दर्शन : पूर्वीय दर्शन : वैशेषिक दर्शनको एक अध्ययन

✍नारायण गिरी

वैशेषिक दर्शनका प्रवर्तक महर्षि कणाद हुन् र उनको वैशेषिक सूत्र नै यो दर्शनको मूल प्रमाणिक ग्रन्थ हो।कणभुक, उलूक र काश्यप जस्ता कणादका अन्य धेरै नामहरू पनि रहेका छन्।प्रशस्तपादको पदार्थधर्मसंग्रह वैशेषिक सूत्रको टीका हो। उदयन र श्रीधर पनि यसका अन्य टीकाकार मानिन्छन्।वैशेषिक दर्शनले विशेष नामक पदार्थमा बल दिँदै त्यसको विस्तृत विवेचना गर्दछ।न्याय र वैशेषिक दर्शन परस्पर सम्बन्धित रहेका छन्।यी दुवै वस्तुवादी दर्शन मानिन्छन्।वैशेषिक दर्शन आफैमा महत्वपूर्ण हुनुको साथसाथै अन्य दर्शन तथा विद्याको प्रतिपाद्य सिद्धान्तहरूको ज्ञान र विश्लेषणमा पनि धेरै उपयोगी मानिन्छ।अन्वेषणको क्षेत्रमा यो दर्शनको महत्त्वपूर्ण योगदान रहेको ठानिन्छ।अन्य पूर्वीय दर्शनले भौतिक जगतको सामूहिक वा सर्वमान्य कुनै एक तत्वलाई भौतिक जगतबाट बाहिर खोज्ने प्रयास गरे पनि वैशेषिकले भने समग्र ब्रम्हाण्डको मात्र होइन, बरु प्रत्येक पदार्थका तत्वहरू त्यसैभित्र खोज्ने प्रयास गर्यो।र, यो दर्शनले के कुरा बतायो भने प्रत्येक वस्तुको निजी विशिष्टता नै उसको तत्व वा स्वरूप हो र प्रत्येक वस्तु स्वयंमा एक सत्ता हो।यो मूल भावनाको साथै वैशेषिक दर्शनले दृश्यमान जगतका सबै वस्तुहरूलाई ७ (पहिले ६) वर्गमा समाहित गरी वस्तुवादी दृष्टिबाट आफ्नो मत प्रस्तुत गर्र्यो।पहिले त वैशेषिक दर्शनले ६ पदार्थ मानेको थियो तर पछि वस्तुको भावसँगै अभाव पनि हुन्छ भन्ने महसुस अनुसार यो दर्शनले अभावलाई थप गरेको देखिन्छ।यसरी गुण, कर्म, समान्य, विशेष सँगसँगै अभावलाई पनि वैशेषिक दर्शनमा समावेश गरियो।यसको तात्पर्य के हो भने सबै वस्तुहरूको निजी विशिष्टता नै तिनीहरूको स्वभाव हो।यो दर्शनको नाम किन वैशेषिक रहनगयो भन्ने सन्दर्भमा अनेकौं विचारहरू प्रकट भएको पाइन्छ।विशेष पदार्थबाट युक्त भएको कारणले यसलाई वैशेषिक भनिएको हो।अन्य दर्शनमा यसमा जस्तो विशेषको उपदेश छैन।विशेषलाई स्वतन्त्र पदार्थ मान्नुको कारण यो दर्शन अन्य दर्शनभन्दा भिन्न छ।विशेष पदार्थ व्यावर्तक हो त्यसकारण यसको नाम वैशेषिक रहनगयो।विशेष गुणहरूको अवतरण नै मुक्ति हो।पूर्वीय दर्शनमा चार्वाक बाहेक अन्य सबैले मुक्तिको दर्शन दिएका छन् तर विशेष गुणलाई लिएर मुक्तिको प्रतिपादन यो दर्शनमा गरिएको देखिन्छ।विशेषको अर्थ निरवशेष हुन्छ र यसरी सबै पदार्थको ६ वा ७ मा अन्तर्भाव हुन्छ।पदार्थको लक्षण परीक्षणद्वारा जुन शास्त्रले तिनीहरूको बोध गराउँदछ त्यसैलाई वैशेषिक भनिन्छ।यो दर्शनमा आत्माको भेद तथा त्यसमा रहने विशेष गुणहरूको व्याख्या गरिएको छ।कैयौं विद्वानहरूले यो दर्शनलाई भेदवादी दर्शन भनेका छन् किनभने यो दर्शन विशिष्ट विचारमा आधारित दर्शन हो।वैशेषिक सूत्रमा वैशेषिकलाई विशेषताको अर्थमा प्रयोग गरिएको छ।यसकारण नित्य र अनित्य पदार्थहरूको अन्तिम परमाणुहरूमा रहने र तिनलाई एक-अर्कोमा परिभ्रमण गर्ने विशेष नामक पदार्थको उद्भावनामा आधारित हुनुको कारण यो दर्शनको नाम वैशेषिक रहनगएको हो।वैशेषिक दर्शनलाई सांख्य र वेदान्तको अतिरिक्त अन्य सबै पूर्वीय दर्शनको पूर्ववर्ती मानिएको छ र यसलाई दार्शनिक चिन्तनको दृष्टिले मात्र नभएर अतिप्राचीन भएकोले पनि विशिष्ट महत्व दिइन्छ।वैशेषिक दर्शनमा यत्रतत्र पाइएका संकेतअनुसार यसको आचारपरक दृष्टिकोण पनि वेदमूलक नै रहेको देखिन्छ।वैशेषिक सिद्धान्त परम्परा अतिप्राचीन मानिन्छ।महाभारत लगायतका हिन्दु ग्रन्थहरूमा यसको तत्व उपलब्ध छन्।बुद्ध र उनका अनुयायीहरूका कथनबाट पनि यो दर्शन ६०० ईपू पहिले नै विद्यमान थियो।यसकारण महर्षि कणाद बुद्धभन्दा पहिलेका मानिन्छन् र सिद्धान्तको रूपमा त वैशेषिक परम्परा अति प्राचीन कालदेखि नै चल्दै आइरहेको देखिन्छ।

परमाणुशास्त्रीका रूपमा समेत चिनिते वैशेषिक दर्शनका प्रणेता कणाद ईसापूर्व छैठौं शताब्दीमा गुजरातको प्रभाव क्षेत्र द्वारका नजिकै जन्मिएका थिए।के कुरा मानिन्छ भने परमाणुको तत्वको सूक्ष्म विचार सर्वप्रथम यिनैले गरेको कारणले यिनको नाममा परमाणुको एक कणबाट कणाद बनेको हो।कतिपयले कणाद खेतमा छरिएका अन्नका कणबाट आफ्नो जीविकोपार्जन गर्ने गर्दथे त्यसैले पनि उनको नाम कणाद रहनगएको हो भनेका छन्। कणादका अनुसार पृथ्वी, जल, तेज, वायु, आकाश, दिक्, काल, मन र आत्मालाई जान्नु पर्दछ।केही विद्वानहरूको मान्यता अनुसार कणादले परमाणुहरूको सम्बन्धमा जुन धारणाहरूको उजागर गरे, त्योसँग आश्चर्यजनक रूपले डाल्टनको संकल्पनासँग मेल खान्छ।कणादले डाल्टनभन्दा लगभग २४०० वर्ष पहिले नै पदार्थको रचना सम्बन्धी सिद्धान्तलाई उजागर गरिदिएका थिए।कणादले केवल परमाणुहरूको तत्वलाई यस्तो लघुतम अविभाज्य इकाई मात्र मानेन्, जसमा तत्वको सम्पूर्ण गुण उपस्थित हुन्छन्, अपितु त्यसलाई परमाणु नाम पनि उनैले दिएका थिए।र, उनले परमाणु कहिल्यै स्वतन्त्र रहन सक्दैन पनि भनेका थिए।कणादका अनुसार एकप्रकारका दुई परमाणु संयुक्त भएर द्विणुकका निर्माण गर्न सक्दछन्।यही द्विणुक नै आजका रसायन वैज्ञानिकका वायनरी मोलिक्युल लाग्दछन्।उनले अलग-अलग पदार्थहरूमा परमाणु पनि आपसमा संयुक्त हुनसक्दछ पनि भनेका थिए। वैशेषिक सूत्रमा परमाणुहरूलाई सतत गतिशील पनि मानिएको छ तथा द्रव्यको संरक्षणको कुरा पनि गरिएको छ।यो कुरा पनि पश्चिमका विद्वानहरूले यहाँबाट लिएको ठानिन्छ।यसरी ब्रम्हाण्डको विश्लेषण परमाणु विज्ञानको दृष्टिले सर्वप्रथम एक शास्त्रको रूपमा सूत्रबद्ध ढंगले कणादले आफ्नो वैशेषिक दर्शनमा प्रतिपादन गरेका थिए।कणादका अनुसार द्रव्यलाई सूक्ष्म बनाउँदै जाने हो भने त्यो अझ सूक्ष्म नहुने स्थिति आउँछ किनकि त्यसलाई धेरै सूक्ष्म गर्ने प्रयत्न गरियो भने त्यसका पुराना गुणहरू लोप हुनेछन्।उनका अनुसार द्रव्यका आणविक र महत गरी दुई रूप छन् ।र, आणविक स्थिति सूक्ष्म हो तथा महत ब्रम्हाण्ड हो।कणादका अनुसार विश्वमा उत्पन्न भएका वस्तुहरू पृथ्वीका सबै जीवहरूको भोगको लागि हुन्।जीवका भोग अनुकूल उसको शरीर, योनि, काल, देश, आदि सबै हुन्छन्।विशेष भोग समाप्त भएपछि जीवको मृत्यु हुन्छ।बिना कारण नाश भएको कार्यको नाश हुन सक्तैन।सृष्टि जस्तै संहारको लागि पनि परमाणुमा नै क्रिया उत्पन्न हुन्छ।परमाणु नित्य छ र त्यसको नाश हुँदैन तर दुई परमाणुहरूको संयोगको नाश हुन्छ र फेरि त्यसबाट उत्पन्न द्रव्यणुक रूप कार्यको तथा त्यही क्रमको त्र्यणुक एवं चतुरणुक तथा अन्य कार्यहरूको पनि नाश हुन्छ। कणादको अनुसन्धान मुख्यतः निगमन विधि अर्थात् अनुमान-तर्कको माध्यमबाट सृष्टिको विविधतादेखि लिएर तत्वको प्रकटीकरणको मूलसम्मको प्रक्रियाको अध्ययन गरी भौतिक जगतको मूल पत्ता लगाउने प्रयास हो।कणादले शब्दको उत्पत्ति र विनाशको सिद्धान्त दिए।कणादले परमाणुको आयाम, गति तथा रासायनिक प्रतिक्रियाको बारेमा पनि वर्णन गरेका छन्।उनको परमाणु सिद्धान्त तर्कमा आधारित छ।यसरी कणादले परमाणुको बारेमा बुझाउनको लागि आफ्नो सम्पूर्ण जीवन खर्च गरे र यसलाई सृष्टिको मूल तत्व माने।के भनिन्छ भने उनको जीवनको अन्तिम अवस्थामा शिष्यहरूको अनुरोधमा परमात्माको नाम लिन आग्रह गर्दा समेत उनको मुखबाट परमाणु, परमाणु, परमाणु निस्किएको थियो।

