दर्शन : लाओत्सेको ताओ दर्शन (ताओवाद) एक अध्ययन

✍नारायण गिरी

ताओवाद ब्रम्हाण्डको आवश्यक एकता, पत्यावर्तन, ध्रुबीकरण, शाश्वत चक्र, सबै मतभेदहरूलाई समतल गर्ने, सबै मानकहरूको सापेक्षता, दिव्य ज्ञान र सबैको पुनरागमनमाथि जोड दिने जीवनको दर्शन हो।ताओवादलाई ब्रम्हाण्डको परिवर्तनकारी ज्ञानको रूपमा पनि लिइन्छ।ताओवाद मुख्यगरी महानताको रूपमा विनम्रताको गुणमा आधारित छ। ताओवादले सादगी र निस्वार्थता, गैरउद्देश्यपूर्ण कारवाहीको जीवन जिउने र सहजताको सार व्यक्त गर्ने कुरालाई दर्शाउँदछ।ताओवाद ईपू छैटौं शताब्दीदेखि लिएर आजसम्मको सांस्कृतिक, बौद्धिक, धार्मिक र शाब्दिक परम्परालाई अत्यन्तै व्यापक रूपले सन्दर्भित गर्ने दर्शन हो।ताओवादका प्रणेता लाओत्से नामका एक महान व्यक्तित्व हुन् र उनलाई कन्फ्यूसियसको समकालीन मानिन्छ।लाओत्सेमा ज्ञान, प्रतिभा र बुद्धिको अति गहिराइ थियो।उनले सहज, काव्यात्मक र रहस्यमय ढंगले ज्ञान प्रचार गरे साथै उनी हरेक कुरालाई प्रवचन र सुक्तिमा बोल्थे।ताओवादको शिक्षालाई एक खण्ड (करिब ५०००) शब्दमा संकलित गरिएको थियो, जसलाई ताओ तेह चिंग (the way and its power) भनिन्छ।लाओत्सेले यो पुस्तक ८१ खण्डमा लेखेका थिए।यो पुस्तक लाओत्सेको उत्कृष्ट रचना हो।यो पुस्तक जति पढिन्छ त्यति नै आश्चर्य महसुस हुन्छ।यति प्राचीन पुस्तकका सिद्धान्त र संस्कृतिहरू सबै समय-सीमाहरूमा सार्वभौमिक देखिन्छन्।

लाओत्सेको जन्म र मृत्युको कुनै वास्तविक अभिलेख रहेको पाइँदैन। उनको जन्म इ.पू. ५७१ मा र मृत्युु  इ. पू. ४७१ मा भएको मानिन्छ  । यिनलाई हुनान प्रान्तमा जन्मिएका र वास्तविक नाम ली इर थियो भनिन्छ।लाओत्से चीनको चाओ राजवंशका राजकीय पुस्तकालयमा अध्यक्ष थिए भनिएको छ।मृत्यु भएको ५०० वर्षपछि मात्र उनको दर्शन र जीवनको बारेमा लेखिएको पाइन्छ।यद्यपि उनका जीवनका अन्तिम वर्षहरूको बारेमा अझै पत्तो लाग्न सकेको देखिंदैन।प्राकृतिक जीवनमा मानिसको जीवन सरल र शान्तिपूर्ण हुन्छ, त्यसैले मानिसले सांसारिक सुख-दुःखबाट टाढा बसेर प्राकृतिक जीवन जिउनु पर्दछ भन्ने लाओत्सेको मूल सिद्धान्त हो। प्राकृतिक जीनव सुखमय हुन्छ भने कृत्रिमताबाट मानिसलाई दुःख प्राप्त हुन्छ।त्यसैले सरल र सुखी जीवन जिउनको लागि प्रकृतितिर नै फर्किनुपर्दछ भन्ने मान्यताको विकास उनले गरेको देखिन्छ।उनले असल मान्छेसँग पनि असल व्यवहार गर्नुपर्दछ र खराब मान्छेसँग पनि असल व्यवहार गर्नुपर्दछ, तब मात्र खराब मान्छे पनि असल हुन्छ भन्ने महत्त्वपूर्ण शिक्षा दिए।लाओत्सेले संसार आफ्नै नियन्त्रणमा चल्ने भएकोले त्यसलाई हस्तक्षेप नगरी सदाचारी र पवित्र जीवन जिउने शिक्षा दिए।उनको शिक्षा वा दर्शनलाई ताओवाद भनिन्छ, जसको अर्थ मार्ग प्रशस्त गर्ने व्यक्ति हुनजान्छ।लाओत्सेले संसारको सुखसुविधाहरूप्रति उदासीनता प्रकट गरेका थिए भने विगतको साधारण जीवनतिर पुनरागमनको उपदेश दिएका थिए।लाओत्सेले प्रकृति र जीवको अन्योन्यश्रित सम्बन्धलाई उजागर गरेका छन्।

ताओ शब्दको प्राचीन र आधुनिक दुवै भाषाहरूमा विभिन्न अर्थहरू रहेका छन्।सडक, मार्ग, सिद्धान्त या यस्तै अर्थको लागि यसको विशुद्ध रूपले विभिन्न प्रकारका रूपक, दार्शनिक र धार्मिक उपयोगहरूलाई प्राप्त गरेको देखिन्छ।अधिकांश विश्वास प्रणालीहरूमा यो शब्दको प्रयोग प्रतीकात्मक रूपले मार्गको अर्थमा सही वा उचित अस्तित्वको तरीकाको रूपमा गरिएको देखिन्छ।ताओलाई मुख्यगरी ब्रम्हाण्डको प्रवाहको रूपमा वा प्राकृतिक दुनियाँको पछाडि कुनै सार वा ढाँचाको रूपमा मान्न सकिन्छ, जसले ब्रम्हाण्डलाई सन्तुलित र व्यवस्थित राख्दछ।ताओवाद एक गैरद्वैतवादी सिद्धान्त हो – यो त्यो सम्पूर्ण हो, जसबाट ब्रम्हाण्डका सबै तत्व प्राप्त हुन्छन्।ताओ दर्शन वू (शून्य), यिन यांग (विपरीतको बीचमा प्राकृतिक गतिशील सन्तुलन) र वू वेई (निस्क्रियता वा सरल कार्वाही) जस्ता सिद्धान्तमा आधारित छ।ताओलाई सामान्यतः प्रकृतिका तत्वहरूको सन्दर्भमा र विशेष रूपमा पानीको समान वर्णित गरिन्छ।पानी जस्तै यो अविभाज्य छ, यो अन्तहीन रूपले आत्मपूर्ति गर्ने, कोमल र शान्त तर अत्यन्तै शक्तिशाली र भावहीन उदार हो।ताओवादी दर्शन प्राकृतिक दुनियाँको चक्रिय निरन्तरतामा केन्द्रित छ र यो मानवको रेखीय र लक्ष्योन्मुख कार्यहरूको विपरीत छ।ताओवादी मान्यता अनुसार वू वेई (सरल कार्वाही) लाई प्राप्त गर्नको लागि प्रकृतिसँग आफ्ना इच्छाको सामन्जस्य बनाउनु हो।यसमा ध्यान र नैतिक अभ्यास सामेल हुन्छ।यो सम्बन्धमा महत्त्वपूर्ण डे (पुण्य) को ताओवादी अवधारणा हो। ताओवाद आन्तरिक रूपमा येन-यांगको अवधारणासँग सम्बन्धित छ, जहाँ हरेक क्रिया ताओको अभिव्यक्तिभित्र अपरिहार्य आन्दोलनको रूपमा प्रतिक्रिया बन्दछ र उचित अभ्यासमा यी प्राकृतिक विकासहरूलाई स्वीकार गर्ने, अनुरूप बनाउने वा काम गर्ने कुरा सामेल हुन्छ। डे (शक्ति, पुण्य, अखण्डता) सामान्यतः ताओको उचित पालनको सन्दर्भमा प्रयोग गरिने शब्द हो।यो जीवन र मार्गको साधना हो। आफ्नो आन्तरिक प्रकृति एवं ताओबाट प्रकट हुने र अनुशरण गर्ने विशेष चीजहरूको आन्तरिक प्रकृतिको अनुशरण नै डी हो।पिनयिन (सहजता) बुझ्ने आन्तरिक प्रकृति हो, जसलाई विभिन्न प्रकारले एक व्यक्तिगत प्रकृतिबाट धेरैभन्दा धेरै ब्रम्हाण्डभित्र मानव स्वभावको एक र धेरै सामान्यीकृत धारणाको लागि व्याख्या गरिएको छ र यो त्यसैमा निर्भर हुन्छ।यसरी ताओवादी दर्शनले मानव जाति र ब्रम्हाण्डको बीचमा सम्बन्धमाथि एक व्यापक, अधिक प्राकृतिक दृष्टिकोण लिन्छ।

