स्रोत – The Structure of Scientific Revolutions – Thomas S. Kuhn, THE UNIVERSITY OF CHICAGO PRESS, LTD., LONDON
(यो उक्त पुस्तकको तेस्रो अध्याय हो र अन्य अध्यायहरू क्रमशः प्रकाशित हुँदै जानेछन्)
अनुवाद तथा सम्पादन – नारायण गिरी
यस अध्यायमा हामी विशेषज्ञहरूद्वारा गरिने त्यस रहस्यात्मक अनुसन्धानको के प्रकृति हुन्छ भन्ने प्रश्नमाथि विचार गर्नेछौं, जुन वैज्ञानिक दलद्वारा एउटा एक्लै ‘प्याराडाइम’ स्वीकृत भइसकेको अवस्थापछि संभव हुन्छ । यदि ‘प्याराडाइम’, दलको पछिल्लो सफलता र पूरा भइसकेको कामको प्रतीक हो भने, त्यो आर्जित भएपछि संयुक्त दलको हल गर्नको लागि कुन समस्याहरू बाँकी बचिरहन्छ । यी कुराहरूलाई बुझ्नको लागि ‘प्याराडाइम’ को हाम्रो खास पारिभाषिक तात्पर्य र आम भाषाको त्यसको अर्थको बीचको समानता र अन्तरमाथि विचार गर्नु उपयोगी हुनेछ । सामान्यतः ‘प्याराडाइम’को अर्थ एक मान्य प्रतिरूप, प्याटर्न, मोडल हुन्छ, तर चाँडै नै के स्पष्ट हुनजानेछ भने ‘मोडल’, वा ‘प्याटर्न’ शब्दहरूको हाम्रो पारिभाषिक शब्द ‘प्याराडाइम’ को भाव व्यक्त गर्नको लागि अपर्याप्त छ । ल्याटिन व्याकरणमा ‘आमो, आमास, आमाट’ एक ‘प्याराडाइम’ (आदर्श) हुन्छ किनकि त्यो अन्य अनेक ल्याटिन क्रियाहरूको क्रिया–रूप बनाउनको लागि एक नमूनाको रूपमा प्रयोग गरिन्छ । उदाहरणस्वरूप, उपरोक्त ‘प्याराडाइम’ को प्रयोगबाट क्रिया–रूप ‘लौडो, लौडास, लौलाट’ प्राप्त गरिन्छ । यसप्रकार ‘प्याराडाइम’ शब्दको प्रयोग अनेक उदाहरणात्मक शब्दहरूसँग गरेर तिनको क्रिया–रूप प्राप्त गरिन्छ ; किनकि ‘प्याराडाइम’ शब्द र उदाहरणात्मक शब्द समतुल्य हुन्छन् ; त्यसकारण सिद्धान्ततः यी उदाहरणहरूमध्येमा कुनै पनि शब्द ‘प्याराडाइम’ को ठाउँमा प्रयोग गर्न सकिन्थ्यो । तर जब हामी वैज्ञानिक विकासक्रमको सन्दर्भमा ‘प्याराडाइम’ शब्दको प्रयोग गर्दछौं, तब व्याकरणको उपरोक्त उदाहरणजस्तै त्यसलाई आफ्नो हुबहू नक्कल उत्पन्न गर्नको लागि प्रयुक्त गर्ने गर्दैनौं । नत्र, त्यसको तुलना कुनै अदलती फैसलासँग धेरै ठीक हुनेछ । जब कुनै पुरानो अदालती फैसलाको प्रयोग कुनै नयाँ मामिलामा गरिन्छ, तब परिस्थितिहरू बिल्कुल भिन्न हुन्छन् र त्यसकारण यस प्रक्रियामा अनिवार्य रूपले त्यसको परिष्करण र विकास हुन्छ ।
यसप्रकार हामीले ‘प्याराडाइम’ को व्याख्या गर्दा के पाउँदछौं भने जब कुनै ‘प्याराडाइम’ अनुसन्धान क्षेत्रमा पहिलो पटक प्रकट हुन्छ, तब त्यो धेरै अस्पष्ट हुन्छ र त्यसको अनुप्रयोगको दायरा पनि सुनिश्चित हुँदैन । यी कमीहरूका बावजूद, ‘प्याराडाइम’ ले त्यसकारण यति प्रतिष्ठा प्राप्त गर्दछन् किनकि तिनीहरू आफ्ना प्रतिस्पर्धीहरूको विरूद्ध केही यस्ता समस्याहरूलाई हल गर्नमा अधिक सफल हुन्छन्, जसको समाधान सम्बन्धित वैज्ञानिकहरूको दलले अत्याधिक महत्वपूर्ण मान्न लाग्दछन् । तर अधिक सफल हुनुको अर्थ न त कुनै एक समस्याको हल गर्नमा पूर्ण रूपले सफल हुनु हो र न सारा समस्याहरूको हलमा उल्लेखनीय सफलता प्राप्त गर्नु नै हो । शुरुवाती क्रममा कुनै ‘प्याराडाइम’ को सफलता, धेरै हदसम्म केही चुनिएका र तबसम्म आंशिक रूपले सफल भएका समस्याहरूको सन्तोषजनक हलको संभावनाको रूपमा हुन्छ । एरिस्टोटलको गतिको समीक्षा, टोलमीको ग्रहहरूको स्थितिको अविकलन, लेवोजिएको तराजूको अनुप्रयोग, वा म्याक्सवेलको विद्युत–चुम्बकीय क्षेत्रको गणितीकरण यसको राम्रो उदाहरण हो । सामान्य विज्ञानको काम ‘प्याराडाइम’ को उपरोक्त संभावनालाई यथार्थमा बदल्नु हुन्छ । यस कामको लागि ‘प्याराडाइम’ को दृष्टिले महत्वपूर्ण र उपयोगी लाग्ने तथ्यहरूको विस्तृत जानकारी प्राप्त गरिन्छ । यी तथ्यहरू र ‘प्याराडाइम’ द्वारा गरिएका पूर्वोक्तिहरूको बीचमा तुलना गरिन्छ । र, यस क्रममा ‘प्याराडाइम’ को अधिक सुव्यवस्थित प्रतिपादन गरिन्छ ।
‘प्याराडाइम’ को स्वीकृतिपछि, धेरै भारी मात्रामा, अधूरो कामलाई पूरा गर्ने काम बचिरहन्छ र व्यवहारमा, वैज्ञानिक यो कामलाई ठूलो उत्साहपूर्वक गर्दछन् । कुनै यस्तो व्यक्तिको लागि यस कुराको महत्व अनुभव गर्नु कठिन छ, जसले स्वयं कहिल्यै परिपक्व विज्ञानको अनुसन्धानको काम गरेको छैन । तर यस सत्यलाई बुझ्नु अत्यन्तै महत्वपूर्ण छ । अधिकतम् वैज्ञानिक आफ्नो व्यावसायिक जीवनका अधिकांश यस्ता अधूरा कामलाई पूरा गर्नमा नै गुज्रिन्छन् । र, यसैप्रकारका कामहरूलाई म यहाँ ‘सामान्य–विज्ञान’ को नाम दिइरहेको छु । यस कामको पछाडि कुन भावना हुन्छ भने ‘प्याराडाइम’ द्वारा उपलब्ध गराइएका पूर्वनिनिर्मित र कठोर साँचोमा प्रकृतिलाई ढालिन्छ । यो कुराको प्रमाण विज्ञानको इतिहास र समकालीन वैज्ञानिक अनुसन्धानको निरीक्षण गरेपछि मिल्दछ । नयाँ प्रकारका परिघटनाहरूको अन्वेषण गर्नु सामान्य विज्ञानको कामको उद्देश्य कहिल्यै