सूचना–क्रान्ति र दर्शनमा संकट  (भाग -३ ) – क्वान्टम क्रान्ति

स्रोत अनिल राजिमवालेको  पुस्तक वैज्ञानिक-तकनीकी क्रान्ति और उत्तर-औद्योगिक समाज

अनुवादक तथा सम्पादक

क्वान्टम क्रान्ति तथा दर्शनमा संकट

२०औं शताब्दीको आरम्भमा जन्मिएको क्वान्टम भौतिक-विज्ञानले विज्ञानको रूप पूर्णतया बदलेको छ । क्वान्टम खोजहरू यस शताब्दीको विज्ञानका, शायद विज्ञानको समुच्च इतिहासका, सबभन्दा ठूला खोजहरू सिद्ध भइरहेका छन् । यी खोजहरूको परिणाम वा प्रभाव यति गहन छन् कि अहिले तिनीहरूको सम्पूर्ण अनुमान लगाउन असंभव प्रतीत हुन्छ । तर तिनीहरूले निश्चित रूपमा समाज र दर्शनमा मूलभूत परिवर्तन ल्याइदिएका छन् । क्वान्टम विज्ञानका खोजहरू र अवधारणाहरू विश्व, ब्रम्हाण्ड, वास्तविकता र चेतनाको बारेमा स्थापित विचारहरू तथा अवधारणाहरूमा निश्चित रूपले आमूल परिवर्तन गरिरहेका छन् । आज विज्ञानले लगातार आश्चर्यजनक खोजहरू गरिरहेको छ, र त्यति नै आश्चर्यजनक नयाँ सिद्धान्तहरू पेश गर्दै गइरहेको छ । क्वान्टम ज्ञानले हाम्रो अहिलेसम्मको ज्ञानलाई उलट–पुलट गरिरहेको छ । यो परम्परागत ज्ञानसँग त मेल खाँदैन नै, यसका अवधारणाहरू पनि हाम्रो सामान्य ज्ञानको विपरीत छन् ।

क्वान्टम ज्ञानमा आधारित माइक्रो-इलेक्ट्रोनिक प्रविधिले हामीलाई नयाँ वास्तविकताहरूलाई हेर्न, बुझ्न र त्यसमा प्रवेश गर्न सहायता गर्दछ । यी नयाँ प्रविधि, यन्त्र तथा तरीकाहरू विश्वलाई नयाँ ढंगले हेर्ने र बुझ्ने माध्यम बन्दै गइरहेका छन् ।  कम्प्युटर क्रान्तिले हाम्रो चिन्तन-प्रक्रिया तथा जीवनलाई गहिरोसँग प्रभावित गरेको छ । सामाजिक जीवन अब प्रकृति–पदार्थका अतिसूक्ष्म र त्यति नै प्रभावकारी शक्तिहरूको प्रयोगमा आधारित र पुनर्गठित तथा पुनर्निमित हुँदै गइरहेको छ । क्वान्टम क्रान्तिले हामीलाई नयाँ समाजमा लिएर गइरहेको छ ।

क्वान्टम क्रान्ति

क्वान्टम शब्दको अर्थ एउटा मात्रा विशेष हो । क्वान्टम विज्ञानानुसार देखिने ठोस वास्तविकताहरूभन्दा पर तिनीहरूभित्र तथा बाहिर यस्ता प्रक्रियाहरू चलिरहेका छन्, जुन ‘क्वान्टा’ वा शक्तिका साना इकाइहरूको आदान–प्रदानबाट हुन्छ । यो अवधारणा सन् १९०० मा म्याक्स प्लांकका खोजहरूको परिणाम थियो; मुख्यतया यिनीहरूबाटै क्वान्टम विज्ञान वा क्वान्टम भौतिक-विज्ञानको जन्म भयो ।

म्याक्स प्लांक “कालो पदार्थबाट विकिरण” (black body radiation) का केही पक्षहरूको अध्ययन गरिरहेका थिए । जुन वस्तु कालो छ, अर्थात् पूर्ण रूपले ताप तथा प्रकाशलाई सोस्दछ, त्यसलाई एउटा विशेष तापक्रमसम्म तताउँदा एउटै स्पेक्ट्रमका विकिरण (किरणहरू) निस्किनुपर्दछ ।२५

प्रत्येक तरंग-लम्बाईमा छोडिएको विकिरणलाई नाप्न सकिन्छ : छोटो तरंग-लम्बाईमा कम निस्किन्छ, बीचको श्रेणीमा बढी, त्यसपछि लामो तरंग-लम्बाईमा कम । जब–जब वस्तु तातो हुन्छ, विकीरण छोटा तरंग-लम्बाईतिर सर्दछ । तर प्रत्येक छोटो तरंग-लम्बाईमा एउटा ‘सीमारेखा’ वा विभाजनरेखाको रूपमा खाली स्थान हुन्छ, र यसैको परम्परागत शास्त्रीय भौतिकविज्ञानले व्याख्या गर्न सकेन ।२६ भविष्यवाणी के गरिएको थियो भने छोटो तरंग-लम्बाईमा विकिरण सबभन्दा बढी हुनेछ, यति बढी कि मापन गर्न सकिंदैन । तापशक्ति, विद्युत-चुम्बकीय विकिरण वा शक्तिमा बदलिन्छ; त्यस बेलासम्म विद्युत-चुम्बकीय तरंगहरूलाई सितारका तारहरूका तरंगहरू वा जल-तरंगहरूको रूपमा लिइन्थ्यो र तिनीहरूको नाप, गणना पनि केही त्यसै प्रकारले गरियो । कणहरूसम्बन्धी गणितीय यान्त्रिक-विज्ञानका नियमहरूको पनि सहायता लिनुपर्‍यो, ताकि विभिन्न तरंग-लम्बाईका तरंगहरूको शक्ति-विकिरणको हिसाब गर्न सकियोस् । निष्कर्ष के निस्कियो भने छोडिएको शक्ति आवृत्ति (फ्रिक्वेन्सी) को अनुपातमा हुन्छ । आवृत्ति तरंग-लम्बाईको विपरीत बढ्दछ, त्यसकारण तरंग-लम्बाई जति छोटो हुनेछ, त्यति नै बढी शक्ति निस्किनेछ । निष्कर्ष के निकालियो भने सबै कालो पदार्थको विकिरणमा उच्च आवृत्तिको ठूलो मात्रामा शक्ति निस्किनुपर्दछ, जस्तै परावैजनी तथा अन्य विकिरणहरूमा । यसलाई “परावैजनी विनाश” भनियो ।

तर वास्तवमा यस्तो पाइएन, र यही क्वान्टम विज्ञानको जन्मको कारण बन्यो । कम आवृत्ति भएको क्षेत्रमा त तरंग-विकिरणसम्बन्धी रेले–जिन्स नियमको शास्त्रीय सिद्धान्तसँग मेल खायो, जुन दुई विज्ञानहरूको बीचमा एकप्रकारको संक्रमण थियो । तर आश्चर्यको कुरा के थियो भने उच्च आवृत्तिमा शक्ति बढ्नुको बदला शून्यतिर घट्दै गयो । १९औं शताब्दीको अन्तदेखि नै यो समस्याले वैज्ञानिकहरूलाई कठिनाईमा पारेको थियो । उनीहरूले अक्टुवर, १९०० रेले–जिन्स तथा विल्हेल्म वि. एन. का सूत्रहरूलाई एकीकृत गरे, र एउटा नयाँ आधारमा नयाँ सूत्र पत्ता लगाए ।२७ वि. एन. को सूत्र छोटो तरंग-लम्बाईमा लागू हुन्थ्यो । दुवैका निष्कर्ष आ–आफ्ना तरंग-लम्बाईमा अलग–अलग थिए र शास्त्रीय विज्ञानको दृष्टिले व्याख्या गर्दथे । तर तिनीहरू विकिरणहरूका सम्पूर्ण श्रृंखलाको एउटा व्याख्या दिनमा असमर्थ थिए : एउटालाई अर्कोमा लागू गर्दा उल्टो परिणाम निस्किरहेका थिए । सम्पूर्ण विकिरणको लागि एउटा नयाँ व्याख्याको आवश्यकता थियो ।

प्लांकले शास्त्रीय तरीकाबाट कुल शक्ति जोड्नुको बदला आधा गणितको बीचमा नै शक्तिलाई साना इकाइहरू (क्वान्टा) मा विभाजित गरे : यसले एउटा नयाँ आश्चर्यजनक खोजलाई जन्म दियो, र शास्त्रीय भौतिकविज्ञान क्वान्टम भौतिकविज्ञानमा बदलियो । प्लांकले पत्ता लगाए कि विद्युतचुम्बकीय शक्तिका यी विभिन्न भागहरू वा इकाइहरू वास्तवमा परमाणुभित्रका विद्युत, ओसिलेटर्स हुन्, जसले आफ्नो गतिको क्रममा एउटा विशेष मात्रामा शक्ति ग्रहण गर्दछन् वा छोड्दछन् । यी विशेष मात्रा नै क्वान्टा (क्वान्टम–एकबचन) हुन् ।

