सामान्य विज्ञानको विकासको प्रक्रिया

स्रोत – The Structure of Scientific Revolutions – Thomas S. Kuhn, THE UNIVERSITY OF CHICAGO PRESS, LTD., LONDON

(यो उक्त पुस्तकको दोस्रो अध्याय हो र अन्य अध्यायहरू क्रमशः प्रकाशित हुँदै जानेछन्)

अनुवाद तथा सम्पादन – नारायण गिरी

यस अध्यायमा “सामान्य विज्ञान” शब्दको प्रयोग यस्तो अनुसन्धानको लागि गरिनेछ, जुन पछिल्लो एक वा अनेक वैज्ञानिक सफलताहरूमा पूर्ण रूपले आधारित हुन्छ । यी सफलताहरू कस्तो हुनुपर्दछ भने कुनै विशेष वैज्ञानिक समुदायले तिनलाई, कम्तीमा केही समयको लागि, आफ्नो व्यावसायिक व्यवहारको लागि आधारभूत र मार्गदर्शक मानून् । यस्ता सफलताहरूको कथा प्रारम्भिक र उच्च–स्तरीय वैज्ञानिक पाठ्य–पुस्तकहरूद्वारा वर्तमान समयमा फेरि दोहोर्‍याइन्छ तर यसप्रकार ऐतिहासिक घटनाहरूलाई आफ्नो मूल स्वरूपमा कहिल्यै प्रस्तुत गरिंदैन । यी पाठ्यपुस्तकहरूले मान्य सिद्धान्तलाई प्रतिपादित गर्दछन्, तिनीहरूका लगभग सबै सफल अनुप्रयोगहरूको व्याख्या गर्दछन् र यी अनुप्रयोगहरूको तुलना उदाहरणस्वरूपी अवलोकनहरू र प्रयोगहरूबाट गर्दछन् । यी पुस्तकहरू लोकप्रिय हुनुभन्दा पहिले उन्नाइसौं शताब्दीको शुरुमा विज्ञानका धेरै प्रसिद्ध शास्त्रीय ग्रन्थ यस कामको लागि प्रयुक्त हुन्थे । जुन वैज्ञानिक क्षेत्र अहिले नै परिपक्व भएका छन्, तिनीहरूको लागि यो कुरा अझै पनि आधुनिक समयको लागि लागू हुन्छ । केही समयसम्म एरिस्टोटलको ‘फिजिका’, टोलमीको ‘अल्मागेस्ट’, न्यूटनको ‘प्रिन्सिपिया’ एवं ‘अप्टिक्स’, फ्रैंकलिनको ‘इलेक्ट्रिसिटी’ लेबोजिएको ‘केमिस्ट्री’ र लोयलको ‘जियोलोजी’, इत्यादि ग्रन्थ र त्यसका अतिरिक्त अन्य पनि धेरै पुस्तकहरू अनुसन्धानकर्ताहरूको भावी पुस्ताहरूको लागि आफ्ना क्षेत्रका वैध समस्याहरू र प्रणालीहरू निर्धारित गर्ने काममा आइरहे । यी सबै ग्रन्थले यो भूमिका त्यसकारण निभाउन सके, किनकि यी सबैमा निम्नलिखित दुई विशेषताहरू समान रूपले विद्यमान थिए । एक त के भने  तिनीहरूको सफलता यस हदसम्म अभूतपूर्व थियो कि त्यसले वैज्ञानिक गतिविधिलाई अन्य प्रतिस्पर्धी पद्धतिहरूबाट हटाएर अनुयायीहरूको एक टिकाऊ दललाई आफूतिर आकर्षित गर्न सक्यो । अर्को कुरा के हो भने तिनीहरूमा अगाडिको लागि यति अधिक कामको संभावना विद्यमान थियो कि अनुसन्धानकर्ताहरूको पुनर्गठित दलको लागि हल गर्न योग्य विविध प्रकारका समस्याहरू उपलब्ध हुनगए ।

जुन सफलताहरूमा उपरोक्त दुई लक्षण विद्यमान हुनेछन्, अगाडिबाट तिनीहरूको लागि म “प्याराडाइम” (अनुसन्धानको परिधि, त्यसको प्रक्रिया र त्यसको पद्धति) शब्दको प्रयोग गर्नेछु; यो एक यस्तो पारिभाषिक शब्द हो, जुन “सामान्य विज्ञान” सँग घनिष्ठतापूर्वक सम्बन्धित हुन्छ । यो शब्द चुनेर म के प्रस्तावित गर्न चाहन्छु भने वास्तविक वैज्ञानिक व्यवहारका केही स्वीकृत उदाहरण जसमा नियम, सिद्धान्त, अनुप्रयोग र मन्त्र–समुच्चय, इत्यादि सबै मिलाएर सामेल छ, यस्तो मण्डल उपलब्ध गराउँदछ, जसमाथि वैज्ञानिक अनुसन्धानको विशेष समंजस्ययुक्त परम्पराहरू आधारित हुनजान्छ । इतिहासकार यी परम्पराहरूको लागि ‘टोलमीय खगोलविज्ञान’ (वा ‘कोपरनिकसको खगोलविज्ञान’, एरिस्टोटलको ‘गतिविज्ञान’ (वा न्यूटनीय गतिविज्ञान), ‘कणिका प्रकाशविज्ञान’ (वा ‘तरंग–प्रकाश–विज्ञान’) जस्ता आकर्षक शीर्षकहरूको प्रयोग गर्दछन् । प्याराडाइमहरूको अध्ययन त्यो प्रक्रिया हो, जसको माध्यमबाट अध्ययनकर्ता आफ्नो भावी व्यवसायिक समुदायको सदस्यताको लागि तयार हुन्छ । यो कुरा यस्ता प्याराडाइमहरूको लागि पनि लागू हुन्छ, जसको प्रयोग उपरोक्त उदाहरणहरूमा वर्णित प्याराडाइमहरूको अपेक्षा कैयौं धेरै सीमिति क्षेत्रहरूमा हुन्छ । किनकि व्यवसायमा त्यसले यस्ता मानिसहरूसँग काम गर्दछन्, जुन सबैले आफ्नो क्षेत्रको आधारभूत सिद्धान्त एक समान ठोस मण्डलबाट सिकेका छन्, त्यसकारण भविष्यको व्यवहारमा आधारभूत प्रश्नहरूलाई लिएर कुनै गम्भीर मतभेद कहिल्यै खडा हुँदैन । जो मानिसहरूको अनुसन्धान एक समान प्याराडाइममा आधारित हुन्छ, ती वैज्ञानिक व्यवहारको समान नियमहरू एवं मापदण्डहरूप्रति प्रतिबद्ध हुन्छन् । यो प्रतिबद्धता र यसबाट उत्पन्न हुने प्रकट मतैक्यता सामान्य विज्ञान गर्नको लागि पूर्वशर्त हुन्, अर्थात् कुनै विशेष अनुसन्धान परम्पराको उत्पत्ति र त्यसको निरन्तर जारी रहनको लागि अनिवार्य हुन्छ । 

यद्यपि यस पुस्तकमा प्याराडाइम शब्दको प्रयोग विभिन्न सुपरिचित धारणाहरूको लागि गरिनेछ । त्यसकारण हामी यो परिभाषा किन प्रयोग गर्न चाहन्छौं भन्ने कुरामा स्पष्टीकरण दिनु आवश्यक हुन्छ। कुनै निश्चित वैज्ञानिक सफलता व्यावसायिक प्रतिवद्धताको केन्द्रबिन्दु कसरी बन्नजान्छ र यसप्रकार यस सफलताबाट पूर्ण तरीकाले स्वतन्त्र रूपले प्रतिपादित हुने वैज्ञानिक धारणाहरू, नियमहरू, सिद्धान्तहरू र दृष्टिकोणहरूभन्दा पहिले प्याराडाइम किन प्रकट हुन्छ ? वैज्ञानिक विकासको अध्ययनकर्ताको लागि कुन अर्थमा सर्वमान्य प्याराडाइम एक यस्तो आधारभूत इकाई हो, जसलाई तार्किक विश्लेषणद्वारा यस्ता र अधिक साना इकाईहरूमा तोड्न सकिंदैन ताकि तिनलाई प्याराडाइमको स्थानमा प्रयोग गरिन सकियोस् ? जब हामी यी प्रश्न र यसैप्रकारका अन्य प्रश्न अध्याय पाँचमा उठाउनेछौं, तब यिनीहरूको उत्तर सामान्य विज्ञान र त्यससँगै सम्बन्धित प्याराडाइमहरूको धारणालाई बुझ्नको लागि आधारभूत साबित हुनेछन् । त्यस सैद्धान्तिक विश्लेषणलाई राम्रोसँग बुझ्नको लागि यो उपयोगी हुनेछ कि पाठक व्यवहारमा प्रयुक्त सामान्य विज्ञानको अथवा प्याराडाइमहरूको उदाहरणहरूबाट परिचित होऊन् । एक–अर्कोसँग सम्बन्धित यी धारणाहरूको स्पष्ट व्याख्या गर्नको लागि के बताउनु आवश्यक छ भने अनुसन्धान कार्य प्याराडाइमहरूबिना पनि गर्न सकिन्छ ; वा कम्तीमा त्यसको लागि यस्ता प्याराडाइमहरूको आवश्यकता छैन जसबाट उपरोक्त प्रकारका असंदिग्ध व्यावसायिक प्रतिबद्धता उत्पन्न हुन्छ । कुनै वैज्ञानिक क्षेत्रद्वारा प्याराडाइमको अधिग्रहण र यसको कारण संभव अधिक रहस्यात्मक किसिमको अनुसन्धान, त्यसको विकास–क्रममा परिपक्वताको अवस्थाको लक्षण हो ।

