स्रोत – अनिल राजिमवालेको पुस्तक “वैज्ञानिक-तकनीकी क्रान्ति और उत्तर-औद्योगिक समाज“
अनुवादक तथा सम्पादक
–रमेश सुनुवार
–नारायण गिरी
कम्प्युर तथा वस्तु–विषय सीमारेखा
कम्प्युटर तथा यससँग सम्बन्धित संचार–प्रणालीले वस्तु–विषय सम्बन्धहरूमा नयाँ आयाम जोडिरहेको छ । कम्प्युटरको सबभन्दा ठूलो विशेषता के हो भने यसले लेखनको “वस्तु–स्वरूप” लाई, त्यसको “ठोस” स्वरूपलाई समाप्त गर्दछ, वस्तु तथा व्यक्ति (लेखक तथा पाठक) लाई “डिकन्स्ट्रक्ट” रचनाविहीन बनाउँदछ, व्यक्ति तथा उसद्वारा लेखिएको पाठ आफ्ना अलग–अलग अवयवहरूमा विभाजित वा विलीन हुन्छ । कम्प्युटरले पाठलाई वस्तुभन्दा धेरै टाढा लैजान्छ ।
जब हामी कागजमा कलमले लेख्दछौं, तब हाम्रा व्यक्तिगत लक्षण, विशेषताहरू र व्यक्तित्वको झलकको छाप त्यसमाथि स्पष्ट रूपले पर्दछ । तिनीहरूलाई पछि हेर्न सकिन्छ, सोधसामग्रीको रूपमा तिनीहरूको प्रयोग गर्न र तिनीहरूमाथि खोज गर्न सकिन्छ । नेहरू र गान्धीका हातहरूद्वारा लेखिएका चीजहरू हेरेर खुशी, यहाँसम्म कि उत्तेजना पनि हुन्छ । तर स्क्रीनमा लेख्ने प्रक्रिया यसभन्दा अलग हुन्छ । कम्प्युटरमा लेख्नुको अर्थ हो प्रकाशको गतिले तरंगहरूको सहायताबाट स्क्रीनमा अक्षर, शब्द, वाक्य र चित्र अंकित गर्नु । यिनीहरूलाई कुनै पनि समयमा बदल्न सकिन्छ । स्क्रीनमा लेख्नु मानौं आफ्नो व्यक्तित्व आफूले बोलेका शब्दहरूको सामना गर्नु हो । यहाँ स्थानको दूरी समाप्त हुन्छ, समय एउटै हुन्छ । हामी यो भन्दैनौं : “आहा, कति सुन्दर अक्षर हुन् !” लेखक र पाठकको बीचको दूरी लगभग समाप्त हुन्छ; वस्तु र विषय लगभग एक हुन लाग्दछन् ।
यसको धेरै ठूलो कारण कम्प्युटरको सफ्टवेयरको विशेषता हो, जुन धेरै हदसम्म मानव–मस्तिष्कसँग मिल्दो–जुल्दो छ । कम्प्युटरको ‘मेमोरी’ ले हाम्रो चेतनासँग बढीभन्दा बढी समानता प्राप्त गर्दै गइरहेको छ, जसको उल्लेख भइसकेको छ । कम्प्युटरका लेखिएका पाठ, फायल वा त्यसको कुनै पनि अंशलाई हामी कहीं पनि लिएर जान सक्दछौं, त्यसमा आवश्यक परिवर्तन गर्न सक्दछौं, तथा कैयौं अन्य परिवर्तनहरूको आदेश पनि दिन सक्दछौं । अब त यस्ता कम्प्युटरहरू आउनलागेका छन्, जसले पाठ र आवाज तथा भाषा पनि चिनेर तिनीहरूको उचित प्रयोग गर्न लागेका छन् । बोल्नु र लेख्नुको बीचको सीमारेखा अस्पष्टजस्तै हुँदै गइरहेको छ ।
“व्यक्ति”, “लेखक” फैलिएको छ, प्रसारित र विकेन्द्रित भएको छ, र उसले आफ्नो व्यक्तित्वको लगभग असीमित प्रसार देख्दछ । इलेक्ट्रोनिक यन्त्रहरू संचारको प्रसारसँगसँगै वस्तु र विषयको बीचको अन्तर समाप्त हुनुको कारण विचार–प्रक्रिया र दर्शनको एउटा पुरानो शक्तिशाली आधार समाप्त हुँदै गइरहेको छ ।
