क्रान्तिकारी कम्युनिष्ट नेता गोञ्जालो, पेरूको क्रान्ति युद्ध र गोन्जालोका विचारहरूको अध्ययन

गोञ्जालोको जीवनकाल र पेरूको क्रान्ति युद्ध

गोञ्जालो पेरू कम्युनिष्ट पार्टी (साइनिङ पाथ) का नेता, क्रान्तिकारी विचारक र पेरूको जनयुद्धका नेता थिए। मार्क्सवाद-लेनिनवाद-माओवादलाई संश्लेषित रूपमा विकास गर्ने गोञ्जालालाई पेरूमा मात्र होइन, संसारमा नै अत्यन्तै महत्त्वपूर्ण कम्युनिष्ट क्रान्तिकारी नेताको रूपमा हेरिन्छ। विशेषगरी माओवादलाई संश्लेषण गर्नमा उनले महत्त्वपूर्ण भूमिका निभाएका थिए। गोञ्जालोले लेनिन र स्टालिनको समयको श्रमिक आन्दोलन एवम् मार्क्स तथा एंगेल्सको समयको श्रमिक आन्दोलन दुवैबाट फरक यात्रा गरे। मार्क्सवाद-लेनिनवाद-माओवादलाई स्थपित गर्न गोञ्जालोले महत्त्वपूर्ण भूमिका खेले भने विशेषगरी उनले माओवादको विकासमा जोड दिएको देखिन्छ। उनका अनुसार मार्क्सवादलाई बुझ्नका लागि माओवादबाट शुरु  गर्नुपर्दछ, किनभने माओवाद अधिक विकसित मार्क्सवाद हो। गोञ्जालोले माओको दर्शन, वर्गसंघर्ष, जनयुद्धलाई अगाडि बढाउनको लागि महत्त्वपूर्ण योगदान पुर्‍याएको देखिन्छ। गोञ्जालो जटिल अन्तर्राष्ट्रिय सन्दर्भमा क्रान्ति शुरू गर्ने एक महान व्यक्ति थिए। अन्तर्राष्ट्रिय कम्युनिष्ट आन्दोलन लगभग रक्षात्मक स्थितिमा पुगेको बेला गोञ्जालोले पेरूबाट क्रान्ति-युद्धको ज्वाला शुरु गरेका थिए। उनी १९६० र ७० को दशकमा वामपन्थी राजनीतिमा सक्रिय रहँदै विश्वविद्यालयमा दर्शनशास्त्रको अध्यापन गराउँथे। उनले स्वदेशीहरूको सश्क्तीकरणमा जोड दिँदै सशस्त्र संघर्षको एक विचारधाराको विकास गरे।

गोञ्जालोको जन्म डिसेम्बर ३, १९३४ मा पेरूको सानो शहर मोलेण्डो (आइस्ले प्रान्त, अरेक्विपा) मा भएको थियो। उनको पूरा नाम अविमायल गुजमान रेनोसो थियो। उनलाई अध्यक्ष गोञ्जालोको रूपमा संसारका क्रान्तिकारी कम्युनिष्टहरूले चिन्ने गर्दछन्। उनी धनी व्यापारी परिवारमा जन्मिएका थिए। गोञ्जालो ५ वर्षको हुँदासमम्म उनकी आमासँगै मामाकोमा बसेका थिए तर उनी ५ वर्षकै भएको बेलामा उनकी आमाको मृत्यु भयो त्यसपछि उनी आफ्ना पिता, सौतेनी आमा र सौतेनी भाइसँग बस्नथाले। पछि उनको सम्पूर्ण परिवार दक्षिणी पेरूको अरेक्विपा शहरमा बसाइ सर्‍यो । त्यहीँ उनले एक निजी विद्यालयमा आफ्नो पढाई शुरु गरे। गुजमान एक उत्कृष्ट विद्यार्थी थिए। त्यसकारण उनी आफ्नो हाइस्कूलको कक्षामा शीर्ष स्थानमा उतीर्ण भए। त्यसपछि १९ वर्षको उमेरमा उनी अरेक्विपा विश्वविद्यालयमा भर्ना भए।

गोञ्जालो ११ वर्षको उमेरमा नै सन् १९४५ मा पेरूका वामपन्थीहरूले निकालेको एउटा विरोध जुलुसमा भाग लिएर वामपन्थी राजनीतिमा लागेका थिए। सन् १९४६ मा गोञ्जालो कम्युनिष्ट योङ ब्रिगेडका सदस्य भएका थिए।  सन् १९४९ देखि नै गुजमान पेरू कम्युनिष्ट  पार्टीसँग जोडिएका थिए। सन् १९५३ मा यूनिभर्सेड नेशनलमा गुजमानले दर्शनशास्त्र र कानूनको अध्ययन शुरू गरे। उनले यहाँ  बुर्जुवा लोकतान्त्रिक राज्य र कान्टको अन्तरीक्ष सिद्धान्त सम्बन्धी दुईवटा शोधपत्र लेखे।  त्यसपछि उनले साम्यवादका पिता तथा वैज्ञानिक समाजवादी दार्शनिक कार्ल मार्क्सको लेखनमा विशेष रूचि लिन लागे। त्यसपछि उनले लेनिन, स्टालिन हुँदै माओत्सेतुङसम्मका सबै कृतिहरूको व्यापक अध्ययन गरे। विश्वविद्यालयको विद्यार्थीको रूपमा रहँदा गुजमानलाई दुई व्यक्तिहरूले अन्तयन्तै प्रभावित बनाएका थिए। तिनीहरू थिए – दर्शनशास्त्रका प्रोफेसर रोड्रिग्ज रिवास र जर्मन दार्शनिक इम्यानुयल कान्ट। त्यसपछि गुजमानले रिवासका अनुयायीहरूको एक समूहद्वारा प्रकाशित एउटा पत्रिका सम्पादन गर्न शुरु गरे। यसको मुख्य उद्देश्य तर्कको माध्यमबाट संसार र मानव जातिलाई बदल्नु थियो। त्यसैगरी गुजमानलाई एक चित्रकार र कम्युनिष्ट कार्लोस डी लाको पनि गहिरो प्रभाव परेको थियो। कार्लोसबाट नै गुजमानमाथि माओ र सांस्कृतिक क्रान्तिको प्रभाव परेको देखिन्छ। सन् १९५६ मा उनी अरेक्विपा विश्वविद्यालयको विद्यार्थी संघको अध्यक्ष भएका थिए।  

सन् १९६२ मा गुजमानले अरेक्विपा विश्वविद्यालयबाट स्नातकको उपाधि हासिल गरे । त्यसपछि उनलाई यूनिभर्सिडेड नेशनल सेन क्रिस्टोबल डी हुआमंगामा दर्शनशास्त्रको प्रोफेसरको रूपमा नियुक्त गरियो। उनलाई पेरूका एक मार्क्सवादी विशेषज्ञ प्रोफेसर एफ्रेन मोरोटे वेस्टले नियुक्त गरेका थिए। उनका छोरा उस्मान मोरोटे बेरियनयूभो पनि पछि पेरू कम्युनिष्ट पार्टीका एक प्रमुख नेता भएका थिए। मोरोटे पनि पछि साइनिङ पाथका सच्चा बौद्धिक नेता बने।  गुजमान अरेक्विपाको आयाकुचो शहरमा रहँदा नै आफ्ना क्रान्तिकारी क्रियाकलापमा सक्रिय थिए। गुजमानको नयाँ विश्वविद्यालयले पेरूका असाधारण रूपमा गरीब र पिछडिएका भागका मानिसहरूलाई आर्थिक वृद्धि सृजना गर्न तालिम दिनेछ भन्ने आशासहित प्रविधिमा केन्द्रित गर्‍यो। यो लक्ष्य पूरा गर्न राम्रो तलब पाएका प्रोफेसरहरूलाई ल्याइयो।  अब गुजमानले गरीब विरोधी र शोषणकारी सरकारको विरुद्धमा विरोध गर्नको लागि केयौं युवा कम्युनिष्ट विद्यार्थीहरूलाई समूहमा संगठित गर्ने काम शुरु गरे। सन् १९६० को दशकमा गुजमान एक  महत्त्वपूर्ण व्यक्ति बनिसकेका थिए। विश्वविद्यालयका अध्यक्षका छोरा पनि गुजमानका अनुयायी भइसकेका थिए। गुजमान प्रायः विद्यार्थीहरूबाट घेरिएका हुन्थे, जसमा कैयौं गरीब विद्यार्थीहरू हुने गर्दथे। सन् १९६३ मा गुजमानले पेरू कम्युनिष्ट पार्टीको (लाल झण्डा) को गठनको पहल गरे। उनले त्यतिबेला नै पेरूको स्वदेशी जनसंख्याले बोल्ने भाषा क्वेशुआको अध्ययन गरे र तीव्र रूपमा क्रान्तिकारी क्रियाकलापमा सक्रिए हुनथाले। उनले क्रान्तिमा प्रतिबद्ध केयौं समान विचारधारा भएका युवा शिक्षाविदहरूलाई आकर्षित गरे।

सन् १९६४ मा गुजमानले स्थानीय कम्युनिष्ट नेताकी छोरी अगस्टा ला टोरे “नोराहा” सँग विवाह गरेका थिए। उनका कुनै सन्तान भएनन्। सन् १९८८ मा नोराहाको रहस्यमय मृत्यु भएको थियो।

सन् १९६४ मा पेरूको कम्युनिष्ट पार्टी दुई गुटमा विभाजित भयो। एउटाले रूसको कम्युनिष्ट पार्टीको समर्थन गर्‍यो भने अर्कोले माओत्सेतुङको चिनियाँ कम्युनिष्ट पार्टीको समर्थन गर्‍यो। पेरू कम्युनिष्ट पार्टीको यो विभाजनले १९६० को दशकको बीचमा भएको रूस र चीनको यही प्रकारको विभाजनलाई प्रतिबिम्बित गर्दथ्यो। त्यसपछि पेरूमा गुजमान चीन समर्थक नेताको रूपमा उदाए।

अर्को वर्ष क्युवाका कम्युनिष्टहरूको सफलताबाट प्रेरित भएर अयाकुचोसहित पेरूका धेरै ठाउँमा एक सशस्त्र विद्रोह भयो। तर गुजमानले आफ्ना अनुयायीहरूलाई समर्थनमा नेतृत्व दबावको विरोध गरे। उनको प्रतिरोधले सोभियत संघको पक्षमा भएको कम्युनिष्ट क्युवा र कम्युनिष्ट चीनको बीचमा बढ्दो विभाजनलाई प्रतिबिम्बित गर्‍यो। पेरूका अधिकारीहरूले उनलाई गिरफ्तार गर्ने धम्की दिए। उनलाई रूस, चीन, क्युवा जहाँका भए पनि  सबै कम्युनिष्ट एकै हुन् भन्ने लाग्थ्यो। यसपछि गुजमान सन् १९६५ मा पहिलो पटक चीन भ्रमणमा गए। उनीसँगै उनकी पत्नी अगस्टा ला टोरे पनि गएकी थिइन्।

गुजमानको चीन प्रवासले उनीमाथि धेरै गहिरो प्रभाव पार्‍यो। उनले जनताको युद्ध, छापामार युद्ध कसरी लड्ने भन्ने कुरा राम्रोसँग सिके। उनले माओ र चिनियाँ कम्युनिष्ट पार्टीलेले सन् १९४० को दशकमा अपनाएको  सफल भूमिगत छापामार रणनीतिलाई राम्रोसँग बुझे। चीनमा उनले माओका सिद्धान्त र रणनीतिको गहिरो अध्ययन गरेका थए। त्यसैगरी त्यहाँ उनले जनयुद्ध र जनसेना निर्माणको प्रयोगात्मक ज्ञान पनि प्राप्त भएको थियो। सन् १९६६ मा गुजमान चीनको महान सर्वहारा सांस्कृतिक क्रान्ति शुरु भएको बेलामा दोस्रो पटक चीन भ्रमणमा गएका थिए। यही बेला लाल झण्डा रोजा फ्र्याक्सनले आयाकुचोको विश्वविद्यालय परिसदलाई नियन्त्रणमा लिएको थियो।