हुँदैन । जुन परिघटनाहरू ‘प्याराडाइम’ को उपरोक्त साँचोमा अनुकूल हुँदैन, प्रायः तिनीहरूको पूर्ण रूपले नजरअन्दाज गरिन्छ । सामान्यतया वैज्ञानिकहरू नयाँ सिद्धान्तहरूको आविष्कार गर्ने उद्देश्यबाट पनि काम गर्दैनन्; बरु उल्टो, तिनीहरू अन्यद्वारा आविष्कृत सिद्धान्तहरूप्रति असहनशिलता प्रकट गर्दछन् । यसको बदला, सामान्य–वैज्ञानिक अनुसन्धान ती परिघटनाहरू र सिद्धान्तहरूको सुव्यवस्थित प्रतिपादनतर्फ निर्दिष्ट गरिन्छ, जुन ‘प्याराडाइम’ का धारणाहरूको ढाँचामा पहिलेदेखि नै सामेल रहन्छ । संभवतः यी कमीहरू हुन् । निश्चय नै सामान्य विज्ञानद्वारा अन्वेषित क्षेत्र धेरै सीमित हुन्छ । माथि जुनप्रकारको कामको वर्णन गरिएको छ, त्यसमा अन्वेषणकर्ताको परिप्रेक्ष्य अत्यन्तै सीमित हुनजान्छ । तर ‘प्याराडाइम’ मा निष्ठाको कारण उत्पन्न हुने यी प्रतिबन्ध, विज्ञानको विकासको लागि अनिवार्य सिद्ध हुन्छ । ‘प्याराडाइम’ को कारण वैज्ञानिकहरूको ध्यान रहस्यात्मक समस्याहरूको एउटा सानो दायरामा केन्द्रित हुनजान्छ । यसप्रकार वैज्ञानिक प्रकृतिको कुनै एउटा हिस्साको अन्वेषण यति धेरै विस्तार र गहिराइपूर्वक गर्नको लागि बाध्य हुन्छ, जसको अन्यथा कल्पना पनि गर्न सकिंदैन । यसको साथै सामान्य विज्ञानको काममा यस्ता विभिन्न क्रियाविधि पनि निहित रूपमा सामेल रहन्छन्, जसले अनुसन्धानलाई सीमाबद्ध गर्ने यी प्रतिबन्धहरूमा व्युत्पन्न गर्ने ‘प्याराडाइम’ ले प्रभावशाली ढंगले काम गर्न बन्द गरिदिन्छ । त्यस अवस्थामा वैज्ञानिक भिन्न तरीकाले व्यवहार गर्न शुरु गरिदिन्छन् र तिनीहरूका अनुसन्धानका समस्याहरूको स्वरूप बदलिन्छ । तर यो परिवर्तन आउनुभन्दा पहिले ‘प्याराडाइम’ को सफल विकासको क्रममा वैज्ञानिकहरूको दलले यस्ता समस्याहरूलाई हल गरिसकेको हुन्छ, जसको समाधानको कल्पना पनि ‘प्याराडाइम’ को अभावमा गर्न सकिंदैन थियो र अन्यथा जसलाई हल गर्ने प्रयास पनि वैज्ञानिक गर्दैनथे । ‘प्याराडाइम’ को यस सफलताको कम्तीमा एउटा हिस्सा हमेशा स्थायी साबित हुन्छ ।
सामान्य अनुसन्धान वा ‘प्याराडाइम’–आधारित अनुसन्धानको आफ्नो धारणालाई स्पष्ट गर्नको लागि म अब ती समस्याहरूलाई वर्गीकृत गर्ने र तिनको उदाहरण दिने प्रयास गर्नेछु, जुन सबैलाई मिलाएर सामान्य विज्ञान बन्दछ । म आफ्नो समीक्षालाई दुई हिस्साहरूमा बाँड्नेछु । सुबिधाको लागि सैद्धान्तिक गतिविधिमाथि चर्चा अहिले स्थगित गर्दछु र शुरुवात तथ्य–संकलनबाट गर्दछु । तथ्य–संकलनको मेरो तात्पर्य प्राविधिक पत्रिकाहरूमा प्रकाशित ती प्रयोगहरू र अवलोकनहरूसँग हो, जसको माध्यमबाट वैज्ञानिक आफ्नो व्यवसायिक सहकर्मीहरूलाई आफ्नो निरन्तर जारी अनुसन्धानको परिणामहरूबाट अवगत गराउँदछन् । सामान्यतः वैज्ञानिकले प्रकृतिको कुन पक्षहरूमा रिपोर्ट दिन्छन् ? तिनको चयन कुन चीजद्वारा निर्धारित हुन्छ ? कुन चीजले वैज्ञानिकलाई त्यस चयनको आधारमा शुरु गरिएका अनुसन्धानलाई निष्कर्षसम्म लैजानको लागि प्रेरित गर्दछ ? उपरोक्त प्रश्न त्यसकारण महत्वपूर्ण छ, किनकि वैज्ञानिक सामान्यतः समय, उपकरण एवं यन्त्र र धनको रूपमा आफ्नो अत्यन्तै धेरै शक्ति यसप्रकारका अवलोकनहरू र प्रयोगहरूको लागि खर्च गर्दछन् ।
मेरो विचारले तथ्यात्मक वैज्ञानिक अन्वेषणलाई तीन श्रेणीहरूमा विभाजित गर्न सकिन्छ । यी श्रेणीहरू अलग हुँदा–हुँदै पनि एक–अर्कोसँग घनिष्ठतापूर्वक जोडिएका हुन्छन् । पहिलो वर्गमा ती तथ्य आउँदछन्, जुन ‘प्याराडाइम’ को धारणाअनुसार प्रकृतिको वर्णन गर्नको लागि विशेष रूपले महत्वपूर्ण छ । यद्यपि ‘प्याराडाइम’ को माध्यमबाट समस्याहरूको हल गर्नमा यी तथ्यहरूको प्रयोग व्यापक रूपले हुन्छ, त्यसकारण के आवश्यक हुनजान्छ भने तिनको निर्धारण भिन्न–भिन्न परिस्थितिहरूमा र अधिक परिशुद्धतापूर्वक गरिन्छ । कुनै न कुनै समय निम्नलिखित महत्वपूर्ण निर्धारण यस वर्गमा सामेल रहेका छन् : खगोलविज्ञानको क्षेत्रमा ताराहरूको स्थिति र कान्तिमान, ग्रहणशील युग्महरू र ग्रहहरूको आवर्तकाल; भौतिक–विज्ञानको क्षेत्रमा पदार्थहरूको आपेक्षिक घनत्व र संकुचन, तरंग–दैर्घ्य र वर्णक्रम तीव्रताहरू, विद्युत चालकताहरू र सम्पर्क विभव र रसायन विज्ञानमा संयोजन तुलनांक भार, घोलहरूको उम्लेन बिन्दु र अम्लता, संरचना सूत्र र ध्रुवण चक्करता । जुन परिशुद्धताबाट र जुन दायरामा यी तथ्य ज्ञात रहन्छन्, त्यसलाई बढाउने प्रयास प्रयोगात्मक र अवलोकनात्मक विज्ञानको साहित्यको एक महत्वपूर्ण भाग हुन्छ । यसप्रकारका कामहरूको लागि जटिल उपकरणहरूको निर्माण गरिन्छ र यस्ता उपकरणहरूको आविष्कार, निर्माण र उपयोगको लागि उच्च कोटिको प्रतिभा, धेरै समय र धेरै मात्रामा आर्थिक मद्दतको आवश्यकता हुन्छ । सिंकोट्रोन र रेडियो–दूरबीनहरू यस कुराका आधुनिकतम् उदाहरणहरू हुन् – यदि आफ्नो ‘प्याराडाइम’ का अनुसार वैज्ञानिकहरूलाई विश्वास हुनजान्छ कि केही तथ्य महत्वपूर्ण छ भने, तिनीहरूको खोज वा निर्धारणको लागि उनीहरू कति जटिलताहरू उठाउन सक्दछन् । सोह्रौं शताब्दीका टाइको ब्राहेदेखि लिएर बीसौं शताब्दीका ई. ओ. लरेन्ससम्म केही वैज्ञानिकहरूले जुन महान् प्रतिष्ठा आर्जित गरेका छन्, त्यसको आधार तिनको अन्वेषणहरूको नवीनता होइन, बरु त्यसको कारण ती प्रयोगात्मक विधिहरूको परिशुद्धता, विश्वसनीयता एवं विस्तृत दायरा छ, जसको विकास उनीहरूले पहिलेदेखि नै ज्ञात तथ्यहरूको पुनर्निर्धारण गर्नको लागि गरे ।
