पर्ल एस. बकको विश्वप्रसिद्ध उपन्यास “धर्ती माता (The Good Earth)” को सारसंक्षेप

स्रोत – संसार के महान उपन्यास (डा. रागेय राघव)‘ हिन्दी संस्करण

अनुवाद तथा सम्पादन नारायण गिरी

            अंग्रेजी उपन्यासकार पर्ल एस. बकको जन्म सन् १८९२ मा वेस्ट भर्जिनियामा भयो। उनी चार महिनाकी थिइन्, तब पिता चीनको चिनकियांग प्रान्तमा गएर बसे, र वालिका पर्ल त्यही वातावरणमा पालिइन्।चीनमा नै उनको शिक्षा-दीक्षा भयो।अमेरिकाको कोर्नल तथा रेडोल्फमेकनबाट उनले उच्च शिक्षाको डिग्री प्राप्त गरिन्।पछि उनी चीन फर्किएर पढाउन लागिन्।नान्किङ्ग विश्वविद्यालयका प्रोफेसर जे. लोसिङ्ग बकसँग उनले विवाह गरिन्।सन् १९२७ मा जब चीनमा दंगा भयो, तब पति-पत्नी अत्यन्तै कठिनाइपूर्वक त्यहाँबाट बाँचेर निक्लिए।तब उनी अमेरिका फर्किइन्।

            ‘द गुड अर्थ’ (धर्ती माता) को प्रकाशन सन् १९३१ मा भयो। यो उपन्यास अति धेरै बिक्यो। यसमा जापानी आक्रमण-कालसम्मको जीवनको चित्रण गरिएको छ।यो उपन्यासमा श्रीमती बकलाई नोवेल पुरस्कार पनि मिलिसकेको छ र पुलिट्जर पुरस्कार पनि।द गुड अर्थ संसारका प्रसिद्ध उपन्यासहरूमध्येमा एक हो।

            प्रस्तुत उपन्यासमा चीनका किसानहरूको जीवनको चित्रण गरिएको छ।लेखिकाको चीनसँग धेरै नै गहिरो परिचय छ। पर्ल एस् बकले अरु उपन्यासहरूमा पनि चीनको वर्णन गरेकी छिन्। ओ-लानको रुपमा उनले पितृसत्ताको, चीनको सहिष्णु नारीको अत्यन्तै मार्मिक चित्रण उपस्थित गरेकी छिन्। वांग-लुंगको चरित्रमा धन र त्यसको प्रभावको राम्रो परिचय मिल्छ।यसमा चीनका तीन पुस्ताहरूका विभिन्न विचारधाराहरूको अत्यन्तै राम्रो वर्णन छ।यस उपन्यासले एक दीर्घ कालखण्डलाई आफूमा समेट्दछ।यसमा चीनका देवी देवता र अनेक निम्न तथा धनीहरूको अत्यन्तै सहज चित्र लेखिकाले उपस्थित गरेकी छिन्।यस उपन्यासलाई यदि एक महान गाथा भन्ने हो भने कुनै अत्युक्ति हुनेछैन।

उपन्यासको सार

            वांग लुंग एक किसान थियो।उसका पिताले उसको लागि बधु खोजी नै दिए।ऊ ह्वांगको धनी घरानाकी एक दासी थिई। वधुको लागि सौन्दर्य आवश्यक थिएन, उसले घर-गृहस्थी सम्हाल्न सकोस्, बच्चाहरूलाई जन्म दिन सकोस्, खेतमा काम गर्न सकोस्, तन्दुरुस्त होस् – यति नै हेर्नु आवश्यक थियो। वांग लुंगले जब आफ्नी पत्नीलाई उत्सुकतापूर्वक हेर्यो, तब उसलाई सन्तोष भयो किनकि उसकी पत्नीको अनुहारमा क्षयरोगका दाग थिएनन्।

