स्रोत – The Structure of Scientific Revolutions – Thomas S. Kuhn, THE UNIVERSITY OF CHICAGO PRESS, LTD., LONDON
(यो उक्त पुस्तकको पहिलो अध्याय हो र अन्य अध्यायहरू क्रमशः प्रकाशित हुँदै जानेछन्)
अनुवाद तथा सम्पादन – नारायण गिरी
विकास–क्रमलाई जीवन–घटनाहरू र क्रमिक संचयी विकासको रूपमा हेरिनुपर्दछ भन्ने विज्ञानको इतिहासको परम्परा रहेको छ। यसको कारणले नै विज्ञानको हाम्रो विशेष धारणा बनेको छ । इतिहासप्रति आफ्नो दृष्टिकोण बदलेपछि विज्ञानको हाम्रो यो धारणामा पनि निर्णायक परिवर्तन हुन सक्दछ । पहिले वैज्ञानिक स्वयं आफ्नो व्यवशायको धारणा शास्त्रीय ग्रन्थहरूमा वर्णित महत्वपूर्ण वैज्ञानिक सफलताहरूको अध्ययनको माध्यमले बनाउँथे । पछि यसको आधारमा ती पाठ्य–पुस्तकहरू बन्नगए, जसबाट वैज्ञानिकहरूको हरेक नयाँ पुस्ताले आफ्नो व्यवसायको काम सिक्दछन् । अनिवार्यतः यस्ता पुस्तकहरूको उद्देश्य विश्वासोत्पादन र प्रशिक्षण हुन्छ; यिनीहरूबाट बनेको विज्ञानको धारणा त्यस्तै नै हुन्छ, जस्तो कुनै देशको पर्यटन–पुस्तिका वा भाषा पाठ्य–पुस्तकद्वारा बनेको त्यहाँको राष्ट्रिय संस्कृतिको धारणा । यस पुस्तकमा के देखाउने प्रयास गरिएको छ भने उपरोक्त विज्ञान पाठ्य–पुस्तकहरूको कारण विज्ञानको हाम्रो धारणामा आधारभूत विकृति उत्पन्न हुनगएको छ ।
हाम्रो उद्देश्य विज्ञानको एउटा यस्तो नूतन धारणाको खाका खिच्नु हो, जुन अनुसन्धनात्मक गतिविधिको मात्र ऐतिहासिक विकासलाई आधार बनाएर निर्मित हुन सक्दछ । इतिहासबाट पनि यो वांछित धारणा तबसम्म सुलभ हुन सक्नेछैन, जबसम्म ऐतिहासिक आँकडाहरूको चयन, विज्ञान पाठ्य–पुस्तकहरूमाथि आधारित घिसे–पिटे, ढाँचामा उठाइएका सवालहरूको उत्तर दिने उद्देश्यले गरिरहिनेछ र यसै आधारमा यी आँकडाहरूको व्याख्या गरिरहिनेछ । उदाहरणको लागि, यी पाठ्यपुस्तकहरूमा धेरैजसो के कुरा निहित रहेका छन् भने विज्ञानको अन्तर्वस्तुको एकमात्र अभिव्यक्ति प्रकटतम् तिनका पृष्ठहरूमा वर्णित अवलोकनहरू, नियमहरू र सिद्धान्तहरूको माध्यमबाट हुन्छ । यसैगरी, यी पुस्तकहरूद्वारा पटक–पटक के दावी गरिन्छ भने वैज्ञानिक प्रणालीहरू केवल ती प्रयोगात्मक र बौद्धिक प्रविधिहरू हुन्छन्, जसको प्रयोग पाठ्य–पुस्तकहरूको लागि सामग्री जुटाउनको लागि हुन्छ वा ती यस्ता तार्किक पद्धतिहरू हुन्छन्, जसको प्रयोग पाठ्य–पुस्तकहरूको सैद्धान्तिक सामान्यीकरणहरूको सम्बन्ध तिनको प्रयोगात्मक अवलोकनहरूसँगै स्थापित गर्नको लागि गरिन्छ । परिणामस्वरूप विज्ञानको एक यस्तो धारणा बनेको छ, जसको विज्ञानको प्रकृति र विकासको सन्दर्भमा अव्यक्त रूपले महत्वपूर्ण अर्थ निक्लिन्छ ।
यदि हामी विज्ञानलाई प्रचलित पाठ्य–पुस्तकहरूमा संकलित तथ्यहरू, सिद्धान्तहरू र प्रणालीहरूको समूहको रूपमा हेर्दछौं भने, वैज्ञानिक ती मानिस कहलाउँनेछन्, जसले सफलतापूर्वक वा अन्यथा, पुस्तकहरूको ज्ञान–भण्डारको वृद्धिको लागि गम्भीर प्रयास गरेका छन् । यस धारणाअनुसार वैज्ञानिक विकास अलग–अलग घटनाहरूलाई मिलाएर बन्ने एक यस्तो प्रक्रिया हो, जसको क्रममा वैज्ञानिक तथ्य, सिद्धान्त र प्रणालीहरू वैज्ञानिक प्रविधि र ज्ञानको निरन्तर बढ्दो भण्डारमा एक–एक गरी वा सम्मिलित रूपबाट जोडिदै जान्छन् । र, विज्ञानको इतिहास त्यो विद्या–शाखा बन्नजान्छ, जसले यी क्रमिक समृद्धिहरूको र यिनीहरूको संचयनमा रोकावट पैदा गर्ने बाधाहरूको ऐतिहासिक लेखा–जोखा राख्दछ । यस धारणाअनुसार वैज्ञानिक