समाजवादको इतिहासको पुनर्मूल्याङ्कन

स्रोत – अनिल राजिमवालेको एक प्रसिद्ध हिन्दी पुस्तक ‘वैज्ञानिक-तकनीकी क्रान्ति और उत्तर-औद्योगिक समाज’

अनुवादकहरू

-रमेश सुनुवार

– नारायण गिरी

जस्तो कि सुविदित छ, अक्टुवर २५ (७ नोभेम्बर, १८१७) मा इतिहासको एउटा महत्वपूर्ण घटना, रुसी क्रान्ति, भयो । क्रान्ति विशिष्ट आन्तरिक र यूरोपीय परिस्थितिहरूमा भयो, जसमाथि हामी पछि विवेचना गर्नेछौं ।

लेनिनले यसलाई एउटा नयाँ युगको शुरुवात माने; एउटा यस्तो संक्रमणकालको शुरुवात, जसले विश्व समाजलाई पूँजीवादबाट समाजवाद हुँदै साम्यवादतिर लैजान्छ । लेनिनले माने कि साम्राज्यवादी व्यवस्थामा संकट पैदा भएको छ, त्यसकारण यसको सबभन्दा कमजोर कडी टुक्रिएर अलग भएको छ, जसले एउटा वैकल्पिक समाजको निर्माणको विश्वक्रान्तिकारी प्रक्रिया आरम्भ गरेको छ । यसप्रकार उनको विचारमा रुसी क्रान्तिले दुई विपरीत सामाजिक–आर्थिक व्यवस्थाहरूको संघर्ष प्रारम्भ गरेको थियो ।

लेनिन र बोल्सेभिक (कम्युनिष्ट) पार्टीले सोभियत सत्ता अर्थात् सर्वहारा–सत्ताको स्थापनाको घोषणा गरे । यो सत्ताको चरित्र चित्रण सर्वहारा वर्गको अधिनायकत्व वा कहिलेकाहीं सर्वहारा र गरीब–किसानहरूको अधिनायकत्वको रूपमा गर्दै लेनिनले यसको तुलना पेरिस कम्युन (१८७१) मा पहिलोपटक स्थापित सर्वहारा सत्तासँग गरेका थिए।

पछि गएर लेनिनको पहलमा कम्युनिष्ट इन्टरनेशनलको स्थापना गरियो र नयाँ अर्थमा विश्व कम्युनिष्ट आन्दोलनको जन्म भयो, जसको उद्देश्य थियो, सर्वहारा अन्तर्राष्ट्रियतावादमा आधारित भएर समुच्च विश्वमा जनवादी, समाजवादी र कम्युनिष्ट क्रान्तिहरू गर्नु । विश्व कम्युनिष्ट आन्दोलनको मुख्य प्रेरणा स्रोत सोभियत क्रान्ति बन्यो । विभिन्न देशहरूमा समाजवादी, कम्युनिष्ट र मुक्तिकामी पार्टीहरूको स्थापनामा तीव्रता आयो ।

कालान्तरमा पूर्वी यूरोप, चीन, भियतनाम, क्यूवा तथा केही अन्य देशहरूमा कम्युनिष्ट तथा क्रान्तिकारी समाजवादी पार्टीहरूका सत्ता स्थापित भए । तिनीहरूलाई सर्वहारा वा सर्वहारा–गरीब किसान सत्ता बताउँदै समाजवादी निर्माणको आधार मानियो । विश्व समाजवादी मजदूर आन्दोलनको प्रस्थापनानुसार संसारको एक तिहाई क्षेत्रफलमा अवस्थित ती देशहरूले एउटा यस्तो विश्व समाजवादी व्यवस्थाको निर्माण गरिरहेका थिए, जुन पूँजीवाद–साम्राज्यवादमाथि लगातार विजय प्राप्त गर्दै भविष्यमा सम्पूर्ण पृथ्वीमा व्याप्त हुन्छ । फलस्वरूप, संकटग्रस्त भएको विश्व पूँजीवादी समाप्त हुन्छ र त्यसको स्थान विश्व समाजवादले लिन्छ । केवल मार्क्सवादीहरूको दृष्टिमा मात्र होइन, बरु सोभियत व्यवस्थाका अन्य गैरमार्क्सवादी मित्रहरूको दृष्टिमा पनि लेनिन तथा विश्व समाजवादी व्यवस्थाको उपर्युक्त बुझाई द्वितीय विश्वयुद्धपछिका दसकहरूसम्म सही प्रतीत भइरह्यो : तबसम्म, जबसम्म सोभियत संघको विखण्डन शुरु भएन । विशेषगरी विकाशशील देशहरूमा विश्व समाजवादी व्यवस्था तथा क्रान्तिकारी प्रक्रियामाथि ठूलो विश्वास थियो र तिनीहरूले त्यसैको अनुरूप आफ्ना गतिविधिहरू तथा नीतिहरू निर्धारण गर्ने प्रयास गर्दथे । मार्क्सवादी आन्दोलनको भित्र र बाहिर यी प्रस्थापनाहरूको कुनै न कुनै रूपमा आलोचना अवश्य भइरहेको छ । रोजा लक्जेम्बर्गद्वारा सोभियत सत्ताको सहानुभूतिपूर्ण आलोचना सुविदित छ । कार्ल कोर्श, लूकाच, काउत्स्की, प्लेखानोभ, इत्यादि, मार्क्सवादी विचारकहरूले आ–आफ्ना ढंगले रुसी क्रान्ति र वोल्सेभिकवादका विभिन्न पक्षहरूको तीखो आलोचनात्मक विश्लेषण पेश गरेका थिए । एन्टोनियो ग्राम्शी सत्ता, राज्य र दर्शनसम्बन्धी कैयौं मार्क्सवादी–लेनिनवादी प्रस्थापनाहरूको केवल आलोचक मात्र बनेनन्, बरु तिनले यो विचार–पद्धतिमा कैयौं नयाँ कुराहरू पनि जोडे । ट्राटस्की, बुखारिन, लुनाचार्स्कीजस्ता शीर्षस्थ नेताहरूले सोभियत सत्ताका तौर–तरीकाहरूको, विशेषगरी स्टालिनकालको शासनतन्त्रको, जोडदार विरोध गरे ।

अनौपचारिक मार्क्सवादी धारा, सोभियत गुटका देशहरूमा गुप्त तर गम्भीर चिन्तनधाराहरू, मार्क्सवादको यो वा त्यो पक्षमाथि आधारित विचारप्रक्रियाहरू तथा गैरमार्क्सवादी गम्भीर विचार र आलोचनात्मक धाराहरू सोभियत एवं समाजवादी इतिहासलाई राम्रो मान्नुमा अत्यन्त महत्वपूर्ण छन् । यस सम्बन्धमा फ्र्यांकफुर्ट स्कूल, अस्ट्रो–मार्क्सिज्म, “प्राक्सिस स्कूल” तथा कैयौं अन्य चिन्तनधाराहरूले ऐतिहासिक भूमिका निर्वाह गरेका छन् । यिनीहरूमध्ये कैयौं धाराहरू र कैयौं चिन्तकहरू गैरमार्क्सवादी छन् । तर यो महत्वपूर्ण कुरा होइन । यी सबै धाराहरूले द्वितीय विश्वयुद्धभन्दा पहिले नै (र पछि पनि) सत्ता, क्रान्ति तथा समाज विकास र दर्शनसम्बन्धी कैयौं यस्ता प्रश्नहरू उठाए, सोभियत सत्ता र समाजका कैयौं नकारात्मक पक्षहरूको बारेमा पनि यस्ता प्रश्न उठाए र भविष्यवाणीहरू गरे, जुन पछि प्रासंगिक तथा सही सावित भए ।

“फ्र्यांकफुर्ट स्कूल”  को चिन्तनधारामा कार्ल ग्रुएनवर्ग, हर्कहाइमर, थियोडोर एडोर्नो, वाल्टर बेन्जामिन, कार्ल कोर्श, फ्रांज बोर्केनु, हेनरिक ग्रसम्यान, हबर्ट मार्क्यूज, विट्फोगेल, जुएर्गेन हाबरमासजस्ता दिग्गज विचारकहरू सामेल थिए, जसले चिन्तनप्रक्रिया तथा दर्शन र समाजशास्त्रका विभिन्न क्षेत्रहरूमा नयाँ पक्षहरू जोडे ।

यसबाहेक लूसिएँ गोल्डम्यान, लूसियो कोलेटी, लुई अल्थुशर, होफम्यान, इरिख फ्रमजस्ता विचारकले आधुनिक चिन्तनलाई नयाँ उचाईसम्म लिएर गए । सोभियत संघ तथा अन्य पूर्वीय यूरोपीय देशहरूको विचारधाराप्रेररित राज्यले आफ्ना संकुचित हितहरूको कारण यी नवीन र असाधारण रूपले गहन विचारहरूलाई आत्मसात गर्न सकेन । यसको एउटा महत्वपूर्ण कारण स्टालीनद्वारा मार्क्सवादको राजकीय विचारधाराको रूपमा सूत्रीकरण हो, जसको धेरै सुन्दर र विचारोत्तेजक वर्णन लेस्जेक कोलाकोव्स्कीले गरेका छन् ।

आज पूँजीवाद–साम्राज्यवादको बदला समाजवादको पतन भएको छ । पूँजीवादी संकटको बदला समाजवादको संकट बढी गहिरो सावित भएको छ । अधिकांश देशहरूमा धराशायी भएपछि समाजवाद अब बचे–खुचेका देशहरूमा यस हदसम्म बदलिरहेको छ कि त्यसलाई चिन्न पनि मुश्किल भइरहेको छ । लेनिनको “साम्राज्यवादको सबभन्दा कमजोर कडी” तथा स्वयं साम्राज्यवादसम्बन्धी सिद्धान्तहरूमाथि प्रश्नचिन्ह लागेको छ ।

समाजविकासको कारण

समाजवाद तथा मार्क्सवादको संकटले कैयौं महत्वपूर्ण प्रश्नहरूलाई जन्म दिन्छ । केही विचारकहरू, विशेषगरी कट्टर मार्क्सवादीहरू, तिनीहरूको उत्तर दिनबाट तर्किन्छन् । उनीहरू यो भनेर बच्दछन् कि सोभियत तथा समाजवादी व्यवस्थाको विघटन वा पतन केवल एउटा व्यक्तिको, गोर्भाचोभको कदमको परिणाम हो । यदि गोर्भाचोभ गलत मार्ग नहिँडेका भए वा सत्तामा नआएका भए समाजवाद बच्दथ्यो र अगाडि बढ्दै जान्थ्यो । सोभियत संघमा “समाजवाद लुप्त” हुनु र “पूँजीवाद” को आगमनको लागि उनलाई नै पूर्ण रूपले जिम्मेवार मानिन्छ ।

तर यो तर्क वा मान्यता त केटाकेटीपन र अपरिपक्वताको परिचायक मात्र हो । यो तर्कानुसार कुनै पनि सामाजिक–आर्थिक व्यवस्था केवल एउटा व्यक्ति वा केही व्यक्तिहरूको इच्छामाथि निर्भर हुन्छ । यो तर्क त स्वयं उनीहरूद्वारा प्रतिपादित वस्तुगतताको सिद्धान्तको विपरीत जान्छ, जसानुसार व्यक्ति वा व्यक्तिहरूका क्रियाकलाप वस्तुगत सामाजिक–आर्थिक परिस्थितिहरूमाथि निर्भर हुन्छन् । महानभन्दा महान व्यक्तिले पनि, चाहे ऊ गोर्भाचोभ होस् वा बुस, क्लिन्टन्, मेजर, स्टालिन, हिटलर वा कोही चक्रवर्ती सम्राट अथवा बादशाह होस्, समाजमाथि प्रभाव त पार्न सक्दछ, त्यसलाई सुधार्न वा बिगार्न पनि सक्दछ, त्यसको गति मन्द अथवा तीव्र बनाउन सक्दछ, तर सम्पूर्ण समाजव्यवस्था वा सामाजिक–आर्थिक व्यवस्थालाई बदल्न सक्दैन । आदिम, दास, सामन्ती वा पूँजीवादी व्यवस्थामा यस्तो कहिल्यै भएन, र न समाजवादी व्यवस्थामा नै यसमाथि बहस हुन सक्दछ कि समाजवादी व्यवस्था कहाँसम्म “समाजवादी” थियो । तर यति कुरा अकाट्य छ कि व्यक्ति वा पार्टीले मनोमानी ढंगले समाजको चरित्र बदल्न सक्दैनन् । यहाँसम्म कि हिटलरले पनि विश्वपूँजीवादी व्यवस्थालाई नष्ट गर्न सकेनन् । मार्क्सको खोज, इतिहासको भौतिकवादी अवधारणानुसार समाज र सामाजिक–आर्थिक व्यवस्थाहरू मुख्य रूपले अन्तर्निहित वस्तुगत नियमहरू तथा प्रक्रियाहरूबाट प्रेरित, चालित, विकसित र परिवर्तित हुन्छन् ; एउटा समाजबाट अर्को समाजमा परिवर्तन पनि यिनै नियमहरूबाट हुन्छ ।

त्यसकारण समाजवादको पतन गोर्भाचोभको कारण भयो भन्ने तर्क विश्लेषणको कसीमा सही सावित हुँदैन । वर्तमान कालका यी युगान्तरकारी घटनाहरूको कारण खोज्न र व्याख्या गर्नको लागि हामीले व्यक्तिहरूसम्म सीमित रहनुको बदला समाजको ढाँचामा काम गरिरहेका भौतिक अवस्थाहरूलाई बुझ्ने प्रयत्न गर्नुपर्दछ । व्यक्तिहरू तथा संगठनहरूको भूमिका यही सन्दर्भमा हेर्न सकिन्छ ।

यदि समाजवाद पूँजीवादभन्दा राम्रो र उच्च सामाजिक–आर्थिक व्यवस्था थियो भने, यदि त्यो पूँजीवादपछिको चरण थियो, जसले उत्पादनका साधनहरूको विकासको मार्गलाई खोलेको थियो, तब त्यो संकटग्रस्त भएर पतनशील किन भयो ?

समाजवादसम्बन्धी मार्क्सको विचार

समाजवाद र साम्यवादसम्बन्धी मार्क्सका प्रस्थापनाहरू पूँजीवादअन्तर्गत उत्पादनका साधनहरूको विकासका केही विशेष प्रवृत्तिहरूमाथि आधारित थिए । मार्क्स र एंगेल्सले विश्लेषणको क्रममा यो पाए कि उत्पादनका साधन, विशेषगरी तिनीहरू, जुन वाफको इन्जिनको वरिपरि विकसित भइरहेका थिए  र उद्योगहरू ठूला केन्द्रीकृत र संकेन्द्रित हुँदै गइरहेका थिए तथा श्रम सामूहिक हुँदै गइरहेको थियो । जहाँ एकातिर श्रम कारखानाहरू र उद्योगहरूमा श्रम–विभाजनको माध्यमले एकत्रित र अन्तरसम्बन्धित भएर सामूहिक हुँदै गइरहेको थियो, त्यहाँ अर्कोतिर, साधनहरूको स्वामित्व केही व्यक्तिहरू र उनीहरूका समूहहरू, पूँजीपतिहरूका उच्च तप्काहरूमा केन्द्रित हुँदै गइरहेको थियो । यसप्रकार श्रम र श्रमको स्वामित्व वा श्रम अथवा पूँजीको बीचमा विरोधी प्रवृत्ति प्रबल भइरहेका थिए । मार्क्सका प्रस्थापनाहरूअनुसार ठूला र भारी उद्योगहरूमा बढिरहेको श्रमको सामूहिकताले उत्पादनका साधनहरूको निजी स्वामित्वसँग धेरै समयसँग सन्तुलन वा तालमेल कायम राख्न सक्दैन र न कदम मिलाएर हिड्न नै सक्दछ । इतिहासको विकासको निश्चित मोड वा मोडहरूमा त्यो सन्तुलन, आपसी सम्बन्धहरू र द्वन्द्वात्मक तनावको विष्फोटक रूपले नष्ट हुनु अनिवार्य थियो । इतिहासलाई विकासको यस्तो मोड वा यस्तो बिन्दुमा एउटै समाधान निस्किन्छ : सामूहिक श्रमद्वारा उत्पादनका साधनहरूको सामूहिक स्वामित्व । अन्तर्विरोधलाई यसरी समाधान गर्नको लागि सामूहिक श्रम अर्थात् सर्वहारा वर्गद्वारा पहिले राजनीतिक सत्तामाथि अधिकार गरेर नयाँ राज्यसत्ताको निर्माण गर्नु आवश्यक थियो । समाजवाद र साम्यवादका चरणहरूको विकास शुरु हुन सक्दछ र उत्पादनका साधनहरूको सामूहिक स्वामित्व तथा उत्पादन सम्बन्धहरूको निर्माण आरम्भ हुन सक्दछ ।

मार्क्सको मान्यता के थियो भने समय बित्नु र उत्पादनका साधनहरू ठूला र केन्द्रिकृत हुनु तथा श्रमको बढीभन्दा बढी सामूहिक हुँदै जानुसँगै पूँजीवाद आफ्नो निजी स्वामित्वको चरित्रको कारण उत्पादनका साधनहरूको विकासमा बाधक बन्दै जान्छ । समाजवादी क्रान्तिले यो बाधा हटाएर उत्पादन साधनहरूको विकासको मार्गलाई निर्वाध रूपले खोलिदिनेछ ।

यो बुझाईको आधारमा स्वयं मार्क्सले मुख्यतया विकसित पूँजीवादी देशहरूमा समाजवादी क्रान्तिहरूको संभावनाको घोषणा गरेका थिए । यहाँसम्म कि उनले इंग्ल्याण्ड, हल्याण्ड र बेल्जियमजस्ता देशहरूमा, विशेषगरी विगत शताब्दीका सातौं दसकमा इंग्ल्याण्डमा शान्तिपूर्ण तरीकाले क्रान्तिको संभावनामाथि विचार गरेका थिए, किनभने त्यहाँ प्रायः सबै स्थानमा राज्यसत्ता कमजोर थियो । मार्क्स र एंगेल्सले बारम्बार १९औं शताब्दीको मध्यमा यूरोपमा सर्वहारा क्रान्तिहरूको अपेक्षा गरिरहेका थिए, किनभने त्यस बेला राजनीतिक र सामाजिक संकट गहिरिंदै गइरहेको थियो ।१० १८४८–५० का यूरोपीय क्रान्तिहरूमा मार्क्सको यो अपेक्षा पूरा भएन, यद्यपि सर्वहाराले तिनीहरूमा पर्याप्त तत्परतापूर्वक भाग लिएको थियो ।

क्रान्तिको असफलताको कारण खोज्नको लागि मार्क्स र एंगेल्सले आफ्नो ध्यान पूँजीवादको गहन आर्थिक विश्लेषण र पूँजीवादी उत्पादन पद्धतिको मूल्याङ्नमाथि केन्द्रित गरे । फलस्वरूप, उनीहरू मूल रूपमा बारम्बार तिनै निष्कर्षहरूमा पुग्दथे, जसको उल्लेख हामीले माथि गरेका छौं । यस सम्बन्धमा मार्क्सको पूँजी, फ्रान्समा गृहयुद्ध तथा एंगेल्सको समाजवाद : काल्पनिक र वैज्ञानिक विशेष रूपले उल्लेखनीय छन् । यिनीहरू तथा अन्य रचनाहरू तथा वक्तव्यहरूमा मार्क्स र एंगेल्स सर्वहारा तथा समाजवादी क्रान्तिहरूका संभावनाहरू र यिनीहरूतिर पूँजीवादको संक्रमणसम्बन्धी निष्कर्षहरूमा पुग्दछन्, यद्यपि पहिलेभन्दा धेरै बढी विस्तृत, गहन र जटिल तथा दीर्घकालिक रूपमा । उनीहरूले १९औं शताब्दीको अन्तिम तृतीयांशमा यी क्रान्तिहरूको संगठनको लागि मजदूर वर्ग र उनीहरूका पार्टीहरूलाई संगठित गर्ने कुरामाथि बढीभन्दा बढी जोड दिन्छन् ।

मार्क्सएंगेल्सको विश्लेषणमा समस्याहरू

मार्क्स र एंगेल्सको यो विश्लेषणमा केही कुराहरू अवश्य खड्किन्छन् । न उनीहरूको समयमा र न पछि आजसम्म नै कुनै पनि विकसित पूँजीवादी देशमा सर्वहारा क्रान्ति भयो । सर्वहारा अधिनायकत्वको एकमात्र प्रयोग पेरिस कम्युनमा भयो । केवल जर्मनीमा १९औं शताब्दीको अन्त र २०औं शताब्दीको शुरुमा एउटा यस्तो मजदूर पार्टी बन्न सक्यो, जसलाई व्यापक जनसमर्थन प्राप्त थियो, जुन सांगठनिक रूपले अत्यन्त शक्तिशाली थियो, जसले चुनावमा २५ प्रतिशतको आसपासमा भोट पाउँदथ्यो । त्यसैकारण यही एकमात्र यस्तो मजदूर पार्टी थियो, जुन त्यस बेला सत्ता हासिल गर्ने कुराको केही नजिक देखिन्थ्यो । एंगेल्सले जर्मन सामाजिक–जनवादी पार्टीलाई १८९१ मा तथा पछि पनि लामो समयसम्म सावधानीपूर्वक काम गर्दै चुनावमा बढी भोट र बढी सिट हासिल गर्न र यसप्रकार विस्तार–विस्तार सत्ता हासिल गर्ने तथा सरकार बनाउनेतिर बढ्ने सल्लाह दिएका थिए ।११ एक अर्थमा यो सल्लाह मार्क्स–एंगेल्सका प्रमुख रचनाहरूको तर्कबाट केही भिन्न छ । के कुरा ध्यान दिनलायक छ भने मार्क्स र एंगेल्स कहिल्यै पनि कुनै जडसूत्रवाद र दूराग्रहसँग बाँधिएनन् र न उनीहरूले संघर्ष र क्रान्तिको कुनै निश्चित रूप (जस्तै सशस्त्र क्रान्ति) लाई स्वयंमा उद्देश्य बनाए । उनीहरूले एउटा सही वैज्ञानिकको रूपमा परिस्थितिअनुसार आफ्ना प्रस्थापनाहरूमा लचिलो पन र परिवर्तन गर्ने क्षमता देखाए । जर्मन मजदूर वर्ग र त्यसको पार्टीलाई दिइएको उपर्युक्त सल्लाहमाथि कुनै पनि बेला विस्तारपूर्वक विचार गर्नु उपयोगी हुन्छ, विशेषगरी सर्वहारा अधिनायकत्वको सन्दर्भमा ।

रुसी क्रान्तिमा समेत मजदूर वर्गको सत्ता र सर्वहारा अधिनायकत्ववाद एउटा सिद्धान्त मात्र रह्यो, जसको पुष्टि हुनसकेन । यद्यपि १८७१ को पेरिस कम्युनलाई अवश्य यसको उदाहरण भनियो, तर त्यो अल्पकालसम्म मात्र रह्यो । विकसित पूँजीवादी देशहरूमा यो सिद्धान्तको पुष्टिको एउटा अर्को अवसर जर्मनीको १९१८ को क्रान्तिमा आयो । सामाजिक जनवादीहरूका ४ अलग–अलग दलहरूको नेतृत्वमा मजदूरहरू र सेनाहरूका काउन्सिलहरूले आफ्नो सत्ता स्थापित गरे । तर यसमा सर्वहाराको अधिनायकत्ववादलाई मान्ने दल स्पार्टाकस लीग (जुन पछि गएर जर्मनीको कम्युनिष्ट पार्टी बन्यो) अत्यन्तै सानो दल थियो । केही अर्थमा यो विद्रोहलाई अवश्य नै मजदूर सत्ताको उदाहरण भन्न सकिन्छ, तर तीन महिनाभित्र दक्षिणपन्थी सामाजिक–जनवादीहरू पूर्ण रूपले हावी भएपछि मजदूर काउन्सिलहरूको हातबाट सम्पूर्ण अधिकार गुम्यो र जर्मनी पूर्ण र उन्मुक्त विकासको पूँजीवादी मार्गमा गयो । यसपछि आजसम्म कुनै पनि विकसित पूँजीवादी देशमा मजदूर सत्ता र सर्वहारा अधिनायकत्वको स्थापना भएको छैन । यसप्रकार हामी देख्दछौं कि विकसित पूँजीवादी देशहरूमा समाजवादी क्रान्तिको मार्क्सवादी सिद्धान्तको पुष्टि आजसम्म भएको छैन ।

