स्रोत – डा. श्रीराम प्रसाद उपाध्यायको विश्वको इतिहास पुस्तकबाट
मिश्रको सभ्यता
मिश्रको सभ्यतालाई विश्वको सबभन्दा पुरानो सभ्यता मानिन्छ । यो सभ्यता मध्य अफ्रिकाबाट निस्केर उत्तरतर्फ बगेको नाइल नदीको किनारमा फस्टाएको थियो ।
३४०० ई. पू. मा मेनिज नाम गरेका राजाले मिश्रको एकीकरण गरेर मेम्फिस नामको राजधानी बनाएका थिए । मिश्रको इतिहासमा ३००० देखि २५०० ई. पू. को समयलाई पिरामिड युग भनिन्छ । मिश्रमा राज्य गर्ने राजालाई फराह भनिन्थ्यो । फराहको अर्थ ठूलो घर वा दरवार हुन्थ्यो । ठूलो घरमा बस्ने भएकाले राजालाई फराह भनिन्थ्यो । राजा वा प्रसिद्ध वा ठूला मानिसको मृत्यु भएमा ढुंगाको चौकोस परेको ठूलो पिरामिडभित्र राखिन्थ्यो । मिश्रमा यस्ता कैयौं पिरामिड बनेका छन्, तिनीहरुमध्ये फराह चेओप्स वा खुफुका निम्ति बनेको गिजाको पिरामिड सबभन्दा ठूलो थियो । यो पिरामिड १ लाख मानिसले २० वर्ष लगाएर बनाएका थिए । यसमा २ टन (५८ मन) देखि १५ टनसम्मका २३ लाख ढुंगाका टुक्रा लगाइएको थियो । मिश्रको वास्तुकलाको अर्को उत्कृष्ट नमूना कारनाक, आबू सिम्बेल, थेब्स र लक्सारको मन्दिर थियो । मिश्रको स्फिनिक्सको मूर्ति विश्वको उत्कृष्ट मूर्तिकला मानिन्छ । यस मूर्तिको टाउको मानिसको र जिउ सिंहको छ । र, यस मूर्तिको लम्बाई १६० फिट र उचाई ७० फिट रहेको छ ।
प्राचीन मिश्रको समाजलाई पाँच वर्गमा विभाजित गरिएको थियो । पहिलो वर्गमा राजपरिवार, दोस्रोमा सामन्त, तेस्रोमा पुजारी, चौथोमा मध्यमवर्ग र पाँचौंमा दास पर्दथे । दासहरुको जीवन अत्यन्त दयनीय थियो । प्राचीन मिश्रमा साहित्यको पनि विकास भइसकेको थियो । बोल्न सक्ने किसानको अपिल, ढोकाको पुस्तक, मृतकको पुस्तक, कफन ग्रन्थ, आदि प्राचीन मिश्रका उत्कृष्ट ग्रन्थ हुन् । मिश्रको अभिलेखबाट इतिहास र भूगोलको तथ्यांक फेला पर्दछन् । प्राचीन मिश्रले संसारलाई पेपिरस कागज, नरकटको कलम, मसी र मसीको भाँडो, अक्षर, गणित, पात्रोको ज्ञान गराएको थियो ।
मेसोपोटामियाको सम्यता
मेसोपोटामियाको सभ्यताको विकास दुई नदीहरुको बीचमा भएको थियो । मेसोपोटामियाको सभ्यता पूर्वी सिरियाको केही भाग र इराकको ठूलो क्षेत्रमा फैलिएको थियो । उब्जाउशील भूमि भएको हुनाले यसलाई फर्टाइल क्रेसेन्ट अर्थात् अर्धचन्द्राकार उर्बर भूमि भनियो ।
मेसोपोटामियाको सभ्यतालाई कृषिकाल, पूर्वसुमेरियनकाल, सुमेरियनकाल, बेबिलोनियन काल र असिरियन काल गरेर पाँच भागमा बाँडिएको छ । सभ्यताको शुरुको अवस्थालाई कृषिकाल भनिन्छ । पूर्वसुमेरियन कालमा नै श्रमको विभाजन गर्ने प्रचलन चल्यो ।
सुमेरियनहरु इन्डोयूरोपियन जातिका मानिस थिए । यिनीहरुले युफ्रेटस नदीको किनारामा जंगल झाडी सफा गरेर जौ र गहुँको खेती शुरु गरेका थिए । यिनीहरु गाई, गोरु र गधाजस्ता जनावर पाल्ने गर्दथे । यिनीहरु कुशल शिल्पकार र चित्रकार थिए । यिनले नै क्युनिफर्म नामको लिपि विकास गरेका थिए । हाम्रो घडीमा प्रयोग गरिने समयको विभाजन यिनैले गरेका थिए । जिगुरात पनि यिनैले बनाएका थिए ।