विकासको गम्भीर अध्ययन गर्ने इतिहासकारका दुई मुख्य काम हुनजान्छन् । एकातिर उसले कुन व्यक्तिद्वारा र ठीक–ठीक कुन समय, प्रत्येक वैज्ञानिक तथ्य, नियम र सिद्धान्त खोजियो वा आविष्कृत गरियो भन्ने कुरा निर्धारण गर्नु आवश्यक हुन्छ । अर्कोतिर, त्यसले ती सारा गल्तीहरू, मनगढन्त कुराहरू र अन्ध–विश्वासहरूको वर्णन र व्याख्या गर्नुपर्दछ, जसको कारणले आधुनिक विज्ञान पाठ्य–पुस्तकमा वर्णित वैज्ञानिक ज्ञानको तीव्रतर संचयनमा बाधा पुग्यो । विज्ञानको इतिहासको उपरोक्त उद्देश्यहरूलाई लक्षित गरी धेरै अनुसन्धान गरिएको छ र अझै पनि जारी छ ।
तर पछिल्ला केही वर्षहरूमा विज्ञानका केही इतिहासकारहरू संचयी विकासको उपरोक्त धारणाद्वारा नियत गरिएका उद्देश्यहरूलाई पूरा गर्नमा निरन्तर अत्यन्तै कठिनाई अनुभव गरिरहेका छन् । उपरोक्त धारणा राख्ने इतिहासकारहरू के पाउँदछन् भने अधिक अनुसन्धानद्वारा निम्न प्रकारका प्रश्नहरूको उत्तर मिल्न सजिलो हुनुको सट्टा अझ मुश्किल हुनजान्छ : उदाहरणको लागि, अक्सिजनको खोज कहिले भयो ? ऊर्जा संरक्षणको सिद्धान्तको कल्पना सबभन्दा पहिले कसले गर्यो ? निरन्तर यस्ता मानिसहरूको संख्या बढिरहेको छ, जसलाई यसप्रकारको प्रश्न सोध्नु नै गलत हो भन्ने प्रतीत हुन्छ । यी मानिसहरू यस्तो के महसुस गर्दछन् भने शायद विज्ञान एक–एक, अलग–अलग खोज र आविष्कारको संचयनद्वारा विकसित हुँदैन । साथ–साथै, यिनै इतिहासकार अतीतका अवलोकनहरू र मान्यताहरूलाई “वैज्ञानिक” (अर्थात् वैघ) र “गल्ती” वा “अन्धविश्वास” (अर्थात् अवैध) जस्ता तत्वहरूको बीचमा बाँड्नमा अत्यन्तै धेरै कठिनाई अनुभव गरिरहेका छन्, जबकि तिनका पूर्ववर्ती यही काम धेरै सजिलोसँग गर्दथे । उदाहरणको लागि, जति धेरै सूक्ष्मतापूर्वक उनीहरू एरिस्टोटलको गतिविज्ञान, फ्लोजिस्टिक रसायन–विज्ञान र क्यालोरिक ताप गतिविज्ञानको अध्ययन गर्दछन्, त्यति नै धेरै निश्चित रूपले उनीहरू के महसुस गर्दछन् भने एक समयमा प्रचलित प्रकृतिसम्बन्धी यी विचार, कुल मिलाएर, आजभोलिको युगको तुलनामा न त कम वैज्ञानिक थिए र न यिनको उत्पत्तिमा कुनै व्यक्ति विशेषको मनगढन्त धारणाको स्थान नै अधिक महत्वपूर्ण थियो । यी अतीतका धारणाहरूलाई यदि मनगढन्त कुराहरूको संज्ञा दिइन्छ भने, पुनः के मान्नुपर्नेछ भने मनगढन्त कुराहरू त्यसै प्रकारका प्रणालीहरूबाट पैदा हुन सक्दछन् र त्यसैप्रकारका कारणहरूको कारणले ती मान्य बनिरहन सक्दछन्, जसले अब वैज्ञानिक ज्ञानको मार्ग प्रशस्त गर्दछ । अर्कोतिर, यदि अतीतका यी धारणाहरूलाई वैज्ञानिक भनिन्छ भने, यसको परिणाम के हुनेछ भने विज्ञानमा धारणाहरूको यस्तो ढाँचा पनि सामेल रहेको छ, जुन आज हामीद्वारा मान्य ढाँचाभन्दा विल्कुल असंगत छ । यदि यही दुई विकल्प उपलब्ध छन् भने, इतिहासकारलाई पहिले चुन्नुपर्नेछ । अर्थात् उसले के स्वीकार्नुपर्नेछ भने पुरानो वैज्ञानिक सिद्धान्त यसकारण अवैज्ञानिक बन्नजादैन किनकि वर्तमान युगमा ती अमान्य घोषित भइसकेका छन् । यदि हामी यो धारणा स्वीकार्दछौं भने, पुनः वैज्ञानिक विकासलाई निरन्तर अभिवृद्धिको प्रक्रियाको रूपमा हेर्न कठिन हुनजान्छ । जुन ऐतिहासिक अनुसन्धानको आधारमा एक–एक आविष्कार वा खोजको स्वतन्त्र सत्ता स्थापित गर्न कठिन भइरहेको छ, त्यसैद्वारा विज्ञानका यी अलग–अलग योगदानहरूलाई संयोजित गरी बन्ने संचित विकास प्रक्रियाको बारेमा गहिरो संदेहहरूको लागि आधार पनि प्राप्त भइरहेको छ ।