वैशेषिकको अर्थ पदार्थमा भेदको बोध हो र पदार्थ भनेको प्रतीति वा धारणाबाट सिद्ध हुन्छ।विशेष नामक पदार्थको विशिष्ट कल्पना गरेको कारणले नै यसलाई वैशेषिक दर्शनको संज्ञा मिलेको देखिन्छ।वैशेषिक सूत्रहरूको संख्या ३७० छ, जसलाई १० अध्यायमा विभक्त गरिएको छ।प्रथम अध्यायको प्रथम खण्डमा द्रव्य, गुण तथा कर्मका लक्षण र विभाग एवं सामान्यको व्याख्या गरिएको छ।दोस्रो र तेस्रो अध्यायमा नौ द्रव्यहरूको वर्णन गरिएको छ। चौथो अध्यायमा परमाणु र द्रव्यको विभागको व्याख्या छ।पाँचौ अध्यायमा कर्मको बारेमा वर्णन छ।छैटौं अध्यायमा वेद प्रामाण्यको विचार पछि धर्म-अधर्मको व्याख्या गरिएको छ।सातौं र आठौं अध्यायमा कैयौं गुणहरूको बारेमा व्याख्यान छ।नवौं अध्यायमा अभाव र ज्ञानको वर्णन छ भने दसौं अध्यायमा सुख-दुःख-विभेद तथा विविध कारणहरूको वर्णन गरिएको छ।यसरी वैशेषिक दर्शनका विभिन्न अध्यायहरूमा सूक्ष्म कण र परमाणु सिद्धान्तको बारेमा, द्रव्यत्व, गुणत्व र कर्मत्वको बारेमा, द्रव्यका गुणहरूको वर्णनको बारेमा, द्रव्यका कर्महरूको बारेमा, द्रव्यका घटहरुको वर्णन, शरीर, इन्द्रिय र विषयका विशिष्ट रूपहरूमा सृष्टिको अस्तित्व, कारण-कार्य सम्बन्धमा तार्किक चर्चा, कारण-कार्यको लागि एकत्व र पृथकत्वको वर्णन, नित्य र अनित्यको वर्णन, आत्माको अस्तित्वको अनुमान, मन र आत्माको बारेमा वर्णन, भौतिक लक्षणहरूको अपक्व स्पष्टीकरण, जसको दर्शनको रूपमा कुनै महत्त्व हुँदैन, चमत्कार वा सिद्धिहरू, असत अर्थात् जसमा न कर्म हुन्छ र न गुणकै वर्णन, आदि विभिन्न विषयहरू तार्किक र विश्लेषणात्मक ढंगले व्याख्या गरिएको छ।   

वैशेषिक दर्शनमा तत्व शब्दको स्थानमा पदार्थ शब्दलाई प्रयुक्त गरिएको छ।पदार्थ भनेको कुनै नाम दिन सकिने अर्थात् शब्दबाट संकेत गर्न सकिने र इन्द्रियग्राह्य हुने चीज हो।प्रशस्तपाद (चौथो शताब्दी) का अनुसार पदार्थ भनेको अस्तित्व, आत्मात्व र ज्ञेयत्व भएको चीज हो।यी तीनैका लक्ष्य समान हुन्छन् र यी तीन पदार्थ समान धर्म भएका हुन्छन्।नित्य द्रव्यको अतिरिक्त अन्य सबै पदार्थ कुनैमा आश्रित हुन्छन्।आश्रित हुनु भनेको अन्तर्निहित सम्बन्धबाट नभएर परतन्त्र रहनु हो।वैशेषिक दर्शन अनुसार अस्तित्व सत्ताभन्दा व्यापक हुन्छ किनकि सत्तामा पनि अस्तित्व हुन्छ।अस्तित्व कुनै वस्तुको आफ्नो स्वरूप हो र यो सत्ता सामान्य जसरी समवाय सम्बन्धबाट वस्तुमा रहँदैन।त्यो त वस्तुको आफ्नै रूप हो। वैशेषिक दर्शन अनुसार सत्ता केवल द्रव्य, गुण र कर्म यी तीनमा नै समवाय सम्बन्धसँगै रहन्छन्।अधिक व्यापकताको कारणले नभएर यी तीनमा रहनुको कारणले नै त्यसलाई सामान्य भनिन्छ।यसप्रकार सत्ता सामान्यको र अस्तित्व स्वरूप विशेषको द्योतक हो।अस्तित्व व्यापक छ भने सत्ता व्याप्य छ।स्मरणीय, कल्पनायोग्य चीजलाई पदार्थ भनिन्छ।जुनसुकै वस्तु जुन ज्ञात हुन्छ त्यसलाई पदार्थ भनिन्छ।यसकारण पदार्थ सत, अभिधेय र ज्ञेय छ।वैशेषिक दर्शनमा पदार्थको संख्याको सन्दर्भमा मुख्यगरी चार मत उपलब्ध भएका छन्।जसानुसार – त्रिपदार्थवाद, षट्पदार्थवाद, सप्तपदार्थवाद र दशपदार्थवाद हुन्।वैशेषिक सूत्रमा कणादले पहिले द्रव्य, गुण र कर्म गरी मात्र तीन पदार्थहरूको परिगणन गरेका थिए।यो कुराको आधार के मान्न सकिन्छ भने वैशेषिक सूत्रको प्रथम अध्यायको प्रथम अनुच्छेदमा केवल यिनै तीन पदार्थहरूको निरुपण गरिएको छ र आठौं अध्यायको द्वितीय अनुच्छेदमा यी तीनलाई वस्तु-संज्ञाबाट निर्दिष्ट गरिएको छ।यसरी सत्तालाई पनि द्रव्य, गुण, कर्ममा नै मानिएको छ।यसको अतिरिक्त सामान्य, विशेष र समवायको विश्लेषण पछि गरिएको छ।यसरी कणादद्वारा गरिएको ६ पदार्थहरूको उल्लेखबाट के कुरा सिद्ध हुन्छ भने उनले द्रव्य, गुण र कर्मलाई प्रमुख रूपले पदार्थ माने र सामान्य विशेष र समयावका पदार्थतत्वको निरूपण गौण रूपमा गरे।यसप्रकार के भन्न सकिन्छ भने पदार्थहरूको संकल्पनाको विकासक्रमको प्रथम चरणमा कणादले गौण रूपमा अवशिष्ट तीन तत्वहरूको परिगणन गर्दा पनि मुख्यगरी द्रव्य, गुण र कर्मलाई नै पदार्थ संज्ञाबाट निर्दिष्ट गरेका थिए।यसरी वैशेषिक सूत्रमा ६ पदार्थहरूको उल्लेख गरिएको भएता पनि षट्पदार्थवादको विधिवत स्थापना प्रशस्तपादले गरेका थिए भन्ने मान्यता राखिन्छ।यो मान्यता अनुसार वैशेषिक सूत्रको चन्द्रानन्दवृत्ति र मिथिलावृत्तिमा प्रथम अध्यायको प्रथम अनुच्छेदमा पदार्थ-गणनासँग सम्बद्ध सूत्रको व्याख्या छैन।यी छ पदार्थहरू (द्रव्य, गुण, कर्म, सामान्य, विशेष र समवाय) मा पनि विकासको एक क्रम रहेको छ। विकासक्रमको प्रथम चरणमा सर्वप्रथम द्रव्यको ज्ञान भयो।त्यसपछि द्रव्यमा भेद देखिएपछि त्यसमा अन्तर्निहित गुण र विशेषता पत्ता लाग्यो।यसरी वस्तुहरूको स्थितिमा परिवर्तनको बोध भएपछि परिवर्तनमा अन्तर्निहित कर्मको अवधारण आयो र यसप्रकार सर्वप्रथम द्रव्य, गुण र कर्म यी तीन पदार्थ मानिए।विकासको दोस्रो क्रमको आरम्भ अनेकौं वस्तुहरूमा केही समानता देखा परेपछि भयो।यसको परिणामस्वरूप सामान्य वा जाति नामक तत्व पनि पदार्थको कोटिमा गणना गर्न लागियो।यो सामान्यमा पनि समानताको साथै सर्वव्यापकताको पनि बोध भयो।जस्तो कि गोत्व नामक सामान्यले एक गाइ र अन्य गाइलाई समान निर्दिष्ट गर्दछ, त्यस्तै यसलाई अन्य पशुप्राणीबाट पृथक पनि गर्दछ।त्यसकारण यसको सामान्य-विशेष नामक एक पदार्थको अवधारणा आयो।तर संयुक्त गठबन्धनको यो अवधारणालाई लोकस्वीकृति मिलेन।त्यसैले आचार्यहरूले वस्तुहरूमा समानतालाई व्यक्त गर्ने तत्व समानताको र तिनीहरूमा विशिष्ट बताउने तत्व विशेषको फरक-फरक रूपले पदार्थतत्व मान्ने कुरालाई उचित ठाने।त्यसपछि द्रव्य, गुण, कर्म, सामान्य र विशेषको पदार्थको रूपमा अवधारणासँगै वस्तुहरूमा बाह्य तथा आन्तरिक सम्बन्ध पनि विद्यमान भएको देखियो।जस्तो कि संयोग एक सम्बन्ध हो तर त्यसले पहिलेदेखि नै असम्बद्ध वस्तुहरूलाई नै एक-अर्कोसँग जोड्न सक्दछ।यद्यपि त्यो केवल बाह्य सम्बन्ध हो, जबकि वस्तुहरूमा अन्तर्वर्ती सम्बन्ध पनि हुन्छ।त्यसकारण वस्तुहरूमा पाइने आन्तरिक सम्बन्धको रूपमा समवायको अवधारणा विकसित भयो र यसरी समवायलाई एक पदार्थ मानेर प्रशस्तपाद, आदि आचार्यहरूले षट्पदार्थवादलाई एक व्यवस्थित रूप दिए।षट्पदार्थवादी अवधारणा मुख्यगरी भाव पदार्थमाथि मात्र चरितार्थ हुन्छ, अभावमा हुँदैन।विभिन्न भाष्यकारहरूले अभाव पदार्थत्वको सम्बन्धमा विचार गरे।परम्परागत रूपमा चर्चित र प्रायः पदार्थश्रृंखलामा परिगणित भएपछि पनि अभावको पदार्थत्व विवादास्पद हुँदै गयो।यसकारण शिवादित्यले सप्तपदार्थमा अभावलाई प्रतिष्ठित गरी पदार्थको संख्या विधिवत रूपले सात निर्धारित गरिदिएको पाइन्छ।समयक्रमसँगै चन्द्रमति (छैठौं शताब्दी) ले दशपदार्थवादको विकास गरे।जसानुसार द्रव्य, गुण, कर्म, सामान्य, विशेष, समवाय, शक्ति, अशक्ति, सामान्य-विशेष र अभाव गरी दस पदार्थहरूको परिगणन गरियो।यिनीहरूमध्ये ६ त वैशेषिक परम्परामा पहिले देखि नै स्वीकृत थिए।बाँकी चारको अवतरण चन्द्रमतिले गरे।यी चारमा शक्तिको पदार्थतत्वको उल्लेख प्रभाकर मतानुयायी मीमांसकहरूले पनि गरे।शक्ति एक अतिरिक्त पदार्थ हो।यदि कुनै वस्तु निकट हुनु वा नहुनुले शक्तिको उत्पादन र विनाश मान्ने हो भने यसप्रकारका अनेक शक्ति मान्नुपर्दछ।शक्तिको विपरीत अशक्तिलाई पनि पदार्थ मानेर चन्द्रमतिले पदार्थको गणनामा यसलाई समावेश गरेका छन्।त्यसरी नै उनले सामान्य-विशेषलाई पदार्थको गणनामा राखेका छन्।

