सूचना–क्रान्ति र दर्शनमा संकट  (भाग -१ )

अनिल राजिमवाले

अनुवादक तथा सम्पादक

सम्पूर्ण पृथ्वी सूचनातरंगहरूद्वारा घेरिइसकेको छ, जसका आवृत्ति, गति र विविधता बढ्दै गइरहेका छन् भन्ने कुरा स्पष्ट भइसकेको छ । यो केवल एउटा प्राविधिक घटना मात्र होइन; यो बढीभन्दा सामाजिक घटना बन्दै गइरहेको छ । यी सबैभन्दा पनि बढी यो एउटा गहन मानसिक घटना हो, जसले सम्पूर्ण मानवचेतनामाथि अभूतपूर्ण प्रभाव पारिरहेको छ र त्यसलाई गुणात्मक रूपले बदलिरहेको छ ।

यी घटनाहरूबाट दर्शनमा संकट उत्पन्न भएको छ । मार्क्सवादी दर्शनसहित सबै दर्शहरू, विचारहरू र चिन्तनका मूल प्रस्थापनाहरूमाथि प्रश्नचिन्ह लागेको छ । ती प्रस्थापनाहरू, जुन स्थायी र स्वयंसिद्ध थिए, तिनीहरू या त गलत सिद्ध हुँदै गइरहेका छन् या विवादको विषय बन्दै गइरहेका छन् । नयाँ घटनाहरूको व्याख्या गर्नमा आधुनिक दर्शन क्रमशः अपर्याप्त र असफल सिद्ध भइरहेको छ ।

मार्क्सवादी चिन्तन विशेष रूपले गम्भीर संकटमा फसेको छ, किनभने यो वैज्ञानिक र भौतिक आधारहरूमा विकसित भएको हो, र स्वयं यसको स्वरूप वैज्ञानिक छ । यसलाई सबभन्दा वैज्ञानिक मानिंदै आएको छ, किनभने यसको दर्शन भौतिकवादी र अध्ययन तथा अवलोकनको तरीका द्वन्द्ववादी रहेको छ, जसले हरेक वस्तु, घटना र प्रक्रियाका “किन”, “कसरी”, “कहाँ”, “कहिले”, इत्यादि खोज्ने प्रयत्न गर्दछ । यही कारणले गर्दा यसले पछि ऐतिहासिक भौतिकवाद वा इतिहासको भौतिकवादी अवधारणा विकसित गर्न सफल भयो । मार्क्सवाद औद्योगिक युगको सबभन्दा वैज्ञानिक र द्वन्द्वात्मक दर्शन वा चिन्तन थियो ।

तर यो इतिहासको ठूलो बिडम्बना नै हो कि यही मार्क्सवाद द्वन्द्वात्मकताको आफ्नो दावीको बावजूद विज्ञान, प्रविधि र इतिहासको महत्वपूर्ण चरणमा औद्योगिक समाजको उदयकालमा, नवप्राविधिक क्रान्तिको उदय र विश्वव्यापी बन्ने युगमा परिवर्तनहरूलाई बुझ्न र तिनीहरूको सार ग्रहण गर्न असफल भयो । यसले न वैज्ञानिक–प्राविधिक क्रान्तिको अनुमान लगाउन सक्यो र न त्यसलाई बुझ्न नै सक्यो । यसलाई समाजवादी विश्वमा उथल–पुथलको बिल्कुलै पूर्वाभास भएन, भविष्यवाणी गर्नुको त कुरै छोडौं । यसले यी प्राविधिक, सूचना र सामाजिक परिवर्तनको आज पनि विश्लेषण गर्न सकेको छैन र न विशेष प्रयत्न नै गरिरहेको छ । जब हामी मार्क्सवादी दर्शन (र साथसाथै चिन्तन) मा संकटको कुरा गर्दछौं, तब इतिहासको मोडमा यसको यही असफलताको कुरा गर्दछौं, जसलाई हामीले यो अनुच्छेदमा परिभाषित गरेका छौं ।

मार्क्सवादको उदयमाथि इतिहासको छाप

मार्क्सवादी दर्शनसहित अन्य आधुनिक दर्शनहरूको उदय औद्योगिक कालमा भयो । मार्क्सवादले हेगेल तथा फायरबाखका सिद्धान्तहरूको निषेध गरेर द्वन्द्वात्मक-भौतिकवाद विकसित गर्‍यो, जुन चिन्तनमा क्रान्ति थियो । मार्क्सवादी दर्शनले आफ्नो युगमो द्वन्द्वको सार पूर्ण रूपले आत्मसात गर्‍यो र पहिलोपटक सम्पूर्ण चिन्तन-प्रक्रियाको खोज पदार्थमा खोजेर निकाल्यो । मार्क्सवाद नै एकमात्र यस्तो दर्शन थियो, जुन हेगेलका सीमाहरूभन्दा बाहिर निस्किन सक्यो, तर द्वन्द्ववादलाई आत्मसात गरेर । यति मात्र होइन, मार्क्सवाद नै एकमात्र यस्तो चिन्तन थियो, जसले समाजको दिशा खोज्न सक्यो र जसले समाजको विश्लेषणको ऐतिहासिक भौतिकवादी तरीकाकाले अविष्कार गर्‍यो । प्रकृति, चिन्तन र इतिहास रहस्य, अज्ञात चीजहरू रहेनन् : सही तरीकाहरूको प्रयोग गरेर तिनीहरूलाई बुझ्न सकिन्थ्यो ।

तर अन्ततः मार्क्सवादमा गतिरोध र संकट किन र कसरी उत्पन्न भयो ? यो जटिल प्रश्नको उत्तर सरल र सीधा छैन । यसमा कैयौं पक्षहरू सामेल छन् । वास्तवमा मार्क्सवादी दर्शनमा संकट सम्पूर्ण दर्शनमा संकटसँगै जोडिएको छ ।

जब हामी “मार्क्सवाद” को कुरा गर्दछौं, तब त्यसमा कैयौं पक्ष, तत्व, अवयव र सिद्धान्त अगाडि आउँदछन् । “मार्क्सवाद” को विभिन्न मानिसहरूले विभिन्न अर्थ लगाउँदछन् । प्रायः यसलाई वर्गसंघर्ष, शोषणविरोधी र पूँजीवादविरोधी सिद्धान्त, मजदूर वर्गको सैद्धान्तिक हतियार, सत्ता प्राप्त गर्ने माध्यम, समाजवादी राज्यको विचारधारा, कम्युनिष्ट पार्टीको विचारधारा, अर्थशास्त्र, राजनीति, दर्शन, समाजवादी वा साम्यवादी समाजको निर्माण गर्ने हतियार, इत्यादि अनेक अलग–अलग अर्थमा यसलाई सीमित गरिएको छ । फलस्वरूप यसको जीवनशक्ति समाप्त भएको छ । मार्क्सवादलाई यी अलग–अलग सिद्धान्तहरूमा सीमित गर्नुको पछाडि विभिन्न वर्गहरू, तप्काहरू, पार्टीहरू, आन्दोलनहरू, व्यक्तिहरू र विशेषगरी राज्यहरूका आफ्ना निहित स्वार्थ रहेका छन् । यसकारणले कालान्तरमा मार्क्सवादले सिद्धान्त प्रणाली र द्वन्द्वात्मक तरीकाको बदला विचारधाराको रूप धारण गर्‍यो । मार्क्सवादलाई विचारधारामा परिवर्तन गरेर हरेक मूल्यमा अनेक “उद्देश्य” वा “आदर्श” हासिल गर्ने प्रयत्न गरियो, चाहे तिनीहरू अप्राप्य र अवास्तविक नै किन नहोऊन् । समाजवादी वा “सर्वहारा” राज्यको विचारधारा बनेपछि मार्क्सवादले धर्मको रूप धारण गर्‍यो र विज्ञानको बदला त्यसको स्वरूपमा धर्मान्धता र राज्यद्वारा स्वीकृत “सत्यहरू” ले स्थान पाए ।

मार्क्सवादको सबभन्दा ठूलो महत्व औद्योगिक युगको सारको खोज र त्यसको व्याख्या हो । यो वाष्प इन्जिन र त्यसमाथि आधारित समाजको प्रत्यक्ष परिणाम हो । यसले आधुनिक समाजको गतिको स्रोत पत्ता लगायो : समुच्च रूपमा तथा त्यसका विभिन्न स्तरहरूमा । मार्क्सवादले गतिका विभिन्न कारणहरू तथा स्तरहरूमा पुगेर द्वन्द्ववादको अन्तहीन सम्पूर्णताको खोज गर्दछ ।

औद्योगिक क्रान्तिले नयाँ प्रकारका यन्त्रहरू, साधनहरू, उत्पादन तथा यातायातका माध्यमहरूको आविष्कार गर्‍यो । महत्वपूर्ण कुरा के हो भने त्यसले विज्ञान र प्रविधिको गतिलाई असाधारण बल प्रदान गर्‍यो र स्वयं तिनीहरूको विकासबाट विकसित भयो । औद्योगिक कालको विज्ञान, र विशेषगरी प्रविधि, मुख्यतया वाफको शक्ति र पछि विद्युतको शक्तिको वरिपरि विकसित भए । आजको बहसको सन्दर्भमा यो अत्यन्तै महत्वपूर्ण कुरा बन्दछ । विज्ञान र प्रविधिका प्रयत्नहरूमा घर्षण, ताप, प्रकाश, ध्वनि, इत्यादि शक्तिहरूमा कार्य, रासायनिक तथा भौतिक र यान्त्रिक प्रक्रियाहरूमा अनुसन्धान, उद्योग र यन्त्रमा चक्का, पुली, शफ्ट, पिस्टन, हथौडाजस्ता यान्त्रिक पार्टपूर्जाहरूको प्रयोग भयो ।

अर्को शब्दमा, वाष्पशक्तिको प्रयोगले प्रविधिमा मुख्य रूपले यान्त्रिक विज्ञान र साथसाथै विज्ञानमा भौतिक तथा रासायनिक प्रक्रियाहरूलाई अध्ययन र प्रयोगको केन्द्र बनायो । जीव विज्ञानमा वर्गीकरण र जीवहरूको त्यो संरचनाको अध्ययनमाथि जोड दिइयो, जुन खुल्ला आँखा र माइक्रोस्कोपबाट देख्न सकिन्थ्यो । पछि विकासवादको सिद्धान्तले सम्पूर्ण जीवहरूलाई एक सूत्रमा बाँधेर तिनीहरूको एकता सिद्ध गरिदियो । पछि विद्युत चालित यन्त्रहरू तथा साधनहरूले, प्रविधि तथा चेतनाको विकासमा ठूलो कदम उठाए, तर तिनीहरू सबै औद्योगिक कालकै सीमाहरूभित्र रहिरहे ।