यी सबै सन्देहहरू र कठिनाइहरूको परिणामस्वरूप विज्ञानको क्षेत्रमा एक इतिहासशास्त्रीय क्रान्ति सम्पन भइरहेको छ; यद्यपि यो क्रान्ति अझै आफ्नो प्रारम्भिक अवस्थामा नै छ । यस कुराको बोध नभईकन नै विज्ञानका इतिहासकार बिस्तारै–बिस्तारै नयाँ प्रकारका प्रश्न सोध्न लागेका छन् र उनीहरूले विज्ञानको विकासको व्याख्या एक नयाँ ढंगले गर्न शुरु गरिदिएका छन्, जुन प्रायः संचयी विकासको धारणाभन्दा भिन्न हुन्छ । अब उनीहरू के खोज्दैनन् भने पुरानो युगको कुनै वैज्ञानिक कामको वर्तमान वैज्ञानिक दृष्टिकोणको निर्माणमा के स्थायी योगदान रहेको छ; बरु उनीहरू पुरानो युगको कुनै वैज्ञानिक कामको तत्कालीन ऐतिहासिक वातावरणसँगै आंगिक सम्बन्ध कुन प्रकारको थियो भन्ने कुरा जान्ने प्रयास गर्दछन् । उदाहरणस्वरूप, उनीहरू ग्यालीलियोका वैज्ञानिक मतहरूको सम्बन्ध आधुनिक वैज्ञानिक धारणाहरूसँग खोज्ने कोशिस गर्दैनन्; बरु उनीहरू कुन प्रश्नको उत्तर खोज्दछन् भने ग्यालीलियोका मतहरूको सम्बन्ध तिनका शिक्षकहरू, समकालीनहरू र विज्ञानमा तिनका निकटतम् उत्तराधिकारीहरूलाई लिएर बनेका वैज्ञानिक दलका मतहरूसँग के थियो । यसको साथ–साथै उनीहरू विभिन्न वैज्ञानिक दलहरूका मतहरूको अध्ययन यस्तो दृष्टिकोणले गर्नमा जोड दिन्छन्, जसबाट विभिन्न मतहरूको बीचमा अधिकतम् आन्तरिक सामञ्जस्य स्थापित भएको हुन्छ र जुन प्रकृतिसँग धैरैभन्दा धेरै तार्किक सम्बन्ध स्थापित गर्नमा सफल भएको हुन्छ । यो दृष्टिकोण आधुनिक विज्ञानका मतहरूभन्दा प्रायः धेरै भिन्न हुन्छ । विज्ञानको इतिहासको विश्लेषणको उपरोक्त ज्ञानको संभवतः सबभन्दा राम्रो उदाहरण अलेक्जेण्डर कोयरेका रचनाहरू हुन् । यस्ता रचनाहरूलाई पढेपछि वैज्ञानिक व्यवसायको जुन स्वरूप चित्रित हुन्छ, त्यो पुरानो इतिहास–शास्त्रीय परम्पराअन्तर्गत विश्लेषण गर्ने लेखकहरूद्वारा खिचिएको स्वरूपभन्दा बिल्कुल भिन्न हुन्छ । यी ऐतिहासिक अध्ययनहरूका आधारमा विज्ञानको एक नयाँ स्वरूपको धारणा हाम्रो सामुन्ने कम्तीमा एक परोक्ष संभावनाको रूपमा प्रकट हुन्छ । लेखकको उद्देश्य नयाँ इतिहासशास्त्रको निहितार्थहरूमध्ये केहीको तात्पर्यलाई स्पष्ट गरी विज्ञानको यस नयाँ स्वरूपको रूपरेखा प्रस्तुत गर्नु हो ।
यस प्रयासको क्रममा विज्ञानको कुन पक्षहरूलाई प्रमुखता प्राप्त हुनेछ ? जुन क्रमबाट लेखकले आफ्ना विचार प्रस्तुत गरेका छन्, त्यसअनुसार पहिलो कुरा के हो भने विविध प्रकारका वैज्ञानिक प्रश्नहरूको एकमात्र सही उत्तरलाई स्वीकार गर्नको लागि वैज्ञानिकहरूलाई बाध्य गर्नमा केवल प्रणाली–वैज्ञानिक प्रतिबन्ध र कारण अपर्याप्त हुन्छ । उदाहरणस्वरूप, यो कोही यस्तो व्यक्ति, विद्युत वा रसायन–वैज्ञानिक परिघटनाहरूमा अनुसन्धान गर्दछ, जुन यी क्षेत्रहरूको लागि नयाँ छ तर वैज्ञानिक–प्रणालीसँग सामान्यतः परिचित छ भने, त्यसको लागि अनेक परस्पर–विरोधी निष्कर्षहरूमध्येबाट कुनै एकलाई चुन्नु संभव छ । अनेक वैध संभावनाहरूमध्येबाट कुन विशेष निष्कर्षहरूलाई ऊ चुन्दछ, यो कुराले केही यस्ता ऐतिहासिक घटनाहरूमा निर्भर गर्नेछ, जस्तो अन्य क्षेत्रहरूमा अनुसन्धानको उसको पछिल्लो अनुभव, वा अनुसन्धानको क्रममा घटित हुने कुनै आकस्मिक घटना वा त्यसको व्यक्तिगत स्वभाव, इत्यादि । उदाहरणस्वरूप, ताराहरूको आफ्नो पछिल्लो अध्ययनमा आधारित कुन धारणाहरूले त्यो रसायन–विज्ञान वा विद्युतको अनुसन्धानको क्षेत्रमा लैजान्छ ? नयाँ क्षेत्रको लागि प्रासंगिक अनेक संभव