तथ्यात्मक निर्धारणहरूको अर्को वर्गमा ती तथ्य छन्, जसको यद्यपि आफू आफैमा त कुनै विशेष महत्व छैन, तर तिनको तुलना प्रत्यक्ष रूपले ‘प्याराडाइम’ को सिद्धान्तको पूर्वोक्तिहरूसँग गर्न सकिन्छ । तथ्यहरूको यो वर्ग अपेक्षाकृत सानो छ । शीघ्र नै जब हामी सामान्य विज्ञानको प्रयोगात्मक समस्याहरूको वर्गीकरण गरेपछि सैद्धान्तिक समस्याहरूमा विचार गर्नेछौं, तब हामी के देख्नेछौं भने कुनै वैज्ञानिक सिद्धान्तको धेरै सानो क्षेत्र यस्तो हुन्छ, जसको तुलना प्रकृतिसँग प्रत्यक्ष रूपले गर्न सकिन्छ । यो कुरा तब त अझ पनि धेरै सित्य सिद्ध हुन्छ, जब सम्बन्धित सिद्धान्तको स्वरूप गणितीय हुन्छ । उदाहरणको लागि आइन्स्टाइनको व्यापक सापेक्षिकता सिद्धान्त अहिलेसम्म पनि प्रकृतिसँग केवल तीन क्षेत्रहरूमा मात्र जोड्न सकिएको छ ।२ यसको अतिरिक्त, जुन क्षेत्रहरूमा कुनै सिद्धान्तको अनुप्रयोग संभव पनि हुन्छ, तिनमा प्रायः यस्ता सैद्धान्तिक र यान्त्रिक सन्निकट अवश्य हुन्छ, जसको कारण सम्मेल अझ पनि सीमित हुनजान्छ । त्यस सम्मेललाई अझ परिष्कृत गर्नु या नयाँ क्षेत्र खोज्नु जसमा सम्मेल प्रदर्शित गर्ने थोरै पनि संभावना हुन्छ, प्रयोगकर्ताहरू र अवलोकनकर्ताहरूको कौशल र कल्पनाको लागि निरन्तर चुनौति बनिरहन्छ । प्रकृति र सिद्धान्तको बीचमा धेरैभन्दा धेरै निकटतम् सम्मेल स्थापित गर्नको लागि विशेष उपकरणहरूको निर्माण गरी, वैज्ञानिक गहन अध्यवसाय र कौशल प्रदर्शित गर्दछन् । कोपरनिकसको बार्षिक लम्बनको पूवोक्तिलाई प्रदर्शित गर्नको लागि विशेष दूरबीनहरू; न्यूटनको अर्को नियमको असंदिग्ध प्रदर्शन गर्नको लागि एटवुटको यन्त्र, जसको पहिलो पटक आविष्कार ‘प्रिन्सिपिया’ को लगभग एक शताब्दीपछि भएको थियो ; हावामा प्रकाशको गति पानीको भन्दा बढी हुन्छ, यो देखाउनको लागि फूकोको उपकरण; न्यूट्रिनोंको अस्तित्व प्रदर्शित गर्नको लागि अभिकल्पित बृहदाकार प्रस्फुरण गणित, इत्यादि यसको धेरै राम्रो उदाहरण हो ।३ सम्मेल प्रदर्शित गर्ने यस कामलाई हामी सामान्य प्रयोगात्मक कामको अर्को वर्गमा सामेल गर्दछौं; यो कामको पहिलो वर्गको कामभन्दा पनि धेरै स्पष्ट रूपले कुनै विशेष ‘प्याराडाइम’ मा निर्धारित हुन्छ । यस वर्गको समस्याहरूको अस्तित्व ‘प्याराडाइम’ को अस्तित्वमा अनिवार्य रूपले निर्भर गर्दछ र समस्याको समाधानको लागि निर्मित उपकरणको अभिकल्पनामा ‘प्याराडाइम’ को सिद्धान्त प्रत्यक्ष रूपले सन्निहित रहन्छ । उदाहरणको लागि ‘प्रिन्सिपिया’ को अभावमा एटवुड यन्त्रद्वारा गरिएका मापनहरूको बिलकुल कुनै मतलब नै निक्लिदैन ।
सामान्य विज्ञानको तथ्य–संकलन गतिविधिको सन्दर्भमा प्रयोगहरू र अवलोकनहरूको एक तेस्रो र अन्तिम वर्ग पनि छ, जसमा तिनीहरू प्रयोगात्मक काम आउँदछन्, जुन ‘प्याराडाइम’ सिद्धान्तको सुव्यवस्थित प्रतिपादन गर्नको लागि, त्यसको बचे–खुचेको संदिग्धताको निराकरण गर्नको लागि र ‘प्याराडाइम’ को कारण जुन समस्याहरूतर्फ पहिले वैज्ञानिकहरूको केवल ध्यान मात्र आकर्षित भएको थियो, तिनको हल संभव बनाउनको लागि गरिन्छ । तीनै वर्गहरूको काममा यस वर्गको काम सबभन्दा धेरै महत्वपूर्ण हुन्छ, त्यसकारण, यसको सविस्तार वर्णनको लागि यसको उपविभाजन आवश्यक छ । अत्यधिक गणितीय विज्ञानहरूमा सुव्यवस्थित प्रतिपादनको उद्देश्यबाट गरिएका प्रयोगहरूमध्येबाट केही भौतिक स्थिरांकहरूको निर्धारणतर्फ निर्दिष्ट हुन्छन् । उदाहरणस्वरूप, न्यूटनको कामबाट के निष्कर्ष निक्लियो भने दुई एकांक द्रव्यमानहरूको बीच एकांक दूरीमाथि बल सबै प्रकारका द्रव्यहरूको लागि विश्वका सबै स्थानहरूमा एक बराबर हुनेछ । तर न्यूटनद्वारा प्रस्तावित सबै समस्याहरू, सार्वत्रिक गुरुत्वीय स्थिरांक (constant) द्वारा निर्धारित यस आकर्षणको मात्रा आकलित नगरीकन पनि हल गर्न सकिन्थ्यो र ‘प्रिन्सिपिया’ प्रकाशित भएको एक शताब्दीपछि पनि कसैले यस स्थिरांकको निर्धारण गर्नयोग्य उपकरणको निर्माण गरेनन् । र, अठारौं शताब्दीको अन्तिम दशकमा क्यावेन्डिशद्वारा सम्पन्न गरिएको यस स्थिरांकको पहिलो र प्रसिद्ध निर्धारण, यसप्रकारको अन्तिम निर्धारण पनि थिएन । किनकि भौतिक सिद्धान्तमा गुरुत्वीय स्थिरांकको अत्यधिक महत्वपूर्ण स्थान छ, त्यसकारण क्यावेन्डिशको निर्धारणको पछिदेखि अनेक प्रतिभाशाली वैज्ञानिकहरूले यस स्थिरांकको उन्नत मानको निर्धारणको लागि निरन्तर प्रयोग गरेका छन् ।४ खगोलीय एकाई, आवोगद्रोको संख्या, जूलको गुणांक, इलेक्ट्रोनको आवेश, इत्यादिको निर्धारण पनि यसप्रकार अनवरत गरिने प्रयोगहरूका उदाहरण हुन् । ‘प्याराडाइम’ सिद्धान्त मात्र यस्तो समस्याहरूको प्रतिपादन गर्ने र तिनको स्थायी हल प्राप्त हुने ग्यारेन्टी हुन्छ । त्यसबिना यी सुपरिष्कृत प्रयासहरूको कल्पना पनि गर्न सकिँदैनथ्यो र ‘प्याराडाइम’ सिद्धान्तबिना यथार्थमा यिनको हल पनि असंभव थियो ।