औद्योगिक कालको विज्ञान, प्रविधि र अर्थशास्त्रका अध्ययनहरूमा मात्रात्मक परिवर्तनहरूको ठूलो महत्व रह्यो, किनभने तिनीहरूलाई बढी सजिलोसँग सिद्ध गर्न सकिन्थ्यो । त्यसपछि तिनीहरूबाट गुणात्मक परिवर्तन सिद्ध गर्न सकियो, जुन कैयौं अवलोकनहरू र प्रयोगहरूपछि पत्ता लगाउन सकिन्थ्यो । यन्त्रविज्ञान, जीवविज्ञान तथा अर्थशास्त्रले कार्य–कारण–प्रभाव सम्बन्धहरूका खोजहरू संभव बनाइदिए र भौतिकवादी द्वन्द्ववादसहित सबै विज्ञानहरूलाई एउटा ठोस आधार प्राप्त भयो । यी सबैको बीचमा के ध्यान दिनयोग्य छ भने यी सम्पूर्ण अवलोकन त्यस बेला विज्ञान तथा प्रविधि र समाजशास्त्रद्वारा हासिल गरिएका सीमाहरू र स्तरहरूद्वारा सीमित थिए । अवलोकित प्रक्रियाहरू, चाहे तिनीहरू प्रकृतिका होऊन् वा समाजका, देख्न सकिने सीमाहरूभित्र थिए : यहाँ जब हामी “देख्ने” कुरा गर्दछौं, तब त्यसमा यन्त्रहरूद्वारा देखिने कुरा पनि सामेल छ । यदि वर्तमानसँग तुलना गर्ने हो भने, प्रक्रियाहरू धेरै बढी ढिलो र मन्द गतिले चल्दथे, जसलाई हेर्न र बुझ्नको लागि वर्षौं, दसकौं र शताब्दियौंका प्रयोगहरूको आवश्यकता थियो । “कार्य” धेरै मन्द गतिले,  “आराम” ले, बढी “सोच–विचार” समय लिएर हुने गर्दथ्यो । यद्यपि १७औं–१८औं शताब्दीभन्दा पहिलेका अति मन्द गतिहरूको तुलनामा ती गतिहरूमा अत्यधिक तीव्रता आएको थियो, तर आजको तुलनामा औद्योगिक गतिहरू अत्यन्तै मन्द देखिन्छन् । 

हेगेल र मार्क्सका सबभन्दा महत्वपूर्ण खोजहरूमध्ये एउटा द्वन्द्ववाद हो । मार्क्सले उपर्युक्त परिस्थितिहरूमा नै द्वन्द्वको भौतिक स्रोत पत्ता लगाए । वा यसो भनौं, त्यस बेलाका वैज्ञानिक–प्राविधिक तथा सामाजिक परिस्थितिहरूले द्वन्द्व तथा द्वन्द्ववादको प्रमाण पेश गरे, त्यसको लागि ठोस तथ्य अगाडि ल्याए । मार्क्सले हेगेलको द्वन्द्ववादलाई खुट्टाको बलमा उभ्याएर चिन्तनमा क्रान्ति ल्याए ।

तर आज यो चिन्तन तथा यसका द्वन्द्ववादी स्रोतका सीमाहरू देखिन लागेका छन् । द्वद्ववादले प्रकृति, प्रविधि र समाजको विकासका भौतिक आधार यान्त्रिक, आणविक, कोशिकीय, सेल्यूलर, वर्गीय, ठोस उत्पादन–वितरण साधनहरू, एउटा विशेष सीमा र स्तरसम्म मात्र देखिने प्राकृतिक–नैसर्गिक प्रक्रियाहरूको स्वगतिको अवलोकन र विश्लेषण गर्‍यो । अर्को शब्दमा मार्क्सीय द्वन्द्ववाद स्वगतिशिल अवश्य थियो, तर आजको तुलनामा यान्त्रिक र न्यूटनीय पनि थियो ।

द्वन्द्ववादको सम्बन्धमा एउटा अर्को ऐतिहासिक पक्षको विश्लेषण आवश्यक छ, जुन यसभन्दा पहिले उल्लेखित विषयसँग सम्बन्धित छ । “द्वन्द्व” लाई प्रायः विपरीतहरूको एकता र संघर्षको रूपमा पेश गरिएको छ, र समयसँगै “विपरीतहरूको संघर्ष” माथि जोड बढ्दै गएको छ । द्वन्द्ववादको यो व्याख्याले मार्क्सवादी दर्शनलाई विकृत बनाएको छ र एकतर्फी रूपमा पेश गरेको छ । स्वयंमा, पूर्णतया अलग रूपमा, सही भएर पनि सम्पूर्ण रूपमा, अन्तरसम्बन्धहरूमा यो गलत, यान्त्रिक र न्यूटनीयन छ । न्यूटनले गुरुत्वाकर्षण र ठोस पदार्थसम्बन्धी नियमहरूका आफ्ना महान खोजहरूको फलस्वरूप कैयौं शताब्दीका मानवचिन्तनमाथि आफ्नो गहिरो छाप छोडे । मार्क्सवाद यसबाट अछुतो छैन । विशेषगरी न्यूटनको (क्रिया–प्रतिक्रिया बराबर र विपरीत हुन्छन्) को निमयले दर्शनसहित सबै प्रकारका चिन्तनलाई  प्रेरित गरेको छ ।

मार्क्सको महानता विशेषता के थियो भने उनी यो सीमाभन्दा धेरै बाहिर निस्किए तथा प्रक्रियाहरूको गतिको स्वाभाविकता पत्ता लगाए । उनले विकासका स्रोतहरू तथा गतिका विभिन्न नियमहरूको माध्यमले वस्तुगत गतिको निरन्तरताको खोज गरे ।

तर पनि, यो स्वगतिले आफ्नो यान्त्रिक स्वरूप पूर्ण रूपले छोड्न सकेन । जब हामी “यान्त्रिक” भन्दछौं, तब यो शब्दको प्रयोग दुई सापेक्ष अर्थहरूमा गरिरहेका हुन्छौं । एउटा त कुनै प्रक्रियामा “विपरीत प्रवृत्तिहरू” को खोजको प्रयत्न र अर्को आजको माइक्रोइलेक्ट्रोनिक्सको युगको तुलनामा । मार्क्स र एंगेल्सले बारम्बार कुनै पनि प्रक्रियामा, चाहे त्यो सामाजिक होस् वा जैविक, भौतिक, रासायनिक वा अन्य होस्, विपरीत प्रवृत्तिहरूको खोज गर्ने प्रयत्न गरे र तिनीहरूलाई पत्ता पनि लगाए । यसबाट अवश्य नै प्रक्रियाको गतिका स्रोतहरू र स्वरूपको व्याख्या हुनसक्यो, तर कालान्तरमा यो स्वयंमा एउटा पूर्वाग्रह बन्यो, सम्पूर्ण विकास द्वन्द्वमा सीमित रह्यो, द्वन्द्व केवल “संघर्ष” मा मात्र सीमित रह्यो, र द्वन्द्व वा “संघर्ष” द्वन्द्वात्मक भौतिकवादको पर्याय बन्यो ।

द्वन्द्ववादी तरीकालाई सबभन्दा ठूलो हानि समाजमा यसको प्रयोगले पुर्‍यायो, वा यसो भनौं, जसरी सामाजिक घटनाहरूमाथि यसलाई लागू गरियो, त्यसबाट यसलाई ठूलो हानि भयो । समस्याको एउटा पक्ष त के हो भने ऐतिहासिक भौतिकवादले सामाजिक विकासको ठोस भौतिकवादी द्वन्द्ववादी आधार पत्ता लगायो, मार्क्सले यसको भौतिकवादी व्याख्या गरे र यसरी समाज किन र कसरी विकसित हुन्छ भन्ने कुरा हामीले बुझ्न सक्यौं ।

तर समयसँगै मार्क्सवादी द्वन्द्ववादको आन्तरिक यान्त्रिक तत्वको, “विपरीतहरूको संघर्ष” को, महत्त्व बढ्दै गयो । सबै सामाजिक घटनाहरूको व्याख्या संघर्ष, लडाइँ, वर्गसंघर्ष, सत्तासंघर्ष, राज्य संयन्त्रको विनाश, इत्यादि अर्थहरूमा गर्न लागियो । मार्क्सवाद जति बढी वर्गसंघर्ष र सत्तासम्बन्धी प्रश्नहरूसँग जुध्न लाग्यो, जति त्यो सर्वहाराको सत्ताको स्थापनाको सपना देख्न र त्यसका ठोस तयारीहरूमा लाग्यो, त्यति नै त्यसको दर्शनको द्वन्द्ववाद संकुचित हुँदै गयो । ठोस सामाजिक घटनाहरूलाई मार्क्सवादी आन्दोलनमा यान्त्रिक अर्थमा लिन लागियो र आर्थिक, राजनीतिक तथा सामाजिक घटनाहरू र संरचनाहरूले अपरिवर्तनशील, शाश्वत सत्यहरूको रूप धारण गर्नलागे ।

यिनै घटनाहरूबाट मजदूर, सामाजिक–जनवादी र कम्युनिष्ट पार्टीहरू र आन्दोलनहरूको जन्म र विकास भयो । तिनीहरूले मार्क्सवादलाई सम्पूर्ण रूपमा होइन, द्वन्द्ववादी तरीकाको रूपमा होइन, बरु यिनै शाश्वत सत्यहरूको प्रणालीको रूपमा अपनाए । “सत्यहरू” ले प्रचारित गरिने सूत्रहरूको रूप धारण गरे । यहाँसम्म कि प्रकृति र विज्ञानसम्बन्धी मार्क्सवादी दर्शनका खोजहरूलाई पनि आन्दोलनले सूत्रहरूको रूप प्रदान गर्‍यो । सामाजिक न्यायको लागि संघर्षमा लागेको आन्दोलनको लागि शोषण तथा पूँजीपतिको वर्गको विरुद्ध लड्नु आवश्यक थियो, त्यसकारण त्यसको लागि  “विपरीतहरूको संघर्ष” बढी उपयोगी थियो । यो आवश्यकताले तथा आन्दोलन र समाजवादी राज्यहरूको गैरजिम्मेवार नेतृत्वले सम्पूर्ण मार्क्सवादलाई वर्गसंघर्ष र हरेक प्रकारको “टकराव” लाई “संघर्ष” मा सीमित गरिदिए ।

यति मात्र होइन, आन्दोलन तथा राज्यको बढीभन्दा बढी रेखदेखमा मार्क्सवादी तरीकाको विकास उल्टो हुनलाग्यो । मार्क्स र एंगेल्सको प्रकृतिको विकासका सामान्य नियमहरूको खोज गरेर दर्शनको रचना गरेका थिए र यिनै तरीकाहरूबाट सामाजिक विकासका कारणहरू तथा दिशाको खोज गरेका थिए । उनीहरू समाजलाई प्रकृतिको, वा वस्तुगत सत्यको एउटा अंग मान्दथे ।