प्रयोगहरूमध्येबाट कुनलाई पहिले गर्ने ऊ निर्णय गर्दछ ? र, यी प्रयोगहरूमा अवलोकन गरिएको जटिल परिघटनाको कुन पक्ष रासायनिक परिवर्तनको वा विद्युतबन्धुता (इलेक्ट्रिकल अफ्रिनिटी) को चरित्रको व्याख्याको लागि त्यसलाई विशेष रूपले महत्वपूर्ण लाग्दछ ? कम्तीमा एउटा व्यक्तिको लागि र कहिलेकाहिँ त पूरा वैज्ञानिक समुदायको लागि यसप्रकारका प्रश्नहरूको जवाफ प्रायः वैज्ञानिक विकासको मार्ग निर्धारित गर्नमा निर्णायक हुन्छ । यस विषयमा हामी अर्को अध्याय चर्चा गर्नेछौं । त्यहाँ हामी देख्नेछौं कि वैज्ञानिक अनुसन्धानको अधिकतम् क्षेत्रहरूको विकासको प्रारम्भिक अवस्थाहरूको के विशेषता हुन्छ भने प्रकृतिको स्पष्ट रूपले भिन्न अनेक धारणाहरूको बीचमा निरन्तर प्रतिस्पर्धा चलिरहन्छ । यिनीहरूमध्ये हरेक धारणा आंशिक रूपले वैज्ञानिक अवलोकन र वैज्ञानिक प्रणालीको परिणाम हुन्छ र धेरै हदसम्म त्यसको अनुरूप पनि हुन्छ । यी परस्पर भिन्न विचार–पद्धतिहरूको बीचको भिन्नताको आधार कार्यप्रणालीसम्बन्धी कुनै टकराव हुँदैन; ती सबै समान रूपले वैज्ञानिक हुन्छन् । तिनीहरूको पारस्परिक अन्तरको मूल कारण हो – दुनियाँलाई हेर्ने र त्यसमा वैज्ञानिक काम गर्ने तरीकाहरूको तारतम्यहीनता (इनकमेन्सुरेबिलिटी) । तारतम्यहीनताको धारणाको सम्बन्धमा हामी अगाडि विस्तारपूर्वक चर्चा गर्नेछौं । यस्तो संभव छ र अनिवार्य पनि कि वैध मानिनले वैज्ञानिक मान्यताहरूको दायरा अवलोकन र अनुभवको आधारमा प्रबल रूपले सीमित हुन्छ, अन्यथा विज्ञानको अस्तित्व नै रहने छैन । तर साथ–साथै, केवल अवलोकन र अवलोकनको मात्र आधारमा मान्यताहरूको कुनै एकमात्र वैध ढाँचा निर्धारित गर्न सकिंदैन । यदि हामी कुनै वैज्ञानिक समुदायद्वारा स्वीकृत मान्यताहरूको ढाँचामा विचार गर्दछौं भने, हामी पाउँदछौं – त्यसमा व्यक्तिगत र ऐतिहासिक आकस्मिक घटनाहरूसँग जोडिएको मनमानी प्रतीत हुने एक तत्व हमेशा हुन्छ ।
तर मनमानीपनको यो तत्वको अस्तित्वको अर्थ के होइन भने कुनै पनि वैज्ञानिक दल आफ्नो व्यवसायको काम अन्य स्रोतहरूबाट प्राप्त भएका मान्यताहरूको समूहबिना गर्नसक्दछ । यसको कारणले विशेष मान्यताहरूप्रति कुनै वैज्ञानिक दलको प्रतिबद्धताको महत्व पनि घट्दैन । कुनै वैज्ञानिक समुदायद्वारा निम्न प्रकारका सवालहरूका निश्चित उत्तर आर्जित गर्नुभन्दा पहिले प्रभावशाली अनुसन्धान गर्नु धेरै कठिन हुन्छ : विश्व जुन मूल तत्वहरूबाट संघटित भएको छ, ती के हुन् ? तिनीहरूले कसरी एक–अर्कोलाई र ज्ञानेन्द्रियहरूलाई प्रभावित गर्दछन् ? यस्ता तत्वहरूको बारेमा कुन प्रश्न वैधानिक रूपले सोध्न सकिन्छ र तिनको हल खोज्नमा कुन प्रविधिहरू प्रयोग गर्न सकिन्छ ? कम्तीमा परिपक्व विज्ञानहरूको विद्याशाखाहरूको लागि यो कुरा साँचो हो कि यस्ता प्रश्नहरूको उत्तर (वा तिनका समतुल्य) नयाँ सदस्यहरूलाई पेशामा काम गर्नको लागि तयार गर्ने र काम गर्ने आज्ञा दिने शैक्षिक दीक्षामा गहिराइपूर्वक सन्निहित रहन्छन् । यद्यपि त्यो शिक्षा कडा मेहनत गरेर मात्र प्राप्त हुन्छ र साथ–साथै त्यसमा लचिलोपना हुँदैन, त्यसकारण उपरोक्त प्रश्नहरूको उत्तरले वैज्ञानिक मस्तिष्कमा गहिरो जकड पैदा गरिदिन्छ । मस्तिष्कलाई संकुचित गर्ने यो प्रक्रिया सामान्य अनुसन्धनात्मक गतिविधि (यसको व्याख्या अगाडि गरिनेछ) को असाधारण दक्षता र प्रभावशालिताको विकासको दिशा बुझ्नको लागि धेरै महत्वपूर्ण छ । हामी अध्याय तीन, चार र पाँचमा सामान्य