आफ्नो तर्कको पुष्टिको लागि हामी भौतिक प्रकाशको इतिहासको उदाहरण दिनेछौं । यदि इतिहासकार कुनै अन्य वैज्ञानिक क्षेत्रको परस्पर सम्बन्धित परिघटनाहरूको अन्वेषण, कालानुक्रमलाई उल्ट्याएर अर्थात् वर्तमानबाट शुरु गरी भूततर्फ गएर गर्दछ भने, उसलाई हमेशा प्रकाश–विज्ञानको इतिहाससँग मिल्दो–जुल्दो नै विकास–क्रम प्राप्त हुनेछ । वर्तमान भौतिक विज्ञानको पाठ्य–पुस्तकहरूबाट अध्ययनकर्ताहरूलाई यो थाहा हुन्छ कि प्रकाश फोटोन हो । यी यस्ता क्वान्टम यान्त्रिकीय इकाईहरू हुन्, जसले केही तरंगको र केही कणहरूको लक्षण प्रदर्शित गर्दछन् । वर्तमान समयमा अनुसन्धान कार्य यसै धारणाको आधारमा गरिन्छ ; वा यो भन्नु अधिक उचित हुनेछ कि अनुसन्धानको आधार त्यो परिष्कृत गणितीय वैचारिचक ढाँचा हो, जसबाट फोटोनको उपरोक्त लक्षण व्युत्पन्न हुन्छन् । तर प्रकासको यो चरित्र–चित्रण त मुश्किलले पचास वर्ष पुरानो हो । यस शताब्दीको शुरुमा प्ल्यांक, आइन्स्टाइन एवं अन्य वैज्ञानिकहरूद्वारा यो धारणा विकसित गरिनुभन्दा पहिले, भौतिक विज्ञानका पाठ्य–पुस्तकहरूद्वारा प्रकाश अनुप्रस्थ तरंग–गति हो भन्ने धारणा पढाइन्थ्यो । यो संकल्पना त्यस प्याराडाइममा आधारित छ, जसको स्रोत कुनै न कुनै रूपमा उन्नाइसौं शताब्दीको शुरुमा फ्रेनल र यंगद्वारा लिखित प्रकाश–विज्ञानसम्बन्धी पुस्तकहरूमा प्राप्त हुन्छ । तरंग-सिद्धान्त पनि प्रकाश–विज्ञानको लगभग सबै अनुसन्धानकर्ताहरूद्वारा समान रूपमा स्वीकार गरिने पहिलो सिद्धान्त थिएन । अठारौं शताब्दीको क्रममा यस क्षेत्रको प्याराडाइमको आधार न्यूटनको ‘अप्टिक्स’ नामक त्यो रचना थियो, जसमा प्रकाश द्रव्यात्मक कणिकाहरू हुन् भन्ने मान्यता प्रतिपादित गरिएको थियो । त्यस समय भौतिक वैज्ञानिकहरूले प्रकाश कणहरू पिण्डहरूसँग टकराउँदा उत्पन्न हुने दवाबको अस्तित्व खोजे । शुरुका तरंग–सिद्धान्तविद्हरूले यस परिघटनामाथि अनुसन्धान गरेका थिएनन् ।

भौतिक प्रकाश-विज्ञानका प्याराडाइमहरूका यी रूपान्तरण वैज्ञानिक क्रान्तिहरू हुन् र क्रान्तिको बाटोबाट भएर एक प्याराडाइमबाट अर्को प्याराडाइमसम्म संक्रमण गर्नु सामान्यतः हरेक परिपक्व विज्ञानको विकासक्रमको विशेषता हो । प्रकाश–विज्ञानको इतिहासको सन्दर्भमा, न्यूटनको अनुसन्धान कार्यभन्दा पहिलेको विकासक्रममा उपरोक्त विशेषता थिएन ; र हाम्रो तर्कको लागि यही असंगति महत्वपूर्ण छ । प्रकाश-विज्ञानको अनुसन्धानको शुरुवाती क्रमदेखि लिएर सत्रौं शताब्दीसम्म कुनै यस्तो समय थिएन, जब प्रकाशको तात्विक प्रकृतिको विषयमा सबै अनुसन्धानकर्ताहरूद्वारा समान रूपले स्वीकृत कुनै एक धारणा विद्यमान रहेको होस् । यसको विपरीत अनेक प्रतिस्पर्धी विचारपद्धतिहरू एवं उप–विचार–पद्धतिहरू सदैव रहन्थे, जसमध्येबाट धेरै एपीक्यूरस, एरिस्टोटल वा प्लेटोको सिद्धान्तको कुनै न कुनै रूपान्तरणको समर्थन गर्दथे । वैज्ञानिकहरूको एउटा दल प्रकाशलाई द्रव्यात्मक पिण्डहरूबाट विसर्जित हुने कण मान्दथ्यो ; अर्को त्यसलाई पिण्ड एवं आँखाको मध्यवर्ती माध्यमको संसोधन मान्दथ्यो ; एक अन्य दल प्रकाशको व्याख्या माध्यम र आँखाबाट हुने विसर्जनको पारस्परिक क्रियाको रूपमा गर्दथ्यो र यसको अतिरिक्त यिनीहरूका धेरै अन्य सम्मिश्रण र संसोधन पनि थिए । हरेक विचार–पद्धतिलाई कुनै विशेष तत्व–मीमांसाबाट बल प्राप्त हुन्थ्यो । र, प्याराडाइम स्वीकृतिको लागि उपर्युक्त अवलोकनहरूको रूपमा हरेक दलको प्रकाश विज्ञानसम्बन्धी परिघटनाहरूको त्यस विशेष समूहलाई महत्व दिन्थ्यो, जसको व्याख्या आफ्नो सिद्धान्तको आधारमा गर्नमा त्यो सबभन्दा बढी सफल हुन्थ्यो । अन्य अवलोकनहरूको व्याख्या तदर्थ व्याख्याहरूको माध्यमबाट गरिन्थ्यो ; वा तिनीहरूलाई भविष्यको अनुसन्धानद्वारा हल गरिने बचेका समस्याहरूको रूपमा बुझिन्थ्यो ।

समय–समयमा यी सबै विचार–पद्धतिहरूले यी धारणाहरू, परिघटनाहरू र प्रविधिहरूको विकासमा महत्वपूर्ण योगदान दिए, जुन सबैको आधारमा न्यूटनले भौतिक प्रकाश-विज्ञानको पहिलो सर्वमान्य प्याराडाइमको निर्माण गरेका थिए । त्यसकारण विभिन्न विचार पद्धतिहरूको कम्तीमा अग्रणी सदस्यहरूलाई यदि वैज्ञानिक मानिंदैन भने, फेरि तिनका आधुनिक उत्तराधिकारीहरूलाई पनि वैज्ञानिक भन्ने कुनै औचित्य हुँदैन । ती मानिसहरू निश्चय नै वैज्ञानिक थिए । तर पनि, न्यूटनभन्दा पहिलेको भौतिक प्रकाश-विज्ञानको क्षेत्रको सर्वेक्षण गर्दा हरेक यही निष्कर्ष निकाल्नलाई बाध्य हुनेछन् कि यस क्षेत्रका अनुसन्धानकर्ताहरू वैज्ञानिक हुनुको बावजूद तिनको गतिविधिको परिणाम एक यस्तो चीज थियो, जुन विज्ञानभन्दा कुनै न कुनै अर्थमा कम थियो । यद्यपि सर्वनिष्ठ धारणाहरूको कुनै समूह तिनलाई उपलब्ध थिएन, त्यसकारण भौतिक प्रकाश–विज्ञानमाथि लेख्ने हरेक लेखक आफ्नो क्षेत्रसँग सम्बन्धित धारणाहरूको आधारभूत नयाँ सिराबाट खडा गर्नको लागि बाध्य हुन्थे । यस्तो गर्नमा उनीहरू यस कुराको लागि आफ्नो धारणाहरूको पुष्टिको लागि कुनै अवलोकनहरू र प्रयोगहरूलाई चुन्न धेरै हदसम्म स्वतन्त्र हुन्थे, किनकि प्रणालीहरू र परिघटनाहरूको कुनै यस्तो मानक समूह थिएन, जसलाई प्रयोग गर्न र जसको व्याख्या गर्नको लागि प्रकाश–विज्ञानका हरेक लेखक बाध्य हुन्छन् । यी परिस्थितिहरूमा यी पुस्तकहरूमा प्रस्तावित धारणाहरूको कारण उठ्ने मतभेद, जति प्रकृतितर्फ निर्दिष्ट हुन्थे, त्यति नै तिनको अवस्था अन्य विचार–पद्धतिहरूका सदस्यहरूतर्फ पनि हुन्थ्यो । विकासक्रमको यो प्रतिरूप वर्तमान समयमा पनि अनेक सिर्जनात्मक क्षेत्रहरूमा पाइन्छ र यसको कारणबाट ती क्षेत्रहरूमा महत्वपूर्ण खोज र आविष्कार गर्नमा कुनै रोकावट पनि हुँदैन । तर यो विकासको प्रतिरूप त्यो होइन, जुन भौतिक प्रकाश-विज्ञानको क्षेत्रमा न्यूटनपछि आर्जित भयो र जुन अन्य विज्ञानहरूको क्षेत्रमा विद्यमान भएको कारणले सुपरिचित हुनगएको छ ।