तर जब मार्क्सवादी आन्दोलन राज्यको एउटा विचारधारा मात्र बन्नगयो, तब समाजका नियमहरूलाई प्रकृति र वस्तुगत सत्यमाथि लाद्न थालियो । “विपरीत” र “संघर्ष” ले अब समाजबाट निस्किएर प्रकृतिमा काम गर्न लागे । यदि हामी स्टालिन कालमा विज्ञानसम्बन्धी वाद–विवादमाथि दृष्टि दिन्छौं भने, तब के स्पष्ट हुन्छ भने कसरी जेनेटिक्स, साइबरनेटिक्स्, भौतिकविज्ञान, इत्यादिमा “वर्गशत्रु” खोज्ने प्रयत्न गरियो । आइन्स्टाइन र मेण्डलका सिद्धान्त पूँजीवादी–साम्राज्यवादी विचारधाराको प्रतीक बन्नगए । फलस्वरूप मार्क्सवादको विकास लगभग रोकियो ।

रुसी क्रान्तिपछि मार्क्सवाद एउटा राजकीय विचारधारा बन्यो । वास्तवमा विचारधारा बन्ने यो प्रक्रिया लेनिनका रचनाहरूबाटै शुरु हुन्छ, यद्यपि यसका चिन्हहरू मार्क्स–एंगेल्सका रचनाहरूमा पनि प्रकट हुन लाग्दछन । “विचारधारा” को संरक्षणको प्रयत्नमा दर्शन र त्यसको द्वन्द्ववादी तरीका कमजोर हुनलाग्दछन् । यद्यपि न मार्क्सले, न लेनिनले नै सामाजिक घटनाहरूको विश्लेषणमा द्वन्द्ववादी तरीकालाई कहीं कमजोर हुन दिए । मार्क्सको पूँजी वा लेनिनको रुसमा पूँजीवादको विकास, फेब्रुअरीदेखि अक्टुवर १९१७ सम्म रुसी क्रान्तिको विकाससम्बन्धी उनका रचना त्यसका उदाहरण हुन् । तर दर्शनबाट ध्यान मोडियो, र अर्को, लेनिनलाई छोडेर अधिकांश अन्य नेताहरू तथा आन्दोलन तथा समाजवादी राज्यले द्वन्द्ववाद र दर्शनलाई पूर्ण रूपले परित्याग गरे ।

यो बहसबाट जुन कुरा स्पष्ट हुन्छ, त्यो के हो भने मार्क्सवादी दर्शन र त्यसका विभिन्न अवयवहरूको विकास लगभग बन्द भयो । द्वन्द्व र द्वन्द्ववाद (dialectics) केवल विपरीत प्रवृत्तिहरूको संघर्ष मात्र होइन, बरु यसबाहेक धेरै अरु पनि हो । द्वन्द्ववाद गतिको द्योतक हो, यसले परिवर्तनलाई प्रतिबिम्बित गर्दछ, नयाँ पक्षहरू उजागर गर्दछ, पुरानो लुप्त हुने प्रक्रिया र दृश्य दर्शाउँदछ, गतिका विभिन्न पक्षहरू, स्तरहरू र क्षणहरूमा अन्तरको व्याख्या गर्दछ, र तिनीहरूको परावर्तन तथा प्रतिबिम्बन गर्दछ । द्वन्द्ववाद “हो” र “होइन” को एउटै क्षण, एउटै क्षणका दुई पक्षहरू, एउटै वस्तुको दुइै पक्षहरू र दुवै एक हुने र एक नहुने दार्शनिक वास्तविकताको द्योतक हो । वास्तवमा द्वन्द्ववाद गति हो ।

हाम्रो भाषामा “द्वन्द्व” शब्द डाइलेक्टिक्सको लागि अशुद्ध र अनुचित छ । डाइलेक्टिक्स बढी पूर्ण, गतिशील, बहुपक्षीय र प्रेरक छ । “द्वन्द्व” ले सम्पूर्ण गति र जीवन तथा त्यसका स्रोतलाई सीमित गरिदिन्छ, यहाँसम्म कि जीवनलाई नै समाप्त गरिदिन्छ । आन्दोलनले आफ्ना विभिन्न भाषाहरू “द्वन्द्व” कै अर्थ अपनायो ।

के द्वन्द्वात्मक भौतिकवाद सही अर्थमा दर्शन हो ?

दर्शनको चरित्र तार्किक हुन्छ, त्यसले संभावनाहरू र विचारहरू, अनुमानहरूको स्तरमा बढी काम गर्दछ । यहाँसम्म कि विचार–कल्पना तथा शुद्ध तर्कलाई नै दर्शन भनिन्छ । दर्शन मानवसमाजको विकासका निम्न र निम्नतम् स्तरहरूको प्रतिबिम्ब हो, जब प्रकृति र मानव सम्बधी घटनाहरूको वैज्ञानिक ज्ञानको अभाव थियो र जब मानिससँग यन्त्र तथा उत्पादन र यातायातका साधनहरू थिएनन्, जसबाट उसले ठोस सत्यहरू र कारणहरूलाई पत्ता लगाउन सकोस् । केवल जटिल प्रश्नहरू मात्र होइन, बरु साधारण प्रश्नहरूको उत्तरमा पनि मानिसले अनुमानहरूको सहायता लिएको छ । चिन्तनको उच्चतम् स्तरमा जब त्यो अति गहिरो र सामान्य हुन्छ, उसले जुन सामान्य सम्पूर्ण वास्तविकता र वस्तुगत अस्तित्वको अर्थ पत्ता लगाउने कोशिस गर्दछ, यहाँसम्म कि अस्तित्वकै अर्थ खोज्ने प्रयत्न गर्दछ, त्यो स्तरमा दर्शनको जन्म र विकास हुन्छ । दर्शनले त्यो अस्तित्वविहीनलाई अस्तित्वको रूप दिने प्रयत्न गर्दछ, जसलाई जान्न सामाजिक विकासको विशेष चरणहरूमा संभव छैन ।

त्यसकारण दर्शनको विकास ज्ञानको एउटा अलग शाखाको रूपमा भयो । त्यसले सदा नै पदार्थ, अस्तित्व, विचारहरूका आपसी सम्बन्धहरूको बारेमा अनुमान लगायो; सामाजिक विकासको साथसाथै उत्पादन र यातायात र यसप्रकार ज्ञानको नयाँ तरीका र माध्यम विकसित हुँदै गए । चिन्तनको विकास तार्किक पूर्वानुमानहरूबाट ठोस घटनाहरू र तथ्यहरूतिर हुनलाग्यो । तार्किक पूर्वानुमानहरूको महत्त्व एवम् क्षेत्र कम हुनलाग्यो र ज्ञान तथा त्यसका अवयवले बढीभन्दा मूर्त स्वरूप धारण गर्नलागे । औद्योगिक युगमा ज्ञानका साधनहरू र विज्ञानको विकाससँगै दर्शन बढीभन्दा बढी विज्ञान र प्रविधिका खोजहरूमाथि निर्भर हुनलाग्यो र यसप्रकार दर्शन र विज्ञानको बीचको दूरी कम हुँदै गयो ।

हेगेलको दर्शन अमूर्त र रहस्यमय चिन्तनको उच्चतम् स्तरको उदाहरण हो, तर साथसाथै त्यो के कुराको प्रतिबिम्ब हो भने सामाजिक, वैज्ञानिक र प्राविधिक परिस्थितिहरूको विकास यो बिन्दुसम्म परिपक्व भइसकेको छ कि रहस्यमय चिन्तनलाई मूर्त र ठोस वस्तुगत प्रक्रियाहरूमा निरुपित गर्न सकिन्छ वा बदल्न सकिन्छ, विचारबाट पदार्थ र पदार्थबाट विचारमा रुपान्तरण, संक्रमण, परिवर्तन, व्याख्या, स्थानपरिवर्तन र दुवैको एकीकरण सजिलो र संभव भयो । हेगेलको दर्शन, दर्शनको (विचारहरूको अर्थमा) उच्चतम् विकास र अन्तिम चरण थियो ।

मार्क्सले हेगेलको दर्शनलाई आफ्नो खुट्टामा उभ्याइदिए, तर त्यसपछि त्यो दर्शन रहेन । दर्शनले अन्य प्रश्नहरूको अतिरिक्त पदार्थ र चेतनाका सम्बन्धहरू र अन्तरप्रवेशहरू तथा एउटाबाट अर्कोको उदय र एउटाको अर्कोमा परावर्तन र प्रतिबिम्बनको अध्ययन गर्दछ : त्यसैकारण त्यो दर्शन हो । तर औद्योगिक क्रान्तिको उपजले विज्ञानको सहायताबाट विशेषगरी मार्क्स र एंगेल्सले के सवित गरिदिए भने विचार वस्तुगत वास्तविकता, अर्थात् पदार्थबाट उत्पन्न हुन्छन् र पदार्थको सबभन्दा विकसित रचना मस्तिष्कमा परावर्तित र प्रतिबिम्बित भएर विचारहरूको रूप धारण गर्दछन् । यो महान खोज गरेर, जसलाई हामी द्वन्द्वात्मक भौतिकवाद भन्दछौं, मार्क्सले पदार्थ र विचारहरूको सम्बन्धको समस्यालाई समाधान गरिदिए; साथसाथै उनले अन्य सबै दार्शनिक समस्याहरूलाई तर्कको संसारबाट हटाएर भौतिकवादी वास्तविकताको अंश बनाइदिए । दर्शनको विकासमा यो गुणात्मक परिवर्तनबाट दर्शनको अलग अस्तित्वको कुनै आवश्यकता रहेन । जब हामी वास्तविकता वा वस्तुगत परिस्थितिको कुरा गर्दछौं, तब त्यसका अलग–अलग पक्षहरू, समस्याहरू, क्षेत्रहरू र विषयहरूको अध्ययन त अलग–अलग विज्ञानहरूले गर्दछन् – जस्तै रसायनविज्ञान, भौतिकविज्ञान, जीवविज्ञान, अन्तरीक्षविज्ञान, अर्थशास्त्र, समाजविज्ञान, राजनीतिशास्त्र, इत्यादि ।

यसप्रकार विज्ञानले यो सिद्ध गर्दछ र के मानेर चल्दछ भने विचार ती वस्तुगत क्षेत्रहरू वा परिस्थितिरुबाट उत्पन्न हुन्छन्, जसको त्यसले अध्ययन गर्दछ । विज्ञानले स्वयंमा विचारहरूको उदयप्रक्रियाको अध्ययन गर्दैन र न त्यसको लागि आवश्यक नै छ, तर जब त्यसले कुनै घटनाप्रक्रिया वा अस्तित्वको खोज गर्दछ र त्यसको व्याख्या गर्दछ वा गर्ने प्रयत्न गर्दछ, तब यो सबै कुरा हाम्रो चेतनाको भाग बन्दछ । यसबाट दर्शनको स्वतन्त्र अस्तित्व समाप्त हुन्छ र त्यो विज्ञान तथा प्रविधिमा विलीन हुन्छ ।