सन् १९६७ मा गुजमान क्रान्तिको लागि तयार भएर पेरू फर्किए। उनको तत्कालीन चुनौती पेरूका कम्युनिष्टहरूको नेतृत्व गर्नु थियो। यहाँका कैयौं कम्युनिष्ट कार्यकर्ताहरू अझै पनि क्युवाको आदर्शबाट आकर्षित थिए। क्युवाले सम्पूर्ण ल्याटिन अमेरिकामा युवा क्रान्तिकारीहरूको लागि एक उदाहरणको रूपमा काम गरेको थियो। सरकारमाथि नियन्त्रण प्राप्त गर्नको लागि चिनियाँ कम्युनिष्ट दृष्टिकोण र क्युवा कम्युनिष्ट दृष्टिकोणको बीचमा अन्तर सैन्य कार्वाही वा  राजनितिक कार्वाही गर्ने भन्नेमा थियो। क्युवा मोडेल सेनामाथि आक्रमण गर्नको लागि साना तथा घुमन्ते छापामार समूहहरूको उपयोग गर्ने कुरामा आधारित थियो। यसको योजना अनुसार अन्ततः ग्रामीण इलाकाहरूमा सैन्य विजयपछि शहर र देशमा नियन्त्रण हुन्छ भन्ने थियो। चिनियाँ मोडेल अनुसार राजनीतिक संगठन निर्माण गरेपछि मात्र सैन्य हमला गर्नुपर्दछ भन्ने थियो। जबकि क्युवा मोडेलमा सरकारका सैन्य बलहरूलाई कैयौं लडाइँमा पराजति गरी राजधानीमा सैन्य जित हासिल गर्नु थियो भने चिनियाँ मोडेल अनुसार जनताको समर्थन हासिल गरी विस्तारै-विस्तारै देश कब्जा गर्ने आव्हान गरेको थियो।

गुजमान चिनियाँ कम्युनिष्ट पार्टी र माओका विचारका समर्थक थिए। क्युवाका क्रान्तिकारी चे ग्वेभारा (१९२८-१९६७) को क्रान्तिको लागि लड्दालड्दै वोलिभियामा मृत्यु भएपछि गुजमान ग्वेभाराको दृष्टिकोणबाट निराश भएका थिए। यस्तैमा सन् १९६८ अक्टुबर ३ मा एक अप्रत्यासित घटनाक्रम विकसित भयो। पेरूका सैन्य बलहरूले देशमा क्रान्ति हुँदैछ भन्ने महसुस गरेर निर्वाचित राष्ट्रपतिलाई अपधस्त गरे । तर कम्युनिष्टहरूमाथि आक्रमण गर्नुको साटो पेरूका सेनाहरूले ठूलो सुधार गरे। जेलमा बन्दी बनाइएका छापामारहरूलाई रिहा गरिदिए। यसको कम्युनिष्ट क्युवा र रूस समर्थित पेरू कम्युनिष्ट पार्टीले प्रंशसा गरे। तर गुजमान र पेरू कम्युनिष्ट पार्टीका चीन समर्थित दलले नयाँ सैन्य सरकारसँग संघर्ष शुरू गरे। सन १९६९ मा गोन्जालोले आयाकुचो विश्वविद्यालयको मानवीकी विभागको प्राज्ञिक जिम्वेवारी सम्हालेका थिए। त्यसपछि सरकारले लाल फ्र्याक्सनलाई गिरफ्तारी गर्‍यो। यतिबेला गोन्जालो आयाकुचोको लाल समूहको क्षेत्रीय समिति जोस कार्लोस मारियाटेगुईका प्रमुख थिए। यसपछि यो स्वायत्त भएर पेरूको कम्युनिष्ट पार्टीलाई पुनः स्थापित गर्ने दिशामा अगाडि बढ्यो। सन् १९७० को मई महिनामा ‘ल्याटिन अमेरिका : जनयुद्ध, महान विजय, शानदार परिप्रेक्ष्य’ शीर्षकको दस्तावेजसँगै पेरूको कम्युनिष्ट पार्टीको पुनर्गठन गरियो। यसले चे ग्वेभाराको सिद्धान्त अस्वीकार गर्‍यो र जनयुद्धको सार्वभौमिक सिद्धान्तलाई मान्यता दियो। सन् १९७१ मा गोञ्जालोले सेन्ट्रो डे ट्रावाजो इन्ट्रेलेक्ट्रल मारियाटेगुइ नामक संगठनको स्थापना गरे। यसले शास्त्रीय साम्यवादको अध्ययन गर्ने काम गर्दथ्यो।

यतिबेलै अयाकुचोमा विद्यार्थीहरूले गेट पास नभएका विद्यार्थीहरूको लागि हाइस्कूल शिक्षा समाप्त गर्ने निर्णयको विरोध गरे र गुजमानको समूहले विद्यार्थी प्रदर्शनकारीहरूलाई समर्थन गर्‍यो। यो प्रदर्शन भयंकर भयो र सैन्य सरकार पछि हट्न बाध्य हुनुपर्‍यो । त्यसपछि गुजमानलाई गिरफ्तार गरियो। जेलमा रहेकै बेला उनले पेरूका कम्युनिष्ट पार्टीका नेतासँग सम्बन्ध स्थापित गरी रिहा हुन स्वयं आफ्नो संगठन स्थापना गरे। दुवै समूहको बीचमा अन्तरको रूपमा बाहिरी मानिसहरूले एउटालाई रातो व्यानर र गुजमनको समूहलाई साइनिङ पाथको रूपमा सन्दर्भित गरिदिए। अर्को एक सन्दर्भ अनुसार पेरूका प्रसिद्ध वामपन्थी नेता होसे कार्लोस मारियाटेगुइले मार्क्सवाद-लेनिनवाद-माओवादको मार्गलाई भविष्यको चम्किलो मार्ग हो भनेका थिए । र, के भनिन्छ भने तिनै नेताको सम्मानमा गोञ्जालोले पार्टीको नाम साइनिङ पाथ राखेका थिए। अर्को कुरा कार्लोसको नेतृत्वमा स्थापित पेरूको कम्युनिष्ट पार्टीको निरन्तर उत्तराधिकारी पार्टी नै साइनिङ पाथ थियो।  यतिखेरै सैन्य सरकारले चीनसँग राजनीतिक सम्बन्ध शुरू गरिदियो। छिट्टै दुवैको बीचमा राम्रो सम्बन्ध स्थापित भयो। त्यसपछि पेरूको राजनीतिक क्रान्तिमा चीनको उत्साह कम हुन लागेको प्रतीत भयो।

सन् १९७३ बाट कार्यकर्ताहरूको संरचानको शुरुवातसहित गरीबहरूको आन्दोलन, श्रमिक वर्गहरूको आन्दोलन,  गरीब किसानहरूको आन्दोलन,  महिला आन्दोलन,  बौद्धिक आन्दोलन,  स्कूलका शिक्षकहरूको आन्दोलन, कलाकारहरूको आन्दोलन,  युवा विद्यार्थीहरूको आन्दोलन,  वकिलहरूको आन्दोलन,  राजनीतिक बन्दीहरूका परिवारहरूको आन्दोलन जस्ता विभिन्न आन्दोलनले व्यापक रूप लिए। सन् १९७५ मा पेरूमा जनरल फ्रान्सिस्को मोरालेस बरमूडेजले सैन्य कुमार्फत् सत्ता कब्जा गर्‍यो। त्यसपछि नोभेम्बर १९७५ मा गोन्जालोले पेरूको पुनर्गठित कम्युनिष्ट पार्टीबाट बोल्शेभिक गुटलाई हटाए। त्यससपछि १९७६ सेप्टेम्बर ९ मा माओको मृत्युपछि पेरूको कम्युनिष्ट पार्टीको केन्द्रीय समितिको तर्फबाट एउटा सन्देश पठाइको थियो।

यसपछि पनि गुजमानले जनताको युद्ध र चीनिया सांस्कृतिक क्रान्तिको अवधारणलाई अगाडि बढाइरहे। सांस्कृतिक क्रान्ति १९६६ देखि ७६ सम्म चीनमा भएको एक राजनीतिक आन्दोलन थियो, जसले चिनियाँ संस्कृतिमा पूँजीवादका सबै संकेतहरूमाथि प्रतिबन्ध लगाउने कोशिस गरेको थियो। पूँजीवादमा कारखाना र अन्य व्यवसाय एवं सम्पूर्ण राज्य व्यवस्थाको स्वामित्व र नियन्त्रण निजी व्यक्तिद्वारा गरिन्छ। यो कम्युनिष्ट विपरीत व्यवस्था हो। कम्युनिष्ट व्यवस्थामा सम्पत्तिको स्वामित्व समग्र रूपमा जनतासँग हुन्छ र सैद्धान्तिक रूपमा सरकारले उनीहरूलाई समान रूपले वितरण गर्दछ। अब पेरूमा रहेका अन्य वामपन्थी समूह साइनिङ पाथको विरूद्धमा एक भए। सन् १९७६ सम्म यी समूहरूले गुजमानलाई विश्वविद्यालय छोड्न विवस बनाए। यसपछि गुजमानले गाउँबाट चिनियाँ शैलीको कम्युनिष्ट क्रान्तिलाई अगाडि बढाउने कामलाई जारी राखे। यही बीचमा सन् १९७६ मा चीनमा माओको मृत्यु भयो देङ स्यायो पिङ सत्तामा आए। यिनले माओका धेरै सुधारहरूलाई उल्ट्याए र चीनको अर्थव्यवस्थामा निजी क्षेत्रलाई मार्गप्रशस्त गरे।

सन् १९७७ को मार्च महिनामा गोञ्जालोद्वारा पुनर्गठित पेरूको कम्युनिष्ट पार्टीले सशस्त्र संघर्ष शुरु गर्ने प्रश्नलाई सम्बोधित गर्नको लागि एउटा बैठक आयोजना गर्‍यो। त्यसपछि सन् १९७९ को मे देखि जुलाइसम्म भएको पेरू कम्युनिष्ट पार्टीको केन्द्रीय समितिको विस्तारित सत्रमा गोञ्जालोलाई पार्टी र क्रान्तिको प्रमुखको रूपमा प्रस्ततु गरियो। अप्रिल १९, १९८० मा पेरू कम्युनिष्ट पार्टीको सैन्य स्कूलद्वारा पहिलो पुस्ता गठन भयो।

गुजमानको विगत एक दशकभन्दा बढी समयदेखि चिनियाँ कम्युनिष्ट नेताहरूसँग घनिष्ठ सम्बन्ध थियो। सन १९८० मा गुजमान र उनको दलले चीनको नेतृत्वको आलोचना गर्‍यो र पेरू कम्युनिष्ट क्रान्तिको आफ्नो दृष्टिकोणलाई अगाडि बढाउनको लागि शक्तिपूर्वक आक्रमण गर्‍यो। यतिखेर युरोपियन कम्युनिष्ट देश अल्वानियाका नेता अनवर होक्जा (१९०८-१९८५) उनको सहयोगी थिए, पछि उनले पनि पेरू कम्युनिष्ट पार्टीको रेड ब्यानर समूहको पक्ष लिए। परिस्थिति सबैतिरबाट आफ्नो प्रतिकूल हुँदा पनि गुजमान हतोत्साहित भएनन्। उनले साइनिङ पाथलाई पहिलेभन्दा अझ बलियो र संगठित बनाए। त्यसपछि पार्टीले गोञ्जालो विचार पारित गरी यसलाई मार्गदर्शक सिद्धान्तको रूपमा अगाडि बढायो। जनवरी १९७९ मा गुजमान लिमामा गिरफ्तार भए। तर पार्टीले एक सम्मानित वकिललाई नियुक्त गर्‍यो । त्यसपछि उनी जेलबाट रिहा भए र भूमिगत भए।

साइनिङ पाथको जन्म पहिलो पटक सन् १९८० मा पेरूको कम्युनिष्ट पार्टीको आन्तरिक संघर्षको क्रममा भएको थियो। यसको लक्ष्य छापामार युद्धद्वारा पुरानो राज्यसत्ता उखेलेर फ्याँक्ने र यसलाई नयाँ जनवादी क्रान्तिसँग बदल्ने थियो। त्यसपछि सर्वहारा अधिनायकत्व स्थापित गरी सांस्कृतिक क्रान्तिको माध्यमबाट अन्ततः विश्व क्रान्तिलाई जन्म दिँदै पूर्ण साम्यवादमा पुग्ने लक्ष्य लिएको थियो। यसले तत्कालीन सोभियत लगायतका समाजवादी देशलाई संशोधनवादी भनेको थियो भने साइनिङ पाथलाई कम्युनिष्ट आन्दोलनको अगुवाको रूपमा अघि बढाएको थियो। साइनिङ पाथका छापामारमा गोञ्जालोका विद्यार्थी साथीहरू, क्रान्तिकारी युवाहरू, गरीबहरू, किसानहरू र श्रमिकहरू थिए, त्यसमा पनि महिलाहरूको संख्या धेरै थियो। चालीस प्रतिशत महिला कमाण्डरहरू थिए।