विज्ञानको कुनै क्षेत्रमा सर्वमान्य प्याराडाइम आर्जित हुनुभन्दा पहिले त्यसको विकासक्रमको के स्वरूप हुन्छ, यसको एक ठोस र सुपरिचित उदाहरण अठारौं शताब्दीको पूर्वार्धमा विद्युत–अनुसन्धानको इतिहासको अध्ययनबाट प्राप्त हुन्छ । त्यस अवधिको क्रममा विद्युतको प्रकृतिको बारेमा प्रायः हरेक महत्वपूर्ण विद्युत अनुसन्धानकर्ताको आफ्नो अलग मत हुन्थ्यो । यस सन्दर्भमा हक्सनी ग्रे, डेसागूलिए, डू फे, नोले, वाट्सन र फ्रैंकलिन, इत्यादिनको नाम उल्लेखनीय छ । यस विविधताको बावजूद यी सबै वैज्ञानिकहरूका धारणाहरूमा कुनै न कुनै समान तत्व विद्यमान थियो ; र त्यो तत्व के थियो भने यी सबै धारणाहरू आंशिक रूपले यान्त्रिकीय कणिका–दर्शनको कुनै न कुनै रूपान्तरणबाट व्युत्पन्न भएका थिए र यो दर्शन त्यस समयका सबै वैज्ञानिक शोधहरूको पथ–प्रदर्शक सिद्धान्त थियो । यसको साथ–साथै यी सबै धारणाहरू ती प्रचलित वैज्ञानिक सिद्धान्तहरूका अंग थिए, जुन अंशतः, प्रयोग र अवलोकनलाई आधार बनाएर विकसित भएका थिए र जसद्वारा भविष्यको अनुसन्धानका समस्याहरूको चयन एवं व्याख्या आंशिक रूपले मात्र हुन्थ्यो । यद्यपि यी सबै प्रयोग विद्युतसम्बन्धी थिए र प्रयोग गर्ने अधिकतम वैज्ञानिक एक–अर्कोका रचनाहरू पढ्दथे,  तर पनि तिनका सिद्धान्तहरूको बीचमा गम्भीर अन्तर हुन्थ्यो ।

शुरु–शुरुमा, सत्रौं शताब्दीको परम्पराको अनुशरण गर्दा एकप्रकारको सिद्धान्तको मान्यता विद्युत–जननसम्बन्धी आधारभूत विद्युत परिघटनाहरू आकर्षण र घर्षणद्वारा घटित हुन्छन् भन्ने थियो । यस विचार–पद्धतिका अनुसार प्रतिकर्षणको व्याख्या कुनै प्रकारको यान्त्रिक प्रतिक्षेपको रूपमा गरिन्थ्यो र त्यसलाई एक गौण प्रभाव ठानिन्थ्यो । यस विचार-पद्धतिका समर्थकहरूले ग्रेद्वारा केही समय पहिले खोजेका विद्युत चालनको प्रभावमाथि बहस र योजनाबद्ध अनुसन्धानको व्याख्यालाई धेरैभन्दा धेरै समयसम्म टाल्ने प्रयास गरे । एक अर्को प्रकारका “विद्युत–विशेषज्ञ” आकर्षण र प्रतिकर्षणलाई समान रूपले विद्युतको मौलिक अभिव्यक्तिहरू मान्दथे र तिनले आफ्ना सिद्धान्तहरू र अनुसन्धानहरूलाई तदनुसार संसोधित गरे । जेहोस् यो दल असाधारण रूपले सानो थियो र फ्रैंकलिनको सिद्धान्त पनि दुई ऋण आवेशित पिण्डहरूको पारस्परिक प्रतिकर्षणको सन्तोषजनक व्याख्या गर्नमा असफल रह्यो । अनुसन्धानकर्ताहरूको एउटा अन्य दललाई पनि आकर्षण र प्रतिकर्षणको साथ–साथै कुनै पनि जटिल चालन प्रभावको व्याख्या गर्नमा पहिलो दलको समान नै कठिनाई पैदा भयो । र, त्यसकारण विद्युत चालनको प्रभावहरूलाई आधार बनाएर अर्को तेस्रो दलको जन्म भयो, जसको मान्यता विद्युत कुचालकहरूबाट विसर्जित हुने कुनै ‘बहिर्स्राव’ होइन, बरु त्यसलाई सुचालकहरूमा बहने एक ‘तरल’ को रूपमा बुझ्नुपर्दछ भन्ने थियो । तर यस दललाई पनि एकातिर, आफ्नो सिद्धान्त र अर्कोतिर, अनेक आकर्षण र प्रतिकर्षण प्रभावहरूको बीच सामञ्जस्य बनाउनमा कठिनाई भयो । केवल फ्रैंकलिन र उनका निकटतम् उत्तराधिकारीहरूको कामको माध्यमबाट मात्र एक यस्तो सिद्धान्तको जन्म हुन सक्यो, जसले लगभग यी सबै प्रभावहरूको धेरै सन्तोषजनक व्याख्या गर्न सक्थ्यो र त्यसकारण यो विद्युत विशेषज्ञहरूको एक यस्तो उत्तरकालीन पुस्ताको आधार बन्न सक्यो, जसको बीचमा अनुसन्धानको लागि एक सर्वमान्य प्याराडाइम विद्यमान थियो ।

यदि हामीले केही यस्ता अपवादहरूलाई छोडिदियौं, जस्तो ती क्षेत्र, जसमा पहिलो प्रभावशाली प्याराडाइम प्रागऐतिहासमा शुरु भयो वा जैव रसायनजस्ता क्षेत्र, जुन पहिलेदेखि नै परिपक्व विशेषविषयहरूको विभाजन र पुनर्संयोजनबाट भए भने, माथि प्रस्तुत गरिएका परिस्थितिहरू वैज्ञानिक विकासक्रमको लागि ऐतिहासिक रूपले प्रतिनिधि चरित्र भएका छन् । मेरो धारणा के छ भने कुनै प्रकारको मौलिक मतभेद, एरिस्टोटलभन्दा पहिले गतिविज्ञान र आर्किमिडिजभन्दा पहिले स्थिति विज्ञानको अध्ययनको क्षेत्रमा, ब्लेकभन्दा पहिले तापको क्षेत्रमा, बयल र बोयरहावभन्दा पहिले रसायन–विज्ञानको क्षेत्रमा र हटनभन्दा पहिले भूगर्भशास्त्रको क्षेत्रको पनि विशेषता थिए । म पाठकहरूलाई के सावधान गराउन चाहन्छु भने उपरोक्त उदाहरणहरूमा हामीले त्यही दुर्भाग्यपूर्ण सरलीकरणको प्रयोग गर्नको लागि बाध्य हुनुपरेको छ, जसले कुनै विस्तृत ऐतिहासिक प्रसंगसँग प्रायः मनमानी ढंगले चुनिएका कुनै एक व्यक्तिको नाम जोडेर भ्रम उत्पन्न गराउँदछ । यदि हामीले आनुवंशिकताको अनुसन्धान–क्षेत्र जस्तै जीव–विज्ञानका केही हिस्साहरूको उदाहरण लियौं भने, यसमा सर्वस्वीकृत प्याराडाइम अरु पनि हालका छन् र समाजविज्ञानमा त यो अझै पनि एक विवादास्पद प्रश्न बनेको छ कि यसका कुन हिस्साहरूमा प्याराडाइम आर्जित भएको छ र कुनमा छैन । ऐतिहासिक उदाहरणहरूबाट हामीलाई के थाहा हुन्छ भने अनुसन्धानको लागि ठोस मतैक्यताको स्थापनाको बाटो असाधारण रूपले कठिन छ ।