तर ‘प्याराडाइम’ को सुव्यवस्थित प्रतिपादनको प्रयास सार्वत्रिक स्थिरांकहरूको निर्धारणसम्म मात्र सीमित छैन । उदाहरणस्वरूप, तिनीहरू परिमाणात्मक नियमहरूको खोजतर्फ पनि निर्दिष्ट हुन सक्दछन् । ग्यास प्रेसरसँगै आयतनलाई संबद्ध गर्ने बयलको नियम, विद्युत–आकर्षणको कूलमको नियम र प्रतिरोध र धारालाई विद्युतजनित तापसँग सम्बन्धित गर्ने जूलको सूत्र, इत्यादि सबै यस श्रेणीमा आउँदछन् । संभवतः के स्पष्ट छैन भने यसप्रकारका नियमहरूको खोजको लागि ‘प्याराडाइम’ को अस्तित्व कसरी अनिवार्य हुन्छ । प्रायः के दावी गरिन्छ भने यस्ता नियमहरूको खोज ती मापनहरूको परीक्षणबाट हुन्छ, जुन कुनै विशेष उद्देश्यको लागि सम्पन्न गरिंदैनन् र जुन कुनै सैद्धान्तिक प्रतिबद्धताको कारण सीमाबद्ध हुँदैनन् । तर यस अति–बेकनीय प्रणालीको पुष्टि ऐतिहासिक रूपबाट हुँदैन । जबसम्म वायुलाई यस्तो प्रत्यास्थ (elastic) तरलको रूपमा बुझ्न लागिएन जसमाथि द्रव्यस्थिति–विज्ञानको सुपरिष्कृत संकल्पनाहरू लागू गर्न सकिन्थ्यो, तबसम्म बयलका प्रयोगहरूको धारणा बन्नु नै संभव थिएन ; र यदि केहीगरी तिनको धारणा बन्दथ्यो भने पनि, या त तिनको कुनै अन्य व्याख्या गरिएको हुन्थ्यो र न त कुनै व्याख्या संभव नै नभएको हुन्थ्यो ।५ कूलमको सफलता बिन्दु आवेशहरूको बीचको बलको मापनको कूलमको विशेष उपकरणको निर्माणमा नै निर्भर गर्दथ्यो । कूलमभन्दा पहिले जो मानिसहरूले विद्युत बलको मापन साधारण पलडा भएको तराजूको इत्यादि प्रयोग गरी गरेका थिए, उनीहरूले कुनै पुनःप्राप्य वा सरल नियमितता अवलोकन गरेका थिएनन् । तर कूलमको आफ्नो उपकरणको डिजाइन तिनको यस सैद्धान्तिक पूर्वमान्यतामाथि निर्भर गर्दथ्यो कि विद्युत–तरलको हरेक कण आफूभन्दा दूरीमा स्थिर हरेक अर्को कणमाथि क्रिया गर्दछ ; र त्यसकारण कूलम यस्ता कणहरूको बीचको बलको खोज गरिरहेका थिए । यस बलको विषयमा कूलमले स्वाभाविक रूपले के मानेका थिए भने प्रयोगात्मक परिस्थितिमा त्यही एकमात्र बल विद्यमान थियो र त्यो बल कणहरूको बीचको दूरीको साधारण कार्य थियो ।६ जूलको प्रयोगहरूबाट पनि के कुराको उदाहरण प्राप्त हुन्छ भने कसरी ‘प्याराडाइम’ र परिमाणात्मक नियमको बीचको सम्बन्ध यति अधिक व्यापक र घनिष्ठ छ -ग्यालिलियोको पछिबाट यो कुरा प्रायः ऐतिहासिक रूपले घटित भएको छ कि कुनै नियमको सही अनुपात त लगाइन्छ, तर त्यसको प्रयोगात्मक निर्धारणको लागि आवश्यक विशेष उपकरणको अभिकल्पना धेरै पछि मात्र संभव हुन पाउँदछ ।७
अन्तमा हामी एउटा तेस्रो प्रकारको प्रयोगको वर्णन गर्नेछौं, जसको उद्देश्य ‘प्याराडाइम’ को सुव्यवस्थित प्रतिपादन गर्नु हुन्छ । अन्य प्रकारका प्रयोगहरूको अपेक्षा, यसप्रकारका प्रयोगहरूको व्याख्या अन्वेषण र खोजको रूपमा पनि गर्न सकिन्छ । यो कुरा विशेष रूपले वैज्ञानिक विकासको त्यस क्रममा वा त्यस वैज्ञानिक क्षेत्रको लागि वास्तविक हुन्छ, जसमा प्रचलित अनुसन्धानको दिशा प्रचलित अनुसन्धानको दिशा प्रकृतिका नियमितताहरूको परिमाणात्मक पक्षहरूको मुकाविला, गुणात्मक पक्षहरूतर्फ अधिक निर्दिष्ट हुन्छ । प्रायः के हुन्छ भने ‘प्याराडाइम’ को विकास परिघटनाहरूको एउटा समूहको सफल व्याख्याको आधारमा हुन्छ, तर यिनै परिघटनाहरूसँग घनिष्ठ रूपले सम्बन्धित परिघटनाहरूको कुनै अर्को समूहको लागि त्यस ‘प्याराडाइम’ को अनुप्रयोगको वैधता शंकास्पद हुन्छ । तब परिघटनाहरूको यस नयाँ क्षेत्रमा ‘प्याराडाइम’ को अनुप्रयोगको वैकल्पिक तरीकाहरूको बीच चयन गर्नको लागि प्रयोग आवश्यक हुनजान्छ । उदाहरणको लागि, क्यालोरिक सिद्धान्तको ‘प्याराडाइम’ को सफल अनुप्रयोग सम्मिश्रणद्वारा र अवस्था–परिवर्तनद्वारा तापन र शीतलनको रूपमा थिए । तर ताप धेरै अन्य तरीकाहरूबाट पनि विमुक्त वा अवशोषित हुनसक्दथ्यो – उदाहरणस्वरूप, रासायनिक संयोगद्वारा, घर्षणद्वारा र ग्यासको संपीडन वा अवशोषणद्वारा; र यी अन्य परिघटनाहरूमध्येबाट हरेकको लागि क्यालोरिक सिद्धान्त कैयौं भिन्न तरीकाहरूबाट लागू हुनसक्दथ्यो । जस्तो, यदि शून्यमा ताप–धारिता हुन्छ भन्ने मानिन्छ भने, संकुचनद्वारा तापनको परिघटनाको व्याख्या यसप्रकार गर्न सकिन्थ्यो कि त्यो ग्याससँगै शून्य सम्मिश्रणको परिणामस्वरूप घटित हुन्छ । यसको एउटा अर्को व्याख्या के पनि हुनसक्थ्यो भने बदलिँदो प्रेसरसँगै ग्यासहरूको विशिष्ट ताप बदलिन्छ – यसको अतिरिक्त अरु पनि अन्य व्याख्याहरू संभव थियो । यी विभिन्न संभावनाहरू परिष्कृत गर्नको लागि र यिनीहरूको बीचको विभेद स्पष्ट गर्नको लागि सारा प्रयोगहरू गरिएका थिए । क्यालोरिक सिद्धान्तको ‘प्याराडाइम’ को स्थापनाको कारण नै यी सबै प्रयोग संभव भएका थिए र यी प्रयोगहरूको प्रतिरूप र परिणामहरूको व्याख्याको लागि, यस ‘प्याराडाइम’ कf संभावनाहरूको पूरा लाभ उठाइएको थियो ।