विज्ञानमा विचार गरेको समयमा, हामी यो कुरा जोड दिएर भन्नेछौं कि यस्तो अनुसन्धान, व्यवशायिक शिक्षाद्वारा प्रदान गरिएका, वैचारिक साँचोहरूमा प्रकृतिलाई जबर्जस्ती ठोस्ने श्रमसाध्य र समर्पित प्रयासभन्दा अधिक केही होइन । साथ–साथै हामी यस प्रश्नको उत्तर खोज्ने कोशिस पनि गर्नेछौं कि जब यी साँचोहरूको उत्पत्तिमा र कहिलेकाहीँ तिनको परवर्ती विकासमा पनि मनमानीपन (आरबिट्रेरीनेस) को केही मात्रा विद्यमान रहन्छ भने, के यी साँचोबिना अनुसन्धानको प्रगति संभव छ ।
जे भए पनि मनमानीपनको त्यो तत्व हमेशा विद्यमान रहन्छ र वैज्ञानिक विकासमा त्यसको महत्वपूर्ण असर पनि पर्दछ । यस विषयमा हामी अध्याय छ, सात र आठमा विस्तारपूर्वक चर्चा गर्नेछौं । धेरै वैज्ञानिक लगभग आफ्नो सारा समय अनिवार्यतः सामान्य विज्ञानको गतिविधिमा मात्र लगाउँदछन् : र यस गतिविधिको पूर्व–शर्त वैज्ञानिक समुदायलाई दुनियाँको विषयमा पूरा जानकारी छ भन्ने धारणा रहेको छ । वैज्ञानिक व्यवसायको सफलताको मुख्य कारण के हो भने वैज्ञानिक समुदाय विश्व–सम्बन्धी आफ्नो धारणामा दृढतापूर्वक अडिइरहनको लागि तत्पर रहन्छन् र यस कामको लागि कहिलेकाहीँ उनीहरू भारी मूल्य पनि चुकाउँदछन् । उदाहरणस्वरूप, सामान्य विज्ञानको कामको क्रममा प्रायः आफ्नो बीचमा उत्रिने मौलिक नवीनताहरूको दमन गरिन्छ किनकि तिनीहरू अनिवार्यतः यसको आधारभूत प्रतिबद्धताहरूको लागि खतरा बन्न सक्दछन् । तर पनि, यद्यपि यी प्रतिबद्धताहरूमा मनमानीपनको तत्व विद्यमान छ, त्यसकारण सामान्य अनुसन्धानको चरित्रबाट नै के कुरा निश्चित हुनजान्छ भने नवीनतालाई धेरै लामो समयसम्म दबाउन सकिंदैन । व्यवसायमा संकट पैदा हुने कारण कहिलेकाहीँ यो पनि हुन्छ कि कुनै सामान्य समस्या, जुन ज्ञात नियमहरू र कार्यविधिहरूको प्रयोगद्वारा नै हल हुनुपर्दछ, दलको योग्यतम् सदस्यहरूको पटक–पटक प्रयास गर्नुको बावजूद हल हुन पाउँदैन वा सामान्य अनुसन्धानको कामको लागि निर्मित कुनै उपकरणले पूर्वानुमानित ढंगले काम गर्दैन र यसप्रकार यस्तो असंगति प्रदर्शित गर्दछ, जसको मेल व्यवसायिक आशाहरूसँग पटक–पटक प्रयास गर्नुको बावजूद बस्दैन । यी परिस्थितिहरूमा वा यसको अलावा अन्य कारणहरूबाट पनि सामान्य वैज्ञानिक काममा अवरोध पैदा हुनजान्छ । वैज्ञानिक व्यवहारको विद्यमान परम्परालाई खतरामा पार्ने असंगतिहरूलाई नजरअन्दाज गर्नु व्यवसायको लागि असंभव हुनजान्छ भन्ने खालको समस्या आएपछि असाधारण अनुसन्धान शुरु हुन्छ, जसले अन्तत्वगत्वा व्यवसायलाई प्रतिबद्धताहरूको एक नयाँ ढाँचा र वैज्ञानिक कामको एक नयाँ आधारतर्फ लिएर जान्छ । पुस्तकमा ती असाधारण घटनाहरूलाई, जसद्वारा व्यवसायिक प्रतिबद्धताहरूको आमूल परिवर्तन घटित हुन्छ, वैज्ञानिक क्रान्तिहरूको संज्ञा दिइएको छ । यी क्रान्तिहरू सामान्य विज्ञानको परम्पराबद्ध गतिविधिको परम्परा–ध्वंसक पूरक हुन् ।
वैज्ञानिक क्रान्तिहरूको सबभन्दा सुस्पष्ट उदाहरण वैज्ञानिक विकासका ती प्रसिद्ध घटनाहरू हुन्, जसलाई पहिले पनि क्रान्तिहरूको संज्ञा दिइएको छ । अतः अध्याय नौ र दसमा, जहाँ वैज्ञानिक क्रान्तिहरूको पहिलोपटक प्रत्यक्ष रूपले सूक्ष्म परीक्षा गरिएको छ, हामी पटक–पटक कोपरनिकस, न्यूटन, ल्यावोयजिए र आइन्सटाइनका नामहरूसँग जोडिएका वैज्ञानिक विकासको निर्णायक घटनाहरूमाथि विचार गर्नेछौं । कम्तीमा भौतिक विज्ञानहरूको इतिहासको सन्दर्भमा भने, अन्य घटनाहरूको अपेक्षा यी घटनाहरू वैज्ञानिक