कम्युनिष्ट नेता हो ची मिन्ह र भियतनामी राष्ट्रिय मुक्ति युद्धको अध्ययन

✍-नारायण गिरी

हो ची मिन्हको क्रान्तिमय जीवनकाल  र उनका महान क्रियाकलापहरू

आधुनिक भियतनामका राष्ट्रपिताका रूपमा विश्वपरिचित हो ची मिन्हको जन्म १९ मे १८९० मा एक साधारण किसान परिवारमा मध्य भियतनामको किमिलियन गाउँमा भएको थियो। उनलाई शुरुमा न्यूगूयेन सिंह कुंग नामले चिनिन्थ्यो र पछि १० वर्षको उमेरदेखि भने उनलाई न्यूगूयेन तात थान्ह नामले चिन्न लागियो। उनी एक अधिकारीका छोरा थिए। त्यसबेला भियतनाम फ्रान्सको उपनिवेश थियो। हो ची मिन्हका पिता न्यूगूयेन मिन्ह सोस विद्रोही स्वभावका थिए। उनले फ्रान्सेली वर्चस्वका विरुद्धमा आफ्नो जागिरबाट राजीनामा दिएका थिए। यसपछि उनीहरूले अत्यन्तै गरीबीमा जीवन बिताउनु परेको थियो। हो ची मिन्ह ११ वर्षका हुँदा उनकी आमाको मृत्यु भएको थियो भने  सन् १९३० मा पिताको मृत्यु भएको थियो। होकी बहिनी थान्हलाई धेरै वर्षसम्म जेल सजाय दिइएको थियो र पछि उनलाई देशनिकाला गरिएको थियो।  

हो ची मिन्हले आफ्नो पढाइको शुरुवात ह्यूबाट गरेका थिए ।  हो ची मिन्हले परम्परागत चिनिया र फ्रान्सेली प्राविधिक शिक्षा लिएका थिए। सन् १९०५ मा १५ वर्षको उमेरमा हो ची मिन्हले फ्रान्सेली भाषाको अध्ययन गरेका थिए। तर आर्थिक संकट र  देशको लागि उनले आफ्नो पढाइ अधुरै छोडेका थिए। त्यसबेला फ्रान्सेलीहरूले भियतनमीहरूलाई अत्यन्तै दमनको शिकार बनाएका थिए। यतिबेलै सन् १९०८ मा शोषण र उपनिवेशवादको विरूद्धमा किसान विद्रोह भएको थियो। त्यसको दोष हो ची मिन्हलाई पनि लागेको थियो। उनले केही समय (लगभग ८ महिना) फान थिएटको एक निजी स्कूलमा पढाउने काम पनि गरेका थिए। यतिबेला उनले विद्यार्थीहरूलाई देशभक्ति, राष्ट्रियता, मातृभाषा, मित्र, शत्रु, मुक्ति आन्दोलन, आदिबारे शिक्षा प्रदान गरे।  हो ची मिन्ह बच्चैदेखि असल, शान्त स्वभावका र परिश्रमी थिए। उनी इतिहास र उपन्यास अत्यन्तै रूचिपूर्वक पढ्ने गर्दथे। पढाइको साथसाथै उनी चेस खेलमा बढी रुचि लिन्थे। उनले विभिन्न नेता तथा देशका धेरै कथा बचपनमै पढेका थिए। स्वतन्त्रता सम्बन्धी आन्दोलनको बारेमा पनि उनले धेरै अध्ययन गरेका थिए। अत्यन्त गरीबीको अवस्थामा रहेको बेला ३ जुन १९११ मा २१ वर्षको उमेरमा उनले कुकको सहायकको रूपमा फ्रान्सको स्टीमर जहाजमा काम पाएर भियतनाम छोडेका थिए। पछि उनी कामकै सिलसिलामा लण्डन र पेरिसमा पनि बसेका थिए। यही बेलामा उनले अफ्रिका, यूरोप, उत्तर र दक्षिण अमेरिका, आदि देशका औपनिवेशिक बर्बरतालाई नजिकैबाट नियालेका थिए। सन् १९१७ मा हो ची मिन्ह कामकै सिलसिलामा इङ्ग्लाण्ड गएका थिए र त्यहाँ उनले कडा श्रम गर्नुका साथै अंग्रेजी भाषा पनि सिके।

यसरी हो ची मिन्हले फ्रान्स, इंग्ल्याण्ड, अमेरिका जस्ता देशहरूको यात्रामा सर्वत्र साम्राज्यवादी शोषणलाई आफ्नै आँखाले देखेका थिए र महसुस गरेका थिए। सन् १९१७ को रूसी क्रान्तिले उनलाई अत्यन्तै धेरै आकर्षित गर्यो र सबै समस्याहरूको समाधान उनले यही क्रान्तिमा देख्न थाले। हो ची मिन्ह १९१७ देखि १९२३ सम्म फ्रान्समा बसेका थिए। सन् १९१७ मा नै फ्रान्समा रहेका भियतनामीहरूलाई संगठित गरेका थिए। उनले प्रथम विश्वयुद्धको अन्त्य गर्न बोलाइएको भर्साइल्सको शान्ति सम्मेलनमा ८ बुँदै माग पेश गरेका थिए, जसमा उनले सम्पूर्ण इन्डोचीनलाई समान अधिकार दिने, स्वराज्यको अधिकार, संघ, धर्म, प्रेम, आन्दोलनको स्वतन्त्रता, राजनीतिक बन्दीहरूको मुक्ति, भियतनामी र फ्रान्सेलीहरू बीचमा समान अधिकार, रक्सी र अफिमको जबर्जस्तीको अन्त्य, जबर्जस्ती काम लिने चलनको अन्त्य र बलजफ्ती कर उठाउने प्रथा खारेजी जस्ता महत्त्वपूर्ण माग राखेका थिए। यद्यपि उनको त्यो मागको कुनै सुनुवाइ भएन तर पनि यस कार्यबाट हो ची मिन्हलाई सम्पूर्ण भियतनामीहरूमाझ चिनायो र भियतनामीहरू एकताबद्ध हुनेतिर लाग्न थाले। हो ची मिन्हले यो आठबुँदे प्रस्तावलाई छापेर व्यापक प्रचारप्रसार पनि गरे।  त्यसपछि हो ची मिन्हले मार्क्सवाद-लेनिनवादको गहिरो अध्ययन गर्न लागे। प्रथम विश्वयुद्धपछि हो ची मिन्ह गुयेन ए क्वोक (गुयेन द पेट्रियट) भूमिगत नामबाट भियतनाम स्वतन्त्रता आन्दोलनका क्रान्तिकारी गतिविधिमा सामेल हुन लागेका थिए। उनी फ्रान्सेली कम्युनिष्ट पार्टीका संस्थापक सदस्यका रूपमा रहेका थिए। फ्रान्सेली कम्युनिष्ट पार्टीको समर्थनबाट हो ची मिन्हले एक क्रान्तिकारी पत्रिका “द पारिया” (तिरस्कार) निकाल्न शुरु गरे। यो पत्रिकाले फ्रान्सेली साम्राज्यवादका विरुद्ध उसका सबै उपनिवेशहरूमा शोषित जनतालाई क्रान्तिको लागि प्रोत्साहित गर्दथ्यो। त्यसपछि उनले श्रमिकहरूको वास्तविक जिन्दगीलाई उतारेर एक उपन्यास पनि लेखे। यो त्यतिबेला निकै चर्चित भयो। त्यसपछि उनले अर्को पुस्तक “फ्रान्सेली उपनिवेशवादीहरूको अपराध” शीर्षक पुस्तक लेखे। त्यसैगरी ब्याम्बो ड्रयागन नामक नाटक पनि तयार गरे। यो नाटक सहज रूपमा मंचन गर्नको लागि प्रतिबन्ध लगाइएको थियो। तर गोप्य रूपमा यसको मंचन व्यापक ढंगले गरियो। यसैगरी हो ची मिन्हले चित्रकला र फोटोग्राफीको काम पनि गर्ने गर्थे। कामबाट फुर्सद हुने वित्तिकै पुस्तकालय गएर पढ्ने गर्दथे। उनी मार्क्सवादी पुस्तक अत्यन्तै रुचिपूर्वक पढ्ने गर्दथे। उनी फ्रान्समा रहँदा अखबारको लेखन, सम्पादन  गर्नुका साथै गाउँ-गाउँमा गएर सर्वसाधारणलाई प्रशिक्षित गर्ने काम पनि गर्दथे।

सन् १९२३ मा भएको अन्तर्राष्ट्रिय कम्युनिष्टको पाँचौं सम्मेलनमा हो ची मिन्ह पार्टीको तर्फबाट सोभियत संघको मस्को गए।   यहीँ उनले स्टालिनसँग भेट गरे। त्यसपछि हो ची मिन्हलाई कम्युनिष्ट इन्टरनेशनलको तर्फबाट चीनमा क्रान्तिकारीहरूको संगठन तथा हिन्दचीनमा राष्ट्रिय मुक्ति आन्दोलनको लागि पठाइयो। सन् १९२४ मा लेनिनको मृत्यु भएपछि उनले लेनिन र उपनिवेशका जनता शीर्षक एक महत्त्वपूर्ण रचना लेखेका थिए। त्यसैगरी सोभियत संघमा रहेको बेला हो ची मिन्हले त्यहाँबाट प्रकाशित प्रत्रिका प्राब्दा, अन्तर्राष्ट्रिय संवाद, आदिमा महत्वपूर्ण लेखरचनारू लेखेर प्रकाशित गराएका थिए। रुसमा हुँदा हो ची मिन्हले लेनिनका सिद्धान्त अनुसार पार्टी निर्माणको अनुभव हासिल गरे। त्यसैगरी सोभियत शासन प्रणालीको पनि सम्पूर्ण रूपले अध्ययन गरेका थिए।  सन् १९२४ को अन्तमा उनी चीन गए र त्यहाँ निर्वासित भियतनामीहरूको बीचमा एक क्रान्तिकारी आन्दोलनको शुरुवात गरे। यहाँ उनले भियतनामी जनताबीच काम गर्ने, संगठित गर्ने काम गर्न थाले। त्यसपछि चीनमा रहेका सबै भियतनामीहरूलाई संगठित गरी “क्रान्तिकारी भियतनामी युवा संघ” खोले भने युवा नामकको अखबारको पनि प्रकाशन गरे। भियतनामी क्रान्तिकारी संगठनले व्यापक रूपमा कम्युनिष्ट क्रान्तिकारी सिद्धान्त प्रचारप्रसार गर्ने र विभिन्न आन्दोलनहरू  हड्तालहरू चलाउन थाल्यो। मजदूरहरूलाई पनि एकताबद्ध बनायो। चीनमा रहेका भियतनामीहरूलाई शिक्षा प्रदान गर्नको लागि यसैबेला हो ची मिन्हले चीनको कवाङ चाउ नामक गाउँमा एक स्कूल खोले। अब यसमा भियतनामी युवाहरू गोप्य रूपमा अध्ययन गर्न थाले। त्यतिबेला चीनमा जनयुद्ध भइरहेको थियो। माओत्सेतुङ नेता थिए। हो ची मिन्हले माओको जनयुद्धको सिद्धान्तलाई नै भियतनामी जनताको मुक्ति आन्दोलनमा जोडेर अगाडि बढ्ने निर्णय लिएका थिए।  चीनका स्थानीय क्वोमिन्ताङ अधिकारीहरूले कम्युनिष्ट गतिविधिमाथि प्रतिबन्ध लगाउन थालेपछि उनी चीन छोड्न विवश भए। त्यसपछि उनी त्यहाँबाट थाइल्याण्ड गएर भियतनामी भाषाको एक स्कूल खोले र त्यसमा गाउँका किसान, व्यापारी, मजदूरहरूलाई पढाउने व्यवस्था गरे। यसपछि तिनीहरूलाई क्रान्ति युद्ध, छापामार युद्ध र मुक्ति युद्धको शिक्षा पनि सँगसँगै दिन थालियो। उनले यहाँबाट मानवता नामको एक अखबार पनि प्रकाशित गर्न थालेका थिए र यो धेरै प्रसिद्ध भएको थियो। त्यसपछि उनले सन् १९३० मा उत्तर भियतनाममा हिन्दचीन कम्युनिष्ट पार्टीको स्थापना गरे साथै एउटा घोषणापत्र तयारी गरी यसको व्यापक प्रचारप्रसार पनि गरे। यसपछि भियतनामा तीनवटासम्म कम्युनिष्ट पार्टीहरू खुले।   सन १९३० मा हो ची मिन्हले एकीकरण सम्मेलन गरी तीनवटै कम्युनिष्ट पार्टीलाई मिलाएर एउटा सिंगो भियतानमी कम्युनिष्ट पार्टी बनाए। यसैलाई पछि इन्डोचाइनिज कम्युनिष्ट पार्टी (ICP) भनियो। र, उनी कम्युनिष्ट अन्तर्राष्ट्रियको प्रतिनिधिको रूपमा हङकङमा रहे। उनले हिन्दचीनका सबै कम्युनिष्टहरूलाई एकसाथ मिलाएर हिन्दचीनको कम्युनिष्ट पार्टी तथा सन् १९३३ मा भियतमिन्ह नामक संयुक्त मोर्चा बनाउने जिम्मेवारी कम्युनिष्ट इन्टरनेशनलबाट लिएका  थिए।  सन १९३१ मा हो ची मिन्हलाई  ब्रिटिश पुलिसले गिरफ्तार गर्यो र सन १९३३ सम्म उनले जेलमा बस्नुपर्यो। सन् १९३३ मा कुनै प्रमाण फेला नपरेपछि रिहा गरियो र उनी त्यही बेला बिरामी परेर अस्पताल भर्ना भए। त्यसपछि हो ची मिन्ह सिंगापुर गए तर त्यहाँ पनि उनी गिरफ्तार भए र हङकङ नै फिर्ता पठाइयो। उनको स्वास्थ्य बिग्रदै गइरहेको थियो त्यसैले केही समय उपचार गर्दै उनी चीनको साङघाइ गएर त्यहाँको कम्युनिष्ट पार्टीसँग सम्पर्कमा रहे।  केही समयपछि  उनी सोभियतसंघ गए र त्यहाँको लेनिन विश्वविद्यालयमा अध्ययन गर्नथाले। यो विश्वविद्यालयमा संसारका कम्युनिष्ट पार्टीका नेता तथा कार्यकर्ताहरूलाई पठाउने गरिन्थ्यो। सन् १९३५ मा हो ची मिन्हले सोभियत संघको सातौं कम्युनिष्ट सम्मेलनमा पनि भाग लिएका थिए। त्यसपछि सन् १९३५ मा नै हिन्द चीन कम्युनिष्ट पार्टीको प्रथम सम्मेलन चीनको मकाओमा सम्पन्न भएको थियो।