८ यसप्रकार जब यस ‘प्याराडाइम’ को व्याख्याको रूपमा संकुचनद्वारा तापनको परिघटनाको सत्यता स्थापित हुनगयो, तब यसपछि यस क्षेत्रमा गरिएका अन्य सबै प्रयोगहरू यस व्याख्याअनुसार यसै ‘प्याराडाइम’ मा आधारित हुनगए । यदि कुनै परिघटना पहिलेदेखि ज्ञात हुन्छ भने, त्यसको व्याख्या गर्नको लागि कुनै प्रयोगको छनौट गर्ने कुनै अन्य तरीका हुनसक्दैन ।
अब हामी सामान्य विज्ञानका सैद्धान्तिक समस्याहरूको वर्गीकरण गर्नेछौं । प्रयोगात्मक र अवलोकनात्मक, समस्याहरूको जसरी नै यिनलाई पनि तीन श्रेणीहरूमा विभाजित गर्न सकिन्छ । सामान्य सैद्धान्तिक कामको एक सानो हिस्सा विद्यमान सिद्धान्तको प्रयोग गरेर यस्था तथ्यहरूको पूर्वोक्ति गर्नु छ, जसको अन्यथा कुनै विशेष महत्व हुँदैन । खगोलीय पंचांगको निर्माण, लेन्स–विशेषताहरूको गणना र रेडियो संचरण बक्रको निर्माण यस प्रकारका समस्याहरूका उदाहरण हुन् । अतः वैज्ञानिक यसलाई प्रायः घिसेपिटे निम्न कोटिका काम बुझेर इन्जिनियरहरू र मिस्त्रीहरूको लागि छोडिदिन्छन् र यसप्रकारका काममा आधारित लेख सामान्यतः प्रतिष्ठित वैज्ञानिक पत्रिकाहरूमा प्रकाशित हुँदैनन् । तर साथ–साथै यिनै पत्रिकाहरूमा यिनै समस्याहरूसँग सम्बन्धित सैद्धान्तिक बहसहरू छापिन्छन्, जसको सूक्ष्मतालाई बुझ्नु कुनै वैज्ञानिकको लागि संभव छैन । सिद्धान्तको अनुप्रयोग त्यसकारण गरिंदैन कि यसको परिणाम कुनै तात्विक महत्वको पूर्वोक्तिको रूपमा हुनेछ, बरु तिनको उपयोगिता के हो भने यसप्रकार तिनलाई प्रयोगको कसौटीमा प्रत्यक्ष रूपले परीक्षण गर्न सकिन्छ । तिनको उद्देश्य या त ‘प्याराडाइम’ को कुनै नयाँ अनुप्रयोगलाई प्रदर्शित गर्नु या फेरि कुनै पुरानो अनुप्रयोगको परिशुद्धता बढाउनु हुन्छ ।
यसप्रकारको कामको आवश्यकता ती जबर्जस्त किसिमका कठिनाइहरूबाट पैदा हुन्छन्, जुन कुनै सिद्धान्त र प्रकृतिलाई परस्पर जोड्ने क्रममा सामुन्ने आउँदछ । न्यूटनपछि, गतिविज्ञानको इतिहासको उदाहरणबाट यी कठिनाइहरू स्पष्ट हुनजानेछन् । अठारौं शताब्दीको शुरुमा जुन वैज्ञानिकहरूले ‘प्रिन्सिपिया’ ग्रन्थमा प्रतिपादित धारणाहरूलाई ‘प्याराडाइम’ को रूपमा मानेका थिए, तिनीहरू त्यसका निष्कर्षहरूको व्यापक वैधतामा पनि विश्वास गर्दथे । यस्तो गर्ने तीसँग उचित कारण पनि थिए । विज्ञानको इतिहासमा संभवतः अर्को यस्तो उदाहरण प्राप्त हुँदैन, जब कुनै रचनाको कारण अनुसन्धानको सूक्ष्मता र क्षेत्रमा यति अधिक वृद्धि संभव भएको होस् । न्यूटनले आकाशमा ग्रहहरूको गतिसँग सम्बन्धित केप्लरको नियम व्युत्पन्न गरेका थिए र यस्ता अवलोकित तथ्यहरूको पनि सफल व्याख्या गरिदिएका थिए, जसको अनुसार चन्द्रमाको आकासमा गति केप्लरको नियमहरूको अनुरूप हुँदैन । पृथ्वीमाथि गतिको सन्दर्भमा त्यसले पेन्डुलमहरू र ज्वारहरूसम्बन्धी केही विच्छिन्न अवलोकनहरूको परिणाम व्युत्पन्न गरेका थिए । यसको अलावा केही अतिरिक्त तर तदर्थ मान्यताहरूको सहायताबाट, यो बयलको नियम र हावामा ध्वनिको गतिको एक महत्वपूर्ण सूत्र व्युत्पन्न गर्नमा पनि सफल भएका थिए । त्यसबेलाको विज्ञानको विकासको स्थितिलाई हेर्दा, यी प्रदर्शनहरूको सफलता अत्यधिक प्रभावोत्पादक थियो । तर पनि न्यूटनका नियमहरूका लागि जति व्यापकताको दावी गरिन्थ्यो, त्यस हिसावबाट यी अनुप्रयोगहरूको संख्या अत्यन्तै कम थियो र न्यूटनले यसको अलावा अन्य कुनै अनुप्रयोग विकसित गरेका थिएनन् । साथ–साथै यदि हामीले वर्तमान समयसँग तुलना गर्यौं भने, न्यूटनका यी थोरै अनुप्रयोगहरूको परिशुद्धता पनि धेरै सीमित थियो । यसै उदाहरणबाट, सिद्धान्त र प्रकृतिलाई जोड्ने कठिनाईको विषयमा हामी एउटा अन्तिम तर्क अरु दिनेछौं । ‘प्रिन्सिपिया’ खगोलीय यान्त्रिक विज्ञानको समस्याको अनुप्रयोगतर्फ निर्दिष्ट थियो । यो कुरा बिल्कुल स्पष्ट थिएन कि त्यसलाई पार्थिव (पृथ्वीमाथि गरिने) अनुप्रयोगहरूको लागि उपयुक्त कसरी बनाउने, वा व्यवरूप (स्ट्रेंड) गतिको समस्याहरूको लागि त्यसको अनुप्रयोग कसरी गर्ने । अन्यथा पनि, पार्थिव समस्याहरूको हल बिल्कुल ती भिन्न प्रविधिहरूको आधारमा पहिलेदेखि नै धेरै सफलतापूर्वक गरिरहिएका थिए, जसको आविष्कार मूल रूपले ग्यालिलियो र हाइगेन्सले गरेका थिए । अठारौं शताब्दीको क्रममा बर्नूली बन्धुहरू, डि’ अलंबर्ट र धेरै अन्य वैज्ञानिकहरूको कामको माध्ययमबाट यिनै प्रविधिहरूको प्रसार ब्रिटेनको अतिरिक्त, बाँकी यूरोपभरीमा अति धेरै हुनगएको थियो । के आशा गरिन्थ्यो भने उपरोक्त प्रविधिहरू र ‘प्रिन्सिपिया’ का प्रविधिहरूलाई कुनै अरु धेरै व्यापक सिद्धान्तको विशेष अनुप्रयोगहरूको रूपमा बुझ्न सकिन्थ्यो, तर केही समयसम्म कुनै यस कार्यक्रमलाई सम्पन्न गर्न सकेन ।८