यस कुरामाथि जोड दिनु आवश्यक छ कि मार्क्सको सिद्धान्त तर्कपूर्ण र वैज्ञानिक छ र ठोस वस्तुगत तथ्यहरू र आँकडाहरूमाथि आधारित छ । उनीद्वारा पश्चिममा क्रान्तिको अपेक्षा स्वाभाविक र तर्कसंगत छ । तर पनि यसमा कुनै न कुनै कारक छुटेको छ, जसबाट यसका मान्यताहरू सही सावित हुन सकिरहेका छैनन् । हामी यसमाथि विचार गर्ने प्रयत्न गर्नेछौं ।

पूँजीवादमा उत्पादनका साधनहरूको विकास

यस सन्दर्भमा एउटा कारकतिर अवश्य ध्यानाकर्षित गर्न सकिन्छ र त्यो के हो भने पूँजीवादअन्तर्गत उत्पादनका साधनहरूको विकास । मार्क्स र एंगेल्सले यो अपेक्षा गरिरहे कि पछि गएर कुनै न कुनै चरण वा कुनै पनि चरणहरूमा पूँजीवाद उत्पादनका साधनहरूको विकासको मार्गमा बाधक बन्नेछ । मार्क्सको भविष्यवाणी र विश्लेषणानुसार १९औं र २०औं शताब्दीहरूमा पूँजीवादमा चक्रिय र नियतकालीन आर्थिक संकट अवश्य देखिन्छन्, तर कहीं पनि यो प्रस्थापनाको पूर्ण रूपले पुष्टि हुँदैन कि पूँजीवाद (र साम्राज्यवाद) ले उत्पादनका साधनहरूको विकासलाई रोकिरहेको छ । यसको विपरीत के देखिएको छ भने कैयौं पटक पूँजीवाद राम्रो उत्पादनको साधन विकसित हुँदै यी आर्थिक संकटहरूबाट बाहिर निस्किन्छ ।

१९औं शताब्दीका अन्तिम दशकहरूमा पूँजीवाद एकाधिकार र साम्राज्यवादको चरणमा प्रवेश गरिरहेको थियो । असाधारण प्रकारका विशाल तथा उच्च रूपले उत्पादक र तीव्र रूपले फैलिरहेका उत्पादन र यातायातका साधनहरूको विकास देखिन्छ । त्यो शताब्दीका ७०, ८० र ९० का दशकहरूमा पहिलोपटक स्पातको ठूलो परिमाणमा उत्पादन आरम्भ भयो, जुन बेसीमर कन्भर्टरको आविष्कारको कारण संभव भयो । स्पातको प्रयोगले समाजलाई नयाँ आधारमा उभ्याइदियो र बीसौं शताब्दीको आधुनिक युग यहींबाट आरम्भ हुन्छ । बेसीमर स्पात र कम्ब्यूसनल इन्जिनले पूँजीवादको स्वरूपमा ठूलो परिवर्तन ल्याए । औद्योगीकरण प्रक्रियामा अभूतपूर्वक तीव्रता आयो । फलाम, स्पात, धातुकर्म, इन्जिनियरिङजस्ता उद्योगहरूको सम्पूर्ण यूरोपमा असाधारण विस्तार भयो । ठूला यन्त्रहरू र ठूला उद्योग प्रमुख बने । रेलवेको प्रसारमा तीव्रता आयो तथा हवाईजहाजहरूको प्रयोग शुरु भयो । यसै अवधिमा टेलीग्राफ र रेडियोको प्रयोग पनि शुरु भयो, जसबाट आधुनिक संचार–व्यवस्थाको जन्म भयो । प्रविधि र उत्पादनका साधनहरूका यी परिवर्तनहरूबाट बैंकिङ व्यवस्थाको विकासमा तीव्रता आयो । वित्तीय व्यवस्था र वित्तपूँजीको जन्म भयो, जसबाट आधुनिक र विकसित एकाधिकारी पूँजीवादको व्यापक विकास संभव भयो ।

के कुरा ध्यान दिन लायक छ भने पूँजीवादमा विकसित भइरहेका एकाधिकार प्रवृत्तिहरूको चर्चा धेरै पहिले मार्क्सले गरेका छन् ।१२ एंगेल्सले, जो मार्क्सको मृत्यु भएको १२ वर्ष पछिसम्म जीवित रहे, आफ्ना कैयौं रचनाहरूमा यसको अझ पनि विस्तृत वर्णन गर्दै ट्रस्ट, कार्टेल तथा अन्य एकाधिकारी संगठनहरू र प्रवृत्तिहरूको उल्लेख गरेका छन् ।१३ कृषिमा एकाधिकारको विश्लेषणको श्रेय कार्ल काउत्स्कीलाई जान्छ । हिल्फरडिंगले वित्तपूँजीको विशेष रूपले विश्लेषण गरेका छन् । हब्सनले आफ्नो पुस्तक साम्राज्यवाद (१९०२) मा कैयौं अन्य पक्षहरूको पनि विश्लेषण गर्दछन् । साम्राज्यवाद र एकाधिकारसँग सम्बन्धित सबभन्दा चिरपरिचित रचना लेनिनको साम्राज्यवाद : पूँजीवादको अन्तिम चरण हो । यसमा पूँजीवादको नयाँ चरणको नयाँ सिद्धान्त पेश गरिएको छ, जुन उनको मौलिक खोज हो । उनको यो खोजले सम्पूर्ण जनवादी, समाजवादी र मजदूर आन्दोलनलाई गहिरो ढंगले प्रभावित गरिदियो र क्रान्तिकारी आन्दोलनमा एउटा नयाँ चरणको शुरुवात गरिदियो ।

लेनिनले साम्राज्यवादको आधारमा उत्पादनका शक्तिहरू तथा साधनहरूको व्यापक विकासको ठाउँ–ठाउँमा उल्लेख अवश्य गरेका छन्, तर उनको मुख्य जोड आफ्नो यो प्रस्थापनामाथि छ कि साम्राज्यवाद पूँजीवादको उच्चतम् र अन्तिम अवस्था हो; त्यसकारण त्यो उत्पादनका साधनहरूको विकासको मार्गमा बाधक बनिसकेको छ । साम्राज्यवाद र एकाधिकारको आधारमा पूँजी र साधनहरूको संकेन्द्रण तथा केन्द्रीकरण चरम अवस्थासम्म पुगेको छ, विशेषगरी वित्तीय पूँजीको कारण । उत्पादनका साधनहरू र वित्त पूँजीको असाधारण केन्द्रीकरण तथा संकेन्द्रण भइसकेको छ, त्यसकारण पूँजीवाद पतनशील र मरणाशन्न भएर उत्पादनका साधनहरू र उत्पादनका शक्तिहरूको ठूलो परिमाणमा विकास गर्नलागेको छ ।१४

यसभन्दा पहिले स्वयं मार्क्सले कु प्रस्थापना पेश गरेका थिए भने एकाधिकारी पूँजीवाद त्यो उत्पादन पद्धतिको लागि नै अवरोध बन्दछ, जसबाट त्यो उत्पन्न भएको छ । उत्पादनका साधनहरूको केन्द्रीकरण र श्रमको समाजीकरण एउटा यस्तो बिन्दुमा पुग्दछन्, जहाँ तिनीहरू पूँजीवादी खोलभित्र अब रहन सक्दैनन् ; यो खोल च्यातिन्छ, पूँजीवादी निजी स्वामित्व समाप्त हुन्छ ।१५

लेनिनले आफ्नो सम्पूर्ण ध्यान एकाधिकारी पूँजीवादका आर्थिक र सामाजिक पक्षहरूमाथि नै केन्द्रित गरेका छन्; फलस्वरूप यसको आधारमा चलिरहेको औद्योगिक, प्राविधिक र वैज्ञानिक प्रगतिमाथि अत्यन्तै कम ध्यान दिएका छन् । के कुरा ध्यान दिनुपर्दछ भने लेनिनको यो रचना (साम्राज्यवाद) प्रथम विश्वयुद्धको ठीक बीचमा, अर्थात् १९१६ मा लेखिएको थियो, जब चारैतिर विनाशलीला चलिरहेको थियो । विश्वयुद्धको ठीक पहिले वास्तवमै नयाँ विनाशकारी हतियारहरू बनाइएका थिए र युद्धमा उत्पादनका साधनहरूको असाधारण बर्बादी गरिएको थियो ।

विश्ययुद्ध धनजनको र उत्पादन साधनहरूको ठूलो विनाशसहित १९१८ मा समाप्त भयो । यसबाट साम्राज्यवादका प्रस्थापनाहरूको पुष्टि नै भएको देखियो । यसभन्दा पनि बढी, १९१७ मा सोभियत क्रान्तिले एकप्रकारले लेनिनको “साम्राज्यवादको सबभन्दा कमजोर कडीमा क्रान्ति”  को सिद्धान्तको अनुमोदनजस्तै गरिदिय । कैयौं देशहरूमा क्रान्तिहरूको प्रयत्न यो विनाशबाट बच्ने प्रयत्नहरू थिए ।

१९२० मा आफ्नो पुस्तकका फ्रान्सेली र जर्मन संस्करणहरूको भूमिकामा लेनिनले आफ्ना प्रस्थापनाहरूको अझ जोडदार पुष्टि गरे । “साम्राज्यवादको पतन” र “साम्राज्यवादी क्रान्तिको शुरुवात” जस्ता परिस्थितिहरू, साथसाथै पिछडिएका औपनिवेशिक देशहरूमा तीव्र भइरहेका स्वतन्त्रताको आन्दोलन – यो सम्पूर्ण तथ्यले साम्राज्यवाद पतनशील हुने लेनिनवादी सिद्धान्तलाई अझ पनि बलियो बनाइरहेको देखियो । युद्धबाट उत्पन्न औद्योगिक–सामाजिक र आर्थिक बिनाशका परिणामहरूबाट छुटकारा पाउन पूँजीवादलाई कैयौं बर्ष लाग्यो ।

तर पछि गएर लेनिनको प्रस्थापना पूर्ण रूपले सही सावित भएन, र अझ पछि गएर अधिकांश रूपमा गलत वा अप्रासंगिक भयो । यसको एउटा कारण सामाजिक–आर्थिक परिस्थितिहरूमा परिवर्तन थियो, जसबाट विश्व पूँजीवादमा स्थिरता आयो, उत्पादन र वित्तका नयाँ साधनहरू आविष्कृत भए र उत्पादकत्व बढ्यो । द्वितीय विश्वयुद्धको बावजुद पूँजीवादको विकास रोकिएन, त्यो मन्द पनि भएन; बरु बढी तीव्र रूपले, निर्बाद रूपले अगाडि नै बढ्यो । एउटा के कुरा स्पष्ट हुँदै गयो भने हरेक संकटपछि पूँजीवाद बढी गतिशील भएर, राम्रा साधनहरूसँग उच्च अवस्थामा पुग्दै गयो । द्वितीय विश्वयुद्धपछिका स्थितिहरूले त्यसलाई इलेक्ट्रोनिक क्रान्तिको चरण पुर्याइदिए ।

अर्कोतिर, मजदूर आन्दोलन र समाजवादी आन्दोलन तथा सोभियत संघ साम्राज्यवादसम्बन्धी लेनिनका प्रस्थापनाहरूलाई यान्त्रिक रूपले प्रयोग गरिरहे र तिनीहरूलाई कृत्रिम रूपले पुष्टि गरिरहे । फलस्वरूप, सिद्धान्त र वास्तविकतामा अन्तर बढ्दैगयो । एकतर्फी विश्लेषणले स्थितिको अर्को पक्षलाई बिल्कुलै लुकाइदियो । स्वयं लेनिनको विश्लेषणमा परिस्थितिहरूको प्रभावप्रति स्वाभाविक एकांगीपन छ, जसबाट समाजवादी आन्दोलनको लागि पछि गएर समस्याहरू उत्पन्न भए ।

त्यसकारण यो भन्ने बलियो र ठोस आधार अवश्य थिए कि साम्राज्यवादले उत्पादनका साधनहरूको विनाश गरिरहेको छ र त्यसकारण पतनशील भएको छ । दुर्भाग्यले परिस्थिति विशेषबाट उत्पन्न यो प्रस्थापनाको सामान्यीकरण गरेर त्यसलाई हरेक परिस्थिति र हरेक चरणको लागि शाश्वत सूत्रमा बदलियो ।

युद्धभन्दा पहिले र पछि साम्राज्यवादअन्तर्गत साधनहरू, प्रविधि र अर्थतन्त्रको विकासलाई बेवास्ता गरिनुहुँदैनथ्यो । यसको सैद्धान्तिक र व्यावहारिक परिणाम के भयो भने पूँजीवादको आधारमा वास्तवमा भइरहेको आर्थिक विकासलाई विश्व समाजवादी आन्दोलनले सदा बेवास्ता गर्दैगयो र हरेक आंशिक तथा अस्थायी संकटलाई सामान्य बनाएर यो सावित गर्ने प्रयत्न गरिरह्यो कि पूँजीवाद र साम्राज्यवाद बढीभन्दा बढी गहिरो संकटमा फस्दै गइरहेका छन् र निकट भविष्यमा ढल्दै छन् । प्रथम विश्वयुद्धको अवधिमा लेनिनद्वारा पेश गरिएको साम्राज्यवादको आम संकट (आर्थिक संकटभन्दा अलग र व्यापक) को सिद्धान्तलाई साम्राज्यवादको सम्पूर्ण युग र सम्पूर्ण व्यवस्थामाथि नै लागू गरियो ।

साम्राज्यवादको संकट र समाजवादी क्रान्तिसम्बन्धी

सिद्धान्तमा विरोधाभास

लेनिनले ज्ञानका विभिन्न क्षेत्रहरूमा मार्क्सका सिद्धान्तहरूलाई अगाडि विकसित गरे । यिनीहरूमध्ये एउटा सिद्धान्त समाजवादी क्रान्तिको पनि हो । जहाँ मार्क्सले समाजवादी क्रान्तिलाई मुख्य रूपले उत्पादनका साधनहरूको परिपक्वतासँग जोडे, त्यहाँ लेनिनले यसलाई साम्राज्यवादको आम संकटसँग जोडे । मार्क्स र लेनिनका सिद्धान्तहरूको बीचमा निरन्तरता छ र अन्तर्विरोध पनि । लेनिनको सिद्धान्त यस मान्यतामा आधारित छ कि साम्राज्यवाद उत्पादक शक्तिहरूको मार्गमा केवल बाधक मात्र बनेको छैन, बरु यसले तिनीहरूको विनाश पनि गरिरहेको छ । उनले के सावित गरे भने पिछडिएका देशहरूका उपनिवेशवादी व्यवस्थाले हरेक ढंगले तिनीहरूको विकास रोकिरहेको छ । उनको सिद्धान्तानुसार साम्राज्यवाद मुख्यतया उपनिवेशहरूको शोषणमा जीवित छ । लेनिनले संकेत के गरे भने विकसित पूँजीवादी देशहरूमा उत्पादनका साधनहरू यति परिपक्व भइसकेका छन् कि त्यहाँ समाजवादका भौतिक परिस्थितिहरू तयार भइसकेका छन् : “साम्राज्यवाद समाजको संघार हो ।”१६

 तर साम्राज्यवाद एउटा विश्वव्यवस्था हो, त्यसकारण विकासको असमान गति र उत्पादक शक्तिहरूको अपरिपक्वता वा तुलनात्मक रूपमा पछौटेपनले अन्य देशहरूमा संकट उत्पन्न गर्दछन् र विश्व साम्राज्यवादी व्यवस्थामा चिरा पर्दछ, सर्वहारा क्रान्ति हुन्छ र यहींबाट समाजवादी क्रान्तिहरूको युग आरम्भ हुन्छ । लेनिनको मान्यता के थियो भने साम्राज्यवादले यो चिरालाई मेटाउन सक्दैन, जसको फलस्वरूप त्यसमा कमजोर कडीहरू उत्पन्न हुन्छन्, जुन समाजवादी क्रान्तिको प्रारम्भबिन्दु बन्दछन् ।

यहाँ यो प्रश्न उठ्दछ कि पिछडिएका देशहरूलाई समाजवादको प्रारम्भबिन्दु मान्नु सही थियो वा थिएन । पछिको इतिहासबाट थाहा हुन्छ कि यो सिद्धान्त ऐतिहासिक तथ्यहरूको कसीमा त्रुटिपूर्ण सावित हुन्छ । यो सिद्धान्तको सबभन्दा ठूलो समस्या के हो भने यस्ता देशहरूलाई क्रान्तिको अगुवा मानियो, जहाँ सामाजिक विकासका उच्च चरणहरू वा परिस्थितिहरू छँदैछैनन् । यति मात्र होइन, तिनीहरू विकासका चरणहरूको अर्थमा पूँजीवादभन्दा पनि पछाडि छन् ।

अर्को समस्या : क्रान्तिपछि यी देशहरूले पहिले त पूँजीवादको बराबरी गर्नु थियो र त्यसपछि त्यसभन्दा अगाडि जानु थियो । यस बीचमा पूँजीवादी व्यवस्थाको विकास थामिनु वा मन्द हुनुको बदला तीव्र हुँदै गयो र त्यो धेरै अगाडि बढ्यो । लेनिनका सिद्धान्तहरूमा विश्वसमाजवादी मजदूर आन्दोलनमा समाजवादलाई उत्पादन शक्तिहरूका निम्न स्तरहरूको प्रतिनिधि बनाइयो । यहाँ घुमिफिरी मूल मार्क्सवादी प्रश्न पुनः आउँदछ कि समाजवाद पूँजीवादभन्दा उच्च अवस्था हो वा होइन । वास्तवमा मार्क्सवादले यो प्रश्नलाई सैद्धान्तिक रूपमा समाधान गरिसकेको थियो : समाधान के हो भने पूँजीवादअन्तर्गत पूर्णता र परिपक्वता हासिल गरेपछि मात्र सामाजिक विकासको क्रममा समाजवाद वा साम्यवादको आवश्यकता पर्दछ ।

पूँजीवादभन्दा उच्च रचना अर्थात् समाजवादको निर्माण निम्न रचनाहरूको अर्थात् अविकसित, यहाँसम्म कि प्राक्–पूँजीवादी ढाँचाहरूको, आधारमा गर्ने प्रयत्न लेनिनवादका जटिल विरोधाभाषपूर्ण सैद्धान्तिक समस्याहरूमध्ये एक हो, जसले त्यस बेला विश्व सर्वहारा आन्दोलनमा तीव्र मतभेदहरूलाई जन्म दियो । समाजवादको परिभाषा यो बहसको अभिन्न अंग हो ।

लेनिनका अपेक्षाहरू

लेनिन समस्याको अन्तर्विरोधसँग अनभिज्ञ थिए भन्ने होइन । एउटा महान वैज्ञानिकको हैसियतले उनले क्रान्तिपछि तुरुन्तै यो अनुमान लगाएका थिए कि उत्पादक शक्तिहरूको विकासको दृष्टिले जबसम्म समाजवाद पूँजीवादको बराबरमा आउँदैन, त्यसले उच्च समाजको निर्माणको दावी गर्न सक्दैन । उनले क्रान्तिपछि बारम्बार विज्ञान र प्रविधिको विकासमाथि जोड दिए : यहाँसम्म कि उनले के पनि स्पष्ट गरेका थिए भने सोभियत सत्ताका आरम्भिक दिनहरूमा उनी पश्चिमी देशहरूमा, विशेषगरी जर्मनीमा, क्रान्तिको आशा गरिरहेका थिए । उनको स्पष्ट बुझाई थियो –  यदि पश्चिममा क्रान्ति हुँदैन भने, सोभियत सत्ता धेरै दिनसम्म टिक्न सक्नेछैन ।१७

यो कुरा उनले केवल राजनीतिक दृष्टिकोणले मात्र होइन, अर्थात् केवल यस अर्थमा मात्र भनेका थिएनन् कि पश्चिमी देशले सैनिक दृष्टिबाट सोभियत संघको अन्त्य गरिदिनेछन्, बरु यस दृष्टिकोणले पनि भनेका थिए कि सोभियत रुस सामाजिक तथा उत्पादक शक्तिको स्तरको दृष्टिकोणले समाजवादको लागि अझै परिपक्व छैन । यही कमी पूरा गर्नको लागि लेनिनले नयाँ अर्थनीति अर्थात् “नेप” (NEP) लागू गरे । यो पक्षमाथि पछि हामी अलग्गै विचार गर्नेछौं ।

तर लेनिनको प्रस्थापनासँग एकातिर समस्या के पनि थियो भने उनले यो मानेका थिए कि रुसी क्रान्ति साम्राज्यवाद र पूँजीवादको अन्तको आरम्भ हो । यो सिद्धान्तको समर्थनमा कैयौं ठोस र वास्तविक तथ्य विद्यमान हुनुको बावजूद इतिहासको सम्पूर्णतामा त्यो सही सावित भएन । उल्टै रुसी क्रान्ति कैयौं अर्थमा रुसमा पूँजीवादको अन्त होइन, बरु त्यसको थप अगाडि विकासको बिन्दु सावित भयो । रुसमा पूँजीवादको थप अगाडि विकासको आवश्यकतामाथि कार्ल काउत्स्की१८, मेन्शेभिकहरू तथा धेरै अन्य सामाजिक–जनवादीहरूले जोड दिएका थिए । ट्राटस्कीले पनि आफ्नो ढंगले रुसमा समाजवादका परिस्थितिहरू नभएका र एउटा देशमा समाजवादको निर्माण असंभव हुने कुरामाथि जोड दिएका थिए । स्वयं लेनिनले समाजवादतिर विकसित हुने जनवादी क्रान्तिको लामो संक्रमण कालतिर संकेत गरेका थिए ।

फेबु्रवरी र अक्टुवर क्रान्तिहरू (१९१७)

रुसी क्रान्तिका दुई चरणहरू मानिएका छन् : फेब्रुवरी (मार्च), १९१७ तथा अक्टुवर, १९१७ (नोभेम्बर,१९१७) । रुसी क्रान्तिको इतिहास तथा त्यसको व्याख्याको सम्बन्धमा हाम्रो सामु आजसम्म मुख्य रूपले लेनिन र बोल्शेभिकहरूको मात्र पक्ष आएको छ । मेन्शेभिकहरू तथा अन्य गैरबोल्शेभिकहरूका विचार धेरै कम आएका छन्, र तिनीहरू पनि मुख्य रूपले बोल्शेभिकहरूद्वारा पेश गरिएको व्याख्याको माध्यमले । पश्चिमी देशहरूद्वारा सामाजिक–जनवादीहरू तथा मेन्शेभिकहरूको पक्षपोषणको प्रयत्न मूल रूपले आफ्नो संकुचित राजनीतिक स्वार्थबाट प्रेरित थियो । त्यसकारण केही सत्यताहरूको बावजूद त्यसमाथि विश्वास गर्न कठिन थियो । रुसी कम्युनिष्ट पार्टी (बोल्शेभिक) ले शासक पार्टीको स्थितिको फाइदा उठाएर रुसी क्रान्तिको एकतर्फी व्याख्या प्रस्तुत गर्यो ।