अति उच्च आवृत्तिमा एउटा क्वान्टम विकिरण छोड्नको लागि शक्तिको पर्याप्त मात्रा आवश्यक हुन्छ; त्यसकारण पर्याप्त कम क्वान्टा छोडिन्छन्, यद्यपि तिनीहरू उच्च शक्ति भएका हुन्छन् । क्वान्टा कम थिए, त्यसकारण शास्त्रीय पद्धतिबाट शक्ति (विकिरण) को मापन गर्न सकिएन । प्लांकले “प्लांक अचर” पत्ता लगाए, जसका अनुसार शक्ति तथा समयको गुणन “कार्य”, सबै परिस्थितिहरू, समय तथा स्थानमा एउटै हुन्छ । पछि प्लांकको अल्वर्ट आइन्स्टाइन तथा अन्य वैज्ञानिकहरूले नयाँ कुराहरू जोडे, र यसरी क्वान्टम विज्ञानको युग शुरु भयो ।

सन् १९०५ मा आइन्स्टाइन फोटो-इलेक्ट्रिक प्रभावबारे, जसमा प्रकाशले धातुको सतहबाट इलेक्ट्रोनलाई विस्थापित गर्दछ, काम गर्दै के निष्कर्षमा पुगे भने प्रकाश फोटो ननामक सीमित मात्रा भएका ‘कणहरू’ वा ‘पोकाहरू’ को क्रम हो । यो सिद्धान्तले तरंगको रूपमा प्रकाशको स्वरूपलाई बदल्यो ।

निल्स बोहरले सन् १९१३ मा कुन प्रस्थापना पेश गरे भने इलेक्ट्रोनहरू पनि क्वान्टायुक्त छन्, जसले एउटा शक्तिस्तरबाट अर्कोमा प्रवेश गर्दा विशेष मात्रामा शक्ति छोड्दछन् वा ग्रहण गर्दछन् ।

यी खोजहरू र सिद्धान्तहरूको कारण न्यूटन तथा म्याक्सवेलको शास्त्रीय परमाणु लोप भयो र त्यसको स्थान क्वान्टम परमाणुले लियो । न्यूटनको सिद्धान्त त्यतिकै समाप्त भयो र सबैले नयाँ खोजलाई स्वीकार गरे भन्ने कुरा होइन । आज पनि कैयौं वैज्ञानिकहरू न्यूनटनको सिद्धन्तहरूमै निर्भर रहेका छन्, र आज पनि परमाणुको शास्त्रीय संरचनालाई नै धेरै मानिसहरूले स्वीकार गर्दछन् । यसको एउटा कारण के हो भने एउटा सीमाभित्र पदार्थको यान्त्रिक–भौतिक चित्र अत्यन्तै सजिलोसँग भौतिक प्रयोगहरूमा दर्शाउन सकिन्छ, जबकि क्वान्टम सिद्धान्तहरूको प्रयोगात्मक रूपमा दर्शाउन र प्रयोगहरूको माध्यमबाट सिद्ध गर्न अत्यन्तै कठिन छ । परमाणुको शास्त्रीय वा पुरानो संरचनानुसार परमाणुका इलेक्ट्रोनहरूले लगातार विद्युतचुम्बकीय तरंगहरू छोडिरहन्छन्, जबकि क्वान्टम सिद्धान्तानुसार तिनीहरू ऊर्जा स्तरहरूका विशेष क्वान्टम स्तरहरूमा रहन्छन् ।

तर पछि स्वयं क्वान्टम सिद्धान्तले तरंग सिद्धान्तलाई आफ्नो अंग बनाएर त्यसलाई आत्मसात गर्‍यो  । जे. जे. टम्पसन, डेविसन तथा डि. ब्रोग्लीले के खोज गरे भने प्रकाश र इलेक्ट्रोन तरंग तथा कण दुवै रूपहरूमा विद्यमान रहन्छन् । पछि के पाइयो भने केवल इलेक्ट्रोनले मात्र होइन, बरु सबै परमाणविक कणहरूले तरंगको रूप लिन्छन् । यो शताब्दीको तेस्रो दशकको मध्यसम्म यान्त्रिक-विज्ञानका तथा म्याक्सवेलको इलेक्ट्रो-डाइनामिक्सका नियमहरू पूर्ण रूपले धाराशायी भइसकेका थिए । श्रोडिंगर तथा हाइजेनवर्गले तरंग–कण अन्तरसम्बन्धहरूमा काम गरेर नयाँ संरचना पत्ता लगाए ।

नयाँ सिद्धान्त असाधारण सिद्ध भयो किनभने यो परमाणुको रचना, रेडियो-सक्रियता, रासायनिक बन्धन, पारमाणविक स्पेक्ट्रम, इत्यादिको व्याख्या गर्नमा सफल भयो । यसले शास्त्रीय भौतिक विज्ञानको हरेक सिद्धान्तलाई उल्ट्याइदियो । शास्त्रीय विज्ञानमा गहन संकट उत्पन्न भयो, साथसाथै त्यसमाथि आधारित दर्शनमा पनि । दर्शनको संसारमा आश्चर्य र विष्मय फैलियो । जुन दर्शनले अहिलेसम्म विश्वको व्याख्या गर्नमा आफूलाई सक्षम मान्दथ्यो, अब त्यो त्यति नै असक्षम भयो, उसले मार्ग खोज्न सकेन ।

तरंग र कण

टमस योंगले एउटा सरल असाधारण प्रयोग गरे,२८ जसले के सिद्ध गर्‍यो भने पदार्थ एउटै समयमा, एउटै क्षणमा कण पनि हुन्छ र तरंग पनि; कण तरंग हुन्छ, तरंग कण । एउटा पर्दामा दुई सूक्ष्म प्वाल बनाइन्छ र तिनीहरूबाट प्रकाशका किरणहरू पठाइन्छ, जसलाई पछाडिको एउटा अर्को पर्दामा देखिन्छ । एउटा अर्को पर्दामा काला–सेता वृत्तहरूको लगातार क्रम बन्दछ, त्यसैगरी, जसरी पानीमा तरंगहरू फैलिन्छन्, साथसाथै दुई स्थानहरूका तरंगहरू एक–अर्कोमाथि पनि जान्छन् । यो घटनालाई “इन्टरफेयरेन्स” (interference) भनिन्छ ।

मानिलिऊँ कि हामीले प्रकाशको तीव्रतालाई घटाउँदछौं, जबसम्म त्यो केवल एउटा कण मात्र वा फोटोन मात्र रहन्छ । यदि केवल एउटै कण दुई प्वालहरूबाट जान लागे भने, के हुन्छ ? त्यो कुन प्वालबाट जान्छ ? के त्यो दुवैबाट जान्छ ? अर्को पर्दामा ‘इन्टरफेयरेन्स’ कस्तो हुन्छ ? यही क्वान्टम गतिहरूको विशेषता, गतिको नवीनता अगाडि आउँदछ ।

परिणाम असाधारण र आश्चर्यजनक छ । यदि दुई प्वालहरू खुल्ला रहन्छन् भने, अर्को पर्दामा ‘इन्टरफेयरेन्स’ देखिन्छ । यसको अर्थ के भयो भने एउटै फोटोन वा इलेक्ट्रोन दुवै प्वालहरूबाट एकैसाथ एउटै समयमा जान्छ । यसको पुष्टि यो कुराबाट पनि हुन्छ कि यदि एउटा प्वाल बन्द गरियो भने, अर्को पर्दामा इन्टरफेयरेन्स लोप हुन्छ । क्वान्टम कणहरू तरंग पनि हुन्छन् र त्यसैकारण एउटै कण दुवै प्वालहरू पार गरेर जान्छन् ।

यो प्रयोग र यसका परिणाम यति आश्चर्यजनक थिए कि आइन्स्टाइनलाई समेत यो स्वीकार गर्न कठिन भयो । उनले पछिका कैयौं क्वान्टम खोजहरूलाई, विशेषगरी तिनीहरूका व्याख्याहरूलाई, मान्न अस्वीकार गरे ।

