दर्शन :  पूर्वीय दर्शन : सांख्य दर्शनको एक अध्ययन

✍नारायण गिरी

सांख्य दर्शनको शाब्दिक अर्थ संख्या अथवा अंक हुन्छ।सांख्य शब्द ‘सं’ र ‘ख्या’ को संयोगले बनेको छ र ‘सं’ को अर्थ सम्यक तथा ‘ख्या’ को अर्थ ज्ञान हुन्छ।त्यसैले सांख्यको वास्तविक अर्थ सम्यक ज्ञान अर्थात पुरूष र प्रकृति बीचको भिन्नताको ज्ञान हुनजान्छ। सांख्यको अर्थ नै तत्वहरूको ज्ञान हो, जसबाट जीवले मुक्ति पाउन सकोस् भन्ने हुन्छ।यसको उल्लेख प्रत्यक्ष रूपले भागवत गीता र अप्रत्यक्ष रूपले उपनिषदहरूमा गरिएको पाइन्छ।यस दर्शनले मूल तत्व प्रकृतिलाई प्रथम मान्छ र प्रकृति भनेको पदार्थ हो।यो दर्शन अनुसार सृष्टि अथवा विकास कुनै दैवीय शक्तिको प्रक्रिया होइन, प्रकृति अन्तर्वर्ती स्वभावको परिणाम हो।यसानुसार प्रकृतिबाट बुद्धि महत उत्पत्ति भएर त्यसको परिणामस्वरूप आत्मचेतनको उत्पत्ति हुन्छ।आत्मचेतन वा अहंकारले पाँच अन्य सूक्ष्म तत्वहरू (पृथ्वी, तेज, जल, वायु र आकाश) लाई जन्म दिन्छ।यसैको आधारमा पाँच ज्ञानेन्द्रियहरू (श्रुति, स्पर्श, दृष्टि, स्वाद र गन्ध) तथा पाँच कर्मेन्द्रियहरू (वाणी, हात, गुद्वार, खुट्टा, रूप, गुप्ताङ्ग) को उत्पत्ति हुन्छ।यहाँ सम्पूर्ण इन्द्रियहरू तथा बाह्य संसारको बीचमा एक मध्यस्थकर्ता हुन्छ।शरीर र यहाँसम्म कि सम्पूर्ण विश्व आत्मचेतन कै उपज हो।२५औं तत्व पुरूष हो र यसको तात्पर्य आत्मासँग हुन्छ।सांख्य दर्शनमा त्रिगुण सिद्धान्तानुसार मानिसका तीन गुणहरू सत गुण (सदाचार, सत्य, विवेक, सौन्दर्य, सद्भावना, आदि) , रज गुण (वासना, हिंसा, उग्रता, सक्रियता, गतिविधि, आदि) तथा तम गुण (मूर्खता, उदासी, अप्रसन्नता, आदि) को विस्तृत वर्णन पाइन्छ।प्रकृतिको अविकसित अवस्थामा यी तीनै गुण समान परिणामा हुन्छन्।तर सृष्टिको विकास हुँदै गएपछि तीनै गुणहरूमध्येमा एक गुण धेरै प्रभावशाली हुन्छ र त्यही अनुसार नै मानिसले सृष्टिको व्याख्या गर्दछ।सांख्य दर्शनका रचयिता महर्षि कपिल हुन् र यिनलाई बुद्धभन्दा एक शताब्दी पूर्वका मानिन्छ। कपिलले सांख्य सूत्र र तत्व समास गरी दुई ग्रन्थहरूको रचना गरेका थिए। सांख्य दर्शनको मुख्य ग्रन्थ सांख्यकारिकामा ५३७ सूत्रहरू थिए भने तत्व समासमा २२ सूत्रहरू थिए।सांख्यकारिकामा सांख्य दर्शनको व्याख्या ७२ साना-साना कारिकाहरूमा गरिएको छ, जुन छन्दमा छ।अहिले यसैलाई आधार मानेर सांख्य दर्शनको व्याख्या गरिएको पाइन्छ। सांख्य दर्शनका विभिन्न आचार्यहरू थिए ।आचार्य कपिलका सांख्यसूत्रलाई कारिकाबद्ध गरी पाठकहरूको लागि सहज र अर्थपूर्ण दृष्टिले सरल बनाउने काम कृष्णले गरेका थिए।यसलाई नै सांख्यकारिका भन्ने गरिन्छ।पछि यसलाई अन्य विभिन्न लेखकहरू र सम्पादकहरूले थप परिमार्जन गर्दै लगेको देखिन्छ।सांख्य दर्शनले वैदिकको साथसाथै गैरवैदिक आत्माहरूमा पनि आत्माका कैयौं प्राचीन सिद्धान्तहरूलाई प्रभावित गरेको छ।सांख्य दर्शनअनुसार विकसित विचारहरूको झलक भागवत गीता, उपनिषदहरू, वेदहरू, महाभारत, रामायण, स्मृति र पुराण जस्ता हिन्दु धर्मग्रन्थहरूमा पाइन्छ।सांख्य दर्शनले बौद्ध र जैन अवधारणाहरूलाई पनि प्रभावित गरेको देखिन्छ।सांख्य दर्शनको मुख्य उद्देश्य दुःख बन्धनबाट आत्माको अन्तिम मुक्ति कसरी प्रभावित गर्न सकिन्छ भन्ने कुरा देखाउनु हो।सांख्य दर्शनको मुख्य सिद्धान्त सत्कार्यवाद नै हो।यो दर्शनले सवोत्कृष्ट तत्वको रूपमा बुद्धिलाई लिएको पाइन्छ, जसलाई महत पनि भन्ने गरिन्छ।बुद्धिद्वारा सत्य र असत्यको महसुस हुने भएकोले यसलाई विवेकी पनि भनिएको छ।सांख्य दर्शनमा धर्म, ज्ञान, वैराग्य, ऐश्वर्य, अधर्म, अज्ञान, अवैराग्य एवं अनैश्वर्य गरी आठ धर्मले नै मानिसलाई सद्गति वा अधोगतिको दिशामा लाने कार्य गर्दछन् भनी स्पष्ट पारिएको छ।सद्गतिको अर्थ मोक्षादि र अधोगतिको अर्थ जन्म-मरणको बन्धनमा रहनु हो सांख्य दर्शनमा देह मुक्ति र विदेह मुक्ति गरी दुई मुक्ति मार्ग बताइएको छ।देहमुक्ति भनेको शरीको मुक्ति हो भने विदेह-मुक्ति भनेको जन्म-मरणको प्रक्रियाबाट सदैवको लागि मुक्ति वा सूक्ष्म शरीरको मुक्ति हो।   