सन् १९३८ मा उनी चीन फर्किए र चिनियाँ कम्युनिष्ट सशस्त्र बलको सल्लाहकारको रूपमा काम गर्न लागे। हो ची मिन्हले लगभग १० वर्षसम्म माओ र स्टालिनसँगै रहेर छापामार संघर्षको तयारीमा लागेका थिए ।  हो ची मिन्ह सन् १९४५ सम्म हिन्दचीनको कम्युनिष्ट आन्दोलन तथा छापामार युद्धका सक्रिय नेता रहे। उनी लम्बे अभियान र जापानविरोधी युद्धमा पनि सहभागी भए। यो संघर्षमा उनले अनेकौं कष्ट र यातनाहरू सहनुपरेको थियो। च्याङकाइसेकका सेनाहरूले उनलाई पक्डिएर अत्यन्तै अमानवीय अवस्थामा एकवर्षसम्म कैद राखेका थिए। त्यतिखेर उनको आँखा झण्डै बन्द भएको थियो।

सन १९११ मा भियतनाम छोडेर निस्किएका हो ची मिन्ह सन् १९४१ मा देश फर्किए। भियतनामी जनताहरूले उनको धेरै स्वागत गरे। अब हो ची मिन्हले यहाँ देश र जनताको मुक्तिको लागि भियतनामी संघको स्थापना गरे। यतिखेर जापानले भियतनाममाथि कब्जा गरेको थियो। हो ची मिन्ह ३० वर्षसम्म बाहिर बसेर भियतनामको स्वतन्त्रताको लागि माहौल बनाउनतिर लागिरहेका थिए। उनी भियतनामबाट बाहिर निस्किँदा एक गुमनाम युवा थिए तर फर्किएको बेला उनी एक ठूला नेता बनिसकेका थिए। अब भियतनामको स्वतन्त्रताको लागि हो ची मिन्हले एक संगठित सशस्त्र आन्दोलनको आवश्यकता महसुस गरे। उनी विचारमा स्पष्ट थिए, छापामार युद्धको ज्ञान उनीसँग थियो र कुशल संगठक पनि थिए। उनले सबभन्दा पहिले ९० प्रतिशतभन्दा बढी किसानहरूलाई संगठित गरी प्रशिक्षण प्रदान गरे। त्यसपछि युवा तथा आम जनसमुदायलाई संगठित गरे।  उनले आइसीपी नेताहरूसँग सल्लाह गरी एउटा कम्युनिष्ट क्रान्तिकारी स्वतन्त्र आन्दोलनको शुरुवात गरे, जुन आन्दोलनलाई भियतमिन्ह आन्दोलन भनिन्छ। त्यसपछि हो ची मिन्हले आफ्ना सम्पूर्ण साथीहरूको सहयोगसँगै जापानी साम्राज्यवादको विरुद्धमा निर्णायक युद्ध लडे। हो ची मिन्हको नेतृत्वमा हिन चीन कम्फ्रेन्सले प्रत्येक क्षेत्रमा जापानी र फ्रान्सेली उपनिवेशवादको विरुद्धमा व्यापक रूपमा आन्दोलन, हड्ताल, जुलुस, सभा, समारोह गर्न थाल्यो। आन्दोलन दबाउन उपनिवेशवादीहरूले व्यापक दमन कार्यलाई अगाडि बढाए पनि झन भनो झन आन्दोलन बढ्दै गयो। भियतनामका केटाकेटी, बुढाबुढी, युवा, मजदूर, किसान, व्यापारी, महिला सबै आन्दोलनमा उत्रिए।  अगस्ट १९४५ मा जापानले आत्मसमर्पण गरेपछि २ सेप्टेम्बर १९४५ मा  भियतनाममा डेमेक्रेटिक रिपब्लिक अफ भियतनाम स्थापना भयो। हो ची मिन्ह सर्वमान्य नेता बने। यसपछि हो ची मिन्हलाई संसारले यही नामबाट चिन्न थाल्यो, जुन उनको छद्म नाम थियो। हो ची मिन्हको अर्थ पथप्रदर्शक हुन्छ।

फ्रान्स सजिलैसँग भियतनाम छोड्न तयार थिएन। फ्रान्सेली साम्राज्यवादीहरूले अंग्रेज साम्राज्यवादीहरूको मद्दतले हिन्द चीनका पुराना सम्राट बाओदाइको आडमा फेरि साम्राज्य फिर्ता लिने कोशिस थाल्यो। सन् १९४६ को अन्तमा फ्रान्सले भियतनामको विरुद्धमा युद्ध घोषणा गरिदियो। अब भयंकर लडाइँको क्रम शुरु भयो। यो युद्ध आठ वर्षसम्म भयंकर रक्तपातपूर्ण लडाइँ चल्यो। युद्धकै बीचमा  सन् १९५१ को फेब्रुअरीमा भएको दोस्रो महासभाले पार्टीको नाम भियतनाम मजदूर पार्टी राख्यो। यसरी मार्क्सवादी-लेनिनवादी सिद्धान्तमा आधारित यो पार्टीले हो ची मिन्हको नेतृत्वमा केन्द्रीय समिति बनायो। भियतनामी छापामार योद्धाहरूले भियतनामका पडाड र खेतहरूमा फ्रान्सेली सैनिकहरूसँग युद्ध गरे। अन्तमा सन् १९५४ मा वियेन फूको निर्णायक लडाइँमा फ्रान्सेलीलाई हराइदिए। त्यसपछि जेनेभा सम्मेलन बोलाउन स्वीकार गरियो। तर जेनेभा वार्तापछि अमेरिकाकाको चलाखीको कारण भियतनामलाई दुई टुक्रा बनाइयो। उत्तरी भियतनाममा कम्युनिष्ट सरकार बन्यो भने दक्षिणी भियतनाममा पश्चिमी देशहरूको समर्थन भएको सरकारको गठन भयो। हो ची मिन्ह उत्तरी भियतनामा कम्युनिष्ट समाज निर्माणको लागि सक्रियतापूर्व लागे। हो ची मिन्हले भियतनामको विभाजनको तीव्र रूपमा विरोध गरे र एकीकरणको लागि फेरि अमेरिकी साम्राज्यवादका विरुद्ध लड्न जनतालाई आव्हान गरे।  फ्रान्सेलीहरू हटेपछि अमेरिकाले दक्षिणी भियतनाममा बाओदाइको ठाउँमा दियम नामक कठपुतली शासकको माध्यमबाट भियतकंग देशभक्तहरूको विरुद्ध युद्ध शुरु गर्यो। अमेरिकी साम्राज्यवादले भियतनाममाथि सन १९५४ बाट नै भिषण आक्रमण शुरु गर्यो। सन् १९६० को शुरुवातबाट साम्यवादी नेतृत्वमा रहेका छापामारहरूले साइगनमा अमेरिका समर्थित शासनको विरुद्धमा भयंयकर युद्ध लडे। उत्तरी भियतनाम चीन र सोभियत संघको मित्र शक्ति बनेकोले र इन्डोनेशिया, लाओस्, कम्बोडिया, आदि देशहरू समेत कम्युनिष्ट व्यवस्थाप्रति आकर्षित हुँदै गएका थिए। सन् १९६१ मा साम्राज्यवादी शक्तिले ठूलो संख्यामा दक्षिण भियतनाममा सैनिक र अत्याधुनिक हतियार खसालेको थियो। ५ लाखभन्दा बढी अमेरिकी सेना मात्र आएका थिए। यसपछि हो ची मिन्ह भियतनामको एकीकरणको लागि भयंकर संघर्षमा लागे। युद्ध भयंकर रूपले अगाडि बढ्दै गयो। संसारको सबभन्दा शक्तिशाली मानिएको अमेरिकी साम्राज्यवादले दोस्रो विश्वयुद्धमा युरोपमा जति बम खसालेको थियो, त्यसको दुइगुना बम तथा विषालु ग्यासको प्रयोग भियतनाममा गर्यो। यो युद्धमा ७० हजारभन्दा बढी (भियतनामको सरकारी डाटा अनुसार) अमेरिकी सेनाको ज्यान गयो। अत्यन्तै धेरै धनराशि खर्च भयो। अमेरिकाले भियतनाम युद्धमा २०० अरब डलर खर्च गरेको थियो। यसबाट के हिसाब लगाउन सकिन्छ भने एक जना भियतनामीलाई मार्न अमेरिकाले दस हजार डलरभन्दा बढी खर्च गरेको थियो।  सम्पूर्ण भियतनामी जनताले अमेरिकी साम्राज्यवादका विरुद्ध भयंकर छापामार युद्ध लडे। भियतनाम युद्धमा अमेरिकाका ८ हजारभन्दा बढी हवाइजहाज र ४ हजारभन्दा बढी हेलेकेप्टर नष्ट भएका थिए। त्यसैले अमेरिकाले यो युद्धमा ६७ टनभन्दा बढी बमगोला बर्षाएको थियो। भियतनामी मुक्ति मोर्चाले यो युद्धमा ५०० भन्दा बढी अमेरिकी ट्याङ्क कब्जा गरेको थियो र केही सैनिक हवाइजहाज पनि कब्जा गरेको थियो। त्यसैगरी ठूलो राशिमा जगेडा पार्टपूर्जा, खनिज तेल, सैन्य सामग्री, उपकरण, आदि पनि मुक्ति सेनाले कब्ज गरेको थियो ।  संसारका राष्ट्रहरू र अमेरिकी जनतासमेतले यो युद्धको धेरै विरोध गर्न थालेपछि सन् १९७२ बाट क्रमशः अमेरिकी सेना फिर्ता हुनथाले । सन् १९७३ मा पेरिस सम्झौता भयो। भियतनामी युद्धबाट अमेरिकाको सम्पूर्ण अर्थतन्त्र नै ध्वस्त भएकोले  गर्दा अमेरिकी जनताले पनि अमेरिकी साम्राज्यवादको विरोध धेरै बढाउन  थालेपछि सन् १९७५ अप्रिल ३० मा भियतनामी मुक्ति सेनाले दक्षिण भियतनाम विजय प्राप्त गरी स्वतन्त्र भियतनामको घोषणा गरेका थए। यसरी अमेरिकाले भियतानम युद्धबाट हार खानुपर्यो र  सन् १९७५ मा भियतनाम पूर्ण रूपमा स्वतन्त्र भयो।   