द्वन्द्वात्मक भौतिकवाद के मानेर चल्दछ भने जेजति छ, त्यो भौतिक वास्तविकता हो, जसले लगातार चेतनालाई जन्म दिइरहन्छ । यति खोज गरेपछि त्यसले आफ्नो मुख्य ध्यान त्यो द्वन्द्ववाद वा डाइलेक्टिक्समाथि दिन्छ, जुन विश्वमा निरन्तर क्रियाशील छ । तर द्वन्द्ववाद वा डाइलेलेक्टिक्सको अध्ययन दर्शन होइन र यहाँ आएर दर्शनको भूमिका समाप्त हुन्छ र द्वन्द्वात्मक भौतिकवादको विषयवस्तु बदलिन्छ । स्वयं एंगेल्सले एक स्थानमा भनेका छन् – द्वन्द्वात्मक भौतिकवाद वास्तविक अर्थमा दर्शन होइन । औद्योगिक क्रान्तिले गहिरो अर्थमा दर्शनको अन्तको आधार तयार गर्दछ ।

नवप्राविधिक क्रान्ति र दर्शन

म्याक्स प्ल्यांक, अल्वर्ट आइन्स्टाइन, वर्नर हाइजेनवर्ग, एर्विन श्रोडिंगर, निल्स बोहर तथा अन्य वैज्ञानिकहरूका खोजहरूले क्वान्टम विज्ञानको आधार तयार गरे । आइन्स्टाइनको सापेक्षवादको सिद्धान्तले केवल सम्पूर्ण विज्ञानको आधारलाई मात्र बदलेन, यसभन्दा पनि बढी महत्वपूर्ण कुरा के हो भने क्वान्टम विज्ञानमा आधारित नयाँ प्रविधिहरूको विकासको मार्ग खोलिदियो ।

मार्क्सवादी दर्शन क्वान्टम शक्तिका प्रयोगहरू तथा सिद्धान्तहरूको सम्पूर्ण चरणबाट पूर्ण रूपले अलग रह्यो । फलस्वरूप यसको विकास लगभग रोकियो, र यो कुरा यसको लागि घातक सिद्ध भयो । र, यो कमीको एउटा प्रमुख कारण समाजवादी राज्यद्वारा मार्क्सवादलाई विचारधारको रूपमा तथा आफ्ना हितहरूमा प्रयोग रहेको छ । क्वान्टम गतिका नियमहरूको खोजबाट विज्ञानमा विगत आठ दसकहरूमा जुन परिवर्तन आएका छन्, तिनीहरूलाई मार्क्सवादले आत्मसात गर्नुपर्दथ्यो । आज यी क्वान्टम नियमहरू र शक्तिहरू विज्ञानमा मात्र सीमित रहेका छैनन्, बरु नयाँ प्रविधिको रूपमा सामाजिक शक्तिहरू बनेका छन् । नयाँ प्रविधिहरूले समाजका परम्परागत संरचनाहरू परिवर्तन ल्याएर परम्परागत चिन्तनमा पनि आमूल परिवर्तनको माग गरिरहेका छन् ।

जहाँ औद्योगिक क्रान्तिले दर्शनलाई आफ्ना उच्चतम् शिखरहरूसम्म पुर्‍याएको थियो र त्यसलाई अत्यन्तै विकसित र जटिल बनाएको थियो, आजको माइक्रोइलेक्ट्रोनिक्समा आधारित नवप्राविधिक क्रान्तिले यसमा के परिवर्तन ल्याइरहेको छ ? के आज दर्शनको प्रासंगिकता कामय रहेको छ ? दर्शनका कुन पक्षहरूमा कुन प्रकारका परिवर्तनहरू भइरहेका छन् ? इत्यादि अनेकौं प्रश्नहरूमाथि विचार गर्नु आवश्यक छ ।

समय, स्थान र गतिका बदलिरहेका स्वरूप तथा सम्बन्ध

परमाणुभित्रका अतिद्रूत शक्तिहरूको वैज्ञानिक र सामाजिक प्रयोगको कारण सामाजिक घटनाहरूको गति तीव्र हुँदै गइरहेको छ र त्यो एउटा यस्तो गुणात्मक बिन्दुमा पुगिरहेको छ, जहाँ यी घटनाहरूका स्वरूप र आपसी सम्बन्ध बदलिन्छन् । अहिलेसम्म सामाजिक विकास र सामाजका घटनाक्रम धेरै “आराम” ले, मन्द गतिले, एक चरणबाट दोस्रोमा, दोस्रोबाट तेस्रो हुँदै क्रमबद्ध घटनाहरूको इतिहास हो । समाजविकासका विभिन्न चरणहरूमा त्यसको एउटा व्यवस्थित संरचना देख्न सकिन्छ, जुन धेरै समयसम्म स्थायी रहन्छ, जस्तै सामन्तवाद वा पूँजीवाद । यस्ता समाजहरूमा स्थान–सयमलाई बढी स्पष्ट रूपले चरणहरू, समयहरू र घटनाहरूमा विभाजन गर्न सकिन्छ । तर आज अत्यन्तै थोरै समयमा सयमलाई बढी स्पष्ट रूपले चरणहरू, समयहरू र घटनाहरूमा विभाजन गर्न सकिन्छ ।

तर आज अत्यन्तै थोरै समयमा घटनाहरू घटिरहेका छन् । सदियौंका परिवर्तनहरू दसकौं, वर्षौं, यहाँसम्म कि महिनौंमा भइरहेका छन् । स्थान–समय खुम्चिएर केन्द्रित हुँदै गइरहेको छ । समाजको “विकास” का “चरणहरू” पत्ता लगाउन कठिन हुँदै गइरहेको छ; समयक्रम निश्चित गर्न त अझ पनि कठिन । स्थान, समय, सामाजिक स्वरूप तथा संरचना, इत्यादि खुम्चिएर अत्यन्तै द्रूत गतिले बदलिरहेका छन् । इलेक्ट्रोनिक तथा क्वान्टम गतिहरू सामाजिक जीवनका अंग बनिरहेका छन् ।

पदार्थको अवधारणा र पदार्थ तथा चेतनाको सम्बन्ध

पदार्थ के हो, यससम्बन्धमा दर्शनमा पर्याप्त बहस भइसकेको छ र आज पनि चलिरहेको छ । आदर्शवादसँग दार्शनिक वाद–विवादमा मार्क्सले निर्विवाद रूपले के सिद्ध गरिदिए भने विचारहरूको उत्पत्ति पदार्थबाट हुन्छ र पदार्थ एउटा वस्तुगत वास्तविकता हो, जुन चेतनाभन्दा पर छ । वीसौं शताब्दीको आरम्भमा दर्शनमा त्यस बेला धेरै तीव्र विवाद शुरु भयो, जब परमाणुभित्र इलेक्ट्रोन तथा प्रोटोनका कणहरूको खोज भयो र तबसम्म अविभाज्य मानिने परमाणु विभाजित भयो । दार्शनिकहरूको एउटा धाराले के घोषणा गर्‍यो भने परमाणु विभाजित हुनासाथ भौतिकवाद र पदार्थको परिकल्पना पनि समाप्त भइसकेको छ । त्यस्तो समयमा लेनिनले १९०८ मा लेखेको आफ्नो प्रसिद्ध रचना “भौतिकवाद तथा अनुभवसिद्ध आलोचना” मा भौतिकवादको पक्षमा के सिद्ध गरिदिए भने पदार्थ “समाप्त” भएको छैन, बरु अझ पनि गहन भएको छ र त्यसको यो गहनता अन्तहीन छ । विज्ञानको पछिको विकासले पदार्थसम्बन्धी यो सिद्धान्तको पुष्टि गरेको छ ।

दुर्भाग्यले लेनिनको यो रचना नै दर्शनको क्षेत्रमा कुनै मार्क्सवादीद्वारा लेखिएको अन्तिम गम्भीर रचना सिद्ध भयो । यद्यपि विभिन्न मार्क्सवादी विचारकहरू, नेताहरू तथा विद्वानहरूले, चाहे उनीहरू पश्चिममा होऊन् वा समाजवादी देशहरूमा, अवश्य नै दर्शनका विभिन्न पक्षहरूमाथि विचार गरे । तर समग्रमा के भन्न सकिन्छ भने लेनिनपछि मार्क्सवादी दर्शनको विकास लगभग अबरुद्ध भयो, पछि गएर त्यो बिल्कुलै रोकियो, र आज त्यो गम्भीर संकटमा फसिसकेको छ ।

यसको मुख्य कारण के हो भने मार्क्सवादी चिन्तनले क्वान्टम विज्ञान र विज्ञानका अन्य कैयौं क्षेत्रहरूमा भएका युगान्तरकारी खोजहरूको उपेक्षा गर्‍यो । फलस्वरूप जहाँ विज्ञान र प्रविधि न्यूटनको प्रभावबाट मुक्त भएर आइन्स्टाइनको युग वा क्वान्टम युगमा प्रवेश गरिरहेको थियो, त्यहीं मार्क्सवादी दर्शन औद्योगिक युगमा नै विचरण गरिरह्यो । यो बाधाको लागि मुख्य रूपले समाजवादी देशहरूका शासक वर्ग र पार्टी जिम्मेवार छन् ।

क्वान्टम विज्ञानका खोजहरू तथा सिद्धान्तहरूले चिन्तनका नयाँ आयाम खोलिदिए । आजको कम्प्युटर तथा माइक्रो-इलेक्ट्रिोनिक क्रान्तिले कैयौं नवीन सिद्धान्त र समस्याहरू उत्पन्न गरेको छ । आज विज्ञान र प्रविधिले पदार्थको यति निकट र गहन अध्ययन गरिरहेको छन् कि पदार्थ र चेतनाको बीचको सीमारेखा समाप्त भएजस्तो प्रतीत भइरहेको छ । क्वान्टम विश्वमा पदार्थको परिकल्पना बाहिरको परिकल्पनाभन्दा पर्याप्त अलग देखिएको छ । आज हामी बढीभन्दा बढी परमाणुभित्रका शक्तिहरू र गतिहरूसँग काम गरिरहेका छौं । परमाणुभित्र पदार्थको के अर्थ हुन्छ ? गति, समय र स्थानसँग त्यसको के सम्बन्ध छ ?