सुमेरियन, अक्काडियन र गुटिएन साम्राज्यको पतन भएपछि सिरियाको मरुभूमिबाट आएका एमोराइटहरुले सुमरमाथि अधिकार गरे र त्यसही सुमर बेबिलोनियाको नामबाट प्रसिद्ध भयो । त्यसै वंशका छैटौं राजा हम्मुराबीले देशको एकीकरण गरेर बेबिलोनियालाई आप्mनो राजधानी बनाए । यिनले बनाएको कानून संहिता विश्वप्रसिद्ध भयो । हम्मुराबीको मृत्यु भएको चार सय वर्षपछि यिनको वंशको शासनको अन्त भयो । त्यसपछि कसाइट, हिटी र असिरियनहरुले राज्य गर्न थाले । यिनीहरु लडाकु जाति थिए । टिगलेथ पिलेसर तृतीय, सारगन द्वितीय र सेन्नाचेरिव नामका प्रसिद्ध राजाले बेबिलोनियामा राज्य संचालन गरेका थिए ।
चाल्डियन र मेडेर जातिको आक्रमण पछि असिरियन साम्राज्य विभाजित भयो । चाल्डियनहरुले बेबिलोनियाबाट शासन गर्न थाले । चाल्डियन सम्राट नाबोपोलाजरका छोरा नेबुजाडनेजरले बेबिलोनिया शहरलाई सिँगारे र आप्mनो रानीका निम्ति झुल्ने बगैंचा बनाए । युनानीहरुले यसलाई संसारका सात आश्चर्यमध्ये एक भन्ने नाम दिए । ज्ञानविज्ञान, साहित्य, धर्म, भूगोल र व्यापारका क्षेत्रमा यस सभ्यताले ठूलो गुन लगाएको थियो ।
सिन्धघाटीको सभ्यता
सिन्धघाटी सभ्यताको प्रारम्भ ३००० ई. पू. मा भएको थियो । यस सभ्यताको मुख्य केन्द्र हालको पाकिस्तानको हडप्पा र मोहोनजोदडोमा पर्दछ । यी दुवै ठाउँ एकअर्कोबाट ४०० माइल टाढा रहेका छन् ।
सिन्धघाटी सभ्यताको मुख्य विशेषता भवन निर्माण तथा नहर योजना थियो । यहाँ बनेका घर प्रायः पाकेका इँटाले बनेका हुन्थे । घर बनाउँदा ढुंगाको प्रयोग गरेको पाइँदैन । प्रत्येक घरमा सुत्ने कोठा, बैठक कोठा, भान्सा र स्नानगृह छुट्टाछुट्टै बनेका हुन्थे । नगरका सडकहरु फराकिला थिए । सिन्धघाटीको एउटा स्नानगृह १८०×१०८ फिट चौडा थियो । यसैसँग जोडिएको पौडी खेल्ने पोखरी पनि थियो । मोहन्जोदडोमा खाद्य भण्डार र सभागृह पनि बनेको थियो ।
सिन्धघाटीका मानिसहरु फलफूल, माछामासु, तरकारी र दूध खाने गर्दथे । यिनीहरु नाइटोदेखि मुनि मात्र लुगा लगाउँथे । पुरुषहरु कुममा च्यादर राख्थे । महिलाहरु विभिन्न किसिमका श्रृंगारका साधनहरु प्रयोग गर्दथे । धनीहरु आप्mनो सुख सुविधाका निम्ति दासदासी राख्ने गर्दथे ।
सिन्धवासीहरुको व्यवसाय कृषि, व्यापार र उद्योग थियो । यिनीहरु खेतीपातीका साथै पशुपालन पनि गर्दथे । यिनीहरुलाई घोडाको ज्ञान थिएन । सामानहरु वैलगाडामा ढुवानी गर्दथे । यिनीहरुलाई तामा, काँच, टिन र चाँदीको प्रयोग गर्ने तरीका राम्ररी थाहा थियो । यिनीहरु नापतौल गर्न पनि जान्दथे । यिनीहरु निर्यात गरिने वस्तुमा छाप लगाउँथे ।
सिन्धवासीहरु मातृका र शिवको पूजा गर्दथे । यसबाहेक यिनीहरु सर्प, परेवा, बाख्रा, गोरु, गैडा र गोहीको पूजा गर्दथे ।
यूनानी सभ्यता
युनानी सभ्यताको मुख्य विशेषता नै नगरराज्य थियो । प्राचीन युनानमा सयौं नगरराज्यहरु थिए । तीमध्ये सबभन्दा ठूला स्पार्टा र एथेन्स थिए । स्पार्टा ३,००० वर्गमाइल र एथेन्स १,०६० वर्गमाइल क्षेत्रफलमा फैलिएका थिए । अन्य राज्यहरु १०० वर्गमाइलभन्दा कम भूभागमा फैलिएका थिए । यी नगरराज्यका मानिसहरु प्रत्येक वर्ष एक ठाउँमा भेला भएर राज्यको दैनिक कार्यसंचालन गर्न काउन्सिलको गठन गर्दथे । प्रत्येक नगरराज्यका छुट्टा छुट्टै काउन्सि हुन्थे । यी नगरराज्यहरुका बीचमा बराबर संघर्ष हुने गर्दथ्यो । तैपनि भाषा, धर्म र साहित्यले यिनीहरुलाई एकताबद्ध बनाएको थियो । युनानले पर्सियाको युद्ध, पेलोपोनेसियनको युद्ध र अलेक्जेण्डरको विश्व विजय अभियानमा भाग लिनु परेको थियो ।