हो ची मिन्हको हिन्दचीनबाट साम्राज्यवादीको जग उखाल्नमा अत्यन्तै महत्त्वपूर्ण भूमिका रहेको थियो। युद्धकै क्रममा हो ची मिन्हको २ सेप्टेम्बर १९६९ मा हृदय गति रोकिएको कारणले हनोइमा मृत्यु भयो। उनको जीवनको प्रत्येक दृष्टि साम्यवादीहरूको लागि, सर्वहारा क्रान्ति तथा राष्ट्रवादीहरूको लागि प्रेरणाको स्रोत रहेका छन्। उनको अभूतपूर्व नेतृत्वमा भएको विश्वका शक्तिशाली साम्राज्यवादी शक्तिहरू फ्रान्स र अमेरिकाको विरुद्धमा भएको लामो संघर्ष संसारका उत्पीडित राष्ट्रहरूको लागि शिक्षाप्रद घटनाक्रम हुन्। यी सबै संघर्षका प्रेरणास्रोत हो ची मिन्हका अनुसार मार्क्सवाद-लेनिनवाद र सर्वहारा अन्तर्राष्ट्रियतावाद नै रहेको हो। रूसमा लेनिनले वर्गसंघर्षबाट राज्यसत्ता लिए भने हो ची मिन्हले राष्ट्रिय मुक्ति आन्दोलनबाट साम्राज्यवादीहरूलाई हराएर एक असाधारण कार्य गरी उदाहरण प्रस्तुत गरेका छन्।

हो ची मिन्ह वामपन्थी विचारधाराका नेता थिए। उनी युद्धको मैदानमा आश्चर्यचकित फौजी थिए तर युद्ध बाहिर एक शान्त र सौम्य व्यक्ति थिए। हो ची मिन्हको सम्मानमा दक्षिणी भियतनामको एउटा शहर साइगनको नाम बदलेर हो ची मिन्ह सिटी राखियो। हो ची मिन्ह केवल भियतनामी साम्यवादका संस्थापक मात्र नभएर उनी भियतनाम स्वतन्त्रता संघर्षका मुख्य नेता थिए। सादगी, सत्यनिष्ठा र दृढसंकल्प जस्ता उनका व्यक्तिगत गुणहरूका कारण उनलाई भियतनाममा मात्र होइन, संसारमा व्यापक रूपले प्रंशंसा गरिएको पाइन्छ। हो ची मिन्हका अनुसार पूँजीवादको अन्तर्राष्ट्रिय रूप साम्राज्यवाद हो भने वर्गसंघर्षको अन्तर्राष्ट्रिय रूप मुक्तिसंघर्ष हो। उनले भनेका थिए – भियतनामी मुक्तिसंग्राम विश्व मुक्तिसंग्रामकै एक हिस्सा हो र मेरो जीवन क्रान्तिको लागि समर्पित छ।

भियतनाममा कम्युनिष्ट आन्दोलन एवं राष्ट्रिय मुक्ति युद्ध

प्रथम विश्वयुद्ध चरम उत्कर्षमा पुगेको बेलामा रूसमा भएको अक्टुबर क्रान्तिले विश्वमा नयाँ साम्यवादी व्यवस्थाको तीव्र विकास भइरहेको थियो भने पूँजीवादी, साम्राज्यवादी र फाँसीवादीहरू यसको विरुद्धमा व्यापक रूपमा लागेका थिए। सोभियत संघले संसारमा नयाँ विचारधारात्मक व्यवस्थाको प्रवाह गरेको थियो। साम्यवादी व्यवस्था संसारका उत्पीडित देशहरूमा फैलिँदै गइरहेको थियो। चीनमा त्यही बेला भयंकर जनयुद्ध भइरहेको थियो। यस्तो बेलामा भियतनामा जस्ता देशहरूलाई साम्राज्यवादीहरूले आफ्नो उपनिवेश बनाएर भयंकर शोषण गरिरहेका थिए। प्रथम विश्वयुद्ध समाप्त भएको एक दशकपछि नै विश्व महामन्दीको चपेटामा परेको थियो। सन् १९३० को दशकमा भियतनाममा यो महामन्दीको गहिरो असर पर्नगयो। वस्तुको मूल्य नराम्रोसँग तल झर्यो भने ऋण तीव्र रूपमा वृद्धि हुनथाल्यो। चारैतिर बेरोजगारी बढ्न थाल्यो। यसले गर्दा ग्रामीण रूपमा विद्रोह शुरु हुनथाले। भियतनामका धेरै प्रान्तहरूमा व्यापक आन्दोलन बढ्न थाले। गरीब क्षेत्रमा त पहिलेदेखि नै यहाँ आन्दोलन, हड्तालहरू भइरहन्थे। तर यसपटक भने आन्दोलनको राँको अलि बढी नै देखियो। फ्रान्सेली उपनिवेशवादीहरूले यो आन्दोलनलाई दबाउनको लागि ठूलो धनराशि खर्च गर्यो। जुलुसहरूमा हवाइजहाजहरूबाट बमबारी गर्यो। यसले गर्दा भियतनामी जनतामा साम्राज्यवादी उपनिवेशवादीहरूप्रति अझ घृणा पैदा भयो र उनीहरू एकताबद्ध भएर यसको अन्त्य गर्नमा लाग्ने निर्णयमा पुगे।

यता सन् १९२० बाट नै भियतनामका क्रान्तिकारी कम्युनिष्ट नेता हो ची मिन्ह सक्रियतापूर्वक भियतनामलाई कसरी मुक्ति दिलाउन सकिन्छ भनेर लागिरहेका थिए। उनी फ्रान्स, रूस, इंग्ल्याण्ड, चीन, हङकङ, सिंगापुर, आदि देशहरूमा  रहँदै भियतनामी जनताहरूलाई एकताबद्ध गर्दै र अन्तर्राष्ट्रिय कम्युनिष्ट संघर्षमा पनि सहभागी हुँदै आएका थिए। यही क्रममा उनले फेब्रुअरी १९३० मा अलग-अलग समूह र गुटमा विभाजित भियतनामी राष्ट्रवादीहरूका समूहहरूलाई एकताबद्ध गरी भियतनामी कम्युनिष्ट पार्टी (भियतनाम काँग सान देंग) को स्थापना गरे। यसलाई पछि इन्डोचाइनिज कम्युनिष्ट पार्टी भनियो। हो ची मिन्हले यूरोपको कम्युनिष्ट क्रान्तिलाई राम्रोसँग अध्ययन गरेका थिए। त्यसैले उनले यो पार्टीलाई संगठित र व्यवस्थित बनाउनमा महत्त्वपूर्ण भूमिका खेले। व्यापक रूपमा प्रशिक्षण कार्यक्रम चलाए, स्कूल खोले, पुस्तकहरू लेखे, पत्रपत्रिका प्रकाशन गरे र आम रूमपा पार्टी कार्यकर्ता र जनतालाई शिक्षित गराए।