अहिले हामी आफ्नो ध्यान परिशुद्धताको समस्यामा नै केन्द्रित गर्नेछौं । हामीले त्यसको प्रयोगात्मक पक्षमा पहिले नै प्रकाश पारेका छौं । न्यूटनको ‘प्याराडाइम’ को ठोस अनुप्रयोगहरूको लागि जुन विशेष प्रयोगात्मक तथ्यहरूको आवश्यकता थियो तिनलाई प्राप्त गर्नको लागि क्वेन्डिशको उपकरण, एटवुडको यन्त्र, वा उन्नत दूरबीनहरूजस्ता विशेष यन्त्रहरूका निर्माण आवश्यक हुनगयो । सिद्धान्तको क्षेत्रमा पनि सम्मेल प्राप्त गर्नमा यसैप्रकारका कठिनाइहरूको सामना गर्नु परिरहेको थियो । उदाहरणस्वरूप, आफ्ना नियमहरूलाई पेन्डुलमहरूमा लागू गर्नको लागि, लोलकको लम्बाई निश्चित रूपले निर्धारित गर्नको लागि, न्यूटनले पेण्डुलमलाई गुरुत्व–केन्द्र मान्नको लागि बाध्य हुनुपरेको थियो । केही परिकल्पित र साधारण प्रयोगात्मक परिस्थितिहरूलाई छोडेर, त्यसका अधिकतम् प्रयोगहरूमा पनि हावाको प्रतिरोधको प्रभावलाई नजरअन्दाज गरिएको थियो । यी विवेकपूर्ण भौतिक सन्निकट थिए । तर पनि अनुमानित सन्निकट भएको कारण, उनीहरूले न्यूटनका पूर्वोक्तिहरू र वास्तविक प्रयोगहरूको बीचको अपेक्षित सम्मेललाई सीमित गरिदिए। यही कठिनाइ न्यूटनको सिद्धान्तको खगोलीय अनुप्रयोगहरूमा पनि प्रकट हुन्छ । दूरबीनद्वारा गरिएका साधारण परिमाणात्मक अवलोकनहरूबाट के थाहा लाग्दछ भने ग्रहहरूको गति पूर्ण रूपले केप्लरका नियमहरू अनुरूप हुँदैन र न्यूटनको सिद्धान्तबाट निक्लिने निष्कर्षले के बताउँदछ भने तिनीहरूले यस्तो हुनु पनि हुँदैन । सम्बन्धित ग्रह र सूर्यको बीचको गुरुत्वाकर्षको अतिरिक्त बाँकी सबै गुरुत्वाकर्षणहरूलाई नजरअन्दाज गरेर मात्र न्यूटन केप्लरका नियमहरूलाई आफ्नो सिद्धान्तबाट व्युत्पन्न गर्नमा सफल भएका थिए । यद्यपि ग्रहले एक–अर्कोलाई पनि आकर्षित गर्दछन्, त्यसकारण लागू गरिएको सिद्धान्त र दूरबीनका अवलोकनहरूको बीचमा, केवल सन्निकट सम्मेलको मात्र आशा गर्न सकिन्थ्यो ।१०
निश्चय नै सम्बन्धित वैज्ञानिकहरूको लागि यसप्रकार प्राप्त गरिएको सम्मेल नै अत्यधिक सन्तोषजनक थियो । केही पार्थिव समस्याहरूलाई छोडेर, यति धेरै सन्तोषजनक परिणाम, तबसम्म कुनै अन्य सिद्धान्तद्वारा उपार्जित हुनसकेको थिएन । त्यसकारण न्यूटनको कामको वैधतामा उठाइएका आपत्तिहरूको आधार प्रयोग र अवलोकनको बीचको सीमित सम्मेल कहिल्यै हुँदैनथ्यो । यसको बावजूद सम्मेलको यस अपूर्णताको कारण न्यूटनका उत्तराधिकारीहरूको लागि हल गर्नयोग्य अनेक रोचक सैद्धान्तिक समस्याहरू विद्यमान थिए । उदाहरणस्वरूप, एक–अर्कोलाई आकर्षित गर्ने दुईभन्दा अधिक पिण्डहरूको गतिहरूको समस्याको लागि र छुब्ध कक्षहरूको स्थायित्वको समस्या हल गर्नको लागि नयाँ सैद्धान्तिक प्रविधिहरूको आवश्यकता पर्यो । अठारौं शताब्दीको क्रममा र उन्नाइशौं शताब्दीको शुरुमा यूरोपका श्रेष्ठतम् गणितज्ञ यसैप्रकारका समस्याहरूको हलमा व्यस्त रहे । अयलर, लग्रांज, लाप्लास र गाउसका अत्याधिक प्रतिभाशाली काम यस्ता समस्याहरूको हलसँग सम्बन्धित छन्, जसको उद्देश्य न्यूटनको ‘प्याराडाइम’ र खगोलीय अवलोकनहरूको बीचमा सम्मेल बढाउनु थियो । साथ–साथै यी महान् वैज्ञानिकहरूले ती अनुप्रयोगहरूको लागि आवश्यक गणितको पनि विकास गरे, जसको विषयमा न्यूटनद्वारा वा यान्त्रिक विज्ञानको समकालीन यूरोपीय विचार–पद्धतिद्वारा कुनै पनि प्रयास गरिएको थिएन । उदाहरणस्वरूप, उनीहरूले द्रव–गति विज्ञानको क्षेत्रको र कम्पमान ताराहरूको समस्याको सन्दर्भमा बढी मात्रामा साहित्य र केही धेरै प्रतिभाशाली गणितीय प्रविधिहरूको विकास गरे । अठारौं शताब्दीको क्रममा गरिएका संभवतः सबभन्दा प्रतिभाशाली र श्रमसाध्य वैज्ञानिक कामको आधार अनुप्रयोगका यी समस्याहरू नै हुन् । यसको अन्य उदाहरण पनि विज्ञानको कुनै यस्तो शाखाको ‘प्याराडाइम’ को उत्तर–कालको इतिहासको परीक्षण गरेपछि मिल्न सक्दछ, जसको मूलभूत नियम परिमाणात्मक छ । यस सन्दर्भमा प्रकाशको तरंगसिद्धान्त र विद्युतचुम्बकीय सिद्धान्तको उल्लेख गर्न सकिन्छ । अत्यधिक गणितीय विज्ञानहरूको क्षेत्रमा गरिने सैद्धान्तिक काम भने कम्तीमा यसैप्रकारको हुन्छ ।