परमाणुभित्रका गतिहरूलाई हामी आँखाले त देख्न सक्दैनौं, शक्तिशाली यन्त्रको सहायताले पनि तिनीहरूलाई पत्ता लगाउन कठिन हुन्छ । आज अत्यन्त शक्तिशाली यन्त्रको सहायताले हामीले केवल तिनीहरूलाई जानिरहेका मात्र छैनौं, बरु तिनीहरूलाई आफ्नो दैनिक जीवनमा उपयोग पनि गरिरहेका छौं । तर पदार्थका यी गतिहरूसम्म पुग्नको लागि हामीलाई असाधारण यन्त्रहरूको आवश्यकता परिरहेको छ । ती यन्त्रहरूले गतिका विभिन्न क्षणहरू र विभिन्न रूपहरूलाई हामीसम्म ल्याइपुर्‍याउँदछन् । यसप्रकार क्वान्टम संसारका गतिहरूलाई विभिन्न प्रतीकहरूद्वारा हाम्रो मस्तिष्कले ग्रहण गर्दछ । ती प्रतीकहरू हाम्रो दैनिक जीवनको अंग बन्दै गइरहेका छन् – चाहे तिनीहरू जैविक वा भौतिक प्रक्रियाहरू होऊन्, चाहे बजारमा मूल्यहरूको उतार–चढावका घटनाहरू । यसप्रकार हामी कुनै पनि घटनालाई माइक्रो-इलेक्ट्रोनिक र अन्य क्वान्टम गतिमा बदल्दछौं र पुनः त्यसलाई कम्प्युटर वा टि. भी. को स्क्रीनमा हेर्दछौं वा आवाजको रूपमा सुन्दछौं । यसको अर्थ के भयो भने हाम्रो ज्ञान, हाम्रो चेतनाको विकास बढीभन्दा प्रतीकात्मक हुँदै गइरहेको छ । हामी वस्तुको प्रत्यक्ष सम्पर्कमा कम आइरहेका छौं, त्यसका प्रतीकहरूको सम्पर्कमा बढी । भौतिक प्रक्रिया पहिले स्क्रीनमा वा कुनै यन्त्रमा प्रतिबिम्बित भएको हुन्छ, र त्यसपछि हाम्रो मस्तिष्कमा एकपटक पुनः प्रतिबिम्बित हुन्छ ।

यसप्रकार पदार्थको जानकारीको लागि कम्तीमा पनि दुई प्रतिबिम्बनहरूको आवश्यकता हुन्छ । यो चेतना र पदार्थको प्रत्यक्ष सम्बन्ध होइन । पदार्थसम्बन्धी बढी जानकारीको लागि हामीले यस्ता यन्त्रहरू बनाएका छौं, जसमा मस्तिष्कका केही गुणहरू हुन्छन्, जस्तै कमप्युटर, जसले एक हदसम्म तरंगहरू र सूचनाहरूलाई छान्न सक्दछन् र तिनीहरूको विश्लेषण पनि गर्न सक्दछन् । क्वान्टम गति मस्तिष्कका तरंगहरूको गतिभन्दा बढी हुनुको कारण यी असाधारण यन्त्रहरूको सहायता लिनुपर्दछ, जुन अरु केही नभएर मस्तिष्कका केही गुणहरू वा क्षमताहरूको बढी विकसित र परिमार्जित रूप हुन् ।

क्वान्टम स्तरका गतिहरूलाई हामी प्रत्यक्ष रूपमा वा औद्योगिक युगका यन्त्रहरूद्वारा प्राप्त गर्न सक्दैनौं । यी गतिहरू अप्राकृतिक छन्, यस अर्थमा कि यिनीहरू पृथ्वीमा पाइने वस्तुहरूका विशेषता होइनन् । अहिलेसम्म जसरी हामीले पदार्थलाई परिभाषित गर्‍यौं, त्यसको आधार मुख्यतया प्रत्यक्ष रूपमा देखिने घटनाहरू थिए, जसका गतिहरू अत्यन्तै मन्द थिए । औद्योगिक युगमा पनि जुन यन्त्रहरू र साधनहरूको हामीले प्रयोग गर्ने गर्दथ्यौं, तिनीहरू प्राकृतिक शक्तिहरूको धेरै नजिक थिए ।

तर अब क्वान्टम क्षेत्रका अप्राकृतिक शक्तिहरू हाम्रो ज्ञानको साधन बनिरहेका छन् । पदार्थले गति र समय तथा स्थानका आयामहरू र अन्तरसम्बन्धहरूमा केवल परिवर्तन मात्र ल्याइरहेको छैन, बरु तिनीहरूका कैयौं पक्षहरूको परित्याग पनि गरिरहेको छ । पदार्थ गतिको पदार्थ बन्दै गइरहेको छ र यसको फलस्वरूप समय अत्यन्तै छोटो हुँदै गइरहेको छ । पृथ्वीका स्थितिहरूमा स्थान र समयको महत्व अति द्रूत गतिको फलस्वरूप कम र पुनः समाप्त हुँदै गइरहेको छ । त्यसको कारण के हो भने पृथ्वी एउटा सीमित वस्तु हो, जसलाई अत्यन्तै सजिलोसँग पदार्थ, समय र स्थानका सीमित अर्थहरूमा समेट्न सकिन्छ । तर अन्तरीक्ष असीमित छ, त्यसकारण अन्तरीक्षका गतिहरूको लागि पृथ्वीजस्तो वस्तुले एक क्षण र बिन्दुभन्दा पनि कमको महत्व राख्दछ । प्रकाशको गति हाम्रो अस्तित्वमाथि क्षण भरमा नै हावी हुन्छ र स्थान र समयभन्दा पर धेरै टाढा जान्छ । अन्तरीक्षका गतिहरू र समय पृथ्वीमा पाइने गतिहरू र कालको विपरीत असीमित छन्; यति मात्र होइन, तिनीहरू पदार्थका अतिसूक्ष्म र अन्तहीन क्वान्टम शक्तिहरूको रूपमा व्याप्त छन् । फलस्वरूप पृथ्वीमा पाइने सबै नियमहरूले अन्तरीक्षमा केवल एउटा अलग मात्र होइन, बरु विपरीत रूप धारण गर्दछन् ।

यो स्थितिले दर्शनमा अन्तर्विरोध र संकट उत्पन्न गरिरहेको छ । अहिलेसम्म समाज प्राकृतिक र सामाजिक नियमहरूद्वारा संचालित थियो, तर आज समाजले ती क्वान्टम नियमहरूलाई प्राविधिक र सामाजिक रूप प्रदान गर्न शुरु गरेको छ, जुन त्यसको अहिलेसम्मको स्वभावको विपरीत छ । प्राकृतिक शक्ति अप्राकृतिक शक्तिद्वारा संचालित हुनलागेको छ । दुवैको यो अन्तर्विरोधले चिन्तनलाई अप्राकृतिकतिर, अर्थात् कणहरूभित्र अवस्थित त्यो विश्वतिर लिएर गइरहेको छ, जहाँ स्थान, समय र गति त्यति नै गहन छन्, जति स्वयं अन्तरीक्ष छ । चिन्तनले औद्योगिक कालको यान्त्रिक द्वन्द्ववादका सीमाहरूलाई नाघिसकेको छ । यो चिन्तनले पृथ्वीका स्थान र समय तथा गतिका सीमाहरूलाई अत्यन्तै सजिलोसँग मापन गरेर एकीकृत गरिदिएको छ । समय र स्थान विच्छिन्न र विखण्डित भएर एउटै गतिको रूप धारण गर्दै गइरहेका छन् ।

नव-प्राविधिक क्रान्तिले विकासको साथसाथै पदार्थका अलग रूपहरू र तरीकाहरूबाट मस्तिष्कलाई प्रभावित गरिरहेको छ । क्वान्टम गतिहरूको स्तरमा पदार्थलाई प्रतीकहरूमा बदल्न आवश्यक हुन्छ । सूचना क्रान्ति यो प्रक्रियाको एउटा उदाहरण हो । पदार्थको अन्तर्क्रिया मस्तिष्कसँग होइन, यन्त्रहरूसँग हुन्छ । वस्तुगत पदार्थ र यन्त्रले एउटै व्यवस्थाको रूपमा काम गर्न लाग्दछन्, जुन मानिसको पहलको परिणाम भएर पनि धेरै हदसम्म त्यसबाट स्वतन्त्र हुन्छन्; प्रक्रियाहरूलाई विश्लेषित र संश्लेषित गर्दछन्, ताकि परिणाम मस्तिष्कको लागि ग्राह्य बन्न सकोस् । परमाणुको गहिराइमा हाम्रो प्रवेश मस्तिष्कको लागि एउटा समस्या बन्दछ र हाम्रो, अर्थात् मस्तिष्क, व्यक्ति र समाजको संरचना तथा इतिहाससँग टकराउन लाग्दछ । क्वान्टम विश्वमा चेतनाको यो प्रवेश हाम्रो अहिलेसम्मको इतिहासको निषेध हो । अब त्यसले अवश्यम्भावी रूपमा एउटा नयाँ इतिहास र नयाँ प्रकारको विकास शुरु गर्नुपर्दछ । पदार्थ केवल मस्तिष्कको लागि मात्र वस्तुगत र पर छैन, त्यो यन्त्र-व्यवस्थाको लागि पनि वस्तुगत र पर छ । यसप्रकार हुने र नहुने घटनाहरू हाम्रो लागि तब मात्र अस्तित्वमा आउँदछन्, जब हामी यन्त्र-व्यवस्थाको सम्पर्कमा आउँदछौं । यसप्रकार मानव-मस्तिष्कको यो कृति त्यसबाट स्वतन्त्र भएर उसको चेतनाको निर्माणको साधन बन्दछ ।

हामी विज्ञान र प्रविधिको विकासको एउटा यस्तो चरणमा पुगेका छौं, जहाँ वास्तविकतालाई प्रतीकहरू, चिन्हहरू, अंकहरू,  प्रकाश–तरंगहरू, इत्यादिको रूपमा परिवर्तित गरेर पहिले मस्तिष्कको लागि ग्राह्य बनाइन्छ र मस्तिष्कले त्यसलाई ग्रहण गरेर अझ विकसित विचारहरूको रूप प्रदान गर्दछ । यसबाट पदार्थ र चेतनाको प्रत्यक्ष सम्बन्ध समाप्त भइरहेको छ । साथसाथै पदार्थ परिवर्तित रूपमा आउँदछ, यहाँसम्म कि त्यसले विचारहरूको रूप धारण पनि गरिसकेको हुन्छ, जसलाई मस्तिष्कले अझ गहन रूप प्रदान गर्दछ ।