फेब्रुअरी (पुरानो रुसी क्यालेन्डरअनुसार) १९१७ मा रुसको राजधानी सेन्ट पीटर्सवर्गमा मजदूरहरू तथा सैनिकहरूका सोभियतहरूको विद्रोह भयो, जसले जारको सत्ता पल्टाइदियो । जारको स्थानमा एउटा पूँजीवादी सरकार र मन्त्रीमण्डलको गठन भयो ।

लेनिन तथा बोल्शेभिकहरूले यसलाई सोभियतहरूको नेतृत्वमा जनवादी क्रान्ति भने, जसले आफ्ना केही कमजोरीहरू भइरहेको अवस्थामा मजदूर–किसानहरूको बदला पूँजीपतिहरूलाई सरकारमा पुर्र्याइदियो । तर यस सम्बन्धमा सामिज्दातको नामले प्रचारित साहित्यमा धेरै नयाँ र दुर्लभ तथ्य हाम्रो सामु आएका छन् । सामिज्दातले१९ द्वितीय विश्वयुद्धपछि सोभियत संघमा गोप्य रूपले साहित्यको प्रकाशन तथा वितरण गर्ने गर्दथ्यो र थाहा भएपछि त्यसका लेखकहरूलाई जेलको सजाय दिइन्थ्यो । त्यस्तै समुच्च सोभियत शासनकालमा यसबाहेक पनि कैयौं प्रकारका गोप्य साहित्यको प्रचार गर्ने संगठन बने, जसले विशेषगरी स्टालिनकालमा दमनको सामना गर्नुपर्यो र जसका सदस्यहरूलाई ठूलो संख्यामा मृत्युमा मुखमा पुर्याइयो ।

लेनिन, मेन्शेभिकहरू तथा सामिज्दात र अन्य पक्षहरूका व्याख्याहरूलाई मिलाएर हेर्ने हो भने, रुसी क्रान्तिको सम्बन्धमा बढी सही, सम्पूर्ण र सन्तुलित चित्र बन्दछ । उदाहरणको लागि, फेब्रुअरी क्रान्तिलाई केवल सोभियतहरूको मात्र विद्रोह भन्नु पूर्ण रूपले सही होइन । यो केवल त्यो स्थितिको एक पक्ष मात्र हो । प्रथम विश्वयुद्धको अवधिमा रुसमा भयंकर असन्तोष र संकट फैलियो र जनमत जारको विरुद्ध भयो । १९१७ आउँदा–आउँदै जार शासन चल्ने स्थितिमा रहेको थिएन । फलस्वरूप त्यसैको मन्त्रीमण्डलका केही मानिसहरूले त्यसलाई अपधस्त गरेर नयाँ सरकार बनाउने तयारी गरे । यसको लागि उनीहरूले पूँजीवादी पार्टीहरूको सल्लाहमा कैयौं सैनिक टुकडीहरूलाई युद्धबाट फिर्ता बोलाएर आफ्नो स्थितिलाई बलियो बनाए ।२० सेना तथा जनतामा युद्धको विरुद्ध भावना तीव्र हुनुको कारण यो काम सजिलो भयो । यस सम्बन्धमा यो पनि ध्यान दिनुपर्दछ कि सोभियतहरूमा बोल्शेभिक अल्पमतमा थिए र उनीहरूको विरुद्धमा मेन्शेभिक तथा अन्य पार्टीहरू बहुमतमा थिए । तर युद्धको प्रश्नमाथि अर्थात् त्यसको विरोध गर्नको लागि सबै एकमत थिए ।

त्यसकारण यो भन्नु बढी सही हुन्छ कि सेन्ट पीटर्सवर्गमा सत्ता–परिवर्तनका प्रमुख कारणहरूमा जार विरोधी अन्य पार्टीहरूद्वारा लिइएको पहल पनि थियो । यो कहाँसम्म सत्ता–परिवर्तन थियो र कहाँसम्म सरकार परिवर्तन, यो पनि बहसको विषय हो । तर यति स्पष्ट छ कि फेब्रुवरी, १९१७ को विद्रोह प्रमुख रूपले युद्ध र शान्तिको प्रश्नसँग जोडिएको थियो । जनता र सेना तथा विभिन्न पार्टीहरू युद्ध जारी राख्ने कुराको विरुद्ध थिए र त्यसैकारण जारले सत्ताबाट हात धुनुपर्यो । यहाँ प्रश्न के उठ्दछ भने के यसलाई हामी एउटा पूरा युगको क्रान्तिको रूपमा पेश गरौं वा केवल सरकार परिवर्तन र केवल एक हदसम्ममात्र सत्ता परिवर्तनको रूपमा पेश गरौं ? जार हट्नाले युद्धविरोधी शक्तिहरूलाई बल मिल्यो र यस मामिलामा यो युद्धविरोधी क्रान्ति अवश्य थियो । जार हट्नु यूरोपीय रुसबाट बढ्दो औद्योगिकरण र पूँजीवादको विकासको परिणाम थियो, जसले जारशाहीको रूपमा एउटा बाधा आफ्नो मार्गबाट हटायो । अवश्य नै यसमा सेनाहरू र मजदूरहरूका सोभियतहरूको महत्वपूर्ण भूमिका रहेको छ । तर यस अवधिको इतिहासलाई केवल सोभियतहरूका गतिहरूको रूपमा मात्र पेश गर्नु एकतर्फी र आंशिक सत्य हो ।

यहाँ यो बिर्सिनु हुँदैन कि यसै अवधिमा जारको स्थानमा एउटा संविधान सभा र संसद स्थापित गर्ने दबाव र आन्दोलन बढ्दै गइरहेको थियो । लेनिनका रचनाहरूबाट पनि स्पष्ट छ कि बोल्शेभिक पार्टी संविधान सभाको चुनावको पक्षमा थियो । संविधान सभा जारशाहीको विरुद्ध अवश्य नै राम्रो र उच्च जनवादी राजनीतिक ढाँचा थियो, जसमा सबै पार्टीहरूको अभिरुचि थियो । साथसाथै यो सभाले सोभियतहरूको तुलनामा बढी व्यापक जनमतको प्रतिनिधित्व गर्दथ्यो । ती दुईको वर्गचरित्रमा अवश्य नै धेरै हदसम्म अन्तर थियो । जहाँ सोभियतहरूले गरीब र श्रमजीवी तप्काहरूको प्रतिनिधित्व गरिरहेका थिए, त्यहाँ संविधान सभामाथि पूँजीवादी र अर्धपूँजीवादी तत्वहरूको प्रभुत्व थियो; यद्यपि त्यसमा श्रमजीवीहरूको शक्तिशाली प्रतिनिधित्व पनि थियो ।

लेनिनले दुई क्रान्तिहरूको बीचमा के प्रश्न उठाए भने सोभियतहरू संविधानसभाभन्दा राम्रा र उच्च जनवादी संगठन थिए । यो मान्ने बलियो र ठोस आधार अवश्य विद्यमान थियो, कम्तीमा पनि अक्टुवर क्रान्तिभन्दा पहिलेको अवधिमा ।

तर प्रश्न यो पनि उठ्दछ कि के सोभियतहरू सत्ताको लागि परिपक्व थिए र तिनीहरूले जनमतको प्रतिनिधित्व कहाँसम्म गर्दथे ? अन्ततः सम्पूर्ण सत्ता सोभियतहरूलाई सुम्पिने नाराको के आधार थियो ? यस सम्बन्धमा हामी लेनिनद्वारा अप्रिल, १९१७ मा प्रस्तुत द्वैतसत्ताको प्रस्थापनामाथि थोरै विचार गर्नेछौं ।

फेब्रुवरी क्रान्तिपछि फिनल्याण्डबाट फर्किंदा लेनिन र बोल्शेभिक पार्टीले पहिलोपटक खुल्ला रूपले राजनीतिक गतिविधिहरू आरम्भ गरेका थिए । लेनिनले रुसी घटनाहरूमाथि अत्यन्तै गहन दृष्टि लगाए र उनी के निष्कर्षमा पुगे भने रुस समाजवादी (सर्वहारा) क्रान्तिको लागि परिपक्व भइरहेको छ । रुसका स्थितिहरूमा समाजवादी क्रान्तिबाट लेनिनको अर्थ मुख्य रूपले सोभियत सत्ताको स्थापना थियो, किनभने सोभियतहरू नै सर्वहाराका मुख्य प्रतिनिधि थिए । समाजवादी क्रान्तितिर बढ्नको लागि पहिलो महत्वपूर्ण कदम सोभियतहरूको सत्ताको स्थापना थियो ।

द्वैत सत्ता (दोहोरो सत्ता) को बारेमा आफ्नो अप्रिल थेसिसमा लेनिन यही मान्यता लिएर चलिरहेका थिए । यो थेसिसमा उनले प्रस्थापना पेश गरे कि रुसी सत्ता दुई भागहरूमा बाँडिएको छ वा एकप्रकारको द्वैतसत्ता उत्पन्न भएको छ, जसमा वास्तवमा दुई सत्ताहरू निहित छन् । यो सत्ताको एक भाग अस्थायी सरकारको प्रतिनिधित्वमा पूँजीवादी वर्गको अधीनमा छ, जुन एउटा पूँजीवादी सत्ता हो । यही सत्ताको अर्को भाग (“वास्तविक सत्ता”) प्रशासन, नियम–कानूनको र वास्तविक रेखदेख (वितरण) गर्दै सोभियतहरूको नियन्त्रणमा छ । इतिहासमा यो असाधारण घटना थियो, जब एउटै सत्ताभित्र दुई सत्ताहरू हुन्छन् र तिनीहरू परस्परविरोधी वर्गहरूको प्रतिनिधित्व गरिरहेका हुन्छन् ।

सोभियतसत्ताका आरम्भिक वर्षहरूकै इतिहासबाट थाहा हुन्छ कि लेनिनको यो थेसिस एक हदसम्म सही भएर पनि पर्याप्त अतिशयोक्तिपूर्ण थियो । परिस्थितिहरूमा धेरै कुरा यस्तो देख्ने प्रयत्न गरियो, जुन तिनीहरूमा थिएन ।

सोभियतहरूको सत्ता धेरै सीमित थियो, र यसमाथि लेनिनले पनि जोड दिएका छन् । भौगोलिक दृष्टिले पनि त्यो केवल केही शहरहरूसम्म, विशेषगरी राजधानी र मस्कोसम्म, मात्र सीमित थियो । समुच्च देशमा सत्ता नामको संस्था लगभग विघटित भइसकेको थियो, तर यो विघटनमा सोभियतहरूले आफूलाई प्रभुत्वशाली बनाउन सकेका थिएनन् । त्यसकारण पुरानै सत्ता अर्थात् जारशाही पूँजीवादी सत्ताले नै जसो–तसो काम गरिरहेको थियो । हो, यो सही हो कि हरेक व्यक्ति कुनै ठूलो विपत्ति अर्थात् सोभियत सत्ता र क्रान्तिको डरले आन्दोलित पनि थियो र दबिएको पनि थियो । सोभियतहरू, दूमा र संविधान सभाको उदयले राज्यसत्तालाई पुनः समेट्न र पुनर्जीवित आरम्भ गरेको थियो । शहरी इलाकाहरूबाट टाढा गाउँहरू र बस्तीहरूमा बोल्शेभिकहरूको प्रभाव धेरै कम थियो । कैयौं शहरी र औद्योगिक इलाकाहरूमा पनि उनीहरूको प्रभाव अन्य पार्टीहरूको तुलनामा धेरै कम थियो । फेब्रुवरी, १९१७ मा समुच्च रुसमा बोल्शेभिक पार्टीको सदस्यता केवल २४,००० मात्र थियो, तिनीहरूमध्ये २,००० पेत्रोग्राद (सेन्ट पीटर्सवर्ग) मा र ६०० मस्कोमा थिए । अक्टुवर क्रान्तिपछि मात्र सदस्यता ३ लाखभन्दा बढी भयो, जुन एउटा शासक पार्टीको लागि धेरै नै कम हो । हो, यो कुरामा ध्यान अवश्य दिनुपर्दछ कि रुसी कम्युनिष्ट पार्टी (बोल्शेभिक) ले अधिकांश समय गोप्य वा भूमिगत रूपमा मात्र काम गरिरहेको थियो र फेब्रुअरी क्रान्तिपछि केवल केही महिनाको लागि मात्र खुल्ला भएर काम गर्न पाएको थियो । जुलाई, १९१७ देखि त्यो पुनः भूमिगत भएको थियो ।

तर बोल्शेभिक पार्टीको प्रभावभन्दा धेरै महत्वपूर्ण प्रश्न सोभियतहरूको प्रभावको छ । सोभियतहरूको प्रभाव अधिकांश कारखानाहरू र सेनाहरूमा थियो; र ती सोभियतहरूमा बोल्शेभिक अल्पमतमा थिए । ग्रामीण सोभियतहरूमा त उनीहरू थोरै र अधिकांश प्रभावहीन समूहहरूको रूपमा थिए ।

सोभियतहरूको निर्माण संगठित र स्वतःस्फूर्त दुवै तरीकाहरूबाट भयो । फेब्रुअरी क्रान्तिपछि सोभियतहरूको निर्माण र विद्रोहहरूको बाढी नै आयो । तर यसमा अस्थायी चरित्रको छाप गहिरो थियो । तिनीहरू प्रायः निस्क्रिय नै हुन्थे । स्वयं फेब्रुवरी, १९१७ को क्रान्ति एउटा स्वतःस्फूर्त घटना थियो । राजधानी सेन्ट पीटर्सवर्ग (पेत्रोग्राद) का सोभियतहरूमा पनि बोल्शेभिक अल्पमतमा थिए ।

समग्रमा रुस ठूलो उथल–पुथलबाट गुज्रिरहेको थियो र यो निश्चित हुन सकिरहेको थिएन कि शासन वास्तवमा कसले गर्नुपर्दछ । सोभियतहरूले श्रमजीवीहरूको प्रतिनिधित्व अवश्य गरिरहेका थिए, तर तिनीहरूमा अन्य तप्का र अन्य वर्ग पनि सामेल थिए । स्वयं सोभियतहरूले निश्चित गर्न सकिरहेका थिएनन् कि अब तिनीहरूले के गर्नुपर्दछ । सोभियतहरूमा बोल्शेभिक, मेन्शेभिक, सामाजिक क्रान्तिकारी पार्टी, क्याडेट, त्रूदोविक तथा अन्य पार्टीहरूले आ–आफ्ना मत, दिशाहरू र नीतिहरू पेश गरिरहेका थिए । यी सबैमा सबभन्दा स्पष्ट र वैज्ञानिक दृष्टिकोण बोल्शेभिकहरूको थियो ।

तर यहाँ एउटा समस्या उत्पन्न हुन्छ । र, त्यो हो बोल्शेभिकहरूद्वारा स्वीकृत कार्यक्रम । उनीहरूको कार्यक्रम प्रथम विश्वयुद्धको संकटबाट प्रेरित थियो; यसलाई श्रमजीवीहरूको व्यापक समर्थन मिल्दै गयो, किनभने यो स्पष्ट रूपले विश्वयुद्धको विरुद्ध थियो । बोल्शेभिकहरूले आरम्भदेखि नै दृढतापूर्वक युद्धको विरोध गरेका थिए । अन्य पार्टीहरू र गुटले स्पष्ट दृष्टिकोण नअपनाएर, परिस्थितिहरूको दबावमा, पछि गएर धेरथोर युद्धविरोधी बन्नलागेका थिए । यिनीहरूमध्ये केहीले त आरम्भमा युद्धको ठूलो समर्थनसमेत गरेका थिए । तर यो भन्नुपर्दछ कि १९१७ आउँदा–नआउँदै युद्धको विरोध सबैले गर्न लागेका थिए ।

यसप्रकार जारशाहीको समाप्तिपछि पनि रुसको सामु प्रमुख समस्या युद्धकै थियो, साथसाथै गाँस–बास–कपासको प्रश्नको पनि । यसबाट तार्किक र स्वाभाविक रूपले यो निष्कर्ष निस्किन्छ कि युद्धविरोधी रुसी पार्टीहरूले संयुक्त कारवाहीको माध्यमले संयुक्त सरकारको गठन गर्नुपर्दथ्यो वा संयुक्त रूपले कुनै जारविरोधी र युद्धविरोधी सरकारको समर्थन गर्नुपर्दथ्यो । तर यस्तो प्रतीत हुन्छ कि बोल्शेभिक पार्टी सोभियतहरूको सत्ता स्थापित गर्ने हतारमा थियो । यसको समर्थनमा एउटा तर्क त्यसले के दियो भने अस्थायी सरकार, चाहे ल्योवको होस् वा केरेन्स्कीको, युद्ध समाप्त गर्ने पक्षमा थिएन वा त्यस दिशामा कदम उठाउन ढिलो गरिरहेको थियो, यहाँसम्म कि त्यसले युद्धलाई प्रोत्साहन पनि दिइरहेको थियो । यो तर्क धेरै हदसम्म सही हो । तर यसबाट युद्धविरोधी संयुक्त सरकार स्थापित गर्ने तर्क नै बलियो हुन्छ, कमजोर होइन ।

धेरै अवसरहरूमा बोल्शेभिकहरूले मेन्शेभिकहरू, इत्यादिसँग सरकार बनाउने अनुरोध गरे, जसको समर्थन उनीहरूले बाहिरबाट गर्दथे । उनीहरू कुनै पनि अवस्थामा सोभियतहरूको सरकार चाहन्थे । तर यो कुराको के सुनिश्चितता थियो भने मेन्शेभिकहरूको सरकारले युद्ध समाप्त गर्दछ ?

यहाँ पनि प्रश्न जनवादी वा समाजवादी क्रान्तिको होइन, युद्धविरोधी सरकार बनाउने कुराको थियो । के समुच्च रुसको परिमाणमा व्यापक युद्धविरोधी आन्दोलन संगठित गर्न सकिन्थ्यो ? के यसको लागि व्यापक युद्धविरोधी मोर्चा संभव थियो ? के तत्कालीन सरकारलाई अपधस्त गरेर यस्तो सरकार वा सरकारहरूको गठन हुन सक्दथ्यो, जसले युद्ध समाप्त गर्दछ ? के यसको लागि संविधान सभाको सहयोग लिन संभव थियो ?

यस्तो प्रतीत हुन्छ कि आम सेना, मजदूर, किसान र बुद्धिजीवी अवश्य नै विश्वयुद्धको समाप्तिको आन्दोलनमा सामेल हुन्थे । विशेषगरी सैनिक यो युद्धबाट दिक्क भएका थिए । कार्यसूचीमा यही नै सबभन्दा मुख्य प्रश्न थियो । विभाजन युद्धविरोधीहरू र युद्धसमर्थकहरूको बीचमा थियो, न कि साम्राज्यवाद वा समाजवादका समर्थकहरू अथवा पूँजीवादी शासन र सर्वहारा शासनको बीचमा । बोल्शेभिकहरूले सबभन्दा बढी दृढतापूर्वक युद्धविरोधी आन्दोलन चलाए । तर यसलाई उनीहरूले समाजवादी क्रान्तिसँग जोडेर चलाए । फलस्वरूप कैयौं युद्धविरोधी तप्काहरू उनीहरूबाट अलग रहे । समाजवादी क्रान्तिको सन्दर्भमा यी अन्य तप्काहरूलाई साम्राज्यवादसमर्थक र युद्धवादी पनि मानियो । यसप्रकार बोल्शेभिकहरू तथा कैयौं अन्य युद्धविरोधी पार्टीहरूको बीचको सम्बन्ध अत्यन्तै जटिल भएको थियो ।

यस्तो महसुस हुन्छ कि गरीबी, भोकमरी र शोषण समाप्त गर्ने तथा समाजवादको स्थापना गर्ने प्रयत्न उत्पादक शक्तिहरूको विकासको प्रश्नबाट अलग भएर गए, र स्वयंमा अलग र स्वतन्त्र उद्देश्य बने । रुस तथा पिछडिएका देशहरूमा धेरै ठूलो जनजागरण आइरहेको थियो । उपनिवेशवादको विरोध भइरहेको थियो, विशेषगरी रुसी क्रान्तिपछि । यो जागरण त्यो चीजप्रति थियो, जसबाट उपनिवेशवाद र साम्राज्यवादले उनीहरूलाई वंचित गरेको थियो र यसप्रकार विश्वविकासको मुख्य धाराबाट अलग गरेको थियो । र, यो चीज थियो सामाजिक–आर्थिक विकास, यसका साधनहरूको विकास तथा आद्योगिकरणको आवश्यकता । यो समाजवादको तयारी थिएन, न त त्यसका परिस्थितिहरू नै थिए । यो त्यो विश्वविकासको मुख्य धारामा सामेल हुने प्रयत्न थियो, जसबाट साम्राज्यवादले उनीहरूलाई टाढा राखेको थियो । अर्थात् यो विश्वपूँजीवादी अर्थव्यवस्थाकै भाग बन्ने र यसप्रकार आफ्नो उत्पादक शक्ति बढाउने प्रयत्न थियो ।

के उत्पादक शक्तिहरू विकसित गर्ने कुनै अन्य, जस्तै समाजवादी, मार्ग थियो ? यहाँ घुमिफिरी हामी त्यहीँ पुग्दछौं, जहाँबाट शुरु गरेका थियौं । अर्थात् के उत्पादक शक्तिहरूको परिपक्वताबिना समाजवादको कुरा गर्न सकिन्छ ? समाजवाद उत्पादक शक्तिहरूको परिपक्वताको परिणाम हो वा तिनीहरूको प्रारम्भबिन्दु ?