वैशेषिक दर्शनका ७ पदार्थ र न्याय दर्शनका १६ पदार्थहरूबीचमा अन्तर्निहित सम्बन्ध देखिन्छ।न्यायसूत्रमा पदार्थको मात्र होइन, बरु शास्त्रार्थमा उपयोगी विषयहरूको पनि गणना गरिएको छ।यसकारण यी दुई दर्शनको अन्तर्भावलाई यसरी प्रष्ट पार्न सकिन्छ।द्रव्य (आत्मा) मा प्रमाण, प्रमेय, दृष्टान्त, हेत्वाभास, निग्रहस्थान तथा सिद्धान्तको अन्तर्निहित सम्बन्ध भएको मानिन्छ।गुण (बुद्धि) मा अर्थ प्रमाण (अनुमान) , संशय, अवयव, तर्क, निर्णय, वाद, जल्प, वितण्डा, छल र जातिको अन्तर्निहित समबन्ध रहेको मानिन्छ।कर्म, सामान्य र विशेषमा सम्बन्ध रहेको देखिंदैन।समयावमा न्याय-वैशेषिकमा समान छ तर यसको वर्गीकरण र निरुपणमा केही भेद छ।अभावमा निग्रस्थान (अज्ञान, अप्रतिक्षा तथा विक्षेप) तथा अपवर्ग (दुःखको आत्यन्तिक निवृत्ति) को अन्तर्निहित सम्बन्ध रहेको छ।      

वैशेषिक दर्शनानुसार पदार्थ भनेको संसारका सबै वस्तुहरूको विषयमा सोच्न सकिने र नामाकरण गर्न सकिने कुरा हो।जुन वस्तुको कुनै पद वा शब्दसँग ज्ञान हुन्छ, त्यसलाई पदार्थ भनिन्छ। पदार्थ (पद+अर्थ) को अर्थ पद वा शब्दको अर्थ हो। वैशेषिक दर्शनमा पदार्थलाई भाव र अभावगरी दुई भागमा बाँडिएको छ।भाव भनेको विद्यमान पदार्थ हो र यिनीहरूको संख्या ६ मानिन्छ।मुख्यतः वैशेषिक दर्शनले यिनै ६ पदार्थहरूलाई मान्यता दिन्छ तर कालान्तरमा अभाव नामक सातौं पदार्थ जोडिएको पाइन्छ।यसरी वैशेषिक दर्शनानुसार मुख्यगरी पदार्थहरूको कूल संख्या सात रहेको देखिन्छ।जसानुसार – द्रव्य, गुण, कर्म, सामान्य, विशेष, समवाय र अभाव हुन्।वैशेषिक दर्शनले ब्रम्हाण्डका समस्त वस्तुहरूलाई यिनै सात वर्गमा वर्गीकृत गरेको छ।यद्यपि पदार्थको संख्याको सम्बन्धमा वैशेषिकका विभिन्न आचार्यहरू र दार्शनिकहरूमा मतभेद रहेको देखिन्छ, जसको चर्चा हामीले माथि गरिसकेका छौं।