ताओवादी विचार वास्तविकता, दीर्घायु, स्वास्थ्य, अमरता, जीवन शक्ति, गैरक्रिया, प्राकृतिक क्रिया, पूर्ण सन्तुलन, अलगाव, शून्यता, सहजता, परिवर्तन, सर्वव्यापी क्षमता, आदिमा केन्द्रित छ।ताओवादको दार्शनिक परम्परा प्रकृति पूजामा आधारित रहेको देखिन्छ।शाब्दिक रूपमा ताओ भनेको पथ, पद्धति, सिद्धान्त, मार्ग, चरित्र सिकाउनु हुन्छ।ब्रम्हाण्डको केन्द्रीय आयोजन सिद्धान्त, एक प्राकृतिक व्यवस्था, प्रकृतिसँग ब्रम्हाण्डको सम्बन्ध, आदि विश्वासमा ताओवादी विचार आधारित छ।ताओवादी दर्शनले संसारको मौलिक र वास्तविक प्रकृतिलाई दर्शाउँदछ।यो ब्रम्हाणको आवश्यक अनाम प्रक्रिया हो।ताओवादले ब्रम्हाण्डभन्दा पहिलेको र पछिको दुवै अवस्थालाई सामेल गर्दछ।

ताओवादका अनुसार सम्पूर्ण भौतिक चीजहरू र दुनियाँमा सबै परिवर्तनहरूको पछाडि एक मौलिक र सार्वभौमिक सिद्धान्त निहित छ, जुन पाँच तत्व (धातु, काठ, पानी, अग्नि र पृथ्वी) को बीचमा परस्पर क्रिया हो।र, स्थूल जगत र सूक्ष्म जगतको बीचमा अन्योन्याश्रित (उदाहरणको लागि ब्रम्हाण्डसँग मानिसको सम्बन्ध) हुन्छ।यो सिद्धान्तले सबै अस्तित्वलाई जन्म दिन्छ र सबै कुरा परिवर्तन तथा सबै जीवनलाई नियन्त्रित गर्दछ।ताओका अनुसार मानिसको उद्देश्य जीवन जिउनु हो, जसको लागि निस्क्रियता, शान्ति र गैर-संघर्षको आवश्यकता हुन्छ।यसलाई वू वेई को रूपमा बुझिन्छ।ताओवादका अनुसार अनन्तकाल भनेको अकथनीय, शाश्वत, रचनात्मक, वास्ताविकता सबै चीजहरूको स्रोत र अन्त हो।वु वेईको सिद्धान्त भनेको बिना कुनै उद्देश्यपूर्ण कार्वाहीको जीवन हो।नैतिक ज्ञान भनेको सरललाई प्रकट गर्ने, आदिमलाई अबलम्बन गर्ने, स्वार्थ कम गर्ने, केही इच्छा राख्ने कुरा हो।यसरी नै ताओवाद अन्तर्गत मानिस र प्रकृतिको बीचमा सद्भाव राख्ने कुरालाई महत्वपूर्ण मानिएको छ।ताओका अनुसार एक व्यक्ति प्रकृतिको निरन्तर परिवर्तनको पाठ्यक्रमलाई बुझ्दछ एवं जीवन र मृत्युको लयबाट डराउँदैन।ताओ दर्शन अनुसार अमरता प्राप्त गर्न आहार-नियम, नियम, सास नियन्त्रण र ध्यान, यौन अनुशासन, रसायन, जादूको उपयोग र स्वास्थ्य, जीवनशक्ति, लामो जीवन, आदिको खोज गर्नुपर्दछ।ताओवाद कुनै धर्म नभएर यो एक दर्शन हो। जीवनलाई हेर्ने एक तरीका र चीजहरूको बारेमा सोच्ने एक तरीका हो।ताओवादी मान्यता अनुसार यदि कोही व्यक्तिले जीवनलाई सही ढंगले हेर्दछ र चीजहरूको बारेमा सही तरीकाले सोच्दछ भने ऊ धेरै खुशी हुनेछ।ताओवाद मूल रूपमा ध्यान र सांसारिक मामिलाहरूबाट निस्क्रिय पुनरागमनको एक रहस्यमय परम्परा, शरीरको भौतिक सीमाहरूको अनुष्ठान र रहस्यमय प्रथाहरूको माध्यमबाट दीर्घायु र त्यसमाथि काबू गर्ने खोजसँग जोडिएको छ।ताओवादमा चीजहरूलाई आफ्नो तरीकाले चल्न दिने उपभोगको अवधारणालाई महत्त्वपूर्ण मानिन्छ।

ताओवादका प्रणेता लाओत्सेले नैतिकता, प्रकृतिप्रति अनुकूलन, केही नगरी शासन गर्ने र सानो आबादीसँगै एउटा सानो क्षेत्रमा रहने कुराको वकालत गरे।उनले विलासिताको त्याग गर्ने, सादगीलाई अपनाउने, आफ्नो हृदयलाई शुद्ध गर्ने, आफ्ना इच्छाहरूलाई सीमित गर्ने, सन्तोषतिर लैजानको लागि खुशीको अनुभव गर्ने जस्ता उपभोगका सोचका कुराहरू प्रष्ट पारे।लाओत्सेले केही इच्छा र सादगीको आधारमा उपभोगका आवश्यकताहरूलाई पूरा गर्नको लागि सन्तोष नियम प्रस्तावित गरे।उनको सोच अनुसार महत्वाकांक्षालाई अनुमोदन गर्नुभन्दा ठूलो दोष कुनै छैन र आफूमा असन्तुष्ट हुनुभन्दा ठूलो विपत्ति अरु कुनै हुँदैन।सन्तुष्टिको मापन भौतिक वस्तुहरूमा हुँदैन, बरु कसैको हृदयको सन्तुष्टिमा हुन्छ।यदि कुनै व्यक्ति जे ऊसँग छ त्यसबाट सन्तुष्ट हुन सक्दैन भने यो सबभन्दा ठूलो विपत्ति वा पीडा हो।सन्तोषले ताओको भावनाको प्रतिनिधित्व गर्दछ।ताओवादले चीजहरूलाई आफ्नो तरीकाले चल्न दिने कुराको उपभोग विचार अनुसार उपभोग आनन्दलाई नकार्दछ र केही इच्छाहरू, सादगी र सन्तोषको वकालत गर्दछ।सन्तोषले कसैको वर्तमान स्थितिमा स्थिरताको माग गर्दछ, जसले मानिसको उपभोगको इच्छालाई निष्पक्ष रूपले दबाइदिन्छ।लाओत्सेका अनुसार उपभोगको बढ्दो मानवीय आवश्यकताहरूलाई दबाउनको लागि केही इच्छा र सन्तोको आवश्यकतामा जोड दिनुपर्दछ। सन्तोष दार्शनिक अर्थहरूले भरिएको छ र कसैको शरीर र आत्माको सामन्जस्य सँगसँगै उपभोग आवश्यकताहरू र उपभोग शक्तिको बीचमा विरोधाभासको समायोजनको लागि यसले सकारात्मक महत्त्व राख्दछ।