यदि समाजवाद निम्नबाट उच्च उत्पादक शक्तिहरूको निर्माणको साधन हो भने, निम्न शक्तिहरूको “समाजवाद” कुन रूपमा प्रतिबिम्बित हुन्छ ?  स्पष्ट छ, यस्तो समाजवादको प्रतिनिधित्व पिछडिएका सर्वहारा, गरीब तथा भूमिहीन किसानहरू तथा कृषिमजदूरहरूद्वारा हुन्छ । सैद्धान्तिक रूपले के मानियो भने उनीहरूको सत्ता स्थापित गर्न सकिन्छ । तर यस्तो  सर्वहाराको सत्ताले त केवल बजारको स्वतन्त्रता, निजी सम्पत्तिलाई प्रोत्साहन र पूँजीको निर्माणको मात्र काम गर्न सक्दछ, किनभने यही संभव छ र यही गर्नु पनि पर्दछ; किनभने उत्पादक शक्तिहरू अत्यन्त निम्न स्तरका छन् । के यो समाजवाद हो ? होइन, यो त मुक्त व्यापार र निजी सम्पत्ति तथा पूँजीवादतिर विकास हो ।

पिछडिएका देशहरूमा सबभन्दा ठूलो र प्रमुख समस्या निजी सम्पत्तिको हो । पहिले पनि स्पष्ट थियो र आज बढी स्पष्ट भएको छ कि यिनीहरूमा व्यक्तिगत र निजी सम्पत्तिको मार्गको हरेक बाधा हटाउनु आवश्यक छ । खेती र उद्योगमा निजी स्वामित्व एवं सम्पत्ति त्यो रूप हो, जसको माध्यमले सामाजिक धन वा मूल्यको निर्माण हुन्छ र समाजका शक्तिहरू विकसित हुन्छन् । यो समाजको उत्पादनस्तर बढाउने सबभन्दा प्रभावशाली तरीका हो, जुन स्वयं ऐतिहासिक विकासको उपज हो । उत्पादन तथा विनिमयको स्वतःस्फूर्त प्रक्रिया तथा उच्च विकास समाजका प्रेरक शक्तिहरू हुन् । यिनीहरूको माध्यमले प्रत्येक समाजले आफ्नो स्वाभाविक स्तर प्राप्त गर्दछ । औद्योगिक क्रान्ति र औद्योगिकरणले वस्तु उत्पादन र विनिमयको आवश्यकता घटाएन, बरु कैयौं गुना बढाएको छ । समाज आधुनिक युगमा प्रवेश गरेर असंख्य प्रकारका वस्तुहरू असीमित संख्या तथा मात्रामा उत्पादित गर्न लाग्दछ । यसबाट आधुनिक बजार तथा निजी स्वामित्वको महत्व अझ पनि धेरै बढ्दछ । यस्तोमा बजारलाई सीमित गर्दै अन्ततः समाप्त गर्ने प्रयत्न विकासको तर्कको विरुद्ध उभिनु हो । यो औद्योगिक व्यवस्थाको एकतर्फी विश्लेषणको परिणाम हो ।

यस्तो स्थितिमा लेनिनद्वारा सामूहिक सम्पत्तिमाथि जोड अतिवादी र अवास्तविक लाग्दछ, उनी सोभियतहरूलाई केवल सर्वहाराको जनसंगठन र त्यसको सत्ता मात्र मान्दैनथे, बरु सामूहिक स्वामित्वका इकाईहरू वा माध्यम पनि, जस्तो कि क्रान्तिको सोभियतकालमा वास्तवमा भयो पनि । यो बुझाईमा उनले पछि पर्याप्त परिवर्तन पनि गरे । तर उनी विचारधाराको सामान्य रेखाबाट बाहिर जान सकेनन् । यसमाथि हामीलाई पछि विचार गर्ने अवसर मिल्नेछ ।

लेनिन र बोल्शेभिकहरूसँग एउटा अर्को समस्या के पनि थियो भने उनीहरूले सदा नै निजी सम्पत्ति र पूँजीवादी सम्पत्तिमाथि एकसाथ आक्रमण गरे । व्यवहार र सिद्धान्तमा दुवै एउटै मानिए, र त्यसैकारण बराबरको शत्रु । निजी सम्पत्तिको महत्व बुझेर पनि त्यसलाई पूँजीवादको स्रोत मानेर छिटोभन्दा छिटो समाप्त गर्ने प्रयत्न गरियो । स्वयं लेनिनले कैयौं अवसरहरूमा यही छवि पेश गरेर गल्ती गरे, यद्यपि कैयौं अन्य अवसरहरूमा ती दुईमा गम्भीर अन्तरको वैज्ञानिक विश्लेषण पनि गरे ।

यो सम्पूर्ण सन्दर्भलाई हेर्दा यो भन्नु गलत हुँदैन कि फेब्रुअरी र अक्टुबर, १९१७ को बीचमा (१) सोभियतहरूको चरित्र र ऐतिहासिक भूमिकालाई धेरै बढाई–चढाईकन मूल्याङ्न गरिएको थियो; (२) क्रान्तिको चरित्रलाई धेरै बढाई–चढाईकन मूल्याङ्न गरियो, यहाँसम्म कि त्यसलाई समाजवादी मानियो ।

संविधान सभाको प्रश्न

यो रुसी क्रान्ति सम्बन्धी अत्यन्त महत्वपूर्ण प्रश्नहरूमध्ये एक हो । संविधान सभाको उदय फेब्रुअरी, १९१७ को क्रान्तिपछि भएको थियो । यो पूँजीवादी संसद वा एसेम्बलीकै एउटा रूप थियो, जसको जिम्मा रुसको संविधान तयार गर्नु थियो ।

संविधान सभाको उदय यो कुराको द्योतक थियो कि रुस सामन्तवादबाट पूँजीवादमा संक्रमण गरिरहेको थियो । फेब्रुवरी, १९१७ को क्रान्तिपछि रुसमा पहिलोपटक विभिन्न राजनीतिक पार्टीहरू खुलेर काम गर्नलागे । त्यस्तै जारशाहीका दिनहरूमा पनि कैयौं पार्टीहरूलाई राजनीतिक अधिकार प्राप्त थियो, तिनीहरू विभिन्न गतिविधिहरू, प्रचारकार्यहरू र चुनावमा भाग लिने गर्दथे । तर ती अधिकार सीमित थिए । यहाँसम्म चुनावमा भोट दिनेहरूको संख्या पनि सम्पत्तिको आधारमा सीमित थियो । यसबाहेक बोल्शेभिक पार्टीजस्ता समाजवादी पार्टीहरूमाथि यति प्रतिबन्धहरू थिए कि तिनीहरूले गोप्य वा अर्धगोप्य रूपले काम गर्दथे, यद्यपि पर्याप्त कठिनाईपूर्वक चुनावहरूमा पनि भाग लिन सक्दथे ।

फेब्रुअरी क्रान्तिले यो स्थितिमा पर्याप्त परिवर्तन ल्यायो । बोल्शेभिक समेत सबै पार्टीहरू मुक्त रूपले काम गर्न लागे र तिनीहरूमाथि लागू भएको हरेकप्रकारको प्रतिबन्ध हट्यो । यस्तो स्थितिमा एउटा संविधान सभाको माग प्रबल हुन लाग्यो, जसले संविधानको निर्माण गर्दथ्यो र एउटा नयाँ संवैधानिक ढाँचाको स्थापना गर्दथ्यो, जसको आधारमा विभिन्न राजनीतिक पार्टीहरूले कार्य गर्न सक्दथे ।

यो इतिहासको रोचक तथ्य हो कि लेनिनको नेतृत्वमा बोल्शेभिक पार्टीले संविधान सभाको स्थापनाको लागि आम चुनावहरूको प्रस्तावको समर्थन गर्यो । लेनिनले पहिले त यो स्वीकार गरे कि १९१७ को मध्यमा भएको संविधान सभाका चुनावहरूमा बोल्शेभिक हारेका छन् । चुनावहरूमा तिनीहरू एउटा सानो पार्टी बनेर देखा परेका थिए । अक्टुवर क्रान्तिपछि बोल्शेभिकहरूले संविधान सभाका चुनावहरूमाथि पुनः जोड दिए । तर केवल एक महिनाभित्रै पार्टीले आफ्नो नीति बदलेर संविधान सभा भंग गर्ने घोषणा गर्यो ।

यस सम्बन्धमा लेनिनका घोषणाहरूमाथि ध्यान दिनु उपयोगी हुन्छ । संविधान सभासम्बन्धी थेसिसमा२२ लेनिनले स्पष्ट रूपमा भने कि संविधान सभाको माग क्रान्तिकारी सामाजिक–जनवादीहरूको लागि पूर्ण रूपले न्यायोचित माग थियो ।२३ उनका ती विचार २६ डिसेम्बर, १९१७ को प्राब्दामा प्रकाशित भए, अर्थात् क्रान्तिको डेढ महिनापछि । उनका अनुसार संविधान सभा पूँजीवादी व्यवस्थामा जनवादको उच्चतम् रूप हो । तर केही समयपछि नै बोल्शेभिकहरूले आफ्नो स्थितिमा परिवर्तन गरेर के भने भने सोभियतहरूको गणतन्त्र संविधान सभाभन्दा उच्च जनतान्त्रिक ढाँचा हो, यद्यपि उनीहरू संविधान सभाका चुनावहरूको माग पनि सँगसँगै गरिरहे ।

यस सम्बन्धमा लेनिनको तर्क के थियो भने अक्टुवर, १९१७ को मध्यमा भएका चुनावहरूको समयमा स्थिति अर्कै थियो । त्यस बेलाको पार्टी तथा वर्गसमीकरण क्रान्तिपछि बदलिसकेको थिए र अगाडि पनि बदलिंदै गइरहेका थिए । समानुपातिक आधारमा संविधान सभाको लागि पार्टीहरूको जनाधार बदलिंदै र विभाजित हुँदै गइरहेका थिए । क्रान्तिपछि नयाँ क्षेत्रहरूमा क्रान्ति तथा सोभित सत्ताको प्रसार भइरहेको थियो । त्यसकारण क्रान्तिपछि यो संविधान सभाले जनमतको सही प्रतिनिधित्व गरिरहेको थिएन । साथसाथै प्रतिक्रान्तिकारी शक्तिहरूद्वारा छेडिएको गृहयुद्धको कारण सोभियत रुसको प्रश्न पूर्ण रूपले चुनावी जनतान्त्रिक तरीकाहरूबाट समाधान गर्न सकिंदैनथ्यो, किनभने वर्गसंघर्ष चरम सीमामा पुगिसकेको थियो । त्यसकारण के भनियो भने सम्पूर्ण सत्ता संविधान सभाको हातमा सुम्पिनु सोभियत सत्ता र क्रान्तिको उपेक्षा गर्नु हुन्छ । यदि संविधान सभा सोभियत सत्ताबाट अलग हुन्छ भने, त्यो स्वतः समाप्त हुन्छ । संविधान सभाले जनमतको अब सही प्रतिनिधित्व गरिरहेको छैन । क्रान्तिका हित संविधान सभाका अधिकारहरूभन्दा माथि छन् ।

अगाडि यो तर्क दिइएको छ कि संविधान सभाका अधिकारहरूलाई सतही र शुद्ध सैद्धान्तिक दृष्टिले र पूँजीवादी कानूनी ढाँचाको आधारमा पेश गर्नु, र वर्गसंघर्ष तथा गृहयुद्धका परिस्थितिहरूलाई बेवास्ता गर्नु सर्वहाराप्रति गद्दारी गर्नु र पूँजीवादी दृष्टिकोण अपनाउनु हुन्छ । त्यसकारण गल्तीबाट बच्नु र सर्वहाराको अधिनायकत्वको महत्व बुझ्नु आवश्यक छ ।

लेनिनको दृष्टिमा समस्याको एउटै समाधान थियो : जनताको व्यापक परिमाणमा संविधान सभाका सदस्यहरूको चुनाव गर्नुपर्दछ र चुनावपछि संविधान सभाले सोभियतहरूको केन्द्रीय कार्यकारीणी समितिलाई मान्यता दिएर त्यसका कानूनहरूको पालना गर्नुपर्दछ । साथसाथै त्यसले के घोषणा पनि गर्नुपर्दछ भने त्यसले शर्तबिना सोभियत सत्ता स्वीकार गर्दछ । अन्यथा सोभियत सरकारले संविधान सभाको प्रश्न अर्को, अर्थात् क्रान्तिकारी तरीकाले समाधान गर्नुपर्नेछ ।

यो थेसिस २६ डिसेम्बर, १९१७ मा प्रकाशित भयो । १७ जनवरी, १९१८ मा संविधान सभा भंग गर्ने आफ्नो घोषणामा२४ लेनिनले के भने भने राष्ट्रिय ढाँचा होइन, बरु वर्गीय ढाँचा, जस्तै सोभियतहरू, नै सम्पत्तिवान वर्गहरूको प्रतिरोध समाप्त गर्न र समाजवादी समाजको जग हाल्न सक्षम छन् ।

लेनिनले आफ्नो घोषणामा के कुरा बताए भने संविधान सभाले, जसको अधिवेशन ५ जनवरी, १९१८ मा भएको थियो, सोभियत सत्तालाई मान्यता दिन अस्वीकार गरेको छ, त्यसकारण रुसको सोयिभत गणतन्त्रसँग त्यसका सम्पूर्ण सम्बन्ध समाप्त भएका छन् । बोल्शेभिक र वामपन्थी समाजवादी–क्रान्तिकारी यसबाट बाहिर आउनुपर्दछ, किनभने संविधान सभामा रहन संभव छैन र उनीहरू अब सोभियतहरूमा ठूलो बहुमतमा छन् । दक्षिणपन्थी समाजवादी–क्रान्तिकारी र मेन्शेभिक पार्टीहरू सोभियत सत्तालाई उल्टाउने आव्हान गरिरहेका थिए । यस्तो स्थितिमा संविधान सभामा रहनु संभव थिएन । सोभियतहरूको केन्द्रीय कार्यकारिणी समितिले संविधान सभा भंग गरिएको घोषणा गर्यो ।

लेनिन र बोल्शेभिकहरूद्वारा पेश गरिएको व्याख्यामा कैयौं महत्वपूर्ण प्रश्नहरू उत्पन्न हुन्छन्, जुन पछिको सोभियत इतिहासको दिशाको लागि महत्वपूर्ण छन् । लेनिनले शुरुदेखि नै के मानेका छन् भने सोभियत सत्ता पूँजीपतिहरूको पूर्ण रूपले विरोधी छ र सर्वहाराको अधिनायकत्व हो । यो सोभियत दृष्टिकोणले सर्वहारा र पूँजीपति वर्गहरूलाई पूर्ण रूपले विभाजित गरेर क्रान्तिको यो आरम्भिक चरणमा नै तिनीहरूलाई एक–अर्कोको सामु उभ्याइदिन्छ । लेनिनले स्पष्ट रूपमा भन्दछन् कि रुसको समस्या राष्ट्रिय होइन, वर्गीय हो र केवल वर्गीय सत्ताले मात्र समाजवादको स्थापना गर्न सक्दछ । पछिको इतिहासले लेनिनको यो मान्यतालाई पूर्ण रूपले गलत सावित गरेको छ । १९१७ को विद्रोहलाई समाजवादी क्रान्तिको रूपमा पेश गरेर सोभियतलाई नै एकमात्र सत्ता बनाइयो र राष्ट्रिय प्रश्नलाई पन्छाइयो । साथसाथै राष्ट्रिय सत्ताको प्रश्नलाई पनि बिर्सियो वा त्यसलाई अनावश्यक मानियो । यो प्रस्थापनालाई पनि इतिहासले गलत सावित गरिसकेको छ ।    

लेनिनले यही आधारमा सोभियत सत्तालाई एकमात्र सत्ता मान्दछन् । यसैसँग सम्बन्धित उनी यो पनि दावी गर्दछन् कि सोभियतहरूमा बोल्शेभिकहरूको अत्यधिक बहुमत थियो । तर प्रश्न केवल सोभियतहरूमा बहुमतको मात्र थिएन, बरु संविधान सभा र समुच्च वयष्क जनता र देशमा बहुमतको थियो । सोभियतहरू देशको भाग पनि थिए । पुनः, सोभियतहरूमा बहुमतको कुरा पनि केवल आंशिक रूपले मात्र सही थियो । वास्तवमा तिनीहरूका चुनाव क्रान्तिपछि जनमतको प्रवाह बढी र नियमित चुनाव कम थिए । यसबाहेक ग्रामीण तथा टाढाका सोभियतहरूमाथि यो कुरा लागू हुँदैनथ्यो ।

संविधान सभाको सामु शर्त के राखियो भने त्यसले चुनावपछि सोभियत सत्तालाई मान्यता दिनुपर्दछ । यसको अर्थ भयो, दुई सत्ताहरूलाई मान्यता : एउटा निर्वाचित, अर्को अनिर्वाचित । निर्वाचित सत्ताले अनिर्वाचित “बहुमत” सत्ताको समर्थन गर्नु थियो । स्पष्ट छ, बोल्शेभिकहरू चुनावमा अल्पमतमा थिए र केवल विद्रोहको बलमा मात्र बाँचिरहेका थिए, जसको सहायताबाट उनीहरूले संविधान सभा भंग गरे ।

लेनिनका तर्कहरू र चरित्रचित्रणका धेरै पक्षहरू सही थिए । तर उनका सबै तर्क हरेक मूल्यमा सोभियत सत्ता कामय राख्ने पक्षमा विवादास्पद प्रयत्नहरू थिए; साथसाथै उनी अर्को सत्तालाई बेवास्ता गरिरहेका थिए । चुनावपछि संविधान सभाले सोभियतहरूलाई मान्यता दिनुपर्दछ भन्नु स्वयंमा एउटा विरोधाभासपूर्ण तर्क हो । निर्वाचित भएपछि त वास्तविक सत्ता त्यही नै हुनुपर्दथ्यो । सोभियतहरूले पनि ती चुनावहरूमा भाग लिएर आफ्नो शक्तिको परीक्षण गर्नुपर्दथ्यो, तबमात्र बोल्शेभिक पार्टीको वास्तविक शक्ति थाहा हुन्थ्यो ।

राष्ट्रिय राज्यको प्रश्न

लेनिनका लेखहरूबाट के स्पष्ट हुन्छ भने अक्टुवर क्रान्तिले राष्ट्रको बदला वर्गलाई प्राथमिकता दियो । यसको अर्थ यो होइन कि लेनिनले राष्ट्रका अधिकारहरूलाई मान्यता दिएनन् । उनले त जारको रुसलाई राष्ट्रहरूको जेलखाना भने र के घोषणा गरे भने अक्टुवर क्रान्तिले उनीहरूलाई आत्मनिर्णयको, यहाँसम्म कि संघबाट पूर्ण रूपले अगल हुने कुराको पनि पूर्ण अधिकार दिनेछ । 

तर सोभियत सत्ताको यो नीति वर्गीय नीतिको आधारमा यसको एउटा अंशको रूपमा मात्र थियो, जसको उल्लेख हामीले गरिसकेका छौं । फलस्वरूप, राष्ट्रिय राज्यको बदला वर्गीय राज्य (सोभियत) को निर्माणलाई प्राथमिकता दिइयो । यस्तो राज्यले राष्ट्रिय अधिकारहरूको पनि सम्मान गर्दथ्यो । वर्गीय राज्यलाई प्राथमिकता दिनुको परिणाम यो निस्कियो कि सोभियत सत्ताकालमा राष्ट्रिय आधारमा राज्य वा राज्यहरूको निर्माण कहिल्यै पनि भएन, स्वयं लेनिनको कालमा पनि भएन । यहाँ सोभियत विचारधारमा अनौठो अन्तर्विरोध देखा पर्दछ । एकातिर त “राष्ट्रहरूको जेलखाना” खोलिदिएपछि राष्ट्रहरूलाई अलग भएर आ–आफ्ना राज्यको निर्माणको अनुमति दिइनुपर्दथ्यो । तिनीहरू अलग हुने अधिकारको केवल यहीमात्र अर्थ हुन सक्दथ्यो । रुसी फेडेरेशन वा रुसी संघभित्र रहनेको पनि यही अर्थ हुन सक्दथ्यो, किनभने संघ वा फेडेरेशन स्वतन्त्र राष्ट्रहरू र तिनीहरूका राज्यहरूको संघ थियो । र, स्वयं लेनिनले आफ्ना कैयौं रचनाहरूमा संघ र आत्मनिर्णयको अधिकारलाई यिनै अर्थमा लिएका छन् । अर्कोतिर, समुच्च रुस तथा अन्य राष्ट्रहरूमा सोभियत अर्थात् वर्गीय सत्ता स्थापित गर्ने यथासंभव प्रयत्न गरियो । १९१७ देखि १९२४ सम्मको इतिहास समुच्च रुसी संघमा सोभियत सत्ता स्थापित गर्ने प्रक्रियाको इतिहास हो, न कि राष्ट्रहरूको आत्मनिर्णयको आधारमा स्वतन्त्र र तिनीहरूका राज्यहरूको निर्माणको । यो अभियानमा सोभितहरूको लालसेनाले प्रमुख भूमिका निर्वाह गर्यो ।

के लालसेना मजदूर–किसान सर्वहारा सेना थिएन ? के आफ्नो वर्ग, शोषितहरूको सत्ता स्थापनामा त्यो सही थिएन ? यो सही हो कि लालसेना सर्वहाराको सेना थियो । तर त्यो मुख्य रूपमा रुसी सर्वहाराको सेना थियो । रुसमा पनि यो प्रमुख रूपले यूरोपका विकसित औद्योगिक शहरहरूका मजदूरहरू र बोल्शेभिकहरूबाट बनेको थियो । स्वयं रुसमा पनि त्यसले राष्ट्रिय अधिकारहरू र राज्यनिर्माणको स्वाभाविक प्रक्रियालाई बेवास्ता गर्दै गयो ।

यसको अर्थ के भयो भने रुसका औद्योगिक क्षेत्रहरूबाट हामी जति टाढा जान्छौं, सोभियत सत्ता र लालसेनाको समर्थन त्यति नै कम पाउँदछौं र सत्ताले यो कमीलाई बढीभन्दा बढी सेनाको सहायताले पूरा गर्दछ । कैयौं स्थानहरूमा मजदूरहरू, र कैयौं अन्य स्थानहरूमा किसानहरूले पनि सोभियतहरूको समर्थनमा विद्रोह गरे र पुरानो प्रशासन हटाएर नयाँ स्थापना गरे । तर यो समाजवाद र मजदूर सत्ताको पक्षमा त्यति थिएन, जति युद्धप्रति आफ्नो असीम क्रोध र कष्ट प्रकट गर्नको लागि थियो । अर्थात् रुसको राजधानीबाट हामी जति टाढा जान्छौं, सत्ता त्यति नै अस्थिर, अस्थायी, कमजोर र परिवर्तनीय देखिन्छ । यो कमजोरी लालसेनाहरूका अभियानहरूले पूरा गरे, जसको क्रममा घोषणा गरियो कि “ठाउँ–ठाउँ” मा सोभियत सत्ता स्थापित भइरहेको छ । अर्को कुरा के हो भने धेरै अन्य स्थानहरूमा किसानहरूले सोभियतहरूको कडा विरोध पनि गरे ।

समयसँगै सोभियत क्रान्तिको जोश कम भयो, युद्धको समाप्तिसँगै युद्धविरोधी भावनाहरू सेलाउन थाले, र यसरी सोभियत सत्ताप्रति लगावमा ठूलो कमी भयो । किसानहरू र कुलकहरू, बुद्धिजीवीहरू, यहाँसम्म कि कैयौं स्थानहरूमा मजदूरहरूले, सोभियत सत्ताबाट अलग रहन रुचाए । गैररुसी राष्ट्रहरूले सोभियत सत्तालाई रुसी आधिपत्यको रूपमा हेरे । यी सबै कारकहरू मिलेर गृहयुद्ध शुरु भयो । यसमा कुनै शंका छैन कि गृहयुद्ध कैयौं अर्थहरूमा प्रतिक्रान्तिकारी थियो र जसको पूरा समर्थन साम्राज्यवादी देशहरूले गरे । समर्थन मात्र होइन, तिनहरूले आफ्ना सेनाहरूसमेत उतारेर प्रतिक्रान्तिकारीहरूको सहायता गरे ।

तर यसको एउटा अर्को पक्ष पनि छ । “प्रतिक्रान्ति”  वा गृहयुद्ध धेरै अर्थमा सोभियत सत्ता थोपरिनुको विरोध पनि थियो; त्यसकारण यसको वास्तविक पक्ष पनि थियो । त्यसकारण यो सोभियत सत्ताद्वारा कैयौं स्थानहरूमा गरिएका दमन र अत्याचारहरूको विरोध पनि थियो । किसानहरू र राष्ट्रहरू (जातीहरू) ले आफ्ना अधिकारहरू तथा पहिचानको रक्षाको लागि ठाउँ–ठाउँमा विरोध र विद्रोह गरे । तिनीहरू आम किसान थिए, आम जनता थिए । जनता, गाउँका गाउँ, साना–ठूला शहर अलग–अलग सेनाहरू, लाल र श्वेत सेनाहरूको बीचमा लगातार लडाइँहरूबाट समस्या र तिनीहरूका अत्याचारहरूको शिकार बने । उनीहरू ती दुई विरोधी शक्तिहरू, तथाकथित वर्गहरूको बीचमा सत्तासंघर्षको कवच बने । आम मानिसहरूले दुवैको शिकार बन्नुपर्यो । साम्राज्यवादीहरू तथा प्रतिक्रान्तिकारीहरूले यो स्थितिको पूरा फाइदा उठाए । सोभियत सत्ताको प्रसार कुनै सजिलो र स्वतःस्फूर्त ढंगले भएन; त्यसका कैयौ बर्ष लाग्यो ।