क्वान्टम कणहरूको स्वरूप, व्यवहार र तिनीहरूका परिणामहरू अन्तर्विरोधी, अस्पष्ट र अप्रत्याशित हुन्छन् । जब–जब हामी परमाणुभित्र प्रवेश गर्दछौं, हाम्रो लागि यो निश्चित गर्न कठिन हुन्छ कि कुन कण हो र कुन तरंग; तरंग केलाई भन्ने र कण केलाई; कणहरू तथा तरंगहरूको स्थिति के हो, तिनीहरूको नापजोख के र कसरी हुन्छ, इत्यादि । पदार्थ वा वस्तुको स्पष्टता, ठोसपन, त्यसका लम्बाई–चौडाई–मोटाईको पक्ष, तिनीहरूको गति, इत्यादि निश्चित गर्न बढीभन्दा कठिन र अस्पष्ट हुँदै जान्छ । कुनै गुण–मात्रा निश्चित गर्ने प्रक्रियामा “संभावना” र “अनिश्चितता” को अनुपात बढ्दै जान्छ ।

यस सम्बन्धमा एउटा अर्को पक्षमाथि ध्यान दिऊँ । घटनाको स्वरूप धेरै हदसम्म प्रयोग वा प्रयोग गर्ने साधनहरूको स्वरूपमाथि निर्भर हुन्छ । जब पर्दामा प्वाल हुँदैनन्, तब फोटोन वा इलेक्ट्रोनले एउटा घस्रिएको रेखाको फोटो छोड्दछ; यदि दुई प्वालहरू हुन्छन् भने, ‘इन्टरफेयरेन्स’ को रूपमा तरंग-स्वरूप प्रकट हुन्छ; जब एउटा कणले दुई प्वाल पार गर्दछ, तब पनि तरंगहरू उठ्दछन्, र जब एउटा प्वाल बन्द हुन्छ, कणरूप पुनः प्रकट हुन्छ । त्यसकारण हामी आफ्नो आवश्यकतानुसार प्रयोगको स्वरूप बदलेर विभिन्न परिणामहरू निकाल्न सक्दछौं ।

जोन बेलको प्रयोग

शास्त्रीय विज्ञानमा दुई कणहरू (वा गोलाहरू) को बीचमा आपसी सम्बन्ध स्थापित गर्न सजिलो छ । परम्परागत विज्ञानमा तिनीहरूका दिशा र चक्कर तथा अन्य गुणहरू तीन आयामका हुन्छन् । तीन तत्वहरूको नापजोखबाटै विभिन्न निष्कर्ष निस्किन्छन् । ‘चक्कर’ (spin) को उदाहरण लिऊँ । शास्त्रीय तथा क्वान्टम दुवै विज्ञानमा यदि एउटा कणको चक्कर ज्ञात छ भने, अर्कोको पनि थाहा हुन्छ । जहाँसम्म गोलाको प्रश्न छ, हामी एउटा गोलाको चक्कर, इत्यादि नापेर, यदि अर्को गोला त्यससँग सम्बन्धित छ भने, त्यसको स्थितिको तुलना गर्दछौं ।

तर क्वान्टम स्थितिहरूमा यस्तो हुँदैन । क्वान्टम स्तरमा चक्कर पनि क्वान्टामा विभाजित हुन्छ, र साथसाथै कणका स्थिति र गति पनि । प्रत्येक पक्ष क्वान्टममा परिवर्तनीय हुनुको कारण त्रिपक्षीय, तीन दिशाहरू भएको सिद्धान्त र व्यवहारको प्रासंगिकता समाप्त हुन लाग्दछ । एउटा पक्षको मापनबाट, जस्तै चक्करको, हामी बाँकी सम्पूर्ण पक्षहरूलाई संशोधित गर्दछौं, यहाँसम्म कि बदल्दछौं पनि । मापन वा गणना गर्दा जुन परिवर्तन आउँदछन्, तिनीहरूको पनि मापन हुन्छ । यो परम्परागत भौतिक-विज्ञान र अन्य विज्ञानहरू भन्दा अलग छ । परम्परागत विज्ञानमा यदि एउटा गोलाको नापजोख गरिंदै छ भने, निकट (वा टाढा) रहेको अर्को गोला वा कुनै वस्तुमाथि असर पर्दैन, तर क्वान्टम विश्वमा एउटा कण वा तरंगको अध्ययन वा अध्ययन गर्ने प्रयत्नबाटै अर्को कण वा कणहरूमाथि गहन प्रभाव पर्दछ, चाहे तिनीहरू नजिक होऊन् वा टाढा । यस्ता पक्षहरू वा गुणहरू वा आयामहरूलाई क्वान्टम विश्वमा ‘दिष्ट’ (vector) भनिन्छ ।

यति मात्र होइन, यदि एउटा क्षणमा कुनै कणको वा त्यसको स्थितिको निश्चित माप आउँदछ भने, यो आवश्यक छैन कि अर्को क्षणमा पनि उही माप आउनुपर्दछ, चाहे हामीले एक सेकेण्डपछि नै पुनः गणना किन नगरौं । यो कुरा यान्त्रिक वा स्पष्ट देखिने वस्तुहरूसम्बन्धी गणनाभन्दा बिल्कुल भिन्न छ ।

यसबाहेक, एउटा कणको चक्करको गणनाको प्रभाव त्यही बेला अर्को कणमाथि पर्दछ : जब हामी एउटा कणको स्थितिको गणना गरिरहेका हुन्छौं, तब साथसाथै कुनै अर्को कण वा कणहरूको पनि नापजोख हुन्छ, अर्को शब्दमा एउटा कणको अवलोकनबाट केवल त्यसमाथि मात्र होइन, बरु अर्को कणमाथि पनि प्रभाव पर्दछ ।

शास्त्रीय ठूला पिण्डहरूमा यस्तो हुँदैन । क्वान्टम कणहरू एक–अर्कोसँग सम्बन्धित हुन्छन्, चाहे तिनीहरू एक–अर्कोबाट जतिसुकै टाढा किन नहोऊन् । यसको सम्बन्धमा “स्थानीय”, स्थानीय वास्तविकता, “दूरी”, इत्यादिका  अवधारणाहरू अर्थहीन हुन्छन् । यसलाई स्वयं आइन्स्टाइनले पनि स्वीकार गर्न सकेनन् ।२९  यदि अर्को कण कुनै अर्को ग्रह, तारा वा तारपुंजमा अवस्थित छ भने पनि, पृथ्वीमा अवस्थित कणको नापजोखको त्यसमाथि प्रभाव पर्दछ र तदनुरूप त्यसमा परिवर्तनहरू हुन्छन् । क्वान्टम कणहरू प्रकाश-वर्षीय दूरीहरूमा पनि एक–अर्कोसँग सम्बन्धित हुन्छन्; यति मात्र होइन, तिनीहरूमध्ये एउटाको अवलोकन वा अध्ययन गर्ने प्रयत्नबाट अरुमा पनि परिवर्तन आउँदछ ।

लगभग ३५ वर्षको आपसी विवादको वावजूद निल्स बोहर तथा अन्य वैज्ञानिकहरू यो तथा अन्य कैयौं प्रश्नहरूमाथि सहमत हुन सकेनन्;३० वास्तवमा बोहरले नै पछि क्वान्टम भौतिक-विज्ञानलाई यान्त्रिक-विज्ञानबाट पूर्ण रूपले मुक्त गरे । जोन बेलको सिद्धान्तले “वास्तविकता” र “वस्तुगतता” का परम्परागत अवधारणाहरूमाथि प्रश्नचिन्ह लगाइदियो । फ्रान्सका वैज्ञानिक एलेन एस्पेक्टले पनि सन् १९८२ मा यही दिशामा प्रयोग गरेर के सिद्ध गरिदिए भने दुई वा बढी इलेक्ट्रोनहरूको बीचमा आपसी संयोजन हुन्छ, चाहे तिनीहरू एक–अर्कोबाट जतिसुकै टाढा किन नहोऊन्, र यसप्रकार उनले जोन वेलको पुष्टि गरे । बीच बाटोमै फोटोनको मार्ग बदलेर उनले “स्थानीय” सत्यताको विचारलाई गलत सिद्ध गरिदिए । कैयौं प्रकाशवर्ष टाढा अवस्थित कणहरूसँग पृथ्वीमा अवस्थित कण एउटै व्यवस्थाका, एउटै “वास्तविकता” का, भाग बने । पृथ्वीमा सीमित हाम्रो विश्वदृष्टिमा परिवर्तन आयो ।