            वधुको नाम ओ-लान थियो।ऊ लामो कदकी र प्रबल स्त्री थिई र नीलो कोट तथा पाइजामा पहिरिन्थी।मुख अलि सानो थियो, जसमा नाक केही समतल थियो, आँखा काला थिए।ऊ अत्यन्तै इमान्दारीपूर्वक मेहनत गर्दथी।एक पटक जब अनिकाल लागेको थियो, तब दस वर्षको उमेरमा, उसका माता-पिता उसको पालन-पोषण गर्नमा असमर्थ भएका थिए, त्यसपछि उनीहरूले ह्वांगको धनी घरानामा उसलाई एक दासीको रूपमा बेचिदिएका थिए।

            पति-पत्नीमा विशेष कुनै कुरा भएन, किनकि ओ-लान कुरा बढी गर्दिनथी।वांग लुंगले उसलाई खेतमा लिएर गयो।उहीँ निवासस्थान थियो, र वधुले नै विवाहको प्रीतिभोजको सबै सामान तयार गरी।वांग लुंगका काका यहाँ पाहुनाको रूपमा उपस्थित भए।उनी अत्यन्तै रमाइलो खालका व्यक्ति थिए।अत्यन्तै चलाख थिए र कामकाजको बारेमा विल्कुल बेकार थिए।काकाको छोरा पन्ध्र वर्षको थियो ।ऊ उद्दण्ड र झगडालु थियो।छिमेकी चिंगको अतिरिक्त केही अरु किसान पनि थिए।

            बुहारीले भान्छामा खाना तयार गरी वांगको हातमा दिई र वांगले पस्कियो।नयाँ बुहारीले सुहागरात भन्दा पहिले सबैको सामु जानु ठीक पनि हुँदैनथ्यो।जब सबै गए, तब वांगले आफूले आफैलाई भन्यो – यो स्त्री मेरी हो र अब मैले यससँग सम्बन्ध स्थापित गर्नै पर्नेछ।त्यसपछि उसले बिना हिच्किचाहट आफ्ना लुगा खोल्यो।ऊ पनि विरोधहीन अवस्थामा नै रही।वांग हास्यो र त्यसपछि उनीहरू पति-पत्नी बने नै।अब उनीहरूको जीवनको प्रारम्भ भयो। धेरै बातचितको कुनै आवश्यकता नै भएन।

            उज्यालो भयो।उसले तातो पानी ल्याई।उसले केही पानी वांगलाई दिई र केही उसको पितालाई।वांग खेतमा गयो। जब ऊ फर्कियो, तब खाना तयार पायो।उसले काठदाउरा जम्मा गरेर ल्याउँथी।दिउँसो ऊ बाहिर जान्थी र मलको लागि ठूला सडकमा भएका घोडा र खच्चरहरूको लिदी आफ्नो टोकरीमा भरेर ल्याउँथी।

            एक दिन ऊ फरुवा लिएर खेतमा आई।बोली, आज रातिसम्म घरमा कुनै काम बाँकी छैन र खेतमा वांगसँगै काम गर्नमा जुटी।विस्तारै-विस्तारै घाम अस्तायो ।वांगले काम बन्द गरेर उभियो, उसले आफ्नी पत्नीतर्फ हेर्यो, जो पसिनाले तर्तर थिई र उसमाथि ठाउँ-ठाउँमा खैरो धूलो माटो लागेको थियो।क्षणभर उसलाई लाग्यो, जस्तो त्यो माटो र उसकी पत्नीको देहको रंगमा कुनै अन्तर थिएन।बडो निसंकोचपूर्वक स्त्रीले भनी, “म गर्भवती छु।” यसरी कैयौं महिनाहरू बिते।

            एक दिन खेतमा उसले वांगसँग भनी, “बच्चा पैदा हुनेवाला छ। तिमी एक ताजा ताछिएको बेत लिएर आउ, त्यसले म बच्चाको नाल काट्नेछु।”

            वांग घर फर्किएर आउँदा उसकी पत्नीले खाना बनाइसकेकी थिई।ढोका हल्का खुल्ला थियो।उसले त्यहाँबाट बेत दियो। स्त्रीले समाती।त्यसपछि वांगले ऊ भित्र कराइरहेकी सुन्यो।फेरि तातो फलामको जस्तो गन्ध आयो।अब एक कोमल रोदन सुनियो।

            वांग लुंगले आवेशपूर्वक सोध्यो, “के छोरो भयो ?”