त्यसकारण यो भन्नुमा कुनै अतिशयोक्ति हुँदैन कि गृहयुद्धको क्रममा औद्योगिक क्षेत्रहरूबाट टाढाका इलाकाहरूमा सोभित सत्ताको विरोधका सत्यता पनि थियो र त्यसले जनताका ठूला तप्काहरूका वास्तविक भावनाहरूलाई पनि प्रतिबिम्बित गर्दथ्यो । यसलाई “प्रतिक्रान्ति” भनेर बेवास्ता गर्न सकिंदैन । यहाँसम्म कि सोलोखोभको प्रसिद्ध रचना बिस्तारै बग दोन तथा अन्य यस्तै रचनाहरूमा यसको प्रतिबिम्ब पाइन्छ । यो इतिहासमा अनुसन्धानको विषय रहनेछ कि रुसी किसान सोभियत सत्ताप्रति कति समर्पित थिए ।

यसबाहेक एउटा अर्को महत्वपूर्ण प्रश्न उठ्दछ । यदि सार रूपमा हेर्ने हो भने, सोभियत लालसेना रुस तथा संघका अन्य क्षेत्रहरूमाथि रुसी आधिपत्यको माध्यम थियो । मानिसहरूले पनि त्यसलाई यही रूपमा हेरे । अन्य राष्ट्रहरू (जातिहरू) को सर्वहाराको पनि समर्थन त्यसलाई धेरै कम मात्र प्राप्त भयो । त्यसै पनि एशिया, यूराल–पूर्व तथा सुदूर–पूर्वका व्यापक क्षेत्रहरूमा मजदूर वर्ग धेरै कम मात्र थियो । जो मजदूर थिए, उनीहरू मुख्यतया खानीहरू र रेलवेमा थिए, र यो सुविदित छ कि रेलवे मजदूर कहिल्यै पनि सोभियत सत्तासँग थिएनन् । यसलाई लेनिनले आप्mना आरम्भिक रचनाहरूमा स्वीकार गरेका छन् । समाजमा किसानहरू, कविलाहरू, मध्यम तप्काहरू र साना–साना मालिकहरू तथा भूमिहीनहरूको बाहुल्यता थियो ।

यिनीहरूले, विशेषगरी गैररुसी राष्ट्रहरू (जातिहरू) का मानिसहरूले सोभियत सत्तालाई सजिलैसँग स्वीकार गरेनन्; अर्को शब्दमा जबर्जस्ती र शक्तिको प्रयोगबाट मात्र उनीहरूले यसलाई स्वीकार गरे ।

क्रान्ति रुसीहरूले गरे, सत्ता उनीहरूको हातमा आयो, उनीहरूले नै यसलाई सोभियतहरू र सेनाहरूको माध्यमले फैल्याए । यसप्रकार अन्य राष्ट्रहरू (जातिहरू) को दृष्टिमा यो रुसी साम्राज्य र आधिपत्यकै प्रसार थियो । गैररुसी राष्ट्र (जातिहरू) र गणराज्यहरूले सोभियत सत्तालाई कहिल्यै पनि वास्तविक हृदयले स्वीकार गरेनन् । पछिको इतिहास, विशेषगरी आजका घटनाहरू र सोभियतसंघको विखण्डनले, र त्यो पनि यति सजिलैसँग, यो कुराको पुष्टि गर्दछ । सोभियत शासनकालमा साना–ठूला राष्ट्रहरू (जातिहरू) का कैयौं विद्रोह भए, जसलाई निर्ममतापूर्वक दबाइयो । स्टालिनकालमा त हदै गरियो । साना–साना राष्ट्रहरू (जातिहरू) लाई आफ्ना मूल स्थानहरूबाट लाखौंको संख्यामा उठाएर सुदूर साइबेरिया र अन्य दुर्गम स्थानहरूमा पठाइयो । दर्जनौं राष्ट्रहरू (जातीय प्रदेशहरू र जातिहरू) लाई समूलनष्ट गरियो । यो सोभियत सत्ताको पर्दामा रुसी अन्धराष्ट्रवाद र साम्राज्यको स्थापना नै थियो, जसले तथाकथित “सर्वहारा अन्तर्राष्ट्रियतावाद” को नाराको आडमा अतिकेन्द्रित राज्यको रूप धारण गर्यो ।

सोभियत संघका राष्ट्रहरू (जातिहरू) लाई आ–आफ्ना राज्य स्थापित गर्ने अधिकार किन प्राप्त भएन ? यसको उत्तर माथि दिइएको विश्लेषणमा मिल्दछ । वास्तवमा राष्ट्रहरूप्रति जारकालीन नीतिमा विशेष परिवर्तन आएन र सोभियत संघ “राष्ट्रहरूको जेलखाना” बनेरै रह्यो । यसप्रकार यो एउटा सामन्ती–समाजवादी राज्य बन्यो, जसको हातमा असीमित र अनियन्त्रित अधिकार आए । “समाजवादी” यसकारणले कि त्यो समाजवादका नाराहरूको आधारमा काम गरिरहेको थियो र समाजवादी कदम पनि त्यसले उठायो । “सामन्ती” यसकारणले कि त्यो सत्ता संकेन्द्रण र सत्ताप्रसारका सामन्ती रूपहरू वा तरीकाहरूको प्रयोग गरिरहेको थियो । यति मात्र होइन, त्यसले जारशाही राज्यका सामन्ती ढाँचाहरूलाई पनि भत्काउन सकेन । राज्य एउटा पार्टीद्वारा चलाइएको अतिकेन्द्रित सामन्ती समाजवादी तथा रुसी आधिपत्यवादी राज्य थियो, त्यसकारण यी “समाजवादी परिवर्तनहरू” को कुनै महत्व रहेन र तिनीहरू अत्यन्तै धेरै सजिलोसँग लुप्त भए । सर्वहाराको अधिनायकत्वको वास्तविक सारतत्व सामन्ती समाजवादी अधिनायकत्व थियो । सामन्ती समाजवादी राज्यले सामान्य सामाजिक जीवन पूर्ण रूपले नष्ट गर्यो र राज्य सोभियत समाजको एकमात्र वास्तविकता बनेर रह्यो ।

लेनिनद्वारा पुनर्विचार

उपर्युक्त प्रस्थापनाको पुष्टि लेनिनका अन्तिम रचनाहरूमा पाइन्छ । जस्तो कि हामीले देखिसकेका छौं, लेनिनले सोभियत सत्तालाई सर्वहारा अधिनायकत्व वा मजदूर सत्ता भनेका थिए । तर एउटा सही वैज्ञानिकको रूपमा उनले सामाजिक परिस्थितिहरूको पुनर्मूल्याङ्कन गरेर आफ्ना विचारहरूमा तुरुन्तै परिवर्तन गर्न शुरु गरे । १९२२–२३ सम्म आउँदा उनका विचारहरूमा महत्वपूर्ण परिवर्तन देख्न सकिन्छ । यदि उनी अझ जीवित रहेका भए शायद आफ्नो सिद्धान्तलाई पूर्ण रूपले बदल्दथे ।

लेनिनले १९२२–२३ का आफ्ना रचनाहरूमा भन्न आरम्भ गरे कि क्रान्तिपछि रुसको राज्ययन्त्रको चरित्रमा कुनै मूल परिवर्तन भएको छैन, बरु त्यो जस्ताको तस्तै कायम छ । यो हाम्रो उपर्युक्त प्रस्थापनासँग मेल खान्छ । २५ जनवरी, १९२३ मा प्रकाशित आफ्नो एउटा लेख “हामीले मजदूर–किसानको परीक्षालाई कसरी पुनर्गठित गर्नुपर्दछ”२५ मा लेनिनले भनेका थिए – “हाम्रो राज्ययन्त्रमा धेरै हदसम्म भूतकालको अवशेष कायम छ, र यसमा शायदै कुनै महत्वपूर्ण परिवर्तन भएको होला । यसलाई केवल सतही रूपमा मात्र धेरथोर बदलिएको छ, तर सबै मामिलाहरूमा यो हाम्रो पुरानो राज्ययन्त्रकै रूप हो ।” यो विचार लेनिनले कहीं एक–दुईपटक गल्तीले प्रकट गरेका थिएनन्, बरु यस अवधिमा उनले यसलाई बारम्बार दोहोर्याएका थिए । २६–२७ मे, १९२३ मा प्रकाशित “सहकारिताको बारेमा” शीर्षकको आफ्नो एउटा महत्वपूर्ण लेखमा उनले भनेका थिए – हाम्रो राज्य “पूर्ण रूपले बेकार छ” र “यसलाई हामीले विगत युगबाट जस्ताको तस्तै लिएका छौं” ।२६ यस्तै विचार उनले आफ्नो लेख “थोरै नै सही, तर राम्रो”२७ मा पनि प्रकट गरेका थिए । यसमा त उनले  के सम्म भनेका थिए भने यो सोच्नु गलत हुन्छ कि हामीसँग वास्तवमा समाजवादी भन्नलायक एउटा राज्यको स्थापनाको तत्व उपलब्ध छ । स्पष्ट नै लेनिनले १९१७ मा पेश गरिएको सर्वहारा राज्यको बारेमा आफ्नो विचारलाई पूर्ण रूपले बदलिरहेका थिए ।

सोभियत क्रान्तिलाई नयाँ अर्थनीतिको आवश्यकता

“नयाँ अर्थनीति” (“New Economic Policy” “NEP”) सोभियत इतिहासका अत्यन्त महत्वपूर्ण एवं विवादास्पद पक्षहरूमध्ये एउटा हो । सामान्य रूपमा १९२०–२२ को अवधिमा आरम्भ भएर यो नीति लगभग १९२८ सम्म चलेको थियो, जब स्टालिनले यसलाई घुमाई–फिराईकन “पूँजीवादी” नीति घोषित गरेका थिए र यसको परित्याग गरेका थिए । यसको स्थानमा तुरुन्तै समाजवादी उत्पादन तथा सम्पत्ति स्थापित गर्ने व्यापक सामूहिकरण र औद्योगिकरणका नीतिहरू अपनाइयो ।

यो इतिहासको गहिरो अनुसन्धानको विषय बनिरहनेछ कि यदि सोभियत रुस “नेप” वा नयाँ अर्थनीतिमा चलिरहेको भए, त्यसको भविष्य के हुन्थ्यो होला । यति संकेत अवश्य मिल्दछ कि सोभियत संघको आर्थिक र राजनीतिक स्वरूप तथा भावी इतिहास पर्याप्त भिन्न हुन्थे : र त्यो कैयौं यस्ता समस्याहरूबाट बच्न सक्दथ्यो, जसको पछि त्यो गम्भीर रूपले शिकार बन्यो; यहाँसम्म कि जसको कारण त्यसको पतन पनि भयो ।      

क्रान्तिपछि तुरुन्तै सोभियत कम्युनिष्ट पार्टी र आम कम्युनिष्टहरूको यो व्यापक राय थियो कि सबै औद्योगिक र कृषि साधनहरूको छिटोभन्दा छिटो राष्ट्रियकरण तथा समाजीकरण गरिनुपर्दथ्यो, ताकि साम्यवादसम्म पुग्ने मार्ग प्रशस्त हुनसकोस् । सम्पूर्ण देशमा आम भावना के थियो भने राष्ट्रियकरण गरिनासाथ समाजवाद आउँछ । सोभियतहरू शोषक वर्गहरूलाई समाप्त गर्ने हतारमा थिए । उनीहरूको हातमा सम्पूर्ण देशको यति ठूलो सोभियत सत्ता थियो, तब के गर्न सकिंदैनथ्यो ! सम्पूर्ण बाधाहरू त्यतिकै हटाएर शोषण समाप्त गर र सबैलाई बराबर बनाऊँ !

क्रान्तिको जोशले भरिएका यी भावनाहरू वास्तविकताबाट त्यति नै टाढा थिए, जति धर्तीबाट आकाश हुन्छ । शुद्ध भावनाहरूले भरिएका यी विचारहरूको विज्ञान र वैज्ञानिक समाजवादसँग केही पनि लिनु–दिनु थिएन । तिनीहरू पूर्णतया भावनावादी विचार थिए, न कि भौतिकवादी । यो कुरा होइन कि केवल आम जनता मात्र यी भावनाहरूबाट प्रभावित थिए, माथिका ठूला–ठूला नेताहरू पनि यिनीहरूबाट ग्रस्त थिए । क्रान्तिको जोश वैज्ञानिक विचारहरू तथा सिद्धान्तहरूको लागि अत्यन्तै हानिकारक हुन्छ । सबै क्रान्तिहरूमा यही भएको छ; दुर्भाग्यले वैज्ञानिक ज्ञानको दावी गर्ने रुसको अक्टुवर क्रान्ति पनि यसको अपवाद थिएन ।

क्रान्तिको एक वर्षभित्र कैयौं पुराना ढाँचाहरू नष्ट गरिए वा यस दिशामा प्रयत्न गरिए । कारखानाहरूलाई मजदूरहरूको रेखदेख तथा नियन्त्रणमा चलाउने प्रयत्न गरियो । कारखानाहरूमाथि कब्जा गरियो । कैयौं स्थानहरूमा सरकारले तिनीहरूलाई आफ्नो नियन्त्रणमा लिएर व्यवस्था कामय गर्ने प्रयत्न गर्यो । गाउँहरूमा ठूला आकारका जमिनहरूमाथि कब्जा गरेर तिनीहरूको सहकारीकरण गरियो । जमिनको राष्ट्रियकरण व्यापक रूपमा भयो । यहाँसम्म कि किसानहरूका घरहरूको प्रयोगका सानातिना चीजहरू पनि “समाजवाद” को शिकार बन्नलागे । व्यक्तिगत सम्पत्ति खराब मानिनलाग्यो र एक बदनाम शब्द बन्नगयो । यस्तो कुरा होइन कि यसको लागि आम स्तरमा मजदूर तथा किसान र सोभियतहरूको जोशिलो नेतृत्व र आम सदस्य नै जिम्मेवार थिए । आम सोभियतहरूले त हतारमा कैयौं स्थानहरूमा केवल “समाजवाद” मात्र होइन, बरु स्वयं “साम्यवाद” पनि निर्माण गरे । क्रान्तिको माथिल्लो नेतृत्व अर्थात् केन्द्रीय सोभियतमा लेनिनका कैयौं सहयोगी पनि यी गलत विचारहरू तथा कदमहरूको लागि जिम्मेवार थिए । यहाँसम्म कि स्वयं लेनिन र उनको नेतृत्वमा बोल्शेभिक पार्टी पनि “शीघ्र समाजवाद” को भ्रममा रहेका थिए । यो स्थितिको लागि देशमा चलिरहेको गृहयुद्ध र व्यापारीहरू, सामन्तहरू र पूँजीपतिहरूको एउटा ठूलो भागद्वारा “प्रतिक्रान्ति” को सहायता र विदेशी साम्राज्यवादीहरूद्वारा आक्रमण पनि जिम्मेवार थियो । सोभियत सत्ता पल्टाउने प्रयत्नहरूले अधिकांश क्रान्ति समर्थकहरूको यो विश्वास अझ बलियो बनाएका थिए कि समाजवाद “शीघ्र” ल्याउनुपर्दछ, र उनीहरूको दृष्टिमा यसको अर्थ सम्पूर्ण सम्पत्तिवान पूर्ण विनाश थियो ।

स्वयं लेनिनले रुसी क्रान्तिका समाजवादी क्षमताहरूलाई अत्यधिक बढाई–चढाई मूल्याङ्कन गर्दै यसको जनवादी संक्रमणकालीन जिम्मेवारीहरूलाई लगभग बेवास्ता गरिदिए । उनले १९१७ देखि १९२०–२१ सम्म यो छवि बनाए कि क्रान्ति धेरै संक्षिप्त पूँजीवादी–जनवादी चरणहरू पार गर्दै र साथसाथै समाजवादको पनि निर्माण गर्न गइरहेको छ । यति मात्र होइन, कैयौं अवसरहरूमा त उनले सर्वहारा र समाजवादी क्रान्तिलाई आरम्भदेखि नै प्रमुख माने र जनवादी क्रान्तिलाई अत्यन्तै संक्षिप्त र लगभग अनावश्यक माने ।

यो सुविदित छ कि लेनिन र बोल्शेभिक पार्टीले अक्टुवर क्रान्ति तथा त्यसपछिका महिनाहरूलाई समाजवादी क्रान्ति र सर्वहारा अधिनायकत्वको समय भने । रुसी कम्युनिष्ट पार्टी (बोल्शेभिक) को आठौं पार्टी महाधिवेशन (१८–२३ मार्च, १९१९) मा पार्टी कार्यक्रमसम्बन्धी बहसमा२८ भाग लिंदै लेनिनले भने – अक्टुवर, १९१७ क्रान्तिको प्रथम चरण थियो, जब सर्वहाराले किसानहरूसँग मिलेर सत्ता कब्जा गर्यो । तर तबसम्म गाउँहरूमा वर्गसंघर्ष पुगेको थिएन । क्रान्तिको दोस्रो चरण १९१८ को गर्मी महिनामा शुरुवात भयो, जब गाउँहरूमा सर्वहारा र अर्धसर्वहाराले पूँजीपतिहरूको विरुद्ध वर्गसंघर्ष शुरु गरे । यसप्रकार सर्वहारा क्रान्तिको मुख्य उद्देश्य पूरा भइरहेको थियो ।२९

पार्टी कार्यक्रमको व्याख्या गर्दै अक्टुवर, १९१९ मा लेनिन यस अवधिका उपलब्धिहरूलाई रुसमा साम्यवादको प्रथम कदम भन्दछन्, र यही कुरा मार्च, १९१९ मा स्वीकृत पार्टी कार्यक्रममा पनि भनिएको थियो ।३० जोड यस कुरामाथि छ कि “कम्युनिष्ट कदम” आंशिक रूपले मात्र उठाइएका छन् : रुसमा श्रम साम्यवादी तरीकाले संगठित गरिएको छ;  “उत्पादनका साधनहरूको निजी स्वामित्व समाप्त गरिएको छ”३१; सर्वहारा राज्यसत्ता ठूलो परिमाणको उत्पादन राजकीय जमिन र उद्यमहरूमा संगठित गरिरहेको छ; “सर्वहारा अधिनायकत्वको पहिलो दिनमै”३२, अर्थात् “२६ अक्टुवर (८ नोभेम्बर), १९१७ मा” भूमिमाथि ठूलो निजी स्वामत्विलाई मुआब्जाबिना समाप्त गरियो; केही महिनामा नै करीब–करीब सम्पूर्ण ठूला पूँजीपतिहरू, कारखानाहरू, संयुक्त पूँजी कम्पनीहरू, बैंक, रेलवे, इत्यादिका मालिकहरूको स्वामित्व सरकारले आफ्नो हातमा लियो; कृषिमा राजकीय र सहकारी स्वामित्वको शुरुवात गरियो ।३३

यहाँसम्म कि अक्टुवर, १९२१ मा पनि लेनिन जनवादी क्रान्तिको पक्षलाई कम गरेर मूल्याङ्कन गरिरहेका थिए । प्राब्दामा १४ अक्टुवर, १९२१ मा लेख्दै३४ उनले बताए – यो रुसमा सर्वहारा नै थियो, जसले केवल पूँजीवादी–जनवादी क्रान्ति मात्र पूरा गरेन, बरु यो त्यसभन्दा पनि अगाडि बढ्यो । तर यसलाई वास्तविक सर्वहारा क्रान्तिकारीको रूपमा समाजवादी क्रान्ति पूरा गर्ने अवधिमा चलाइयो, जनवादी क्रान्ति र सुधार समाजवादी क्रान्ति र वर्गसंघर्षको परिणाम थिए, उद्देश्य होइनन्, बरु पैदावार वा “उप–पैदावार” थिए ।३५ यसप्रकार, के स्पष्ट छ भने धेरै पछिसम्म लेनिन र पार्टीले रुसी क्रान्तिबाट समाजवादी अपेक्षा राखिरहे ।

तर जब–जब क्रान्तिको प्रारम्भिक जोश सेलाउँदै गयो र ठोस आर्थिक वास्तविकता अगाडि आए, तब–तब आर्थिक मार्गको बारेमा पुनर्विचार प्रारम्भ भयो । अतिवादी विचारहरूको स्थान गम्भीर वस्तुगत विश्लेषणले लिन लागे । यो स्पष्ट हुँदैगयो कि “युद्ध–साम्यवाद” को हतारबाट न आर्थिक विकास संभव थियो र न समाजवादको आगमन नै । लेनिन, बुखारिन र क्रजिजानोभ्स्की जस्ता नेताहरू लामो संक्रमणकालीन अर्थव्यवस्थाको निर्माण तथा समाजवादतिर उन्मुख तयारीहरू तथा आधारभूत संरचना र साना सम्पत्तिको विकासको छुटमाथि बढीभन्दा बढी जोड दिन लागे । लेनिनले १९२० देखि नै “युद्ध–साम्यवाद” को आलोचना क्रमशः तीव्र बनाए । उनले विशेषगरी यसतर्फ ध्यानाकर्षित गरे कि हतार र जबर्जस्तीबाट सोभियत सत्ताको जनाधार संकुचित हुनेछ र यसबाट स्वयं सोभियत सत्तालाइै नै खतरा उत्पन्न हुन सक्दछ । संकुचित भएको जनाधारमा केवल मुट्ठिभर मजदूर र उनीहरूका नेताहरू अलग हुनेछन् । यदि लेनिनका क्रान्तिपछि तुरुन्तै लेखिएका लेखहरूलाई हेर्ने हो भने,  के देखिन्छ भने तिनीहरूमा रुसमा वर्गहरूको समाप्तिमाथि पर्याप्त जोड दिइएको छ (जस्तै पार्टी कार्यक्रमसम्बन्धी बहस, मार्च १९१९; “सर्वहाराको अधिनायकत्वको युगमा अर्थशास्त्र र राजनीति” १९१९, इत्यादि) । तर विस्तार–विस्तार प्राथमिकताहरू र मुद्दाहरूमाथि जोड बदलिएको देखिन्छ । यस सन्दर्भमा “गोयलरो योजना” तथा रुसी कम्युनिष्ट पार्टी दसौं महाधिवेशन (१९२१) महत्वपूर्ण छन् ।

यो पार्टी महाधिवेशनमा मुक्त व्यापार, बजारको विकास, तथा साना र मझौला किसानहरू र अन्य उत्पादकहरूको विकासलाई छुट दिनेसम्बन्धी तीव्र बहसहरू भए । यो निश्चित भयो कि अर्थव्यवस्थाको विकासको लागि यस्तो छुट दिइनुपर्दछ । यो महसुस गरियो कि बजार तथा विनिमयका स्थानीय विकास आवश्यक छ । साना किसानहरू वा साना उत्पादकहरूलाई आफ्ना आवश्यकताहरूअनुसार आर्थिक सुविधाहरू दिइनुपर्दछ र उनीहरूका निजी सम्पत्तिलाई प्रोत्साहन दिइनुपर्दछ । आम किसानहरूमा यो विश्वास उत्पन्न गर्नु आवश्यक थियो कि मजदूर वर्गले उनीहरूको हितमा सत्ताको प्रयोग गरेर व्यापार वा विनिमयका सुविधाहरू तयार गर्न सक्दछ ।

लेनिनले के स्वीकार गरे भने सोभियत सत्ताले उद्योग र व्यापारको आवश्यकताभन्दा धेरै बढी राष्ट्रियकरण गरेको थियो, जसको फलस्वरूप स्थानीय स्तरको वस्तु विनिमयमाथि प्रतिकूल असर परेको थियो ।३६ गृहयुद्धका असाधारण परिस्थितिहरूको कारण आर्थिक क्षेत्रमा पनि युद्धकालीन कदम उठाउनुपर्यो । तर पनि पार्टीले यो बुझ्न सकेन कि कहाँसम्म जानुपर्दछ र कहाँ रोकिनुपर्दछ । त्यस अवधिमा र पछि पनि, पार्टी सैद्धान्तिक र राजनीतिक आवश्यकताबाट धेरै अगाडि बढेको थियो । लेनिनले स्पष्ट भने, स्थानीय परिमाणका वस्तुविनिमयले सर्वहारा अधिनायकत्वलाई कमजोर बनाउनुको बदला बलियो बनाउँदछन् ।३७ सर्वहाराको सत्ताले जम्मा संचित धनलाई बजारमा ल्याएर मध्यम किसानहरूलाई सन्तुष्ट बनाउन सक्दछ ।३८ सोभियत पार्टी कार्यक्रममा के भनिएको थियो भने पूँजीवादी समाजबाट चलेर आइरहेका सहकारी संस्थाहरू वितरणको सबभन्दा राम्रो माध्यम हुन् ।