ताओवादी दर्शन अनुसार व्यक्ति स्वयंले सांसारिक हित र भावुक इच्छाहरूबाट पूर्ण रूपले मुक्त गरी त्यतिखेरसम्म खुशी वा सर्वोच्च भलाईको माग गर्नुपर्दछ, जबसम्म सबै गतिविधिहरूबाट मुक्ति मिल्दैन।निस्क्रियता, सरलता र प्रकृतिसँग सद्भाव कायम राख्नु नै ताओवादी सिद्धान्तको महत्त्व रहनजान्छ।ताओवादी दार्शनिक सिद्धान्त दुई विरोधी शक्ति – यिन र यांग (विपरीतको बीच प्राकृतिक गतिशील सन्तुलन) को एकताको कानूनमाथि विश्वासमा आधारित छ। यदि कसैले एक निश्चित आवश्यकतालाई प्राप्त गर्नको लागि अति धेरै प्रयास गर्दछ भने प्रत्यार्तित (reverted) प्रयासको निमयले कार्य गर्न शुरु गर्दछ र त्यसको परिणाम इच्छा भन्दा ठीक विपरीत हुन्छ।ताओवादी दृश्य प्रतीकहरूमा सबभन्दा प्रसिद्ध यिन-यांग हो।ताओवादी ब्रम्हाण्ड विज्ञानको सन्दर्भमा चक्रले ताओको प्रतिनिधित्व गर्दछ, जसमा अपरिवर्तित एकता हुन्छ र जसमध्येबाट सबै अस्तित्व उत्पन्न हुन्छ।चक्रभित्र कालो र सेतो शिविरले ऊर्जाको प्रतिनिधित्व गर्दछ, जसको परस्पर क्रियाले प्रकट दुनियाँलाई जन्म दिन्छ।यसैबाट पाँच तत्व र दस हजार चीजहरू बन्दछन्।यिन र यांग पारस्परिक रूपले सम्बन्धित हुँदै एक-अर्कोबाट लगातार रूपान्तरित भइरहन्छन्।एक अर्कोबिना अस्तित्वमा रहन सक्दैन किनकि प्रत्येकमा एक अर्कोको सार हुन्छ। रात दिन बन्दछ र दिन रात बन्दछ। जन्म मृत्यु बन्दछ र मृत्यु जन्म बन्दछ। साथी दुश्मन बन्दछ र दुश्मन साथी बन्दछ।ताओवादका अनुसार नातेदार सम्बन्ध दुनियाँमा सबै कुराको प्रकृति हो।यिन-यांग प्रतीकलाई हेर्ने अर्को तरीका हो – कालो र सेतो हिस्सा एक सिक्काको दुई किनारा समान हो। सिक्का घुमाउँदा केवल हेड वा टेल मध्ये एउटा मात्र उत्तर मिल्छ।तिनीहरू अलग-अलग छन् तर पनि एक-अर्को बिना अस्तित्वमा रहन सक्दैनन्।चक्रमा यी दुई हिस्सा हुन्छन्।यिन-यांगमा प्रत्येक आधाभित्र सानो घेरा हुन्छन्, जसले कालो-सेतो विपरीतहरूको अन्योन्याश्रित प्रकृतिको निरन्तर अनुस्मारक (reminder) का रूपमा काम गर्दछन्।यसबाट के स्पष्ट हुन्छ भने सबै सम्बन्धित वा सापेक्ष अस्तित्व निरन्तर प्रवाह र परिवर्तनमा हुन्छन्।ताओवादी सिद्धान्त अनुसार सापेक्ष र निरपेक्षको पहिचान हामी यसरी गर्न सक्दछौं – प्रकाशभित्र अन्धकार छ, तर त्यो अध्यारोलाई बुझ्ने कोशिस गर्नुहुँदैन।अध्यारोभित्र प्रकाश छ तर त्यो प्रकाशको खोजी गर्नुहुँदैन।प्रकाश र अन्धकार एक जोडी हो, जस्तो पहिलो र दोस्रो खुट्टा हो। प्रत्येक वस्तुको आफ्नो आन्तरिक मूल्य हुन्छ तथा कार्य र स्थितिमा बाँकी सबैसँग सम्बन्धित हुन्छन्।साधारण जीवन एक बाकस र त्यसको ढक्कनको रुपमा पूर्ण रूपले फिट हुन्छ।सापेक्षसँगै पूर्ण काम गर्दछ, मध्य हावामा दुई तीरहरूको बैठक जसरी।अस्तित्व र गैर-अस्तित्व एक ध्रुबीयता हो, जसलाई यिन-यांगद्वारा स्पष्ट पारिएको तरीकाबाट बुझ्न सकिन्छ। पारस्परिक रूपले उत्पन्न हुने र अन्योन्याश्रित विपरीत जुन निरन्तर गतिमा छन्, तिनीहरू एक अर्कोमा बदलिरहेका छन्।दुनियाँका चीजहरू लगातार देखिइरहेका छन् र घुलिरहेका छन् किनभने जुन तत्वहरूको रचना भएका छन्, तिनीहरू तिनको जीवन-मृत्यु चक्रबाट गुज्रिन्छन्।

ताओ दर्शन अनुसार ब्रम्हाण्डमा कुनै पनि वस्तु स्थिर छैन, प्रत्येक वस्तु हरेक समय रूपान्तरित भइरहेको छ।ऊर्जाको प्रवाह, क्रिया, अस्तित्व र सक्रिय सिद्धान्तको आवश्यक ऊर्जाको रूपमा कुनै पनि जीवित चीजहरूको हिस्सा बन्दछ।यसरी ताओवाद सार्वभौमिक क्रमलाई सन्तुलित राख्ने प्रभाव हो।यो दर्शन अनुसार अस्तित्वका सबै स्तरहरूको बीचमा उपमाहरू विद्यमान हुन्छन्।ब्रम्हाण्ड, पृथ्वी र मानव जाति समान रूपले संरचित भएको छ र एक-अर्कोसँग जोडिएर सम्पूर्णको निर्माण गर्दै विस्तार भएको छ।ताओ दर्शन अनुसार प्राकृतिक नियमहरूको बोधको माध्यमबाट एक व्यक्ति, प्रकृति र त्यसका सबै परिवर्तनहरू अनुसार रहेर यिनीहरूलाई आत्मसात गरी अनन्त जीवन प्राप्त गर्न सकिन्छ।परिघटनाहरूको रूपान्तरण र परिवर्तनसँगै एवं त्यसको कारण अनुसार हरेक प्राणीले अनायास, अन्तर्ज्ञान र आवेगबाट आफ्नो मार्ग स्थापित गर्दछ।यसरी सबै चीजहरूलाई परिवर्तनसँगै स्व-विनियम गर्ने, आफ्नो प्राकृतिक रूपमा स्वयंलाई अभिव्यक्त गर्ने मानिन्छ।

ताओ दर्शनले अतिशयोक्ति र अतिउत्सुकता जस्ता क्रियाका अवरोधहरू बिना सहज तरीकाले समग्र सद्भाव र सन्तुलनसहित कामकार्वाही हुनुपर्दछ भन्ने मान्यता राख्दछ।यो आन्तरिक शान्ति हो र यसले सही समयमा सही क्रियालाई दर्शाउँदछ।अर्थात् प्राकृतिक पारिस्थितिक तन्त्रको सामान्जस्यपूर्ण जटिलताले मानव निर्मित परिवर्तन बिना नै राम्रोसँग काम गर्दछ।यसलाई ताओ दर्शनले वू वेई (निस्क्रियता सरल कार्वाही) भनेको छ।यसलाई उदाहरणको रूपमा एउटा धारामा पानीको प्रवाहको अनुकूलताबाट बुझ्न सकिन्छ।पानी कुनै जागरूकता बिना नै स्वाभाविक रूपले तलतिर बहन्छ।यसलाई कुनै वस्तुद्वारा अबरुद्ध गरियो भने यसले चारैतिर अन्य मार्ग खोज्दछ।पानीले बिना उद्देश्य आफ्नो कार्य गर्दछ।यदि कोही पानीमा यात्रा गर्न चाहन्छ भने उसले नाउ वा जहाजको उपयोग गर्नुपर्दछ।किनकि त्यो पानीमा राम्रोसँग घुम्न सक्दछ।यदि कोही जमिनमा हिड्न चाहन्छ भने नाउ हिड्नको लागि उपयुक्त हुँदैन।

ताओवादले जड समस्याको रूपमा मानिसको इच्छालाई पहिचान गर्दैन, बरु मानिसले आफ्नो इच्छालाई प्राकृतिक ब्रम्हाण्ड अनुरूप राख्नुपर्छ भन्ने कुरामा जोड दिन्छ।ताओवादी मान्यता अनुसार ब्रम्हाण्डले पहिले देखि नै आफ्नो तरीकाले सामन्जस्यपूर्ण ढंगमा काम गर्दछ।यदि कुनै व्यक्तिले आफ्नो इच्छालाई संसारको विरुद्धमा वा त्यसमाथि लागू गर्दछ भने त्यसले पहिलेदेखि विद्यमान सद्भावलाई अबरोध गर्नेछ र त्यो जीवनको प्रवाहको विरुद्ध जानेछ।उदाहरणस्वरूप गर्मी, जाडो, आदि मौसमहरूको सामन्जस्यपूर्ण परिवर्तनले राम्रोसँग काम गर्दछ तर मानव निर्मित ग्लोबल वार्मिङ, आदिले प्राकृतिक सद्भाव अव्यवस्थित हुन्छ।नदीको बाँधले विनाश निम्त्याउन सक्छ, जमिन अनुर्बर हुनसक्छ, जसको कारण उत्पादन कम पनि हुनसक्छ।यसरी समग्र रूपमा प्राकृतिक सद्भाव बिग्रिन सक्छ।