            ओ-लानले सानो स्वरमा भनी, “हो, छोरो हो।”

            भोलिपल्ट नै ओ-लान उठी र उसले खाना पकाई। केही दिनपछि ऊ फेरि खेतमा काम गर्न आई।

            नयाँ वर्ष आयो।दुवै गर्वपूर्वक ह्वांगको धनी घरानामा पुगे। घरानामा धेरै खर्च थियो, जुन दिन प्रतिदिन बढ्दै गइरहेको थियो र अब बरवादीको लक्षण प्रकट हुन लागेको थियो।जमिन बिकिरहेको थियो।एक टुक्रा वांग लुंगले पनि खरिद गर्यो।

            वशन्त ऋतुको हावा चल्न लाग्यो। ओ-लान  फेरि गर्भवती भई। शरद ऋतु आएपछि ऊ फेरि घर गई, उसले फरुवा खेतमा नै छोडिदिई।रात अझै बाँकी थियो, जब ऊ खेतमा फर्किई र उसले सहजै भनी, “एउटा छोरो अर्को भयो।” यस वर्ष वांग लुंगले ह्वांगको धनी घरानाबाट केही थप भूमि खरिद गर्यो।

            दस महिना बिते। वांग लुंगको काका अझै पनि त्यस्तै निरर्थक थियो।उसले ऋण लियो र वांग लुंगले दिनु पर्यो।ओ-लानले अब फेरि एक छोरीलाई जन्माई।आकाशमा काला काग उड्दै गरेको देखियो।यो सबै अलक्षण थियो, जसको अर्थ थियो, आउने दिन राम्रा थिएनन्।

            खडेरी पर्न लाग्यो।खेत सबै सुके।तर ओ-लान  फेरि गर्भवती थिई।उसको काका पुन: ऋण माग्न आयो तर वांग लुंगसँग अब पैसा थिएन।केही चामल थियो तथा केही सिमी र बोडी थिए।दिन प्रतिदिन यी पनि कम हुँदै गइरहेका थिए।तर काका तब हट्यो, जब कसैले लग्यो।ऊ यति निरर्थक थियो कि फेरि माग्न आयो।तर अब वांग लुगसँग केही पनि बचेको थिएन।काकाले छिमेकीहरूलाई वांग लुंगले आफूसँग अन्न लुकाएर राखेको छ र यस्तो समयमा पनि बाँडचुँड गरेर खान अस्वीकार गरिरहेको छ भनेर भड्काइदियो।भोका छिमेकीहरू उत्तेजित भए।काकाको कुरामा छिमेकी चिंग पनि आयो।भोक, प्यासले सबैलाई ब्याकुल बनाएको थियो।त्यसपछि सबै भोकाहरूले उसको घरमा आक्रमण गरे।तर वास्तवमै घरमा केही पनि थिएन।उनीहरूले धेरै सामानहरू नष्ट-भ्रष्ट गरिदिए।

            ओ-लानले फेरि एक शिशुलाई जन्म दिई। तर जब वांग लुंग उसलाई हेर्न भित्र गयो, धर्तीमा उसले एक अत्यन्त जर्जर, क्षीण, मृत देह देख्यो।

            अब केही पनि बाँकी थिएन।तब परिवारले आफ्ना काठपात बेचे र उनीहरू रेलतर्फ गए। अन्हवईबाट उनीहरू कियांग्सू पुगे।वांग लुंग एउटा रिक्सा चलाउन लाग्यो।ओ-लान  र उसका बच्चाहरू सडकमा भीख माग्न लागे। ओ-लानले बच्चालाई भीख माग्ने तरीका सिकाउन लागी।उनीहरू पहिले वांग लुंगको पितालाई खुवाउँथे, त्यसपछि बाँकीको पेटमा केही जान्थ्यो। वांग लुंगको एक छोराले विवश भएर चोरी गर्यो।जब वांग लुंगले यो कुरा थाहा पायो, तब उसले उसलाई धेरै पिट्यो।