सन् १९८० को बशन्तमा पेरू कम्युनिष्ट पार्टी (साइनिङ पाथ) ले आफ्नो सशस्त्र क्रान्तिको शुरुवात गर्‍यो। जनताको संगठन तीव्र रूपमा अगाडि बढेको थियो। क्रान्ति जनयुद्धको रूपमा अगाडि बढेको थियो भने यसको रणनीति राजनीतिक प्रदर्शनदेखि लिएर सैन्य प्रतिष्ठानहरूको विरुद्ध छापामार हमलासम्म रहेको थियो। साइनिङ पाथले प्रतिक्रियावादी ग्रामीण क्षेत्रमा रहेका सरकारी केन्द्रहरूको शक्ति क्रमशः कब्जा गर्दै गयो र यसले ग्रामीण इलाकामा जनताको सत्ता स्थापित गरायो। गुजमान क्रान्ति अत्यन्तै जटिल हुने कुरा आफ्ना कार्यकर्ताहरूलाई बारम्बर भनिरहन्थे। विजयको लागि ठूलो क्षति पनि बेहोर्नुपर्ने हुनसक्दछ भन्ने कुरामा उनी सचेत  थिए। उनले पार्टी संगठलाई एकताबद्ध र बलियो बनाउँदै लगे। मई १७, १९८० मा पेरू कम्युनिष्ट पार्टीले राष्ट्रपति चुनावको क्रममा चुस्ची गाउँमा सैन्य हस्तक्षेप गरी मतदान केन्द्र ध्वस्त बनाइदियो।  

२४ अगस्ट १९८० मा  पार्टीले सशस्त्र संघर्षको सफल संचालनको परिणाम घोषणा गर्न र छापामार युद्धको अप्रतिरोध्य मार्चको घोषणा गर्नको लागि ‘गुरिल्ला युद्धको तर्फबाट’ भन्ने दस्तावेज प्रकाशन गर्‍यो। १३ जुन १९८० मा सशस्त्र संघर्षको शुरूवात गर्नको लागि लीमा क्षेत्रको सेन मार्टिन डे पोरेसमा आगो लगाइयो। १५ जुन मा जनरल जुआन अल्भाडोरको चिहानलाई डाइनामाइट गरियो। जुलाई १९ मा बेनिटो मेलगारेजो खानीमा १५२० डाइनामाइट कार्टिजको प्राप्ति गरियो। जुलाई १९ मा फर्नान्डो बेलाउन्डे पेरूको राष्ट्रपति बन्यो। डिसेम्बर २६ को माओको जन्मजयन्तीको दिनमा लिमाको केन्द्रीय सडकमा सांकेतिक रूपमा देङ सियायो पिङको विरोध गरियो।

सन् १९८१ सम्म आउँदा साइनिङ पाथले ६८५ भन्दा बढी कार्वाहीहरू सम्पन्न गरिसकेको थियो । यसक्रममा १३ जनाको मृत्यु भइसकेको थियो। जनवरी ५, १९८१ मा गृहमन्त्रीको एक सुरक्षा अधिकारीलाई मृत्युदण्ड दिइयो। ७ जनवरीमा पुनोको नयाँ पुलिस भवनलाई विष्फोटकद्वारा नष्ट गरियो। यो भवन लागू औषध तस्करीको वित्तपोषणको लागि बनाइएको थियो। १० मार्चमा पेरूको सरकारले आतंकवाद विरोधी कानून बनायो। त्यसपछि सिभिल गार्ड र रिपब्लिकन गार्डलाई आयाकुचो पठाइयो।  जुन १५ मा आतंकवाद विरोधी कानूनका सहनिर्मार्ताको घरमा बम बिष्फोट गरियो। अगस्टमा लिमामा रहेको रेडियो ला क्रोनिकामाथि कब्जा गरियो र सशस्त्र क्रान्तिको लागि आव्हान गरियो। ३१ अगस्ट मा लिमास्थित अमेरिकी दूतावासमाथि बम आक्रमण गरियो। सेप्टेम्बर २८ मा अरेक्विपा प्रान्त परिषदका सबै लेखा र प्रशासनिक कागजातहरूलाई नष्ट गरियो। यसैगरी अक्टुबर ११ मा ला मार प्रान्तको टेम्बो पुलिस स्टेशनमाथि आक्रमण गरियो। अक्टुबर १२ मा कांगेलो, ला मार, हुआंता र भिक्टर फजार्डो प्रान्तहरूमा सरकारले संकटकालको घोषणा गर्‍यो। यसरी नै २९ डिसेम्बरमा पनि कैयौं क्षेत्रहरूमा संकटकालको घोषणा गरियो। त्यसपछि सरकारी सेनाले व्यापक रूपमा नरसंहार, यातना, बलात्कारको शुरुवात गर्नथाल्यो।

यसरी सन् १९८२ सम्म आइपुग्दा साइनिङ पाथले करिब ९६९ वटा कार्वाहीहरू गर्‍यो। यी कार्वाहीहरूमा २४४ जनाको मृत्यु भयो। अब पेरू कम्युनिष्ट पार्टीले मार्क्सवाद-लेनिनवाद-माओवादलाई विचारधाराको रूपमा ग्रहण गर्‍यो। पार्टीले आयाकुचो, हुआनकेभेलिका र अपुरीम्याक जस्ता क्षेत्रहरूलाई आफ्नो नियन्त्रणमा लियो। सन् १९८२ मा नै आतंकवादविरोधी कानूनको बारेमा मृत्युदण्डको बहस भयो र राष्ट्रपति फर्नान्डो बेलाउन्डे आफैले यसको घोषणा गर्‍यो। मार्च महिनामा साइनिङ पाथका कार्यकर्ताहरूको एउटा सशस्त्र फौजले आयाकुचोका धेरै सुरक्षा जेलहरूमाथि आक्रमण गरी २४७ बन्दीहरूलाई रिहा गरिदिए। त्यसपछि अगस्टमा सरकारले राष्ट्रिय संकटकाल घोषणा गर्‍यो। अगस्ट २२ मा भिलकेसुआमनको सिभिल गार्डसमक्ष साइनिङ पाथको ५ घण्टासम्म लगातार भिडन्त भयो। सेप्टेम्बर ३ मा पुलिससँग भिडन्तको क्रममा पेरू कम्युनिष्ट पार्टीकी १९ वर्षीया एक प्रभावकारी नेतृ एडिथ लोगोसको मृत्यु भयो। उनको अन्तिम संस्कारमा ३० हजार  मानिसहरू उपस्थित भएका थिए। ३ डिसेम्बरमा पेरू कम्युनिष्ट पार्टीले एजेरिटो गुरिल्लेरो पपुलर – छापामार जनसेनाको स्थापना गर्‍यो। त्यसपछि २९ डिसेम्बरमा आयाकुचो विभागलाई सैन्य नियन्त्रणमा लिइयो।

सन् १९८३ सम्म आइपुग्दा साइनिङ पाथले लगभग १८६५ वटा कार्वाहीहरू सम्पन्न गरिसकेको थियो। यसमा २८५० जनाको मृत्यु भयो। अब पेरूको जिडीपी दुई वर्षमा ८.३ प्रतिशत झरेको थियो। जनवरीमा पेरू कम्युनिष्ट पार्टीले मार्क्सवाद-लेनिनवाद-माओवादलाई मार्गदर्शक विचारधाराको रूपमा अपनायो। २१ जनवरीमा समुद्री इन्फेन्ट्रीले हुआंता शहरलाई नियन्त्रणमा लियो र समर्थनको रूपमा नागरिकलाई स्थापित गर्‍यो। त्यसपछि यहाँ रोंडासको केम्पेसिनोको सिद्धान्त अर्थात् राज्यको सेवामा किसान मिलिसिया सामान्यीकृत भयो। २६ जनवरीमा उचुराकेमा पुलिसले ८ जना पत्रकारहरूलाई नरसंहार गर्‍यो। मार्च महिनामा भएको केन्द्रीय समितिको विस्तारिक बैठकमा “आधार इलाकामाथि विजयको महान योजना” माथि निर्णय लिइयो; अर्थात् नयाँ राज्यको आधारको रूपमा लोकप्रिय समिति र आयोगहरू (एक तिहाइ कम्युनिष्ट, एक तिहाइ किसान, एक तिहाइ प्रगतिशील) मा निर्भर जनवादी गणतन्त्रको क्षेत्रको रूपमा समर्थित आधार बनाउने निर्णय लिइयो। यसपछि ३ अप्रिलमा ल्यूकानामार्का गाउँका ६९ किसानहरू (पुरुष, महिला र बच्चाहरूसमेत) को  हत्या भयो। १९ जुनमा लीमामा एकसाथ लगभग ९ विस्फोटक आक्रमण भयो।  २५ जुलाईमा लिमाको समृद्ध जिल्ला मिराफ्लोरेसको पोलिसिया अफ इन्भेस्टिगेशियन्स डेल पेरूको भवनमा मेशिनगन र डाइनामाइटले आक्रमण गरियो। २८ जुलाईमा पेरूको राष्ट्रपति फर्नांडो बेलौंडेले कांग्समा मृत्युदण्डको बहालीको लागि आफ्नो कुरा राख्यो। १३ नोभेम्बरमा सोको जिल्लामा  भएको एउटा विवाहमा पुलिसले ३२ किसानाहरूको नरसंहार गरे।

सन् १९८४ सम्म आइपुग्दा पेरू कम्युनिष्ट पार्टीले लगभग १८८८ कार्वाहीहरू सम्पन्न गरिसकेको थियो र यहाँसम्म आउँदा ४०८१ जनाको मृत्यु भइसकेको थियो। मई महिनामा सेनाले ५० छापामार विरोधी अड्डा स्थापना गर्‍यो र त्यहाँ प्रत्येकमा १०० जना सैनिकको व्यवस्थापन गर्‍यो। मई ४ मा सेन्डिनिस्ट-ग्वेभरिस्ट अभिमुखीकरण क्रान्तिकारी आन्दोलन टुपेक अमारूको आधारले छापामार युद्ध संचालन गर्‍यो। जुलाई महिनामा सेनाले लीमा नगरको क्षैत्रीय समितिको नेता लौरा जांब्रानो पाडिलालाई गिरफ्तार गर्‍यो। १६ जुलाईमा जासुस र राज्यका पोषित स्थानीय पुलिस, सेना लगायतका अधिकारीहरूसहित ११७ व्यक्तिको सफाया गरियो। २३ अगस्टमा पकायाकु एक सामूहिक खाल्डोमा ४९ जना व्यक्तिको लाशहरु भेटियो, जसलाई हुआंताका समुद्री पैदल सेनाले हिरासतमा लिएका थिए। डिसेम्बर महिनामा प्यूटिसमा पुलिस र सेनाद्वारा १२३ जना किसानहरूको नरसंहार गरे।

सन् १९८५ सम्म आइपुग्दा कार्वाहीहरूको संख्या करिब १४९७ पुग्यो, जसमा १४२३ जनाको मृत्यु भयो। अप्रिल २४ मा राष्ट्रिय चुनाव व्यवस्थापन डोमिंगो गार्सिया राडाको विरुद्धमा सशस्त्र कार्वाही गरियो। जुन १ मा पेरूको कम्युनिष्ट पार्टीले लीमामा बिजुलीको लाइन काटिदियो र अर्जेन्टिनाको राष्ट्रपतिको स्वागत गर्न आएको समयमा राष्ट्रपति भवन र न्याय मन्त्रालयको बीचमा फसेका कारहरूमाथि बम विस्फोट गराइयो। जुलाई २५ मा क्रान्तिकारी आन्दोलन टुप्याक अमारूद्वारा आन्तरिक मन्त्रालयमा कार बमबाट आक्रमण भयो। २८ जुलाईमा अमेरिकी लोकप्रिय क्रान्तिकारी गठबन्धन (APRA) को एलन मार्सियाको राष्ट्रपति पदको लागि चुनाव भयो। १४ अगस्टमा एकोमराक्कामा सेनाले ६३ जना किसानहरूलाई नरसंहार गर्‍यो। २७ अगस्टमा उमरो र बेलाभिस्टामा सेनाले ५९ जना मानिसहरूको नरसंहार गर्‍यो। २४ अक्टुबरमा एल फ्रन्टन जेलको निर्देशक मिगुएल कास्त्रोलाई फाँसी दिइयो। डिसेम्बर १९८५ मा लीमामा विशेष रूपले एपीआरएको संस्थापकको घर,  दसवटा बैंकहरू, एउटा शपिङ सेन्टर, आठ वटा विजुलीका टावर, एउटा कानूनी कार्यालयमाथि डाइनामाइटद्वारा आक्रमण गरियो।