साथ–साथै, इतिहासको अध्ययनबाट यस काममा आउने कठिनाइहरूका केही कारण पनि स्पष्ट हुन्छन् । यदि कुनै क्षेत्रमा कुनै प्याराडाइम वा प्रत्यासित प्याराडाइम विद्यमान छैन भने, त्यस क्षेत्रको विकाससँग सम्बन्धित सबै तथ्यहरूको समान रूपले प्रासंगिक प्रतीत हुने संभावना बनिरहन्छ । परिणामस्वरूप यस प्रारम्भिक अवस्थाको तथ्य–संकलन प्याराडाइम आर्जित भएपछिको अवस्थामा गरिएका तथ्य–संकलनको कामको तुलनामा अत्यधिक अव्यवस्थित गतिविधि हो । साथ–साथै, यद्यपि यस प्रासंगिक अवस्थामा दुर्बोध ज्ञान खोज्ने कुनै आधार विद्यमान रहँदैन त्यसकारण यो प्रारम्भिक तथ्य–संकलन पनि प्रायः सजिलैसँग उपलब्ध हुने आँकडाहरूको बाहुल्यसम्म मात्र सीमित रहन्छ । यसप्रकार जुन तथ्य जम्मा हुन्छन् ती या त सजिलैसँग गर्न सकिने अवलोकन र प्रयोगको माध्यमबाट प्राप्त तथ्य हुन्छन् या चिकित्साविज्ञान, क्यालेण्डर–निर्माण र धातु–कर्म जस्ता प्रतिष्ठित शिल्पहरूको व्यवसायिक कामको आधारमा प्राप्त अधिक रहस्यात्मक तथ्याङ्क हुन्छन् । यद्यपि शिल्प योजनाबद्ध तरीकाले नै प्राप्त गर्न सकिने तथ्यहरूको सहज–सुलभ हुन्छन्, त्यसकारण प्रविधिको नयाँ विज्ञानहरूको आविर्भावमा प्रायः महत्वपूर्ण भूमिका रहन्छ ।

यद्यफि के कुरा सही छ भने यसप्रकारको तथ्य–संकलन अनेक महत्वपूर्ण विज्ञानहरूको उत्पत्तिको लागि अनिवार्य रहेको छ तर कुनै अनुसन्धानकर्ता प्लिनीका विस्तृत रचनाहरूको वा बेकनका सत्रौं शताब्दीका प्रकृतिविज्ञानसम्बन्धी पुस्तकहरूको अध्ययन गर्दछ भने, उसले यो पनि अनुभव गर्नेछ कि यो तथ्य संकलन अत्यन्त अव्यवस्थित छ । र, त्यसकारण यसमा आधारित साहित्यलाई विज्ञान भन्नु ज्यादै कठिन छ । ताप वर्ण, वायु, खनन, इत्यादिसँग जोडिएका बेकनका ‘इतिहास–सम्बन्धी’ रचनाहरू व्यवहार–जनित ज्ञानका भण्डार हुन् र तिनीहरूमध्ये केही त दुर्बोध पनि छन् । तर त्यहाँ यस्ता तथ्यहरूलाई एकसाथ राखिदिइएको छ, जसको वैज्ञानिक विकासमा स्थान एक–अर्कोबाट बिल्कुल भिन्न छ । उदाहरणको लागि मिश्रणद्वारा तापन     (हिटिंग) लाई गोबरको थुप्रोको तापजस्तै तथ्यसँग राखिदिइएको छ । तिनीहरूमध्ये पहिलो परिघटनाले अगाडि बढेर महत्वपूर्ण ढंगले हाम्रो वैज्ञानिक बुझाई बढायो, जबकि आफ्नो जटिलताको कारण दोस्रो परिघटनाको सम्बन्ध कुनै सिद्धान्तसँग धेरै समयसम्म जोड्न सकिएन । यसको उल्टो कुरा पनि कहिलेकाहीँ देख्न पाइन्छ । यद्यपि कुनै पनि विवरण अनिवार्य रूपले आंशिक हुन्छ, त्यसकारण प्रायः यस्तो हुन्छ कि प्राकृतिक विज्ञानको पुस्तकको अत्यधिक विस्तृत विवरणमा ठीक त्यही पक्ष छुटेको हुन्छ, जसको भविष्यको वैज्ञानिक व्याख्यामा महत्वपूर्ण स्थान हुन्छ । उदाहरणस्वरूप विद्युतका प्रारम्भिक “इतिहासहरू” मध्येबाट लगभग सबैमा यस कुराको विवरण लोप भएको छ कि रगडिएको काँचको छडतर्फ आकर्षित हुने बोक्रा फेरि छिटकिएर अलग हुनजान्छ । यसको कारण यो प्रभाव विद्युत नभएर यान्त्रिक हुन्थ्यो भन्ने आम धारणा थियो। । साथै यद्यपि अनियमित तथ्य संकलन गर्ने अनुसन्धानकर्तासँग यति समय वा साधन हुँदैन कि त्यसले विवेचनात्मक काम गर्न सकोस्, त्यसकारण प्रायः प्रकृति–विज्ञानको उपरोक्त प्रकारको विवरणहरूको साथ–साथै केही अन्य विवरण पनि जोडिदिइन्छ । उदाहरणस्वरूप, विपरीत प्रवृत्तिद्वारा संचालित प्रतिक्रियाको परिघटना, वा शीतलनद्वारा तापन, इत्यादि । यी सबै परिघटनाहरू हुन्, जसको पुष्टि गर्नमा हामी वर्तमान समयमा पनि पूर्ण रूपले असमर्थ छौं । प्राचीन स्थिति विज्ञान, गति विज्ञान र ज्यामितीय प्रकाश विज्ञानका केही उदाहरणलाई छोडेर, ऐतिहासिक रूपले यस्तो धेरै कम भएको छ कि पूर्व प्रतिष्ठित सिद्धान्तको मार्गदर्शनको अभावमा पनि तथ्य–संकलनको यस प्रक्रियाले पहिले प्याराडाइमको आविर्भावमा यति महत्वपूर्ण र प्रभावशाली भूमिका निर्वाह गरेको होस् ।

कुनै पनि वैज्ञानिक क्षेत्रको विकासको आरम्भिक अवस्थामा उपरोक्त परिस्थितिमा मात्र विचार–पद्धतिहरूको जन्म हुन्छ । प्राकृतिक विज्ञानसम्बन्धी ऐतिहासिक तथ्यहरूको व्याख्या तबसम्म संभव छैन, जबसम्म सैद्धान्तिक र प्रणाली–वैज्ञानिक धारणाहरूको परस्पर सम्बन्धित यस्तो ढाँचा विद्यमान नहोस्, जसद्वारा तिनको चयन, मूल्यांकन र समीक्षा गर्न सकियोस् । यो पनि संभव छ कि धारणाहरूको त्यो ढाँचा तथ्यहरूको संग्रहमा पहिलेदेखि नै अन्तर्निहित होस् ; त्यस अवस्थामा तिनलाई तथ्य मात्र बुझ्नु उचित छैन । यदि यस्तो कुनै ढाँचा विद्यमान छैन भने, त्यसलाई कुनै बाहिरी स्रोतबाट उपलब्ध गराउन अवश्यक हुनजान्छ । यो स्रोत कुनै तत्व–मीमांसा वा विज्ञानको कुनै अर्को क्षेत्र बन्न सक्दछ । कहिलेकाहीँ यो काम कुनै व्यक्तिगत वा ऐतिहासिक आकस्मिक घटनाद्वारा पनि सम्पन्न हुनजान्छ । त्यसकारण यो प्रायः हुन्छ कि कुनै विज्ञानको विकासको प्रारम्भिक अवस्थामा एकै प्रकारको परिघटनाहरूको वर्णन र व्याख्या अलग–अलग अनुसन्धानकर्ता भिन्न–भिन्न ढंगले गर्दछन् । अगाडि बढेर एक विकासक्रममा व्याख्याहरूका यी भिन्नताहरू धेरै हदसम्म खत्तम हुनजान्छ र यस्तो प्रतीत हुन्छ कि फेरि कहिल्यै प्रकट हुँदैन । त्यसकारण यो अवश्य आश्चर्यको कुरा हो कि शुरुका यी मतभिन्नताहरू अगाडि बढेर कसरी लगभग लोप हुनजान्छ । धारणाहरूको यो असाधारण एकरूपता विज्ञान भनिने क्षेत्रहरूको अनौठो विशेषता थाहा हुन्छ ।