            गरीबहरूमा फौजको भर्ती चलेको थियो।टाढा कहीँ युद्ध भइरहेको थियो।मानिसहरू जबर्जस्ती पक्रिइन्थे।वांग लुंग डरायो र उसले दिउँसो रिक्सा चलाउन छोडिदियो।ऊ राति अध्यारोमा गाडी चलाउन लाग्यो।

            गरीबहरूको हा-हाकार दिन प्रतिदिन बढ्दै गइरहेको थियो। विशाल महलहरूभित्र धनीहरू अझ धनी हुँदै गइरहेका थिए र बाहिर भीड भोकले मरिरहेका थिए।अन्तमा सहिष्णुताका सीमाहरू टुटे।भोकको जादूले हलचल मच्चाइदियो र गरीबहरूले धनीहरूका भवनहरूमाथि आक्रमण गरे।त्यही भीडमा वांग लुंग नि खनियो।र, उसले एक डरपोक मानिसलाई भेट्यो।मृत्युको भयले उसले वांग लुंगलाई स्वर्ण दियो, ताकि वांग लुंगले उसलाई नमारोस्।सुन पाएर वांग लुंग फर्कियो।

            धन प्राप्त गर्ने वित्तिकै उनीहरू सबै फेरि घर फर्किए।एक रात वांग लुंगलाई लाग्यो, ओ-लान को छातीमा केही लुकाएर राखिएको थियो।उसले हेर्यो।एउटा थैली थियो, जसमा रत्न भरिएका थिए।जब कियांग्सूमा भीडले आक्रमण गरेको थियो, त्यस बेला एउटा भवनमा केही ईंटा खुकुलो जस्तो देखिएको थियो, तिनीहरूलाई सार्दा त्यहीँबाट यो थैली प्राप्त भएको थियो।

            वांग लुंगले ती रत्न लियो।ओ-लानले ऊसँग दुई मोती आफ्नो अनुनयद्वारा मागी।वांग लुंगले मोती उसको लागि छोडिदियो।

            कुक्कू ह्वांगको धनी घरानाकी चलाख दासी थिई।र, बाँकी सबै नोकर बिना तलब भागिसकेका थिए, किनकि ठूलो घराना बर्बादीतर्फ दिन प्रतिदिन तीव्रतापूर्वक बढिरहेको थियो।वांगले कुक्कूको मद्दतबाट ह्वांग घरानाको जमिन खरिद गर्यो।

            एक पटक लुट्ने र केही नपाउने छिमेकी चिंगको मनमा एक प्रकारको लज्जायुक्त ग्लानी भरिएको थियो।अब ऊ एक्लै रहेको थियो।उसकी पत्नी मरिसकेकी थिई।वांगले उसलाई आफ्नो खेतको हेरविचार गर्नको लागि राख्यो।

            ओ-लानका जुम्ल्याहा सन्तान भए – एक छोरा, एक छोरी।

            अब थाहा भयो कि वांग लुंगकी ठूली छोरी लाटी तथा अपांग थिई।सम्पूर्ण परिवारलाई दु:ख भयो, तर कुनै उपाय थिएन। वांग लुंग उसलाई ‘विचारी गाबदू’ भन्थ्यो, तर केटी फेरि पनि बोल्न सकिन।

            पाँच वर्ष बिते।अब वांग लुंग एक धनी व्यक्ति थियो।तर पनि ऊ अशिक्षित थियो।उसलाई यो कुरा दु:खदायी लाग्दथ्यो।उसले आफ्नो ठूलो छोरालाई पढ्नको लागि शहर पढाइदियो।दुई वर्ष अरु बिते।बाढी आयो, तर उनीहरूले सम्पूर्ण तूफान र अप्ठ्याराहरूको सामना गरे।धनको त अभाव नै थिएन।