सन् १९४० मा जापानले सम्पूर्ण दक्षिण पूर्वी एशिया कब्जा गर्ने हेतुसहित भियतनाममा पनि कब्जा जमायो। सन् १९४१ मा हो ची मिन्हले भियतनामको स्वतन्त्रताको लागि भियतमिन्ह नामको संगठनको निर्माण गरे। यस संगठनको उद्देश्य सबै विचारका जनतालाई विदेशी शासनबाट स्वतन्त्रता प्राप्त गर्नको लागि एकताबद्ध गर्नु थियो। यस्तो अवस्थमा भियतनामको कम्युनिष्ट पार्टीले जापानी साम्राज्यवादको विरुद्धमा लड्न शुरु गर्यो। भियतनाम स्वतन्त्रता लीग अर्थात् भियतमिन्हले यो राष्ट्रिय मुक्ति आन्दोलनमा अत्यन्तै बहादूरीपूर्वक छापामार युद्ध लड्यो। खराब मौसम र सरकारी शोषणको नीतिको कारणले सन् १९४५ मै भयंकर अनिकाल आयो। तर पनि जापानले भियतनामबाट सम्पूर्ण अन्न जापान लगिरह्यो। भियतमिन्हले यस्तो अवस्थामा जनतामा राहत कार्यलाई अगाडि बढायो, जसको कारणले गर्दा यस दलको लोकप्रियता ह्वातै बढ्नगयो।  यसरी सन् १९४५ को अगस्टमा जापानले आत्मसमर्पण गरेपछि सेप्टेम्बरमा भियतनाम स्वतन्त्र भयो। यसपछि भियतनाममा जनवादी गणतन्त्र स्थापना गरियो र हो ची मिन्हलाई अध्यक्ष चुनियो। २ सेप्टेम्बर १९४५ मा पाँच लाख जनताहरुको सार्वजनिक सभामा हो ची मिन्हले भियतनामलाई स्वतन्त्र घोषणा गरेका थिए। यसरी नयाँ राज्यलाई भियतनामको लोकतान्त्रिक गणराज्यको नाम दिइएको थियो। नयाँ गणराज्यको सामु धेरै चुनौतीहरू रहेकै बेला फ्रान्सेलीहरूले पुनः बाओ दाईको कठपुतलीको प्रयोग गर्दै भियतनाममा कब्जा जमाइराख्ने कोशिस गरे र भियतनाममाथि आक्रमण गरे। यसमा अमेरिकाले पनि फ्रान्सलाई सहयोग गर्यो। दोस्रो विश्वयुद्धपछि फ्रान्सले इन्डोचीन र अफ्रिकामा पुनः साम्राज्यवादी अधिकार जमाउने निर्णय लिएको थियो। फ्रान्सलाई आफ्नो गौरव बचाउन र दोस्रो विश्वयुद्धमा भएको आर्थिक हानिको आपूर्तिको लागि कच्चा पदार्थको आवश्यकता थियो । पोट्सडेम सम्मेलनमा फ्रान्सको सेना पुनर्गठन नहुन्जेल भियतनामलाई दुई क्षेत्रमा बाँड्ने निर्णय गरियो। त्यसकारण जियांग जेशीको राष्ट्रिय सेना उत्तरमा र व्रिटिश सेना दक्षणि भियतनाम पुग्यो। फ्रान्सले ब्रिटिश सेनाबाट दक्षिण क्षेत्र आफ्नो नियन्त्रणमा लियो। सन् १९४५ को अन्तसम्म फ्रान्सले ५० हजार भन्दा बढी सैनिक दक्षिणी क्षेत्रमा तैनाथ गरिदियो। उत्तरी भियतनामलाई लिएर फ्रान्सले चीनको राष्ट्रवादी सरकारसँग वार्ता गरेको थियो। फ्रान्सले के सोचेको थियो भने शांघाई र चीनमा आफ्नो विशेषाधिकार छोडेपछि चीनले उत्तरी भियतनाम फ्रान्सलाई दिनेछ। यसको लागि भियतमिन्हसँग वार्ता पनि गरियो। तर यस बेलासम्म उत्तरी भियतनाममा भियतमिन्हको स्थिति बलियो भइसकेको थियो। सन् १९४६ मा भियतमिन्हसँग वार्ता जारी रह्यो, जसमा भियतनाम, लाओस र कम्बोडियाको एक संघ बनाउने प्रस्ताव थियो र यसले फ्रान्सेली इकाईको रूपमा कार्य गर्न सक्दथ्यो। यसबाट फ्रान्समा एक नयाँ नामसँगै दक्षिण-पूर्वी एशियामा साम्राज्य कायम राख्न सक्दथ्यो। तर उसका यी सबै प्रयत्न असफल भए। भियतमिन्हले गाउँमा गएर छापामार युद्ध शुरु गरे।   फ्रान्सेलीहरूसँग अन्तिम युद्धको लागि भियतनामी कम्युनिष्ट पार्टीले पहाडी इलाकाहरूबाट भियतमिन्हका सदस्यहरू र आम जनताहरूको प्रत्यक्ष सहभागितामा भयंकर छापामार युद्ध शुरु गर्यो। नोभेम्बर १९४६ मा फ्रान्सले भियतनामको मुख्य बन्दरगाह हायफाङमा बमबारी गर्यो, जसमा ६००० नागरिक मारिए। भियतमिन्हलाई फ्रान्सेलीहरू पुनः आएको कुरा कदापि स्वीकार  थिएन। त्यसकारण फ्रान्सको शासनबाट मुक्त हुनको लागि यो युद्ध १९४६ देखि १९५४ सम्म लगातार चलिरह्यो। सन् १९४८ मा बाओदीलाई पुनः भियतनामको नाममात्रको अध्यक्ष घोषित गरियो। सन् १९४९ मा फ्रान्सको सुरक्षामा लाओस र कम्बोडियालाई स्वतन्त्र घोषित गरियो। तर भियतमिन्हले फ्रान्सको विरुद्ध युद्ध जारी राख्यो। सन् १९४९ मा चीनमा माओत्सेतुङको नेतृत्वमा क्रान्ति सम्पन्न भएपछि त्यहाँ जनवादी गणतन्त्र चीनको स्थापना भयो। यसपछि भियतनामी युद्धको स्वरूप बदलियो। सन् १९५० मा मस्को र बेइजिङ दुवैले भियतनामको स्वीकृत गणतन्त्रलाई वैधानिक घोषणा गरे। यसको साथै उनीहरूले भियतनामलाई अस्त्रसस्त्र र अन्य विभिन्न सुविधाहरूसमेत प्रदान गर्नलागे।  अमेरिकाले यो सबै घटनाक्रमलाई मिहीन रूपमा हेरिरहेको थियो। उसको चिन्ता के थियो भने यदि भियतनाममा सोभियत संघ र चीनको सहायताले साम्यवादी सरकार स्थापित भयो भने फिलिपिन्सदेखि सिंगापुसम्म साम्यवादी सरकारको स्थापना हुनेछ र त्यसपछि एशियाबाट प्रशान्त महासागर तटसम्म साम्यवादको नियन्त्रणमा चल्नेछ। फ्रान्स अमेरिकाको मित्र देश थियो। त्यसकारण अमेरिकाले भियतनाममा फ्रान्सेली साम्राज्यलाई कायम राख्नमा सहायता दिने फैसला गर्यो। सन् १९५० मा अमेरिकाले बाओदीलाई भियतनामको सम्राटको रूपमा स्वीकृति प्रदान गर्यो। यही वर्ष अमेरिकाले एक सैनिक सल्लाहकार समितिलाई दक्षिण भियतनामको राजधानी साइगन पठायो। यो समिति अमेरिकाद्वारा फ्रान्सको सहायताको एक अग्रिम दस्ता सिद्ध भयो। फ्रान्सले कोरिया युद्धमा सैनिक टुकडी पठाएपछि यो सहायतामा अझ वृद्धि गरियो। विश्वमा साम्यवादी प्रसारलाई रोक्नको लागि अमेरिकाले भियतनाम युद्धमा फ्रान्सको खर्चको ७५ प्रतिशत खर्च वहन गरको थियो भनिन्छ। फ्रान्सलाई के विश्वास थियो भने अब यो युद्ध लामो समयसम्म चल्दैन, विजय उसैको हुनेछ। सबै औपनिवेशिक शक्तिहरू जस्तै भियतनामको कौशल साधनपूर्ति र निश्चयको सही अनुमान लगाउन सकिएन। भियतनामको यो स्वतन्त्रता संग्राम थियो। उनीहरूमा बलिदान र बहादुरीको भावना यति दृढ थियो कि स्वयं फ्रान्सेलीहरूले पनि उनीहरूको प्रशंसा गरेका थिए। शुरुमा त फ्रान्सेलीहरूलाई केही सफलता पनि मिल्यो। तर छिट्टै के स्पष्ट हुन लाग्यो भियतनाममा अधिकार जमाउनु धेरै कठिन थियो। सन् १९५३ सम्म आउँदा फ्रान्स कुटनीतिक सम्झौता गर्ने स्थितिमा पुगेको थियो, जसबाट ऊ भियतनामबाट निक्लिन सकोस्। यही बेला कोरियाको भविष्यको निर्णय लिनको लागि जेनेभामा एक सम्मेलन आयोजना गरियो। यही सभामा भियतनामको प्रश्न उठाउने प्रयास गरिएको थियो।   

यसरी युद्ध भयंकर रूपमा चलिरहेकै बेलामा मई १९५४ मा अत्यन्तै कुशलतापूर्वक भियतनामीहरूले दियन वियन फूको स्थानमा फ्रान्सको एक सैनिक अड्डामा आक्रमण गरिदिए। आफ्नो उद्देश्य प्राप्तिमा पूर्ण निष्ठा देखाउँदै अन्यत्नै कौशलतापूर्वक हजारौं भियतनामी छापामार सैनिकहरूले भारी तोपलाई हातैले खोलेर ८० किलोमिटर टाढासम्म घिसारेर लगे। उनीहरूले दियन वियन फूमा तोपहरू र अन्य हतियारहरूले आक्रमण गरे। फ्रान्सेलीहरू अत्तालिए। लगभग १५००० सैनिक त्यहाँ फसे। फ्रान्सेली सुरक्षा व्यवस्था जमिनमै सीमित रह्यो। अमेरिकाले बमबारी गर्ने र परमाणु शक्तिको समेत उपयोग गर्ने बारेमा पनि सोच्यो। तर पछि उसले यो विचार त्याग्यो। यसपछि ७ मई मा फ्रान्सेली सैनिकहरूले दियन वियन फूमा आत्मसमर्पण गरे। बीसौं शताब्दीमा कुनै औपनिवेशिक जनताले युद्धमा यूरोपियन सेनालाई हराएको यो पहिलो घटना थियो। यसले विश्वभरिका स्वतन्त्रताको लागि संघर्ष गरिरहेका जनताहरूलाई उत्साहित बनाएको थियो। यसबेला भियतमिन्ह सम्पूर्ण भियतनामलाई एक बनाउन लागेको थियो । यसरी फ्रान्सेलीहरूलाई दिएन बिएन फूको मोर्चामा भियतनामी मोर्चाले हराइदियो। दिएन बिएन फूको लडाइँमा जनरल वो न्यूयेन ग्यापको नेतृत्वमा भएको भियतमिन्ह सैन्यदलले हैरान बनाइदिएको थियो। फ्रान्सेली जनरल नवारेलाई युद्धको मोर्चामा उसका सेनाहरूले कुन-कुन चुनौतीहरूको सामना गर्नुपर्नेछ भन्ने कुराको अनुमान थिएन। जुन घाँटीमा फ्रान्सेली टुकडीहरूले डेरा जमाएका थिए, त्यहाँ बर्षातको महिनामा पानीले भरियो। यो ठाउँ चारैतिरबाट झाडीजंगलले घेरिएको थियो। त्यसकारणले गर्दा न त सिपाही र न ट्यांक नै त्यहाँबाट अगाडि बढ्न सक्थे। यही कारणले गर्दा फ्रान्सेली सैनिक जंगलमा लुकेका भियतमिन्ह विमानभेदी तोपहरूको पनि पत्ता लगाउन सक्दैनथिए। भियतमिन्हका योद्धाहरू पहाडमाथि थिए। उनीहरूले तल्लो घाँटीमा तैनाथ फ्रान्सेलीहरूलाई चारैतिरबाट घेरे र अगाडि गुप्त खाडल र गुफाहरू बनाए ताकि उनीहरूलाई कसैले ट्र्याक गर्न नसकोस् र उनीहरू चुपचाप अगाडि बढ्न सकून। फ्रान्सेली सेनाले न त लजेस्टिक पाएका थिए न घाइतेहरूलाई बाहिर लैजान नै सकेका थिए। लगातार गोलाबारीको कारण फ्रान्सेली हवाइ पट्टीहरूले पनि केही काम गरिरहेका थिएनन्। यसरी दिएन बिएन फूको मोर्चा संघर्षको एक असाधारण प्रतीक बनेको थियो। यो मोर्चाले भियतमिन्हको विश्वासलाई अझ बढी बल प्रदान गर्यो। उनीहरू आफ्नो वस्तुनिष्ठा र सही रणनीतिको सहायताले शक्तिशाली साम्राज्यवादी दुश्मनहरूलाई पनि धूलो चटाउन सक्दछन् भन्ने कुरामा विश्वस्त भए। जनतामा जोश भर्नको लागि यो युद्धको घटनाक्रम गाउँ-गाउँमा सुनाइएको थियो। भियतमिन्हका लडाकुहरूले यो युद्धमा सैनिकहरूको लागि आवश्यक सामानहरू पुर्याउनको लागि साइकल र कुलीहरूको मद्दत लिए। दुश्मनका हमलाहरूबाट बच्नको लागि उनीहरू गुप्त मार्गबाट लुक्दै आफ्नो गन्तव्यमा पुग्थे।  फ्रान्सेली सेनाको सर्वोच्च कमाण्डर हेनरी नाभारले सन् १९५३ मा आफ्नो सेना छिट्टै विजय हुने घोषणा गरेको थियो तर ७ मे १९५४ मा भियतमिन्हले फ्रान्सेली एक्सपीडशनिरीका धेरै सैनिकहरूलाई मारे र १६०० भन्दा बढीलाई गिरफ्तार गरे। एक जर्नेल, सोह्र कर्नेल र १७४९ जना अफिसरसहित सम्पूर्ण कमाण्डिङ दस्तालाई पक्रिए। त्यसपछि फ्रान्सेलीहरूले नराम्रोसँग हार बेहोर्नुपर्यो। नवारे भियतमिन्हका दूरदराजका ठेगानामा पनि आक्रमण गर्न चाहन्थ्यो। उसको यो रणनीतिको परिणाम के निक्लियो भने फ्रान्सेलीहरूले एकसाथ कैयौं मोर्चा खोले र उनीहरूका सेना ठाउँ-ठाउँमा छरिए। नवारेको योजना दिएन फूको पूर्वोत्तर घाँटीमा उल्टो भयो र फ्रान्सेलीले हार बेहोर्नुपर्यो।