वैज्ञानिक विकासक्रमबाट के पत्ता लाग्दछ भने यो एकरूपता स्थापित हुने कारण प्याराडाइम–पूर्व अवधिमा प्रचलित प्रतिस्पर्धी विचार–पद्धतिहरूमध्येबाट कुनै एक विजयी हुनजान्छ भन्ने हुन्छ । विजयी विचार–पद्धतिले, विशिष्ट धारणाहरू र पूर्वाग्रहहरूमा आधारित हुनुको कारणले अनुभव जनित–ज्ञानको विस्तृत र प्रारम्भिक एवं अव्यवस्थित भण्डारको कुनै विशेष भागलाई अत्यधिक महत्व दिन्छ । विद्युतलाई तरल बुझ्ने र त्यसकारण विद्युत चालनलाई विशेष महत्व दिने विद्युत–विशेषज्ञहरूको उदाहरण यस सन्दर्भमा धेरै उपयुक्त छ । त्यस समय ज्ञात आकर्षण र प्रतिकर्षणको अधिकतम् प्रभावहरूको व्याख्या गर्नमा असमर्थ हुँदा पनि विद्युतको उपरोक्त धारणाबाट प्रेरित भएर तिनीहरूमध्ये केहीले विद्युत तरललाई बोतलमा बन्द गर्ने कल्पना गरे । तिनको प्रयासहरूको तुरुन्त परिणाम लीडेन जारको आविष्कारको रूपमा निक्लियो ।  के कुरा स्पष्ट छ भने यस यन्त्रको आविष्कार अव्यवस्थित ढंगले प्रकृतिको अन्वेषण गरेर गर्न सक्नु कहिल्यै संभव थिएन । तर ऐतिहासिक रूपबाट, यसको आविष्कार सन् १७४० को केही वर्षपछि कम्तीमा दुई अनुसन्धानकर्ताहरूले स्वतन्त्र रूपले गरे । आफ्नो विद्युत अनुसन्धान कार्यको शुरुवातदेखि नै, फ्रैंकलीन यस अचम्मको र अत्यन्तै उपयोगी उकरणको सिद्धान्तको व्याख्या गर्नमा रुचि राख्दथे । र, फ्रैंकलिनको सिद्धान्तको प्याराडाइमको रूपमा स्वीकृत हुनमा, लीडेन जारको उनको सफल व्याख्याको भूमिका सबभन्दा महत्वपूर्ण थियो, यद्यपि उनको सिद्धान्त विद्युत–प्रतिकर्षणको त्यतिखेरसम्म ज्ञात मामिलाहरूको व्याख्या गर्नमा पूर्ण रूपले असफल थियो । प्याराडाइमको रूपमा मान्य हुनको लागि सम्बन्धित सिद्धान्त आफ्नो प्रतिस्पर्धाहरूबाट धेरै राम्रोसँग थाहा होस् भन्ने कुरा त आवश्यक छ ; तर यो कुरा न त आवश्यक छ र न यस्तो ऐतिहासिक रूपले कहिल्यै हुन्छ कि तिनीहरुले सबै समकालीन तथ्यहरूका सफल व्याख्या गर्न सकून् ।

विद्युतको तरल सिद्धान्तको कारणले जुन प्रभाव त्यसलाई मान्ने उप–समूहमा परेको थियो, फ्रैंकलिनको प्याराडाइमको कारण पछि त्यही प्रभाव विद्युत विशेषज्ञहरूको पूरा दलमाथि पर्‍यो । त्यसको आधारमा अनुसन्धानकर्ता के निर्णय गर्न सक्दथे भने कुन प्रयोग गर्नु लाभदायक हुनेछ र कुन प्रयोग विद्युतको गौण वा अत्यधिक जटिल अभिव्यक्तिहरूतर्फ निर्दिष्ट हुने कारणले लाभदायक हुनेछैन । प्याराडाइम स्थापित हुनजाने कारणले यो काम कैयौं धेरै प्रभावशाली ढंगले हुने निम्न दुई कारण छन् । पहिलो हो,  विचार–पद्धतिहरूको बीचको बहस अन्त्य  हुनजाने कारणले मूल सिद्धान्तहरूलाई निरन्तर दोहोर्‍याउन बन्द हुनगयो र अर्को, जब वैज्ञानिकहरूलाई यो विश्वास हुनगयो कि उनीहरू सही मार्गमा छन्, तब अधिक सूक्ष्म रहस्य र समय लिने कामहरूलाई सम्पन्न गर्नको लागि उनीहरूलाई धेरै प्रोत्साहन मिल्यो। प्याराडाइम उपलब्ध भएपछि सबै विद्युत परिघटनाहरूमा अनुसन्धान गर्न आवश्यक रहेन, विद्युत–विशेषज्ञहरूको संयुक्त दल चुनिएका परिघटनाहरूको कैयौं अधिक विस्तारपूर्वक अध्ययन गर्नमा सक्षम हुनगए र यस कामको लागि यस्ता विशेष उपकरण तयार गर्न संभव हुनगयो, जसलाई विद्युत–विशेषज्ञ पहिलेको अपेक्षामा कैयौं अधिक लगनपूर्वक जुटेर र नियमित रूपले प्रयोग गर्न सक्थे । तथ्य–संकलन र सिद्धान्त परिष्करण, दुवै धेरै निर्दिष्ट गतिविधिहरू बन्नगए । विद्युत अनुसन्धानको प्रभावशालीता र कार्यक्षमता तदनुसार बढ्नगयो र यसप्रकार सामाजिक व्यवहारको सन्दर्भमा फ्रान्सिस बेकनको यस कुशाग्र पद्धतिशास्त्रीय सूक्तिको प्रमाण मिल्यो कि “उल्झन र भ्रममा परिरहनुको सट्टा गल्ती गरेपछि सत्य धेरै छिटो उजागर हुन्छ” ।१०

प्याराडाइममा आधारित यस अत्याधिक निर्दिष्ट अनुसन्धानको प्रकृतिको जाँच हामी आउँदो अध्यायमा गर्नेछौं, तर त्यसभन्दा पहिले हामी संक्षेपमा कुनै वैज्ञानिक क्षेत्रमा काम गर्ने अनुसन्धानकर्ताहरूको दलको ढाँचा प्याराडाइमको आविर्भावबाट कसरी प्रभावित हुन्छ भन्ने कुरामाथि विचार गर्नेछौं । कुनै प्राकृतिक विज्ञानको विकासको क्रममा, जब कुनै व्यक्ति वा दल कार्यकर्ताहरूको अघिल्लो पुस्ताका अधिकतम् मानिसहरूलाई आकर्षित गर्नयोग्य कुनै संश्लेषण सम्पन्न गर्दछ, तब पुराना विचार–पद्धतिहरू बिस्तारै–बिस्तारै लोप हुनजान्छन् । तिनीहरूको लोपको एउटा कारण भने, तिनका सदस्यहरूको नयाँ प्याराडाइमको पक्षमा मत–परिवर्तन हुन्छ तर हमेशा केही मानिस यस्ता पनि हुन्छन्, जो कुनै न कुनै पुरानो दृष्टिकोणसँग मात्र टाँसिरहन्छन् र व्यवसायका मानिसहरू तिनलाई “जाति–बाहिर” बुझ्न लाग्दछन् र त्यसपछि तिनीहरूको काममा कुनै ध्यान दिँदैनन् । नयाँ प्याराडाइमको स्थापनामा अनुसन्धानको क्षेत्रको एक नयाँ र अधिक कठोर सीमा निर्धारित गर्ने परिभाषा निर्धारित हुन्छ । जो अनुसन्धानकर्ता आफ्नो कामलाई उपरोक्त सीमानिर्धारणअनुरूप ढाल्नको लागि तयार हुँदैनन् वा यस्तो गर्नमा अक्षम रहन्छन्, तिनीहरूले या त एक्लै काम गर्नुपर्दछ या फेरि उनीहरूले कुनै अन्य दलको सदस्य बन्नुपर्दछ ।११ यो एक ऐतिहासिक तथ्य हो कि यस्ता अनेक अनुसन्धानकर्ता दर्शनका तिनै विभागहरूमा रहिरहे, जसबाट यति धेरै विशेष–विज्ञानहरूको जन्म भएको छ । उपरोक्त कुराहरूबाट के स्पष्ट हुन्छ भने कहिलकाहीँ यस्तो पनि हुन्छ कि प्याराडाइमको स्वीकृतिको कारण नै पहिले जुन दल केवल प्रकृतिको अध्ययनमा रुचि राख्दथ्यो, त्यो एउटा व्यवसायमा वा कम्तीमा एक विद्याशाखामा रूपान्तरित हुनजान्छ । विशेष प्रयोजनको पत्रिकाहरूको प्रकाशन, विशेष संघहरूको स्थापना र पाठ्यचर्चामा महत्वपूर्ण स्थान मिल्ने दावी, इत्यादि सबै कुराहरू वैज्ञानिक अनुसन्धानको कुनै दलद्वारा प्याराडाइम पहिलो पटक स्वीकृत हुनुसँगै घटित हुन्छ ; यो कुरा चिकित्सा विज्ञान, प्रविधि र कानूनजस्ता ती क्षेत्रहरूको लागि लागू हुँदैन, जसले आफ्नो अस्तित्वको लागि बाहिरी सामाजिक आवश्यकतामा निर्भर गर्दछ । विज्ञानको विशिष्टीकरणको संस्थागत विकास लगभग डेढ शताब्दी पहिले शुरु भयो र यो कुरा त धेरै वर्तमानमा नै पैदा भएको छ कि विशिष्टीकरणलाई व्यावसायिक काममा विशेष प्रतिष्ठा प्राप्त भएको छ । वैज्ञानिक समुदायका उपरोक्त विशेषताहरू पनि यसै समयको क्रममा प्रकट भएका छन् ।