यस सम्बन्धमा एउटा अर्को रोचक पक्षमाथि विज्ञान र प्रविधिको विकाससँग ध्यान दिनु आवश्यक हुन्छ । अहिलेसम्म हाम्रो चेतना मुख्य रूपमा आँखाले देखिने प्रकाशमा, त्यसको कारण र त्यसको सन्दर्भमा विकसित भएको छ । वास्तवमा मानिस र समाजको विकास प्रकाश र अन्धकारको सन्दर्भमा नै भएको हो । उही प्राकृतिक वा नैसर्गिक र स्वाभाविक स्थिति रहेको छ, यति स्वाभाविक कि यसको हामी आम रूपमा विचारै गर्दैनौं । समाज र प्रकृतिका अन्तरसम्बन्ध सम्बन्धी चेतना एउटा अलग प्रश्न हो, यद्यपि तिनीहरूमाथि पनि प्रविधिको प्रभावमा धेरै परिवर्तन गर्नुपरिरहेको छ र नयाँ प्रकाश परिरहेको छ ।

वैज्ञानिक विकाससँगै अब हामी प्रकाशभन्दा पर तरंगहरूको बढीभन्दा बढी प्रयोग गर्न लागेका छौं । वास्तवमा क्वान्टम शक्तिहरूको प्रयोगको एउटा परिणाम यो पनि हो । हामी बढीभन्दा बढी लेजर किरणहरू, एक्स–रे, परावैजनी, इन्फ्रा–रेड, रेडियो तथा विभिन्न अन्य तरंगहरू र तरंग आकारहरूको प्रयोग गर्न लागेका छौं । त्यसै त यिनीहरूमाथि आधारित केही यन्त्र पहिले नै हाम्रो जीवनको अंग बनिसकेका थिए । तर आज प्राविधिक विकासको तीव्रताको स्थितिमा नयाँ यन्त्रहरू तथा साधनहरूको आविष्कार भइरहेको छ र तिनीहरू सामाजिक संरचनाको भाग बन्दै गइरहेका छन् ।

अदृश्य किरणहरू र तिनीहरूद्वारा चित्रित तथा प्रस्तुत वस्तुहरू वा प्रक्रियाहरूद्वारा निर्मित चेतनाको हामीले के व्याख्या गर्न सक्दछौं ? अदृश्य किरणहरूद्वारा हामी दृश्य वस्तुहरूको चित्र पनि अर्कै रूपमा देखिरहेका छौं र यी वस्तुहरूलाई संचालन गर्ने प्रक्रियाहरूलाई देख्न र बुझ्न सकिरहेका छौं । तर अदृश्य किरणहरूले हामीलाई यस्तो क्षेत्रमा लिएर जान्छन्, जहाँ मूर्तको रुवरूप लोप हुन लाग्दछ र क्षणिक प्रक्रियाहरू अति द्रूत गतिले एउटा रूपमा प्रतिबिम्बित हुन्छन् र मन्द गतिले अर्को रूपमा । मानिसद्वारा निर्मित यन्त्रको स्वरूप सहायता लिइने देखिने वस्तु, दुवैका आ–आफ्ना तथा तुलनात्मक र सापेक्ष गतिहरूमाथि निर्भर हुन्छ ।

फलस्वरूप चेतनाको निर्माण र यसको निर्माण गति पनि गतिहरूको सापेक्षताको प्रतिबिम्ब र प्रभाव हुन्छन् । साथसाथै स्वयं चेतनाको गतिले के निश्चित गर्दछ भने क्वान्टम गतिहरूको सापेक्षता र अन्तरको स्वरूप के हो । अदृश्य किरणहरू तथा नसुनिने तरंगहरूबाट निर्मित चेतना परम्परागत जैविक चेतनाभन्दा धेरै अलग हुन्छ । त्यसले त्यो स्तरमा काम गर्दछ, जुन स्तरमा स्वयं मस्तिष्कका कोशिकाहरूको आन्तरिक र द्रूत प्रक्रियाहरूले पनि काम गर्न सक्दैनन् । यसप्रकार, एकातिर त बुझ्न सकिने प्रक्रियाहरूलाई “बुझ्न नसकिने” प्रक्रियाहरूमा परिवर्तित गरेर अनुदित गर्नुपर्दछ । अर्कोतिर, बाहिरका क्वान्टम प्रक्रियालाई स्वयं मस्तिष्कका क्वान्टम स्तरका घटनाहरूसँग जोड्नुपर्दछ, ताकि मस्तिष्कको लागि ग्राह्य हुन सकून् । यो स्तरमा चेतना र वस्तुगत प्रक्रियाहरूको बीचमा पनि सीमारेखा मेटिन लाग्दछ, किनभने चेतना प्रक्रियाले स्वयं ठोस प्रक्रियाको स्वरूप अपनाउन लाग्दछ र ठोस प्रक्रियाले केवल चेतनाको गति मात्र धारण गर्दैन, बरु यो गतिभन्दा धेरै अगाडि गएर स्वतन्त्र रूप धारण गर्न लाग्दछ ।

पृथ्वीका परिस्थितिहरूको सन्दर्भमा, गति स्वयंमा एउटा स्वतन्त्र अस्तित्व बन्दै गइरहेको छ । यदि मस्तिष्क क्वान्टम गतिले चल्न लाग्यो भने, क्षणिक घटनाहरूको अन्तहीन श्रृंखलामा बदलिनेछ : यस्तो मस्तिष्कको चेतना एउटा स्तर र बिन्दुमा गतिमा विलीन भएर त्यसको एउटा भाग बन्नेछ; त्यो चेतना रहन सक्दैन । त्यसले चेतनाको स्वरूप धारण गर्नको लागि, अर्थात् जैविक बन्नको लागि, बारम्बार पछाडि फर्किनु पर्नेछ । त्यसले गतिहरूको प्रतिम्बिनको कम र व्याख्याको बढी सहारा लिनु पर्नेछ ।

के गतिलाई जान्न सकिन्छ ? बढी सही प्रश्न के हुन्छ भने के गतिको गतिलाई जान्न सकिन्छ ? यो हामीद्वारा निर्मित ती यन्त्रहरूमाथि निर्भर छ, जसले हामीलाई ती गतिहरूसम्म लिएर जान्छन् । तर जब हामी ती गतिहरूसम्म जान्छौं, तब त्यसलाई कुन सन्दर्भमा बुझ्दछौं ? आफ्नो सन्दर्भमा, गतिको सन्दर्भमा, वा दुईको तुलनात्मक सन्दर्भमा ? यहाँ दार्शनिक समस्यामा ठूलो अन्तर आउँदछ । यदि हामीले आफ्नो चेतनासहित स्वयंलाई क्वान्टम गतिको बराबरमा राख्दछौं र त्यसलाई प्रतिबिम्बित गर्दछौं वा बुझ्ने प्रयत्न गर्दछौं भने, बाहिरका वस्तु, पृथ्वी, समाज, मानिस, पदार्थ, तिनीहरूका अन्तर्विरोध अत्यन्त क्षणिक, अर्थहीन र चेतनाको लागि केवल एउटा बिन्दु मात्र देखिन्छन् । चेतना पदार्थमा विलीन भएर तथा पदार्थ चेतनामा विलीन भएर गतिशील त्यो तरंगमा बदलिन्छन्, जसको केवल एक क्षणले नै मानवचेतनाद्वारा निर्मित अत्यन्तै सीमित अस्तित्वलाई विलीन गरिदिन्छ वा एक क्षणमै पछाडि छोडिदिन्छ । दर्शन माथि उठेर चेतना–पदार्थको सम्बन्धमा विलीन हुन्छ, जब ती सम्बन्धहरूको समाधान हुन्छ, र पुनः ती सम्बन्धहरूले परा-दार्शनिक भएर गतिको स्वरूप धारण गर्दछन् । चेतना बढीभन्दा बढी गतिहरू तथा तिनीहरूका व्याख्या, तिनीहरूका अन्तरसम्बन्धहरूका व्याख्याहरूलाई गतिहरूमाथि आधारित बनाएर अगाडि जान्छ । तर अगाडि जानासाथ त्यसले अमूर्त, बढी व्यापक रूप धारण गर्न लाग्दछ; त्यसले उच्च गतिहरूका सापेक्ष तथा अमूर्त परिणामहरूलाई मूर्त रूपमा प्रतिबिम्बित गर्न लाग्दछ, त्यो उच्च स्तरमा पुग्न लाग्दछ ।

गतिहरूको बढ्दो उच्चताले समयमा समकालीनता उत्पन्न गरेर चेतनामा संकटलाई जन्म दिन्छ । कालक्रमबाट जन्मिएको चेतनाले त्यो समयलाई के गर्दछ, जुन समय नै होइन ? जुन समकालीन छ, जसले भूत र भविष्यलाई वर्तमानमा तानेर ल्याइरहेको छ ? यो कालको निषेध हो, तर कालको निषेध चेतनाको निषेध हो, र चेतनाको निषेध पदार्थको निषेध हो । कालक्रमको चेतना समकालको चेतनाको भाग बन्न लाग्दछ, वास्तवमा समकाल कालक्रमबाटै निस्किन्छ र विकसित चेतना, अर्थात् कालक्रमबाट निर्मित चेतना, अर्थात् स्तरीकृत चेतनाको द्वन्द्वलाई तीव्र बनाउँदछ, त्यसपछि समाधान गर्दछ, एउटा यस्तो चेतनाको निर्माण गर्दछ, जसमा समय–स्थान धराशायी भएर लोप हुन्छन् र पदार्थ चेतनाको पर्याय बन्दछ ।

तर साथसाथै पदार्थ चेतनाको लागि पर्याप्त रहन सक्दैन, पर्याप्त हुन सक्दैन, अन्यथा चेतनाको विकास रोकिन्छ, मस्तिष्क मृत हुन्छ, पदार्थ चेतनाभन्दा पर गएर त्यो स्वरूप धारण गर्दछ, जहाँ पुग्नको लागि चेतनाले चेतनाको स्वरूप छोड्नुपर्दछ, नयाँ मूर्त रूप धारण गर्नुपर्दछ, तर त्यो गतिमा मूर्त रूप, जहाँ मूर्त मूर्त नरहेर अमूर्त हुन्छ ।

यो अमूर्त सापेक्ष हो । यो अमूर्त मूर्तको उच्च स्तर हो; त्यसकारण मूर्त र अमूर्तको द्वन्द्व अमूर्तको उदयको विशिष्टता बन्दछ, चेतनामा संकट र द्वन्द्व विकसित हुन्छ, र त्यसले समकालीनताको प्रक्रियामा प्रवेश गर्दछ । यो द्वन्द्वको समाधान गर्ने तरीका छ, जसले चेतनालाई पदार्थसँग केवल एकीकृत मात्र गर्दैन, बरु त्यसबाट अलग पनि गर्दछ ।