यसरी फ्रान्सेली उपनिवेशवादीहरूले भियतनाममा हारेपछि जेनेभामा शान्ति वार्ता शुरू भयो। यो वार्तामा अमेरिकाको चलाखीपूर्ण रवैयाले भियतनामलाई देश विभाजनको प्रस्ताव मान्न विवश गरियो।  यस परिप्रेक्ष्यमा भियतनामको सम्झौतामा २१ र २२ जुलाइमा हस्ताक्षर भयो। यो सम्झौता अनुसार भियतनामलाई १७औं अक्षांसको समानान्तरसँगै फेरि दुई भागमा बाँडियो। उत्तरी भियतनाम जनगणतन्त्र बन्यो, जुन पहिले नै अस्तित्वमा थियो र यसको राष्ट्रपति हो ची मिन्ह बने। यसको राजधानी हनोइ बनाइयो। अर्कोतिर दक्षिणमा बाओदीलाई अध्यक्ष बनाइयो र साइगनलाई राजधानी बनायो। सम्झौतामा सम्पूर्ण भियतनाममा दुई वर्षमा चुनाव गर्ने पनि प्रावधान राखिएको थियो। लाओस र कम्बोडियामा स्वतन्त्र सरकारको स्थापना पनि यही सम्झौताको हिस्सा थियो। यी सम्झौतामा अमेरिकाकाले हस्ताक्षर गरेको थिएन तर मान्ने बचन चाहिँ दिएको थियो।  अब उत्तरी र दक्षिणी भियतनाम दुई अलग-अलग देश बने। उत्तरी भागमा हो ची मिन्हको कम्युनिष्ट सत्ता स्थापित भयो भने दक्षिण भियतनाममा बाओडाईको पूँजीवादी सत्ता स्थापित गरियो। षड्यन्त्रकारी ढंगले गरिएको यो विभाजनपछि भियतनामी कम्युनिष्ट पार्टी र आम जनता मुक्ति युद्धमा लाग्ने निर्णयमा पुगेका थिए। हो ची मिन्हलाई भियतनामको विभाजनबाट निराशा भएको थियो। तर उनलाई के विश्वास थियो भने भियतमिन्हले राष्ट्रिय चुनाव अवश्य जित्नेछ। तत्कालीन राष्ट्रपति आइनजआवरलाई पनि यही कुराको डर थियो। उसलाई के जानकारी थियो भने ८० प्रतिशत जनताले हो ची मिन्हलाई नै भोट दिनेछन्। त्यसकारण अमेरिकामा के निर्णय भयो भने सम्पूर्ण भियतनाममा चुनाव हुनुहुँदैन। अमेरिकी सरकारको प्रयास संयुक्त भियतनाम स्थापित हुन नदिने थियो। किनभने उसलाई लागेको थियो कि सम्पूर्ण भियतनाम साम्यवादको प्रभावमा आउनेछ।

अमेरिकाले सन् १९५४ मा दक्षिणी भियतनाममा चुनाव गरायो। यसमा साम्यवादी हारेको देखाइयो। चुनावमा छलछाम  भएको थियो। चुनावका निरीक्षकहरूले पनि मतदाताहरूको वास्तविक संख्याभन्दा धेरै भोट भएको रिपोर्ट दिएका थिए। यसरी अमेरिकाले दक्षिण भियतनाममा एक मिथ्या निर्मित इकाई बनायो। त्यसपछि बाओदाइलाई हटाइयो। उसको ठाउँमा न्गो दिन्ह दियमलाई दक्षिणी भियतनामको राष्ट्रपति बनाइयो। ऊ सन् १९५० देखि नै अमेरिकामा बसेको थियो। उसलाई भियतनामका अमेरिकी मित्र नामक समूहको समर्थन प्राप्त थियो। यति मात्र होइन यस क्षेत्रमा साम्यवादको विस्तारलाई रोक्नको लागि वाशिंटनले दक्षिण पूर्वी एशिया सन्धि संगठन पनि बनायो। अमेरिकाले भियतनाममा हो ची मिन्हको विजयको अर्थ सम्पूर्ण दक्षिण पूर्वी एशियामा साम्यवादको विस्तार हो भन्ने ठानेको थियो। यसपछि दियमको नेतृत्वमा अझ दमनकारी र निरंकुश सत्ताको स्थापना भयो। उसको विरोध गर्नेजतिलाई कम्युनिष्ट भनेर जेल हाल्न र मार्न थालियो। उसले विभिन्न अध्यादेशमार्फत्  तानाशाही व्यवस्था स्थापित गरिदियो। ऊ क्रश्चियन भएकोले कैयौं बुद्धिष्टहरूको पनि हत्या गरायो। त्यसकारण उसको तानाशाही शासनको विरूद्ध नेशनल लिबरेशन फ्रन्ट (NLF) नामबाट एक व्यापक मोर्चा बन्यो। दक्षिण भियतनामका राष्ट्रवादीहरूले संयुक्त देश स्थापित गर्नको लागि बनाएको यो राष्ट्रिय मुक्ति मोर्चा थियो। यसलाई छोटकरीमा एनएलएफ भनिन्थ्यो। अमेरिकाले यो मोर्चालाई पनि कम्युनिष्ट भनेको थियो। यो मोर्चाका नेता साम्यवादी थिए। यिनीहरू अमेरिकाद्वारा स्थापित दियम सरकारको विरुद्ध एक संयुक्त भियतनाम बनाउन चाहन्थे । युद्ध तीव्र हुँदै गएपछि उत्तरी भियतनामबाट सेना र अन्य सहायता प्राप्त हुनथाल्यो। राष्ट्रिय मुक्ति मोर्चालाई गाउँ र शहर दुवै क्षेत्रमा समर्थन प्राप्त थियो। उनीहरूले साहस र आत्मबलिदानको भावनाले आफ्ना शत्रुहरूलाई पनि अचम्ममा पारिदिए। उत्तरी भियतनामा हो ची मिन्हको कम्युनिष्ट नेतृत्वको सरकारको सहायताबाट एनएलएफले देशको एकीकरणको लागि आवाज उठायो। अब अमेरिका यो गठबन्धनको बढ्दै गएको शक्तिबाट डराउन थाल्यो। सम्पूर्ण भियतनाम कम्युनिष्टको कब्जामा पर्ने डरले अब अमेरिकाले भियतनाममा आफ्ना फौज तथा  हतियार तैनाथ गर्न शुरु गर्यो र भियतनामी कम्युनिष्ट राष्ट्रवादीहरूमाथि आक्रमण गर्न शुरू गर्यो।  अब शक्तिशाली संयुक्त राज्य अमेरिका र भियतनामी जनतको बीचमा युद्ध आरम्भ भयो। भियतनामीहरू एक स्वतन्त्र, लोकतान्त्रिक र एकजुट भियतनाम स्थापनाको लागि कटिबद्ध थिए। उनीहरूको लागि यो अमेरिकाको विरुद्ध एक संग्राम थियो। कठपुतली सरकारको माध्यमबाट अमेरिकाले भियतनाममाथि आक्रमण गरेको थियो। कठपुतली सरकार साम्यवाद विरोधी, क्रूर र भ्रष्ट थियो। यो शासन भूमिपति र उनीहरूका सहायक तत्वहरुबाट चलेको थियो। त्यसकारण यो शासनको विरुद्धमा जनतामा विरोधी भावना उत्पन्न भएको थियो।

लाखौं डलर खर्च गर्दा पनि अमेरिकाले यो युद्धमा दक्षतापूर्वक लड्न सकेन। एनएलएफले छापामार युद्ध लडे। उनीहरूले सरकारी भवन र अधिकारीहरूलाई निशाना बनाए। बौद्ध धर्मीहरूले पनि यो युद्धमा आफैलाई जलाएर युद्धमा भाग लिए। यो आत्मबलिदानीको तस्वीर संसारमा फैलियो। कठपुतलली दियम सरकारले अझ दमनको नीति लियो। जति क्रूर दियमको प्रशासन हुन्थ्यो, त्यति नै एनएलएफका कार्यकर्ता सक्रिय र लोकप्रिय हुँदै जान्थे। यसरी संघर्ष तीव्र हुँदै गएपछि अमेरिकाले ठूलो संख्यामा सैनिकहरू उतार्दै जान थाल्यो।  

सन १९६१ मा अमेरिकाका राष्ट्रपति जोन केनेडी निर्वाचित भए। उनी शीतयुद्धसँग जोडिएको विदेशनीतिप्रति बचनबद्ध थिए। सन् १९६१ मै भएको क्युवासँगको बे अफ पिग्स युद्धमा केनेडीलाई असफलता हात लाग्यो। त्यसपछि बर्लिन पर्खाल पनि निर्माण भयो। यसबाट केनेडी सरकारमा साम्यवादको क्रमबद्ध सफलताले गर्दा तीव्र चिन्ता वृद्धि भयो। त्यसपछि उसले दियमलाई पदच्यूत गर्ने निर्णय लियो। यतिबेलै भियतकंगले मुक्तिको लागि विरोध र प्रतिरोधात्मक आक्रमणलाई तीव्र बनायो। यसरी दक्षिण भियतनाममा कठपुतली शासक फेरिदै गए। यिनीहरुमध्ये न्गुयन वेन थिउ सन् १९६७ देखि १९७५ सम्म गत आठ वर्ष पदमा रह्यो। सन् १९६३ मा केनेडीको हत्या भएपछि अमेरिकामा लिंडन जोनसन राष्ट्रपति भए ।  अब अमेरिकालाई चीनको कम्युनिष्ट प्रसारको कारण इण्डोनेशिया, कम्बोडिया, बर्मा, आदि दक्षिण पूर्वी एशियाली देशहरूमा कम्युनिष्ट शासन स्थापित हुन्छ भन्ने  डर उत्पन्न हुनथाल्यो। सन् १९६४ मा टोन्किनको खाडीमा दुई घटाहरू भए, जसप्रति अमेरिकाले के दावी गर्यो भने उत्तरी भियतनामका सेनाहरूले त्यसमाथि आक्रमण गरेका हुन्। तर यो दावीको सत्यता अझै पनि विवादास्पद छ। यद्यपि कथित आक्रमकणको आधारमा अमेरिकाको संसदले अमेरिकी सैनिक शक्तिको प्रयोगबाट कुनै अन्य आक्रमण रोक्न सक्दथ्यो भन्ने प्रस्ताव पास गरायो। त्यसपछि मार्च १९६५ मा राष्ट्रपति जोनसनले सेना पठाएर कार्वाही शुरु गर्यो, जसलाई रोलिङ थन्डर अपरेशनको नाम दियो। यस अन्तर्गत उत्तरी भियतनाममा लगातार बमवर्षा भइरह्यो। अमेरिकाले अब भियतनाममा भयंकर नरसंहार गर्नथाल्यो। सन् १९६४ मा भियतनाममा केवल २३ हजार अमेरिकन सेना थिए तर सन् १९६५ को अन्तसम्म यो संख्या १ लाख ८१ हजार पुगेको थियो। यो युद्धमा अस्ट्रेलिया र न्यूजील्याण्डले पनि हतियार लगायत अन्य धेरै सहयोग अमेरिकालाई गरेका थिए। अमेरिका यत्रो ठूलो सैनिक शक्तिबाट विरोधी शक्तिहरूलाई बर्बाद गर्न चाहन्थ्यो। यसपछिको युद्धमा भियतनामी सेनाले धेरै ठूलो क्षति बेहोर्नुपरेको थियो। अब उत्तरी भियतनामको सरकारले सैनिकहरूलाई दक्षिणी भियतनाममा पठाइरह्यो र त्यहाँ छापामार युद्ध र परम्परागत युद्धको सैनिक कार्वाही निरन्तर अगाडि बढिरह्यो। सन् १९६५ पछि चीन र सोभियत संघले अस्त्र-शस्त्र, हवाइ प्रक्षेपण र लजेस्टिक दिएर उत्तरी भियतनामलाई धेरै सहायता गरे। एनएलएफलाई हतियारहरूको उपलब्धि गराउनको लागि साइगनबाट करिब ५० किलोमीटर लामो सुरूङ बनाइयो। यसलाई नै हो ची मिन्ह ट्रेल भनिन्छ। यो मार्ग लाओस र कम्बोडिया भएर जान्थ्यो। ती क्षेत्रलाई भियतनामले यही उद्देश्यको लागि कब्जामा लिएको थियो। यो मार्ग उत्तरी भियतनाममा र दक्षिणी भियतनामको भियतकंगको बीचमा एक जीवनरेखा बनेको थियो। अमेरिकालाई एनएलएफ र उत्तरी भियतनामका सेना यति धेरै समयसम्म टिक्न सक्दछन् भन्ने कुनै आभास थिएन। सन् १९६७ मा अमेरिकाले भयंकर युद्धस्थिति परियोजना संचालन गर्यो। सन् १९६८ को जनवरीमा एनएलएफले दक्षिण भियतनाममा नयाँ वर्षको उत्सवमा टेट ल्यूनरको दिन योजना बनायो। यसलाई टेट आक्रमण भनिन्छ। यो उत्सवमा दक्षिणी भियतनामका सेना र एनएलएफ हरेक वर्ष युद्धबन्दीको पालना गर्दथे। यस पटक एक उत्सवको दिन एनएलएफले तैनाथ गरेको एउटा सानो सैनिक समूहले शहर र गाउँमा लगभग सबै ठाउँमा आक्रमण गरिदियो। उनीहरूलाई दक्षिण भियतनामका जनताले साथ दिनेछन् भन्ने पूर्ण आशा थियो। तर दक्षिण भियतनामको अमेरिकी सेनाले यो आक्रमणको दमन गर्यो। साइगनमा युद्ध तीन दिनसम्म चल्यो र झूमामा एकमहिनासम्म युद्ध चल्यो। दुवैतिर धेरै क्षति भयो। एनएलएफको लागि यो आक्रमण एक सैनिक अनर्थ सिद्ध भयो। त्यसपछि दक्षिणका सबै कार्वाही उत्तरी भियतनामी सेनाद्वारा गरियो। उत्तरी भियतनामद्वारा यो परिमाणको आक्रमण अमेरिकाको जासुस विभागको असफलताको उदाहरण मानियो। वास्तवमा यसलाई पराजय मानियो। साइगनमा अमेरिकाको दूतावासमाथि आक्रमण भयो। यति मात्र होइन, अमेरिकाको टेलिभिजनमा पनि यो घटनालाई सजीव ढंगले देखाइयो। अब जित्ने संभावना समाप्त भइरहेको थियो। के कुरा स्पष्ट थियो भने जसलाई अमेरिकाले विद्रोह भनेको थियो, त्यसलाई हजारौं हजार सैनिकहरूले पनि दबाउन सकेको थिएन। यस दृष्टिले टेट आक्रमणलाई युद्धको परिवर्तन बिन्दु भनिन्छ। अमेरिकाका सबै जनता तथा पेशेवरहरूलाई अमेरिकामा भियतनाम युद्ध वहन गर्ने सामर्थ्य नभएको कुरा स्पष्ट भइसकेको थियो।