वैशेषिक दर्शनानुसार द्रव्य गुण र कर्महरूको आश्रय हो तथा यो तिनीहरूबाट भिन्न पनि हुन्छ।यो आफ्नो कार्यको समवायी (अन्तर्निहित) कारण पनि हो।जस्तो कि कपडाको एक समवायी कारण सूती हुन्छ किनभने कपडा त्यहीबाट निर्मित हुन्छ र निर्माण पूर्व त्यसैमा निहित हुन्छ।कुनै पनि गुण वा कार्य बिना आधार हुँदैन र त्यसको कुनै न कुनै आधार अवश्य हुनुपर्दछ।यही आधार नै द्रव्य हो।कणादका अनुसार द्रव्यलाई कर्म र गुणको आश्रय तथा कार्यहरूको समवायीकरण मानिएको छ। वैशेषिक दर्शनले ९ द्रव्यहरूलाई मान्यता दिएको पाइन्छ।जसानुसार – पृथ्वी, जल, तेज, वायु, आकाश, काल, दीक्, आत्मा र मन हुन्।यिनीहरूमध्ये पृथ्वी, जल, तेज, वायु र आकाशलाई भूत (Elements) भनिएको छ र यिनीहरूमा कुनै न कुनै विशेष गुण रहन्छ।यिनीहरूका गुण क्रमशः गन्ध, रस, रूप, स्पर्श र शब्द हुन्।यी गुणहरूको प्रत्यक्ष अनुभूति बाह्य इन्द्रियहरूद्वारा हुन्छ।पृथ्वी, जल, तेज र वायु परमाणुहरूले बनेको हुन्छ।यिनका परमाणु नित्य छन् तर तिनीहरूबाट भएको कार्यहरू अनित्य हुन्छन्।परमाणु कुनै वस्तुका ती सूक्ष्तम् कण हुन्, जसको विभाजन हुन सक्तैन।परमाणु अनादि र अनन्त छन्।परमाणुको अस्तित्व अनुमानद्वारा मात्र सिद्ध हुन सक्दछ।अरू बाँकि तीन द्रव्यहरू काल, दिक् र आत्मा अप्रत्यक्ष द्रव्यहरू हुन्।यिनीहरू नित्य र सर्वव्यापी छन्।यिनीहरूको ज्ञान इन्द्रियहरूद्वारा हुँदैन।वैशेषिक दर्शन अनुसार आत्मा नित्य र सर्वव्यापी द्रव्य हो र यो सबै चैतन्य वस्तुहरूको आधार हो।चैतन्य आत्माको गुण होइन र यो आत्माको अभिन्न गुण पनि होइन तर यसलाई चैतन्य आत्माको आगन्तुक गुण मानिएको छ, जुन मनको सानिध्यबाट त्यसमा उत्पन्न हुन्छ।आत्माहरू अनेकानेक छन्।वैशेषिक दर्शनानुसार मन नित्य छ तर सर्वव्यापी छैन।मनद्वारा नै आत्माले वस्तुहरूसँग सम्पर्क स्थापित गर्दछ।यो अगोचर अणु द्रव्य हो।मनबाट एक समयमा एकै वस्तुको अनुभूति हुन सक्दछ।किनभने यो परमाणु जस्तै अत्यन्तै सूक्ष्म हुन्छ।प्रत्येक आत्मामा एक मन हुन्छ।मन ज्ञानको आन्तरिक साधन हो, जसद्वारा आन्तरिक आत्माले विभिन्न विषयहरूको ज्ञान प्राप्त गर्दछ।कणादका अनुसार रूप, रस, गन्ध, र स्पर्श चारै गुणहरू जसमा समवाय सम्बन्धमा रहन्छ, त्यही नै पृथ्वी हो।पछि प्रशस्तपादले यी चार गुणमा दस अन्य गुणहरू संख्या, परिमाण, पृथकत्व, संयोग, विभाग, परत्व, अपरत्व, गुरुत्व, द्रवत्व र  संस्कार जोडेर पृथ्वीका १४ गुणहरू बताएका छन्।यिनीहरूमध्ये गन्ध पृथ्वीको परिवर्तक गुण हो।रूप, रस र स्पर्श विशेष गुण हुन् भने बाँकी दस सामान्य गुण हुन्।नित्य परमाणुरूप र अनित्य परमाणुजन्य कार्यरूप गरी पृथ्वी दुई प्रकारका छन्।पृथ्वीको कार्यरूप परमाणुहरूमा शरीर, इन्द्रिय र विषयको भेदबाट तीन प्रकारका द्रव्यआरम्भत्व मानिन्छ।पार्थिव शरीर भोगायतन हुन्छ।यो मुख्यतः पृथ्वीका परमाणुहरूबाट निर्मित र गन्धवान हुन्छ।त्यसकारण वैशेषिक दर्शनले शरीरलाई पंचभौतिक नमानेर पार्थिव मान्छ।वैशेषिक दर्शन अनुसार पार्थिव परमाणु शरीरको उपादान कारण र अन्य भूतहरूको परमाणु तिनको निमित्त कारण हुन्छन् तर पंचभूतका परमाणुहरूलाई शरीरको उपादान कारण मानिन्छ।शरीरसँग संयुक्त, अप्रत्यक्ष अनुभूतिको साधन तथा अतीन्द्रीय द्रव्यलाई इन्द्रिय भनिन्छ।इन्द्रियहरूलाई घ्राणेन्द्रियले नै गन्धलाई ग्रहण गर्ने भएकोले यो नै मुख्यतः पार्थिव इन्द्रिय हो।पार्थिव द्रव्यको तृतीय भेद अन्तर्गत सबै शरीररहित र इन्द्रियरहित विषय आउँदछन्।पृथ्वीको ज्ञान प्रत्यक्ष प्रमाणबाट हुन्छ।कणादका अनुसार रूप, रस, स्पर्श नामक गुणहरूको आश्रय तथा स्निग्ध द्रव्य नै जल हो।पानीको रंग प्राकृतिक र चम्किलो हुन्छ।जलमा केवल मधुर रस पाइन्छ।पृथ्वीको तरल जल पनि परमाणु रूपमा नित्य र कार्यरूपमा अनित्य हुन्छ।कार्यरूपमा जलमा शरीर, इन्द्रिय र विषयभेदबाट तीनप्रकारका द्रव्यारम्भकत्व समवायिकारत्व मानिन्छ।अर्थत् जल शरीराम्भक, इन्द्रियारम्भक र विषयारम्भक हुन्छ।जलको ज्ञान पनि प्रत्यक्ष प्रमाणबाट हुन्छ।कणादका अनुसार रूप र स्पर्श (उष्ण) जसमा समवाय सम्बन्धमा रहन्छ, त्यो द्रव्यलाई तेज (अग्नि) भनिन्छ।प्रशस्तपादका अनुसार तेजमा रूप र स्पर्श नामक विशेष गुण तथा संख्या, परिमाण, पृथकत्व, संयोग, विभाग, परत्व, अपरत्व, द्रवत्व र संस्कार नामक नौ सामान्य गुण रहन्छन्।यसको रूप चम्किलो हुन्छ।यो ताप नै हुन्छ र द्रवत्व यसमा आगन्तुक रूपमा रहन्छ।परमाणुमा नित्य र कार्यरूपमा अनित्य गरी तेज दुई प्रकारका हुन्छन्। तेजका विभिन्न रूपहरू अनुसार –  भौम – जुन काठ-इन्धनबाट उत्पन्न हुन्छ, अत्यधिक प्रज्वलनशील हुन्छ र खाना पकाउने, जलाउने, पसिना निकाल्ने आदि (आगो) जस्ता कार्य गर्न सक्षम हुन्छ।दिव्य – जो पानीसँगै चम्किन्छ र सूर्य, विद्युत, आदिको रूपमा अन्तरिक्षमा अवस्थित छ। उदार्य – जुन खाएको खानालाई रस, आदिमा परिणत गर्न सहायक हुन्छ।आकरज – खानीबाट उत्पादन हुने सुन, आदि भनेको पानीजस्तै अभौतिक र जलेर पनि आफ्नो रूप नछोड्ने । जसरी गन्ध पृथ्वीको प्राकृतिक गुण हो, त्यसैगरी ताप पनि तेजको प्राकृतिक गुण हो।तेजको ज्ञान पनि प्रत्यक्ष प्रमाणबाट हुन्छ।वैशेषिक दर्शन अनुसार जुन द्रव्यमा स्पर्श नामक गुण समवाय सम्बन्धमा रहन्छ, त्यसलाई वायु भनिन्छ।प्रशस्तपादले वायुमा स्पर्शको अतिरिक्त संख्या, परिमाण, पृथकत्व, संयोग, विभाग, परत्व, अपरत्व तथा संस्कार जस्ता गुणहरू पनि रहन्छन् भनेर जोडे।वायुको स्पर्श शुभ, स्थायी र अपचनीय भएकाले यो पृथ्वी, आदिको स्पर्शभन्दा भिन्न हुन्छ। वायु निरंजन, निराकार हुन्छ। वायु पनि अणु (नित्य) र कार्य (अनित्य) गरी दुई प्रकारको हुन्छ। कार्यरूपमा वायुको परमाणुमा शरीर, इन्द्रिय, विषय र प्राणको भिन्नताका कारण चार प्रकारका पदार्थ-दीक्षा वा समवायिकाररणत्व हुन्छन्।वायुलोकमा रहेर पनि यो पार्थिव अणुहरूको संयोगबाट उपभोगमा समर्थ हुन्छ।वायवीय इन्द्रिय छाला हो र जुन सम्पूर्ण शरीरमा विद्यमान हुन्छ।वायु प्रत्यक्ष हुँदैन र त्यसको स्पर्श, शब्द र कम्प, आदिबाट अनुमान हुन्छ।वायुको गति तेर्सो र परोक्ष हुन्छ।यसलाई विशेष प्रकारको संयोग, टकराव, आदिको आधारमा वायु अनेक छ भन्ने अनुमान लगाउन सकिन्छ। शरीरमा रस, मल, आदिको प्रेरकलाई वायु प्राण भनिन्छ।वायुलाई स्थानभेद र क्रियाभेद अनुसार मुख र नाकबाट बाहिर निस्किने र भित्र पस्ने भएकोले प्राण, मल आदिलाई तल लाने भएकोले अपान, सबैतिर जाने भएकोले समान, माथि लैजाने भएकोले उदान र नाडीद्वारा विस्तृत हुने भएकोले व्यान भनिन्छ। वायुको ज्ञान अनुमान प्रत्यक्ष प्रमाणबाट हुन्छ।कणादले पृथ्वी, जल, तेज र वायुको परिभाषा तिनीहरूमा समवाय सम्बन्धबाट विद्यमान गुणहरूको आधारमा सकारात्मक विधिले गरे तर आकाशको परिभाषा भने आरम्भमा नकारात्मक विधिले रूप, रस, गन्ध, र स्पर्श नामक गुण हुँदैन भनेर गरे।तर पछि उनले आकाशलाई शब्दको आश्रयको रूपमा बताए।आकाशको व्यापक शब्द छ। यो एक पारभाषिक संज्ञा हो।आकाशमा शब्द, संख्या, परिमाण, पृथकत्व, संयोग र विभाग गरी ६ गुण विद्यमान रहन्छन् र परिगणित गुणहरूमा शब्दलाई प्रथम मानिन्छ।जुन द्रव्यमा शब्द नामक गुण रहन्छ, त्यसलाई आकाश भनिन्छ।आकाश एक, नित्य र सर्वव्यापक छ।आकाशको न उत्पत्ति हुन्छ र न विनाश नै।त्यो अखण्ड द्रव्य हो।आकाशको प्रत्यक्ष ज्ञान हुँदैन। वैशेषिक दर्शन अनुसार अतीत आदिको व्यवहारको कारणलाई काल भनिन्छ।त्यो एक, सर्वव्यापक र नित्य छ।सूर्य र पिण्डको बीचमा जुन एकसाथ, निरन्तरता,  शीघ्रता, आदि सम्बन्धघटक द्रव्य हुन्छन्, त्यसैलाई काल भनिन्छ।वैशेषिक दर्शन अनुसार पृथ्वीसहितका आठ द्रव्यहरूमा कुनै पनि क्षण, निमेष, आदि कालबोधक धारणाहरूलाई संयुक्त गर्न सकिंदैन त्यसकारण जुन द्रव्यसँग क्षण, आदिको ज्ञान संयुक्त हुन्छ, त्यसैलाई काल भनिन्छ।वर्तमानत्व नै कालको सूचक हो।अस्तित्वले व्यक्तिगत स्वरूप वा सत्ताले सामान्य स्वरूपलाई चित्रित गर्दछ जबकि वर्तमानत्व वस्तुको कालिक सम्बन्धको प्रदर्शक हो।यसरी अघि-पछि, टाढा-नजिक, माथि-तल, वस्तुहरुको उत्पत्ति, स्थिति र विनाशको तथा क्षण, निमेष, आदि प्रकट हुने कुरालाई काल भनिन्छ।यसरी क्षण, निमेष, आदि कालका व्यवहारिक उपाधिहरू हुन्।यिनीहरुको नाश भएपछि पनि कालको नाश हुँदैन त्यसैले काल नित्य द्रव्य हो र यो अनन्त छ।पूर्व, आदिको व्यवहार-हेतुलाई दिक् भनिन्छ।दिक् पनि एक, सर्वव्यापक र नित्य छ।वैशेषिक दर्शन अनुसार दिक् भनेको नजिक-टाढाको ज्ञान हो।दिकको द्रव्यत्व र नित्यत्व वायु समान हुन्छ।दिकको तात्विक भेदहरूको कुनै कारण नपाइने हुनाले यो एक हुन्छ।तर संयोगात्मक उपाधिहरूको कारण यसमा पूर्व, पश्चिम, आदि भेदले विविधताको व्यवहार हुन्छ।यो यसभन्दा पूर्व अथवा पश्चिम वा कुनै दिशामा छ भन्ने अनुभूतिको बोधक नै दिक् हो। कुनै अलग परिणामको मूर्त द्रव्यलाई केन्द्रबिन्दु मानेर पूर्व, दक्षिण, पश्चिम, उत्तर, आदि अनुभूति गरिन्छ।दिकको बोधक लिंगमा भेद नभएको कारणले यो एक हो।दिशाको भेद व्यवहारिक उपाधी हो।काल जस्तै दिशामा पनि एकत्व संख्या, परममहत परिमाण, एक पृथकत्व, संयोग र विभाग गरी पाँच गुण हुन्छन्।दिकको अनुभूति केन्द्र सापेक्ष भएकोले अस्थिर हुन्छ।त्यसले दिक् पृथक रूपले एक सर्वव्यापक र नित्य द्रव्य हो।वैशेषिक दर्शन अनुसार आत्मा भनेको प्राण, निमेष, जीवन, मनोगति, इन्द्रयान्तर, विकार, सुख-दुःख, इच्छा, द्वैष र प्रयत्न जस्ता लिंगहरूको अनुमान हो।ज्ञान, आदि गुणहरूको आश्रय भएको कारणले आत्मा एक द्रव्य हो।आत्मा नित्य हुनुको साथसाथै प्रत्यक्ष हुँदैन।ज्ञानको आश्रययुक्त द्रव्य आत्मा हो।प्रत्येक आत्मामा सुख-दुःखको अनुभूति भिन्न रूपले हुन्छ।त्यसकारण जीवात्मा एक नभएर अनेक छन्।सुख, दुःख, इच्छा, द्वैष र प्रयत्न नामक गुणहरूबाट आत्माको अनुमान हुन्छ।प्रशस्तपादका अनुसारमा आत्मामा बुद्धि, सुख,दुःख, इच्छा, द्वैष, प्रयत्न, धर्म, अधर्म, संस्कार, संख्या, परिमाण, पृथकत्व, संयोग र विभाग गरी चौध गुणहरू हुन्छन्।यिनीहरूमध्ये बुद्धिदेखि लिएर संस्कारसम्म प्रथम आठ आत्माका विशेष गुण हुन् भने बाँकी सामान्य गुण हुन् र विशेष गुण अन्य द्रव्यमा पाइँदैन भने सामान्य गुण चाहिँ अन्य द्रव्यमा पनि हुन्छ।वैशेषिक दर्शन अनुसार विषय र इन्द्रियहरूको समानान्तर संयोगको स्थितिमा कुनै एक विषयमा ज्ञानको सद्भाव र अन्य विषयमा ज्ञानको अभावलाई हेतु मानेर गरिने द्रव्यको अनुमानलाई मन भनिन्छ।शरीरको प्रत्येक अवयव वा अंगमा नै अनेक समानान्तर प्रयत्न नहुने तथा एकै कालमा अनेक समानान्तर ज्ञान उत्पन्न हुनुको कारण के कुरा सिद्ध हुन्छ भने मन प्रत्येक शरीरमा एक छ र भिन्न-भिन्न शरीरमा भिन्न-भिन्न मन छ।प्रशस्तपादका अनुसार आत्मा, इन्द्रिय तथा विषयको सानिध्यको हेतु भएर पनि ज्ञान, सुख, आदि कार्य कहिले हुन्छन् र कहिले हुँदैनन् त्यसकारण आत्मा, इन्द्रिय र विषय यी तीनको अतिरिक्त कुनै अन्य हेतुको अपेक्षालाई मन भनिन्छ।मन भनेको मननको साधन हो।यो आन्तरिक अनुभवहरूमा मात्र होइन, बरु बाह्य वस्तुहरूको प्रत्यक्षमा पनि सहायक हुन्छ।बाह्य इन्द्रियहरूले मनलाई नदेख्ने  भएकोले यसलाई अतीन्द्रिय पनि भनिन्छ।    