            एक दिन खेतमा पानी भरिएको थियो, वांगले कुक्कूलाई भेट्यो।ऊ चलाख थिई।अब ठूलो घरानामा उसको लागि कुनै काम बाँकी थिएन।ऊ बेश्याहरूकी दलाल बनेकी थिई।त्यसले उसलाई भुल्याएर लिएर गई र उसले लोटस नामक सुन्दरीसँग उसको भेट गराइदिई।लोटस त्यति युवती थिइन, तर किसान नै त थियो वांग।ऊ उसको मृदुलता र हाउभाउबाट फस्यो।उसले आफ्नो शरीरमा सुगन्ध लगायो।आफ्नो केश काट्यो र आधुनिक बन्यो।र, उसले ओ-लान माथि दृष्टि दियो। त्यो घरेलु स्त्री ! उसका खुट्टा कति ठूला र कुरुप थिए ! उसको पेट कसरी निक्लिएको थियो ! यस्तो स्त्रीलाई अब प्रेम गर्नु वांगको लागि असंभव थियो।ओ-लान  उसको काटिएको बाल हेरेर आतंकले कामी।वांगलाई स्वयं आफूमाथि असन्तुष्टि थियो कि उसले त्यो स्त्रीप्रति अब कुनै पनि प्रकारको अनुरागको अनुभव गर्दैनथ्यो।उसले ती दुवै मोती पनि ओ-लान बाट लियो र लोटसलाई उपहारस्वरुप दियो।ओ-लानले यसलाई पनि चुपचाप सही।

            वांग लुंगको काका फर्केर आयो। वांगले केही पनि भन्न सकेन। समाजको नियमानुसार उसलाई आफ्नोमा राख्नको लागि ऊ विवश भयो।उसकी मोटी स्त्री पनि आई र उसको बेकार नालायक छोरो पनि त्यही आयो, जो वासनाले विव्हल रहन्थ्यो।काकीले जब वांगमा लोटसप्रति यस्तो अनुराग देखी, तब उसले भँडुवीको काम गरी र लोटसलाई घरैमा लिएर आई।यस रखैलसँगै कुक्कू घरमा पसी।ओ-लानलाई एक गहिरो विषादले घेर्यो तर उसले विरोध गर्न सकिन।

            वांगको सम्पत्तिले पनि उसलाई अवरोध गरेन।ऊ निरन्तर त्यसैगरी उसको खेत र घरमा काम गरीरही । वांग उता लोटसको आँगनमा रसरंगमा अल्झिरहन लाग्यो।

            ओ-लानलाई लोटससँग त्यति घृणा थिएन, जति कुक्कूसँग थियो, किनकि ठूलो घरानामा रहेको बेलामा कुक्कूले ओ-लानलाई पिटेकी थिई।वांगको वृद्ध पिता जतिखेर लोटसलाई देख्थ्यो, चिच्याइहाल्थ्यो –  ‘वेश्या ! वेश्या !’ बच्चाहरू पनि लोटसमाथि खनिन्थे।

            विस्तारै-विस्तारै बाढीको पानी सुक्यो। वांग खेतमा फर्कियो र धर्ती मातालाई देखेर उसमा फेरि नयाँ स्फूर्ति फर्कियो।त्यसपछि उसले लियू व्यापारीकी छोरीसँग आफ्नो ठूलो छोराको विवाहको प्रबन्ध गर्यो।

            काकाका परिवारको माग बढ्दै गइरहेका थिए।उनीहरू वांगलाई चुसिरहेका थिए।नशा अलग, खाना अलग।दिक्क लागेर उसले कालाई बाहिर निकाल्न चाह्यो, तर त्यति बेला उसलाई इलाकामा ठाउँ-ठाउँमा डाका गर्ने लुटेरा काकाको गिरोहका मानिस थिए भन्ने कुरा थाहा भयो।बरु काकाको उपस्थितिको कारण नै अहिलेसम्म ऊ डाकुहरूबाट बचेको थियो।डरले वांग काम्यो। उसले काकालाई केही भन्नु आफ्नो मृत्युलाई निमन्त्रणा दिनु नै ठान्यो।

            यसपछि एक नयाँ समस्या आयो।आकाशमा फट्यांग्राहरू (सलह) छाउन लागे।वांग आफ्नो सम्पूर्ण शक्ति लगाएर जुट्यो।ठाउँ-ठाउँमा खाल्डो खनेर तिनीहरूमा आगो लगाउन लागियो।धुवाको मुस्लो उठ्न लाग्यो र फट्यांग्राहरूसँग युद्ध हुन लाग्यो।अन्तमा मानिसहरूले विजय प्राप्त गरे।