पार्टीले गृहयुद्धको कालमा अतिरिक्त अनाजको अधिग्रहणको नीति छोड्यो र कृषि पैदावारमाथि कर लगाउने घोषणा गर्यो । यो नयाँ अर्धनीतितिर महत्वपूर्ण कदमहरूमध्ये एउटा थियो ।

लेनिनको प्रसिद्ध रचना “वस्तुरुमपा कर”३९ (Tax in kind) नयाँ अर्धनीतिको व्याख्यासम्बन्धी ऐतिहासिक रचना हो । यो रचनालाई “नयाँ नीति र त्यसका परिस्थितिहरूको महत्व” पनि भनिन्छ । यो लेख १९२१ मा लेखिएको थियो । यसको प्रथम भागमा लेनिनले वामपन्थी वालकपन तथा निम्नपूँजीवादी मानसिकतासम्बन्धी आफ्नो मार्च, १९१८ को पुस्तिकाबाट एउटा अंश “रुसको वर्तमान अर्थव्यवस्था” पनि उद्धृत गरेका थिए । १९१८ को यो पुस्तिकामा नै लेनिनले रुसमा पाँच प्रकारका सामाजिक–आर्थिक संरचनाहरूको कुरा गरेका थिए । संक्रमण कालमा ती पाँच संरचनाहरूलाई समाजवादी संरचनातिर विकसित गर्नु थियो । ती पाँच संरचनाहरू थिए : प्राकृतिक कृषिव्यवस्था; किसानहरूको बहुमतसहित साना वस्तुउत्पादन; निजी पूँजीवाद; राजकीय पूँजीवाद; र समाजवाद । यो जटिल संक्रमण पूरा गर्नको लागि दूरगामी र लामो अवधिका आर्थिक–सामाजिक कदम उठाउनु आवश्यक थियो, जसको फलस्वरूप रुसमा उत्पादनका साधनहरू र शक्तिहरूको आवश्यक विकास हुन्थ्यो र उत्पादकत्व बढ्दथ्यो । तबमात्र समाजवादको अनुरूप मानिसहरूको आवश्यकताहरूलाई पूरा गर्न सकिन्थ्यो र उत्पादनका सम्बन्धहरूमा ठोस परिवर्तन ल्याउन सकिन्थ्यो । यस सम्बन्धमा १९१८ मा नै लेनिनले एउटा नयाँ प्रस्थापना पेश गरे : त्यसानुसार राजकीय पूँजीवाद रुसको लागि सबभन्दा उपयोगी र अनुकूल थियो ।४० १९२१ मा “वस्तुरूपमा कर” लेखमा उनले यो प्रस्थापनाको विस्तृत विवेचना गरेका थिए ।

लेनिनले सबभन्दा पहिले उत्पादनका साधनहरूको विकास तथा उत्पादकत्व बढाउने कुरामाथि जोड दिए । उनका अनुसार रुसको विद्युतीकरण समाजवादको लागि निर्णायक थियो ।४१ यहाँसम्म कि उनले निम्नलिखित सूत्र पनि पेश गरे : “सोभियत सत्ता + विद्युतीकरण = साम्यवाद ।” उनको विचारमा कम्तीमा पनि विद्युतीकरणको प्रथम चरण पूरा नगरीकन आम उपयोगका सबै वस्तुहरू पूर्ति गर्न सकिंदैन । देशको औद्योगिकरण र विद्युतीकरणको  लागि उनले सुप्रसिद्ध वैज्ञानिक क्रजिजानोव्स्कीको रेखदेखमा व्यापक परिमाणमा वैज्ञानिक अध्ययन गराए, जसमा सयौं वैज्ञानिकहरूले भाग लिए । यो जान्न लायक छ कि तिनै क्रजिजानोव्स्कीलाई लेनिनको मृत्युपछि स्टालिनले केवल सबै पदहरूबाट मात्र हटाएनन्, बरु उनको ज्यानमाथि पनि खतरा उत्पन्न गरे र उनको जीवन कठिन बनाइदिए ।

लेनिन यस अवधिमा लामो सामाजिक–आर्थिक संक्रमणकालको तयारी गरिरहेका थिए, ताकि समाजवाद र साम्यवादको आधार तयार गर्न सकियोस् । समाजवादको आधार तयार गर्ने र समाजवादको निर्माण गर्ने कुरामा ठूलो अन्तर छ । यो महत्वपूर्ण प्रश्नमाथि सोभियत रुसमा अत्यन्तै तीव्र बहस भइरह्यो, जसले त्यसको भाग्य निर्णय गर्नमा ठूलो महत्वपूर्ण भूमिका निर्वाह गर्यो ।

लेनिनको के मत थियो भने समय बित्नुसँगै राजनीतिज्ञहरूले “पछिल्ला बेन्चहरूमा बस्नुपर्नेछ, र उनीहरूको मार्गनिर्देशन वैज्ञानिकहरूले गर्नेछन् । साम्यवादसम्म पुग्ने हरेक मार्ग अलग–अलग हुनेछ । उदाहरणको लागि वैज्ञानिकहरूको मार्ग त्यो हुनेछैन, जुन मजदूरहरूको हुनेछ । क्रान्तिपछि राजनीतिज्ञहरूको भूमिका समाप्त भएको छ, र अब समाज निर्माण तथा उत्पादनका साधनहरूको विकासको रेखदेख मुख्यतया वैज्ञानिकहरूले गर्नेछन्”।४२   

यहाँ यो पनि स्पष्ट छ कि लेनिनले भावी विकासको सम्बन्धमा आफ्ना विचारहरूमा केवल परिवर्तन मात्र गरिरहेका थिएनन्, बरु उनी लिकबाट हटेर कैयौं नयाँ विचारहरू पनि पेश गरिरहेका थिए । कति दुःखको कुरा छ भने यी विचारहरूलाई फस्टाउने मौका मिलेन । लेनिनको मृत्युपछि उनका यी विचारहरू पूर्ण रूपले उपेक्षित भए ।

समुच्च रुसको विद्युतीकरणको उद्देश्य उत्पादनका साधनहरूको विकास तथा सामाजिक सम्पत्तिको उत्पादन बढाउने अनुकूल आधार तयार गर्नु थियो । साधनहरू, यातायात, बैंकहरू, बजारहरू, साना–ठूला उद्यमहरू, इत्यादिबिना समाज र अर्थव्यवस्थाको विकास, उत्पादकत्वमा वृद्धि र सामाजिक प्रगति हुन सक्दैनथ्यो । लेनिन यस मामिलामा विल्कुल स्पष्ट थिए ।

लेनिनले एउटा प्रश्नमाथि आफ्ना विचारहरू तीव्र रूपले बदलिरहेका थिए : त्यो थियो बजारप्रणालीको विकास । वास्तवमा यो प्रश्न मार्क्सवादमा सदा नै अत्यन्त विवादास्पद प्रश्न रहेको छ । मार्क्सको समयदेखि नै यो प्रश्नमाथि तीव्र बहस भइरहेको छ । तर मार्क्सवादी आन्दोलनले यसलाई सन्तोषजनक ढंगले समाधान गर्न सकेको छैन । हो, समाजवादको पतनले यसलाई आफ्नो ढंगले समाधान अवश्य गरेको छ ।

बजार, बजारप्रणाली र मुक्त व्यापारको सम्बन्धमा शंका उत्पन्न गर्न र एकतर्फी विचारहरूको लागि स्वयं मार्क्स, एंगेल्स र लेनिन जिम्मेवार छन् । उनीहरूले जसरी यो प्रश्नको विवेचना गरे, त्यसबाट कुन छवि उत्पन्न भयो भने बजार र समाजवाद एक–अर्कोको यति विरोधी छन् कि सँगसँगै चल्न सक्दैनन् । उनीहरूका रचनाहरूबाट के निष्कर्ष निस्किन्छ भने समाजवादको अर्थ हो बजार नहुनु । यसबाहेक, उनीहरूका रचनाहरूमा पूँजीवादपूर्वका समाजहरू र पूँजीवादी समाजको बजारको बीचमा अन्तर लगभग समाप्त भएको छ ।

मार्क्सका रचनाहरूमा पूँजीवादी बजारको विकास, बजारको अराजकता र बजारद्वारा श्रमिकहरूको शोषणमाथि जोड दिइएको छ । सन्दर्भ विशेषमा यो सही छ; आम रूपमा पनि यी सम्पूर्ण विशेषताहरू बजारप्रणालीकै विशेषताहरू हुन् । तर तिनीहरू केवल एकपक्ष मात्र हुन्; बजारका तिनीहरू केवल केही पक्ष मात्र हुन् । मार्क्सवादले अन्य पक्षहरूलाई लगभग बेवास्ता गरिदिएको छ । मार्क्सले वितरण र बजारबाट उत्पादन पूँजीको उदय तथा वस्तुको रूपमा बजारमा श्रमशक्तिको प्रवेश विश्लेषण गरे ।४३ उनी के निष्कर्षमा पुगे भने श्रमशक्तिको क्रय–विक्रय वस्तुको रूपमा परिवर्तनले नै पूँजीवादी उत्पादन प्रक्रिया तथा पद्धतिलाई जन्म दियो ।४४ मार्क्सले पूँजीमा वस्तु तथा पूँजीको शुद्ध प्रयोगशालाको रूपमा विश्लेषण गरेका छन्,४५ अर्थात् तिनीहरूलाई तिनीहरूका सामाजिक सन्दर्भहरू र सम्बन्धहरूबाट अलग गरेर, धेरथोर त्यसैगरी, जसरी वैज्ञानिक प्रयोगशालाहरूमा पदार्थहरू वा रसायनहरूका गुणहरूको तिनीहरूका मिश्रणहरू, यौगिकहरू र समबन्धहरूबाट अलग गरेर अध्ययन गरिन्छ, ता कि यी वस्तुहरूको शुद्ध गुण स्पष्ट हुनसकोस् । तिनै पदार्थहरू जब अन्य वस्तुहरूसँग मिल्दछन्, तब तिनीहरूको गुण अथवा व्यवहार परिवर्तित हुन्छन् । यो कुरा सामाजिक प्रक्रियाहरूमाथि धेरै बढी लागू हुन्छ ।

पूँजीवादी उत्पादन प्रणालीको तर्कलाई अगाडि विकसित गर्दै मार्क्सले, विशेषगरी आफ्ना पछाडिका रचनाहरूमा, ठूला उद्यमहरूमा आधारित उत्पादन पद्धतिको सार्वजनिक वा समाजवादी (साम्यवादी) उत्पादन पद्धतिमा बदल्ने सम्बन्धी निष्कर्ष निकाल्दछन् । उनको तर्कानुसार साम्यवादको स्थापना ठूला परिमाणका सामूहिक श्रमद्वारा ठूला परिमाणका उत्पादन साधनहरूमाथि स्वामित्व तथा नियन्त्रण स्थापित गरेर मात्र  हुन सक्दछ ।

यसो गर्दा मार्क्स र एंगेल्सले समाजविकासमा, विशेषगरी भावी समाजको विकासमा, बजारको भूमिकालाई लगभग अस्वीकार गर्दछन् । उनीहरूका रचनाहरूमा बजारको सकारात्मक भूमिकाको उल्लेख कहीं–कहीं अवश्य मिल्दछ, तर साम्यवादसम्म संक्रमणको अवधिमा तथा स्वयं साम्यवादमा यसको भूमिकालाई बेवास्ता गरिएको छ । यसको एउटा कारण के हुन सक्दछ भने प्रश्न विशेषको आफ्नो विश्लेषण कार्यमा उनीहरूलाई शायद यसको आवश्यकता परेन । तर पनि उनीहरूका रचनाहरूबाट यति कुरा स्पष्ट छ कि उनीहरू समाजवाद र साम्यवादमा बजारलाई अनुपस्थित मान्दछन् ।

उनीहरू यस्तो खाका खिच्दछन्, मानौं बजार र बजारप्रणाली समाजको चरित्रको विरुद्ध छन् र श्रमजीवी वर्गका हितहरूको लागि हानिकारक छन्, उनीहरूको विचारमा समाजको विकसित अवस्था वा साम्यवादमा बजारको स्थानमा सीधै श्रम र वस्तु विनिमय हुनेछ, अर्थात् बजार समाप्त हुनेछ । वस्तु विनिमयको स्थानमा श्रमको विनिमय हुनेछ; व्यक्तिलाई समाजबाट मान्यता प्राप्त हुनेछ कि उसले यति श्रम समाजलाई दिएको छ र यति मात्र श्रम उसलाई फिर्ता प्राप्त हुनुपर्दछ । विनिमयको सार र रूप बदलिनेछन् ।४६ एंगेल्सले बजारलाई समाजको अभिन्न अंगको रूपमा हेर्नुको बदला त्यसलाई यस्तो भागको रूपमा पेश गरे, जसलाई हरेक अवस्थामा काटेर अलग गर्नुपर्दछ, किनभने त्यसले पूँजीवादी सम्बन्ध उत्पन्न गर्दछ । उनका अनुसार समाजद्वारा उत्पादनका साधनहरूमाथि कब्जा भएपछि वस्तु–उत्पादन समाप्त हुन्छ र साथसाथै वस्तुको उत्पादकमाथि प्रभुत्व पनि । उत्पादनमा अराजकताको स्थान ठोस संगठनले लिन्छ ।४७ मार्क्सले गोथा कार्यक्रमको आलोचनामा यही पक्षमाथि जोड दिएका छन् । उनका रचनाहरूमा कैयौं अन्य स्थानहरूमा पनि बजारप्रणाली र वस्तुउत्पादनको पूर्ण समाप्तिको कल्पना गरिएको छ । लेनिनले १९०८ मा भनेका थिए – जबसम्म वस्तु विनिमय हुन्छ, तबसम्म समाजवादको कुरा गर्नु हास्यास्पद छ ।४८ क्रान्तिपछि लेनिनले धेरैपटक जोड दिएर भने – सानो सम्पत्तिले लगातार पूँजीवादलाई जन्म दिन्छ, त्यसलाई समाजवादको हितमा समाप्त गर्नु आवश्यक छ ।

भविष्यको समाजको बजारको भूमिकाको प्रश्नमाथि मार्क्स, एंगेल्स र लेनिनको विचार धेरै हदसम्म कल्पनावादी छन् । यो भूमिकाको अर्को पक्ष मार्क्सवादमा स्पष्ट रूपले विकसित भएर आएको छैन । वितरण र विकासको स्रोतको रूपमा त्यसको भूमिकालाई लगभग अस्वीकार गरिएको छ । समाजवादमा पनि बजारको अस्तित्व आवश्यक छ र समाजवादी उत्पादनपद्धतिको अभिन्न अंगको रूपमा त्यसले विकासमा योगदान गर्न सक्दछ : यो संभावनालाई विल्कुलै बेवास्ता गरियो । मार्क्सवादी आन्दोलनले बजारसम्बन्धी नीति तथा कार्यक्रमलाई अझ बढी एकतर्फी ढंगले पेश गरे तथा प्रचार गरे । फलस्वरूप क्रान्तिलाई बजारको पूर्ण विनाशको रूपमा हेर्न लागियो । यो विचारले कम्युनिष्टहरूको हृदयमा घर गरेको छ । त्यसकारण जब कुनै बेला बजारप्रणालीको विकासको कुरा गरिन्छ, त्यसलाई पूँजीवादी विकास नै मानिन्छ; अर्को शब्दमा उनीहरूको विचारमा बजार = पूँजीवाद ।

धेरै पछि लेनिनले नयाँ अर्थनीति “नेप”, इत्यादिको माध्यमले केही हदसम्म बजारको अर्को पक्ष उजागर गर्ने प्रयत्न गरे । त्यो उनको मृत्युपछि पुनः लामो समयसम्म दबिरह्यो । आज त्यो पक्षमाथि पुनः बहस चलेको छ ।

लेनिन र रुसी क्रान्तिको सामु बजारप्रणालीसम्बन्धी समस्याहरू

लेनिन मार्क्सभन्दा अलग परिस्थितिहरूमा काम गरिरहेका थिए । एकातिर त उनले मार्क्सका विचारहरूलाई अगाडि थप विकसित गरे र यो उनका सिद्धान्तहरूको सामान्य वा आम सर्वव्यापी पक्ष हो । यसमा तिनीहरू “बजारविरोधी” देखिन्छन् । अर्कोतिर, उनले रुसजस्तो पिछडिएको देशको परिस्थितिविशेषको गहिरोसँग अध्ययन गरेर रुसमा पूँजीवादको विकास नामक ऐतिहासिक रचना लेखे । यसमा उनले कैयौं रचनाहरू, पद्धतिहरू तथा स्तरहरू भएको रुसी अर्थव्यवस्थाको पूँजीवादतिर विकासको गहन अध्ययन गरे । उनले बजारको महत्वपूर्ण भूमिका तथा साना मालिकहरूको बढ्दो महत्वमाथि पनि विस्तारपूर्वक विचार गरे । लेनिनका रचनाहरूमा रुस साना उत्पादकहरूको देश बनेर प्रकट हुन्छ ।

तर अक्टुवर क्रान्तिपछि लेनिनको जोड पूँजीवादको विनाश र समाजवादको स्थापनामाथि आउँदछ र बजारतिर उनको दृष्टिकोण अकस्मात परिवर्तन हुन्छ । उनी बजारविरोधीको रूपमा देखा पर्दछन् । उनी यस कुरामाथि बारम्बार जोड दिन्छन् कि साना सम्पत्ति र बजारले हरेक क्षण पूँजीवादलाई जन्म दिन्छन्, त्यसकारण तिनीहरूमाथि अंकुश लगाउनु आवश्यक छ । क्रान्तिका आरम्भिक दुई वर्षहरूमा उनले बजारलाई सीमित मात्र गरेनन्, बरु समाप्त पनि गरिदिएका थिए । यो गृहयुद्धका कारणहरूमध्ये एउटा थियो र त्यसको परिणाम पनि । किसानहरूलाई बजारमा आफ्ना उत्पादन बेच्ने स्वतन्त्रता रहेन, त्यसलाई सरकारले लिन्थ्यो, त्यसले एउटा सानो भागमात्र खरिद गर्दथ्यो । तर युद्धको क्रममा तुरुन्तै लेनिनले महसुस गरे कि यो गलत हो, अत्याचार हो र सोभियत सरकार सीमाभन्दा अगाडि बढेको छ । उनले गृहयुद्धकै अवधिमा नयाँ अर्थनीति वा “नेप” को कुरा गरे र युद्ध समाप्त हुनासाथ यसलाई व्यापक रूपमा अपनाए ।

नेप वा नयाँ अर्थनीतिको महत्व

धेरै मानिसहरूले नयाँ अर्थनीति (नेप) लाई एउटा अल्पकालीन अस्थायी कदम मान्दछन्, जसको समाप्तिमा समाजवादको धारा पुनः बहन्छ । उनीहरू नेपलाई एउटा बाध्यता, पश्चकदम र भड्काव मान्दछन्, एउटा यस्तो नचाहिएको कदम, जुन यदि नअपनाइएको भए, शायद बढी राम्रो हुन्थ्यो ।

तर नयाँ अर्थनीतिसम्बन्धी यो व्याख्या विल्कुलै गलत र वास्तविकताबाट धेरै टाढा छ । यसले सामाजिक विकासका मुख्य आवश्यकताहरूलाई बेवास्ता गर्दछ । यसले “पूँजीवाद विरुद्ध समाजवाद” को सरलीकृत सूत्रलाई अपरिपक्व ढंगले लागू गर्दछ र कुनै पनि, विशेषगरी पिछडिएको समाजको लागि संक्रमण कालको वस्तुगत आवश्यकतालाई बुझ्दैबुझ्दैन । परिणाम आज हाम्रो सामु छ ।

नयाँ अर्थनीतिको यो छवि निर्माण गर्नको लागि धेरै हदसम्म स्वयं लेनिन पनि जिम्मेवार छन् । उनले आरम्भमा नेपलाई “पश्चकदम”, “पूँजीवादलाई अस्थायी सहुलियत” र “अस्थायी कदम” भने । यसलाई “आवश्यक सम्झौता” भनियो, जसको कारण “युद्ध–साम्यवाद” को अत्याचार थियो । लेनिनको यो एकतर्फी बुझाई क्रान्तिको बारेमा उनको एकतर्फी बुझाई र त्यसकारण उद्देश्यहरूमा छिटोभन्दा छिटो पुग्ने प्रयासहरूको प्रत्यक्ष परिणाम थियो; तर शीघ्र नै लेनिनले नेपसम्बन्धी आफ्नो बुझाईमा महत्वपूर्ण परिवर्तन गरे ।

रुस मुख्यतया साना उत्पादकहरू, किसानहरू र साना उद्यमीहरू तथा मालिकहरूको देश थियो, यो लेनिनले कैयौं स्थानमा स्पष्ट रूपले भनेका छन् । रुसमा सर्वहारा र पूँजीपति वर्ग तुलनात्मक रूपले कम विकसित थिए । आफ्नो पछौटेपनको कारण साना सम्पत्ति र पूँजीलाई प्रोत्साहन दिने र छुट दिने आवश्यकता महसुस भयो, ताकि त्यसले सामाजिक धन र मूल्य उत्पन्न गर्न सकोस् । वस्तु उत्पादन, वस्तु विनिमय तथा बजारको विस्तारको अनुमति दिने र तिनीहरूको लागि अनुकूल परिस्थितिहरू निर्माण गर्ने आवश्यकता थियो । अर्को शब्दमा रुसमा समाजवादका भौतिक परिस्थितिहरू थिएनन्। तिनीहरू विकासको लामो समयपछि मात्र उत्पन्न हुन सक्दथे ।

नयाँ अर्थनीतिको शुरुवात १९२०–२१ को आसपासमा भएको थियो । लेनिन बाहेक बुखारिनले यसलाई तयार गर्नमा विशेष भूमिका निर्वाह गरेका थिए । स्मरण रहोस्, पछि स्टालिनको हातबाट बुखारिनले अमानवीय यातनाहरू सहनुपर्यो र मृत्युको सामना गर्नुपर्यो : उनलाई १९३७ मा गोली हानेर मारिएको थियो ।