गुण भनेको पदार्थ द्रव्यमा निवास गर्ने कुरा हो। गुणको अस्तित्व द्रव्यमा नै निर्भर हुन्छ।गुणमा कुनै कर्म रहन सक्दैन।यसले कुनै वस्तुलाई उत्पन्न गर्न सक्दैन र यो कुनै संयोग तथा विच्छेदको कारण बन्न सक्तैन।कणादका अनुसार समवाय सम्बन्धमा द्रव्यमा आश्रय लिने स्वभाव भएको, संयोग र विभागको कारण नभएको र अन्य कुनै कुराको अपेक्षा नराख्ने चीजलाई गुण भनिन्छ।प्रशस्तपादका अनुसार गुणत्को समवायी हुनु, द्रव्यमा आश्रित हुनु, गुणरहित हुनु, क्रियारहित हुनु, आदि गुणका साधर्म्य हुन्।वैशेषिक दर्शन अनुसार २४ गुणहरूलाई मान्यता प्रदान गरिएको देखिन्छ।जसानुसार – रूप, रस, गन्ध, स्पर्श, संख्या, परिणाम, पृथकत्व, संयोग, विभाग, परत्व, अपरत्व, बुद्धि, सुख, दुःख, इच्छा, द्वैष, प्रयत्न, गुरुत्व, द्रवत्व, स्नेह, संस्कार, धर्म, अधर्म र शब्द हुन्।यो दर्शनानुसार यी २४ गुणहरूमा भौतिक र आध्यात्मिक दुवै गुणहरू विद्यमान हुन्छन्।वैशेषिक दर्शन अनुसार कर्मको आधार पनि गुणको जस्तै द्रव्य नै हो। कर्मबाट द्रव्य अलग रहन सक्तैन।तर गुणको विपरीत कर्म द्रव्यको सक्रिय रूप हुन्छ।यही नै द्रव्यको संयोग र विच्छेदको कारण हो। कर्म गतिशील हुन्छ।कर्म उत्क्षेप, अवक्षेपण, आकुंचन, प्रसारण र गमन गरी पाँच प्रकारका हुन्छन्।केवल चक्षुद्वारा ग्रहण गरिने विशेष गुणलाई रूप भनिन्छ।चक्षुभन्दा भिन्न बाहिरी इन्द्रियद्वारा रूपको ग्रहण हुँदैन तर अन्तर-इन्द्रिय मनमा भने यो कुरा लागू हुँदैन।रूप पृथ्वी, जल र तेज गरी यी तीन द्रव्यहरूमा रहन्छ तथा सेतो, नीलो, रातो, हरियो, खैरो र बैजनी गरी सात प्रकारको हुन्छ।जीभ्रोबाट प्रत्यक्ष हुने गुणको नाम रस हो।मीठो, अमिलो, नुनिलो, टर्रो, तीतो र पीरो गरी रस ६ प्रकारका हुन्छन्।घ्राण इन्द्रियद्वारा ग्रहण गरिनयोग्य गुणलाई गन्ध भनिन्छ।सुगन्ध र दुर्गन्ध गरी यी दुई प्रकारका हुन्छन्।यी केवल पृथ्वीमा रहन्छन् र अनित्य हुन्छन्।जलमा गन्धको आभास पृथ्वीको संयोगको कारणले संयुक्त समवाय सम्बन्धबाट हुन्छ।छालाबाट प्रत्यक्ष हुने गुणलाई स्पर्श भनिन्छ।स्पर्श तीन प्रकारका हुन्छन् र चार द्रव्यहरूमा रहन्छन् ।जसानुसार – चीसो (जलमा), तातो (तेज वा अग्निमा) तथा चीसो-तातो बराबर (पृथ्वी र वायुमा) हुन्छ।यसरी स्पर्श पृथ्वी, जल, तेज र वायुमा रहन्छ।एकत्व, आदि व्यवहारको निमित्त हुने सामान्य गुणलाई संख्या भनिन्छ वा एक, दुई, आदि व्यवहारको कारणलाई संख्या भनिन्छ।संख्या एक द्रव्यमा रहने एकत्व र अनेक द्रव्यहरूमा रहने द्वित्व, त्रित्व, आदि गरी दुई प्रकारका हुन्छन्।मानको व्यवहार अर्थात् नाप्ने र तौलने असाधारण कारणलाई परिमाण भनिन्छ।परिमाण नौ द्रव्यमा रहन्छ र सूक्ष्म, श्रेष्ठ, लामो र छोटो गरी चार प्रकारको हुन्छ। परिमाणलाई नित्य र अनित्य रूपमा पनि वर्गीकरण गरिन्छ।पृथकताको व्यवहारको असाधारण कारणलाई पृथकत्व भनिन्छ।यो दुई प्रकारको हुन्छ।जहाँ एक वस्तुमा अन्य वस्तुबाट पृथकत्व प्रतीत हुन्छ त्यसलाई एक पृथकत्व भनिन्छ भने दुई वस्तुहरूमा अन्य वस्तु वा वस्तुहरू पृथकता प्रतीत हुने कुरालाई द्विपृथकत्व भनिन्छ।  दुई द्रव्यहरू निकटस्थ भएर तिनीहरूको बीचमा कुनै व्यवधान हुँदैन भने तिनीहरूको मेललाई संयोग भनिन्छ।यसप्रकार संयोग दुई द्रव्यहरूमाथि आश्रित रहने एक सामान्य गुण हो।संयोगमा व्यवधानाभावसँगै मेल हुनु आवश्यक हुन्छ।परस्पर मिलेका पदार्थहरू अलग-अलग भएपछि संयोगको नाश हुन्छ, त्यसलाई नै विभाग भनिन्छ।त्यो सबै द्रव्यमा रहन्छ।यो द्रव्यबाट विभक्त हुनु हो।त्यसैले अलगावको अनूभूतिको असाधारण कारण विभाग हो।त्यो संयोगपूर्ण हुन्छ र दुई द्रव्यमा हुन्छ।यो अघि छ, यो पछि छ – यसप्रकारको व्यवहारको असाधारण कुरालाई परत्व र अपरत्व भनिन्छ।यी दिककृत र कालकृत गरी दुई प्रकारका हुन्छन्। आत्माको गुणलाई बुद्धि भनिन्छ किनभने आत्मामा नै मन तथा बाह्यइन्द्रियद्वारा अर्थको प्रकाश अर्थात् ज्ञान हुन्छ।वैशेषिक दर्शन अनुसार बुद्धि ज्ञानको पर्याय हो।सबै प्राणीहरूले चाहने र सबैलाई अनुकूल लाग्ने कुरालाई सुख भनिन्छ।वैशेषिक दर्शन अनुसार सुख एक विशेष गुण हो।प्रशस्तपादले चार प्रकारका सुखको उल्लेख गरेका छन्।प्रिय वस्तुको उपलब्धि, साथी-सम्बन्धी, आदिबाट प्राप्त हुने सुखलाई सामान्य सुख, भूतकालका विषयहरूबाट हुने सुखलाई सृमितिसुख, अमान्य विषयहरूको संकल्पबाट हुने सुखलाई संकल्पज र विद्या आदिबाट प्राप्त हुने सुखलाई विद्या शमसन्तोषदिजन्य सुख भनिन्छ।सांसारिक वस्तुहरूको भोगबाट मिल्ने सुख, इच्छित विषयहरूको अनुशरणबाट प्राप्त हुने सुख, कुनै क्रिया लगातार गर्दा प्राप्त हुने सुख र विद्वता आदिको अनुभूतिबाट प्राप्त हुने सुख गरी विभिन्न प्रकारका सुख हुन्छन्।सामान्यतः कसैले पनि नचाहने सामान्य पीडालाई दुःख भनिन्छ।यो प्रायः सुखको उल्टो प्रक्रियामा हुन्छ।सामान्यतः अप्राप्य कुरालाई प्राप्त गर्ने अभिलाषालाई इच्छा भन्ने गरिन्छ ताकि प्राप्तिको अभिलाषा आफ्नो लागि होस् वा अरूको लागि।यो आत्माको गुण हो।सोपाधिक र निरुपाधिक गरी इच्छा दुई प्रकारका हुन्छन्।सुखप्रतिको इच्छालाई निरूपाधिक र सुखका साधनहरूप्रतिको इच्छालाई सोपाधिक भनिन्छ।इच्छा प्रयत्न, स्मरण, धर्म, अर्धम, आदिको कारण हुन्छ।क्रोधको अर्को नाम नै द्वैष हो।द्वैष त्यो गुण हो, जुन उत्पन्न भएपछि प्राणीले आफूलाई प्रज्वल्लित भएको महसुस गर्दछ।यो दुःखसापेक्ष वा स्मृतिसापेक्ष आत्मसंयोगबाट उत्पन्न हुन्छ र यो प्रयत्न, स्मृति, धर्म र अधर्मको कारण हो।शुरूवात र उत्साहलाई प्रयत्न भनिन्छ।प्रयत्नले कृतिको रूप पनि लिन्छ। जीवनपूर्वक र इच्छाद्वेषपूर्वक गरी प्रयत्न दुई प्रकारका हुन्छन्।सुप्तावस्थामा वर्तमान प्राणको प्राण र गुद्वार प्राणको श्वास-प्रश्वास रूप व्यापारलाई चलाउने र जाग्रत अवस्थामा अन्तस्करणलाई बाह्य इन्द्रियहरूबाट संयुक्त गर्ने प्रयत्नलाई जीवनपूर्वक प्रयत्न भनिन्छ । यसमा धर्म तथा अधर्म रूप निमित्त कारणको अपेक्षा गर्ने आत्मा तथा मनको संयोगको असमवायिकारण हुन्छ।हितको प्राप्ति र अहितको निवृत्ति गर्ने शरीरको क्रियाको हेतुलाई इच्छा वा द्वैषमूलक प्रयत्न भनिन्छ।यसमा इच्छा वा द्वैष निमित्त कारणको अपेक्षा गर्ने आत्मा तथा मनको संयोगको असमवायिकारण हुन्छ। गुरुत्व त्यो धर्मविशेष (गुण) लाई भनिन्छ, जसको कारण कुनै द्रव्यको प्रथम पतन हुन्छ।कुनै वस्तुको माथिबाट तल जाने क्रियाको नाम पतन हो। पतन-क्रिया जुन वस्तुमा हुन्छ, त्यो वस्तु पतनको समवायिकारण हुन्छ र स्वयं त्यो वस्तुको आफ्नो भारीपनको कारणले त्यसमा संयोग, वेग वा प्रयत्नको अभाव हुन्छ।परमाणुको गुरुत्व नित्य हुन्छ।परमाणुबाट भिन्न पृथ्वी र जलको गुरुत्व अनित्य हुन्छ।पहिलो पतनक्रियाबाट वस्तुमा उत्पन्न हुने वेग पछिको पतनक्रियाको असमवायिकारण हो।वृत्तबाट टुटेर भूमिमा पुग्ने बेलासम्म फलमा अनेक क्रियाहरू हुन्छन्।तिनमा पहिलो पतनक्रियाको असमवायिकारण (परिस्थितिअनुकूलन) फलको गुरुत्व हो भने पछिको पतनक्रियाको असमवायिकारण पहिलो पतनक्रियाबाट उत्पन्न फलगत वेग हुन्छ।कुनै तरल वस्तुको चुहुने, टपकिने वा स्थानबाट बगेर अर्को स्थानमा पुग्नमा स्पन्दनक्रियाहरू हुन्छन्।तिनीहरूमध्ये प्रथम स्पन्दनको असमवायिकरण द्रवत्व (तरलता) हो, जुन पृथ्वी, तेज र जलमा रहन्छ। घ्यू, आदि पार्विव द्रवत्व तथा सुन, आदिमा जुन द्रवत्व हुन्छ, त्यो अग्निसंयोगजन्य हुन्छ।यद्यपि जलमा हुने द्रवत्व भने स्वाभाविक हुन्छ। पहिलो क्रियापछि हुने स्पन्दन क्रिया त्यसको परिस्थितिजन्य वेग हुन्छ।मधुरता नामक गुणलाई स्नेह भनिन्छ।स्नेह यस्तो गुण हो, जसको कारण फरक-फरक रूपमा विद्यमान कण वा अंश पिण्ड रूपमा परिणत हुन्छन्।नित्य र अनित्य गरी स्नेह दुई प्रकारका हुन्छन्।जलका परमाणुहरूमा नित्य हुन्छ भने कार्यरूप जलमा अनित्य हुन्छ।अनित्य स्नेहको कारण गुणपूर्वक हुन्छ र त्यो त्यतिबेलासम्म रहन्छ, जबसम्म त्यसको आश्रय द्रव्य द्वयणुक, आदि रहन्छ।जुन गुणमा कारण उत्पन्न हुन्छ र जुन काम त्यही जातिको हुन्छ भने त्यसलाई संस्कार भनिन्छ।अर्थात् जबकि कुनै गुण वा कर्मले बाह्य साहायता बिना आन्तरिक शक्तिबाट नै त्यही प्रकारको कार्य उत्पन्न गर्दछ भने त्यसलाई संस्कार भनिन्छ।संस्कार तीन प्रकारका हुन्छन् –  वेग, भावना र स्थितिस्थापक।संस्कारका यी तीन फरकहरूमध्ये वास्तविक रूपमा भावना नै संस्कार हो।यद्यपि यी तीनैमा बाह्य कारणबिना स्वयंमा कार्य गर्ने क्षमता समान रूपमा हुन्छ।उचित कर्मजन्य अदृष्टलाई धर्म र निषेधित कर्मबाट उत्पन्न अदृष्टलाई अधर्म भनिन्छ।सुख र दुःखको असाधारण कारणलाई क्रमशः धर्म र अधर्म भनिन्छ।यिनीहरूको ज्ञान प्रत्यक्ष नभएर उत्पत्ति र अनुमानबाट हुन्छ।शरीर आदिको निमित्त हुने गुणलाई नै धर्म र अधर्म भनिन्छ।शब्द त्यो गुण हो, जसको ग्रहण श्रवणद्वारा गरिन्छ। शब्दको आश्रय द्रव्य आकाश हो।त्यसकारण यसलाई आकाशको विशेष गुण पनि भनिन्छ।ध्वन्यात्मक र वर्णात्मक गरी शब्द दुई प्रकारका हुन्छन्।