तर यसको यो तात्पर्य कदापि होइन कि सारा सैद्धान्तिक काम यसैगरी हुन्छ । गणितीय विज्ञानहरूमा पनि ‘प्याराडाइम’को सुव्यवस्थित प्रतिपादनको सैद्धान्तिक समस्याहरू हुन्छन् ; र जब–जब वैज्ञानिक विकास मुख्यतः गुणात्मक हुन्छ, तब यी समस्याहरू नै प्रधान हुन्छ । परिमाणात्मक र गुणात्मक, दुवै प्रकारका विज्ञानहरूको क्षेत्रमा केही समस्याहरूको उद्देश्य ‘प्याराडाइम’ को पुनः प्रदिपादनद्वारा सिद्धान्तको सरलीकरण हुन्छ । उदाहरणस्वरूप, अनुसन्धानका समस्याहरू हल गर्नको लागि ‘प्रिन्सिपिया’ को प्रयोग सजिलो काम थिएन; यसको एउटा कारण के थियो भने आफ्नो क्षेत्रमा पहिलो सफल सिद्धान्त हुने कारणले त्यसमा धेरै कुराहरू अस्पष्ट ढंगले प्रस्तुत गरिएको थियो । अर्को कुरा के भने त्यसको सफलता र महत्वको एउटा हिस्सा अनुप्रयोगहरूमा मात्रै निहित थियो । यसप्रकार धेरै पार्थिव अनुप्रयोगहरूको लागि यूरोपीय वैज्ञानिकहरूद्वारा विकसित असंबद्ध प्रतीत हुने प्रविधिहरूको समूह ‘प्रिन्सिपिया’ को मुकाबिलामा धेरै प्रभावशाली र सफल लाग्दथ्यो । त्यसकारण अठारौं शताब्दीमा अयलर र लग्रांजदेखि लिएर उन्नाइशौं शताब्दीमा ह्यामिल्टन, ज्याकोबी र हत्र्जसम्म यूरोपका धेरै अत्यधिक मेधावी गणितीय भौतिक वैज्ञानिकहरूले पटक–पटक यान्त्रिक विज्ञानको सिद्धान्तलाई समानार्थक, तर तार्किक र सौन्दर्य–मीमांसीय दृष्टिबाट अधिक सन्तोषजनक रूपमा पुनः प्रतिपादित गर्ने प्रयास गरे । अर्थात् उनीहरूको उद्देश्य के थियो भने ‘प्रिन्सिपिया’ र यूरोपीय यान्त्रिक विज्ञान–सिद्धान्तको भिन्न प्रतीत हुने व्यक्त अथवा अन्तर्निहित धारणाहरूको यस्तो रुपान्तरण विकसित गरियोस्, जसले यी दुवै सिद्धान्तहरूको बीचको तार्किक संगति प्रदर्शित गर्न सकोस् र यान्त्रिक विज्ञानको क्षेत्रमा परिष्कृत नयाँ समस्याहरूको लागि जसको अनुप्रयोग समान रूपले, र असंदिग्ध रूपले संभव होस् ।
यसैगरी ‘प्याराडाइम’ पुनर्प्रतिपादन विज्ञानका सबै क्षेत्रहरूको विकासक्रममा पटक–पटक घटित भएका छन् । तर यिनको कारण ‘प्याराडाइम’ मा प्रायः यस्ता तात्विक परिवर्तन उत्पन्न हुन्छन्, जुन ‘प्रिन्सिपिया’ को उपरोक्त पुनर्प्रतिपादनहरूद्वारा उत्पन्न गरिएका परिवर्तनहरू भन्दा बढी मौलिक हुन्छ । यी परिवर्तनहरूको आधार त्यो प्रयोगात्मक काम हुन्छ, जसको वर्णन माथि हामीले ‘प्याराडाइम’ को सुव्यवस्थित प्रतिपादनको रूपमा गरेका छौं । त्यसप्रकारका कामलाई प्रयोगात्मक भन्ने हामीसँग कुनै ठोस तार्किक आधार थिएन । व्यवहारमा के हुन्छ भने सामान्य अनुसन्धानको अन्य प्रकारको काममा सैद्धान्तिक र प्रयोगात्मक दुवै प्रकारका पक्षहरूको समान महत्व हुँदैन, तर ‘प्याराडाइम’को सुव्यवस्थित प्रतिपादनका समस्याहरूको लागि दुवै पक्ष महत्वपूर्ण हुन्छन् । त्यसकारण प्रयोगात्मक कामको विवेचनाको लागि दिइएको उपरोक्त उदाहरण सैद्धान्तिक पुनर्प्रतिपादनको विवेचनाको लागि पनि त्यति नै उपयुक्त हुनेछन् । आफ्नो विद्युत सिद्धान्तको प्रयोग नगरीकन, कूलमको लागि आफ्नो उपकरणको निर्माण गर्नु र त्यसको मापनहरूलाई सम्पन्न गर्न संभव थिएन । यसप्रकार त्यसका मापनहरूको परिणामस्वरूप त्यसको सिद्धान्तको पनि परिष्करण भयो । आफ्नो कुराको पुष्टिको लागि अब हामी ताप गतिविज्ञानको इतिहासको एउटा उदाहरण लिनेछौं । संकुचननद्वारा तापनको परिघटनाको आधारमा तापका विभिन्न सिद्धान्तहरूको बीचमा विभेद स्पष्ट गर्न सक्न योग्य प्रयोगहरूको कल्पना गर्ने र तिनलाई सम्पन्न गर्ने वैज्ञानिक प्रायः तिनै मानिस थिए, जसले विभिन्न प्रचलित सिद्धान्तहरूको पनि प्रतिपादन गरेका थिए । उनीहरू तथ्य तथा सिद्धान्त दुवैमाथि नै अनुसन्धान गरिरहेका थिए । तिनको कामबाट केवल प्रयोगात्मक ज्ञान मात्र प्राप्त भएन, बरु मूल ‘प्याराडाइम’ को अनिर्णित विवादहरूलाई हटाएर एउटा अधिक परिशुद्ध नयाँ ‘प्याराडाइम’ को पनि निर्माण भयो । विभिन्न विज्ञानहरूको क्षेत्रमा गरिने सामान्य अनुसन्धान कार्य प्रायः यसैप्रकारका हुन्छन् ।
महत्वपूर्ण तथ्यहरूको निर्धारण, तथ्यहरूको सिद्धान्तसँग सम्मेल र सिद्धान्तको सुव्यवस्थित प्रतिपादन, यी तीन वर्गहरूमा प्रयोगात्मक र सैद्धान्तिक समस्याहरूको विभाजनमा सामान्य विज्ञानको साहित्यका सबै समस्याहरू आउँदछन् । यस वर्गीकरणमा विज्ञानका साराका सारा साहित्य पूर्ण रूपले आउँदैन । यसको अतिरिक्त विज्ञानका असाधारण समस्याहरू पनि विद्यमान रहन्छन् । धेरै संभव छ कि यी असाधारण समस्याहरूको हल गरिनुको कारण नै वैज्ञानिक काम उपयोगी हुन्छ तर असाधारण समस्याहरू हाम्रो इच्छाअनुसार उपलब्ध हुन सक्दैनन् । तिनको आविर्भाव सामान्य अनुसन्धानको प्रगतिको एउटा विशेष चरणमा नै हुन्छ । अतः अनिवार्य रूपले, राम्राभन्दा राम्रा वैज्ञानिकहरूद्वारा जुन समस्याहरूमाथि अनुसन्धान गरिन्छ तिनीहरूमध्ये अधिकतम् प्रायः उपरोक्त तीन श्रेणीहरूमध्येमा कुनै न कुनैमा हुन्छ । ‘प्याराडाइम’ अन्तर्गत वैज्ञानिक काम गर्ने अरु कुनै तरीका छैन र ‘प्याराडाइम’ बाट स्वतन्त्र भएर काम गर्नुको अर्थ के हुनेछ भने अनुसन्धानकर्ता त्यसद्वारा निर्धारित विज्ञानको काम गर्न बन्द गर्दछन् । अगाडि बढेर हामी हेर्नेछौं – विज्ञानको इतिहासमा ‘प्याराडाइम’ छोडेर काम गर्ने उदाहरण पनि प्राप्त हुन्छन् । र, यसैप्रकारका सबै कामलाई आधार बनाएर वैज्ञानिक क्रान्तिहरू सम्पन्न हुन्छन् । तर यस्ता क्रान्तिहरूको अध्ययन शुरु गर्नुभन्दा पहिले तिनीहरूको लागि मार्ग प्रशस्त गर्ने सामान्य वैज्ञानिक अनुसन्धानको अधिक सर्वांगीण विश्लेषण हाम्रो लागि आवश्यक छ ।