साङ्ख्य दर्शन अनुसार प्रकृतिपुरुष दुई आधारभूत तत्व हुन् र प्रकृतिका २३ वटा अभिव्यक्ति छन् र यसरी जम्मा २५ तत्व रहेका छन् । कतिपय विद्वानहरूका अनुसार तत्वहरूको सङ्ख्या बताउनुको कारणले नै यस दर्शनलाई साङ्ख्य दर्शन भनिएको हो। अर्थात् संख्याबाट सांख्य ।अन्य केही विद्वानहरूका अनुसार साङ्ख्यको अर्थ – विवेक ज्ञान, प्रकृति-पुरुष बीचको भिन्नताको ज्ञान, आदि मानेको पाइन्छ। र, सांख्य दर्शनले प्रकृति-पुरुषको भिन्नतालाई स्पष्ट पार्ने भएकाले यसलाई साङ्ख्य भनिन्छ। कपिल मुनिलाई यो दर्शनको निर्माता मानिन्छ। साङ्ख्य दर्शनले सम्यक ज्ञानलाई जनाउँछ। यस दर्शनले मोक्ष प्राप्तिका लागि पदार्थ र चेतना अर्थात् प्रकृति र पुरुषबीचको भिन्नताको ज्ञानमा जोड दिन्छ। योग दर्शन यसको सहयोगी हो, जसले यस विवेकी ज्ञानको लागि आत्म-शुद्धि र विचारको एकाग्रताको मार्ग प्रस्तुत गर्दछ। सांख्य दर्शनले मौलिक ज्ञान प्रदान गर्दछ भने योग दर्शन साधनामा आधारित छ। श्रीमद्भागवत गीतामा यी दुईलाई एकअर्काका पूरकका रूपमा वर्णन गरिएको पाइन्छ। यो दर्शनलाई पूर्वीय दर्शनको सबैभन्दा प्राचीन र व्यापक दर्शन मानिन्छ। यसको बीज उपनिषदमा उपलब्ध छ। महर्षि वाल्मीकि, वेदव्यास र कालिदास, आदि विद्वान ऋषिहरूले यही दर्शनलाई आफ्नो रचनाको आधार बनाएका छन्। स्मृति र पुराणहरूले पनि यसलाई आधार मान्छन्।

साङ्ख्य दर्शनका अनुसार २५ तत्वहरूलाई मानेको देखिन्छ। तीमध्ये प्रकृति र मूल प्रकृति मुख्य हुन्। पुरुषको अस्तित्वले प्रकृतिमा विकास सुरु हुन्छ। प्रकृति र पुरुषको संयोजनले ब्रह्माण्डको प्रक्रिया अगाडि बढ्छ। प्रकृति नै पुरुषको बन्धन र मुक्ति दुवैको कारण हो। प्रकृतिले पुरुषको अस्तित्वमा मात्र स्वयं काम गर्दछ। यसमा कुनै ईश्वरको आवश्यकता पर्दैन।यही कारणले गर्दा केही विद्वानहरूले यो दर्शनलाई नास्तिक दर्शन पनि भनेका छन्। साङ्ख्य दर्शनका अनुसार सृष्टि (ब्रह्माण्ड) को उत्पत्ति जड प्रकृति र चेतन स्वरूप यी दुई तत्वबाट भएको हो। यो भौतिक संसार कुनै समय अदृश्य रूपमा थियो। त्यसबेलाको अवस्थालाई नै प्रकृति भनिन्छ। महर्षि कपिलले परमाणुवादभन्दा माथि उठेर प्रकृतिको प्रतिपादन गरेका छन् ।यो दर्शनका अनुसार प्रकृति र पुरूष दुई शाश्वत तत्व हुन्। प्रकृति यी तीन गुण सत, रज र तमका गुणहरूको साम्यावस्था हो। प्रकृतिका यी तीन गुण साम्यावस्थामा रहेको बेला संसारको कुनै रूप देखिँदैन। जब यी तीन गुण विषम अवस्थामा आउन थाल्छन्, त्यसपछि ब्रह्माण्डको उत्पत्ति सुरु हुन्छ। अव्यक्त प्रकृतिबाट सबैभन्दा पहिले बुद्धिको जन्म भयो, बुद्धिबाट अहंकार, त्यसबाट पाँच ज्ञानेन्द्रिय, पाँच कर्मइन्द्रिय र पाँच अन्य इन्द्रियहरू बने।र, अन्तमा तन्मानसबाट आकाश, वायु, अग्नि, जल र पृथ्वीमा पाँच तत्वको जन्म भयो। प्रकृति सहित २४ तत्वहरूले आफैले ब्रह्माण्ड सिर्जना गर्न सक्दैनन्। प्रकृति अचेतन तत्व हो। यसको लागि चेतना तत्व चाहिन्छ। यो चेतन तत्व पुरुष हो।यसरी पुरुष र प्रकृतिको संगमबाट ब्रह्माण्डको विकास सुरु हुन्छ। सांख्य दर्शनले संसारलाई यथार्थ मान्दैन किनभने यो शाश्वत छैन र केही समयपछि नष्ट हुन्छ। प्रकृति मात्र शाश्वत हुन्छ। आत्मा अमर छ र जीवन पुनर्जन्मको बन्धनले बाँधिएको छ।

साङ्ख्य दर्शनले ईश्वरप्रति उदासीनता प्रकट गरेको देखिन्छ ।प्रारम्भमा यो दर्शन नास्तिक थियो तर पछिल्ला युगका आचार्यहरूले ईश्वरको महत्त्वलाई सम्मान गरेको देखिन्छ। साङ्ख्यका गुरुहरूका अनुसार ईश्वर पुरुषको नियोजन हो र यसले पुरूष र प्रकृतिबीचको सम्बन्ध स्थापित गर्छ।यो दर्शनले मोक्षको पनि प्रतिपादन गरेको छ। जसले आफ्नो जीवनकालमा तत्व ज्ञान प्राप्त गर्छ, त्यो जीवन मुक्त हुन्छ। यस्तो जीवन मुक्तिको प्रारम्भिक कर्मको फल भोग्नको लागि शरीर धारण गर्नु आवश्यक हुन्छ। मृत्युपछि जीवनमुक्तिले पूर्ण मोक्ष प्राप्त गर्छ। यस दर्शनका अनुसार यो मानवको सर्वोच्च कर्तव्य हो। म पुरुष हुँ भन्ने आफ्नो स्वभावको तात्विक ज्ञान हो। अहंकार, आसक्ति, द्वेष, अभिनिवेश, आदिलाई ज्ञान मार्गमा बाधक ठानियो । साङ्ख्य दर्शनमा ज्ञानलाई सर्वोपरि महत्व दिइएको छ । यस दर्शन यज्ञलाई कुनै स्थान दिइएन । यो दर्शनले सबै वर्णका लागि ज्ञानको बाटो खोलिदियो। जुन समय पुरुषलाई त्रिगुणात्मक प्रकृति भिन्न छ र म भिन्न छु भन्ने कुरा ज्ञान हुन्छ, त्यतिबेला ऊ मुक्त हुन्छ। यस दर्शनका अनुसार मोक्षको मुख्य साधन यही बुद्धि वा ज्ञान हो।

