtube.com/watch?v=FbAptAnrwN8
  26. https://www.youtube.com/watch?v=oxgnlSbYLSc
  27. https://www.youtube.com/watch?v=SUfujVWcj5I
  28. Human Evolution, An Introduction to Man’s Adaptations, Bernard Campbell, Publisher – Routledge
  29. The Complete World of Human Evolution (The Complete Series) – January 2, 2012 by Chris Stringer (Author), Peter Andrews (Author), Publisher – Thames & Hudson
  30. The Origins of Man: An Illustrated History of Human Evolution, 29 Jun. 2007, by Douglas Palmer (Author), New Holland Publishers Ltd.
  31. Human Origins (Classic Reprint) Paperback – August 24, 2018 by Samuel Laing (Author), Forgotten Books
  32. THE DESCENT OF MAN,AND SELECTION EST RELATION TO SEX – NEW YORK: D. APPLETON AND COMPANY,1889
  33. The Staircase of Life: The Story of the Origin and Evolution of Life and Humankind, by Gerard Alexander Willighagen (Author), Kindle
  34. The Staircase of Life: The Story of the Origin and Evolution of Life and Humankind, by Gerard Alexander Willighagen (Author), Kindle
  35. सभ्य मानवका इतिहास, भगवत शरण उपाध्याय, किताब महल, इलाहावाद
  36. विश्वको रूपरेखा, राहूल सांकृत्यायन, नेपाली संस्करण, अनुवाद – नारायण गिरी, प्रगति पुस्तक सदन
  37. जातिहरूको उत्पत्ति – चार्ल्स डार्विन, नेपाली संस्करण, अनुवाद – रमे सुनुवार र नारायण गिरी, विन एन पुस्तक संसार प्रालि
  38. सेपियन्स (मानव-जाति का संक्षिप्त इतिहास), युवाल नोआ हरारी, हिन्दी संस्करण, अनुवाद – मदन सोनी, मंजुल पब्लिसिङ हाउस
  39. ब्रम्हाण्ड की उत्पत्ति एवं श्रेष्ठ मानव जीवन- डा. महेशचन्द्र बंसल, हिन्दी संस्करण, साहित्यघर जैपुर २०२२
  40. मानव समाज – राहुल सांकृत्ययान, किताब महल
  41. मानव जातिको उत्पत्ति – भलेरी अलेक्सेयेभ, नेपाली संस्करण, नेपाली अनुवाद – नारायण गिरी, पुस्तक सेन्टर
  42. मानव की कहानी – राहुल सांकृत्यायन- किताब महल
  43. मानव की कहानी (सृष्टि और मानव विकास का इतिहास – सृष्टि के आदि से १९५० तक) – पहिलो भाग और दोस्रो भाग – प्रो रामेश्वर गुप्ता, चेतनागर
  44. पृथ्वीमा जीव र मानिसको उत्पत्ति तथा विकासको इतिहास – नारायण गिरी, http://www.narayangiri.wordpress.com
  45. Study and Research of various websites, blogs, youtube channels, journal, newspapers and magazines


2 responses to “मानव जाति – एक सविस्तार अध्ययन”

  1. A lot of thanks. It’s very fruitful.

    On Tue, Dec 12, 2023 at 3:29 PM अध्ययन-अनुसन्धान (Essential Knowledge of

    Liked by 1 person

Leave a comment

About Me

I am a student of philosophy and nature. I thoroughly research all subjects and summarize them in Nepali and English. I am Secretary of Marxism Study-Research Academy, Nepal. I am a Social Worker. Education – i) Master of Arts Degree in Political Science – TU, ii) Master of Public Administration Degree – TU, iii) Master of Arts Degree in History-TU, iv) Master of Arts Degree in Nepalese History Culture and Archaeology-TU.