ताओवादका अनुसार पुनरागमन आपसमा जोडिएको सम्पूर्णताको र एकताको पुनरागमन स्वाभाविक रूपले र सहज रूपले कार्य गर्दा मात्र पूर्ण हुन्छ।ताओवादी मान्यता अनुसार पूर्णतालाई खाली, नरम र सहज मानिन्छ र यही अनुसार सहज र एकै स्थितिको अनुकूल कार्वाही हुनुपर्दछ। कुनै पनि कार्यको पूर्णताले अन्तर्ज्ञानद्वारा अघि बढ्ने सबभन्दा राम्रो तरीका पत्ता लगाउँदछ ।कुनै पनि कार्य परिवेश, परिस्थिति र साधन अनुरूप हुनुपर्दछ।यसकारण ताओ दर्शनको वू वेईलाई रचनात्मक निस्क्रियता मान्ने गरिन्छ।ताओवाद सबै चीजहरूलाई बुझ्ने र आफ्नो तरीका अनुसार नै हुने गतिविधिहरूको विशेषता हो।वू वेई ताओ दर्शनको मार्गरेखा हो, जसले सबै चीजहरूभित्र नरम र अदृश्य शक्तिलाई प्रकट गर्दछ।

ताओ दर्शन अनुसार पु अर्थात् सरलता वा ग्रहणशीलताको एक निस्क्रिय स्थितिलाई महत्त्वपूर्ण रूपमा लिएको देखिन्छ।यसलाई मनको वास्तविक स्वरूप मानिन्छ र यो ज्ञान वा अनुभवबाट मुक्त हुन्छ। यो कुनै पूर्वाग्रहबिना भ्रमको शुद्ध क्षमता र धारणाको स्थितिको प्रतीक हो। यसले एक लक्ष्यहीन क्रियाको वर्णन गर्दछ किनकि एक लक्ष्यसँगै व्यक्तिको लक्ष्यको बारेमा चिन्ता विकसित गर्नेछ।यसले हुनुको उद्देश्य बिना केवल हुने कुराको वर्णन गर्दछ।अर्थात् केवल बजाउनको लागि एक बाद्य यन्त्र बजाउनु र बजाउने बारेमा नसोच्नु किनभने अन्यथा व्यक्ति आफ्नो तरीकामा आउँदछ र स्वयंले खेलमा अवरोध उत्पन्न गर्नेछ।

यसैगरी ताओ दर्शन अनुसार ते लाई शक्ति, सदाचार, हृदय, अन्तर्निहित चरित्र, व्यक्तिगत चरित्र, आन्तरिक शक्ति, अखण्ताको रूपमा व्याख्या गरेको छ। यसैअनुसार सबै चीजभित्र ताओको अभिव्यक्ति हुन्छ।ताओको तरीकाको सक्रिय अभिव्यक्ति, सक्रिय रहनसहन वा साधना, अनिर्धारित कार्यको माध्यमबाट ताओको अभिव्यक्ति र कार्यान्वयन हुन्छ।ताओले अनिर्धारित क्रियाहरूको माध्यमबाट स्वयंलाई लागू गर्दछ र प्रकट गर्दछ।ताओको सम्मान गरिन्छ र ते को मूल्य मानिन्छ भने कुनै पनि नियमको आवश्यकता पर्दैन।सबै कुरा स्वयंमा टिकाउ हुन्छ।त्यसकारण ताओलाई बनाउन, उत्पन्न गर्न, पोषण गर्न, प्रसार गर्न, पूरा गर्न, परिपक्व हुन, पाल्न र रक्षा गर्न अनुमति दिनुपर्दछ।यसरी तेको पूर्णताको धारण गर्नुको अर्थ आफ्नो मूल प्रकृतिसँग पूर्ण सामन्जस्यमा हुनु हो।

ताओ दर्शन अनुसार ब्रम्हाण्डमा सबै चीजहरू मानव जातिसहित ब्रम्हाण्डको लागि यिनयांग एक महत्त्वपूर्ण अवधारणा हो।स्वयंलाई बुझेर मानिसले ब्रम्हाण्डको ज्ञान प्राप्त गर्न सक्दछ।ताओवादले ब्रम्हाण्डका सबै चीजहरू उच्चतम् वास्तविकता र उच्चतम् रहस्य, आदिकालीन मौलिकता र एकता, एक लौकिक नियम र एक निरपेक्ष, आदि सबैलाई समेटेर व्यापक सिद्धान्त बनाएको देखिन्छ।

ताओवादी दर्शनले तीन गुणहरूको उल्लेख गरेको छ।पहिलोमा करूणा, दया र प्रेम, आदि पर्दछन्।दोस्रोमा संयमता, सरलता र मितव्यिता, आदि पर्दछन् ।र, तेस्रोमा विनम्रता, शालीनता, आदि पर्दछन्। ताओवादले ब्रम्हाण्डको रहस्य जानी एकीकृत रहस्यमा स्थापित गर्नुलाई बुद्धि भनेको छ, जसलाई एक धमनी जस्तै कार्यरूपमा हेरिएको छ।बुद्धिमान व्यक्तिले मौनतालाई मन पराउँदछ। बुद्धिमान हुनु शान्तिमा सक्रिय हुनु हो र केही गर्नु धेरै महत्वपूर्ण छ भन्ने पहिचान गर्नु हो।बुद्धिमान व्यक्तिले पहिले स्वयंलाई नकार्दछ र अन्तिम हुने प्रयास गर्दछ, तर छनौटमा प्रथम हुन्छ।उसले देखेका सबै कुराहरूलाई पूर्ण रूपले भरोसा गर्दैन, जति उसले अन्तरज्ञान र उसको अन्तर्भावनाको पालना गर्नेछ।बुद्धिमान व्यक्तिको ज्ञान महान व्यक्तिहरूको ज्ञानको विपरीत हुन्छ।उसको मन मुक्त र अविचलित हुन्छ र उसले आफ्ना यी धनलाई आफ्नै हृदयमा जम्मा गर्दछ।

लाओत्सेको एक मात्र महत्त्वपूर्ण कृति ताओ ते चिंग (the way and its power) हो, जसमा ताओवादी दर्शनको सम्पूर्णता पाइन्छ।८१ साना-साना र मार्मिक अध्यायहरूमा संग्रहित यो रचना ताओसँगै सद्वभावमा रहने सल्लाहले भरिएको छ, जसलाई मार्गको रूपमा पनि जानिन्छ।यसले सम्पूर्ण जीवनलाई रेखांकित गर्दछ भन्ने मान्यता राखिन्छ।यो कृति लगभग ईपू छेठौं शताब्दीको आसपासमा लेखिएको मानिन्छ तर अझै पनि यो अति प्रासांगिक देखिन्छ।लाओत्सेका अधिकांश शिक्षाहरू समयको कसौटीमा खरो उत्रिएका देखिन्छन्।उनको ताओवाद छैठौं ई.पू.देखि पुस्तौंपुस्ता हुँदै अहिलेसम्म पनि महत्त्वपूर्ण रहेको देखिन्छ।यसलाई ताओ ते चिंगमा मूल रूपले समेटिएको छ र यसको संसारमा धेरै भाषाहरूमा अनुवाद पनि भइसकेको छ।