दर्शन र विचार तथा शास्त्रीय विचार र शास्त्रानुसार हाम्रो आसपासको विश्व एउटा स्वतन्त्र अस्तित्व हो । यो पुस्तकमा पहिले हामीले यही अवधारणालाई स्वीकार गरेका छौं । यसमाथि हामीले पहिले विचार पनि गरिसकेका छौं र यो दृष्टिकोणको समर्थन पनि, जुन विशेषगरी भौतिकवादी विचारप्रणालीमा स्पष्ट छ । तर क्वान्टम क्रान्तिको सन्दर्भमा यो दृष्टिकोणमा परिवर्तन भइरहेका छन् । एउटा स्तरमा, एउटा सन्दर्भमा त त्यो सही छ, तर त्यो स्तरभन्दा अगाडि क्वान्टम विज्ञानका खोजहरूले वस्तु र वस्तुगतताको स्वतन्त्र अस्तित्वलाई परिवर्तित र समाप्त गरिरहेका छन् । “यहाँ” र “वहाँ”, “हामी” र “उनीहरू” वा “ती वस्तुहरू”, मस्तिष्क तथा मस्तिष्क बाहिरका वस्तुहरू, विचार र पदार्थको बीचको सीमारेखा अस्पष्ट हुँदै गइरहेको छ, कहिलेकाहीं समाप्त पनि । विशेषगरी क्वान्टम विश्वमा “वस्तुगतता” र “मनोगतता” को बीचको विभाजन रेखा तीव्र रूपले लुप्त भइरहेको छ ।

क्वान्टम प्रयोगहरू र अवलोकनहरूको विशेषता

अन्य प्रकारका प्रयोगहरूको तुलनामा क्वान्टम अवलोकन र प्रयोग अलग प्रकारका हुन्छन् । अन्य प्रयोगहरू र अनुभवहरूमा हामी वस्तुहरू र घटनाहरूलाई देख्न, सुन्न र छुन सक्दछौं, यन्त्रहरूको माध्यमले तिनीहरूलाई बुझ्न सक्दछौं । तिनीहरूको नापजोख, गुण अध्ययन गर्न सक्दछौं ।

तर क्वान्टम अवलोकनहरूमा हामी यसो गर्न सक्दैनौं । यो स्पष्ट छैन कि क्वान्टम स्तरको “वस्तु” वा  “प्रक्रिया” के हुन्छ; प्रयोगहरूभन्दा पहिले त्यसको स्थिति के हुन्छ । “वस्तु” लाई देख्नु–जान्नुको अर्थ त्यसको  “स्वाभाविक–प्राकृतिक” अवस्थामा अबरोध पुर्‍याउनु हो, त्यसमा केही परिवर्तन ल्याउनु हो । फलस्वरूप, हामी जुन कुरा देख्दछौं, त्यो मूल वस्तु, घटनाको प्रक्रिया हुँदैन, बरु एउटा “परिवर्तित” वस्तुको प्रक्रिया हुन्छ । क्वान्टम अवलोकनहरूमा अवलोकन गर्ने यन्त्र, र त्यसको साथै हामी स्वयं पनि, “वस्तु” वा “प्रक्रिया” सँग सम्बद्ध भएर एउटा नयाँ वस्तु–व्यवस्था बनाउँदछौं । हामी वस्तु वा घटना वा प्रक्रियालाई होइन, त्यससँग हाम्रा यन्त्रहरू र हाम्रा अन्तरसम्बन्धहरू, हाम्रो क्रिया–प्रतिक्रियाको परिणाम देख्दछौं, नापजोख गर्दछौं, अनुमान गर्दछौं । त्यसकारण रुख वा ढुंगा वा नदी वा पहाडजस्तै हाम्रो लागि वस्तु वा घटना जस्ताको तस्तै “शुद्ध” रूपमा देखिंदैनन्, बरु परिवर्तित रूपमा देखिन्छन् । त्यसकारण हाम्रा निष्कर्ष पनि अलग–अलग स्थितिहरूमा अलग–अलग, अन्तरर्विरोधी, परिवर्तनीय र स्थापित विचारहरूको विपरीत वा तिनीहरूबाट अलग हुन्छन् । यी अन्तरहरू र परिवर्तनहरू कैयौं केही कारकहरू वा अचर (constant) अंकहरूको रूपमा प्रकट हुन्छन् ।

क्वान्टम अवलोकनहरूमा अवलोकन गर्ने यन्त्र वा व्यक्ति तथा अवलोकित प्रक्रियाको बीचको अन्तर समाप्त हुँदै जान्छ, र वस्तुगतता तथा मनोगतताको सीमारेखा समाप्त हुन लाग्दछ । यो उत्तर–औद्योगिक दर्शनको महत्वपूर्ण पक्ष हो ।

कोपेनहेगन व्याख्या

कोपेनहेगन धारा वा व्याख्या निल्स बोहरद्वारा २० को दशकमा डेनमार्कमा स्थापित भौतिक विज्ञान संस्थानको नामले विख्यात छ । यो “धारा” वा विचारप्रणाली क्वान्टम यन्त्र-विज्ञानको सबभन्दा विकसित र लीकबाट अलग भएर गरिएको व्याख्या हो, जसको बारेमा पर्याप्त विवादहरू छन् र जससँग आज पनि धेरै वैज्ञानिकहरू सहमत छैनन् ।

“कोपेनहेगन धारा” कुन विचारसँग सहमत छैन भने “वस्तुगत वास्तविकता” लाई जान्न वा मापन गर्न सकिन्छ । क्वान्टम यन्त्र-विज्ञानले कुनै पनि अवलोकनको लागि एउटै परिणाममा विश्वास गर्दैन, यसका ठोस आाधारहरू छन् । यसको विपरीत, कुनै पनि घटनाको लागि धेरै परिणामहरू निकाल्न सकिन्छ, वा निस्किन सक्दछन् ।३१ क्वान्टम प्रक्रियाहरूको संसारमा प्रवेश गरेपछि हामीले यो समस्याको बढीभन्दा बढी सामना गर्नुपर्दछ कि हामी के हेर्न र देखाउन चाहन्छौं ? हामीसँग दुई वा बढी विकल्प प्रकट हुन्छन्; हामी तिनीहरूमध्ये छानेर कुनैसँग पनि प्रयोग गर्न सक्दछौं ।३२ यो “द्विविधा” वा समस्या स्वयं क्वान्टम प्रक्रियाहरूको चरित्रबाट उत्पन्न भएको हो । हामीले दुई पर्दाहरू भएको टमस योंगको प्रयोग उल्लेख गरिसकेका छौं । क्वान्टम विश्वका समस्याहरूको एउटा कारण “वस्तु” तरंग र कण दुवै रूपमा हुनु हो । विख्यात क्वान्टम वैज्ञानिक जे. भोन न्वायमनले यन्त्रहरू तथा अध्ययन गरिने वस्तुको बीचका सम्बन्धहरूको विस्तृत व्याख्या गरेका छन् । समस्या के छ भने अध्ययन गरिने क्वान्टम व्यवस्था मापन गर्ने यन्त्रसँग जब सम्बन्धित हुन्छ, तब कण वा तरंग यन्त्रको सम्पर्कमा आउँदछन्, दुवैमा परिवर्तन र आपसी क्रिया–प्रतिक्रिया हुन्छ । यन्त्र स्वयं परमाणुहरूबाट बनेको हुन्छ र त्यसैकारण त्यसमा पनि क्वान्टम नियमले काम गर्दछन् । अत्यन्तै सूक्ष्म स्तरमा हुनुको कारण ती परिवर्तनहरू हामीले देख्दैनौं । ती परिवर्तनहरूलाई, साथसाथै क्वान्टम कण–तरंगमा परिवर्तनहरूलाई ठीक बनाउनको लागि एउटा अर्को यन्त्रको आवश्यकता पर्दछ । पुनः त्यसबाट भएको परिवर्तन जान्नको लागि एउटा अर्को; यसप्रकार यन्त्रहरूको अन्तहीन क्रम चल्न सक्दछ ।

क्वान्टम स्थितिमा कणहरूका स्थिति र गति दुवै एकसाथ मापन गर्न सकिंदैन; यदि कणको कुनै “बिन्दु” मा अवस्थिति निश्चित गर्ने प्रयत्न गरिन्छ भने, गति समाप्त हुन्छ; यदि गति निश्चित गरिन्छ भने, कणको अवस्थिति निश्चित गर्न असंभव हुन्छ । त्यसकारण अब वैज्ञानिकहरूले अनिश्चितताको सिद्धान्तको सहायताबाट कुनै पनि कणको “लगभग” स्थिति र स्वरूप निश्चित गर्न लाग्दछन्, जुन अत्यन्तै अस्पष्ट छ; फलस्वरूप आजका इलेक्ट्रोन, इत्यादि कण हुनुको बदला, अस्पष्ट, धमिलो बादलजस्तो तरंगहरूको पुंजको रूपमा देखिन लागेका छन् । यो वर्नर हाइजेनवर्गको धेरै ठूलो खोज हो ।