क्रान्तिहरूको चरित्र स्पष्ट गर्नमा कैयौं धेरै सफल हुन्छन् भन्न सकिन्छ । यिनीहरूमध्ये हरेकको कारण वैज्ञानिक समुदायको लागि के अनिवार्य हुनगयो भने त्यसले कुनै चिर–सम्मानित वैज्ञानिक सिद्धान्तलाई अस्वीकार गरेर त्यसबाट सर्वथा असंगत कुनै अन्य सिद्धान्तलाई अंगीकार गर्दछ । हरेकले वैज्ञानिक अनुसन्धानको लागि उपलब्ध समस्याहरूमा महत्वपूर्ण परिवर्तन सम्पन्न गरे; साथै ती मापदण्डहरूमा पनि आधारभूत परिवर्तन भयो, जसको माध्यमले वैज्ञानिक कुनै समस्या वा त्यसको हलको वैधताको विषयमा निर्णय गर्दछन् । र, हरेक क्रान्तिको कारण वैज्ञानिकको कल्पना–जगतमा यस्तो मौलिक परिवर्तन भयो, जसको वर्णन अन्तत्वगत्वा हामी के भनेर गर्नेछौं भने वैज्ञानिक व्यवसायको दुनियाँ नै रूपान्तरित हुनगयो । यस्ता परिवर्तन र प्रायः हमेशा नै तिनीहरूसँग घटित हुने विवाद, वैज्ञानिक क्रान्तिहरूको विशेषतासूचक लक्षण हुन् ।
उदाहरणस्वरूप, न्यूटनीय क्रान्ति वा रासायनिक क्रान्तिको अध्ययनको क्रममा त यी लक्षण धेरै स्पष्ट रूपले अगाडि आउँदछन् । तर यस पुस्तकको आधारभूत स्थापना के हो भने स्पष्टतः क्रान्तिकारी प्रतीत नहुने धेरै अन्य घटनाहरूको पनि अध्ययन गर्दा यी लक्षण खोजेर निकाल्न सकिन्छ । जस्तो म्याक्सवेलका समीकरणहरूको उदाहरण लिऊँ । यद्यपि ती आइन्स्टाइनका समीकरणहरूका जसरी नै क्रान्तिकारी थिए, तर तिनीहरूद्वारा प्रभावित वैज्ञानिकहरूको दल कैयौं धेरै सानो थियो । त्यसकारण यस प्रभावित दलले तिनको उति नै तीव्रतापूर्वक विरोध गरेको थियो । यो कुरा हरेक नयाँ सिद्धान्तको आविष्कारसँगै हुन्छ कि त्यसबाट प्रभावित हुने विशेषज्ञहरूको क्षेत्रमा तीव्र विरोध व्यक्त हुन्छ । यी मानिसहरूको लागि नयाँ सिद्धान्तको निहितार्थ, सामान्य विज्ञानको पछिल्लो व्यवहारलाई नियन्त्रित गर्ने नियमहरूमा परिवर्तन ल्याउनु हुन्छ । अतः नयाँ सिद्धान्तको स्वीकृतिको कु अनिवार्य परिणाम हुनजान्छ भने त्यसको कारण पहिले सफलतापूर्वक सम्पन्न गरिसकिएका वैज्ञानिक कामको महत्व र प्रतिष्ठा घट्दछ । यसैकारण यस्तो संभव छैन भने कुनै नयाँ सिद्धान्तको परिणाम वैज्ञानिक समुदायको पहिलेदेखि संचित ज्ञान भण्डारमा वृद्धिको रूपमा नै हुन्छ । के कुरा महत्वहीन छ भने त्यो नयाँ सिद्धान्तको अनुप्रयोगको दायरा कति ठूलो छ । नयाँ सिद्धान्त आत्मसात हुनको लागि पहिलेदेखि विद्यमान सिद्धान्तको पुनर्निमाणको र पहिलेका तथ्यहरूको पुनर्मूल्यांकनको आवश्यकता हुन्छ । यो मौलिक रूपले एक यस्तो क्रान्तिकारी प्रक्रिया हुन्छ, जुन एक्लै एउटा व्यक्तिद्वारा वा धेरै कम समयमा सम्पन्न गर्न सकिंदैन । यद्यपि इतिहासकार आफ्नो शब्दावलीबाट बाध्य भएर यस विस्तृत प्रक्रियाको व्याख्या एक अलग्गै घटित घटनाको रूपमा गर्दछन्, त्यसकारण त्यसको सुनिश्चित तिथि निर्धारित गर्नमा उनीहरूलाई यति कठिनाई हुन्छ भन्ने तथ्य कुनै आश्चर्यको कुरा होइन ।
वैज्ञानिक विशेषज्ञहरूको कामको क्षेत्रमा घटित हुने घटनाहरूमा केवल नयाँ सिद्धान्तहरूको आविष्कारको मात्र क्रान्तिकारी प्रभाव हुँदैन । सामान्य विज्ञानलाई नियन्त्रित गर्ने प्रतिबद्धताहरूले केवल विश्व कुन प्रकारका तत्वहरूलाई लिएर बनेको छ भन्ने कुरालाई मात्र निर्धारित गर्दैन ; बरु निहित रूपले तिनीहरूले त्यसमा कुन तत्वहरू विद्यमान हुनु संभव छैन भन्ने कुरा पनि निश्चित गर्दछन् । यद्यपि आफ्नो तर्कको पुष्टिको लागि विस्तृत वहसको आवश्यकता हुनेछ, तर पनि हामी के भन्नेछौं