वैज्ञानिक दलको कठोर सीमा निर्धारणका अरु पनि परिणाम हुन्छन् । जब हरेक वैज्ञानिक प्याराडाइमको सत्यतालाई मानेर चल्न सक्दछ, तब कुनै महत्वपूर्ण वैज्ञानिक रचनाको लेखकको लागि यो आवश्यक हुँदैन कि त्यसले मूल सिद्धान्तहरूबाट आफ्नो समीक्षा शुरु गरोस् र व्याख्यामा प्रयुक्त हरेक धारणाको औचित्यको प्रतिपादनको गर्दै आफ्नो क्षेत्रको निर्माण नयाँ सिराबाट गरोस् । यो काम पाठ्य–पुस्तकहरूका लेखकहरूको लागि छोड्न सकिन्छ । यसप्रकार सिर्जनात्मक वैज्ञानिक आफ्नो काम त्यहाँबाट शुरु गर्न सक्दछ, जहाँ पाठ्य–पुस्तकहरू खत्तम हुन्छन् र त्यसकारण उसको लागि संभव छ कि आफ्नो दलको कार्यक्षेत्रसँग सम्बन्धित प्राकृतिक परिघटनाहरूको केवल सबभन्दा दुर्बोध र रहस्यात्मक पक्षहरूमाथि नै एकाग्रतापूर्वक विचार गरोस् । यसप्रकारको कार्यपद्धति अपनाएपछि वैज्ञानिक अनुसन्धानको साहित्यमा पनि आधारभूत अन्तर आउनजान्छ । यस विषयमा धेरै कम अध्ययन गरिएको छ, यद्यपि यसको परिणामबाट सबै अवगत छ र धेरैको लागि यो गम्भीर चिन्तको विषय पनि हो । प्याराडाइम स्थापित भएपछि वैज्ञानिक साहित्यमा “विद्युतमाथि…..फ्रेंकलिनको प्रयोग” वा डार्विनको “प्रजातिहरूको उद्भव” जस्ता पुस्तकहरू लोप हुनजान्छन् । यी पुस्तकहरूको माध्यमबाट वैज्ञानिक आफ्नो अनुसन्धानको ज्ञान हरेक यस्ता व्यक्तिसम्म पुर्‍याउँदथ्यो, जसले उसको क्षेत्रको विषम–वस्तुमा थोरै पनि रुचि राखेको होस् । यसको सट्टा अब वैज्ञानिकहरूको जोड आफ्नो व्यवसायको सहकर्मीहरूमा हुनजान्छ । त्यसकारण उनीहरू आफ्नो कामलाई यस्तो संक्षीप्त लेखहरूको रूपमा प्रकाशित गर्दछन्, जसका पाठक यस्ता मानिस हुन्, जो आफ्नो समान रूपले स्वीकृत प्याराडाइमसँग राम्रोसँग परिचित हुन्छन् । यसप्रकार अब यी लेखहरूलाई पढ्नमा केवल व्यवसायका ती सदस्य नै सक्षम रहनजान्छन्, जसलाई यी लेख संबोधित गरिन्छ र  सामान्यतया यो साहित्य अविशेषज्ञहरूको लागि सुलभ रहनजाँदैन ।

आजभोलि विज्ञानहरूको क्षेत्रमा प्रकाशित पुस्तकहरू या त प्रायः पाठ्य–पुस्तकहरू हुन्छन् या फेरि तिनीहरू वैज्ञानिक जीवनको कुनै न कुनै पक्षको ऐतिहासिक विवेचना हुन्छन् । यस परिस्थितिमा पुस्तक लेख्दा वैज्ञानिकको व्यवसायिक प्रतिष्ठा बढाउनुको सट्टा, घटनाको संभावना धेरै रहन्छ । विभिन्न विज्ञानहरूको विकासक्रमको केवल प्रारम्भिक प्याराडाइम–पूर्व अवस्थामा नै पुस्तक लेखन र व्यवसायिक सफलताको बीचमा त्यो सीधा सम्बन्ध थियो, जुन अहिले पनि अर्को सिर्जनात्मक क्षेत्रहरूमा विद्यमान छ । जुन क्षेत्रमा पनि आफ्नो अनुसन्धान कार्यको प्रकाशन पुस्तकहरूको माध्यमबाट हुन्छ, त्यहाँ क्षेत्रको निर्धारित गर्ने अस्पष्ट रहन्छ र तिनै क्षेत्रहरूमा कुनै अविशेषज्ञ यो आशा गर्न सक्दछन् कि अनुसन्धानकर्ताहरूका मूल रिपोर्टहरू पढेर उसले त्यस क्षेत्रको प्रगतिबाट आफूले आफैलाई अवगत गराउन सक्दछ । गणित र खगोल विज्ञानको क्षेत्रहरूमा भने, प्राचीन कालदेखि नै अनुसन्धान रिपोर्टहरू यति जटिल हुनगएका थिए कि तिनीहरू सामान्यतया शिक्षित पाठकहरूको लागि बोधगम्य थिएनन् । त्यसैगरी गति–विज्ञानको क्षेत्रमा उत्तरकालीन मध्य युगमा अनुसन्धान रहस्यात्मक हुनगएको थियो । त्यसपछि सत्रौं शताब्दीको शुरुमा जब एउटा नयाँ प्याराडाइमले पुरानो मध्यकालीन प्याराडाइमको स्थान लियो, तब फेरि थोरै समयको लागि त्यस क्षेत्रका रचनाहरू बोधगम्य हुनगएका थिए । विद्युत अनुसन्धानका रचनाहरू अठारौं शताब्दीको अन्तभन्दा पहिले नै अविशेषज्ञहरूको बुझाइको परिधिभन्दा बाहिर हुनलागेको थियो र उन्नाइशौं शताब्दीसम्म भौतिक विज्ञानको अन्य सम्पूर्ण क्षेत्र पनि अविशेषज्ञहरूको लागि सुलभ रहनगएका थिएनन् । यिनै पछिल्ला दुई शताब्दीहरूको क्रममा जैव–विज्ञानहरूका विभिन्न क्षेत्रहरूको इतिहासमा पनि यसै प्रकारको संक्रमण खोज्न सकिन्छ । सामाजिक विज्ञानहरूका केही हिस्साहरूमा ती संभवतः वर्तमान समयमा घटित भइरहेका हुनेछन् । यो आम कुरा हुनगएको छ कि व्यावसायिक वैज्ञानिकहरू र अन्य क्षेत्रहरूका तिनका सहकर्मीहरूको बीचको बढ्दै गरेको खाडलमा सबै मानिसहरू खेद प्रकट गर्दछन् र निश्चय नै यस्तो ठीक पनि छ ; तर यस खाडल र वैज्ञानिक उन्नतिमा निहित प्रक्रियाहरूको बीचको अनिवार्य सम्बन्धमा अत्यन्तै कम ध्यान दिइन्छ ।