कर्म भनेको क्रिया वा गति, जस्तो कि हिड्नु, डुल्नु, आदि हो।कर्म मूर्त द्रव्यमा नै रहन्छ। वैशेषिक दर्शन अनुसार एक समय एक द्रव्यमा रहने गुणबाट भिन्न तथा संयोग एवं विभागप्रति साक्षात कारण पनि भएको हुनेलाई कर्म भनिन्छ।एक चल्दा सबै चल्ने कुराको उत्पत्ति हुँदैन र जुन स्थलमा एकै समयमा अनेकौंको चलनक्रिया हुन्छ, त्यहाँ कारण अनेक नै हुन्छ किनभने चलनक्रियाको कार्य प्रहार तथा आधारमा भेद हुन्छ।धकेलाई, भारीपन, वेग र प्रयत्न यी चार कर्मका प्रेरक कारण हुन्।उत्क्षेपण (माथि फ्याँक्नु), अपेक्षेपण (तल झार्नु), आकुंचन (खुम्चाइ), प्रसारण (फैलावट) तथा गमन (प्रस्थान) गरी कर्ममा मुख्य पाँच फरक छन्।माथिको दिकसँग हुने संयोगप्रति कारणभूत क्रियालाई उत्क्षेपण र तलको दिकसँग हुने संयोगप्रति कारणभूत क्रियालाई अपक्षेपण भनिन्छ।शरीरमा आकर्षित संयोगको मुख्य कर्म आकुंचन तथा शरीरबाट विकर्षित संयोगको मुख् कर्म प्रसारण हो।यिनीहरूको अतिरिक्त अरु सबै कर्मलाई गमन भनिन्छ।     

वैशेषिक दर्शन अनुसार सामान्य भनेको कुनै वर्गको समान लक्षणहरू हो।विभिन्न व्यक्तिहरूमा केही यस्ता सामान्य लक्षणहरू भएकोले उनीहरूलाई मानिस भनिएको हो। यसैगरी विभिन्न पशुप्राणी, आदिमा पनि केही सामान्य लक्षण हुन्छन् त्यसकारण तिनीहरूको पहिचान हुन्छ।यहाँ मनुष्यत्व र पशुत्व सामान्य लक्षण हुन्, जुन विभिन्न व्यक्ति र पशुमा अनुरूप हुन्छन्।वैशेषिक दर्शनको सामान्य विषय वस्तुवाद हो।सामान्य नित्य हुन्छ।किनकि कुनै व्यक्ति विशेष वा पशु विशेषको मृत्य भएपछि पनि सामान्यको विनाश हुँदैन।जुन नित्य हुन्छ र अनेक वस्तुहरूमा समवाय सम्बन्धमा रहन्छ भने त्यसलाई सामान्य भनिन्छ।प्रशस्तपादका अनुसार परसामान्य र अपरसामान्य गरी सामान्य दुई प्रकारका हुन्छन्।वृक्षत्व परसामान्य हो भने त्यसको अपरिवर्तनीय जाति जस्तो कि आम्रत्वलाई अपर सामान्य भनिन्छ।अपर सामान्यलाई सामान्य विशेष पनि भनिन्छ।पर सामान्य अपर सामान्य सापेक्ष हुन्छ। वृक्षत्वको अपेक्षा आम्रत्व अपर सामान्य हो तर वृक्षत्व पनि पृथ्वीको अपेक्षा अपर सामान्य हो र आम्रत्व पनि आफ्नो अपरिवर्तनीय जातिको अपेक्षाबाट पर सामान्य हुन्छ।द्रव्य सत अर्थात् सामान्य छ र सम्पूर्ण द्रव्यत्वादि जातिहरू अपर सामान्य हुन्।तर यी द्रव्यत्वादि जातिहरूमध्ये हरेक जाति अनेक व्यक्तिहरूमा रहन्छन् त्यसकारण मुख्यगरी यी सामान्य नै हुन्।यद्यपि आफ्नो आश्रय (द्रव्यादि) लाई अन्य पदार्थबाट अलग पनि गर्दछन् त्यसकारण सामान्यतः विशेष शब्दबाट भनिन्छ।तर जुन विशेष पदार्थ हुन्छ त्यो यिनीहरूबाट अलग्गै हुन्छ।  

वैशेषिक दर्शन अनुसार विशेष भनेको सामान्यको विपरीत पदार्थ हो।प्रत्येक मानिस वा वस्तुमा केही विशिष्ट लक्षण गुण विद्यमान रहेकोले त्यसैको आधारमा उनीहरू एक-अर्कोबाट फरक मानिन्छन्।विशेषको कारणले नै एक आत्मा अर्को आत्माबाट र एक परमाणु अर्को परमाणुबाट भिन्न ठानिन्छ।परमाणु, आत्मा, दिक्, काल, मन, आदि सबैका आ-आफ्ना धर्म हुन्छन्।विशेषलाई मान्नुको कारणले नै यो दर्शनलाई वैशेषिक दर्शन भनिएको देखिन्छ।अनित्य द्रव्यहरूमा विभेदको लागि विशेषको आवश्यकता पर्दैन किनभने तिनीहरूलाई त सामान्य लक्षणबाट नै अलग ढंगले जान्न सकिन्छ।दिक्, काल, आकाश, मन, आत्मा, पृथ्वी, तेज, जल र वायुका परमाणुहरूमा नै विशेष तत्व हुन्छन्।नित्य द्रव्यहरूमा रहनुको कराण विशेष पनि नित्य हुन्छ।विशेष भनेको वस्तुहरूमा पारस्परिक परिभ्रमणको अन्तिम तत्व वा धर्म हो।विशेषको कुनै विशेष हुँदैन अर्थात् यो स्वयंलाई सबैबाट भिन्न गर्ने पनि हुन्छ त्यसकारण यसलाई अन्त्य विशेष भनिन्छ।विशेष केवल नित्य द्रव्यहरू अर्थात् पृथ्वी आदि चार प्रकारका अणुहरू र आकाशादि चार सर्वव्यापक द्रव्यहरूमा रहन्छ।विशेष अन्तिम हुन्छ।सामान्य – विशेषको सर्वाधिक व्यापक अन्तिम सीमाको नाम सत्ता हो र निम्नतम् सीमाको नाम विशेष हो। विशेष केवल एक पदार्थमा रहन्छ त्यसकारण त्यो सामान्य हुन सक्दैन।अणुको कुनै अवयव हुँदैन त्यसकारण के प्रश्न उठ्छ भने एक परमाणुको अर्को परमाणुबाट कसरी फरक छुट्ट्याउने ? अर्थात् परमाणुहरूको फरक-फरक व्यक्तित्वको आधार के हो ? यही आधारको रूपमा विशेषको कल्पना गरिएको हो। वैशेषिक दर्शन अनुसार द्वयणुकको संघटन गर्ने प्रत्येक परमाणुमा एक विशेष नामक पदार्थ रहन्छ, जसले आश्रयभूत परमाणुलाई अर्को परमाणुबाट पनि पृथक गर्दछ।एउटा विशेषबाट अर्को विशेषसँग फरक गर्ने पनि विशेष नै हो। विशेष स्वयं आफ्नो विभेदक हो।विशेषको स्वभाव नै परिभ्रमण हो त्यसकारण त्यसको सम्पर्कमा सजातीय परमाणु पनि एक-अर्कोबाट अलग हुन्छन्।विशेषलाई नमानीकन परमाणुहरूको एक-अर्कोबाट भेद हुन सक्दैन।यो सन्दर्भमा एउटा प्रश्न के पनि उपस्थित हुन्छ भने यदि एउटा विशेष अर्को विशेषबाट भेद स्वयं हुन्छ भने एउटा परमाणु अर्को परमाणुबाट भेद पनि स्वयं नै किन हुँदैन ? वैशेषिक दर्शनानुसार विशेषको त स्वभाव नै परिभ्रमण हो तर परमाणुको होइन।यसको साथै एक परमाणु अर्को परमाणुमा तादात्म्य हुन्छ तर एक विशेष अर्को विशेषसँग तादात्म्य हुँदैन।यसप्रकार एकै जाति, गुण र कर्मका परमाणुहरूमा जुन एक-अर्कोभन्दा विलक्षण प्रतीति हुन्छ त्यसको कुनै निमित्त हुनुपर्दछ, परमाणुहरूमा बनोट, आदिको र कुनै भेद असंभव हुने हुँदा जुन त्यहाँ भेदक धर्म हुन्छ, त्यसैलाई विशेष भनिन्छ।हरेक नित्य द्रव्यमा एक-एक विशेष हुन्छ, जसबाट त्यो विलक्षण प्रतीत हुन्छ।पहिचान र विलक्षण प्रतीति कुनै निमित्तबाट हुन्छ र त्यो निमित्त परमाणुहरूमा त्यो विशेष पदार्थ हो,  जुन त्यसबाट अलग छ।यो विशेष पदार्थको पत्ता लगाउने काम यही दर्शनले गरेकोले गर्दा यसलाई वैशेषिक दर्शन भनिएको हो।  

वैशेषिक दर्शन अनुसार समवाय भनेको वस्तुहरूको नित्य, स्थायी र अविच्छिन्न सम्बन्ध हो।यसप्रकारको सम्बन्ध कार्य-कारण, द्रव्य-गुण वा कर्म, आदिमा देखिन्छ। यो नदी-नाउँको जस्तो क्षणिक र अस्थायी सम्बन्ध होइन।समवाय सम्बन्ध निरन्तर र स्थायी हुन्छ।जस्तो कि गुण वा कर्म सदैव द्रव्यमा विद्यमान रहन्छ जसरी कपडा आफ्नो रंगमा सदैव विद्यमान रहन्छ।समवाय सम्बन्धद्वारा युक्त वस्तुहरू दुईको संयोगबाट सम्बन्ध रहँदैनन्।जुन पदार्थमा अविनाशिताको अवस्था प्राप्त नभएर अपराश्रित नै रहन्छ र तिनीहरूको बीचमा जुन सम्बन्ध हुन्छ, त्यसलाई नै समवाय भनिन्छ।वैशेषिक दर्शन अनुसार जुन सम्बन्धको कारण अवयवहरूमा अवयवी, व्यक्तिमा जाति, आदिको बोध हुन्छ, त्यसलाई नै समवाय भनिन्छ।समवाय नित्य सम्बन्ध हो भने संयोग अनित्य सम्बन्ध हो।समवाय गुण नभएर पदार्थ हो तर वैशेषिक दर्शन अनुसार यसको अनुमान हुन्छ।यसरी स्पष्ट रूपमा के भन्न सकिन्छ भने सम्बन्ध सदैव दुईमा हुन्छ।यी दुवै एक-अर्कोबाट अलग हुन्छन्।यस्तो सम्बन्धलाई संयोग भनिन्छ।कैयौं यस्ता घना सम्बन्ध छन्, तिनीहरू न अलग-अलग थिए र न हुन सक्दछन्, ती सम्बन्धलाई समवाय भनिन्छ। 