साङ्ख्य द्वैतवादी दर्शन हो। यसका अनुसार दुईवटा आधारभूत तत्वहरू छन् – एक प्रकृति र अर्को पुरुष र यिनै दुई तत्वको योगबाट यो सृष्टि बनेको छ।पुरूष चेतन, निस्क्रिय र अपरिवर्तनशील छ भने प्रकृति अचेतन, सक्रिय र परिवर्तनशील छ।पुरुष सत, रज र तमबाट शून्य छ भने प्रकृति सत, रज र तमबाट अलंकृत छ।त्यसकारण पुरुषलाई त्रिगुणातीत र प्रकृतिलाई त्रिगुणमीय मानिन्छ।पुरुष अनेक र प्रकृति एक छ।पुरुष ज्ञाता हो भने प्रकृति ज्ञानको विषय हो। पुरुष कार्यकारणबाट मुक्त छ भने प्रकृति कारण हो।पुरुष विवेकी छ भने प्रकृति अविवेकी छ। पुरुष भोक्ता हो भने प्रकृति भोग्या हो।पुरुष अपरिणामी नित्य छ भने प्रकृति परिणामी नित्य छ।पुरूष अपरिवर्तनशील छ तर प्रकृति चंचल र परिवर्तनशील छ।प्रकृति जड भएकोले चेतनतत्व वा पुरूषबिना यसमा कुनै क्रिया हुँदैन।पुरुष केवल चेतन भएकोले जड माध्यमबिना त्यसले पनि कुनै क्रिया गर्न सक्दैन।त्यसकारण सृष्टिको रचनामा प्रकृति र पुरूषको संयोग अति आवश्यक हुन्छ।

प्रकृति विश्वको मूल कारण हो तर यो स्वयं कारणविहीन छ।प्रत्येक वस्तुको कारण हुन्छ तर प्रकृतिको कुनै कारण छैन।यो आदि कारण हो।यो सृष्टिभन्दा पूर्व (प्र+कृति) हो।प्रकृति मूलतः भौतिक पदार्थ भएकोले यसलाई जड र अचेतन भनिन्छ।प्रकृतिलाई अव्यक्त भनिन्छ।प्रकृति विश्वको आदि कारण भएकोले नै विश्वका सबै पदार्थ प्रकृतिमा अव्यक्त रूपले विद्यमान रहन्छन्।त्यसकारण प्रकृतिलाई अव्यक्त भनिन्छ।प्रकृतिलाई प्रधान मानिन्छ किनकि यो विश्वको मूलभूत कारण हो।यो स्वयं स्त्रतन्त्र छ तर प्रथम कारण भएकोले विश्वका समस्त वस्तुहरू यसमा आश्रित हुन्छन्।प्रकृतिलाई ब्रम्ह भनिन्छ।विकास हुने कुरालाई ब्रम्ह भनिन्छ।प्रकृति भिन्न-भिन्न पदार्थबाट स्वयं विकसित हुन्छ।त्यसकारण यसलाई ब्रम्ह भनिन्छ।प्रकृतिलाई अजा भनिन्छ किनकि यो अनुत्पन्न छ र यसको कुनै कारण छैन। यो सम्पूर्ण जड जगतको कारण हो तर यसको कुनै कारण छैन।प्रकृतिलाई शक्ति भनिन्छ किनभने यो सदैव गतिशील रहन्छ।प्रकृति कुनै पनि अवस्थामा निरन्तर गतिशील देखिन्छ।प्रकृतिलाई अनुमान भन्न सकिन्छ।यसको सत्ताको ज्ञान प्रत्यक्ष, आदि प्रमाणबाट नभएर केवल अनुमानबाट हुन्छ।प्रकृतिलाई माया भनिन्छ।मायाको कार्य वस्तुहरूलाई सीमित गर्नु हो।प्रकृतिले जगतका समस्त वस्तुहरूलाई सीमित गर्दछ।किनभने यो कारण हो र जगतका समस्त वस्तुहरू कार्य हुन्।कारणले कार्यलाई सीमित गर्दछ त्यसकारण भिन्न-भिन्न वस्तुहरूलाई सीमत गरेकोले यसलाई माया भनिएको हो।प्रकृतिलाई अविद्या भनिन्छ किनकि यो ज्ञानको विरोधी हो। सांख्य दर्शनले विश्वको मूल कारण जान्ने प्रयासमा प्रकृतिको सत्ताको अनुमान गर्दछ।प्रकृति संसारका समस्त वस्तुहरू विकसति हुने तत्व हो।सम्पूर्ण विश्व प्रकृतिकै परिणाम हो।प्रकृति एक छ त्यसकारण त्यसबाट विश्वको व्यवस्थाको व्याख्या हुन्छ।विश्वमा स्थूल र सूक्ष्म गरी दुईप्रकारका वस्तुहरू देखिन्छन्।भौतिक शरीर, जल, माटो, नदी, वृक्ष, पर्वत, आदि विश्वका स्थूल पदार्थ हुन् भने मन, बुद्धि, अहंकार, इन्द्रियहरू, आदि विश्वका सूक्ष्म पदार्थ हुन्।जसले विश्वका स्थूल र सूक्ष्म दुवै पदार्थहरूको व्याख्या गर्न सक्छ त्यसैलाई नै विश्वको कारण मान्न सकिन्छ।प्रकृति जड हुनुका साथसाथै सूक्ष्म पदार्थ पनि हो।त्यसकारण प्रकृतिमा स्थूल र सूक्ष्म पदार्थ रहेको छ र यो सम्पूर्ण विश्वको व्याख्या गर्नमा समर्थ छ।त्यसकारण सांख्य दर्शनले विश्वको आधार प्रकृतिलाई मानेको छ।