ताओवादी दर्शन सादगी, धैर्य र करूणा गरी तीन खण्डमा आधारित छ।लाओत्सेका अनुसार यी तीन सिद्धान्त सबभन्दा ठूला निधि हुन्।उनका अनुसार कार्य र विचारहरूमा सरल भएपछि अस्तित्वको स्रोततिर फर्किन सकिन्छ। साथी र दुश्मन दुवैसँग धैर्यपूर्वक चीजहरू अनुरूप हुन सकिन्छ र स्वयंप्रति करुणामय भएर संसारका सबै प्राणीहरूसँग मेलमिलाप गर्न सकिन्छ।ताओवादका अनुसार वर्तमान क्षणमा जेसुकै हुन्छ, त्यसलाई पूर्ण रूपले स्वीकार गर्नुपर्दछ।स्वयंलाई पूर्ण रूपले वास्तविकतामा रहन दिनुपर्दछ।आफ्ना गल्तीहरूलाई स्वीकार गर्नुपर्दछ किनभने तिनीहरू शक्तिका सबभन्दा ठूलो स्रोत हुनसक्दछन्।ताओसँग तालमेल गर्नका लागि हमेशा खेलका भावनाहरूसँग प्रतिस्पर्धा गर्नुपर्दछ।ताओवादी दर्शन अनुसार केही पनि पछि राख्नुहुँदैन र जे कुरा छ,त्यसप्रति स्वयंलाई पूर्ण रूपले समर्पित गरिदिनुपर्दछ।आफ्नो नियन्त्रणमा भएको र नभएको वस्तुको बीचको अन्तरलाई बुझ्नुपर्दछ।मृत्यु अन्तिम परिणाम भएकोले यसबाट कदापि डराउनु हुँदैन।त्यसरकाण मृत्युको लागि तयार हुनुपर्दछ  किनभने यो कुनै पनि समय आउन सक्दछ।कुनै पनि चीजलाई पक्रिराख्नु हुँदैन किनभने केही पनि हमेशाको लागि रहँदैन।जे राम्रो गर्न सकिन्छ, आजै गर्नुपर्दछ र कुनै पनि चीजलाई आफ्नो अधिनमा राख्नु हुँदैन किनभने भोलि त्यो नहुनसक्छ।हामीले जे गर्छौं त्यसमा आनन्दित हुनुपर्दछ र केवल एक चीजको मालिक बन्नुपर्दछ – त्यो हो वर्तमान क्षण।एक पल गुज्रने वित्तिकै त्यो अर्को नयाँ पलमा फर्किन्छ।जुन चीजले धेरै दुःख दिएको हुन्छ, त्यसलाई छोडदिनुपर्दछ।हाम्रो मनमा भएको भ्रमले हामीलाई त्याग गर्न दिँदैन।वास्तविक बुद्धिमत्ता के हो भने हामीले जे कुरा धारण गरिरहेका छौं, त्यसलाई त्याग्नको लागि तयार हुनुपर्दछ र वर्तमानलाई जस्तो छ, त्यस्तै स्वीकार्नुपर्दछ।

आफूलाई र अरूलाई कसरी आँकिन्छ भन्ने कुराको निरीक्षण गरी आफ्ना दोषहरू जान्ने प्रयास गर्नुपर्दछ।गल्ती गरेपछि महसुस हुनुपर्दछ।गल्ती महसुस गरेपछि यसलाई स्वीकार्नुपर्दछ।गल्ती स्वीकारेपछि यसलाई ठीक गर्नुपर्दछ।गल्ती देखाउने मानिसहरूसँग बेखुशी हुनुहुँदैन।यसको सट्टा उनीहरूलाई उदार शिक्षकहरूको रूपमा मान्नुपर्दछ।हरेक दोषपूर्ण महसुसलाई हिनताबोधको रूपमा होइन, बरू आत्म-जागरूकता बढाउन र उत्तम बन्ने अवसरको रूपमा लिनुपर्दछ।आफ्ना शत्रुहरूलाई आफ्नो छायाँको रूपमा हेर्नुपर्दछ।उनीहरूले आफ्ना गल्तीहरूलाई याद गराउँदछन् र सुधार्ने अवसर प्रदान गर्दछन्।स्वयंको गल्ती स्वीकार गर्नु सबभन्दा कठिन काममध्येमा एक हो, किनभने यसले स्वयंको अहंकारमा चोट पुर्‍याउँदछ।तर के कुरा बुझ्नुपर्दछ भने जसले अहंकारलाई चोट पुर्‍याउँदछ, त्यो स्वयंको आत्माको लागि राम्रो हुन सक्दछ।आत्मनीरीक्षणबाट होस् अथवा अन्यका दोषहरूलाई हेरर, आफ्नो चेतना बढाउन र स्वयंलाई सुधार्नको लागि आफ्ना कमीकमजोरीहरूलाई खोज्नुपर्दछ।

प्रतियोगिताको उद्देश्य खेल-खेलमा सृजना र सुधार गर्नु हो। प्रतियोगिताको बेलामा बिरोधीहरूको दिन खराब होस् भन्ने चाहानु हुँदैन। हरेकले आफ्नो सर्वश्रेष्ठ प्रदर्शन गरून् ताकि उनीहरूले खेलको स्तरलाई बढाउन सकून, त्यसपछि एक राम्रो खेल होस् र खेलको भावनालाई बाहिर ल्याउन सकून भन्ने चाहना राख्नुपर्दछ।प्रतियोगितालाई अहंकार-प्रेरित घटनाको रूपमा होइन, बरु आफ्नो कौशललाई खोल्ने र सुधारको अवसरको रूपमा हेर्नुपर्दछ।प्रतियोगिताको अन्तमा परणामको कुनै परवाह नगरी प्रत्येक व्यक्ति पहिलेभन्दा राम्रो निस्कियोस् भन्ने चाहना राख्नुपर्दछ।समुदायको भलाइको लागि सबभन्दा राम्रो काम गर्नुपर्दछ र समुदायका इच्छालाई सुन्नुपर्दछ।सत्ता, प्रसिद्धि वा धनको लागि शीर्ष स्थानमा रहने चाहना गर्नुहुँदैन।शक्ति, प्रसिद्धि र धनको उपयोग हमेशा प्राथमिक लक्ष्य अनुरूप एक उत्तम संसार निर्माणको लागि गर्नुपर्दछ।एक खेलाडी, नेता वा उद्यमीको रूपमा हाम्रो उद्देश्य एक मानवको रूपमा सफल हुनु र संसारमा उत्तमता ल्याउनु हुन्छ।यसलाई हामीले राम्रो प्रदर्शन गरेर, कुनै कारणले अन्यको नेतृत्व गरी, प्रेरणा प्रदान गरी, उत्पादन बनाएर वा आफ्नो समाजको सेवा गरी पूरा गर्न सकिन्छ।यसो गर्नको लागि धन, प्रसिद्धि र शक्ति हाम्रा उपकण हुन्, लक्ष्यको लागि अन्तिम लक्ष्य होइन।

ताओवादी साधना अनुसार प्रथामा स्थिर ध्यान, आन्तरिक रासायनिक ध्यान, अनुष्ठान, मार्शल आर्ट, आहारको माध्यमबाट जीवनको पोषण, मौसम र क्यालेन्डर अनुसार सद्भावमा रहने, आदि कुरा सामेल भएको देखिन्छ।ताओवादी साधनामा शारीरिक स्वास्थ्य र जीवनशक्ति एकसाथ देखिन्छ।ताओवाद एक विविध र समृद्ध बोध र अभ्यासको परम्परा हो, जसलाई व्यक्ति, समुदाय र दुनियाँलाई अधिक सद्भावमा ल्याउनको लागि रचना गरिएको प्रतीत हुन्छ।यसानुसार शरीरलाई ब्रम्हाण्डको रूपमा हेरिन्छ।जब कुनै व्यक्ति सामन्जस्यमा हुन्छ, उज्ज्वल र शान्त हृदयसहित महत्वपूर्ण सारबाट परिपूर्ण हुन्छ, तब ऊ स्वास्थ्यको स्थितिमा हुन्छ।यो ताओवादी अभ्यासको एक मूल लक्ष्य हो।पौष्टिक अभ्यास ताओवादी अभ्यास र जीवनशैलीको जग हो, जुन ताओको प्राकृतिक लय अनुरूप छ।यो स्वरूपमा निद्रा, आहार, स्नान, आन्दोलन र शान्त अभ्यास, अखण्डता, आदिको अभ्यास सामेल छ।ताओवादी मान्यता अनुसार आपसी सम्मान शिष्टाचारलाई दर्शाउन झुक्ने कुरालाई प्रतीकको रूपमा मानिन्छ।यसमा बायाँ हात बाहिरतिर राखेर झुक्ने गरिन्छ।सदाचारको साधना ताओवादको जग हो।ताओवादले यसै अनुसार सम्पूर्ण उपलब्धि हासिल गर्न सकिन्छ भन्ने मान्यता राख्दछ।व्यवहारिक रूपमा ताओवादले नैतिक व्यवहार अपनाउने सल्लाह दिन्छ।ताओवादले हत्या, चोरी, झुट बोल्ने, अनैतिकता, आदिलाई अस्वीकार गर्दछ र परोपकारी, सहयोगी र दयालु व्यवहारलाई बढावा दिन्छ।ताओवादी मान्यता अनुसार यसप्रकारको राम्रो व्यवहार आत्मसुधारको अनिवार्य हिस्सा मात्र नभएर दुनियाँलाई समग्र रूपले सुधार्ने पनि एक अनिवार्य हिस्सा हो।