नयाँ अर्थनीतिले पुराना नीतिहरूलाई पूर्ण रूपले बदल्यो । किसानहरूलाई आफ्नो उत्पादन खुला बजारमा बेच्ने अधिकार प्राप्त भयो, जसबाट उत्पादनमा वृद्धि भयो । उनीहरूका खोसिएका अधिकारहरू फिर्ता गरियो । जमिन किसानहरूकै सम्पत्ति घोषित गरियो । घर तथा उपयोगका अन्य वस्तुहरूमाथि उनीहरूको अधिकार र स्वामित्व उनीहरूलाई फिर्ता मिल्यो । “सहकारिता” को ज्वरो हट्नलाग्यो, जसबाट खेतीलाई फाइदा नै भयो, र सोभियत सत्तामा किसानहरूको विश्वास फर्किन लाग्यो । साना उद्योगपतिहरू र व्यापारीहरूलाई आफ्नो कारोबार गर्ने धेरै छुट मिल्यो र यसप्रकार निजी उद्योग तथा निजी सम्पत्ति विकसित हुनलागे । समग्रमा बजारप्रणाली र बजारको तीव्र विकास हुनलाग्यो । वस्तुहरूका दाम बजारबाट निर्धारण हुनलागे र उद्यमीहरूलाई उत्पादन र व्यापार गर्ने प्रेरणा मिल्नलाग्यो, किनभने त्यसमा फाइदा देखिनलाग्यो । सरकारबाट उनीहरूलाई र किसानहरूलाई ठूलो सहायता मिल्नलाग्यो । यसैको अनुरूप सम्पूर्ण वित्तीय र बैंकिङ व्यवस्थामा परिवर्तन हुनलाग्यो । सरकारद्वारा गरिने नियन्त्रण पूर्ण रूपले समाप्त भएको थिएन । तर यो नियन्त्रण प्रशासनिक तरीकाले होइन, बजार तथा मूल्यहरूमा समय–समयमा आवश्यक हस्तक्षेप तथा बैंकहरूको माध्यमले गरिनलाग्यो । यस सन्दर्भमा एउटा अर्को रोचक तथ्य के छ भने लेनिन विदेश, आर्थिक नीति र विश्वसम्बन्धहरूलाई नयाँ दृष्टिले हेर्नलागेका थिए । उनी रुसमा विदेशी पूँजीपतिहरूलाई छुट दिने कुराको दृढ पक्षपाती बने । यी विचारहरू उनले शान्तिपूर्ण सहअस्तित्वसम्बन्धी लेखहरू तथा अन्य धेरै रचनाहरूमा प्रकट गरे ।५० उनले यो कुरा जोड दिएर भने कि जर्मनी, अमेरिका, इंग्ल्याण्ड तथा अन्य पश्चिमी देशहरूका कम्पनीहरूलाई रुसमा कारखाना खोल्ने तथा व्यापारका सुविधाहरू दिनुपर्दछ । उनको पहल र जोडमा कैयौं विदेशी कम्पनीहरूसँग कुराकानी गर्न लागियो । लेनिनलाई पूरा विश्वास थियो कि सोभियत सत्ताद्वारा विदेशी पूँजीलाई आफ्नो नियन्त्रणमा राख्दै त्यसको पूरा फाइदा उठाउन सकिन्छ र अर्थतन्त्र तथा उत्पादक शक्तिहरूमा लगाउन सकिन्छ । रुससँग त्यो प्रविधि, पूँजी र प्रबन्ध प्रणाली तथा अनुभव थिएनन्, जुन पश्चिममा थिए । लेनिनले प्रबन्धको अनुभवमाथि ठूलो जोड दिए र बारम्बार यस क्षेत्रमा पश्चिमबाट सिक्ने कुरा गरे । यस अर्थमा क्रान्तिकारीहरूलाई कुनै पनि प्रकारको अनुभव थिएन । साथसाथै सामाजिक सम्पत्ति उत्पादन गर्ने क्षमताको प्रश्न पनि थियो, जुन रुसी व्यवस्थामा धेरै कम थियो ।

यसबाहेक एउटा अर्को पनि महत्वपूर्ण प्रश्न थियो, जसमाथि लेनिनले पर्याप्त जोड दिए । र, त्यो थियो संस्कृतिको प्रश्न । संस्कृतिको अर्थ केवल इतिहाससँग मात्र होइन, बरु त्यसभन्दा धेरै बढी वर्तमान सांस्कृतिक स्तर तथा कार्यप्रणालीसँग थियो । उनका त्यस कालका रचनाहरूबाट थाहा हुन्छ कि उनी रुसमा विशेष प्रकारको आधुनिक संस्कृतिको ठूलो कमी महसुस गरिरहेका थिए । उनले त यहाँसम्म भने कि सोभियत रुसमा समाजवादको निर्माणको लागि संस्कृतिको अभाव छ; यही नै यो कार्यको मार्गमा सबभन्दा ठूलो बाधक हो । संस्कृतिबिना समाजको निर्माण हुन सक्दैनथ्यो ।

रुसी कम्युनिष्ट पार्टी (बोल्शेभिक) को ११औं महाधिवेशन (१९२२) मा पेश गरिएको आफ्नो प्रतिवेदनमा५१ लेनिनले के सूचना दिए भने विदेशी कम्पनीहरूसँग ठूलो परिमाणमा सम्झौता गरिसकिएको छ । उनले १९ वटा यस्ता सम्झौताहरूको उल्लेख गरे, जुन अमेरिकी तथा अन्य पश्चिमी कम्पनीहरूसँग सम्पन्न भएका थिए । तिनीहरूको आधारमा यी कम्पनीहरूलाई साइबेरिया तथा केही अन्य स्थानहरूमा जमिन लिने, कारखाना खोल्ने र मुनाफा कमाउने छुट मिल्यो । आफ्नो उपयुक्त प्रतिवेदन५२ तथा “रुसी क्रान्तिका पाँच वर्ष”५३ नामक लेख तथा केही अन्य रचनाहरूमा लेनिनले रुसलाई अत्यन्तै जटिल समाजको रूपमा पेश गरे । “रुसी क्रान्तिका पाँच वर्ष” मा लेनिनले स्वीकार गरे कि १९१८ को जोशमा हतार गरेर कैयौं यस्ता कदमहरू उठाइए, जुन विशुद्ध रूपले समाजवादी थिए, तर जसको अहिले तत्काल कुनै आवश्यकता थिएन ।५४ लेनिनले राजकीय पूँजीवादको निर्माणमाथि विशेष जोड दिएका थिए ।५५ (रुसी क्रान्तिका पाँच वर्ष) । उनले स्पष्ट रूपमा भने – रुस मुख्यतया निम्नपूँजीवादी तत्वहरूलाई वा शक्तिहरूको देश हो, राजकीय पूँजीवाद त्यसको लागि सबभन्दा उपयुक्त आर्थिक स्वरूप तथा मार्ग हो । उनले के कुरामाथि पनि जोड दिए भने पहिले राजकीय पूँजीवाद प्राप्त गरेर त्यसपछि समाजवाद प्राप्त गर्नु नै राम्रो हुन्छ ।

रुसमा सबभन्दा ठूलो समस्या थियो आधुनिक उत्पादक शक्तिहरूको विकास । रुसमा पश्चिमी देशहरूमा जस्तै आर्थिक, प्राविधिक तथा औद्योगिक विकास भएको थिएन । त्यसकारण समाजवादको निर्माणको लागि सबभन्दा पहिले भौतिक परिस्थितिहरूको निर्माण आवश्यक थियो । लेनिनले जर्मनीमा सर्वहारा क्रान्तिमाथि धेरै आशाहरू गरेका थिए, तर त्यो सफल हुनसकेन । उनले जर्मनीमा विकसित राजकीय पूँजीवाद र त्यसको प्राविधिक आधारबाट लगातार सिक्ने कुरामाथि जोड दिए ।५६

त्यसकारण उनले हरेक अवस्थामा जर्मनीमा राजकीय पूँजीवादबाट सिक्ने र रुसमा त्यसलाई लागू गर्ने कुरामाथि बारम्बार जोड दिए । कम्युनिष्ट इन्टरनेशनलको चौथो महाधिवेशन (१९२२) को आफ्नो प्रतिववेदनमा५७ उनले भने – मानिसहरूलाई यस कुरामाथि अवश्य आश्चर्य लाग्दछ कि एउटा समाजवादी गणतन्त्रमा गैरसमाजवादी तत्वलाई समाजवादभन्दा माथि किन मानिंदै छ ।५८ (छानिएका रचनाहरू, खण्ड ३, पृ. ६६१, १९७७) । तर यो स्वाभाविक छ, किनभने रुस मुख्य रूपले परम्परागत कृषिप्रधान देश हो ।५९ त्यसकारणले पनि राजकीय पूँजीवाद रुसको लागि समाजवादभन्दा उत्तम थियो ।

वास्तवमा लेनिनले जर्मनी र रुसलाई एउटै प्रक्रियाका दुई पक्षहरू माने । जर्मनीको राजकीय पूँजीवाद उत्पादक शक्तिहरूको विकासको मामिलामा उत्तम उदाहरण थियो । अर्कोतिर, रुसको राजनीतिक व्यवस्था बढी विकसित थियो । त्यसकारण लेनिनले जर्मन उदाहरण स्वीकार गर्ने कुरामाथि जोड दिए ।

पार्टीको ११औं महाधिवेशनको आफ्नो प्रतिवेदनमा लेनिनले भने – मार्क्सले यस विषयमा एक शब्द पनि लेखेनन् । साम्यवादअन्तर्गत राजकीय पूँजीवादको विकासमाथि रुसीहरूले शुरुदेखि नै काम गर्नुपर्दछ ।६० लेनिन यो निष्कर्षमा पुगिरहेका थिए कि सर्वहारा राज्यका सीमाहरूभित्र सामान्य पूँजीवादी विकास आवश्यक र हितकारी छ । किसानहरू र निजी सम्पत्तिका हितहरूमा पूँजीवादी विनिमय र अर्थव्यवस्था आवश्यक छ । यसबिना अस्तित्व असंभव छ ।६१ अन्य कुराहरू त्यति आवश्यक छैनन् ।

उनले स्पष्ट रूपमा के भने भने विगत वर्षहरूमा सोभियत नीति तथा नयाँ अर्थनीति त्यसरी लागू हुन सकेनन्, जसरी हुनुपर्दथ्यो । हामी त्यस दिशामा गयौं, जहाँ जानुहुँदैनथ्यो; हामीले सबै कुरा शुरुदेखि नै बुझ्नुपर्दथ्यो ।

लेनिनलाई सोभियत सत्ताको अन्तको महसुस

यो पनि सोभियत इतिहासको एउटा अत्यन्तै रोचक अध्याय हो । लेनिनलाई बाहिरी शक्तिहरूको हातबाट सोभियत सत्ताको अन्तको त्यति महसुस थिएन, जति स्वयं सोभियत शासकहरूबाट । सोभियत सत्ताका आरम्भिक वर्षहरूदेखि किसानहरूसँग सर्वहाराको मित्रता कमजोर हुनलाग्यो र त्यो पछि गएर विल्कुलै विच्छेद हुने स्थितिमा पुग्यो । “समाजवादी अर्थव्यवस्थातिर एउटा नयाँ दृष्टिकोणको आवश्यकता” उत्पन्न भयो ।६२ त्यसको जग निर्माणको तथा त्यसप्रति वास्तविकताको दृष्टिकोण अपनाउने आवश्यकता उत्पन्न भयो । राष्ट्रियकृत समाजवादी कारखानाहरू राजकीय फर्महरू तथा किसानहरूको अर्थतन्त्रको बीचमा कुनै सम्बन्ध रहेन । “यदि हामी नयाँ अर्थतन्त्र र कृषिप्रणालीको बीचमा सम्बन्ध स्थापित गर्दैनौं भने, कम्युनिष्ट मानिदैनौं ।”६३ लेनिनले भने : यदि हामी किसानहरूको सहायता गर्दैनौं भने हाम्रो पतन अवश्यम्भावी छ । किसानले हामीलाई युद्धकालमा र पछि पर्याप्त ऋण दिइसकेका छन् । त्यस परिस्थितिमा त्यो आवश्यक पनि थियो । तर यो स्थिति सदा रहिरहन सक्दैन । उनीहरूले हामीलाई त्यति ऋण दिइसकेका छन्, जति उनीहरूले पहिले कुनै पनि सरकारलाई दिएका थिएनन् । तर उनीहरूले अब हामीसँग भन्नेछन् कि हामीले पर्याप्त समयसम्म प्रतीक्षा गरिसकेका छौं । यस बीचमा तपाईंहरूले यो सिकिसकेको हुनुपर्दछ कि हाम्रो गरीबी, भोकमरी र बर्बादी कसरी हटाउन सकिन्छ । लेनिनका अनुसार यही परीक्षाले रुसमा कम्युनिष्ट शासनको भाग्यको निर्णय गर्नेछ ।६४ किसानले भन्नेछन् – लुट र शोषणको बावजूद पूँजीपतिले हामीलाई वस्तुहरू आपूर्ति त गर्दथे, तर तपाईंहरू त यो पनि गर्न सकिरहनुभएको छैन ।६५ तपाईंहरू अत्यन्तै असल हुनुहुन्छ । तर हाम्रा समस्याहरू समाधान गर्नसक्नुहुन्न । अब किसानले पैसाको माग गर्नेछन् । भन्नेछन् कि पूँजीपतिले मुनाफा त कमाउँदथे, तर सबै कुरा कसरी गर्नुपर्दछ, यो जान्दथे । तपार्इंहरू उच्च आदर्शहरू भएका कम्युनिष्ट हुनुहुन्छ, सन्त हुनुहुन्छ, तपाईंहरूले त स्वर्ग जानुपर्दछ ! के तपार्इंहरू अर्थव्यवस्था चलाउन सक्नुहुन्छ ? विगत वर्ष (१९२१) मा यो स्पष्ट भएको छ कि हामी चलाउन सक्दैनौं । यो सबभन्दा ठूलो शिक्षा हो । आगामी वर्षमा हामीले सावित गर्नेछौं कि हामी अर्थव्यवस्थालाई चलाउन सक्दछौं वा सक्दैनौं । अन्यथा सोभियत सत्ता समाप्त हुनेछ ।

लेनिनले भने : यो काम कार्यक्रम र नीतिहरूका घोषणाहरूबाट हुँदैन । हामीले मिलिजुलीकन कम्पनीहरू बनाउन आरम्भ गरेका छौं, जसमा रुसी र विदेशी तथा कम्युनिष्ट र पूँजीपति सामेल छन् । यिनीहरूमा हामीले धेरै कुरा सिक्न सक्दछौं । र, प्रतियोगिता संगठित गर्न सक्दछौं ।६६ (उही, पृ. ६१५–१६) । यदि केही गरेर देखाउनु छ भने, व्यापार ठीकसँग गर्नुपर्दछ । कम्युनिष्टहरूले ठूलो वलिदान दिएका छन् । कठिनाईहरू र यातनाहरू सहेका छन् । मृत्युसँग निडर रहेका छन् । तर उनीहरू यो बुझ्दैनन् कि उनीहरूले अब नयाँ परिस्थितिमा नयाँ सिराबाट सोच्नुपर्दछ, उनीहरूले व्यापार र कारोबार गर्न सिक्नुपर्दछ, उनीहरूले यस अवस्थामा व्यापार गर्न सिक्नुपर्दछ । यदि हामी यसो गर्न लाग्यौं भने, हामी सफल हुन सक्दछौं । कम्युनिष्टहरूको नाममा हामी केही घमण्डी र नोकरशाह भएका छौं ।६७ निजी पूँजीसँग प्रतियोगितामा हामीसँग योग्यताबाहेक सबै कुरा छ । भावनामा बगेर र रोएर केही पनि हुँदैन, हामी जोशमा यति अगाडि बढेका थियौं कि अब धेरै पछाडि हट्नुपरेको छ ।६८

यसको लागि लेनिनले वास्तविकतामाथि जोड दिन भने । उनले नयाँ तरीका अपनाउने र विल्कुल भिन्न ढंगले काम गर्ने कुरामाथि जोड दिए । उनको पहलमा कैयौं मिश्रित कम्पनीहरूको स्थापना गरियो । उनले विदेशी पूँजीपतिहरूसँग मिलेर ९ मिश्रित कम्पनीहरूको स्थापना भएको सूचना दिए । यसबाहेक अन्य कम्पनीहरू पनि बनाइयो । यसप्रकार दसौं लाख रुबल पूँजीमा आधारित १७ कम्पनीहरू स्थापित भए । लेनिनले भने : व्यवहारमा कम्युनिष्टले के गर्दछन्, यसैबाट उनीहरूको परीक्षा हुनेछ । उनीहरूको मूल्याङ्कन पार्टी वा सोभियतका ठूल–ठूला इकाइहरूबाट हुँदैन । “तर उनीहरूको विश्वबजारमा कुनै पहुँच छैन” – ठट्टामा भनिएका यी शब्दहरूको माध्यमले लेनिनले बजारका नियमहरूलाई अपनाउने र तिनीहरूलाई लागू गर्नेतिर स्पष्ट रूपले संकेत गरे : बढीभन्दा बढी संख्यामा कम्पनीहरू स्थापित गरिनुपर्दछ र पूँजीपतिहरूसँग प्रतिस्पर्धा गर्नुपर्दछ ।६९ रुसमा सर्वहारा राज्यसँग पर्याप्त अधिकारहरू छन्, तर कम्युनिष्टहरूले एउटा विशाल नोकरशाही निर्माण गरेका छन् र स्वयं त्यसबाट निर्देशित भइरहेका छन् । लेनिनले यो नोकरशाहीलाई फोहरमैलाको भण्डार पुराना वस्तुहरूको भण्डार भने ।

उनले प्रश्न गरे कि यदि कम्युनिष्टहरूसँग यति शक्ति छ भने, कुन कुराको कमी छ ? “स्पष्ट छ, प्रशासनिक काम गर्ने कम्युनिष्टहरूमा संस्कृतिको कमी छ ।”७० हाम्रा विरोधीहरूको संस्कृति चाहे निम्न स्तरकै किन नहोस्, तर पनि उनीहरू हामीभन्दा माथि नै छन् । हामीसँग प्रशासनिक सामर्थ्यको कमी छ । साम्यवादी समाजको निर्माण केवल मुट्ठीभर कम्युनिष्टहरूको बलमा हुन सक्दैन । किसानहरूले भन्नेछन् कि यदि तपाईं देश चलाउन सक्नुहुन्न भने, छोडिदिनुहोस् । त्यसकारण हामीले अर्थव्यवस्था चलाउनको लागि पूँजीपतिहरूको सहयोग लिनुपर्दछ । यदि हामी विगतको महान र क्रान्तिकारी इतिहासलाई मात्र हेरिरहन्छौं, र अगाडि हेर्दैनौं भने, हाम्रो अन्त हुनेछ । हरेक काममा पोलिटब्यूरो र केन्द्रीय समितिको अनुमति लिनु वा तिनीहरू यसमा पर्नु हास्यास्पद छ, जस्तो कि विदेशबाट खाद्य सामग्रीको आयातको मामिलामा भएको थियो । हामीले किसानहरूका आवश्यकताहरू बजार र व्यापारको माध्यमले पूरा गर्नुपर्दछ ।७१

बहसको महत्व

नयाँ अर्थनीतिसम्बन्धी यो बहसबाट केही महत्वपूर्ण विषय अगाडि आउँदछन् । सबभन्दा प्रमुख त यो के हो भने लेनिन र उनका सहयोगी सोभियत अर्थतन्त्रमा बजार तथा निजी उद्योगको महत्वलाई बढीभन्दा बढी स्वीकार गर्नलागेका थिए । हतारमा उठाइएका कैयौं प्रारम्भिक कदमहरूलाई फिर्ता लिइएको थियो । निम्न र साना स्वामित्वमा आधारित अर्थव्यवस्थालाई पूर्ण विकासको मौका दिइयो र विदेशी पूँजीवादसँग गठबन्धन आवश्यक भयो । समाजवाद र साम्यवादका भौतिक परिस्थितिहरू तयार गर्नको लागि “निजी सम्पत्ति, व्यापार तथा उद्यमको लामो कालसम्म स्वाभाविक विकास आवश्यक थियो”; एउटा यस्तो संक्रमण कालको विचार उत्पन्न भइरहेको थियो, जसको चरित्र अर्धपूँजीवादी र पूँजीवादी थियो, जुन सर्वहारा राज्यको आधारमा विकसित हुन्छ । यो संक्रमणको अन्त्यमा मात्र समाजवादको निर्माणको कुरा गर्न सकिन्थ्यो । स्वयं मार्क्सले समाजवादलाई साम्यवादको तयारी भनेका थिए, र यो समाजवाद (“साम्यवादको पहिलो चरण”) पूँजीवादको परिपक्वतापछि मात्र विकसित हुन्छ ।

यसप्रकार समाजवाद पूँजीवादभन्दा अगाडिको विकास सावित हुन्छ, न कि त्यसको  “विकल्प” । पछि स्टालिनवादी मार्क्सवादले त्यसलाई विकल्पको रूपमा पेश गर्यो, जसलाई इतिहासले गलत सावित गरेको छ  । सोभियत क्रान्तिपछि अर्थव्यवस्थाको पुनर्निर्माणका वास्तविक समस्याहरूले नेतृत्वलाई विस्तार–विस्तार वस्तुगत निष्कर्षहरूतिर लिएर गइरहेका थिए, र पुनर्विचार तथा नयाँ सिद्धान्तहरूको निर्माणको यो प्रक्रियामा लेनिन सबभन्दा अगाडि रहे ।

यी बहसहरूबाट यो पनि स्पष्ट रूपले थाहा हुन्छ कि बजार र विश्वबजारसँग सम्बन्धको विचारलाई समाजवादको प्रतिकूल वा त्यसको लागि हानिकारक मानिएन । बजारको महत्वमाथि केवल जोड मात्र दिइएन, बरु त्यसको अस्तित्व नहुनु सत्ताको अस्तित्वको लागि खतर्नाक मानियो ।

लेनिनद्वारा सोभियत सत्ताको अस्तित्वको लागि बढ्दो खतरातिर ध्यानाकर्षण अत्यन्तै महत्वपूर्ण विषय हो, विशेषगरी पछिको इतिहास बुझ्को लागि । बजार किसानहरूको बढ्दो आवश्यकतालाई पूरा गर्न र उनीहरूको पैदावारलाई नगद रूप दिनको लागि तथा यसरी अर्थव्यवस्था विकसित गर्नको लागि आवश्यक थियो । बजार कृषि, कृषि उत्पादन र उद्योगहरूको बीचमा विनिमय र उत्पादनका साधनहरूको विकासको लागि आवश्यक थियो ।

बजारसम्बन्धी यो स्वस्थ र वास्तविक बुझाई कहिले र कसरी समाप्त भयो ? र, किन ? यसको पछाडि पार्टी र सोभियत सत्तामा कुनचाहिं निहित स्वार्थ थिए ? यी सबै प्रश्नहरूको उत्तर खोज्नु सोभियत इतिहासलाई बुझ्नको लागि सहायक हुन्छ । यस सम्बन्धमा हामीले अगाडि थोरै विचार गरेका छौं ।

बुखारिन तथा अन्य मानिसहरूको योगदान

नयाँ अर्थनीति विकसित गर्नमा लेनिन एक्लो थिएनन् । पार्टी नेतृत्व र कार्यकर्ताहरूको एउटा ठूलो भागले यसको आवश्यकता महसुस गरिरहेको थियो । कैयौं अर्थशास्त्रीले बारम्बार यसतिर ध्यानाकर्षण गरिरहेका थिए । अन्य नेताहरूमध्ये बुखारिन सबभन्दा प्रमुख थिए । उनी प्रारम्भमा युद्ध–साम्यवादको प्रबल समर्थक थिए । तर पछि उनी नयाँ अर्थनीति (नेप) का प्रमुख सिद्धान्तकारहरूमध्ये एक बने । बुखारिनले अर्थतन्त्रमा किसानहरूको महत्वपूर्ण भूमिकातिर ध्यानाकर्षित गर्दै उनीहरूलाई व्यापारको स्वतन्त्रता दिने माग गरे । उनी ठूलो परिमाणमा सहकारिकरणको विरुद्ध थिए र यो मान्दथे कि पूँजीवादी सम्बन्धहरूको महत्वपूर्ण भूमिका लामो समयसम्म रहनेछ । इतिहासमा उनका विचार “बुखारिन मोडेल” को नामले प्रसिद्ध छन् । नेपको क्रममा लेनिन र बुखारिनको बीचमा विचारहरूमाथि गहिरो सहमति थियो । बुखारिनले संक्रमण कालमा सर्वहाराको शासनका विशेषताहरूमाथि एउटा पुस्तक लेखे, जसलाई लेनिनले समालोचनात्मक रूपले अनुमोदित गर्दै रुसी विज्ञान संस्थानको लागि प्रस्तावित गरेका थिए र त्यसको व्यापक रूपले अध्ययन गर्ने सल्लाह दिएका थिए ।