नयाँ स्तरमा समय र स्थानको प्रश्न गुणात्मक तथा मात्रात्मक रूपले बढी व्यापक स्तरमा नै उत्पन्न हुन्छ । यो स्तरमा समय र स्थान, र त्यसैकारण पदार्थ, गतिबाट बढी प्रभावित र संचालित हुन्छ । हामी पदार्थको माध्यमले गतिलाई होइन, पदार्थको गतिबाट होइन, गतिको माध्यमले पदार्थलाई जान्न लाग्दछौं, हामी गतिलाई नै जान्न लाग्दछौं । चेतना गतिको बढी नजिक पुग्दछ, पदार्थ अर्थात् मूर्तबाट टाढा भएर । त्यो पदार्थको नजिक अवश्य पुग्दछ, तर अमूर्त, सामान्य र अनन्त क्षणिक परिवर्तनहरूको रूपमा । पदार्थ र चेतना दुवैले अमूर्त, सामान्य र अन्तहीन क्षणहरूको स्वरूप धारण गर्न लाग्दछन् ।

गतिले पदार्थ र चेतनाभन्दा पर जानको लागि तिनीहरूका आन्तरिक संरचना, समय र स्थानमा प्रवेश गर्दछ, र यसो गरेर तिनीहरूलाई एकीकृत गर्न लाग्दछ । यी अर्थहरूमा गति नै पदार्थ र चेतना हुन्छ, किनभने त्यसले दुवैको अन्तरलाई समाप्त गरिदिन्छ । क्वान्टम गतिहरूले बढ्दै–बढ्दै पछाडि फर्किएर रासायनिक, भौतिक, जैविक र सामाजिक गतिहरू तथा संरचनाहरूलाई नयाँ शिराबाट प्रभावित गरेर तिनीहरूलाई हाम्रो पेश गर्दछन्, त्यस रूपमा, जुन रूपमा तिनीहरू गतिको एउटा भाग मात्र रहन्छन् ।

आज मानिस समयको आयाममा प्रवेश गर्दै गइरहेको छ र उसको विकास बढीभन्दा बढी त्यही रेखा र दिशामा निश्चित हुँदै गइरहेको छ । ऊ अब स्थूल र मूर्तबाट कम आयामित भइरहेको छ । समयमा प्रवेशले उसलाई नयाँ जीवहरूबाट अलग हुने एउटा अर्को कारक प्रदान गरेको छ । यो नयाँ आयामित गतिबाट उसका सन्दर्भहरूमा तीव्र परिवर्तन भइरहेका छन्, र त्यसैकारण उसले सन्दर्भको अर्थको खोजमा आफ्नो चेतनालाई स्थानबाट हटाएर अत्यन्तै सजिलोसँग अगाडि, पछाडि, बाहिर वा भित्र लिएर जान सक्दछ । बदलिरहेका सन्दर्भहरूमा अवधारणाहरू र क्रियाकलाप समयभन्दा पर गएर वर्तमानलाई समयभन्दा पहिले नै प्राप्त गर्ने अर्थात् भविष्यलाई वर्तमानको रूप प्रदान गर्ने, वर्तमानलाई भूतकालको, र भूतकाललाई लगातार भविष्यमा राख्ने प्रयत्न बन्न लाग्दछन् । मानव बढीभन्दा बढी भविष्यमा रहन लाग्दछ र वर्तमान अब धेरै समय टिक्दैन ।

उसले भविष्यलाई वर्तमानमा वर्तमानभन्दा पहिले नै लिएर आउँदछ, भविष्यको लागि वर्तमान अब आवश्यक छ, भूतकाल त्यो सबै कुरा हो, जुन वर्तमानको विगत रूपको भाग हो, त्यसकारण उसले प्रभाव पहिले नै उत्पादित वा क्रियान्वित गरिदिन्छ, जसको लागि कारणको आवश्यकता पर्दैन, किनभने कारण वर्तमान हो, त्यसकारण बितिसकेको छ, त्यसकारण छैन, र यदि कारण जबसम्म खोज्ने वा बनाउने प्रयत्न हुन्छ, तबसम्म प्रभाव बितिसकेको हुन्छ । कारण–प्रभाव (वा कार्य–प्रभाव) का यी समस्याहरूलाई उसले क्वान्टम यन्त्रहरूको सुपुर्दगी गरिरहेको छ, तर तिनीहरू यी यन्त्रहरूको सुपुर्दगी भइरहेका छन्, त्यसकारण ऊ समाजबिना प्रभावहरूको क्षेत्रमा बढीभन्दा बढी विचरण गर्दै गइरहेको छ; फलस्वरूप चेतना कारणहरूबिना बढीभन्दा बढी केवल प्रभावहरूको प्रभावमा विकसित हुँदै गइरहेको छ । चेतना भविष्यमा हुने वर्तमान घटनाहरूको तरल रूप बन्दै गइरहेको छ, फलस्वरूप मानिस स्वयंबाट निस्किएर स्वयंलाई बदलिरहेको छ । यो चेतना, जुन न पदार्थको परिणाम हो न चेतनाको, र दुवैको परिणाम, समयको सीमारेखालाई पार गर्दै पुनः चेतनामा प्रवेश गरेर त्यसभन्दा पर जान्छ । यो द्वि–निषेधले त्यसलाई न चेतना रहन दिन्छ, न पदार्थ नै, साथसाथै त्यो एकसाथ दुवै बन्न लाग्दछ । समयबाट चेतनाको यो निर्माणमा पदार्थको तबसम्म आवश्यकता छ, जबसम्म त्यो वर्तमान र भूतमा छ, तर त्यो स्थितिमा चेतना एउटा अवशेष मात्र हो; त्यसकारण वास्तविक चेतना त्यो पदार्थबाट बन्दछ, जुन भविष्यमा छ, अर्थात् समयसँग । त्यसकारण समयमा बढीभन्दा बढी तीव्र गतिले गमन नै चेतना हो, किनभने इतिहासमा पहिलोपटक चेतनाबाट आफ्नो प्रतिबिम्ब पाएको छ, त्यो पदार्थमा, त्यो गतिमा, अझ त्यो कालमा, जसले त्यसकै समान प्रतिबिम्बिन गर्दछ, किनभने त्यो उही गतिले चल्दछ । चेतना र पदार्थको यो एकीकरण सम्पूर्ण गतिहरूको एकीकरणको प्रभाव बन्दछ, जहाँ शरीर निमित्त मात्र बन्न लाग्दछ, तर आध्यात्मिक अर्थमा होइन, बरु वास्तविक गतिहरूको, र फलस्वरूप समयहरूको, अर्थमा, जुन सदा अस्तित्वमा रहेका छन् र जसलाई मस्तिष्कले, र त्यसभन्दा पनि बढी चेतनाले, अब छुन आरम्भ गरेको छ । पुरातन कालमा मन र कल्पनाले आकाशलाई छुन्थे, अहिले पनि छुन्छन्, तर अब गतिहरू र समयले आकाशलाई छुन्छन्, किनभने तिनीहरूले पदार्थको गतिको सीमित क्षेत्रलाई छोएर, असीमित क्षेत्रहरूमा प्रवेश गरिसकेका छन् । पहिले छुनु मनको स्वतन्त्रता थियो, अब भावनाहरूले, जसले शरीरलाई जमिनमा धकेलेर कणहरू, अणुहरू, परमाणुहरूमा बदलिदिन्थे, छुनु चेतना र शरीर, अणु–परमाणु र आकाशका असीमित गतिहरू र समय एकाकार हुनु, सम्पूर्ण स्थानमा प्रसारित हुनु हो ।

हाम्रो शुरुवात समय र गति क्रमशः मन्द गरेर भएको थियो, अन्यथा मानव तथा अन्य जीव उत्पन्न नै हुँदैनथे । यो प्रक्रिया समय र गतिको स्थानमा प्रवेश, तीनैवटाको एकीकरण हो । समय र गतिको स्थानमा र स्थानको रूपमा प्रवेशले त्यो मूर्त रूपलाई जन्म दिन्छ, जुन चेतनाको प्रारम्भबिन्दु हो । यसप्रकार चेतना समय गति र स्थानबाट उत्पन्न हुन्छ, र त्यसैकारण यसले तिनीहरूलाई प्रतिबिम्बित गर्दछ । समय, गति र स्थानले पदार्थको अवधारणा अर्थात् चेतनालाई जन्म दिन्छन् । अस्तित्वको व्याख्या यी तीन आयामहरू तथा पक्षहरूको सन्दर्भ तथा अर्थमा नै गर्न सकिन्थ्यो । यसप्रकार चेतना र पदार्थ असीमित भएर पनि स्थान, समय, र गतिद्वारा सीमित हुन्छन् । अस्तित्वले एउटा विशेष सीमाभित्र मात्र आत्मबोध प्राप्त गर्दछ, त्यसकारण त्यो आत्मबोध सीमित हुन्छ र समयसँगै बोधका सीमाहरू व्यापक हुँदै जान्छन् ।

आत्मबोधको यो प्रक्रिया जटिल द्वन्द्व तथा त्यसका पक्षहरू एवं चरणहरूबाट गुज्रिन्छ । वास्तविक रूपमा ती चरणहरू र नियम हुनु आवश्यक छैन, तर चेतनाले तिनीहरूकै सहायताबाट वास्तविकताको बोध प्राप्त गर्दछ, तिनीहरूसम्म पुग्दछ र आफ्नो स्रोत खोज्दछ । यसप्रकार चेतना, पदार्थ र आत्मबोधको विकासका प्रक्रियाहरू ती “नियमहरू” द्वारा संचालित हुन्छन्, जसलाई द्वन्द्ववादका नियमहरू भनिएको छ । यी प्रक्रियाहरूले गतिका विशेष सीमाहरूभित्रै दार्शनिक, सैद्धान्तिक र समाजिक चरित्र धारण गर्दछन् । गतिका यी सीमाहरूभित्रै पदार्थ र चेतनाका द्वन्द्वसम्बन्धी प्रश्न उत्पन्न हुन्छन्, जसलाई चेतनाले निरन्तर समाधान गर्ने प्रयत्न गरिरहेको छ, अर्थात् यसभन्दा बाहिर निस्किने प्रयत्न गरिरहेको छ । यसबाट बाहिर निस्किने प्रयत्न आफ्नो स्रोतको निषेधको प्रयत्न हो, यसभन्दा अगाडि जाने र अचेतना वा पराचेतनामा परिवर्तित हुने प्रयत्न हो । दर्शनले चेतनालाई गतिका सीमाहरूमा बाँध्दछ; प्रविधिले यसलाई यी पुरातन सीमाहरूभन्दा बाहिर निकालेर चेतना रहन दिंदैन, यसो गरेर त्यसले यसलाई अचेतन होइन, बरु अतिचेतन बनाउँदछ, तर अतिचेतन केवल चेतनमात्र हुन सक्दैन, त्यसकारण यसले गतिको रूप धारण गरेर त्यससँग एकाकार हुन्छ । चेतना र त्यसको साथै पदार्थ, गति तथा कालका विभिन्न अनन्त अवयवहरूमा विश्लेषित हुँदै जान्छ, तर जब संश्लेषित हुन्छ, तब गति र समय समाप्त हुन्छन्, अर्थात् चेतनासँग तिनीहरूको सम्बन्ध समाप्त हुन्छ, अर्थात् यो गति र समयको अंग बन्दछ, अर्थात् गति र समय अन्तहीन हुनाले चेतना पनि अन्तहीन भएर आफ्नो स्वतन्त्र अस्तित्व गुमाउँदछ ।