सन्दर्भ र टिप्पणीहरू
१) बर्नार्ड बारबरको लेख “रेजिस्टेन्स वाई साइन्टिफिक डिस्कभरी” साइन्स, CXXXIV (१९६१) पृ. ५९६ देखि ६०२ ।
२) त्यो परिघटना जुन यस सिद्धान्तको प्रयोगात्मक स्थापनाको लागि अहिले पनि व्यापक रूपले स्वीकृत छ, केवल बुधको आइत मुनि (पेरिहेलियन) को अयन (प्रिसेसन) हो । सुदूरवर्ती ताराहरूको प्रकाशको स्पेक्ट्रमको अतिरिक्त विस्थापनको परिघटना, सापेक्षिकताको व्यापक सिद्धान्तभन्दा पनि अधिक मौलिक सिद्धान्तबाट व्युपन्न गर्न सकिन्छ र संभवतः यही कुरा सूर्यको निकट प्रकाशको बंकन (बेंडिग) को लागि पनि साँचो हो, यद्यपि यसको बारेमा विवाद छ, यस्तो संभव छ कि हालै एउटा अर्को प्रयोगात्मक परीक्षण मसबायर विकिरणको गुरुत्वीय विस्थापनको रूपमा स्थापित भएको होस् । यस लामो समयदेखि उपेक्षित सरगर्मी भएको अनुसन्धान क्षेत्रमा अरु पनि कसौटीहरूको खोज संभव छ । यस समस्याको आधुनिक र संक्षीप्त विवरणको लागि हेर्नुहोस् एल. आई. सिफद्वारा रचित रिपोर्ट “ए रिपोर्ट अन द नासा कन्फ्रेन्स अन इक्पेरिमेन्टल टेस्टस् अफ थ्योरिज अफ रिलेटिभिटी”, फिजिक्स टुडे, XIV (१९६१), पृ. ४२ देखि ४८ ।
३) वार्षिक लम्बनको दुई दूरबीनहरूको लागि एब्राहम वुल्फको पुस्तक ए हिस्ट्री अफ साइन्स, टेक्नोलोजी एण्ड फिलोसोफी इन द एटिन्थ सेन्चुरी (द्वितीय संस्करण, लण्डन, १९५२), पृ. १०३ देखि ५ । एटवुडको यन्त्रको लागि एन. आर. ह्यान्सनको पुस्तक “पेन्टर्स अफ डिस्कभरी”, (क्याब्रिज, १९५८), पृ. १०० र २०७ हेर्नुहोस् । अन्तिम दुई विशेष उपकरणहरूको लागि हेर्नुहोस् एम.एल. फूको “मेथल जनरल पावर मेजरल ल विटेस द ला ल ‘एयर एट लांस ‘इयु’ कन्टेस रेंडस – द ल’ एकेडेमी देस साइन्सेज, XXX (१८५०), पृ. ५५१ देखि २६०।
४) जी. एच. पोयन्टिगले गुरुत्वीय स्थिरांकको १७४१ देखि १९०१ को बीचमा सम्पन्न भएका लगभग दुई दर्जन मापनहरूको चर्चा आफ्नो लेख “ग्रेविटेशन कन्स्टेन्ट एण्ड द मीन डेन्सिटी अफ द अर्थ”, इन्साइक्लोपेडिया ब्रिटानिका (एघारौं सस्करण, क्याब्रिज, १९१० देखि १९११), १२, पृ. ३८५ देखि ३८९ मा गरिएको छ ।
५) ग्यास यान्त्रिकीको क्षेत्रमा कसरी द्रव स्थितिकीको धारणाहरूको प्रयोग बढ्यो, यस कुराको लागि “द फिजिकल ट्रीटाइजेज अफ पास्कल”, अनु. आई. एच. बी. स्पियर्स र ए. जी. एच. स्पियर्स, एफ. बैरीको प्रस्तावना र टिप्पणीहरूसँग (न्यूवर्क, १९३७) । यस पुस्तकमा पृ. १६४ मा टोरिसेलीको त्यो वक्तव्य (“हामी वायु तत्वको महासागरको तलहटीमा डुबेर रहन्छौं”) प्राप्त हुन्छ, जसबाट थाह हुन्छ कि यस सादृश्यको शुरुवात कसरी भयो । यस धारणाको तीव्र विकासलाई दुई प्रमुख शोध–प्रबन्धहरूबाट हेर्न सकिन्छ ।
६) डुआन रोलर र डुआन एच. जी. रोलरको पुस्तक द डेभलप्मेन्ट अफ द कन्सेप्ट अफ इलेक्ट्रिक चार्ज ; इलेक्ट्रिसिटी फर्म द ग्रीक्स टु कूलाम, (हार्वर्ड केस हिस्ट्रीज इन एक्सपेरिमेन्टल साइन्स, केस ८, क्याब्रिज, मैसा, १९५४), पृ. ६६ देखि ८० ।
७) उदाहरणहरूको लागि टी. एस. कुनको लेख “द पंmक्सन अफ मेजरमेन्ट इन मोडर्न फिजिकल साइन्स, आइसिस LII (१९६१) पृ. १६१ देखि १९३ हेर्नुहोस् ।”
८) टी. एस. कुनको लेख “द क्यालोरिक थ्योरी अफ ऐडियाबेटिक कम्पे्रसन”, आइसिस, XLIX (१९५८), पृ. १३२ देखि १४० ।
९) सी. ट्रूसेडेलका दुई लेख “ए प्रोग्राम टुवर्ड रीडिस्कभरिंग द रेशनल मेकानिक्स अफ द एज अफ रीजन”, आर्काइज फर हिस्ट्री अफ द इक्ज्याक्ट साइन्सेज, X (१९६०) पृ. ३ देखि ३६ र “रिएक्सन्स अफ लेट बारोक मेकानिक्स टु सक्सेज, कन्जेक्चर, एरर एण्ड फेल्योर इन न्यूटन्‘स प्रिन्सिपिया”, टेक्सस क्वाटर्रली, XX ( १९६७), पृ. २८१ देखि ९७ । टी. एल. हेकिन्सको लेख “द रिसेप्शन अफ न्यूटन्‘स सेकेण्ड ल अफ मोशन इन द एटिन्थ सेन्चूरी”, आर्काइब्ज इन्टरनेशनल द ‘द हिस्ट्री देस साइन्सेज ह्ह् (१९६७), पृ. ४२ देखि ६५ ।’
१०) भुल्फको पूवोक्त कृति पृ. ७५ देखि ८१, ९६ देखि १०१ । र, विल्यियम व्हेवेलको पुस्तक हिस्ट्री अफ द इन्डक्टिभ साइन्सेज (संसोधित संस्करण, लण्डन, १८४७), II पृ. २१३ देखि ७१ ।
११) रेने डूगाको पुस्तक हिस्ट्री द ल मेकानिक (न्यूकटेल, १९५०), ग्रन्थ IV देखि V ।
Leave a comment