सन १९८६ सम्म आइपुग्दा करिब २०९८ कार्वाहीहरू भइसकेकका थिए र १५३४ जना व्यक्तिको मृत्यु भइसकेको थियो। फेब्रुअरी ५ मा कमाण्डर र गुप्त सेवाका सदस्य रूबेन इजकिएर्डोलाई फाँसी दिइयो। मई ४ मा नौसेनाको स्टाफ सदस्य काउंटरएडमिरल कार्लोस पोंसलाई फाँसी दिइयो। जुन महिनामा लुरिगान्चो, सांता बारबरा र एल फ्रन्टनका जिल्लामा पेरू कम्युनिष्ट पार्टीका बन्दीहरूले विद्रोह गरे; सेनाले उनीहरूमाथि हस्तक्षेप गर्‍यो र लुरिगान्चोका सबै बन्दीहरूसहित २४० जना बन्दीहरूको हत्या गर्‍यो। १३० जनालाई भने गिरफ्तारीपछि हत्या गरियो। जुलाई २७ मा लिमाका होटल शेरेटन, होटल क्रिलोन बोलिवर, बेंको कन्टिनेन्टल, बेंको विसे,  बेंको मर्केंटिल क्यालाओ, शहरको लागि पुलिस जाँच घर, आदिमा विष्फोटक हमलाको ठूलो श्रृखला भयो। अगस्ट ६ मा औकायाकुमा वेश्या लगायत अन्य असामाजिक तत्व भएको आरोपमा ६ जना मानिसहरूलाई फाँसी दिइयो। सेप्टेम्बर १७ मा अयाओर्कोमा सेनाले १३ जना मानिसहरूलाई नरसंहार गर्‍यो। अक्टुबर १४ मा पूर्व मरिन कमाण्डर र बैंक इन्ड्रस्ट्रियलका अध्यक्ष भाइस एडमिरल गेरोनिमो क्याफेराटा माराजीलाई फाँसी दिइयो।

व्यापक सरकारी दमनको बाबजुद पनि सन् १९८६ सम्ममा साइनिङ पाथले एन्डिज पर्वतको माध्यमबाट उत्तर-दक्षिणतर्फ जाने एक मार्गका दुवै क्षेत्रलाई नियन्त्रण गर्न सफल भए। यस संगठनले पेरूका तटीय इलाका र राजधानी लिमासम्म पनि आफ्नो प्रभाव जमाउन सफल भयो। सन् १९८७ मा साइनिङ पाथ पेरूको दक्षिण-पूर्व क्षेत्रमा गयो। त्यहाँ उसले जनतालाई एकताबद्ध गरी सरकारी पुलिस अधिकारी र अमेरिकी साम्राज्यवादको विरुद्धमा संघर्ष तीव्र बनायो। गुजमानले साम्यवादी क्रान्तिलाई पूँजीवादी अमेरिकाको विरुद्धमा प्रतिरोध युद्धमा बदल्ने कुरा स्पष्ट बनाए। उनले ९० प्रतिशत जनता वर्तमान सरकार र पूँजीवादको विरुद्धमा छन् भन्ने कुरा पनि विश्वास दिलाए। 

सन १९८७ सम्म आइपुग्दा साइनिङ पाथले करिब २१८१ कार्वाहीहरू सम्पन्न गरिसकेको थियो र यसमा १२०८ जना व्यक्तिको मृत्यु भइसकेको थियो। १३ फेब्रुअरीमा ठूलो पुलिस अपरेसनसहित युनिभर्सिडेड नेशनल मेयर डी सेन मार्कोस, यूनिभर्सिडेड नेशनल डी इंजेनिरिया र यूनिभर्सिडेड नेशनल एनरिक गुजमेन वाइ भेले “ला केंटुटा” मा केयौं विद्यार्थीहरूलाई गिरफ्तार गरियो। मार्च २० मा आतंकवाद विरोधी कानून बलियो बनाइयो। मई ४ मा विद्युत प्रतिष्ठानको विनाश गरियो। त्यसपछि ९ वटा विभाग विजुलीबाट वंचित भए। सेप्टेम्बर ४ मा एउटा रेस्टुरेन्टमा सेनाका सदस्यहरूको विरुद्ध कार्वाही हुँदा ९ जनाको मृत्यु भयो।

सन् १९८८ सम्म आइपुग्दा करिब २१८९ कार्वाहीहरू सम्पन्न भए। यसमा १४४७ जना मानिसको मृत्यु भयो। त्यसपछि फेब्रुअरी देखि मार्चसम्म लीमामा पेरू कम्युनिष्ट पार्टीको पहिलो महाधिवेशनको पहिलो सत्र शुरु भयो। फेब्रुअरी १० मा हुआनाकायोमा ९ सरकारी भवन र विजनेस भवनमा विस्फोटक आक्रमण गरियो। मई १ मा पेरू कम्युनिष्ट पार्टी समर्थकहरूले लीमाको केन्द्रमा मार्च गरे, जसको समापन बैंकहरूमाथि आक्रमणको रूपमा भयो। मई १४ मा कायरामा सेनाले ३९ जना किसानहरूलाई नरसंहार गर्‍यो। जुन ११ मा सेनाले पेरूको कम्युनिष्ट पार्टीका एक महत्त्वपूर्ण नेता उस्मान मोरोटे बेरियोन्यूभोलाई गिरफ्तार गर्‍यो। जुलाई देखि अगस्टको बीचमा पेरूको कम्युनिष्ट पार्टीको पहिलो काँग्रेसको दोस्रो सत्र शुरू भयो। ६ डिसेम्बरमा आयाकुचोका आपतकालीन राज्य प्रमुख र एल फ्रंटल जेलमा दमन-नरसंहारको लागि जिम्मेवार क्याप्टेन जुआन भेगा लोनालाई फाँसी दिइयो। ७ डिसेम्बरमा आतंकवाद विरोधी कानून अझ बलियो बनाइयो।

सन् १९८९ सम्म आउँदा करिब ३२४० कार्वाहीहरू भइसकेका थिए भने २४६६ जनाको मृत्यु भइसकेको थियो। फेब्रुअरी १३ मा फेडेरासियोन नेशनल डी ट्रेबजाडोरेस मिनरोस, मटलर्जिकोस वाई साइडरूजिकोसका अध्यक्षको साउल केंटोरलका अर्धसैनिक बलद्वारा हत्या गरियो। मार्च २७ मा सय जना छापामार सदस्यहरूले सेन मार्टिनको एउटा पुलिस स्टेशनमा कब्जा गरे। जुन महिनामा पेरू कम्युनिष्ट पार्टीको पहिलो कांग्रेसको तेस्रो सत्र भयो, जसले मार्क्सवाद-लेनिनवाद-माओवाद र गोञ्जालो विचारधारालाई मार्गदर्शक सिद्धान्तको रूपमा अपनायो। यही महिनामा यूनिभर्सिडेट नेशनल डेल सेन्ट्रो डी हुआनकायोबाट ३०० जना विद्यार्थी र ३० जना प्रोफेसरहरूलाई गिरफ्तार गरियो। अक्टुबर २१ मा पुलिसको सुराकीको भूमिका निर्वाह गर्ने एक व्यक्तिलाई लीमामा फाँसी दिइयो। नोभेम्बर १ मा लीमाको मान्को क्याप्याक चौरमा छापामार र पुलिसको बीचमा सशस्त्र भीडन्त भयो।

१९९० सम्म आइपुग्दा करिब ३६७२ कार्वाहीहरू भइसकेका थिए भने ३४६६ जनाको मृत्यु भइसकेको थियो। छापामार सेनाका सदस्यहरूको संख्या २५ हजार थियो र पेरूका नगरपालिकाहरूमध्ये एक तिहाइलाई यसले नियन्त्रण गरिसकेको थियो। ९ जनवरीमा पूर्व रक्षामन्त्री एनरिक लोपेज अल्बुजारलाई फाँसी दिइयो। २७ फेब्रुअरीमा धेरै नेताहरूलाई पुलिसले गिरफ्तार गरी बेपत्ता पार्ने काम गर्‍यो। मार्चमा पेरू कम्युनिष्ट पार्टीका नेताहरूलाई पक्रिने उद्देश्यले ग्रूपो एस्पेशियल डी इंटलीजेंशियाको स्थापना गरियो। अप्रिलमा चुम्बिभिलकास र सेन पेड्रो डी काचीमा अर्धसैनिक बलद्वारा कैयौं नरसंहार गरियो। जुलाइ २८ मा पेरूमा नयाँ राष्ट्रपति अल्बर्टो फुजीमोरी सत्तामा आयो। यो अमेरिकाको पूर्ण समर्थक र घोर प्रतिक्रियावादी  थियो। त्यसपछि साइनिङ पाथले आफ्ना क्रान्तिकारी गतिविधिलाई अझ तीव्र बनाउन थाल्यो। अब फुजीमोरीले पेरूमा संकटकालको घोषणा गर्‍यो। राजधानी लिमा र क्यालाओ, अरेक्विपा, कुस्को,  पुनो,  पिउरा, ट्रूजिल्लो,  चिकलेयो,  मेनास, हुआराज,  सांता जस्ता क्षेत्रमा व्यक्तिगत अधिकारीलाई पूर्ण रूपमा निलम्बित गरिदियो। सेप्टेम्बर २२ मा पूर्व श्रम मन्त्री रोड्रिग्जलाई फाँसी दिइयो। डिसेम्बर २३ मा डिक्रेटो सुप्रिमो १७१-९०-पीसीएमलाई सैन्य अधिकार क्षेत्रको माध्यमबाट संकटकालीन स्थितिद्वारा चित्रित क्षेत्रमा दमनका सबै कार्वाहीहरू गरियो।

यसरी सन् १९८५ देखि ९० सम्म आइपुग्दा साइनिङ पाथले पेरूको लगभग ३२ प्रतिशत भूभाग कब्जा गरिसकेको थियो भने त्यहाँका ५० प्रतिशत जनता साइनिङ पाथको पक्षमा थिए। त्यहाँको जनयुद्धले गाउँलाई लगभग आफ्नो नियन्त्रणमा लिएको थियो, तीनवटा मुख्य शहरलाई पनि कब्जा गरिसकेको थियो र लिमालाई चारैतिरबाट घेरा हालेर केन्द्रीय सत्ता कब्जाको निकट स्थितिमा पुगिसकेको थियो। क्रान्ति विजयको सन्निकट पुगिसकेको थियो। पेरूको क्रान्तिले संसारको क्रान्तिकारी आन्दोलनलाई उत्साह पैदा गरिदिएको थियो।  

सन् १९९१ को फेब्रुअरीमा पेरू कम्युनिष्ट पार्टीको केन्द्रीय समितिको प्रस्तावमा रणनीतिक सन्तुलन हासिल गरिएको छ र रणनीतिक आक्रमणको लागि अमेरिकी साम्राज्यवादी हस्तक्षेपले अझ प्रत्यक्ष बनाउँदछ भन्ने मान्दै “जनयुद्धको केन्द्रमा सत्ताको विजयको निर्माण” को पहलको घोषणा गरियो। मईमा पेरू कम्युनिष्ट पार्टीद्वारा हुआसाहुसीमा एक मिशनरीको रूपमा काम गर्ने अस्ट्रेलियाली म्याककोर्म्याकलाई फाँसी दिइयो। जुलाईमा पेरूको कम्युनिष्ट पार्टीले विगत दुई महिनामा १६०० कार्वाही गरेको दावी गर्‍यो। यही महिनामा तीन जापानी च्यारिटी र एक जापान-पेरूभियाली ठेकेदारलाई फाँसी दिइयो। जुलाई ४ मा सांता बारबरामा सेनाले १५ जना मानिसहरूको नरसंहार गर्‍यो।  अगस्टमा चिंबोटे शहरमा मिशनरीको रूपमा कार्य गर्ने दुई पोलिस फ्रान्सिस्कन पुजारीहरू र एक इटालियन पुजारीलाई फाँसी दिइयो। नोभेम्बरमा ७९ वटा आदेश जारी गरियो, जसमध्ये अधिकांश आतंकवाद विरोधी प्रकृतिका थिए।

सन् १९९२ को जनवरी महिनामा कोलिना अर्धसैनिक समूहले पेटीभिल्कामा ६ जना मानिहरूको नरसंहार गर्‍यो। फेब्रुअरी १५ मा भिला एल्साल्भाडोरमा कम्युनिस्ट विरोधी समुदायको नेता मारिया एलेना मोयानोलाई फाँसी दिइयो। यसले मुद्रास्फीतिको विरद्ध सशस्त्र हड्ताल भएको समयमा हिंसा विरोधी मार्चको आयोजना गरेको थियो। अप्रिल ५ मा साइनिङ पाथ विरूद्धको लडाइँको नाममा तत्कालीन राष्ट्रपति अल्बर्टो फुजीमोरीले सम्पूर्ण सत्ता आफ्नो हातमा लियो। त्यसपछि फुजीमोरीले पेरूको काँग्रेस र त्यसका अदालतहरूलाई भंग गरिदियो। अब उसले सेनाको समर्थनबाट शासन गर्न शुरु गर्‍यो। त्यसपछि उसले सैन्य शासनको माध्यमबाट क्रान्तिको विरद्धमा व्यापक रूपमा दमन कार्य शुरु गर्‍यो। क्षेत्रीय कमाण्डरहरू र पार्टी नेताहरूलाई ठूलो संख्यामा गिरफ्तार गरियो । व्यापक रूपमा सेना परिचालन गरी हत्या, हिंसा, आतंक सृजना गरी क्रान्ति दबाउनमा सम्पूर्ण शक्ति लगाइयो। मई ६ मा आतंकवाद विरोधी कानूनको विस्तार गरियो। जुलाई १६ मा लीमाको समृद्ध जिल्ला मिराफ्लोरेसमा गोञ्जालोको जानकारी बिना नै दोहोरो कार बम आक्रमण गरियो। यसमा १३ जना मारिए भने १८३ घर,  ४०० दोकानपशल र ६३ पार्किङ कारहरूमा क्षति पुग्यो।