वैशेषिक दर्शन अनुसार अभावको शब्दिक अर्थ नहुनु हो।यहाँ कुनै व्यक्ति छैन, फूल नीलो छैन, पानीको स्वाद छैन, आदि वाक्यमा व्यक्ति, नीलो रंग र स्वादको उपर्युक्त स्थानमा अभावलाई सूचित गर्दछ।प्रागभाव (कुनै वस्तुको उत्पत्तिभन्दा पहिले त्यसको अभाव), ध्वंसाभाव (नाशपछि त्यसको अभाव), अत्यन्ताभाव (कुनै वस्तुको नितान्त अभाव) र अन्योन्याभाव (एक वस्तुमा अर्को वस्तुको अभाव) गरी अभावका चार प्रकार मानिएको छ।प्रत्येक धारणा कुनै वास्तविकतामा आधारित हुन्छ।त्यसकारण अभावात्मक धारणाको कुनै आश्रय हुँदैन र त्यसैलाई अभाव भनिन्छ।अभाव अनुमान हो। 

वैशेषिक परमाणुवाद जगतको नित्यको बारेमा नभएर अनित्यको बारेमा हो।यो दर्शनानुसार जगतका नित्य पदार्थहरू (आकाश, दिक्, काल, मन, आत्मा र भौतिक परमाणु) को न त सृष्टि हुन्छ र न विनाश नै हुन्छ।यसानुसार दुई परमाणुहरूको संयोगलाई द्वयणुक भनिन्छ।तीन द्वयणुकहरूको संयोगबाट त्र्यणुक बन्दछ।द्वयणुक ह्रस्व र अगोचर हुन्छ भने त्र्यणुक दीर्घ र दृष्टिगोचर हुन्छ।परमाणुहरूको संयोगको यो क्रम पृथ्वी, जल, तेज, वायु, महाभूत उत्पन्न नहोन्जेलसम्म चलिरहन्छ।वैशेषिक दर्शन अनुसार सृष्टिकृता अचेतन अदृष्ट शक्ति हो र यसैको सहायताले परमाणु गतिशील हुन्छ।अदृष्टद्वारा गति प्रदान गरिएपछि परमाणुहरूमा कम्पन उत्पन्न हुन्छ र तिनीहरू त्यही बेला द्वयणुकमा परिवर्तन हुन्छन्।यसरी यो दर्शनले सर्वज्ञ, अनन्त र पूर्ण शक्तिलाई निमित्त कारण (efficient cause) मानेको छ र परमाणुलाई यसैको उपादान कारण (material cause) मानेको देखिन्छ।यसानुसार दैवी शक्ति परमाणुको कर्ता होइन तर उसले यसलाई केवल गति प्रदान गर्दछ।

आरम्भिक वैशेषिक दर्शनमा चार भूत (पृथ्वी, जल, अग्नि र वायु) अविभक्त परमाणुहरूबाट बनेका छन् र यी परमाणुहरू आपसमा जोडिइरहन्छन् भन्ने छ। झ्यालको छिद्रबाट आउने प्रकाशको किरणमा देखिने धुलोका कणहरूलाई सबभन्दा महत कण मानियो र तिनीहरूलाई त्र्यणुक भनियो।यिनीहरूको निर्माण तीन भागबाट भएको छ र प्रत्येक भागलाई द्वयणुक भनिएको छ।यी द्वयणुक दुई भागबाट निर्मित मानिएको छ। प्रत्येक भागलाई परमाणु भनिएको छ।यी परमाणु अदृश्य र शास्वत हुन्छन्, जसलाई न त सृजना गर्न सकिन्छ र न नष्ट नै गर्न सकिन्छ। तर परमाणु आपसमा मिलेर दृश्य आकार बन्दछन्।यसलाई अणुत्को महत्त्व भनियो र प्रत्येक परमाणुमा आफ्नै विशेषता हुन्छन्।कणादका अनुसार अणु एक विशेष व्यवस्थित क्रममा संलयन हुँदा तत्व बन्दछन्।कर्मको मूल कारण ती द्रव्य हुन्, जसबाट तत्वको निर्माण भएको छ।यो संसारमा उत्पन्न सबै पदार्थ सूक्ष्म र अविभाज्य कणहरूले बनेको छ।

वैशेषिक दर्शनानुसार सृष्टि भनेको पूरातन क्रमको ध्वंस गरी नयाँको निर्माण हो।यो सृष्टि र प्रलयको क्रम अनादिकालदेखि चल्दै आइरहेको छ।सृष्टिसँगै जीवात्माको अदृष्टानसार (नियति, प्रारब्ध अनुसार) शरीर र बाह्य द्रव्य बन्दछन् र जीवात्माको अदृष्टले तिनीहरूलाई त्यो दिशामा प्रवृत्त गर्न लाग्दछन्।अदृष्टको प्रेरणाबाट परमाणुको संयोग हुन लाग्छ र त्यसबाट विभिन्न वस्तुहरू उत्पन्न हुन लाग्छन्।सर्वप्रथम महाभूतहरू (पृथ्वी, जल, वायु र तेज) को उत्त्पति हुन्छ र त्यसपछि विश्वको गर्भरूपी ब्रम्हाण्ड उत्पन्न हुन्छ, जुन पार्थिव र तेजस् परमाणुहरूको बीजरूप हो। वैशेषिक दर्शन अनुसार प्रत्येक सृष्टिपछि प्रलयको अवस्था आउँछ।प्रलयावस्थामा जीवहरूको अदृष्ट आफ्नो कार्यबाट विमुख हुन्छन् र परमाणु तितरवितर हुन्छन्।त्यसपछि शरीर इन्द्रियहरूको नाश हुन्छ।वैशेषिक दर्शनानुसार प्रलयावस्थामा चार महाभूतहरूका परमाणु, पाँच नित्य द्रव्य, जीवात्माहरूका धर्माधर्मजन्य भावना वा संस्कार बाँच्दछन्।परमाणुमा चार महाभूतहरू – पृथ्वी, जल, तेज र वायु परमाणु सामेल छन्।पाँच नित्य द्रव्यमा दिक्, काल, आकाश, मन र आत्मा रहेका छन्।

वैशेषिक दर्शन अनुसार पनि अज्ञान बन्धनको कारण हो।अज्ञानको वशमा परेर आत्माले विविध कर्म गर्दछ र यी विविध कर्मको फल राम्रा-नराम्रा हुन्छन्।यिनै राम्रा-नराम्रा फलहरूबाट अदृष्टको निर्माण हुन्छ।आफ्नो कर्मफल अनुसार नै आत्माले सुःख-दुःखको उपभोग गर्दछ।आत्माले कर्म गरून्जेलसम्म त्यो बन्धनग्रस्त अवस्थामा रहन्छ।उसले कार्यको सम्पादन बन्द गरेपछि उसलाई मोक्ष मिल्छ।आत्माद्वारा कार्यसम्पादन बन्द गरेपछि कर्मफल संचय रोकिन्छ र पूर्वसंचित कर्मको क्रमशः क्षय हुन्छ।त्यसछि आत्माले आफूलाई मन र शरीरबाट भिन्न ठान्दछ र त्यसले शुद्ध स्वरूपको साक्षात्कार गर्दछ।यसरी वैशेषिक दर्शन अनुसार मोक्षको अवस्थामा सबै प्रकारका दुःखको विनाश हुन्छ।यसानुसार आत्मा एक द्रव्य हो।आनन्द, ज्ञान, आदि आत्माका आगन्तुक गुण हुन्।आत्मा शरीरबद्ध रहुन्जेलसम्म मात्र उसलाई यी गुणहरूको आवश्यकता हुन्छ तर मुक्तावस्थामा यी गुणहरूको आवश्यकता हुँदैन।मोक्ष वा अपवर्गको अवस्थामा आत्मा सुख, दुःख, आनन्द, गुण, आदिभन्दा पर हुन्छ।यो अवस्थामा आत्मा शुद्ध द्रव्यसमान सर्वगुणरहित र सबैप्रकारका ज्ञान, अनुभूति र कर्मबाट शून्यरहित भएर स्वयंलाई विशेष बनाउँदछ।