म अध्ययन-अनुसन्धान कार्यमा निस्वार्थ भावले निरन्तर लागेको एक वाम विचारधारायुक्त सामाजिक कार्यकर्ता हुँ। मेरो कुनै पनि राजनीतिक दलसँग संलग्नता नरहेको जानकारी गराउँदछु। मेरा हरेक अध्ययन-अनुसन्धान कार्य शोषण, दमन, अन्याय, अत्याचारका विरुद्ध हुनेछन् । आम श्रमजीवी, भोका-नांगा, गरीब, उत्पीडित जनसमुदायहरूलाई सुशिक्षित गर्ने प्रयत्न मेरो कर्तव्य हुनजान्छ । मेरा सबै कार्य जनहितका लागि हुनेछन् भन्ने आशा तथा विश्वासपूर्वक मैले निरन्तर कार्य अगाडि बढाइरहेको हुनेछु। श्रमप्रति सम्मान र शोषणप्रति घृणा नै मेरा कार्यका उद्देश्य हुनेछन्।  

यहाँ तपाईंहरू सबै प्रकारका सामग्रीहरू अध्ययन गर्न र हेर्न पाउनुहुनेछ । अध्ययन गर्नको लागि रूचियुक्त सामग्रीहरू माग गर्नुभयो भने यथासंभव परिपूर्तिसमेत गरिनेछ । यहाँ लेखरचना, पत्रपत्रिका, म्यागजिन,  जर्नल, विभिन्न पुस्तकहरू (नेपाली, अंग्रेजी र हिन्दी भाषामा), डकुमेन्ट्री, फिल्म, आदि सामग्रीहरू खोजेर पढ्न तथा हेर्न सक्नुहुन्छ।

I am a leftist social worker who is selflessly engaged in research work. I inform you that I am not affiliated with any political party. Every study-research work of mine will be against exploitation, oppression, injustice and tyranny. It is my duty to try to educate the common workers, the hungry, the poor, the oppressed masses. I will continue my work with the hope and confidence that all my work will be for public interest. Respect for labor and hatred for exploitation will be the objectives of my work.

Here you will find all kinds of content to study and watch. If you demand for interesting materials to study, they will be provided as much as possible. Here you can search and read articles, newspapers, magazines, journals, various books (in Nepali, English and Hindi languages), documentaries, films, etc.

श्रमको सम्मान गर्नुभएकोमा धन्यवाद ।

Thank you for respecting the labor.

Newsletter

Marxism-मार्क्सवाद

Communist history

Philosophy-दर्शन

लेनिन-LeninLeninism

दस्तावेज-documents

धर्म-दर्शन

त्रिपिटक–बुद्ध

गीता सार

Politics–राजनीति

ग्रन्थ परिचय

Mao-Maoism

साहित्य- literature

जीवनी-biography

साम्यवाद-communism

युवाबारे-On Youth

कार्ल मार्क्स–Karl Marx

फ्रेडरिक एंगेल्स–F. Engels

भी.आइ.लेनिन–V.I.Lenin

जे. भी. स्टालिन – J.V. Stalin

माओत्सेतुङ – Maotsetung

डिजिटल पुस्तकालय (digital library)

ई-पुस्तकालय -e-library

विज्ञान-प्रविधि (Science-Technology)

सामान्य ज्ञान (GK)

Documentaries and YouTube channels

पुस्तकालय – LIBRARY

नेपाली डिजिटल पुस्तकहरू (Nepali Digital Books)

नेपाली न्यूजपेपर, म्यागजिन र अनलाइन पत्रपत्रिकाहरू (Nepali Newspapers, Online and Nepali Magazines)

English Digital Books : Part – 1 (world communist special books)

English Digital Books : Part – 2

English Digital Books : Part – 3

हिन्दी डिजिटल पुस्तक (Hindi digital Books) भाग – १

हिन्दी डिजिटल पुस्तक (Hindi digital Books) भाग – २

हिन्दी डिजिटल पुस्तक (Hindi digital Books) भाग – ३

हिन्दी डिजिटल पुस्तक (Hindi digital Books) भाग – ४

हिन्दी डिजिटल पुस्तक (Hindi digital Books) भाग – ५

Documentaries and YouTube channels

Uncategorized

ENGLISH SECTION

Design a site like this with WordPress.com
Get started