सन् १९६९ सम्म आइपुग्दा अमेरिका भियतनाम युद्धबाट आजित भइसकेको थियो। उसको सामु अब भियतनामबाट निक्लिने र ननिक्लिने भन्दा पनि कसरी आफ्नो प्रतिष्ठा नगुमाइकन यो युद्धबाट मुक्त हुने भन्ने प्रश्न खडा भएको थियो। अमेरिकाले पटक-पटक दक्षिण-पूर्वी एशियाप्रति बचनबद्धताको घोषणा गरेको थियो। तर अब अमेरिकन सेनाको मनोबल गिरिरहेको थियो र सैनिकहरूमा कुण्ठाको भावना स्पष्ट देखिन्थ्यो। यस्तो स्थितिमा सेनामा भर्तीको लागि युवाहरूलाई अनिवार्य सैनिक सेवा लागू गरियो। यसले गर्दा पनि युद्धबाट असन्तुष्टि बढ्यो। सन् १९६९ देखि १९७१ को क्रममा अमेरिकाका धेरै शहरहरूमा युद्धविरोधी प्रदर्शनहरू भए। ५००००० भन्दा बढी युद्धविरोधी प्रदर्शनकर्ता सन् १९७१ मा वाशिंटन पुगे। यस्तो भयावह स्थितिलाई मध्यनजर गर्दै अमेरिकाले भियतनाममा सैनिक संख्या घटाइदियो। त्यसपछि मार्च १९७२ मा उत्तरी भियतनामले दक्षिणमा भयंकर आक्रमण गरिदियो। पुनः अमेरिकाले सैनिकहरूलाई भियतनाममाथि बमबारी गर्न र बन्दरगाहहरूमा सुरुङ विच्छ्याउने अधिकार दियो। त्यसपछि यता वार्ता पनि चलिरह्यो। लामो समयसम्म चलेको वार्ताबाट उत्तरी भियतनाम सन् १९७२ मा शान्ति सम्झौताको लागि तयार भयो । त्यससपछि मात्र अमेरिकाले बमबारी गर्न बन्द गर्यो।

सन् १९७३ मा आएर अमेरिकन सेना भियतनामबाट गए।  त्यसपछि पनि लगभग २ वर्षसम्म दक्षिण भियतनामसँग युद्ध भइरह्यो। सन् १९७५ मा उत्तरी भियतनामले दक्षिणी भियतनाम कब्जा गर्यो। अप्रिल १९७५ मा उत्तरी भियतनाको साइगनमा कब्जा गर्यो। त्यसपछि एनएलएफद्वारा स्थापित क्रान्तिकारी सरकारसँग एकताको सन्धिमा हस्ताक्षर गरियो। साइगनको नाम बदलेर स्वतन्त्रता संघर्षका महान सेनानी, कम्युनिष्ट क्रान्तिकारी भियतनामी जनताका नेता हो ची मिन्हको सम्मानमा हो ची मिन्ह शहर राखियो। तर उनी यो दिन देख्नको लागि जीवित थिएनन्। जुलाई १९७६ मा उत्तरी र दक्षिणी भियतनामको एकीकरण भयो, जसलाई भियतनामको समाजवादी गणतन्त्रको नामले जानियो। अब भियतनाम पूर्ण रूपले स्वतन्त्रत भयो।

अमेरिका र भियतनाम बीचको यो युद्ध अमेरिकाको लागि पनि अत्यन्तै महंगो सावित भयो। अमेरिकासँग अत्याधुनिक साधन, हतियार र चिकित्सा सेवा भएर पनि उसका धेरै सैनिकहरू यो युद्धमा मारिए। हजारौं घाइते भए। अमेरिका-भियतनामको यो युद्ध यसबेलाको धेरै यातनापूर्ण र निर्मम रह्यो। यो युद्धमा ठूला-ठूला हतियार र ट्यांकहरूले लैस हजारौं अमेरिकी सैनिक भियतनाममा झोकियो। उनीहरूसँग बी-५२ बमवर्षक विमान पनि थए, जसलाई त्यसबेला संसारको सबभन्दा खतर्नाक युद्ध विमान मानिन्थ्यो। चारैतिर हमला र रासायनिक हतियारहरूको सोचविचारबिना नै तीव्र प्रयोगबाट असंख्य गाउँ नष्ट भए र विशाल जंगल तहसनहस गरिए। अमेरिकी फौजहरूले यो युद्धमा नापाम, एजेंट ओरेन्ज र फस्फोरस बम जस्ता घातक रासायनिक हतियारहरूको व्यापक रूपमा प्रयोग गरे। यी आक्रमणबाट असंख्य सर्वसाधारण नागरिकहरू मारिए। एजेंट ओरेन्ज एक यस्तो विष हो, जुन छर्किदा बोटविरूवाको पात झर्छन् र वोटविरूवा मर्दछन्। सुन्तला रंगको ड्रममा राखिएकोले यसलाई एजेन्ट ओरेंज भनिएको हो। सन् १९६१ देखि १९७१ को बीचमा अमेरिकाको फौजले विमानहरूमार्फत् भियतनाममा लगभग १.१ करोड ग्यालिन एजेंट ओरेंज छर्किएका थिए। अमेरिकीहरूले भियतनामी सैनिक जंगलमा लुक्न नसकून् र उनीहरूलाई सजिलैसँग खत्तम गर्न सकियोस् भनेर यो विषादी छर्किएका थिए। त्यसैगरी यो विषको कारणले भियतनामको १४ प्रतिशतभन्दा बढी कृषियोग्य भूमिमा नराम्रो असर परेको थियो। यो विषले क्यान्सर, अपाङ्ग हुनुका साथै बच्चाहरूको मस्तिष्कमा व्यापक असर पर्नगयो। भनिन्छ, भियतनाममा अमेरिकीहरूले जति बम र रासायनिक हतियारको प्रयोग गरे, त्यसको मात्रा दोस्रो विश्वयुद्धमा प्रयोग गरिएका हतियारभन्दा बढी थियो। यी हतियारहरू अधिकांशतः नागरिक क्षेत्रहरूमा प्रयोग गरिएका थिए। त्यसैगरी नापाम अग्नि बमको लागि ग्यासोलिनलाई फुलाउनमा प्रयोग गरिने एक जैविक कम्पाउण्ड हो। यो मिश्रम विस्तारै-विस्तारै जल्दछ र मानिसको छालाजस्तै कुनै पनि सतहको सम्पर्कमा आएपछि त्यसमा टाँसिन्छ र जलिरहन्छ। अमेरिकामा विकसित गरिएको यो रसायनलाई दोस्रो विश्वयुद्धमा प्रयोग गरिएको थियो। व्यापक रूपमा अन्तर्राष्ट्रिय विरोध हुँदाहुँदै पनि यसको प्रयोग भियतनाममा ठूलो परिमाणमा गरिएको थियो।

अमेरिका-भियतनाम युद्धको असर अमेरिकामा पनि स्पष्ट रूपमा महसुस गर्न सकिन्थ्यो। उहाँका सम्पूर्ण जनता कुनै पनि अवस्थामा जित्न नसकिने युद्धमा देशका फौजहरूलाई झोकिरहेको भनेर सरकारको व्यापक विरोध गर्न लागे। युवाहरूलाई सेनामा भर्ती गर्नलाग्दा पनि जनतामा विद्रोह सृजना  हुनथाल्यो। युद्धमा पठाइएका सेनाहरूमा धेरैजसो अल्पसंख्यक र गरीब तथा श्रमजीवीहरूका छोराहरू थिए। यो युद्धप्रति विरोधका स्वरहरूलाई बुलन्द गर्नमा अमेरिकी मिडियाहरूले पनि महत्त्वपूर्ण भूमिका खेलेका थिए। यो युद्ध अमेरिकी नीति निर्मातामा यदि हो ची मिन्हको कम्युनिष्ट सरकारका आफ्ना योजनाहरू सफल भए भने वरिपरिका अन्य देशहरूमा पनि कम्युनिष्ट सरकार स्थापित हुनेछन् भन्ने चिन्ताका कारणले शुरु भएको थियो। तर उनीहरूलाई के कुरा अनुमानसम्म थिएन भने राष्ट्रवादको शक्ति र ऊर्जाले लैस जनता कुन हदसम्म जान सक्दछन्; आफ्ना सम्पूर्ण कुरा त्यागी कसरी भयानक परिस्थितिमा रहन सक्दछन् र आफ्नो स्वतन्त्रताको लागि लडाइँ लड्न सक्दछन्। अमेरिकीहरूले संसारका सबभन्दा विकसित र आधुनिक प्रविधिबाट सुसज्जित देशको विरुद्धमा संघर्ष गर्नको लागि तयार एक सानो देशको शक्तिलाई धेरै कम आँकिरहेका थिए।