            अब वांगको ठूलो छोराले दक्षिण जान चाह्यो, ताकि ऊ उही पढ्न सकोस्, तर वांगले अस्वीकार गरिदियो।यही बेला उसलाई ठूलो छोराको लोटससँग केही अनुचित सम्बन्ध थियो भन्ने कुरा थाहा भयो।वांग क्रोधले पागल भयो।उसले बडो निर्दयतापूर्वक छोरालाई पिट्यो र उसलाई दक्षिण पठाइदियो।अर्को छोरालाई उसले लियूसँग राखिदियो कि उसले व्यापारको काम सिक्न सकोस्।र, उसले उसकी जुम्ल्याहा छोरीको कुनै दिन भविष्यमा लियूको दस वर्षीय पुत्रसँग विवाह गरिदिने कुराको पनि निश्चय गर्यो।

            अब ऊ ओ-लान माथि ध्यान दिन लाग्यो, तर त्यति बेला बिरामी भई।वशन्त ऋतु लाग्ने वित्तिकै ओ-लानले आफ्नो ठूलो छोरो र हुनेवाली बुहारीलाई बोलाई।प्रीतिभोजसँगै विवाह भयो।त्यसपछि ओ-लानको मृत्यु भयो।त्यस बेला वांगले उसबाट दुवै मोती खोस्नु नहुने रहेछ भन्ने कुराको अनुभव गर्यो।वांगका वृद्ध पिता यस संसारबाट उठे र बुहारी तथा ससुराको वांगकै सुन्दर धर्तीमा एक पहाडमा चिहान बनाइयो।

            समयको क्रममा फेरि बाढी र अनिकाल आयो।यति भयानक कि जस्तो कहिल्यै आएकै थिएन।वांगले एक दिन चुपचाप आफ्ना काका र काकीलाई आफ्नो विरुद्ध षड्यन्त्र रच्दै गरेको सुन्यो।वांगको ठूलो छोराको सल्लाह अनुसार दुवैलाई खत्तम गर्नको लागि उनीहरूलाई अफिमको नसामा लगाइदिनु आवश्यक थियो।काकाको छोरो पनि उपस्थित थियो र उसको सामु घरका स्त्रीहरू पनि जान डराउँथे।यहाँसम्म कि वांगकी सानी छोरी पनि उसको सामु जाने गर्दिनथी।

            बाढी सुक्यो।यस क्रममा कैयौं मानिसहरूले आफ्ना छोरीहरू बेचे।वांगले पनि पाँच दासीहरू खरिद गर्यो।पियर ब्लोसम नामक युवतीलाई उसले लोटसको सेवामा राखिदियो।तर वांगको ठूलो छोरो अहिलेसम्म वांगको काकासँग भयभीत थियो।त्यसकारण वांगले ह्वांगको ठूलो घरानाको विशाल भवन खरिद गर्यो।एक दिन वांग यही ओ-लानलाई लिन गएको थियो।वांगको दोस्रो छोरो व्यवहारकुशल थियो।उसले आफ्नो लागि एक कुशल गृहिणीको माग गर्यो।वांगलाई आफ्नो यस पुत्रको व्यवहार-दक्षतामाथि आश्चर्य भयो।ठूलो छोराको अनावश्यक खर्चबाट ऊ असन्तुष्ट भयो, किनकि भाई दाजुसँग यही कुरामा अप्रशन्न थियो।दाजु अधिकार जमाउन चाहन्थ्यो।अंशबण्डा हुनुभन्दा पहिले नै दाजुले सम्पूर्ण सम्पत्ति बरवाद गरिदिन्छ कि भनेर भाई डराउँथ्यो।

            वांगको काकाको छोराले पैसा माग्यो र ऊ युद्धमा टाढा देशमा गयो।

            वांगको ठूलो छोराको पुत्र पैदा भयो।त्यस बेला चारैतिर हलचल मच्चिरहेको थियो।वांगलाई ओ-लानको पहिलो प्रसवको स्मरण भयो।