यसरी तीव्र रूपमा कार्वाहीहरू अगाडि बढिरहेकै समयमा सम्पूर्ण रूपले घेरा हाल्दै सन् १९९२ को सेप्टेम्बर १२ मा फुजीमोरीको सैन्य सरकारी अधिकारी डिनकोटेद्वारा गोञ्जालोसहित उनका ६ प्रमुख कमाण्डहरूलाई गिरफ्तार गर्‍यो। फुजीमोरीले पेरू कम्युनिष्ट पार्टीका नेताको सेल्टर पत्ता लगाउन र गिरफ्तार गर्न पहिलेदेखि गुप्त रूपमा एक विशेष विभाग बनाएको थियो।  गोञ्जालो त्यतिबेला लिमाको एक भवनको दोस्रो तलामा बसेका थिए। उनी सोरोसिस रोगका बिरामी थिए। भनिन्छ उनले खाने गरेको औषधिको खोलको माध्यमबाट सरकारी गुप्तचरले उनलाई पत्ता लगाएका थिए। २४ सेप्टेम्बरमा गोञ्जालोलाई अपराधीको पोशाकमा प्रेशको सामु उपस्थित गराइयो र सैन्य शासनको माध्यमबाट नै फुजीमोरी सरकारले असामान्य परिस्थितिमा गोञ्जालोमाथि मुद्दा चलायो र कारावासको सजाय सुनाइयो। त्यसपछि उनलाई पेरूको तटभन्दा टाढा रहेको एउटा द्वीप सान लोरेन्जोको जनसेनाको अखडाको भूमिगत कोठरीमा लगेर थुनियो। पछि सन् २००६ मा उनीमाथि आतंकवाद र हत्याको आरोप लगाएर आजीवन कारावासको सजाय सुनाइयो । त्यसपछि  उनलाई काल्लाओस्थित  एउटा नौसैनिक अड्डामा अत्याधिक सुरक्षायुक्त जेलको साँघुरो कोठामा राखियो।  उनले फैसलापछि एक आक्रामक भाषण गर्दै भनेका थिए – “यो केवल मार्गको एक मोड हो र जनयुद्ध निश्चित रूपले विजयी हुनेछ।” उनले त्यहाँ हामी जनताका मित्र हौं र हामी यो युद्ध निरन्तर लडिरहन्छौं। हामी कम्युनिष्ट हौं। हामी जनताको हित, पार्टी सिद्धान्त र जनयुद्धको रक्षाको पक्षमा छौं भनेका थिए। गोञ्जालो गिरफ्तारीपछि साइनिङ पाथका अन्य दोस्रो, तेस्रो र चौथो तहसम्मका सयौं नेताहरूलाई पनि फुजीमोरी सकारले क्रमशः गिरफ्तार गरेर जेल हाल्यो। कतिको हत्या गर्यो। जताततै दमनचक्रले उग्र रूप लियो र शंका लाग्ने वित्तिकै सबै हत्या गरियो। संसारका साम्राज्यवादी पूँजीवादी शक्तिहरूले पनि पेरूको जनयुद्धको दमनको लागि फुजिमोरी सरकारलाई व्यापक रूपमा सहयोग गरे। त्यसपछि प्रतिक्रियावादीहरू भयंकर दमनको माध्यमबाट जनयुद्धलाई ध्वस्त बनाउने लक्ष्य राखे।

गोञ्जालोको गिरफ्तारीपछि पनि साइनिङ पाथले आफ्ना कार्वाहीहरूलाई निरन्तर रूपमा अगाडि बढाइरह्यो। सन् १९९२ को नोभेम्बर ५ मा गुप्त सेवाका प्रशासनिक विभागका प्रमुख कर्नेल मेनुअल ओर्टेगा टुम्बालाई फाँसी दिइयो। डिसेम्बर १८ मा ट्रेबजाडोरेस डेल पेरूका केन्द्रीय जनरलका महासचिवको पेड्रो हुइल्काको अर्धसैनिक बलद्वारा हत्या गरियो।

सन् १९९३ को अक्टुबर १ मा पेरूको राष्ट्रपतिले संयुक्त राष्ट्र संघको सभामा गोञ्जालोले एक संक्षिप्त पत्रमा शान्ति सम्झौताको प्रस्ताव राखेको छ भन्ने कुरा घोषणा गर्‍यो। अप्रिल ९,  १९९५ मा फुजीमोरी पुनः राष्ट्रपति निर्वाचित भयो। १७ डिसेम्बर १९९६ मा जापानी दुतावासको एक समारोहको क्रममा क्रान्तिकारी आन्दोलन टुप्याक अमारूले ५०० मानिसहरूलाई बन्धक बनायो। २७ अप्रिल १९९७ मा सेनाले दूतावासमाथि आक्रमण गरे। १ जनवरी १९९८ मा संयुक्त राष्ट्रसंघको अन्तर्राष्ट्रिय विभागमा काम गर्ने एक अमेरिकी कन्स्टेंटिन ग्रेगोरीलाई फाँसी दिइयो। मई १९९९ मा गोञ्जालोपछि पेरू कम्युनिष्ट पार्टीको नेता ओस्कर रामिरेज डुरंट “फिलिसियानो” लाई पनि गिरफ्तार गरियो। भनिन्छ उनी पछि गद्दार भए। १६ डिसेम्बर २००० मा पेरूको राष्ट्रपति फुजीमोरीले हतियार तस्करीको लागि जिम्मेवार मानिने गुप्त सेवालाई भंग गर्ने घोषणा गर्‍यो। २९ अक्टुबर २००० मा सैन्य अधिकारीहरूको विद्रोहो भयो। १९ नोभेम्बर मा फुजीमोरी जापान भाग्यो। २८ जुलाई २००१ मा अलेजान्द्रो टोलेडो पेरूको राष्ट्रपति बन्यो। २१ मार्च २००२ मा अमेरिकी राष्ट्रपति जर्ज डब्ल्यू बुसको भ्रमणको क्रममा अमेरिकी दूतावासको अगाडि एउटा कार बम विस्फोट भयो, जसमा १६ जना मानिसको मृत्यु भयो। ३ जनवरी २००३ मा सेनाले पेरू कम्युनिष्ट पार्टीका नेताहरूलाई असंवैधानिक घोषणा गर्‍यो। २९ अगस्टमा सत्य तथा पुर्नस्थापना आयोगले सन् १९८० देखि २००० को बीचमा ६९,००० मानिसहरूको मृत्यु भएको घोषणा गर्‍यो र त्यसको बहुमतको श्रेय भने साइनिङ पाथलाई  दियो। यसको साथै २९,००० वेपत्ता, ६७३,००० घाइते, २००,००० अप्रत्यक्ष रूपमा मारिएका, १.९ मिलियन प्रभावित,  ३.४ मिलियन विस्थापित र ५००,००० विदेश प्रवासमा गएका थिए भन्ने रिपोर्ट निकाल्यो। नोभेम्बर २००४ मा पेरू कम्युनिष्ट पार्टी जिन्दावाद,  मार्क्सवाद-लेनिनवाद-माओवाद जिन्दावाद, सशस्त्र संघर्ष जिन्दावाद, जनयुद्धका नेता जिन्दावाद जस्ता नारा लगाउँदै दोस्रो रेडियो परीक्षण गरियो। त्यसपछि तुरून्तै माइक्रोफोन काटियो र प्रेसलाई तुरून्तै बाहिर बर्जित गरियो। २६ सेप्टेम्बर २००५ मा गोञ्जालोको तेस्रो प्रयास प्रेससम्म पुग्नै पाएन। १३ अक्टुबर २००६ मा गोञ्जालोलाई आजीवन कारावासको सजाय सुनाइयो। यसरी नै पार्टीका अन्य नेता तथा कार्यकर्ताहरूलाई २५ देखि ३५ वर्षबीचको सजाय सुनाइयो। १० अक्टुबर २००८ मा हुआनकेभेलिकाको एउटा अड्डामा आक्रमण भयो, जसमा १९ जनाको मृत्यु भयो। २० नोभेम्बर २००९ मा मूभिमिएंटो पोर ला वाई डेरेचोस फंडामेन्टल्स (Movadef) को स्थापना गरियो । यसले गोञ्जालोलाई  बोल्न दिनुपर्ने कुरा बतायो, उनलाई सामान्य माफी दिने र संविधान सभाको चुनावको आव्हान गर्‍यो। सन् २०१० मा आधिकारिक रूपमा पेरू कम्युनिष्ट पार्टीकी कैदी एलेना अल्बर्टिना इपरागुइरे रेभोरेडोसँग गोञ्जालोको विवाह भयो। यिनलाई मिरियमको नामले पनि चिनिन्छ। १२ डिसेम्बर २०१२ मा फ्लोरिंडो एल्युटेरियो फ्लोरेस “आर्टेमियो” लाई गिरफ्तार गरियो। उनी आन्दोलनका एक प्रमुख व्यक्ति थिए र सन् १९९३ देखि शान्ति समर्थक सशस्त्र गुटको प्रमुख थिए। ११ सेप्टेम्बर २०२१ मा हिरासतमा नै २९ वर्ष बिताएपछि गोञ्जालोको ८६ वर्षको उमेरमा मृत्यु भयो।

यसरी गोञ्जालोको गिरफ्तारी संगठनको लागि ठूलो झड्का थियो। उनको गिरफ्तारीपछि साइनिङपाथले गतिशील रूपमा आफूलाई अगाडि बढाउन सकेन। उनको गिरफ्तारीपछि क्रान्तिको मार्ग नै मोडियो। नेतृत्वको अभावमा त्यहाँ कम्युनिष्टहरूलाई मार्गदर्शन गर्ने, क्रन्ति सम्पन्न गर्ने र समाजवादमा पुग्ने सपना दीर्घकालीन बन्नपुग्यो। गोन्जालोले पेरूबाट माओवादको झण्डा उठाए र माओले मार्क्सवाद-लेनिनवादलाई तेस्रो चरणमा विकास गरेको कुरालाई पुष्टि गर्ने प्रयास गरे। सन् १९८० को दशकमा गोञ्जालोको नेतृत्वमा पेरूमा जनयुद्धले ठूलो सफलता हासिल गरेको थियो ।  तर ९० को दशकपछि गोञ्जालोको गिरफ्तारीसँगै जनयुद्ध पनि क्रमशः असफलतातिर गयो र अन्ततः अवसान नै भयो।  तर  अपरिहार्य असमान विकासको माध्यमबाट गोञ्जालोले मार्क्सवाद र लेनिनवादको मूल्यमा माओवादमाथि जोड दिए। संसारका कम्युनिष्ट क्रान्तिकारीहरूलाई लागि गोञ्जालोको महत्त्वपूर्ण योगदान रहेको छ। उनको नेतृत्वमा भएको पेरूको जनयुद्धको प्रतिध्वनि संसारभरि फैलियो,जसले क्रान्तिकारी शक्तिलाई आफ्नो आक्रामक अनुकरणीय प्रकृतिले सिंचित गरिदियो। पेरू कम्युनिष्ट पार्टीले मार्क्सवाद-लेनिनवाद-माओवादलाई पूर्ण रूपले बुझायो। गोञ्जालोले माओवादको स्पष्ट व्याख्या गरेर अग्रणी वैचारिक भूमिका निभाए। उनले माओवादका सिद्धान्तहरूलाई तयार गरे र यसलाई बुझ्न कसरी अगाडि बढ्ने भन्ने कुरा पनि स्पष्ट बनाए। वैज्ञानिक समाजवादको सम्बन्धमा जनयुद्धको कुरा पर्याप्त छ। किनभने माओत्से-तुङको नेतृत्वमा अन्तर्राष्ट्रिय सर्वहारा वर्गले पूर्ण विकसित सैन्य सिद्धान्त प्राप्त गरेको छ। यसबाट सर्वहारा वर्गलाई आफ्नो वर्गको सैन्य सिद्धान्त प्राप्त भएको छ र यो सबै ठाउँमा लागू हुन्छ। गोञ्जालोका अनुसार यी तीन प्रश्नहरूले माओवादको सार्वभौमिक चरित्रको विकासलाई प्रदर्शित गर्दछन्।