हो ची मिन्हले आफ्नो सम्पूर्ण जिन्दगीलाई भियतनामको स्वतन्त्रताको लागि झोकिदिएका थिए। उनले भियतनामको स्वाधीनताको लागि संघर्ष गर्दै ४० वर्षभन्दा बढी पार्टीको नेतृत्व गरे। उनकै नेतृत्वमा जापानी र फ्रान्सेली साम्राज्यवादीहरूले हारको शिकार हुनुपरेको थियो। अब अमेरिकामाथि उनी भारी परेका थिए। अमेरिका-भियतनामा युद्धमा हो ची मिन्ह उल्झनपूर्ण मार्गको महत्त्वपूर्ण स्थान रहेको देखिन्छ। हो ची मिन्ह मार्ग हेर्दा स्पष्ट हुन्छ कि भियतनामीहरूले अमेरिकाको विरुद्ध कसरी युद्ध लडे। यसबाट के कुरा पनि पुष्टि हुन्छ भने भियतनामीहरू कसरी आफ्ना सीमित स्रोतसाधनहरूको पनि कति सुझबुझपूर्ण प्रयोग गर्न सक्दथे। फुटपाथ र सडकको यो विशाल संजालको माध्यमबाट भियतनामको उत्तरबाट दक्षिणतिर सैनिक र लजेस्टिक पठाइन्थ्यो। पचासको दसकको अन्तिममा यो मार्गलाई धेरै उन्नत बनाइयो र सन् १९६७ पछि हरेक महिना करिब २० हजार उत्तरी भियतनामी सैनिक यही मार्गबाट हुँदै दक्षिण भियतनाम पुग्न लागेका थिए। यो मार्गमा ठाउँ-ठाउँमा साना-साना सैनिक अड्डा र अस्पताल बनाइएका हुन्थे। केही इलाकामा माल ढुवानीको लागि ट्रकहरूको पनि प्रयोग गरिन्थ्यो। तर धेरैजसो यो काम स्त्रीहरूले गर्ने गर्दथे। यसरी कुल्ली, स्त्री, पुरुष मिलेर लगभग २५ किलो सामान पिठ्यूमा र ७० किलो सामान साइकलमा लिएर निस्किन्थे। यो मार्गको धेरै हिस्सा भियतनाम बाहिर लाओस र कम्बोडियामा  पर्दथ्यो र त्यसका कैयौं सिरा दक्षिण भियतनाममा पुग्थे। अमेरिकी टुकडीहरूले भियतनामी सैनिकहरूको लागि लजेस्टिकको आपूर्ति बन्द गर्नको लागि यो मार्गमा कैयौं बम बर्साए तर पनि उनीहरूले यो आपूर्ति मार्गलाई ध्वस्त गर्न सकेनन्। किनकी अमेरिकी आक्रमणपछि तुरून्तै भियतनामीहरू यो मार्गको मर्मत गरिहाल्थे।

भियतनामको मुक्ति युद्धमा स्त्रीहरूको भूमिका अत्यन्तै महत्त्वपूर्ण रहेको देखिन्छ। भियतनाममा राष्ट्रवादी आन्दोलनले तीव्र रूप लिंदै गर्दा भियतनामी समाजमा स्त्रीहरूको एक नयाँ रूप सामुन्ने आउन लाग्यो। स्त्रीहरू अब एक नयाँ सोचसँगे अगाडि बढ्न लागे। सन १९६० को दशकमा भियतनामी स्त्रीहरू अत्यन्तै बहादुरीपूर्वक अमेरिकीहरूसँग युद्ध गर्न थाले। उनीहरूले हवाइजहाजमा गोली हानेर उडाउन थाले। कतिपय स्त्रीमध्ये एक्लैले असाधारण वीरताको परिचय दिंदै शत्रुलाई मार्न थाले। एक स्त्री न्गूगेन थी शुआनले २० गोलीको सहायताले एक जेट विमान खसालेकी थिइन्। स्त्रीहरूलाई योद्धाको साथसाथै सैनिकहरूको लागि लजेस्टिक पुर्याउने काममा पनि लगाइएको थियो। उनीहरू एक हातमा राइफल र एक हातमा हथौडा लिएर काममा पनि लागेका देखिन्थे। बुढी, जवान, अधवैंसे स्त्रीहरू निस्वार्थ भावले देश रक्षाको लागि समर्पित थिए। साठीको दशकमा धेरै संख्यामा सैनिक मारिएपछि भने स्त्रीहरूलाई पनि सेनामा भर्ना हुन आव्हान गरिएको थियो। धेरै स्त्रीहरूले यो आव्हानलाई गम्भीरतापूर्वक लिएर प्रतिरोध आन्दोलनमा होमिए। उनीहरू घाइतहरूको मलमपट्टी गर्न, भूमिगत बंकर र सुरूङ बनाउन एवं दुश्मनसँग लड्नमा पनि तीव्र रूपमा भाग लिन्थे। त्यसैगरी यो युद्धमा युवा भोलेन्टियरहरूको पनि महत्वपूर्ण भूमिका रहेको छ।  हो ची मिन्ह मार्गमा देशका युवा भोलेन्टियरहरूले २१९५ किलोमिटर लामो महत्त्वपूर्ण सडकमा लगातार पहरा दिए र २५०० स्थानको रक्षा गरे। उनीहरूले छ हवाइ पट्टी बनाए, दसौंहजार बमलाई बर्बाद गरे,  हजारौं किलोग्राम माल ल्याए, हतियार र गोलाबारूदको सप्लाइ जारी राखे। र,धेरै जहाजहरूलाई खसाले। सन् १९६५ देखि १९७५ को बीचमा यो मार्गमा काम गर्ने युवाहरूमा ७० देखि ८० प्रतिशत केटीहरू थिए। भियतानमको त्यतिबेलाको सेना, मिलिसिया, स्थानीय दस्ता र पेशेवर टोलीहरूमा १५ लाख स्त्रीहरूले काम गर्दथे।

अमेरिका र भियतनामको बीचमा भएको युद्ध लम्बिंदै जाँदा अमेरिकन जनता तथा प्रतिनिधिहरूसमेत सरकारको विरुद्धमा जान लागेका थिए। अमेरिका पनि आफ्नो लक्ष्यमा असफल भइरहेको थियो। अमेरिकाले भियतनाममाथि कब्जा जमाउन सकेको थिएन। यतिखेरसम्म हजारौं हजार अमेरिकी सेनाले ज्यान गुमाइसकेका थिए र धेरै भियतनामी नागरिकहरू पनि मारिएका थिए। अमेरीकी कुकृत्यलाई टेलिभिजनमार्फत हेरेर संसारका मानिसहरूको अमेरिकासँग मोहभंग भइसकेको थियो। मानवअधिकारकर्मी, पत्रकार, संसारका उत्पीडित जनताहरू, लेखक, कलाकार, कर्मचारी सबै अमेरिकाको विरुद्ध बोल्न थालिसकेका थिए। यता तिनै मानिसहरू भियतनामको बलिदानीपूर्ण संघर्षको समर्थन गर्न लागेका थिए। यसरी सरकारी नीतिको विरुद्धमा व्यापक प्रतिक्रियाहरूले युद्धको अन्त्य गर्ने प्रयासलाई अझ बल प्रदान गर्यो। त्यसपछि सन् १९७४ मा पेरिसमा एक शान्ति सम्झौतामा हस्ताक्षर भयो। यो सम्झौतापछि अमेरिकासँग चलेको युद्ध त अन्त्य भयो तर दक्षिण भियतनामको साइगन शासन र एनएलएफको बीचमा युद्ध जारी रह्यो। अन्तिममा ३० अप्रिल १९७५ मा एनएलएफले राष्ट्रपति महलमा कब्जा जमायो र भियतनामको दुवै भागलाई मिलाएर एउटै राष्ट्रको स्थापना गरियो। यसरी वर्षौंको भयंकर युद्धपछि साम्राज्यवादी पंजाबाट मुक्त हुनुको साथै एकताबद्ध भियतनाम बन्यो।

भियतनामको यो निर्मम संघर्ष कुनै अप्रत्याशित घटना थिएन। यसको शुरुवात एक महत्वाकांक्षी महाशक्तिद्वारा साम्यवादको प्रसार रोक्नको लागि एशियामा आफ्नो पंजा फसाइराख्नुको सुनिश्चित योजनाको परिणाम थियो। यसमा अमेरिकाका दुवै राजनीतिक दल रिपब्लिकन र डेमोक्र्याटले सरकारलाई समर्थन दिएका थिए। यता रूस र चीनले पनि आफ्नो शक्ति वृद्धि गर्नको लागि भियतनामको सहायता प्रदान गरेका थिए। अमेरिकाका सबै विद्वान, लेखक, पत्रकार, बुद्धिजीवी, उदारवादी, यथार्थवादी, रूढीवादी र उग्रवादीसमेतले यो घटनालाई ठूलो गल्ती, स्वान्त दुर्घटना, अमेरिकाको असफल अस्तक्षेप, भुलको परिणाम जस्ता पदावलीले विरोध गरे। तर एउटा सानो देशले यसमा आशचर्यजनक मूल्य चुकाउनुपर्यो। अमेरिकी सेनाले दैनिक रूपमा भयंकर बमबारी गरिरहे, जुन लामो समयसम्म, महिनौं र वर्षौंसम्म चल्यो। तर भियतनामीहरूले आफ्नो सपना बचाइरहे।

अमेरिकी समाजमा यो युद्धमा सहभागिताबाट चारैतिर दरार पैदा भयो। सेनामा व्यय तीस प्रतिशतभन्दा माथि गयो र व्यापारीहरूले यसको धेरै विरोध गरे। युद्धमा पठाइएका युवा र उनीहरूका परिवारले पनि विरोध गरे। यो युद्धबाट अमेरिकालाई केवल मानहानी मात्र प्राप्त भयो। यो युद्धबाट डोमिनन सिद्धान्त पनि मिथ्या प्रमाणित भयो किनकि राष्ट्र कुनै खेलमा थिएनन्। त्यतिखेर अमेरिकाको जनसंख्या ३० करोड थियो। यो युद्धमा उसले ५८ हजारभन्दा बढी (अमेरिकी तथ्यांकअनुसार) व्यक्ति गुमाउनुपर्यो। अर्कोतिर भियतनामको जनसंख्या ३ करोड ७० लाख थियो, जसमा जापान, फ्रान्स र अमेरिकाको विरुद्ध युद्धमा उनीहरूले ७० लाख भियतनामीहरू गुमाउनुपर्यो। यो युद्धमा केवल जनता मात्र गुमाउनु परेन, बरू ८० प्रतिशत भन्दा बढी ग्रामीण क्षेत्र नष्ट भए र उत्तरका सबै ६ औद्योगिक शहरहरू नष्ट भए। व्यापक बमबारीको कारण धेरै कृषियोग्य भूमि नष्ट भयो। तर भियतनामको लागि यो युद्ध सैनिकहरूको नभएर स्वतन्त्रताको थियो। भियनामीहरूले ३० वर्षको कालमा तीन विश्वशक्तिहरूलाई पराजित गरेका थिए। विदेशी आधिपत्यका विरूद्ध भियतनामको मुक्ति युद्धले के प्रमाणित गर्दछ भने बलियो सैन्यशक्ति, विकसति अर्थव्यवस्था र धेरै स्रोतसाधनले मात्र जित निश्चित गर्दैन।