साङ्ख्यका अनुसार यो प्रकृति सत, रज र तम तीनवटै गुणको समष्टि हो र भौतिक जगतको उपादान कारण हो।यसकारण यसलाई त्रिगुणमयी भनिन्छ। यी तीनै गुणहरू प्रकृतिमा साम्यावस्था अथवा शान्त अवस्थामा रहन्छन्।यी तीनै गुणहरूका परस्पर विरोधी स्वभावको कारणले यिनीहरूको आपसमा संघर्ष भइरहन्छ।तर यी गुणहरूको प्रत्यक्ष ज्ञान हुँदैन, बरु यसको ज्ञान अनुमानको आधारमा हुन्छ।सत गुण ज्ञानको प्रतीक हो।यसको रंग सेतो हुन्छ।यो गुण लघु, प्रकाशक र आनन्ददायक हुन्छ।यसले सुख र उत्साहको भाव उत्पन्न गर्दछ।सत गुण प्रकाशको प्रतीक हो।यो स्वयं प्रकाशपूर्ण छ र यसले अन्य विषयहरूलाई पनि प्रकाशित गर्दछ।इन्द्रियहरूमा आ-आफ्ना विषयहरूलाई ग्रहण गर्ने शक्ति यो गुणबाट आउँदछ।मन एवं बुद्धि यही गुणको कारण विषयहरूलाई बुझ्नमा समर्थ हुन्छन्।सत गुणको फलस्वरूप नै सूर्यद्वारा संसारलाई प्रकाशित गर्ने र दर्पणमा प्रतिबिम्बित ग्रहण गर्ने शक्ति आउँछ।यसको स्वरूप हल्का र लघु हुन्छ।सबै हल्का वस्तुहरू (धुवाँ, वाफ, आदि) माथि जान सत गुणकै कारणले संभव हुन्छ।सबै प्रकारका सुखका अनुभूतिहरू – प्रेम, आनन्द, सन्तोष, हर्ष, तृप्ति, आदि सत गुणकै कारण संभव हुन्छ।रज गुण दुःखदायक र गतिशील हुन्छ।यसको रंग रातो हुन्छ।यो दुःखको गुण हो।संसारमा सबै दुःखको मूलमा यही गुण विद्यमान हुन्छ।यो गुण स्वयं गतिशील छ र अन्य वस्तुहरूलाई पनि यसले गतिशील बनाउँदछ।यसरी संसारमा गतिको व्याख्या यही गुणको आधारमा संभव हुन्छ।हावा बहनु, मन चंचल हुनु, इन्द्रियहरू आफ्नो विषयहरूतिर दौडनु, आदि रज गुणकै कारण हो।सत र तम गुण व्यक्तिगत रूपमा निस्क्रिय छन्। रज गुणको प्रभावमा आएर नै तिनीहरू सक्रिय हुन्छन्।यो दुःखको कारण हो।सबै प्रकारका दुखात्मक अनुभूतिहरू – चिन्ता, क्रोध, अशान्ति, असन्तोष, अतृप्ति, आदि रज गुणका कारण उत्पन्न हुन्छन्।तम गुण अज्ञान अथवा अन्धकारको प्रतीक हो।यसको रंग कालो हुन्छ।यसले ज्ञानलाई अवरोध गर्दछ।यो सत गुणको विपरीत हुन्छ।यो गुण भारी हुन्छ।यसले ज्ञान प्राप्तिमा सदैव बाधा उत्पन्न गर्दछ।यसले सत गुण र रज गुणका क्रियाहरूको विरोध गर्दछ।यही कारण उदासीनताको भाव उत्पन्न हुन्छ।यही गुणको कारण ईर्ष्या, निन्द्रा आलस्य, निस्क्रियता, आदि उत्पन्न हुन्छन्।यसरी प्रकृतिका उपर्युक्त तीनै गुणहरू पारस्परिक विरोध एवं सहयोग दुवैमा पाइन्छन्।संसारका प्रत्येक पदार्थमा यी गुण कम वा बढी मात्रामा विद्यमान हुन्छन्।यी तीनै गुणहरू एक-अर्कोको विरुद्ध छन् भने यिनीहरूको संयोग कसरी हुन्छ भन्ने सन्दर्भमा सांख्य दर्शनले यसको उत्तर एक उपमाको सहायताले दिन्छ।सत, रज र तममा त्यही प्रकारको सहयोग रहन्छ, जुन प्रकारको एक वत्तीमा बाती, तेल र आगोको हुन्छ।यी तीनै एक-अर्काका विरोधी हुन्।तेललाई बातीले सुकाउँदछ र बातीलाई आगोले जलाउँदछ।तर यिनीहरूको एक-अर्काको सहयोगबाट नै प्रकाशको निर्माण हुन्छ।यसरी नै सत, रज र तम आपसमा मिलेर वस्तु निर्मित गर्दछन्।

सांख्य दर्शनले प्रकृतिको अस्तित्वलाई सिद्ध गर्नको लागि विभिन्न प्रमाणहरू पनि पेश गर्दछ।अनुभवका वस्तुहरू कारणमा निर्भर हुन्छन्, जसमा तिनीहरु अव्यक्त अवस्थामा रहन्छन्।कारणमा कम्तीमा त्यति नै सत्यता हुनुपर्दछ, जति कार्यमा हुन्छ।हरेक कार्यमा एक कारण हुन्छ।दृश्य वस्तुहरू अनित्य, नाशवान र नष्ट हुने भएकोले कारणमा लीन हुन्छन् त्यसकारण जगतको आदि उपादान कारणको नित्य हुनुपर्दछ।यी परिछिन्न (अलग) हुन्छन्, तिनीहरू कार्य कारणबाट व्याप्त रहन्छन्।तर कार्यबाट व्याप्त रहँदैनन्।कारण कार्यको अपेक्षा धेरै व्यापक हुन्छ।उदाहरणस्वरूप दूध कारण र त्यसबाट मक्खन, घिउ, पनीर, क्रीम, मिठाइ, दही, आदि निकाल्नु कार्य हो।दृष्य वस्तुहरू सक्रिय र गतिशील हुन्छन्।यसकारण यिनीहरूको आदि कारण गतिहीन हुनुपर्दछ।जगतको आदि कारण एक स्वतन्त्र र अव्यक्त हुन्छ।सांख्य दर्शनका अनुसार आत्माको अस्तित्व स्वयंसिद्ध छ र यसको सत्तालाई केही गरी पनि खण्डन गर्न सकिंदैन।सांख्य दर्शनले यसरी पुरुषलाई निर्गुण, विवेकी, ज्ञाता मान्छ र साथै पुरुष प्रत्येक शरीबाट भिन्न छ भन्ने कुरा मान्छ।पुरुषलाई चेतन, अपरिणामी, अपरिवर्तनशील, निस्क्रिय मान्दछ।सांख्यका अनुसार अनेक पुरुषहरूको अस्तित्व हुन्छ तर अलग-अलग व्यक्तिहरूको जन्म-मरण र इन्द्रियहरू अलग-अलग हुन्छन्।अलग-अलग शरीरमा अलग-अलग आत्मा हुन्छन्।सबै पुरूषमा नैतिक गुणहरू पनि अलग-अलग हुन्छन्।केहीमा सत, केहीमा रज र केहीमा तम गुण हुन्छ।सांख्यका अनुसार आत्मा शरीर, इन्द्रिय, मन र बुद्धिबाट भिन्न छ।यो सांसारिक विषय होइन।               

पुरुष साख्य दर्शनको मुख्य तत्व हो। सांख्य दर्शन अनुसार यसलाई प्रकृतिको सर्वथा विपरीत मानिएको छ। पुरुष परम चेतन तत्वको पर्यायवाची हो, यसको कुनै रूप छैन, यो निर्गुण छ। सांख्यले संसारको हरेक प्राणीमा स्वतन्त्र पुरुष (आत्मा) को अस्तित्वमा विश्वास गर्दछ।पुरुष चैतन्य स्वरूप हो।यो चैतन्य आत्माका सबै अवस्थाहरू (जाग्रत अवस्था, स्वप्न अवस्था र सुसुप्त अवस्था) मा विद्यमान रहन्छ।पुरुषलाई सांख्य दर्शनले कर्ता र निस्क्रिय मान्छ किनभने यसले संसारको कार्यमा योगदान दिँदैन।सांख्य दर्शनले पुरुषलाई अकर्ता मानेर पनि भोक्ता मानेको छ।पुरुष अर्कता भएर पनि प्रकृति र त्यसका विकारहरूको भोक्ता हो।सांख्यले पुरुषलाई अनेक मान्छ।जति जीव छन्, त्यति नै आत्मा छन्।सांख्यले पुरुषको अनेकतालाई सिद्ध गर्नको लागि कैयौं युक्तिहरूको सहायता लिएको देखिन्छ।पुरुषमा सत, तम र रज गुणको अभाव हुन्छ।यो त्रिगुणातीत छ।पुरुष ज्ञाता हो।यो अपरिवर्तनशील छ।यो नित्य, अनादि र अनन्त छ।यो गुणरहित छ।किनकि यसमा सुख, दुःख र उदासिनताको भाव पाइँदैन।