यसरी विजयको निकट पुगेर पनि मुख्य नेतृत्वको गिरफ्तारीसँगै क्रान्तिले गम्भीर पराजय भोग्नुमा पार्टीकै आन्तरिक र बाह्य कमजोरी मुख्य थिए। अर्को अमेरिकी पिठ्ठू फूजीमोरी सत्तामा आएपछि क्रान्तिको दमनको लागि अमेरिका लगायत सम्पूर्ण साम्राज्यवादी पूँजीवादी शक्तिहरू एकताबद्ध भएर गोञ्जालो र पेरू कम्युनिष्ट पार्टीको विरुद्धमा खनिए र नेतृत्वको गिरफ्तारीको लागि जासुसीको जालो बनाए। यस्तो स्थितिमा पार्टीले सबै कुरा बुझेर नेतृत्वको रक्षा गर्न नसक्नु साइनिङ पाथको गम्भीर कमजोरी सावित भयो। त्यसैगरी उनीहरूको आन्तरिक संघर्षले पनि स्थिति बिगार्दै गएको थियो। अर्कोतिर पार्टीले फरक विचार भएका अन्य पार्टी र जनतालाई आफ्नो पक्षमा पार्नुको साटो एकोहोरो विरोध र दमन प्रक्रिया अगाडि बढाइरहनाले पनि क्रान्तिको दमनलाई प्रश्रय मिल्यो। पछिल्लो अवधिमा मुख्य नेतृत्व र सहायक नेतृत्व बीचमा पनि निरन्तर टकरावको स्थिति देखा पर्नगयो र कतिपय कार्वाहीहरू त गोञ्जालोलाई थाहा नै नभइकन पनि भएका थिए। पेरूका अन्य छापामार संगठनहरूसँग पनि साइनिङ पाथले मित्रतापूर्ण व्यवहार गर्न सकेन। त्यसैगरी व्यापक रूपमा वामपन्थी मोर्चा निर्माण गरेर अगाडि बढ्नुपर्नेमा यसो हुन सकेन। राजनीतिक वैचारिक आन्दोलनलाई प्राथमिकता दिनुको साटो केवल छापामार युद्धलाई मात्र तीव्र रूपमा अगाडि बढाइयो। आन्तरिक सुरक्षालाई कुनै महत्त्व दिएको देखिंदैन। प्रतिक्रियावादी सरकारले चालेका हरेक षड्यन्त्रकारी कदमहरूलाई साइनिङ पाथले बुझ्न नसकेको देखिन्छ। अर्को कुरा जनता र पार्टी बीच दरार पैदा गर्ने कुरामा पनि फुजीमोरी सरकार सफल भयो र शुरूमा जसरी त्यहाँका जनता, श्रमिक, किसान, आदिवासीले व्यापक रूपमा पार्टीलाई सहयोग गरेका थिए, पछिल्लो अवधिमा आउँदा त्यसमा धेरै कमी भएको देखिन्छ। यसमा पार्टीकै कार्यशैलीगत समस्या मुख्य देखिन्छ। साइनिङ पाथ असफल हुनुमा अर्को एक मुख्य समस्या भनेको सामूहिक नेतृत्वको अभाव हो। केवल एउटा नेतृत्वलाई मात्र प्राथमिकता दिने तर नेतृत्वको उत्तराधिकारीदेखि लिएर समग्र रूपमा नेतृत्व निर्माणको गम्भीर अभावको कारणले गर्दा गोञ्जालोको गिरफ्तारीपछि देखि नै लगत्तैबाट क्रान्ति क्रमशः असफलताको दिशातिर गयो र अनन्तः अवसान नै भयो। पछिल्लो अवधिमा पार्टीभित्र वैचारिक विचलनको स्थिति पनि देखिन्छ। पुरानै ढंगले सशस्त्र जनयुद्ध अगाडि बढाउने कि शान्तिपूर्ण तरीकाले संघर्ष गरेर क्रान्तिको शक्ति संचय गर्ने भन्ने विषयमा दुई लाइन संघर्षले व्यापक रूप लिएको देखिन्छ। पार्टीको यो संघर्ष र विवादलाई समाधान गर्न नसक्नु पनि एउटा गम्भीर कमजोरी देखिन्छ।  र, पेरूमा भएको कम्युनिष्ट क्रान्ति अब इतिहास भएको छ। पेरूको क्रान्ति असफल भएपछि संसारमा कतै पनि सफल क्रान्तिमार्फत् कम्युनिष्ट सत्ता स्थापना भएको छैन। प्रायः सबै क्रान्ति र आन्दोलनहरू  सम्झौतामा गएर टुंगिएका छन्।

गोञ्जालोका विचारहरूको अध्ययन

गोञ्जालोले मार्क्सवाद-लेनिनवादको उच्चतम् विकासको रूपमा माओवादलाई परिभाषित र संश्लेषित गरेका छन्। गोञ्जालोका अनुसार मार्क्सवाद भनेको विकासको प्रक्रिया हो। यो प्रक्रियाले एउटा नयाँ, तेस्रो र उच्चतम् चरण प्रदान गरेको छ। उनका अनुसार माओले मार्क्सवादका तीन सिद्धान्तलाई स्पष्ट रूपले विकसित गरेका हुन्। मार्क्सवादी दर्शनमा द्वन्द्ववादको विकासमा माओको योगदानलाई कसैले पनि अस्वीकार गर्न सक्दैन। माओले अन्तर्विरोधको निमयमा ध्यान केन्द्रित गरेर यो नै एक मात्र आधारभूत नियम हो भनेर स्थापित गरे। गोञ्जालोका अनुसार राजनीतिक अर्थशास्त्रको क्षेत्रमा पहिलो, तत्काल र ठोस महत्त्वको कुरा नोकरशाही पूँजीवाद हो र दोस्रो, समाजवादको राजनीतिक अर्थव्यवस्थाको विकास हो। संश्लेषणमा के भन्न सकिन्छ भने माओले नै वास्तवमा समाजवादी राजनीतिक अर्थव्यवस्थाको स्थापना र विकास गरेका हुन्। गोञ्जालोले मार्क्सवादका तीन सिद्धान्तका कुरा गर्दा लेनिनको “मार्क्सवादका तीन स्रोत र तीन संघठनात्मक अंग” लाई नै उल्लेख गर्दछन्। त्यसलाई उनले दार्शनिक, आर्थिक र राजनीतक सिद्धान्तमा विभाजन गरेका छन्।

गोञ्जालोका अनुसार दर्शनको क्षेत्रमा माओत्से-तुङले अन्तर्विरोधको नियमलाई एकमात्र नियम बनाए। यो स्पष्ट रूपमा मार्क्सवाद-लेनिनवादमा पहिले देखि नै विद्यमान थियो। तर गोञ्जालो सामान्य द्वन्द्वात्मक भौतिकवादको कुरा भन्दा पनि विशेष द्वन्द्वात्मक भौतिकवादको कुरा गर्दछन्। गोञ्जालोका अनुसार एङ्गेल्सले द्वन्द्ववादका तीन प्रवर्गहरू – विपरीतीहरूको एकता, मात्राबाट गुणको रूपान्तरण र निषेधको निषेध – को कुरा गरे तर माओले विपरीतहरूको एकतालाई सबभन्दा आधारभूत नियम माने। उनका अनुसार मात्रा र गुणलाई एक-अर्कामा रूपान्तरण गर्नु भनेको विपरीतको गुण र मात्राको एकता हो र निषेधको निषेधको कुनै अस्तित्व छैन। समान स्तरमा गुण र मात्रा एक-अर्कामा परिवर्तन, निषेधको निषेध र विपरीतहरूको एकताको नियमको परस्पर सम्बन्ध त्रिगुणवाद हो, अद्वैतवाद होइन। यसमा सबैभन्दा आधारभूत कुरा विपरीतहरूको एकता नै हो। गुण र मात्राको एक-अर्कामा परिवर्तन पनि विपरीत गुण र मात्राको एकता हो। निषेधको निषेध जस्तो कुनै चीज नै छैन। पुष्टि, निषेध, पुष्टि……….चीजहरूको विकासमा, घटनाहरूको श्रृंखलाका प्रत्येक कडी पुष्टि र निषेध (affirmation and negation) दुवै हुन्। गोञ्जालोले कम्युनिष्ट आन्दोलनमा दर्शन, जनयुद्ध र सैन्यविज्ञानमा माओले महत्त्वपूर्ण योगदान दिएको कुरा संश्लेषण गरे।

गोञ्जालोका अनुसार माओत्से-तुङ नै त्यो व्यक्ति हुन्, जसले मूल रूपमा समाजवादको राजनीतिक अर्थव्यवस्थाको स्थापना र विकास गरेका हुन्। उनका अनुसार माओत्से-तुङले आधार र उपरिसंरचनाको बीचको द्वन्द्वात्मक सम्बन्धलाई स्पष्ट पारे। उनले उत्पादक शक्तिहरूको विकासको यान्त्रिक अवधारणाको विपरीत यसको मुख्यगरी राजनीतिक महत्त्वलाई स्पष्ट पारे, जसले स्वाभाविक रूपमा समाजवातिर लिएर जान्छ। माओले वास्तुस्थितिलाई क्रान्तिकारी परिवर्तन गर्नको लागि जनतालाई संगठित गर्ने चेतनाको महत्त्वलाई स्पष्ट पारे। माओको महान अग्रगामी छलाङले विश्वदृष्टिकोणको महत्त्वको सामान्य बुझाइलाई मार्गप्रशस्त गर्‍यो। गोञ्जालोका अनुसार यी सिद्धान्तबाट मानसकिता र दुनियाँको दृष्टिकोणमा क्रान्ति ल्याउनको लागि सांस्कृतिक क्रान्तिको आवश्यकताको बोध पैदा हुन्छ; साम्यवादतिर जानको लागि कैयौं सांस्कृतिक क्रान्तिहरूको पनि आवश्यकता पर्नेछ। विशेषगरी गैर-पूँजीवादी साम्राज्यवादी देशहरूको लागि माओत्से-तुङले सामन्तवादको प्रश्ननको महत्त्वलाई स्पष्ट पारे। उनले अति सटिक रूपमा साम्राज्यवादी सम्बन्धहरूको ढाँचाभित्र अंकित नोकरशाही पूँजीवादसँगै एक अर्ध-सामन्ती, अर्ध-औपनिवेशिक स्थितिको निर्माण गर्ने  एक नव-सामन्तवादलाई स्पष्ट रूपमा चित्रण गरे।

माओत्से-तुङले राजनीतिक नेतृत्व र जनपरिचालनको महत्त्वलाई स्पष्ट पारे। यसलाई उनले जनयुद्धको रूपमा विश्वव्यापीकरण गरे। यसले  स्पष्ट विश्वदृष्टिकोण र जनताको स्वतन्त्र अभिव्यक्ति दुवैलाई अनुमति दिने राज्यलाई जनाउँदछ। यो राज्य जनयुद्धबाट नै जन्मिन्छ र स्थापित हुन्छ। यो आफैमा साम्यवादको प्रत्याशा हो। त्यसकारण गोन्जालोका अनुसार पेरू कम्युनिष्ट पार्टीको नारा “साम्यवादसम्म जनयुद्ध” हो। यसले संगठनात्मक स्तरमा क्रान्तिको मार्ग पनि बताउँदछ, जसमा पार्टीले एक नयाँ राज्यको मेरूदण्डको रूपमा सेनाको निर्माण गर्दछ र जुन एक मोर्चाको माध्यमबाट अगाडि बढ्दछ। गोन्जालो माओले जसरी नै क्रान्तिकारी पार्टी, क्रान्तिकारी सेना र क्रान्तिकारी संयुक्त मोर्चालाई परस्पर सम्बन्धित गर्ने कुरा गर्दछन्। यसरी गोञ्जालोले माओवादी सिद्धान्त दर्शन, अर्थशास्त्र, राजनीति, जनयुद्ध, आदि माध्यमबाट संश्लेषित र विकसित गर्ने काम गरेका छन्।

गोञ्जालोका अनुसार वर्गसंघर्षको रापमा खारिएर मार्क्सवादको रूपमा अन्तर्राष्ट्रिय सर्वहारा वर्गको विचार जन्मियो। त्यसपछि मार्क्सवाद-लेनिनवाद हुँदै माओवादमा विकसित भयो। त्यसकारण सर्वहारा वर्गको वैज्ञानिक दृष्टिकोण सर्वशक्तिमान छ किनभने यो सत्य छ। मार्क्सवाद-लेनिनवाद-माओवादका तीन चरणहरू उही एकताका अंगहरू हुन्, जुन कम्युनिष्ट घोषणापत्रबाट वीरताको चरणसहित स्वयं कम्युनिष्ट पार्टीभित्र चलेका गम्भीर र परिणाममुखी संघर्षहरूमा तथा विचार एवम् गतिविधिहरूका ती महान कार्यहरूमा प्राप्त भए। यी कुरा केवल श्रमजीवी वर्गले मात्र प्राप्त गर्न सक्थे।