डिकन्स्ट्रक्सन विचार–प्रक्रियाको एउटा भागको मस्तिष्कबाट अलग भएर कम्प्युटर मेमोरीमा पुग्नुको प्रतिबिम्ब हो ।
कम्प्युटर संजालले व्यक्तिगत चेतनालाई नयाँ समूहको भाग बन्न सहायता गर्दछ । केही वा असंख्य अज्ञात व्यक्तिहरूले विभिन्न स्क्रीनहरूको माध्यमबाट एक–अर्कोसँग मिलेर नयाँ व्यक्तिगत र सामूहिक चेतनाको निर्माण गर्दछन् । यस्ता व्यक्तिहरूसँग जोडिएको, कम्प्युटर संजालबाट एउटा नयाँ चेतना तथा व्यक्तित्वको निर्माण हुन्छ, जुन एक वा अनेक शरीहरूभन्दा पर हुन्छ । यहाँसम्म पनि ध्यान दिन योग्य छ कि कम्प्युटर संजालले मानिसहरूबाट स्वतन्त्र स्वयंले पाठको निर्माण र त्यसमा परिवर्तन गरिरहन्छ र यसप्रकार मानिसबिना नै चेतनाको निर्माण हुन्छ । चेतना “रिकन्स्ट्रक्ट” (पुनर्गठन तथा पुनर्निर्माण) हुन्छ र आधुनिक दर्शन–चिन्तनको आधार नै समाप्त हुन्छ ।
डेनियल बेल र उत्तर–औद्योगिक समाज
“उत्तर–औद्योगिक समाज” वा “पोस्ट–इण्ड्रस्ट्रियल सोसाइटी” शब्दको प्रयोग सबभन्दा पहिले डेनियल बेलले आफ्नो लेख “नोट्स अन द पोस्ट–इण्ड्रस्ट्रियल सोसाइटी”५३ मा गरेका थिए । यो विषयमा उनका अन्य प्रसिद्ध रचनाहरू द कमिङ अफ पोस्ट–इण्ड्रस्ट्रियल सोसाइटी५४ र “द सोशल फ्रेमवर्क अफ द इन्फर्मेशन सोसाइटी”५५ हुन् । उनले विस्तृत रूपमा उत्तर–औद्योगिक समाजका कैयौं विशेषताहरू पेश गरे, जसमा उत्पादनका तुलनामा सूचना तथा संचारको बढ्दो महत्व, समाजको केन्द्रमा ज्ञानको बढ्दो भूमिका, मिडियाको बढ्दो महत्त्व र कम्प्युटरको सामाजिक भूमिका, इत्यादिमाथि विचार गरिएको छ । बेलपछि उत्तर–औद्योगिक समाजसम्बन्धी पर्याप्त मात्रामा साहित्यहरू निस्किसकेका छन् । हामीले बेल तथा अरुका केही अवलोकनहरूलाई सामेल गरेका छौं; विशेषगरी उत्तर–औद्योगिक समाजसम्बन्धी तथ्य र आँकडाहरू अत्यन्तै महत्वपूर्ण छन् । तर के आवश्यक छैन भने हामी ती लेखकहरूका सैद्धान्तिक निष्कर्षहरू र अवधारणाहरूसँग सहमत होऊ । उत्तर–औद्योगिक समाजको बारेमा हाम्रा आफ्ना विश्लेषण र अवधारणाहरू छन् ।
मार्क पोस्टरले डेनियल बेलको उत्तर–औद्योगिक समाजसम्बन्धी सिद्धान्तको मूल रूपमा आलोचना गरेका छन् । यो आश्चर्यको कुरा हो । एकातिर, पोस्टरले आफ्नो पुस्तक द मोड अफ इन्फर्मेशन५६मा सूचना–प्रणालीको नयाँ सिद्धान्त पेश गरेका छन्, जसलाई हामीले अपनाएर उत्तर–औद्योगिक समाजको सिद्धान्तको भाग बनाएका छौं । अर्कोतिर, यिनै पोस्टरले बेलका कैयौं प्रस्थापनाहरूको अवास्तविक आलोचना गर्दछन् । उत्तर–औद्योगिक समाजसम्बन्धी बेलको मूल प्रस्थापना नयाँ समाजको विश्लेषणको आधार बन्न सक्दछ ।