यसरी ताओवादी मान्यताले मानिसहरूलाई स्थिर र शान्तिपूर्वक जिउन प्रोत्साहित गर्दछ।यसैगरी गैर-क्रियामा आराम गर्ने र दुनियाँको उतारचढावमा मुस्कुराउने कुरालाई महत्त्वपूर्ण रूपमा व्यक्त गर्दछ।नैतिकता र सदाचार सँगसँगै समुदायको निर्माण ताओवादी दर्शनको केन्द्रमा देखिन्छ।ताओवादको निरन्तर र अचूक शिक्षा के हो भने मानिस वास्तवमा जीवनका घटनाहरूमा हस्तक्षेप गर्नमा सक्षम छ तर मानिसले लगातार बेवास्ता गर्ने जीवनको प्रमाण के हो भने यस्तो हस्तक्षेप सबै मानिसहरूको लागि विनाशकारी हुन्छ।त्यसकारण हाम्रो नैतिकता र कर्तव्य यसप्रकारको कार्वाही गर्नबाट बच्नु हो।यसप्रकार ताओवादी मान्यता अनुसार कारवाही शुरु नगर्ने तर कारवाहीलाई आवश्यक बनाउनको लागि प्रतीक्षा गर्नु हो र आफ्ना इच्छा र आवश्यकताका लागि उनीहरूलाई धक्का दिनुबाट बच्नु हो।ताओवादी दर्शन अनुसार एक व्यक्तिले स्वयंलाई बदलेर कार्वाही गर्नु र यसरी अन्यको लागि राम्रो जीवनको उदाहरण बन्नु हो।व्यक्तिले स्वयंलाई विकसित गर्नुपर्दछ ताकि उसले ब्रम्हाण्डसँग पूर्ण सद्भावमा आफ्नो जीवन व्यतीत गर्न सकोस्।तत्वज्ञान राम्रो काम गर्ने कुरा मात्र होइन, बरु राम्रो मानिस बन्ने हो।यसरी स्वयंलाई बदलेपछि दुनियाँ एक श्रेष्ठ स्थान बन्नेछ, किनकि जब-जब एक व्यक्तिले अन्य मानिसहरू र दुनियाँप्रति राम्रो व्वहार गर्नेछ, समुदाय स्वयंले धेरै राम्रो बनेर प्रतिक्रिया दिनेछ। ताओवादका अनुसार एक उत्तम नेता त्यसलाई मानिन्छ, जसलाई मानिसहरूले सम्मान गर्दछन् र जसका निर्देशनहरूलाई स्वेच्छापूर्वक पालना गर्दछन्।उत्तम नेता व्यक्तिगत रूपमा सदाचारी जीवन जिउने र सार्वनजिक रूपमा रहने कुराले बनाउँदछ।नेताले आफ्ना जनतालाई राम्रोको लागि प्रभावित गर्न सक्नुपर्दछ।यसरी ताओवादी मान्यता अनुसार व्यक्तिले अन्यको जीवनलाई निस्वार्थ रूपले लाभान्वित गर्दै स्वयंले आत्मसन्तुष्टि प्राप्त गर्दछ।

ताओवादी मार्ग प्रकृतिको प्रवाह अनुरूपको दृष्टिकोण हो।मानव जीवन वास्तवमा प्रकृतिको एक महान प्रक्रियाको एक सानो हिस्सा हो र बोधमा आउने मानव जीवन प्रकृति अनुरूप छ भन्ने कुरा महसुस गराउने ताओवादी दर्शनको मूल मान्यता हुनजान्छ।

ताओवाद एकता र विपरीतको दर्शन हो।यसको प्रसिद्ध प्रतीक यिन र यांगको चक्रमा स्पष्ट देखिन्छ।यो ब्रम्हाण्डमा दुई मौलिक विपरीत शक्तिहरूको प्रतिनिधित्व हुन्छ – जस्तो कि प्रकाश र अध्यारो, भाले र पोथी, तातो र चीसो, आदि।ताओवादको एक प्रसिद्ध वाक्य के छ भने सर्वश्रेष्ठ पानी जस्तै हो, जसले प्रतिस्पर्धा गर्ने कोशिस बिना नै सम्पूर्ण सृष्टिलाई लाभान्वित गर्दछ।

यसरी प्रसिद्ध चिनियाँ दार्शनिक लाओत्सेको करिब २००० वर्ष अघि लेखिएको ताओ ते चिंग अन्तर्गतको ताओवादी दर्शनले कैयौं शताब्दीको क्रममा चीनका मानिसहरूको साथसाथै कैयौं एशियाली देश र हालसम्म आउँदा पश्चिमी देशका मानिसहरूलाई समेत मोहित र प्रेरित गरेको देखिन्छ।ताओवादी दर्शन बिना कुनै अवरोध सार्वभौमिक छ। यसले सांस्कृतिक आदान-प्रदान र आपसमा सिक्ने कुरालाई बढावा दिएको छ।ताओवादले सहअस्तित्वमा जोड दिन्छ।यसले व्यापक हृदयले सबैलाई अंगालो हाल्छ ।यसले अनुकम्पा, दया, धार्मिकता, इमान्दारिता, निष्पक्षता, शिक्षण, विश्लेषण, आत्मपरीक्षण, प्रकृतिसँग सद्भाव, आत्म-स्वीकार, आदि जस्ता मूल्य-मान्यताहरूलाई उजागर गर्दछ।यो दर्शनले अधीनता स्वीकार गर्ने अवधारणा वा विश्वासलाई अस्वीकार गर्दछ।यो दर्शनले पूर्ण शक्तिसहित एकरूपता प्राप्त गर्ने मार्गको रूपमा स्थिरतालाई उच्च रूपमा लिन्छ।ताओवाद एक सक्रिय शक्ति (यांग), एक निस्क्रिय शक्ति (यिन) र यिनै दुईलाई समावेश गर्ने तेस्रो शक्ति (ताओ) गरी तीन शक्तिहरूको अस्तित्वमा आधारित छ।ताओवादले प्रकृतिको प्रवाहसँगै मानिसमा एक बोध र एकीकरणको प्रस्ताव गर्दछ।ताओवादी मताअनुसार मौन र स्थिरताको अभ्यास जरुरी हुन्छ र पूर्ण विश्रामको अवस्थामा मात्र यो चिन्तन गर्न सकिन्छ।यो दर्शन अनुसार प्राकृतिक चीजहरूको नियन्त्रण र हस्तक्षेप गर्नुहुँदैन नत्र समस्या निम्तिन्छ। यो शान्ति र सद्भावको लागि सुन्दर दर्शन हो। ताओवादी दर्शन संसारभरी तीव्र रूपमा प्रभावशाली भएको पाइन्छ।