जापानले दोस्रो विश्वयुद्धमा हार खाएर आत्मसमर्पण गरेपछि भियतनाम औपचारिक रूपमा स्वतन्त्र भएको थियो । तर स्वतन्त्र भियतनाम निर्माण गर्नको लागि त्यहाँ जनताले अरु ३० वर्ष फ्रान्स र अमेरिकासँग भयंकर संघर्ष गर्नुपर्यो। सन् १९४५  देखि १९७५ को तीस वर्षसम्म भियतनामीहरूले वीसौं शताब्दीको सबभन्दा लामो र नृशंस स्वतन्त्रता संघर्षमा भाग लिए। सन् १९४५ देखि १९५४ सम्म यो संघर्ष फ्रान्सबाट स्वतन्त्रता प्राप्तिको लागि थियो र त्यसपछि लगत्तै अमेरिकासँग भयंकर युद्ध शुरु भयो। वास्तवमा भन्ने हो भने भियतनाम यो बेलाको शीतयुद्धसँग सम्बन्धित साम्यवाद र साम्यवादविरोधी शक्तिहरूको बीचको विश्व संघर्षको रंगमन्च जस्तै बन्यो। यसमा भियतनामले धेरै ठूलो मानवीय र आर्थिक क्षति पनि बेहोर्नुपर्यो। यद्यपि भियतनामको मुक्ति युद्ध यसबेलाको महान युद्ध बन्यो। यसले विश्वको सैनिक र आर्थिक रूपले शक्तिशाली देश अमेरिकालाई आत्मसमर्पण गर्नको लागि विवश बनायो। भियतनाम युद्धमा स्त्री, श्रमिक, कुल्ली, मजदूर, किसान, व्यापारी, युवा, सेना, कर्मचारी, आदि सबै संलग्न थिए र त्यसमा पनि विशेषगरी स्त्रीहरूको विशिष्ट योगदान रहेको थियो। शितयुद्धको बेलामा भएका युद्धहरूमा अमेरिका र उसका सहयोगी राष्ट्रहरू एकातिर तथा सोभियत संघ, चीन जस्ता साम्यवादी देश र उनीहरूका सहयोगी राष्ट्रहरू एकातिर हुन्थे। भियतनाम युद्धमा पनि यो प्रक्रिया नै देखा पर्यो। भियतनामलाई प्रत्यक्ष वा प्रत्यक्ष रूपमा सोभियत रुस र चीन जस्ता साम्यवादी देशहरूको सहयोग प्राप्त थियो भने अरू सबै साम्राज्यवादी पूँजीवादी मुलुकहरू अमेरिकासँग भियतनामको विरुद्धमा शक्तिशाली हतियारसहित लड्न आएका थिए। वास्तवमा भन्ने  हो भने यो युद्ध  साम्यवादी व्यवस्थाको विरुद्धमा अमेरिकाले चलाएको युद्ध थियो। भियतनामी जनताका मुख्य नेता हो ची मिन्ह थिए। उनी लामो समयसम्म यूरोप, उत्तर अमेरिका, दक्षिण अमेरिका, फ्रान्स, रूस, चीन, आदि धेरै देशमा बसेर लामो समयसम्म कम्युनिष्ट आन्दोलनमा सहभागी हुँदै भियतनामी जनतालाई एकताबद्ध गरेका थिए। दोस्रो विश्युद्ध अन्त्य भएपछि जापानले आत्मसमर्पण गर्नेवित्तिकै हो ची मिन्ह भियतनाममा साम्यवादी व्यवस्थालाई बलियो बनाउनेतिर लागे। त्यसपछि भियतनामी फ्रान्सेली साम्राज्यवादी आक्रमणको शिकार हुनुपर्यो। ८ वर्षसम्मको भयंकर रक्तपातपूर्ण युद्धबाट फ्रान्सलाई भियतनामी जनताले हराए । तर शुरुमै अमेरिकी षड्यन्त्रबाट भियतनामलाई दुई टुक्रा बनाइयो। यसबाट हो ची मिन्ह र भियतनामी जनता धेरै रूष्ट भए र कठपुतली दक्षिण भियतनामी सरकारको विरुद्धमा जानथाले। यसबाट सम्पूर्ण दक्षिण पूर्वी एशियामा साम्यवादी शासन विस्तार हुन्छ भन्ने आतंकको कारणले भियतनाममाथि भयंकर युद्ध थोपर्यो। यसले भियतनामी जनतामा त धेरै ठूलो क्षति पुग्यो नै। यद्यपि अमेरिकाले धेरै ठूलो धनजनको क्षति बेहोर्न बाध्य हुनुपर्यो। र, अन्त्यमा उसले आत्मसमर्पण गर्न बाध्य हुनुपर्यो। यसरी बीसौं शताब्दीको एक भयंकर युद्धको रूपमा भियतनामको राष्ट्रिय मुक्ति युद्धलाई लिइन्छ। यो युद्धबाट संसारका कमजोर र उत्पीडित राष्ट्रहरूले धेरै शिक्षा लिएको देखिन्छ।

सन्दर्भ सामग्रीहरू

  1. हो ची मिन्ह- एक क्रान्तिकारी का जीवन (जीवनी) – सूफी अमरजीत, अनुवाद – रामपाल, गार्गी प्रकाशन, दिल्ली
  2. वियतनाम का मुक्ति युद्ध- त्रुयोन्गा चिन्ह, अनुवाद महेश सिंह, संपादन नरेश नदीम, प्रकाशसन संस्थान, नयाँ दिल्ली
  3. ‘हंसने की चाह में’ (भियतनामी कहानियों का संकलन) –  वु वान ली, हिन्दी अनुवाद – कपिलदेव – परिकल्पना प्रकाशन, नयाँ दिल्ली
  4. एशिया का आधुनिक इतिहास, सत्यकेतु विद्यालंकार, हिन्दी संस्करण, श्री सरस्वती सदन, नयाँ दिल्ली
  5. जेल डायरी – हो ची मिन्ह (कविताएँ) , हिन्दी संस्करण, अनु – सत्यव्रत, परिकल्पना प्रकाशन, लखनउ
  6. हो ची मिन्ह – लेखक तथा सम्पादक – सिद्धिश्वरमान श्रेष्ठ, अक्षलोक प्रकाशन
  7. आधुनिक एशिया – कौलेश्वर राय,  किताब महल
  8. वियतनाम की क्रान्ति बुनियादी समस्याएँ, आवश्यक कार्य – ले दुआन, हिन्दी संस्करण, अनुवाद – महेश सिंह, सम्पादन – नरेश नदीम, प्रकाशन संस्थान, नयाँ दिल्ली
  9. HO CHI MINH – ON REVOLUTION – sellected writtings 1920-1966, Edited and with and Introduction by BERNARD B. FALL, published by the new Americal library
  10. Selected writings of Ho-Chi-Minh, LeoPard Books India
  11. Following Ho Chi Minh : the memoirs of a North Vietnamese colonel by Bùi, Tín, Honolulu : University of Hawaii Press
  12. Ho chi Minh A life – william J. Duiker, hyperion
  13. Ho Chi Minh Thought On The Military- Publisher: The Gioi Publishers
  14. Ho Chi Minh: A Political Biography – Jean Lacouture, Peter Wiles (Translator), Jane Clark Seitz (Translator)


Leave a comment

About Me

I am a student of philosophy and nature. I thoroughly research all subjects and summarize them in Nepali and English. I am Secretary of Marxism Study-Research Academy, Nepal. I am a Social Worker. Education – i) Master of Arts Degree in Political Science – TU, ii) Master of Public Administration Degree – TU, iii) Master of Arts Degree in History-TU, iv) Master of Arts Degree in Nepalese History Culture and Archaeology-TU.

म अध्ययन-अनुसन्धान कार्यमा निस्वार्थ भावले निरन्तर लागेको एक वाम विचारधारायुक्त सामाजिक कार्यकर्ता हुँ। मेरो कुनै पनि राजनीतिक दलसँग संलग्नता नरहेको जानकारी गराउँदछु। मेरा हरेक अध्ययन-अनुसन्धान कार्य शोषण, दमन, अन्याय, अत्याचारका विरुद्ध हुनेछन् । आम श्रमजीवी, भोका-नांगा, गरीब, उत्पीडित जनसमुदायहरूलाई सुशिक्षित गर्ने प्रयत्न मेरो कर्तव्य हुनजान्छ । मेरा सबै कार्य जनहितका लागि हुनेछन् भन्ने आशा तथा विश्वासपूर्वक मैले निरन्तर कार्य अगाडि बढाइरहेको हुनेछु। श्रमप्रति सम्मान र शोषणप्रति घृणा नै मेरा कार्यका उद्देश्य हुनेछन्।  

यहाँ तपाईंहरू सबै प्रकारका सामग्रीहरू अध्ययन गर्न र हेर्न पाउनुहुनेछ । अध्ययन गर्नको लागि रूचियुक्त सामग्रीहरू माग गर्नुभयो भने यथासंभव परिपूर्तिसमेत गरिनेछ । यहाँ लेखरचना, पत्रपत्रिका, म्यागजिन,  जर्नल, विभिन्न पुस्तकहरू (नेपाली, अंग्रेजी र हिन्दी भाषामा), डकुमेन्ट्री, फिल्म, आदि सामग्रीहरू खोजेर पढ्न तथा हेर्न सक्नुहुन्छ।

I am a leftist social worker who is selflessly engaged in research work. I inform you that I am not affiliated with any political party. Every study-research work of mine will be against exploitation, oppression, injustice and tyranny. It is my duty to try to educate the common workers, the hungry, the poor, the oppressed masses. I will continue my work with the hope and confidence that all my work will be for public interest. Respect for labor and hatred for exploitation will be the objectives of my work.

Here you will find all kinds of content to study and watch. If you demand for interesting materials to study, they will be provided as much as possible. Here you can search and read articles, newspapers, magazines, journals, various books (in Nepali, English and Hindi languages), documentaries, films, etc.

श्रमको सम्मान गर्नुभएकोमा धन्यवाद ।

Thank you for respecting the labor.

Newsletter

Marxism-मार्क्सवाद

Communist history

Philosophy-दर्शन

लेनिन-LeninLeninism

दस्तावेज-documents

धर्म-दर्शन

त्रिपिटक–बुद्ध

गीता सार

Politics–राजनीति

ग्रन्थ परिचय

Mao-Maoism

साहित्य- literature

जीवनी-biography

साम्यवाद-communism

युवाबारे-On Youth

कार्ल मार्क्स–Karl Marx

फ्रेडरिक एंगेल्स–F. Engels

भी.आइ.लेनिन–V.I.Lenin

जे. भी. स्टालिन – J.V. Stalin

माओत्सेतुङ – Maotsetung

डिजिटल पुस्तकालय (digital library)

ई-पुस्तकालय -e-library

विज्ञान-प्रविधि (Science-Technology)

सामान्य ज्ञान (GK)

Documentaries and YouTube channels

पुस्तकालय – LIBRARY

नेपाली डिजिटल पुस्तकहरू (Nepali Digital Books)

नेपाली न्यूजपेपर, म्यागजिन र अनलाइन पत्रपत्रिकाहरू (Nepali Newspapers, Online and Nepali Magazines)

English Digital Books : Part – 1 (world communist special books)

English Digital Books : Part – 2

English Digital Books : Part – 3

हिन्दी डिजिटल पुस्तक (Hindi digital Books) भाग – १

हिन्दी डिजिटल पुस्तक (Hindi digital Books) भाग – २

हिन्दी डिजिटल पुस्तक (Hindi digital Books) भाग – ३

हिन्दी डिजिटल पुस्तक (Hindi digital Books) भाग – ४

हिन्दी डिजिटल पुस्तक (Hindi digital Books) भाग – ५

Documentaries and YouTube channels

Uncategorized

ENGLISH SECTION

Design a site like this with WordPress.com
Get started