            चिंग बूढो हुँदै गएको थियो।अत्यधिक परिश्रमले उसको शक्ति क्षीण भयो र वांगलाई अति दुखित बनाउँदै ऊ सदाको लागि यस संसारलाई छोडेर गयो।

            वांग आफ्नो हुक्का पिइरहन्थ्यो, तर उसको मनमा शान्ति थिएन।उसको तेस्रो छोरो जवान भइरहेको थियो।उसलाई नै खेतपातीको जिम्मा दिने वांगको इच्छा थियो।तर ऊ विद्रोह गर्न लाग्यो।वांगले उसमाथि एक मास्टर लगाइदियो।

            चार वर्षमा चार नाती, तीन नातिनी आए र घरभरि भए।वांगको मनमा केही सन्तोष मिल्न लाग्यो।त्यसपछि उसको काका मर्यो।काकी ठूलो घरमा आफ्नो अफीम लिएर आई, तर शीघ्र नै ऊ पनि मरी।

            यही बेला सैनिकहरू आए र ठूलो घरमा बसे।काकाको छोरो पनि यिनीहरूमै थियो।आँगन डरले शून्य भयो र स्त्रीहरू लुके।पियर ब्लोसम ठूली भएकी थिई।काकाको छोराले उसलाई लिने इच्छा प्रकट गर्यो, उता वांगको तेस्रो पुत्र पनि उसमाथि मोहित थियो।लोटस पनि उसलाई काकाको छोरालाई नै दिन चाहन्थी।तर वांगले लोटसको चिन्ता गरेन।उसले पियर ब्लोसमलाई न काकाको छोरालाई दियो, न आफ्नो तेस्रो छोरालाई।तेस्रो छोरो क्रान्तिकारीहरूसँग गएर मिल्यो र घर छोड्यो, किनकि सत्तरी वर्षको अवस्थामा वांगले सत्र वर्षीय त्यो पियर ब्लोसमलाई स्वीकार गरेको थियो, जो आफ्नो इच्छाले उससँग आएकी थिई।

            यद्यपि वांगका पुत्र आफ्नो पिताको आदर गर्दथे तर वांग आफ्नी पियर ब्लोसम र लाटी छोरी ‘विचारी गाबदू’ सँग नै बस्दथ्यो।ऊ आफ्नो एकान्तलाई छोड्दैनथ्यो।केही दिनपछि वांग आफ्नो पुरानो घर फर्केर आयो।पियर ब्लोसमले वांगपछि सदैव मुस्कुराउने लाटी छोरी विचारी गाबदूको रक्षा तथा सेवा गर्ने कुराको प्रतिज्ञा गरी।

            वांग लुंग वृद्ध भएको थियो। एक दिन ऊ ठक्कर खाएर लड्यो।उसका छोराहरू ऊ मरेपछि जमिन बेचिदिने सल्लाह गरिरहेका थिए। उसको लागि यी कुरा असह्य थियो।उसलाई पुराना दिन याद आए, जब ह्वांगको धनी घरानाले धर्तीसँग सम्बन्ध तोडेका थिए र बरवाद भएका थिए।वांग लुंग क्रोधले काम्यो।त्यसपछि उसका पुत्रहरूले उसलाई धर्ती नबेच्ने कुराको आश्वासन दिए।तर वृद्ध वांग लुंगले उनीहरूको हाँसोमा व्यंग्य देख्न सकेन।

            र, एक दिन वृद्ध वांग लुंग सदाको लागि विदा भयो।



Leave a comment

About Me

I am a student of philosophy and nature. I thoroughly research all subjects and summarize them in Nepali and English. I am Secretary of Marxism Study-Research Academy, Nepal. I am a Social Worker. Education – i) Master of Arts Degree in Political Science – TU, ii) Master of Public Administration Degree – TU, iii) Master of Arts Degree in History-TU, iv) Master of Arts Degree in Nepalese History Culture and Archaeology-TU.