यदि अनुसन्धानको क्षेत्रमा विकासक्रमलाई हेर्‍यौं भने, हामी पाउँदछौं – प्रागऐतिहासिक पुराकालदेखि यो संक्रमण निरन्तर घटित भइरहन्छ । जब कुनै विज्ञानको क्षेत्र आफ्नो प्राक्–इतिहासबाट निक्लिएर एक परिपक्व अनुसन्धान क्षेत्रको रूपमा विकसित हुनजान्छ, तब वास्तवमा त्यसको इतिहास शुरु हुन्छ । मेरो संक्षीप्त विवेचनाबाट यो धारणा बन्न जाओस् कि परिपक्वता प्राप्त गर्ने यो संक्रमण आकस्मिक हुन्छ र कुनै एक घटनासँग स्पष्ट रूपमा जोडिएको देख्न सकिन्छ भन्ने कुरा संभव हुन्छ । वास्तवमा यस्तो धेरै कम हुन्छ । तर यसको उल्टो कुरा पनि सही छैन अर्थात् यो संक्रमण सम्बन्धित क्षेत्रको पूरा ऐतिहासिक विकासको क्रममा बिस्तारै–बिस्तारै सम्पन्न हुँदैन । अठारौं शताब्दीका पहिला चार दशकहरूको क्रममा विद्युत–अनुसन्धानकर्ताहरूसँग विद्युत परिघटनाहरूको बारेमा आफ्ना सोह्रौं शताब्दीका पूर्वजहरूको भन्दा अत्यन्तै धेरै जानकारी थियो; तर पनि ग्रे, डू फे र फ्रैंकलिन जस्ता अठारौं शताब्दीका पूवार्धका लेखकहरूका संरचनाहरू आफ्ना सोह्रौं शताब्दीका अंग्रेजहरूसँग मिल्दा–जुल्दा छन् । अब यदि हामीले अठारौं शताब्दीका पहिला चार दशकहरू र अन्तिम तीन दशकहरूको क्रममा लेखिएका रचनाहरूको तुलना गर्‍यौं भने, स्थिति बिल्कुल भिन्न छ । यद्यपि १७४० देखि १७८० को बीचमा अत्यन्तै थोरै मात्र नयाँ विद्युत–परिघटनाहरूको खोज भयो, तर ग्रे, डू फे र फ्रेंकलिन जस्ता अठारौं शताब्दीका पूवार्धका उपरोक्त अनुसन्धानकर्ताहरूका रचनाहरूमा अन्यन्तै महत्वपूर्ण अन्तर छ ।१२  सन् १७४० र १७८० को बीचमा कुनै समय त्यो परिस्थिति घटित भयो, त्यसपछि विद्युत–विशेषज्ञले आफ्नो क्षेत्रको आधारभूत मान्यतालाई समान रूपले मानेर काम गर्न सक्षम हुनगए । त्यसपछिबाट उनीहरूको लागि यो संभव हुनगयो कि उनीहरू अधिक निश्चित र दुर्बोध समस्याहरूको हलमा लाग्न सकून् । तबदेखि उनीहरूले आफ्नो अनुसन्धान कार्यको प्रकाशन व्यापक रूपले विद्वानलाई सम्बोधित गरी लेखिने पुस्तकहरूको रूपमा गर्नुको बदला अन्य विद्युत–विशेषज्ञहरूलाई सम्बोधित गरिएका लेखकहरूको रूपमा गर्न शुरु गरिदिए । तिनका व्यावशायिक कामको सन्दर्भमा त्यो परिस्थिति घटित हुनगएको थियो, जुन खगोग–वैज्ञानिकहरूको बीचमा प्राचीन कालमा गतिको अनुसन्धानकर्ताहरूको बीच मध्य युगमा, भौतिक प्रकाश विज्ञानका अनुसन्धानकर्ताहरूको बीच सत्रौं शताब्दीको उत्तरार्धमा र ऐतिहासिक भूगर्भशास्त्रको अनुसन्धानकर्ताहरूको बीचमा उन्नाइसौं शताब्दीको शुरुमा घटित भइसकेको थियो । अर्थात् उनीहरूले यस्तो प्याराडाइम प्राप्त गरेका थिए, जुन पूरा दलको अनुसन्धानको मार्ग–पदर्शन गर्नमा सक्षम थियो । यस्तो प्रतीत हुन्छ कि यसप्रकार पश्चदृष्टिको आधारमा ऐतिहासिक विकासक्रमको उपरोक्त ढंगले विश्लेषण नै एक मात्र यस्तो कसौटी हो, जसको आधारमा असंदिग्ध रूपले कुनै अनुसन्धान क्षेत्र विज्ञान हो वा होइन भन्ने निर्णय गर्न सकिन्छ ।

सन्दर्भ र टिप्पणीहरू

१) जोसेफ प्रीस्टलेको पुस्तक द हिस्ट्री एण्ड प्रजेन्ट स्टेट अफ डिस्कवरिज रिलेटिंग टु भिजन, लाइट एण्ड कलर्स (लण्डन, १७७२) पृ. ३८५–९० ।

२) वास्को राँचीको पुस्तक हिस्ट्री द ल ल्युमेयर अनु. जीन टैटन (पेरिस, १९५६) मा अध्याय १ देखि ४ ।

३) डुआन रोलर एवं डुआन एच. डी. रोलरको पुस्तक द डेभलपमेन्ट अफ द कन्सेप्ट अफ इलेक्ट्रिक चार्ज : इलेक्ट्रिसिटी फ्रम ग्रीक्स टु क्लम (“हार्वर्ड केस हिस्ट्रीज इन एक्सपेरिमेन्टल साइन्स”, केस ८, क्याब्रिज, मैसा, १९५४) । आई. बी. कोहेनको पुस्तक फ्रैंकलिन एण्ड न्यूटन : एन इन्क्वायरी इन्टु स्पेकुलेटिभ न्यूटनियम एक्सपेरिमेन्टल साइन्स एण्ड प्रैंmकलिन’स वर्क इन इलेक्ट्रिसिटी एज एन एक्ज्याम्पल देयर अफ (फिलाडेल्फिया, १९५६) अध्याय ७ देखि १२ । निम्नलिखित अनुच्छेदको विश्लेषणात्मक सामग्रीको केही भाग मेरो विद्यार्थी जन एल. हाइलब्रौनको अप्रकाशित लेखबाट प्रभावित भएको छ र त्यसको लागि म उनको आभारी छु । यसको प्रकाशित हुने वेलासम्म प्रैंmकलिनको प्याराडाइमको आविर्भावको विस्तृत र यथार्थ विवरण लेखक मेरो लेख “द फंक्सन अफ डग्मा इन साइन्टिफिक रिसर्च” मा प्राप्त हुन सक्दछ जुन ए.सी. क्रौंबीद्वारा सम्पादित पुस्तक सिम्पोजियम अन द हिस्ट्री अफ साइन्स, यूनिभर्सिटी अफ अक्सपोर्ड, जुलाई ९ देखि १५, १९६१ मा संकलित छ । यो पुस्तक हाइमेन एजुकेशनल बुक्स लिमिटेडद्वारा प्रकाशित हुने हो ।

४) यसको तुलना तापको प्राकृतिक इतिहासको विवेचनासँग गरौं जुन बेकनको पुस्तक नोभम अर्गेनममा दिइएको छ । यसको लागि हेर्नुहोस् द वक्र्स अफ फ्रान्सिस बेकन, खण्ड ८, सं. जे. स्पेडिंग, आर. एल. एलिस र डि. डी. हीथ (न्यूयोर्क, १८६९), पृ. १७९ देखि २०३ ।

५) रोलर र रोलरको पूवोक्त कृतिमा पृ., १४, २२, २८, ४३. पृ. ४३ मा उल्लेखित काम सम्पन्न भएपछि मात्र प्रतिकर्षण प्रभावहरूको सामान्यतः असंदिग्ध रूपले विद्युत परिघटनाहरूको रूपमा मान्न शुरु भयो ।

६) बेकनको पूर्वोक्त कृतिको पृ. २३५, २३७ मा यो वक्तव्य छ कि “थोरै तातो पानी बिल्कुल ठण्डा पानीको अपेक्षा धेरै सजिलोसँग जमाउन सकिन्छ ।” । यस अवलोकनको पहिलेको इतिहासको आंशिक विवरणको लागि मार्शल क्लागेको पुस्तक जिओवानी मार्लियानी एण्ड लेट मेडीवल फिजिक्स (न्यूवर्क, १९४१) को अध्याय ४ मा हेर्नुहोस् ।

७) रोलर र रोलरको पूर्वोक्त कृतिमा पृ. ५१ देखि ५४ ।

८) कठिनाई पैदा गर्ने प्रभाव ऋण आवेशित पिण्डहरूको प्रतिकर्षण थियो । यसको लागि कोहेनको पूर्वोक्त कृतिमा पृ. ४९१ देखि ९४, ५३१ देखि ५४३ हेर्नुहोस् ।

९) यो उल्लेखनीय छ कि फ्रेंकलिनको सिद्धान्त स्वीकृत भएपछि विवाद पूर्ण रूपले खत्तम भएन । १७५९ मा रोबर्ट सिमरले त्यस सिद्धान्तको द्वि–तरलीय रूपान्तरण प्रस्तावित गरे । र, त्यसको धेरै वर्षपछि विद्युत–विशेषज्ञहरूको बीचमा यो मतभेद चलिरह्यो कि विद्युतको तरल एक हुन्छ वा दुई । यस विषयमा चल्ने बहसबाट हाम्रो यस तर्कको पुष्टि हुन्छ कि समान रूपले स्वीकृत सफलताको आधारमा व्यवसायिक दल एकजुट हुनजान्छ । यद्यपि यस सवालमा मतभेद चलिरह्यो, तर चाँडै नै विद्युत–विशेषज्ञहरूको बीचमा यस कुरामा मतैक्य हुनगयो कि सिद्धान्तका यी दुई रूपान्तरहरूको बीच प्रयोगहरूको आधारमा निर्णय गर्न संभव थिएन र त्यसकारण ती समतुल्य थिए । यसपछि दुवै विद्या–शाखाहरूका वैज्ञानिकहरूले सिद्धान्तको पूरा उपयोग गरे र यसबाट उनीहरूलाई आफ्नो काममा फाइदा भयो (उही पृ. ५४३ देखि ५४६, ५४८ देखि ५५४ ) ।