अनिश्चितताको सिद्धान्तले हामीलाई यस्ता निष्कर्षहरूमा पुर्‍याउँदछ, जुन हाम्रा सामान्य, यहाँसम्म कि वैज्ञानिक निष्कर्षहरू तथा पृथ्वीमा हाम्रा अहिलेसम्मका अनुभवहरूभन्दा केवल गुणात्मक रूपले मात्र भिन्न छैनन्, बरु आश्चर्यजनक पनि छन् । इलेक्ट्रोनकै उदाहरण लिऊँ । यो तरंग पनि हो र कण पनि । तर यसको यो गुण व्यवहारमा आश्चर्यजनक ढंगले प्रकट हुन्छ । मानिलिऊँ, हामी एउटा बाकसमा एउटा इलेक्ट्रोनलाई बन्द गर्दछौं; त्यो बाकसमा कहीं पनि अवस्थित हुन सक्दछ, त्यसका तरंग पनि त्यसमा चारैतिर फैलिएका हुन सक्दछन् । तर यो केवल एउटा मान्यता मात्र हो । यदि हामीले बाकसलाई एउटा बारद्वारा दुई भागहरूमा विभाजित गर्दछौं भने, कणको उपस्थितिको संभावना छ एउटै कोठामा हुन्छ, तर तरंगको उपस्थितिको संभावना दुवै कोठाहरूमा हुन्छ । प्रयोग वा अवलोकनको फलस्वरूप कण त एउटा कोठामा पाउन सकिन्छ, तर अर्को कोठाबाट तरंग लोप हुन्छन् । यदि दुई कोठाहरूलाई एक–अर्कोबाट धेरै प्रकाशवर्ष टाढा बनाइयो भने, तब पनि अबलोकनको परिणाम यही हुन्छ ।

वास्तवमा क्वान्टम सिद्धान्तानुसार, विशेषगरी हाइजेनवर्गको अनिश्चितताको सिद्धान्तानुसार परमाणु वा इलेक्ट्रोनको अस्तित्वलाई निश्चित रूपले सिद्ध गर्न सकिंदैन । स्कूल–कलेज वा विश्वविद्यालयका पाठ्युपुस्तकहरूमा अवश्य नै परमाणुको एउटा निश्चित संरचना पढाइन्छ, जसमा केन्द्रमा प्रोटोन–न्यूट्रोनको न्यूक्लियसको चारैतिर इलेक्ट्रोनहरू घुमिरहन्छन् ।

तर क्वान्टम विज्ञानमा यो स्पष्ट चित्र अर्थहीन भएर लुप्त हुन्छ । परमाणुको यो चित्र केही घटनाहरूको व्याख्या गर्नको लागि बनाइएको हो, जसको अन्य परिस्थितिहरूमा कुनै अर्थ छैन । बोहर तथा कोपेनहेगन धाराका अनुसार इलेक्ट्रोन, इत्यादि विभिन्न परिस्थितिहरूमा आपसी सम्बन्ध मात्र हुन् । परमाणु देखिंदैन, बरु दुई वा बढी अवलोकनहरूको बीचमा आपसी सम्बन्ध स्थापित गर्नको लागि निर्माण गरिन्छ । माथिको प्रयोगमा हामीले अवलोकनको परिस्थिति वा स्वरूपको अनुरूप कण वा तरंग देख्न सक्दछौं । इलेक्ट्रोन यति साना हुन्छन् कि तिनीहरूको उपस्थितिको अनुमान लगाउनको लागि हामीले विद्युत चुम्बकीय शक्तिको प्रयोग गर्नुपर्दछ, विशेषगरी यसका साना तरंगहरूको । यो गामा किरण जब इलेक्ट्रोनमाथि पर्दछ, तब यसले त्यसको स्थिति र गतिमा मूलभूत परिवर्तन ल्याउँदछ । तर हाइजेनवर्गको सिद्धान्तानुसार स्वयं इलेक्ट्रोनको स्थितिमा निश्चित गर्न असंभव छ । क्वान्टम सिद्धान्तानुसार परमाणुका चारैतिर तरंग-रूप मार्गको अनुमान अवश्य गर्न सकिन्छ, जसले इलेक्ट्रोन-पथको संकेत दिन्छ ।

परमाणुभित्रको विश्व मानौं बादलले भरिएको छ; त्यसमा कुनै पनि कणको वा तरंगको अवधारणा बनाउनु सजिलो काम होइन, कणको स्थिति अनिश्चितताको सीमाभित्र नै निश्चित गर्न सकिन्छ । त्यसकारण हरेक अवधारणा अनिश्चिताको अवधारणासँग अभिन्न रूपले जोडिएको छ । हामी एउटा फ्याँकिएको ढुंगाको मार्ग त जान्न सक्दछौं, तर परमाणुको अनिश्चिततापूर्ण विश्वमा इलेक्ट्रोनको मार्ग जान्नु असंभव काम हो ।

क्वान्टम सिद्धान्तको सन्दर्भमा दर्शनका केही प्रश्न

अहिलेसम्म मानवइतिहासको विश्वदृष्टिकोण अत्यन्तै सीमित, मुख्यतया, दृश्य अवलोकनहरूमा आधारित रहेको छ; साथसाथै सुनिने र छुइँने संवेदनहरूमा आधुनिक कालमा पनि जुन औजारहरू बने, तिनीहरू पनि अधिकांश अत्यन्तै सीमित प्रकाशका सीमाहरूभित्र नै; अर्थात् प्रकाशबिना ती औजारहरू पनि देख्न सकिंदैन, केही वर्तमान दशकहरूको अपवादलाई छोडेर । हामीले अहिलेसम्म विद्युत-चुम्बकीय विकिरणका अत्यन्तै सीमित क्षेत्र वा वर्णपटको प्रयोग गरेका छौं – एक किलोमीटरको ८ लाखदेखि ४ लाख अंशको वर्णपट, जसलाई प्रकाश, दृश्यप्रकाश, भनिन्छ । हाम्रो समुच्च सभ्यता र इतिहास यही अत्यन्त सीमित आधारमा रचित र विकसित भएको हो । त्यसकारण हाम्रो ज्ञान र विश्वदृष्टिकोण अत्यन्तै सीमित छ, हाम्रो चेतनाको आधार  अत्यन्तै संकीर्ण ।

जुन–ताराहरू, ग्रह–नक्षत्रहरू, आकाशगंगा, सौर्यमण्डल, पृथ्वीमा चलिरहेका प्रक्रियाहरू, सामाजिक घटनाहरू, उत्पादनका साधनहरू, इत्यादि अनेकौं प्रक्रियाहरूको जानकारीको स्रोत प्रकाशको यही सानो वर्णपट हो । हाम्रा दार्शनिक अवधारणाहरू, विश्वदृष्टिकोण, वैज्ञानिक दृष्टि, प्राकृतिक–सामाजिक सिद्धान्तहरूको विकास, मानव–प्रकृति, व्यक्ति–पर्यावरण, विचार–पदार्थ, इत्यादि सम्बन्धी अवधारणाहरू यही अतिसीमित स्रोतबाट विकसित भएका छन् । प्रकाशले पृथ्वीको वायुणमण्डलमा सजिलैसँग प्रवेश गर्दछ, तर अधिकांश इन्फ्रा–रेड र अल्ट्राभ्वाइलेट किरणहरू आउँदैनन्; १ सेन्टीमीटरदेखि २० मीटरका रेडियो–तरंगहरू पनि आउँदछन्; तर अरु कुनै तरंगहरू पृथ्वीमा आउन सक्दैनन् ।

पदार्थको बारेमा, पृथ्वी र विशेषगरी अन्तरीक्षका असाधारण प्रक्रियाहरूको बारेमा जानकारी दिने यी महत्वपूर्ण तरंगहरू र यिनीहरूको प्रयोगबाट अझै पनि हामी अनविज्ञ छौं; वर्तमान समयमा आएर मात्र हामीले तिनीहरूको बारेमा जान्न शुरु गरेका छौं र तिनीहरूको केही प्रयोग गर्न लागेका छौं । यसमा क्वान्टम क्रान्ति सहयोगी सिद्ध भइरहेको छ ।