जहाँ पोस्टरले उत्तर–औद्योगिक सिद्धान्तको यो मान्यतालाई स्वीकार गर्दछन् कि अर्थतन्त्रमा विज्ञान र विकसित प्रविधिको प्रवेशबाट उत्तर–औद्योगिक समाजको दिशामा ठूलो परिवर्तन भइरहेको छ, त्यहीं उनले संचार भाषाको रचनामा परिवर्तनहरूलाई यसभन्दा धेरै बढी महत्वपूर्ण र प्रभावशाली मान्दछन् । उनले स्पष्ट रूपमा के भन्दछन् भने अर्थतन्त्रमा विज्ञानको प्रभावको महत्व धेरै कम छ ।५७ उनको विचारमा यो सिद्धान्तले भाषाको स्तरमा परिवर्तनहरूलाई लुकाउँदछ । अब सिद्धान्तको विषय व्यक्तिहरूको बीचमा प्रतीकहरूको आदान–प्रदान हो । यसप्रकार उनी समाजमा भइरहेका भौतिक र उत्पादनसम्बन्धी परिवर्तनहरूको उपेक्षा गरिरहेका देखिन्छन् । यी परिवर्तनहरूको व्याख्याबिना संचार तथा त्यसको रचनामा भएका परिवर्तनहरूलाई पनि बुझ्न सकिंदैन ।
पोस्टरका अनुसार समाजमा नयाँ घटना के हो भने प्रभुत्वको भाषागत रचनामा परिवर्तन भइरहेका छन्, जसले समाजलाई उत्तर–औद्योगिक स्वरूप प्रदान गरिरहेका छन् । बेलका अनुसार ज्ञान र सूचना अर्थतन्त्रका नयाँ तत्व हुन्; पोस्टर यसको आलोचना गर्दै भन्दछन् – यो समाजको सामाजिक–आर्थिक आधारमाथि अनावश्यक जोड हो । साथसाथै, सूचनालाई एउटा आर्थिक कारक मान्नु पुरानै अर्थशास्त्रलाई मानिरहनु हो, जबकि वास्तवमा पुरानो अर्थशास्त्रबाट नयाँ आर्थिक तथा सामाजिक घटनाहरूको व्याख्या हुन सक्दैन । उत्तर–औद्योगिक सिद्धान्तकारले ज्ञान, सूचना तथा संचारलाई भाषारचनाको स्थान दिंदैनन्, र यसो गरेर नयाँ समाजको विशेषतालाई बेवास्ता गर्दछन् । बेलमाथि पोस्टरले के देख्न नसकेको आरोप लगाउँदछन् भने सूचना पूँजीवादी सीमाहरूमा रहन सक्दैन र लगातार पूँजीवादका नियमहरूको उल्लंघन गर्दै नयाँ समाजको निर्माण गर्दै जान्छ । सूचना आर्थिक होइन, भाषागत विशेषता हो, जसले व्यक्तिलाई अस्थिर बनाइदिन्छ । पोस्टरको विचारमा उत्तर–औद्योगिक सिद्धान्तकार संचारको भाषाप्रति निरपेक्ष छन्, किनभने उनीहरूले नयाँ परिवर्तनहरूलाई सामाजिक–आर्थिक दृष्टिले नै हेर्दछन्; उनीहरूले नयाँ समाजलाई एउटा पुनर्गठित कारखाना र पूँजी–श्रमसम्बन्धहरूको रूपमै हेर्दछन् ।
जहाँ पोस्टरद्वारा गरिएको आलोचना पर्याप्त सत्यता छ, विशेषगरी सूचना तथा संचारको संरचनाको सन्दर्भमा, उहीँ उनले यी परिवर्तनहरूको भौतिक आधारलाई पूर्ण रूपले बेवास्ता गर्दछन् । सूचना तथा संचारमा भौतिक परिवर्तनहरूबिना उत्तर–औद्योगिक समाजलाई बुझ्न सकिंदैन, र यो समाजको व्याख्याबिना ‘पोस्ट–मोडर्निज्म’, इत्यादिलाई बुझ्न सकिंदैन ।