युनानमा कुलीनतन्त्र र प्रजातन्त्र दुवै किसिमको शासनव्यवस्था थियो । स्पार्टामा कुलीनतन्त्र र एथेन्समा प्रजातन्त्र थियो । त्यसै हुनाले स्पार्टाभन्दा एथेन्समा बौद्धिक विकास बढी भएको थियो ।
प्राचीन युनानमा मन्दिर, मूर्ति र चित्रकलाको राम्रो विकास भएको थियो । ओलम्पियामा बनाइएको देउताका राजा जेउसको मूर्ति विश्वका सात आश्चर्यमध्ये एक मानिन्छ । साहित्यका क्षेत्रमा महाकवि होमरले दिएको योगदान महत्वपूर्ण छ । यिनको महाकाव्य इलियड र ओडेसीको तुलना रामायण र महाभारतसँग गरिन्छ । सेफो युनानकी प्रथम कवयित्री थिइन् पिन्डार युनानका सर्वश्रेष्ठ कवि र गीतकार थिए । युनानमा अनेक प्रसिद्ध नाटककार थिए । इतिहासका पिता हेरोडोट्स र वैज्ञानिक इतिहासका पिता थ्युसिडाइडिजले इतिहास लेखनका क्षेत्रमा उल्लेखनीय योगदान दिए । सुकरात, प्लेटो, अरस्तु, थेल्सजस्ता युनानी दार्शनिकहरुले राजनीति र दर्शनको नयाँ आयाम थपेका थिए । गणितज्ञ र भौतिकशास्त्री आर्किमिडिज र युक्लिड तथा चिकित्साशास्त्रका पिता हिप्पोक्रेटसले वैज्ञानिक अनुसन्धानलाई अगाडि बढाए । भौगोलिक ज्ञान र खगोलशास्त्रको अन्वेषण युनानबाट नै भएको थियो । आधुनिक विश्वलाई युनानले साहित्य, मनोरन्जन, राजनीति, दर्शन र विज्ञानका क्षेत्रमा उल्लेखनीय योगदान दिएको छ ।
रोमको सभ्यता
इटली प्रायद्वीपको टाइवर नदीको किनारमा रोम नगरराज्यको स्थापना भएको थियो । ७५० ई. पू. देखि यहाँ एशिया माइनरबाट आएका युट्रस्कन जातिका राजाहरुले राज्य गरिरहेका थिए । ५०९ ई. पू. मा राजतन्त्रको अन्त्यपछि रोममा रोम गणतन्त्रको स्थापना भयो ।
रोममा राजतन्त्रात्मक व्यवस्था भए पनि राजा वंशानुगत हुँदैनथे । राजाको निर्वाचन गरिन्थ्यो । राजाले ठूलाहरुको सभा र कोमिसिया क्युरियटाको सल्लाह अनुसार काम गर्नुपर्दथ्यो । गणतान्त्रिक शासनव्यवस्थामा नागरिक सभा, कन्सुल, सिनेट, डिक्टेटर, ट्रिव्यून, प्रिटोर, सेन्सर, क्वेइस्टरजस्ता संस्था र अधिकारीहरु कार्यरत थिए । रोमन साम्राज्यमा प्रान्तीय स्वायत्त शासन लागू थियो ।
रोमन कानूनको सफलताका निम्ति पेट्रिसियन र प्लेबियनका बीचमा चलेको संघर्ष र जागरण, बाह्र पत्र अधिकारपत्रको निर्माण, स्वदेशी र विदेशीका समस्या, अदालतमा जूरीको व्यवस्था, कानूनविद र दार्शनिकको विचार, नागरिक कानून, जनताको कानून, प्राकृतिक कानून, जस्टिनियन कोडको निर्माण उत्तरदायी थियो ।
रोमको सभ्यताले विश्वलाई कानून, सरकारको संगठन, राजनीतिक सिद्धान्त, वास्तुकला र बाटो निर्माण, इसाई धर्मको प्रचार र पात्रोको निर्माणमा उल्लेखनीय योगदान दिएको छ ।
प्राचीन चीनको सभ्यता
चीनको सभ्यता विश्वको पुरानो सभ्यता मध्येको एक हो । यसको चार हजार वर्ष पुरानो लिखित इतिहास छ । यहाँ सत्र लाख वर्ष अघिदेखि मानिस बसोबास गर्दै आएका छन् । यहाँ प्राप्त आदिम मानव अवशेषलाई ट्वान माऔ, लानय्येन र पेचिङ भनी ठाउँकै नामबाट तिनका नाम राखिएका थिए ।
चीनमा धेरै समयसम्म राजतन्त्रात्मक व्यवस्था कायम थियो । त्यहाँ शिया वंशदेखि अन्तिम छिंग वंशसम्म सैतीसवटा वंशले शासन गरेको देखिन्छ । चिनियाँ दर्शन, साहित्य, कृषि, प्रविधि, शिक्षा, चिकित्सा, पात्रोको प्रभाव विश्वभरी परेको पाइन्छ ।
Leave a comment