यो अर्को वास्तविकताको स्वरूप के हो, जुन प्रकाशभन्दा परका तरंगहरूबाट बनेको छ ? यसमा चलिरहेका प्रक्रियाहरूका नियम के हुन् ? यसमा पदार्थ, वस्तुहरू, प्रक्रियाहरू, शक्ति, कण, तरंग, परिवर्तन, इत्यादिको चरित्र के हो ? पदार्थ, समय र स्थानको बीचमा त्यहाँ के सम्बन्ध छ ? के स्थान–समय-सम्बन्ध उही हो, जसको हामीलाई पृथ्वीमा अनुभव छ र जसको बारेमा जानकारी छ ? अप्रकाशित विश्वसँग हाम्रो कस्तो सम्बन्ध छ – के त्यस्तै छ, जस्तो प्रकाशित विश्वसँग छ ? के यो “अर्को” विश्वमा विचार–वस्तु, चेतना–पदार्थ, इत्यादिका सम्बन्ध उही रहन्छन् ? र, के त्यहाँ कुनै अन्य मस्तिष्क पनि छ ? इत्यादि अनेकौं प्रश्न क्वान्टम विज्ञान तथा प्रविधिको विकाससँगै उत्पन्न भइरहेका छन्; बस पुराना प्रश्नहरू नयाँ शिराबाट नयाँ परिभाषाको प्रतीक्षामा पुनः उभिरहेका छन् ।

क्वान्टम क्रान्ति तथा माइक्रो-इलेक्ट्रोनिक्सको माध्यमले हामीले एउटा यस्तो वास्तविकताको संसारमा प्रवेश गरिसकेका छौं, जुन हाम्रा अहिलेसम्मका अनुभवहरूभन्दा अलग छ । यसमाथि विचार गर्दा यहाँ एउटा अर्को पक्षमाथि ध्यान दिनुपर्दछ । हाम्रो जैविक विकास पृथ्वीका विशेष परिस्थितिहरूमा भएको छ र अझै पनि यिनीहरूबाट प्रेरित छ । मानवको जन्म र विकास प्रकाश, पानी, हावा, इत्यादिबाट निर्मित भौतिक वातावरण र कारकहरूबाट भएको छ । प्रकाश, पानी र भोजन हाम्रो विकासका आवश्यक शर्तहरू रहेका छन्; र दृष्टि, विश्वदृष्टि तथा चेतनाको लागि प्रकाश निर्णायक रहेको छ । हाम्रो शरीर र मस्तिष्क यी परिस्थितिहरूभन्दा परका वास्तविकताहरू देख्न र ग्रहण गर्नको लागि समर्थ छैन; त्यसको लागि अत्यन्तै विकसित विज्ञान र प्रविधिको आवश्यकता छ ।

क्वान्टम क्रान्तिले पहिलोपटक हामीलाई यस्ता परिस्थितिहरू वा प्रक्रियाहरूको सम्पर्कमा ल्याएको छ, जुन हाम्रो लागि सामाजिक, जैविक, मानसिक, हरेकप्रकारले अलग र अप्राकृतिक छ; हामी पहिलोपटक अप्राकृतिक, गैरपरिस्थितिहरू तथा नियमहरूको सम्पर्कमा आएका छौं । क्वान्टम विश्वका लगभग सबै  नियमहरू र घटनाहरू यान्त्रिक विश्वभन्दा गुणात्मक रूपले अलग छन् । तिनीहरूलाई ग्रहण गर्न, बुझ्न र तिनीहरूको व्याख्या गर्नको लागि हामीले मानसिक रूपमा पर्याप्त परिवर्तन र तालमेल मिलाउनु तथा स्थापित गर्नु परिरहेको छ, आफ्ना मानसिक–सैद्धान्तिक परम्पराहरूलाई छोड्नु परिरहेको छ; हामी आफ्ना वास्तविकताबाट निस्किएर क्वान्टम घटनाहरूको संसारमा प्रवेश गर्ने प्रयत्न गरेर तिनीहरूको बानी बसाउने र तिनीहरूका परिस्थितिहरूमा घटनाहरूको अर्थ बुझ्ने कोशिस गरिरहेका छौं; यो विचारहरूको क्षेत्रमा असाधारण क्रान्ति हो ।

सत्य वा वास्तविकतालाई हामी यस्तो अस्तित्व मान्दछौं, जुन हामीभन्दा पर र स्वतन्त्र छ, तर जससँग हामी सम्बन्धित हुन्छौं । आदर्शवादी र आध्यात्मवादी दर्शनहरूमा पनि स्वतन्त्र अस्तित्वलाई स्वीकार गरिएको छ, केवल केहीलाई छोडेर । दर्शनबाहेक, अन्य विचारप्रणालीहरूमा, विशेषगरी विज्ञानमा यस्तो स्वतन्त्र अस्तित्वको विस्तृत तथा व्यवस्थित अध्ययन गरिएको छ, चाहे त्यो भौतिकशास्त्र होस् वा रसायनशास्त्र, जीवविज्ञान, इत्यादि होस् ।

तर क्वान्टम विज्ञानका खोजहरूले यस्तो स्वतन्त्र अस्तित्वको अवधारणामाथि प्रश्न चिन्ह लगाइदिएको छ, विशेषगरी अप्रकाशीय विश्वको सम्बन्ध, विद्युतचुम्बकीय विकिरणका ती वर्णपटहरूसँग प्रकाशित विश्वको बारेमा, जसलाई हामी देख्न सक्दैनौं, त्यो विश्वको बारेमा, जुन परमाणुभित्र तथा अन्तरीक्ष र ब्रम्हाण्डमा छ ।

वास्तवमा अब जुन तथ्यहरू अगाडि आइरहेका छन्, तिनीहरूबाट के थाहा हुन्छ  भने प्रकाशबाट प्रकाशित वास्तविकता कुल वास्तविकताको अत्यन्तै सानो भाग हो । सौर्यमण्ड, ग्रह–नक्षत्र, तारा, आकाशगंगा, इत्यादिको, जसबाट प्रकाश निस्किन्छ वा परावर्तित हुन्छ, तुलनामा अन्य प्रकारका पदार्थहरूको, जस्तै अन्तरीक्षमा फैलिएका कणहरू, शक्ति तथा पदार्थका विशाल पिण्ड, ब्ल्याक होल, यस्ता विशाल क्षेत्र, जुन प्रकाशबाहेक अन्य किरणहरूबाट प्रकाशित छन्, इत्यादिको, अंश कैयौं बढी छ । वर्तमान समयका खोजहरू, विशेषगरी हब्बल टेलिस्कोपका खोजहरूका अनुसार आकाशगंगाको केन्द्रमा असाधारण रूपले विशाल यस्ता अप्रकाशीय र अप्रकाशित, नदेखिने “काला” क्षेत्र छन्, जुन ताराहरूका पुंजहरूभन्दा कैयौं बढी विशाल छन् । यी आकाशगंगाहरूमा खुम्चिएका र “लुप्त” ताराहरूको संख्या धेरै बढी छ । प्रकाशित ताराहरूको बीचको स्थान असाधारण रूपले सक्रिय शक्ति, विकिरण, विभिन्न कणहरू र संरचनाहरूले भरिएको छ । वास्तवमा विभिन्न आकाशगंगाहरू, नीहारिकाहरू, इत्यादि र तिनीहरूको बीचमा स्थानहरू यस्ता रचनाहरू र वस्तुले भरिएका छन्, जसको रेखांकन पनि संभव हुन सकिरहेको छैन । यो अलग कुरा हो कि हाम्रा विकसित यन्त्रहरू पनि तिनीहरूलाई ठीक ढंगले देख्न असमर्थ छन् । यदि हामीसँग अन्य विकिरणहरू वा नदेखिने “प्रकाश” लाई देख्नसक्ने क्षमता आयो भने, हाम्रो लागि विश्वको रूप बिल्कुलै अलग देखिने छ; जुन–ताराहरू र आकाशगंगाको स्थानमा अर्कै प्रकारका वस्तुहरू र तिनीहरूको बीचको स्थान देखिने छ ।

डेविड ड्वायशले३३ एउटा साक्षात्कारमा अत्यन्तै विस्तारपूर्वक “बहु-ब्रम्हाण्डहरू” को अवधारणाको व्याख्या गरेका छन् । यो अवधारणा सन् १९५७ ह्यू ईवरिटले पेश गरेका थिए । दुवैका विचारहरूमा थोरै अन्तर भएर पनि कुरा लगभग एउटै छ । यो अवधारणानुसार ब्रम्हाण्ड एउटा होइन, धेरै छन् । यी ब्रम्हाण्डहरू हाम्रै ब्रम्हाण्डभित्र लुकेर रहेका हुन सक्दछन् वा यसभन्दा बाहिर पनि हुन सक्दछन् । यिनीहरूको विशेषता के छ भने यिनीहरूको संख्या लगातार बढ्दै जान्छ । जब हामी एउटा ब्रम्हाण्ड हेर्ने प्रयत्न गर्दछौं, तब एउटा अर्को ब्रम्हाण्ड “अस्तित्व” मा आउँदछ । जब हामी अर्को ब्रम्हाण्ड पनि हेर्ने प्रयत्न गर्दछौं, तब हामीलाई एउटा होइन, एउटाभन्दा बढी ब्रम्हाण्डहरूको वास्तविकता थाहा हुन्छ ।