गोञ्जालोका अनुसार क्रान्तिमा मार्क्सवाद-लेनिनवाद-माओवादको अनुप्रयोगमा जनताको वर्गसंघर्ष, मुख्यगरी सर्वहारा वर्ग र किसानहरूको निरन्तर संघर्ष र विश्व क्रान्तिको वृहत्तर ढाँचामा जनयुद्धलाई यथासंभव निष्ठापूर्वक सार्वभौमिक रूपमा देशको ठोस परिस्थिति अनुसार लागू गरिन्छ। उनका अनुसार कुनै ठोस परिस्थितिमा सार्वभौमिक सत्यलाई यथासंभव इमान्दारीपूर्वक लागू गरेपछि मार्गदर्शक विचार उत्पन्न हुन्छ। यो मार्गदर्शक विचार विभिन्न चरणहरू भएर गुज्रन्छ । त्यसपछि यसले आफ्नो उच्चतम् चरणमा जनयुद्धसँगै अन्तिम छलाङ मार्दछ र सार्वभौमिक प्रश्नतिर अगाडि बढ्दछ। गोञ्जालोका अनुसार मार्गदर्शन विचारको विकासमा परम आवश्यक हुन्छ। मार्गदर्शन बिनाको व्यवहार केही पनि होइन र सबै प्रयास व्यर्थ हुन्छ। उनका अनुसार विचार पहिलेदेखि विद्यमान र पूर्णतः विकसित हुनु आवश्यक छैन। यसको विकासको निम्नस्तरमा विद्यमान हुन सक्दछ। यसबाट के स्पष्ट हुन्छ भने सही विचारधाराको आधारमा सिद्धान्त र मार्गदर्शन बन्नु पूर्ण रूपले आवश्यक हुन्छ।

गोञ्जालोका अनुसार कम्युनिष्टहरूले पहिलेदेखि गर्दै आएका कार्यभारहरूलाई पनि निरन्तरता दिँदै जानुपर्दछ। कुनै पनि देशमा क्रान्ति गर्नको लागि कम्युनिष्टहरूलाई जनयुद्धको आवश्यकता हुन्छ। र, जनयुद्धको लागि क्रान्तिकारीहरूलाई विकसित विचारको आवश्यकता हुन्छ। यो विचारलाई विकसित गर्न उनीहरूलाई मार्गदर्शक विचारको आवश्यकता हुन्छ र यो मार्गदर्शक विचारलाई विकसित गर्नको लागि उनीहरूले यसलाई बनाउनुपर्दछ। यो बाहेक क्रान्तिकारीहरूसँग कुनै विकल्प हुँदैन। गोञ्जालोका अनुसार कुनै पनि देशमा सही विचार, सही विचारधाराको निर्माण नै मुख्य लडाइँ हो। यस बिना साम्यवादको कुनै विकास हुन सक्दैन। त्यसैगरी गोञ्जालोले नेतृत्व  निर्माणमा लामो समय लाग्नु र यसको लागि कठोर प्रयास र उत्साहवर्धक संघर्ष गर्नु आवश्यक हुन्छ भन्ने कुरा स्पष्ट पारेका थिए। गोञ्जालोका अनुसार क्रान्तिकारी कम्युनिष्टले देशका सबै क्षेत्रमा क्रान्तिको समान ढंगले विस्तार गर्नुपर्दछ। यदि यसो भएन भने साम्राज्यवाद भित्र पसेर हामीभित्र नै विभाजन ल्याइ क्रान्तिको विरूद्धमा जान्छ र एकीकरणको नारा दिँदै पूँजीवादी सत्ता फर्काउँदछ।

गोञ्जालो मार्क्सवाद-लेनिनवाद-माओवाद  र त्यसमा पनि मुख्यगरी माओवादलाई कायम राख्ने, संरक्षण गर्ने  र लागू गर्ने कार्यमा महत्त्वपूर्ण रूपले लागे। उनका अनुसार पेरूको क्रान्ति आफ्नो ऐतिहासिक प्रक्रियामा पहिले एक जनवादी क्रान्ति हुनेछ र त्यसपछि त्यो समाजवादी क्रान्ति हुनुपर्छ, जसको परिणामस्वरूफ साम्यवादसम्म पुग्नको लागि सांस्कृतिक क्रान्ति सामुन्ने आउनुपर्दछ। यो निष्कर्षमा पुग्नको लागि उनको प्रस्थान बिन्दु मार्क्सका शिक्षा थिए। अब उनले यो शिक्षाबाट किसान आन्दोलनलाई जनवादी ऊर्जा प्रदान गरी अगाडि बढाउनु थियो। लेनिनले यो आन्दोलनलाई अझ विकसित रूपमा पूँजीवादी वर्ग एक जर्जर वर्ग भएकोले किसानहरूले सामन्तवादलाई नष्ट गर्ने जिम्मेवारी उठाउनुको साथै सर्वहारा वर्गको नेतृत्वमा जनवादी क्रान्तिलाई पूरा गर्नुपर्दछ भन्ने कुरा स्पष्ट पारे। पछि माओले जनवादबारे भन्ने रचनामा विश्व सर्वहारा क्रान्तिको हिस्साको रूपमा बुर्जुवा तानाशाहीको विरोधमा क्रान्तिकारी वर्गहरूको संयुक्त जनवादी अधिनायकत्वबाट एक संक्रमणकालीन चरणको गठन गर्नुपर्दछ, जसलाई केवल सर्वहारा वर्गको नेतृत्वद्वारा मात्र पूरा गर्न सकिन्छ भन्ने कुरा स्पष्ट बनाए। गोञ्जालोका अनुसार पेरूको ऐतिहासिक प्रक्रियामा कुनै बुर्जुवा क्रान्ति भएको छैन किनभने पूँजीपति यसको नेतृत्व गर्न असमर्थ थिए। परिणामस्वरूप भूमि प्रश्न र राष्ट्रिय प्रश्न गरी दुई दीर्घकालीन समस्याहरू छन्, जसको समाधान गरिनुपर्दछ। उनका अनुसार हामी साम्राज्यवाद र विश्व सर्वहारा क्रान्तिको युगमा छौं। त्यसकारण सर्वहारा वर्ग त्यो वर्ग हो, जसको सामु साम्राज्यवाद र नोकरशाही पूँजीवाद तथा अर्ध-सामन्तवादलाई नष्ट गर्ने कार्यभार रहेको छ। यो कार्य पूँजीपति वर्गको हितको लागि होइन, बरू सर्वहारा वर्गको लागि, गरीब, निम्न पूँजीपति र मध्यम पूँजीपति वर्गको लागि हुनेछ। उनका अनुसार पुरानो प्रकारको जनवादी क्रान्ति अब उचित छैन, बरू नयाँ प्रकारको बुर्जुवा क्रान्तिको आवश्यकता छ; र यो कार्य यसप्रकारका र आजका सबै क्रान्तिहरू केवल जनयुद्ध, संघर्षको प्रमुख रूप र क्रान्तिकारी सशस्त्र बल, संगठनको प्रमुख रूपको माध्यमबाट मात्र पूरा गर्न सकिन्छ। यसरी गोञ्जालोले पेरूको समाजको चरित्रलाई अर्धसामन्ती, अर्धऔपनिवेशिक समाजको रूपमा स्थापित गरेका छन्, जसमा नोकरशाही पूँजीवाद विकसित हुन्छ। उनी क्रान्तिको लक्ष्य एवं गरिने कार्यलाई पनि निर्धारित गर्छन् र अन्तमा उनी सामाजिक वर्गलाई परिभाषित गर्दछन्। त्यसपछि उनी लोकतान्त्रिक क्रान्तिको सार, त्यसको व्यावहारिकता र परिप्रेक्ष्यलाई रेखांकित गर्दछन्।

गोञ्जालोका अनुसार जनवादी क्रान्तिका लक्ष्यका रूपमा रहेका साम्राज्यवाद, नोकरशाही पूँजीवाद र अर्ध-सामन्तवाद मध्येमा एउटा प्रमुख लक्ष्य अनुसार क्रान्ति हुन्छ। अहिलेको कृषियुद्धको समयमा मुख्य लक्ष्य अर्ध-सामन्तवाद हो। साम्राज्यवाद, मुख्यगरी अमेरिकी साम्राज्यवाद हाम्रो लागि प्रमुख साम्राज्यवाद हो र यो सबैतिर हावी हुँदै आफ्नो प्रभुत्वलाई अझ बढी सुनिश्चित गर्ने कोशिस गर्दछ एवं एक अर्धऔपनिवेशिक देशको रूपमा हाम्रा जस्ता देशलाई जन्म दिन्छ; तर हामीले रूसी-सामाजिक साम्राज्यवाद र अन्य साम्राज्यवादी शक्तिहरूबाट पनि बच्नुपर्दछ। हामीले पुराना राज्यका विभिन्न गुटहरूको उपयोग तिनीहरूका अन्तर्विरोधहरूलाई तीव्र बनाउन र प्रमुख शत्रुहरूलाई परास्त गर्न एवं अलग-थलग गर्नको लागि गर्नुपर्दछ। नोकरशाही पूँजीवाद जनवादी क्रान्तिको निरन्तर अवरोध हो र यसले साम्राज्यवादको सेवामा अर्धसामन्तवाद र अर्धउपनिवेशवालाई कायम राख्ने कार्य गर्दछ। र, अर्धसामन्तवाद अहिले नयाँ तौरतरीकाहरूबाट अस्तित्वमा छ  तर यो अझै पनि देशको मूल समस्या हो।

गोञ्जालोले जनवादी क्रान्तिका विभिन्न कार्यक्रमहरूलाई पनि स्पष्ट पार्ने काम गरेका छन्। उनका अनुसार पहिलो काम भनेको,  साम्राज्यवादी वर्चस्वलाई नष्ट गर्नु हो। मुख्यगरी अमेरिकी साम्राज्यवाद एवम् महाशक्तिको साम्राज्यवाद, रूसी सामाजिक-साम्राज्यवाद र अन्य साम्राज्यवादी शक्तिका कार्यहरूलाई रोक्नुपदर्छ। दोस्रो काम भनेको नोकरशाही पूँजीवादलाई नष्ट गर्नु र ठूला राज्य एवं गैर-राज्य एकाधिकारी पूँजी दुवैलाई कब्जा गर्नु हो। तेस्रो काम भनेको, सामन्ती जमिन्दारहरूको सम्पत्ति नष्ट गर्नु, ठूला सहयोगी र गैर-सहयोगी दुवैका सम्पत्ति कब्जा गरी मुख्य रूपले “जमिन जोत्नेलाई” नाराको माध्यमबाट गरीब किसानलाई भूमिको व्यक्तिगत वितरण गर्नु हो। चौथो काम भनेको,  मध्यमवर्गीय पूँजीको समर्थन गर्नु, जसलाई शर्तानुसार काम गर्ने अनुमति दिइन्छ। यी सबै काम सशस्त्र क्रान्तिकारी बलसँगै जनयुद्ध र एक नयाँ राज्यको निर्माणमा कम्युनिष्ट पार्टीको नेतृत्वको माध्यमबाट पुरानो राज्यको पतनको तात्पर्य हो।

गोञ्जालोले क्रान्तिको स्थिति अनुसार सर्वहारा वर्ग, किसान वर्ग (मुख्यगरी गरीब किसान वर्ग), निम्न पूँजीपति वर्ग  र मध्यम पूँजीपति वर्ग जस्ता सामाजिक वर्गहरू एकजुट हुनुपर्दछ भन्ने कुरा स्पष्ट पारेका छन्। यस अनुसार पुरानो र नयाँ ढाँचाका जमिन्दार तथा ठूला नोकरशाही पूँजीपति वा दलाल पूँजीपति वर्ग विरूद्ध लक्ष्य हुनुपर्दछ। गोञ्जालोका अनुसार मुख्य रूपले  गाउँका गरीब किसानहरू र शहरका सबभन्दा गरीब जनतालाई एउटा कम्युनिष्ट पार्टी, जनताको छापामार सेना र एक नयाँ राज्यमा संगठित गर्नु मुख्य उद्देश्य हो। जनसंगठनहरूको माध्यमबाट यसलाई ठोस रूप दिइनुपर्दछ। किसानको प्रश्नको कुरा गर्नु भनेको भूमिको प्रश्नको कुरा गर्नु हो र सैन्य प्रश्नको कुरा गर्नु सत्ताको प्रश्नको कुरा गर्नु हो, नयाँ सत्ताको प्रश्नको बारेमा कुरा गर्नु हो। हामी सर्वहारा वर्गको नेतृत्वमा कम्युनिष्ट पार्टी र जनवादी क्रान्तिको माध्यमबाट त्यहाँ पुग्छौं। जनयुद्धमा किसानको प्रश्न मुख्य हो र सैन्य प्रश्न मार्गदर्शक हो। हतियारबद्ध किसान बिनाको मोर्चाको कुनै आधिपत्य हुँदैन। त्यसकारण किसानको प्रश्न आधारभूत हो र यसले जनवादी क्रान्तिमा सबै कर्यहरूलाई कायम राख्दछ भन्ने कुरा बुझ्नु महत्त्वपूर्ण हुन्छ। समाजवादी क्रान्तिमा पनि किसानको महत्त्व उत्तिकै हुन्छ।