यसरी सांख्य दर्शन अनुसार प्रकृति र पुरुष दुवै शाश्वत र अनन्त छन्।साङ्ख्यको स्पष्टीकरण भनेको प्रकृति केवल वस्तु हो, पुरुष (चेतन तत्व) बिना यसमा कुनै क्रिया हुन सक्दैन र अर्कोतर्फ पुरुष चेतन मात्र हो, जड माध्यम बिना त्यससले क्रिया गर्न सक्दैन, त्यसैले सृष्टिको लागि प्रकृति र पुरुषको संयोग आवश्यक हुन्छ। साङ्ख्य दर्शनका अनुसार प्रकृति र पुरुष दुवैको शक्ति स्वयंसिद्ध छ।प्रकृति इन्द्रियग्राह्य हुन्छ।प्रकृति इन्द्रियग्राह्य वस्तु भएकोले यसको अस्तित्व निर्विवाद छ।र, ‘म हुँ’ भन्ने मानिसको भनाइ नै मानिसको अस्तित्वको सूचक हो। 

साङ्ख्य दर्शनले प्रकृति र पुरुष सँगै २३ अन्य तत्वहरू पत्ता लगाएको छ र यसरी  यो दर्शन अनुसार कुल तत्वहरूको संख्या पच्चीस छन् – प्रकृति, पुरुष, महत (बुद्धि), अहंकार, पंच ज्ञानेन्द्रिय (आँखा, कान, जिभ्रो, नाक, छाला), पंच कर्मेन्द्रिय (वाणी, हात, गुद्वार, खुट्टा, रूप, गुप्ताङ्ग), मन, पञ्च-तन्मात्र (स्वरूप, स्वाद, गन्ध, ध्वनि, स्पर्श) पञ्च-महाभूत (पृथ्वी, जल, तेज, वायु, आकाश)।सांख्य दर्शनका २५ तत्वहरूलाई अझ यसरी स्पष्ट पार्न सकिन्छ – प्रकृति -प्रकृति वा प्रधान वा अव्यक्त -१। विकृति – हात, खुट्टा, बोली, गुद्वार, गुप्तांग, आँखा, कान, नाक, जिब्रो, छाला, मन, पृथ्वी, जल, वायु, आकाश र अग्नि -१६। प्रकृति-विकृति – अहंकार, महत (बुद्धि), शब्द, स्पर्श, रूप, रस र गन्ध -७।न प्रकृति न विकृति-पुरुष (आत्मा) -१। योगफल :  १ +१६+७+१ = २५।

ब्रह्माण्डको सृष्टिको सम्बन्धमा साङ्ख्यले सत्कार्यवादको सिद्धान्त प्रतिपादन गरेको छ। यस सिद्धान्त अनुसार कार्य कारणमा पहिलेदेखि नै निहित हुन्छ।सांख्यका अनुसार कार्य न एक नयाँ उत्पत्ति हो र न कारणमा त्यसको अभाव हुन्छ।कारण र कार्य समान रूपले सत्य हुन्छन् र कार्य कारणको परिणाम हुन्छ।कार्य वस्तुतः कारणमा विद्यमान रहन्छ। कार्यको उत्पत्ति भनेको कारणको वास्तवमा रूपान्तरित हुनु हो -जस्तो कि दूधको परिणाम दही। यो सृष्टि पनि प्रकृतिमा पहिलेदेखिन नै निहित थियो, तब मात्र यसको उत्पत्ति सम्भव भएको थियो। प्रकृति कारण हो र सृष्टि यसको कार्य हो। कारण कार्यरूपमा परिवर्तन हुने कुरा नै उत्पत्ति हो र पुन: कारणको रूपमा परिवर्तन हुनु विनाश हो।साङ्ख्य दर्शनले ब्रह्माण्डको विकासक्रमलाई पनि स्पष्ट पार्ने प्रयास गरेको छ। यस अनुसार सर्वप्रथम महतको उत्पत्ति प्रकृति र पुरुषको मिलनबाट भएको हो । साङ्ख्य दर्शनमा महतको अर्थ- ब्रम्हाण्डीय बुद्धि हो। यो वेद र उपनिषदको हिरण्यगर्भको पर्यायवाची जस्तो देखिन्छ। यसपछि महतबाट अहंकारको जन्म भयो।अहंकार ब्रह्माण्डको विविधताको आधार हो र यो आत्मबोधको प्रवर्तक हो। अहंकार र सतको योगबाट मनस् र पाँच ज्ञानेन्द्रिय एवं कर्मेन्द्रियहरूको उत्पत्ति हुन्छ।अहंकार र रजको योगबाट पंचमहाभूत तत्वहरू (पृथ्वी, जल, तेज, वायु र आकाश) को उत्पत्ति हुन्छ। र, अहंकार र तमको योगबाट  पाँच तन्मात्रहरू (रस, सुगन्ध, स्पर्श, ध्वनि र दृष्टि) उत्पन्न हुन्छ। भोग (आनन्द) र मुक्तिको विषयमा सांख्य दर्शन अन्य वैदिक दर्शन भन्दा भिन्न छ। यस अनुसार पुरुष र प्रकृतिको मिलनबाट प्राणी (शरीर+आत्मा) को उत्पत्ति भोगको आरम्भ हो र प्रकृतिबाट पुरुषको वियोगको नाम मोक्ष हो। सांख्यका अनुसार परमानंद मोक्षको अवस्थामा प्राप्त हुन्छ। यसलाई स्पष्ट रूपमा भन्दा न त प्रकृतिको अभावमा पुरुषले भोग गर्न सक्दछ र न त पुरुषको अनुपस्थितिमा प्रकृतिले भोग गर्न सक्छ। त्यसकारण भोगबाट छुटकारा पाउनको लागि पुरुषलाई प्रकृतिबाट अलग गर्नु आवश्यक हुन्छ।