वास्तवमा “हेर्ने प्रयत्न” गर्नुको अर्थ के हो भने हामी पदार्थका कैयौं यस्ता रूपहरूको खोज गर्दछौं वा तिनीहरूसँग गएर ठोक्किन्छौं, जुन हाम्रो ब्रम्हाण्डमा या त पाइँदैनन् या हाम्रो तिनीहरूसँग साक्षात्कार भएको छैन । यी सबै ब्रम्हाण्डहरू आपसमा कुनै न कुनै रूपमा सम्बन्धित छन्, तर सम्बन्धहरूको स्वरूप र स्तर हामीलाई थाहा छैन; यिनीहरू कुन स्तरका तरंगहरू, कणहरू, शक्तिहरूद्वारा अपसमा सम्बन्धित छन्, यसको ज्ञान छैन । अनजानमै कहिलेकाहीं हामी ती सम्बन्ध–बिन्दुहरूलाई स्पर्श गर्दछौं, विशेषगरी जब हामीलाई कुनै नयाँ वैज्ञानिक सिद्धान्त र प्रविधि हात लाग्दछ, र तब हामीलाई एउटा नयाँ संरचनाको ज्ञान हुन्छ । यसबाहेक, “हेर्ने प्रयत्न” ले स्वयंमा परिवर्तनहरूको क्रम शुरु गर्दछ, जसले विशेषगरी क्वान्टम स्तरमा अन्य ब्रम्हाण्डहरूमा नयाँ गतिहरूलाई जन्म दिन्छ । उदाहरणको लागि, आफ्नो अवलोकनको क्रममा हामी यदि “ग्रेभिटोन” वा गुरुत्वाकर्षणका कणहरूबाट निर्मित–संचालित, ब्रम्हाण्डको सम्पर्कमा आउँदछौं भने, हुन सक्दछ त्यो एउटा यस्तो वास्तविकता हो, जसका नियमहरू, ढाँचा, पिण्ड, गतिहरू बिल्कुलै अलग प्रकारका हुन्छन्; र यो पनि हुन सक्दछ कि हाम्रो तिनीहरूसँग सम्पर्कले तिनीहरूमा तिनीहरूको क्वान्टम स्तरमा ठूलो परिवर्तन ल्याइरहेका छन् । क्वान्टम विज्ञानले नयाँ ‘विश्वदृष्टिकोण’ का अभूतपूर्व संभावनाहरू खोलिरहेको छ ।

यो सिद्धान्त केवल एउटा अवधारणा मात्र हो, तर यो क्वान्टम विज्ञानका सत्यहरूमाथि आधारित छ । हब्बल टेलिस्कोपको अवलोकन र ब्ल्याकहोल, न्यूट्रोन तारा, इत्यादिले यो अवधारणाको पुष्टि गर्दछन् । विज्ञान र प्रविधिको तीव्र विकाससँगै हामीलाई ती साधनहरू प्राप्त भइरहेका छन्, जसको सहायताले हामी विभिन्न प्रकारका नयाँ कणहरू, विद्युत चुम्बकीय तरंगहरू, ब्रम्हाण्डीय किरणहरू, इत्यादिबाट बनेका संरचनाहरूको जानकारी लिइरहेका छौं ।

“ब्ल्याकहोल” (black hole) ले पदार्थ र स्थान–समय-सम्बन्धहरूको हाम्रा अवधारणाहरूमा ठूलो परिवर्तन ल्याइदिएको छ । तिनीहरू अत्यन्तै सघन पिण्ड हुन्छन्; यति सघन कि समुच्च सूर्यको सम्पूर्ण पदार्थ एउटा सानो स्थानमा खुम्चिएको हुन्छ । केही विशेष प्रकारका ताराहरूको विकासमा एउटा यस्तो चरण आउँदछ, जब तिनीहरूको गुरुत्वाकर्षण शक्ति विपरीत शक्ति वा प्रक्रियाहरूभन्दा बढी हुन्छ र तारा आफैभित्र धराशायी हुन्छ । फलस्वरूप, त्यसको आकार-प्रकार तीव्र गतिले सानो हुँदै जान्छ र घनत्व असाधारण रूपले बढ्न लाग्दछ ।

यी परिवर्तनहरू साधारण नभएर यिनीहरूले वास्तविक, गुणात्मक रूपले असाधारण घटनाहरूलाई जन्म दिन्छन्; कम्तीमा पनि हामी पृथ्वीवासीहरूको लागि त तिनीहरू असाधारण हुन्छन् । ‘ब्ल्याक होल’ को घनत्व र गुरुत्वाकर्षण यति बढी हुन्छ कि प्रकाश पनि त्यसबाट बाहिर निस्किन पाउँदैन । त्यसकारण यति बढी सघन वस्तु पनि हामी देख्न सक्दैनौं । यसको नजिकमा पनि बाहिरको प्रकाश आएर लुप्त हुन्छ र भित्रबाट बाहिर जाने प्रकाश पनि फर्केर भित्र जानुपर्दछ ।

यो असाधारण “कालो क्षेत्र” ले स्थान र समयमा पनि विकृतिहरू र परिवर्तन ल्याउँदछ । एउटा न्यूट्रन ताराको गुरुत्वाकर्षण शक्ति पृथ्वीको तुलनामा १ अरब गुना बढी शक्तिशाली हुन्छ ।३४ यदि त्यसको नजिकबाट प्रकाश गयो भने पनि, त्यसको मार्ग बाङ्गिन्छ ।

यस्ता अति शक्तिशाली ताराहरूको नजिकमा स्थान र समय पनि बाङ्गिन्छन्, तिनीहरूमा परिवर्तन आउँदछन्, तिनीहरू खुम्चिन्छन् वा फैलिन्छन्, संकेन्द्रित हुन्छन् वा सघन हुन्छन् वा विरल हुन्छन् । उपर्युक्त न्यूट्रन ताराको सतहमा समय पृथ्वीको तुलनामा २०∞ ढिलो हुन्छ । गुरुत्वाकर्षण जति बढी हुँदै जान्छ, समय त्यति नै ढिलो हुँदै जान्छ; तारा वा ‘ब्ल्याक होल’ को ३ किलोमीटर व्यासको सीमारेखामा, यदि तारा धेरै सानो र सघन छ भने, समय अनन्त हुन्छ । यहाँ आएर समय समाप्त हुन्छ । ३ किलोमीटरको यो सीमारेखालाई श्वार्जचील्ड सीमारेखा भनिन्छ; यसलाई सन् १९१६ मा कार्ल श्वार्जचील्डले पत्ता लगाएका थिए ।३५ यो खोज यति आश्चर्यजनक थियो कि अधिकांश वैज्ञानिकहरूले त्यस बेला यसलाई मान्न अस्वीकार गरे र स्वयं आइन्स्टाइन पनि द्विविधामा परे ।

अन्तरीक्षमा समयसम्बन्धी हाम्रो ज्ञान पूर्ण रूपले गलत सिद्ध हुन्छ । समय यस्तो सापेक्ष अवधारणा हो, जुन गति र वस्तुको संकेन्द्रणमा निर्भर हुन्छ । गतिको वृद्धिसँगै समय ढिलो हुन्छ, यो क्रम बढ्दै जान्छ, र जब–जब गति प्रकाशको गतिको नजिक पुग्दछ, समय पर्याप्त ढिलो हुन्छ । त्यसकारण, पृथ्वीबाट निस्किएर ब्रम्हाण्डमा जाँदा हामीले एउटा होइन, अनेकौं समय पाउँदछौं, गुरुत्वाकर्षण, गति र पिण्ड संकेन्द्रण, इत्यादिमा निर्भर हुन्छन् । परिस्थिति विशेषमा समय–स्थानले स्वतन्त्र अस्तित्व ग्रहण गर्दछन् ।