लाओत्सेका ताओवादी विचारहरूको सारलाई बुँदागत रूपमा यसरी पनि बुझ्न सकिन्छ

  • असल मानिसहरूसँग असल व्यवहार गर्नुपर्दछ, खराब मानिसहरूसँग पनि असल व्यवहार गर्नुपर्दछ।यसरी सच्चाई प्राप्त हुन्छ।इमान्दारसँग इमान्दार हुनुपर्छ र बेइमानसँग पनि इमान्दार नै हुनुपर्दछ।यसरी इमान्दारिता प्राप्त गर्न सकिन्छ।
  • शब्दहरूमा दयाले आत्मविश्वास सिर्जना गर्दछ। विचारमा दयाले रहस्य ल्याउँछ। दिनेमा दयाले प्रेम सिर्जना गर्दछ।
  • जब तपाईं खुसीसाथ आफू भएकोमा सहमत हुनुहुन्छ र तुलना, प्रतिस्पर्धामा पर्नुहुन्न भने सबैले तपाईंलाई आदर र सम्मान गर्छन्।
  • जीवन प्राकृतिक र सहज परिवर्तनहरूको श्रृंखला हो। तिनीहरूलाई रोक्नु हुँदैन। सत्यलाई सत्यकै रूपमा स्वीकार्नुपर्दछ। चीजहरूलाई स्वाभाविक रूपमा जस्तो हुन चाहन्छन्, त्यस्तै हुन दिनुपर्दछ।
  • आफूसँग जे छ त्यसैमा सन्तुष्ट हुनुपर्दछ, जे चीज छ, त्यसैमा खुसी हुनुपर्दछ। जब कुनै पनि कुराको कमी छैन भन्ने महसुस हुन्छ, तब सारा संसार आफ्नै हुनेछ।
  • मान्छेहरू प्रायः चीजहरू सम्हाल्नमा सफल हुँदाहुँदै असफल हुन्छन्, यदि कोही शुरुमा जस्तै अन्त्यमा पनि उस्तै सजग हुन्छ भने उसले असफल हुनु हुँदैन।
  • नेता बन्नुपर्छ तर मालिक कहिल्यै हुनुहुँदैन।खराब नेता त्यो हो, जसलाई मानिसहरूले घृणा गर्छन् । राम्रो नेता त्यो हो, जसलाई मानिसहरूले सम्मान गर्छन्। ठूलो नेता त्यो हो, जब मानिसहरूले भन्छन्, यो हामी आफैले गर्यौं।
  • सबै कुरा परिवर्तन हुन्छ भन्ने कुरा तपाईंलाई थाहा छ र तपाईं मृत्युदेखि डराउनुहुन्न भने तपाईंले पाउन नसक्ने कुनै पनि चीज हुँदैन।
  • यदि तपाईं परिवर्तन चाहनुहुन्न भने समयको आधारमा तपाईको अन्त्य अवश्य हुनेछ।
  • अरूलाई बुझ्नको लागि बुद्धिमत्ता र चातुर्यता चाहिन्छ। आफूलाई बुझ्नको लागि स्वयंलाई प्रकाशित गर्नुपर्छ। अरूलाई हराउन बल चाहिन्छ र आफैलाई पराजित गर्न आन्तरिक शक्ति चाहिन्छ।
  • जसले स्ययंमा विश्वास गर्छ, ऊ स्वयंलाई प्रकाशित गर्न सक्षम हुन्छ।
  • प्रेम एक कारण हो र हामी यसैको कारणले साहसी हुन सक्छौं।
  • जसले धेरै विश्वास गर्दैन, उसलाई पनि विश्वास गरिने छैन।
  • जो आफ्नो कुरामा धेरै जोड दिन्छ, थोरै मानिसहरूले मात्र उसलाई समर्थन गर्छन्।
  • सिकाउनका लागि केवल तीनवटा कुराहरू छन् – सरलता, धैर्यता, दया। यी तीन मानिसका सबैभन्दा ठूला सम्पत्ति हुन्।
  • यदि तपाईंले दिशा परिवर्तन गर्नुभएन भने, तपाईं जहाँ जाँदै हुनुहुन्छ, त्यहाँ पुग्नुहुनेछ।
  • जब कुनै राष्ट्र संघर्षले भरिन्छ, तब देशभक्तहरू फस्टाउँछन्।
  • जो आफ्नो कुरामा धेरै जिद्दी गर्छ, उसलाई समर्थन गर्ने थोरै मान्छे मात्र हुन्छन्।
  • बगिरहेको पानीमा आफ्नो प्रतिबिम्ब देख्न सकिदैन,केवल तिनीहरूले मात्र आन्तरिक शान्ति प्राप्त गर्न सक्दछन्, जसले अन्यलाई दिन सक्दछन्।
  • मौनता महान शक्तिको स्रोत हो।
  • स्वास्थ्य सबैभन्दा ठूलो सम्पत्ति हो। सन्तुष्टि नै सबैभन्दा ठूलो धन हो। आत्मविश्वास सबैभन्दा राम्रो साथी हो।
  • सादगी देखाउनुहोस्, सरलता अपनाउनुहोस्, स्वार्थ घटाउनुहोस्, थोरै इच्छाहरू राख्नुहोस्।
  • कसैको गहिरो मायाले बल दिन्छ र कसैलाई गहिरो माया गर्दा साहस प्राप्त हुन्छ।
  • जुन मन स्थिर हुन्छ, त्यसप्रति सम्पूर्ण ब्रह्माण्ड समर्पित हुन्छ।
  • एक असल यात्रीको कुनै निश्चित योजना हुँदैन र पुग्न लालायित हुँदैन।
  • ज्ञान भएकाहरूले भविष्यवाणी गर्दैनन्। भविष्यवाणी गर्नेहरूसँग ज्ञान हुँदैन।
  • महान कार्यहरू साना-साना कार्यहरूबाट बनेका हुन्छन्।
  • प्रकृतिले कुनै हतार गर्दैन, तर पनि सबै चीजहरू पूरा हुन्छन्।
  • संसारको सबैभन्दा नरम चीजले संसारको सबैभन्दा कठोर चीजलाई जित्छ।
  • हिडिरहेको कमिलाले उँघिरहेको गोरुले भन्दा धेरै काम गर्छ।
  • जीवन र मृत्यु एउटै धागो हो, फरक ढंगले हेरिएको एउटै रेखा हो।
  • यदि तपाईं प्राप्त गर्न चाहनुहुन्छ भने, पहिले दिन सिक्नुहोस्, यो बुद्धिको सुरुवात हो।
  • हजार माइलको यात्रा एक पाइलाबाट सुरु हुन्छ।
  • बिउमा चीजहरू देख्नुपर्छ,  यो नै एक प्रतिभाशाली हुनु हो।
  • जसले जान्दछ, ऊ बोल्दैन।जो बोल्दछ, उसले जान्दैन।
  • पानी भन्दा नरम वा लचिलो केही छैन, तर पनि कसैले यसलाई रोक्न सक्दैन।
  • मैले म हुँ भन्ने कुरा छोड्दछु भने मात्र म हुन सक्दछु।
  • सजिलो हुँदा गाह्रो कामहरू गर्नुपर्छ र तिनीहरू सानो हुँदा ठूलो काम गर्नुपर्दछ।
  • अरूलाई जान्नु ज्ञान हो, आफूलाई जान्नु आत्मज्ञान हो।
  • जो सन्तुष्ट हुन्छ, त्यो नै धनी हो।
  • अरूलाई जित्नु एउटा तागत हो, तर आफ्नो मनलाई जित्नु सबैभन्दा ठूलो तागत हो।
  • शब्दहरूमा दयाले आत्मविश्वास पैदा गर्दछ। सोचमा करूणा हुनाले गम्भीरता पैदा हुन्छ।दिनेको दयाले प्रेम सिर्जना हुन्छ।
  • हामी कहिले पनि बगिरहेको झरनामा आफूलाई देख्न सक्दैनौं, हामीले आफूलाई शान्त झरनामा मात्र देख्न सक्छौं, त्यसैगरी आन्तरिक शान्ति पनि झरना जस्तै कसैलाई दिन सकिन्छ।
  • ज्ञान प्राप्त गर्न चाहनुहुन्छ भने हरेक दिन सिक्नुपर्छ, असल बन्न चाहाने हो भने हरेक दिन खराब  कुराहरू बिर्सनुपर्दछ।
  • यदि तपाईं मानिसहरूको नेतृत्व गर्न चाहनुहुन्छ भने, तिनीहरूलाई पछ्याउनुहोस्।
  • जससँग जानकारी  र ज्ञान छ, उसले भविष्यवाणी गर्न सक्दैन।भविष्यवाणी गर्नेहरूसँग ज्ञान हुँदैन।
  • साँचो शब्द र कुरा  प्रायः असत्य देखिन्छ।
  • तपाईं को हुनुहुन्छ र के चाहनुहुन्छ भन्ने कुराको जवाफ तपाईंको अस्तित्वको केन्द्रमा हुन्छ।
  • मानिस जति धेरै यता-उता भड्किन्छ, उसलाई त्यति नै ज्ञान कम हुन्छ।
  • मानिसले ती कामहरू मात्र गर्नुपर्छ, जुन स्वाभाविक र आवश्यक छ।
  • जसले आफूलाई नम्र बनाउँछ ऊ उच्च हुनेछ।
  • सरलता र सादगी उच्चतम आचरण हो।
  • मानिसको कल्याण मार्ग बुद्धिको पाचनमा होइन, परिश्रमी र आत्मसंयमी जीवनमा हुन्छ।
  • एक सज्जनले घमण्ड गर्दैन र विरोध पनि गर्दैन।
  • आफूलाई सर्वोच्च ठान्ने व्यक्ति उच्च हुन सक्तैन।
  • आत्म-प्रशंसकले प्रसिद्धि हासिल गर्न सक्दैन।प्रसिद्धिको प्राप्तिमा घमण्ड गर्नुहुँदैन । घमण्डबाट मुक्ति पाएपछि प्रतिष्ठा सधैं सुरक्षित हुन्छ।
  • थोरैमा सन्तुष्ट हुने मानिस सफल हुन्छ, जो धेरै चाहन्छ, धेरै जम्मा गर्छ, त्यो असन्तुष्ट हुन्छ, त्यो पथभ्रष्ट हुन्छ।
  • केवल एक नम्र व्यक्ति पूर्ण रूपमा सुरक्षित रहन्छ।
  • इच्छाको अभावमा सन्तुष्टि प्राप्त हुन्छ। वासनामा फसेपछि मानिस असन्तोषी हुन्छ।
  • आफू सम्हालिएपछि अन्य मानिसहरू पनि सम्हालिनेछन्।आफूलाई बदलेपछि मानिसहरू बदलिनेछन्।
  • सन्तले जम्मा गर्दैन। सबै कुरालाई अर्काको ठानेर पनि ऊ स्वयंसँग प्रचुरता हुन्छ। अरूलाई सबै दिएर पनि ऊ स्वयंसँग धेरै हुन्छ।
  • अरुलाई चिन्ने मानिस शिक्षित हुन्छ तर आफूलाई चिन्ने मानिस बुद्धिमानी हुन्छ।
  • सबै कठिन चीजहरूको मूलमा सजिलो चीजहरू हुन्छन् र ठूला चीजहरूको मूलमा साना चीजहरू हुन्छन्।
  • यदि तपाईं कतै बस्न चाहनुहुन्छ भने जमिन नजिकै बस्नुहोस्।सोचमा सरल हुनुहोस्। झगडामा निष्पक्ष र उदार हुनुहोस्। शासनमा नियन्त्रण गर्ने प्रयास नगर्नुहोस्। काममा  आफूलाई आनन्द आउने काम गर्नुहोस्; पारिवारिक जीवनमा  पूर्ण रूपमा संलग्न हुनुहोस्।