साङ्ख्य दर्शन पुनर्जन्मको विषयमा उपनिषद दर्शनसँग सहमत छ। यस अनुसार हाम्रा सबै अनुभवहरू सूक्ष्म शरीरमा केन्द्रित हुन्छन् र सूक्ष्म शरीर भनेको अन्तःकरण (मन, बुद्धि र अहंकार) र पाँच तन्मात्रहरू (रस, गन्ध, स्पर्श, ध्वनि र दृष्टि) को योग हो। यसबाट नै सुख र दु:खको अनुभव हुन्छ र अनुभवहरू संचित गर्छ। यो आगोले जल्दैन र पानीले पग्ल्दैन र अनुभव शून्य (कर्मफल शून्य) नभएसम्म एक स्थूल शरीरबाट अर्को स्थूल शरीरमा प्रवेश गरिरहन्छ। यसलाई पुनर्जन्म भनिन्छ। त्यसैले पुनर्जन्म सूक्ष्म शरीरको हो, आत्माको होइन। आत्मा पुरुष हो र यो जन्म मृत्युको बन्धनबाट मुक्त छ।

साङ्ख्य दर्शनले ज्ञानलाई दुई भागमा विभाजन गरेको छ– एउटा पदार्थको ज्ञान, जसलाई वास्तविक ज्ञान भनिन्छ र अर्को प्रकृति–पुरुषबीचको भिन्नताको ज्ञान हो, जसलाई विवेकको ज्ञान भनिन्छ । सांख्यका अनुसार इन्द्रियद्वारा पदार्थको ज्ञान प्राप्त हुन्छ। यो ज्ञान इन्द्रियबाट मनमा, मनबाट अहंकारमा, अहंकारबाट बुद्धिमा र बुद्धिबाट मानिसमा आउँछ। अर्कोतर्फ, सांख्य दर्शन अनुसार पुरुषले बुद्धिलाई प्रकाशित गर्दछ, बुद्धिले अहंकारलाई जगाउँछ, अहंकारले मनलाई सक्रिय बनाउँछ र मनले इन्द्रियहरूलाई सक्रिय बनाउँछ त्यसपछि वस्तु-वस्तुबीच सम्पर्क स्थापित गर्छ । साङ्ख्य दर्शन अनुसार इन्द्रिय, मन, अहंकार र बुद्धि सबै प्रकृतिबाट सृष्टि भएकाले पदार्थ हुन् र पदार्थमा ज्ञान उत्पन्न हुन सक्दैन । अर्कोतर्फ पुरुष केवल चेतन तत्व हो, जड प्रकृतिको माध्यम बिना त्यसले पनि ज्ञान प्राप्त गर्न सक्दैन। ज्ञान प्राप्तिको लागि प्रकृति (जड) र पुरुष (चेतन) दुवैको संयोजन आवश्यक हुन्छ। साङ्ख्य दर्शनको भौतिक ज्ञान प्राप्त गर्ने प्रक्रियालाई यसरी पनि प्रष्ट पार्न सकिन्छ – पदार्थ ⇋ इन्द्रिय ⇋ मन ⇋ अहंकार ⇋ बुद्धि ⇋ पुरुष। साङ्ख्य दर्शनले ज्ञान प्राप्तिको तीन प्रमाण (साधन) मात्र स्वीकार गर्दछ – प्रत्यक्ष, अनुमान र शब्द। भौतिक जगतको ज्ञानको लागि यी तीन प्रमाणहरू आवश्यक हुन्छन्। तर पुरुष तत्वको ज्ञान पाउनको लागि शब्दमा मात्र निर्भर रहनुपर्छ। सांख्य योगले शब्दद्वारा प्राप्त पुरुष तत्वको ज्ञानको प्राप्तिको लागि साधना मार्गको वकालत गर्दछ।

सांख्य दर्शनका अनुसार मानव स्वयंलाई दुःखबाट पर राख्न चाहन्छ तर यो नश्वर शरीर सदैव दुःखको जालले घेरिइरहेको हुन्छ।मानिसले दुःखबाट निवृत्त हुने कोशिस गर्नुपर्दछ र यसैलाई मोक्ष भनिन्छ।मोक्ष सुखरूपी होइन, बरु दुःख आत्यन्तिक हानि हो।धर्म, अर्थ, काम पुरुषार्थ हुन् किनकि यी नाशवान छन्।मोक्ष परम पुरूषार्थ हो किनकि यो निध्य छ।जीवनमुक्ति र विदेहमुक्ति गरी मोक्ष दुई प्रकारका हुन्छन्।जीवनमुक्तिमा संस्कार शेष रहन्छ र त्यसको सम्बन्ध शरीरसँग हुन्छ।जबकि विदेहमुक्तिमा संस्कार पनि नष्ट हुन्छ र शरीर पनि।

साङ्ख्य दर्शनको मूल्यमान्यता र नैतिकतालाई यसरी स्पष्ट पार्न सकिन्छ।सांख्य दर्शनको शुरुवात दुखत्रय-आध्यात्मिक (आत्मा, मन र शरीरसँग सम्बन्धित), अधिभौतिक (बाह्य संसारसँग सम्बन्धित) र अधिदैविक (ग्रह र दिव्य प्रकोपसँग सम्बन्धित) को सार्वभौमिकताको स्वीकृतिबाट हुन्छ। सांख्य दर्शनका अनुसार दु:खबाट छुटकारा पाउने कुरा नै मुक्ति वा मोक्ष हो। यस सन्दर्भमा पहिलो प्रश्न के हो भने  सुख-दु:खको भोग गर्ने को हो ? साङ्ख्य दर्शनको उत्तर हो –  पुरुष र प्रकृतिको मिलनबाट जन्मेको शरीर, मन र आत्मा। दोस्रो प्रश्न दुःखत्रायबाट कसरी छुटकारा पाउने ? सांख्य दर्शनका अनुसार दुःखको मुख्य कारण अज्ञानता हो । यो अज्ञानता के हो ? जब पुरुषले बुद्धिको कामलाई आफ्नो कर्म बनाउँछ अर्थात् प्रकृतिका सत, रज, तम गुणको अनुभूति गर्न थाल्छ, तब त्यसलाई अज्ञानता भनिन्छ, यस कारणले नै ऊ सुख-दु:खको भोगी बन्छ, अन्यथा निर्गुण हुन्छ र उसलाई सुख-दुःखको अनुभूति हुँदैन।ज्ञान भनेको वस्तुको वास्तविक स्वरूप जान्नु तथा बुद्धि, अहंकार, मन र इन्द्रियको कर्मलाई आफ्नो काम नमान्नु हो। यो ज्ञानको अवस्थामा मात्र मानिस सुख-दु:खको अनुभवबाट अलग हुनसक्दछ। यसको प्राप्तिको लागि सांख्ययोगले साधना मार्ग (यम, नियम, आसन, प्राणायाम, प्रत्याहार, धारणा, ध्यान र समाधि) आवश्यक ठान्छ। यम भनेको मन, वाणी र कर्मको संयम हो। यसका लागि सत्य, अहिंसा, अस्तेय, अपरिग्रह र ब्रह्मचर्य पालनलाई योगले आवश्यक मानेको छ । योगका अनुसार शौच, सन्तुष्टि, तपस्या, आत्म-अध्ययन र प्रणिधान गरी पाँच नियम छन्। साङ्ख्य दर्शनले मोक्ष चाहनेहरूलाई यी सबैलाई व्यवहारमा उतार्ने उपदेश दिन्छ । यी नैतिक महाव्रत र नियमहरूको पालना गरेर मात्र मानिसले आफ्ना इन्द्रियलाई नियन्त्रण गर्न, आफ्नो मन शुद्ध गर्न र योग अभ्यासका अन्य छवटा चरणहरू – आसन, प्राणायाम, प्रत्याहार, धारणा, ध्यान र समाधिको पालना गर्न सक्छ।