पोस्टरले मार्क्सको ग्रुन्ड्रिसको व्याख्या गर्दै त्यसका ऐतिहासिक सीमाहरू र कमीहरूलाई पनि दर्शाएका छन् र यसमा पर्याप्त सत्यता छ । मार्क्स पूँजीवादी उत्पादन पद्धतिअन्तर्गत उत्पादन साधनहरूको विकासको विश्लेषण गर्दै पूर्ण स्वचालनको त्यो चरणमा पुग्दछन्, जहाँ पूँजीवादका नियमहरूको उल्लंघन हुन शुरु हुन्छ । पोस्टरका अनुसार उत्पादक शक्तिको रूपमा विज्ञानमाथि विचार गर्दै मार्क्सले यसलाई पूँजीवादको आन्तरिक कारकको रूपमा सीमित गर्दछन्, र तब अकस्मात साधनहरूको समाजीकरण र समाजवादीकरण र तिनीहरूको निर्वाध विकासको लागि समाजवादी क्रान्तिको निष्कर्षमा पुग्दछन् ।५८
शायद यही कारण हो – ग्रुन्ड्रिसमा मार्क्सका निष्कर्षहरूको उनकै पूँजीमा उल्लेख पाइँदैन । यस बीचमा तुरुन्तै सामाजिक–आर्थिक आवश्यकताहरू तथा जनआन्दोलनको ग्रुन्ड्रिसमाथि नकारात्मक तथा हानिकारक प्रभाव परिरहेको देखिन्छ ।
उत्तर–औद्योगिक समाज र विभिन्न उत्तर–सिद्धान्तहरू
माथि गरिएका बहसहरूबाट के स्पष्ट हुन्छ भने उत्तर–औद्योगिक समाज एउटा नयाँप्रकारको समाज हो, जसको आर्थिक–सामाजिक तथा राजनीतिक संरचना वर्तमान औद्योगिक समाजभन्दा पर्याप्त छ र भिन्न हुँदै गइरहेको छ । र, जब हामी औद्योगिक समाजको कुरा गर्दछौं, तब त्यसमा मुख्य भाग वर्तमान पूँजीवादी समाजको छ । हामीले पहिले नै के देखिसकेका छौं भने हामी पूँजीवादी समाजका कैयौं सीमाहरूभन्दा, वा यसो भनौं, त्यसका सीमाहरूमा, कैयौं स्थानहरूभन्दा र पक्षहरूमा अगाडि गइसकेका छौं । त्यसकारण, आज हामी केवल पुरानो र वर्तमान पूँजीवादी समाजको कुरा गर्न सक्दैनौं; र पूँजीवाद मात्र होइन, केवल औद्योगिक समाजको मात्र पनि कुरा गर्न सक्दैनौं । आज हामी औद्योगिक समाजका सीमाहरूबाट निस्किएर उत्तर–औद्योगिक समाजमा पुगिसकेका छौं । र, यसको मूल कारण वैज्ञानिक–प्राविधिक–संचार क्रान्ति हो, जुन मुख्यतया इलेक्ट्रोनिक्समा निर्भर छ ।
‘पोस्ट–मोडर्निज्म’, ‘पोस्ट–स्ट्रक्चरलिज्म’ र ‘डिकन्स्ट्रक्सन’ जस्ता प्रक्रियाहरू र तिनीहरूसँग सम्बन्धित सिद्धान्त वास्तवमा आजको सन्दर्भमा उत्तर–औद्योगिक क्रान्तिसँग जोडिएका छन् । उत्पादन, वितरण, सूचना, संचार, अर्थव्यवस्था, इलेक्ट्रोनिक्स, इत्यादिमा भइरहेका असाधारण परिवर्तनहरूको कारण चेतना, चिन्तन र विचारमा जुन क्रान्ति भइरहेको छ, यिनीहरूमा जुन संरचनागत परिवर्तन भइरहेका छन्, तिनीहरूको प्रतिबिम्ब नै यी सिद्धान्त हुन् । मानव–कम्प्युटर तथा मस्तिष्क–कम्प्युटर अन्तरसम्बन्धहरूको फलस्वरूप विचार, भाषा र