म अध्ययन-अनुसन्धान कार्यमा निस्वार्थ भावले निरन्तर लागेको एक वाम विचारधारायुक्त सामाजिक कार्यकर्ता हुँ। मेरो कुनै पनि राजनीतिक दलसँग संलग्नता नरहेको जानकारी गराउँदछु। मेरा हरेक अध्ययन-अनुसन्धान कार्य शोषण, दमन, अन्याय, अत्याचारका विरुद्ध हुनेछन् । आम श्रमजीवी, भोका-नांगा, गरीब, उत्पीडित जनसमुदायहरूलाई सुशिक्षित गर्ने प्रयत्न मेरो कर्तव्य हुनजान्छ । मेरा सबै कार्य जनहितका लागि हुनेछन् भन्ने आशा तथा विश्वासपूर्वक मैले निरन्तर कार्य अगाडि बढाइरहेको हुनेछु। श्रमप्रति सम्मान र शोषणप्रति घृणा नै मेरा कार्यका उद्देश्य हुनेछन्।  

यहाँ तपाईंहरू सबै प्रकारका सामग्रीहरू अध्ययन गर्न र हेर्न पाउनुहुनेछ । अध्ययन गर्नको लागि रूचियुक्त सामग्रीहरू माग गर्नुभयो भने यथासंभव परिपूर्तिसमेत गरिनेछ । यहाँ लेखरचना, पत्रपत्रिका, म्यागजिन,  जर्नल, विभिन्न पुस्तकहरू (नेपाली, अंग्रेजी र हिन्दी भाषामा), डकुमेन्ट्री, फिल्म, आदि सामग्रीहरू खोजेर पढ्न तथा हेर्न सक्नुहुन्छ।

I am a leftist social worker who is selflessly engaged in research work. I inform you that I am not affiliated with any political party. Every study-research work of mine will be against exploitation, oppression, injustice and tyranny. It is my duty to try to educate the common workers, the hungry, the poor, the oppressed masses. I will continue my work with the hope and confidence that all my work will be for public interest. Respect for labor and hatred for exploitation will be the objectives of my work.

Here you will find all kinds of content to study and watch. If you demand for interesting materials to study, they will be provided as much as possible. Here you can search and read articles, newspapers, magazines, journals, various books (in Nepali, English and Hindi languages), documentaries, films, etc.

श्रमको सम्मान गर्नुभएकोमा धन्यवाद ।

Thank you for respecting the labor.

Newsletter

Marxism-मार्क्सवाद

Communist history

Philosophy-दर्शन

लेनिन-LeninLeninism

दस्तावेज-documents

धर्म-दर्शन

त्रिपिटक–बुद्ध

गीता सार

Politics–राजनीति

ग्रन्थ परिचय

Mao-Maoism

साहित्य- literature

जीवनी-biography

साम्यवाद-communism

युवाबारे-On Youth

कार्ल मार्क्स–Karl Marx

फ्रेडरिक एंगेल्स–F. Engels

भी.आइ.लेनिन–V.I.Lenin

जे. भी. स्टालिन – J.V. Stalin

माओत्सेतुङ – Maotsetung

डिजिटल पुस्तकालय (digital library)

ई-पुस्तकालय -e-library

विज्ञान-प्रविधि (Science-Technology)

सामान्य ज्ञान (GK)

Documentaries and YouTube channels

पुस्तकालय – LIBRARY

नेपाली डिजिटल पुस्तकहरू (Nepali Digital Books)

नेपाली न्यूजपेपर, म्यागजिन र अनलाइन पत्रपत्रिकाहरू (Nepali Newspapers, Online and Nepali Magazines)

English Digital Books : Part – 1 (world communist special books)

English Digital Books : Part – 2

English Digital Books : Part – 3

हिन्दी डिजिटल पुस्तक (Hindi digital Books) भाग – १

हिन्दी डिजिटल पुस्तक (Hindi digital Books) भाग – २

हिन्दी डिजिटल पुस्तक (Hindi digital Books) भाग – ३

हिन्दी डिजिटल पुस्तक (Hindi digital Books) भाग – ४

हिन्दी डिजिटल पुस्तक (Hindi digital Books) भाग – ५

Documentaries and YouTube channels

Uncategorized

ENGLISH SECTION

Design a site like this with WordPress.com
Get started