सांख्य दर्शनको तत्व मीमांसा, ज्ञान र तर्कमीमांसा तथा मूल्यमान्यता र आचारमीमांसालाई सिद्धान्तको रूपमा यसरी क्रमबद्ध रूपमा बुझ्न सकिन्छ। सांख्य दर्शन प्रकृति र पुरुषको संयोजनबाट सृष्टि भएको हो। सांख्य दर्शनको तर्कानुसार प्रकृति केवल जड पदार्थ हो, यसमा चेतनाको संयोजन बिना क्रिया हुन सक्दैन र क्रियाबिना सृष्टि हुन सक्दैन। अर्कोतिर पुरुष चेतन तत्व मात्र हो, जड तत्वको सहयोग बिना त्यसले कर्म गर्न सक्दैन र कर्मको अभावमा सृष्टि हुन सक्दैन। त्यसैले ब्रह्माण्डको सृष्टिको लागि प्रकृति-पुरुषको संयोजन आवश्यक हुन्छ। प्रकृति र पुरुष दुवै आधारभूत तत्वहरू हुन् । सांख्य दर्शनले प्रकृति र पुरुषलाई आधारभूत तत्व, शाश्वत र अनन्त मान्छ तथा यसलाई सत्य मान्छ तर यसले प्रकृतिलाई जड र पुरुषलाई चेतन, प्रकृतिलाई त्रिगुणात्मिका र पुरुषलाई निर्गुण मान्छ। साङ्ख्य दर्शनका अनुसार सृष्टिको दृष्टिकोणले प्रकृति र पुरुष दुवै एकअर्काका पूरक हुन् ।पुरुषको स्वतन्त्र अस्तित्व छ र यो अनेकानेक छ। सांख्य दर्शनले पुरुष अर्थात् आत्मालाई स्वतन्त्र अस्तित्व मान्छ, उसले यसलाई ब्रह्मको अंश मान्दैन, त्यसलाई आफैमा आधारभूत तत्व मान्छ। साङ्ख्यले प्रत्येक जीवमा स्वतन्त्र आत्माको अस्तित्व स्वीकार गर्दछ। यो अनेकात्मवादी दर्शन हो।मानिस प्रकृति र पुरुषको संयोजन हो ।साङ्ख्य दर्शनका अनुसार मानिस आफैं सृष्टिको अंश हो। त्यसैले उसको सृष्टि पनि प्रकृति र पुरुषको संयोजनबाट भएको हो भन्ने निश्चित छ । कपिल मुनिका अनुसार पुरुषको स्थूल शरीर माता-पिताको रज-वीर्य र सूक्ष्म शरीर विवेक र पाँच तन्मात्रहरूको योगले बनेको हुन्छ। जन्म-जन्मको अनुभव उसको सूक्ष्म शरीरमा जम्मा हुन्छ र यो एक जन्मबाट अर्को जन्ममा प्रवेश गर्दछ। साङ्ख्य दर्शनका अनुसार मानिसको स्थूल र सूक्ष्म शरीर जड पदार्थ हो र त्यसमा रहेको चेतन तत्व पुरुष हो । साङ्ख्य दर्शनले मानव जीवनलाई सप्रयोजन मान्छ। मानिसको विकास उसको जड र चेतन दुवै तत्वहरूमा निर्भर गर्दछ।सांख्य दर्शन अनुसार, मानिस प्रकृति र पुरुषको संयोजन हो र उसको विकास यिनै दुई तत्वहरूमा निर्भर हुन्छ। साङ्ख्य दर्शनका अनुसार मानव विकासका तीन दिशा हुन्छन्– शारीरिक, मानसिक र आध्यात्मिक । मोक्ष मानव जीवनको अन्तिम लक्ष्य हो।साङ्ख्य दर्शनका अनुसार मानव जीवन उद्देश्यपूर्ण छ, यसको उद्देश्य दुःखबाट मुक्ति हो। यसैलाई मुक्ति भनिन्छ। किन दुःख छ ? जब मानिस आफ्नो वास्तविक स्वभावलाई बिर्सन्छ र आफूलाई बुद्धिजीवी ठान्छ, तब उसलाई दु:खको अनुभूति हुन्छ अन्यथा ऊ यी सबै भन्दा भिन्न हुन्छ। जब मानिसले आफ्नो आत्माको वास्तविक स्वरूपलाई चिन्छ, तब उसले दुःखबाट मुक्ति पाउँछ । यही जीवनमा दुःखको अनुभवबाट मुक्त हुने व्यक्तिलाई सांख्य दर्शनमा जीवनमुक्त भनिन्छ र देहको विनाशपछि दुःखको अनुभवबाट मुक्त हुनेलाई विदेहमुक्त भनिन्छ।मुक्तिको लागि विवेकी ज्ञान आवश्यक छ।साङ्ख्य दर्शनको दृष्टिकोणबाट मुक्तिको लागि प्रकृति-पुरुष बीचको भिन्नता जान्नु आवश्यक हुन्छ। त्यही अवस्थामा पुरुष सुख र दु:खबाट अलग भएर प्रकृतिबाट अलग रहन सक्छ र कर्मको फलबाट मुक्त हुन सक्छ।विवेक ज्ञानको लागि योग साधना मार्ग आवश्यक छ। सांख्य दर्शनले विवेक ज्ञानको लागि योगद्वारा निर्दिष्ट साधन मार्ग (यम, नियम, आसन, प्राणायाम, प्रत्याहार, धारणा, ध्यान र समाधि) लाई आवश्यक ठान्छ।

सन्दर्भ सामग्रीहरू

१)सांख्य दर्शन – रामशंकर भट्टाचार्य, भारतीय बुक कर्पोरेशन

२)सांख्य दर्शनम् – भारतकोश, ज्ञानका हिन्दी महासागर

३)सर्वदर्शनसंग्रहः हिन्दी भाष्य – श्रीमन्मध्वाचार्य विरचितः, व्याख्याता – पं. श्री उदयनारायण सिंह

४)सांख्य दर्शन का इतिहास-आचार्य उदयवीर शास्त्री

५)सांख्य दर्शन-सरल, सुबोध भाषा भाष्य – गुरुदत्त

६)सांख्य दर्शन एवं अद्धैत वेदान्त – डा. ममता गुप्ता, चौखम्बा कृष्णदास एकेडेमी, वाराणसी

७)सांख्य दर्शन – डा. रामनाथ झा – प्रमाण मीमांसा

८)Samkhya Philosophy – Nandala Sinha (Translator)