व्यक्तिका आपसी सम्बन्धहरू र स्वरूपमा जुन अन्तर आइरहेका छन्, त्यसमाथि चर्चा भइसकेको छ । ‘पोस्ट–मोडर्निज्म’, इत्यादिले यिनीहरूकै प्रतिनिधित्व गर्दछन् । स्क्रीनमा वास्तवमा विचार–रचनाको ‘डिकन्स्ट्रक्सन’ र ‘रिकन्स्ट्रक्सन’ भइरहेको छ, त्यसकारण ‘डिकन्स्ट्रक्सन’ को सिद्धान्तले, यदि तिनीहरूलाई आजको सन्दर्भमा राख्ने हो भने, नयाँ सिराबाट विकसित गर्ने हो भने, यो प्रक्रियालाई प्रतिबिम्बित गर्दछन् । ‘डिकन्स्ट्रक्सन’ र ‘रिकन्स्ट्रक्सन’ ले विचार–रचना र प्रक्रियाको पुनर्गठनलाई प्रतिबिम्बित गर्दै यो दर्शाउँदछन् कि उत्तर–औद्योगिक युगमा विचारहरूमा ठूलो परिवर्तन भइरहेको छ र विश्वव्यापी स्तरमा नयाँ सिराबाट चेतनाको निर्माण भइरहेको छ ।
विगत युगको तुलनामा आज हामीले यो परिवर्तनहरूलाई ध्यान दिनुपर्दछ कि पहिले विज्ञानमा मानिसले विभिन्न वस्तुहरूको अध्ययन गर्ने गर्दथ्यो; अब, कम्प्युटर विज्ञानमा, विशेषगरी सफ्टवेयरमा, मानिसले केवल कम्प्युटरको मात्र अध्ययन गर्दैन, बरु स्वयं कम्प्युटर प्रोग्रामको लागि मानिस पनि अध्ययनको एउटा विषय बनेको छ । स्वचालित, मस्तिष्कभन्दा धेरै बढी तीव्र गतिले काम गर्ने, नयाँ कम्प्युटरले मानवचेतनाको अध्ययन गर्न लागेका छन्; त्यसै पनि तिनीहरू स्वयंले मानिसका गतिविधिहरू तथा प्रक्रियाहरूलाई प्रभावित–निर्देशित गर्न लागेका छन्, र मानिस कम्प्युटरको एउटा विषय बन्दै गइरहेको छ ।
कम्प्युटर र वैज्ञानिक एउटै व्यवस्थाका भाग बन्दै गइरहेका छन्, उनीहरूलाई एक–अर्कोबाट अलग गर्न सकिंदैन । सूचनाक्रान्तिले व्यापक, सर्वव्यापी मानव–कम्प्युटर चेतनालाई जन्म दिइरहेको छ । कम्प्युटर तथा कम्प्युटर विज्ञान शब्दहरू र वस्तुहरूको सीमारेखामा अवस्थित प्रविधि–विज्ञान हो ।
सन्दर्भ सूची
- ५३) रोबर्ट सोकोलोब्स्की, “प्यारालेलिज्म इन कंशस एक्सपिरियन्स”
- ५४) मिशेल फूको, द अर्डर अफ थिग्ंस : एन आर्कियोलोजी अफ द ह्यूमन साइन्सेज, पेन्थियन, न्यूयोर्क, १९७०, पृ. ३८७
- ५५) डेनियल बेल “नोट्स अन द पोस्ट–इण्ड्रस्ट्रियल सोसाइटी”, पब्लिक इन्ट्रेस्ट, १९६७
- ५६) डेनियल बेल, द कमिंग अफ पोस्ट–इण्ड्रस्ट्रियल सोसाइटी, बेसिक बुक्स, न्यूयोर्क, १९७३
- ५७) डेनियल बेल, “द सोशल फ्रेमवर्क अफ द इन्फर्मेशन सोसाइटी”, (सं.) टिम फोरेस्टर, द माइक्रो–इलेक्ट्रोनिक्स रिभोलूसन, ब्ल्याक बेल, अक्सपोर्ड, १९८०
- ५८) मार्क पोस्टर, द मोड अफ इन्फर्मेशन : पोस्ट–स्ट्रक्चरलिज्म एण्ड सोशल कन्टेक्स्ट, पोलिटि प्रेश, ब्ल्याक बेल, १९९०
- ५९) उही, पृ. ३०
- ६०) उही, पृ. ३२–३३
Leave a comment