सन्दर्भ सामग्रीहरू

१)ताओ उपनिषद (भोलम १-६) – ओसो, डायमण्ड बुक्स

२)लाओ त्सू की ताओ ते चिंग का हिंदी अनुवाद –  अनुवादक डा. आलोक कुमार, क्रियट स्पेश इन्डिपेन्डेन्ट पब्लिसिंङ प्लेटफर्म

३)महान चीनी दार्शनिक लाओत्सु : जीवन-दर्शन एवं रचनाएँ – इला कुमार, हिन्दी पकेट बुक्स

४)ताओ तेह किंग – लाओत्से- ओसो सत्संग।ओसो प्रवचन

५)लाओत्से – बुद्धिमता के सूत्र – दीप त्रिवेदी,

६) Study-Research of Various website and blogs

७)Tao Teh King: An Interpretation of Lao Tse’s Book of the Way and of Righteousness, Charls Jonston

८)Lao Tzu and Taoism – by Max Kaltenmark (Author), Roger Greaves (Translator)

९) The Way of Chuang Tzu by Thomas Merton (Author), Dalai Lama XIV (Preface)



Leave a comment

About Me

I am a student of philosophy and nature. I thoroughly research all subjects and summarize them in Nepali and English. I am Secretary of Marxism Study-Research Academy, Nepal. I am a Social Worker. Education – i) Master of Arts Degree in Political Science – TU, ii) Master of Public Administration Degree – TU, iii) Master of Arts Degree in History-TU, iv) Master of Arts Degree in Nepalese History Culture and Archaeology-TU.

म अध्ययन-अनुसन्धान कार्यमा निस्वार्थ भावले निरन्तर लागेको एक वाम विचारधारायुक्त सामाजिक कार्यकर्ता हुँ। मेरो कुनै पनि राजनीतिक दलसँग संलग्नता नरहेको जानकारी गराउँदछु। मेरा हरेक अध्ययन-अनुसन्धान कार्य शोषण, दमन, अन्याय, अत्याचारका विरुद्ध हुनेछन् । आम श्रमजीवी, भोका-नांगा, गरीब, उत्पीडित जनसमुदायहरूलाई सुशिक्षित गर्ने प्रयत्न मेरो कर्तव्य हुनजान्छ । मेरा सबै कार्य जनहितका लागि हुनेछन् भन्ने आशा तथा विश्वासपूर्वक मैले निरन्तर कार्य अगाडि बढाइरहेको हुनेछु। श्रमप्रति सम्मान र शोषणप्रति घृणा नै मेरा कार्यका उद्देश्य हुनेछन्।  

यहाँ तपाईंहरू सबै प्रकारका सामग्रीहरू अध्ययन गर्न र हेर्न पाउनुहुनेछ । अध्ययन गर्नको लागि रूचियुक्त सामग्रीहरू माग गर्नुभयो भने यथासंभव परिपूर्तिसमेत गरिनेछ । यहाँ लेखरचना, पत्रपत्रिका, म्यागजिन,  जर्नल, विभिन्न पुस्तकहरू (नेपाली, अंग्रेजी र हिन्दी भाषामा), डकुमेन्ट्री, फिल्म, आदि सामग्रीहरू खोजेर पढ्न तथा हेर्न सक्नुहुन्छ।

I am a leftist social worker who is selflessly engaged in research work. I inform you that I am not affiliated with any political party. Every study-research work of mine will be against exploitation, oppression, injustice and tyranny. It is my duty to try to educate the common workers, the hungry, the poor, the oppressed masses. I will continue my work with the hope and confidence that all my work will be for public interest. Respect for labor and hatred for exploitation will be the objectives of my work.

Here you will find all kinds of content to study and watch. If you demand for interesting materials to study, they will be provided as much as possible. Here you can search and read articles, newspapers, magazines, journals, various books (in Nepali, English and Hindi languages), documentaries, films, etc.

श्रमको सम्मान गर्नुभएकोमा धन्यवाद ।

Thank you for respecting the labor.

Newsletter

Marxism-मार्क्सवाद

Communist history

Philosophy-दर्शन

लेनिन-LeninLeninism

दस्तावेज-documents

धर्म-दर्शन

त्रिपिटक–बुद्ध

गीता सार

Politics–राजनीति

ग्रन्थ परिचय

Mao-Maoism

साहित्य- literature

जीवनी-biography

साम्यवाद-communism

युवाबारे-On Youth

कार्ल मार्क्स–Karl Marx

फ्रेडरिक एंगेल्स–F. Engels

भी.आइ.लेनिन–V.I.Lenin

जे. भी. स्टालिन – J.V. Stalin

माओत्सेतुङ – Maotsetung

डिजिटल पुस्तकालय (digital library)

ई-पुस्तकालय -e-library

विज्ञान-प्रविधि (Science-Technology)

सामान्य ज्ञान (GK)

Documentaries and YouTube channels

पुस्तकालय – LIBRARY

नेपाली डिजिटल पुस्तकहरू (Nepali Digital Books)

नेपाली न्यूजपेपर, म्यागजिन र अनलाइन पत्रपत्रिकाहरू (Nepali Newspapers, Online and Nepali Magazines)

English Digital Books : Part – 1 (world communist special books)

English Digital Books : Part – 2

English Digital Books : Part – 3

हिन्दी डिजिटल पुस्तक (Hindi digital Books) भाग – १

हिन्दी डिजिटल पुस्तक (Hindi digital Books) भाग – २

हिन्दी डिजिटल पुस्तक (Hindi digital Books) भाग – ३

हिन्दी डिजिटल पुस्तक (Hindi digital Books) भाग – ४

हिन्दी डिजिटल पुस्तक (Hindi digital Books) भाग – ५

Documentaries and YouTube channels

Uncategorized

ENGLISH SECTION

Design a site like this with WordPress.com
Get started