त्यसैगरी, स्थानको अवधारणा पनि अन्तरीक्षमा बदलिन्छ । त्यो “वस्तु” को “लम्बाई–चौडाई” नरहेर अन्तहीन “खाली” स्थानहरूको विशेषता बन्दछ । यी खाली स्थानहरू एक स्तरमा त खाली हुन्छन्, जसले केवल “स्थान” र “समय” को गुणलाई मात्र दर्शाउँदछन् । त्यसकारण “स्थान–समय” वस्तुको गुण नरहेर स्वतन्त्र अस्तित्व धारण गर्दछ । वास्तवमा खगोलीय पिण्डहरूको बीचको स्थान “खाली” हुँदैनन्, तिनीहरू अत्यन्तै गतिशील र विभिन्न पदार्थ-रूपहरू तथा संरचनाहरूले भरिएका हुन्छन् । स्थानको विस्तार बदलिरहन्छ, त्यसको माप र मापका तरीका बदलिरहन्छन् । क्वान्टम खोजहरू अनुसार सुदूर आकाशीय दूरीहरूमा तरंगहरू बिल्कुल सरल रेखामा नहिँडेर विभिन्न दिशाहरूमा मोडिन्छन् । अत्यन्त उच्च गतिहरूमा वस्तुले आफ्नो रूप कायम राख्न सक्दैन र स्थानको रूप धारण गर्दछ । यी खाली स्थानहरूका दूरीहरू प्रकाशवर्षबाट गतिहरू प्रकाशको गतिको तुलनामा मात्र मापन गर्न सकिन्छ । पृथ्वीसम्म आउने कुनै पनि प्रकाश र तरंगपुंज सरल रेखामा हिंड्दै नआएर धेरै हदसम्म बक्राकार मार्गबाट आउँदछ ।

एउटा अर्को स्तरमा यी खाली स्थानहरू तथा स्थान–समय-सम्बन्धहरू असाधारण प्रकारका तरंग–संरचनाहरू र तिनीहरूबाट बनेका आकार-प्रकारहरूको सतह मात्र हुन सक्दछन्, एउटा अलग्गै स्वरूपमा, जससँग हामी अनविज्ञ छौं । हामीले पहिले नै भनिसकेका छौं कि परमाणुभित्र र बाहिर, पृथ्वी र यसभन्दा बाहिर आकाश तथा ब्रम्हाण्डको बारेमा हाम्रो ज्ञान तरंगहरूको अत्यन्तै सीमित वर्णपट, प्रकाशमा आधारित छ; स्वयं प्रकाशको बारेमा पनि हाम्रो जानकारी अत्यन्तै सीमित छ । यो कुराको पूरा संभावना छ कि नयाँ प्रकारका कणहरू तथा तरंगहरूका क्वान्टम स्थितिहरू र गतिहरू तथा नयाँप्रकारका स्थान–समय सम्बन्धहरूको अस्तित्व छ । यस्ता सम्बन्धहरूमा ठोस “वस्तु” को महत्व कम र अत्यन्तै गतिशील स्थान र समयको महत्व धेरै बढी हुन सक्दछ ।

क्रमशः

सन्दर्भ सूची

  • २५) जगजित सिंह, स्पेश–टाइम भोल्ट्ज, पब्लिकेशनस एण्ड इन्फर्मेशन डाइरेक्टरेट, नयाँ दिल्ली, १९९५, पृ. ४६–४७
  • २६) जोन ग्रिब्बिन, इन सर्च अफ श्रोडिंगरर्स क्याट, वाडलड वुड हाउस, लण्डन, १९८४, पृ. ३६
  • २७) उही, पृ. ३८
  • २८) उही, पृ. १२; डेविस, ब्राउन (सम्पादित), द गोस्ट इन द एटम, क्याम्ब्रिज युनिभर्सिटी प्रेश छैठौं सस्करण, १९९३, पृ. ८
  • २९) जोन बेल, “द गोस्ट”
  • ३०) ग्रिबिङ : निल्स बोहर – आइन्स्टाइन विवाद 
  • ३१) स्टीफेन हकिड्ड, अ ब्रिफ हिस्ट्री अफ टाइम, बेन्टम बुक्स, १९९४, पृ. ६०
  • ३२) वेशिल हीली, द गोस्ट……………..पृ. १४७ –४८, पृ. २७
  • ३३) डेविड ड्वायस, द गोस्ट…………….
  • ३४) पल डेविस, एबाउट टाइम : आइस्टाइन्स अनफिनिस्ट रिभोलूसन, साइमन एण्ड सुस्टर, १९९५, पृ. १०५
  • ३५) उही, पृ. १०६


Leave a comment

About Me

I am a student of philosophy and nature. I thoroughly research all subjects and summarize them in Nepali and English. I am Secretary of Marxism Study-Research Academy, Nepal. I am a Social Worker. Education – i) Master of Arts Degree in Political Science – TU, ii) Master of Public Administration Degree – TU, iii) Master of Arts Degree in History-TU, iv) Master of Arts Degree in Nepalese History Culture and Archaeology-TU.

म अध्ययन-अनुसन्धान कार्यमा निस्वार्थ भावले निरन्तर लागेको एक वाम विचारधारायुक्त सामाजिक कार्यकर्ता हुँ। मेरो कुनै पनि राजनीतिक दलसँग संलग्नता नरहेको जानकारी गराउँदछु। मेरा हरेक अध्ययन-अनुसन्धान कार्य शोषण, दमन, अन्याय, अत्याचारका विरुद्ध हुनेछन् । आम श्रमजीवी, भोका-नांगा, गरीब, उत्पीडित जनसमुदायहरूलाई सुशिक्षित गर्ने प्रयत्न मेरो कर्तव्य हुनजान्छ । मेरा सबै कार्य जनहितका लागि हुनेछन् भन्ने आशा तथा विश्वासपूर्वक मैले निरन्तर कार्य अगाडि बढाइरहेको हुनेछु। श्रमप्रति सम्मान र शोषणप्रति घृणा नै मेरा कार्यका उद्देश्य हुनेछन्।  

यहाँ तपाईंहरू सबै प्रकारका सामग्रीहरू अध्ययन गर्न र हेर्न पाउनुहुनेछ । अध्ययन गर्नको लागि रूचियुक्त सामग्रीहरू माग गर्नुभयो भने यथासंभव परिपूर्तिसमेत गरिनेछ । यहाँ लेखरचना, पत्रपत्रिका, म्यागजिन,  जर्नल, विभिन्न पुस्तकहरू (नेपाली, अंग्रेजी र हिन्दी भाषामा), डकुमेन्ट्री, फिल्म, आदि सामग्रीहरू खोजेर पढ्न तथा हेर्न सक्नुहुन्छ।

I am a leftist social worker who is selflessly engaged in research work. I inform you that I am not affiliated with any political party. Every study-research work of mine will be against exploitation, oppression, injustice and tyranny. It is my duty to try to educate the common workers, the hungry, the poor, the oppressed masses. I will continue my work with the hope and confidence that all my work will be for public interest. Respect for labor and hatred for exploitation will be the objectives of my work.

Here you will find all kinds of content to study and watch. If you demand for interesting materials to study, they will be provided as much as possible. Here you can search and read articles, newspapers, magazines, journals, various books (in Nepali, English and Hindi languages), documentaries, films, etc.

श्रमको सम्मान गर्नुभएकोमा धन्यवाद ।

Thank you for respecting the labor.

Newsletter

Marxism-मार्क्सवाद

Communist history

Philosophy-दर्शन

लेनिन-LeninLeninism

दस्तावेज-documents

धर्म-दर्शन

त्रिपिटक–बुद्ध

गीता सार

Politics–राजनीति

ग्रन्थ परिचय

Mao-Maoism

साहित्य- literature

जीवनी-biography

साम्यवाद-communism

युवाबारे-On Youth

कार्ल मार्क्स–Karl Marx

फ्रेडरिक एंगेल्स–F. Engels

भी.आइ.लेनिन–V.I.Lenin

जे. भी. स्टालिन – J.V. Stalin

माओत्सेतुङ – Maotsetung

डिजिटल पुस्तकालय (digital library)

ई-पुस्तकालय -e-library

विज्ञान-प्रविधि (Science-Technology)

सामान्य ज्ञान (GK)

Documentaries and YouTube channels

पुस्तकालय – LIBRARY

नेपाली डिजिटल पुस्तकहरू (Nepali Digital Books)

नेपाली न्यूजपेपर, म्यागजिन र अनलाइन पत्रपत्रिकाहरू (Nepali Newspapers, Online and Nepali Magazines)

English Digital Books : Part – 1 (world communist special books)

English Digital Books : Part – 2

English Digital Books : Part – 3

हिन्दी डिजिटल पुस्तक (Hindi digital Books) भाग – १

हिन्दी डिजिटल पुस्तक (Hindi digital Books) भाग – २

हिन्दी डिजिटल पुस्तक (Hindi digital Books) भाग – ३

हिन्दी डिजिटल पुस्तक (Hindi digital Books) भाग – ४

हिन्दी डिजिटल पुस्तक (Hindi digital Books) भाग – ५

Documentaries and YouTube channels

Uncategorized

ENGLISH SECTION

Design a site like this with WordPress.com
Get started