भने उपरोक्त कुराको आशय अक्सीजन वा एक्सरे जस्ता तत्वहरूको खोजको परिणाम वैज्ञानिकको विचार–जगतमा केवल एक अर्को तत्व जोड्नुभर हुँदैन भन्ने हो। एउटा अर्को तत्वको रूपमा त्यसलाई जोड्न तबसम्म संभव हुन पाउँदैन, जबसम्म वैज्ञानिक समुदाय आफ्नो परम्परागत कार्यविधिहरूको पुनर्मूल्यांकन गर्दैनन्, आफ्नो व्यवसायिक काममा लामो समयदेखि प्रयुक्त विश्वको संघटक तत्वहरूको आफ्नो सुपरिचित धारणाहरूलाई बदल्दैनन् ; र यसप्रकार दुनियाँको व्याख्या गर्ने आफ्ना सिद्धान्तहरूको जटिल ढाँचालाई रूपान्तरित गर्दैनन् । संभवतः सामान्य वैज्ञानिक कामको परम्पराको कारण हुने अनुसन्धानको कामलाई छोडेर, अन्य कुनै परिस्थितिमा वैज्ञानिक तथ्य र वैज्ञानिक सिद्धान्तलाई एक–अर्कोबाट पूर्ण रूपले अलग गर्न सकिंदैन । यही कारण हो – अप्रत्यासित खोजको महत्व केवल तथ्यात्मक मात्र हुँदैन र त्यसकारण वैज्ञानिकको दुनियाँ, तथ्य र सिद्धान्त, दुवै प्रकारको नै मूलभूत नवीनताहरूद्वारा गुणात्मक रूपले रूपान्तरित र परिमाणात्मक रूपले समृद्ध हुन्छ ।
पछि आउने पृष्ठहरूमा वैज्ञानिक क्रान्तिहरूको प्रकृतिको यसै विस्तारित धारणाको रूपरेखा प्रस्तुत गरिएको छ । यस धारणाअनुसार नयाँ सिद्धान्त र नयाँ खोजहरू, दुवै क्रान्तिकारी वैज्ञानिक विकासको लागि अनिवार्य छ । हामी के स्वीकार गर्दछौं भने यो विस्तारण शब्दहरूको प्रचलित प्रयोगको हिसाबले जटिल लाग्दछ । तर पनि हामी खोजहरूलाई पनि क्रान्तिकारी भन्ने धारणामा निरन्तर जोड दिनेछौं किनकि हाम्रो के मत छ भने खोजहरू र क्रान्तिहरूको ढाँचाहरूको पारस्परिक सम्बन्धकै आधारमा क्रान्तिको विस्तारित धारणा बनाउन सकिन्छ । कोपरनिकसीय क्रान्ति उपरोक्त तर्कको राम्रो उदाहरण हो । उपरोक्त विश्लेषणबाट आउँदा नौ अध्यायहरूमा सामान्य विज्ञान र वैज्ञानिक क्रान्तिहरूको धारणाहरूलाई कसरी एक–अर्कोको पूरकको रूपमा प्रस्तुत गरिनेछ भन्ने कुरा स्पष्ट हुन्छ । त्यसपछिका अध्यायहरूमा तीन केन्द्रीय सवालहरूको व्याख्या गर्ने प्रयास गरिनेछ । अध्याय एघारमा पाठ्य–पुस्तक परम्परालाई आधार बनाएर वैज्ञानिक क्रान्तिहरूलाई हेर्न यसभन्दा पहिले यति कठिन किन रहेको छ भन्ने कुरामाथि चर्च गरिएको छ । अध्याय बाह्रमा पुरानो सामान्य वैज्ञानिक परम्पराको समर्थकहरू र नयाँ परम्पराको अनुयायीहरूको बीचको क्रान्तिकारी प्रतिस्पर्धाको वर्णन गरिएको छ । अर्को शब्दमा, विज्ञानको सामान्य स्वीकृत धारणाअनुसार जुन पुष्टीकरण र अन्यथाकरणको प्रणालीहरू वैज्ञानिक व्यवसायमा सुपरिचित छ, तिनको स्थानमा वैज्ञानिक प्रणाली–विज्ञानको एक वैकल्पिक कार्यविधिलाई प्रस्तुत गरिएको छ । कुनै पुरानो मान्य सिद्धान्तको अस्वीकृति वा कुनै नयाँ सिद्धान्त स्थापित हुनु, यथार्थमा यी दुवै प्रक्रियाहरू वैज्ञानिक समुदायका अलग–अलग हिस्साहरूको बीचको प्रतिस्पर्धाको परिणामस्वरूप नै सम्पन्न हुन्छन् । अन्तमा अध्याय तेह्रमा क्रान्तिहरूको माध्यमबाट वैज्ञानिक विकासको धारणा वैज्ञानिक प्रगतिको लक्षण र अनौठो प्रकृतिअनुरूप कसरी हुन सक्दछ भन्ने कुराको चर्चा गरिनेछ । स्पष्ट छ, यस प्रश्नको उत्तरको मोटो रूपरेखा इंगित गर्नुभन्दा अधिक गहिराईमा जानु संभव छैन, किनकि यो उत्तर वैज्ञानिक समुदायको जुन विशेषताहरूमा निर्भर गर्दछ, त्यसको अन्वेषण गर्नको लागि धेरै छानबिन र अध्ययनको आवश्यकता पर्दछ ।