यसरी विशेषलाई एक पदार्थ मानेको कारणले यो दर्शनलाई वैशेषिक दर्शन भनिएको हो। पदार्थलाई विशेष महत्व दिएको कारणले पनि यसलाई वैशेषिक भनिन्छ।अरु पूर्वीय दर्शनभन्दा विशिष्ट भएको कारणले पनि यसलाई वैशेषिक भनिन्छ।यो दर्शनको पनि लक्ष्य भनेको मोक्ष प्राप्त गरी दुःखबाट मुक्त हुनु नै हो।यो दर्शन अनुसार मोक्ष प्राप्त गर्नको लागि भौतिक जगतमा पाइने ६ पदार्थहरू (द्रव्य, गुण, कर्म, सामान्य, विशेष, समवाय) को  ज्ञान हुनु आवश्यक ठानिन्छ।कणादले अणुका विशेषताहरूलाई वर्णन गरे।वैशेषिक दर्शन-सूत्रलाई तर्कविज्ञानको श्रेणीमा पनि राखिन्छ।वैशेषिक सूत्रको प्रत्यक्ष प्रयोजन उत्पत्ति र विनाशको ज्ञान प्राप्त गर्न सकिने धर्मको व्याख्या गर्नु हो भन्ने बुझिन्छ।यसमा अनुमान तथा हेत्वाभासको उपयोग गरिएको देखिन्छ।कुनै पदार्थको गुण-धर्म इन्द्रियहरूको सम्पर्कमा आएपछि त्यसलाई प्रत्यक्ष बोध भनिन्छ।जस्तो कि कुनै वस्तुको रंग देख्नु।तर्कद्वारा विचारित अवधारणालाई अनुमान भनिन्छ र यी दृष्ट (देख्न सकिने) र अदृष्ट (देख्न नसकिने) गरी दुई प्रकारका हुन्छन्।वर्णन गर्न नसकिनेलाई अदृष्ट भनिन्छ तर यसलाई वर्णन गर्न नसकिए पनि त्यसलाई स्वीकार गरिन्छ किनकि अदृष्टको महत्वलाई कम आँक्न सकिंदैन।यदि अदृष्टलाई अस्वीकार गरियो भने शरीर र इन्द्रियहरूको सम्पर्कलाई पनि मानिंदैन।यसको मतलब संज्ञानलाई पनि अस्वीकार गर्नु हुन्छ।यसरी कणादले चुम्बकीय आकर्षण, अणुहरूको प्रारम्भिक संवेग, कुनै पनि पदार्थ तलतिर झर्ने क्रिया, आदि अवधारणाहरूलाई स्पष्ट गर्नको लागि अदृष्टको व्यापक उपयोग गरेका थिए।जस्तो कि अग्निको प्रारम्भिक माथि उठेको ज्वाला, वायुको प्रारम्भिक वेग तथा अणु र मनको आरम्मिक गमन, आदि सबैको कारण अदृष्ट हो।यसरी कणादले वैशेषिक सूत्रमा अणुवादको व्याख्या गरे र भौतिक संसारका प्रत्येक वस्तुलाई एक निश्चित संख्याको अणुहरूमा विभक्त हुने कुराको अवधारणा प्रदान गरे।कणादका अनुसार सृष्टिका सबै पदार्थ धेरै विभाजित नहुने सूक्ष्म कणहरूबाट बनेका हुन्।उनका अनुसार परमाणु सूक्ष्तम्, अदृश्य, रासायनिक रूपले अविभाज्य, शाश्वत तथा नश्वर हुन्छन्।परमाणु मिलेर एक तत्व बनाउँदछन्।यी सूक्ष्म कण उत्पादन वा परिणाम नभएर कारण हो।उनका अनुसार कारण नहुँदा परिणाम वा कार्य पनि हुँदैन तर परिणाम वा कार्य नहुनुको अर्थ कारण नहुनु होइन।परिणाम होस्  वा नहोस्, कारणको अस्तित्व हुन्छ।कणादले अदृष्ट वा अज्ञात कारणद्वारा असंख्य सूक्ष्ण अणु मिलेर पदार्थ निर्माण गर्दछन् भन्ने कुरा स्पष्ट पारेका थिए।पछि व्याख्याकारहरूले यही अज्ञात कारणलाई ईश्वर माने।वैशेषिक दर्शन अनुसार पृथ्वी, जल, तेज, वायु, समय, स्थान, आत्मा, मन, आदिको अलग-अलग संलयन हुने भएकोले तिनीहरू एक-अर्कोबाट भिन्न पाइन्छन् र विशिष्ट हुन्छन्।यसरी पदार्थको विशेषताको वर्णन गरेकोले कणादको सूत्रलाई वैशेषिक दर्शन भनियो।वैशेषिक दर्शन अनुसार आत्मा शाश्वत र व्यापक हुन्छ यद्यपि मन शाश्वत तर अत्यन्त सूक्ष्म हुन्छ।आत्मा असंख्य हुन्छ, एक-अर्कोबाट भिन्न हुन्छ।ज्ञान आत्माको न त स्वाभाविक गुण हुन्छ न त्यसको स्वत्व नै।शरीरबाट अलग अस्तित्वमा आत्मालाई कुनै ज्ञान वा बोध हुँदैन।आत्मा अज्ञानको माध्यमबाट मन, अंग र शरीरसको सहयोगले बाँधिएको हुन्छ।केवल यथार्थ ज्ञानले नै आत्मालाई यी बन्धनहरूलाई मुक्त गराउन सक्दछ तथा अपवर्ग अर्थात् मोक्षको प्राप्तितिर लिएर जान्छ।पुण्य कार्य तथा सत्य भावनाले नै यथार्थ ज्ञानतिर प्रवृत्त गर्दछ।यसरी वैशेषिक दर्शन अनुसार भौतिक वस्तुहरूको अस्तित्व मनबाट स्वतन्त्र हुन्छ।यद्यपि ती वस्तुहरूको बोध मनमा नै निर्भर गर्दछ, जसमा इन्द्रियहरूले सहयोग गर्दछन्।पदार्थका प्रकार द्रव्य, गुण, कर्म, सामान्य, विशेष, समवाय र अभाव परम सत्य हुन्।केवल द्रव्यले मात्र स्वतन्त्र अस्तित्व राख्दछ, बाँकी सबै त्यसैसँग सम्बन्धित हुन्छन्।मूल द्रव्य पृथ्वी, जल, वायु, अग्नि, आकाश, काल, दिक्, आत्मा र मन हुन्।प्रथम सात द्रव्यबाट नै भौतिक संसारको रचना हुन्छ।बाँकी दुई अभौतिक हुन्।पृथ्वी, जल, अग्नि र वायुको मूल संरचना अणुहरूबाट नै हुन्छ।यिनीहरूको मूल संघटक चार अलग-अलग प्रकारका अणुहरूबाट बन्दछन्।आकाश, दिक् र काल अनन्त र व्यापक हुन्छन्।

सन्दर्भ ग्रन्थहरू

१)वैशेषिक दर्शन -परिशीलन – शशिप्रभा कुमार, विद्यानिधि प्रकाशन, दिल्ही

२)वैशेषिक दर्शन एक अध्ययन – डा. श्रीनारायण मिश्र, चौखम्बा विद्या भवन वाराणासी

३)वैशेषिक दर्शन – पण्डित राजाराम ‍- भाषा टीका और व्याख्यान

४)वैशेषिक दर्शन – डा. उदय कुमठेकर, प्रसाद प्रकाशन

५)वैशेषिक दर्शन – डा. पवित्र कुमार शर्मा, हंस प्रकाशन जयपुर

६)वैशेषिक दर्शन मे पदार्थ निरुपण – डा. शशिप्रभाकुमारडिके प्रिन्टवर्ल्ड

७)Vaisheshika Darshan of Sage Kanada – Translator by Kovvuri Ramchadra Rao

८)दर्शन-दिग्दर्शन – राहूल सांकृत्यायन, किताब महल

९)भारतीय दर्शन – डा. उमेश मिश्र, प्रकाशन व्यूरो, सूचना विभाग, उत्तर प्रदेश

१०)भारतीय दर्शन की रुपरेखा – एम हिरियन्न, राजकमल प्रकाशन

११)पूर्वीय दर्शनमा भौतिकवाद – रामराज रेग्मी, संचेतना परिवार

१२)भारतीय दर्शन की रूपरेखा – प्रो हरेन्द्र प्रसा सिन्हा, मोतिलाल बनारसीदास

१३)पूर्वीय सोच र स्रोत – डिल्लीराम गौतम, काठमाण्डौं स्कूल अफ ल

१४)पूर्वीय दर्शन – भक्त राई, ओरियन्टल प्रकाशन

१५)पूर्वीय दर्शन विमर्श – कमल रिजाल, रत्न पुस्तक भण्डार

१६)पूर्वीय दर्शनको पुनर्व्याख्या – डा. प्रमोद ढकाल

१७)पूर्वीय दर्शन मीमांसा – कमल रिजाल, विद्यार्थी पुस्तक भण्डार

१८)भारतीय दर्शन भाग १ र २ – डा. राधाकृष्णन

१९)भारतीय दर्शन का इतिहास भाग १-५ – डा. एस. एन. दासगुप्ता

२०)भारतीय दर्शनहरूमा के छ ? – सत्यप्रकाश वंशल, अनु- अर्जुनदेव शर्मा

२१)भारतीय दर्शन मे क्या जीवन्त है और क्या मृत है – देवीप्रसाद चट्टोपाध्याय, पिपुल्स पब्लिसिंह हाउस

२२)New Light Upon Indian Philosophy, or Swedenborg and Saiva Siddhanta – D. Gopaul Chetty

२३)Indian Philosophy in Modern Times – V. Brodov, Progress Publishers

२४)A History of Indian Philosophy (Set of Three Volume ) – Dr. S. N. Dasgupta

२५)A Critical Survey of Indian Philosophy – Dr. Chandradhar Sharma २६)Contemporary Indian Philosophy –  Basant Kumar Lal



One response to “दर्शन : पूर्वीय दर्शन : वैशेषिक दर्शनको एक अध्ययन”

Leave a comment

About Me

I am a student of philosophy and nature. I thoroughly research all subjects and summarize them in Nepali and English. I am Secretary of Marxism Study-Research Academy, Nepal. I am a Social Worker. Education – i) Master of Arts Degree in Political Science – TU, ii) Master of Public Administration Degree – TU, iii) Master of Arts Degree in History-TU, iv) Master of Arts Degree in Nepalese History Culture and Archaeology-TU.

म अध्ययन-अनुसन्धान कार्यमा निस्वार्थ भावले निरन्तर लागेको एक वाम विचारधारायुक्त सामाजिक कार्यकर्ता हुँ। मेरो कुनै पनि राजनीतिक दलसँग संलग्नता नरहेको जानकारी गराउँदछु। मेरा हरेक अध्ययन-अनुसन्धान कार्य शोषण, दमन, अन्याय, अत्याचारका विरुद्ध हुनेछन् । आम श्रमजीवी, भोका-नांगा, गरीब, उत्पीडित जनसमुदायहरूलाई सुशिक्षित गर्ने प्रयत्न मेरो कर्तव्य हुनजान्छ । मेरा सबै कार्य जनहितका लागि हुनेछन् भन्ने आशा तथा विश्वासपूर्वक मैले निरन्तर कार्य अगाडि बढाइरहेको हुनेछु। श्रमप्रति सम्मान र शोषणप्रति घृणा नै मेरा कार्यका उद्देश्य हुनेछन्।  

यहाँ तपाईंहरू सबै प्रकारका सामग्रीहरू अध्ययन गर्न र हेर्न पाउनुहुनेछ । अध्ययन गर्नको लागि रूचियुक्त सामग्रीहरू माग गर्नुभयो भने यथासंभव परिपूर्तिसमेत गरिनेछ । यहाँ लेखरचना, पत्रपत्रिका, म्यागजिन,  जर्नल, विभिन्न पुस्तकहरू (नेपाली, अंग्रेजी र हिन्दी भाषामा), डकुमेन्ट्री, फिल्म, आदि सामग्रीहरू खोजेर पढ्न तथा हेर्न सक्नुहुन्छ।

I am a leftist social worker who is selflessly engaged in research work. I inform you that I am not affiliated with any political party. Every study-research work of mine will be against exploitation, oppression, injustice and tyranny. It is my duty to try to educate the common workers, the hungry, the poor, the oppressed masses. I will continue my work with the hope and confidence that all my work will be for public interest. Respect for labor and hatred for exploitation will be the objectives of my work.

Here you will find all kinds of content to study and watch. If you demand for interesting materials to study, they will be provided as much as possible. Here you can search and read articles, newspapers, magazines, journals, various books (in Nepali, English and Hindi languages), documentaries, films, etc.

श्रमको सम्मान गर्नुभएकोमा धन्यवाद ।

Thank you for respecting the labor.

Newsletter

Marxism-मार्क्सवाद

Communist history

Philosophy-दर्शन

लेनिन-LeninLeninism

दस्तावेज-documents

धर्म-दर्शन

त्रिपिटक–बुद्ध

गीता सार

Politics–राजनीति

ग्रन्थ परिचय

Mao-Maoism

साहित्य- literature

जीवनी-biography

साम्यवाद-communism

युवाबारे-On Youth

कार्ल मार्क्स–Karl Marx

फ्रेडरिक एंगेल्स–F. Engels

भी.आइ.लेनिन–V.I.Lenin

जे. भी. स्टालिन – J.V. Stalin

माओत्सेतुङ – Maotsetung

डिजिटल पुस्तकालय (digital library)

ई-पुस्तकालय -e-library

विज्ञान-प्रविधि (Science-Technology)

सामान्य ज्ञान (GK)

Documentaries and YouTube channels

पुस्तकालय – LIBRARY

नेपाली डिजिटल पुस्तकहरू (Nepali Digital Books)

नेपाली न्यूजपेपर, म्यागजिन र अनलाइन पत्रपत्रिकाहरू (Nepali Newspapers, Online and Nepali Magazines)

English Digital Books : Part – 1 (world communist special books)

English Digital Books : Part – 2

English Digital Books : Part – 3

हिन्दी डिजिटल पुस्तक (Hindi digital Books) भाग – १

हिन्दी डिजिटल पुस्तक (Hindi digital Books) भाग – २

हिन्दी डिजिटल पुस्तक (Hindi digital Books) भाग – ३

हिन्दी डिजिटल पुस्तक (Hindi digital Books) भाग – ४

हिन्दी डिजिटल पुस्तक (Hindi digital Books) भाग – ५

Documentaries and YouTube channels

Uncategorized

ENGLISH SECTION

Design a site like this with WordPress.com
Get started