मन्द गतिबाट उत्पन्न भएको पदार्थबोधले लगातार आफ्नो गति बढाउँदछ, अर्थात् उच्च गतिसम्बन्धी आफ्नो बोध र बोधगति बढाउँदछ । यो एउटा यस्तो अन्तर्विरोध हो, जसबाट मानव–चेतना आजसम्म गुज्रिदै आएको छ । यस्तो चेतना स्वयंमा एउटा अन्तर्विरोध हो, आफ्नै विरोध गर्ने प्रयत्न हो ।

सूर्यको उदयसम्बन्धी ज्ञानले समुच्च मानव अस्तित्व, क्रियाकलापहरू, समय र गतिलाई निर्धारित गरेको छ, यहाँसम्म कि दर्शन, धर्म र विज्ञानलाई पनि । सूर्योदय–सूर्यास्तको वैज्ञानिक, दार्शनिक र द्वन्द्वात्मक तरीकाले व्याख्या गर्न सकिन्छ । यहाँ द्वन्द्ववादका सबै नियमहरू लागू हुन्छन् । तर जब हामी पृथ्वीबाट माथि उठेर अन्तरिक्षमा जान्छौं, अर्थात् यो प्रश्नको सन्दर्भलाई बदल्दछौं, प्रश्नको कुनै अर्थ रहँदैन, त्यो समाप्त हुन्छ, द्वन्द्ववादका नियमहरू, दर्शन, धर्म समाप्त हुन्छन्, अर्थहीन लाग्न थाल्दछन् । पृथ्वीभन्दा बाहिर “सूर्योदय–सूर्यास्त” को कुनै अर्थ हुँदैन । समय २४ घण्टाका सीमाहरूभन्दा बाहिर जान्छ, स्थान अनन्त हुन्छ । सूर्य र पृथ्वी केवल दुई साना वस्तुहरू मात्र हुन्छन्, तिनीहरूसँग सम्बन्धित चेतना समाप्त हुँदै व्यापक बनेर समय र गतिका नयाँ आयाम धारण गर्दछ, जसमा हामीले कहिले कारण त कहिले कार्यका क्षेत्रहरूमा प्रवेश गर्दै दुवैको अन्तर समाप्त गर्दछौं ।

चेतना स्वयंले आफ्नो उद्भव-स्रोतलाई देख्दछ, त्यसतिर मोडिन्छ, तर यसो गर्दा त्यसले आफ्नो सम्पूर्ण इतिहास र त्यसका नियमहरूको निषेध गर्दछ । चेतनाको यो विनाशले यस्तो असीमित शक्ति उत्पन्न गर्दछ, जसले त्यसलाई उच्च स्तरमा पुर्‍याइदिन्छ ।

तर के उच्च स्तरको यो चेतना वास्तवमा चेतना हो ? गतिमा वृद्धि र समयको संकुचनसँगै चेतनाले, र यसको साथै पदार्थबोध तथा आत्मबोधले, आफ्नो स्वाभाविक प्राकृतिक स्वभाव गुमाउन लाग्दछ र प्रविधिको रूपमा बढीभन्दा बढी ती प्राकृतिक तथा अप्राकृतिक शक्तिहरू र गतिहरूको सहायता लिन लाग्दछ, जसले त्यसको चेतनाशक्ति बढाउँदछन् र यसरी त्यसको अभिन्न अंग र प्रसार बन्न लाग्दछन् ।

गति र समयसँग संयोजन गर्ने यो प्रयत्नमा चेतना आफ्ना तिनीहरूका सीमाहरूबाट बाहिर निस्किन लाग्दछ । चेतनाको निर्माणमा स्थान, समय तथा गतिको आपसी सन्तुलन, समीकरण र संयोजन समाप्त हुन लाग्दछन् । वास्तवमा तिनीहरूको त्यो महत्व रहँदैन, जुन अहिलेसम्म एउटा सीमाभित्र थियो । चेतना कहिले समयको प्रतिबिम्बि बन्दछ, कहिले गतिको त कहिले स्थानको र कहिले तिनीहरूको अभूतपूर्वक अन्तरसम्बन्धहरूको ।

पृथ्वीभन्दा बाहिर निस्केपछि चेतनाको लागि यसको कुनै विशेष महत्व रहँदैन कि सूर्य कहिले उदाउँदछ र कहिले अस्ताउँदछ, कता र कहाँ अस्ताउँदछ । त्यसले जब चाहन्छ, तब सूर्यास्तको दर्शन गर्न सक्दछ र सूर्योदयको पनि । अर्को शब्दमा त्यसले कहिले कारणको क्षेत्रमा प्रवेश गर्न सक्दछ, कहिले कार्यको क्षेत्रमा । त्यसले कारणभन्दा पहिले नै कार्य देख्न सक्दछ, कार्यभन्दा पहिले कारणलाई । यहाँसम्म कि दुवै त्यसको लागि एउटै हुन्छन् । यसप्रकार कारण कार्यमा विकसित हुनु त्यसको लागि आवश्यक हुँदैन । त्यसले यी सम्बन्धहरूको सीमालाई पार गर्दछ ।

आधुनिक दर्शन वा चिन्तनमाथि इलेक्ट्रोनिक र क्वान्टम क्रान्तिको प्रभावमाथि विचार गर्नुभन्दा पहिले हामी हेगेलका दार्शनिक प्रस्थापनाहरूमाथि थोरै विचार गर्दछौं ।

स्रोत – अनिल राजिमवालेको  पुस्तक “वैज्ञानिक-तकनीकी क्रान्ति और उत्तर-औद्योगिक समाज” । यो आलेख धेरै लामो र महत्त्वपूर्ण भएकोले विभिन्न भाग छुट्ट्याएर उल्लेख गरिएको छ। अन्य भागहरू क्रमशः प्रकाशित हुँदै जानेछन्।

क्रमशः



Leave a comment

About Me

I am a student of philosophy and nature. I thoroughly research all subjects and summarize them in Nepali and English. I am Secretary of Marxism Study-Research Academy, Nepal. I am a Social Worker. Education – i) Master of Arts Degree in Political Science – TU, ii) Master of Public Administration Degree – TU, iii) Master of Arts Degree in History-TU, iv) Master of Arts Degree in Nepalese History Culture and Archaeology-TU.

म अध्ययन-अनुसन्धान कार्यमा निस्वार्थ भावले निरन्तर लागेको एक वाम विचारधारायुक्त सामाजिक कार्यकर्ता हुँ। मेरो कुनै पनि राजनीतिक दलसँग संलग्नता नरहेको जानकारी गराउँदछु। मेरा हरेक अध्ययन-अनुसन्धान कार्य शोषण, दमन, अन्याय, अत्याचारका विरुद्ध हुनेछन् । आम श्रमजीवी, भोका-नांगा, गरीब, उत्पीडित जनसमुदायहरूलाई सुशिक्षित गर्ने प्रयत्न मेरो कर्तव्य हुनजान्छ । मेरा सबै कार्य जनहितका लागि हुनेछन् भन्ने आशा तथा विश्वासपूर्वक मैले निरन्तर कार्य अगाडि बढाइरहेको हुनेछु। श्रमप्रति सम्मान र शोषणप्रति घृणा नै मेरा कार्यका उद्देश्य हुनेछन्।  

यहाँ तपाईंहरू सबै प्रकारका सामग्रीहरू अध्ययन गर्न र हेर्न पाउनुहुनेछ । अध्ययन गर्नको लागि रूचियुक्त सामग्रीहरू माग गर्नुभयो भने यथासंभव परिपूर्तिसमेत गरिनेछ । यहाँ लेखरचना, पत्रपत्रिका, म्यागजिन,  जर्नल, विभिन्न पुस्तकहरू (नेपाली, अंग्रेजी र हिन्दी भाषामा), डकुमेन्ट्री, फिल्म, आदि सामग्रीहरू खोजेर पढ्न तथा हेर्न सक्नुहुन्छ।

I am a leftist social worker who is selflessly engaged in research work. I inform you that I am not affiliated with any political party. Every study-research work of mine will be against exploitation, oppression, injustice and tyranny. It is my duty to try to educate the common workers, the hungry, the poor, the oppressed masses. I will continue my work with the hope and confidence that all my work will be for public interest. Respect for labor and hatred for exploitation will be the objectives of my work.

Here you will find all kinds of content to study and watch. If you demand for interesting materials to study, they will be provided as much as possible. Here you can search and read articles, newspapers, magazines, journals, various books (in Nepali, English and Hindi languages), documentaries, films, etc.

श्रमको सम्मान गर्नुभएकोमा धन्यवाद ।

Thank you for respecting the labor.

Newsletter

Marxism-मार्क्सवाद

Communist history

Philosophy-दर्शन

लेनिन-LeninLeninism

दस्तावेज-documents

धर्म-दर्शन

त्रिपिटक–बुद्ध

गीता सार

Politics–राजनीति

ग्रन्थ परिचय

Mao-Maoism

साहित्य- literature

जीवनी-biography

साम्यवाद-communism

युवाबारे-On Youth

कार्ल मार्क्स–Karl Marx

फ्रेडरिक एंगेल्स–F. Engels

भी.आइ.लेनिन–V.I.Lenin

जे. भी. स्टालिन – J.V. Stalin

माओत्सेतुङ – Maotsetung

डिजिटल पुस्तकालय (digital library)

ई-पुस्तकालय -e-library

विज्ञान-प्रविधि (Science-Technology)

सामान्य ज्ञान (GK)

Documentaries and YouTube channels

पुस्तकालय – LIBRARY

नेपाली डिजिटल पुस्तकहरू (Nepali Digital Books)

नेपाली न्यूजपेपर, म्यागजिन र अनलाइन पत्रपत्रिकाहरू (Nepali Newspapers, Online and Nepali Magazines)

English Digital Books : Part – 1 (world communist special books)

English Digital Books : Part – 2

English Digital Books : Part – 3

हिन्दी डिजिटल पुस्तक (Hindi digital Books) भाग – १

हिन्दी डिजिटल पुस्तक (Hindi digital Books) भाग – २

हिन्दी डिजिटल पुस्तक (Hindi digital Books) भाग – ३

हिन्दी डिजिटल पुस्तक (Hindi digital Books) भाग – ४

हिन्दी डिजिटल पुस्तक (Hindi digital Books) भाग – ५

Documentaries and YouTube channels

Uncategorized

ENGLISH SECTION

Design a site like this with WordPress.com
Get started