१०) बेकनको पूर्वोक्त कृति, पृ. २१० ।

११) व्यावसायिक व्यवहारमा अपरिवर्तनशीलताको धेरै राम्रो उदाहरण विद्युतको इतिहासमा मिल्दछ जसको पुनरावृत्ति प्रीस्टले, क्याल्विन र धेरै अन्य वैज्ञानिकहरूको जीवनसँग मिल्दछ । अठारौं शताब्दीको मध्यमा यूरोप (ब्रिटेनलाई छोडेर) का विद्युत विशेषज्ञहरूमा नोले सबभन्दा प्रभावशाली थिए । उनको बारेमा प्र्रैंmकलिनको भनाई थियो कि “उनी आफ्नो सम्प्रदायका अन्तिम व्यक्ति थिए ; उनको अतिरिक्त उनीसँग केवल एक बफादार चेला बचेका थिए मिस्टर बी ।” हेर्नुहोस् म्याक्स फ्याराण्डद्वारा सम्पादित पुस्तक बेन्जामिन फ्रेंकलिन‘स मेमयर्स (बर्कले, क्यालिफोर्निया १९४९) पृ. ३४८ देखि ३८६ । यसभन्दा पनि अधिक रोचक ती उदाहरणहरू हुन् जसमा पूराका पूरा विद्याशाखा आफ्नो व्यवसायिक वैज्ञानिक कामबाट कटेर अलग हुनजान्छ । जस्तो, ज्योतिषशास्त्रलाई लिनुहोस्, जुन कुनै समय खगोलविज्ञानको अभिन्न अंग थियो, वा “रोमानी” (रोमान्टिक) रसायन–विज्ञानको परम्पराको उदाहरणलाई लिनुहोस् जुन पहिले विज्ञानको यस क्षेत्रमा अत्यन्तै उत्कृष्ट मनिन्थ्यो, तर अठारौं शताब्दीको अन्त्यमा र उन्नाइसौं शताब्दीको शुरुसम्म वैज्ञानिक अनुसन्धानबाट कटेर अलग चलिरह्यो । यस परम्पराको विषयमा चाल्र्स सी. जिलिस्पीले आफ्ना यी दुई लेखहरूमा चर्चा गरेका छन् : “द इन्साइक्लोपेडिया एण्ड द जेकोबिन फिलोसोफी अफ साइन्स : ए स्टडी इन आइडियाज एण्ड कन्सीक्वेन्सेज” मार्शल क्लागेद्वारा सम्पादित पुस्तक क्रिटिकल प्रोब्लेम्स इन द हिस्ट्री अफ साइन्स ( मेडिसन, विज । १९५९), पृ. २५५ देखि ८९ र द फर्मेशस अफ लेमाक्‘स इभोल्यूसनरी थ्योरी, आर्काइब्स इन्टरनेशनल द हिस्ट्री देस साइन्सेज, ३२ (१९५६), पृ. ३२८ देखि ३८ ।

१२) फ्रेंकलिन पछिको विद्युत अनुसन्धान क्षेत्रको निम्न विकास यहाँ उल्लेखनीय छ, आवेश संसूचकहरूको संवेदनशीलतामा असाधारण वृद्धि, आवेश मापनको पहिलो र विद्युत तनावको भर्खरै परिष्कृत धारणासँग त्यसको सम्बन्धको विकास र स्थिर–विद्युत बलको परिणामको व्याख्या । यी सबैको लागि निम्न रचनाहरू हेर्नुहोस् : रोलर र रोलर, पूर्वोक्त कृति पृ. ६६ देखि ८१, डब्लू. सी. वाकरको लेख, “द डिटेक्टसन एण्ड इस्टिमेशन अफ इलेक्ट्रिक चार्जेज इन द एटिन्थ सेन्चूरी”, ऐनस्ल अफ साइन्स, १ (१९३६), पृ. ६६–१०० ; एडमण्ड होपको पुस्तक गेशिश्ट डर इलेक्ट्रिजिटाट (लिपजिंग, १८८४) खण्ड १, अध्याय ३ देखि ४ ।



Leave a comment

About Me

I am a student of philosophy and nature. I thoroughly research all subjects and summarize them in Nepali and English. I am Secretary of Marxism Study-Research Academy, Nepal. I am a Social Worker. Education – i) Master of Arts Degree in Political Science – TU, ii) Master of Public Administration Degree – TU, iii) Master of Arts Degree in History-TU, iv) Master of Arts Degree in Nepalese History Culture and Archaeology-TU.

म अध्ययन-अनुसन्धान कार्यमा निस्वार्थ भावले निरन्तर लागेको एक वाम विचारधारायुक्त सामाजिक कार्यकर्ता हुँ। मेरो कुनै पनि राजनीतिक दलसँग संलग्नता नरहेको जानकारी गराउँदछु। मेरा हरेक अध्ययन-अनुसन्धान कार्य शोषण, दमन, अन्याय, अत्याचारका विरुद्ध हुनेछन् । आम श्रमजीवी, भोका-नांगा, गरीब, उत्पीडित जनसमुदायहरूलाई सुशिक्षित गर्ने प्रयत्न मेरो कर्तव्य हुनजान्छ । मेरा सबै कार्य जनहितका लागि हुनेछन् भन्ने आशा तथा विश्वासपूर्वक मैले निरन्तर कार्य अगाडि बढाइरहेको हुनेछु। श्रमप्रति सम्मान र शोषणप्रति घृणा नै मेरा कार्यका उद्देश्य हुनेछन्।  

यहाँ तपाईंहरू सबै प्रकारका सामग्रीहरू अध्ययन गर्न र हेर्न पाउनुहुनेछ । अध्ययन गर्नको लागि रूचियुक्त सामग्रीहरू माग गर्नुभयो भने यथासंभव परिपूर्तिसमेत गरिनेछ । यहाँ लेखरचना, पत्रपत्रिका, म्यागजिन,  जर्नल, विभिन्न पुस्तकहरू (नेपाली, अंग्रेजी र हिन्दी भाषामा), डकुमेन्ट्री, फिल्म, आदि सामग्रीहरू खोजेर पढ्न तथा हेर्न सक्नुहुन्छ।

I am a leftist social worker who is selflessly engaged in research work. I inform you that I am not affiliated with any political party. Every study-research work of mine will be against exploitation, oppression, injustice and tyranny. It is my duty to try to educate the common workers, the hungry, the poor, the oppressed masses. I will continue my work with the hope and confidence that all my work will be for public interest. Respect for labor and hatred for exploitation will be the objectives of my work.

Here you will find all kinds of content to study and watch. If you demand for interesting materials to study, they will be provided as much as possible. Here you can search and read articles, newspapers, magazines, journals, various books (in Nepali, English and Hindi languages), documentaries, films, etc.

श्रमको सम्मान गर्नुभएकोमा धन्यवाद ।

Thank you for respecting the labor.

Newsletter

Marxism-मार्क्सवाद

Communist history

Philosophy-दर्शन

लेनिन-LeninLeninism

दस्तावेज-documents

धर्म-दर्शन

त्रिपिटक–बुद्ध

गीता सार

Politics–राजनीति

ग्रन्थ परिचय

Mao-Maoism

साहित्य- literature

जीवनी-biography

साम्यवाद-communism

युवाबारे-On Youth

कार्ल मार्क्स–Karl Marx

फ्रेडरिक एंगेल्स–F. Engels

भी.आइ.लेनिन–V.I.Lenin

जे. भी. स्टालिन – J.V. Stalin

माओत्सेतुङ – Maotsetung

डिजिटल पुस्तकालय (digital library)

ई-पुस्तकालय -e-library

विज्ञान-प्रविधि (Science-Technology)

सामान्य ज्ञान (GK)

Documentaries and YouTube channels

पुस्तकालय – LIBRARY

नेपाली डिजिटल पुस्तकहरू (Nepali Digital Books)

नेपाली न्यूजपेपर, म्यागजिन र अनलाइन पत्रपत्रिकाहरू (Nepali Newspapers, Online and Nepali Magazines)

English Digital Books : Part – 1 (world communist special books)

English Digital Books : Part – 2

English Digital Books : Part – 3

हिन्दी डिजिटल पुस्तक (Hindi digital Books) भाग – १

हिन्दी डिजिटल पुस्तक (Hindi digital Books) भाग – २

हिन्दी डिजिटल पुस्तक (Hindi digital Books) भाग – ३

हिन्दी डिजिटल पुस्तक (Hindi digital Books) भाग – ४

हिन्दी डिजिटल पुस्तक (Hindi digital Books) भाग – ५

Documentaries and YouTube channels

Uncategorized

ENGLISH SECTION

Design a site like this with WordPress.com
Get started