गोञ्जालोका अनुसार सर्वहारा वर्ग अग्रणी वर्ग हो। यो वर्गले क्रान्तिको साम्यवादी प्रक्रियाको सुनिश्चित गर्दछ। यो वर्गले किसानसँग एकताबद्धता कायम गर्दै मजदूर-किसान गठबन्धन बनाउँदछ। र, यो मोर्चाको आधार हो। जनवादी क्नान्तिमा यसको अग्रणी भूमिकालाई बुझ्नु महत्त्वपूर्ण हुन्छ। किनभने यसले साम्यवादतिर सही मार्गलाई सुनिश्चित गर्दछ । सर्वहारा वर्गको नेतृत्व बिनाको जनवादी क्रान्ति पूँजीपति वर्गको नेतृत्वमा एक सशस्त्र कार्वाहीमा विकसित हुनेछ  र त्यो एक महाशक्ति वा साम्राज्यवादी शक्तिको संरक्षणमा जानेछ। उपरोक्त दुई वर्गमा निम्न पूँजीपति वर्गलाई जोडिन्छ र एकसाथ मिलाएर ती क्रान्तिकारी मोर्चाका ठोस रूप बन्दछन्, जुन जनयुद्धको लागि एक मोर्चा र नयाँ राज्य बनाउने वर्गको गठबन्धनको ढाँचाभन्दा बढी केही होइन। यसले ग्रामीण इलाकामा जनसंगठन बनाउँदछ र शहरमा जनताको क्रान्तिकारी रक्षा आन्दोलन चलाउँदछ। जहाँसम्म मध्यम पूँजीपति वर्गको सवाल छ, अहिले त्यो वर्गले क्रान्तिमा भाग लिँदैन तर उसको हितको सम्मान गरिन्छ। यो वर्ग दोहोरो चरित्रको वर्ग हुन्छ र जनवादी क्रान्तिको बेलामा कुनै पनि क्षण क्रान्तिको पक्षमा सामेल हुन पनि सक्दछ। यदि मध्यम पूँजीपति वर्गको हितलाई ध्यानमा राखिएन भने क्रान्तिको चरित्र बदलिनेछ र त्यो लोकतान्त्रिक होइन, समाजवादी हुनेछ। लोकतान्त्रिक राज्यमा संयुक्त अधिनायकत्वको नयाँ राज्य हुनेछ। कम्युनिष्ट पार्टीको माध्यमबाट सर्वहारा वर्गको नेतृत्वमा श्रमिक, किसान, निम्न पूँजीपति वर्ग र अन्य (राष्ट्रिय वा मध्यम पूँजीपति वर्ग) गरी चार वर्गहरूको गठबन्धन हुनेछ। यी वर्गले राज्य प्रणालीमा नयाँ जनवादी अधिनायकत्व र सरकारको प्रणालीको रूपमा जनसभा बनाउँदछन्।

गोञ्जालोका अनुसार उत्पीडित राष्ट्रमा जनवादी क्रान्ति अपरिहार्य पहिलो चरण हो। यो विभिन्न अन्तर्विरोधहरूलाई हल गर्दै विभिन्न चरणहरूबाट गुज्रिनेछ। जनवादी क्रान्ति र दोस्रो चरणमा हुने समाजवादी क्रान्तिको बीचमा एक अटुट सम्बन्ध र निर्वाध मार्ग हुन्छ। र, यसको उद्देश्य विश्व क्रान्तिको सेवा गर्दै साम्यवादसम्म पुग्नको लागि सांस्कृतिक क्रान्तिहरूको एउटा श्रृंखला बनाउनु हो। हामीसँग उच्चतम् र निम्नतम् गरी दुईवटा कार्यक्रम छन्। न्यूनतम् कार्यक्रम अन्तर्गत जनवादी क्रान्तिको कार्यक्रम हो, जुन प्रत्येक अवधिमा निर्दिष्ट हुन्छ र यसको तात्पर्य नयाँ राजनीतिसँग हुन्छ। यो चार वर्गहरूको संयुक्त अधिनायकत्व, एक नयाँ अर्थव्यवस्थाको निर्माण, ठूला साम्राज्यवादी पूँजीवाद, नोकरशाही पूँजीवाद र ठूला सामन्ती जमिन्दारको सम्पत्ति कब्जा गरी मुख्य रूपले गरीब किसानहरूलाई व्यक्तिगत भूमि वितरण गर्नुका साथै एक नयाँ राष्ट्रिय, साम्राज्यवाद विरोधी लोकतान्त्रिक संस्कृतिको निर्माण गर्ने कुरामा आधारित हुन्छ। उच्चतम् समाजवादी कार्यक्रम अनुसार कम्युनिष्ट विचार अनुसार शहर र गाउँको बीच, बौद्धिक र शारीरिक श्रमको बीच एवम् श्रमिक र किसानहरूको बीचका तीन असमानताहरूलाई खत्तम गर्नु हुन्छ। गोञ्जालोका अनुसार जनवादी क्रान्ति कम्युनिष्ट पार्टीको नेतृत्वमा एक किसान युद्ध हो। यसले साम्राज्यवाद, ठूला पूँजीपति वर्ग र जमिन्दारहरूको अन्त्यको लागि चार वर्गयुक्त नयाँ राज्य बनाउने उद्देश्य राख्दछ। जनवादी क्रान्ति कम्युनिष्ट पार्टीको नेतृत्वमा किसान युद्धद्वारा ठोस हुन्छ।  

यसरी गोञ्जालोले माओवादलाई संश्लेषित गरेर पेरूमा मात्र होइन विश्वव्यापी रूपमा आफ्नो प्रभाव छोड्न सफल भए। साम्यवादी विचारधाराको विकासमा उनको ठूलो योगदान रहेको मानिन्छ। गोञ्जालोले जटिल स्थितिमा पेरूबाट माओवादको झण्डा उठाए र के दावी गरे भने माओवाद मार्क्सवाद-लेनिनवादको तेस्रो चरणको विकास हो। अपरिहार्य असमान विकासको माध्यमबाट गोञ्जालोले मार्क्सवाद र लेनिनवादको मूल्यमा माओवादमाथि जोड दिए। गोञ्जालोका विचार जनयुद्धको सिद्धान्तमा नै आधारित रहेका छन्।  

सन्दर्भ सामग्रीहरू

  1. Selected Readings from the Work of Gonzalo by Abimael Gonzalo, Publisher: Lulu.com
  2. The Shining Path and the future of Peru, Gordon H. McCormick, RAND, National Research Instute, The rand corporation, Santa Monica
  3. international marxist-leninist-maoist journal, COMMUNISM, 5 – september 2017, In defense of Gonzalo, theoretician of Maoism
  4. Collected Works of the Communist Party of Pery, Volume 1, 1968-1987, published by Christophe Kistophe Kistler & Hallqvist
  5. Comrade Gonzalo has become immortal! Communist Party of Turkey – Marxist Leninist (TKP-ML) Central Committee, September 13, 2021
  6. Collected Works of the Communist Party of Pery, Volume 2, Fundamental Documents, Foreign language Press, China
  7. Interview with Chairman Gonzalo, published by the committee to support the revolution in Peru, Berkeley
  8. Communism-15-September-2021 – Gonzalo special
  9. The Shining Path : The Succsessfull Blending of Mao and Mariategui in Peru, William G. Graves, Maj, USA
  10. Maoism in the Andes : The communist party of Peru-Shining Path and the Refusal of History, Orin Starn, Journal of Latin American Studies, vol 27, 2 May 1995, Cambridge University Press.
  11. Study and Research of several websites and blogs
  12. क. गोञ्जालोका अन्तर्वाताहरू, नेपाली संस्करण, अनुवाद – खगेन्द्र संग्रौंला, पेरूको क्रान्ति समर्थक समिति, नेपाल, २०४९


4 responses to “क्रान्तिकारी कम्युनिष्ट नेता गोञ्जालो, पेरूको क्रान्ति युद्ध र गोन्जालोका विचारहरूको अध्ययन”

  1. धेरै धेरै धन्यवाद छ । सरकाे सहयोग र मेहनतलाई ।

    On Mon, Sep 18, 2023, 9:08 AM अध्ययन-अनुसन्धान (Essential Knowledge of the

    Liked by 2 people

    1. आभार व्यक्त गर्दछु।

      Liked by 1 person

  2. Narayan Giri ! Please send its English translation. Thanks !

    Liked by 4 people

    1. I will send it in English in a few days. thank you

      Liked by 3 people

Leave a comment

About Me

I am a student of philosophy and nature. I thoroughly research all subjects and summarize them in Nepali and English. I am Secretary of Marxism Study-Research Academy, Nepal. I am a Social Worker. Education – i) Master of Arts Degree in Political Science – TU, ii) Master of Public Administration Degree – TU, iii) Master of Arts Degree in History-TU, iv) Master of Arts Degree in Nepalese History Culture and Archaeology-TU.

म अध्ययन-अनुसन्धान कार्यमा निस्वार्थ भावले निरन्तर लागेको एक वाम विचारधारायुक्त सामाजिक कार्यकर्ता हुँ। मेरो कुनै पनि राजनीतिक दलसँग संलग्नता नरहेको जानकारी गराउँदछु। मेरा हरेक अध्ययन-अनुसन्धान कार्य शोषण, दमन, अन्याय, अत्याचारका विरुद्ध हुनेछन् । आम श्रमजीवी, भोका-नांगा, गरीब, उत्पीडित जनसमुदायहरूलाई सुशिक्षित गर्ने प्रयत्न मेरो कर्तव्य हुनजान्छ । मेरा सबै कार्य जनहितका लागि हुनेछन् भन्ने आशा तथा विश्वासपूर्वक मैले निरन्तर कार्य अगाडि बढाइरहेको हुनेछु। श्रमप्रति सम्मान र शोषणप्रति घृणा नै मेरा कार्यका उद्देश्य हुनेछन्।  

यहाँ तपाईंहरू सबै प्रकारका सामग्रीहरू अध्ययन गर्न र हेर्न पाउनुहुनेछ । अध्ययन गर्नको लागि रूचियुक्त सामग्रीहरू माग गर्नुभयो भने यथासंभव परिपूर्तिसमेत गरिनेछ । यहाँ लेखरचना, पत्रपत्रिका, म्यागजिन,  जर्नल, विभिन्न पुस्तकहरू (नेपाली, अंग्रेजी र हिन्दी भाषामा), डकुमेन्ट्री, फिल्म, आदि सामग्रीहरू खोजेर पढ्न तथा हेर्न सक्नुहुन्छ।

I am a leftist social worker who is selflessly engaged in research work. I inform you that I am not affiliated with any political party. Every study-research work of mine will be against exploitation, oppression, injustice and tyranny. It is my duty to try to educate the common workers, the hungry, the poor, the oppressed masses. I will continue my work with the hope and confidence that all my work will be for public interest. Respect for labor and hatred for exploitation will be the objectives of my work.

Here you will find all kinds of content to study and watch. If you demand for interesting materials to study, they will be provided as much as possible. Here you can search and read articles, newspapers, magazines, journals, various books (in Nepali, English and Hindi languages), documentaries, films, etc.

श्रमको सम्मान गर्नुभएकोमा धन्यवाद ।

Thank you for respecting the labor.

Newsletter

Marxism-मार्क्सवाद

Communist history

Philosophy-दर्शन

लेनिन-LeninLeninism

दस्तावेज-documents

धर्म-दर्शन

त्रिपिटक–बुद्ध

गीता सार

Politics–राजनीति

ग्रन्थ परिचय

Mao-Maoism

साहित्य- literature

जीवनी-biography

साम्यवाद-communism

युवाबारे-On Youth

कार्ल मार्क्स–Karl Marx

फ्रेडरिक एंगेल्स–F. Engels

भी.आइ.लेनिन–V.I.Lenin

जे. भी. स्टालिन – J.V. Stalin

माओत्सेतुङ – Maotsetung

डिजिटल पुस्तकालय (digital library)

ई-पुस्तकालय -e-library

विज्ञान-प्रविधि (Science-Technology)

सामान्य ज्ञान (GK)

Documentaries and YouTube channels

पुस्तकालय – LIBRARY

नेपाली डिजिटल पुस्तकहरू (Nepali Digital Books)

नेपाली न्यूजपेपर, म्यागजिन र अनलाइन पत्रपत्रिकाहरू (Nepali Newspapers, Online and Nepali Magazines)

English Digital Books : Part – 1 (world communist special books)

English Digital Books : Part – 2

English Digital Books : Part – 3

हिन्दी डिजिटल पुस्तक (Hindi digital Books) भाग – १

हिन्दी डिजिटल पुस्तक (Hindi digital Books) भाग – २

हिन्दी डिजिटल पुस्तक (Hindi digital Books) भाग – ३

हिन्दी डिजिटल पुस्तक (Hindi digital Books) भाग – ४

हिन्दी डिजिटल पुस्तक (Hindi digital Books) भाग – ५

Documentaries and YouTube channels

Uncategorized

ENGLISH SECTION

Design a site like this with WordPress.com
Get started