विदेशी व्यापारसम्बन्धी लेनिनका विचार

करीब १९२१ देखि नै यो स्पष्ट हुँदै गइरहेको थियो कि सोभियत सरकारले यूरोपका बदलिएका परिस्थिलाई ध्यानमा राख्दै आफ्ना नीतिहरूमा परिवर्तन गर्नुपर्दछ । विशेषगरी लेनिनले विदेशसम्बन्धहरूको बारेमा आफ्नो दृष्टिकोणमा रोचक परिवर्तन गरे, जसमाथि आजको सन्दर्भमा गहिरोसँग विचार गर्नुपर्दछ ।

सबभन्दा पहिले त उनले तुरुन्तै विश्वक्रान्ति वा यूरोपीय क्रान्तिको विचार त्यागेर पूँजीवादी व्यवस्थासँग लामो समयसम्म शान्तिपूर्ण सहअस्तित्वको सिद्धान्त पेश गरे ।७२ यसको सम्बन्धमा लेनिनको विचार सुविदित छ । त्यसकारण यसमा विस्तारमा जानु आवश्यक छैन । उनका यी सिद्धान्तहरू यति विवादास्पद रहे कि ६० र ७० का दसकमा विश्व कम्युनिष्ट आन्दोलनमा तिनीहरूमाथि नयाँ सिराबाट विवादपूर्ण बहसहरू चले । तर लेनिनले शान्तिपूर्ण सहअस्तित्वभन्दा पनि बढी महत्वपूर्ण विचार पेश गरेका थिए, जसलाई कम्युनिष्ट आन्दोलनले पूर्णतया बेवास्ता गर्यो । उनले महसुस गर्न शुरु गरेका थिए कि सोभियत रुस यूरोपीय र विश्व आर्थिक व्यवस्थाको एउटा अभिन्न अंगको रूपमा मात्र जीवित रहन सक्दछ ।

उनले १९२२ मा आयोजित विश्व आर्थिक जिनोओ सम्मेलनको तयारीको क्रममा सोभियत रुसको आर्थिक भूमिकाको पुर्नमूल्याङ्कन गरे, जुन उनका अहिलेसम्मका विचारहरूभन्दा भिन्न थियो । यो दृष्टिकोणानुसार सोभियत रुस विरोधी आर्थिक व्यवस्थाकै एउटा अंग थियो, र त्यो पनि अभिन्न अंग । फलस्वरूप त्यसको विरोधी चरित्र गौण बन्यो । लेनिनले, र उपर्युक्त सम्मेलनमा सोभियत प्रतिनिधि मण्डलले, बाचा गरेका थिए कि उनीहरूको देशले विश्व अर्थव्यवस्थालाई विकसित गर्न र बलियो बनाउनमा हरेक संभव सहयोग गर्नेछ । दुई विरोधी समाजिक व्यवस्थाहरूको टकरावको बदला एउटै विश्वव्यवस्थामा रुसद्वारा सकारात्मक योगदानको कुरा गरिएको थियो । यही एकीकृत विश्वव्यवस्थाको भागको रूपमा रुसले आफ्ना अधिकारहरू र समान स्थानको लागि संघर्ष गर्नु थियो ।७३

लेनिनले यो जोड दिएर भनेका थिए कि रुसद्वारा वर्तमान (अर्थात् पूँजीवादी) विश्वव्यवस्थाको भाग बनिरहेर समानता र प्रगति हासिल गर्न संभव छ ।७४ उनले ६ डिसेम्बर, १९२० मा रुसी कम्युनिष्ट पार्टीको मस्को संगठनका कार्यकर्ताहरूको सामु एउटा भाषणमा एउटा नयाँ विश्वअर्थव्यवस्था निर्माणसम्बन्धी थेसिस पेश गरे, सुदूर भविष्यमा होइन, वर्तमान विश्वमा नै, जसमाथि साम्राज्यवादको प्रभुत्व छ ।७५ उनले भने : “हामी सम्पूर्ण विश्वलाई एउटा तर्कपूर्ण आर्थिक आधारमा निर्माण गर्ने बाचा गर्दछौं ।” यसमा कुनै शंका छैन कि यदि हामी ठीक ढंगले काम गर्दछौं भने, “सम्पूर्ण विश्व अर्थतन्त्रलाई आधुनिक यन्त्र र विज्ञानको सहायताले तुरुन्तै पुनर्निर्माण गर्न सकिन्छ” ।७६

यो कसरी हुन सक्दछ ? लेनिनको रोचक उत्तर सुनौं । उनले भने कि ब्रिटिश सरकारले एउटा मस्यौदा तयार गरेर सोयिभत सरकारलाई पठाएको छ, र पुनः उनी यो टिप्पणी गर्दछन् कि “नयाँ अवसर आइरहेको छ” । युद्धभूमिमा विफल भएपछि अब उनीहरू आर्थिक क्षेत्रमा लडिरहेका छन् । युद्धको बदला आर्थिक क्षेत्रमा संघर्ष एउटा धेरै ठूलो तथा अगाडिको कदम हो । लेनिनले सैद्धान्तिक र व्यावहारिक दृष्टिले अत्यन्त महत्वपूर्ण प्रस्ताव पेश गरे : “हामी आफूलाई विश्व अर्थतन्त्र सुधार्नको लागि आर्थिक सम्झौताहरू भएको विश्व कार्यक्रम पेश गर्दछौं ।” उनी बताउँदछन्, “कैयौं पूँजीपतिहरू यो भन्दछन् कि रुसबिना पूँजीवादी राज्यहरूको स्थायी व्यवस्था कायम हुन सक्दैन । त्यसकारण हामीले ठीक यस्तै कार्यक्रम पेश गरेका छौं र यसरी हामी विश्व अर्थतन्त्रका निर्माणकर्ताहरूको रूपमा आफ्नो भूमिका निर्वाह गर्न चाहन्छौं ।” उनले अगाडि घोषणा गरे – “आर्थिक सम्झौताहरूको घोषणा हामी समुच्च मानवताको तर्फबाट पेश गरिरहेका छौं । यो एउटा यस्तो आर्थिक रूपबाट अकाट्य कार्यक्रम हो, जसले समुच्च कच्चा पदार्थको प्रयोग विश्वका आर्थिक शक्तिहरूलाई पुनर्जीवित गर्नको लागि गर्नेछ ।”७७

लेनिनले २१ डिसेम्बर, १९२० को आफ्नो एउटा भाषणमा भने – विश्व अर्थव्यवस्थालाई पुनर्गठित गर्नु आवश्यक छ । उनले भने – सोभियत गणतन्त्र एउटा यस्तो कार्यक्रम पेश गर्न चाहन्थ्यो, जसबाट थाहा होस् कि ऊ सम्पूर्ण विश्व अर्थव्यवस्थाको विकास चाहन्छ ।७८ उनले इतिहासको तर्क पेश गर्दै भने – हाम्रा इच्छाहरूभन्दा पनि बढी शक्तिशाली एउटा शक्ति छ, र त्यो हो आम आर्थिक सम्बन्ध ।७९ रुससहित सबै विरोधी देशहरू आपसमा जतिसुकै लडाइँ–झगडा गरुन्, सबैका सामान्य मूलमूत आर्थिक आवश्यकताहरूले उनीहरूलाई एक–अर्कोसँग व्यापार गर्न विवश बनाउनेछन् ।८० लेनिनका अनुसार रुस र पूँजीवादी देशहरूको बीचमा यी सम्बन्धहरू पछि लामो समयसम्म विकसित भइरहनेछन् ।८१ उनले अगाडि भने – “हामी जिनोआ कम्युनिष्टहरूको रूपमा होइन, बरु व्यापारीहरूको रूपमा गइरहेका छौं” । लेनिनले ११ औं पार्टी महाधिवेशन (१९२२) को सामु पनि यही भनेका थिए र यसलाई न्यायोचित ठहराएका थिए ।८२ उनले यस कुरामाथि बारम्बार जोड दिएका थिए कि कम्युनिष्टहरूले विश्वव्यापार र त्यसका तौरतरीकाहरू सिक्नुपर्दछ ।८३

लेनिनले साम्राज्यवादी देशहरूलाई आर्थिक सहुलियतहरू दिने र रुसमा उनीहरूलाई व्यापार गर्ने र उद्यम चलाउने छुटहरू दिन बारम्बार आग्रह गरे । यो अन्तर्राष्ट्रिय सहयोगको एउटा विशेष रूप थियो । यिनीहरूमा पश्चिमी पूँजीपतिहरूलाई रुसमा कारखानाहरू खोल्ने तथा नयाँ कारखाना निर्माण गर्ने, जंगलहरूको विकास गर्ने र कृषिमा मद्दत गर्ने कुरा सामेल थिए । उनले ती मानिसहरूको पनि तीखो आलोचना गरे, जो ठूलो परिमाणमा पूँजीपतिहरूको आगमनबाट डराइरहेका थिए । उनीहरूसँग लेनिनले प्रश्न गरे कि यदि यति नै डर थियो भने, “किन राज्य चलाउने जिम्मा लिनुभयो ? हामी उनीहरूबाट सिक्नेछौं र उनीहरूका उद्यमहरूको सँगसँगै आफ्ना उद्यम उद्यम चलाउनेछौं । आधुनिक यन्त्रहरूबाट काम गर्न सजिलो छैन, र यो हामीले सिक्नुपर्दछ । बलजबर्जस्तीको प्रयोग तबमात्र हुन्छ, जब कसैले आफ्नो शासन पुनः स्थापित गर्न चाहन्छ । तर यस बेला त्यसको महत्व समाप्त भइसकेको छ, र अब केवल उदाहरण र सिकाईबाट मात्र काम चल्दछ ।”

उनले के महसुस गरे भने अधिकांश व्यापारी र औद्योगिक पूँजीपति सम्बन्ध सुधार्ने पक्षमा छन्, र केवल प्रतिक्रियावादी–सैन्यवादी तप्का मात्र यसको विरुद्धमा छ । उनको मत के थियो भने यसको फाइदा उठाउनुपर्दछ, विशेषगरी जर्मनीसँग सम्बन्ध सुधार्नुपर्दछ, जुन भर्साइल सन्धिको कारण नराम्रो स्थितिमा थियो । सोभियत सरकारको बुझाई के थियो भने विश्व आर्थिक कार्यक्रमको माध्यमले बेरोजगारी र भोकमरीको समस्या समाधान गर्न सकिन्छ । लेनिनले पूँजीवादी देशहरूसँग रुसको उर्बर भूमिको उत्पादक प्रयोग गर्नको लागि आफ्ना ट्रयाक्टर, पेट्रोल र प्राविधिज्ञ पठाउने अनुरोध गरे । उनले भने – “विश्वअर्थव्यवस्थालाई पुनर्गठित गर्नु आवश्यक छ र सोभियत गणतन्त्र पुनर्निमाणको योजना पेश गर्दछ८४; उनले त यहाँसम्म भने – यदि पूँजीवादीहरूको यन्त्र र रुसको कच्चा पदार्थ एकसाथ मिलाउने हो भने, बेरोजगारीको समस्या समाधान हुन सक्दछ ।

यसप्रकार लेनिन क्रान्तिका दुई–तीन वर्षहरूभित्र नै एउटा अर्को दिशामा सोच्न लागेका थिए । उनी त्यो सरलीकृत सूत्रलाई छोडिरहेका थिए, जसको आधारमा पूँजीवादबाट समाजवादमा संक्रमण गरेर मात्र समाजका मूल समस्याहरूको समाधान निस्किन सक्दथ्यो । उनी पूँजीवादको आधारमा एउटा यस्तो विश्वव्यवस्थाको कुरा गर्न लागेका थिए, जसको भागको रूपमा रुसले बेरोजगारी, भोकमरी तथा अन्य समस्याहरूको समाधानमा योगदान गर्न सक्दथ्यो ।

सन्दर्भ सूची

१. भी. आई. लेनिन, “अखिल रुसी केन्द्रीय कार्यकारीणीको बैठक”, अप्रिल, १९१८, संकलित रचना, खण्ड २७, पृ. २९०९१

२. भी. आई. लेनिन, “सोभियतहरूको सातौं अखिल रुसी महाधिवेशन”, डिसेम्बर, १९१९, संकलित रचना, खण्ड ३०, पृ. २०७

३. रोजा लक्जेम्बर्ग, एशियन रिभोलुसन : माक्र्सिज्म एण्ड लेनिनिज्म

४. एन्टोनियो ग्राम्सी, – (I)नोट्स फर्म प्रिजन; (II) द मोडर्न प्रिन्स

५. सोभियत संघको गुपत समिज्दात साहित्य

६. लेस्जेक कोलोकोव्स्की, मेन करेन्ट्स अफ माक्र्सिज्म : इट्स् ओरिजिन्स, ग्रोथ एण्ड डिसोलूसन, ३ खण्डमा, अक्सफोर्ड युनिभर्सिटी प्रेश, १९७८

७. मार्क्स एंगेल्स, कम्युनिष्ट घोषणापत्र, तथा अन्य केही रचनाहरू

८. फ्रेडरिख एंगेल्स, समाजवाद : काल्पनिक र वैज्ञानिक

९. भी. आई. लेनिन, “वामपन्थी वालकपन र निम्नपूँजीवादी मानसिकता”, संकलित रचना, खण्ड २७, पृ. ३४३

१०. मार्क्सएंगेल्स, फ्रान्समा वर्गसंघर्ष

११. एंगेल्सद्वारा मार्क्सको रचना फ्रान्समा गृहयुद्धको १८९१ को भूमिका

१२. कार्ल मार्क्स, पूँजी, खण्ड १, भाग ८, अध्याय ३२

१३. फ्रेडरिख एंगेल्स,  (I) समाजवाद : काल्पनिक र वैज्ञानिक; (I) ) ड्यूहरिंग मतखण्डन; (III) पूँजी, खण्ड ३ को टिप्पणी

१४. भी. आई. लेनिन, साम्राज्यवाद : पूँजीवादको उच्चतम् अवस्था, अध्याय ८, , १०

१५. कार्ल मार्क्स, पूँजी, खण्ड १, भाग ८, अध्याय ३२

१६. लेनिन, साम्राज्यवाद : पूँजीवादको उच्चतम् अवस्था

१७. लेनिन, “अ पेनफूल बट नेशेसरी लेशन”; “सेभेन्थ कांग्रेश अफ द आर. सी. पी. (बी.)”; तथा अन्य रचनाहरू

१८. कार्ल काउत्स्की, डिक्टेटरशिप अफ द प्रोलेटेरियट, युनिभर्सिटी अफ मिसिगन प्रेस, १९७१

१९. सामिज्दात रजिस्टर ज्ञ : भ्वाइसेज अफ सोसलिस्ट अपोजिशन इन द सोभियत यूनियन, रोय मेदवेदेभद्वारा सम्पादित, मार्लिन प्रेश, लण्डन, १९७७

२०. रोय मेदवेदेभ, “अक्टुवर रिभोलुसन एण्ड द प्रोब्लम अफ हिस्ट्री एज अ ल गभर्नड प्रोशेस”, उपर्युक्त, पृ. १ ७३

२१. लेनिन, छानिएका रचनाहरू, खण्ड ३

२२. लेनिन, छानिएका रचनाहरू, खण्ड २, मस्को, १९७५, पृ. ४५५५९

२३. उही, पृ. ४५६

२४. उहीपृ. ४७८७९

२५. लेनिन, छानिएका रचनाहरू, खण्ड ३, पृ. ७०९

२६. लेनिन, उही, पृ. ७०३

२७. उही, पृ. ७१४

२८. लेनिन, छानिएका रचनाहरू, खण्ड ३, मस्को, १९७७, पृ. १४३

२९. उही

३०. लेनिन, “इकोनोमिक्स एण्ड पोलिटिक्स इन द एरा अफ द डिक्टेटरशीप अफ द प्रोलेटेरियट”, छानिएका रचनाहरू, खण्ड ३, पृ. ३३१

३१. उही

३२. उही, पृ. २३१३२

३३. उही, पृ. २३२

३४. लेनिन, “अक्टुवर क्रान्तिको चौथो वर्षगाँठ”, छानिएका रचनाहरू, खण्ड ३, पृ. ५८०८२

३५. उही, पृ. ५८१

३६. भी. आई. लेनिन, “रुसी कम्युनिष्ट पार्टी (बोल्शेभिक) को दसौं महाधिवेशन”, छानिएका रचनाहरू, खण्ड ३, पृ. ५११

३७. उही, पृ. ५१२

३८. उही

३९. लेनिन, छानिएका रचना, खण्ड ३, १९७७, पृ. ५२६

४०. लेनिन, उही, पृ. ५२९

४१. लेनिन, “ट्याक्स इन काइण्ड

४२. भ्लादिमिर कार्तशेव, क्रजिजानोव्स्की, मिर प्रकाशन, मस्को, १९८५

४३. मार्क्स, पूँजी, खण्ड १

४४. उही

४५. मार्क्स, पूँजी, खण्ड १, अध्याय १

४६. मार्क्स, “क्रिटिक अफ गोथा प्रोग्राम”, छानिएका रचना, खण्ड ३

४७. एंगेल्ससमाजवाद : काल्पनिक र वैज्ञानिक, मार्क्सएंगेल्स छानिएका रचनाहरू, खण्ड ३, मस्को, १९७६, पृ. १४९

४८. लेनिन, संकलित रचनाहरू, खण्ड १५, पृ. १३८

४९. लेनिन, डेभलप्मेन्ट अफ क्यापिटलिज्म इन रशिया

५०. लेनिन, शान्तिपूर्ण सहअस्तित्वको बारेमा, मस्को, १९७५, पृ. ३८, तथा अन्य रचनाहरू

५१. लेनिन, छानिएका रचनाहरू, खण्ड ३

५२. उही

५३. उही

५४. उही

५५. उही

५६. लेनिन,“ट्याक्स इन काइन्ड

५७. उही

५८. लेनिन, छानिएका रचना, खण्ड ३, पृ. ६६१

५९. उही

६०. उही, पृ. ६१२

६१. उही, पृ. ६२०

६२. उही, पृ. ६१०

६३. उही, पृ. ६११

६४. उही, पृ. ६१३

६५. उही, ६१५

६६. उही

६७. उही, पृ. ६१७

६८. उही

६९. उही, पृ. ६२५

७०. उही, पृ. ६२७

७१. उही

७२. लेनिन, शान्तिपूर्ण सहअस्तित्वको बारेमा, मस्को, १९७५

७३. जिनोओ सम्मेलनको प्रथम प्लेनरी अधिवेशनमा सोभियत प्रतिनिधिमण्डलको घोषणा”, १० अप्रिल, १९२२; द यू. एस. एस. आर. एण्ड इन्टरनेशल इकोनोमिक रिलेशन्स्, प्रगति प्रकाशन, मस्को, १९८७, पृ. ३९

७४. उही

७५. लेनिन, शान्तिपूर्ण सहअस्तित्वको बारेमा, मस्को, १९७५, पृ. ६१६२

७६. उही, पृ. ६१६९

७७. उही

७८. उही, पृ. ८८८९

७९. लेनिन, द यू. एस. एस. आर. एण्ड इन्टरनेशल इकोनोमिक रिलेशन्स्, पृ. ३६

८०. उही, पृ. ३८

८१. लेनिनशान्तिपूर्ण सहअस्तित्वको बारेमा, मस्को, १९७५, पृ. ११४

८२. उही, पृ. ११३

८३. उही८४. उही



Leave a comment

About Me

I am a student of philosophy and nature. I thoroughly research all subjects and summarize them in Nepali and English. I am Secretary of Marxism Study-Research Academy, Nepal. I am a Social Worker. Education – i) Master of Arts Degree in Political Science – TU, ii) Master of Public Administration Degree – TU, iii) Master of Arts Degree in History-TU, iv) Master of Arts Degree in Nepalese History Culture and Archaeology-TU.

म अध्ययन-अनुसन्धान कार्यमा निस्वार्थ भावले निरन्तर लागेको एक वाम विचारधारायुक्त सामाजिक कार्यकर्ता हुँ। मेरो कुनै पनि राजनीतिक दलसँग संलग्नता नरहेको जानकारी गराउँदछु। मेरा हरेक अध्ययन-अनुसन्धान कार्य शोषण, दमन, अन्याय, अत्याचारका विरुद्ध हुनेछन् । आम श्रमजीवी, भोका-नांगा, गरीब, उत्पीडित जनसमुदायहरूलाई सुशिक्षित गर्ने प्रयत्न मेरो कर्तव्य हुनजान्छ । मेरा सबै कार्य जनहितका लागि हुनेछन् भन्ने आशा तथा विश्वासपूर्वक मैले निरन्तर कार्य अगाडि बढाइरहेको हुनेछु। श्रमप्रति सम्मान र शोषणप्रति घृणा नै मेरा कार्यका उद्देश्य हुनेछन्।  

यहाँ तपाईंहरू सबै प्रकारका सामग्रीहरू अध्ययन गर्न र हेर्न पाउनुहुनेछ । अध्ययन गर्नको लागि रूचियुक्त सामग्रीहरू माग गर्नुभयो भने यथासंभव परिपूर्तिसमेत गरिनेछ । यहाँ लेखरचना, पत्रपत्रिका, म्यागजिन,  जर्नल, विभिन्न पुस्तकहरू (नेपाली, अंग्रेजी र हिन्दी भाषामा), डकुमेन्ट्री, फिल्म, आदि सामग्रीहरू खोजेर पढ्न तथा हेर्न सक्नुहुन्छ।

I am a leftist social worker who is selflessly engaged in research work. I inform you that I am not affiliated with any political party. Every study-research work of mine will be against exploitation, oppression, injustice and tyranny. It is my duty to try to educate the common workers, the hungry, the poor, the oppressed masses. I will continue my work with the hope and confidence that all my work will be for public interest. Respect for labor and hatred for exploitation will be the objectives of my work.

Here you will find all kinds of content to study and watch. If you demand for interesting materials to study, they will be provided as much as possible. Here you can search and read articles, newspapers, magazines, journals, various books (in Nepali, English and Hindi languages), documentaries, films, etc.

श्रमको सम्मान गर्नुभएकोमा धन्यवाद ।

Thank you for respecting the labor.

Newsletter

Marxism-मार्क्सवाद

Communist history

Philosophy-दर्शन

लेनिन-LeninLeninism

दस्तावेज-documents

धर्म-दर्शन

त्रिपिटक–बुद्ध

गीता सार

Politics–राजनीति

ग्रन्थ परिचय

Mao-Maoism

साहित्य- literature

जीवनी-biography

साम्यवाद-communism

युवाबारे-On Youth

कार्ल मार्क्स–Karl Marx

फ्रेडरिक एंगेल्स–F. Engels

भी.आइ.लेनिन–V.I.Lenin

जे. भी. स्टालिन – J.V. Stalin

माओत्सेतुङ – Maotsetung

डिजिटल पुस्तकालय (digital library)

ई-पुस्तकालय -e-library

विज्ञान-प्रविधि (Science-Technology)

सामान्य ज्ञान (GK)

Documentaries and YouTube channels

पुस्तकालय – LIBRARY

नेपाली डिजिटल पुस्तकहरू (Nepali Digital Books)

नेपाली न्यूजपेपर, म्यागजिन र अनलाइन पत्रपत्रिकाहरू (Nepali Newspapers, Online and Nepali Magazines)

English Digital Books : Part – 1 (world communist special books)

English Digital Books : Part – 2

English Digital Books : Part – 3

हिन्दी डिजिटल पुस्तक (Hindi digital Books) भाग – १

हिन्दी डिजिटल पुस्तक (Hindi digital Books) भाग – २

हिन्दी डिजिटल पुस्तक (Hindi digital Books) भाग – ३

हिन्दी डिजिटल पुस्तक (Hindi digital Books) भाग – ४

हिन्दी डिजिटल पुस्तक (Hindi digital Books) भाग – ५

Documentaries and YouTube channels

Uncategorized

ENGLISH SECTION

Design a site like this with WordPress.com
Get started