निसन्देह, उपरोक्त विचारहरूबाट केही पाठकहरूलाई केवल ऐतिहासिक अध्ययनको माध्यमबाट मात्र विज्ञानको धारणामाथि प्रस्तावित रूपान्तरण सम्पन्न हुनसक्दछ भन्ने कुरा अविश्वसनीय लागिरहेको हुनसक्छ । तर्कहरूको पूरा एक भण्डार सुलभ छ, जसको अधारमा के भन्न सकिन्छ भने इतिहासको लागि यो भूमिका निभाउन संभव छैन । उदाहरणस्वरूप, विशेषगरी के भन्न सकिन्छ भने इतिहास एक वर्णनात्मक विद्याशाखा हो, जबकि उपरोक्त स्थापनाहरू प्रायः व्याख्यात्मक र कहिलेकाहीँ मानकीय पनि हुन्छन् । यसैप्रकार, मेरा सामान्यीकरणहरूमध्येबाट अनेक, वैज्ञानिकहरूको समाज–विज्ञान वा सामाजिक मनोविज्ञानसँग सम्बन्धित छ तर मेरा केही निष्कर्ष विशेषगरी तर्कशास्त्र वा ज्ञानमीमांसाका क्षेत्रमा आउँदछन् । के पनि संभव भने केही पाठकहरूलाई यस्तो प्रतीत भएको होला कि पछिल्लो अध्यायमा मैले “खोजको प्रसंग” र “औचित्य प्रतिपादनको प्रसंग” को बीचको सामान्यतः स्वीकृत अत्यन्त महत्वपूर्ण विभाजन रेखाको उल्लंघन गरेको छु । त्यसकारण केही पाठकगणले लेखक भयंकर भ्रमको शिकार भएको छ र त्यसकारण उसले भिन्न–भिन्न क्षेत्रहरूलाई अलग–अलग सन्दर्भहरूका प्रश्नहरूलाई कृत्रिम ढंगले जोड्ने प्रयास गरेको छ भन्नेखालको निष्कर्ष निकालेर बस्ने कुरा पनि स्वाभाविक छ। ।
मेरो शुरुको बौद्धिक विकास त्यही परम्पराको कारण भएको छ, जसमा यी पृथक्करणहरूलाई वैध मानिन्छ, अतः यिनको महत्व र संभावनाहरूको विषयमा म पूर्ण रूपले आश्वस्त छु । धेरै वर्षसम्म म यी विभाजनहरूलाई ज्ञानको प्रकृतिसँग सम्बन्धित बुझ्दथे र अझै पनि मेरो विचार के छ भने उपयुक्त रूपले यिनको व्याख्या गर्दा हामी धेरै कुरा सिक्ने गर्दछौं । अर्कोतिर, मैले आफ्नो अनुभवले के देखेको छु भने वैधताको कसौटीहरूको आधारमा ज्ञान आर्जित गर्ने र त्यसलाई आत्मसात गर्ने वास्तविक प्रक्रियामा यदि ‘खोजको सन्दर्भ’ र ‘औचित्य प्रतिपादनको सन्दर्भ’ को बीचमा कुनै प्रकारको विभाजन गरिन्छ भने, असाधारण समस्याहरू उत्पन्न हुनजान्छन् । अब मलाई के प्रतीत हुन्छ भने यो विभेदीकरण कुनै तर्कशास्त्रीय वा प्रणाली–वैज्ञानिक समस्या होइन, किनकि यदि यस्तो हुन्थ्यो भने, यो पृथक्करणको कठिनाई वैज्ञानिक ज्ञानको विश्लेषणको प्रक्रिया शुरु हुनुभन्दा पहिले नै उठेर खडा भएको हुन्थ्यो । यसप्रकारका पृथक्करणहरूको विषयमा मेरो धारणा के छ भने यी पृथक्करणहरूलाई नस्वीकारीकन केही प्रश्न त सोध्न नै संभव छैन । प्रचलित पद्धतिहरूको अनुप्रयोग (व्यवहार) बाट जब यी प्रश्नहरूको उत्तर मिल्दछ, तब हामी के पाउँदछौं भने यी पृथक्करण यी उत्तरहरूको अभिन्न अंग हुन्छन् । प्रश्नबाट शुरु गरी उत्तरमा प्रकट भएर यी पृथक्करणले एक चक्रियतालाई जन्म दिन्छन्, जसको कारण ती अवैध हुनजाँदैनन् । यो अवश्य हो कि यिनलाई एक विशेष सिद्धान्तको अंगको रूपमा बुझ्नुपर्दछ । अर्थात् यी पृथक्करणहरूको वैधताको समस्याको हल पनि सिद्धान्तहरूको मूल्यांकन गर्नको लागि सामान्यतः प्रयुक्त प्रणालीद्वारा नै गरिनुपर्दछ । कुनै सिद्धान्तको अंग हुँदा–हुँदै पनि यदि यी पृथक्करणहरूका कुनै ठोस अन्तर्वस्तु छन् भने, वैज्ञानिक तथ्यहरू र वैज्ञानिक विकासक्रमको विश्लेशणमा तिनको अनुप्रयोग गरेर नै हामी यस अन्तर्वस्तुलाई जान्न सक्दछौं । हाम्रो यो दृढ मत के छ भने सही दृष्टिबाट विज्ञानको इतिहासको विश्लेषण गरेपछि हामीलाई यस्ता परिघटनाहरू अवश्य मिल्नेछन्, जसको व्याख्या गर्नको लागि ज्ञान–मीमांसाका सिद्धान्तहरूको अनुप्रयोग अनिवार्य हुनेछ ।
बाँकी दोस्रो अध्यायमा क्रमशः
Leave a comment