९)The History of Samkhya Philosophy- The Samkhya System, BERRIERDALE KEITH, NAG PUBLISHERS

१०)दर्शन-दिग्दर्शन – राहूल सांकृत्यायन, किताब महल

११)भारतीय दर्शन – डा. उमेश मिश्र, प्रकाशन व्यूरो, सूचना विभाग, उत्तर प्रदेश

१२)भारतीय दर्शन की रुपरेखा – एम हिरियन्न, राजकमल प्रकाशन

१३)पूर्वीय दर्शनमा भौतिकवाद – रामराज रेग्मी, संचेतना परिवार

१४)भारतीय दर्शन की रूपरेखा – प्रो हरेन्द्र प्रसा सिन्हा, मोतिलाल बनारसीदास

१५)पूर्वीय सोच र स्रोत – डिल्लीराम गौतम, काठमाण्डौं स्कूल अफ ल

१६)पूर्वीय दर्शन – भक्त राई, ओरियन्टल प्रकाशन

१७)पूर्वीय दर्शन विमर्श – कमल रिजाल, रत्न पुस्तक भण्डार

१८)पूर्वीय दर्शनको पुनर्व्याख्या – डा. प्रमोद ढकाल,  

१९)पूर्वीय दर्शन मीमांसा – कमल रिजाल, विद्यार्थी पुस्तक भण्डार

२०)भारतीय दर्शन भाग १ र २ – डा. राधाकृष्णन

२१)भारतीय दर्शन का इतिहास भाग १-५ – डा. एस. एन. दासगुप्ता

२२)भारतीय दर्शनहरूमा के छ ? – सत्यप्रकाश वंशल, अनु- अर्जुनदेव शर्मा

२३) भारतीय दर्शन मे क्या जीवन्त है और क्या मृत है – देवीप्रसाद चट्टोपाध्याय, पिपुल्स पब्लिसिंह हाउस

२४)New Light Upon Indian Philosophy, or Swedenborg and Saiva Siddhanta – D. Gopaul Chetty

२५)Indian Philosophy in Modern Times – V. Brodov, Progress Publishers

२६)A History of Indian Philosophy (Set of Three Volume ) – Dr. S. N. Dasgupta

२७)A Critical Survey of Indian Philosophy – Dr. Chandradhar Sharma

२८) Contemporary Indian Philosophy –  Basant Kumar Lal



Leave a comment

About Me

I am a student of philosophy and nature. I thoroughly research all subjects and summarize them in Nepali and English. I am Secretary of Marxism Study-Research Academy, Nepal. I am a Social Worker. Education – i) Master of Arts Degree in Political Science – TU, ii) Master of Public Administration Degree – TU, iii) Master of Arts Degree in History-TU, iv) Master of Arts Degree in Nepalese History Culture and Archaeology-TU.

म अध्ययन-अनुसन्धान कार्यमा निस्वार्थ भावले निरन्तर लागेको एक वाम विचारधारायुक्त सामाजिक कार्यकर्ता हुँ। मेरो कुनै पनि राजनीतिक दलसँग संलग्नता नरहेको जानकारी गराउँदछु। मेरा हरेक अध्ययन-अनुसन्धान कार्य शोषण, दमन, अन्याय, अत्याचारका विरुद्ध हुनेछन् । आम श्रमजीवी, भोका-नांगा, गरीब, उत्पीडित जनसमुदायहरूलाई सुशिक्षित गर्ने प्रयत्न मेरो कर्तव्य हुनजान्छ । मेरा सबै कार्य जनहितका लागि हुनेछन् भन्ने आशा तथा विश्वासपूर्वक मैले निरन्तर कार्य अगाडि बढाइरहेको हुनेछु। श्रमप्रति सम्मान र शोषणप्रति घृणा नै मेरा कार्यका उद्देश्य हुनेछन्।  

यहाँ तपाईंहरू सबै प्रकारका सामग्रीहरू अध्ययन गर्न र हेर्न पाउनुहुनेछ । अध्ययन गर्नको लागि रूचियुक्त सामग्रीहरू माग गर्नुभयो भने यथासंभव परिपूर्तिसमेत गरिनेछ । यहाँ लेखरचना, पत्रपत्रिका, म्यागजिन,  जर्नल, विभिन्न पुस्तकहरू (नेपाली, अंग्रेजी र हिन्दी भाषामा), डकुमेन्ट्री, फिल्म, आदि सामग्रीहरू खोजेर पढ्न तथा हेर्न सक्नुहुन्छ।

I am a leftist social worker who is selflessly engaged in research work. I inform you that I am not affiliated with any political party. Every study-research work of mine will be against exploitation, oppression, injustice and tyranny. It is my duty to try to educate the common workers, the hungry, the poor, the oppressed masses. I will continue my work with the hope and confidence that all my work will be for public interest. Respect for labor and hatred for exploitation will be the objectives of my work.

Here you will find all kinds of content to study and watch. If you demand for interesting materials to study, they will be provided as much as possible. Here you can search and read articles, newspapers, magazines, journals, various books (in Nepali, English and Hindi languages), documentaries, films, etc.

श्रमको सम्मान गर्नुभएकोमा धन्यवाद ।

Thank you for respecting the labor.

Newsletter

Marxism-मार्क्सवाद

Communist history

Philosophy-दर्शन

लेनिन-LeninLeninism

दस्तावेज-documents

धर्म-दर्शन

त्रिपिटक–बुद्ध

गीता सार

Politics–राजनीति

ग्रन्थ परिचय

Mao-Maoism

साहित्य- literature

जीवनी-biography

साम्यवाद-communism

युवाबारे-On Youth

कार्ल मार्क्स–Karl Marx

फ्रेडरिक एंगेल्स–F. Engels

भी.आइ.लेनिन–V.I.Lenin

जे. भी. स्टालिन – J.V. Stalin

माओत्सेतुङ – Maotsetung

डिजिटल पुस्तकालय (digital library)

ई-पुस्तकालय -e-library

विज्ञान-प्रविधि (Science-Technology)

सामान्य ज्ञान (GK)

Documentaries and YouTube channels

पुस्तकालय – LIBRARY

नेपाली डिजिटल पुस्तकहरू (Nepali Digital Books)

नेपाली न्यूजपेपर, म्यागजिन र अनलाइन पत्रपत्रिकाहरू (Nepali Newspapers, Online and Nepali Magazines)

English Digital Books : Part – 1 (world communist special books)

English Digital Books : Part – 2

English Digital Books : Part – 3

हिन्दी डिजिटल पुस्तक (Hindi digital Books) भाग – १

हिन्दी डिजिटल पुस्तक (Hindi digital Books) भाग – २

हिन्दी डिजिटल पुस्तक (Hindi digital Books) भाग – ३

हिन्दी डिजिटल पुस्तक (Hindi digital Books) भाग – ४

हिन्दी डिजिटल पुस्तक (Hindi digital Books) भाग – ५

Documentaries and YouTube channels

Uncategorized

ENGLISH SECTION

Design a site like this with WordPress.com
Get started